Sunday, May 30, 2021

सचिप्रेम फाउन्डेसन सर्लाही द्वारा कोरोना प्रभावितहरुलाई निशुल्क भोजन गराइँदै

 


लोकतन्त्र समाचारदाता---

सर्लाही ,जेठ १६

सर्लाहीको एक सामाजिक संस्था सचिप्रेम फाउन्डेसन  बलराले जिरो हङ्गर अभियान अन्तर्गत बिरगंज स्थित विभिन्न स्थानमा रहेका  कोरोना भाइरसबाट प्रभावित  बिरामी,तिनका अभिभावक,गरिब,असहाय तथा अशक्त हरुलाई नि: शुल्क रुपमा भोजन,शुद्ध पानी तथा स्वास्थ सामाग्रीहरुको वितरण सुरु गरेको छ ।

    "मानवधर्मको लागि  रगत,पसिना र आंशुमा हाम्रो साथ"भन्ने नाराका साथ कोरोना महामारीको बेला  भोकमुक्त समाज निर्माण गरी कुनै जरुरतमन्द र गरिब एक दिन पनि भौकै रात नकाटोस्  भने  उद्देश्य लिएर भोजन वितरण सुरु गरेकोे फाउन्डेसनका अध्यक्ष एवं  युवा समाजसेवी ईन्जिनियर सचित्र सहनीले बताउनुभयो ।फाउन्डेसनका भोलेन्टिएर अभिषेक यादव,राम बिनय प्रजापति, सचिन गुप्ता,अजय साह,अजय यादव,शक्ति सर्राफ  ,सुरज गुप्ता ,बिबेकानन्द सहनी लगायतले बिरगंज स्थित बसपार्क, नारायणी हस्पिटल,र बिरगंज भन्सार तथा नगर भित्रका  विभिन्न ठाउँहरुमा प्रत्येक  दिन करिब २ सयदेखि ३ सय जना लक्षित व्यक्तिहरुलाई भोजन गराउँदै आएको फाउन्डेसनका अध्यक्ष सहनीले जानकारी दिए।

    सहनीले संस्थाको तर्फबाट आर्थिक सहयोग गर्ने सहयोगी हातहरु तथा यस किसिमको पवित्र कार्यमा साथ र  सल्लाह दिने  सर्लाहीको  बलरा नगरपालिका वडा न-५ अर्नाहा निवासी सुजित कुशवाहा, अजय प्रसाद चौधरी,कृष्ण मोहन सहनीलाई धन्यवाद  दिदै निरन्तर सहयोगको अपेक्षा गरेका छन्।

Friday, May 28, 2021

सर्लाहीमा शुक्रवारसम्म ५७ जना संक्रमितको मृत्यु ,सक्रिय संक्रमित संख्या १४ सय २५पुग्यो

 

 



लोकतन्त्र समाचारदाता---

सर्लाही ,जेठ १४

    सर्लाहीमा आज शुक्रवार सम्ममा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५७ जना पुगेको छ ।यस्तै सक्रिय संक्रमितहरुको संख्या बढेर १४ सय २५ जना पुगेको जिल्ला प्रशासन कार्यालय मलंगवाले जनाएको छ । 

    जिल्ला प्रशासन कार्यालय मलंगवाका अनुसार शुक्रवार ५ जना ब्यक्तिहरु थपिए सँगै मृतकको संख्या ५७ जना पुगेको हो । जिप्रकाको तथ्यांक अनुसार हरिवन नगरपालिका वडा न–७ निवासी ७९ वर्षीय एक पूरुषको   काठमाडौं , मलंगवा नगरपालिका वडा न–५ निवासी ७६ वर्षीय पूरुषको नेशनल मेडिकल कलेज बिरगंज, मलंगवा न.पा वडा न–३ निवासी ७० वर्षीया महिला र कबिलासी नगरपालिका वडा न–३ निवासी ४८ वर्षीया महिलाको नारायणी अस्पताल वीरगंज तथा बरहथवा नगरपालिका वडा न–५ निवासी ६८ वर्षीय पूरुषको तराई अस्पताल बिरगंजमा उपचारको क्रममा  मृत्यु भएको हो ।

    सर्लाहीमा २ हजार ३० जनाको पीसीआर परिक्षण  गर्दा १ हजार ३ सय १० जना तथा ४२३ जनाको एन्टिजेन परीक्षण गर्दा ११५ जना गरी जम्मा १४ सय २५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।  १७५ जना ब्यक्ति कोरोना  संक्रमण मुक्त अर्थात निको भएको जिप्रका मलंगवाले प्रकाशित गरेको दैनिक बुलेटिनमा उल्लेख गरिएको छ ।




Thursday, May 27, 2021

कोभिड बिरामीको आँखामा देखिने समस्या म्युकरमाइकोसिस (कालो ढुसी) के हो?


 


   डा. गुणेश्वर झा

  मलंगवा, सर्लाही


     ब्याक्टेरिया र भाइरस जस्तै ढुसी पनि एक सूक्ष्म जिवाणु हो। केहि ढुसी जस्तै इष्ट लाभदायक हुन्छन् भने केहि ढुसी हानिकारक। ढुसी माटो, पानी, हावा जहाँ पनि हुन सक्छ तर माटो, मल, कुहेको चिजमा बढी हुन्छ।  


      ढुसीले कान, नाक, घाँटीमा बिभिन्न समस्या ल्याउन सक्छ। कानमा हुने ढुसीको संक्रमणलाई अटोमाइकोसिस भनिन्छ। मुखमा हुने ढुसीको संक्रमणलाई ओरल थ्रस भनिन्छ। त्यस्तै ढुसीले नाक र वरिपरिको साइनसमा पनि विभिन्न किसिमको समस्या ल्याउन सक्छ। केही ढुसीले घातक किसिमको समस्या ल्याउन सक्छ अर्थात वरिपरिको हड्ढी खाएर आँखा तथा दिमागमा समेत पुग्न सक्छ। त्यस्तो जटिल समस्या मध्ये एक हो म्युकरमाइकोसिस। 


     यो रोग Mucor वा Rhizopus नामक ढुसीले गर्दा हुन्छ। विशेषत यो रोगले हाम्रो शरीरको रोगसँग लड्ने क्षमता कम भएको अवस्था जस्तै मधुमेहको बिरामी, मिर्गौला सम्वन्धि दिर्घरोगी, अंग प्रत्यारोपण गरेका विरामी वा स्टेरोइड, किमोथेराप्युटिक एजेन्टस प्रयोग गरिरहेका बिरामीलाई असर गर्दछ। 


     हाल कोरोना भाइरसले गर्दा हुने निमोनियाको लागि स्टेरोइड प्रयोग भइरहेको छ। यो औषधिको  अत्याधिक प्रयोगले रगतमा चिनीको मात्रा बढाउनुको साथै रोगसंग लड्ने क्षमता कम गराउँदछ। कोभिड-१९ को बिरामीलाई निमोनिया ठीक हुने तर यसको अत्याधिक प्रयोगले गर्दा छिमेकी देश भारतमा म्यूकरमाइकोसिसको बिरामीको संख्या ह्वात्तै बढेको र धेरैको ज्यान समेत गएको समाचारहरु आइरहेको छ। हामीकहाँ यो समस्या लिएर आउने बिरामी धेरै नभएपनि फाटफुट बिरामीहरु आइरहेको अवस्था छ। हामी सबै समयमा सचेत भएनौं भने निकट भविस्यमा यसले बिकराल रुप नलेला भन्न सकिन्न।   


     त्यसैले यो घातक रोगबाट बच्न मधुमेहका बिरामीहरुले समयमा ध्यान दिन जरुरी छ। मधुमेह नभएका बिरामीहरुले पनि यो औषधि (स्टेरोइड) डाक्टरको सल्लाह बिना जथाभावी प्रयोग गर्नु हुँदैन। कोभिड भइसकेका बिरामीहरुले नाक बन्द भएमा, नाक वा मुखको तालुमा कालो धब्बा देखिएमा, गाला सुन्निने वा दुख्ने भएमा, आँखा धमिलो भएमा वा टाउको धेरै दुखेमा तुरुन्त नजिकको चिकित्सक सँग परामर्श लिनुपर्दछ।

                     





Wednesday, May 26, 2021

सर्लाहीमा कोरोनाबाट बुधबारसम्म ५२ जनाको मृत्यु ,सबैभन्दा बढी मलंगवा र लालबन्दीमा

 

लोकतन्त्र समाचारदाता---

सर्लाही ,जेठ १२

     पछिलो २४ घण्टामा सर्लाहीमा ५ जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ ।जिल्ला प्रशासन कार्यालय सर्लाहीले प्रकाशित गरेको कोभिड-१९ सम्बन्धि  दैनिक बुलेटिन मार्फत सो जानकारी गराइएको हो ।

     एन्टिजेन र पिसिआर  दुबै प्रविधिबाट २ हजार ३ सय ३७ जनामा गरिएको परिक्षण मध्येबाट १ हजार ३ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने अहिलेसम्म  सर्लाहीमा जम्मा ४५ जना ब्यक्तिहरु मात्र कोरोनालाई जितेको अर्थात  निको भएका छन् ।

    मंगलबार सम्म ४७ जना संक्रमितहरुको मृत्यु भएको थियो ।विगत २४ घण्टामा ५ जना थपिएर मृत्यु हुनेको संख्या ५२ पुगेको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जानकारी गराएको छ ।जसमध्ये सबैभन्दा धेरै सदरमुकाम मलंगवा र लालबन्दी नगरपालिकामा ८-८ जना त्यसपछि इश्वरपुर न.पा र चक्रघट्टा गाउँपालिकामा ६-६ जना,बरहथवा न.पा मा ५ जना ,ब्रह्मपुरी गा.पा मा ४ जना संक्रमितक मृत्यु भएको छ । यसैगरि कबिलासी न.पा मा ३,हरिवन, बलरा,बागमती  न.पा र रामनगर गा.पा मा २-२ जना तथा चन्द्रनगर, पर्सा, बसबरिया र कौडेना गा.पा मा १-१ जनाको मृत्यु भइसकेको जि प्रशासन कार्यालय मलंगवाले जनाएको छ ।

   जिल्लामा संक्रमितहरुको संख्या दिनानुदिन बढ्दै गइरहेको अवस्थामा पनि यहाँका पालिका तथा पालिकाका स्थानीय बासिन्दाहरुले यसलाई गम्भीरतापूर्वक नलिइ रहेका कारण संक्रमण सँगै मृत्यु दर पनि तिब्रगतिमा बढ्दै गइरहेको छ ।यहाँका नागरिकहरु सरकारको निर्देशनमा  स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा तथा स्वास्थ्य सम्बन्धि मापदण्डको पुर्णरुपमा पालना नगरेकै कारण यस्तो  अवस्थाको सृजना भएको र अब पनि सचेत र सतर्क नभए केहीदिन भित्रै सर्लाहीको अवस्था झनझन भयावह हुँदै जाने छ , नागरिक समाज सर्लाहीका अध्यक्ष उग्रकान्त झाले चिन्ता ब्यक्त गर्नुभयो ।

Tuesday, May 25, 2021

सशस्त्र प्रहरीद्वारा लागुऔषधसहित एक जना पक्राउ

 


लोकतन्त्र समाचारदाता---

सर्लाही ,जेठ ११

    सशस्त्र प्रहरी बल सर्लाहीले ब्रह्मपुरी गाउँपालिका वडा न-४ बाट  लागुऔषधसहित एकजना  युवकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा बरहथवा नगरपालिका वडा न-५ बस्ने २१ वर्षीय प्रमोद कुमार महतो रहेकोे छ ।

   मंगलबार बिहान करिब पौने ९ बजेको समयमा  सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट त्रिभुवननगरबाट खटिएको पैदल गस्ती टोलीले गस्तीको क्रममा निज युवकलाई  भारतबाट नेपालतर्फ टाउकोमा कार्टुन  बोकेर ल्याउँदै गरेको देखेपछि घेरा हालेर चेकजाँच गर्दा उनको साथबाट अनरेक्स १०० एम.एल -१२० पिस लागुऔषध बरामद गरेको सशस्त्र प्रहरी श्रोतले जनाएको छ ।

  बरामद गरेको उक्त परिमाणको लागुऔषधसहित महतोलाई आजै(मंगलबार ) आवश्यक कार्यवाहीको लागि जिल्ला प्रहरी कार्यालय मलंगवाको जिम्मा लगाइएको छ ।


Monday, May 24, 2021

विभिन्न तीन बुँदे माँगहरु राखेर नगर कमिटी नेकपा एमाले ले मलंगवा नगरपालिकाका नगर प्रमुखलाई ज्ञापन पत्र बुझाए



लोकतन्त्र समाचारदाता---

सर्लाही ,जेठ १०

      कोरोना संक्रमणका बिच थप समस्याबाट जुझिरहेका मलंगवा नगरपालिका क्षेत्र भित्रका जनताहरुको समस्या तत्काल समाधानको माँग गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)नगर कमिटी सर्लाहीले नगर प्रमुखलाई ज्ञापन पत्र बुझाइएको छ ।

    नेकपाका नगर सचिव शमिमबाबु खाँ ले  ज्ञापनपत्र मार्फत लामखुट्टे नियन्त्रण ,खाद्यान्न लगायतका अन्य अति आवश्यक बस्तुको कृतिम अभाव सृजना गरि   बजारमा भइरहेको कालाबजारी नियन्त्रण तथा दर रेट कायम गरी खाने सामग्री हरु काे सुपत मुल्यमा बिक्री गर्ने र मुल्य भन्दा बढी पैसा लिएर कालाबाज़ारी गर्ने पसलेहरु लाई कानुन बमोजिमकाे कार्यवाही गर्ने तथा नगरपालिका भित्र रहेका सरकारी तथा निजी अस्पताल सँग समन्वय तथा सहकार्य गरी उपलब्ध स्रोत साधन तथा आवश्यकता अनुसार कोरोना महामारी सँग सम्बन्धित सम्पुर्ण व्यवस्था मिलाउन पहल गर्नका लागि दबाब दिन नगर प्रमुख निरसल साहलाई ज्ञापनपत्र बुझाएको बताउनुभयो ।

     पार्टीको नगर कमिटी सदस्यहरु सहितको टोली नगरपालिकाको कार्यालयमै पुगेर बुझाएको ज्ञापनपत्रमा उल्लेख भएका माँगहरु प्रति नगर प्रमुख साह सकारात्मक देखिनु भएको र ती माँगहरु तत्कालै पुरा गर्ने आश्वासन दिनुभएको नगर सचिव खाँ ले जानकारी गराए ।


 





कोरोनाबाट सर्लाहीमा आइतवार ४ जनाको मृत्यु , संक्रमित हुनेको संख्या ९५३ पुग्यो



लोकतन्त्र समाचारदाता---

सर्लाही ,जेठ १०

    सर्लाहीमा दोश्रो चरणमा फैलिएको कोरोना भाईरस संक्रमणबाट हालसम्म ४२ जनाको मृत्यु भएको छ । आईतबार मात्र ४ जनाको  मृत्यु भएको  छ । सर्लाही भित्रै उपचार गराईरहेका एवं सर्लाही घर भई बाहिर उपचार गराउँदै गरेका गरी चार जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय मलंगवाले जनाएको छ ।

    जिल्ला  प्रशासन कार्यालयको तथ्यांक अनुसार सर्लाहीमा पछिल्लो २४ घण्टामा ५१ जना नयाँ कोरोना संक्रमति थपिएका छन् । योसँगै सर्लाहीमा हालसम्म संक्रमित हुनेको संख्या ९५३ पुगेको छ ।

    जिल्लामा कोरोना भाईरसबाट संक्रमित तथा मृत्यु हुनेहरुको विषयमा सार्वजनिक हुँदै आएपनि कतिजना संक्रमण मुक्त  भए भन्ने तथ्यांक हालसम्म  सार्बजनिक हुन सकेको छैन ।


सर्लाहीमा जेठ १७ गतेसम्म निषेधाज्ञा थपियो, पालना नगर्ने लाई फाइनसहित कडा कार्यवाही

 


लोकतन्त्र समाचारदाता---

सर्लाही ,जेठ १०

   कोरोना भाईरसको दोस्रो भेरिएन्टको संक्रमण तीव्ररुपमा समुदाय स्तरमा  फैलँदै गएपछि जिल्ला प्रशासन कार्यालय  सर्लाहीले फेरी ७ दिनका लागि निषेधाज्ञा थपेको छ ।यसअघि गत वैशाख २५ गते राति १२ बजेबाट निषेधाज्ञा सूरु भएको थियो । दोस्रो पटक थपिएको निषेधाज्ञा आदेश सोमबार अर्थात आज १० गते राती १२ बजेबाट सकिँदै छ ।तेस्रोपटक आगामी जेठ १७ गते राती १२ बजेसम्मका लागि थपिएको प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले जानकारी गराएको छ ।

   स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा (३) र संक्रामक रोग ऐन २०२० को दफा (२) बमोजिम निषेधाज्ञा आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी तामाङले जानकारी दिए । प्रजिअ तामाङका अनुसार यसपटकको निषेधाज्ञा उल्लंघन गर्नेहरुलाई भने हालै सरकारले जारी गरेको कोभिड संकट व्यवस्थापन अध्यादेश अन्तर्गत निकै कडा कार्यवाही  गरिने छ ।मन्त्रिपरिषद्को सिफारिस अनुसार राष्ट्रपति कार्यालयले गत विहिबार कोभिड–१९ संकट व्यवस्थापन गर्न अध्यादेश ल्याएको छ । जुन अध्यादेशमा स्वास्थ्य आपतकालदेखि युनिफाइड अस्पताल स्थापनासम्मका प्रावधान समेटिएको छ ।

    सार्वजनिक स्थानमा मास्क नलगाउनेलाई सय रुपैयाँ जरिवाना गराउने, बिना काम बाहिर निस्कनेलाई दुईसय रुपैयाँ तिराउन सक्ने अध्यादेशमा व्यवस्था छ । अनुमतिबिना वा बिरामी ओसारपोसार गर्ने बाहेक सवारी साधन चलाए कडा कार्वाही गर्नसक्ने व्यवस्था पनि छ । अध्यादेशमा यस्तो अवस्थामा दुईपांग्रेलाई २ हजार र अन्य सवारी साधनलाई ५ हजार रुपैयाँ जरिवाना तिराउन सक्ने भनिएको छ ।

   निषेधाज्ञा अवधीभर अत्यावश्यक सेवा अन्तर्गत एम्बुलेन्स, शववाहन, खाद्य सामग्री,औषधी,कुखुराको चल्ला,पशुपंक्षीको दाना,पानी,दुध,इन्धन,फलफूल तथा तरकारी बोकेका सवारी साधनहरु, निर्माण सामग्री ढुवानीका सवारी साधन, सरकारी नम्बर प्लेटको दुई पांग्रे र चार पांग्रे सवारी साधन, झण्डाबाहक , कुटनीतिक नियोग, प्रेस पास प्राप्त सवारी साधनहरु चलाउन पाईने छ । त्यस्तै नेपाल सरकारका कर्मचारी, बैंक तथा वित्तीय संस्थाका कर्मचारी, सार्वजनिक संस्थानका कर्मचारीको हकमा कार्यालयले जारी गरेको परिचय पत्र लगाएर हिँड्ने कर्मचार सवार भएका सवारी साधन, वैवाहिक कार्यक्रममा दुलाहा दुलही सवार दुईवटा सवारुी समेत गरी बढीमा १५ जना जन्ती मात्र बोकेको सवारी साधन चलाउन पाईनेछ ।

   त्यस्तै निषेधाज्ञा अवधीमा स्वास्थ्य, सुरक्षा, सञ्चघार, विद्युत, खानेपानी लगायत अत्यावश्यक सेवा, बैंक तथा वितीय संस्था (नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम स्वास्थ्य मापदण्ड पूर्ण रुपमा लागू गरी), स्वास्थ्य संस्था, क्लिनिक, अस्पताल र औषधी पसल सञ्चालन गर्न पाईने छ । त्यस्तै पेट्रोल पम्प, खाद्यान्न, फलफूल, तरकारी, दुध डेरी, ग्याँस पसल (बिहान ७ बजेदेखि १० बजेसम्म) खोल्न पाईने निषेधाज्ञा आदेशमा उल्लेख छ । निषेधाज्ञा आदेशमा उल्लेखित संचालन एवं खोल्न पाईने सेवा र व्यवसाय बाहेक अन्य कुनै पनि सवारी साधन एवं पसल एवं व्यापार एवं व्यवसाय सञ्चालन गर्न नपाईने र आदेशको उल्लंघन भए कडा कार्बाही गरिने प्रजिअ तामाङले चेतावनी दिएका छन् ।

   निषेधाज्ञा जारी भएको समयमा विशेष गरी होटल, रेष्टुँरा, व्यूटिपार्लर, कपडा पसल, सैलुन, जीमखाना, सुनचाँदी, टेलरिङ, फुटपाथ पसल, शैक्षिक संस्था, ट्युसन सेन्टर र अन्य सबै पसल, हाटबजार चलाउन पाईने छैन । त्यस्तै व्यक्तिगत चार पांग्रे र दुई पांग्रे सवारी साधन एवं सार्वजनिक यातायातका सवारी साधन पनि चलाउन पाईने छैन ।

   संक्रमितको संख्या दिनहुँ बढ्दै गईरहेकाले आम सर्वसाधारणको जनस्वाथ्यमा गम्भीर असर पर्न सक्ने अवस्थालाई मनन गरी कोभिड नियन्त्रणका लागि जिल्लाभर निषेधाज्ञा लगाउनु परेको प्रजिअ तामाङले जानकारी दिए । प्रजिअ तामाङद्वारा हस्ताक्षरित निषेधाज्ञा सम्बन्धी आदेशमा समुदाय तथा व्यक्तिले अनिवार्य रुपमा पालना गर्न आग्रह गरिएको छ । निषेधाज्ञा पालना नगर्नेलाई कडा कार्वाही गरिने पनि चेतावनी दिइएको छ ।

Sunday, May 23, 2021

हुलाकी सडक अन्तर्गत सर्लाहीको मलंगवा-संग्रामपुर सडक खण्डमा निर्माणकार्य सुरु

 ---लकडाउनको मौका छोपी धमाधम सडक सम्याउने काम चल्दै---

मनोज यादव---

सर्लाही ,जेष्ठ ९

         तराई मधेशको लाइफलाइनको  रुपमा रहेको    बहुचर्चित हुलाकी राजमार्ग अन्तर्गत सर्लाहीको मलंगवा-संग्रामपुर सितलपुर सडक खण्डमा निर्माण कार्य सुरु भएको छ । तराई मधेसको विकासको मेरुदण्ड मानिने उक्त हुलाकी सडकमा  अहिले ग्रेभलिंङ्ग गरी धमाधम सम्याउने काम भइरहेको छ।

     करिब २३ करोड १८ लाख रुपैयाँको लागतमा निर्माण सुरु भएको महोत्तरी जिल्लाको सिमाना सितलपुरदेखि सर्लाहीको सदरमुकाम मलंगवा  नगरपालिकाको वडा न-२ सम्मको १५ किलोमिटरको सडकको निर्माण कार्य लकडाउनको समयमा सुरु गरिएको  ठेकेदार कम्पनीका प्रतिनिधि यादव सरकारले जनाएको छ । 

      १५ किलोमिटर लम्बाई र १० मिटर चौडाई सडकमा ७ मिटर चौडाई कालोपत्रे गरिने भएको उक्त सडक आर्थिक वर्ष २०७८/०७९ को पुस मसान्तसम्म भित्र  निर्माण सम्पन्न गर्नका लागि हिम दुंङ ठोकर हिरा एण्ड नमिता जेभी ठेकेदार  कम्पनीले जिम्मा लिएको छ ।सुरुमा यो सडक निर्माण गर्ने जिम्मा प्रदेश सरकारको रहेकोमा प्रदेश सरकारले गर्न नसकेपछि भर्खर १ डेढ महिना अगाडी संघकी  सरकारलाई जिम्मा लगाएर काम सुरु गरिएको ठेकेदार कम्पनीका प्रतिनिधि सरकारले बताए ।प्रदेश सरकारले काम गरिरहँदा खेरी बजेटको सुनिश्चितता नभएका कारण समयमा काम सम्पन्न नभएको उनले बताए ।पहिलो चरण अन्तर्गत साउन मसान्तभित्र ३ किलोमिटर सडकको कालोपत्रे गरिने र त्यसपछि दोस्रो चरणमा मलंगवासम्मको १२ किलोमिटर सडक कालोपत्रे गरिने ठेकेदार कम्पनीका प्रतिनिधि सरकारले जानकारी दिए ।


     वर्षौंदेखि निर्माणको पर्खाइमा रहेको  जिर्ण अवस्थाको यो सडकमा वर्षातको मौसममा हिलो,पानी र सुख्खा मौसममा धुलोको समस्या रहेको थियो ।अब बल्ल आएर निर्माणकार्य सुरु भएपछि  हिलो, पानी र धुलोको मार खेप्दै आएका यस क्षेत्रका बासिन्दाहरुलाई केही राहत महसुस भएको छ ।


       सर्लाही जिल्लालाई महोत्तरी जिल्ला सँग जिड्ने यो हुलाकी सडकको १५ किलोमिटर दुरी पार गर्न दुईचक्के र चारचक्के सवारीसाधनलाई १ घण्टादेखि सवा घण्टाको समय लाग्दै आएको छ ।सडक कालोपत्रे भइसकेपछि उक्त दुरी तय गर्न मात्र १५ मिनेट समय लाग्ने छ ।


     हुलाकी सडक निर्माण भइसकेपछि महोत्तरी जिल्लाको विभिन्न ठाउँ ,सिमावर्ती भारत लगायत सर्लाहीका ३ दर्जनभन्दा बढी गाउँ बस्तीका बासिन्दालाई सदरमुकाम मलंगवा बजार आवत जावतमा सहज हुनेछ । हुलाकी सडक जीर्ण भएकै कारण ती क्षेत्रका बासिन्दाहरु वर्षातको समयमा पुर्व-पश्चिम राजमार्गको लालबन्दी हुँदै करिब ५० किलोमिटर दूरी तय गरी सदरमुकाम मलंगवा पुग्न बाध्य छन् ।यो सडकको निर्माण सम्पन्न भएसँगै प्रदेश न-२ को अस्थायी  राजधानी जनकपुर र महोत्तरीको सदरमुकाम जलेश्वरसम्मको दुरी पनि कम हुने छ ।


    

     कोरोना भाइरसको संक्रमणलाई मध्येनजर गर्दै सरकारले जारी गरेको स्वास्थ्य सम्बन्धि सम्पुर्ण मापदण्ड अपनाएर काम भइरहेको उक्त हुलाकी सडकको निर्माणकार्य प्रति स्थानीयहरु सकारात्मक देखिएका छन्।

Saturday, May 22, 2021

सर्लाहीमा काेराेना संक्रमितको संख्या करिब १ हजार पुग्यो

 


लोकतन्त्र समाचारदाता---

सर्लाही ,जेष्ठ ८

 दोश्रो लहरको कोरोना भाईरसको संक्रमनबाट सर्लाहीमा हालसम्म  संक्रमित हुनेको संख्या ९०२ जना पुगेको छ भने मृतकको संख्या  ३७  पुगेको छ ।


जिल्ला प्रशासन कार्यालय मलंगवाकाे तथ्यांक अनुसार   सर्लाहीमा हालसम्म १५३७ जनाको पीसीआर प्रविधिबाट  परिक्षण गर्दा ७८७ जना र ४२३ जनाको एन्टिजेन प्रविधिबाट  परीक्षण गर्दा ११५ जना गरी जम्मा  ९०२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । गएको २४ घण्टामा २ जना संक्रमितहरुको मृत्यु भएको जिप्रका को तथ्यांकमा उल्लेख गरिएको छ ।

 


करेन्ट लागेर एक किशोरको मृत्यु

 

लोकतन्त्र समाचारदाता---

सर्लाही ,जेष्ठ ८

     सर्लाहीमा  करेन्ट लागेर एक बालकको मृत्यु भएको छ।  मृत्यु हुनेमा बरहथवा  नगरपालिका वडा न-१५ पिपराभित्ता स्थित सुकुम्बासी टोल बस्ने परिसर सहनीको १५ वर्षीय छोरा रामु सहनी रहेको जिल्ला प्रहरी कार्यालाय सर्लाहीले जनाएको छ ।

     शुक्रवार साँझ साढे सात बजे आफ्नै घरमा बत्ती जोड्ने क्रममा अचानक करेन्ट लागेर घाइते भई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र बरहथवामा लगिएको र त्यहाँ पुगेपछि डाक्टरले उनलाई मृत्यु घोषणा गरेको प्रहरीले बताएको छ 

   प्रहरीले  शवको मुचुल्का उठाइ पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवामा पठाएको छ ।


मध्यरातमा संसद भंग : कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन घोषणा


sharethis sharing button

काठमाडौँ ,८ जेष्ठ २०७८, शनिबार
     सरकारले प्रतिनिधिसभा भंग गरी मध्यावधि निर्वाचन घोषणा गर्न सिफारिस गरेको छ ।

संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि परेको दुबै दाबीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अस्वीकार गरे लगतै प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यरातमा आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाएका थिए ।

बैठकले संसद भंग गरी मध्यावधि चुनाव घोषणा गर्न सिफारिस गरेको शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार चुनाव दुई चरणमा हुनेछ । पहिलो चरण कात्तिक २६ र दोस्रो चरणको चुनाव मंसिर ३ गते तोक्न सिफारिस गरिएको छ ।

सर्लाहीको गोडैतामा लकडाउनकै समयमा युवती माथि सामुहिक बलात्कारको प्रयास



लोकतन्त्र समाचारदाता ----

सर्लाही ,जेष्ठ ८

      कोरोना भाइरसको बढ्दो संक्रमणलाई मध्येनजर गर्दै जिल्ला प्रशासन कार्यालय सर्लाहीले जिल्लाभरी गरेको  लकडाउनकै समयमा सर्लाहीमा  एक युवती माथि सामुहिक 

बलात्कारको प्रयास भएको छ । जिल्लाको गोडैता नगरपालिका वडा न-१२ मधुवनीमा गत जेष्ठ ३ गते सोमबार साँझ ७ बजे खेतबाट काम गरेर घर फर्किरहेकी स्थानीय एक २२ वर्षीया   युवती माथि ३ जना ब्यक्तिहरु द्वारा सामुहिक बलात्कारको  प्रयास भएको छ। स्थानीय गंगा यादवकी छोरी रुचि कुमारी (परिवर्तित नाम)यादव उपर बलात्कारको प्रयास भएको हो ।

      पिडित युवतीका अनुसार सोमबार अपराह्न ५ बजे गाउँदेखि पुर्व भारतको बोर्डरसम्म (सिमानाका)जाने गोरेटो बाटोको छेउमा रहेको आफ्नो खेतमा काम गर्न गएको र सोही दिन साँझ ७ बजेको समयमा आफ्नो घरतर्फ फर्किरहेको अवस्थामा बाटोमा पहिल्यैदेखि लुकीछिपी बसीरहेका गोडैता न.पा-१२ मधुवनी गाउँ बस्ने महेन्द्र रायको छोरा वर्ष ३५ को सुरेन्द्र राय,सोही ठाउँ बस्ने शिवधारी रायको छोरा वर्ष ४० को जयलाल राय र भारतको विहार राज्य जिल्ला सितामढी थाना मेजरगंज ग्राम पंचायत विश्वम्भरपुर ननकार बस्ने मोतीलाल माझीको छोरा अन्दाजी वर्ष २० को धर्मेन्द्र माझीले रोकेर अभद्र व्यवहार र बोलीवचन दिन थालेको तर उनीहरूको कुरा नसुनी केही नबोली अगाडी बढ्न लाग्दा अगाडीबाट आएर बाटो छेकेर मेरो मन्जुरी बगैर बल जबर्जस्ती चारैतिरबाट घेरा हाली भाग्न उम्कन कुनै मौका नदिई करणी गर्ने नियतले हातखुट्टा समाती मुख थुनेर लछारपछार गरी घिसार्दै नजिकैको आलीको भित्तामा लगेर अर्धनग्न पारेर करणी गर्ने प्रयास गर्न थालेपछि आफुलाई बचाउन जोरजोरले कराउन सुरु गरे पछि खेतम काम गरेर  आ-आफ्नो घरतर्फ फर्किरहेका गाउँलेहरु आवाज सुनेर मलाई बचाउन  होहल्ला गर्दै ती तीनैजना उपर हमला गरेपछि उनीहरू आफुलाई छाडेर भागेको बताएकी छिन ।


    पिडित युवतीले आफुमाथि  अमर्यादित यौन दुर्व्यवहार गरि समाजमा रहेको मान सम्मान र ईज्जत प्रतिष्ठामा आँच पुर्याएका ती तीनैजना ब्यक्तिहरुको खोजतलास र पक्राउ गरि कानुनी कार्यवाही गरेर हदैसम्मको दण्ड सजाय गरि क्षतिपूर्ति समेत दिलाउन माग गर्दै शुक्रवार दिउँसो कसुरवार दुईजना स्थानीय  र एकजना भारतीय नागरिक उपर सदरमुकाम  मलंगवा स्थित जिल्ला प्रहरी कार्यालय सर्लाहीमा जाहेरी दरखास्त दिएकी छिन् ।

      मुद्दा फाँटका प्रहरी निरिक्षक जटाशंकर यादवले कसुरवार तीनैजना उपर जबर्जस्ती करणी उद्योग सम्बन्धि मुद्दा चलाइ हदैसम्मको कडा कार्यवाही गर्ने आश्वासन दिएको पिडित युवतीले बताएकी छिन् । पिडित परिवारको आर्थिक अवस्था कमजोर रहेकोले  गाउँमै  खेतीपाती तथा मजदुरीको काम गर्दै आएका छन् ।

        बलात्कारको प्रयासमा संलग्न सुरेन्द्र राय अवैध घरेलु मदिराको कारोबारी रहेको र  घरमै सानो होटल चलाएर भारतबाट आउने ग्राहकहरुलाई मदिरा बिक्री गर्ने गरेको स्थानीयले बताएको छ । कोरोना भाइरसको बढ्दो संक्रमणलाई मध्येनजर गर्दै जिल्ला प्रशासन कार्यालय सर्लाहीले  सिमानाकामा गरेको कडाइ तथा लकडाउनको बाबजुद पनि पारीबाट दिनहुँजसो भारतीय नागरिकहरु सिमाक्षेत्रका गाउँमा आएर अबेर रातीसम्म रक्सी खाएर होहल्ला गर्ने ,मारपिट गर्ने,  स्थानीय महिलाहरु उपर अपशब्द प्रयोग गर्ने तथा  अभद्र व्यवहार  जस्ता कार्यहरु गर्ने गरेको स्थानीयबासीहरुले गुनासो गरेका छन् ।

    यसभन्दा अगाडी पनि कयौंपटक भारतबाट मदिरा सेवन गर्न आउने त्यस्ता ब्यक्तिहरुका कारण सिमाक्षेत्रका गाउँहरुमा विभिन्न किसिमका अपराधिक क्रियाकलाप तथा घटनाहरु घटिसकेको स्थानीयहरुले जानकारी दिएका छन् ।



 


Friday, May 21, 2021

सर्लाहीको महिनाथपुरबाट सरकारी मोटरसाईकल चोरी

 



लोकतन्त्र समाचारदाता---

सर्लाही ,जेष्ठ ७ 

    कोरोना भाईरसको त्रासका बिच सर्लाहीमा चोरीका घटनाहरु पनि बढेको छ । मौकाको फाईदा उठाउदै स्थानिय स्तरमा चोरी गर्ने एकक गिरोह नै सक्रिय भएका छन ।

       सर्लाहीको धनकौल गाउँपालिका वडा न-४ का वडा अध्यक्ष भोगेन्द्र राय यादवको मोटरसाइकल चोरी भएको घटना सार्वजनिक भएको छ । चोरले बुधबार राती वडा अध्यक्ष यादवको घरबाट ना.१ ब ३९०७ नम्बरको सरकारी मोटरसाईकल चोरी गरेको स्थानीय राधेश्याम कुशवाहाले जनाएको छ ।

    वडा अध्यक्ष यादवका अनुसार राती घर छेउको अर्को  घरको बरण्डामा गाडी लगाएको र भोली पल्ट  गाडी लगाएको घरमा  कुनै समान लिन जाँदा सो ठाउँमा  गाडी नदेखेपछि गाडी चोरी भएको  थाहा पाएको हो ।

    मोटरसाइकल  चोरी भएको बारे जिल्ला प्रहरी कार्यालय मलंगवा  र नजिकका  प्रहरी चौकीहरुमा जानकारी गराई खोजि कार्यलाई तिब्र पारेको धनकौल ईलाका प्रहरी कार्यलय सर्लाहीले जनाएको छ ।

सर्लाहीमा कोरोना संक्रमण दर ७५ प्रतिशत ,निको हुने शून्य प्रतिशत


  ---मृतकको संख्यामा लगातार वृद्धि--- 



सर्लाही ,जेष्ठ ७

       सर्लाही जिल्लामा दोस्रो भेरियन्टको  कोरोना भाइरस(कोभिड-१९) संक्रमण लगातार रुपमा बढ्दै गएको छ । पछिल्लो समय समुदाय स्तरमै  नयाँ भेरिन्टको दोस्रो लहरको कोरोनाका लक्षण देखिएका रोगीहरु देखिन थालेका छन् । 

    जिल्ला भरीमा सक्रिय कोरोना संक्रमितको संख्या ७ सय ६२ पुगेको छ भने  हाल सम्ममा ३५ जनाको ज्यान गइसकेको जिल्ला प्रशासन कार्यालय सर्लाहीले प्रकाशित गरेको दैनिक बुलेटिनमा जनाइएको छ ।पछिल्लो एक महिना भित्र सर्लाहीमा  संक्रमित तथा मृतकको संख्यामा वृद्धि भएको तथ्यांक मात्र सार्वजनिक हुँदै आएको छ । तर यसबाट निको हुने एकजना ब्यक्तिको बारेमा जिल्लामा कहींकतैबाट सुन्नमा आएको छैन ।

    जिल्लामा अहिले संक्रमण दर ७५ प्रतिशत रहेको छ भने निको हुने दर शून्य प्रतिशत रहेको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीको तथ्यांकमा मृतकको संख्या ३५ रहेपनि ६० जना भन्दा बढीको मृत्यु भइसकेको श्रोतले जनाएको छ।



   



Wednesday, May 19, 2021

सशस्त्र प्रहरीद्वारा मलंगवाबाट अवैध चाँदी गहनाहरु बरामद

 


लोकतन्त्र समाचारदाता---

सर्लाही ,जेष्ठ ५

    सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मलंगवाले सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न-८ स्थित नेपाल भारत सिमा नजिकबाट ६४८ ग्राम अवैध चाँदीका गहनाहरु  बरामद गरेको छ ।

    बिओपी मलंगवाका प्रमुख सशस्त्र प्रहरी निरिक्षक शंकर दाहालका अनुसार मंगलबार अपराह्न ४:४० बजेको समयमा सशस्त्र प्रहरीको बिओपी मलंगवाको भन्सार सुरक्षा पोष्टबाट सशस्त्र प्रहरी नायव निरिक्षक जितेन्द्र कुमार साहको कमाण्डमा खटिएको ५ जना सशस्त्र प्रहरीको टोलीले मलंगवा न.पा वडा न-८ स्थित जिल्ला भन्सार कार्यालय पछाडीको  खेतको बाटो हुँदै अवैध रुपमा भारतबाट नेपालतर्फ आउँदै गरेको ब्यक्तिलाई रोकेर चेक जाँच गर्न खोज्दा उक्त ब्यक्तिले आफुसँग ल्याएको  पोका फालेर भारततर्फ भागेको र उक्त पोकाको चेक जाँच चाँदीका गहनाहरु बरामद भएको हो ।

     उक्त पोकाबाट चाँदीका ४ जोडी चुरा,४ पिस लकेट,१ जोडी पाउजु,२ थान ब्रेसलेट,४ वटा सिक्री र ३६ वटा औंठी बरामद भएको बिओपी प्रमुख दाहालले बताएको छ ।

     ५८ हजार ३ सय ३३ रुपैयाँ मुल्यांकन गरिएको उक्त अवैध चाँदीका गहनाहरु आवश्यक कार्यवाहीको लागि जिल्ला  भन्सार कार्यालय मलंगवामा बुझाएको स.प्रहरी ब बिओपी मलंगवाले बताएको छ ।

कोरोना भाइरस संक्रमणको संकटबाट गुज्रिरहेका सर्वसाधारण नागरिकहरु ब्यापारीहरुको कृतिम मुल्यवृद्धिले गर्दा थप मारमा

 



  ---प्रशासन र स्थानीय सरकार बेखबर---



लोकतन्त्र समाचारदाता----

सर्लाही ,जेष्ठ ५

      दोस्रो भेरियन्टको कोरोना भाइरस(कोभिड-१९) को संक्रमण दिनानुदिन बढ्ने क्रम जारी रहेको बेला सर्लाहीमा दैनिक उपभोग्य बस्तु तथा खाद्यान्नको मुल्यवृद्धि भएको छ ।जिल्ला प्रशासन कार्यालय सर्लाहीले कोभिड -१९ को  संक्रमण नियन्त्रण गरि सामुदायिक स्तरमा फैलिन नदिन जिल्लाभरी निशेधाज्ञा जारी गरे सँगै यहाँका ब्यापारीहरुले  आफुखुसी खाद्यान्नसहित अन्य दैनिक उपभोग्य बस्तुमा कृतिम  मुल्यवृद्धि गरेका छन् ।कोरोना भाइरसबाट संक्रमित हुने चिन्ताले सताइरहेको बेला एकाएक सबैखाले उपभोग्य सामाग्रीको बजार भाउ बढेपछि सर्वसाधारण नागरिकहरुमा महँगाइको चिन्ता थपिएको छ ।

      साना तथा खुद्रा पसलेहरुका अनुसार होलसेल वालाहरले नै सामानको भाउ बढाएपछि बाध्य भएर आफुहरुले पनि भाउ बढाएको बताएका छन् ।

     बजारमा अहिले चामल, दाल,चना, मटर ,खानेतेल, सनफ्लावर तेलदेखि प्याकिङ गरिएका  खाद्य बस्तुहरुमा मूल्यवृद्धि भएको छ ।निशेधाज्ञा अगाडी होलसेल वालाहरु प्रति कार्टुन २४ सय ५० रुपैयाँमा दिंदै आएको सनफ्लावर तेल अहिले प्रति कार्टुनमा १ सय रुपैयाँ बढाएर  २५ सय ५० रुपैयाँमा बिक्री गर्ने गरेको मलंगवाका एक खुद्रा ब्यापारीले बताए ।सर्लाहीका शहरी तथा ग्रामीण भेगका बजारमा सबैखाले सामानहरुमा लकडाउन हुनु अगाडीको खुद्रा  मूल्य र त्यसपछिको मूल्यमा १० देखि ५० रुपैयाँसम्म बढाएर बिक्री  भइरहेको पाइएको छ ।

    ग्रामीण भेगका पसलेहरु बजारमा रिचार्ज कार्डको सटेज भएको बताएर ५० रुपैयाँको रिचार्ज कार्डमा  ५ रुपैया र १००  रुपैयाको रिचार्ज कार्डमा १० रुपैयाँ थप गरेर लिनेगरेको स्थानीय उपभोक्ताहरुको गुनासो छ ।

     होलसेल बिक्रेताले सबैखाले बस्तुमा मूल्य बढाएका कारण सानातिना खुद्रा बिक्रेताले समेत बाध्य भएर मूल्य बढाउनु परेको व्यवसायीहरुको भनाइ छ ।लकडाउनको बेलापनि सरकारले खाद्यान्न बस्तुको आयात निर्यातमा कुनै रोक नलगाएको भएपनि दुवानी र लोडिंग अनलोडिंग गर्न मजदुरहरुको अभाव देखाएर होलसेल बिक्रेताले सबै बस्तुमा मूल्य बढाएको खुद्रा बिक्रेताको भनाइ छ ।

      अस्वभाविक रुपमा दैनिक उपभोग्य सामाग्रीको मुल्यवृद्धि भएको विषयमा जान्दाजान्दै सरोकारवाला तथा नियमन निकाय अनभिज्ञ हुँदा लकडाउनले गर्दा रोजगारी गुमाएका  सर्वसाधारण विपन्न वर्ग महंगोमा खाद्यान्न किन्न बाध्य भएको स्थानीय समाजसेवी सुन्दर श्याम यादवले गुनासो गरे ।उनलेे लकडाउन सँगै खाद्यान्न लगायतका दैनिक उपभोग्य बस्तुको मुल्यवृद्धि भइरहँदा स्थानीय तह समेत जनगुनासो प्रति बेखबर रहेको बताए ।

     स्थानीय सरकारसँग बजार अनुगमन गर्ने,कालोबजारी तथा महँगी नियन्त्रण गर्ने,कार्यवाही गर्ने र संकटको बेला अत्यावश्यक बस्तुहरुको अभाव हुन नदिने जिम्मेवारी तथा अधिकार रहेपनि सो अनुसारको काम गर्न सकेको छैन ।

     शहर बजारको भन्दा ग्रामीण तथा दुर्गम क्षेत्रमा खाद्यान्न लगायतका सामाग्रीहरुमा मुल्यवृद्धि भइरहेको गुनासो बढेको छ ।गतवर्ष पनि लकडाउनको समयमा यसैगरी मनपरि मुल्यवृद्धि भएको थियो ।त्यो बेलापनि सरोकारवाला र नियमन निकायले  भने अनुसार बजार अनुगमन ,कार्यवाही तथा महँगी नियन्त्रणका लागि केही गरेका थिएनन् ।अहिले पनि उनीहरु थाहा पाएर पनि नथाहा पाएको जस्तो गरि मुकदर्शक भएर बसेका छन् ।

  यस्तो संकटको परिस्थितिमा स्वास्थ्य  समस्याबाट गुज्रिरहेका आम नागरिकहरु लाई थप संकटको भुमरीमा नपार्न यतिबेला प्रभावकारी बजार अनुगमनको आवश्यक्ता रहेकोले सर्लाहीका २० वटै पालिका (स्थानीय तह)हरु आ-आफ्नो स्तरबाट कालोबजारी र अस्वाभाविक मुल्यवृद्धि रोक्न तर्फ लाग्नुपर्ने अवस्था आएको देखिन्छ ।


         


Tuesday, May 18, 2021

सहोडवामा आगलागी, लाखौंको क्षति

 




लोकतन्त्र समाचारदाता---

सर्लाही ,जेष्ठ ४

       सर्लाहीको बसबरिया गाउँपालिकामा सोमबार राती आगलागी हुँदा झण्डै ३ लाख मुल्य बराबरको  क्षति भएको छ ।

    प्रहरीका अनुसार बसबरिया गाउँपालिका वडा -६  सहोडवामा गएराति ८ बजे स्थानीय बासु साहको परालको टालमा भएको आगलागीबाट छिमेकीहरु रुपलाल साहको घर र बुद्धि साहको गोठमा समेत पुर्ण रुपमा जलि २ लाख ३५ हजार मूल्य बराबरको क्षति भएको हो ।

    उक्त आगलागीबाट बासु साहको परालको टाल जलेर २५ हजार ,छिमेकी रुपलालको एक तल्ले फुसको घर ,धान, गहुँ ,लत्ताकपडा ,झ्यालको काठ र साइकल समेत गरि १ लाख ७५ हजार र बुद्धि साहको फुसको गोठ जलेर ३५ हजार मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ । 

  गाँउले र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवं डिएसपी मदन कुवँरले जानकारी दिए । 





Monday, May 17, 2021

लुटको सामान र हतियारसहित दुईजना डाँका पक्राउ




लोकतन्त्र समाचारदाता----

सर्लाही ,जेष्ठ ३

       प्रहरीले सर्लाहीको इश्वरपुरबाट हतियार देखाएर लुटपाट गर्ने दुईजना डाँकाहरुलाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी मदन कुवँरका अनुसार पक्राउ पर्नेमा इश्वरपुर नगरपालिका वडा न-५ बस्ने ३३ वर्षीय रामकरण महतो र सोही ठाउँ बस्ने २० वर्षीय सुरेन्द्र सदा रहेका छन् ।

   उनीहरूलाई गत बैशाख २६ गते बिहानको राती अन्दाजी करिब सवा १ बजेको समयमा इश्वरपुर न.पा वडा न-४ स्थित पुर्व पश्चिम लोकमार्गमा हतियार देखाएर  दुईवटा ट्रक र एकवटा पिकअप गाडीको चालक र सहचालकहरुबाट नगद रु.३७ हजार, विभिन्न कम्पनीको मोबाइल सेट -५ थान र सुनको हनुमानी(लकेट)- १ थान लगायतका सामानहरु लुटेको आरोपमा बैशाख ३० गते बिहिवार पक्राउ गरेको हो। उनीहरूको साथबाट एक थान नलकटुवा बन्दुक,त्यसमा लाग्ने गोली दुई राउन्ड,सुनको हनुमानी-१ थान ,मोबाइल सेट २ थान , BR 30 U 7773 नम्बरको भारतीय मोटरसाइकल र टल्कने ज्याकेट बरामद भएको छ ।

     पक्राउ परेका दुवै डाँकाहरुलाई जिल्ला अदालत सर्लाहीबाट १० दिनको म्याद थप गराई हिरासतमा लिएर थप अनुसंधान सुरु गरिसकेको प्रवक्ता एवं डिएसपी कुवँरले जानकारी जानकारी दिएको छ ।

     

कोरोनाबाट सर्लाहीमा २० जनाको मृत्यु, सक्रिय संक्रमितहरुको संख्या ६८५ पुग्यो

 


लोकतन्त्र समाचारदाता---

सर्लाही ,जेष्ठ ३ 

    सर्लाही जिल्लामा दोस्रो भेरियन्टको  कोरोना भाइरस(कोभिड-१९) बाट मृत्यु  हुनेहरुको संख्या लगातार रुपमा बढ्दै गएको छ ।

    जिल्ला स्वास्थ्य  कार्यालय सर्लाहीका स्वास्थ प्रमुख श्रवण नायकका अनुसार जिल्लामा आज(सोमबार)सम्म  कोरोना भाइरसको संक्रमणबाट २० जनाको मृत्यु भएको छ भने ६८५ जना सक्रिय संक्रमित रहेका छन्  ।

       अहिले जिल्लामा कोभिड-१९ सम्बन्धि उपचारको लागि १९० बेड र १४७ वटा अक्सिजन सिलिन्डर सहितको ९ वटा अस्पतालहरु संचालनमा रहेका छन् । मलंगवा अस्पतालमा १० वटा आसियु बेड र ४ वटा भेन्टिलेटर संचालनको तयारीमा रहेको जिल्ला  अस्पताल मलंगवाले जानकारी गराएको छ।


कोरोनाबाट सर्लाहीमा तप ३ जनाको मृत्यु, सक्रिय संक्रमितहरुको संख्या ६२७ पुग्यो




लोकतन्त्र समाचारदाता---

सर्लाही ,जेष्ठ ३ 

    सर्लाही जिल्लामा दोस्रो भेरियन्टको  कोरोना भाइरस(कोभिड-१९) बाट मृत्यु  हुनेहरुको संख्या लगातार रुपमा बढ्दै गएको छ ।जिल्ला प्रशासन कार्यालय सर्लाहीको  कोभिड-१९ सम्बन्धि प्रकाशित दैनिक बुलेटिनका अनुसार आइतवारसम्म जिल्लामा कोरोना भाइरसको संक्रमणबाट १८ जनाको मृत्यु भएको छ ।

    जेष्ठ १ गते सनिवारसम्म जिल्ला अस्पताल मलंगवाको पिसिआर प्रयोगशालामा १२०५ जनाको थ्रोट स्वाबको जाँच गर्दा ६२७ जनामा कोरोना संक्रमण भएको र १५ जनाको मृत्यु भइसकेको थियो ।आइतवार ३ जना थपिएर मृत्यु हुनेको संख्या १८ पुगेको जि.प्र.कार्यालय सर्लाहीले दैनिक बुलेटिन मार्फत जानकारी गराएको छ । 

     जेष्ठ १ गते सनिवारसम्म जिल्ला अस्पताल मलंगवाको  प्रयोगशालामा ८१९ जनाको पिसिआर विधिबाट जाँच गर्दा ५३४ जना र ३८६ जनाको एन्टीजेन विधिबाट जाँच गर्दा ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । 

    अहिले जिल्लामा कोभिड-१९ सम्बन्धि उपचारको लागि 

१९० बेड र १४७ वटा अक्सिजन सिलिन्डर सहितको ९ वटा अस्पतालहरु संचालनमा रहेका छन् । मलंगवा अस्पतालमा १० वटा आसियु बेड र ४ वटा भेन्टिलेटर संचालनको तयारीमा रहेको अस्पताल प्रशासनले जानकारी गराएको छ।


Sunday, May 16, 2021

सर्लाहीमा १२०५ जनाको जाँच गर्दा ६१७ जना सक्रिय संक्रमित,१५ जनाको मृत्यु

 




लोकतन्त्र समाचारदाता---

सर्लाही ,जेष्ठ २ 

    सर्लाही जिल्लामा दोस्रो भेरियन्टको  कोरोना भाइरस(कोभिड-१९) बाट बिरामी हुनेहरुको संख्या लगातार रुपमा बढ्दै गएको छ ।जेष्ठ १ गते सनिवारसम्म जिल्ला अस्पताल मलंगवाको पिसिआर प्रयोगशालामा १२०५ जनाको थ्रोट स्वाबको जाँच गर्दा ६१७ जनामा कोरोना संक्रमण भएको र १५ जनाको मृत्यु भइसकेको  जिल्ला प्रशासन कार्यालय सर्लाहीले कोभिड-१९ सम्बन्धि प्रकाशित गरेको दैनिक बुलेटिन मार्फत जानकारी गराएको छ ।

     जेष्ठ १ गते सनिवारसम्म जिल्ला अस्पताल मलंगवाको  प्रयोगशालामा ८१९ जनाको पिसिआर विधिबाट जाँच गर्दा ५२४ जना र ३८६ जनाको एन्टीजेन विधिबाट जाँच गर्दा ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको जिप्रकाको बुलेटिनमा उल्लेख गरिएको छ ।

    अहिले जिल्लामा कोभिड-१९ सम्बन्धि  उपचारको लागि १९० बेड र १४७ वटा अक्सिजन सिलिन्डर सहितको ९ वटा अस्पतालहरु संचालनमा रहेका छन् । मलंगवा अस्पतालमा १० वटा आसियु बेड र ४ वटा भेन्टिलेटर संचालनको तयारीमा रहेको अस्पताल प्रशासनले जानकारी गराएको छ।

Saturday, May 15, 2021

जोखिमहरुको बहन गर्ने वित्तीय साधन - बीमा

  लेख....✒️    

       संजय श्रेष्ठ (शाखा प्रमुख)                                  प्रभु लाइफ इन्स्योरेन्स ,शाखा मलंगवा 

          बीमा भनेको कुनै पनि व्यक्तिलाई आर्थिक  नोक्सान हुँदा वा जोखिम हुँदा दिईने क्षतिपुर्तिको ग्यारेन्टी हो।बीमा गर्दा बीमित ,बीमा गर्ने व्यक्ति र बीमक -बीमा कम्पनी बीच  करार सम्झौता हुन्छ।    

    यस्तो अवस्थाको जोखिमका लागि यति रकमको जोखिम बहन गर्ने गराउने इत्यादि।हामी सबै मानिसहरु भोलिका दिनमा आउने जोखिमका विषयमा सोंचिरहेका हुन्छौं ।तर अचानक भोलि जेपनि हुन सक्छ।भविष्यमा आर्थिक तथा भौतिक क्षति हुन सक्छ।त्यही हुन सक्ने जोखिमको भर्पाइ गर्न गरिने एक प्रकारको सम्झौता नै बीमा हो।


@बीमा किन गर्ने(यस्ता छन् १०टिप्सहरु)


           -:बचत र लगानी:-


जीवन बीमा जोखिम हस्तान्तरणको एक साधन मात्र नभई  बचत र लगानी पनि हो।जीवन बीमा जोखिमहरुको बहन गर्ने वित्तीय साधन पनि हो।यधपी  यसले जोखिम बहन भन्दा पहिले बचत गराएको हुन्छ।बीमा कम्पनीमा जसले बीमा गरेका हुन्छन, ती व्यक्तिहरुले हरेक वर्ष प्रियिम बापत निश्चित रकम बुझाउँदै जान्छन्।यदी ती व्यक्तिहरु जोखिममा परे अर्थात कुनै घटना घट्यो भने बीमा कम्पनीहरुले क्षतिपुर्ती बहन गर्दछ।यदी बीमा गरेका व्यक्तिहरुमा तोकिएको समय अवधी सम्म कुनै घटना भएन भने बीमा कम्पनीहरुले प्रतिफलसहित उक्त रकम फिर्ता गर्दछन्।त्यस कारण बीमा एक किसिमको बचत पनि हो।


 


      -:बोनश:-


   जीवन बीमा गर्दा धेरै फाइदा हुन्छ।इन्स्योरेन्स गराए वापत बोनस प्राप्त हुन्छ।मानिसहरुले जीवन बीमानगरेका हुन्छन्।बीमा समय अवधी सकिसके पछि बीमतीमा कुनै घटना घटेको छैन भने बीमा गरेको कुल रकममा बोनस थप गरी रकम दिने गर्दछ।त्यस कारण बीमा गर्नु फाइदा छ।


        -:आर्थिक जोखिमको हस्तान्तरण:-


     हरेक व्यक्तिको जीवनको आर्थिक मूल्य हुन्छ।अर्थात् कुनै व्यक्तिले जुन किसिमले आम्दानी गरिरहेको हुन्छ, त्यो कमाइले उसको परिवारको पालनपोषण, शिक्षादीक्षा भइरहेको हुन्छ।आम्दानीबाट उसको समाजमा केही योगदान पनि भईरहेको हुन्छ।सरकारलाई उसले कर तिरेको हुन्छ।उ नहुँदा यो सबै कुरामा परिवारमा आर्थिक संकटको सिर्जना हुन्छ।त्यो हुन नदिनको लागि नै जीवन बीमा गर्नुपर्ने हुन्छ।


      -:पारिवारीक जिम्मेवारीको जोखिम बहन:-


मानिसले जीवन वा परिवार धान्न कमाई गरिरहेको हुन्छ।उसको आकस्मिक मृत्यु भयो भने आम्दानी बन्द हुन्छ।यसले परिवारको जीवन शैलीलाई एकैपटक ठूलो अप्ठ्यारोमा पार्छ।त्यसलाई बिस्तारै व्यवस्थापन गर्ने र अर्को स्रोतको खोजी गरी परिवारले कमाउन सुरु नगरुञ्जेल बीमाले महत्वपूर्ण सहयोग पुर्याउँछ।


         -:भविष्यकोयोजनानिर्माण गर्न:-


  व हाम्रो इच्छा र आकांक्षा आवश्यकता भन्दा धेरै माथि हुन्छ।भविष्यका योजनाहरु हामीसँग धेरै हुन्छन्।सोही अनुसार हामी दैनिकी चलाई रहेका हुन्छौँ।काम गरिरहेका हुन्छौँ।कुनै पनि व्यक्तिले देखेका तीनै सपना र योजनाहरुलाई कायम गर्न  र आफ्नो अनुपस्थितिमा योजना असफल नहुन सक्छ जीवन बीमा मार्फत भविष्यको योजना बनाउन सक्छौँ।


           -:मुलुकको विकासमा टेवा:-


हरेक राष्ट्रभक्त नेपालीले देश विकासमा आफ्नो पनि केही योगदान होस् भन्ने चाहना राख्छ।पूर्वाधार निर्माणमा सबै भन्दा बढी पूँजी जीवन बीमाले निर्माण गर्न सक्छ।देश विकासमा अलि पनि योगदा नगर्न कसैले चाहन्छ भने जीवन बीमा उपयुक्त माध्यम हो ।


          -:सन्तानको शिक्षा:-


    हरेक अभिभावकले आफ्ना सन्तान शिक्षित बनुन् भन्ने चाहाना राखेका हुन्छन्।सन्तानको शिक्षाका लागि हरेक व्यक्तिले चाहे अनुसारका बीमा गर्न सक्छन्।कसैले बालबालिकाको भविष्यका बारेमा सोच्छ भने जीवन बीमा उसको शिक्षाको निरन्तरता र सही उपलब्धिकै लागि अत्यावश्यक बन्न सक्छ।कुनै घटना वा दुर्घटनाको कारण आज गुणस्तरीय निजी शिक्षण संस्थाबाट भोलि सस्तो र सामान्य विद्यालय खोज्दै हिँड्नु पर्ने दुर्भाग्यबाट पनि जीवन बीमाले जोगाउँछ।परिवार चलाउन पनि व्यवस्थापन चाहिँन्छ भन्ने यसैले देखाउँछ।


           -:परनिर्भरता  उन्मूलन:-


जीवन बीमा भएमा कुनै कारणवश बीमितको मृत्यु भएमा बीमितको परिवारलाई आफ्नो जीविका चलाउन अन्य व्यक्ति माथि आश्रित हुनु पर्दैन।


           -:ऋणको भारबाट छुटकारा:-


     कुनै व्यवसाय वा काम पर्दा मानिसले सरसापट वित्तीय संस्था वा व्यक्तिबाट ऋण लिने गर्दछ वा ऋण लिन्छ।व्यक्तिले बैंकबाट लिएको ऋण चुक्ता नहुँदै । बिमती भएमा उसको परिवारका सदस्यलाई समस्या उत्पन्न हुँदण ।यदी उसले आफुले लिएको ऋणको बीमा छ भने कम्पनीले ऋणको जोखिम बहन गर्छ।


              -:जीवन  सुरक्षा:-

        इन्स्योरेन्सबाट बोनस भन्दा पनि महत्वपुर्ण पक्ष भनेको जीवनको सुरक्षा हो।जीबन बीमाले मानिसको मृत्यु पछि मात्र नभएर कुनै घातक रोग लागेमा पनि त्यसको उपचारका लागि पैसा दिने गर्दछ।मानिसको जीवनमा अनेक प्रकारका विपत्तिहरु आउँछन्।यी विपत्ति मध्ये सबैभन्दा ठुलो विपत्ति मृत्यु हो।रोगव्याधि, दुर्घटना वा अन्य कुनै कारणले मानिसहरुको अकाल मृत्यु हुनसक्छ।यस्तो अवस्थामा मृतकको परिवारलाई आर्थिक टेवा दिने माध्यम भनेको बीमा नै हो।यसलाई लगानीको माध्यमबाट पनि अपनाउन सकिन्छ।


 


Friday, May 14, 2021

बालकलाई मोटरसाइकलले ठक्कर दिएर फरार बरहथवाका वडाअध्यक्ष पक्राउ


लोकतन्त्र समाचारदाता---

सर्लाही ,बैशाख ३१

    करिब एक साता अगाडी सर्लाहीको बरहथवा नगरपालिका वडा न ३ मा एक ४ वर्षीय बालकलाई भारतीय नम्बरको मोटरसाइकलले ठक्कर दिएर फरार भएका बरहथवा नगरपालिका वडा न-१३ का वडाध्यक्ष जयनारायण यादव पक्राउ परेका छन् ।

     यादवले गत २५ गते  बरहथवा न.प वडा न-३ स्थित भित्री सडक खण्डमा  बिआर३०एस ९२४५ नम्बरको भारतीय मोटरसाइकलले स्थानीय अन्दाजी चार वर्षीय आदित्य महतोलाई ठक्कर दिएको र उनको उपचारका क्रममा मृत्यु भएको थियो ।

   घटना लगत्तै फरार वडाध्यक्ष यादव बिहीबार पक्राउ परेको प्रहरीले जनाएको छ ।



सर्लाहीमा १३३ जना संक्रमित थपियो ,६४६ सकृय संक्रमित/ ११ जनाको मृत्यु

 



लोकतन्त्र समाचारदाता---

सर्लाही ,बैशाख ३१

    सर्लाहीको जिल्ला अस्पताल मलंगवामा पिसिआर परीक्षणको दायरा बढे सँगै संक्रमितको संख्या पनि तिब्र रुपमा बढ्दै गएको छ ।

     बिहीबार साँझ जिल्ला अस्पताल मलंगवाको पिसिआर प्रयोगशालामा  १८८ जनाको थ्रोट स्वाबको जाँच गर्दा १३३ जनामा कोरोना संक्रमण पाइएको अस्पतालका कोभिड फोकल पर्सन एवं जनस्वस्थ्य निरीक्षक श्रीप्रसाद साहले जानकारी दिएको छ  ।बुधबार हरिवन र बागमती नगरपालिकाबाट  संकलन गरेर ल्याइएको र अस्पतालमै पुगेर स्वाब (नमुना)दिएका व्यक्तिहरुको पीसीआर परीक्षण  गरिएको साहले बताएको छ।

    संक्रमितहरुको संख्यामा लगातार वृद्धि भइरहेको अवस्थालाई देख्दा करोना समुदाय स्तरमा फैलिसकेको भन्दै मलंगवा अस्पतालका चिकित्सकहरुले चिन्ता ब्यक्त गरेका छन् ।






Thursday, May 13, 2021

कोरोनाबाट सतर्क रहेर ईद मनाउन मलंगवाका उपमेयर मिकरानीको आग्रह


लोकतन्त्र समाचारदाता---

सर्लाही ,बैशाख ३० 

    सदरमुकाम  मलंगवासहित सर्लाही जिल्लाभरी दोस्रो भेरियन्टको कोरोना भाइरस(कोभिड-१९)को जोखिम बढ्दै गएकोले मलंगवा नगरपालिकाकी उपमेयर शान्ती सबनम मिकरानीले उच्च मनोबलका साथ सुरक्षा सतर्कता अपनाउन जिल्लाबासीलाई आग्रह गर्नु भएको छ ।साथै उहाँले कोरोना संक्रमणलाई मध्येनजर गर्दै  मुस्लिमहरुको पर्व ईद  र अन्य सबै जाती तथा धर्मावलम्बीहरुको पर्व आ-आफ्नो  परिवार सँग घरमै बसेर मनाउन समेत जिल्लाबासीहरु सँग  आग्रह गर्नुभएको छ ।

    उहाँले मलंगवा नगरपालिका क्षेत्रमा पनि कोरोना संक्रमणको दर दिनप्रतिदिन  बढ्दै गइरहेकाले नडराईकन  उच्च मनोबलका साथ सुरक्षा सजगता अपनाए मात्र यसबाट  मुक्ति पाउन सकिने बताउनुभएको छ ।

    कोरोनाबाट जोगिन जीवनशैलीलाई बदल्नु जरुरी रहेको बताउँदै उहाँले शंकास्पद  बिरामी तथा समुदायस्तरमा पिसिआर परीक्षण गर्ने, बिरामीको उपचार र आइसोलेसन व्यवस्थापनलाई तीव्रता दिइने जानकारी दिनुभयो ।

  साथै उहाँले यस्तो विषम परिस्थितिमा पनि कोरोना नियन्त्रणकालागि अग्रपंक्तिमा रहेर दिनरात खट्दै आएका स्वास्थ्यकर्मी , सुरक्षाकर्मी ,पत्रकार लगायतहरु लाई पनि धन्यवाद दिनुभएको छ ।




 


Wednesday, May 12, 2021

अतिआवश्यक कामबाहेक घर बाहिर ननिस्कनुस्- प्रदेश मामिला समिति सभापति एवं सांसद अशोक यादव

 




लोकतन्त्र समाचारदाता---

सर्लाही ,बैशाख २९

       प्रदेश न-२ का सांसद एवं प्रदेश मामिला समितिका सभापति अशोक कुमार यादवले दोश्रो चरणको कोरोना भाईरस  संक्रमणबाट सचेत रहन र अतिआवश्यक काम बाहेक घर बाहिर ननिस्कन नागरिकहरुलाई आग्रह गरेका छन् ।

  प्रदेश सांसद यादवले अहिले देखा परेको दोस्रो भेरियन्टको  कोरोना भाइरस पहिलेको भन्दा बढी खतरनाक भएकोले यसको जोखिमबाट बच्न सधैं मास्क लगाउन, सेनिटाइजर प्रयोग गर्न, साबुनपानीले हात धुन, भीडभाड भएको ठाउँमा नजान तथा  अरु कसैलाई जान नदिन  समेत अनुरोध गर्नुभएको छ ।उनले संक्रमण फैलिन नदिन सबैजना सचेत बन्नुपर्ने बताएका छन् । संक्रमणवाट आफु पनि बच्न र अरुलाई बचाउन हामीलाई संयमित र  मर्यादित हुनु पर्छ उनले भने । 

   अहिलेको विषम परिस्थितिमा  प्रदेश २ सरकार आफ्नो नियमित सेवामा कटिबद्व रहेको बताउनुभएको छ ।



मुस्लिम आयोगमा मलंगवाका मोहम्मद समसुल हक मनोनीत

 



लोकतन्त्र समाचारदाता---

सर्लाही ,बैशाख २९

    राष्ट्रिय मुस्लिम आयोगमा सर्लाहीबाट पनि एकजना मनोनीत भएका छन् ।मनोनीत हुनेमा सर्लाही सदरमुकाम मलंगवा नगरपालिका वडा न-७ मुसैलीका मोहम्मद समसुल हक रहेका छन् ।

    उहाँ आयोगको सदस्य पदको लागि सिफारिस हुनु भएका हुन ।

बोर्डर बन्द तथा कडाइका बाबजुद सिमानाकाका होटलहरुमा रक्सी सेवन गर्न आउने भारतीयहरुका कारण कोरोना सर्ने खतरा बढ्यो

 




मनोज यादव----

सर्लाही ,बैशाख २९

    छिमेकी मुलुक भारतमा नयाँ भेरियन्टसहितको कोरोना भाइरस तिब्र गतिमा फैलिरहेको छ । सिमापारीका गाउँ तथा शहरहरुमा लाखौँको संख्यामा संक्रमितहरु फेला परेका छन् तर पनि नेपाल-भारत सिमा नजिकका गाउँ तथा बजारहरुमा खोलिएका रक्सी पसलमा रक्सी सेवन गर्न भनि  दैनिक हजारौंको संख्यामा भारतीय नागरिकहरुको आउनेजाने क्रम रोकिएको छैन । 

    सर्लाहीमा भारतसँग सिमा जोडिएको ५१ किलोमिटरको दुरीमा सयौंको संख्यामा रक्सी पसल तथा होटलहरु संचालनमा रहेका छन् ।सिमानाकामा कडाइ हुँदा समेत त्यस्ता पसलहरु पहिलेकै अवस्थामा संचालन भैरहेको देखिन्छ । भारतको विहार राज्यमा रक्सी माथि प्रतिबन्ध लगाइएकोले पछिल्लो समय नेपाली मात्र नभइ सिमा नजिकका स्थानीय भारतीय नागरिकहरुले पनि  सिमा क्षेत्रमा थुप्रै स–साना रक्सी  पसलहरु खोलेका छन् ।

       भारतमा दैनिक ठुलो संख्यामा कोरोना संक्रमितहरु थपिरहेको जोखिमपूर्ण अवस्थामा रक्सी  सेवन गर्न भारतीयहरु  नेपाल तर्फ आउनाले सर्लाहीमा पनि यसको जोखिम बढेको छ ।रक्सी सेवनकर्ताहरुका कारण  जिल्लाको सदरमुकाम मलंगवासहित ,भाँडसर, खुटौना, बलरा, मधुवनगोठ, पकडी फेन्हारा, भवानीपुर, त्रिभुवननगर , भेल्ही, नारायणपुर, संग्रामपुर लगायतका सिमावर्ती गाउँ ठाउँहरुमा  यसरी भिड बढ्दा कोरोना सर्ने जोखिम अधिक भएकोले खुलेआम आवतजावतमा रोक लगाउनुपर्ने नागरिक समाज सर्लाहीका महासचिव शिवचन्द्र चौधरीले  बताए ।

    दैनिक रुपमा मादक पदार्थ सेवन गर्न मानिसहरु नेपाल तर्फ आउने गरेको भन्ने सुनिएकाले पछिल्लो समय सिमा क्षेत्रमा निगरानी बढाईएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका  प्रहरी प्रवक्ता डिएसपी मदन कुवँरको बताए । 

    सदरमुकाम मलंगवा स्थित नेपाल-भारत मुख्य नाकाको बाटोमै करिब १ दर्जन जति रक्सी पसलहरु संचालनमा रहेका छन् ।यस्तै ब्रम्हपुरी गाउँपालिकाको त्रिभुवननगरमा पनि भारतको सोनवर्षा नजिक पुल वारी दुई दर्जन भन्दा बढी रक्सी पसल तथा होटलहरु संचालन भइरहेका छन् ।


बसबरिया बजार स्थित हार्डवेयर पसलमा आगलागी

 


लोकतन्त्र समाचारदाता---

सर्लाही ,बैशाख २८

    सर्लाहीको बसबरिया गाउँपालिका-१ बजार स्थित एक हार्डवेयर पसलमा बिधुत सर्ट भएर आगलागी हुँदा ४५ हजार रुपैया बराबरको क्षति भएको छ ।

    स्थानीय नवल किशोर यादवले संचालन गरेको उक्त पसलमा सोमबार राती करिब १० बजे बिधुत सर्ट भएर आगलागी हुँदा पसल भित्र रहेका तार, स्विच एलइडी बल्ब लगायतका सामानहरु जलेर नष्ट हुँदा सो रकम बराबरको   क्षति भएको प्रहरीले जनाएको छ ।

   उक्त आगलागी प्रहरी र स्थानीयबासीहरु मिलेर आधा घण्टा भित्र नियन्त्रणमा लिएकाले थप क्षति नभएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।


Tuesday, May 11, 2021

सर्लाहीमा कोरोना संक्रमित सँगै मृतकको संख्या पनि बढ्दै, ७ को मृत्यु

 

 


लोकतन्त्र समाचारदाता---

सर्लाही, वैशाख २८

    कोरोना संक्रमणबाट सर्लाहीमा थप एकजना ब्यक्तीको मृत्यु भएको छ ।यो सँगै सर्लाहीमा कोरोनाकोबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ ।


      यस अघि जिल्लाका विभिन्न ठाउँमा गरि ६ जना ब्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भइसकेको स्वास्थ्य कार्यालयका प्रमुख श्रवन कुमार नायकले जानकारी दिए ।

    सर्लाहीमा अहिले सक्रिय संक्रमितहरुको संख्या ३ सय ७० जना पुगिसकेको नायकले जनाएको छ  ।

   कोरोना अब सामुदायिक स्तरमा फैलिसकेकोले सजग र सुरक्षित भएर बस्न स्वास्थ्य कार्यालय प्रमुख नायकले स्थानीय जिल्लाबासीहरु सँग आग्रह गर्नुभएको छ ।


कोरोनाका कारण प्रभावित भएको अध्यन अध्यापनलाई बैकल्पिक माध्यमबाट संचालन गर्नुपर्ने अविभावकहरुको सुझाव

 



मनोज यादव---

सर्लाही ,बैशाख २७

   कोरोना सङ्क्रमण बढेसँगै देशभरका शिक्षण संस्थामा पठनपाठन प्रभावित भएको छ । सर्लाहीको ग्रामीण भेगमा पनि यसको प्रभाव परेको छ ।

    कोरोना नियन्त्रणमा नआए सम्म  सामाजिक दूरी कायम राख्नुपर्ने र स्वास्थ्य सम्बन्धि सम्पूर्ण मापदण्ड अपनाएर घरमै बस्नुपर्ने सरकारी निर्देशनका कारण कक्षामा औपचारिक पढाइ हुन गाह्रो छ । धेरै स्थानमा वैकल्पिक माध्यमबाट पठनपाठन निरन्तरता दिइएको भएपनि  ग्रामीण क्षेत्रका  विद्यार्थीको पठनपाठन भने अवरुद्ध भएको छ। 

शहरी तथा सुगम क्षेत्रमा अनलाइनबाट धमाधम पढाइ भइरहेको छ । तर प्रविधिको पहुँच नपुगेका ग्रामीण क्षेत्रका विद्यार्थीका लागि यसरी अध्ययन गर्न कठिन भएको छ। जिल्लामा केही स्थानका विद्यार्थीले भने स्वअध्ययनमै जोड दिएका छन् ।

   कोरोना महामारीको चुनौतिकाबीच बालबालिकाको पढाइ नछुटोस् भनेर अभिभावकले पनि घरमै पढ्ने वातावरण मिलाइ दिनु पर्छ बालअधिकारकर्मी सुन्दर श्याम रायले भने। कोरोना भाइरस महामारी जस्तो चुनौतीपूर्ण समयमा सिकाइको अवसर गुम्न नदिन विद्यालयले नै वैकल्पिक उपाय अपनाएर आफ्ना  विद्यार्थीहरुको अध्यन तथा सिकाइलाई निरन्तरता दिनुपर्ने अविभावकहरुले सुझाव दिएका छन् । 





Monday, May 10, 2021

प्रधानमन्त्री ओली पदमुक्त




काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् । विश्वासको मत लिने प्रस्ताव संसदबाट बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका हुन् ।

मतदानका लागि पक्षमा मत दिइ ‘हुन्छ’ भन्नेमा ९३ विपक्षमा मत दिने ‘हुन्न’ भन्नेमा १२४ र तटस्थ बस्ने सांसदहरु ‘मत दिन्न’ भन्नेमा १५ जनाले हस्ताक्षर गरेका छन् । ओलीले विश्वासको मत पाउन १३६ जना सासदले पक्षमा मतदान गर्नुपर्छ ।

संसदको सबभन्दा ठूलो दल एमालेका १२१ सांसद छन् । तर एमालेको माधवकुमार नेपाल पक्षका सांसदहरु बैठकमा उपस्थित भएका थिएनन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको बाबुराम भट्टराई–उपेन्द्र यादव पक्ष, राष्ट्रिय जनमोर्चाले विपक्षमा मत दिएका छन् ।

जसपाको महन्थ ठाकुर–राजेन्द्र महतो पक्षका सांसदहरु भने तटस्थ बसेका छन् ।

कोरोना संक्रमणबाट सर्लाहीमा ६ जनाको मृत्यु ,सक्रिय संक्रमितहरुको संख्या ३ सय नाघ्यो





लोकतन्त्र समाचारदाता---

सर्लाही, वैशाख २७

        कोरोना संक्रमणबाट सर्लाहीमा थप एकजनाको मृत्यु भएको छ ।यो सँगै सर्लाहीमा कोरोनाकोबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

      यस अघि मलंगवा नगरपालिका वडा न-३ का १ जना,बसवरीया गाउँपालिकाका १ जना, रामनगर गाउँपालिकाका १ जना , लालबन्दी नगरपालिकाका १ जना र बलरा नगरपालिकाका १ जना  गरी ५ जना ब्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भइसकेको स्वास्थ्य कार्यालयका प्रमुख श्रवन कुमार नायकले जानकारी दिए ।

   सर्लाहीमा अहिले सक्रिय संक्रमितको संख्या ३ सय नाघिसकेको नायकले जनाएको छ  ।


मसला पिस्ने सिलौटाले हानेर आफ्नै पत्नीको हत्या

 


लोकतन्त्र समाचारदाता---

सर्लाही ,बैशाख २७

      सर्लाहीको लालबन्दी नगरपालिका वडा न-२ पुनर्वासका  एक पुरुषले मसला पिस्ने सिलौटाले हानेर आफ्नै श्रीमतीको हत्या गरेका छन् । स्थानीय बिजयलाल कर्णले मसला पिध्ने सिलौटोले हानेर श्रीमती  उशादेवी कर्णको हत्या गरेका हुन ।

    आईतवार राती करिव साढे ११ बजेको समयमा एकआपस बिच उत्पन्न भएको घरायसी बिवादका कारण रिसको झोंकमा ३५ वर्षीय कर्णले ३२ वर्षीया श्रीमतीको टाउकोमा सिलौटाले  प्रहार गरेका थिए । सिलौटाको प्रहारबाट उशाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

   कर्ण दम्पती हरिवन नगरपालीका वडा न-११ स्थित रामवली साह तेलीको घरमा डेरा गरि बस्दै आएका  थिए ।

    घटना पश्चात् प्रहरीले कर्णलाई नियन्त्रणमा लिएको  जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी मदन कुँवरले जानकारी दिए । 



सर्लाहीमा आफ्नै छिमेकीमाथि पेट्रोल छर्केर आगो लगाइ जिउँदै जलाएर फरार अभियुक्त भारतीय सिमाबाट पक्राउ


 


लोकतन्त्र समाचारदाता---

सर्लाही,वैशाख २७

     सर्लाहीको ईश्वरपुर नगरपालिका वडा न-१२ घारीबथानमा आफ्नै छिमेकीको शरिरमा पेट्रोल छर्केर हत्या गरि फरार भएका अभियुक्तलाई सर्लाही प्रहरीले ५ दिनमै पक्राउ गरेको छ । पक्राउ पर्नेमा घारीबथानकै ३५ वर्षिय युवक शिवजी साह रहेको छ ।उनले आफ्नै छिमेकी  ५८ वर्षिय सियाशरण रायलाई  बैशाख २० गते सोमबारका दिन बिहान ९ बजे घर नजिकैको घारामा हातमुख धुइ रहेको अवस्थामा अचानक पछाडिबाट जगमा लिएर आएको पेट्रोल  शरीरमा  छर्केर आगो लगाएर फरार भएका थिए 

       साहलाई ईलाका प्रहरी कार्यालय केशरगंजबाट प्रहरी निरिक्षक जनकराज ढुंगानाको कमाण्डमा खटिएको प्रहरी टोलीले विशेष सुराकीको आधारमा  मलंगवा नगरपालिका वडा नं- ५ भाँडसर स्थित नेपाल-भारत सिमावर्ती क्षेत्रवाट  पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवं डिएसपी  मदन कुवँरले जानकारी दिए ।

     पक्राउ परेका अभियुक्त साहले प्रहरी समक्ष घटनाको विषयमा दिएको जानकारी अनुसार बैदेशिक रोजगारको लागी आफु दुबईमा बसी कामकाज गर्दै आई रहेको बेला छिमेकी  रायले मेरी श्रीमती सुनिता देवी साह तेली परपुरुष सँग लागेको भनि गाँउघरमा हल्ला गरेको कारण आफुलाई सो कुराको रिस उठेको र यस बारे  आफनो घर परिवार समेतमा श्रीमतीको बारेमा बुझ्दा उनी त्यस्तो कार्यमा नलागेको र मृतक रायले  गाँउमा बेईज्जती गर्ने उदेश्यले सो कुराको अफवाह फैलाएकोले  सोही कुराको रिसईबी राखी रायलाई जलाएर मार्ने मनसायले घर आइरहेको बेला बर्दिबासबाट पेट्रोल खरिद गरी ल्याई घरमा राखेको  र २१ गते बिहान १० बजेको समयमा सोही पेट्रोल जगमा राखी आफ्नो  घर अगाडी रहेको धारा नजिकै बसिरहेको अवस्थामा छिमेकी रायको शरिरमा   जगमा ल्याएको पेट्रोल खन्याई काठमा कपडा वेरी बनाएको हतियार र लाईटरको सहयाताले आगो लगाएका थिए ।

      आगोले जलेर गम्भीर घाईते भएका शियाशरणलाई उपचारका लागि तत्कालै धनुषाको लालगढ अस्पताल पुर्याउँदा शरिरको ९५ प्रतिशत भाग जलिसकेकोले  त्यहाँ उपचार सम्भव नभएपछि  थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाण्डौं स्थित किर्तिपुर अस्पतालमा लगिएको र त्यहीं उपचारको क्रममा भोली पल्ट (मंगलबार)बिहान उनको  मृत्यु भएको थियो ।

     पक्राउ परेका  अभियुक्त उपर कर्तव्य ज्यान सम्बन्धी मुद्दामा  म्याद थप गरी अनुसन्धान अगाडी बढाइने छ ।  हत्या विभत्स तरिकाले गरेको हुदाँ पक्राउ परेको अभियुक्तलाई जन्मकैद समेत हुन सक्ने प्रहरी प्रवक्ता एवं  डिएसपी  कुवँरले बताए ।


सर्लाहीमा निषेधाज्ञा उल्लंघन गर्ने करिब २ सय भन्दा बढी सवारीसाधन प्रहरीको नियन्त्रणमा ,दिनभरि होल्डमा राखि बेलुका छाडियो

 


***आज अझ कडाइ गरिने***


मनोज यादव ---

सर्लाही ,बैशाख २६

      प्रहरीले आइतवार सर्लाहीमा  निषेधाज्ञा उल्लंघन गर्ने २१८ वटा विभिन्न  सवारीसाधनहरु नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएका मध्ये २११ वटा मोटरसाइकल र ७ वटा चारपांग्रे  सवारीसाधनहरु रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी मदन कुवँरले जनाएको छ । 

  कोरोनाको संक्रमण बढेपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले जिल्ला स्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्र (DCCMC) को बैठकको निर्णय अनुसार बैशाख २५ गते मध्यरातबाट लागु हुने गरि सात दिनको लागि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ ।सोही अनुसार  राती १२ बजेदेखि आइतवार बिहान १० बजेसम्ममा निशेध आज्ञाको उलंघन गरेर संचालन भएका  सवारीसाधनहरु नियन्त्रणमा लिइएको प्रवक्ता कुवँरले बताए।

         पक्राउ परेका सवारीसाधन कोरोना भाइरस र निषेधाज्ञाको बिषयमा जानकारी गराएर साँझ ५ बजेपछि सम्बन्धित गाडी घनीको जिम्मा लगाइएको थियो  । 

    निशेधआज्ञा उलंघन गरेर बिना कुनै कामको सवारीसाधन  चलाउने चालक उपर  हिजो(आइतवार)भन्दा आज अझ कडाकासाथ प्रस्तुत हुने भएकोले अतिआवश्यक काम बाहेक घर बाहिर ननिस्कन प्रवक्ता कुवँरले आग्रह गर्नुभएको छ ।