Tuesday, March 12, 2024

दाइजोमा सुनको सिक्री नपाए पछि विवाह रद्द ,मंडपबाटै बेहुलासहित ५ जना पक्राउ

 दाइजोमा सुनको सिक्री नपाए पछि  विवाह रद्द ,मंडपबाटै बेहुलासहित ५ जना पक्राउ


लोकतन्त्र समाचारदाता---

पर्सा(बिरगंज),फाल्गुन २९ 

     बेहुला पक्षले दाइजोमा सुनको सिक्री नदिएको निहुँमा विवाह रद्द गरेपछि वीरगन्जबाट प्रहरीले बेहुलासहित ६ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा न-२४ स्थित रानिघाटबाट दुलाहा सहित ५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। 

  सिक्री नपाएको भन्दै निहुँमा बाराको कलैया उपमहानगरपालिका–४ सिनेमा चौक बस्ने उमेश साहले मण्डबाट नै विवाह रद्द गर्ने घोषणा गरेका थिए। उनले पर्साको वीरगन्ज महानगरपालिका–२४ रानीघाटका सुखल साहकी २४ वर्षीया छोरी रमिता कुमारीसँग विवाह गर्दै थिए। बेहुला वीरगन्ज महानगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत कम्प्युटर अपरेटर हुन्। पीडित परिवारले बेहुला पक्षविरुद्ध प्रहरीमा जाहेरी दिएको छ। 

पक्राउ पर्नेहरुमा बेहुला उमेश साह, उनका बुवा बच्चालाल साह, बेहुलाको दाई राकेशकुमार साह, अर्का दाई मुकेशकुमार साह र बेलुलाका भिनाजु रामएकवाल साह रहेका छन्। 

    बेहुला पक्षबाट दाइजो स्वरूप सुनका गहानाहरू, नगद, मोटरसाइकल, ल्यापटप, कपडा पाएता पनि सुनको सिक्री नपाएको भनी बेहुला तथा उनका आफन्तहरूले बेहुली पक्षकाहरूसँग वाद-विवाद तथा हातपात समेत गरी विवाह छोडी जान लागेको भन्ने मौखिक सूचना पाएपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो। 

   पक्राउ परेकाहरु विरुद्ध जिल्ला अदालत पर्साबाट दुई दिनको म्याद अनुमति लिइ अनुसन्धानको प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

Sunday, March 3, 2024

विद्यार्थीहरुबाट शुल्क लिएको भन्ने समाचार प्रति जनज्योति मावि लालबन्दीको गम्भिर ध्यानाकर्षण

 विद्यार्थीहरुबाट शुल्क लिएको भन्ने समाचार प्रति जनज्योति मावि लालबन्दीको गम्भिर ध्यानाकर्षण


लोकतन्त्र समाचारदाता----

लालबन्दी,फागुन २०

   जनज्योति माध्यमिक विद्यालय लालबन्दीले  रसिद बिनानै विद्यार्थीहरुबाट शुल्क लिएको भन्ने समाचार प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

विद्यालयले आज (आइतवार ) एक ध्यानकर्षण पत्र जारी गर्दै कक्षामा अधिक अनुपस्थित हुने र परीक्षा दिनबाट बञ्चित भएका विद्यार्थीहरुको पुःन परीक्षा संचालन र व्यवस्थापन गर्न सहयोग स्वरुप केहि रकम लिएको र उक्त रकम नियमानुसार विद्यालयको खातामा जम्मा गरिएको जनाएको छ ।

समाचारमा उल्लेख गरिएअनुसार नभई  रकमको रसिद विद्यार्थीहरुलाई उपलब्ध गराइएको र उक्त रकम विद्यालयबाट नियमानुसार खर्च गरिनेछ ध्यानकर्षण पत्रमा उल्लेख छ   ।

ध्यानकर्षण पत्रमा समाचार उल्लेख भए अनुसार नभई प्राविधिक शिक्षा तर्फको प्रयोगात्मक कक्षा संचालन सम्बन्धमा पाठ्यक्रममा तोकिएको प्रयोगात्मक कक्षाहरु नियमित रुपमै संचालन गरिएको उल्लेख छ ।  

यस विषयमा विद्यालयका प्रधानाध्यापक विष्णु बहादुर पाेखलले  सञ्चारकर्मी संग कुरागर्दै समाचारले समाजमा भ्रम सृजना गर्ने काम गरेकाकाे बताए ।

प्रधानाध्यापक पाेखलले  समाचार भनिए जस्तो विद्यालयका कर्मचारीले व्यक्ति लाभका लागि कहिले पनि विद्यार्थीहरुबाट रकम असुल्ने काम नगरेको बताए । 

उनले विद्यार्थीलाई  अनुशासनमा राख्न र विद्यालयकाे बिकाशका लागि अभिभावकहरुबाट विद्यालय सहयोगका लागि लिएको रकम पनि बैंक दाखिला गरि आवश्यकता अनुसार खर्च गर्ने गरेको बताए । यसरी प्राप्त हुन आएको रकम फूलबारी निर्माण लगायत विद्यालयकाे बिकाशकामा खर्च गर्ने गरिएको बताए ।

Wednesday, February 21, 2024

डिप्रोक्स लघुवित्त मलंगवा शाखाद्धारा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

 डिप्रोक्स लघुवित्त मलंगवा शाखाद्धारा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न



लोकतन्त्र समाचारदाता---

सर्लाही,फाल्गुन १० गते

   डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले शाखा कार्यालय मलंगवाले  केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । 

   मलंगवा शाखा अन्तर्गतका केन्द्र  प्रमुखहरुलाई वित्तीय साक्षरता तथा बैंकिङ कारोबारमा हुने अपराध(सम्पत्ती सुद्धिकरण),कर्जा तथा बचतको महत्त्व ,कर्जाको सही उपयोग ,लिएको कर्जा कति लिने र कसरी तिर्ने,संस्थाले उपलब्ध गरेका कर्जा निति ,नेपाल राष्ट्र बैंकको १ श्रृणी १ संस्था निति र व्यवसायीक बन्नको लागि आवश्यक पर्ने विभिन्न तालिमहरु लगायतका विषयहरुको बारेमा जानकारी गराउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको संस्थाले जनाएको छ। ती उदेश्यको बारेमा सहभागीहरुलाई भिडियो मार्फत समेत स्पष्ट गरिएको थियो ।

    उक्त कार्यक्रममा सर्लाही जिल्ला भरीका १० वटा पालिकाबाट ८७ जना केन्द्र प्रमुख महिलाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा जिल्ला भेटेरिनरी तथा पशु सेवा विज्ञ कार्यालय मलंगवाका प्रमुख  उपेन्द्र सिंहले पशु सेवा कार्यालयसँग डिप्रोक्सको सहकार्य भएको बताउँदै  विभिन्न किसिमका कृषि बाली तथा पशु पालन तालिमको बारेमा सहभागीहरुलाई जानकारी गराएका थिए।

    मलंगवा नगरपालिका वडा न-९ स्थित सुजाता होटलमा सम्पन्न भएको कार्यक्रममा अतिथिको रुपमा उपस्थित भएका जनप्रतिनिधिहरु यस्ता गोष्ठीले समाजमा वित्तीय अराजकता र अफवाह फैलाउने तत्वहरुबाट बच्नको लागि सहयोग पुर्याउने भएकोले त्यस्ता व्यक्तिको पछि नलाग्न सहभागीहरु सँग अनुरोध गरेका थिए।समाजलाई आर्थिक चलायामन बनाइ राख्नु जरुरी रहेको रहेकोले हाल मिटर व्याजीको कारणले समाजमा आर्थिक मन्दी छाइरहेको अवस्थामा यस्ता वित्तीय संस्थाहरुले सघाइरहेकोले यस्को सदुपयोग गर्न समेत जनप्रतिनिधिहरुले अनुरोध गरे।

    संस्थाका अध्यक्ष सौभाग्यवती सिंहको सभापतित्व तथा  पशु सेवा कार्यालयका प्रमुख सिंहको प्रमुख आतिथ्यतामा र मलंगवा नगरपालिका वडा न-४ का कार्यवाहक वडाअध्यक्ष  घनश्याम झाको विशिष्ठ आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा संस्थाका अनुगमन अधिकृत सूर्यबहादुर विष्टले संस्थाको कर्जा तथा बचतको विषयमा जानकारी गराएका थिए भने बैंकिङ  अपराध तथा साक्षरता सम्बन्धि जानकारी प्रदेश प्रमुख देशबन्धु चौधरीले गराएका थिए। कार्यक्रममा स्वागत मन्तव्य मलंगवा शाखाका प्रमुख धर्मेन्द्र प्रसाद चौधरीले राखेका थिए। यसै कार्यक्रममा उत्कृष्ट भएका दुईवटा  वटा केन्द्रहरुलाई सम्मान समेत गरिएको थियो ।

   वि.स २०५९ साल भदौ ९ गते सर्लाहीको सदरमुकाम मलंगवामा स्थापना भएको यस शाखामा जम्मा सदस्य संख्या ३ हजार ७ सय ५५ जना रहेका छन् । १० वटा पालिकालाई कार्यक्षेत्र बनाएर संचालन भइरहेको यस संस्थाको लगानी ३० करोड १२ लाख ७६ हजार रहेको छ भने बचत रकम ११ करोड ९७ लाख ६४ हजार रहेको डिप्रोक्सले जानकारी गराएको छ।

Tuesday, February 20, 2024

ग्लोबल आइएमई बैंक मलंगवा शाखाद्वारा डिजिटल वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

 ग्लोबल आइएमई बैंक मलंगवा  शाखाद्वारा डिजिटल वित्तीय साक्षरता कार्यक्रम सम्पन्न 



लोकतन्त्र समाचारदाता----

सर्लाही,फाल्गुन ८

   ग्लोबल आइएमई बैंक लिमिटेड मलंगवा शाखाको आयोजनामा  डिजिटल वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।

  आफ्ना सेवाहरुलाई डिजिटल प्रविधिमय बनाउदै संजाल विस्तारमा समेत तीब्र ढंगले अघि बढेको ग्लोबल आइएमई बैंक प्रालिले मंगलबार मलंगवा नगरपालिका वडा न-९ स्थित कुसुम पार्टी प्यालेसमा सो कार्यक्रम सम्पन्न गरेको हो ।

    डिजिटल बैंकिङ र जालसाजी विरुद्ध सुरक्षित सुरक्षाका सम्बन्धमा स्थानीय जनतालाई सचेत गराउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको शाखा प्रबन्धक नवीन कुमार गुप्ताले जानकारी दिए।

     कार्यक्रममा सहभागी भएका ग्लोबल आइएमई बैंकमा आवद्ध ग्राहक तथा महिला, रेमिटान्स प्राप्तकर्ता, नियमित आय धारक, निश्चित आय समूह, विद्यार्थी तथा पत्रकारहरु लगायतलाई  मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, डेविड, क्रेडिट कार्ड, क्यूआर कोड पेमेन्ट, ट्राभल कार्ड, युज कार्ड, मिस्कल बैंकिङ्ग, कर्पोरेट पेलगायतका विषयमा जानकारी प्रदान गरिएको थियो ।

   कार्यक्रमको अन्त्यमा सहभागीहरुबाट आएका प्रश्न तथा जिज्ञासाहरुको आयोजकको तर्फबाट शाखा प्रबन्धक गुप्ता (बीएम) र कर्मचारीहरु अन्जु कुमारी पण्डित, अभिषेक रेग्मी र मो. दिलावर अन्सारीले सहजिकरण गरेका थिए।  


Monday, February 19, 2024

भूमीहिनको माग सम्बोधन गर्न माग गर्दै लालबन्दी नगरपालिकाले प्रधानमन्त्रीलाई बुझाए ज्ञापनपत्र

 भूमीहिनको माग सम्बोधन गर्न माग गर्दै लालबन्दी नगरपालिकाले प्रधानमन्त्रीलाई बुझाए ज्ञापनपत्र 



लोकतन्त्र समाचारदाता---

सर्लाही,फाल्गुन ७

    लालबन्दी नगरपालिकाले भूमिहिन दलित र भूमिहिन सुकुम्बासीलाई जग्गा वितरण गरि व्यवस्थित बसोबासको व्यवस्था मिलाइदिन माग गर्दै चार बुँदे ज्ञापनपत्र बुझाएको छ । लालबन्दीका नगर प्रमुख बासुदेव अधिकारीसहितको टोलीले आइतवार प्रधानमन्त्री तथा मन्त्रीपरिसदको कार्यालय सिंहदरबारलाई सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमला मार्फत

 ज्ञापनपत्र बुझाइएको हो ।

    वन ऐन र भूमी ऐन बासिन्दा जग्गा दर्ता कार्यमा ढिलासुस्ती भएको बुझिएकोले बाझिएका कानुनी व्यवस्थालाई खारेजी,भूमीहिन दलित,भूमीहिन सुकुम्बासीको कार्य अन्तर्गत लालबन्दी नगरपालिका वडा न-९ को स्थानीय तहले र नापी टोलीबाट पठाइएको कागजात राष्ट्रिय भूमी आयोग जिल्ला समिति सर्लाहीबाट जग्गाधनी दर्ता प्रमाणपुर्जा तयार गरि वितरण गर्न खोज्दा मधेस प्रदेश उद्योग पर्यटन तथा बन मन्त्रालयको मिति २०८० बैशाख ७ गतेको पत्र र मिति २०७९ साल चैत्र २९ गतेको टिप्पणी आदेश निर्णयबाट रोक्का गरिएको कार्य फुकुवा,अव्यवस्थित बसोबासीको जग्गा दर्ता प्रक्रिया अगाडी बढाउनुपर्ने र विगतका आयोग,समिति र कार्यदलका बाँकी कामहरु सम्पन्न गर्ने सम्बन्धि कार्यविधि २०७८ परिच्छेद २ मा बाँकी कामहरु सम्पन्न गर्ने गराउने सम्बन्धि (३,४,५,६,७)ले दिएको अधिकार प्रयोग गरि लालबन्दी नगरपालिकाको वडा न-६,८,९ र १० को अधुरा अपुराको कार्य अघि बढाउनुपर्ने लगायतका माग राख्दै ज्ञापनपत्र बुझाएको नगर प्रमुख अधिकारीले बताए।

    साथै सोही विज्ञप्ति मार्फत विगतमा भएका त्रुटि र कमिकमजोरीका कारण जनमानसमा पर्न गएको आसंका अन्त्य गर्न र करोडौं खर्च गरेर नगरपालिकाले सम्झौता बमोजिम तयार गरेका श्रेस्ता अनुसारका जग्गाधनी दर्ता  प्रमाणपुर्जा (लालपुर्जा)वितरण गर्ने व्यवस्था शिघ्र मिलाउन यथोचित निर्देशन सरोकार मन्त्रालय तथा आयोगलाई दिन प्रधानमन्त्रीलाई अनुरोध गरिएको छ।


Wednesday, February 14, 2024

सदरमुकाम मलंगवा लगायत सर्लाही जिल्लाभरीका शिक्षालयहरुले विविध कार्यक्रम गरि भब्यताका साथ सरस्वती पूजा मनाए

 सदरमुकाम मलंगवा लगायत सर्लाही जिल्लाभरीका शिक्षालयहरुले विविध कार्यक्रम गरि भब्यताका साथ सरस्वती पूजा मनाए


मनोज यादव----

सर्लाही,फाल्गुन २ 

    सर्लाही लगायत मधेस प्रदेशको विभिन्न जिल्लाहरुमा रहेका शिक्षालयहरुमा सरस्वती पूजा भव्य रुपमा मनाइएको छ । कतिपय स्थानमा सरस्वती पूजाकै अवसर पारेर सांस्कृतिक कार्यक्रम समेत भएको छ ।

   यसै क्रममा सर्लाहीको सदरमुकाम मलंगवामा रहेका सरकारी तथा निजी संस्थागत विद्यालय,कोचिङ्ग सेन्टर,तालिम केन्द्र लगायत दर्जनौं शिक्षण संस्थाहरुमा देवी सरस्वतीको पूजाआजासहित विशेष कार्यक्रम गरिएको छ । विद्यार्थी तथा शिक्षक शिक्षिकाहरु विद्यालय परिसरमा भव्य रुपमा सजाइएको सरस्वतीको प्रतिमामा काँपी,कलम ,फुल प्रसाद चढाएर सामुहिक रुपमा बन्दना गरि पुजा गरेका छन् ।

    पुजा र प्रसाद ग्रहण गर्ने कार्यक्रम  पश्चात् मलंगवाका केही विद्यालयहरुले साँस्कृतिक कार्यक्रम तथा पुरस्कार वितरणको साथसाथै विद्यार्थीहरुले तयार पारेका सामाग्रीहरुको प्रदर्शनी गरेका थिए। 

    आजैका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास रहेको छ। सोही विश्वासलाई कायम राख्दै अभिभावकले आफ्ना स-साना छोराछोरीलाई अक्षराम्भ गराएका छन् । विद्यालयले पनि आजको दिनलाई विशेष अवसरको रुपमा लिंदै आएकोले सदरमुकाम मलंगवासहित जिल्लाभरीका निजी विद्यालयले पिजी, नर्सरी, एलकेजी र यू केजीका बालबालिकालाई निशुल्क भर्ना लिएका छन् ।

    पछिल्लो समय सरस्वती पुजाको आडमा बढ्दै गएको सामाजिक विकृति र गलत फैसनलाई ध्यानमा राखेर  यसपटकदेखि  मलंगवा नगरपालिकाले पालिका क्षेत्र भित्र संचालित सबैखाले  शिक्षण संस्थामा अध्यनरत विद्यार्थीहरुलाई पुजाको दिन सम्बन्धित शिक्षण संस्थाको पोसाक लगाएर मात्र पुजामा सहभागी हुन भनि सूचना जारी गरेकोले छात्रछात्राहरु विद्यालय पोसाकमै पुजामा सहभागी भएका थिए। 

    बिहानैदेखि विभिन्न स्थानमा रहेका सरस्वतीको मन्दिरमा पुजा गर्न खासगरी विद्यार्थीहरुको घुइँचो लागेको थियो।



आज श्रीपञ्चमी, विद्यार्थीहरु आ-आफ्नो शिक्षण संस्थामा विभिन्न कार्यक्रमहरु गरि सरस्वती पुजा गर्दै

 आज श्रीपञ्चमी, विद्यार्थीहरु आ-आफ्नो शिक्षण संस्थामा विभिन्न कार्यक्रमहरु गरि सरस्वती पुजा गर्दै


मनोज यादव---

सर्लाही,फाल्गुन २

      प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने बसन्त पञ्चमी अर्थात श्रीपञ्चमी आज देशभर विद्याकी देवी माता सरस्वतीको पुजा अराधना गरी हर्षोल्लासका मनाइँदैछ । यस दिन देवी सरस्वतीको पूजा गरे विद्या र बुद्धि बढ्ने जनविश्वास रहेको छ ।सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजका दिनलाई ‘वसन्तपञ्चमी’ पनि भन्ने गरिन्छ।

   आज(बुधबार) बिहानैदेखि गाउँ ,नगर बस्तीमा रहेका देवी सरस्वतीको मन्दिरमा पुजा गर्न खासगरी विद्यार्थीहरुको घुइँचो लागेको छ। श्रीपञ्चमीको अवसर पारेर सर्लाहीको सदरमुकाम मलंगवासहित जिल्लाभरीका शिक्षण संस्थामा अध्यनरत विद्यार्थी तथा शिक्षक-शिक्षिकाहरु आ-आफ्नो विद्यालय तथा क्याम्पसमा विभिन्न कार्यक्रमहरुको आयोजना गरेका छन् । अधिकांश शिक्षण संस्थाहरुमा सरस्वतीको पुजा र प्रसाद वितरणको साथ साथै विद्यार्थीहरु द्वारा साँस्कृतिक कार्यक्रम र विद्यार्थीहरुले नै तयार पारेका सामाग्रीहरुको प्रदर्शनी राखिएका छन् ।यसका लागि विद्यार्थीहरुले १०/१५ दिन अगाडीदेखिनै तयारी गरेका छन् ।

   यसपटक मलंगवा नगरपालिकाले नगरपालिका क्षेत्र भित्र संचालित विद्यालय,क्याम्पस लगायत अन्य शिक्षण संस्थामा अध्यनरत विद्यार्थीहरुलाई पुजाको दिन सम्बन्धित विद्यालय,क्याम्पस र शिक्षण संस्थाको पोसाक लगाएर मात्र पुजामा सहभागी हुन सूचना जारी गरेकोले छात्रछात्राहरु विद्यालय पोसाकमै पुजामा सहभागी भएका छन् ।

   यस दिन बालबालिकालाई शिक्षारम्भ गराउनुका साथै नाक–कान छेडिदिने गरिन्छ ।‘गान्धर्व पुराण’मा आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने उल्लेख छ ।

     देवी सरस्वती विद्या र सिर्जनाकी देवी भएकीले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थीहरु आआफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीको रूपमा पूजाराधना गर्छन् ।

आजकै दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह  जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने विश्वास रहँदै आएको छ ।