Friday, April 30, 2021

सर्लाहीको संग्रामपुरमा डकैती /पेट्रोल पम्पबाट १० लाखको लुट

   लोकतन्त्र समाचारदाता--

सर्लाही ,बैशाख १७                                               सर्लाहीको पर्सा गाउपालिका वार्ड नं, २ संग्रामपुरमा रहेकाे श्री बाैद्वी फ्युल सेनटर (पेट्रोल पम्प) मा अहिले डकाैती भएकाे खबर प्रापत भएकाे छ ।                             हाथ हथियार सहित भारतबाट अाएका डाकुहरूले पम्पमा हमला गरि १० लाख रूपैयाकाे लुटपाट गरि फरार भएकाे छ । पम्प संचालक  तथा पर्सा गाउपालिका वार्ड नं,३ का अध्यक्ष भिखारी साहले दिएकाे जानकारी अनुसार डकैतहरूले गाेली फायर गर्दै अाएकाे थियाे । प्रहरीले पेट्रोल पम्पबाट गाेलीकाे खाेखा समेत बरामद गरेकाे बताईएकाे छ । जबकि डकैती भएकाे ठाउबाट १०० मिटरकाे दुरिमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको चाैकी रहेकाे छ ।

सर्लाही जिल्ला अस्पतालमा पिसिआर प्रयोगशालाको उद्घाटन


***आजैबाट(शुक्रवार)जाँच सुरु***

 


मनोज यादव---

सर्लाही ,बैशाख १७    

       प्रदेश नं २ को सरकारबाट सहयोग प्राप्त पिसिआर(PCR) प्रयोगशालाको  मलंगवा स्थित जिल्ला अस्पतालमा उद्घाटन गरि कोरोना परिक्षण सुरु गरिएको छ।आज(शुक्रवार)बिहान  प्रदेश नं २ का सामाजिक विकास मन्त्री नवलकिशाेर साहले उक्त  प्रयाेगशालाकाे उद्घाटन  गर्नु भएकाे हो ।

    यसअघिनै दुई नम्बर प्रदेशको सबै जिल्लामा  पिसिआर प्रयोगशालाको स्थापना भइसकेको र तयारी अवस्थामा रहेपनि केही कारण बस स्थापना गर्न नसकेको सर्लाही जिल्लामा पनि आजैबाट जाँच सुरु गर्ने गरि सदरमुकाम मलंगवाम रहेको जिल्ला अस्पतालमा आधुनिक सुविधासहितको प्रयोगशालाको उद्घाटन गरेको सामाजिक विकास मन्त्री साहले बताउनुभयो ।



     प्रदेश सरकारले अमेरिकन बायोयार्ड कम्पनीको अत्याधुनिक मेसिन भएको पिसिआर प्रयोगशाला संगै जिल्ला अस्पताललाई एउटा शववाहन र एमबुलेनस समेत सहयाेग गरेका छन ।भन्सार छुटमा खरिद भएको यी दुवै वाहनहरु पनि अाजै देखि संचालन हुने जिल्ला असपतालले जानकारी गराएको छ। 

  जिल्लामा कोरोना परिक्षणका लागि अतिआवश्यक महसुस गरिएको PCR प्रयाेगशालाको  उद्घाटन भएपछि स्वाब परिक्षणका लागि काठमाडौ ,बिरगंज र जनकपुर जानुपर्ने  झण्झटबाट मुक्ति मिलेको संघिय सांसद प्रमोद साहले बताउनुभयो ।




    पिसिआर प्रयोगशालाका लागि स्वाब संकलन गर्ने , जाँच गर्ने , रिपोर्ट तयार गर्ने र अन्य काममा गरी १३ जना जनशक्तिकाे आवश्यक्ता पर्ने अस्पताल प्रशासनले बताएको छ।

    सर्लाहीमा अाजको दिनसम्म १३५ जनाकाे PCR चेकजाँच भएकाे छ ।जसमध्ये  ४७ जना ब्यक्तिहरुमा काेराेना संक्रमण पुष्टि भएकाे छ, भने ४ जना पुरूषकाे काेराेना संक्रमणबाट मृत्युु भइसकेको  सर्लाहीका प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले जनाएकाे छ ।

    


Tuesday, April 27, 2021

संयुक्त विद्यार्थी संघद्वारा सर्लाही क्याम्पस प्रमुखलाई ध्यानाकर्षण पत्र

 




लोकतन्त्र समाचारदाता ---

सर्लाही ,बैशाख १४

     संयुक्त  विद्यार्थी संघ सर्लाही क्याम्पस इकाई कमिटी , मलंगवाले सर्लाही क्याम्पसका हिरा प्रसाद कुम्हाललाई  ध्यानाकर्षण पत्र बुझाएको छ ।

      शैक्षिक माफियाहरुको चंगुलमा फसेर धारासायी बन्दै गएको शैक्षिक अवस्था तथा लगभग बिग्रिसकेको  क्याम्पसको माहोलको सुधार गर्न तथा क्याम्पसको वर्तमान  अवस्थाको अवगत गराउँदै  राष्ट्रिय  विद्यार्थी संघका केन्द्रीय सदस्य विनोद कुमार चौधरी,नेपाल विद्यार्थी संघका अध्यक्ष अमीत यादव,अखिल क्रान्तिकारीका अध्यक्ष रंजित महतो र नेपाल विद्यार्थी संघ सर्लाही क्याम्पस इकाई कमिटीका उपाध्यक्ष कैमुल हुसेनले संयुक्तरूपमा क्याम्पस प्रमुख कुम्हाललाई १३ बुँदे मागहरु समेटेर ध्यानाकर्षण पत्र बुझाएका छन् ।

    ध्यानाकर्षण पत्र बुझाउँदै उनीहरूले ७ दिनको भित्रमा जायज माँगको सम्बोधन गरि कार्यवन्यन नभएको खण्डमा आफुहरु सख्त कदम चाल्न बाध्य हुने चेतावनी दिए ।


Monday, April 26, 2021

सर्लाहीमा अवैध हतियार र लागुऔषध चरेशसहित एकजना भारतीय नागरिक पक्राउ





लोकतन्त्र समाचारदाता---

सर्लाही ,बैशाख १३

सर्लाहीमा  अवैध हतियार र लागुऔषध चरेशसहित एकजना भारतीय  युवक पक्राउ परेका छन्।

    नेपाल  प्रहरी र सशस्त्र प्रहरीको संयुक्तरूपमा खटिगएको गस्ती टोलीले विशेष सूचनाको आधारमा आइतवार राती ९ बजेको समयमा मलंगवा नगरपालिका वडा न-६ खुटौनामा चेक प्वाइन्ट थापी चेकजाँच गर्ने क्रममा खुटौना तर्फबाट BR30 S 6203 नम्बरको मोटरसाइकलमा मलंगवातर्फ शंकास्पद रुपमा आइरहेका भारतको विहार राज्य अन्तर्गत सितामढी जिल्लाको कन्हौली थाना ,विशनपुर ग्राम पञ्चाय वडा न-८ बस्ने लालबाबु महतोको २४ वर्षीय छोरा सकलदीप कुमार महतोलाई रोकेर चेकजाँच गर्दा निजको शरिर तथा निजले चलाइ ल्याएको मोटरसाइकलको डिक्की भित्र गोली लोड भएको २ थान कटुवा पेस्तोल र ५०० ग्राम लागुऔषध चरेश बरामद गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

     अवैध हतियार र लागुऔषध चरेशसहित पक्राउ परेका महतोमाथि  लागुऔषध तथा हातहतियार खरखजाना सम्बन्धी कसुरमा  मुद्दा दर्ता गरि आवश्यक अनुसंधान कार्य भइरहेको  प्रहरीले बताएको  छ।


आजदेखि सबै परीक्षा स्थगित गर्न सीसीएमसीले गर्यो सिफारिस

 विशेष



काठमाडौं । आजदेखि सबै परीक्षा स्थगित गर्न कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सिफारिस गरेको छ । आज बसेको बैठकले सोमबारदेखि हुने सबै तहका परीक्षा स्थगित गर्न सिफारिस गरेको सीसीएमसी स्रोतले जनाएको छ । उक्त सिफारिस अनुसार अब विद्यालय र क्याम्पसका सबै परीक्षाहरु स्थगित हुने छ ।

यसअघि बसेको मन्त्रिपरिषद बैठकले चालु रहेको परीक्षा नरोक्ने निर्णय गरेको थियो । तर परीक्षाका नाममा भीडभाड भएको र कक्षा सञ्चालन भएको भन्दै सीसीएमसीले सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

Sunday, April 25, 2021

सर्लाहीमा माक्स नलगाइ हिंडडुल गर्नेलाई १०० रुपैयाँ जरिवाना गरिने प्रमुख जिल्ला अधिकारी हेमराज तामाङको कडा आदेश

 


***नियम नमान्ने कसैलाई नछाड्ने -प्रजिअ तामाङ***


मनोज यादव---

      बढ्दै गएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सर्लाहीमा कडाई गरिएको छ । जिल्ला प्रशासन  कार्यालय सर्लाहीले विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणको जोखिम दिनानुदिन बढ्दै गइरहेको भएपनि स्थानीय नागरिकहरु यसलाई सामान्य रुपमा लिएर बेवास्ता गरेको भन्दै नागरिकहरुलाई आज(आइतवार) देखि  घरबाहिर निस्कँदा अनिवार्य रुपमा मास्क लगाउन र सामाजिक दूरी कायम गर्न कडा निर्देशन दिएको छ ।

     माक्स नलाई अटेर गरेर अतिआवश्यक काम बाहेक पनि घरबाहिर जादाँ–आउँदा मास्क नलगाइ हिंडडुल गर्नेलाई फेला पारेको अवस्थामा पहिलो पटकपटकको लागि १०० रुपैयाँ जरिवाना तिराइने र पुन: यस्तो गरेको फेला परेमा कडा  कारबाही गरिने प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले बताए  । उहाँले  महामारीबाट बच्न–बचाउन सवैले सहयोग गर्नुपर्ने बताउँदै मास्कविना हिँडडुल गर्ने र सामाजिक दूरी कायम नगर्नेलाई संक्रमित रोग ऐन २०२० बमोजिम कडा कारबाही गरिने बताए ।

    सरकारले केही महिना अगाडी  लकडाउन खुकुलो बनाएपछि मास्क नलगाउने, भौतिक दूरी कायम नगर्ने, बिनाकाम बाहिर निस्कने, भीडभाड गर्ने विभिन्न सामुहिक  सभा सम्मेलन गर्ने क्रम बढेको थियो ।

     कोरोनाको दोस्रो लहरको प्रभाव सबैभन्दा बढी छिमेकी देश भारतमा परेको छ ।सर्लाही जिल्ला भारतको सिमाना सँगै जोडिएकोले मुख्य नाका बन्द भएपनि विभिन्न चोरबाटो हुँदै भारतबाट नेपाल प्रवेश गर्ने मानिसहरुले संक्रमण फैलाउन सक्ने उच्च सम्भावना रहेकोले सिमानाकाहरुमा पनि कडाइ गर्न  निर्देशन दिइसकेको प्रजिअ तामाङले बताउनुभयो ।

    सर्लाहीमा मात्र तिनदिन भित्र २ जना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।कोरोना भाइरसको संक्रमण तिब्रगतिमा  फैलिरहेकोले यसलाई हल्कामा नलिन प्रजिअ तामाङले जिल्लाबासीहरु सँग आग्रह गर्नुभएको छ । 



कोरोना संक्रमणबाट सर्लाहीमा थप एक पुरुषको मृत्यु


***बिरामी भइ उपचारको लागि बिरगंज पुर्याउँदा कोरोना पुष्टि भइ मृत्यु***


सर्लाही,बैशाख १२

    कोरोनाको  संक्रमणबाट सर्लाहीमा थप एकजना पुरुषको मृत्यु भएको छ ।मृत्यु हुनेमा रामनगर गाउँपालिका वडा -५ बिर्ता टोल बस्ने बिन्देश्वर रायका छोरा वर्ष ३२ को ईन्द्रजित राय रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

      प्रहरीका अनुसार शुक्रवार  बिरामी परेर उपचारका लागि बिरगंज स्थित नारायणी उपक्षेत्रीय अस्पताल पुर्याएको  रायलाई सनिवार स्वाँसप्रश्वाँसको समस्या देखिएको र सो अस्पतालमा भेन्टिलेटरको व्यवस्था नभएकोले थप उपचारको लागि काठमाडौ लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।

   अस्पतालमा उपचारका क्रममा परिक्षण गर्दा रायमा कोरोना संक्रमण पुष्टि भएको थियो । मृतकको शव नेपाल प्रहरीको समन्वयमा नेपाली सेनाको डेथ बडी म्यानेजमेन्ट टिमले सनिवार रामनगर गापा-५ बिर्ता टोल स्थित कुलोको छेउमा अन्तेष्टी गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रहरी प्रवक्ता एवं  प्रहरी निरिक्षक कृष्ण गिरीले जानकारी दिए ।

   यसअघि केहीदिन पहिले सदरमुकाम मलंगवा नगरपालिका वडा न-३ का ४२ वर्षीय नरेन्द्र कुमार मालीको पनि बिरामी परेर बिरगंज स्थित नारायणी उपक्षेत्रीय अस्पतालमा  उपचार गर्न जाँदा कोरोना संक्रमण पुष्टि भई उपचारको क्रममा मृत्यु भएको थियो ।


Friday, April 23, 2021

अमेरिकन पेस्ताेल, गाेली र म्याग्जिन सहित सर्लाहीमा एकजना पक्राउ

 


लोकतन्त्र समाचारदाता---

सर्लाही ,बैशाख १०

     प्रदेश न-२ प्रहरी कार्यालय जनकपुर तथा जिल्ला सर्लाही कार्यालय सर्लाही मातहतको ईलाका प्रहरी कार्यालय केशरगंजका प्रहरी निरिक्षक बिरेन्द्रराज गुरुङको सयुक्त टोलीले बिहिबार ईश्वरपुर नगरपालिका वडा न-१२ कालिन्जोर चौकबाट अमेरिकन पेस्ताेल र गाेली सहित एकजनालाई पक्राउ गरेकाे छ । विशेष सूचनाको आधारमा चन्द्रनगर गाउँपालिका-२ निवासी ३२ वर्षीय त्रिभुवन बैठालाई पेस्ताेल र गाेली सहित पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएकाे छ ।

    प्रहरीका अनुसार चेकजाँचको  क्रममा बैठाकाे साथबाट MADE IN U.S.A. लेखिएको एकथान पेस्तोल, सो मा प्रयोग हुने  ४ थान गोली र १ थान म्याग्जिन  बरामद भएकाे छ ।संयुक्त टोलीले बैठालाई  BR 30 Z 6548 न. को मोटर साईकलमा चढेर  आउँदै गर्दा उक्त हतियार सहित पक्राउ गरेका हुन ।

     बैठामाथि हातहतियार तथा खरखजना मुद्दा दर्ता गरी सर्लाही जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान अगाडि बढाईएकाे प्रहरीले जनाएकाे छ ।

     त्यस्तै प्रहरीका अनुसार गत माघ ८ गते कविलासी नगरपालिका वडा न-१० चमेलीमाई मन्दिर नजिकबाट अमेरिकन पेस्ताेल सहित पक्राउ परेका गोडैता नगरपालिका-८ निबासी ५० वर्षीय अरुण मिश्र भने सर्लाही जिल्ला अदालतको फागुन ४ गतेकाे आदेश अनुसार एक लाख पचास हजार रूपैंया धरौटी राखेर धराैटीमा छुटेका छन् ।


Wednesday, April 21, 2021

कोरोनाबाट सर्लाहीको सदरमुकाम मलंगवामा एकजनाको मृत्यु

 




मनोज यादव---

सर्लाही ,बैशाख ८

      सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न-३ निवासी एक पुरुषको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा ४२  वर्षीय नरेन्द्र कुमार माली रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ। 

      मंगलबार राती १० बजे मालीमा  अचानक स्वाँस प्रस्वाँसको समस्या सुरु भएपछि  उपचारका बिरगंज स्थित नारायणी उपक्षेत्रीय अस्पतालमा लगिएको र निजमा कोरोना पोजेटिभ देखिएपछि आइसियुमा राखेर उपचार गर्ने क्रममा बुधबार बिहान ९ बजे उनको मृत्यु भएको थियो । 

      अस्पताल प्रशासनले बुधबार बिहान साढे ११ बजे  मालीको उपचारमा गएका आफन्तहरु  शवलाई एम्बुलेन्समा राखेर मलंगवा स्थित घर फर्किरहेको भन्ने टेलिफोन मार्फत जिल्ला प्रहरी कार्यालय सर्लाहीलाई जानकारी गराएपछि तत्कालै प्रहरी निरिक्षक कृष्ण गिरीको कमान्डमा प्रहरी टोली र नेपाली सेनाको डेथ बडी म्यानेजमेन्ट टिम सहितको टोली उक्त कोरोना पोजेटिभ शवलाई  कब्जामा लिइ साँझ  सर्लाहीको ब्रह्मपुरी गाउँपालिका वडा न-३ स्थित झिम नदिको किनारमा लगेर व्यवस्थापन (जलाएको) गरेको जिप्रका सर्लाहीले जनाएको छ ।




हम्रो सेवा समाज नेपाल द्वारा श्रीमद भागवत् सप्ताह ज्ञाण महायज्ञको उद्घाटन सम्पन्न ।



राजिव साह

सर्लाही,बैशाख ८

हम्रो सेवा समाज नेपाल द्वारा श्रीमद भागवत् सप्ताह ज्ञाण महायज्ञको उद्घाटन गरी विधिवत रुपमा मलंगवा स्थित मोहर सिहं धर्मशालामा सुरु गरिएको छ । श्रीमद भागवत् सप्ताह ज्ञाण महायज्ञको बैशाख १५ गते सम्म चल्ने आयोजकले जनाएको छ । 

सप्ताह ज्ञाण महायज्ञमा दैनिक हवन सहित कथा वाचन श्री कृष्ण जन्म महोत्व दर्शन १४ गते साझ लाखबती प्रज्वलन ,जागरण तिलार्चन विसर्जन अभिषेक सहिद प्रसाद वितरण सहितको बिशेष कार्यक्रम रहेको हम्रो सेवा समाज नेपालकि अध्यक्ष मिरा रानीले जानकारी दिइन् ।  महिलाहरुको पाठेघर समस्या शिबिर संचालनका लागि आर्थिक संकलन गर्ने उदेश्यले यज्ञको आयोजना गरिएको हम्रो सेवा समाज नेपाल समितिले जनाएको   

महायज्ञक समूद्घाटन मलंगवा नगर प्रमुख निरसल साहले गर्नु भएको छ । त्यसै गरी विशिष्ट अतिथिको उपप्रमुख शान्ति सवनम मिकरानी ,कथावाचक पं.श्री राधव उपाध्याय, समाजसेवी मुकेश जयसवाल लगायतको उपस्थिति रहेको थियो । उद्घाटन पुर्व कलश यात्रा समेत गरिएको थियो । 

कोरोना महामारीलाई मध्यनजर गर्दे सहभागी भक्तmजनलाई मास्क अनिवार्य लगाउनु पर्ने महायज्ञमा समितिले जनाएको छ । 

 कथा वाचन पण्डित श्री राधव उपाध्याय र पण्डित श्री बलराम उपाध्यायको मुखारवृन्दबाट वाचन हुने छ ।

ट्रकको ठक्करबाट दुईजना मोटरसाइकल सवार गम्भिर घाईते

 


लोकतन्त्र समाचारदाता---

सर्लाही ,बैशाख ८

    सर्लाहीको लालबन्दी  नगरपालिका वड न-२  जुटपानीमा बुधबार ट्रकले मोटरसाइकललाई  ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजना व्यक्ति  गम्भिर घाईते भएका छन् ।घाइते हुनेहरुमा मोटरसाईकलमा सवार हरिवन नगरपालिका वडा न-१० निवासी २० वर्षीय सुक बहादुर रोकाया र ३८ वर्षीय वीरबहादुर स्याङ्बो रहेको प्रहरीले जनाएको छ ।

      प्रहरीका अनुसार बुधबार बिहान ७ बजे दक्षिणबाट उत्तरतर्फ आईरहेको ना. ६ ख १३४९ नम्बरको ट्रकले घुर्कौलीबाट नहरको बाटो हुँदै नवलपुर–मलंगवा सडकखण्डमा निस्कँदै गरेको ना. ३० प ३४६६ नम्बरको मोटरसाईकललाई जुटपानी स्थित ठक्कर दिएको हो । 

   घाईते दुवैजनालाई लालबन्दी स्थित मोडेल अस्पतालमा प्राथमिक उपचार पश्चात थप उपचारका लागि  हेलिकप्टरबाट काठमाडौं लगिएको छ ।प्रहरीले  मोटरसाइकललाई ठक्कर दिने ट्रकलाई नियन्त्रणमा  लिईएको छ । चालक भने फरार रहेको प्रहरीले जनाएको छ। । 


गोडैताको जयपुरमा विद्यालय भवनको शिलान्यास


राधेश्याम कुशवाहा---

सर्लाही,बैशाख ८

    सर्लाहीको गोडैता नरपालिकामा मेयर देवेन्द्र कुमार यादवले १६ लाखको लागतमा निमार्ण हुन लागेको एक विद्यालयको दुईकोठे भवनको शिलन्यास गरेको छ । उहाँले गोडैता नगरपालिका वडा न-२ जयपुर स्थित श्री जनता आधारभूत विद्यालयको भवनको शिलन्यास गर्नुभएको हो।

     गोडैता नगरपालिका शिक्षा शाखाको नियमित बजेटबाट निमार्ण हुन लागेको दुईकोठे भवनको निमार्णले विद्यालयमा भएको कक्षाकोठाको चरम अभावलाई पुरा गर्न मदत मिल्ने मेयर यादव ले बताए । विद्यालयमा कक्षाकोठा, शिक्षक, भवनको निमार्णका लागि आवश्यक जमिन र मैदानको चरम अभाव रहेको स्विकार्दै सबै समस्या समाधानका लागि हामी पहल गरिरहेको बताए । 

    कक्षा ८ सम्म पढाई हुने यस विद्यालयमा ३७५ विद्यार्थी, प्रधानाध्यापक सहित ६ जना  शिक्षक, २ जना  बालविकास शिक्षिका र एकजना विद्यालय सहयोगी रहेका छन ।

      स्थानिय सरकार निमार्ण भएको चौथो आर्थिक बित्न लाग्दा पनि हाम्रो विद्यालयको भौतिक पूर्वाधार निर्माण, विद्यालयको नियमित पठनपाठनका लागि शिक्षक नियूक्ति तथा जिर्ण अवस्थामा रहेको पुरानो भवनको पुननिर्माणका लागि स्थानिय सरकारले चासो नदेखाएको प्रधानाध्यापक गर्भु महतो ले गुनासो गरे । विद्यालयमा भौतिक संरचना र शिक्षकको चरम अभावका कारण विद्यालयको नियमित पठनपाठनस समेत प्रभावित हुदै आएको उनले बताए ।

Tuesday, April 20, 2021

भुमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने प्रक्रिया तत्काल शुरु गराउन चन्द्रनगर गांउपालिकालाई भोरको ज्ञापन पत्र



राजिव साह----

सर्लाही,बैशाख ७ । चन्द्रनगर गांउपालिकाले भुमि सम्बन्धी समस्या समाधान आयोग सित समझदारी पत्र हस्ताक्षर गरेको ६ महिना बितिसक्दा पनि कुनै प्रक्रिया शुरु नगरे पछि दलित अधिकारकर्मी, सामाजिक अभियन्ता, नागरिक समाज, तथा युवाहरुको सहभागीतामा भोरले तीन बुंदे माग सहितको ज्ञापन पत्र चन्द्रनगर गांउपालिकालाई बुझाएको छ । भुमिहीन दलित, भुमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई नेपाल सरकारको कानुन, कार्यविधी तथा मापदण्ड अनुसारको जग्गा उपलब्ध गराउने कार्यको प्रक्रिया शुरु गर्न निकै ढिला गरेकोले भोरको नेतृत्वदायी सहजीकरणमा १३७ जना दलित समुदाय तथा गैर दलित समुदायको टोलीले गांउपालिका अध्यक्ष महेन्द्र महतोलाई उक्त ज्ञापन पत्र बुझाएको भोरको अध्यक्ष पचुलाल माझीले जनाए । 


भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउनको लागि भूमि सम्बन्धी समस्या समाधान गर्न नेपाल सरकारले पारित गरेको कानुन र सो को आधारमा भूमि सम्बन्धी समस्या समाधान आयोगको पत्र र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पत्र अनुसार चन्द्रनगर गांउपालिका अन्तरगत बसोबास गरिरहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई नेपालको सम्बन्धीत कानुन तथा कार्यविधी अनुसार जग्गा उपलब्ध गराउने प्रक्रिया अविलम्ब शुरु गर्न चन्द्रनगर गांउपालिकाको ध्यानाकर्षण गराउन यो ज्ञापन पत्र बुझाएका छौ, ज्ञापन पत्रमा उल्लेख गरिएको जानकारी नाढीतालका पुनित पासवानले दिए । 


सर्लाही जिल्लाको ६ वटा स्थानीय तहले लागत संकलन गर्ने कार्य सम्पन्न गरिसकेको र केही स्थानीय तहले जग्गा धनी प्रमाण पत्र वितरण गर्ने चरणमा समेत प्रवेश गरिसकेको परिपेक्षमा चन्द्रनगर गांउपालिकाले सो सम्बन्धी कार्यको पहिलो चरणको प्रक्रिया पनि शुरुवात गरेको छैन जुन दुःखद तथा चिन्ताजनक विषय हो, गरहटोलकी प्रमिला माझी मुसहरले आक्रोश पोखिन । आफनो पालिका भित्र बसोबास गर्ने भूमिहीन दलित, भूमिहीन सुकुम्बासीले आफनो नाममा जग्गा प्राप्त गर्ने यस्तो स्वर्णिम र एतिहासिक अवसरमा पनि स्थानीय सरकारको रुपमा रहेको चन्द्रनगर गांउपालिका भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी प्रति उदासिन, गैर जिम्मेवारी र अनउत्तरदायी हुनु संघियता र गणतन्त्रको मर्म विपरितको चरित्र रहेको प्रमाणित हुन्छ, पोखरीयाका श्याम माझी मुसहरले आक्रोश पोखे । 


२०७७ वैशाख महिनामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र भूमि सम्बन्धी समस्या समाधान आयोगले देश भरिका सबै स्थानीय तहलाई पठाएको पत्र तथा २०७७ मंसिर २४ गते भूमि सम्बन्धी समस्या समाधान आयोग र चन्द्रनगर गांउपालिका बीच भएको समझदारी पत्रलाई पनि वेवास्ता गरी दलित विराधी र विधीको शासन विरोधी चरित्र चन्द्रनगर गांउपालिकाले प्रदर्शन गरेको पुष्टि हुन्छ, किसनपुरका दरोगा पासवानले बताए । 


भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको स्थानीय तहबाट लगत संकलन सम्बन्धी कार्यविधी २०७७, सो को पहिचान र प्रमाणीकरणको आधार तथा मापदण्ड भूमि सम्बन्धी समस्या समाधान आयोग सितको छलफलको आधारमा स्थानीय तहले इमान्दार भएर कार्य गर्ने हो भने, भूमिहीनको पहिचान देखि लगत संकलन, प्रमाणीकरण र जग्गा धनी लाल पुर्जा वितरण ४५ दिन भित्र सफलतापूर्वक सम्पन्न गर्न सकिन्छ, भोरका संस्थापक समेत रहेका राज कुमार महतो बताउछन् । तर चन्द्रनगर गाउपालिकाले संघीय मन्त्रालय तथा आयोगबाट १ वर्ष अगाडी आएको पत्र र आयोग सित ६ महिना अगाडी गरिएको सम्झौतालाई थनक्याउदै दलित र गरिबको हित हुने यस महत्वपूर्ण कार्यको कुनै पनि प्रक्रिया हाल सम्म शुरु गरेको छैन, भोरका कोषाध्यक्ष उमेश कुमार साह बताउछन । 


२०७७ चैत्रको दोश्रो हप्तामा चन्द्रनगर गांउपालिकाका प्रमुख प्रशासकिय अधिकृत अशोक साहलाई भेटवार्ता गरी यस महत्वपूर्ण कार्यको प्रक्रिया शुरु गराउनु हुन हामीले मौखिक रुपमा ध्यानाकर्षण समेत गराएका थियौ । जवाफमा होली पर्व सक्ने बितिकै हामी प्रक्रिया शुरु गर्छौ भन्ने मौखिक वचनबधता अधिकृत साहले दिनु भएको थियो । तर त्यसको पनि एक महिना बितिसक्दा समेत चन्द्रनगर गांउपालिकाले आज सम्म कुनै प्रक्रिया शुरु नगरेकोले दलित र गरिबको पक्षमा आवाज उठाउन र देशको कानुन तथा संविधान बमोजिम वास्तविक भूमिहीन दलित र भुमिहीन सुकुम्बासीलाई समयमै भूमि उपलब्ध गराउन आज चन्द्रनगर गांउपालिकालाई ध्यानाकर्षण सहितको यो ज्ञापन पत्र बुझाएका छौ, युवा अभियानी योगेन्द्र ठाकुरले जानकारी दिए । 


ज्ञापन पत्र मार्फत भूमिहीन दलित र भूमिहीन सुकुम्बासीको तर्फबाट चन्द्रनगर गांउपालिकालाई तपसिल बमोजिमका मागहरु प्रस्तुत गरिएको छ ।  

१. भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने प्रक्रिया अगामी १५ दिन भित्र शुरु गर्नु पर्ने । 

२. चन्द्रनगर गांउपालिका भित्र बसोबास गर्ने सम्पूर्ण भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई कुनै किसिमको पक्षपात नगरी आयोगको कार्यविधी तथा मापदण्डले व्यवस्था गरे बमोजिमको जग्गा अगामी ६ महिना भित्र उपलब्ध गराउनु पर्ने । 

३. बुंदा नम्बर १ र बुंदा नम्बर २ मा उल्लेखित माग बमोजिमको प्रक्रिया र काम तोकिएको समयावधी भित्र चन्द्रनगर गांउपालिकाले शुरु र सम्पन्न नगरेको खण्डमा आवश्यकता अनुसारको विभिन्न स्वरुपको बृहत आन्दोलन गर्न हामी बाध्य हुनेछौ र त्यसबाट उत्पन्न हुने क्षतिको पूर्ण जिम्मेवार चन्द्रनगर गांउपालिका हुने भोरका संस्थापक अध्यक्ष राजकुमार महतोले जानकारी दिए ।

विद्युत सर्ट भएर आगलागी हुँदा साढे ७ लाख बराबरको क्षति

 




लोकतन्त्र समाचारदाता---

सर्लाही ,बैशाख ७

     विद्युत सर्ट भएर आगलागी हुँदा सोमबार  सर्लाहीमा दुई घर जलेर नष्ट भएको छ ।सो आगलागीबाट अन्दाजी ७ लाख ५० हजार रुपैयाँ बराबरको  क्षति भएको प्रहरीले जनाएको  छ।

    जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी मदन कुवँरका अनुसार बरहथवा नगरपालिका वडा न-१० सितापुर स्थित राम स्नेही रायको दुईतल्ले पक्की घरमा  विधुत सर्ट भएर आगलागी भएको छ ।आज(मंगलबार) बिहान करिब १ बजेतिर आचानक विधुत सर्ट भएर आगलागी हुँदा घरको आधाभाग र घरभित्र रहेका लत्ताकपडा ,अन्नपात तथा काठहरु गरि जम्मा अन्दाजी ५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रवक्ता कुवँरले जनाएको छ ।

   उक्त आगलागी स्थानीयबासी, प्रहरी र दमकलको सहयोगमा बिहान सवा ४ बजे नियन्त्रणमा आएको प्रहरीले जानकारी दिएको छ ।

     त्यस्तै सोमबार दिउँसो करिब सवा १ बजे  पर्सा गाउँपालिका वड न-१ स्थित सितलपुर बस्ने रामधारी मण्डलको बाँसको टाटी र खरले छाएको दुईकोठे कच्ची घरमा आगलागी हुँदा घर र घरभित्र रहेका अन्नपात, लत्ताकपडा र नगद गरि जम्मा  अन्दाजी २ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ । 

     उक्त आगलागी स्थानीय बासिन्दा तथा प्रहरीको सहयोगमा दुई घण्टाको अथक प्रयास पछि पुर्ण रुपमा नियन्त्रणमा आएको प्रवक्ता कुवँरले जानकारी दिएको छ।



वैदेशिक रोजगारीमा ज्यान गुमाएका मृतक परिवारलाई सहयोग

 




मनोज यादव---

सर्लाही ,बैशाख ७

मृतक राजारामका ६ जना छोराछोरी 


      वैदेशिक रोजगारीको क्रममा मलेसियामा मृत्यु भएका सर्लाहीको विष्णु गाउँपालिका वडा न-३ मधुवनगोठका राजाराम बैठाको परिवारलाई सदरमुकाम मलंगवामा रहेकोे स्तुति सौम्या हेल्थ केयर अस्पतालले मृतकका सन्तानको उपचारमा लाग्ने औषधि बाहेकको खर्च नलिने घोषणा गरेको छ ।हेल्थ केयरका संचालक एवं डाक्टर गुणेश्वर झाले आफ्नो बुवाको किरियामा बसेका राजारामका एकमात्र नाबालक छोरालाई तत्कालका लागि नगद  ५ हजार रुपैयाँ सहयोग प्रदान गर्न क्रममा डा. झाले यस्तो घोषणा गर्नु भएको हो ।

राजाराम बैठा


   ५ वटी छोरी र १ वटा छोरा मात्र रहेको मृतक राजारामको आर्थिक अवस्था नाजुक रहेको छ ।घरमा कमाउने एकजना उनी मात्र  थिए ।४ वर्ष पहिले वैदेशिक रोजगारीकोलागि उनी मलेशिया गएका थिए ।उनको मृत्यु त्यही भएको थियो ।उनको मृत्यु पश्चात् टुहरा भएका नाबालक-नाबालिक छोराछोरीको सहारा राजारामको बृद्ध आमाबुवा मात्र रहेकोले उनको परिवारलाई सहयोग गरिदिन डा.झाले आग्रह गर्नु भएको छ ।



बाल मन्दिर नजिकैको मासु गल्ली वर्षैभरी हिलाम्मे ,नगरपालिका मुकदर्शक

 





राजिव साह---

सर्लाही ,बैशाख ६

     सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न-९ बाल मन्दिर चौक स्थित मासु गल्लीको सडक हिलाम्मे हुँदा सर्वसाधारणले सास्ती पाएका छन् ।

     बर्षातको मौसममा मात्र नभइ सुख्खा मौसममा समेत उक्त सडकमा हिलो र नालाको फोहर पानी जमेर पैदल समेत हिंडडुल गर्न समस्या हुने गरेको स्थानीय किराना ब्यापारी आनन्द कुमार अग्रवाले बताए । मासु पसलबाट निस्कने फोहरको साथै बजारभरीको फोहर समेत फालिने गरेकाले दुर्गन्धका कारण उक्त सडक भएर हिंडडुल गर्दा नाक मुख थुनुपरेको अग्रवालले गुनासो गरे ।

    सडक पनि एकदम साँघुरो भएकोले ठुला तथा मझौला सवारीसाधनका कारण छिनछिनमा पानीकै बिचमा जाम लाग्ने गरेको सोही ठाउँका पान पसल संचालक सुनिल कुमारले बताए ।

    यस्ता समस्याबाट स्थानीय बासिन्दाहरु पिडित भइरहेको देख्दादेख्दै पनि नगरपालिका र मातहतका वडा कार्यालयले समस्या समाधान गर्न तर्फ ध्यान नदिएको भन्दै आक्रोशित भएका छन् ।


Sunday, April 18, 2021

रमजान र मधुमेह

      


                    डा.गुणेशवर झा

         स्तुति सौम्या हेल्थ केयर,मलंगवा -१०

       

                                                                                      

रोजा राख्दा हुने शारीरिक लाभहरु

•    शरीरको वजन कम हुन्छ

•    ग्लुकोज (एचबिए१सी) को नियन्त्रण हुन्छ

•    बोसोको मात्रामा सुधार हुन्छ

•    रक्तचाप नियन्त्रण हुन्छ

•    प्रतिरोधात्मक क्षमतामा बृद्धि हुन्छ

•    शरीर भित्रको विषाक्त पदार्थ बाहिर निस्कन्छ


रमजानको समयमा मधुमेह बिरामीहरुमा हुने जोखिमहरु

•    रगतमा ग्लुकोजको अत्याधिक मात्रा कम हुनु (हाइपोग्लाइसिमिया)

•    रगतमा ग्लुकोजको अत्याधिक मात्रा बढी हुनु (हाइपरग्लाइसिमिया)

•    शरीरमा पानीको मात्रा अत्याधिक कम हुनु (जलवियोजन  हुनु)

•    टाइप १ मधुमेह बिरामीहरुको रगतमा एसिड (किटोन बडी) जम्मा हुनु


जोखिम कम गर्न के गर्नुपर्छ ?

•    रोजा बस्ने निर्णय गर्नु भन्दा ६-८ हप्ता अगाडि चिकित्सक र धार्मिक सल्लाहको अधारमा जोखिमको मूल्यांकन गर्नुपर्छ।

•    “‘अन्तराष्ट्रिय मधुमेह महासंघ’ र ‘मधुमेह र रमजान’ अन्तर्राष्ट्रिय गठबन्धन २०१६” मा रमजानको समयमा रोजा बस्न चाहने मधुमेह बिरामीहरुलाई ३ जोखिम समूहमा वर्गीकृत गरिएको छ। यसलाई इजिप्टको मोफ्टिले अनुमोदन गरेको छ।

o    धेरै उच्च जोखिम:- मधुमेह बिरामीले रोजा राख्नै मिल्दैन।

o    उच्च जोखिम:- मधुमेह बिरामीले रोजा राख्नु हुँदैन।

o    मध्यम/कम जोखिम:- मधुमेह बिरामीले चिकित्सकको सल्लाह अनुसार रोजा राख्न मिल्छ।

•    मधुमेह बिरामी र पारीवारिक सदस्यहरुले निम्न कुराहरुको बारेमा जानकारी राख्नुपर्छ :

o    स्वस्थ्य पोषण

o    नियमित व्ययाम

o    औषधि र मात्राको समायोजन

o    नियमित ग्लुकोजको जाँच

o    रगतमा अत्यधिक कम ग्लुकोज (हाइपोग्लाइसिमिया) हुँदा देखिने लक्षणहरु

o    रोजा तोड्न मिल्ने अवस्थाहरु


रमजानको समयमा भोजनको योजना (डाइट योजना)

•    शरीरलाइ दैनिक आवश्यक पर्ने क्यालोरीलाई सेहरी र इफ्तारको बीचमा सही मात्रामा विभाजन गरी सेवन गर्नुपर्छ।

•    अत्यधिक फाइबरयुक्त खाना खानुपर्छ।

•    फलफूल, तरकारी र सलाद प्रशस्त मात्रामा खानुपर्छ।

•    सूर्यास्त र सूर्योदयको बीचमा प्रशस्त तरल पदार्थ पिउनुपर्दछ।

•    गुलियो तरल पदार्थ, मिठाइ तथा क्याफिनयुक्त तरल पदार्थको सेवन गर्नुहुँदैन।


इफ्तार

•    तरल पदार्थहरू - नरिवल पानी/ कागती पानी (चिनी नभएको), अमिलो फलको रस - १ गिलास

•    फलहरू - कुनै एक गुलियो फल (१-२ भाग)

•    मुरी / चिउरा / ओट्स/ नूडल्स- १ कप

•    पियाजी- १ पिस

•    उमालेको छोला -१/२ कप, चप- १ पिस, कबाब- १-२ पिस

•    काँक्रो, अमिलो फलको रस, नरिवल पानी- इच्छा अनुसार 


बेलुकाको खाना

•    रोटी- २/ चामल १-१.५ कप (१२०-१८० ग्राम)

•    माछा / मासु / अण्डा - १ पिस

•    तरकारी, सलाद - ईच्छा अनुसार 

•    दाल- १ कप


सेहरी

•    चावल- २ कप (२५०-३०० ग्राम)

•    माछा / मासु- २ पिस

•    तरकारी, सलाद - ईच्छा अनुसार 

•    दाल- १ कप

•    दूध- १ कप 


रोजा तोड्न मिल्ने अवस्थाहरु

•    रगतमा ग्लुकोजको मात्रा <७० एमजी/डिएल (३.९ एमएमओएल/एल) भएमा

•    रगतमा ग्लुकोजको मात्रा >300 एमजी/डिएल (16.7 एमएमओएल/एल) भएमा

•   ग्लुकोजको मात्रा अत्यधिक कमि (हाइपोग्लाइसिमिया) हुँदाको लक्षणहरु देखिएमा (जस्तो : पसिना आउनु, चक्कर लाग्नु, हृदयको गति बढनु आदि)

•    अन्य समयहरु (जस्तो : अत्यधिक पखाला लाग्नु, वान्ता हुनु, ज्वरो आउनु आदि)


के गर्दा तपाइँको रोजा टुट्दैन? 

•    रगतबाट ग्लुकोज परीक्षण गर्दा

•    इन्सुलिन इन्जेक्सन लिँदा


रमजान समाप्त भएपछि ध्यानदिनुपर्ने कुराहरु

•    इद-उल-फितरको समयमा अत्यधिक-खानाहरू (विशेष गरी मिठाइ) बाट बच्नुहोस्, किनकि यसले उच्च रक्त ग्लुकोज निम्त्याउन सक्छ।

•    औषधिको मात्रा, समय वा औषधिको प्रकार समायोजन तथा परिमार्जनको बारेमा आफ्नो चिकित्सकसँग सल्लाह गर्नुहोस्। 

•    रमजानको समयमा हाइपोग्लाइसिमिया वा हाइपरग्लाइसिमियाको घटनाहरू भएको थियो भने रमजानको अर्को बर्षको योजना बनाउँदा विशेष सावधानी अपनाउनुहोस्।


थप जानकारीको लागी : 9801031260

गम्हरियामा सहलेस बाबा मन्दिरको उद्घाटन गरियो

 


लोकतन्त्र समाचारदाता---

सर्लाही ,बैशाख ५

       सर्लाहीको मलंगवा नगरपालिका वडा न-१२ गम्हरियामा श्री सहलेस बाबाको मुर्तिको अनावरण तथा  मन्दिरको उद्घाटन  उद्घाटन गरीएको छ । नवनिर्मित मन्दिरको स्थानीय बासिन्दा समेत रहनुभएका पुर्व सांसद एवं कार्यक्रमका प्रमुख अतिथि लक्ष्मण रायले गरेका हुन ।

    मुसहर समुदायको बसोबास रहेको गम्हरिया स्थित बस्तीमा निर्माण गरिएको उक्त मन्दिरको उद्घाटन कार्यक्रममा वडाध्यक्ष  रामदरेश राय, नेपाली काँग्रेस  मलंगवा वडा न-११ र १२ का वडा सभापति  बन्तीलाल साह, खेनहारी मंडल, मन्दिर निर्माण समितिका अध्यक्ष गगनदेव साह, नन्दलाल साह लगायत स्थानीयबासीहरुको उपस्थित रहेको थियो ।

   सहलेस बाबालाई मुसहर लगायतका दलित समुदायले आफ्नो कुल देवताको रुपमा पुजा गर्ने गरेका छन् ।


                                                                                 



 



Thursday, April 15, 2021

नेपाल नाइँ ट्रेड युनियनको बैठक सम्पन्न,युनियनको निर्देशन नमान्ने सैलुनवालालाई जरिवाना

  



लोकतन्त्र समाचारदाता---

सर्लाही ,बैशाख २

    नेपाल नाई ट्रेड युनियन नगर कार्यसमिति मलंगवाको बैठक बिहिवार सर्लाहीको सदरमुकाम मलंगवामा सम्पन्न भएको छ । 

      युनियनका अध्यक्ष मोहन ठाकुरको अध्यक्षतामा  बसेको बैठकले युनियनले तय गरेको शुल्क  भन्दा बढी रकम कुनैपनि ग्राहकसँग लिन नपाउने ।यदी कसैले लिएन  भने नगद जरिवाना तिराइने ,नगरभित्र संचालित सबै सैलुनवालाहरुले यही बैशाख मसान्तभित्र आ-आफ्नो पसलको पान नम्बर लिइसक्नु पर्ने,नगर कमिटीलाई मासिक  शुल्क नियमित रुपमा बुझाउनुपर्ने नबुझाएको खण्डमा जरिवाना लाग्ने  निर्यण गरेको छ ।

  सोही बैठक मार्फत अध्यक्ष ठाकुरले  कार्यसमितिको निर्णय अनुसार  कोरोना भाइरसको पुनः बढ्दै गइरहेको संक्रमणलाई मध्यनजर गर्दै नेपाल सरकारले जारी गरेको स्वास्थ सुरक्षा सम्बन्धि सम्पूर्ण मापदण्डहरुको कडाइसाथ  पालन गरेर मात्र पसल संचालन गर्न मलंगवा नगरभित्रका सबै सैलुन संचालकहरुलाई निर्देशन समेत दिएका छन् ।

   बैठकमा कार्यसमितिका पदाधिकारीहरु सहित मलंगवा नगरपालिका क्षेत्र भित्रका तीन दर्जन भन्दाबढी सैलुन संचालकहरुको उपस्थिति रहेको थियो ।


अनाथ तथा टुहुरा बालबालिकालाई नयाँ वर्ष तथा रमजानको उपहार




लोकतन्त्र समाचारदाता---

सर्लाही ,बैशाख २ 

    मुस्लिम इत्तेहाद संगठनका केन्द्रीय सदस्य तथा हरिवन नगर नगरपालिका वडा न-११ का वडाध्यक्ष मोहम्मद शेख महबुब रेजाले मलंगवा स्थित बाल मन्दिर द्वारा संचालित बाल गृहमा आश्रित १० जना  टुहरा तथा अनाथ बालबालिकालाई लत्ताकपडासहितका उपहार वितरण गरेका छन्

    संगठनका केन्द्रीय सदस्य एवं वडाध्यक्ष रेजाले आफ्नै निजी  आर्थिक सहयोगमा नयाँ वर्ष २०७८ साल र इस्लाम धर्मको रमजान पर्वको उपलक्ष्यमा अनाथ तथा टुहुरा बालबालिकालाई लत्ताकपडासहितका सामग्री उपहार स्वरुप  वितरण गरेका हुन्।

    बिहिवार दिउँसो नेपाल बाल संगठन सर्लाहीका सभापति शमिमबाबु खान ,संगठनका पदाधिकारी , हरिवन नपा-११ का स्थानीय समाजसेवी तथा नेपाल सरकार भूमि समस्या आयोग सर्लाहीका अध्यक्ष राजकुमार यादवको विशेष उपस्थितिमा उनीहरूलाई १० जोर जुत्ता मोजा,१० जोर अन्डरवेयर,गंजी, ट्र्याक सुट, टिसर्ट ,मच्छरझुल र तन्ना लगायतका सामाग्रीहरु वितरण गरिएको बाल गृहका इन्चार्ज राम लखन महतोले जानकारी गराएको छ ।




Wednesday, April 14, 2021

सुनचाँदी व्यवसायी संघ मलंगवा,सर्लाहीमा सबै निर्विरोध निर्वाचित




लोकतन्त्र समाचारदाता---

सर्लाही ,बैशाख १

       सुनचाँदी व्यवसायी संघ मलंगवाको तेस्रो अधिवेशनबाट महेन्द्र साह सोनारको अध्यक्षतामा १६ सदस्यीय नयाँ  कार्यसमिति चयन भएको छ । सबै पदका पदाधिकारीहरु निर्विरोध निर्वाचित भएका छन्  ।

    मंगलबार  सम्पन्न महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा जोगेन्द्र साह सोनार , उपाध्यक्षहरूमा क्रमशः सागर प्रसाद साह, दिनेश प्रसाद साह,अमरनाथ साह चुनिएका छन् ।यस्तै  महासचिवमा कमलेश साह चुनिएका छन् ।कमलेश संघको स्थापनाकाल २०६९ सालदेखि नै उक्त पदमा निर्वाचित हुँदै आएका छन् ।महासचिवको पदमा रहँदा आफ्नो ब्यक्तिगत कामलाई समेत थाती राखेर  संघको हितको लागि अहोरात खट्दै आएको र आगामी दिनमा पनि पदिय जिम्मेवारी राम्रो सँग वहन गर्दै संघको हितको लागि यसैगरी लागिरहने विश्वासका साथ उहाँलाई पुनः महासचिवको पदमा सर्वसम्मतले निर्विरोध निर्वाचित गरेको संघका सदस्यहरुले बताए ।

महासचिव -कमलेश साह


   यसैगरी  तेस्रो अधिवेशनले सचिवमा सुरेन्द्र साह सोनार,कोषाध्यक्षमा बिनोद खाना सेती रिसाल सह-कोषाध्यक्षमा नगिना साह सोनार र सदस्यहरुमा क्रमश: संजय कुमार साह,अनिल कुमार साह,तिलक बहादुर विश्वकर्मा ,भागनारायण विश्वकर्मा ,सन्तोष कुमार साह,संजिब प्रसाद साह र शिव शंकर साह निर्वाचित भएको निर्वाचन संयोजक सत्यनारायण अग्रवालले जनाएको छ । 


पत्रकार महासंघ सर्लाहीका पुर्व उपाध्यक्ष बख्तियार अलीद्वारा महासंघको भवन निर्माणका लागि १ लाख २१ हजार रुपैया नवनिर्वाचित अध्यक्षलाई हस्तान्तरण

 



सर्लाही ,बैशाख १

    नेपाल पत्रकार महासंघ सर्लाही शाखाको भवन निर्माणको लागि पत्रकार महासंघ सर्लाही शाखाका पुर्व उपाध्यक्ष बख्तियार अलीले १ लाख २१ हजार रुपैया आर्थिक सहयोग गरेको छ ।

     महासंघ सर्लाही शाखाले आज(बुधबार)हरिवन नगरपालिका स्थित कैलाशपुरीमा  आयोजना गरेको नयाँ वर्ष वि.स २०७८ सालको शुभकामना आदान प्रदान एवं चियापान कार्यक्रममा नवनिर्वाचित अध्यक्ष टंक क्षेत्रीलाई सो रकमको चेक हस्तान्तरण गरेको हो ।उक्त रकम  जिल्ला समन्वय समिति सर्लाहीले प्रदान गरेको मलंगवा नगरपालिका वडा न-१० स्थित निर्माणाधीन अवस्थामा रहेको भवनको निर्माणकार्यमा खर्च गरिने अध्यक्ष क्षेत्रीले बताउनुभयो ।

     संघसँग आफ्नो स्थापना कालदेखिनै कार्यालय संचालन गर्न एउटा छुट्टै भवनको अभाव रहेको अवस्थामा आफु कार्यसमितिमा रहँदा  जिल्ला समन्वय समिति सँग निर्माणाधीन अवस्थामा रहेको भवन संघको लागि माग गरेको र अब आफु पदमा नरहे पनि  उक्त भवनको निर्माणकार्य पूरा भएर कार्यालय संचालन भएको देख्न चाहेकोले सहयोग स्वरुप सो रकम वर्तमान अध्यक्ष मार्फत महासंघलाई प्रदान गरेको पुर्व उपाध्यक्ष अलीले बताउनुभयो। साथै उहाँले आफ्नो साथ र सहयोग हलपल  महासंघको साथमा रहने भन्नुभयो ।

    अलीले नवनिर्वाचित सम्पूर्ण पदाधिकारी तथा संघका सदस्यहरुलाई नयाँ वर्षको शुभकामना व्यक्त गर्दै आ-आफ्नो पदिय जिम्मेवारी राम्रो सँग निर्वाह गर्न सुझाव दिनुभयो ।

Tuesday, April 13, 2021

करेन्ट लागेर गोडैतामा एक मजदुरको मृत्यु




लोकतन्त्र समाचारदाता---

सर्लाही ,चैत ३१

      सर्लाहीको गोडैतामा नगरपालिकामा करेन्ट लागेर आज बिहान(मंगलबार) फर्निचरमा काम गर्ने एक जना मजदुरको मृत्यु भएको छ। मृत्यु हुनेमा कौडेना गाउँपालिका वडा न-३ इनर्वा बस्ने २५ वर्षीय बिरेन्द्र ठाकुर  रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

     मंगलबार बिहान करिब साढे ११ बजे  गोडैता नगरपालिका वडा न-८ स्थित वैधनाथ पंडितको फर्निचरमा काम गर्ने क्रममा अचानक करेन्ट लागेर घाइते भएका ठाकुरको शुभम अस्पताल कौडेना बजारमा उपचारको क्रममा दिउँसो १२ बजे मृत्यु भएको जिप्रका सर्लाहीका प्रहरी प्रवक्ता एवं डिएसपी मदन कुवँरले   जनाएको छ।

     मृतकको शव सोही अस्पतालमा राखिएको प्रवक्ता कुवँरले बताएको छ ।




अपांङ्गता मैत्री समावेशी विकास सम्वन्धि २ दिने तालिम सम्पन्न

राजिब साह---

सर्लाही चैत्र ३१


अपांङ्गता मैत्री समावेशी विकास सम्वन्धि २ दिने तालिम मंगलबार सदरमुकाम मंलगवामा सम्पन्न भएको छ। 

एस.एन.भि.नेपालको आर्थिक सहयोग तथा ग्रामीण नारी उत्थान संघ हरिपुर सर्लाहीको सहजिकरणमा संचालित वियोन द फिनिस लाईन – समावेशी तथा दिगो ग्रामीण खानेपानि सुविधा कार्यक्रम अन्तर्गत  पालिका स्तरको अपाङ्गता संजाल तथा 

अपांङ्गता समावेशी सहायता कक्षको सम्पर्क व्यक्तिहरुलाई अपांङ्गता मैत्री समावेशी विकास सम्वन्धि २ दिने तालिम मंलगवा स्थित  कुशुम पार्टी प्यालेसमा सम्पन्न भएको छ । 

उक्त तालिममा रामनगर, कौडेना, पर्सा र चन्द्रनगर गाउँ पालिकाबाट ३/३ जना पालिका स्तरका अपांङ्गता संजालको व्यक्तिहरु र सोही पालिकाका अपांङ्गता समावेशी 

सहायता कक्षका सम्पर्क व्यक्तिहरु तथा ग्रामीण नारी उत्थान संघ हरिपुरका वास सुपरभाईजर २ जना र कार्यक्रम संयोजक १ गरी जम्मा १९ जनाको सहभागीता थियो । तालिमको मुख्य उद्देश्य वासमा अपागंता मैत्री समावेशी विकासको लागी अपागंता भएक व्यक्तिहरुको क्षमता अविवृद्धि गर्नु रहेको ग्रामीण नारी उत्थान संघ हरिपुरको उपाध्यक्ष  विष्णु प्रसाद चालिसेले जानकारी दिनु भयो । तालिमको प्राविधिक सहजिकरण एस.एन.भि. नेपालको जिल्ला संयोजक  अम्बिका यादव ज्यूले गर्नु भएको थियो भने नेपाल अपागं सघंको जिल्ला अध्यक्ष श्री विरेन्द्र रायको प्रमुख  आतिथ्यमा कार्यक्रम समापन भएको थियो । 

 ।

ट्याक्टर र मोटरसाइकल ठोक्किँदा सर्लाहीमा दुइ जनाको मृत्यु


लोकतन्त्र समाचारदाता ---

  सर्लाही,चैैत ३१     सर्लाहीको बागमती नगरपालिका–८, गाजली चोकमा आज (मंगलबार) दिउँसो ट्याक्टर र मोटरसाइकल एकआपसमा  ठोक्किँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।मृत्यु हुनेमा बरहथवा नगरपालिका वडा न-१५, पिप्राभित्ता बस्ने  ५० वर्षीय भिखारी साह र  भारतीय नागरिक ४० वर्षीय प्रकाश सहनी रहेका छन् ।

     दिउँसो करिब  २ बजेतिर गाजली चोक स्थित नव जनजागरण मा.वि को छेउमा रहेको चौबाटोमा उत्तरबाट दक्षिणतर्फ गईरहेको बीआर ३० एम ३४५२ नम्वरको मोटरसाइकललाई  पूर्वतर्फ रहेको बागमती खोलाबाट बालुवा लिएर आउँदै गरेको ज. १ त १५७४ नम्वरको ट्याक्टरले ठक्कर दिँदा मोटरसाईकलमा सवार दुईजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

    दुर्घटना भए लगत्तै ट्याक्टर चालक फरार भएको प्रहरीले बताएको छ। 

     मृतकहरुको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवामा राखिएको छ ।



Monday, April 12, 2021

सिडियो कार्यालय बाहिर हुलाक टिकट ब्ल्याकमा किन्नुपर्ने बाध्यताको अन्त भयो

 



 ---प्रशासन कार्यालय भित्रै  सरकारी मुल्यमा किन्न पाइने--- 


मनोज यादव----

सर्लाही ,चैत ३०

     जिल्ला प्रशासन कार्यालय मलंगवाले कार्यालय हाता भित्र छुट्टै हुलाक टिकट बिक्री काउन्टरको व्यवस्था गरि सरकारी मुल्यमा हुलाक  टिकटको बिक्रीवितरण सुरु गरेको छ । 

      कार्यालयको विभिन्न सेवा लिनको लागि हुलाक टिकट अनिवार्य रुपमा चाहिने भएको र सेवाग्राहीहरु जिल्ला हुलाक कार्यालयबाट हुलाक टिकट नलिई प्रशासन  कार्यालय  बाहिर पसल थापेर बसेका पसलेहरु सँग बढी मूल्य तिरेर खरिद गर्नुपर्ने बाध्यतालाई मध्यनजर गर्दै यस कार्यालयबाट हुलाक टिकटको बिक्रीवितरण सुरु गरेको प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले बताए ।

    यसका लागि कार्यालयको मुख्य गेटको छेउमा रहेको कोठा न-१४ मा छुट्टै टिकट काउन्टरको  व्यवस्था गरिएको प्रजिअ तामाङले जानकारी गराए । 

    जिल्लाका सम्पूर्ण सरकारी कार्यालयहरूको नियमन तथा निर्देशनको जिम्मेवारी पाएको जिल्ला प्रशासन कार्यालयकै अगाडी  हुलाक टिकट खुलेयाम ब्ल्याकमा बिक्री वितरण भइरहेको सेवाग्राहीहरूको गुनासो छ।सर्लाही जिल्ला स्थित इलाका प्रशासन ,मालपोत, नापी, स्थानीय तह र अन्य गैरसरकारी कार्यालय अगाडि खुलेआम  ब्ल्याकमा हुलाक टिकटको बिक्री भइरहे पनि सम्बन्धित निकाय भने मौन रहेको सेवाग्राहीको गुनासो छ। 

     कार्यालय बाहिर १, २, ५, ८, १०, २०, ५० देखि १०० रुपैयाँसम्मका टिकटहरू किन्न पाइन्छ। तर बाहिरबाट किन्दा यसको मूल्य करिब दोब्बर पर्ने जिल्ला प्रशासन कार्यालयमा नागरिकताको प्रतिलिपि लिन आएका सेवाग्राही सत्यनारायण यादवको गुनासो छ।सरकारी कामकाजको लागि अतिआवश्यक रहेको  हुलाक टिकटको खुलेआम रुपमा हुँदै आएको कालोबजारीलाई रोक्न जिल्ला प्रशासन कार्यालय मलंगवाले चालेको कदम प्रशंसनीय रहेको यादवले भने ।


नेपाल पत्रकार महासंघ सर्लाहीका नवनिर्वाचित कार्यसमितिको पदस्थापन सम्पन्न

 

---पहिलो बैठकमा महासंघलाई उपलब्ध गराइएको   अधुरो  भवनको निर्माण कार्य पूरा गर्ने निर्णय---  


लोकतन्त्र समाचारदाता---

सर्लाही ,चैत ३०

      नेपाल पत्रकार महासंघ जिल्ला कार्यसमिति सर्लाहीका नवनिर्वाचित पदाधिकारीहरुको  सदरमुकाम मलंगवामा पदस्थापन गरिएको छ ।

    आइतवार दिउँसो जिल्ला समन्वय समितिको सभा हलमा आयोजित पदस्थापन तथा प्रमाणपत्र वितरण कार्यक्रममा अध्यक्षसहित सम्पूर्ण नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन गरि प्रमाणपत्र वितरण गरिएको छ ।कार्यक्रममा उपस्थित अतिथिहरु लगायत महासंघ सर्लाही शाखाका सदस्यहरुको अगाडी सार्वजनिक रुपमा  महासंघका निर्वतमान अध्यक्ष विश्वनाथ ठाकुरले नवनिर्वाचित कार्य समितिका अध्यक्ष टंकबहादुर क्षेत्रीलाई नेतृत्व हस्तान्तरण गरेका छन् । सो अवसरमा निवर्तमान अध्यक्ष ठाकुरले निर्विरोध चयन भएको क्षेत्री नेतृत्वको कार्य समितिलाई बधाई एवं शुभकामना व्यक्त गरेका छन् ।

      पदभार ग्रहण गर्दै  नवनिर्वाचित अध्यक्ष क्षेत्रीले आफू पत्रकारहरुको छाता संगठनको जिल्ला अध्यक्षमा रहुन्जेल पत्रकारहरुको हित र विकासमा काम गर्ने प्रतिवद्धता जनाए । उनले गलत मनासय राखेर पित पत्रकारिता गर्ने, तर्साउने, धम्काउने काम गर्न खोज्ने पत्रकारको कहिल्यै पनि पक्षपोषणा नगर्ने तर श्रमजीवी पत्रकारहरुलाई कुनै सारोगाह्रो तथा अप्ठेरो पर्दा सहयोग गर्ने बताए ।

     निवर्तमान अध्यक्ष ठाकुरको  अध्यक्षता तथा जिल्ला समन्वय समितिका सभापति मेथुर चौधरीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिकी उपप्रमुख जमुना पौडेल, मलंगवा नगरपालिकाका मेयर निरसल साह, प्रमुख जिल्ला अधिकारी हेमराज तामाङ, एमालेका जिल्ला अध्यक्ष रेवती पन्त, जसपाका जिल्ला अध्यक्ष वीरेन्द्र राय, नेपाली काँग्रेसका जिल्ला कार्य समितिका सदस्य जयप्रकाश मल्लिकलगायतले मन्तव्य राखे । उनीहरुले पनि कार्य समितिका पदाधिकारीहरुलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए  ।कार्यक्रममा प्रहरी प्रमुख ,सशस्त्र प्रहरी प्रमुख ,नेपाली सेना प्रमुख ,नागरिक समाज,मानवअधिकारकर्मी,समाजसेवी लगायतको उपस्थिति रहेको थियो ।

      निवर्तमान कार्य समितिका सह–सचिव सत्यप्रकाश यादव (एसपी) ले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन निवर्तमान कार्य समितिका सचिव सिंहबहादुर थापा (श्रवण) ले गरेका थिए ।

     पदस्थापन पश्चात आइतवार साँझ अबेर नवगठित कार्य समितिको पहिलो बैठक बसेको छ । बैठकले शान्तपूर्ण ढंगले निर्वाचन प्रक्रिया पूरा गरेर नेतृत्व हस्तान्तरण गरेकोमा सबैप्रति धन्यवाद ज्ञापन गर्दै मलंगवास्थित जिल्ला समन्वय समितिको कार्यालय छेउमा पत्रकार महासंघलाई उपलब्ध गराइएको अधूरो भवनको निर्माण कार्य पूरा गर्न पहल गर्ने निर्णय गरेको नवनिर्वाचित कार्य समितिका सचिव सुनिल ठाकुरले जानकारी दिए ।




सर्लाहीको दुई बेग्लाबेग्लै ठाउँमा एकै दिन र एकै समयमा आगलागी हुँदा ३ वटा घर र एउटा कुखुरा फर्म जलेर नष्ट

 

 ---१२ लाख रुपैयाँ बराबरको क्षति---


मनोज यादव---

सर्लाही ,चैत ३०

  सर्लाहीको दुई बेग्लाबेग्लै स्थानमा सनिवार भएको  आगलागीबाट १२ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको  छ ।

   जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवं डिएसपी मदन कुवँरले दिएको जानकारी अनुसार सनिवार दिउँसो करिब सवा तीनबजे  बलरा नगरपालिका वडा न-४  बलरागोठ स्थित स्थानीय  बिकाउ सहनीको घरमा अचानक  बिजुलीको तार सर्ट भएर अचानक आगलागी हुँदा आगोले उनको र उनका दुई छिमेकी जैन सहनी र श्यामकान्त झाको घर र घर भित्र रहेकोे नगद , गरगहना र सरसामान पूर्णरुपमा जलेर नष्ट भएको हो ।

    प्रहरी प्रवक्ता कुवँरका अनुसार उक्त आगलागीबाट बिकाउ सहनीको खपडाले छाएको कच्ची घर ,गोठसहित घरभित्र रहेको अन्नपात लत्ताकपडा ,गरगहना र नगद गरि जम्मा अन्दाजी ६ लाख ८० हजार ,छिमेकी जैन सहनीको खपडाले छाएको कच्ची घरसहित घरभित्र रहेको अन्नपात, लत्ताकपडा गरि जम्मा अन्दाजी २ लाख ६० र अर्का छिमेकी श्यामकान्त झाको खपडाले छाएको कच्ची घर आंशिक रुपमा जलि लत्ताकपडा ,अन्नपात र अन्य सरसामान गरि जम्मा अन्दाजी १ लाख ५० हजार रुपैयाँको क्षति भएको छ ।

     दिउँसो ३ बजेतिर सुरु भएको आगलागी  गाउँले, मलंगवा नगरपालिकाबाट गएको दमकल, सीमा प्रहरी चौकी बलरा र प्रहरी चौकी अर्नाहाबाट खटिएका नेपाल प्रहरी तथा बोर्डर आउट पोष्ट छतौनाबाट खटिएका सशस्त्र प्रहरीको सहयोगमा बेलुका ६ बजे तिर  नियन्त्रणमा आएको थियो । 

    त्यस्तै सोही दिन दिउँसो ३ बजे जिल्लाकै कबिलासी नगरपालिका वडा न-२ पिपरिया स्थित जितेन्द्र साहले संचालन  गरेको कुखुरा फर्ममा आगलागी पनि आगलागी भएको छ ।उक्त आगलागीबाट फर्मसहित फर्ममा रहेका चल्ला र  कुखुराको दाना जलेर नष्ट हुँदा अन्दाजी १ लाख रुपैयाँको  बराबरको क्षति भएको छ  । 

   दिउँसो ३ बजे सुरु भएको उक्त  आगलागी कबिलासी प्रहरी चौकीबाट प्रहरी सहायक निरिक्षक सिल्पा पासवनको कमाण्डमा खटिगएको प्रहरी टोलीले  स्थानीय बासिन्दा सहयोगमा पौन घण्टाको अथक प्रयासपछि   नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता कुवँरले जानकारी दिएको छ । 



राष्ट्रिय महिला आयोगद्वारा मलंगवामा अन्तरक्रिया कार्यक्रम सम्पन्न

 


लोकतन्त्र समाचारदाता ---

सर्लाही ,चैत २९

     राष्ट्रिय महिला आयोगले सर्लाहीको सदरमुकाम मलंगवामा महिला सशक्तीकरण एवं लैंगिक मूलप्रवाहिकरणका सम्बन्धमा विगतमा भए गरेका असल प्रयासहरु बारे केन्द्र, प्रदेश र स्थानीय तहका विषयमा सरोकारवालाहरु सँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

    आइतवार मलंगवा स्थित जिल्ला समन्वय समितिको सभाहलमा  सम्पन्न भएको उक्त अन्तरक्रिया कार्यक्रममा उपस्थित भएका सहभागीहरु र आयोगका पदाधिकारी बिच  केन्द्र , प्रदेश र स्थानीय तहमा महिला सशक्तीकरणका विषयमा विगतका दिनहरु भएका प्रयासहरुको सम्बन्धमा छलफल गरिएको थियो ।

   राष्ट्रिय महिला आयोगका माननीय सदस्य विद्या कुमारी सिन्हाको अध्यक्षता तथा जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हेमराज तामाङ ,सर्लाही प्रहरी प्रमुख संतोष सिंह राठौर,प्रहरी नायव उपरीक्षक मदन कुवँर,सशस्त्र प्रहरी सर्लाही प्रमुख गंगाराम श्रेष्ठ ,मलंगवा नगरपालिका प्रमुख निरसल साह लगायत विभिन्न पालिकाका प्रमुख ,उपप्रमुख ,जिसस सदस्य ,विभिन्न पालिकाका न्यायीक समिति ,मेलमिलाप समितिका सदस्य तथा पत्रकारहरुको सहभागीता रहेको थियो ।

   सहभागीहरुबाट महिला सशक्तीकरणको सवालमा उठेका जिज्ञासाको विषयमा सरोकारवाला निकायका पदाधिकारी र आयोगका पदाधिकारीले प्रष्ट पारेका थिए ।


Sunday, April 11, 2021

ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किंदा २ जना घाइते


लोकतन्त्र समाचारदाता---

सर्लाही ,चैत  २९

    सर्लाहीको हरिवनमा आइतवार विहान ट्याक्टर र मोटरसाइकल एकआपसमा ठक्कर खाँदा २ जना घाइते भएका छन् ।

     पुर्व-पश्चिम लोकमार्ग अन्तर्गत जिल्लाको  हरिवन नगरपालिका वडा न- ११ स्थित  शसस्त्र प्रहरी क्याम्प नजिक  पुर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ४ त ३०४३ नम्बरको ट्याक्टरले विपरित दिशाबाट आउँदै गरेको बा ९२ प ७२५३ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा  मोटर साइकल चालक हरिवन वडा न- ६ घुर्कौलीका ३० वर्षिय ईश्वर मैनाली गम्भिर घाइते भएका छन् । मैनालीको हरिवनमा प्राथमिक  उपचार गरि थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाण्डौं स्थित ट्रमा सेन्टरमा लगिएको प्रहरीले जनाएको छ ।सोही दुर्घटनामा मोटरसाइकल पछाडी सवार ५१ वर्षीय रमेश कार्की समेत घाइते भएका छन् । 

   ट्याक्टर र मोटरसाइकल प्रहरीको नियन्त्रणमा राखिएको छ । ठक्कर दिने ट्याक्टरका चालक फरार रहेको र उनको खोजि कार्य भैरहेको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरिक्षक अवधेश कुमार यादवले जानकारी दिएको छ ।

Saturday, April 10, 2021

थामिनसक्नु भिडका कारण सेवाग्राहीलाई सहज रुपमा नागरिकता वितरण गर्न जिल्ला प्रशासन सर्लाहीलाई समस्या

 


   ---नागरिकता लिन हप्तौं धाउनुपर्ने सेवाग्राहीहरुको गुनासो---


मनोज यादव---

सर्लाही,चैत २८

   सर्लाहीको जिल्ला प्रशासन कार्यालय मलंगवामा नागरिकता बनाउन आउने सेवाग्राहीहरुको भिड थेग्न कर्मचारीहरुलाई हम्मेहम्मे परेको छ । थामिनसक्नु भिडका कारण जिल्ला प्रशासन आफैले सेवाग्राहीहरुलाई सहज र सरल रुपमा नागरिकता वितरण गर्न सकिरहेको छैन ।

     जिल्ला प्रशासन कार्यालय सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी भुमिश्वर पोखरेलले कार्यालयमा कर्मचारीको संख्या सिमित रहेका कारण नागरिकता फाँटमा सेवाग्राहीहरुको भिड लागेको बताउनुभयो ।लामो समयदेखिको लकडाउन पछि कार्यालय खुलेदेखि नै नागरिकता बनाउनेहरुको भिड लागिरहेको र जिल्लामा राष्ट्रिय परिचयपत्र वितरणको अभियान पनि सुरु भएपछि कार्यालयमा दिनानुदिन सेवाग्राहीहरुको चाप बढेको सहायक प्रजिअ पोखरेलले बताए ।

    अत्यधिक भिडका कारण हप्ता दिनसम्म पनि प्रशासन कार्यालयमा धाउनुपर्ने बाध्यता रहेको सेवाग्राहीहरुले गुनासो गरेका छन् ।धुलाम्मे हुलाकी सडक र त्यसमा पनि अध्यधिक गर्मीको बाबजुद पनि जिल्लाको दक्षिणी-पुर्वी भेगका दर्जनौं गाउँका बासिन्दाहरुलाई सदरमुकाम धाउनुपर्ने बाध्यता रहेको छ ।ग्रामीण भेगका अशिक्षित नागरिकलाई कागजातमा भएका सामान्य त्रुटी समेत थाहा नहुने र कर्मचारीले सोही सामान्य त्रुटीलाई सच्याएर ल्याउन भनि फर्काउने गरेका कारण झन बढी झन्झट बेहोर्नु परेको छ ।यसको सबैभन्दा बढी मार गरिब जनताहरुलाई परेको छ ।दुइदिनमै हुने कामको लागि हप्तौं दिनसम्म सदरमुकाम धाइरहनु पर्दा खर्च बढेर आर्थिक भार थपिएको  साथै जिविकोपार्जनको लागि गर्दै आएको कामपनि छुटेको कार्यालय परिसरमा भेटिएका एक  सेवाग्राहीले गुनासो गरे ।

     साना बच्चा भएका महिलाहरुलाई नागरिकताको लागि दिनदिनै घरबाट सदरमुकाम मलंगवा  स्थित प्रशासन कार्यालयमा बच्चा बोकेर धाइरहन झन मुस्किल पर्ने गरेको छ ।

    अहिले जिल्लामा राष्ट्रिय परिचयपत्र बनाउने अभियान चलिरहेको र उक्त परिचयपत्र बनाउन नागरिकता चाहिने भएकोले सेवाग्राहीहरुको भिड बढेको सहायक प्रजिअ पोखरेलले बताउनुभयो ।आफुहरु बिहान १० बजेदेखि साँझ ५ बजेसम्म फाँटमै बसेर निरन्तर काम गरिरहेको भएपनि भिड नघटेको उनले बताए ।हामीले नचाहेर पनि भिडभाडले गर्दा सेवाग्राहीहरुले सास्ती खेप्नु परेको छ ।

    सहायक प्रजिअ पोखरेलका अनुसार जिल्ला प्रशासन कार्यालयले अहिले दैनिक एकसय भन्दा बढी नयाँ नागरिकता तथा प्रतिलिपी वितरण गर्दै आएको छ ।यस कार्यालयले इश्वरपुर,हरिपुर नगरपालिका र बसबरिया गाउँपालिकाका केही वडासमेत गरी जिल्लाका २० वटा पालिकाहरु मध्ये १६ वटा पालिकाका सेवाग्राहीलाई सेवा प्रदान गर्दै आएको छ ।

     सर्लाहीमा सदरमुकाम मलंगवा स्थित जिप्रका बाहेक हरिवन र बरहथवामा रहेको इलाका प्रशासन कार्यालयबाट पनि नागरिकता वितरणको काम हुँदै आएको छ ।ती दुवै इलाका प्रशासन कार्यालयमा पनि यसैगरी सेवाग्राहीहरुको भिड रहेको छ ।