Saturday, December 31, 2022

बरहथवाको मिलिजुली कृषक समूहलाई कृषि सामाग्री वितरण

 

बरहथवाको मिलिजुली कृषक समूहलाई कृषि सामाग्री वितरण

लोकतन्त्र समाचारदाता---

सर्लाही,माघ १६

   सर्लाहीको बरहथवा नगरपालिका वडा न-१४ हरिपुर्वा टोलमा रहेको मिलिजुली कृषक समुहलाई  प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाई कार्यालय सर्लाहीले कृषि सामग्री वितरण गरेको छ ।

  मिलिजुली कृषक समूहको आयोजना तथा बरहथवा नगरपालिकाका उपप्रमुख रामबाबु साहको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजना गरि ईकाई प्रमुख राम बलम साहले समूहका अध्यक्ष श्रीनिवास कर्णलाई स्पेयर टंकी,मकै गोडमेल मेसिन,मकै चुन्ने मेसिन,किटनाशक,त्रिपाल,पानी तान्ने मोटर लगायतका कृषि सामाग्रीहरु हस्तान्तरण गरेको समूहका सदस्य जयनारायण साहले जानकारी दिएको छ।

   किसानहरुलाई मकै चकलाबन्दीमा आधारित खेती मार्फत उत्पादन वृद्धिका लागि सहयोग पुर्याउने उदेश्यले ५० प्रतिशत अनुदानमा सो सामाग्रीहरु वितरण गरिएको इकाई प्रमुख साहले बताए ।

   मिलिजुली कृषक समूहका अध्यक्ष कर्णको अध्यक्षतामा समूहका सदस्यहरुलाई एकदिने कृषि प्राविधिक तालिम समेत प्रदान गरिएको थियो।

राजश्री बैंकका मुख्य प्रबन्धक एवं मलंगवा जेसीज भुतपुर्व अध्यक्ष राजनहरि श्रेष्ठलाई पितृ शोक

 

राजश्री बैंकका मुख्य प्रबन्धक एवं मलंगवा जेसीज भुतपुर्व अध्यक्ष राजनहरि श्रेष्ठलाई पितृ शोक

 

मनोज यादव---

सर्लाही,पुस १६

     राजश्री सेविङ्ग्स एण्ड क्रेडिट को-आपरेटिभ सोसाइटी लिमिटेड मलंगवा सर्लाहीका मुख्य प्रबन्धक एवं मलंगवा जेसिजका भुतपुर्व अध्यक्ष राजनहरी श्रेष्ठलाई पितृशोक परेको छ। 

   उनको पिता रामहरि श्रेष्ठको शनिबार बिहान हृदयघात बाट निधन भएको हो।उहाँ ७२ बर्षको हुनुहुन्थ्यो।

    उहाँको निधन प्रति राष्ट्रिय लोकतन्त्र दैनिक पत्रिका परिवारको तर्फबाट हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौं ।

   

Friday, December 30, 2022

गोडैताका कोरोना प्रभावितहरुको लागि उद्यमशिलता बिकास तालिम सम्पन्न


गोडैताका कोरोना प्रभावितहरुको लागि उद्यमशिलता बिकास तालिम सम्पन्न

लोकतन्त्र समाचारदाता---

सर्लाही,पुस १५

   सर्लाहीको गोडैता नगरपालिकामा कोरोना प्रभावितहरुका लागी संचालित उद्यमशिलता बिकास तथा व्यवसायिक योजना निर्माण सम्बन्धि ४ दिने तालिम सम्पन्न भएको छ ।

     राष्ट्रिय रोजगार प्रर्बद्धन केन्द्रको आयोजना, सेसी नेपालको सहयोग तथा गोडैता नगरपालिकाको समन्वयमा १२ गते मंगलबारदेखी १५ गते शुक्रवारसम्म उक्त तालिम संचालन भएको हो।गोडैता स्रोत केन्द्रमा संचालित उक्त तालिममा  गोडैता न.पा र कौडेना गाउँपालिकाका  २५ जना सहभागीहरु रहेका थिए ।ब्यवसाय सुरुवात गर्नका लागी प्रशिक्षण गर्ने उद्देश्यका साथ उक्त तालिमको आयोजना गरिएको आयोजकले जनाएको छ।

    तालिम लिइसकेका सहभागीहरुलाई व्यवसाय संचालन गर्नका लागी संस्थाले समेत सहयोग गर्ने  केन्द्रकी अध्यक्ष गायत्री देवी महतोले बताउनुभयो। यस संस्थाले स्थानीय स्तरमा रोजगार तथा स्वरोजगा प्रर्बद्धनका लागी कोरोना प्रभावित घरधुरीको पुर्नउत्थानमा समेत सहयोग गर्दै आईरहेको र आगामी दिनमा समेत बिभिन्न निकायको सहयोगमा कार्यक्रमहरु मर्फत स्थानीय जनसमुदायलाई सहयोग पुर्याइरहने संस्थाका कार्यकारी निर्देशक शिवजी प्रसाद साहले बताए।

मलंगवा नगरपालिकाको मुख सडक निर्माण तथा बसपार्क संचालन सम्बन्धमा सर्वपक्षीय समन्वयात्मक बैठक सम्पन्न

 मलंगवा नगरपालिकाको मुख सडक निर्माण तथा बसपार्क संचालन सम्बन्धमा सर्वपक्षीय समन्वयात्मक बैठक सम्पन्न 


लोकतन्त्र समाचारदाता---

सर्लाही,पुस १४

   सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिकाको मुख सडक निर्माण तथा बसपार्क संचालन सम्बन्धमा सर्वपक्षीय समन्वयात्मक बैठक सम्पन्न भएको छ।

   बिहीबार नगरप्रमुख नागेन्द्र प्रसाद यादवको अध्यक्षतामा उक्त बैठक सम्पन्न भएको हो।मलंगवा नपाको सभा हलमा सम्पन्न भएको उक्त बैठकमा नगरपालिकाले  वडा न-९ श्रीमती कृष्णा देवी जनता माद्यामिक विद्यालयदेखि वडा न-८ राजश्री सिनेमा हलसम्मको मूल सडकमा सडक कालोपत्रे तथा नाला निर्माणको कार्य गर्न लागेकोले सो सडकमा मापदण्ड अनुसार परेका भौतिक संरचनाहरु हटाउन र मलंगवा नपा-२ स्थित जिल्ला प्रहरी कार्यालयको छेउमा भेडियाही जाने मुख्य सडकमा निर्माण सम्पन्न भई तयारी अवस्थामा रहेको करोडौंको लागतको बसपार्क संचालनको विषयमा छलफल गरिएको थियो।

    सो छलफलबाट  कृष्णा देवी स्कुल हुँदै बालमन्दिर चौक देखि पश्चिम वडा न-८ स्थित नगरपालिका चौक,नेपाल बैंक लिमिटेड हुँदै राजश्री सिनेमा हलसम्मको मुल सडकमा  कालोपत्रे सडक तथा नाला निर्माणकोलागि १५ मिटर सडक चौडाइ रेखाङ्कन भए अनुसार मापदण्ड भित्र पर्ने भौतिक संरचनाहरु     पुस ८ गते राष्ट्रिय  दैनिक लोकतन्त्र पत्रिकामा सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र हटाउन साथै मलंगवा-२ मा रहेको बसपार्क पनि माघ मसान्तमै संचालनमा ल्याउने सर्वपक्षीय सहमती भएको नगरपालिकाले जनाएको छ।

Thursday, December 29, 2022

चिसोले मलंगवामा एक मजदुरको मृत्यु


चिसोले मलंगवामा एक मजदुरको मृत्यु

लोकतन्त्र समाचारदाता---

सर्लाही,पुस १४

   सर्लाहीको सदरमुकाम मलंगवामा  चिसोले कठ्यांग्रिएर एक मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा मलंगवा नगरपालिका वडा न-३ बस्ने रामचन्द्र महतोको ४९ वर्षिय छोरा राम दुलार महतो रहेका छन् ।

  घरको आर्थिक अवस्था कमजोर रहेकोले मलंगवा लगायत आसपासका गाँउ ठाउँमा मजदुरी गर्दै आएका महतको बुधबार राती साढे ९ बजे चिसोले कठ्यांग्रिएर मृत्यु भएको निजका छिमेकी सुवास साहले जानकारी दिए ।मृत्यु भएको दिन उनी मजदुरीको लागि गएको र सो दिनको मौसम पनि धेरै चिसो रहेकोले शरिरमा चिसो लागेर मृत्यु भएको साहले बताएको छ।

  मृतक महतोको ५ छोरी र १ छोरा मध्येबाट २ छोरीको विवाह हुन बाँकी रहेको र १८ वर्षको छोरा बुवासँगै मजदुरी गर्दै आएको छिमेकीहरुले जनाएका छन् ।

 
 

समावेशी तथा दिगो ग्रामीण खानेपानी सेवा परियोजनाको समग्र समीक्षा तथा सिकाई आदान प्रदान कार्यक्रम सम्पन्न

 


समावेशी तथा दिगो ग्रामीण खानेपानी सेवा परियोजनाको समग्र समीक्षा तथा सिकाई आदान प्रदान कार्यक्रम सम्पन्न

मनोज यादव---

सर्लाही,पुस १४ ।

     SNV नेपाल र ग्रामीण नारी उत्थान संघ हरिपुर सर्लाहीद्वारा संचालित समावेशी तथा दिगो ग्रामीण खानेपानी सेवा परियोजना(BFL)अन्तर्गत जिल्ला स्तरीय परियोजनाको समग्र समीक्षा तथा सिकाई आदान प्रदान कार्यक्रम बिहीबार सर्लाहीको सदरमुकाम मलंगवामा सम्पन्न भएको छ।

   ग्रामीण नारी उत्थान संघका अध्यक्ष गोमा देवी न्यौपानेको अध्यक्षता तथा जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल किशोर सिंहको प्रमुख आतिथ्यतामा  सम्पन्न भएको कार्यक्रममा परियोजना संयोजक मदन कुमार वर्माले कार्यक्रमको लागि विनियोजित बजेट प्रस्तुत गर्दै सन् २०१९ देखि सन् २०२२ सम्म संचालित परियोजनाको उपलब्धि,भावी कार्यक्रमको रणनीति तथा योजनाहरुको बारेमा जानकारी गराउनु भएको थियो।कार्यक्रममा सहभागी भएका जिल्लाको पर्सा,रामनगर,कौडेना र चन्द्रनगर गाउँपालिका कर्मचारी तथा प्रतिनिधिहरुबाट सुझावहरु संकलन गरि उहाँहरुकै सुझावको आधारमा पालिका स्तरको GESI योजनाको निर्माण समेत गरिएको थियो।

   कार्यक्रममा  SNV नेपालकी जिल्ला संयोजक श्री अम्बिका यादवले परियोजना संचालनको क्रममा प्राथमिकता दिनुपर्ने पक्षहरुको बारेमा जानकारी गराउनुभएको थियो।उहाँले पालिका प्रमुखहरुलाई आ-आफ्नो पालिका स्तरमा  जलवायु उत्थानशील खानेपानी आपुर्ती रणनीति कार्यान्वयन,खानेपानीको गुणस्तर परिक्षण सेवालाई निरन्तरता दिने,मानव श्रोत र बजेटको व्यवस्था गर्ने,खानेपानी सुविधा सुधारलाई निरन्तरता दिएर खानेपानी सुरक्षा योजना लागू गराउने,अपाङ्गता सहायता सेवा निरन्तर संचालन गर्न,अपाङ्गता संजालको क्षमता अभिवृद्धि गर्न,महिला उद्यमीहरु परिचालन गर्न र विद्यालय तथा स्वास्थ्य संस्था मार्फत स्वच्छता सम्बन्धि बानी व्यवहार प्रबर्द्धन गर्न रणनीति लागू गर्न सुझाव दिनुभएको थियो।

   प्रमुख अतिथि एवं जि.स.स प्रमुख सिंहले चारवटै पालिकामा संचालित परियोजना उपलब्धि मुलक रहेको बताउँदै जिल्लाको बिसवटै पालिकाहरु मध्येबाट स्थापना  नभएको पालिकामा अपाङ्गता भएकाहरुको लागि अपाङ्गता सहायत कक्षको निर्माण गर्ने जानकारी गराउनु भएको छ।

   मलंगवा स्थित महेन्द्र होटलको सभा हलमा सम्पन्न भएको कार्यक्रममा विशिष्ठ अतिथि जिसस उपप्रमुख जितेन्द्र कुशवाहा,चन्द्रनगर गापा प्रमुख राज कुमार महतो,जिल्ला समन्वय अधिकारी होमनाथ सुवेदी,अम्बिका यादव लगायत रामनगर,पर्सा,कौडेना र चन्द्रनगर गापा का कर्मचारी, प्रतिनिधि तथा पत्रकारहररुको उपस्थिति रहेको थियो।

नेतृत्व परियोजनाले खुलेर बोल्न सिकाएको बलराका दलित महिला तथा किशोरीहरुको भनाई

 

Video सहित

नेतृत्व परियोजनाले खुलेर बोल्न सिकाएको बलराका दलित महिला तथा  किशोरीहरुको भनाई



लोकतन्त्र समाचारदाता---

सर्लाही,पुस १४

सर्लाहीको बलरा नगरपालिकामा सेभ द चिल्ड्रेन र राष्ट्रिय रोजगार प्रबद्र्धन केन्द्र मलंगवा,सर्लाहीको सहकार्यमा संचालित नेतृत्व परियोजना बिहीबार एक कार्यक्रमका बिच समापन गरिएको छ।

   समापन कार्यक्रममा संस्थाले  परियोजना सँग आबद्ध बलरा न.पा का २५ जना दलित महिला तथा किशोरीहरुले परियोजनाबाट सिकेका विभिन्न विषय बस्तुहरुको आधारमा तयार पारिएका १२ बूंदे घोषणा पत्र जारी गरेका थिए। परियोजना सँग आवद्ध दलित महिला तथा किशोरीहरुले जारी गरिएको घोषणा पत्रमा उल्लेख गरिएका बुँदाहरु लाई पालना गर्ने प्रतिबद्धता सहित हस्ताक्षर गर्नुका साथै समुदायलाई पनि सचेत गराउन नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जाहेर गरेका थिए । 

   कार्यक्रममा नगर प्रमुख रामाशंकर प्रसाद कुश्वाहाले कार्यक्रम समापन भएपनि परियोजना सँग आवद्ध २५ जनामध्ये बाट १२ पास गरेका ५ जना  सहभागीहरुलाई  प्रौढ शिक्षा कक्षा संचालनका लागि अवसर दिने, साथै उनीहरुको समुह गठन गरि दर्ता गराई सिपमूलक आयआर्जनका कार्यक्रमहरु संचालन गरि प्राथमिकताका साथ अवसर दिने  प्रतिबद्धता जनाएका थिए।

 परियोजनामा आबद्ध  सहभागीहरुका अनुसार “ परियोजना बाट आफुहरुलाई धेरै फाइदा भएको छ।यसअघि सार्वजनिक कार्यक्रमहरुमा खुलेर बोल्न नसक्ने,आफ्नो परिचय र कुराहरु व्यक्त गर्न नसक्ने महिला र किशोरीहरु कार्यक्रममा आबद्ध भए पश्चात आफ्ना कुराहरु व्यक्त गर्न सक्ने भएको उनीहरूले बताए।






गोडैतामा नगरपालिका स्तरीय कार्यक्रम सल्लाहाकार समितिको बैठक सम्पन्न

 गोडैतामा नगरपालिका स्तरीय कार्यक्रम सल्लाहाकार समितिको बैठक सम्पन्न 



लोकतन्त्र समाचारदाता---

सर्लाही,पुस १४

     सर्लाहीको गोडैतामा नगरपालिका स्तरीय कार्यक्रम सल्लाहाकार समितिको बैठक सम्पन्न।

  राष्ट्रिय रोजगार प्रबर्द्धन केन्द्र मलंगवाको आर्थिक सहयोगमा बिहीबार उक्त कार्यक्रम सम्पन्न भएको हो।कार्यक्रममा गोडैता न.पा ले हालसम्म भए,गरेका कृयाकलाप तथा आगामी योजनाहरुको बारेमा जानकारी गराउनुका साथै यसमा CESI परीयोजना र स्पोनसरसिप परीयोजनाको सन २०२२ मा सम्पन्न कृयाकलापहरु तथा आगामी योजनाहरुको बारेमा प्रस्तुतिकरण गरीएको थियो ।बैठकमा विभिन्न गैर सरकारी संघ सस्थाका प्रतिनिधिहरुले पनि आआफ्नो संस्थाको कामहरुको।बारेमा प्रस्तुतिकरण गरेका थिए ।

   समितिको बैठक पश्चात् यस पालिकाको वडा न-७ मा रहेको आधारभुत स्वास्थ्य केन्द्र र वडा न-८ मा रहेको वेणी भोला नमुना माध्यमिक विद्यालयमा संचालित उधमशिलता विकास तथा व्यवसायिक योजना निमार्ण तालिमको साथै स्पोनसरसिप परीयोजनाबाट सहयोग भएको  Resource school को समेत अनुगमन गरीएको थियो । 

   नगरपालिको सभा हलमा सम्पन्न भएको बैठकमा  नगरप्रमुख देवेन्द्र यादव ,उपप्रमुख,प्रमुख प्रशाशकिय अभिकृत लगायत पालिका अन्तर्गतका विभिन्न शाखाका प्रमुखहरुको उपस्थिति रहेको थियो । 

Wednesday, December 28, 2022

गाउँपालिका प्रमुखको अगुवाइमा हुलाकी सडक निर्माणका लागि पर्सा गाउँपालिकामा मापदण्ड भित्रका भौतिक संरचनाहरु हटाइए

 


गाउँपालिका प्रमुखको अगुवाइमा हुलाकी सडक निर्माणका लागि पर्सा गाउँपालिकामा मापदण्ड भित्रका भौतिक संरचनाहरु हटाइए



लोकतन्त्र समाचारदाता---

सर्लाही,पुस १३

   सर्लाहीको पर्सा गाउँपालिकाले वडा न-५ र ६ मा रहेको सडक  अतिक्रमण हटाका छन् ।

   जिल्लाको हुलाकी राजमार्ग अन्तर्गत पर्ने पर्सा गापाको वडा न-५ र ६ मा सडक अतिक्रमण गरेर बनाइएका भौतिक संरचनाहरुका कारण बिगत ३ महिना देखि हुलाकी राजमार्गको निर्माणकार्यमा अवरोध हुँदै आरहेको र पालिका द्वारा पटकपटक खाली गरिदिन भनि स्थानीयहरु सँग  अनुरोध गर्दा समेत खाली गर्न नमानेपछि हुलाकी राजमार्ग प्रयोग गर्ने जिल्लाबासी र सम्बन्धित निकायको कडा निर्णय पश्चात् गापा अध्यक्ष धिरेन्द्र यादव विस्पतले आफ्नै  अगुवाइमा सम्बन्धित वडाका वडाअध्यक्षहरुको उपस्थिति र नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको साहयतामा जेसिवी स्काभेटर लगाएर मापदण्ड भित्र पर्ने भौतिक संरचनाहरु हटाएर सडक खालि गराएका हुन ।

    उक्त पालिकाको वडा न-५ र ६ मा रहेको अतिक्रमणका कारण  राष्ट्रिय गौरवको योजनाको रुपमा रहेको हुलाकी राजमार्गको निर्माणमा  बारम्बार अवरोध उत्पन्न भइ ढिलाई हुँदै आइरहेको थियो।हुलाकी राजमार्ग अन्तर्गत पर्ने पर्सा गापाको ३ किलोमिटर सडक यहाँका बासिन्दाहरुले वर्षौंदेखि अतिक्रमण गरेर राखेका कारण हुलाकी राजमार्गको निर्माणकार्यमा अवरोध उत्पन्न हुँदै आएको थियो। कच्ची तथा क्षतिग्रस्त सडकका कारण दैनिकजसो सवारी दुर्घटनाहरु हुँदै आएको र सडकमा उड्ने धुलोले सडक छेउछाउका बासिन्दाहरु विभिन्न रोगको सिकार समेत बन्दै आएकोले हुलाकी सडक अन्तर्गतका बासिन्दाहरु बाध्य भएर सडकको निर्माणकार्य चाँडोभन्दा चाँडो पूरा गर्नुपर्ने माग राखेर कयौंपटक सडक अवरुद्ध गरि आन्दोलन गरिसकेका छन् । 

  सोही कुराहरुलाई मध्येनजर गर्दै पर्सा गापा का प्रमुख यादव हुलाकी राजमार्गको निर्माणकार्यमा सघाउ पुर्याउन आफै लागिपरेका छन। यस कार्यमा सम्बन्धित वडाका वडाअध्यक्ष,स्थानीयबासी लगायत सुरक्षाकर्मीहरुले समेत सहयोग गरिरहेको प्रमुख यादवले बताए ।   पहिलेका पदाधिकारी तथा  राजनीतिकर्मीहरुले आफ्नो पार्टीको मान्छेको घर कसरी भत्काउने र चुनावको बेला भोंट नपाउने डरले अतिक्रमण हटाएका थिएनन् । तर ती सब कुराहरुको पर्वाह नगरि यस पालिकाका प्रमुख यादवले अतिक्रमण गरेर बनाइएका सबै भौतिक संरचनाहरु भत्काइ दिएका छन् ।

    अतिक्रमणहरु हटाइएकोले अबको केही दिनमै हुलाकी सडकको काम सुरु गरि दृत गतिमा निर्माणकार्य सम्पन्न गर्ने ठेकेदार कम्पनीले बताएका छन् ।आफुहरुको काममा सघाइ दिएको भन्दै ठेकेदार कम्पनीले पर्सा गापा का प्रमुख यादवलाई धन्यवाद दिएका छन्।


अख्तियारद्वारा मलंगवामा भ्रष्टाचार नियन्त्रण र सुशासन सम्बन्धी अन्तरक्रिया


अख्तियारद्वारा मलंगवामा भ्रष्टाचार नियन्त्रण र सुशासन सम्बन्धी अन्तरक्रिया

लोकतन्त्र समाचारदाता---

सर्लाही,पुस १३

     अख्तियार दुरुपयोग अनुसंधान कार्यालय बर्दिबासले बुधबार सर्लाहीको सदरमुकाम मलंगवामा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रबर्द्धन  सम्बन्धि जिल्ला स्तरीय अन्तरक्रिया कार्यकक्रम सम्पन्न गरेको  छ ।

  अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालका आयुक्त डा.सुमित्रा श्रेष्ठ अमात्यको अध्यक्षता तथा जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल किशोर सिंहको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।



   कार्यक्रममा आयुक्त अमात्यले भ्रष्‍टाचार नियन्त्रणमा महत्वपूर्ण भूमिका स्थानीय तह र सरकारी कार्यालयका प्रमुखहरुको रहेको हुंदा सवैले आ-आफ्नो स्थानबाट सक्दो प्रयास गर्दै सेवा प्रवाह गर्दा नैतिकता, सदाचार र निर्भीकताका साथ आम सेवाग्राहीहरुलाई प्रत्याभूत हुने गरी सुशासन कायम गर्न र प्रचलित ऐन, नियम, कानुन, नियमावली तथा कार्यविधिहरुको पालना गर्न आग्रह गर्नुभयो । पछिल्लो समयमा संघीयताको कार्यान्वयन सँगै स्थानीय तह सँग सम्बन्धित उजुरीको संख्या वृद्धि हुँदै गइरहेकोले भ्रष्‍टाचार नियन्त्रणको लागि कार्यालय प्रमुखहरु बढी जिम्मेवार हुनुपर्ने कुरा उहाँले स्पष्‍ट पार्नुभयो । मलंगवा नगरपालिका वडा न-८ स्थित कुशुम पार्टी प्यालेसमा सम्पन्न भएको कार्यक्रममा सहभागी भएका   पालिकाका प्रमुख,उपप्रमुख,प्रमुख प्रशासकीय अधिकृत लगायत विभिन्न सरकारी कार्यालयका प्रमुखहरुले  आ–आफ्नो जिज्ञासा र गुनासो राख्दै  सुभाव दिएका थिए ।

   कार्यक्रममा टंगालका सह-सचिव भोला दाहाल,सह-सचिव गोपाल कुमार अधिकारी,प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, चारवटै सुरक्षा निकायका प्रमुख र पत्रकारहरु लगायतको उपस्थिति रहेको थियो।

Tuesday, December 27, 2022

श्रीमती लक्ष्मी देवी मावि गम्हरियामा झण्डै डेढ करोडको लागतमा ८ कोठे भवन बन्ने


श्रीमती लक्ष्मी देवी मावि गम्हरियामा झण्डै डेढ करोडको लागतमा ८ कोठे भवन बन्ने

लोकतन्त्र समाचारदाता---

सर्लाही,पुस १२

   सर्लाहीको मलंगवा नगरपालिका वडा न-११ गम्हरिया स्थित रहेको श्रीमती लक्ष्मी देवी जनता माध्यमिक विद्यालयमा ८ कोठे भवन बन्ने भएको छ ।

   विद्यालयको प्रांगणमा बन्न लागेको उक्त भवनको सर्लाही क्षेत्र न-२ का प्रतिनिधि सभा सांसद महेन्द्र राय यादव र क्षेत्र न-२(ख)का प्रदेश सभा सांसद कौशल किशोर रायले संयुक्तरूपमा मंगलबार एक कार्यक्रमका बीच  शिलान्यास गरेका हुन् । राष्ट्रीय योजना आयोगबाट प्राप्त एक करोड पैंतालीस लाख रुपैयाको लागतमा उक्त भवनको निर्माण हुन लागेको विद्यालयका प्राधानाध्यापक युगेश्वर राउतले बताए । कक्षा कोठा अभावका कारण पठन पाठनमा समस्या हुने गरेकोले नयाँ भवन निर्माण भइसकेपछि पठनपाठनमा धेरै हदसम्म सहज हुने प्रधानाध्यापक राउतले बताएका छन् ।

   सोही अवसरमा विद्यालय परिवारले सांसदद्वय यादव र रायलाई दोसल्ला ओढाएर सम्मान गरेका छन् ।सम्मान कार्यक्रम मार्फत प्रअ राउतले वि.स २०१८ सालमा स्थापना भएको यस विद्यालयमा विषयगत शिक्षकको अभाव रहेको साथै पुस्तकालय समेत नरहेको जानकारी गराउँदै सो को व्यवस्था गरिदिन सांसदद्वय यादव र र रायसँग आग्रह गरेका थिए।

  सम्मान कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रदेश सांसद राय यसै विद्यालयमा कक्षा १ देखि ७ सम्म पढ्ने बेलाको आफ्नो पुरानो दिनहरुलाई सम्झिंदै त्यो बेलाको अनुभवहरु सबैसँग साझा गरेका थिए।उनले यसअघि लगातार तीन कार्यकाल नेपाल शिक्षक संघ सर्लाहीको जिल्ला अध्यक्ष रहेको बेला समयसमयमा यस विद्यालयको लागि भौतिक लगायत विभिन्न सेवा सुविधाहरु उपलब्ध गराएको र अहिले  आफु प्रदेशको सांसद समेत भइसकेकोले यस विद्यालयको शैक्षिक तथा भौतिक सुधारका लागि संघ र प्रदेश दुवै तहको सरकारबाट सक्दो सहयोगहरु उपलब्ध गराउने प्रतिबद्धता जनाए । अबको केही दिनमै यसै विद्यालयमा ४५ लाखको लागतमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ४ कोठे भवनको समेत शिलान्यास गरिने प्रदेश सांसद रायले जानकारी गराएका थिए।

   शिलान्यास तथा सम्मान  कार्यक्रममा पूर्व नेपाली काँग्रेस जिल्ला सभापति लक्ष्मण राय, पूर्व गाविस अध्यक्ष काशी राय, मलंगवा नगरपालिका वडा न-११ र १२ का वडाअध्यक्षहरु शम्भु राय र रामदरेश राय,नेता कृष्ण कुमार यादव तथा विधालय व्यवस्थापन समितिका सदस्यहरु लगायतको उपस्थित रहेको थियो।


  

मलंगवामा २ दिने पालिकास्तरीय स्वास्थ्य सेवा सुदृढीकरण गोष्ठी सम्पन्न

 

मलंगवामा २ दिने पालिकास्तरीय स्वास्थ्य सेवा सुदृढीकरण गोष्ठी सम्पन्न 

मनोज यादव----

सर्लाही,पुस १२

     जिल्ला समन्वय समिति सर्लाहीको  आयोजनामा दुई दिने क्षयरोग, मलेरिया, एचआईभी र कोभिड संक्रमणको निदान, उपचार र निदानका बारेमा पालिकास्तरीय स्वास्थ्य सेवा सुदृढीकरण गोष्ठी सम्पन्न भएको छ ।

    मलंगवा स्थित जिल्ला समन्वय समितिको सभा हलमा सम्पन्न भएको गोष्ठीमा सोमबार ११ वटा नगरपालिका र मंगलबार ९ वटा गाउँपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, स्वाथ्य शाखाका प्रमुख,सामाजिक विकास अधिकृत,योजना अधिकृतहरु सहभागी भएका थिए । सेभ द चिल्ड्रेन,यु.एस र ग्लोबल फण्डको आर्थिक र प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा क्षयरोग, एचआइभी, मलेरिया, कोभिड लगायतका संक्रामक रोगको बर्तमान अवस्थाका बारेमा जानकारी दिइएको थियो ।

    कार्यक्रममा सेभ द चिल्ड्रेनका सेद द चिल्ड्रेनका बरिष्ठ कार्यक्रम प्रबन्धक हरिबोल बजगाई,सिनियर टेक्निकल को-अर्डिनेटर डा.लिला बहादुर बस्नेत,प्रमुख कार्यक्रम संयोजक चन्द्र नारायण साह र टि.बी को-अर्डिनेटर मकाबुल राईनले क्षयरोग ,मलेरिया, एचआइभी र कोभिड लगायतका रोगहरुको नियन्त्रण ,उपचार र निदानको बारेमा जानकारी दिएका थिए ।

   जिसस प्रमुख कौशल किशोर सिंहको अध्यक्षतामा भएको कार्यक्रममा जिसस उपप्रमुख जितेन्द्र कुशवाहा,प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम,जि.समन्वय अधिकारी होमनाथ सुवेदी लगायत जिल्लाको २० वटै पालिकाका प्रमुख ,उपप्रमुख,प्र.प्र.अधिकृत,सामाजिक विकास अधिकृत,योजना अधिकृत र स्वास्थ्य शाखा प्रमुखहरुको उपस्थिति रहेको थियो।

   कार्यक्रममा स्वागत मन्तव्य स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख डा.नवल किशोर झा दिएका थिए।

मलंगवाको अस्पतालमा शिशु छाडेर भारतीय महिला फरार

 

मलंगवाको अस्पतालमा शिशु छाडेर भारतीय महिला फरार

प्रतीक फोंटो


लोकतन्त्र समाचारदाता---

सर्लाही,पुस १२

    सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका स्थित प्रादेशिक अस्पतालको शौचालयमा सोमबार दिउँसो एक भारतीय महिलाले बच्चा जन्माएर शिशुलाई त्यहीँ छाडेर फरार भएकी छिन ।

   जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी बिजय यादवका अनुसार  भारतको विहार राज्य सितामढी जिल्ला सोनवर्षा बस्ने अन्दाजी २२ वर्षकी सैयम कुमारी गर्भवती भई उपचारको लागि  प्रादेशिक अस्पताल मलंगवामा आएको अवस्थामा  दिउँसो करिब १ बजे सोही अस्पतालको शौचालयमा गई सुत्केरी भई बच्चा जन्माई शिशुलाई त्यहीँ छाडेर भागेकी थिइन्।सो घटनाको खवर पाउना साथ बच्चालाई ओ.सि.एम.सी संस्थाको जिम्मा लगाई महिलाको खोजतलास भइरहेको प्रवक्ता यादवले जनाएको छ।

  बच्चा छोरा रहेको र अवस्था सामान्य रहेको छ।

Monday, December 26, 2022

खेल्ने क्रममा छतबाट लडेर बालक गम्भीर घाइते


खेल्ने क्रममा छतबाट लडेर बालक गम्भीर घाइते



निर्मा पंडित---

सर्लाही,पुस ११

    सर्लाहीको पर्सा गाउँपालिका वडा नं-४ कविलासी गाउँमा आईतबार खेल्ने क्रममा छतबाट लडेर एक डेढ वर्षीय बालक गम्भीर घाइते भएको छ। 

    स्थानीय सरोज कुमार यादवको छोरा सत्यम कुमार यादव बेलुका करिब ४ बजेको समयमा 

आफ्नै घरको एक तल्ला माथि खेल्ने क्रममा आफै भुईमा लडी घाइते भएको प्रहरीले बताएको छ।

   लडेर गम्भिर रुपमा घाइते भएका बालकको प्रदेशिक अस्पतालमा उपचार भइरहेको र अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ।

बाख्राको विषयलाई लिएर कुटाकुट,६ जना घाइते

 

बाख्राको विषयलाई लिएर कुटाकुट,६ जना घाइते



निर्मा पंडित---

सर्लाही,पुस ११

    सर्लाही विष्णु गाउँपालिका वडा नं- ८ बत्रौलमा बाख्राको विषयलाई लिएर दुईपक्ष बिचको विवादका कारण भएको कुटपिटबाट ६ जना घाइते भएका छन्। 

  आइतवार बिहान १० बजे स्थानीय राजकुमार रायको आँगनमा छिमेकी रामप्रवेश रामको बाख्रा गएको विषयलाई लिएर विवाद उत्पन्न भएको स्थानीयहरुले बताएका छन् ।सामान्य भनाभनबाट सुरु भएको विवाद कुटाकुटमा परिणत भएपछि कुटपिटबाट रामकी ३५ वर्षीया श्रीमती  सुशिला देवी र निजको ४ वटी छोरीहरु १८ वर्षीया कविता कुमारी,१२ बर्षिया प्रेरणा कुमारी, १६ बर्षिया अन्जना कुमारी,१० वर्षीया  खुश्बु कुमारी र  छोरा १४ बर्षीय विक्रम  घाइते भएका छन्। 

  घाइतेहरु सबैको प्रादेशिक अस्पतालमा उपचार भइरहेको र हाल उनिहरुको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।

आगलागीबाट चौपायासहित अढाई लाखको क्षति

 


आगलागीबाट चौपायासहित अढाई  लाखको क्षति



लोकतन्त्र समाचारदाता---

सर्लाही,पुस ११

   सर्लाहीको कबिलासी नगरपालिका वडा न-३ बिनग्रा गाउँमा आइतवार आगलागी हुँदा २ लाख ५० हजार  मूल्य बराबरको क्षति भएको छ ।

   बिहान करिब पौने ३ बजेको समयमा स्थानीय बालकिशोर रायको भैंसीको गोठमा अचानक आगलागी हुँदा सो मूल्य बराबरको क्षति भएको हो।

     आगलागीबाट गोठसहित गोठ भित्र झ्याल ढोका बनाउनको लागि राखिएको काठ र अन्य सरसामानहरु पुर्ण रुपमा जलेर नष्ट हुनुका साथै आगोले पोलेर २ वटा बाख्राको पाठाहरु मरेका छन् ।गोठ भित्रै बाँधिएका भैंसी र राँगा पनि घाइते भएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ।

    उक्त आगलागी प्रहरी र स्थानीयवासीको सहयोगमा बिहीबार साढे ३ बजेतिर नियन्त्रणमा लिइएको थियो ।


मलंगवा बजारमा मापदण्ड मिचेर बनाइएका भौतिक संरचना हटाउन नगरपालिकाको १५ दिने निर्देशन ,बेवास्ता गरे कार्यवाहीमा पर्ने

 


मलंगवा बजारमा मापदण्ड मिचेर बनाइएका भौतिक संरचना हटाउन नगरपालिकाका १५ दिने निर्देशन ,बेवास्ता गरे कार्यवाहीमा पर्ने   

                

  मनोज यादव---                                           सर्लाही,पुस ११

    मलंगवा नगरपालिकाको वडा न-९ श्रीमती कृष्णा देवी जनता माद्यामिक विद्यालयदेखि वडा न-८ राजश्री सिनेमा हलसम्मको मूल सडकमा सडक कालोपत्रे तथा नाला निर्माणको कार्य हुन लागेकोले सो सडकमा मापदण्डअनुसार परेका भौतिक संरचनाहरु हटाउन नगरपालिकाले निर्देशन दिएको छ। नगर कार्यपालिकाको २०७९ पुस ५ गतेको निर्णयानुसार सो निर्देशन दिइएको हो।

    वडा न-९ स्थित कृष्णा देवी स्कुल हुँदै बालमन्दिर चौक देखि पश्चिम वडा न-८ स्थित नगरपालिका चौक,नेपाल बैंक लिमिटेड हुँदै राजश्री सिनेमा हलसम्मको मुल सडकमा कालोपत्रे सडक तथा नाला निर्माणको कार्य गर्नुपर्ने भएको र सो सडक निर्माण गर्ने क्रममा नगरपालिकाबाट पटकपटक भौतिक संरचनाहरु हटाउन भनि सूचना प्रकाशित गरिएता पनि हालसम्म उक्त कार्य नगरिएकोले सो निर्माणका लागि १५ मिटर सडक चौडाइ रेखाङ्कन भए अनुसार मापदण्ड भित्र पर्ने भौतिक संरचनाहरु    पुनः पुस ८ गते स्थानीय दैनिक पत्रिकामा सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र हटाउन सबैलाई जानकारी गराएको नगरपालिकाले बताएको छ।


  



Sunday, December 25, 2022

सहाराको कारोबार ४३ अर्ब माथि


सहाराको कारोबार ४३ अर्ब माथि 


मनोज यादव---

सर्लाही,पुस १०

    द सहारा लोन सेभिंग्स  को-आँपरेटिभ सोसाइटी लिमिटेडको २६ औं वार्षिक साधारणसभा शनिवार सर्लाहीको सदरमुकाम मलंगवामा सम्पन्न भएको छ। 

    संस्थाका अध्यक्ष नागेन्द्र कुमारको  अध्यक्षता तथा सर्लाही क्षेत्र न-४(क) बाट निर्वाचित प्रदेश सांसद विरेन्द्र प्रसाद सिंहको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। 

   संस्थाले साधारणसभामा पेश गरेको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७८/०७९ को अवधि सम्ममा कुल ४३ अर्ब १ करोड ९ लाख ५१ हजार ७ सय १५ रुपैयाको कारोबार गरेको छ।३० करोड ३८ लाख ४४ हजार ९ सय रुपैया शेयर पुँजी रहेको संस्थाले सो अवधिसम्म २ अर्ब ८५ करोड ४३ लाख २६ हजार ८ सय ६९ निक्षेप बचत गरि ३ अर्ब ४६ करोड ७८ लाख ९२ हजार १ सय ८८ रुपैया लगानी गरेको छ।संस्थाले २६ करोड ३८ लाख ४६ हजार ६ सय ७७ रुपैया खुद नाफा गरेर प्रति शेयर १ सय १७ रुपैया बोनस प्रदान गरेको छ।संस्थाले आ.व २०८०/०८१ को अवधिमा १७ अर्ब ७१ करोड ४९ लाख ५ हजारको कारोबार संचालन गरेर ४८ करोड १३ लाख ३६ हजार नाफा कमाउने लक्ष्य लिएको छ।

 

 संस्थाले यसै अवसरमा पुर्व मन्त्री विरेन्द्र प्रसाद सिंह, जिल्ला समन्वय समिति प्रमुख कौशल किशोर सिंह,जिसस उपप्रमुख जितेन्द्र कुशवाहा,प्रहरी उपरीक्षक प्रविण पोखरेल लगायतलाई दोसल्ला ओढाएर कदरपत्रका साथ सम्मानित गरेका थिए।

  कार्यक्रमको आयोजना मलंगवा नपा वडा न-८ स्थित कुशुम पार्टी पैलेसमा गरिएको थियो।

   


Saturday, December 24, 2022

राष्ट्र सेवकहरुले सम्पन्न गरे आफ्नो सहकारीको १४ औं वार्षिक साधारणसभा


राष्ट्र सेवकहरुले सम्पन्न गरे आफ्नो सहकारीको १४ औं वार्षिक साधारणसभा

लोकतन्त्र समाचारदाता----

सर्लाही,पुस ९

   राष्ट्र सेवक श्रृण सहकारी संस्था लिमिटेड सर्लाहीको १४औं वार्षिक साधारण सभा शनिबार सर्लाहीको सदरमुकाम मलंगवामा सम्पन्न भएको छ ।

   कार्यक्रममा प्रस्तुत भएको लेखा परिक्षण  प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७८/०७९ सम्ममा संस्थाले ७ लाख २४ हजार ३ सय ४४ रुपैया खुद नाफा आर्जन गरेको छ।

   जिल्ला समन्वय समितिको सभा हलमा सम्पन्न भएको साधारण सभाको उद्घाटन प्रमुख अतिथि  जिसस प्रमुख कौशल किशोर सिंहले गरेका थिए। सहकारीका अध्यक्ष रविन्द्र प्रसाद सिंहको अध्यक्षतामा सम्पन्न साधारण सभामा विशिष्ठ अतिथि भूमि व्यवस्था ,कृषि तथा सहकारी मन्त्रालय मधेस प्रदेशका प्रतिनिधि विजय कुमार यादव र रामपृत यादव,आमन्त्रित अतिथि लेखा परिक्षक राजेन्द्र राय यादव तथा  संचालक समितिका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो।

   कार्यक्रममा संस्थाका अध्यक्ष सिंहले आ.व २०७८/०७९ को वार्षिक कार्यक्रम, अनुमानित आय-व्यय तथा कार्ययोजनाहरुको बारेमा जानकारी गराएका थिए।

सर्लाहीको मलंगवामा राष्ट्रिय वाणिज्य बैंकको २६४ औं शाखा उद्घाटन


सर्लाहीको मलंगवामा राष्ट्रिय वाणिज्य बैंकको २६४ औं शाखा उद्घाटन

लोकतन्त्र समाचारदाता---

सर्लाही,पुस ९

    सर्लाही जिल्लाको सदरमुकाम मलंगवा नगरपालिकामा राष्ट्रिय वाणिज्य बैक लिमिटेडको २६४ औं शाखा स्थापना भएको छ । 

   वडा न-९ स्थित रहेको यस  शाखाको नवनिर्वाचित प्रदेश सांसद कौशल किशोर रायले एक समारोहका बीच उद्घाटन गरेका हुन् ।

    ७७ वटै जिल्लामा शाखा कार्यालयहरु रहेको यो बैंक नेपाल सरकारको पूर्ण स्वामित्वमा सञ्चालित रहेको छ।

   वडा न-९ स्थित सुजाता प्यालेसमा  मधेस प्रदेश प्रादेशिक कार्यालय प्रमुख कमलेश ठाकुरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद अधिकारी,नेकपा एमाले सर्लाही जिल्ला अध्यक्ष राजनारायण साह,उद्योग वाणिज्य संघ सर्लाहीका अध्यक्ष विरेन्द्र शाह,चेम्बर अफ कमर्स  सर्लाहीका उपाध्यक्ष संजय गुप्ता,मलंगवा-९ का वडाअध्यक्ष चन्देश्वर राय,जसपा नेता बिरेन्द्र यादव लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो
















मलंगवामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि वार्षिक पुर्व समीक्षा सम्पन्न

 

मलंगवामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि वार्षिक पुर्व समीक्षा सम्पन्न 


लोकतन्त्र समाचारदाता---

सर्लाही,पुस ९

सर्लाहीको मलंगवामा ‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि संकलित घटनाहरुको वार्षिक पूर्व समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।

    अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सर्लाहीको आयोजनामा शुक्रवार कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि बुधन साहले  २०७८ साल पुस १७ गतेदेखि २०७९ पुस ५ गतेसम्म जिल्लामा भएका मानव अधिकार उलंघन तथा ज्यादतीका घटनाको प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदन अनुसार ६ महिनामा हत्याको ७, बलात्कारको बालिका र महिलालाई गरि १६, बलात्कारको प्रयास(बालिका)२,आगजनी १,तोडफोड ३,बहुविवाह ५,बोक्सी २,झडप कुटपिट ७,दाइजो प्रथा २ गरि जम्मा ४५ वटा घटनाहरु भएका छन । 

   मलंगवा स्थित जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न भएको कार्यक्रममा उपस्थित अतिथिहरुले  इन्सेकको तथ्यांकले सबै तह र तप्कालाई  घच्घच्याउने काम गरेको बताएका थिए। 

    कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख कौशल किशोर सिंह,सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद अधिकारी,सर्लाही प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रविण पोखरेल,नेकपा एमाले सर्लाही जिल्ला अध्यक्ष राजनारायण साह,मानवअधिकार रक्षक संजाल जिल्ला अध्यक्ष मुकेश मिश्र,नागरिक समाजका उग्र कान्त झा,महिला अधिकारकर्मी देव कुमारी महरा लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिसँगै पत्रकार हरुको सहभागिता रहेको थियो ।

Friday, December 23, 2022

नेशनल प्याब्सनको जिल्ला स्तरीय नृत्य प्रतियोगितामा मलंगवाको साउथ प्वाइन्ट स्कुल प्रथम


नेशनल प्याब्सनको जिल्ला स्तरीय नृत्य प्रतियोगितामा मलंगवाको साउथ प्वाइन्ट स्कुल प्रथम 

लोकतन्त्र समाचारदाता-----

सर्लाही,पुस ८

    राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपालले  सर्लाहीको सदरमुकाम मलंगवामा आयोजना गरेको जिल्ला स्तरीय नृत्य प्रतियोगितामा मलंगवाको साउथ प्वाइन्ट माद्यामिक आवासीय विद्यालय प्रथम भएको छ।

   एन.प्याब्सनको वार्षिकोत्सबको अवसरमा वडा न-१० स्थित शिवम इंग्लिस बोर्डिङ स्कुलमा शुक्रवार आयोजना भएको जिल्ला स्तरीय नृत्य प्रतियोगितामा संगठनमा आबद्ध सर्लाही जिल्लाभरीका ८ वटा विद्यालयहरु सहभागी भएका थिए ।जसमध्येबाट लालबन्दी-५ को क्याम्बर वेल स्कुल दृतिय र मलंगवा-६ खुटौनाको ब्लु स्काई एकेडेमी तृतीय भएका छन् ।

    एन.प्याबसनका सर्लाही जिल्ला अध्यक्ष युवराज भुजेलको अध्यक्षतामा आयोजित कार्यक्रममा  विजयी प्रतियोगी तथा विद्यालयलाई प्रमुख अतिथि एन.प्याब्सनका मधेस प्रदेश उपसचिव के.एस फिगिसन र विशिष्ठ अतिथि मधेस प्रदेश सह-कोषाध्यक्ष सन्तु प्रसाद जैसवालले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए।

   सनफ्लावर बोर्डिङ स्कुल मलंगवा -४,साउथ प्वाइन्ट मलंगवा-३,विद्या सागर अ.आ.वि मलंगवा-४,ब्लु स्काई एकेडेमी खुटौना,शिवम इ.बो.स्कुल मलंगवा-१०,बेबिलोन एकेडेमी बागमती न.पा-११,क्याम्बर वेल लालबन्दी न.पा-५ र युनिक चन्द्रज्योती बरहथवा न.पा-७ लगायतका विद्यालयहरुको सहभागीता रहेको उक्त कार्यक्रममा एन.प्याबसनका मलंगवा नगर संयोजक विरेन्द्र कुमार सिंह,नगर कोषाध्यक्ष अखिलेश्वर प्रसाद यादव,सदस्य राम आधार यादव,जिल्ला सचिव रबी कुमार राय,जिल्ला सदस्य विनोद प्रसाद यादव ,नगर सह-संयोजक शत्रुधन प्रसाद साह लगायत शिक्षक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो।



माइती नेपालद्धारा मलंगवाको पब्लिक स्कुुलमा मानव बेचबिखन विरुद्ध सडक नाटक प्रदर्शन


माइती नेपालद्धारा मलंगवाको पब्लिक स्कुुलमा मानव बेचबिखन विरुद्ध सडक नाटक प्रदर्शन

लोकतन्त्र समाचारदाता----

सर्लाही,पुस ८

     ‘हाम्रो आवाज:चेलीबेटी बेचबिखनबाट मुक्त समाज’ भन्ने नाराका साथ माईती नेपाल सर्लाहीले सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न-२ स्थित श्री पब्लिक माद्यामिक विद्यालयमा जनचेतनामुलक सडक नाटक प्रदर्शन गरेको छ।

    मानब बेचबिखन तथा ओसारपसार,लैंगिक हिंसा लगायत महिलाहरुमाथि हुने सबैखाले हिंसाहरु अन्त्यका लागि जनचेतना जगाउने उदेश्यले सडक नाटक प्रदर्शन गरिएको माइती नेपाल सर्लाहीका कार्यक्रम संयोजक अमीत यादवले बताए ।

  कार्यक्रममा कलाकारहरुले मानव बेचबिखन बिरुद्धमा झण्डै १ घण्टा जनचेतनामुलक नाटक प्रदर्शन गरेका थिए ।नाटक हेर्ने पब्लिक स्कुलमा  मलंगवा नगर भित्रका अन्य विद्यालयका विद्यार्थीहरुलाई पनि आमन्त्रित गरिएका थिए।नाटक हेरिसके पछि विद्यार्थीहरुले यसमा देखाइएका कथाबस्तुलाई मनोरञ्जनको रुपमा नलिइ ज्ञानको रुपमा लिएको प्रतिक्रिया दिएका थिए।

   कार्यक्रममा मलंगवा नपा वडा न-८ का वडाअध्यक्ष मुकेश जयसवाल, वडा न-९ का वडाअध्यक्ष चन्देश्वर राय लगायत सरोकारवाला संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

    विगत ३० बर्ष देखि महिला तथा बालबालिकाहरुको हक र अधिकार स्थापनाको लागि क्रियाशील रहेको  माईती नपालले देशको बिभिन्न सिमा नाकाहरुमा १८ वटा सीमा निगरानी तथा आवधिक गृह, २ वटा पुर्नस्थापना गृह, ३ वटा रोकथाम गृह, १ वटा बाल संरक्षण गृह, २ वटा हस्पिटल र १ वटा प्राथमिक उपचार केन्द्रहरुको  स्थापना तथा संञ्चालन गरेर मानव बेचबिखन तथा ओसारपसार बिरुद्धको आफ्नो अभियानलाई सशक्त बनाउदै आईरहेको कार्यक्रम संयोजक यादवले   जानकारी दिए।