Monday, December 9, 2024
Thursday, December 5, 2024
सर्लाहीको जमुनियामा अर्थमन्त्री यादव द्वारा पञ्चवर्षीय गढीमाई मेलाको उद्घाटन
मनोज यादव---
सर्लाही,मंसिर २०
मधेस प्रदेश सरकारका अर्थमन्त्री सुनिल कुमार यादवले सर्लाहीको कबिलासी नगरपालिका वडा नम्बर -६ जमुनिया स्थित गढीमाई मन्दिरमा लागेको पञ्चवर्षीय मेला महोत्सव २०८१ को उद्घाटन गरेका छन् ।
बिहीबार एक समारोहका बिच प्रमुख अतिथि अर्थमन्त्री यादवले जमुनिया स्थित गढीमाई मेलाको विधिवत रूपमा उद्घाटन गरेका हुन। उद्घाटन समारोहमा अर्थमन्त्री यादवका साथै श्रम तथा यातायात मन्त्री कौशल किशोर राय,पुर्व रक्षामन्त्री हरि उप्रेती ,मधेस प्रदेश सांसद जंगीलाल राय,शकुन्तला देवी राम,नेपाली काँग्रेस मधेस प्रदेश सभापति तथा पुर्व मन्त्री कृष्ण कुमार यादव,नेपाली काँग्रेस सर्लाहीका पुर्व सभापति लक्षमण राय,जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल किशोर सिंह ,कबिलासी नगरपालिकाका प्रमुख ब्रम्हदेव राय,उपप्रमुख पुनम कर्ण,कबिलासी नगरपालिकाका पुर्व नगर प्रमुख कौशल यादव लगाएतको सहभागिता रहेको थियो।
बिश्व प्रसिध्द बारा स्थित गढीमाई मेलाकै तिथि मितिमा बृहत रुपमा जमुनिया गढीमाई मेलाको आयोजना गरिएको छ। यस गढीमाई मन्दिरमा विगत झै यसपटक पनि धुमधामका साथ पञ्चवर्षीय मेलाको आयोजना गरिएको हो।
गढी माई मेला मूल समितिका अध्यक्ष एवं कबिलासी नगरपालिका वडा नम्बर -६ का वडाअध्यक्ष पुरुषोत्तम यादवले यो मेला उद्घाटन भएको दिन मंसिर २० गते बिहिवारदेखि नै लागेको बताएका छन्। कलश यात्रा गत मंसिर १४ गते नै सम्पन्न भइसकेकोले मंसिर २२ गते शनिवार गढी माईको विशेष पुजा गरिसके पश्चात् मंसिर २३ गते आइतवार राँगा बली र २४ गते सोमबार बोका बली दिइने कार्यक्रम रहेको जानकारी गराउँदै उनले सम्पूर्ण श्रद्धालु भक्तजनहरुलाई मेलामा सहभागी भएर मेलाको शोभा बढाइ दिन अनुरोध गरेका छन् ।
मेलामा सर्लाहीसहित छिमेकी जिल्लाहरु रौतहट ,महोत्तरी, बारा लगायत सीमावर्ती भारतबाट लाखौँ मानिस आउने गरेको आयोजकले जनाएको छ। दर्शन गर्न आउने बाहिरका भक्तजन तथा आगन्तुकलाई मेला समितिको तर्फबाट निःशुल्क खाना र बस्ने व्यवस्था मिलाइएको गढीमाई मेला समितिले जनाएको छ।
उक्त मेलामा मनोरञ्जनका लागि विभिन्न खेल तमासा ,नाचको साथै नेपाल र भारतका प्रसिद्ध पहलवानहरुको कुस्ती समेतको व्यवस्था गरिएको समितिले जनाएको छ।
मेलामा आउने भक्तजनको सुरक्षाका लागि सयौं स्वयंसेवकहरु सँगै प्रहरीहरु समेत परिचालन गरिएको समितिले जनाएको छ।
मन्दिरमा राँगा, बोका, परेवाको बलि दिइने गरिन्छ।
Subscribe to:
Posts (Atom)