Sunday, July 31, 2022

मलंगवाको वडा न-२ मा जमेको पानीलाई निकास दिन अस्थायी नाला खनियो

 



लोकतन्त्र समाचारदाता---

सर्लाही,साउन १५

    लगातारको बर्षाले मलंगवा नगरपालिका वडा न-२ स्थित केही  घरहरुमा पानी पसेपछि तत्काल पानीको निकास गर्नको लागि वडाअध्यक्ष धिरेन्द्र साहको पहलमा नाला खन्ने काम भएको छ।

   राजश्री सिनेमा हलदेखि पश्चिमतर्फको पब्लिक स्कुल(झण्डा बजार)सम्मको सडक छेउका घरधनीहरु सामान्य वर्षा हुँदा समेत घरको कम्पाउण्डमा पानी जमेर  घरभित्र पानी पस्ने समस्याबाट पिडित रहँदै आएका थिए। अस्थायी रुपमै भएपनि नाला खनेर जमेको पानीलाई निकास दिएकोमा स्थानीयबासीहरुलाई केही राहत भएको छ।

    यो सडक हुलाकी राजमार्ग अन्तर्गत पर्ने भएकोले यसमा सडक निर्माण र नाला निर्माण गर्ने जिम्मेवारी हुलाकी राजमार्ग निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीको रहेको भएपनि ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण निर्माणकार्यमा बारम्बार अवरोध भइरहेको छ।हुलाकी सडकसँगै नाला पनि बन्ने आसमा  स्थानीयबासीहरु घर भित्र पानी जम्ने समस्याबाट पिडित बन्दै आइरहेका छन्।

    पानी जम्ने समस्या मलंगवा वडा न-२ को मात्र नभइ अन्य वडाहरुको पनि छ। नालाको उचित व्यवस्थापनको अभावमा मलंगवाका अधिकांश वडाका घरहरुमा अहिले पानी जमेको छ।  

   वर्षाले मलंगवाको प्रायः सडकहरु  जलमग्न र हिलाम्य भएको छ ।  समान्य वर्षा हुँदा पनि पानी सडकमै जम्ने गरेकाले हिलाम्य हुने गरेको छ । सडकमा पानी जमेर हिलाम्य हुँदा पैदल हिँडडुल गर्न समेत कठिनाई भएको छ ।

    पटक पटक यस्ता समस्याहरुबाट मलंगवा नपा वडा न-२ का वडाबासीहरु आजित भएपछि तत्काल  समस्याको समाधान गर्न आइवार उक्त सडकको छेउमा अस्थायी नाला खनिएको वडाध्यक्ष साहले बताए ।

    तत्कालकै लागि भएपनि नाला खन्न लगाइ पानीलाई निकास दिएर राम्रो काम गरेको भन्दै स्थानीयहरुले वडाध्यक्ष साहलाई धन्यवाद दिएका छन् ।

मलंगवा वडा न-२ स्थित बसपार्कमा बसबाट लडेर एक युवकको मृत्यु

 




लोकतन्त्र समाचारदाता---

सर्लाही,साउन १५

     सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न-२,झण्डा बजार स्थित बसपार्कमा आज(आइतवार) यात्रुवाहक बसबाट ओर्लिने क्रममा  लडेर एक युवकको मृत्यु भएको छ ।

   मृत्यु हुनेमा कौडेना गाउँपालिका वडा न-३, बस्ने ३५ वर्षीय चन्दन चौधरी रहेको प्रहरीले जनाएको छ।

    चौधरीको बलरा नगरपालिका स्थित सुदामाबाट सदरमुकाम मलंगवा-२ मा रहेको बसपार्कमा आएको ग १ ख ९४५२ नम्वरको यात्रुवाहक बसबाट ओर्लिने क्रममा निजले लगाएको सर्ट ढोकामा अल्झिएर लडेर गम्भीर घाइते भइ उपचारको क्रममा प्रादेशिक अस्पताल मलंगवामा मृत्यु भएको प्रहरीले जनाएको छ । 

    दुर्घटना पछि बसका चालक फरार भएको छ भने बसलाई आवश्यक कार्यवाहीको लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीले नियन्त्रणमा लिएको छ।

   सोही बसमा यात्रा गरिरहेकी एक वृद्धा पनि सिटको डण्डीमा ठोक्किएर गम्भीर घाइते भएकी छिन् । 

  उक्त बस कौडेना गाउँपालिका वडा न-२ स्थित लखन्देही पुल नजिक आइपुग्दा खाल्डोमा परेर बस हल्लिएपछि गोडैता नपा-६ निवासी ६५  वर्षीया ईश्वरवती देवी घाइते भएको प्रहरीले जनाएको छ ।

 घाइते वृद्धाको मलंगवा स्थित  प्रादेशिक अस्पतालमा उपचार चलिरहेको प्रहरीले बताएको छ।


खोटाङ जिल्लालाई केन्द्रविन्दु बनाएर आएको भुकम्पको धक्का सर्लाहीमा पनि महसुस गरियो

 

लोकतन्त्र समाचारदाता---

सर्लाही,साउन १५

    आज(आइतबार) बिहान ८ बजेर १३ मिनेटमा खोटाङ जिल्लाको मार्तिमबिर्तालाई केन्द्रविन्दु बनाएर आएको भुकम्पको धक्का सर्लाहीमा पनि महसुस गरिएको छ । 

   राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविद लोकविजय अधिकारीका अनुसार  भूकम्पको धक्का काठमाडौं उपत्यकाका तीनै जिल्लाका साथै तराईका जिल्लाहरुमा समेत महसुस गरिएको छ।

    भुकम्पबाट भोजपुरमा जिल्लामा २ र खोटाङ जिल्लामा  १ घरमा क्षति भएको छ ।घरमा क्षति पुगेपनि  मानवीय क्षति भने नभएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।



Saturday, July 30, 2022

समाजसेवी युवा नेता ध्रुव रिजालद्वारा दुर्लभ रोग स्पाईसी सिटीबाट ग्रसित असक्त दाजु बहिनीलाई शारीरीक व्यायामका लागि स्पाईनिङ्ग मेसिन प्रदान

 




लोकतन्त्र समाचारदाता---

सर्लाही ,साउन १४

    नेपाली काँग्रेस मधेश प्रदेश समिति सदस्य एवं समाजसेवी युवा नेता ध्रुव रिजालले शारीरीक रुपमा असक्त लालबन्दी नगरपालिका वडा न- ५ रन्जितपुरका विवेक कर्ण र आशा कर्णलाई १ लाख बढी मूल पर्ने स्पाईनिङ्ग मेसिन प्रदान गरेका छन्  । 

    नातामा साख्खै दाजु बहिनी पर्ने उनीहरू विगत ७ वर्षदेखि दुर्लभ रोग स्पाईसि सिटीबाट ग्रसित रहेका छन् । उनीहरुको शारीरीक व्यायामका लागि सहयोग पुर्याउने उदेश्यले आफूले मानवीय भावनाले स्पाईनिङ्ग मेसिन प्रदान गरेको नेता रिजालले बताए ।युवा नेता रिजाल  विगत लामो समयदेखि समाजसेवामा सक्रिय रुपमा लाग्दै आएका छन् । उनले बेलाबेलामा पिडितहरुलाई विभिन्न माध्यमबाट सहयोग गर्दै आइरकेको स्थानीयहरुले बताएका छन् ।

   गत वर्षको शितलहरमा पनि समाजसेवी रिजालले शितलहरबाट पिडित विपन्न वर्गलाई न्यानो कम्बल तथा खाद्यान्न सहयोग गरेका थिए। 

   उनले शनिवार बिहान वडाअध्यक्ष मिन प्रसाद ढुंगेल(रामु)को अध्यक्षता तथा लालबन्दी नगरपालिकाकी उपमेयर कल्पना पाख्रिनको प्रमुख आतिथ्यतामा एक कार्यक्रमकाे आयोजना गरि विरामीकाे थेरापीका लागि सहयोगी सिद्ध हुने उक्त मेशिन  विरामीका बुबा अनिल कर्णलाई प्रदान गरेका हुन् ।

   सामग्री  वितरणपछि बोल्दै समाजसेवी रिजालले आफूले कुनै राजनीतिक स्वार्थ र उद्देश्य नराखी मानवीय भावनाले  सहयोग  गरेको बताए । उनले  स्थानीय तहको चुनावका बेला घरदैलोका क्रममा आफूलाई शिक्षा दिने गुरुकै नाती नातिनी असक्त भएको देखेपछि बिरामीको  शारीरीक व्यायाममा सहयोग होस् भन्ने उद्देश्यले उक्त मेशिन प्रदान गरेको बताए ।

     कार्यक्रमकी प्रमुख अतिथी  उपमेयर  पाख्रिनले असक्तहरुका लागि सहयोग सामाग्री वितरण गरेको भन्दै, समाजसेवी नेता रिजालको प्रसंशा गरिन् । उनले आगामी दिनमा पनि नगरका गरीब, निमुखा ,असहाय, अपाङ्ग, महिला तथा बालबालिकाहरुको सहयोगमा निरन्तर लागिरहन पनि आग्रह गरिन् । उनीले  रिजाललाई नगरपालिकाको तर्फबाट आभार समेत प्रकट गरिन्  । 

    स्वरुप स्पाईनिङ्ग मेसिन पाएपछि निकै राहत महसुस भएको विरामीका बुबा अनिल कर्णले बताए। उनले आफ्नो छोरा विवेक कर्ण र छोरी आशा कर्ण विगत ७ वर्षदेखि असक्त रहेको बताए । उनीहरुमा एक्कासी देखापरेको शारीरीक असक्तताले आफू निकै दुःखी रहेको बताए । उनले नेता रिजाललाई धन्यवाद दिदै , आफ्नो छाेरा छाेरीकाे शारीरीक व्यायामका लागि यो मेसिन अत्यन्तै प्रभावकारी हुनेभन्दै खुशि व्यक्त गरे । 

उनले छोरा विवेक र छोरी आशामा देखा परेको रोगको बारेमा अहिलेसम्म पता नलागेको बताए  । उनले निको हुने आशामा एपोलो, मेदान्त लगायत भारतका दर्जन बढी अस्पतालहरुमा उपचार गराएको भएपनि रोग पता नलागेको दुखेसो पोखे ।

   डाक्टरको भनाई अनुसार यो अज्ञात रोग करीब ८० करोड पुरुषहरु मध्येमा एकजना र सय करोड महिलाहरु मध्येमा एकजनामा देखापर्ने रोग भएको बताए । उनले अहिलेसम्म उपचारका क्रममा धेरै रकम  खर्च गरिसकेको तर पनि उपचार नभएको गुनासो गरे । 

   नेता रिजालले समाजसेवाको अभियान आफ्नो गृहगाउँ रन्जितपुरलाई अलि बढी प्राथमिकतामा राखेकोले आउँदा दिनमा नगरका अन्य वडाहरुमा समेत  अभियानहरू सञ्चालन गर्ने लक्ष्य र उद्देश्य रहेको बताए ।

यस अघि नेपाल सरकारद्वारा नगर बिकास कोषको अध्यक्ष तथा विभिन्न समयमा विभिन्न संस्थाको कार्यकारी पदहरु सम्हाली सकेका रिजालले ती संस्थामा रहँदा पनि समाजको हित हुने काम गरेको बताए । आफू पछिल्लो पटक नगर बिकास कोषको अध्यक्ष रहँदा लाललबन्दी लगायत  देशका विभिन्न स्थानमा स्वच्छ पिउने पानीको लागि सहयोग पुर्‍याएको जानकारी गराउनु भयो।उनले आफ्नो मूलभूत उद्देश्य समाजसेवानै बताए  ।

    कार्यक्रममा नेपाली काँग्रेस सर्लाहीका उपसचिव ईन्द्र योन्जन, क्षेत्र नम्बर १ प्रदेश (ख) का सभापति सीताराम दाहाल,  महाधिवेशन प्रतिनिधि दिपक अधिकारी, लालबन्दी नगरसभापति प्रशान्त आचार्य,नेताहरु नारायण गुर्मछान्, राकेश ढुंगेल लगायतको उपस्थिति रहेकाे थियो ।

लकडाउनका कारण दुईवर्षदेखि बन्द रहेको बोलबम यात्रा सुरु ,मढियाधाममा जलाभिषेक गर्न जाने काँवरियाहरुको भिड बढ्यो

 



मनोज यादव---

सर्लाही,साउन १४

       कोरोना संकटको बेला लगाइएको लकडाउनका कारण गएको दुई वर्षदेखि बन्द रहेको बोलबम यात्रा पुनः सुरु भएको छ। देशको विभिन्न मन्दिरमा नदीहरुबाट पवित्र जल लिएर शिवलिंङ्ग माथि जल चढाउन जाने काँवरिया तिर्थ यात्रीहरुको भिड बढेको छ।

  यसै क्रममा सर्लाहीको बागमती नगरपालिका कर्मैया स्थित बागमती नदीबाट जल बोकेर भारतको बिहार राज्य ,सितामढी जिल्ला ,सोनबरसा प्रखंड अन्तर्गत नेपाल-भारत सीमा(मलंगवा)देखि ८ किलोमीटर पुर्व दिशा स्थित मढिया गाउँमा रहेको बाबा मानकेश्वरनाथमा जलाभिषेक गर्न जाने बोलबम कावरिया भक्तहरुको ठुलो भिड बढेको छ। मढियाधाममा गएको दुई वर्षदेखि कोविड-१९(कोरोना भाइरस)को  संक्रमणलाई लिएर श्रावण मासमा जलाभिषेक गर्न प्रतिबन्ध लगाइएको थियो। 

   मढियाधाममा आइतवार जलाभिषेक गर्ने  परंपरा रहेको छ।दुइ वर्षदेखि भगवान शिवलाई जलाभिषेक गर्नबाट बन्चित बनेका शिवभक्त काँवरिया बोलबमहरु यसवर्ष निकै उत्साहित देखिएका छन् । बागमतीबाट पवित्र जल बोकेर खाली खुट्टा पैदल आउने काँवरियादेखि , डाँकबम र मोटरसाइकल ,जिप,ट्याक्टर लगायतका सवारीदाधनमा आउने शिवभक्तहरुको यात्रालाई सहज बनाउन र थकान मेटाउन विभिन्न स्थानमा बोलबम सेवा समिति मार्फत सेवा प्रदान गरिरहेका छन् ।सोही अनुसार मलंगवा वडा न-२ र ८ स्थित राजश्री सिनेमा हल र विद्युत कार्यालयको बिचमा पर्ने चौकमा हिन्दु परिषद नेपाल र  बालमन्दिर चौकमा शिव शिष्य परिवारले बोलबम काँवरियाहरुलाई सेवा प्रदान गरिरहेका छन् ।उनीहरु यात्रीहरुको लागि निशुल्क भोजन, बास ,प्राथमिक उपचार,पानी,जुस लगायतका सेवाहरु प्रदान गरिरहेका छन् ।

    मढियाधाम दुवै देशका भक्तहरुको शाझा आस्थाको केन्द्र रहेको छ।श्रावण मासको एक महिनाको अवधीमा  दुवै देशबाट हजारौंको संख्यामा श्रधालुहरु मंकेश्वर बाबामा  जलाभिषेक गर्ने गरेका छन् । 

   भक्तहरु नेपालतर्फको नुनथर पहाड भएर निस्कने बागमती नदीको पवित्र जल भरेर खाली खुट्टा पैदल बोलबम र ओम नम: शिवायको लगातार जाप गर्दै ६५ किलोमीटरको लामो दुरी पार गरेर भारततर्फको मढिया गाउँमा रहेको  मंकेश्वरनाथमा जल अर्पित गर्छन। 

    काँवरियाहरुको सुरक्षाको लागि ठाउँठाउँमा नेपाल प्रहरीको पेट्रोलिंग चलिरहेको हुन्छन् । सडकमा पानी छर्किने काम गरिन्छ।  नवलपुर, हरिपुर, गैर, कबिलासी, सलेमपुर,गम्हरिया, मलंगवामा  स्थानीयबासीहरु द्वारा भव्य पंडालको निर्माण गरिन्छ।ती पंडालमा काँवरियाहरुको लागि विभिन्न  सुविधाहरु उपलब्ध गराइन्छ । 

     काँवरियाहरु भारतीय सीमामा प्रवेश गरेपछि भारतीय प्रशासनले पनि यसैगरी सुरक्षा प्रदान गर्छन्।स्थानीयबासीहरुले पनि कावरियाहरुलाई विभिन्न सेवा सुविधाहरु प्रदान गर्छन।




सर्लाहीको सबैजसो सामुदायिक विद्यालयको अवस्था दयनीय,विद्यालय व्यवस्थापन समितिको नाममा राजनीति

 




मनोज यादव----

सर्लाही,साउन १४

      सरकारले सामुदायिक शिक्षामा करोडौं रुपैयाँ लगानी गरेको भएपनि लगानी अनुसारको प्रतिफल जनताले पाउन सकेका छैनन् ।
    सर्लाहीको  ग्रामीण क्षेत्रका अधिकांश सामुदायिक विद्यालयको अवस्था निकै दयनीय रहेको छ । शहरी क्षेत्रको सामुदायिक विद्यालयको अवस्था अलि ठीक भए पनि ग्रामीण क्षेत्रको अधिकांश विद्यालयहरुको शिक्षाको अवस्था दयनीय रहेको छ

    सर्लाहीको  ग्रामीण क्षेत्रका अधिकांश सामुदायिक विद्यालयको अवस्था निकै दयनीय रहेको छ । शहरी क्षेत्रको सामुदायिक विद्यालयको अवस्था अलि ठीक भए पनि ग्रामीण क्षेत्रको अधिकांश विद्यालयहरुको शिक्षाको अवस्था दयनीय रहेको छ

        ग्रामीण क्षेत्रका विद्यालयहरुमा विद्यालय व्यवस्थापन समितिको नाममा हुने राजनीति र नराम्रो पढाईका कारणले गर्दा पनि सरकारी विद्यालय प्रति विद्यार्थी तथा अभिभावकहरुको आकर्षण घटेको देखिएको छ । विद्यालय व्यवस्थापन समितको पदाधिकारी चयनको लागि हुने राजनीति तथा शिक्षक र प्रधानाध्यापकहरुको चरम लापरवाहीका कारण सर्लाहीमा  सामुदायिक विद्यालयहरुको पढाइको अवस्था दिनप्रतिदिन कमजोर हुदै गएको छ । प्रधानाध्यापक तथा शिक्षकहरु  मनलाग्दी विद्यालय जाने , नियमित विद्यालय जानुपर्नेमा कहिले काँही मात्रै जाने  र गइहाले पनि विद्यार्थीलाई नपढाइ एक आपसमा  गफ गरेर नै समय बिताउने गरेका कारणले गर्दा पनि सर्लाहीमा शिक्षाको स्तर खुस्किदै गएको छ ।

     हालै केन्द्रीय स्तरबाट आएका शिक्षाविज्ञ एवं  नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि तथा महाधिवेशन समिति सदस्य जिम्मी लामा र नेपाली काँग्रेस जिल्ला कार्यसमिति सर्लाहीका उपसभापति डा.सरोज यादवसहितको टोलीले जिल्लामा ग्रामीण क्षेत्रमा रहेका सामुदायिक विद्यालयहरुको अवस्था बारे जानकारी लिन  केही स्थानीय तहका सामुदायिक विद्यालयहरुको स्थलगत अनुगमन गरेका छन्।सो अनुगमनको क्रममा केन्द्रीय शिक्षाविज्ञ लामाले ८० जना विद्यार्थीहरु रहेको एउटा कक्षा कोठामा केही विद्यार्थीहरुलाई बस्न पुग्ने मात्र डेक्स,बेन्चहरु रहेको पाइएको बताए । कोहि फल्याक माथि त कोहि भुँइ मै बसेर पढिरहेको पाए। उनले एक माध्यमिक विद्यालयको हाजरी रजिस्टरमा  १२ सय भन्दाबढी विद्यार्थीहरु भर्ना गरिएको रेकर्ड रहेको देखिए पनि मुस्किलले ५ सय जना विद्यार्थीहरु मात्र नियमित उपस्थित हुने गरेको बताए । यस्तो हुनुको पछाडि सदियौँ देखि चल्दै आएको प्रशासकिय परम्पराको कथा र यतार्थहरु पनि लुकेको हुन सक्छ लामाले भने ।


    अनुगमनको क्रममा  अधिकांश विद्यालयहरुमा मेजर विषयको रुपमा रहेको विज्ञान र अंग्रेजीको विषयगत शिक्षकहरु नरहेकाले अन्य विषयका शिक्षकले जसोतसो उक्त विषयहरु पढाउने गरेको पाइएको लामाले बताए। यसपालिको एस.ई.ई को परिक्षामा  सत प्रतिशत विद्यार्थीहरु पास भएका छन् ।पढाइ नहुँदा पनि विद्यार्थीहरु उत्तीर्ण कसरी हुन्छ भन्ने कुरा सबैलाई थाहै छ।

   अघिल्लो कार्यकालको पालिका प्रमुखहरु सामुदायिक विद्यालयहरुको अवस्था बारे जानकारी लिन एकदिन पनि विद्यालय नआएको स्थानीय अभिभावकहरु बताउछन्।विद्यार्थीहरुलाई विद्यालयमा टिकाइ राख्न अनिवार्य दिवा खाजा कार्यक्रम सुरु गरेको भएपनि सर्लाहीको ८० प्रतिशत भन्दा बढी विद्यालयका विद्यार्थीहरुले यो सुविधा पाइरहेका छैनन् ।अघिल्लो पालिका प्रमुखहरुको कार्यकालको ५ बर्षको अवधीमा जम्मा  ३ महिना मात्रै यो कार्यक्रम चलेको अनुगमन टोलीलाई जानकारी प्राप्त भएको लामाले बताए ।यस विषयमा सोध्ने कसले हो र खोज्ने कसले हो ? लहरा तान्दा पहरा जो गर्जिन्छ,लामाले भने।

   

जिल्लाको विष्णु गाउँपालिकामा गाउँपालिका
अध्यक्षले शैक्षिक सुधारलाई प्राथमिकतामा राखेर कार्यकालको सुरुवातमै ५ वटा विद्यालयको निर्माण गरि आफ्नै श्रोतबाट ५० जना शिक्षकहरुको समेत भर्ना गरेको अनुगमनको क्रममा जानकारी प्राप्त भएको टोलीका सदस्य हरुले बताए ।

   विष्णु गापा भारतीय सिमा नजिकै पर्ने भएकोले  सीमा पारीको सुविधा र गतिविधिलाई हेरेर यहाँका जनताहरु आफुसँग गुनासो गर्ने गरेका थिए तर अब भने यहाँको राम्रा गतिविधिहरलाई देखेर सिमा पारिका जनताले त्यहाँका प्रमुखलाई गुनासो गर्ने गरेको गापा अध्यक्षले आफुहरुलाई बताएको लामाले भने।तर यसमा कतिको सत्यता छ यहींको जनताले मुल्यांकन गर्ने हो तर वर्षे विदामा पनि यस पालिका अन्तर्गतका सामुदायिक विद्यालयमा कोचिंग कक्षा चलाएको देख्दा केहि गर्न खोजेको जस्तो  देखिन्छ,उनले बताए ।

   एकदुई वटा पालिकाले मात्र शिक्षाको सुधार गरेर सिंगो शैक्षिक क्षेत्रको सुधार हुँदैन। शिक्षा न शक्ति प्रदर्शन गर्ने ठाउँ हो, न तजबिजमा चल्ने विषय? अबको संघीय संसद र सरकारले यो विषयको गाम्भीर्यतालाई उचित समाधानको लागि प्राथमिकतामा राख्नु पर्ने शिक्षाविज्ञ लामाको भनाइ छ।लामा विगत १२ वर्ष देखि सिन्धुपाल्चोक जिल्ला लगायत देशका केही  अन्य जिल्लाहरुमा शिक्षा क्षेत्रको सुधारको काममा लाग्दै आउनु भएको छ।

   

मिटर ब्याजीहरुलाई कार्यवाहीको माग गर्दै प्रजिअलाई ज्ञापन-पत्र

 

 

लोकतन्त्र समाचारदाता---

सर्लाही,साउन १४

      मिटर ब्याजीहरुलाई कार्यवाहीको माग गर्दै सर्लाहीका जनताहरुले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् ।

    सर्लाही जिल्लामा रहेका केही साहु महाजनले यहाँका सोझासाझा जनताहरूलाई विभिन्न कामको लागि भनेर  पैसा ब्याजमा दिंदा सवा रकमको चार गुना बढीको  तमसुक गराई ,दृष्टिबन्धक तथा रजिष्ट्रेशन समेत गराइ चर्को ब्याज दरमा ऋण दिने गरेकोले त्यस्ता मिटर ब्याजीहरूलाई आवस्यक कार्यवाहीको माग गर्दै  प्रजिअ थानेश्वर गौतमलाई ज्ञापन पत्र बुझाइएको हो ।

     हरिपुवा निवासी गणेश कुमार यादव,मलंगवा निवासी मुकेश पंडित,कौडेना निवासी मो.हुसैन खान,ब्रह्मपुरी निवासी बिजय कुमार यादव,विष्ण गाउँपालिका निवासी मनोज कुमार यादव,उमेश राय र कबिलासी निवासी राम गोविन्द यादवसहितको टोली जिल्ला प्रशासन कार्यालय  मलंगवा स्थित प्रजिअ गौतमको कार्यकक्ष मै पुगेर उक्त ज्ञापनपत्र बुझाएका छन्।उक्त ज्ञापनपत्रमा सर्लाहीका केही मिटर ब्याजी साहुहरुले श्रृणीसँग सम्पूर्ण पैसा चुक्ता गराइसक्दा पनि तमसुक कागज फिर्ता नगरी उल्टै साहुले केही समयपछि सोही रकमको नयाँ तमसुक गराइ पुरानो तमसुक फिर्ता गर्नुको साटो पैसा नतिरेको भन्दै पुरानै तमसुकबाट श्रृणी माथि मुद्दा चलाउने जस्ता कार्य गर्दै दृष्टि बन्धक तथा रजिष्ट्रेसन गराइएका जग्गा मनोमानी ढंगले बिक्री गरि सोझासाझा श्रृणीलाई उठिबास बनाएको उल्लेख गरिएको छ।

    त्यस्ता मिटर ब्याजीहरुको बारेमा नेपाल सरकार गृह मन्त्रालयको मिति २०७९ जेष्ठ २७ गते जारी गरिएको परिपत्र अनुसार त्यस्ता ब्यक्तिहरुलाइ कार्यवाही गर्न आदेश दिइसकेको भएपनि सो अनुसार हालसम्म कसैलाई कार्यवाही नगरिएकोले  पिडित ब्यक्तिहरुबाट लिखित निवेदन लिइ मिटर ब्याजीहरु उपर आवश्यक कार्यवाहीको लागि ज्ञापनपत्र मार्फत  प्रजिअको  ध्यानाकर्षण गराएको  राम गोविन्द यादवले बताए।






Friday, July 29, 2022

जल चढाउन हिंडेका एक बोलबम काँवरियाको बागमतीमा मृत्यु

 

लोकतन्त्र समाचारदाता---

सर्लाही,साउन १३

     सर्लाहीको दुई छुट्टाछुट्टै ठाउँमा भएको दुर्घटनामा परि एक बोलबम काँवरियासहित दुईजनाको मृत्यु भएको छ।

     आज(शुक्रवार)दिउँसो  बागमती नगरपालिका वडा न-४ स्थित जिरायतमा एक जना बोलबम काँवरिया(तिर्थ यात्री)को ट्याक्टरबाट खसेर मृत्यु भएको छ ।प्रहरीले दिएको जानकारी अनुसार आज(शुक्रवार)दिउँसो करिब साढे ३ बजेको समयमा चक्रघट्टा गाउँपालिकाबाट बोलबम काँवरियाहरु बोकेर  बागमती(नुनथर)तर्फ जाँदै गरेको नम्बर नुखलेको ट्याक्टरबाट खसेर  चक्रघट्टा गापा वडा न-६, गोहियाही बस्ने १९ वर्षीय निखिल चौधरीको मृत्यु भएको छ। ट्याक्टरको टेलरबाट इन्जिनमा जाने क्रममा बीचमा लडेेर  गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि हरिवन स्थित एक प्राइभेट  अस्पतालमा  ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

   दुर्घटनापछि चालक ट्याक्टरसहित फरार भएका छन् ।निजको खोजी भइरहेको प्रहरीले बताएको छ।अहिले मृतक चौधरीको शव पोष्टमार्टमका लागि मलंगवा स्थित प्रादेशिक अस्पतालमा राखेको छ । 

  बोलबमको नाममा ओभरलोड  ट्याक्टर,जिप,पिकअप र  मोटरसाइकलहरु आँखै अगाडीबाट गुडिरहेको देख्दादेख्दै पनि  सुरक्षाकर्मीहरु मुकदर्शक बनेका छन् ।

    यसैगरी आजै(शुक्रवार) बरहथवा नगरपालिका वडा न-१०, किसनपुर स्थित भित्रि सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ क ०१९६ नम्बरको टिपरले विपरीत दिशाबाट जाँदै गरेको ना २१ प ७४०१ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक रौतहटको ईशनाथ नगरपालिका वडा न ५ ,लक्ष्मीनियाँ टोल बस्ने २६ वर्षीय  मुकेश साहको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी बिजय यादवले जनाएको छ।

     दुर्घटनामा संलग्न टिपर र चालकलाई इलाका प्रहरी कार्यालय बरहथवाको हिरासतमा राखेर अनुसंधान भइरहेको जिप्रकाले बताएको छ।

करेन्ट लागेर सर्लाहीको पर्सामा एक पुरुषको मृत्यु





लोकतन्त्र समाचारदाता---

सर्लाही,साउन १३

    करेन्ट लागेर सर्लाहीको पर्सा गाउँपालिकामा आज बिहान एक जनाको मृत्यु भएको छ । 

      शुक्रवार बिहान करिब सवा ८ बजेको समयमा आफ्नै घरको हैण्ड पाइपमा जडान गरिएको पानी तान्ने  मोटर चलाउने क्रममा अचानक करेन्ट लागेर  पर्सा गापा वडा न-६ बस्ने ४५ वर्षीय सुवोध झाको मृत्यु भएको हो।

   झाको उपचारको लागि प्रादेशिक अस्पताल मलंगवा ल्याउने क्रममा मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ।



 

आ.व २०७८/०७९ मा २५ हजार भन्दा बढी सवारीसाधनहरु कार्यवाहीमा पर्दा २ करोड भन्दा बढी राजस्व संकलन


 



लोकतन्त्र समाचारदाता---

सर्लाही,साउन १३

    सर्लाही ट्राफिकले आर्थिक वर्ष २०७८/७९ मा ट्राफिक नियम उल्लंघन गरेका २५ हजार १६८ वटा सवारी साधनहरुलाई कारवाही गरि २ करोड १६ लाख ३४ हजार ५ सय रुपैयाँ  राजस्व रकम संकलन गरेको छ।

     ट्राफिकको कार्यवाहीमा सबैभन्दा बढी ८ हजार ६२४ वटा मालवाहक ट्रकहरु परेका छन् ।जस वापत सबैभन्दा बढि १ करोड ४३ हजार राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ। यसैगरी ३२४ वटा यात्रुवाहक बसहरु कार्यवाहीमा पर्दा  २५ हजार ५ सय, ७ हजार २६८ वटा कार, जिप र भ्यानहरु कार्यवाहीमा पर्दा ५३ लाख ८ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको जि.ट्रा.प्रहरी कार्यालयले बताएको छ । 

   त्यसैगरि ९३३ वटा ट्रयाक्टर कार्यवाहीमा पर्दा ६ लाख ४४ हजार ५ सय,साना सवारीहरुमा ७ हजार ७०४ वटा मोटरसाईकलहरु कार्यवाहीमा पर्दा ५१ लाख ९० हजार ५ सय र ३१५ वटा टेम्पोसहित अन्य सवारीहरु कार्यवाहीमा पर्दा १ लाख ९३ हजार रुपैयाँ राजस्व संकलन भएको जि.ट्राफिक प्रहरी कार्यालयले  जानकारी दिएको छ।  

   गत आ.व को तुलनामा यस आ.व मा  ८ लाख ८३ हजार रुपैयाँ बढि राजस्व रकम संकलन भएको ट्राफिक प्रहरीले जनाएको छ। 

   एक बर्षको अवधिमा  जिल्लाभर भएका विभिन्न सवारी दुर्घटनामा परि ७९ जनाले ज्यान गुमाएको ट्राफिक प्रहरीले जनाएको छ।




गरुँगो झोला बोकाएर स्तरीय शिक्षाको नाममा बालबालिकालाई भरिया बनाउँदै निजी विद्यालय



==मानसिक र शारीरिक समस्याको सिकार बन्दै  बालबालिका==


लोकतन्त्र समाचारदाता---

सर्लाही,साउन १३

    यहाँका बोर्डिङ स्कुलहरु साना कलिला बालबालिकाहरलाई गुणस्तरीय शिक्षा दिने नाममा गरुँगो झोला बोकाएर भरिया बनाउने काम गरिरहेको अभिभावकहरुले गुनासो गरेका छन् ।

   बोर्डिङ स्कुलका संचालकहरु आफ्नो विद्यालयले अरु विद्यालयको भन्दा आफ्नो विद्यालयले स्तरीय शिक्षा प्रदान गरेको भन्ने देखाउनकै लागि भएपनि बालबालिकाहरुलाई विद्यालय आउँदा ठुलो साइजको झोला, झोलामा प्रत्येक विषयको दुईदुई वटा काँपी,मोटा मोटा किताब,औजार बक्स,टिफिन र पानीको बोतल अनिवार्य रुपमा लिएर आउनु पर्ने नियम बनाएर बालबालिकालाई सानो उमेर देखि नै भरिया बनाइरहेको बाल अधिकारकर्मीले बताए । स-साना बालबालिकालाई स्तरीय शिक्षाका नाममा धेरै किताब बोकाउने, विद्यालयमा खानेपानीको व्यवस्था नगरी घरैबाट पानी समेत लिएर आउन बाध्य पार्ने प्रवृत्तिले पनि बालबालिकाहरुले बोक्ने झोलाको वजन बढेको बालअधिकारकर्मीले बताए।

    गरुँगो झोलाका कारण बालबालिकामा ढाड, मांसपेसी र नसासम्बन्धी समस्या देखिनुका साथै उनीहरूको वृद्धि र विकासमा समेत प्रतिकूल प्रभाव परेको मलंगवा स्थित स्तुति सौम्या हेल्थ केयर सेन्टरका चितित्सक डा.गुणेश्वर झाले  भने।

    वर्तमान समयमा  निजी विद्यालयहरुमा किताबको संख्या अनुसार विद्यालयको स्तर राम्रो मानिने मानसिकताका कारण धेरै किताब राख्ने चलन बढेको छ । आधारभूत तहका विद्यार्थीलाई समेत १० देखि १२ वटा किताब किन्न बाध्य पार्ने निजी विद्यालयहरुको गलत कार्यलाई निरुत्साहित पार्नुको सट्टा केही सामुदायिक विद्यालयहरुले पनि अँग्रेजी माध्यमबाट पढाउने नाममा विद्यार्थीहरुलाई अतिरिक्त किताब भिडाउन थालेको पाइएको छ।

   अनावश्यक रूपमा धेरै किताबलाई पाठ्यक्रममा समावेश गरि सबै किताब  अनिवार्य रुपमा विद्यालय आउँदा ल्याउनैपर्ने  गलत नियमका कारण साना बालबालिकाहरुको मानसिकतामा नकारात्मक प्रभाव पारेको मलंगवाका एक अभिभावकले बताए ।

  पेज अनुसार बढी मूल्य लिन पछिल्लो समय प्रकाशन गृहहरुले ठुलो साइजको र मोटो किताब छाप्न थालेका छन् । यसले गर्दा पनि बालबालिकाहरुले बोक्ने झोलाको वजन बढाएको छ। प्रकाशन गृह र विद्यालय मिलेर अभिभावक र विद्यार्थीहरुलाई आर्थिक,मानसिक र शारिरिक कष्ट मात्र दिने काम गरेको अभिभावकहरुको भनाइ छ। 

    गाउँघरका बोर्डिङ स्कुलमा पढ्ने बालबालिकाहरु बिहान स्कुल जाँदा र  बेलुका घर फर्कदा गरुँगो झोला बोकेर  सडकमा जसोतसो हिँडिरहेको हरेक दिन देख्न सकिन्छन् भने सहर बजारमा पढ्ने बालबालिकाहरु  ठूला झोला बोकेर स्कुल बसको प्रतीक्षा गरिरहेको भेटिन्छन्।

   यहाँका निजी विद्यालयहरुलाई स्तरीय शिक्षा प्रदान गर्ने नाममा आफुखुसी धेरै किताब  राख्न प्रवृत्ति तुरुन्त बन्द गरि बालबालिकाहरुलाई सानैदेखि भरिया बनाउने काम बन्द गर्न अभिभावकहरुले सुझाव दिएका छन् ।  


Thursday, July 28, 2022

मलंगवा निवासी प्रजातन्त्र सेनानी धिरेन्द्र श्रेष्ठको श्रद्धाञ्जली सभा सम्पन्न

  



लोकतन्त्र समाचारदाता---

सर्लाही,साउन १२

    नेपाली काग्रेस सर्लाही क्षेत्र न-२ को आयोजनामा काँग्रेस नेता एवं  प्रजातन्त्र सेनानी स्वर्गीय धिरेन्द्र श्रेष्ठको श्रद्धाञ्जली मलंगवामा सम्पन्न भएको छ।

    क्षेत्र न-२ का सभापति कौशल किशोर यादवको अध्यक्षता तथा पुर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधीको प्रमुख आतिथ्यतामा मलंगवा नपा वडा न-८ स्थित उधोग वाणिज्य संघको सभा हलमा प्रजातन्त्र सेनानी स्वर्गीय श्रेष्ठ प्रति भावपूर्ण समवेदना अर्पण गरी विधिवत रुपमा श्रद्धाञ्जली सभा सम्पन्न भएको हो।

    कार्यक्रममा प्रमुख अतिथि पुर्व उपप्रधानमन्त्री निधीले श्रेष्ठको  निधनबाट पार्टीले एउटा कुशल नेता गुमाएको बताए।  स्वर्गीय श्रेष्ठले   देखाएको बाटोमा परिवार, समाज र पार्टी हिड्नसके मात्र उहाँप्रति सच्चा श्रद्धाञ्जली अर्पण हुनेछ,उनले भने ।’  स्वर्गीय श्रेष्ठले समाज र पार्टीप्रति गरेको योगदान कहिले भुल्न नसकिने नेता निधीले बताएका छन् ।

     उक्त अवसरमा उपस्थित भएका विशिष्ट अतिथि मधेस प्रदेश मन्त्रीद्वय  रामसरोज यादव, बीरेन्द्र प्रसाद सिंह, पूर्व सांसद जंगीलाल राय, शम्भु लाल श्रेष्ठ, रामचन्द्र चौधरी, पार्टीको पूर्व जिल्ला  सभापती सत्यदेव सिंह, लक्ष्मण राय, महेन्द्र साह, भिखारी मंसुर,जिल्ला सभापति  सुरेन्द्र प्रसाद सिंह,उपसभापति डा.सरोज यादव , सर्लाही जिल्ला स्थित विभिन्न पालिकाका पालिका प्रमुखहरू जवाहरलाल यादव, रूपेश यादव, राजकुमार साह, पूर्व उप सभिपति  विनोद खनाल, जिल्ला सचिवद्वय  मनोज यादव,  निरज कार्की लगायतका अतिथिहरुले स्वर्गीय श्रेष्ठले  पार्टी र देशको लागि गरेको योगदान, उहाँको व्यक्तित्व,प्रजातन्त्र प्राप्तिको लागि पार्टीका बरिस्ठ नेताहरुको साथमा बिताउनु भएको जेल जीवन लगायतको बारेमा चर्चा गरिएको थियो। 

    सभाको आयोजकले कार्यक्रममा विशेष रुपमा उपस्थित भएका  स्वतन्त्रता सेनानी श्रेष्ठको शोकाकुल परिवारलाई  धैर्य धारण गर्न सान्त्वना दिंदै उहाँको  जेष्ठ पुत्र सुनिल श्रेष्ठलाई प्रमुख अतिथिको हातबाट समवेदना पत्र हस्तान्तर समेत गरेको छ।

   स्वर्गीय श्रेष्ठ जिल्लाको सदरमुकाम मलंगवा नपा वडा न-२ को स्थायी बासिन्दा हुनुहुन्थ्यो ।

वैवाहिक अंगकृत नागरिकताको सवालमा संविधानमा पहिलेदेखि जे व्यवस्था छ, त्यही अनुसार हुनुपर्छ:नेपाली काँग्रेस नेता विमलेन्द्र निधी

 




मनोज यादव---

सर्लाही,साउन १२

     नेपाली कांग्रेसका पूर्व उपसभापती एवं पुर्व उपप्रधानमन्त्री बिमलेन्द्र निधीले  संसदबाट बहुमतले पास भएको नागरिकता विधेयकको स्वागत गर्दै यसलाई साम्प्रदायिक रुप दिएर राजनीतिक नगर्न आग्रह गर्नु भएको छ।सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न-२ निवासी  काँग्रेस नेता धिरेन्द्र श्रेष्ठको श्रद्धाञ्जली सभामा सहभागि हुन भनि बिहिवार सर्लाही आउनु भएका नेता निधी नेपाल प्रेस युनियनले हरिवनमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै यस्तो आग्रह गर्नु भएको हो।

   केही राजनीतिक दलले  नागरिकताको कुरा आउने बित्तिकै राष्ट्रियताको कुरा उठाएर यस विषयलाई साम्प्रदायिक रुप दिने गरेको  भन्दै आक्राेश समेत पोख्नु भएको छ। नेपालमा जन्मेका सन्तानहरुले   जन्मको आधारमा वर्षौदेखि नागरिकता पाइराखेको छैन् । त्यसैले  सरकारले प्रस्तुत गरेको नागरिकता विधेयक पारित गरि उनीहरूलाई पनि जन्मको आधारमा नागरिकता दिनुपर्छ ,उहाँले भन्नु भयो।

     पत्रकार सम्मलेनमा नेता निधिले नागरिकता विधेयक दुबै सदनबाट बहुमतले पास गर्नु पर्ने बताउनु भयो ।

सम्भवतः राष्ट्रिय सभाले पनि यसलाई  बहुमतले पारित गर्ने नै छ उनले भने ।

    बुधवार मात्रै गृहमन्त्री बालकृष्ण खाँणसंँग यस विषयमा आफुले कुरा गरेको र उहाँले पूरानो विधेयक फिर्ता लिएर नयाँ विधेयक प्रस्तुत गर्नु भएको कार्य आफुलाई स्वागत योग्य लागेकोले   मैले उहाँलाई  धन्यवाद समेत दिएको नेता निधिले पत्रकारहरुलाई जानकारी गराउनुभयो।

    वैवाहिक अंगकृतको सवालमा संविधानमा पहिलेदेखि जे व्यवस्था छ, त्यही अनुसार हुनुपर्छ । त्यो संशोधन गर्नु जरुरी छैन् । त्यसमा कुनै म्याद वा सर्त पनि राख्नु हुँदैन  । कृष्ण प्रसाद भट्टराई र मनमोहन अधिकारीको पालादेखिको संविधानदेखि लिएर आज सम्मको संविधानमा जे जस्तो व्यवस्था छ, त्यही अनुसार वैवाहिक अंगकृत नागरिकताको कुरालाई यथावत राख्नु पर्छ,´उहाले भन्नुभयो।

एक हातमा सिन्दुर र एक हातमा नागरिकता दिनु भनेको मुर्खता हो । यस विषयमा बहस गर्न आफू तयार नेता निधिले पत्रकार सम्मेलन मार्फत बताउनुभयो  ।

    अगामी मंसिरको पहिलो हप्तामा प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव हुने लगभग पक्का भइसकेकोले जसरी   स्थानिय तहको चुनावमा काँग्रेसले बहुमत ल्याएको थियो त्यसरी नै  प्रतिनिधि  र प्रदेश सभाको चुनावमा पनि बहुमत ल्याउने दाबी गर्दै बताउनुभयो ।

   पत्रकार सम्मेलनमा पार्टीका जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंह,उपसभापति डा.सरोज यादव लगायत पार्टीका नेता तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो।

नयाँ प्रमुख आएपछि धारासायी बनिसकेको मलंगवा स्थित भेटेनरी अस्पतालको अवस्थामा सुधार



*प्रजिअ द्वारा कामको प्रसंसा *


मनोज यादव---

सर्लाही,साउन १२

    पशुपंछी तथा मत्स्य विकास निर्देशनालय जनकपुरधामका निर्देशक जागेश्वर यादवलाई भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मलंगवाले कार्यालयमा स्वागत गर्दै सम्मान गरेको छ।

     निर्देशनालयका निर्देशक यादवलाई १० औं  तहबाट ११ औं तहमा बढुवा भएको भन्दै आज(बिहिवार)दिउँसो  केन्द्रको मलंगवा नगरपालिका वडा न-१० स्थित कार्यालयमा एक कार्यक्रमको आयोजना गरि प्रमुख अतिथि सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमबाट प्रसंसा  पत्र प्रदान गरि सम्मानित गरिएको हो। सोही कार्यक्रम मार्फत उक्त कार्यालयमा कार्यरत ११ जना कर्मचारीहरुलाई पनि प्रसंसा पत्र प्रदान गरि सम्मानित गरिएको छ। यसअघि लथालिङ्ग अवस्थामा रहेको भेटेनरी कार्यालयमा गत बैशाखको अन्तिम सातादेखि हालको साउन मसान्तसम्म मात्र  दुई महिनाको अवधीमा दिनरात खटेर  कार्यालयको अवस्थामा सुधार ल्याइ  सम्पूर्ण काम कार्यवाहीहरु  व्यवस्थित रुपमा संचालन गरेको र  यस काममा कर्मचारीहरुले पनि  आफुलाई साथ दिएकोले उहाँहरुको कामको कदर गर्दै धन्यवादसहित प्रसंसा पत्र प्रदान गरिएको कार्यालय प्रमुख एवं बरिस्ठ पशु  विकास अधिकृत शंकर साहले बताउनुभयो ।

   यसअघि जेजस्तो भएपनि ती सब कुराहरुलाई बिर्सेर अब नयाँ उमंग र जोशका साथ काम कार्वाहीहरु अगाडी बढाउँदै लाने साथै यस कार्यालयबाट प्रदान गरिने सबैखाले सेवा सुविधाहरु  सहज रुपमा सेवाग्राहीलाई उपलब्ध गराउने प्रमुख साहले बताए।

    प्रमुख अतिथिको आसनबाट बोल्नु हुँदै प्रजिअ गौतमले कर्मचारीहरुले गरेको असल कामको प्रसंसा र कदर गर्नु कार्यालयको एउटा राम्रो पक्षको रुपमा रहेको र सोही अनुसार यस कार्यालयले आफ्ना कर्मचारीहरुको कामको कदर गर्दै सम्मानित गरेकोमा आफुलाई अतिनै खुसी लागेको बताउनु भयो। छोटो अवधीमै यस कार्यालयको अवस्थामा सुधार ल्याएर प्रशंसनीय काम गरेको भन्देै प्रजिअ गौतमले  कार्यालय प्रमुख साहसहित सम्पूर्ण कर्मचारीहरुलाई यसै कार्यक्रम मार्फत धन्यवाद समेत दिए। 

    कार्यक्रममा विशिष्ठ अतिथि भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मधेश प्रदेशका प.वि.अ उपेन्द्र कुमार सिंह लगायत भेटेनरी कार्यालयका कर्मचारी तथा पत्रकारहरुको उपस्थिति रहेको थियो।

Wednesday, July 27, 2022

चन्द्रनगर गाउपालिकाको सबै वडामा पलस टू क्याम्पसको स्थापना हुने–गापाअध्यक्ष महतो

 

 बखतियार अलि----

सर्लाही ११ श्रावन ।

सर्लाहीको चन्द्रनगर गाउपालिकाका सबै वडाहरुमा पलस टू क्याम्पस स्थापना गर्ने गाउपालिका अध्यक्ष राजकुमार महतोले एक कार्यक्रममा बताउनु भएको छ ।

     सबै वडामा १२ कलास सम्म पढाई हुने क्याम्पस निर्माण भएपछि स्नातक र स्नाकोतर सम्मको समेत पढाई हुने क्याम्पस पनि चन्द्रनगरमा संचालन गर्ने हाम्रो योजना रहेको वहाले बताउनु भएको हो । चन्द्रनगर गाउपालिका वार्ड नं. ५ मोहनपुरमा रहेको श्री अरनिको जनता आधारभुत बिधालयमा स्थानीय जनताहरु संग भएको छलफलमा गा.पा. अध्यक्ष महतोले भने ५ वर्षको मेरो कार्यकालमा यस चन्द्रनगर गाउपालिकालाई शिक्षाको हब बनाउने मेरो लक्ष्य रहेको बताउनु भयो । यस पालिकाका गरिब जेहेन्दार बिधार्थीहरुलाई अहिले दुख गरेर अन्त्यै गएर उच्च शिक्षा आर्जन गर्नुपर्ने बाध्यता रहेको छ । आउने समयमा यो पालिकामा रहेका बिधार्थीहरुलाई उच्च शिक्षा आर्जन गर्न सर्वसुलभ पायक पर्ने आफनै गाउटोलमा सबै खाले शिक्षा पाउन भनेर पलस टू क्याम्पस वडा पिच्छै निर्माण गर्ने मेरो लक्ष्य रहेको चन्द्रनगर गाउपालिकाका अध्यक्ष महतोले बताउनु भयो । 

   चन्द्रनगर गाउपालिका वार्ड नं. ५ मोहनपुरमा भएको शिक्षा विकास सम्बन्धी छलफलमा गाउपालिकाका शिक्षित, बुद्धिजिवी र नागरिक समाजका अगुवाहरुले पालिका अध्यक्ष महतोको राम्रो बिचारलाई सबैले सराहना गरेको थियो । स्थानीय जनताहरु पनि शिक्षाको बिकासका लागि सबै खाले सहयोग गर्न चन्द्रनगर गाउपालिकाका जनता तयार रहेको बताएका थिए ।

बाबुराम भट्टराईको नयाँ पार्टीको कार्यकारी अध्यक्षमा महिन्द्र राय यादव रहने

 




लोकतन्त्र समाचारदाता---

सर्लाही,साउन ११

   पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले खोल्ने नयाँ दल नेपाल समाजवादी पार्टीमा दुई अध्यक्ष रहने भएका छन् ।

   भट्टराई भने नयाँ बन्ने पार्टीमा पनि संघीय परिषद् अध्यक्षको भूमिका नै रहने भएका छन् । अब बन्ने पार्टीमा दुई अध्यक्ष राख्ने तयारी भएको छ ।

     जसको कार्यकारी अध्यक्षमा भने महिन्द्र राय यादव रहने जनाईएको छ । त्यस्तै, अर्को अध्यक्षमा गंगा श्रेष्ठ रहनेछन् । यसअघि नयाँ दलमा तीन अध्यक्ष रहने जनाईएको थियो ।

महिन्द्र राय यादवले भने जसपामा उपेन्द्र यादवलाई छोडेर बाबुरामलाई साथ दिएका थिए । पार्टीको नाम जुर्नुअघि नै यादव अध्यक्ष बन्ने चर्चा थियो ।

Monday, July 25, 2022

दाइजोका कारण सर्लाहीमा एक विवाहिताको हत्या

 

 ---श्रीमान,देवर र ससुरा पक्राउ---

लोकतन्त्र समाचारदाता---

सर्लाही,साउन ९

     दाइजो नल्याएको निहुँमा सर्लाहीमा एक महिलाको आफ्नै श्रीमान,ससुरा र देवर मिलेर हत्या गरेको छ।

     प्रहरीले नेपाल-भारत सिमा नजिक पर्ने  जिल्लाको पर्सा गाउँपालिका वडा न-१ शितलपुर निवासी बालदत्त भन्ने रमजेश कुमार रायले, बुवा राम प्रताप राय र भाइ राजु यादवसँग मिलेर श्रीमती २० वर्षीया निशा यादवको हत्या गरेको  आरोपमा पक्राउ गरेको छ।मृतक निशाको शव हत्या भएको ४८ दिनपछि आफ्नो घर देखि करिव ४ कि.मि.पूर्व उत्तर तर्फ रहेको आफ्नै खेतमा खाल्डो खनी गाडिएको  अवस्थामा फेला परेको थियो।

    महोत्तरी जिल्लाको सोनमा गाउँपालिका वडा नं. ६ मगरथाना बस्ने निशाको वुवा कैलाश रायले गत जेठ २३ गते आफ्नै(श्रीमानको)घरबाट छोरी हराएकोले खोजतलास गरिदिन भनि प्रहरीलाई दिएको निवेदनको  भोली पल्ट निशाका ससुरा राम प्रतापले पनि बुहारी हराएको भनी निवेदन दिएका थिए ।

     सोही निवेदको अधारमा प्रविधियूक्त बिश्लेषण गर्ने क्रममा निशा यादवको घर परिवारको सदस्यहरु उपर शंका लागि श्रीमान  रमजेश , ससुरा राम प्रताप र देवर राजु सँग घटनाको सम्बन्धमा वास्तविकता बुझ्ने क्रममा उनीहरूले  निशाको हत्या गरेको स्विाकारेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी बिजय यादवले जानकारी दिए ।

   मृतक निशाको बुवा कैलाशका अनुसार आफ्नी २० वर्षीया छोरी निशा र २५ वर्षीय रमजेशको हिन्दु रितिरिवाज अनुसार मागी विवाह भएको थियो । विवाहको केही महिना नबित्दै  दाइजो नल्याएको निहुँमा पटक पटक मानसिक तथा शाररीक यातना दिंदै आएको उनले बताए ।

   निशा मृत्यु हुनु भन्दा केहि दिन अगाडी माइतीघर मगरथाना आएकी थिइन । छोरीलाई केहि दिन माइतीमै बस्न दिनुस् भनि ज्वाईंसँग आग्रह गर्दा नपठाए अर्को विवाह गर्छु भनी धम्काएर आफुसँगै लगेको बुवा कैलाशले बताए ।

   निशाको हत्याको आरोपमा पक्राउ परेका ज्वाँइ,निजको बुवा र भाइनै दोषी रहेको दाबी गर्दै उनीहरूलाई हदैसम्मको कार्यवाही गर्न बुवा कैलाशले प्रहरीसँग आग्रह गरेको छ।

    

Sunday, July 24, 2022

चुनावको बेला पार्टीसँग अन्तरघात गर्ने ब्यक्तिहरुलाई कार्यवाही गरि निलम्बन गर्ने अधिकार जिल्ला कार्यसमितिको प्रमुखको रहेको छ: नेपाली काँग्रेस केन्द्रीय उपसभापति पुर्ण बहादुर खडका

 



मनोज यादव---

सर्लाही,साउन ८

   सर्लाहीको हरिवनमा नेपाली काँग्रेसको अगुवा कार्यकर्ता भेला तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ।   नेपाली काँग्रेस जिल्ला कार्यसमिति सर्लाहीको आयोजना तथा जिल्ला सभापति सुरेन्द्र सिंहको अध्यक्षतामा  अगुवा कार्यकर्ता भेला तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।

    हरिवन स्थित सगुन सहकारी संस्थाको सभाहलमा आयोजना भएको कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नेपाली काँग्रेसका केन्द्रीय उपसभापति एवं पुर्व गृहमन्त्री पुर्ण बहादर खडकाले निर्वाचनको समयमा पार्टीसँग अन्तरघात गर्ने व्यक्तिलाई काँग्रेसको १४ औं महाधिवेशन पछि बनेको पार्टीको विधान अनुसार अनुशासन कमिटी गठन गरेर कार्यवाही गर्ने अधिकार जिल्ला कार्यसमितिलाई दिएको बताउनुहुँदै त्यस्ता अन्तरघाती ब्यक्तिलाई जिल्ला कार्यसमितिको प्रमुखले  पार्टीबाट निलम्बन गर्न सक्ने सुझाव दिनुभयो।


   उहाँले  काँग्रेसलाई सबल, सक्षम र गतिशील पार्टी बनाउन सबै तहका समितिहरू सक्रिय हुनुपर्ने बताउनुभयो। उपसभापति खडकाले जसरी स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसले सफलता पायो त्यसरी नै संघीय र प्रदेशको निर्वाचनमा पार्टीलाई जिताएर पहिलो पार्टी बनाउनु सबैको मुख्य ध्येय रहेको बताउनुभयो।

    सोही कार्यक्रमको अवसरमा पार्टीका जिल्ला सभापति सिंह र  उपसभापति डा.सरोज यादवले जिल्ला कार्यसमितिको तर्फबाट प्रमुख अतिथि  पार्टीका केन्द्रीय सभापति एवं  पुर्व गृहमन्त्री खडकालाई उपहार स्वरूप  समायाको चिनो प्रदान गरि सम्मानित गरेका थिए।

      विशिष्ठ अतिथि नेपाली काँग्रेस मधेश प्रदेशका सभापति कृष्णा यादव,जिल्ला सचिव निरज कार्की,मधेश प्रदेश सदस्य सोनी बम्जन लगायत नेपाली काँग्रेसका विभिन्न तहमा रहेका पदाधिकारी, भातृ तथा सुभेच्छुक सघंसंस्थाका प्रतिनिधि र काँग्रेसजनहरुको उपस्थितिमा आयोजना भएको उक्त कार्यक्रममा स्थानीय तहको निर्वाचनमा भएका कमिकमजोरीहरुको समीक्षा गरि संघ तथा प्रदेशको चुनावमा काँग्रेसलाई देशकै पहिलो पार्टीको रुपमा स्थापित गर्न केकस्ता रणनीतिहरु अपनाउन सकिन्छ भन्ने विषयमा छलफल गरिएको जि.का.समिति सर्लाहीले जनाएको छ।

     

लालबन्दीबाट तास र नगदसहित ५ जना जुवाडे पक्राउ


प्रतीक फोंटो



लोकतन्त्र समाचारदाता---

सर्लाही,साउन ८

     सर्लाहीको लालबन्दी  नगरपालिका वडा न-९ बस्तीपुरबाट पाँचजना जुवाडेहरु पक्राउ परेका छन्। स्थानीय संतोष चौलागाईंको घरबाट सनिवार साँझ साढे ४ बजे तास खेलिरहेको अवस्थामा  नगद सहित ५ जना जुवाडेहरु पक्राउ गरिएको प्रहरीले जनाएको छ।

  पक्राउ पर्नेहरुमा  लालबन्दी नपा-१० बस्ने दुर्गा प्रसाद खतिवडाको छोरा ३३ वर्षीय सुमन खरिवडा,सोही पालिकाको वडा न-९ बस्ने खड्गा बहादुर रास्कोटीको छोरा ४५ वर्षीय दिपक रास्कोटी,वडा न-६ बस्ने कृष्ण बहादुर पुलामी मगरको छोरा ३८ वर्षीय अम्भर पुलामी मगर,वडा न-११ बस्ने बिजय मण्डलको छोरा २८ वर्षीय  सुनिल मण्डल र सोही नपाको वडा न-१० बस्ने पुर्ण बहादुर फुयाँलको छोरा ३३ वर्षीय अर्जुन फुयाँल रहेका छन्।

    उनीहरूलाई तीन बुक तास र नगद १८ हजार ६०    रुपैयाँसहित पक्राउ गरि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

नेपाली नक्कली नोट सहित एक भारतीय नागरिक पक्राउ




लोकतन्त्र समाचारदाता--

सर्लाही,साउन ८

    प्रहरीले सर्लाहीको हरिवनबाट एकजना भारतीय नागरिकलाई नक्कली नेपाली नोटसहित पक्राउ गरेको छ।पक्राउ पर्नेमा भारतको सितामढी जिल्ला सोनवर्षा थाना,फरछइयाँ वडा न-९ बस्ने मखन पासवानको छोरा अन्दाजी वर्ष ४० को लालमोहन पासवान रहेको छ।

    पासवानलाई इलाका प्रहरी कायर्यालय हरिवनबाट खटिगएको प्रहरी टोलीले सनिवार राति करिब सवा ८ बजेको समयमा हरिवन नपा वडा न-११ स्थित कार्की पुस्तक पसल नजिकबाट पक्राउ गरेको हो। उनको साथबाट १ हजारको दरले ५० थान  नक्कली नेपाली नोट(जम्मा ५० हजार) बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी बिजय यादवले बताए।

   पासवानलाई इप्रका हरिवनको हिरासतमा राखेर थप अनुसंधान भइरहेको प्रहरीले जनाएको छ।

 

मलंगवामा सम्पन्न तराई समर विक फैसन प्रतियोगिताको उपाधी सुजित पटेल र श्रेया झाले जिते

 




मनोज यादव----

सर्लाही,साउन ८

     मधेश प्रदेश अन्तर्गत सर्लाहीको सदरमुकाम मलंगवामा ब्राइट इभेन्ट मेनेजमेन्टको प्रस्तुतिमा आयोजित  तराई समर विक फैसन प्रतियोगितामा बेस्ट मोडलको उपाधी पुरुषतर्फ सुजित पटेल र महिलातर्फ श्रेया झाले  जितेका छन् ।

    मलंगवा नगरपालिका-८ स्थित कुशुम पार्टी पैलेसमा सम्पन्न भएको प्रतियोगिताको फाइनलमा सर्लाही जिल्ला लगायत  जिल्ला बाहिर बिरगंज र जनकपुरबाट भाग लिइ फाइनल प्रतिस्पर्धाको लागि छनौट भएका १४ जना फाइनालिस्टहरु मध्येबाट सुरज कुशवाहा र बुनु श्राफले      दोस्रो तथा  मनिष पासवान र स्वेता गुप्ताले  तेस्रो स्थान जित्न सफल भएका छन् ।प्रतियोगितामा सहभागी भएका अन्य प्रतिस्पर्धीहरुलाई पनि विभिन्न विद्याको पुरस्कारबाट सम्मानित गरिएको थियो।

      तराई मधेशका किशोर किशोरी तथा युवा युवतीहरुले आफु भित्र लुकाएर राखेको अन्तरनिहित प्रतिभालाई उजागर गरि समाजमा फैसनको क्षेत्रलाई छुट्टै पहिचान दिलाउने उदेश्यले यो प्रतियोगिताको आयोजना गरेको आयोजक संस्थाका व्यवस्थापक नितेश पटेलले बताए ।तराई मधेशका किशोर,किशोरी तथा युवा युवतीहरु आफु भित्र क्षमता भएर पनि सधैँ पछि परेका छन् ।उनीहरु समाजको डरले आफूलाई एक्सपोज गर्न सकिरहेका छैनन् ।उनीहरूलाई नै लक्षित गर्दै उनीहरूको क्षमतालाई अभिवृद्धि गरी समाजमा सकारात्मक सन्देश फैलाउने उद्देश्यले यस प्रतियोगिताको आयोजना गरिएको व्यवस्थापक पटेले बताए ।

    प्रतिस्पर्धीहरुको जजमेन्ट  मोडल, एक्टर आरसु महर्जन र अरुण कान्त यादवले गरेका थिए।

    कार्यक्रमको संचालन समेत गरेका मिस्टर मोडल अफ द वर्ल्ड 2018 का विजेता  दिक्पाल कार्कीले  ड्रेस अप सेन्स,डिसिप्लिन,वाक,व्यक्तित्व विकास,कन्फिडेन्स बिल्डअप,मेकअप, फेस स्प्रेसन लगायतका बारेमा प्रशिक्षण दिएको आयोजक संस्थाका सिइओ राजन बुढाथोकीले जानकारी दिए।



Saturday, July 23, 2022

सिलिङ्ग पंखामा झुण्डिएर एक महिलाको मृत्यु

 



लोकतन्त्र समाचारदाता---

सर्लाही,साउन ७

    सर्लाहीको लालबन्दी नगरपालिका वडा न-२ स्थित नयाँ बस्तीमा बिहिवार  झुण्डिएर एक महिलाको  मृत्यु भएको छ।

    स्थानीय चुनचुन ठाकुरकी श्रीमती  अन्दाजी २०-२२ वर्षीया रमिता ठाकुरको बिहिवार साँझ ४ बजे आफ्नै घरको सिलिङ्ग पंखामा साडीको पासो लगाएर मृत्यु भएको प्रहरीले बताएको छ।

    नयाँ बस्तीमा एक महिलाको झुण्डिएर मृत्यु भएको भन्ने जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिगएका प्रहरी टोलीले घटना स्थलको मुचुल्का उठाइ महिलाको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल मलंगवा पठाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले  जनाएको छ।

विष्णु गाउँपालिकामा लागुऔषधको रुपमा प्रयोग हुने खैरो हिरोईनसहित एक युवक पक्राउ

 




लोकतन्त्र समाचारदाता---

सर्लाही,साउन ७

     सशस्त्र प्रहरीले नेपाल-भारत सीमा अन्तर्गत सर्लाहीको विष्णु गाउँपालिका वडा न-१ स्थित बाराउधोरण गाउँबाट   लागूऔषधको रुपमा प्रयोग हुने खैरो हिरोईनसहित एक युवकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा जिल्लाकै बागमती  नगरपालिका वडा न-१० का २३ वर्षीय सुमन विक रहेको प्रहरीले जनाएको छ।

       बिकलाई बुधबार राति साढे ११ बजेको समयमा भारतको मेजरगंजतर्फबाट  प्रदेश २-०३-००६ प ३७५१ नम्बरको मोटरसाइकलमा नेपाल(सर्लाही)को बाराउद्योरण गाउँतर्फ आउँदै गरेको अवस्थामा बोडर्र आउट पोष्ट बाराबाट खटिएका सशस्त्र प्रहरीको टोलीले रोकेर खानतलासी गर्दा निजको साथबाट ५ ग्राम २ सय ७० मिलिग्राम खैरो हिरोईनसहित स्रोत नखुलेको १७ लाख ८२ हजार ५ सय रुपैयाँ र ३ थान मोबाइल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी बिजय यादवले बताए।

  सशस्त्र प्रहरीले पक्राउ परेका विकलाई लागुऔषध र निजले प्रयोग गरेको मोटरसाइकल सहित थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा बुझाइएको छ भने श्रोत नखुलेको रकम भन्सार कार्यालय मलंगवामा बुझाएको प्रहरीले जनाएको छ ।

   त्यस्तै बिहिवार प्रहरीले जिल्लाको चन्द्रनगर गाउँपालिका वडा न-२ बबरगंजबाट स्थानीय ५३ वर्षीय तुलसी साहलाई लागुऔषध गाँजासहित पक्राउ गरेको छ।

     बबरगंज स्थित निजको घरमा लागुऔषध गाँजाको किनबेच भइरहेको छ भन्ने प्राप्त सूचनाको आधारमा गएका प्रहरी टोलीले साहको घरको खानतलासी गर्दा प्लास्टिकको बाल्टिनमा लुकाइछिपाई राखेको २२ पुरिया(७० ग्राम) गाँजा बरामद गरि निजलाई बरामद गाँजासहित पक्राउ गरेको प्रहरीले जनाएको छ।

    साउन महिनामा  भोलेबाबाको परसादको रुपमा गाँजा र भाँगको बढी प्रयोग हुने भएकोले गाउँगाउँमा  लुकाइछिपाइ यसको कारोबार हुने गरेको छ।गाउँघरमा संचालित साना,ठुला पसलहरुमा मात्र नभइ घरघरबाट यसको बिक्रीवितरण हुने गरेकोले प्रहरीले यसप्रति सुक्ष्म रुपमा निगरानी बढाउनुपर्ने स्थानीय बुद्धिजीवीहरुले सुझाव दिएका छन् ।





सर्लाहीको पर्साबाट श्रीमतीको हत्या आरोपमा श्रीमानसहित ३ जना पक्राउ



===हत्या गरेको डेढ महिनापछि खेतमा गाडेको अवस्थामा शव बरामद===

लोकतन्त्र समाचारदाता---

सर्लाही,साउन ७

   डेढ महिनाअघि (४८ दिन) सर्लाहीको पर्सा गाउँपालिका  वडा न-१  की २० वर्षीया निशा यादवको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले निशाका पतिसहित ३ जनालाई पक्राउ गरेको छ ।

   जिल्ला प्रहरी कार्यालयले गत जेठ २२ गते राति १० बजेदेखि नै निशाको हत्या गरि फरार रहेका आरोपीहरु मृतकका पति बालदत्त भन्ने रमजेश कुमार राय,ससुरा राम प्रताप राय र देवर राजु यादवलाई पक्राउ गरी शुक्रवार सार्वजनिक गरेको छ।

    मृतकका पिता कैलाश रायले आफ्नै घरबाट छोरी हराइ बेपत्ता भएकोले निजको खोजतलास गरिदिन भनि जेठ २४ गते दिएको निवेदनको आधारमा  हुलिया परिपत्र गरि खोजतलास तथा अनुसंधान गर्दै जाँदा शंकाको आधारमा पतिसहित ससुरा राम प्रताप र देवर राजुसँग सोधपुछ गर्दा निजहरुले  निशाको हत्यागरि आफ्नै घरदेखि करिब ४ किलोमिटर पुर्व उत्तरतर्फ रहेको आफ्नै खेतमा खाल्टो खनी लास गाडेको भनि दिएको बयानको आधारमा हिजो (शुक्रवार) बिहान ९ बजेको समयमा प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम,एसपी प्रविण पोखरेलसहितको अनुसंधान टोली आरोपीहरुले बताएको स्थानमा गइ खनेर हेर्दा जलेको अवस्थामा जुटको बोरा,पराल,रातो रंगको साडी तथा सडेगलेको अवस्थामा निशाको शव फेलापरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका  प्रहरी प्रवक्ता एवं डिएसपी बिजय यादवले बताए ।

  पक्राउ परेका तिनैजनालाई कर्तव्य ज्यान मुद्दामा अनुसंधान गर्न जिप्रकाको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

Friday, July 22, 2022

बरहथवा नगरपालिकाका महिला जनप्रतिनिधिको लागि संचालित दोस्रो मोड्युलको प्रारम्भिक प्रशिक्षण सम्पन्न





लोकतन्त्र समाचारदाता---

सर्लाही,साउन ६

    आइ.एफ.इ.एस तथा अस्ट्रेलियन सरकारको प्राविधिक तथा स्विस सरकारको आर्थिक सहयोगमा शि लिड्स महिला नेतृत्व कार्यक्रम अन्तर्गत माण्डवी सर्लाहीद्वारा संचालित  ४ दिवसीय नव निर्वाचित महिला जनप्रतिनिधिहरुको लागि दोस्रो मोड्युल अन्तर्गत प्रारम्भिक प्रशिक्षण कार्यक्रम सर्लाहीको बरहथवामा शुक्रवार सम्पन्न भएको छ। 

    बरहथवा नगरपालिकाका महिला जनप्रतिनिधिहरुलाई सहभागी गराइ  गत मंगलबार ३ गतेदेखि ६ गते शुक्रवारसम्म संचालन भएको प्रशिक्षण  कार्यक्रममा सहभागी महिला जनप्रतिनिधिहरुलाई  उनीहरूले निभाउनु पर्ने भूमिका, अधिकार र कर्तव्यको बारेमा जानकारी गराइएको थियो। सहभागीहरुलाई प्रशिक्षकद्वय बनिता कार्की र समीर कुमार यादवले स्थानीय सरकारमा प्रभावकारी ढंगले निर्वाह गर्न आवश्यक पर्ने सीप र ज्ञान, राजनीतिक संवादमा सहभागी हुनको लागि आत्मबल बढाउने, लैंगिक समानता प्रवर्द्धन  तथा आफ्नो समुदायका बालिका तथा महिलाहरुका लागि प्रेरणा श्रोतको रुपमा काम गर्ने,लैंगिक समानतालाई संरक्षण गर्नका लागि सहभागीहरुका समुदायमा पुरुष सहयोगीहरुको निर्माण गर्ने तथा  निर्वाचित महिला जनप्रतिनिधिहरुले एकआपसमा अनुभवको आदानप्रदान र सहयोग गर्नका लागि संजालको निर्माण गर्ने लगायतका विषयमा प्रशिक्षण दिएका थिए।

    माण्डवीका कार्यक्रम अधिकृत मनिल श्रेष्ठको अध्यक्षतामा आयोजित प्रशिक्षण कार्यक्रमको समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगरप्रमुख कल्पना कटुवालले यस किसिमको तालिम निकै फलदायी रहेको उल्लेख गर्नुहँदै तालिम प्राप्त गर्नु पुर्व  एउटा निर्वाचित जनप्रतिनिधिको रुपमा गर्नुपर्ने कार्य तथा जिम्मेवारीको बारेमा कुनै जानकारी नभएको तर तालिम लिइसके पश्चात् उनीहरूलाई  धेरै कुराको ज्ञान भएको बताउनुभयो ।उहाँले अब तालिम पाइसकेका महिला जनप्रतिनिधिमा वडामा संचालन भइरहेका र भइसकेका विकास योजना तथा कामको अनुगमन,नियमन,प्रमाणिकरण र सिफारिस लगायतका कामहरु गर्न सक्ने क्षमताको  विकास भएको बताउनुभयो ।

   यस किसिमको प्रशिक्षण सर्लाहीको ५ वटा स्थानीय तहका महिला जनप्रतिनिधिहरुलाई दिइएको कार्यक्रम अधिकृत श्रेष्ठको जानकारी दिए। 

   बरहथवा स्थित होटल अन्नपुर्णमा आयोजना भएको चार दिने प्रशिक्षण कार्यक्रममा १७ जना महिला जनप्रतिनिधिहरुको सहभागीता रहेको थियो। उक्त कार्यक्रम मार्फत सहभागीहरुलाई महिलाको हक अधिकार र नियम कानुन बारे प्रशिक्षित गराइएको थियो।

महामानव विपी कोइरालाले देश र देशबासीहरुको लागि गरेको योगदानको स्मरण गर्दै इश्वरपुरमा वृक्षरोपण गरियो




मनोज यादव---

सर्लाही,साउन ६

     प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ४० औँ स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।सोही अवसरमा नेपाली काँग्रेस जिल्ला कार्यसमिति सर्लाहीले पनि  जिल्लाको इश्वरपुर नगरपालिकामा विभिन्न कार्यक्रमको आयोजना गरि ४० औं विपी स्मृति दिवस मनाइएको छ।

    आज(शुक्रबार)बिहान नेपाली काँग्रेस जिल्ला कार्यसमिति सर्लाहीका कार्यवाहक सभापति डा.सरोज कुमार यादवको अध्यक्षतामा अन्तरक्रिया कार्यक्रमको आयोजना गरि महामानव विपीको योगदान र उनले अपनाएको मेलमिलापको नीतिको विषयमा चर्चा गरिएको छ।

    नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष  गर्नुभएका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो । उनले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्याएका छन् । कोइरालाको जन्म १९७१ भदौ २४ गते भएको हो । विसं २०१५ को संसदीय निर्वाचनपछि २०१६ जेठमा उनी पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए ।

     नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृतिहरु प्रकाशित छन् । उनका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाइ’, एवं ‘बाबु, आमा र छोरा’ ६ वटा उपन्यासहरु प्रकाशित भएका छन् । त्यसैगरी दुईवटा कथा संग्रहहरु ‘श्वेत भैरवी’ र ‘दोषी चश्मा’, हरिप्रसाद शर्माको सम्पादनमा ‘विश्वेश्वरप्रसाद कोइरालाका कथा र कविता’हरु प्रकाशित छन् । वरिष्ठ अधिवक्ता गणेशराज शर्मासँगको वार्तामा आधारित ‘आत्मवृत्तान्त’, सुन्दरीजल बन्दीगृहमा बस्दाको दैनिकीमा आधारित ‘जेल जर्नल’, विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिई स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै सुन्दरीजल बन्दीगृहमा लगिएपछि लेखिएको दैनिकी ‘फेरि सुन्दरीजल’ ले नेपालको तत्कालीन राजनीतिक अवस्थाको यथार्थ चित्रण गरेको छ ।

    जीवनको लामो समयसम्म कांग्रेसको नेतृत्व गरी विसं २०१५ को आमनिर्वाचनमा पार्टीले दुई तिहाइ बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरे । प्रधानमन्त्रीत्वकालमा उनले बिर्ता उन्मूलन र ‘जग्गा जोत्नेको हुनुपर्छ’ भन्ने भूमिसुधार कार्यक्रम अगाडि बढाएका थिए ।

    विसं २०१७ पुस १ गते शाही नेपाली सेनाको शक्तिका भरमा जननिर्वाचित सरकार अपदस्थ गरिएपछि कोइरालालगायत नेतालाई सिंहदरबारमा बन्दी बनाइएको थियो । एक महिनापछि सेनाको सुन्दरीजल आर्सनलका प्रमुखको सरकारी निवासलाई वरिपरि पर्खालले घेरेर नेता कोइराला, संसद्का प्रथम सभामुख कृष्णप्रसाद भट्टराई, नेता गणेशमान सिंहलगायत मन्त्रीलाई सुन्दरीजल बन्दीगृहमा बन्दी बनाइएको थियो ।

विसं २०२५ मा स्वास्थ्य परीक्षणका लागि जेल मुक्त हुनुभएका कोइरालाले आठ वर्षसम्म भारतमा निर्वासित जीवन बिताएका थिए । भारतमा निर्वासित भएर प्रजातन्त्र पुनःस्थापनाका पक्षमा सङ्घर्ष गर्दा राष्ट्रियता कमजोर भएको विश्लेषण गरी आठवटा ज्यान मुद्दाको पर्वाह नगरी विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई उनी स्वदेश फर्किएका थिए । उनले अपनाएको मेलमिलापको नीति आज पनि मुलुकको राजनीतिमा उत्तिकै सान्दर्भिक छ ।

    इश्वर नपा-३ भक्तिपुरमा आयोजना भएको उक्त  अन्तरक्रिया कार्यक्रम  पश्चात् कार्यवाहक जिल्ला सभापति डा.यादवको अगुवाइमा  दिवस मनाउन सहभागी भएका पार्टीका  जिल्ला सचिव निरज कार्की,स-सचिव इन्द्र योन्जन,इश्वरपुर नगरपालिका नगरप्रमुख मनोज आचार्य,विशिष्ठ अतिथि नेका सर्लाही क्षेत्र न १ का नेता कुबेर आचार्य,दिपक अधिकारी,सुरेन्द्र न्यौपाने,मधेश प्रदेश सदस्य सोनी बम्जन, रामबाबु साह लगायत पार्टीसँग आवद्ध नेता कार्यकर्ताहरुले विपीको सम्झनामा  सोही वडा स्थित दुर्गा मन्दिरको पछाडि रहेको पार्कमा विभिन्न जातका ४० वटा भन्दाबढी बिरुवाहरु रोपेर वृक्षरोपण समेत गरेका छन् ।