Thursday, August 31, 2023

राहत वापतको रकम उपलब्ध गराउन पहल गरिदिन मधेस आन्दोलनको क्रममा सहिद भएका पिडित परिवारको आग्रह

  

राहत वापतको रकम उपलब्ध गराउन पहल गरिदिन मधेस आन्दोलनको क्रममा सहिद भएका पिडित परिवारको आग्रह


मनोज यादव---

सर्लाही,भाद्र १४

     बेपत्ता पारिएका ब्यक्ति विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा सर्लाहीको सदरमुकाम मलंगवामा आज आयोजना गरेको छलफल कार्यक्रमका सहभागीहरूले मधेस आन्दोलनको क्रममा सहिद भएका ब्यक्तिको नाममा सरकारले उपलब्ध गराउने भनिएको राजत वापतको रकम हालसम्म नपाएको गुनासो गरेका छन् । अन्तराष्ट्रिय बेपत्ता विरूद्धको दिवसको अवसरमा एडभोकेसी फरम र इन्सेक सर्लाहीले आयोजना गरेको छलफल कार्यक्रमका सहभागीहरूले यस्तो  गुनासो गरेका हुन् ।

   ' द्वन्द्व पिडित तथा बेपत्ता परिवारको अधिकार परिपुर्ण सहितको न्याय' भन्ने नाराका साथ मलंगवा नगरपालिकाका उपप्रमुख शकुन्तला देवी साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागी भएका पिडित परिवारका सदस्यहरुले मधेस आन्दोलनको क्रममा सहिद भएका तथा सशस्त्र द्वन्द्वको समयमा बेपत्ता पारिएका नागरिकको घरपरिवारको नाजुक अवस्थालाई ध्यानमा राखेर सरकारलाई यस्ता परिवार प्रतिको दायित्वको बोध गराउँदै पाउनुपर्ने राहत वापतको रकम उपलब्ध गराउन पहल गरिदिन कार्यक्रमका प्रमुख अतिथि मधेसी आयोगका अध्यक्ष संजिव कुमार दत्त र एडभोकेसी फरम सँग आग्रह गरेका छन् । उनीहरु बेपत्ता पारिएका नागरिकको सत्य, तथ्य बारे जान्न पाउने उनीहरूका आफन्तको अधिकार रहेकोले पीडित परिवारको अधिकार सुनिश्चित गर्नु राज्यको पहिलो दायित्व भएको भन्दै बेपत्ता भएका नागरिकको खोजबिन गर्ने दायित्व नेपाल सरकारको भएको बताएका छन्।

   सर्लाही जिल्लामा ५ सय ४२ सहिद परिवारहरु मध्ये हालसम्म २० प्रतिशत परिवारले मात्र सरकारले उपलब्ध गराएको राहत पाएको तथ्यांक छ।

       मलंगवा स्थित सुजाता पार्टी प्यालेसमा आयोजना भएको कार्यक्रममा इन्सेक मधेस प्रदेश संयोजक राजु पासवान,जिल्ला प्रतिनिधि बुधन साह,महिला अधिकारकर्मी देवकुमारी महरा,मानवअधिकार रक्षक संजाल सर्लाहीका अध्यक्ष मुकेश मिश्र,नागरिक समाज सर्लाहीका महासचिव शिवचन्द्र चौधरी  लगायतकाहरुले आआफ्नो धारणा राखेका थिए।



Tuesday, August 29, 2023

मलंगवा बजारमा छाडा चौपायाको आतंक, नगरपालिकाले समेत गर्न सकेन व्यवस्थापन

 


लंगवा बजारमा छाडा चौपायाको आतंक, नगरपालिकाले समेत गर्न सकेन व्यवस्थापन 


मनोज यादव---

सर्लाही,भाद्र १२

     सर्लाहीको सदरमुकाम समेत रहेको मलंगवा नगरपालिकाको प्रमुख बजार मलंगवाको सडकमा जथाभावी रुपमा  छाडिएका पशु चौपाया नियन्त्रण गर्न सम्बन्धित निकायले बेवास्ता गर्दा समस्या  विकराल  बन्दै गएको छ । नगरपालिकाको कार्यालय अगाडीबाटै छाडा पशुचौपायाहरु ओहोरदोहोर गरिरहेको देख्दादेख्दै पनि पालिकाले यसको व्यवस्थापन गर्न ठोस कदम चाल्न सकेको छैन ।

    छाडा रुपमा छाडिएका पशु चौपायाका कारण सडकमा दुर्घटनाको जोखिम बढ्दै गएको छ ।

नेपालको कानुनले पनि सडकमा छाडा पशु र चौपाया व्यवस्थित गर्ने अधिकार स्थानीय सरकारलाई दिएको छ । तर, घना शहरमा छाडा पशु चौपाया व्यवस्थित गर्न स्थानीय सरकार उदासीन देखिएको छ । 

     नगरपालिकाको उदासिनताले बजार क्षेत्रमा पछिल्लोपटक बढेको छाडा चौपायाले सवारी अवागमनमा समेत समस्या उत्पन्न गरेको सर्वसाधारणको गुनासो छ ।अहिले बिहानदेखि राति अबेरसम्मै मलंगवा बजारका विभिन्न चोक तथा सडकका गल्लीमा छाडा चौपायाको हुल नै देखिन्छ ।नगरपालिकाले  छाडा चौपाया नियन्त्रणका लागि कुनै दिगो कार्यक्रम नल्याएका कारण सडकमा जथाभावी पशुचौपायाहरु छाड्ने प्रवृत्ति बढेको स्थानीय बुद्धिजीवीहरुको भनाइ छ। 

 सडकमा छाडिएका पशु चौपायाले गर्दा जोखिम मोलेर हिँड्नु पर्ने बाध्यता रहेको स्थानीय चन्दन कर्ण बताउँछन् । ' सडक पुरै छेकेर बसेका पशुचौपायाका कारण कतिबेला दुर्घटनामा पर्ने हो ठेगान हुँदैन ।' उनले भने।

    छाडा पशु चौपाया नियन्त्रणका लागि सम्बन्धित निकाय गम्भीर हुनुपर्ने स्थानीय बुद्धिजीवीहरुको सुझाव छ ।


Saturday, August 26, 2023

मलंगवा स्थित आँखा उपचार केन्द्रले सुरु गर्यो सर्वसाधारणका लागि कान सम्बन्धि उपचार सेवा

 


मलंगवा स्थित आँखा उपचार केन्द्रले सुरु गर्यो सर्वसाधारणका लागि कान सम्बन्धि उपचार सेवा



लोकतन्त्र समाचारदाता---

सर्लाही,भाद्र ९

 आँखा सम्बन्धि रोगको मात्र उपचार गर्दै आएको मलंगवा स्थित सर्लाही आँखा उपचार केन्द्रले कानको समेत उपचार सेवा सुरु गरेको छ।नेपाल नेत्र ज्योति संघ अन्तर्गत सर्लाही आँखा उपचार केन्द्रले लहान आँखा तथा कान उपचार प्रणाली ,सगरमाथा चौधरी आँखा अस्पतालको प्राविधिक सहयोगमा सुरु गरिएको कान उपचार सेवाको शुक्रवार दिउँसो एक कार्यक्रमको आयोजना गरि संघका सभापति अमरनाथ जयसवाल,सगरमाथा चौधरी आँखा अस्पताल लहान व्यवस्थापन समितिका अध्यक्ष रविन्द्र चौधरी र सगरमाथा चौधरी आँखा अस्पतालका बरिस्ठ अस्पताल प्रबन्धक अभिषेक रौशनले कान जाँच कक्षको रिबन काटेर संयुक्तरूपमा उद्घाटन गरेका छन्।

    सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न-८  स्थित रहेको  आँखा उपचार केन्द्रको परिसरमा  संचालन भइरहेको उक्त केन्द्रमा प्रथम बिरामीको रुपमा चन्द्रनगर गाउँपालिका वडा न-२ मोहनपुर निवासी ७० वर्षिय जोगिन्दर दासको कानको जाँच गरेर सेवाको सुभारम्भ गरिएको छ। 

   आँखामा समस्या देखिएका बिरामीहरुको कानमा समेत समस्या देखिने भएकोले बिरामीहरुलाई सहज हुने उदेश्यले आँखा उपचार केन्द्र सँगै कानको पनि उपचार सुरु गरेको बरिस्ठ अस्पताल प्रबन्धक अभिषेक रौशनले बताउनुभयो । यसमा केन्द्र मार्फत आँखा जचाउन आएका बिरामीहरुका साथै कानको मात्र समस्या भएका बिरामीहरुले सहुलियत दरमा कानको जाँच तथा उपचार गराउन सक्ने उहाँले भन्नुभयो।

    संघका सभापति जयसवालको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा संघका सचिव राजेश गुप्ता ,सदस्य चिरञ्जीवी मिश्रा,आँखा उपचार केन्द्रका इन्चार्ज डा.निराजन साह, मलंगवा न.पा वडा न-८ का वडाअध्यक्ष मुकेश जयसवाल,वडा न-३ का वडाअध्यक्ष प्रमोद राय , पत्रकारहरु तथा उपचारका लागि आएका बिरामीहरु लगायतको उपस्थिति रहेको थियो। 

सोही अवसरमा बरिस्ठ अस्पताल प्रबन्धक  रौशनले सर्लाही जिल्लामा रहेका विभिन्न स्वास्थ्य चौकी र विद्यालयहरुमा गई ५० वर्ष माथिका र विद्यालय जाने उमेरका विद्यार्थीहरुको आँखा तथा कान परिक्षण गर्न "सुनौलो बिहान कार्यक्रम"संचालनमा ल्याउन लागेको समेत जानकारी गराउनुभयो।

Friday, August 25, 2023

महिला जनप्रतिनिधिहरुका लागि हरिवनमा संचालित ३ दिने मध्यवर्ती प्रशिक्षण सम्पन्न


महिला जनप्रतिनिधिहरुका लागि हरिवनमा संचालित ३ दिने मध्यवर्ती प्रशिक्षण सम्पन्न 



लोकतन्त्र समाचारदाता---

सर्लाही,भाद्र ८

   सर्लाहीको हरिवन नगरपालिकामा निर्वाचित महिला जनप्रतिनिधिहरुका  लागि संचालित पहिलो मोड्युलको ३ दिने मध्यवर्ती प्रशिक्षण सम्पन्न भएको छ। आइ.एफ.इ.एस तथा अस्ट्रेलियन सरकारको प्राविधिक तथा स्विस सरकारको आर्थिक सहयोगमा शि लिड्स महिला नेतृत्व कार्यक्रम अन्तर्गत माण्डवी सर्लाहीको आयोजनामा मंगलबारदेखि सुरु भएको ३ दिने प्रशिक्षण कार्यक्रमको बिहिवार नगरप्रमुख रमेश बुढाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। 

    यसअघि सम्पन्न भएको चौथो मोड्युलको कार्यक्रममा प्रशिक्षण लिएका स्थानीय महिला जनप्रतिनिधिहरुको नेतृत्व भुमिकालाई निरन्तरता दिंदै उनीहरू भित्रको आत्मविश्वास र नेतृत्व सीपलाई निखार्दै उनीहरूहरुको भूमिकालाई अझबढी प्रभावकारी ढंगबाट निर्वाह गर्नका लागि थप ज्ञान र सीपको विकास गर्न सहयोग पुर्याउने उदेश्यले उक्त तालिमको आयोजना गरिएको समापन कार्यक्रमको अध्यक्षता गर्नुभएका माण्डवीका जिल्ला कार्यक्रम अधिकृत  मनिल श्रेष्ठले जानकारी दिनुभएको छ।तालिममा सहभागी  हरिवन न.पा अन्तर्गतका ११ वटै वडाका  २३  जना महिला जनप्रतिनिधिहरुले प्रशिक्षण लिइ सके पश्चात्  स्थानीय सरकारमा प्रभावकारी ढंगले भूमिका निर्वाह गर्नका लागि आवश्यक पर्ने सीप र ज्ञान प्रदान गर्ने राजनीतिक सम्बादमा सहभागी हुन आत्मविश्वास बढाउने,लैंगिक समानता प्रबर्द्धन गर्न तथा आफ्नो समुदायका अन्य महिला तथा किशोरीहरुको लागि प्रेरणाको श्रोतको रुपमा कार्य गर्न प्रोत्साहित गर्न,लैंगिक समानतालाई संरक्षण गर्नका लागि समुदायमा पुरुष सहयोगीहरुको निर्माण गर्न र एकआपसमा अनुभव आदानप्रदान र सहयोग गर्नका लागि संजाल निर्माण गर्न थप सहज हुने  श्रेष्ठले बताउनुभयो।


   समापन कार्यक्रममा बोल्दै नगरप्रमुख बुढाथोकीले आफ्ना पालिका अन्तर्गत सबै वडाका महिला जनप्रतिनिधिहरुको थप क्षमता अभिबृद्धिका लागि चाँडैनै कानुन सम्बन्धि तालिमको आयोजना गर्ने  प्रतिबदता जाहेर गर्नु भयो।साथै उहाँले  तालिमबाट सिकेका कुराहरुलाई व्यवहारमा उतारेर आआफ्नो वडालाई  अगाडी बढाउन सकृय रुपमा लाग्न तालिममा सहभागी महिला जनप्रतिनिधिहरुलाई सुझाव दिनुभयो थियो। 

   यस्तै कार्यक्रममा बिशिष्ठ अतिथिको रुपमा उपस्थित हुनुभएका नगर उपप्रमुख हरिमाया घलानले आफु पनि माण्डवीले संचालन गरेको तालिममा एउटा सदस्यको रुपमा सहभागी हुने अवसर पाएको र सोही तालिमाबाट सिकेका कुराहरुलाई आत्मसात गर्दै अहिले उपप्रमुख जस्तो पदमा पुग्न सफल भएको अनुभव सुनाउँदै तालिममा सिकाएका कुराहरु लाई व्यवहारमा उतारेर अगाडि बढ्न सुझाव दिनुभयो।उहाँले तालिम लिइसके पश्चात पहिलाको भन्दा अझ बढी सक्षम भएको भन्दै आयोजक संस्थालाई धन्यबाद दिंदै सहभागी  महिला जनप्रतिनिधिहरुलाई शुभकामना दिनुभएको थियो। 

     माण्डवीले  मधेस प्रदेश अन्तर्गत  सर्लाही जिल्लाको हरिवन सहित कबिलासी, बरहथवा,बागमती र हरिपुर्वा नगरपालिकामा महिला नेतृत्व कार्यक्रम संचालन गरि जम्मा १२७ जना महिला जनप्रतिनिधिहरुलाई विभिन्न चरणमा प्रशिक्षण दिंदै आइरहेको छ।

     तालिममा सहभागीहरुलाई प्रशिक्षक द्वय रमा पौडेल र प्रभु चौधरीले सहजीकरण गरेका थिए।

   



   


नेपाल-भारत सिमानाका भएर हुने भारतीय सामानहरुको अवैध ओसारपसारमा बालबालिकाको प्रयोग

 


नेपाल-भारत सिमानाका भएर हुने भारतीय सामानहरुको अवैध ओसारपसारमा बालबालिकाको प्रयोग


मनोज यादव---

सर्लाही,भाद्र ८

   नेपाल-भारत सिमानाका अन्तर्गत पर्ने सर्लाहीका विभिन्न नाकाहरुमा हुने मालसामानहरुको अवैध ओसारपसारमा बालबालिकाहरुको प्रयोग व्यापक हुने गरेको खुलेको छ।

     जिल्लाको मलंगवा-सोनवर्षा सहित त्रिभुवननगर ,पर्सा, नारायणपुर,संग्रामपुर,बहादुरपुर,पकडी फेन्हारा सिमरा लगायतका नाकाहरुबाट हुने अवैध ओसारपसारमा  ८ देखि १५ वर्ष उमेर सम्मका बालबालिकाहरुको प्रयोग हुने गरेको पाइएको छ। यी नाकाहरु भएर पेशेवर तस्कर तथा व्यापारीहरु विद्यालय जाने उमेरका बालबालिकाहरुलाई भन्सार छलिका सामानहरु ओसारपसार गर्न केरियरको रुपमा प्रयोग गर्ने गरेका छन्। अवैध रुपमा सरसामानको ओसारपसारमा महिलाहरुको पनि प्रयोग हुने गरेको छ।

   तस्कर तथा ब्यापारीहरु केरियरको रुपमा काम गर्ने बालबालिका र महिलाहरुलाई दैनिक ढुवानी बापतको रकम दिएर दुवैतर्फका गोदाममा सामान भण्डारण गर्न लगाउने गरेका छन् ।थोरै थोरै गरि सामानहरु गोदाममा जम्मा भइसकेपछि गाडीमा लोड गरेर गन्तव्यसम्म पु-याउने काम हुने गरेको छ। अहिले सयौंको संख्यामा बालबालिका तथा महिलाहरू यो काममा परिचालन गरिएको छ ।बालबालिकाहरुलाई प्रति ट्रिप ५० रुपैया भारु र महिलाहरुलाई सामानको मात्रा अनुसार ढुवानी बापत रकम दिइने गरेको स्रोतले जनाएको छ ।

     सिमामा खटिएका सुरक्षाकर्मीहरूले बालबालिकालाई खासै दुःख नदिने गरेको कारण तस्करहरूले उनीहरूको प्रयोग गरेका हुन् । विद्यालय बन्द भएको अवस्थामा कतिपय विद्यार्थीहरू यो काममा परिचालित हुने गरेका छन् भने आर्थिक अवस्था कमजोर भएका बालबालिकाका अभिभावक स्वयंले आफ्ना छोराछोरीलाई यस्तो कार्यमा लगाउने गरेको श्रोतले बताएको छ।  दैनिक २-३ ट्रिपसम्म सीमा वारिपारि गर्ने र सोअनुरूप रकम कमाउने हुनाले उनीहरूको आकर्षण यसतर्फ बढेको हो ।

   अधिकांश बालबालिकाहरु मुख्य नाका अथवा मानिसहरुको बढी हिंडडुल हुने ठाउँबाट नभइ खेत र आलीको बाटोमा बस्तुभाउ चराउने बहानामा अवैध तरिकाले भारतीय सामानहरु ल्याउने गरेको प्रत्यक्षदर्शीहरुले जनाएका छन् ।नेपाली ब्यापारीहरु भारतीय सुरक्षाकर्मी(एसएसबी),नेपाली सुरक्षाकर्मी र भन्सार शुल्कका कारण भारतीय सरसामान नेपाल भित्र्याउनका लागि सिमानाका नजिकै बसोबास गर्ने बालबालिका तथा महिलाहरुको प्रयोग गर्ने गरेका छन् ।उनीहरू सामानहरुको स-साना पोकाहरु बनाएर हातमा र टाउकोमा बोकेर ल्याउने गरेका छन् । नेपाली व्यापारी तथा  तस्करहरुको लागि  सस्तो र भरपर्दो ढुवानीको साधन बनेका बालबालिकाहरुलाई उनीहरूले प्रति ट्रिप र उमेर हेरेर पैसा दिने गरेका छन् ।

   पछिल्लो समय  सिमानाकामा बसोबास गर्ने धेरैजसो परिवारका बालबालिकाहरु विद्यालय जान छोडेर दिनभरि मालसामान ओसार्ने काममा लाग्ने गरेको प्रत्यक्षदर्शीहरु बताउँछन् ।

    बालबालिकाको क्षेत्रमा कार्यरत  सर्लाही जिल्लाका विभिन्न संघसंस्थाहरु पटकपटक गरिब,विपन्न तथा पिछडिएका बालबालिकाहरुलाई  आवश्यक काँपी,कलम,किताब ,पोसाक,छात्रवृत्ति   वितरण गरेर विद्यालय जाने वातावरण बनाइदिए पनि केही दिन पढ्ने र पछि फेरी त्यही काममा लाग्ने गरेको पाइएको छ।

    ग्रामीण भेगमा बसोबास गर्ने आर्थिक रुपमा कमजोर रहेका घरका  अभिभावकहरु पढाइ लेखाइको महत्त्व लाई नबुझेर लेखपढ गरेर के हुन्छ काम गरे दुई चार पैसा घरमा आउँछ भन्ने सोंचले गर्दा पनि आफ्ना छोराछोरीलाई बाल मजदुरीमा लगाउने गरेको मानवअधिकार रक्षक संजालका सर्लाही जिल्ला अध्यक्ष मुकेश मिश्र बताउँछन् । उनी सानो उमेर देखिनै अवैध काममा लागेका बालबालिकाहरु पछि गएर ठुलो अपराधी बन्ने सम्भावना बढी रहेकोले यस्ता गलत कामबाट  बचाउन सिमानाकामा खटिएका सुरक्षाकर्मीहरुले उनीहरू माथि निगरानी बढाउनु पर्ने  बताए ।



बलराको छन्की टोलबाट गाँजासहित एउटा भारतीय मोटरसाइकल नियन्त्रणमा

 


बलराको छन्की टोलबाट गाँजासहित एउटा भारतीय मोटरसाइकल नियन्त्रणमा 



लोकतन्त्र समाचारदाता---

सर्लाही,भाद्र ८

   सशस्त्र प्रहरीले बिहीबार बिहान सर्लाहीको नेपाल-भारत सिमावर्ती बलरा नगरपालिका वडा न-१,छन्की टोलबाट लागुऔषध सहित एउटा मोटरसाइकल नियन्त्रणमा लिएको छ।

   सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट छतौनाबाट खटिएको टोलीले छन्की टोलमा चेक जाँच गर्ने क्रममा बिआर ०६ बिए ०५३२ नम्बरको मोटरसाइकल सहित गाँजा नियन्त्रणमा लिएको हो।नेपालबाट भारततर्फ जाँदै गरेको उक्त मोटरसाइकलका चालक भने सशस्त्र प्रहरीको टोलीलाई देख्ने बितिक्कै मोटरसाइकल छाडेर भागेको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ।

    सिटकभर भित्र लुकाएर राखिएको अवस्थामा फेला परेको ३.३ किलो गाँजा मोटरसाइकल सहित नियन्त्रणमा लिइ आवश्यक कार्यवाहीको लागि इलाका प्रहरी कार्यालय गडहियामा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ।

कौडेना गाउँपालिकामा संचालित स्वास्थ्य कार्यक्रमहरुको गाउँपालिका स्तरीय वार्षिक समीक्षा गोष्ठी सम्पन्न

 

कौडेना गाउँपालिकामा संचालित स्वास्थ्य कार्यक्रमहरुको गाउँपालिका  स्तरीय वार्षिक समीक्षा गोष्ठी सम्पन्न

लोकतन्त्र समाचारदाता ---

सर्लाही ,भाद्र ८

      सर्लाहीको कौडेना पालिकाले आर्थिक वर्ष  २०७९/०८० मा संचालित स्वास्थ्य कार्यक्रमहरुको गाउँपालिका स्तरीय वार्षिक समीक्षा गोष्ठी सम्पन्न गरेको छ ।  स्वास्थ्य शाखाको आयोजना तथा गापा प्रमुख रुपेश कुमार यादव"बबलु"को अध्यक्षतामा  गोष्ठी सम्पन्न भएको हो।

     बिहिवार आयोजना भएको उक्त गोष्ठीलाई सम्बोधन गर्दै यादवले वडा न-२ स्थित फुलफरासीमा हालै संचालनमा आएको समुदायिक अस्पतालले  २४ औँ घण्टा आकस्मिक सेवा दिइरहेको जानकारी गराउँदै वडा स्वास्थ्य चौकीहरुले पनि आम नागरिकहरुलाई स्तरीय सेवा दिइरहेको बताउनुभयो । गत वर्षको जस्तै यसवर्ष पनि स्वास्थ्यकर्मीहरुको मेहनतले आम जनताहरुको गुणस्तरीय स्वास्थ्य सेवामा थप सुधार पुग्ने विश्वास गाउँपालिकाले लिएको प्रमुख प्रशासकीय अधिकृत शम्भु प्रसाद यादवले बताउनुभयो ।




 

Tuesday, August 22, 2023

हरिवन नगरपालिकामा निर्वाचित महिला जनप्रतिनिधिहरुका लागि संचालित पहिलो मोड्युलको ३ दिने मध्यवर्ती प्रशिक्षण आजबाट सुरु


हरिवन नगरपालिकामा निर्वाचित महिला जनप्रतिनिधिहरुका लागि संचालित पहिलो मोड्युलको ३ दिने मध्यवर्ती प्रशिक्षण आजबाट सुरु 



लोकतन्त्र समाचारदाता---

सर्लाही,भाद्र ५

   सर्लाहीको हरिवन नगरपालिकामा निर्वाचित महिला जनप्रतिनिधिहरुका  लागि संचालित पहिलो मोड्युलको ३ दिने मध्यवर्ती प्रशिक्षण आजबाट हरिवनमा सुरु भएको छ ।आइ.एफ.इ.एस तथा अस्ट्रेलियन सरकारको प्राविधिक तथा स्विस सरकारको आर्थिक सहयोगमा शि लिड्स महिला नेतृत्व कार्यक्रम अन्तर्गत माण्डवी सर्लाहीको आयोजनामा आज(मंगलबार)बाट सुरु भएको उक्त  प्रशिक्षण कार्यक्रमको प्रमुख अतिथि नगरप्रमुख रमेश बुढाथोकीले उद्घाटन  गरेका छन् । 

   यसअघि सम्पन्न भएको चौथो मोड्युलको कार्यक्रममा प्रशिक्षण लिएका स्थानीय महिला जनप्रतिनिधिहरुको नेतृत्व भुमिकालाई निरन्तरता दिंदै उनीहरू भित्रको आत्मविश्वास र नेतृत्व सीपलाई निखार्दै उनीहरूहरुको भूमिकालाई अझबढी प्रभावकारी ढंगबाट निर्वाह गर्नका लागि थप ज्ञान र सीपको विकास गर्न सहयोग पुर्याउने उदेश्यले हरिवन न.पा अन्तर्गतका ११ वटै वडाका  २३  जना महिला जनप्रतिनिधिहरुको लागि  प्रशिक्षणको आयोजना गरेको माण्डवीका जिल्ला कार्यक्रम अधिकृत एवं कार्यक्रमका अध्यक्ष मनिल श्रेष्ठले जानकारी दिए । प्रशिक्षण लिइ सके पश्चात् महिला जनप्रतिनिधिहरुलाई  स्थानीय सरकारमा प्रभावकारी ढंगले भूमिका निर्वाह गर्नका लागि आवश्यक पर्ने सीप र ज्ञान प्रदान गर्ने राजनीतिक सम्बादमा सहभागी हुन आत्मविश्वास बढाउने,लैंगिक समानता प्रबर्द्धन गर्न तथा आफ्नो समुदायका अन्य महिला तथा किशोरीहरुको लागि प्रेरणाको श्रोतको रुपमा कार्य गर्न प्रोत्साहित गर्न,लैंगिक समानतालाई संरक्षण गर्नका लागि समुदायमा पुरुष सहयोगीहरुको निर्माण गर्न र एकआपसमा अनुभव आदानप्रदान र सहयोग गर्नका लागि संजाल निर्माण गर्न थप सहज हुने विश्वास लिइएको श्रेष्ठले बताए ।

    संस्थाले मधेस प्रदेश अन्तर्गत  सर्लाही जिल्लाको हरिवन सहित कबिलासी, बरहथवा,बागमती र हरिपुर्वा नगरपालिकामा महिला नेतृत्व कार्यक्रम संचालन गरि जम्मा १२७ जना महिला जनप्रतिनिधिहरुलाई विभिन्न चरणमा प्रशिक्षण दिंदै आइरहेको छ।

     उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख  बुढाथोकीले महिला जनप्रतिनिधिहरुको क्षमता अभिबृद्धिको लागि तालिमको आयोजना गरेर उनीहरूको आत्मविश्वस बढाउने काम गरेको भन्दै आयोजक संस्थालाई धन्यवाद दिए ।

   विशिष्ठ अतिथिको रुपमा सहभागी भएकी उपप्रमुख हरिमाया घलानले आफु पनि माण्डवीले संचालन गरेको तालिममा एउटा सदस्यको रुपमा सहभागी हुने अवसर पाएको र सोही तालिमाबाट सिकेका कुराहरुलाई आत्मसात गर्दै अहिले उपप्रमुख जस्तो पदमा पुग्न सफल भएको अनुभव सुनाउँदै तालिममा सिकाएका कुराहरु लाई व्यवहारमा उतारेर अगाडि बढ्न सुझाव दिए।

   बिहिवारसम्म संचालन हुने तालिममा सहभागीहरुलाई प्रशिक्षक द्वय रमा पौडेल र प्रभु चौधरीले सहजीकरण गरिरहेका छन् ।

   



   


सम्पादकीय .... ✍️ 👉️दलित,महिला र तेस्रो लिंगीहरु माथि हुने भेदभावको अन्त्य कहिले हुन्छ?

 



सम्पादकीय .... ✍️


👉️दलित,महिला र तेस्रो लिंगीहरु माथि हुने भेदभावको अन्त्य कहिले  हुन्छ?



    राष्ट्र निर्माता पृथ्वीनारायण साहले आफ्नो दिव्योपदेशमा नेपाललाई चार जात छत्तीस वर्णको फुलबारी हो भनेर भनिबक्सनु भएको थियो। उहाँले सारा नेपाली एउटै बगैंचाको फुलहरु भएकाले एकआपसमा भेदभाव नगर्न  भनिबक्सनु भएको थियो। नेपालको संविधान २०७२ ले पनि जाति, लिङ्ग, धर्म, वर्ण आदिका आधारमा भेदभाव वर्जित गरेको छ । तर अहिले पनि पृथ्वीनारायण साह र  संविधानको मर्मविपरीत भेदभावहरू जारी नै छन् । 

      दलितहरूलाई अहिले पनि धार्मिक, सामाजिक, आर्थिक, शैक्षिक क्षेत्रमा भेदभाव  कायमै छ । यहाँसम्म कि संविधान पालना गर्ने गराउने निकायहरु बाट पनि दलितहरु भेदभावका शिकार भइरहेका छन् ।भेदभावको क्रममा दलित माथि हुने विभिन्न  घटनाहरू समाचार माध्यमहरु बाट बेलाबखतमा  उजागर हुने गरेका छन्  । संविधानमा  एउटा कुरा र व्यवहारमा अर्काे कुरा हुँदा भेदभावले अहिलेसम्म निरन्तरता पाउँदै आएको छ । समाजमा यसको फाइदा उठाउने समूहहरू सक्रिय छन् । 

   दलितलाई सार्वजनिक पूजापाठमा सहभागी नगराउने, उनीहरूलाई सार्वजनिक इनार, धाराबाट पानी लिनसम्म बन्देज पार्ने, भोजभतेरमा भेदभाव गर्ने साथै  शैक्षिक क्षेत्रमा पनि उनीहरूसँग भेदभावपूर्ण व्यवहार हुने भएकाले कतिपय दलित बालबालिकाहरू अनिवार्य शिक्षा पाउनबाट वञ्चित हुँदै आएको नेपाल  राष्ट्रिय दलित समाज कल्याण संघ सर्लाहीका अध्यक्ष एवं दलित अधिकारकर्मी राजेश पासवान बताउँछन् । 

    हाम्रो समाजमा भेदभाव दलित माथि मात्र भइरहेका छैनन् ।पुरुष र महिला बिच पनि भेदभाव हुने गरेका छन् । अहिले पनि हाम्रो समाजमा  छोरा जन्मिएपछि खुशीयाली मनाउने र छोरी जन्मिएपछि दु:खी हुने जमात धेरै छन् । देखावटीरूपमा छोरीहरूप्रतिको मोहमाया जाहेर गर्ने तर व्यवहारमा भने  त्यसको ठीकविपरित गर्ने कार्य गर्नेहरू पनि हाम्रै समाजमा छन् । तेस्रो लिंगीहरु माथि पनि भेदभाव उत्तिकै हुने गरेको छ।उनीहरू पनि आफ्नो अधिकारको  लडाइँ लडिरहेका छन् ।उनीहरूको यस्तो लडाइँ कहिलेसम्म चल्ने हो त्यो हेर्न बाँकी छ।

  पछिल्लो समय दलित ,महिला र तेस्रो लिंगीहरूविरुद्ध हुने भेदभावका लागि  विभिन्न संस्थाहरूले आवाज उठाउँदै आएका छन् ।

              मनोज यादव(सम्पादक)
              राष्ट्रिय लोकतन्त्र दैनिक 
                  मलंगवा,सर्लाही 
           

Monday, August 21, 2023

सर्लाहीमा सोमबारबाट राष्ट्रिय परिचयपत्र वितरण कार्य सुरु

 सर्लाहीमा सोमबारबाट राष्ट्रिय परिचयपत्र वितरण कार्य सुरु



लोकतन्त्र समाचारदाता---

सर्लाही,भाद्र ४

     लामो समयदेखि प्रतिक्षामा रहेको राष्ट्रिय परिचयपत्र वितरण कार्य जिल्ला प्रशासन कार्यालय मलंगवामा सुरु भएको छ।सोमबार  प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जिल्ला प्रशासन कार्यालय मलंगवा स्थित आफ्नो कार्यकक्षमा सेवाग्राहीलाई राष्ट्रिय  परिचयपत्र हस्तान्तरण गरि कार्यको सुरुवात गर्नुभएको छ ।

    व्यक्तिका वैयक्तिक र जैविक सूचनालार्ई आधिकारिक रूपमा संकलन गरी प्रत्येक नागरिकलार्ई एकअर्कासँग मेल नखाने परिचय नम्बर दिइ बहुउपयोगी र आधुनिक प्रविधियुक्त राष्ट्रिय परिचयपत्र वितरण गर्न जिल्लामा व्यक्तिगत विवरण संकलन गर्ने कार्य यसअघिदेखि नै हुँदै आएको थियो।


 

गोडैता न.पा मा संचालित स्वास्थ्य कार्यक्रमहरुको पालिका स्तरीय वार्षिक समीक्षा गोष्ठी सम्पन्न / स्वास्थ्य चौकी सिसौटिया पुन:उत्कृष्ट

 


गोडैता न.पा मा संचालित स्वास्थ्य कार्यक्रमहरुको पालिका स्तरीय वार्षिक समीक्षा गोष्ठी सम्पन्न / स्वास्थ्य चौकी सिसौटिया पुन:उत्कृष्ट



लोकतन्त्र समाचारदाता---

सर्लाही ,भाद्र ४

      सर्लाहीको गोडैता नगरपालिकाले आर्थिक वर्ष  २०७९/०८० मा संचालित स्वास्थ्य कार्यक्रमहरुको पालिका स्तरीय वार्षिक समीक्षा गोष्ठी सम्पन्न गरेको छ । गोडैता  नगरपालिका स्वास्थ्य शाखाको आयोजना ,नगर प्रमुख देवेन्द्र कुमार यादवको अध्यक्षता तथा मधेस प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक  डा.राजिव झा को प्रमुख आतिथ्यतामा गोष्ठी सम्पन्न भएको हो।

     आइतवार र सोमबार दुइदिन सम्म चलेको उक्त गोष्ठीमा सहभागी  नगरपालिका अन्तर्गतका १२ वटै वडाका वडा स्वास्थ्य चौकी प्रमुखहरुले गत आ.व मा आआफ्नो वडामा भए गरेका  स्वास्थ्य कार्यक्रम तथा  प्रगति विवरण प्रस्तुत गरेका थिए ।सोही गोष्ठीमा प्रस्तुत गरिएको विवरणको आधारमा  आन्तरिक मुल्यांकन गरि कार्य र सेवाको आधारमा १२ वटा वडा स्वास्थ्य चौकीहरु मध्येबाट उत्कृष्ट भएर छानिएका तीनवटा स्वास्थ्य  संस्थालाई नगद तथा प्रमाणपत्र प्रदान गरेर सम्मानित गरिएको थियो । आन्तरिक मुल्यांकनको आधारमा क्रमशः प्रथम, द्वितीय र तृतीय भएका सिसौटिया,बेल्वा जब्दी र रोहुवा स्वास्थ्य चौकीका प्रमुखहरुलाई प्रमुख अतिथि निर्देशक  डा. झा, नगरप्रमुख यादव र उपप्रमुख अंजना कुशवाहाले कदरपत्र प्रदान गरेका थिए।

  समीक्षा गोष्ठीको समापन कार्यक्रममा बोल्दै नगरप्रमुख यादवले उत्कृष्ट कार्य सम्पादन गरेर सफलतापुर्वक  जिम्मेवारी  पुरा गर्ने नगर भित्रका  स्वास्थ्य चौकीहरु, स्वास्थ्यकर्मी तथा जस्तो सुकै परिस्थितिमा पनि स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य स्वयंसेविकाहरु धन्यवाद  दिएका थिए ।  

 गोष्ठीमा सहभागी सबै वडाका स्वास्थ्य प्रमुखले गत आर्थिक वर्षको भन्दा यो आ.व मा स्वास्थ्यका सम्पूर्ण स्वास्थ्य सुचकहरु राम्रो  भएकोले आगामी दिनमा यस नगरपालिकालाई मधेस प्रदेश अन्तर्गतका ८ वटै जिल्लाका पालिकाहरु मध्येबाट नमुना स्वास्थ्य नगरपालिकाको रुपमा  घोषणा गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । स्वास्थ्य निर्देशनालयकाको मुल्यांकन अनुसार गत आर्थिक वर्षमा गोडैता नगरपालिका मधेस प्रदेश अन्तर्गत पर्ने ८ वटै जिल्लाका पालिकाहरु मध्येबाट तेस्रो स्थानमा पर्न सफल भएको स्वास्थ्य शाखा प्रमुख प्रमोद पंडितले जानकारी दिए।

     मलंगवा स्थित सुजाता पार्टी प्यालेसमा सम्पन्न भएको समीक्षा गोष्ठीमा विशिष्ट अतिथिको रुपमा नगर उपप्रमुख कुशवाहा,स्वास्थ्य  कार्यालय सर्लाही प्रमुख डा.नवल किशोर झा, स्वास्थ्य कार्यालय मलंगवाका परिवार नियोजन सुपरभाइजर निरिक्षक पशुपति कु यादव ,

वन हर्ट वर्ड वाइड सर्लाहीका संयोजक अमरेन्द्र राय,गोडैता न.पा का स्वास्थ्य संयोजक  शहाबुद्दिन मिकरानी लगायत १२ वटै वडाका वडाअध्यक्ष,स्वास्थ्य चौकी प्रमुखहरु  तथा पत्रकारहरुको उपस्थिती रहेको थियो।

   कार्यक्रमको  संचालन  स्वा.शा.प्रमुख पंडितले गरेका थिए।


Sunday, August 20, 2023

मलंगवा देखि कौडेनाको बाटोबाट दिनदहाडै एक किशोरीको अपहरण

 मलंगवा देखि कौडेनाको बाटोबाट दिनदहाडै एक किशोरीको अपहरण


मनोज यादव---

सर्लाही,भाद्र ३

    सर्लाहीमा आइतवार दिनदहाडै एक किशोरीको अपहरण भएको छ।नेपाल भारत सिमा नजिक पर्ने विष्णु गाउँपालिका वडा न-६ ,सिमरा बस्ने  धगा महतोकी १८ वर्षीया छोरी रेणु कुमारी महतोको आइतवार दिउँसो एक अपरिचित मोटरसाइकल  चालकले  लिफ्ट दिने बहानामा अपहरण गरि फरार भएको छ।

   किशोरीका पिता धगाका अनुसार दिउँसो १ बजे छोरीलाई साइकलमा चढाएर मलंगवा देखि सिमरा जाने क्रममा एकजना अपरीचित मोटरसाइकल चालकले तपाईंलाई साइकलमा बोकेर हिँड्न गार्हो भईरहेकाे हाेला, म तपाईंको छोरीलाई  मोटरसाइकलमा चढाएर कौडेना सम्म पुर्याईदिन्छु भन्दा चालकले आफुलाई मद्दत गर्न खोजेको होला भन्ने जस्तो लागेकोले  छोरी रेणुलाई निज अपरिचित ब्यक्ति सँगै मोटरसाइकलमा चढाएर पठाइ दिएको र केही छिन पछि  आफु पनि कौडेना बजारमा पुगेपछि  छोरी र छोरीलाई मोटरसाइकलमा चढाएर लाने उक्त ब्यक्तिलाई कहीं कतै नभेटेपछि तत्कालै  मलंगवा स्थित जिल्ला प्रहरी कार्यलय र विष्णु गा.पा. स्थित इलाका प्रहरी कार्यालयमा उजूरी दर्ता गराएको बताए ।

   मलंगवा देखि कौडेना बजारसम्मको बाटोमा  रहेका सबै सि.सि.टि.भी (CCTV) को फुटेजमा हेर्दा बाइक चालकको कुनै रेकर्ड नभेटिए पछि रेणुलाई अपहरण गरी भारत तर्फ लगेको आशंका गरिएको छ।

    रेणुका पिता धगा लगायत आफन्तहरुले अपहरित किशोरीको खोज तलासमा सहयोग गरि दिन सबै सँग आग्रह गर्दै कसैले देखेको खण्डमा मोबाइल नम्बर 9765227875 मा खवर गरिदिन अनुरोध गरेका छन् ।

   अपहरित  किशोरी र मोटरसाइकल चालकको खोजी कार्य चलिरहेको प्रहरीले जनाएको छ।

मलंगवाको वडा न-९ मा आँखा पाक्ने Eye Flue को निःशुल्क जाँच शिविर सम्पन्न

 

मलंगवाको वडा न-९ मा आँखा पाक्ने Eye Flue को निःशुल्क जाँच शिविर सम्पन्न 



लोकतन्त्र समाचारदाता---

सर्लाही,भाद्र ३

     मलंगवा नगरपालिका वडा न-९ को वडा कार्यालयको आयोजना तथा मलंगवा नेत्रालय आँखा अस्पताल र गोडैता आँखा उपचार केन्द्रको प्राविधिक सहयोगमा मलंगवामा संचालित एकदिने नि:शुल्कआँखा जाँच शिविरबाट १५० जना भन्दा बढी नागरिकहरु लाभान्वित भएका छन् ।

    हाल नेपालभरी फैलिरहेको आँखा सम्बन्धि महामारी Eye Flu मलंगवामा पनि देखा परेकोले सो को निदान गर्ने उदेश्यले यो शिविरको आयोजना गरेको वडाअध्यक्ष चन्देश्वर यादवले बताए ।  मलंगवा न.पा वडा न-९ को वडा कार्यालयमा आयोजना गरिएको शिविरमा  वडा न-९ लगायत नगरपालिका क्षेत्र भित्रका अन्य वडामा बसोबास गर्ने  बालबालिका ,महिला,पुरुष, ज्येष्ठ नागरिक तथा अन्य स्थानीय नागरिकहरु लाभान्वित भएका थिए ।

    शिविरमा  आँखा रोग विशेषज्ञ  डा.मनिष प्रसाद साह,डा.एकनाथ झा तथा सहयोगी स्वास्थ्यकर्मीहरु खगेश कुमार साह र संगम कुमारी साह  लगायत ४ जनाको समूहले आँखाको जाँच गरेका थिए । 

    आँखामा संक्रमण देखिएका बिरामीहरुलाई नि:शुल्क रुपमा औषधि  समेत वितरण गरिएको थियो।

गोडैता न.पा मा संचालित स्वास्थ्य कार्यक्रमहरुको दुइदिने पालिका स्तरीय वार्षिक समीक्षा गोष्ठी सुरु

 


गोडैता न.पा मा संचालित स्वास्थ्य कार्यक्रमहरुको दुइदिने पालिका स्तरीय वार्षिक समीक्षा गोष्ठी सुरु

लोकतन्त्र समाचारदाता---

सर्लाही ,भाद्र ३

      सर्लाहीको गोडैता नगरपालिकाले आर्थिक वर्ष  २०७९/०८० मा संचालन गरेको स्वास्थ्य कार्यक्रमहरुको समीक्षा गर्न २ दिने पालिका स्तरीय  गोष्ठी मलंगवामा सुरु गरेको छ।आइतवार र सोमबार दुईदिन सम्म चल्ने उक्त गोष्ठीको आइतवार मलंगवा स्थित सुजाता पार्टी प्यालेसमा  नगरप्रमुख देवेन्द्र यादवले उद्घाटन गर्नु भएको छ।

    गोडैता नगरपालिका स्वास्थ्य शाखाको आयोजना  तथा मधेस प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक  डा.राजिव झा को प्रमुख आतिथ्यतामा संचालन भइरहेको गोष्ठीमा सहभागी  नगरपालिका अन्तर्गतका १२ वटै वडाका वडा स्वास्थ्य चौकी प्रमुखहरुले आआफ्नो वडामा भए गरेका स्वास्थ्य कार्यक्रम र ती कार्यक्रमहरुको प्रगति विवरण प्रस्तुत गर्ने र सोही गोष्ठीमा प्रस्तुत गरिएको विवरणको आधारमा  आन्तरिक मुल्यांकन गरि कार्य र सेवाको आधारमा १२ वटा वडा स्वास्थ्य चौकीहरु मध्येबाट उत्कृष्ट भएर छानिएका तीनवटा स्वास्थ्य  संस्थालाई नगद तथा प्रमाणपत्र प्रदान गरेर सम्मानित गरिने स्वास्थ्य शाखा प्रमुख प्रमोद पंडितले जानकारी दिए।

   स्वास्थ्य निर्देशनालयकाको मुल्यांकन अनुसार गत आर्थिक वर्षमा गोडैता नगरपालिका मधेस प्रदेश अन्तर्गत पर्ने ८ वटै जिल्लाका पालिकाहरु मध्येबाट तेस्रो स्थानमा पर्न सफल भएको थियो। अब यस पालिकालाई प्रथम स्थानमा पार्न स्वास्थ्य शाखाको निर्देशन तथा मार्गदर्शनमा १२ वटै वडा स्वास्थ्य चौकी प्रमुखहरु लागिपरेको नगरप्रमुख यादवले बताउनुभयो ।

    गोष्ठीमा सहभागी भएकाहरुलाई स्वास्थ्य कार्यालय मलंगवाका परिवार नियोजन सुपरभाइजर निरिक्षक  पशुपति कु यादव र

वन हर्ट वर्ड वाइड सर्लाहीका संयोजक अमरेन्द्र रायले सहजीकरण गरिरहेका छन् ।

    

सर्लाहीको पर्साबाट पेस्तोल लिएर नेपाल प्रवेश गर्दै गरेको २ जना पक्राउ

 

सर्लाहीको पर्साबाट पेस्तोल लिएर नेपाल प्रवेश गर्दै गरेको २ जना पक्राउ

लोकतन्त्र समाचारदाता---

सर्लाही, भाद्र ३

    बोर्डर आउट पोस्ट  संग्रामपुरको सशस्त्र प्रहरीको टोलीले पेस्तोल लिएर नेपाल प्रवेश गर्दै गरेको दुई जना ब्यक्तिलाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा सर्लाहीको हरिपुर्वा नगरपालिका वडा न–६ बस्ने प्रकाश यादव र जीवन राय यादव रहेका छन् ।

    सशस्त्र प्रहरीको टोलीले उनीहरू दुबैलाई शनिवार राति  बिआर १९ जीए ४१४१ नम्बरको मोटरसाइकलमा पर्सा गाउँपालिका वडा न–६ हुँदै भारतबाट नेपाल आउँदै गरेको अवस्थामा रोकेर चेकजाँच गर्ने क्रममा उनिहरुको साथबाट पेस्तोल र गोली भेटिएपछि  पक्राउ गरेको प्रहरीले जनाएको छ ।

   उनीहरूको साथबाट नगद  ११ हजार ६ सय ८० रुपैया  र भारतीय बैंकको एटीएम कार्ड पनि बरामद भएको प्रहरीले जनाएको छ।

   उनीहरू दुबैलाई प्रहरीको हिरासतमा राखेर अनुसंधान भइरहेको छ।

Thursday, August 17, 2023

गोली लागेर घाइते सुन्दरपुर सुखचैनाका राउतलाई राहत प्रदान

 गोली लागेर घाइते सुन्दरपुर सुखचैनाका राउतलाई राहत प्रदान 

 

लोकतन्त्र समाचारदाता---

सर्लाही,साउन ३२

    गोली लागेर घाइते भएका सर्लाहीका एक युवकलाई राष्ट्रिय बजरंग दल नेपालले राहत  प्रदान गरेको छ। सर्लाहीको चक्रघट्टा गाउँपालिका वडा न-२ ,सुन्दरपुर सुखचैना निवास राजेश राउतलाई बिहिवार उनकै निवासमा एक कार्यक्रमको आयोजना गरि खाद्यान्न लगायतका सामाग्री राहत स्वरु प्रदान गरिएको छ ।

    राउत  केही दिन अगाडि जिल्लाकै गोडैता बजारमा मुश्लिम समुदायको मुहर्रम पर्व नमाउने क्रममा भएको झडपमा गोली लागि घाईते भएका थिए। परिवारको आर्थिक अवस्था निकै कमजोर भएको राउतको भएको दुई  धुर जग्गा पनि उपचारको लागि साहुसंग कर्जा लिन बन्धकी राखि सकिएकोले परिवारलाई हातमुख जोड्न समस्या भइरहेको जानकारी पाएपछि केही थोरै भएपनि राहत प्रदान गरेको बजरंग दल नेपालले जनाएको छ।

   

रेडियो बर्षा सफलतापुर्वक दोस्रो वर्षमा प्रवेश /कम समयमै समुदायमा छाप छोड्न सफल

 रेडियो बर्षा सफलतापुर्वक दोस्रो वर्षमा प्रवेश /कम समयमै समुदायमा छाप छोड्न सफल



लोकतन्त्र समाचारदाता---

सर्लाही,साउन ३२

   सहिद सुन्दर भगवान सिंह मिडिया प्रालि द्वारा सर्लाहीको सदरमुकाम मलंगवामा संचालित  रेडियो वर्षा एफएम ९१.१  मेगाहर्जले आज(बिहीबार) एक कार्यक्रमका बिच आफ्नो प्रथम  वार्षिकोत्सब  मनाएको छ। 

    आवाज विहिन समुदायको आवाजलाई उत्थान  गर्दै सामाजिक  रुपान्तरणको लागि सूचना संदेश तथा विभिन्न रेडियो कार्यक्रमहरुको माध्यम बाट महत्त्वपूर्ण भुमिका खेल्दै आएको रेडियो बर्षाको प्रथम वार्षिकोत्सब कार्यक्रमको संचालक एवं पत्रकार कृष्णा सिंह सहित यसमा आबद्ध सम्पुर्ण रेडियोकर्मीहरु सामुहिक रुपमा केक काटेर उदघाटन गरेका थिए। 

    कार्यक्रममा उपस्थित अतिथिहरुले आफ्नो  स्थापनाको मात्र एक बर्षको अवधिमै यस रेडियोबाट प्रसारण हुने सूचनामुलक तथा मनोरञ्जनात्मक कार्यक्रमबाट समुदायलाई हरेक कुरामा सुचीत गर्न सफल भएको बताएका थिए। विभिन्न वर्ग क्षेत्र  समुदायको आवाजलाई बुलन्द गराउ लागिपरेको यस रेडियोलाई निरन्तर सहयोग गर्ने उनीहरुले बताए ।



सदरमुकाम मलंगवाको मेन चौकदेखि नगरपालिका कार्यालयसम्मको सडक नबन्दा आवतजावतमा समस्या

 


सदरमुकाम मलंगवाको मेन चौकदेखि नगरपालिका कार्यालयसम्मको सडक नबन्दा आवतजावतमा समस्या 


मनोज यादव---

सर्लाही,साउन ३२

     सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिकालाई सुन्दर र सफा बनाउने परिकल्पनाअनुसार बजार क्षेत्रमा दुई तर्फी नालासहितको पक्की सडक बनेपछि यहाँका बासिन्दाहरु निकै खुसी भएका छन् ।

   करिब ३ दशक भन्दा बढी समयदेखि जर्जर र कुरुप अवस्थामा रहेको मलंगवा बजारमा कालोपत्र गरिएको फराकिलो सडक बनेपछि अब बल्ल केही परिवर्तन हुन्छ भनेर खुसी भएका जनताहरु पुनः निराश भएका छन् ।बजारको अन्य ठाउँमा सडक बनेर सुचारु भइसके पनि  मलंगवा बजारको अतिब्यस्त मानिएको मेन चौकदेखी नगरपालिकाको कार्यालयसम्मको सडक भने अहिले पनि जर्जर र हिंड्नै नसक्ने अवस्थामा रहेको छ।

   विगत केहीदिन देखि भइरहेको वर्षाका कारण सडकको दुवैतर्फ नाला बनाउनको लागि खनेर छाडेको खाल्डोमा पानी भरेर बिच सडकमा घुँडा सम्म पानी भरिएर आवतजावतमा समस्या भएको छ।सडक फराकिलो गर्न भत्काइएका घरहरुबाट निस्किएका  कंक्रिटका टुक्राहरु पनि जथाभावी राखिएका कारण पनि समस्या उत्पन्न भएको छ।

   नगरपालिकाले बजारका अन्य क्षेत्रमा  सडक बनाए पनि आफ्नै कार्यालय तर्फ जाने सडक बनाउन नसक्दा मलंगवा बजार पुन: पहिलाको जस्तै कुरुप बनेको स्थानीय बुद्धिजीवीहरुले चिन्ता ब्यक्त गरेका छन् ।

    सो सडक भएर हिँड्ने मानिसहरु लड्ने गरेका छन् । सवारी साधन साइकल, मोटरसाइकल र स्कुटी चलाउनेलाई पनि समस्या हुने गरेको छ। “म स्कुटीमा हिँड्छु, सडकमा जथाभावी छरिएर रहेका कंक्रिट र खाल्डा खुल्डीका कारण कयौंपटक लडेको छु , स्थानीय छात्र आदर्श यादवले भने।सो ठाउँको व्यापार पनि चौपट भएको पसलेहरुले गुनासो गरेका छन् । 


सर्लाहीमा विधुत सेवा अनियमित/प्रचण्ड गर्मीको बेला छिनछिनमा बत्ती जाँदा जनतालाई सास्ती


 सर्लाहीमा विधुत सेवा अनियमित/प्रचण्ड गर्मीको बेला  छिनछिनमा बत्ती जाँदा जनतालाई सास्ती 



लोकतन्त्र समाचारदाता----

सर्लाही,साउन ३२

     अनियमितरुपमा छिनछिनमा लाइन काटेर विद्युत प्राधिकरण वितरण केन्द्र मलंगवासहित सर्लाही जिल्ला अन्तर्गतका सबै वितरण केन्द्रहरुले दुख दिन थालेकाले जिल्लाभरीका उपभोक्ताहरु प्राधिकरणको लापरबाहीपुर्ण रवैया प्रति आक्रोशित भएका छन् ।मलंगवा वितरण केन्द्रको प्रमुखको रुपमा उमेश प्रसाद यादव आएदेखि जिल्लामा यस्तो समस्या बढेको जनगुनासो आएको छ।

    ६ महिना अगाडि  यादव वितरण केन्द्रको प्रमुखको रुपमा आएका हुन्।उहाँ आएदेखिनै  प्राधिकरणले बिना सूचना छिनछिनमा झ्याप–झ्याप विद्युत लाइन काट्न थालेको हो। यसरी छिनछिनमा बत्ती जाँदा बिजुलीबाट हुने सम्पूर्ण काममा अवरोध उत्पन्न भएको छ ।

   लाइन नभएको बेला विकल्पको रुपमा इन्भर्टरबाट काम चलाउँदै आएका मानिसहरु छिनछिनमा बत्ती गरइरने समस्याका कारण सही तरिकाले इन्भर्टर समेत चार्ज गर्न पाएका छैनन् ।सबैखाले कार्यालयमा अफिसियल कामहरु कम्पियुटरको माध्यमबाट हुने गरेकोले एकदिनको काममा तीनचार दिन लाग्ने गरेको कर्मचारीहरुले बताएका छन् ।

   विद्युत प्राधिकरणका कार्यालय प्रमुखदेखि अन्य कर्मचारीहरु सँग छिनछिनमा लाइन जाने समस्याको कारणबारेमा जानकारी लिन फोन गर्दा फोन नउठाउने र यदी उठाइहाले पनि प्राविधिक खराबी आएको भनेर पन्छिन खोजेको उपभोक्ताहरुले बताए। कतिबेला लाइन आउँछ भनेर सोद्धा प्राविधिकहरु काममा लागेको छ केही छिनमै लाइन आउँछ भनि फोन काट्ने गरेको उपभोक्ताहरुले भने । प्राविधिकहरु समस्याग्रस्त लाइनको मर्मत गरेर विद्युत सुचारु गरेपनि केहीबेरमै पुनः कटेर घन्टौंसम्म विद्युत सेवा अवरुद्ध हुने गरेको छ ।

    उपभोक्ताहरु यो समस्याबाट एक या दुईदिन मात्रै नभइ दैनिक रुपमा पिडित भइरहेका छन्।लोडसेडिङ अन्त्यपछि पनि उपभोक्ताले निरन्तररूपमा यस्तो समस्या झेल्दै आएका छन् । 

    उपभोक्ताहरुलाई जस्तो सुकै समस्याहरु आएपनि बिजुलीको महसुल समयमै बुझाउनु पर्छ । समयमा महसुल नबुझाएको खण्डमा प्राधिकरणले उपभोक्तासँग १० देखि २५ प्रतिशतसम्म जरिवाना असुल्ने गरेका छन् । लाइन दिन कन्जुस्याइँ गर्ने तर लाइन काट्न कन्जुस्याइँ नगर्ने विद्युत प्राधिकरणको गैरजिम्मेवारीपन रवैया प्रति जिल्लाभरीका उपभोक्ताहरु पिडित बनेका छन्।  वितरण केन्द्र मलंगवामा प्रमुख भएर आए लगत्तै यादवले ३३ जना दैनिक ज्यालादारी ,११ जना सेवा करार र २० जना गोटा गन्ती(मिटर रिडर) गरि जम्मा ६४ जना कर्मचारीहरु भर्ना गरेका छन् ।ती ५४ जना कर्मचारीहरुमा तलब भत्ता वापत मासिक  १३ लाख ३८ हजार ५ सय रुपैया अतिरिक्त खर्च हुने गरेको वितरण केन्द्र मलंगवाका एक कर्मचारीले जानकारी दिए। सहि तरिकाले विधुत सेवा प्रदान गर्न आम उपभोक्ताले तिरेको महसुल वापतको रकमबाट मासिक १ लाख रुपैया भन्दाबढी रकम खर्च गरेर प्राविधिक तथा कर्मचारीहरु भर्ना गर्दा पनि यहाँका जनताहरु अनियमित विधुत कटौती र अघोषित लिडसेडिंङको मार झेल्दै आएका छन् ।

    उता प्रमुख  यादवले भने  मलंगवा वितरण केन्द्र अन्तर्गत एउटामात्र सब स्टेसन मलंगवामा रहेको र यसले सबैतिर धान्न नसकेकोले विकल्प स्वरुप प्रादेशिक कार्यालयको आयोजना अन्तर्गत  पुर्वमा हरिपुर्वा र पश्चिमा गडहिया डुमरियामा गरि दुईवटा सब स्टेसन निर्माणाधीन अवस्थामा रहेकोले अबको १०-१५ दिनको भित्रमा ती दुवै सब स्टेसनहरु संचालनमा आएपछि बत्तीको समस्या हटेर जाने बताएका छन् ।

  जिल्लाको सदरमुकाम  मलंगवा सहित हरिपुर्वा, बलरा लालबन्दी, हरिवन, हरिपुर,बरहथवा, बयलबास,गोडैता,गढैया डुमरिया लगायतका मुख्य सहरदेखि गाउँसम्मका उपभोक्ताहरु जथाभावी बत्ती काटिने समस्या झेलिरहेका छन्।

    

      

Monday, August 14, 2023

काँग्रेसको सूचना संचार तथा प्रचार विभागमा सर्लाहीका ठाकुर मनोनीत

 काँग्रेसको सूचना संचार तथा  प्रचार विभागमा सर्लाहीका ठाकुर मनोनीत



लोकतन्त्र समाचारदाता---

सर्लाही,साउन २९

    नेपाली काँग्रेसको सूचना, संचार तथा प्रचारप्रसार विभागको सदस्यमा सर्लाहीका प्रभात ठाकुर  मनोनीत भएका छन् ।

   ठाकुर  पार्टीको विधान २०१७(संशोधन सहित)को धारा ११ को (ख) बमोजिम प्रदेश सदस्य नितेश कुमार गुप्ता प्रमुख रहेको सूचना ,संचार तथा प्रचारप्रसार विभागको सदस्य पदमा मनोनीत भएका हुन्। 

   पार्टी संगठनलाई थप सुदृढ एवं गतिशील बनाउन ठाकुरले महत्त्वपूर्ण भुमिका खेल्ने छ भन्नेमा पार्टी विश्वस्त रहेको मधेस प्रदेश कार्यसमिति जनकपुरधाम,धनुषाका सभापति कृष्ण  कुमार यादवले बताएका छन् ।


पत्रकार प्रकाश मैनालीले गुरुकुल र बृद्ध सेवा आश्रमलाई सहयोग गरेर मनाए आफ्नो जन्मदिन

   पत्रकार प्रकाश मैनालीले  गुरुकुल र बृद्ध सेवा आश्रमलाई सहयोग गरेर मनाए आफ्नो जन्मदिन 



लोकतन्त्र समाचारदाता---

सर्लाही,साउन २९

      सर्लाहीका पत्रकार प्रकाश मैनालीले गुरुकुल र बृद्ध सेवा आश्रमलाई सहयोग प्रदान गरेर आफ्नो जन्मदिन मनाएका छन् ।पत्रकार मैनालीले लालबन्दी नगरपालिका वडा न-७ स्थित राधाकृष्ण गुरुकुलमा बस्ने बटुकहरुलाई एक महिनालाई पुग्ने खाद्यान्न र सोही नगरपालिकाको वडा न-२ स्थित रहेको  पद्म–भुवनेश्वरी नमूना वृद्ध सेवाश्रमलाई दुई थान एलइडी बत्ती प्रदान गरेर जन्मदिन मनाएका हुन्।

     रेडियो एकताका स्टेशन म्यानेजर तथा हिमालय टाइम्स राष्ट्रिय दैनिक पत्रिका  र इमेज च्यानलका सर्लाही जिल्ला प्रतिनिधिको साथै  स्थानीय  उज्यालो अभियान दैनिकका संचालक समेत रहनुभएका पत्रकार मैनालाीले सोमबार परेको आफ्नो जन्मदिनको अवसरमा गुरुकुलमा बसेर संँस्कृतको शिक्षा लिइरहेका बटुकहरुलाई खाद्यान्नको अभाव रहेको थाहा पाएपछि एक महिनाका लागि पुग्ने १ सय ७५ केजी चालम र ३० केजी दाल प्रदान गरेका छन्  । त्यस्तै, उनले बृद्ध सेवा आश्रममा आश्रीत बुवा आमा तथा अन्यलाई फलफुल वितरण गरेका छन् ।

    जन्मदिनकै अवसरमा रेडक्रस बयलवासको सदस्य तथा आँखा उपचार केन्द्रका उपाध्यक्ष समेत रहेका पत्रकार  मैनालीले हरिवन न.पा वडा न- १ कैलाशपुरीस्थित मानव सेवाश्रमलाई पनि दुई थान एलइडी बत्ती प्रदान गरेका छन् ।

Sunday, August 13, 2023

जनमत पार्टीको विस्तारित बैठमा २ सय भन्दाबढी पार्टी प्रवेश

 जनमत पार्टीको विस्तारित बैठमा २ सय भन्दाबढी पार्टी  प्रवेश



लोकतन्त्र समाचारदाता---

सर्लाही,साउन २८

   सर्लाहीको बलरा नगरपालिका वडा न-३ मा आज सम्पन्न जनमत पार्टीको  विस्तारित बैठकमा २ सय भन्दाबढी ब्यक्तिहरुकोले पार्टी प्रवेश गरेका छन् । 

   पार्टीका केन्द्रीय सदस्य हरिनन्दन यादवको प्रमुख आतिथ्यता तथा केन्द्रीय सदस्य संजय कुमार सिंह,र सर्लाही जिल्ला इन्चार्ज श्रीचन यादव लगायतका पदाधिकारीहरुको विशिष्ठ आतिथ्तामा सम्पन्न भएको विस्तारित बैठकमा विभिन्न पार्टी परित्याग गरि २ सय भन्दाबढी ब्यक्तिहरु सामुहिक रुपमा पार्टी प्रवेश गरेका हुन्।

    कार्यक्रममा बोल्दै जिल्ला इन्चार्ज यादवले मधेस मुक्ति र सहिदको सपना जनमत पार्टी बाहेक अरु पार्टीले नगर्ने बताएका छन् । मधेस र मधेसी जनता वर्षौंदेखि शिक्षा,स्वास्थ्य बेरोजगारी जस्ता समस्या भोग्दै आएकाले यस्ता समस्याबाट मुक्ति दिलाउन  हाम्रो पार्टी बाहेक अरु कुनै विकल्प नरहेको यादवले दाबी गरे।

   कार्यक्रमको अध्यक्षता गरेका बलरा न.पा-३ का अध्यक्ष निरज कुमार शर्माले मधेसको विकास डा.सि.के राउत बाहेक अरु कसैले नगर्ने बताएका छन्। 

युवाहरुले गरे कौडेना बजारमा सरसफाई

 


युवाहरुले गरे  कौडेना बजारमा सरसफाई

लोकतन्त्र समाचारदाता---

सर्लाही,साउन २८

   अन्तर्राष्ट्रिय युवा दिवको अवसर पारेर कौडेना गाउँपालिकाका युवाहरुले कौडेना बजार क्षेत्रमा सरसफाइ गरेका छन् ।

   सामाजिक कार्यमा लागेका स्थानीय युवाहरु गत शनिवार परेको उक्त दिवसको अवसर पारेर कौडेना युवा समितिको आयोजना तथा गा.पा अध्यक्ष रूपेश कुमार यादव"बबलु" को सहयोगमा सरसफाइ गरेका हुन्।आफ्नो गाउँ आफै सफा राखौ भन्ने उदेश्यका साथ सबैभन्दा बढी फोहर हुने कौडेना बजारको विभिन्न ठाउँको सरसफाइ गरेको स्थानीय युवा सामाजिक अभियन्ता धिरोज यादवले जानकारी दिए। सफाईको क्रममा उनीहरू स्थानीयहरुलाई आ-आफनो पसल, होटल,ग्यारेज तथा मठ मन्दिरकाे आगाडी जथाभावी फोहोर नफाल्न समेत अनुरोध गरेका थिए।

       सरसफाइ कार्यक्रममा  नेपाल प्रहरी ,नगर प्रहरी लगायत स्थानीय युवाहरुको  सहभागिता रहेको थियो।

Saturday, August 12, 2023

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा मलंगवामा प्रभात फेरी तथा अन्तरक्रिया


अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा मलंगवामा प्रभात फेरी तथा अन्तरक्रिया


लोकतन्त्र समाचारदाता----

सर्लाही,साउन २७

     अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा सर्लाहीको सदरमुकाम मलंगवामा प्रभात फेरी तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ। मलंगवा न.पा को आयोजना तथा विभिन्न संस्थाहरुको सहकार्यमा  कार्यक्रमको आयोजना गरिएको छ।

     शनिवार बिहान  मलंगवा बजारको परिक्रमा पछि नगरपालिकाको सभा हलमा  "सुरक्षित वैदेशिक रोजगार, सरसफाई तथा लागूऔषध न्यूनीकरणमा स्थानीय सरकार तथा यूवाहरु को भुमिका"विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ।वडा न-१ का वडाअध्यक्ष एवं निमित्त नगर प्रमुख  नवल किशोर रायको अध्यक्षता,जिल्ला प्रशासन कार्यालय सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारीको प्रमुख आतिथ्यता तथा जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी नरेशराज सुवेदीको विशिष्ट आतिथ्यतामा भएको अन्तरक्रिया कार्यक्रममा  निमित्त प्रमुख प्रशासकीय अधिकृत रामपुकार राय, नागरिक समाजका शिवचन्द्र चौधरी, मलंगवा जेसिज २०२३ का अध्यक्ष रामलखन महतो ,पत्रकार बख्तियार अलि, मानव अधिकार रक्षक संजालका अध्यक्ष मुकेश मिश्र, ओरेक नेपालकी  देवकुमारी महरा, सुधार केन्द्रका प्रतिनिधिहरु लगायतले मन्तवय राखेका  थिए।

  कार्यक्रममा १५० भन्दा बढी  युवाहरु सहभागी रहेका थिए।



  




सर्लाहीका उद्यमी तथा व्यापारीहरुलाई कर सम्बन्धि २ दिने तालिम दिइयो

 

सर्लाहीका उद्यमी तथा व्यापारीहरुलाई  कर सम्बन्धि २ दिने तालिम दिइयो

मनोज यादव---

सर्लाही,साउन २७

  सर्लाहीको सदरमुकाम मलंगवामा  नेपाल उद्योग वाणिज्य महासंघ तथा उद्योग वाणिज्य संघ सर्लाहीको आयोजना र GIT को प्रविधिक सहयोगमा दुईदिने कर सम्बन्धि तालिम सम्पन्न भएको छ ।

   उवासंघ सर्लाहीका अध्यक्ष बिरेन्द्र शाहको अध्यक्षतामा सम्पन्न भएको तालिममा मलंगवा लगायतका ठाउँका साना तथा मझौला उद्यमी र ब्यापारीहरुलाई कर सम्बन्धि प्रशिक्षण दिइएको छ।

   बिहिवार र शुक्रवार दुई दिनसम्म चलेको तालिमका सहभागीहरुलाई उ.वा महासंघका सहायक निर्देशक एवं आयोजित कार्यक्रमका संयोजक लोकराज जोशी ,फेलो चार्टर्ड एकाउन्टेन्ट लक्ष्मी प्रसाद लुइटेलले र चार्टर्ड एकाउन्टेन्ट रश्मिला महर्जनले आय कर र मुल्य अभिबृद्धि ,साना करदातालाई डे-०१ त डे-०२ विवरण बुझाउने प्रक्रिया ,आय कर र मुल्य अभिबृद्धि कर सम्बन्धि  कानुनमा भएका व्यवस्था र करदाताले अनुपालन गर्ने प्रक्रियाको सम्बन्धमा  प्रशिक्षण दिइएको उ.वा.संघ सर्लाहीका महासचिव संजय राय"सुजय"ले जानकारी दिए।

   तालिमको समापन कार्यक्रममा बोल्दै नेपाल सुनचाँदी व्यवसायी महासंघ मधेश प्रदेश का स-कोषाध्यक्ष कमलेश शाहले दुईदिने तालिमबाट सिकेका कुरा र अनुभव शाझा गर्दै आयोजक तथा सहयोगी संस्थालाई सम्पूर्ण सहभागीहरुको तर्फबाट धन्यवाद दिएका थिए। ८० जनाभन्दा बढी उद्यमी तथा व्यापारीहरुले सक्रिय रुपमा सहभागीता जनाएको यस तालिमबाट प्रशिक्षित भएकाहरुले करको दायरा बिस्तार गर्न अहम भूमिका खेल्ने विश्वास लिएको उ.वा.संघ सर्लाहीका अध्यक्ष शाहले बताए ।

    तालिममा कर कार्यालयका प्रमुख कर अधिकृत राकेश कुमार साह,घरेलु तथा साना उद्योग कार्यालय मलंगवाका प्रमुख जितेन्द्र किशोर गुप्ता लगायत उद्योगी,व्यापारी तथा पत्रकारहरुको उपस्थिति रहेको थियो।

वर्षौंदेखि गाउँब्लक जग्गामा बसोबास गर्दै आएका सर्लाही हरिवनका २१ घरपरिवार बल्ल बन्न पाए जग्गाधनी

 


वर्षौंदेखि गाउँब्लक जग्गामा बसोबास गर्दै आएका सर्लाही हरिवनका २१ घरपरिवार बल्ल बन्न पाए जग्गाधनी 


मनोज यादव---

सर्लाही,साउन २७

      वर्षौंदेखि गाउँब्लक जग्गामा बसोबास गर्दै आएका सर्लाहीको हरिवन नगरपालिका वडा न-७, पत्थरकोटियाका २१ घरपरिवारले आफ्नै नाममा जग्गाको लालपुर्जा पाएका छन् ।नापी कार्यालय सर्लाहीले शुक्रवार सदरमुकाम मलंगवा स्थित कार्यालयमा आयोजना गरेको  कार्यक्रममा नापी प्रमुख संजय मानन्धर र मालपोत कार्यालय प्रमुख पनिलाल यादवले उनीहरूलाई लालपुर्जा वितरण गरेका हुन् ।

      नापीको टोलीले २०२४ सालको सर्वे नापीदेखि हालसम्म बसोबास गर्दै आएको गाउँब्लक जग्गाको  नक्शांकन गरि र आवश्यक सबै कागजातहरु तयार गरि मात्र एकवर्षको अवधीमा सो जग्गामा बसोबास गर्दै आएका घरपरिवारको मुल ब्यक्तिको नाममा लालपुर्जा बनाएर वितरण गरिएको नापी कार्यालय सर्लाहीका प्रमुख  मानन्धरले बताए  । भोगचलनको आधारमा वितरण गरिएको जग्गाको कुल क्षेत्रफल १ बिगहा रहेको छ। 

     सर्लाही जिल्लाको झण्डै ४० वटा गाउँमा सर्वे गरेको ३० वर्ष भइसक्दा पनि स्थानीयहरु लालपुर्जा विहिन अवस्थामा रहकाले नापीको टोली ती जग्गाको कागजी प्रक्रियाहरु पूरा गर्ने कार्यमा लागिसकेको र सबै प्रक्रियाहरु पूरा गरि तयारी अवस्थामा रहेका १२५ थान लालपुर्जाहरु आउँदो भदौ मसान्त भित्र वितरण गर्ने नापी प्रमुख मानन्धरले जानकारी गराए।

 सर्वे गरिएको लामो समय पश्चात् आफ्नै नाममा लालपुर्जा पाएर जग्गाधनी बन्न पाएका स्थानीयहरु निकै खुसी देखिन्थे।


१८ औँ बार्षिक उत्सवको अवसरमा सहारा मल्टिपर्पस द्वारा मलंगवामा रक्तदान


१८ औँ बार्षिक उत्सवको अवसरमा सहारा मल्टिपर्पस द्वारा मलंगवामा रक्तदान



लोकतन्त्र समाचारदाता----

सर्लाही,साउन २७

     सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिकामा प्रधान कार्यालय रहेको सहारा मल्टिपर्पस को-आपरेटिभ सोसाइटी लिमिटेडले आफ्नो स्थापनाको  १७ औं वर्ष पूरा गरि १८ औँ वर्षमा प्रवेश गरेको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ।

     यसअघि पनि प्रत्येक वर्ष आफ्नो वार्षिकोत्सवको अवसरमा  विभिन्न सामाजिक उत्तरदायित्व मुलक कार्यक्रमहरु गर्दै आईरहेको यस संस्थाले "रक्तदान जिवनदान"को मुल मन्त्रलाई आत्मसात गर्दै यसवर्ष रक्तदान कार्यक्रम सम्पन्न गरेको मुख्य प्रबन्धक सुनिल कुमार गुप्ताले जानकारी गराउनु भयो।

    मलंगवा न.पा वडा न-९ स्थित संस्थाको प्रधान कार्यालयमा आयोजना भएको रक्तदान कार्यक्रम पश्चात् अध्यक्ष वसी अहमद मिकरानी र मुख्य प्रबन्धक गुप्ताले संयुक्तरूपमा केक  काटेर सो अवसरमा उपस्थित भएका संचालक समितिका पदाधिकारी तथा  कर्मचारीहरु बीच  एक आपसमा शुभकामना आदानप्रदान गरि वार्षिकोत्सब मनाएका थिए।

   


Friday, August 11, 2023

सर्लाही जिल्लामै पहिलोपटक प्रदेश सभा सदस्य कौशल किशोर रायद्वारा आ.व २०७९-०८० मा संचालीत निर्वाचन क्षेत्र विकास कार्यक्रम तथा सम्पन्न योजनाहरू सार्वजनिक


सर्लाही जिल्लामै पहिलोपटक प्रदेश सभा सदस्य कौशल किशोर रायद्वारा आ.व २०७९-०८० मा संचालीत निर्वाचन क्षेत्र विकास कार्यक्रम तथा सम्पन्न योजनाहरू सार्वजनिक 


मनोज यादव---

सर्लाही,साउन २६

    सर्लाही जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ ‘ख’  बाट निर्वाचित मधेस प्रदेश सांसद कौशल किशोर रायले   निर्वाचना क्षेत्र विकास कार्यक्रम अन्तर्गत पाउनु भएको ३ करोडको बजेटबाट संचालित विकास कार्यक्रम तथा सम्पन्न योजनाहरूको विवरण  सार्वजनिक गर्नुभएको छ। उहाँले  बुधबार मलंगवा नगरपालिकाको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरि निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत पाउनुभएको बजेटबाट आर्थिक वर्ष २०७९/०८० मा गरेका कामहरुको विवरण सार्वजनिक गर्नुभएको हो।

  जनताको काम तथा क्षेत्र विकासको लागि आएको बजेटबाट भए गरेका काम तथा  योजनाहरुको बारेमा  आमजनताले पनि थाहा पाउन् भन्ने उदेश्यले पत्रकार सम्मेलन मार्फत विवरणहरु सार्वजनिक गरेको प्रदेश सांसद रायले बताउनुभयो । 

    रायले प्रशासनिक खर्च समेत गरि  उपभोक्ता समिति मार्फत २५ वटा शिर्षकमा रकम बिनियोजन गरी कामहरु गरेको जानकारी गराउनुभयो।गत आ.व मा सडक,पुल,भवन,सिंचाइ तथा उर्जा,सामाग्री खरिद तथा वितरणको लागि विनियोजित रकम र खर्चको बारेमा उहाँले पत्रकारहरुलाई जानकारी गराउनुभयो।

     निर्वाचन क्षेत्र न २ "ख" अन्तर्गत पर्ने २६ वटा वडाहरुमा उहाँले अधुरो विद्यालय भवन तथा मन्दिर,मदरसाको निर्माणकार्य,खानेपानीको लागि डिप बोरिङ जडान,अधुरो स्वास्थ्य चौकीको निर्माण ,पानी निकासीको लागि नाला निर्माण ,दलित बस्तीमा मुसहरहरुको लागि घर निर्माण ,नयाँ कृषि सडक तथा कल्भर्ट निर्माण ,विद्यालयलाई आवश्यक पर्ने डेक्स बेन्च ,विभिन्न विद्यालयको कम्पाउण्ड बाल निर्माण ,सडक ढलान लगायतका कामहरुको लागि छुट्टयाइएको रकम र खर्चको विवरण कार्यक्रममा उपस्थित पत्रकारहरुलाई जानकारी गराउनुभयो।

    सांसद रायले गएको आर्थिक वर्षमा टुक्रे योजनामा काम गरेको बताउँदै  चालु आर्थिक २०८०/०८१ मा  ठूलो योजनामा समेत काम गर्ने जानकारी  गराउनुभयो। 

    जिल्लाको ४ वटा निर्वाचन क्षेत्रबाट प्रत्यक्ष तथा समानुपातिकमा निर्वाचित भएर गएका  संघीय तथा प्रदेश सांसदहरु मध्येबाट हालसम्म एकजना पनि जनप्रतिनिधिले विकास कार्यक्रम तथा सम्पन्न योजनाहरूको विवरण र खर्च  यसरी पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेका थिएनन्। प्रदेश सांसद राय सर्लाही जिल्लामै  यसरी पत्रकार सम्मेलन मार्फत प्राप्त बजेट, विकास कार्यक्रम तथा सम्पन्न योजनाहरूको विवरण र खर्च सार्वजनिक गर्ने पहिलो जनप्रतिनिधि बन्नु भएको छ । उहाँको कार्य सराहनीय रहेकोले यसबाट अरुले पनि सिक्नुपर्ने मानवअधिकारकर्मी मुकेश मिश्रले भने।