Wednesday, August 31, 2022

म समाजलाई परिवर्तन गरि जनतालाई साँच्चिकै परिवर्तनको अनुभुति दिलाउन राजनीतिमा आएको हुँ :मानार्थ डा.विरवंश बैठा

 




मनोज यादव---

सर्लाही,भाद्र १५

     समाजलाई  परिवर्तन गर्ने इच्छा र भिजन लिएर राजनीतिमा आएको  मानार्थ डा.विरवंंश बैठाले बताउनुएको छ। प्रतिनिधिसभा सदस्य पदका लागि सर्लाही क्षेत्र नं.२ बाट स्वतन्त्र उमेदवारी  दिन घोषणा गरेको पत्रकार सम्मेलन मार्फत उहाँले यस्तो बताउनुभएको हो।

     दर्जनौं राष्ट्रिय तथा ७ वटा अन्तराष्ट्रिय एवार्ड विजेता डा. बैठा राजनीतिक क्षेत्रमा आउनुअघि ३ दशक लामो समयदेखि शिक्षा क्षेत्रमा आबद्ध रही मकवानपुर जिल्लाको हेटौंडा नगरपालिका वडा न-४ मा रहेको आधुनिक राष्ट्रिय उच्च माविको  प्राधानाध्यापक पदमा कार्यरत हुनुहुन्थ्यो । सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न-५ भाँडसर निवासी मानार्थ डा.बैठाले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सर्लाहीको निर्वाचन क्षेत्र न-२ बाट उमेदवारी दिन भदौ १ गते आफ्नो लामो शिक्षण पेशाबाट राजीनामा समेत दिइसकेका छन् । देशलाई विकास र  सम्बृद्धि तर्फ अगाडी बढाउन परिवर्तनको आवश्यक्ता रहेको र त्यसका असल र सबल नेतृत्वको आवश्यक्तालाई महसुस गरेर  अवकाश प्राप्त गर्न डेढ वर्षको समयावधि बाँकी रहँदै  प्राधानाध्यापकको पदबाट राजिनामा दिएर राजनितीमा आएको उहाँले  बताउनुभयो ।

      मलंगवा वडा न-८ स्थित कुसुम पार्टी पैलेशको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा डा.बैठकले नेपाल विश्वको तुलनामा धेरै पछि परेको र  मधेश अन्य क्षेत्रको तुलनामा झनै पछि परेकै कारण मधेश प्रदेशको एउटा जिल्ला पनि पूर्ण रुपमा साक्षार बन्न नसकेको प्रति चिन्ता ब्यक्त गरेका थिए। 

     भिजन र सोंच नभएका नेताहरूकै कारण  ४० वर्षअघि सुरुवात गरिएको हुलाकी राजमार्ग अहिले पनि जस्ताको त्यस्तै ,दाइजो प्रथा कायमै , महिला हिंसा उस्तै र विकास निर्माणको हालत पनि खराब रहेको डा.बैठाले पत्रकारहरुलाई बताउनुभयो ।३० वर्षअघि नेपालमा प्रजातन्त्र आएको स्मरण गराउँदै उहाँले त्यो बेलादेखि आजको दिनसम्म नेपाली  जनताले सुखानुभूति गर्न नपाएको बताउनुभयो। उहाँले देशमा नेता नभएको समेत  दाबी गर्दै नेपालमा थर्ड क्लास पोलिटिसियनहरु मात्र  रहेको बताउनुभयो ।यदी देशमा नेता भएको भए विमानस्थलमा दैनिक पाँच वटा लाश आउँदैन थियो होला उनले भने।  हाम्रा देशका नेताहरु सँग सम्बृद्ध देश बनाउन कुनै मिशन, भिजन र डेडिकेशन छैन् । कुनैपनि राजनीतिक दलमा स्थिरता छैन् ।यस्तो अवस्थामा देशको विकास हुने सम्भावना छैन् ,डा.बैठाले दु:ख व्यक्त गर्नुभयो।

    उनले विद्यमान राजनीतिक दलमा आइडल र आइडिओलोजी नभएको टिप्पणी गर्दै भने, ‘त्यही भएर हामी मुर्खहरुबाट मात्रै होइन बेइमानबाट शासित भएका छौं । अब हामी स्वतन्त्र रुपमा लड्नुपर्छ । राजनीतिक चेतना नहुँदा देश र समाज पछि परेको छ । अब समाजलाई गति प्रदान गर्नुपर्छ ।’

     सर्लाहीको मलंगवा नपा-५ भाँडसर निवासी मानार्थ डा. बैठा हेटौंडा-४ मा रहेको आधुनिक राष्ट्रिय उच्च माविको  प्राधानाध्यापक रहँदा उक्त विद्यालयमा अग्रेजी माध्यमबाट शिक्षणको सुरुवात गर्नुभएको थियो। करिव २५ सय भन्दा बढी विद्यार्थीहरु अध्यनरत उक्त  सामुदायिक बिद्यालय देशकै नमुना विद्यालय मध्येको एक रहेको छ ।डा.बैठाकै कारण उक्त विद्यालयमा मधेस प्रदेशका सयौं विद्यार्थीहरु अध्यनरत रहेका छन् ।उहाँकै कारण उक्त विद्यालय  विद्यार्थी र अभिभावकहरुको पहिलो रोजाईमा पर्ने गरेको  त्यहाँ अध्यनरत मधेस प्रदेसका विद्यार्थीहरुले बताएका छन् ।  

     उनले शिक्षा क्षेत्रमा रहेको बिकृति हटाउन चालेको कदम राजनीतिक क्षेत्रमा पनि चाल्न राजनीति यात्रा सुरु गरेको बताएका छन् । पुराना राजनीतिक दलका नेताहरु संँग देशलाई समृद्ध बनाउने कुनै भिजन नभएकोले अब उनीहरुलाई बिस्थापित गरेर नयाँलाई मौका दिनुपर्ने उहाँले बताउनुभयो। 

   पत्रकार सम्मेलन मार्फत  दलका पुराना नेताहरुले राजनीतिलाई कमाउ धन्दा बनाएको आरोप लगाउँदै उहाँले मेरो उमेदवारी जनताले महसुस गर्न नपाएको विभिन्न अधिकारहरु,भ्रष्टाचार र अन्याय विरुद्धको शसक्त खबरदारी र विकल्प रहेकोले मधेस तथा सर्लाहीका आम जनताको आवाजलाई  नेतृत्व गरि संघीय संसदमा बलियो उपस्थिति सहित जनतामा साँच्चिकै परिवर्तनको अनुभुति दिलाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

बाटो तथा तटबन्ध निर्माणको लागि राजाबाबुले गरे सर्लाही र रौतहट जिल्लालाई जोड्ने बागमती पुलको निरिक्षण

 




लोकतन्त्र समाचारदाता---

सर्लाही,भाद्र १५

     नेपालकै सबैभन्दा कान्छो गाउँपालिका प्रमुख  रामनगर गा.पा का अध्यक्ष राजाबाबु यादव आफ्नो पालिकाको विकास निर्माणको काममा जोडतोडका साथ लागिपरेका छन्।सोही क्रममा उहाँले बुधबार 

    बुधबार प्राविधिकहरु सहितको टोलीलाई लिएर  जिल्लाको रामनगर गापा र रौतहट जिल्लाको दुर्गाभगवती गा.पासँग जोड्ने बागमती  नदीमा बन्दै गरेको पुलको अनुगमन गर्नुभएको छ।

    उक्त पुलको निर्माणकार्य अन्तिम चरणमा रहेकोले सो को बाटो लगायत तटबन्ध निर्माणका लागी उहाँले  सोल परिक्षण समेत गर्नुभएको छ।

   वर्षा याममा बागमती नदीमा बाढी आउँदा आवतजावत बन्द रहने उक्त क्षेत्रमा  पुलको निर्माणकार्य सम्पन्न भएर  सुचारु भएपछि  जस्तोसुकै बाढी आउँदा पनि दुवै जिल्लाका स्थानीय  बासिन्दाहरुलाई आवतजावतमा सुविधा हुने भएकोले सवारीसाधन समेत गुडाउन सजिलो होस् भनेर रामनगर गा.पा भित्र पुलसम्म जोड्ने सडकको निर्माण तथा मर्मत सम्भार गर्ने  यादवले बताए ।

   

प्रत्येक वर्ष एउटा ड्रिम प्रोजेक्ट ल्याएर कौडेना गाउपालिकालाई सर्लाहीको नमुना पालिका बनाउछु : गाउँपालिका अध्यक्ष रुपेश कुमार

 

नेपाली कांग्रेसको लोकप्रिय युवा नेताबाट शुरू भएको रुपेश कुमारको राजनीतिक यात्रा अहिले सर्लाहीको कौडेना गाउपालिको अध्यक्षको पदमा पुगेको छ । राजनीतिसँगै सामाजिक कार्यमा समेत लागेका उनी हालै सम्पन्न स्थानीय तहको चुनावमा सर्लाहीको कौडेना गाउपालिको अध्यक्ष पद मेयरमा निर्वाचित भएका हुन् । कौडेना गाउपालिकाको विकासमा सम्भावनासँगै चुनौती पनि देख्ने उनी गाउपालिकाको समृद्धिका लागि नेतृत्व र स्थानीय बासिन्दाबीच रचनात्मक  सहकार्यको खाँचो देख्छन् । प्रस्तुत छ, सर्लाहीको कौडेना गाउपालिकाको अर्थ सामाजिक अवस्था, समस्या र सम्भाव्यताबारे गाउपालिका अध्यक्ष रुपेश कुमार सँग गरेको कुराकानी :-



       कौडेना गाउपालिकाको अध्यक्षको रूपमा आफूलाई  पाउँदा कस्तो दायित्व बोध भएको छ ? शुरूदेखि नै कौडेना गाउपालिकाको लागि केही गरौं भन्ने भावना थियो । सम्भावनाहरू भएर पनि आर्थिक र सामाजिक विकासमा पछि परेको यस पालिकालाई कसरी माथि उठाउन सकिन्छ भन्ने सोचले राजनीतिक रूपमा सक्रिय भएको हुँ । अहिले कौडेनाका बासिन्दाले यो ठाउँमा पु¥याउनु भएको छ । यो मेरा लागि अवसरसँगै केही गरेर देखाउनुपर्ने चुनौती पनि हो । कौडेना जुन किसिमको हुनुपर्ने हो, त्यस्तो छैन । यहा सम्भावना धेरै छन् । यसलाई पालिकाको विकासको अवसरको रूपमा उपयोग गर्न पनि सम्भव छ । चुनौतीहरू पनि धेरै नै छन् । गाउपालिकाको कार्यालयदेखि सबै क्षेत्रमा समस्या देखिएको छ । सडक, सरसफाइ, विकास निर्माण सबैमा समस्या छ । शिक्षा, स्वास्थ्य लगायतका अत्यावश्यक क्षेत्र समस्याग्रस्त छन् । यी सबैलाई सहज र व्यवस्थित बनाउनुपर्ने चुनौती स्वीकार गरेर बसेको छु । र, यसमा म सफल पनि हुन्छु । अहिले कौडेनाका बासिन्दासँग दैनिक रूपमा जोडिएका समस्या समाधानको प्रयासमा लागेको छु । एउटा गाउपालिका चलाउन सोचे जति सहज रहेनछ, होइन त ? जति सजिलो होला भनेर सोचेको थिएँ, त्यति सजिलो छैन । चारैतिर चुनौती नै चुनौती छन् ।  कार्यालयमा कुनै पनि कुरा व्यवस्थित छैन । कुनै पनि योजनाका कागजपत्र भनेको समयमा सहज र व्यवस्थित ढंगले पाइँदैन । यो पालिका एक प्रकारले बेथितिले भरिएको रहेछ । यसलाई क्रमशः सुधारको बाटोमा लैजाँदै छौं । यसमा कौडेनाका बासिन्दाले सुधारको अनुभूति पनि पाउन थालिसकेका छन् । कौडेनाको विकासमा तपाईंको मूल प्राथमिकता के हो ? अहिले जनताको दिनचर्यासँग जोडिएका सरोकारहरू मुख्य हुन् । सडक, सरसफाइ, ढल तथा पानीको सहज र छरितो निकास, नागरिकमैत्री कर प्रणाली र प्रक्रिया, सबैको पहुँचमा शिक्षा र स्वास्थ्यजस्ता विषय प्राथमिकतामा छन् । साथै दीर्घकालीन रूपमा ‘औद्योगिक तथा व्यापारिक शहर ः सुसंस्कृत र सभ्य हाम्रो कौडेना’ भन्ने दीर्घकालीन सोचमा हामी अघि बढेका छौं । यो उद्देश्य प्राप्ति गर्नु आफैमा एउटा ठूलो चुनौती हो । यसका लागि औद्योगिक तथा व्यापारिक गतिविधिको प्रवद्र्धन, लगानी आकर्षण र लगानीको संरक्षणको नीति लिएका छौं । दीर्घकालीन रूपमा शिक्षा, स्वास्थ्य सम्बन्धी सूचकमा सुधार, निजीक्षेत्रको भूमिकामा गुणात्मक सुधारको योजना चालू आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रममा राखेको छ । सूचना तथा प्रविधिको विकासका साथै भौतिक पूर्वाधारको निर्माण, कृषि, वन तथा वातावरण र पर्यटन क्षेत्रको विकासलाई दीर्घकालीन रूपमा प्राथमिक क्षेत्रको रूपमा तय गरिएको छ । सुशासन प्रवद्र्धनका लागि केकस्ता काम गर्दै हुनुहुन्छ ? यो मैले भन्ने भन्दा पनि तपाईं आफैले हेर्न सक्नुहुन्छ । पालिकाको विभिन्न शाखामा बेथिति थियो । योजना, राजस्व लगायतका शाखामा सेवाग्राहीले दुःख पाएका थिए । आज त्यसमा सुधार आएको छ । पहिला कर्मचारी कार्यालयमा नबस्दा सेवाग्राहीलाई सास्ती थियो । अहिले बिहान सवा १० बज्दानबज्दै कर्मचारी आ–आफ्नो कार्यस्थलमा पुगेका छन् । यतिले पनि पुगेन भने कुनै समस्या परेमा सेवाग्राहीले सोझै मसँग सम्पर्क गर्न सक्नुहुन्छ । सुशासनमा नीतिगत व्यवस्था लिएर अगाडि बढेका छौं । सार्वजनिक सेवा  प्रवाहका कमीकमजोरी हटाउन कानूनी शासन, भ्रष्टाचारमा शून्य सहनशीलता, कर्मचारीको क्षमता विकासलगायतमा जोड दिएका छौं । कौडेना हाम्रो हो र मैले दिएको कर हाम्रो विकासका लागि खर्च हुन्छ भन्ने यथार्थलाई कसैले  पनि बेवास्ता गर्नुभएन । पालिका र ग्रामीण वडाको विकास पूर्वाधारमा ठूलो अन्तर देखिन्छ । यसलाई कसरी सन्तुलित गर्नुहुन्छ ? मैलै अघि पनि भनेँ, सबैमा समस्या छ । ती वडा नजोडिएसम्म विकास र सहजीकरण महसुस हुँदैन । सडक सञ्जालसँग जोडिएपछि कौडेनामा परिवर्तनको अनुभूति हुन्छ । यो पालिकाको बजेटले मात्र सम्भव छैन । विभिन्न निकायमा पहल भइरहेको छ । परिणाम आउनेमा म विश्वस्त छु । नाला सफा भयो र पानी बग्यो भने लामखुट्टे पनि हुँदैन । खुला नाला लामखुट्टेको घर भएको छ । यसमा पनि काम गरेका छौं । चुनावमा तपाईंले कुनै पनि सेवा सुविधा लिनेछैनौ र कार्यालयको गाडी पनि प्रयोग गर्ने छैनौ भन्नुभएको थियो । चुनाव जितेलगत्तै त्यही विषयलाई लिएर तपाईंलाई सामाजिक सञ्जालमा ठुलो प्रसार पनि गरियो । म अहिले पनि मतदाता संग गरेको वाचा प्रति अडिंग छु । कार्यालयको सवारी मईले प्रयोग गरेको छैन । ५ वर्षको अन्तरालमा पाउने सेवा– सुविधा पनि लिने छैन । म आफ्नै मुखले भन्नुभन्दा जनताले देख्नेगरी आफनो सबै वाचा पुरा गर्नेछु  । प्रत्येक वर्ष एउटा योजनाका दरले ५ वर्षमा ५ ओटा ड्रिम प्रोजेक्ट ल्याउनेछु । मंसिर ४ मा प्रतिनिधी सभा र प्रदेश सभाको चुनाब आउदै छ । यो चुनाबलाई लिएर हजुरको धारणा के छ ? हेर्नुस अहिले गठबन्धन हुने कुराहरु आईरहेको छ । हाम्रो पार्टी नेपाली कांग्रेस देशकै सबै भन्दा ठुलो पार्टी हो । गठबन्धन भएपनि सर्लाहीमा बढि सिट कांग्रेसले पाउनु पर्छ मेरो धारणा छ । स्थानीय निर्वाचनमा जसरी सर्लाहीका जनताले नेपाली कांग्रेसलाई बिश्वास गरेर जिल्लाकै ठुलो पार्टी बनायो । मंसिर ४ मा हुने प्रतिनिधी सभा र प्रदेश सभाको चुनाब पनि नेपाली कांग्रेसका उम्मेदवार सबै सिट जित्नेमा म बिस्वश्त छु । तर गठबन्धनको बहानामा अरु सानो पार्टीले टिकट पायो भने नतिजा बेग्लै हुन सकछ, यस प्रति केन्द्रिले सोच्नु पर्ने बेला रहेको मेरो बिचार छ । 

       *राष्ट्रिय लोकतन्त्र दैनिकका लागि पत्रकार बखतियार अलिले गरेको कुराकानीको  सम्पादित अंश । 


Monday, August 29, 2022

नेपाल समाजवादी पार्टीको सर्लाही जिल्ला संयोजकमा विनय कुमार राय

 



लोकतन्त्र समाचारदाता---

सर्लाही,भाद्र १३

     नेपाल समाजवादी पार्टी सर्लाही  जिल्लाको अध्यक्षमा विनय कुमार राय चयन भएका छन् ।

    आइतवार सम्पन्न भएको जिल्ला कमिटीको बैठकबाट रायको अध्यक्षतामा १२१ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको हो। 

    नव गठित जिल्ला कार्यसमितिको उपाध्यक्षमा जितेन्द्र साह ,रेनु चौधरी,मनोज यादब तथा सचिवमा सिकिन्द्र यादब लगायत अन्य सदस्यहरु रहेको पार्टीले जनाएको छ।









 

Sunday, August 28, 2022

मोटरसाइकल ग्यारेजमा आगलागी हुँदा १० लाख मुल्य बराबरको क्षति

 


लोकतन्त्र समाचारदाता---

सर्लाही भद्र १२

     सर्लाहीको चन्द्रनगर गाउँपालिकामा वडा न-६ नाढीमन बजार स्थित एक मोटरसाइकल ग्यारेजमा आगलागी हुँदा झण्डै १० लाख रुपैया बराबरको धनमाल क्षति भएको छ।

     नाढीमन बजारमा स्थानिय मोहन साहले संचालन गरेको मोहन मोटरसाइकल वर्कसपमा आगलागी हुँदा त्यहाँ बनाउन राखिएका ३ थान विभिन्न मोडेलका मोटरसाइकल, हावा मेसिन, मोटरसाइकल धुने वासिङ्ग मेसिन र पसलमा राखिएको लगभग ३ लाख मुल्य बराबरको विभिन्न सामानहरु जलेर पुर्णरुपमा नष्ट भएको प्रहरी जानकारी दिएको छ। 

   केही अज्ञात व्यक्तिहरुको समुहले उक्त ग्यारेजमा पेट्रोल छर्केर आगो लगाएको हुनसक्ने  स्थानीयहरुले आशंका गरेका छन्। 

   घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 


प्रदेश कानून निर्माण गर्न ८ वटै जिल्लाका सभापति र उपसभापतिहरुले मुख्यमन्त्रीलाई बुझाए ज्ञापनपत्र

 



लोकतन्त्र समाचारदाता---

सर्लाही,भाद्र १२

     जिल्ला समन्वय समिति सम्वन्धी प्रदेश कानून निर्माण गर्न माग गर्दै मधेस प्रदेशका ८ वटै जिल्लाका सभापति र उपसभापतिहरुले मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।

    मधेस प्रदेशको राजधानी जनकपुरधाम स्थित मधेस भवनमा ८ वटै जिल्ला अन्तर्गत जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुखहरुले आज(आइतवार) संयुक्तरूपमा  जि.स.स. हरुको समस्या तथा प्रदेश कानून निर्माण लगायतको मागहरु उल्लेख गरिएको ज्ञापनपत्र  मुख्यमन्त्री मो.लालबाबु राउतलाई बुझाएका छन् । 

  जिसस सर्लाहीका प्रमुख कौशल किशोर सिंह,धनुषाका प्रमुख राजनन्दन मंगल राज,उपप्रमुख संगिता देवी ठाकुर,पर्साका प्रमुख निरंजन प्रसाद,बाराका प्रमुख नरेन्द्र कुमार साह,उपप्रमुख चण्डिका उप्रेती ,सिरहाका प्रमुख दिनेश महतो,उपप्रमुख दिलिप कुमार लामा,महोत्तरीका प्रमुख सुमान कुमार लाल कर्ण,रौतहटका प्रमुख राम अयोध्या यादव तथा सप्तरीका प्रमुख शिवनारायण साहले प्रदेश कानून निर्माण गर्न भनि संयुक्तरूपमा मुख्यमन्त्री राउतलाई बुझाएको ज्ञापनपत्र मार्फत प्रदेश सरकारसँग माग गरेका छन् ।

    स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ९३ अनुसार जिल्ला सभालाई आवश्यक पर्ने बजेट  नेपाल सरकार र मधेश सरकारले उपलब्ध गराउनेछ भन्ने व्यवस्था रहेकोले  स्थानीय स्तरमा विकास एवं संरक्षणका योजनाहरु पहिचान गरि सो योजनाहरु नगरपालिका वा गाउँपालिका वा जिल्ला समन्वय समिति मार्फत कार्यान्वयनका लागि आवश्यक बजेट उपलब्ध गराइदिन ज्ञापनपत्रमा उल्लेख गरि प्रदेश सरकारसँग माग गरिएको छ।

    ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री राउतले  मधेश प्रदेशका मुख्य सचिवहरुलाई यस विषयमा पहल गर्न निर्देशन दिएको जिसस सर्लाही प्रमुख सिंहले लोकतन्त्रलाई जानकारी दिए ।

     मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउन प्रदेश राजधानी जनकपुरधाममा भेला भएका जिसस प्रमुख तथा उपप्रमुखहरुले जून उद्देश्यले समन्वय समितिको व्यवस्था गरिएको हो, सो अनुसार काम हुन नसकेको र संघ, प्रदेश तथा स्थानीय सरकारसँग पनि समन्वय गर्न नसकेको गुनासो गरेका थिए।




 


सर्लाहीका सम्पूर्ण सामुदायिक विद्यालयहरु एकसाताको लागि बन्द गरि शिक्षकहरु आन्दोलनमा

  



लोकतन्त्र समाचारदाता----

सर्लाही,भाद्र १२

     सर्लाहीका सम्पूर्ण सामुदायिक विद्यालयहरु आइतवार १२ गतेदेखि १८ गतेसम्म  एकसाताको लागि बन्द गरिएको छ।  

   नेपाल सरकारले विद्यालय कर्मचारीहरु माथि गरेको अन्यायको विरुद्ध र उनीहरुको पेशागत हकहितकको संरक्षणका लागि आवाज उठाउँदै नेपाल विद्यालय कर्मचारी परिषद जिल्ला कार्यसमिति सर्लाहीले एक सूचना जारी गर्दै एकसाताको लागि जिल्ला भरीका सामुदायिक विद्यालयहरु बन्द गरि आन्दोलनमा उत्रिएका छन् ।

   परिषदको उक्त निर्णय प्रति विभिन्न शिक्षक संगठनहरुले समेत प्रतिबद्धता जनाएको छ जिल्ला अध्यक्ष नारायण प्रसाद यादवले जनाएको छ।


अघोषित लोडसेडिङको विरोधमा विद्युत प्राधिकरण मलंगवा अगाडि नगरवासीहरु द्वारा प्रदर्शन

 

 

मनोज यादव----

सर्लाही,भाद्र १२

     अघोषित लोडसेडिङ र अनियमित विधुत कटौतीको विरोधमा मलंगवा  स्थित नेपाल विद्युत प्राधिकरण अगाडि नगरवासीहरुले प्रदर्शन गरेका छन् ।

    अघोषित लोडसेडिङको र अनियमित विधुत कटौतीको मार झेल्दै आएका पिडित नगरवासीहरुले आज(आइतवार)बिहान  सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न-८ स्थित रहेको विधुत प्राधिकरण वितरण केन्द्रको मुख्य प्रवेशद्वारमा  न.पा का मेयर प्रत्यासी एवं युवा नेता शमिमबाबु खानको नेतृत्वमा युवा नेता धर्मेन्द्र टाका यादव लगायतले नारावाजी गर्दै प्रदर्शन गरेका छन् ।

    विगत केही हप्ता देखि विद्युत प्राधिकरण काे कमि कमजोरी र लापरवाहीको कारण अघोषित लोडसेडिङ बढेकोले यसलाई सुधार गर्नको लागि  सम्बन्धित निकायलाई दबाब र ध्यानाकर्षण गराउन बाध्य भएर प्रदर्शन गर्नुपरेको खानले बताए ।

    विद्युत प्राधिकरणको लापरबाहीका कारण मलंगवा र यस आसपासको क्षेत्रमा विधुतको अघोषित लोडसेडिङ र अनियमित विधुत आपुर्ति भइरहँदा जनजीवन प्रभावित भएको छ ।विभिन्न संचार माध्यमहरुमा यस सम्बन्धि समाचारहरु प्रशारण र प्रकाशन भएपनि प्राधिकरणले यसलाई बेवास्ता गर्दै आएको पिडित नगरवासीहरुले गुनासो गरेका छन् । 

    विद्युत प्राधिकरणका कर्मचारीको लापरवाहीले विद्युत आपुर्तिमा समस्या भइरहेको भन्दै प्रदर्शनमा सहभागीहरुले मलंगवा वितरण केन्द्रका प्रमुख र  कर्मचारी विरुद्ध नाराबाजी पनि गरेका थिए ।

   विद्युत आपुर्तिमा भइरहेको समस्या तत्काल सामधान नगरिए अझ सशक्त आन्दोलनमा उत्रिने विरोध प्रदर्शनका अगुवा खानले चेतावनी दिइएका छन्।

Saturday, August 27, 2022

जग्गाको कित्ताकाट बन्द हुँदा, मालपोतमा हुने ६० प्रतिशत काम ठप्प/समाजिक रुपमा अंशबण्डा गरेर जग्गाको मालिक बनेपनि सरकारी स्तरमा लालपुर्जा नबन्दा जग्गाको किनबेच गर्न नपाएको जनताको गुनासो

 



मनोज यादव---

सर्लाही,भाद्र ११

    सरकारले नयाँ भूउपयोग निमायली २०७९ जारी गरेपछि विभिन्न प्रयोजनका लागि गरिदै आएको जग्गाको कित्ताकाट ठप्प भएको छ । कित्ता काटको काम ठप्प भएपछि सर्लाही जिल्लाभरका जनताहरु मर्कामा परेको गुनासो गरेका छन् ।

   भूउपयोग ऐन २०७६ र भूउपयोग नियमावली २०७९ बमोजिम स्थानीय तहहरुले आ–आफ्नो क्षेत्रमा कृषि र गैरकृषि  छुट्याएर बर्गिकरण नगरेको जग्गाको कित्ताकाट नगर्न भनि  मन्त्रालयले  परिपत्र गरि निर्देशन दिएकोले अहिले मालपोत र नापी कार्यालयमा अन्य कामहरु भएपनि कित्ता काटको काम भने बन्द रहेको भुमि सुधार तथा मालपोत कार्यालय मलंगवाका प्रमुख पनिलाल यादवले बताए । जबसम्म कृषि र गैरकृषि क्षेत्र भनेर चारकिल्ला छुट्याइदैन, तबसम्म अंशबण्डाकै कित्ताकाट गर्न पनि समस्या भएको उनलले बताए।

   विगत तीन महिना भन्दा बढी समयदेखि सर्लाही जिल्ला स्थित  जिल्ला मालपोत कार्यालय मलंगवा,इलाका मालपोत कार्यालय बरहथवा र हरिवनमा कित्ताकाट र घरजग्गा किनबेच सम्बन्धित काम सुस्ताएको छ।जग्गाको कित्ताकाट बन्द भएदेखि दैनिक भिडभाड भइरहने सर्लाहीका तीनवटै ठाउँका मालपोत कार्यालयहरुमा अहिले सेवाग्राहीहरुको उपस्थिति कम देखिएका छन् । जग्गाको वर्गिकरण नहुँदा मालपोत कार्यालयबाट हुने कित्ताकाट, लिखत पारित लगायत विभिन्‍न शिर्षकको काम करीव ६० प्रतिशतले घटेको सर्लाही लेखापढी व्यवसायी संघका अध्यक्ष राज किशोर झा ले बताए ।

    भूमि मन्त्रालयले परिपत्र गरि निर्देशन दिएको झण्डै चार महिना पुग्नै लाग्दा पनि सर्लाहीका स्थानीय तहहरुले आ–आफ्नो क्षेत्रमा जग्गा बर्गिकरण गर्नतर्फ ध्यान दिएका छैनन्। सबै पालिकाहरुमा नयाँ जनप्रतिनिधिहरु आएका छन् ।  उनीहरु अझै पनि बधाई र सम्मान ग्रहण गर्नमै व्यस्त छन् ।

   दाजुभाइ बिच अंशबण्डा भएको तीन महिना भइसक्यो,घर व्यवहार पनि छुट्टाछुट्टै चलिरहेको छ तर कित्ताकाटको काम बन्द रहेका कारण आफ्नो नाममा लालपुर्जा बनाउन पाएका छैनौं।गाउँकै केही भद्रभलादमीहरुको रोहवरमा तत्कालको लागि कागजमा जग्गाको बाँडफाँड गरेर काम चलाइरहेका छौ-मलंगवा स्थित जिल्ला मालपोत कार्यालयको प्रांगणमा भेटिएका एक सेवाग्राहीले गुनासो सुनाए। उनले सरकारी स्तरमा लालपुर्जा बनाएर जग्गाको स्वामी बन्न नपाएकोले छोरीको विवाहको लागि आवश्यक परेको पैसाको लागि जग्गा समेत बिक्री  गर्न नपाएको दुखेसो पोखे।

    कुनै पनि विधि अपनाएर अथवा कुनै पहुँचवाला व्यक्तिसँग भनसुन गरेरै भएपनि जग्गाको कित्ताकाट भईहाल्छ कि भनेर टाढा टाढाबाट सबै काम घन्दा छाडेर चर्को घाममा मालपोत आउने सेवाग्राहीहरु काम नभइ निराश भएर रित्तो हात फर्कन बाध्य हुनु परेको  छ। काम नभइ रित्तो हात फर्कनु पर्दा आफुहरुको टाउकोमा आर्थिक भार मात्र थोपरिएको सेवाग्राहीहरुले गुनासो गरेका छन् ।सबैभन्दा बढी आर्थिक मार गरिब जनताहरुलाई परेको छ।

     

     



 







Friday, August 26, 2022

सर्लाहीको गोडैता र बलरामा तीनदिने भित्ते पत्रिका तथा प्रकाशन तालिम सम्पन्न

 

मनोज यादव---

सर्लाही,भाद्र १०

      सर्लाहीको गोडैता र बलरामा भित्ते पत्रिका तथा प्रकाशन सम्बन्धित तीनदिने तालिम सम्पन्न भएको छ।।सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा राष्ट्रिय रोजगार प्रबद्धन केन्द्रद्धारा संचालित समुन्नति परियोजना अन्तर्गत जिल्लाको गोडैता र बलरा नगरपालिकामा रहेका बाल कल्बका सदस्यहरुलाई भित्ते पत्रिका तथा प्रकाशन सम्बन्धि तालिम दिइएको हो।

      गोडैता न.पा क्षेत्र भित्रका १ देखि १२ वटा वडाहरुमा समुदाय तथा विद्यालय स्तरमा गठन गरिएका बाल कल्बहरुका सदस्यहरुलाई राम जानकी आधारभुत बिद्यालयमा र बलरा न.पा क्षेत्र भित्रका १ देखि ११ वटा वडाहरुमा गठन गरिएका  बाल क्लबका सदस्यहरुलाई राम जानकी आधारभुत विद्यालयमा तालिमा दिएको  राष्ट्रिय रोजगार प्रबद्धन केन्द्रले जानकारी दिए।

    बालबालिकाहरुको अन्तरिक प्रतिभा तथा रचनात्मक प्रस्तुतिका साथै उनिहरुको क्षमता अभिबृद्धी र उनीहरू भित्र रहेको लेखन प्रतिभाले समुदाय रुपान्तरणमा ठुलो प्रभाव पार्ने  संस्थाले महसुस गरेकोले उनीहरुलाई उक्त तालिम प्रदान गरेको राष्ट्रिय रोजगार प्रबद्धन केन्द्रका अध्यक्ष गायत्री महतोले बताइन्।

    तालिममा सहभागी भएकी सुधा राजेश्वर मावि सुरक्षित बाल क्लबकी  अध्यक्ष काजल सिंहले यस किसिमको तालिमबाट बालबालिकाहरु भित्र रहेको लेखन प्रतिभाको उजागर हुने साथै  समुदाय तथा विद्यालय स्तरमा भित्ते पत्रिका प्रकाशन गर्न ठुलो सहयोग मिल्ने बताइन् । केन्द्रकी अध्यक्ष महतोले दुबै पालिकामा गठन भएका बाल कल्बका सदस्यहरु आ-आफनो समुदाय तथा विद्यालयमा हुने सबै खाले क्रियाकलाप तथा  बालबालिका, महिला अपाङ्गता भएका ब्यक्ति जातिय छुवाछुत लगायत समुदायमा हुने अन्य  सबै खाले विकृतिहरु भित्ते पत्रिकामार्फत उजागर गरि यस किसिमका विकृतिहरुको विरुद्धमा  जनचेतना फैलाउने बताइन्। 

     गोडैतामा आइतवारदेखि मंगलबारसम्म र बलरामा बुधबारदेखि शुक्रबारसम्म संचालन भएको उक्त तालिमको सहजिकरण पत्रकार जीवन सेजुवालले गरेको केन्द्रका शिक्षा अधिकृत निरज मिश्रले जनाएको छ।



 

गोडैता बजारमा दिनदहाडै लुटपाट,लुटेरा फरार

 

लोकतन्त्र समाचारदाता---

सर्लाही,भाद्र १०

       सर्लाही जिल्लाको पुर्व पश्चिम हुलाकी राजमार्ग अन्तर्गत पर्ने गोडैता नगरपालिका स्थित गोडैता बजारमा  दिनदहाडै एउटा रेमिटान्सको कार्यालयमा लुटपाट भएको छ।

    जिल्ला प्रहरी कार्यालय सर्लाहीले दिएको  जानकारी अनुसार गोडैता न.पा वडा न- ८ स्थित सिसौटिया जाने बाटोमा रहेको लालिगुराँस बहुउदेश्यीय कृषि सहकारी संस्थाले संचालन गरेकोे  मनि ट्रान्सफरबाट आज(शुक्रवार)बिहान १० बजे  ४ जना अज्ञात व्यक्तिहरुको समुहले हतियार देखाउँदै ८ लाख ५० हजार नगद र एक लाख बराबरको मोवाइल गरी करिब ९ लाख ५० हजार मुल्य बराबरको नगद तथा सरसमान लुटेको हो ।कालो रंगको अपाचे मोटरसाइकलमा नकाब लगाएर आएका लुटेराहरुको समूहले दुई जना स्थानिय तथा एक जना मनि ट्रान्सफरका कर्मचारीको मोबाइल समेत लुटेर लगेको स्थानियहरुले बताएका छन ।

   उनीहरूले  गोडैता न.पा-२  बस्ने ५४ वर्षिय मोहमद तसलिमले बोकेको ३० हजार मुल्य बराबरको मोबाइल, वडा नं-१ बस्ने ७३ वर्षिय जगतलालले बोकेको २० हजार मुल्य पर्ने मोबाइल र मनि ट्रान्सफरमा कार्यरत एकजना कर्मचारीको मोबाइल लुटेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी विजय यादवले जानकारी दिए।

   घटनाको विषयमा  छानबिन  भइरहेकोले प्रहरीले जनाएको छ।



 

Thursday, August 25, 2022

💐हार्दिक श्रद्धाञ्जली

           💐हार्दिक श्रद्धाञ्जली 

कौडौना गापाका पदाधिकारीहरुको लागि विपद सम्वेदनशिल सामाजिक सुरक्षा गोष्ठी सम्पन्न

 



 


लोकतन्त्र समाचारदाता----

सर्लाही,भाद्र ९

     सर्लाहीको कौडेना गाउँपालिकामा विपद सम्वेदनशिल सामाजिक सुरक्षा गोष्ठी सम्पन्न भएको छ । 

    राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र मलंगवा तथा सेभ द चिल्ड्रेन द्वारा संचालित समुन्नति कार्यक्रम अन्तर्गत गाउँपालिका अध्यक्ष रुपेश कुमारको प्रमुख आतिथ्यतामा उक्त गोष्ठी सम्पन्न भएको हो । 

    विपद व्यवस्थापन र सामाजिक सुरक्षालाई सँगसँगै कसरी अगाडी बढाउँदै लान सकिन्छ भन्ने विषयमा  जानकारी गराउने उदेश्यले उक्त गोष्ठीको आयोजना गरिएको आयोजकले जानकारी दिए।

     बुधबार  आयोजना भएको उक्त गोष्ठीमा  सहभागी भएका कौडेना गापा कार्यालय अन्तर्गत विभिन्न शाखा तथा क्षेत्रका पदाधिकारीहरु सँग विपदको प्रभाव र जोखिमलाई  नक्सांकनको हिसाबले निर्माण गर्नुपर्ने  योजनाहरुको विषयमा छलफल गरिएको थियो।

    गोष्ठी मार्फत गापा अध्यक्ष रुपेशले कौडेना गापा अन्तर्गतका अधिकांश वडाहरु लखनदेही खोलाको छेउमा रहेको र उक्त खोलामा आउने बाढीका कारण हरेक वर्ष ठुलो जनधनको क्षतिको साथै खेतीयोग्य जमिन कटान हुने गरेकोले  सो क्षेत्रमा वृक्षारोपण गरेर विपद व्यवस्थापनमा सहयोग पुर्याउने प्रतिबद्धता जनाएका थिए।त्यस्तै प्रमुख प्रशासकीय अधिकृत शम्भु प्रसाद यादवले पनि वडास्तरीय विपद व्यवस्थापन गठन र पालिक स्तरीय विपद व्यवस्थापन योजनाहरुको निर्माण गरि सहकार्य गर्दै  जाने बताए।

    केन्द्रका कार्यकारी निर्देशक शिवजी प्रसाद साहले विपद व्यवस्थापन तथा शिक्षा,स्वास्थ्य र जिविकोपर्जनको क्षेत्रमा लगानीको हिसाबले प्रतिफल देखिने गरि सहकार्य गर्दै कार्यक्रमहरु अगाडी बढाउने जानकारी दिए।

     सेभ द चिल्ड्रेनका विष्णु खरेलले सम्वेदनशिल सामाजिक सुरक्षा विधिहरुको विषयमा विस्तृत रुपमा जानकारी गराएका थिए।


Wednesday, August 24, 2022

मलंगवा नपा ८ वडा कार्य समिति द्वारा जनप्रिय नेता प्रदिप गिरीको श्रद्धाञ्जली सभा सम्पन्न

  



लोकतन्त्र समाचारदाता---

सर्लाही,भाद्र ८

    नेपाली काँग्रेसका युग पुरुष एवं जनप्रिय नेता स्व. प्रदिप गिरीको समृतिमा सर्लाहीको सदरमुकाम मलंगवा आज(बुधबार) साँझ श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ।

    नेपाली काँग्रेस मलंगवा नगरपालिका वडा न-८ वडा कार्य समितिले  आयोजना गरेको सभामा उपस्थित सहभागीहरुले जनप्रिय नेता स्व.गिरीले देश र जनताको लागि गरेको योगदान र उहाँको असल चरित्रको बारेमा चर्चा गरेका थिए।

   मलंगवा-८ स्थित नगरपालिकाको कार्यालय अगाडी श्रीराम मन्दिर नजिक आयोजना भएको सभामा जुगल शाह पूर्व नगर सभापति, राम दर्शन राय, चन्द्र किशोर शाह  निवर्तमान नगर सभापति, वडा न.६ वडा सभापति नासरुल खान, वडा न.११ वडा सभापति महेश राय,

महाधिवेशन  प्रतिनिधि दिनेश राय, मलंगवा नपा-७ बाट अरुण सिंह, नागरिक समाजका अगुवा शिवचन्द्र चौधरी, मलंगवा नपा-९ का उपसभापति आनन्द अग्रवाल लगायतले श्रद्धाञ्जली व्यक्त गरेका थिए । 




 


मुख्यमन्त्री मो.लालबाबु राउतलाई हटाउने कुनै योजना नरहेको जसपा अध्यक्ष उपेन्द्र यादवको भनाई

 





लोकतन्त्र समाचारदाता---

काठमाडौ,भाद्र ८

     मधेस प्रदेशको सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई हटाउन पार्टीले कुनै निर्देशन नदिएको बताएका छन् ।

   पार्टीको बैठकमा राउतलाई मुख्यमन्त्री पद छाड्न दबाब दिइएको चर्चा चलेका बेला अध्यक्ष यादवले मुख्यमन्त्री हटाउने विषयमा कुनै निर्देशन नदिइएको बताएका हुन् । ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत साइकल खरिद प्रकरणमा अनयमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि राउतमाथि पद त्याग गर्न दबाब बढेको थियो ।

    , ‘मुख्यमन्त्री राउतलाई पदबाट राजीनामा दिन निर्देशन दिएको भनेर बाहिर आएको हल्लामा कुनै सत्यता  नरहेको अध्यक्ष यादवले बताए । मुख्यमन्त्रीलाई त्यस्तो कुनै निर्देशन नदिएको र हटाउने पनि कुनै योजना नरहेको उनले भने


सर्लाहीमा ४२७ जना भन्दा बढि मिटरब्याजी विरुद्ध उजुरी मलंगवाका ९ जना पनि कार्वाहीको दायरामा

 

बखतियार अलि–

सर्लाही, भाद्र ७             सरकारले मिटरब्याजीविरुद्ध उजुरी दिन आह्वान गरेसँगै भदौ ५ गते सम्ममा मात्र ४२७ जनाले जिल्ला प्रशासन कार्यालय सर्लाहीमा उजुरी दिएका छन । हिजो सम्म पनि उजुरीको संख्या बढदै गएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ।                                     हाल सम्म ५ सय भन्दा बढि मिटरब्याजी विरुद्ध उजुरी परि सकेको कार्यालयले जनाएको छ । सदरमुकाम मलंगवा नगरपालिकाका ९ जना मिटरब्याजी बिरुद्ध उजुरी परेको छ । जसमा मलंगवा वार्ड नं. ६ का १ जना, मलंगवा वार्ड नं. ३ का १ जना त्यस्तै मलंगवा वार्ड नं.४ का ५ जना र मलंगवा वार्ड नं. ५ का २ जना मिटरब्याजी विरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको कार्यालयले जनाएको छ । उजुरी परेका मिटरब्याजी विरुद्ध सत्यतथ्य पता लगाई कार्वाही प्रकृया अगाडी बढाउने जिल्ला प्रशासन कार्यालयका एक कर्मचारीले बताए । मिटरब्याजी बिरुद्ध प्राप्त भएको निवेदन माथि प्रमाणका आधारमा जिल्ला सरकारी वकिल कार्यालयसँग समवन्य गरी जिल्ला प्रहरी कार्यालयबाट मुद्दा चलाउने तयारी भइरहेको प्रजिअ थानेश्वर गौतमले जानकारी दिए । प्राप्त उजुरीका बारेमा गृह मन्त्रालयलाई जानकारी गराइएको जनाउँदै प्रमुख जिल्ला अधिकारी गौतमले जिल्ला प्रहरी कार्यालय र प्रशासन कार्यालयले पनि आफ्नै तरिकाले अध्ययन गरिरहेको बताए । सरकारले उजुरीका लागि दिएको अन्तिम समय सकिएको र अब मिटरब्याजी विरुद्ध उजुरी लिने कि नलिने भन्ने निर्देशन माथिबाट आइनसकेको उनले जानकारी दिए । सर्लाही सहित देशैभरी मिटर ब्याजी पीडितहरू दिनहुँ प्रदर्शन गरिरहेकोले गृह मन्त्रालयले मिटरब्याजी बिरुद्ध उजुरी दिन आह्वान गरेपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीमा मिटरब्याजी बिरुद्ध उजुरीको चांग लागेको कार्यालयले जनाएको छ  ।

सर्लाहीमा मतदाता नामावली अद्यावधिक तथा दाबी विरोधको प्रक्रिया सुरु हुने

 



लोकतन्त्र समाचारदाता---

सर्लाही,भाद्र ७

   निर्वाचन आयोगले आगामी मंसिर ४ प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्यको निर्वाचनलाई ध्यान दिएर मतदाता नामावलीलाई अद्यावधिक तथा दाबी–विरोधको प्रक्रिया प्रारम्भ गर्ने भएको छ । सोको विषयमा जानकारी गराउन जिल्ला निर्वाचन कार्यालय सर्लाहीले बुधबार सदरमुकाम मलंगवामा एक कार्यक्रमको आयोजना गरि  सरोकारवालाहरु सँग अन्तरक्रिया गरेको छ।

     जिल्ला समन्वय समिति प्रमुख कौशल किशोर सिंहको प्रमुख आतिथ्यता तथा प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी निर्मल पोखरेलले प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्यको निर्वाचनलाई ध्यानमा राखेर आयोगले  निर्धारण गरेको  अद्यावधिक कार्यक्रमको विषयमा जानकारी गराएका थिए।  जिल्लामा आउँदो भदौ १२ देखि १९ गतेसम्म मतदाता नामावली अद्यावधिक (दाबी–विरोधसमेत)को कार्यक्रम सञ्चालन हुने जि.नि.अधिकृत पोखरेलले जानकारी दिए।

     उक्त प्रक्रियाअन्तर्गत नामावलीमा भएको त्रुटि सच्याउने, कसैले झुट्टा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिने, दोहोरो नामावली भएको भए हटाउन निवेदन दिने, एकाघर परिवारका सदस्यको मृत्यु भएको भए हटाउन निवेदन दिने, एकै वडाका दुई वा दुईभन्दा बढी मतदानस्थल भएकामा पायक पर्ने मतदानस्थलमा नाम सार्न निवेदन दिन सकिनेछ ।  नामावली अद्यावधिक कार्यका लागि इमेल, फ्याक्स तथा अनलाइनसमेतबाट निवेदन दिने व्यवस्था रहेको  छ । 

    जिसस सर्लाहीको सभाहलमा सम्पन्न भएको कार्यक्रममा ब्रह्मपुरी गाउँपालिका प्रमुख राम पदारथ साह,चन्द्रनगर गापा प्रमुख राज कुमार महतो, विभिन्न पालिकाका प्रमुख प्रशासकीय अधिकृत लगायत सरोकारवालाहरुको सहभागीता रहेको थियो।


Tuesday, August 23, 2022

सर्लाहीमा ५ वर्षदेखि १२ वर्षसम्मका बालबालिकालाई फाइजर खोप लगाइँदै




लोकतन्त्र समाचारदाता---

सर्लाही,भाद्र ७

     सर्लाहीको २० वटै पालिकाहरुमा ५ वर्षदेखि १२ वर्ष उमेर समूहका बालबालिकालाई कोरोना भाइरस विरुद्धको फाइजर खोप लगाइँदै छ।

   अस्ति सोमबार नै सबै पालिकाहरुमा खोप पठाइ मंगलबारदेखि लगाउन थालेको स्वास्थ्य कार्यालय मलंगवाका प्रमुख डा. नवलकिशोर झाले जानकारी  गराएको छ। डा.झाका अनुसार जिल्लामा १ लाख ४० हजार डोज खोप आइपुगेको र सो खोप कार्यक्रम संचालन गर्न केही दिनअघि स्वास्थ्यकर्मी र शिक्षकहरुलाई अभिमुखिकरण तालिम प्रदान गरिएको थियो ।

   खोप कार्यक्रममा खटिएका स्वास्थ्यकर्मीले ५ देखि १२ वर्षसम्मका २ सयजना विद्यार्थीहरु रहेको विद्यालयमै गएर खोप लगाइदिने यदी सो संख्या नपुगेको अवस्थामा नजिकै रहेको विद्यालयमा समावेश गरि खोप लगाउने व्यवस्था गरिएको डा.झाले बताए ।

Monday, August 22, 2022

पुराना राजनीतिक दलका नेताहरु संँग देशलाई समृद्ध बनाउने भिजन नभएकोले अब उनीहरुलाई बिस्थापित गरेर नयाँलाई मौका दिनुपर्छ-डा.वीरवंश बैठा

 

 ===७ वटा अन्तर्राष्ट्रिय अवार्ड विजेता डा.बैठाद्वारा सर्लाहीको क्षेत्र न-२ बाट प्रतिनिधि सभा सदस्यको लागि  स्वतन्त्र उमेदवारीको घोषणा===



लोकतन्त्र समाचारदाता---

सर्लाही,भाद्र ६

     दर्जनौं राष्ट्रिय तथा ७ वटा अन्तराष्ट्रिय एवार्ड विजेता डा.विरवंश बैठाले प्रतिनिधिसभा सदस्यका लागि सर्लाही क्षेत्र नं.२ बाट स्वतन्त्र उमेदवारी  दिने घोषणा गरेका छन् ।

   तीन दशकदेखि शिक्षण पेशामा आबद्ध  सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न-५ निवासी  डा.बैठाले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उमेदवारी दिन भदौ १ गते आफ्नो लामो शिक्षण पेशाबाट राजीनामा दिइसकेका छन् । उनको राजिनामा स्वीकृत हुन भने बाँकी रहेको छ ।

      उनले नेपाल विश्वको तुलनामा धेरै पछि परेको र  मधेश अन्य क्षेत्रको तुलनामा धेरै पछि परेको प्रति चिन्ता व्यक्त गरेका छन् । उनले मधेश प्रदेशको एउटा जिल्ला पनि पूर्ण रुपमा साक्षार बन्न नसकेको प्रति चिन्ता ब्यक्त गरेका छन् । 

     ४० वर्षअघि सुरुवात गरिएको हुलाकी राजमार्ग अहिले पनि जस्ताको त्यस्तै छ । दाइजो प्रथा कायमै छ । महिला हिंसा उस्तै छ । विकास निर्माणको हालत पनि खराब छ,बैठाले भने।उनले ३० वर्षअघि नेपालमा प्रजातन्त्र आएको स्मरण गराउँदै त्यो बेलादेखि आजको दिनसम्म नेपाली  जनताले सुखानुभूति गर्न नपाएको बताए। उनले देशमा नेता नभएको  दाबी गर्दै नेपालमा थर्ड क्लास पोलिटिसियन रहेको बताए ।यदी देशमा नेता भएको भए विमानस्थलमा दैनिक पाँच वटा लाश आउँदैन थियो । नेता त सिंगापुरमा छन् । हाम्रा नेताहरु सँग सम्बृद्ध देश बनाउन कुनै मिशन, भिजन र डेडिकेशन छैन् । कुनैपनि राजनीतिक दलमा स्थिरता छैन् ।यस्तो अवस्थामा देशको विकास हुने सम्भावना छैन् ,बैठाले दु:ख व्यक्त गरे।

    उनले विद्यमान राजनीतिक दलमा आइडल र आइडिओलोजी नभएको टिप्पणी गर्दै भने, ‘त्यही भएर हामी मुर्खहरुबाट मात्रै होइन बेइमानबाट शासित भएका छौं । अब हामी स्वतन्त्र रुपमा लड्नुपर्छ । राजनीतिक चेतना नहुँदा देश र समाज पछि परेको छ । अब समाजलाई गति प्रदान गर्नुपर्छ ।’

    सर्लाहीको मलंगवा नपा-५ भाँडसर निवासी डा. बैठा मकवानपुर जिल्लाको हेटौंडा-४ मा रहेको आधुनिक राष्ट्रिय उच्च माविका प्रध्यानाध्पक हुन् । उनी  विगत तीन दशकदेखि  शिक्षा क्षेत्रमा सक्रिय रहेका छन् । उनले उक्त माविको बागडोर सम्हालेर  अग्रेजी माध्यमबाट शिक्षणको सुरुवात गरेका थिए।करिव २५ सय भन्दा बढी विद्यार्थीहरु अध्यनरत उक्त  सामुदायिक बिद्यालय देशकै नमुना बिद्यालय मध्येको एक रहेको छ ।डा.बैठाकै कारण उक्त विद्यालय  बिद्यार्थी र अभिभावकको पहिलो रोजाईमा परेको हेटौंडाका स्थानीयबासीहरुले बताएका छन् ।   

     उनले शिक्षा क्षेत्रमा रहेको बिकृति हटाउन चालेको कदम राजनीतिक क्षेत्रमा पनि चाल्न राजनीति यात्रा सुरु गरेको बताएका छन् । पुराना राजनीतिक दलका नेताहरु संँग देशलाई समृद्ध बनाउने भिजन नभएकोले अब उनीहरुलाई बिस्थापित गरेर नयाँलाई मौका दिनुपर्ने बताए । गर्नुपर्ने बताए । उनले दलका पुराना नेताहरुले राजनीतिलाई कमाउ धन्दा बनाएको आरोप लगाए ।


मुख्यमन्त्री राउतलाई तुरुन्त पद छाड्न जसपा अध्यक्ष उपेन्द्र यादवको निर्देशन

 

लोकतन्त्र समाचारदाता----

सर्लाही,भाद्र ६

      मधेश प्रदेशका मुख्यमन्त्री मोहम्मद लालबाबु राउतलाई तुरुन्तै पद छाड्न जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले निर्देशन दिएको छ।पार्टीको उच्च स्रोतले दिएको जानकारी अनुसार पार्टी अध्यक्ष यादवले दुईवटा कारणहरु देखाउँदै मुख्यमन्त्री  राउतको राजिनामा माग गरेको छ।

   ‘अध्यक्षजीले दुईवटा कारण दिनुभएको छ,’ पार्टीका उच्च पदाधिकारीले भने, ‘मूख्यमन्त्री स्वच्छता अभियानमा भएको भ्रष्टाचार, अनि बेटी बचाउ, बेटी पढाउ अभियानमा भएको चरम अनियमितता।  हेर्नोस् न, अख्तियारले नै छापा मारी सक्यो । मधेसमा हाम्रो सरकारले बेइज्जती कमायो ।’ ती नेताका अनुसार पछिल्लो राजनीतिक समिति बैठकमै यादवले राउतलाई मूख्यमन्त्रीबाट फिर्ता हुन चेतावनी दिइसकेका छन् । 

   यसबारे मुख्यमन्त्री राउतको कुनै जवाफ आएको छैन ।


लाइसेन्स नभएकाले अर्काकाे सवारीसाधन मागेर चलाउँदा दुर्घटनाको जोखिम /सावधान !!!अरुलाई चलाउन दिंदा दुर्घटनाको जिम्मेवार सवारीसाधन घनीनै हुने

 





मनोज यादव---

सर्लाही,भाद्र ६

   सवारी चालक अनुमतिपत्र नभएका सिकारु व्यक्तिले अर्काको सवारीसाधन मागेर चलाएका कारण दुर्घटनाको जोखिम बढेको छ।पछिल्लो समय सर्लाही जिल्लामा सबैभन्दा बढी सडक दुर्घटनाहरु अर्काको सवारीसाधन सापटमा लिएर चलाएका कारण घटेका छन् ।

   दुर्घटना जोसुकै ब्यक्तिले गराएपनि सोको जिम्मेवारी सम्बन्धित सवारी धनीले नै लिनु पर्छ ट्राफिक प्रहरीका एक अधिकारीले बताए ।  जाजरकोट जिल्लाको कुशे गाउँपालिका वडा न-७ मा एकजना  सवारी धनी नवराज सिंह आफ्नो नाममा दर्ता भएको प्रदेश ०२-००१ प ०७५९ नम्बरको माेटरसाइकल आफ्नै गाउँका चालक अनुमनिपत्र नभएको एकजना १७ वर्षीय किशोर दिपक जंग शाहीलाई चलाउन दिएर कार्यवाहीमा परेका छन्। २०७७ पुस २३ गते उक्त माेटरसाइकल दुर्घटनामा परि खाेलामा खस्दा शाहीको मृत्यु भएपछि प्रहरीले सवारी धनी सिंहलाई पक्राउ गरि कार्यवाही गरेका थिए।जाजरकोट जिल्लाको उक्त वास्तविक घटना एउटा उदाहरण मात्र हो। त्यस्तै खाले कार्यवाहीको घटना अन्य जिल्लाहरुमा पनि भइसकेका छन् ।

   भर्खरै मात्र  मोटरसाइकल चलाउन सिकेका नयाँ पुस्ताका किशोरहरुलाई जतिबेला पनि मोटरसाइकल चलाई राखुँ जस्तो मनमा इच्छा उत्पन्न भइरहेको हुन्छ।उनीहरू मौका पाउने बित्तिकै अभिभावकले प्रयोग गर्ने मोटरसाइकल  अथवा आफ्ना कुनै आफन्तको मोटरसाइकल मागेर चलाउन लाने गरेका छन् ।नयाँ सिकारु भएकाले उनीहरू ट्राफिक नियमको समेत वेवास्ता गर्दै तिब्र गतिमा मनोमानी ढंगले मोटरसाइकल चलाएर दुर्घटना गराउने गरेका छन् ।उनीहरू  दुर्घटनाको सिकार आफुपनि बन्ने र सडकमा हिंड्ने अन्य यात्रुहरुलाई पनि बनाउने गरेका छन् । दुर्घटना आफैले चलाउन दिएको लाइसेन्स विहिन चालकले गराए पनि कार्यवाहीमा भने सवारी धनीलाई नै पर्नु पर्ने हुन्छ।

   पछिल्लो समय सापटमा मागेर चलाइएका मोटरसाइकल तथा अन्य गाडीबाट तश्करी समेत हुने गरेका छन।इमर्जेन्सी कामको लागि भनेर केही छिनको लागि मागेर लगेको मोटरसाइकलको प्रयोग गरेर व्यापक रुपमा तश्करीका कामहरु हुने गरेका छन् ।त्यस्ता काम गर्ने ब्यक्तिहरु प्रहरीलाई देख्ने बित्तिकै आफुले मागेर ल्याएको सवारीसाधन  सडकमै छाडेर भाग्दा उक्त सवारीसाधनलाई नियन्त्रणमा लिएर घटनाको अनुसंधान गर्ने क्रममा सबैभन्दा पहिला सोही गाडी घनीलाई पक्राउ गरिन्छ ।तश्करी गर्ने ब्यक्ति फरार भए अथवा पक्राउ परे ती ब्यक्तिहरु सँगै सवारी धनीले पनि सजय भोग्नु पर्ने हुन्छ।

   त्यसैले सके अरुलाई गाडी चलाउन नदिएकै बेस् ,यदी दिनै परे विचार पुर्‍याएर मात्र दिन ट्राफिक प्रहरीले सुझाव दिएका छन् । 


 

Sunday, August 21, 2022

केन्द्र सरकारले मधेश सरकारलाई हेला गरेर थाेरै रकम विनियाेजन गरेकाे कृषिमन्त्री मृगेन्द्र कुमार यादवको आराेप

 




मनोज यादव---

सर्लाही,भाद्र ५   

     संघीय कृषि तथा पशुपंछी विकास मन्त्री मृगेन्द्र कुमार सिंहले सर्लाहीको लालबन्दी नगरपालिका-१ नवलपुरमा कृषि यन्त्र परिक्षण तथा अनुसंधान केन्द्रको उद्घाटन गरेका छन् ।

   कृषि पेशालाई आधुनिकिकरण गरि व्यवसायीक एवम् प्रतिस्पर्धात्मक बनाउन कृषिमा यान्त्रिकरण गर्न आवश्यक देखिएकोले नेपाल सरकार,नेपाल कृषि अनुसंधान परिषदको ५८ बैठकको निर्णय अनुसार स्थापित नेपाल कृषि अनुसंधान परिषद अन्तर्गत उक्त केन्द्रको मधेश प्रदेश अन्तर्गत सर्लाहीको नवलपुरमा स्थापना गरिएको हो।

    कृषि यान्त्रिकरण प्रवर्द्धन निति २०७१" नेपाल सरकारबाट स्वीकृत भई लागू भइसकेको अवस्थामा कृषि यान्त्रिकरणको व्यवस्थित र उपयोगी प्रयोग गरि उत्पादन बढाई किसानको जिवस्तर सुधार्न र गुणस्तरीय कृषि यन्त्र नेपाली किसानसम्म पुर्याउने उदेश्यले उक्त अनुसंधान केन्द्रको स्थापना गरिएको केन्द्रले बताए ।

     केन्द्रको आइतवार सम्पन्न भएको उद्घाटन कार्यक्रममलाई सम्बोधन गर्नुहुँदै कृषिमन्त्री यादवले परम्परागत कृषि  प्रणालीको अवलम्बन गर्दा कृषिजन्य वस्तु आयात गर्नु परेकाे बताउनुभयो । उहाँले परम्परागत खेती प्रणालीलाई आधुनिकिकरण गर्नु पर्ने आवश्यकता रहेकाे बताउनुभयाे । केन्द्र सरकारले मधेश सरकारलाई हेला गरेर थाेरै रकम विनियाेजन गरेकाे आराेप लगाउँदै उहाँले कृषि प्रधान देशमा कृषि क्षेत्रको विकासका लागि २/३ प्रतिशत बजेट मात्र विनियाेजन गर्नु दु:खद भएको बताउनु भयाे ।

    प्रसंग बदल्दै मन्त्री यादवले किसानहरु रासायनिक मलमा आत्मानिर्भर हुँदा उत्पादनमा कमी आएकाे र त्यसलाई व्यावस्थापन गर्न आफ्नाे गाउँ घरमा उत्पादन भएको प्राङ्गारीक मललाइ सकेसम्म बढी प्रयाेग गर्न आग्रह गर्नु भयाे ।उखु किसानहरुकाे विषयमा पनि सरकारले  चासाे लिएकोले चाँडै नै उखु उत्पादक किसानहरुकाे समस्या समाधानका लागि पहल गर्ने बताउनुभयाे ।

     कार्यक्रममा उपस्थित संघीय सांसद प्रमोद साह,राष्ट्रिय सभा सदस्य राधेश्याम पासवान,प्रदेश सांसद अशोक यादव, संजय यादव,प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम लगायतका अतिथिहरुले आआफ्नो सम्बोधनमा रासायनिक मलकाे अभाव झेल्दै आएका सर्लाहीका किसानहरुको समस्या समाधानको लागि पहल गरिदिन कृषिमन्त्री यादवसँग आग्रह गरेका थिए। 

   उक्त कार्यक्रममा कर्मचारी मिलन केन्द्र सर्लाहीका अध्यक्ष राम दरेश राय,अंजनी कुमार खिडहरी लालबन्दी नगरपालिका प्रमुख बासुदेव अधिकारी लगायत अनुसंधान केन्द्रका कर्मचारी तथा कृषि सँग सम्बन्धित  विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।







Saturday, August 20, 2022

खुटौनामाओवादी केन्द्रको प्रथम वडा भेला सम्पन्न, अध्यक्षमा इम्ताज मिकरानी





लोकतन्त्र समाचारदाता---

सर्लाही,भाद्र ४

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मलंगवा नगरपालिका वडा न-६ को वडा भेला सम्पन्न भएको छ । सनिवार सम्पन्न भएको भेलाले इम्ताज मिकरानीको अध्यक्षतामा वडा समिती गठन गरेको छ ।

    सफिउल्ला खानको अध्यक्षया तथा पार्टीका केन्द्रीय सदस्य एवं  सर्लाही जिल्ला इन्चार्ज अचुतम काफ्लेको प्रमुख आतिथ्यतामा मलंगवा नपा वडा न-६,खुटौनामा आयोजना भएको भेलाबाट उपाध्यक्ष,कोषाध्यक्ष ,सचिव र सह-सचिवमा क्रमशः सियाराम राय, 

बसिर खान,पन्नेलाल राय,पर्मेश्वर साह 

 लगायत २९ सदस्यीय वडा समिती गठन गरिएको छ।

   आउँदो प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनलाई समेत मध्येनजर गरेर उक्त वडामा समिति गठन गरिएको पार्टीले जनाएको छ।

    कार्यक्रममा विशिष्ट अतिथि केन्द्रीय सदस्य  सावित्री बुधाथोकी,महिला सगंठन सर्लाहीकी जिल्ला इन्चार्ज  बिनीत दहाल तथा अतिथिहरु,मलंगवा नपाका नगर अध्यक्ष लक्ष्मी नारायण  चौधरी, नन्द किशोर राय,लगायत क्षेत्र ,जिल्ला र नगर स्तरका नेताहरुको उपस्थिति रहेको कैमुल हुसैनले जनाएको छ।

    कार्यक्रमको संचालन पन्नेलाल रायले गरेका थिए।


 

Friday, August 19, 2022

झ्याप–झ्याप बत्ती जाने समस्या हटेन,बिजुलीको प्रयोग नगरेपनि बिल भने अनिवार्य तिर्नै पर्ने

 



 

मनोज यादव---

सर्लाही,भदौ ३

   अनियमितरुपमा छिनछिनमा लाइन काटेर विद्युत प्राधिकरण वितरण केन्द्र मलंगवासहित सर्लाही जिल्ला अन्तर्गतका सबै वितरण केन्द्रहरुले  दु:ख दिन थालेकाले जिल्लाभरीका उपभोक्ताहरु प्राधिकरणको लापरबाहीपुर्ण रवैया प्रति आक्रोशित भएका छन् । 

    विगत केही सातादेखि प्राधिकरणले बिना सूचना छिनछिनमा झ्याप–झ्याप विद्युत लाइन काट्ने गरेको छ ।यसरी छिनछिनमा बत्ती जाँदा बिजुलीबाट हुने सम्पूर्ण काममा अवरोध उत्पन्न भएको छ।लाइन नभएको बेला विकल्पको रुपमा इन्भर्टरबाट काम चलाउँदै आएका मानिसहरु छिनछिनमा बत्ती गरइरने समस्याका कारण इन्भर्टर समेत चार्ज गर्न पाएका छैनन् ।

    कबिलासी नगरपालिकाका एक कर्मचारीका अनुसार कार्यालयको सबै काम कम्पियुटरबाटै हुने भएकोले छिनछिनमा लाइन गइरहने,कुनैबेला एकछिनको लागि आएपनि लामो समयसम्म लाइन कटिरहने कारणले गर्दा सेवाग्राहीको एकदिनमा हुने काममा ३ देखि ४ दिनको समय लाग्ने गरेको छ। प्रचण्ड गर्मीमा टाढाबाट आउने सेवाग्राहीहरुलाई एउटा सानो कामको लागि कार्यालयमा ओहोरदोहोर गराउन आफुहरुलाई पनि नराम्रो महसुस हुने गरेको उनले भने। 

   विद्युत प्राधिकरणका कार्यालय प्रमुखदेखि अन्य कर्मचारीहरु सँग  छिनछिनमा लाइन जाने समस्याको कारणबारेमा जानकारी लिन फोन गर्दा फोन नउठाउने र यदी उठाइहाले पनि ३३ केभीमा खराबी आएको,फ्युज उडेको, पोल ढलेको,तारमा रुख ढलेर तार चुडेको खालका रेडिमेड जवाफ फर्काउने गरेको उपभोक्ताहरुले बताए ।कतिबेला लाइन आउँछ भनेर सोद्धा प्राविधिकहरु काममा लागेको छ केही छिनमै लाइन आउँछ भनि फोन काट्ने गरेको उपभोक्ताहरुले भने।    प्राविधिकहरु समस्याग्रस्त लाइनको मर्मत गरेर विद्युत सुचारु गरेपनि केहीबेरमै पुनः कटेर घन्टौंसम्म विद्युत सेवा अवरुद्ध हुने गरेको छ ।   उपभोक्ताहरु यो समस्याबाट एक या दुईदिन मात्रै नभइ दैनिक रुपमा पिडित भइरहेका छन्।लोडसेडिङ अन्त्यपछि पनि उपभोक्ताले निरन्तररूपमा यस्तो समस्या झेल्दै आएका छन् ।                           मलंगवा नगरपालिका निवासी क्याम्पसका विद्यार्थीहरुले विद्युत आपूर्ति अनियमित हुँदा आफुहरुकाे पढाइ  प्रभावित हुने गरेकाे गुनासाे गरेका छन् ।दिउँसो पंखा,कुलर नचल्दा गर्मीले गर्दा एकठाउँ बसेर पढ्न सकिन्दैन भने राति बत्ती नभएर पढ्न सकिन्दैन उनीहरू गुनासो गरे।                                   दिन रात  झ्याप–झ्याप बत्ती गइरहेको छ ।फ्युज शाखामा फोन गर्दा, मर्मत हुँदैछ भन्छन्। बत्ती कुर्दा कुर्दै अरु काम पनि प्रभावित हुने गरेको  उपभोक्ताहरुको शाझा गुनासो छ।                                  दिनरात बत्ती काटिने समस्या उपभोक्ताहरुको लागि विकराल बनेको छ। अनियमित विद्युत आपुर्तिका कारण बिजुलीबाट चल्ने उपकरणहरु नचल्दा सबैखाले कार्यालयहरुबाट प्रदान गरिने सेवा देखि व्यापार व्यवसाय प्रभावित भएका छन्।अनियमितरूपमा भइरहने हाइ र लो-भोल्टेजका कारण विद्युतिय उपकरणहरु बिग्रेर हजारौं लाखौं रुपैयाँको क्षति भइसकेको  उपभोक्ताहरुले दुखेसो पोखेका छन।

     जिल्लाको मलंगवा ,लालबन्दी, हरिवन, बरहथवा, बयलबास  जस्ता मुख्य सहरदेखि गाउँसम्मकै उपभाेक्ताले जथाभावी बत्ती काटिने समस्या झेलिरहेका छन् ।

   तर उपभोक्ताहरुलाई जस्तो सुकै समस्याहरु आएपनि बिजुलीको महसुल समयमै बुझाउनु 

पर्छ ,समयमा नबुझाए जरिवाना बने अनिवार्य तिनुपर्छ।

    लाइन दिन कन्जुस्याइँ गर्ने तर लाइन काट्न कन्जुस्याइँ नगर्ने विद्युत प्राधिकरणको गैरजिम्मेवारीपन रवैया प्रति  जिल्लाभरीका उपभोक्ताहरु पिडित भएका छन् ।

       

    


मलंगवामा विश्व मानवीय दिवस मनाईयो

 



लोकतन्त्र समाचारदाता---

सर्लाही,भाद्र ३

     सर्लाहीको सदरमुकाम मलंगवामा  विश्व मानवीय दिवस मनाईएको छ । विश्व भर मनाईने उक्त दिवस LACC,UN    WOMEN,UNDP,UNICEF को आयोजना तथा नेपाल सरकारको सहकार्य र युरोपेली संघ को आर्थिक सहयोगमा  शुक्रबार मलंगवामा पनि मनाईएको छ ।

   मानिसमा हुने हिंसा अन्त्य गरौ, मानवीय हक हितको लागी काम गरौ भन्ने नाराका साथ यो दिवस मनाइएको ल्याक(LACC)नेपालले लोकतन्त्रलाई जानकारी दिएको छ। 

   ल्याक नेपालले विपत व्यवस्थापन,वातावरण संरक्षण,पिछडिएका महिला तथा असक्त,असहाय मानिसहरुको हितमा रहेर जनचेतना फैलाउने काम गर्दै आएको जनाइएको छ।








 



Thursday, August 18, 2022

गोडैता नगरपालिकाको दुईवटा वडा शतप्रतिशत विद्यालय भर्ना वडा घोषणा




मनोज यादव----

सर्लाही,भदौ २

    सर्लाहीको गोडैता नगरपालिका अन्तर्गतका २ वटा वडाहरु शतप्रतिशत विद्यालय भर्ना वडा घोषणा गरिएको छ।

    विद्यालय जाने ४ वर्षदेखि १२ वर्ष उमेर समूहका सबै बालबालिकाहरु विद्यालय भर्ना भएको प्रमाणित गर्दै नगरप्रमुख देवेन्द्र यादवले एक समारोहका बिच उक्त पालिका अन्तर्गतको वडा न-१,बहादुरपुर र वडा न-६ बगदह फत्तेपुरलाई शतप्रतिशत विद्यालय भर्ना वडा घोषणा गर्नु भएको छ।

   सबैका लागि गुणस्तरीय शिक्षाको अवसर जुटाउन दिगो विकासको लक्ष्य सबैको लागि शिक्षा कार्यक्रम,विद्यालय क्षेत्र सुधार कार्यक्रम,विद्यालय क्षेत्र विकास कार्यक्रम र नेपाल सरकारबाट स्वीकृत निति,निर्देशन,योजना तथा कार्यक्रमहरुलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सबै पक्षको सल्लाह,सहकार्य,छलफल एवं सहमतिमा गोडैता नपाको वडा न-६ बगदह र वडा न-१ बहादुरपुरमा विद्यालय जाने उमेर समूह ४ देखि १२ वर्षसम्मका बालबालिकाहरु कोही पनि विद्यालय बाहिर नरहेको नगरप्रमुख यादवले सार्वजनिक रुपमा घोषणा गर्नुभएको छ।

       आर.आर.पि.के तथा सेभ द चिल्ड्रेनको संयुक्त साझेदारी र गोडैता नगरपालिकाको समन्वयमा संचालित समुन्नति कार्यक्रम अन्तर्गत बुधबार वडा न-१को वडाअध्यक्ष सोजित महतोको र बिहीबार वडा न-६ को वडाअध्यक्ष सचिन्द्र महतोको अध्यक्षता तथा नगरप्रमुख यादवको प्रमुख आतिथ्यतामा आयोजना भएको उक्त कार्यक्रममा विशिष्ठ अतिथि प्रमुख प्रशासकीय अधिकृत रमेश प्रसाद यादव,शिक्षा शाखा प्रमुख प्रमोद यादव,स्वास्थ्य शाखा प्रमुख प्रमोद पंडित,वडा न-१ का ,आर.आर.पि.के का अध्यक्ष गायत्री देवी महतो,रामजानकी आधारभूत विद्यालय बगदहका प्रअ श्याम किशोर सिंह,श्रि प्राथमिक विद्यालय बकैनिया टोलका प्रअ आर आर पि के का शिक्षा अधिकृत निरज मिश्र, परियोजना संयोजक संजिव चौधरी,सामुदायिक परिचालकहरु ,विभिन्न वडाका वडाअध्यक्षहरु,कार्यपालिका सदस्य,महिला सदस्य, स्थानीय समाजसेवी,बुद्धिजीवी,राजनीतिकर्मी,शिक्षक, शिक्षिका,अभिभावक तथा सहयोगी संस्थाका कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो।

    बहादुरपुरमा ८५ र बगदहमा ६७   जना ४ देखि १२ वर्ष उमेर समूहका बालबालिकाहरु विद्यालय भर्ना भएको आर.आर.पि.के का शिक्षा अधिकृत मिश्रले जानकारी दिएको छ।

    दुबै वडामा आयोजना भएको कार्यक्रमलाई सफलता पुर्वक सम्पन्न गराउन आर.आर.पि.के का समाजिक परिचालक मो.सलामले सकृय भूमिका खेलेका थिए।

सर्लाही निर्वाचन क्षेत्र न २ मा महेन्द्र र जंगी बलियो उम्मेदवार, जंगीलाई अन्तर्घात हुने डर

 

बखतियार अली---

सर्लाही २ भाद्र  । 

     आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि सर्लाही प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्वर–२ मा पुर्व मन्त्री तथा माननीय सांसद महेन्द्र प्रसाद यादव र नेपाली कांग्रेसका नेता तथा पुर्व सांसद जंगीलाल राय बलियो उम्मेदवारका रुपमा देखिएको छ । सर्लाहीमा यो दुईजना ‘हेभिवेट’ नेताहरुको एउटै निर्वाचन क्षेत्र परेकाले यहाँको राजनीतिलाई महत्वका साथ देखिन्छ । यो क्षेत्रबाट २०७४ सालको निर्वाचनमा महेन्द्र प्रसाद यादव निर्वाचित भएका थिए । तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट उम्मेदवार भएका यादवले उनै रायलाई पराजित गरेका थिए । यादवले २९ हजार १९१ मत ल्याएर विजयी भएको थियो । त्यस्तै जंगीलाल रायले १८ हजार ९७६ मत प्राप्त गरेर दोस्रो स्थानमा रहेका थिए । अहिले पनि यो क्षेत्रबाट यादव र राय आगामी निर्वाचनको तयारीमा जुटिरहेका छन् । यादव र रायको चर्चा भइरहेको छ  ।  यसपाली कांग्रेस र जसपासँगै महेन्द्र प्रसाद यादव स्वयम अध्यक्ष रहेका नेपाल समाजवादी पार्टी पनि गठबन्धनमा आउने कुरा चलिरहेको छ, त्यसैले यसपाली गठबन्धनबाट कसले टिकट पाउने हो, यस्को लागि केहि दिन पर्खिनु पर्ने देखिन्छ ।

अहिले लोसपालाई पनि गठबन्धनमा सहभागी गराउन प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा लागिपरेका छन् । यदि लोसपा गठबन्धनमा सहभागी भए सर्लाही क्षेत्र नं. १ बाट निर्वाचित सांसद प्रमोद साह वा पार्टीका वरिष्ठ अध्यक्ष राजेन्द्र महतो पनि यसै क्षेत्रबाट चुनाब लडन सकने जानकारहरु बताउछन ।  गठबन्धन भयो भने यादव, राय, महतो वा साह कुनै एकै जनाले टिकट पाउने छन भने ३ जनाले यो निर्वाचन क्षेत्र गुमाउनु पर्ने हुन्छ । तर अहिलेको राजनीतिक परिस्थिति हेर्दा यो सम्भावना कम देखिएको छ । उसो त यी ४ जना उम्मेदवारहरु आफैं कसरत गरेर भएपनि निर्वाचन क्षेत्र फेराउनका लागि कसरत गरिहेका उनी निकट एक नेता बताउँछन् । कांग्रेसको १४ औँ महाधिवेशनबाट सर्लाहीमा २ गुटको राजनीतिक जोरतोरले हावि छन । त्यसमा पनि सुरेन्द्र प्रसाद सिंह सभापतीमा निर्वाचित भएपछि सर्लाहीमा नेपाली कांग्रेस सब भन्दा ठुलो दलका रुपमा स्थापित भयो ।  यसपालीको चुनावमा नेताहरु पार्टीले टिकट दिए म पनि चुनाब लडने प्रचार प्रसार गरेर बसेको मात्र होईन यसपाली आफुले नै चुनाब जित्ने ठोकुवा पनि गर्न थालेको छ । गत बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा खसेको दलगत मतलाई आधार मान्दा कांग्रेसको सबैभन्दा लोकप्रिय मत रहेको छ । कांग्रेसपछि जिल्लामा जसपा,  एमाले माओवादी र लोसपाको रहेको छ । । स्थानीय तहको मतभार र २०७४ सालको प्रतिनिधीसभा चुनावलाई आधार मान्ने हो भने महेन्द्र प्रसाद यादवको निकटत्मप्रतिद्धन्द्धी जंगीलाल राय नै हो ।

यो अवस्थामा यादवले गठबन्धनबाट टिकट पायो भने एकचोटी फेरि यादवनै निर्वाचित हुने देखिन्छ । यदि गबन्धनबाट जंगीलाल रायले टिकट पायो भने बलियो उम्मेदवारको रुपमा राय रहेको नेताहरुको भनाई छ । सर्लाही क्षेत्र नं. २ को चुनावी प्रतिस्पर्धा अत्यधिक रोचक हुने विश्लेषण भएको छ । यादवले गठबन्धनबाट टिकट पाए यस क्षेत्रका अरु आकाक्षीहरु पार्टी परिवर्तन गर्न सकने सम्भावना पनि उतिकै छ । जंगीलाल रायले यदि टिकट पाए आफनै पार्टीको अन्तरघात खेप्नुपर्ने अवस्था पनि उतिकै छन । यस क्षेत्रबाट कसले टिकट पाउने हो । यो कुरा महत्वपुर्ण रहेको जानकारहरु बताउछन । यता एमालेबाट पनि यस क्षेत्रका चिरपरिचित उम्मेदवार राजनारायण साह पनि उमेदवारी दिने घोषणा गरि रहेकाले पनि यो क्षेत्रको निर्वाचन नेपाल भरिमा चर्चित रहने राजनीतिक पंडितहरु बताउछन । पार्टी वा गठबन्धनको लागि जति गाह्रो प्रतिनिधी सभाको टिकट बितरणमा हुनेछ त्यो भन्दा बढि प्रदेशसभाको टिकट बितरणमा पनि हुनेछ । प्रदेशसभाको लागि सबै दलले लगभग क्षेत्र नं. २ को (क) बाट कुनै साहलाई टिकट दिनुपर्ने कुरा गरिरहेको छ, भने यस क्षेत्रको (ख) बाट कुनै मुस्लिमलाई टिकट दिए जातिय समिकरण मिलाउने प्रयास पनि भईरहेको केन्द्रिय एकजना नेताले बताए । यस्तो अवस्थामा सर्लाही क्षेत्र नं.२ को चुनाबी रणभुमि अहिले देखिनै तातिन थालेको छ । टिकट नपाएका नेताहरु स्वतन्त्रबाट भएपनि चुनाब लडनेको संख्या बढि हुने देखिन्छ ।