Wednesday, June 30, 2021

सिंचाई विकास डिभिजन कार्यालय तथा जनताको तटबन्ध कार्यक्रम सर्लाहीमा करोडोको अनियमितता




बखतियार अलि–

सर्लाही ,असाढ १६

    भौतिक पुर्वाधार विकास मन्त्रालय जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय सर्लाही र जलस्रोत तथा सिंचाई विभाग अन्तरगत पर्ने जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालय सर्लाहीले आ.व. २०७७/०७८ मा २६ करोडको नदि नियन्त्रण, तटबन्ध निर्माण, सिंचाई लगायतका कामहरु जिल्लामा रहेका बागमती नदि, लखनदेई खोला र बाके खोलामा बिभिन्न संरचना निर्माण गरि खर्च गरेको छ ।

       भौतिक पुर्वाधार विकास मन्त्रालय जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय सर्लाहीका कार्यालय प्रमुख भक्त कुमार लाल कर्णले दिएको जानकारी अनुसार चालु वर्षमा हामीले लगभग १४ करोडको योजनाहरु जिल्लाको बलरा नगरपालिका, बरहथवा नगरपालिका र लालबन्दी नगरपालिकाको पथ्थरकोट साथै नदिको प्रभाव रहेका अन्य पालिकामा समेत सिंचाई संरचना निर्माणमा १४ करोड खर्च गरेको बताए । भौतिक पुर्वाधार विकास मन्त्रालय जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय सर्लाहीका प्रमुख कर्णले हामिले गरेको काम मापदन्ड अनुसार धेरै राम्रो भएको दाबी गर्नु भयो ।

      त्यस्तै जलस्रोत तथा सिंचाई विभाग अन्तरगत पर्ने जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालय ३ हरिपुरका प्रमुख रविन्द्र कुमार शर्माको भनाई अनुसार हामिले १२ करोडको नदि नियन्त्रण तथा तटबन्ध निर्माण गरेको बताए । जसमा लखनदेई खोलामा ६ करोड र झिम र बाके खोलामा ३–३ करोडको नदि नियन्त्रण तथा तटबन्ध सम्बन्धी काम भएको बताउनु भयो । दुईटै कार्यालयले गरेको काम बारे धरातलमा कसैलाई केहि थाह नरहेको जनप्रतिनीधि र सर्लाहीका नागरिक समाजका अगुवाहरुले जनाएको छ । 

     हरिपुर नगरपालिकाका मेयर जमरुदिन मंसुरका अनुसार हाम्रो पालिका भएर दुईटा नदिको मुहान छ । लखनदेई तथा झिम नदिको वार्षिक  रुपमा स्थानीयहरु बाढी पहिरोबाट समस्यामा परेका छन । जिल्ला सिंचाई कार्यालय वा तटबन्धको काममा करोडो रुपैया कहा खर्च गरेको छ, पालिकाकालाई केहि जानकारी नभएको हरिपुरका मेयर जमरुदिन मंसुरले बताउदै भने कुनै कुराको पार्दर्शिता छैन । गोप्य रुपमा काम गरेर झारा टार्ने मात्र काम भएको मेयर मंसुरले बताए । 

    त्यस्तै मलंगवा नगरपालिकाका मेयर निरसल साहका अनुसार मलंगवा नगरपालिकामा पनि तटबन्ध, नदि नियन्त्रण तथा सिंचाईको काम करोडोमा भएको तर कुन ठाउमा कति रकमको काम भएको हो । यसको बारेमा डिई साबले केहि बताउनु भएन । बजेट पार्दर्शि छैन भनेर मलंगवाका मेयर निरसल साहले आरोप लगाउनु भयो । नागरिक समाज सर्लाहीका महासचिव शिवचन्द्र चौधरीका अनुसार कमसल काम गरेर बजेट पचाउने काम गरेको छ, सिंचाई तथा तटबन्ध कार्यालयले झारो टाल्ने काम भएको नागरिक समाजका महासचिव चौधरीले आरोप लगाउनु भयो । 

    वर्षेनी अरबो रुपैया भौतिक पुर्वाधार विकास मन्त्रालय जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय सर्लाही र जलस्रोत तथा सिंचाई विभाग अन्तरगत पर्ने जनताको तटबन्ध कार्यक्रममा आएपनि उक्त रकम नदिमा काम गरेर सकिन्छ । वर्षायाममा बाढी आउछ बनाएको संरचना बगाएर लगछ अनि फेरि नया आर्थिक वर्षमा पुन सोही थाउमा पुन तटबन्द, नदि नियन्त्रण र सिंचाईको योजना राखेर बजेट पचाउने अनियमितता गर्ने बाहेक अरु केहि नभएको जनप्रतिनिधी र नागरिक अगुवाहरुले आरोप लगाएको छ ।

सर्लाहीको लालबन्दी र इश्वरपुर नगरपालिकालाई जोड्ने १२ करोडमा निर्माणाधिन अवस्थाको पुल सामान्य बाढीमै भत्कियो

 


**८०प्रतिशत काम सकिएको र बाँकी काम यहि महिना भित्रमा सकाउने तयारीमा रहेको पुल  बन्दै गरेको अवस्थामा पहिला पनि भत्किएको थियो**                                                                                              लोकतन्त्र समाचारदाता ---

सर्लाही ,असाढ १६

    सर्लाहीको लालबन्दी र इश्नरपुर नगरपालिका जोड्ने फुलजोर खोलामा निर्माणाधिन अवस्थामा रहेको पक्की पुल भास्सिएको छ ।

      लालबन्दी नगरपालिका वडा न- ३ र इश्वरपुर नगरपालिका वडा न- ८ को सिमानामा रहेको फुलजोर खोलामा निर्माणाधिन अवस्थामा रहेको उक्त  पक्की पुल मंगलबार रातिको बाढीका कारण भासिएको छ। 

संघिय सरकारको रु १२ करोडको लगानीमा आर्थिक वर्ष २०७५/०७६ बाट निर्माण शुरु भएको उक्त  पक्की पुलमा भर्खरै ढलानको काम सकिएको थियो । ढलानको काम सकिएको र फर्मा निकाल्न बाँकी रहेको समयमा मंगलबार राती आएको बाढीका कारण करिब ४० मिटर पुल भासिएको छ । पुलको लम्बाई करिब २ सय मिटर रहेको ठेकेदार मनोज कुमार साहले बताउनु भयो । उक्त पुलको आर्थिक वर्ष २०७५/०७६ बाट निर्माण शुरु गरि चालु आ.व मा निर्माण सम्पन्न गर्ने गरि पप्पु एण्ड शिवशंकर(जेभि)ले ठेक्का लिएको थियो ।

     पुल निर्माणको करिब ८०प्रतिशत काम सकिएको र बाँकी काम यहि महिना भित्रमा सकाउने तयारीमा रहेको   पुल ४० मिटर भासिंदा करिब  २ करोड रुपैया  घाटा लागेको ढेकेदार कम्पनीले बताएको छ ।

   उक्त  पुल निर्माणको शुरुको वर्षमा पनि एक पटक बाढीले भत्काएको स्थानीयले   बताएको छ।  ठेकेदारले गुणस्तरहिन काम गरेका कारण निर्माणाधिन अवस्थामा रहेको पक्की पुल पटक पटक भत्कीएको स्थानीयहरुको आरोप छ । यस अधि २०७६ सालमा पनि पुल सामान्य बाढीका कारण  भत्कीएको थियो र अहिले पनि सामान्य बाढीकै कारण भत्किंदा  ठेकेदारले  गुणस्तरहिन काम गरेको देखिन्छ स्थानिय रामकैलाश चौधरीले बताए ।

     निर्माण कार्यमा ठेकेदारको कमि कमजोरी र असारे वर्षामा पनि निर्माणको काम गर्दा पुल भास्सिएको स्थानिय धुर्व प्रसाद घिमिरेले बताउनुभयो । उहाँका अनुसार असारमा पानी परि रहेको समयमा पनि ठेकेदारले  निर्माण कार्य जारी  राखेका  कारण  पुल भासिएको हो ।

      उक्त पुल निर्माण भइसकेपछि लालबन्दी नगरपालिकाको वडा न ३ र ५ का साथै इश्वरपुर नगरपालिकाको वडा न ५ र ८ का स्थानियबासीलाई पुर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने लालबन्दी बजार आवतजावत गर्न सजह हुने थियो तर पटक पटक पुल भासिँदा स्थानियबासीहरु  चिन्तीत बनेका छन् । चालु आर्थिक वर्षमा निर्माण कार्य सकाउने दाउमा रहेको  ठेकेदार कम्पनी पनि अव ५/६ महिना समय थप गर्नु पर्ने अवस्था सृजना भएको बताउन थालेको छ । जसका कारण  सो क्षेत्रका स्थानियबासीहरु यस वर्ष पनि फुलजोर खोलाको बाढीमै हेलिएर लालबन्दी बजार आउन जान बाध्य हुने भएका छन्।

युके नेपाल डाक्टर्रस एसोसिएसन द्वारा सर्लाही अस्पताललाई ८ लाख मुल्य बराबरको अक्सिजन कन्सन्ट्रेटर प्रदान

 



लोकतन्त्र समाचारदाता---

सर्लाही ,असार १६

     कोभिड -१९ तथा अन्य गम्भीर किसिमका बिरामीहरुको  उपचारमा सहयोग पुर्‍याउने उदेश्यका साथ युके नेपाल डाक्टर्रस एसोसिएसनले सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका  स्थित जिल्ला  अस्पताललाई ३ थान अक्सिजन कन्सन्ट्रेटर सहयोग प्रदान गरेको छ ।  

     ईगलैण्डबाट  खरिद गरिएको झण्डै ८ लाख मूल्य बराबरको  ३ थान अक्सिजन कन्सन्ट्रेटर आज(बुधबार) बिहान पुर्व प्राधानाध्यापक तथा समाजसेवी महेन्द्र प्रसाद कर्णको विषेश उपस्थितिमा डा कौशलेन्द्र कर्ण द्वारा   अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा नवल किशोर झालाई  हस्तान्तरण गरिएको छ।

    पहिलेको तुलनामा अहिले सर्लाही अस्पतालमा धेरै नै सुधार तथा बदलाव आएको र  सेवाग्राहीहरुले पनि प्रभावकारी सेवा प्राप्त गरेको  एसोसिएसनले महसुस गरेकोले गम्भीर तथा जटिल रोगका बिरामीहरुले अक्सिजनको अभावमा ज्यान गुमाउनु नपरोस् भनेर पहिलो सहयोगको रुपमा ३ थान अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको डा.कौशलेन्द्र कर्णले बताउनुभयो ।सामाग्री हस्तान्तरण गर्दै डा कर्णले संस्था मार्फत आगामी दिनमा पनि बिरामीको उपचारमा आवश्यक पर्ने विभिन्न सामाग्रीहरु उपलब्ध गराउने  साथै विशेषज्ञ डाक्टरहरु सहितको टोलीद्वारा बेलाबेलामा निशुल्क स्वास्थ्य शिविरहरुको आयोजना गर्ने डा.कौशलेन्द्रले प्रतिबद्धता व्यक्त गर्नुभयो

   सो अवसरमा पुर्व प्रअ महेन्द्र प्रसाद कर्ण, पवन कर्ण, रामविश्वास ठाकुर,चन्द्रकान्त झा,प्रमोद कर्ण,अधिराज लाभ,सुरेन्द्र लाभ लगायतका स्थानीय समाजसेवी तथा युवाहरुको उपस्थिति रहेको अस्पताल प्रशासनले जानकारी गराएको छ।

घुम्टो प्रथा र पारिवारिक बन्धनका कारण सर्लाहीका ग्रामीण महिलाहरु हिंसा सहेर बस्न बाध्य ।

 


अजमल मिकरानी

सर्लाही ,असाढ १६

      घुम्टो प्रथा, पारिवारिक बन्धन र चेतनाको अभावका कारण सर्लाहीको ग्रामीण भेगमा बसोबास गर्ने महिलाहरु समाजका विभिन्न पक्षबाट पिडित हुनुपर्दा न्यायका लागि प्रहरी कार्यालय तथा  सरोकारवाला निकाय समक्ष जान सकिरहेका छैनन् ।जिल्लामा महिला अधिकारकर्मीहरुको पनि उपस्थिति नरहेकोले गर्दा यस्तो अवस्था आएको हो ।

    पुर्खाको पाला देखि चल्दै आइरहेको घुम्टो प्रथाले अहिले पनि समाजमा जडा गाडेको छ ,कविलासी नगरपालिका वडा न-९ की स्वास्थ्यकर्मी  शिक्षिका मौसम यादव बताउनुहुन्छ । विभिन्न पक्षहरु बाट पिडित बनिरहेका सर्लाहीका अधिकांश महिलाहरु हिंसा सहेर बस्न बाध्य छन् ।उनिहरुको शुरक्षा र न्याय सम्म पहुँच पुग्न सकेको छैन,उहाँले बताउनुभयो ।परिवारको दबाब र पितृसत्तात्मक सोंचका कारण  महिलाहरु घर भित्र हिंसा सहेर बस्ने तर प्रहरी कार्यालय र सरोकारवाला निकाय सम्म जान नपाएको अवस्था छ ।त्यस्ता महिलाहरु ले आँट गरेर न्याय प्राप्तिको लागि सरोकारवाला निकाय सम्म जानु पर्छ, स्वास्थ्यकर्मी   यादव भन्नुहुन्छ ।

    यस्तै मलंगवा नगरपालिका वडा न-५ भाडसरका अर्का महिला नेतृ मुक्ता यादवको कथन पनि  शिक्षिका यादवको जस्तै छ । उनी अहिले ग्रामीण भेगका केही महिलाहरु न्यायको लागि प्रहरी कार्यालय सम्म जाने आँट देखाए पनि पारिवारिक बन्धनले गर्दा धेरै पिडित महिलाहरु जान सकिरहेका छैनन् ।

    कबिलासी नगरपालिका वडा न-९ सलेमपुरकै एक समाजसेवी तथा  राजनीतिकर्मी दिनेश यादव(मास्टर) ग्रामीण स्तरमा हिंसा सहेर बस्न बाध्य महिलाहरु लाई शुरक्षा र न्याय सम्म पहुँच पुर्याउनको लागि जनचेतनामा जोड दिनु पर्ने बताउनुहुन्छ ।अधिकारकर्मीहरुले गाउँ गाउँमा अब जनप्रतिनिधिहरु आइसकेकोले उनिहरुकै मार्फत हिंसा र पिडामा परेका महिलाहरुलाई शुरक्षा र न्याय सम्म पहुँच पुर्याउन जनचेतनामूलक कार्यक्रमहरु संचालन गर्नुपर्ने यादवले बताए  ।

Tuesday, June 29, 2021

सर्लाहीको नयाँ सिडियोमा हेमराज तामाङको ठाउँमा रामकुमार महतो आउने

 

लोकतन्त्र समाचारदाता---

सर्लाही ,असार १५

     जिल्ला प्रशासन कार्यालय सर्लाहीमा  प्रमुख जिल्ला अधिकारी (सिडियो)को जिम्मेवारी सम्हाल्न रामकुमार महतो आउने  भएको छ ।उहाँ  प्रजिअ  हेमराज तामाङको ठाउँमा आउन लाग्नु भएको जिल्ला प्रशासन कार्यालयले श्रोतले जनाएको छ ।             नेपाल सरकार गृह मन्त्रालयका सहसचिव प्रजिअ    महतो यसभन्दा  पहिला मलंगवा नगरपालिका र  कबिलासी नगरपालिकामा कार्यालय प्रमुखकाे जिम्मेवारी सम्हालिसक्नु भएको छ ।                                                झण्डै एकवर्षदेखि कञ्चनपुर जिल्लाको सिडीओ रुपमा रहेका महतोलाई गृहमन्त्रालयले मंगलबार सर्लाही सरुवा गरेको हो । कञ्चनपुर जिल्लामा राम्रो कार्यसम्पादन गरेका सिडियो महतो छोटो समयमै जिल्लाका अन्य सरकारी कार्यालय तथा जिल्लाको शान्ति सुरक्षालगायतको प्रशासनिक क्षेत्रमा उल्लेखनीय योगदान पुप्याउन सफल भएका छन् ।

     सडीओ महतो केहिदिन भित्रै जिल्ला प्रशासन कार्यालयमा हाजिर हुने जनाइएको छ । लामोसमय शाखा अधिकृत रहेका महतो झण्डै एकवर्ष अघि प्रशासन सेवा तर्फ सहसचिवमा नाम निकालेपछि पहिलोपटक उनलाई गृहमन्त्रालयले कञ्चनपुर जिल्ला प्रशासन कार्यालयको सिडीओको जिम्मेबारी दिएको थियो ।धनुषाको मिथिला नगरपालिका वडा न-२ नक्टाझिज घर भएका महतो लोक सेवा आयोगबाट सहलेखापालमा नाम निकालेर सरकारी जागिरको यात्रा सुरु गरेका थिए

      महतो प्रजिअको जिम्मेवारी सम्हाल्न सर्लाही आउने भएपछि जिल्लाबासीहरुमा खुसियाली छाएको छ।सर्लाहीले पहिलोपटक मधेसी मुलको प्रमुख जिल्ला अधिकारी पाएका छन् ।



किशोर किशोरी तथा बालबालिकाहरुमा इन्टरनेट र मोबाइलको बढ्दो प्रयोगले अभिभावकसँग टाढिँदै सन्तान

 




मनोज यादव----

सर्लाही ,असाढ १५

    किशोरकिशोरी तथा बालबालिकामा पछिल्लो समय बढ्दै गएको मोबाइल फोनको प्रयोगका कारण उनीहरूको दैनिकीमा समस्या आउनुका साथै घरभित्रै आफ्ना अभिभावकसँग टाढिँदै गएका छन् । मोबाइल फोनको प्रयोगसँगै किशोरकिशोरी तथा बालबालिकामा लगातार मोबाइल फोनमै झुन्डिने, झोक्राउने तथा घरमै भएर पनि परिवारका सदस्यसँग धेरै घुलमिल नहुने, बोल्दा पनि झर्किने खालका समस्या देखिन थालेका छन् ।

        स्मार्ट मोबाइल फोनको चलन सुरु हुँनुभन्दा पहिला साथीभाइहरुसँग विभिन्न किसिमका  खेलहरु खेल्न तथा परिवारका सदस्यसँग बसेर रमाउन रुचाउने उनीहरू अहिले बिहानदेखि अबेर राती सम्म मोबाइल फोनमै झुण्डिएर बसेको देखिन्छन् । मोबाइल फोनको अत्याधिक प्रयोगले उनीहरूमा मोबाइल फोनबाहेक अन्त कुनै काममा ध्यान नजाँदा समस्या हुन थालेको जानकारहरु बताउँछन् ।

    पहिला-पहिला विद्यालयबाट घर आइसकेपछि खाजा खाएर साथीभाइ सँग खेल्न र डुल्न मनपराउने किशोर किशोरी तथा बालबालिकाहरु घरबाहिर जान छाडेका छन्। 

छोराछोरी बिनाकामको लखर-लखर नडुली  घरभित्रै बस्न  थालेको देखेर खुसी भएका अविभावकमा  छोराछोरी  घरभित्रै रहे पनि जुनसुकै समयमा मोबाइल चलाइरहने, इन्टरनेटमा गेम तथा सामाजिक सञ्जालको एकोहोरो प्रयोग गरिरहने, कसैले बोलाए झर्किने तथा झोक्राउने गरेका कारण चिन्ता थपिएको छ।

    आधुनिक  प्रविधिको  विकासको एक स्वरूप मोबाइल फोन भएको र यो अहिले प्रायः धेरैको हातमा पुगिसकेको अवस्थामा जवान, वृद्धदेखि बालबालिका सबैमा मोबाइलको अत्यधिक लत बसेको मानवअधिकारकर्मी मुकैश मिश्र बताउनुहुन्छ ।  बाबुआमाले पनि बच्चालाई मोबाइल दिएर भुलाउने गरिरहेका कारण निरन्तर मोबाइल फोनको प्रयोगले बालबालिकामा तनाव हुने, आँखा दुख्ने, टाउको दुख्ने, परिवारका सदस्यहरुसँग धेरै नबोल्ने, बोलाउँदा तीन चारपटकसम्म बोलाउनुपर्ने, पढाइ प्रतिको लगाव कम हुने, अश्लील चित्र र भिडियोको लत बस्ने, साइबर अपराधतिर तानिने समस्याहरू देखिन सक्ने भएकाले अभिभावक समयमै सचेत हुनुपर्ने मिश्र  बताउनुहुन्छ ।

    लगातार मोबाइलको प्रयोगले तनाव, चिन्ता तथा बेचैनी, उदासीनता, निद्राको समस्या, थकान महसुस हुनु, कुनै कुरामा राम्ररी ध्यान केन्द्रित गर्न कठिन पर्ने वा कुनै नयाँ रचनात्मक कार्य गर्न गाह्रो पर्ने, ध्यान केन्द्रित गर्न समस्या हुनेलगायतका मानसिक लक्षण देखापर्ने स्वास्थ्यविज्ञ बताउँछन् ।  “लगातार मोबाइल चलाइरहनाले ढाड दुख्ने, टाउको दुख्ने, घाँटी र गर्दन दुख्ने, आँखामा समस्या हुने , खान मन नहुने, तौल घट्ने लगायतका शारीरिक लक्षण पनि देखिने हुँदा विशेष सतर्कता अपनाउनुपर्ने विज्ञको सुझाव छ।

    लगातार इन्टरनेट तथा मोबाइल चलाइरहने छोराछोरीलाई तिनका अभिभावकले उनीहरूको व्यवहारमा परिवर्तन ल्याउन घरको  काममा लगाउने ,छोराछोरी सँग केही समय बिताउन,केही समयको लागि मोबाइल चलाउन दिएर विस्तारै कम गराउँदै जाने  यस्तो गर्दा उनीहरूमा विस्तारै मोबाइलको  प्रयोग गर्ने बानीमा कमी आउने विज्ञको भनाई छ । 


सदरमुकामकै एक स्वास्थ्य चौकीको अवस्था दयनीय,बिरामीको उपचार गर्ने थलो आफै बिरामी

 



लोकतन्त्र समाचारदाता---

सर्लाही ,असाढ १५

       सदरमुकाम मलंगवा नगरपालिका मातहतकै एक  स्वास्थ्य चौकीको अवस्था अहिले दयनीय भएको छ ।

स्थानीयबासीहरुको उपचारको  लागि भनी स्थापना भएको मलंगवा नगरपालिका वडा न-७ मुसैली स्थित वडा स्वास्थ्य चौकीको वर्तमान अवस्थालाइ देख्दा  आफै बिरामी परे जस्तो देखिएको स्थानीय युवा सुजित यादवले बताएको छ।

        मलंगवा बजारवाट मात्र करिब ३ किलोमिटरको दुरीमा रहेको उक्त  स्वाथ्य चौकी संरक्षणको अभावमा लथालिङ्ग परेको यादवले बताएको छ।स्वास्थ चौकीका इन्चार्ज शालिक मिकरानिको लापरबाहीले गर्दा उक्त स्वास्थ चौकी बेवारिसे भएको उनको आरोप छ ।जनप्रतिनिधिको बेवास्ताका कारण २/३ महिना यता देखी उक्त स्वास्थ चौकीको हालत नाजुक भएको स्थानीयबासीहरुको आरोप छ । स्थानीय सरकारको बेवास्ताका कारण उक्त स्वास्थ्य चाैकी अहिले डम्पिङ साइटजस्तो देखिन थालेको छ।

भवनको छत ठाउँठाउँमा भत्किएको छ।  पर्खालमा चिरा परेका छन्। न बस्न ठाउँ सफा र सुरक्षित छ त न औषधि राख्ने र्‍याक नै गतिलो छ। टुटफुट भइसकेका फर्निचरहरु  घरमा आगो बाल्न लगिसकेको छ ।

   स्वास्थ्य चाैकी भत्किएको र मर्मत गर्नुपर्ने भनी स्थानीयले बारम्बार यहाँका जनप्रतिनिधिलाई भन्दा पनि सुनुवाइ भएको छैन। यसबारेमा बारम्बार वडाध्यक्ष प्रमोद यादवलाई  जानकारी गराइए पनि उनले मेयरसंग भन्नु भन्दै पन्छिने गरेको  स्थानीय युवा सुजित यादवले गुनासो गरे।

स्वास्थ्य  चौकी व्यवस्थित नहुँदा र स्वास्थ्यकर्मी समेत नहुँदा स्थानीयहरुलाई निशुल्क पाइने  केही सामान्य रोगको औषधी लिन मलंगवा बजार जानुपरेको छ । मलंगवा नजाने स्थानीयहरुलाई गाउँकै  औषधी पसलबाट महँगो दाममा औषधी किनेर खानुपरेको यादवले भने ।

     स्वास्थ चौकी मर्मत तथा सुधार  गर्नका लागि वडा कार्यालय सँग  बजेट नभएको पनि होइन , वडा अध्यक्षले सडक निर्माण तथा स्तरोन्नतिको लागी छुट्याइएको बजेटबाट  कटौती गरि घरघरमा हैण्डपम्प बाँडेर  भोट बैंकको राजनीती गरिरहेको स्थानीयहरुले आरोप लगाएका छन् । वडा अध्यक्षले आफ्नो मनोमानी गर्दै विभिन्न क्षेत्रमा छुट्याइएको बजेटको दुरुपयोग गरिरहेको सुजित यादवले बताए ।

     स्वास्थ्य चौकी जस्तो  सार्वजनिक ठाउँमा कार्यरत स्वास्थ्यकर्मी , कर्मचारी तथा सेवाग्राहीहरुको सुविधाको लागि एउटा कल समेत नरहेकोले त्यहाँ कार्यरत कर्मचारीले स्वास्थ्य चौकीमा पनि एउटा कल उपलब्ध गराइदिनको लागि  वडा अध्यक्षलाई आग्रह गर्दा  मेयरसँग गएर माग्न भनि फर्काएको उनीहरूले दुखेसो सुनाए ।

      मानव स्वास्थ्यसँग प्रत्यक्ष सरोकारवाला राख्ने स्वास्थ्य  चौकीको अवस्था दिनप्रतिदिन नाजुक बन्दै गइरहेकोले सरोकारवाला तथा  सम्बन्धित निकाएले  त्यसतर्फ तुरुन्त ध्यान पुर्याउन स्थानीयबासीहरुले आग्रह गरेका छन् ।

Monday, June 28, 2021

शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठलाई पदमुक्त गरी कारवाहीको माग गर्दै एमालेकै भातृ संगठनले विज्ञप्ति निकाले

 



लोकतन्त्र समाचारदाता---

सर्लाही ,असाढ १४ 

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठलाई पदबाट  अविलम्ब  पदमुक्त गरी आवश्यक कारवाहीको माग गर्दै  एमालेको भ्रातृ संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज प्रदेश कमिटी प्रदेश  न-२ ले सरकारसँग माग गरेको छ। समाजले प्रेस विज्ञप्तिमार्फत उक्त माग गरेको हो ।

    जातीय भेदभाव तथा छुवाछूत कसुर मुद्दाका आरोपितलाई हिरासतबाट छुटाउने श्रेष्ठलाई तत्काल पदबाट बर्खास्त गर्न माग गरिएको छ । मन्त्री श्रेष्ठले पदको दुरुपयोग गरी संचारकर्मी रुपा सुनारलाई  कोठा दिने सहमति गरिसकेर जात थाहा पाउनासाथ बहिष्कार गरेको अभियोगमा पक्राउ परेकी काठमाडौं बबरमहलकी घरधनी सरस्वती प्रधानलाई बुधबार आफैं महानगरीय प्रहरी वृत्ति (सिंहदरबार) पुगेर हिरासतमुक्त गराई आफ्नै झन्डावाल गाडीमा घर पुर्‍याइदिएका थिए ।यसको अहिले  चौतर्फी आलोचना भइरहेको छ।

     मन्त्री श्रेष्ठले नेपालको संविधान २०७२ को प्रस्तावना साथै धारा १८ को  समानताको हक ,धारा २४ को जातीय भेदभाव  तथा छुवाछूत विरुद्धको हक ऐन २०६८ को धज्जिया उडाएको प्रति   संगठनको गम्भीर ध्यानाकर्षण भएको प्रदेश न-२ कमिटीका अध्यक्ष गोविन्द पासवानले  द्वारा जारी विज्ञप्तिमा भनिएको छ ।विज्ञप्तिमा  राजकीय ओहोदामा आसिन ब्यक्तिले पदिय मर्यादा ,आचरण र गोपनियताको सपथलाई ठाडो उलंघन गरेकोले उक्त घृणित कार्यको संगठन घोर भत्सर्ना गरेको उल्लेख गरिएको छ।

     संगठनले अनुसंधानमा रहेकी घरभेटी सरस्वती प्रधान माथि थप अनुसंधान गरी सत्यतथ्य बाहिर ल्याएर दोषी भए हदैसम्मको कार्यवाही चलाउन विज्ञप्तिमार्फत माग गरेको छ ।

वडाध्यक्ष सूर्य कुमार श्रेष्ठको निधनप्रति शोक व्यक्त गर्न इश्वरपुर नगरपालिकाका सबै कार्यालयहरु एक दिनको लागि बन्द

 


लोकतन्त्र समाचारदाता---

सर्लाही,असार १४

        दिवंगत वडाध्यक्ष सूर्य कुमार श्रेठको निधनप्रति शोक ब्यक्त गर्दै सर्लाहीको ईश्वरपूर नगरपालिका क्षेत्र भित्रका सबै कार्यालयहरु सोमवार एक दिनका लागि बन्द गरिएको छ। वडा नं. ३ भक्तिपुरका वडाध्यक्ष  श्रेष्ठको निधनप्रति दु:ख व्यक्त गर्दै उहाँको श्रद्धाञ्जली स्वरुप सोमवार एकदिनको लागि नगरपालिका कार्यालयसहित  सबै वडा कार्यालय र नगरपालिका मातहतमा पर्ने सबै कार्यालयहरु बन्द गरेको नगरप्रमुख मनोज कुमार देवकोटाले जानकारी दिए ।

     तर वडा नं-३ भक्तिपुरको वडा कार्यालय भने आइतवार१३ गतेदेखि मंगलबार १५ गतेसम्मको लागि बन्द  गर्ने नगर कार्यापालिका बैठकले निर्णय गरेको नगर प्रमुख देवकोटाले बताए ।

     वडाध्यक्ष श्रेष्ठको गत शुक्रवार राती जेसिबीको बकेटले हिर्काएर निर्ममतापूर्वक हत्या गरिएको थियो । उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले जेसिबीका ठेकेदार ईश्वरपुर नगरपालिका–३ भक्तिपुरका ३५ वर्षीय प्रेमराज दाहाल र जेसिबीका चालक हरिपुर नगरपालिका वडा न-१ हजारबिघाका  ४० वर्षीय रविन भनिने हर्क बहादुर तामाङलाई नियन्त्रणमा लिएको छ ।  पोखरी ठेकेदार ईन्दल सहनी भने फरार रहेका छन् । फरार रहेका सहनीको खोजिकार्य भइरहेको प्रहरीले जनाएको छ ।

    पक्राउ परेका आरोपीहरु विरुद्ध आइतवार सर्लाही जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया  अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

Sunday, June 27, 2021

सर्लाहीमा ८० किलो लागुऔषध गाँजा सहित २ जना पक्राउ

 




लोकतन्त्र समाचारदाता---

सर्लाही ,असाढ १३

   प्रहरीले  सर्लाहीको लालबन्दी नगरपालिका वडा न-१५ तीनतल्ले झल्लाचौडीबाट ८० किलो लागुऔषध गाँजासहित दुईजनालाई पुरुषलाई  पक्राउ गरेको छ ।पक्राउ पर्नेमा ईश्वरपुर नगरपालिका वडा न-१२ बस्ने मान ब. स्याङतानको छोरा बर्ष ३३ को आईत

सिंह स्याङतान र सोही ठाउँ बस्ने सुर्यमान स्याङतानको छोरा बर्ष ५४ को मान बहादुर स्याङतान रहेको प्रहरीले जनाएको छ ।

      सनिवार दिउँसो करिब २ बजेको समयमा प्रहरी कार्यालय जनकपुर तथा  प्रहरी पोष्ट परवानिपुरबाट  खटिएको संयुक्त टोलीले विषेश सुराकीको आधारमा उक्त स्थानमा खटि गई  सेतो बोरामा  ८० किलो  गाँजा बोकी ल्याई राखेको अवस्थामा निजहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी निरिक्षक कृष्ण गिरीले लोकतन्त्रलाई जानकारी दिएको छ।

    गाँजासहित दुवैजनालाई नियन्त्रणमा लिई थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

शिक्षा मन्त्रीको राजीनामाको माग गर्दै मलंगवामा बिरोध प्रदर्शन



लोकतन्त्र समाचारदाता---

सर्लाही,असाढ १३

   संचारकर्मी रुपा सुनारलाई न्याय र दोषी उपर कारवाहीको माग गर्दै सर्लाहीको सदरमुकाम मलंगवामा आज (आइतवार)साँझ शिक्षा मन्त्रीको पुतला दहन गरि  बिरोध प्रदर्शन गरिएको छ । 

     संयुक्त दलित संघर्ष समिति सर्लाहीले जातीय विभेद बन्द गर ,मतियार मन्त्री राजिनामा दे ,रुपा सुनारलाई न्याय दे लगायतका चर्को  नाराबाजी  गर्दै शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठको पुत्ला दहन गरि राजीनामाको  माग गरेका  छन् । जातकै कारण कोठा पाउनबाट बञ्‍चित भएकी सञ्चारकर्मी रुपा सुनार माथि जातीय विभेद भएको र शिक्षा मन्त्री श्रेष्ठले विभेद गर्नेलाई साथ दिएको भन्दै प्रदर्शन गरिएको विद्यार्थी नेता महेश पासवानले बताएको छ ।

         विद्यार्थी नेता महेश पासवानको नेतृत्वमा मलंगवा नगरपालिका वडा न-१० स्थित सहिद चौक(जिविस चौक)मा भएको बिरोध कार्यक्रममा संयुक्त दलित संघर्ष समिति सर्लाहीका सदस्य राजन बैठा,प्रमोद पासवान, कामेश्वर पासवान ,दलित अधिकारकर्मी बिनोद राम ,मुरारी पासवान लगायत दलित अधिकारकर्मीहरुका साथै  विद्यार्थीहरुको सहभागी रहेको नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सर्लाहीका अध्यक्ष राजेश पासवानले जानकारी दिनुभयो ।


वर्षाका कारण सर्लाहीमा अधिकांश सडकहरु अवरुद्व/यस प्रति स्थानीय तहहरुलाई कुनै चासो छैन

 



लोकतन्त्र समाचारदाता---

सर्लाही ,असाढ १३

        केही दिन देखि  लगातार रुपमा भइरहेको वर्षाका कारण  सर्लाहीका  अधिकांश ग्रामीण सडकहरु  अवरुद्व भएका छन् ।वर्षका कारण ग्रामीण क्षेत्रको सडकहरु मात्र नभइ जिल्लाको सदरमुकाम मलंगवाको विभिन्न टोलमा  निर्माण हुँदाहुँदै बिचमै निर्माणकार्य  बन्द भएका सडकमा बनेका खाल्डाखुल्डीमा हिलो पानी जमेर सडक अवरुद्ध भएको छ । 

      सडक संजाल  नपुगेको र खोला किनारमा बसोबास गर्ने  चुरे क्षेत्रका नागरिहरु भने वर्षातको समयमा कष्टपूर्ण दिनचर्या बिताउन बाध्य हुँदै आएका छन् । पूर्वपश्चिम लोकमार्गमा पर्ने लालबन्दी, हरिवन, बाग्मती र ईश्वरपुर नगरपालिकाका उत्तरी चुरे क्षेत्रमा पर्ने बस्तीमा सडक अवरुद्व हुँदा आवतजावत गर्न समस्या हुने गरेको बताइएको छ। जिल्लाको ईश्वरपुर नगरपालिका वडा न- १२ मा पर्ने पिपलदमार, गुइडुङ, छोड्के, लामिदमार, अड्डी, लालबन्दी नगरपालिका वडा न- १५ को शिर कालिन्जोर, तीनतले, भित्रीखोला, लालबन्दी नगरपालिका वडा न-१४ नारायणखोला, वडा नं-१२ र १३ का चुरे बस्ती, हरिवन नगरपालिका वडा न-१ र ८ का चुरे बस्ती तथा बागमती नगरपालिका वडा न- १ र १२ मा पर्ने चुरे क्षेत्रका बस्तीमा जाने सडक लगातारको वर्षाले  बिगारेको स्थानीयबासीहरुले  बताएका छन् ।

   खोलाको किनार र चुरे पहाडका गोरेटो बाटोहरु ठाउँ–ठाउँमा बिग्रँदा त्यस क्षेत्रका बासिन्दाहरु बिरामी परेर औषधोपचारका लागि अस्पतालसम्म जान समस्या हुन  थालेको छ । वर्षातको मौसममा खोलामा बाढी आउँदा स्थानीयहरुलाई एकबाट अर्को बस्तीसम्म जान समेत समस्या हुने गरेको छ । 

      निरन्तर वर्षा भइरहेकोले खोलाको आसपास र तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीय बस्तीमा बाढी पस्ने डरले नागरिकहरु त्रसित भएका छन् । अघिल्लो वर्षको वर्षामा बागमती, लखन्देही, फूलजोर खोलाको बाढीले सयौं बिगाहा खेतीयोग्य जमिन कटान गरेको थियो ।तर यहाँका स्थानीय तहहरु बाढीका कारण आइपर्ने विपद् व्यवस्थापनका लागि कुनैपनि किसिमको प्रयास तथा पहल  नगरेको स्थानीयबासीहरुले गुनासो गरेका  छन्।

बगदहमा एकीकृत स्वास्थ्य शिविर सम्पन्न

 



लोकतन्त्र समाचारदाता---

सर्लाही ,असाढ १३

      सर्लाहीको गोडैता नगरपालिका बगदहमा सनिवार  नि:शुल्क एकीकृत स्वास्थ्य शिविर  सम्पन्न भएको छ ।

       गोडैता नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा श्री राम जानकी आधारभुत बिद्यालय बगदहमा सम्पन्न भएको शिविरमा ३२६ जनाको स्वास्थ्य जांच तथा उपचारको साथै ९६ जना को  lab test गरिएको स्वास्थ्य शाखा प्रमुख प्रमोद पंडितले जनाएको छ ।

      शिविरमा ५२ जना छाला रोगी पुरुष ,  ५७ जना महिला   र स्त्रीरोग सम्बन्धि ५५ जना महिला मध्ये ६ जना लाई रिङ्ग पेशरी लगाइएको छ ।यस्तै जेनरल बिरामी पुरुष ७२ र महिला ९० जनाको स्वास्थ्य जाँच गरिएको प्रमुख पंडितले जानकारी दिनुभयो ।

प्रविधिको पहुँच नभएका बिद्यालयहरु बन्दको समयमा बिद्यार्थीहरुको सिकाइलाई कसरी निरन्तरता दिने अन्योलमा

 

लोकतन्त्र समाचारदाता----

सर्लाही ,असाढ १३

     कोरोना नियन्त्रणका लागि अहिले देशभरका बिद्यालयहरु बन्द रहेका छन्। लामो समयदेखि विद्यालय बन्द हुँदा विद्यार्थीहरुको पठनपाठन अवरुद्ध भएको छ ।प्रविधिको   पहुँच भएका विद्यालयहरुले  बैकल्पिक विधिबाट पठन पठान संचालन गर्दै आएको भएपनि  ग्रामिण क्षेत्रका विद्यालयहरु भने  आफ्ना विद्यार्थीहरुलाई कसरी पढाउने भन्ने  अन्योलमा परेका छन्।

      यसका लागि सर्लाहीको बरहथवा नगरपालिकाले  योजना बनाएर  सबै बिद्यालयमा लागु गरेका छन् ।बन्दका बाबजुद  बरहथवा स्थित चक्र जनता सहिद गंगा  उच्च माध्यमिक  बिद्यालय  घरमा बसेका आफ्ना विद्यार्थीहरुको   सिकाई तथा अध्यनलाई  निरन्तरता दिन लागिपरेका छन्।

    नगरपालिकाले टोल-टोलमा विद्यार्थी र अभिभावकको समूह बनाएर ती समूहमा  बिषयगत शिक्षकहरुले बैकल्पिक प्रविधिको प्रयोग गरेर सिकाइ तथा अध्यनलाई निरन्तरता दिइरहेको छ।  बिद्यार्थीहरु नजाने र नबुझेका  कुराहरु सम्बन्धित शिक्षकलाई फोन गरेर सिक्ने गरेका छन्।

      कोभिड महामारीबाट जोगिंदै  सिकाईलाई निरन्तरता कसरी प्रदान गर्ने भने बिषयमा UNICEF को सहयोगमा सिकाइ निरन्तरता अभियान ,नेपाल शिक्षक महासंघ र विद्यालय व्यवस्थापन समिति महासंघले प्रभावकारी योजना बनाएर लागु गरेको छ।

    टोल-टोलमा बनाईएका अभिभावक समुहले सिकाइ  निरन्तरता अभियानलाई सहयोग गर्दै आएको छ।विद्यार्थीहरुलाई  सम्बन्धित विषयगत शिक्षकलाई फोन गरेर  सोधपुछ गरी समस्या हल गर्न अभिभावकहरुले समेत प्रेरित गरेका छन् ।

      तर बैकल्पिक मध्यमबाट शिक्षण सिकाई गर्दा धेरैनै समस्या हुने गरेको छात्र-छात्राहरुको गुनासो छ। । कोभिड-१९ महामारीका कारण बिद्यार्थीहरुको पठनपाठनमा गम्भीर  असर परेको छ। खुलास्थान र कक्षाकोठामा बसेर पढ्नुको साटो  घरभित्रै थुनियर अध्ययन गर्नुपर्ने बाध्यता आएको उनीहरू बताउँछन् । वैकल्पिक सिकाईको लागि मोबाइल ,ल्यापटप ,कम्पियुटर र इन्टरनेटको आवश्यक्ता पर्ने भएको तर ग्रामीण भेगका सामुदायिक  विद्यालयमा सबैभन्दा बढी विपन्न वर्गका बालबालिकाहरु अध्यन गर्ने भएकोले त्यस्ता सामाग्रीहरु खरिद गरेर प्रयोग गर्न उनीहरूको आर्थिक क्षमताले नभ्याउने भएकोले वैकल्पिक माध्यमबाट गरिने शिक्षण सिकाई प्रभावकारी नभएको जानकारहरु बताउँछन् ।

     तरपनि त्यस्ता समस्यालाई ध्यानमा राखेर बरहथवा नगरपालिकाले बनाएको योजनाले विद्यार्थीहरुको सिकाई    निरन्तरता  प्रभावकारी हुने विशवास लिइएको छ । 

गाउँघरबाट अझै हटेन ढिके नुनको प्रयोग गर्ने बानी

 





मनोज यादव---

सर्लाही ,असाढ १३

     सर्लाहीका विभिन्न ग्रामीण क्षेत्रमा अझै पनि ढिके नुनको प्रयोग हुने गरेको छ। ढिके तथा  खुला  नुनको प्रयोगले मानिसको स्वास्थ्यलाई असर गर्छ भन्ने जान्दाजान्दै ग्रामीण क्षेत्रका बासिन्दाहरु यसको प्रयोग गर्न छाडेका छैनन् । साल्ट  ट्रेडिङ कर्पोरशनद्वारा वितरित  आयोडिनयुक्त नुनले स्वास्थ्यलाई फाइदा पुग्ने भएपनि  जिल्लाका ग्रामीण क्षेत्रमा ढिके नुन प्रयोग गर्न छाडिएको छैन।  

     भारत सँग सिमा जोडिएका  अधिकांश सिमावर्ती गाउँमा सो नुन प्रयोग गर्नेको सङ्ख्या अझै नघटेको पाइएको छ। सस्तो र सजिलो   भएकाले आफूहरुले ढिके नुन प्रयोग गर्दै आएको उनीहरूले बताए। तर बजारमा सजिलै आयोडिनयुक्त नुन पाइने गर्दछ। 


ढिके नुनभन्दा महङ्गो पर्ने र स्वादमा पनि फरक हुने भएकाले आयोडिनयुक्त नुनको प्रयोग नगरेको उनले जानकारी दिए। ढिके नुनको प्रतिकिलो २० रुपैँया र  आयोडिनयुक्त नुन रु ३० पर्ने बताइएको छ। ग्रामीण भेगमा‘आयोडिनयुक्त नुनको प्रयोग गर्नुपर्छ’ भन्ने चेतनाको अभावले ढिके नुनको प्रयोग गर्न नछाडेका बसबरिया गाउँपालिका धनगढाका प्रदिप यादवले बताए। गाउँघरमा पशुचौपायालाई खुवाउने दानामा ढिके नुनको प्रयोग गरिन्छ ।तर मानिसहरु चेतनाको कमीका कारण पशुचौपायालाई दिने ढिके नुन स्वयंले पनि प्रयोग गर्दै आएका छन् ।

 सरकारले ‘दुई बालबालिकाको चिह्न अंकित  आयोडिनयुक्त नुनको प्रयोग गरौँ’ भनेपनि यहाँका जनतामा अझै चेतनाको कमी रहेको पाइएको छ।


Saturday, June 26, 2021

जेसिबिकाे ठक्करबाट भक्तिपुरका वडा अध्यक्षकाे मृत्यु




लोकतन्त्र समाचारदाता---

सर्लाही १२ असाढ 

     सर्लाहीको ईश्वरपुर नगरपालिका वडा न-३, का वडाध्यक्ष सूर्य कुमार श्रेष्ठको सुक्रवार राती मृत्युु भएको छ । मृत्युु शंकास्पद देखिएकाे प्रहरीकाे भनाई छ ।

     वडाध्यक्ष श्रेष्ठको जेसिबी चालकसँग विवाद भएर जेसिबीले ठक्कर दिई हत्या गरिएको हुन सकने परिवारिक स्रोतको भनाई रहेकाे छ । घटनाबारे जानकारी पाउनासाथ तत्कालै प्रहरी टोली घटनास्थलमा पुगेर अचेत अवस्थामा रहेका वडाध्यक्ष श्रेष्ठलाई जिल्ला अस्पताल मलंगवा पुर्‍याएपनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

     प्रहरीले घटनामा संलग्न भएको आरोपमा जेसिबीका ठेकेदार ईश्वरपुर नगरपालिका-३, का ३५ वर्षीय प्रेमराज दाहाल र जेसिबीका चालक बरहथवा नगरपालिका-१, का ३८ वर्षीय रविन भन्ने हर्क बहादुर तामाङलाई नियन्त्रणमा लिएको छ । दाहाललाई घटना लगत्तै नियन्त्रणमा लिइएको र फरार रहेका जेसिबी चालक तामाङलाई आज बिहान लालबन्दीबाट पक्राउ गरिएको प्रहरीले बताए । 

    उनीहरु दुवैलाई अहिले जिल्ला प्रहरी कार्यालय मलंगवाको हिरासतमा राखिएको छ । मृतक अन्जादी ५५ वर्षीय वडाध्यक्ष श्रेष्ठको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवामा राखिएको छ । घटना लगत्तै सर्लाहीका एसपी संताेष सिंह राठौरको नेतृत्वमा प्रहरी परिचालन भएको थियो ।

Friday, June 25, 2021

सर्लाहीमा दुई नम्बर प्रदेश स्तरीय सुरक्षा गोष्ठी सम्पन्न

 




लोकतन्त्र समाचारदाता---

सर्लाही ,असाढ ११

       सर्लाहीमा  दुई नम्बर प्रदेश स्तरीय सुरक्षा गोष्ठी सम्पन्न भएको छ । दुई नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवको प्रमुख आतिथ्यमा सर्लाहीको बागमती नगरपालिकामा बिहिवार  आयोजित समारोहबीच दुई नम्बर प्रदेश स्तरीय सुरक्षा गोष्ठी सम्पन्न भएको हाे ।

    "कोभिड महामारीको अवस्थामा विपत व्यवस्थापन तथा शान्ती सुरक्षा" विषयक प्रदेश स्तरीय गोष्ठीमा २ नम्बर  प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख प्रहरी नायव महानिरीक्षक धिरज प्रताप सिंह तथा सर्लाही ,रौतहट बारा र पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु,जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुखहरु लगायतको उपस्थिति रहेको जिल्ला प्रहरी कार्यालयले मलंगवाले जनाएको छ।

    बागमती  न.पा वडा न-१ स्थित सिता प्यालेसमा सम्पन्न उक्त गोष्ठीको आयोजना नेपाल सरकार गृह मन्त्रालय र प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा संयुक्त रुपमा गरिएको थियो ।

अटोमेटिक पेस्तोल र म्यागेजिन सहित २ भारतिय पक्राउ

 



मनोज यादव---

सर्लाही ,असाढ ११

         सर्लाहीको ब्रह्मपुरीबाट  हतियार सहित दुई भारतिय  पक्राउ परेका छन । बिहिवार बोर्डर आउट पोष्ट त्रिभुवननगरबाट गस्तीमा खटिएको सशस्त्र प्रहरी बलको टोलीले मेड ईन इटाली लेखेको 511765  मोडलको एक थान अटोमेटिक पेस्तोल र त्यसमा लाग्ने दुई थान म्याग्जिन सहित दुईजना भारतिय युवकलाई  पक्राउ गरेको छ ।

       ब्रह्मपुरी गाउँपालिका वडा न-४ त्रिभुवननगर स्थित शेख टोल बोर्डर एरिया हुँदै नेपाल तर्फ आउँदै गरेको दुईजना सवार BR30  N 2034 नम्बरको मोटरसाइकललाई शंका लागेर घेरा हाली रोकेर चेकजाँच गर्दा उनीहरूले बोकेको कालो रंगको झोलाबाट उक्त हतियार बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।पक्राउ पर्नेमा भारत विहार राज्य अन्तर्गत सितामढी जिल्ला भलुवाहा ग्राम पञ्चाय वडा न-११ बस्ने वर्ष ४५ को संजय कुमार भारती र पुरन्दाहा रजवाडा पश्चिमी ग्राम पञ्चाय वडा न-५ लक्ष्मीपुर बस्ने वर्ष ४० को उमाशंकर महतो रहेका छन् ।उनीहरूको साथबाट  १२ हजार ३ सय ८० भारतीय रुपैया र दुई थान मोबाइल फोन समेत बरामद भएको छ।

     पक्राउ परेका दुवैजना भारतीयहरुलाई हातहतियार ओसारपसार सम्बन्धी कारवाहीको लागि  जिल्ला प्रहरी कार्यालय सर्लाहीमा पठाईएको शसस्त्र प्रहरी बल नेपाल १० नं. गण कविलासीले जानकारी दिएको छ। 

    खुल्ला सिमानाकाको फाइदा उठाएर भारततर्फका अपराधीहरु हातहतियार सहित विभिन्न किसिमका लागुऔषधको ओसारपसार ,अवैध चोरी निकासी लगायतका काममा नेपाल भारत सिमा अन्तर्गत पर्ने सर्लाहीको  दशगजा क्षेत्रलाई प्रयोग गर्दै आएका छन् ।

Thursday, June 24, 2021

५२ करोड १४ लाख अनुमानित बजेट प्रस्तुत गर्दै मलंगवा नगरपालिकाको सातौ नगर सभा सम्पन्न




लोकतन्त्र समाचारदाता---

सर्लाही,असार १०

      आर्थिक बर्ष ०७८/०८९ को लागि ५२  करोड १४ लाख २१  हजार २ सय ५८ रुपैयाको  अनुमानीत बजेट प्रस्तुत गर्दै आज(बुधबार) मलंगवा नगरपालिकाको सातौ नगर सभा  सम्पन्न भएको छ ।जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न उक्त नगर सभामा नगर प्रमुख निरसल साहले  आर्थिक बर्ष २०७८/०७९ को निति तथा कार्यक्रम प्रस्तुत गर्दै सो रकम बराबरको अनुमानित बजेटबारे जानकारी गराउनु भएको छ । 

     मलंगवा नगरपालिकाले आव २०७८/०७९ मा नगर भित्र शहरी बिकाश मन्त्रालयको निर्माणधिन कामलाई यथासिघ्र अगाडि बढाउने, सफा स्वक्ष वातावरण सहित फोहोर प्रसोधन केन्द्र  निर्माण गर्ने, सडक बत्तीहरुलाई आधुनिकीकरण गर्ने, भवन मापदण्डलाई थप व्यवस्थित  बनाउने लगायतका नीतिहरु तथा कार्यक्रमहरु  गर्ने भएको छ । 

    नगर प्रमुख निरसल साहको अध्यक्षता तथा प्रतिनिधिसभा सदस्य प्रमोद साहको प्रमुख अतिथ्यतामा भएको नगर सभामा  विशेष अतिथि प्रदेश सभा सदस्य निरा साह, उपप्रमुख शान्ति सबनम मिकरानी, प्रमुख प्रशासकीय  अधिकृत होमनाथ सुबेदी,जिल्ला समन्वय प्रमुख मेथुर चौधरी,उद्योग बाणिज्य संघ अध्यक्ष बिरेन्द्र साह, नागरिक समाज सर्लाहीका अध्यक्ष उग्रकान्त झा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन मलंगवा  नगरपालिकाका सूचना अधिकृत  राज कुमार अधिकारीले गर्नुभएको थियो ।  

    कार्यक्रममा १२ वटै वडाका   वडाध्यक्षहरु,वडा सदस्यहरु, विभिन्न राजनितिक दलका प्रतिनिधी , बिभिन्न संघ संस्थाका पदाधिकारी, पत्रकार लगायतको उपस्थिति  रहेको थियो ।

कृषि ज्ञान केन्द्र मलंगवाको बलोक निर्माण कार्यमा ब्यापक अनियमितता,४ करोड रुपैयाँको अनियमितता



बखतियार अलि–

सर्लाही ,असाढ १०

   कृषि ज्ञान केन्द्र मलंगवामा बलोक निर्माण कार्यको लागि आएको ४ करोड बराबरको योजनामा व्यापक अनियमितता भएको छ ।

   कोरोना भाईरस महामारीका कारण लकडाउन भए देखि ज्ञान केन्द्र मलंगवा पुर्ण रुपमा बन्द रहेको छ । ज्ञान केन्द्रका प्रमुख कमलदेव प्रसाद कुशवाहाले आफनो कोठाबाटै कार्यालय संचालन गरि ४ करोड बराबरका बलोक निर्माण सम्बन्धी योजना गोप्य रुपमा सम्झौता गरि आफनो नातागोतामा पर्ने गैर किसानहरुलाई सम्झौता गरेको स्थानीय कृषक राजकुमार अधिकारीले आरोप लगाएको छ । कृषि निर्देशिका र मापदन्ड अनुसार सर्लाहीको २० वटै पालिकाहरुमा बलोक निर्माण हुनुपर्ने हो, तर कार्यालय प्रमुख कुशवाहाले आफनो एजेन्टहरु मार्फत १६ वटा पालिकामा मात्र बलोक निर्माणको सम्झौता गरि सकेको स्थानीय किसान मुकेश यादवले बताएको छ । यादवका अनुसार नियमतह एउटा पालिका, एउटा बलोक निर्माण हुनुपर्नेमा पैसा खाएर कुनै पालिकामा २ वटा भने कुनैमा ३ वटा बलोक निर्माण गर्ने कार्यको सम्झौता भएको यादवले बताए ।

     ४ करोड रुपैया बराबरको योजना कुन मापदण्ड अनुसार सम्झौता गर्नुभयो । कुन मितिमा सूचना प्रकाशन हो, र सम्झौता भएको अन्तिम मिति कहिले थियो । कुन कुन मितिमा कति वटा कृषि समुहहरुले  प्रपोजल दर्ता गराएका थिए । यस्को तथ्यांक उपलब्ध गराउन किसानहरुले माग गरे पछि कृषि ज्ञान केन्द्र मलंगवाका कार्यालय प्रमुख कमलदेव प्रसाद कुशवाहाले जानकारी दिन आलटाल गरेको छ ।  लाेकतनत्रले पनि प्रमुख कुशवाहा संग बलोक निर्माणमा अनियमितता भएको प्रश्न गर्दा तपाईले के सोध्नु भएको बुझेन भनेर संक्षिप जवाफ दिएर पंक्षिन खाज्नु भयो । 

    नेपाल सरकारले कृषि र किसानहरुका लागि वार्षिक अर्बौं  रुपैया विनियोजन गरेपनि राजनीतिक दबाब र सेटिंगको आधारमा बजेट बाडफाड भएपछि वास्तविक किसान सम्म सरकारी बजेट पुग्दैन । कृषि ज्ञान केन्द्रमा अहिले पनि गैर किसान तथा दलालकै हालीमुहाली रहेको कारण कृषि पेशा समाप्त हुदै गएको छ, भने किसानहरु पलायन हुदै पेशा परिवर्तन गर्न बाध्य भएका छन ।

कबिलासी र बसबरियामा आप्रवासी कामदारहरुको समस्या समाधानका लागि कार्यक्रम संचालन हुने

 




लोकतन्त्र समाचारदाता---

सर्लाही ,असाढ १०

     सर्लाहीको कबिलासी नगरपालिका र बसबरिया गाउँपालिकामा सम्पन्न आप्रवासी कामदारको न्यायमा पहुँच संवर्धन परियोजनाको दोस्रो चरणको पालिका स्तरिय  बैठकबाट आप्रवासी कामदारहरुको समस्या समाधान गर्न कार्यक्रम संचालन गर्ने निर्णय भएको छ।

      कबिलासी नगरपालिकामा नगर प्रमुख कौशल किशोर यादव तथा बसबरिया गाउँपालिकामा गाउँपालिका अध्यक्ष रामआयोध्या रायको संयोजकत्वमा सम्पन्न भएको दोस्रो चरणको बैठकले ती दुवै पालिका अन्तर्गत वैदेशिक रोजगार सम्बन्धि आप्रवासी कामदारको न्यायमा पहुँचका लागि देखा परेका विभिन्न समस्याहरुलाई मध्येनजर गरी त्यसको  सुरुवात गर्न सम्बन्धित निकाय सँग छलफल गरी नगर तथा गाउँ सभाबाट सके जती कार्यक्रमहरु राखेर संचालन गर्न गराउन निर्णय गरिएको परियोजना संयोजक मोहन राय यादवले जानकारी गराए । सोही बैठकमा पालिका प्रमुखहरुलाई परियोजना संचालन गर्न गराउनका लागि पिपुल्स फोरमबाट नमूना कार्यक्रमको मस्यौदा आइसकेको अवगत गराउँदै  आआफ्नो पालिकाबाट नमूना कार्यक्रम मस्यौदा समेत परिमार्जित हुने गरी कार्यक्रम संचालन गर्न गराउन अनुरोध सहित निर्णय गरेको परियोजना संयोजक यादवले बताए ।

रामआयोध्या राय,प्रमुख (बसबरिया गा.पा)


    यसअघि  सम्पन्न भएको  पहिलो चरणको  बैठकमा कबिलासी नगरपालिकाकी उपमेयर राधा देवी र बसबरिया गापाका प्रमुख राय समक्ष  मानवअधिकारको लागि पिपुल फोरमको आयोजनामा  संचालन हुने परियोजना ती पालिकाहरुमा पनि संचालनार्थ  जिल्ला समन्वयको बैठकबाट छनौट भएको जानकारी गराई यस नगरपालिकामा पनि  संचालन गर्न गराउन निर्णय गरिएको थियो ।सोही बैठकबाट परियोजना संचालन गर्नका लागि वैदेशिक रोजगार सम्बन्धि संरक्षण , संवर्धन तथा व्यवस्थित गर्नका लागि बजेट विनियोजन गराउन नगर तथा गाउँ  परिषद समक्ष पहल गर्न निर्णय समेत गरिएको थियो ।

    फिनलैण्ड सरकार अन्तर्गत कियोज फाउन्डेशनको आर्थिक सहयोगमा मानवअधिकारको लागि जनमञ्च (पिपुल्स फोरम) कालिकास्थान काठमाडौको आयोजनामा मेयर साह तथा गापा अध्यक्ष यादवको कार्यकक्षमा सम्पन्न  भएको दोस्रो चरणको बैठकमा पालिकाका योजना प्रमुख ,सामाजिक विकास प्रमुख ,उपभोक्ता समिति ,बुद्धिजीवी ,पत्रकार लगायतको सहभागीता रहेको थियो ।


Wednesday, June 23, 2021

हत्याका आरोपीहरु खुलेआम घुम्दै, मृतकका आफन्त न्यायको पर्खाइमा

 



मनोज यादव---

सर्लाही ,असाढ ९

      प्रहरी प्रशासनको बेवास्ताका कारण सर्लाहीको बरहथवा नगरपालिका अन्तर्गत साविकको गाविस  लौकठ वडा न-७ र हालको वडा न-५ बस्ने २१ वर्षीय नयामद मियाँको हत्यामा संलग्न आरोपीहरु उपर कारवाही नहुँदा उनीहरू खुलेआम घुमिरहेका छन् भने पिडित परिवार न्यायको खोजीमा भौतारिरहेका छन् । मियाँको हत्या भई जिल्ला प्रहरी कार्यालय मलंगवामा जाहेरी दरखास्त दिएको  ५ महिना भन्दा बढी समय भइसक्दा पनि हालसम्म उनीहरु पक्राउ परेका छैनन् ।फरार रहेको बताइएपनि खुलेआम घुमफिर गरेको पाइएको पिडित पक्षले बताएका छन् ।

मृतक


     मृतकका दाजु नसिर मियाँले जिल्ला प्रहरी कार्यालय मलंगवामा बुझाएको जाहेरीमा उल्लेख गरिएको घटनाको विवरण अनुसार गत २०७७ साल पुस २९ गते साँझ अन्दाजी ७ बजेको समयमा बरहथवा न.पा -१६ बस्ने सितासरण रायको छोरा २६ वर्षीय राजनारायण राय र वडा न-६ बस्ने बाँके दासको २५ वर्षीय छोरा रघुवेन्द्र दास घर अगाडी आइ कैलाश प्रसाद साहले बोलाएको भनेर भाई नयामदलाई मोटरसाइकलमा राखेर सँगै लगेको ।भाई राती घर फर्केर नआएपछि   इलाका प्रहरी कार्यालय बलराको प्रहरी टोलीले गस्ती गर्ने क्रममा राती ९ बजेर २१ मिनेटको समयमा बलरा नगरपालिका वडा न-७ मुटुबाबा स्थित सडकमा भाईको लास फेला परेका थिए ।मृतक नयामद आरोपी मध्येको कैलाश प्रसाद साहको कामदार रहेको दाजु नसिरले बताए ।

    तीनैजना राजनारायण राय,रघुवेन्द्र दास र कैलाश प्रसाद साहनै भाइ नयामदको हत्यारा रहेको भन्दै जिल्ला प्रहरी कार्यालय मलंगवामा जाहेरी दर्ता गराइसकेको भएपनि घटनाको ५ महिना भन्दा बढी  समय भइसक्दा समेत हालसम्म उनीहरुलाई पक्राउ नपरेको गुनासो गरेका छन् ।प्रहरी प्रशासनको बेवास्ताको कारण आरोपीहरु खुलेआम रुपमा समाजमा हिंडडुल गर्दै आएको उनको आरोप छ।



जंगली हात्तीले सर्लाहीमा एक पुरुषको ज्यान लियो

 


लोकतन्त्र समाचारदाता---

सर्लाही ,असाढ ९

   सर्लाहीको इश्वरपुर नगरपालिका वडा न-१३ श्रीनगरमा जंगली हात्तीको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ।मृत्यु हुनेमा श्रीनगरका ५५ वर्षीय रामआषिस महतोको रहेका छन् ।

      मंगलवार राती डेढ बजे तिर जंगली हात्तिको आक्रमणबाट गम्भीर घाइते भएको महतोको  मृत्यु भएको हो । सख्त घाईते महतोको लालबन्दीमा रहेको मोडेल हस्पिटलमा उपचारको क्रममा बुधबार बिहान साडे तीनबजे  ज्यान गएको प्रहरीले जनाएको छ ।विगत डेढ महिनादेखि जिल्लाको जंगल क्षेत्रमा बस्दै आएको तीनवाटा हात्तीले यस अघि भौतीक क्षती गर्नेगरेको भएपनि गए राति भने मान्छेको ज्यानै लिएको प्रहरीले  बताए ।

    उता डिभिजन वन कार्यालय लालबन्दीका प्रमुख माधव प्रसाद देवले हात्तीलाई उसको सुरक्षित बासस्थानमा फर्काउनको लागि आफुहरुले मातहतका निकाएलाई पत्राचार गरिसकेको  भएपनि हात्तीहरु एकै ठाउँमा नबस्ने भएकाले समस्या भएको बताए ।

One Heart Worldwide द्धारा सर्लाहीको २० वटै पालिकालाई ३ लाख बराबरकाे स्वास्थ्य सामग्री सहयोग

  




मनोज यादव---

सर्लाही ,असाढ ९

     वान हार्ट वर्ल्ड वाईड (One Heart Worldwide) बागडोल, ललितपुरले सर्लाही जिल्लाका २० वटा पालिकाहरुलाई  स्वास्थ्य सामग्री सहयोग गरेको छ। 

   कोरोना भाइरस(कोभिड-१९) को उपचार तथा नियन्त्रणमा सहयोग पुर्याउने उदेश्यले सो सँग सम्बन्धित झन्डै ३ लाख रुपैयाँ बराबरको विभिन्न स्वास्थ्य सामाग्रीहरु बुधबार एक कार्यक्रमका बिच  जिल्ला समन्वय समितिका सभापति मेथुर चौधरीको हातबाट २० वटै पालिकाका प्रमुखहरुलाई हस्तान्तरण गरिएको  वान हार्ट वर्ल्ड वाईडका जिल्ला संयोजक अमरेन्द्र रायले जनाएको छ।स्वास्थ्य सामाग्री स्विकार्दै सभापति चौधरीले कोरोना संक्रमणको जोखिमबाट गुज्रिरहेको अवस्थामा सर्लाही जिल्लाको  समस्यालाई मध्यनजर गरी अतिआवश्यक रहेको स्वास्थ्य सामाग्रीहरु प्रदान गरेर सहयोग गरेको भन्दै डोनर (सहयोगी) संस्थालाई  विशेष धन्यवाद दिनुभयो ।

    संयोजक रायका अनुसार प्रति पालिका सर्जिकल माक्स,सर्जिकल ग्लोब्स,पिपिइ सेट,डिस्पोजेवल गाउन,रि-युजेवल ओटी गाउन,डिस्पोजेवल ग्लोब्स,युटिलिटी ग्लोब्स,फेस सिल्ड ,हैण्ड सेनेटाइजर,पल्स अक्सिमिटर ,अक्सिजन कन्सन्ट्रेटर,हैण्ड सिल्ड पल्स अक्सिमिटर र कोभिड-१९ इन्फोग्राफिक लगायतका गरी जम्मा २ लाख ९१ हजार १ सय २४ रुपैयाँ बराबरको  सामाग्रीहरु उपलब्ध गराइएको छ।

   जिल्ला समन्वय समितिले  आयोजना गरेको  हस्तान्तरण कार्यक्रममा मलंगवा नगरपालिका प्रमुख निरसल साह, चन्द्रनगर गाउँपालिकाका गापा अध्यक्ष महेन्द्र महतो, मलंगवा नपाका कार्यकारी प्रमुख होमनाथ सुवेदी ,जिल्ला स्वास्थ्य कार्यालय प्रमुख नवल किशोर झा,विभिन्न पालिकाका कार्यकारी प्रमुख , स्वास्थ्य शाखा प्रमुख, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।







परिश्रमिक पाउनुपर्ने माग राखेर शिक्षकहरु द्बारा गोडैताका मेयर तथा शिक्षा प्रमुखलाई ज्ञापनपत्र

 





लोकतन्त्र समाचारदाता---

सर्लाही ,असाढ ९

   सर्लाहीको गोडैता नगरपालिका अन्तर्गतका  विभिन्न विद्यालयमा कार्यरत बाल विकास तथा नेपाल   शिक्षक कर्मचारीहरुले तिन बुँदे माग राखेर नगरप्रमुख र शिक्षा शाखा प्रमुखलाई ज्ञापनपत्र बुझाएका छन् । 

     संघिय सरकारको बजेट वक्तव्य अनुसारको न्यूनतम परिश्रमिक पाउनुपर्ने, स्थानिय निकायले गतबर्ष प्रदान गरेको प्रोत्साहन भत्तालाई चालु आर्थिक बर्षमा पनि निरन्तरता दिनुपर्ने र स्थानिय सरकारद्वारा नगरपालिकामा कार्यरत कर्मचारीहरुलाई उपलब्ध गराईएका थप सेवा सुविधा सामुदायिक विद्यालयमा कार्यरत प्र.अ, शिक्षक तथा विद्यालय कर्मचारीलाई समेत उपलब्ध गराउनुपर्ने मागहरु राखेर नेपाल शिक्षक महासंघ र नेपाल विद्यालय कर्मचारी नगरसमितिले  संयुक्तरुपमा गोडैता नगरपालिकाका मेयर देवेन्द्र कुमार यादव र  शिक्षा शाखा प्रमुख प्रमोद कुमार यादवलाई ज्ञापनपत्र बुझाएका हुन्।

     श्रम तथा परिश्रमिक सम्बन्धि नेपाल सरकारको प्रतिबद्वता र आर्थिक बर्ष २०७८/०७९ को बजेट वक्तव्य मार्फत बाल विकास शिक्षक र विद्यालय कर्मचारीहरुको न्यूनतम परिश्रमिक १५ हजार तोकेकोमा ८ हजार संघिय सरकार र ७ हजार स्थानिय तहबाट व्यवस्था हुने भनिएपनि कतिपय समाजिक संजालमा सो व्यवस्थामा आशंका उब्जिएकोले नगरपरिषदमा यसको सम्बोधन हुने आशाका साथ  विद्यालय कर्मचारी र बालविकास शिक्षकहरुको संयूक्त बैठकको निर्णय अनुसार ज्ञापनपत्र बुझाएको बताइएको छ ।

      अन्य कर्मचारीको तुलनामा  शिक्षकहरुको तलब थोरै भएका कारण विद्यालयमा कार्यरत कर्मचारीको अवस्था दयनिय र नाजुक हुदै गएका छन ।उनीहरु तलब बारे खुलेर बोल्न समेत लाजमान्नु पर्ने स्थिति रहेको नेपाल शिक्षक महासंघका गोडैताको अध्यक्ष मनोज कुमार यादव ले बताए। नरपालिकामा कार्यरत कर्मचारीलाई संघिय सरकारबाट प्राप्त तलबको २० % थप गरी तलब प्रदान गरिरहेका छन साथै अरु थप सेवा सुविधा समेत प्रदान गरिरहेका छन । तर समाजमा शिक्षाको उज्यालो छर्ने शिक्षकहरु भने नगरपालिकाको कर्मचारी भित्र नपर्नु दुर्भाग्यपुर्ण रहेको यादवले भने ।संघिय,प्रदेश तथा स्थानीय तीनै खाले तहको सरकारबाट शिक्षकहरु प्रति विभेद र शोषण हुदै आएको उनको भनाइ छ ।

     अर्थ मन्त्रालयले जारी गरेको परिपत्रमा पनि बालविकास र विद्यालय कर्मचारीलाई स्थानिय निकायले तलब खुनाउनुपर्ने उल्लेख गरिएकोले  स्थानिय सकारले तत्कालै आफुहरुको  माग सम्बोधन नगरे  अगामी दिनहरुमा बैठक बसी थप दबाबमूलक कार्यक्रम गर्ने आन्दोलनरत शिक्षकहरुले  चेतावनी दिएका छन् । 

     बालविकास र विद्यालय कर्मचारीको तलब स्थानिय सरकारले खुवाउनुपर्ने संघिय सरकारको  निर्णयको नरपालिका संघले विरोध गरिरहेको मेयर  यादव ले बताए । सबै शिक्षकहरुको तलब संघिय सरकारले दिईरहेको अवस्थामा बालविकास र विद्यालयको कर्मचारीको तलब नगरपालिकाले कसरी दिने ? उनीहरूलाई तलब  केन्द्र सरकारले खुवाउनु पर्ने हो, उनले बताए । 

     नगरपालिकाको आन्तरिक आयस्रोत न्यून रहेकोले नगरमा कार्यरत १७ जना  कार्यालय सहयोगी र २ वटा नगरप्रहरीलाई तलब समेत खुवाउन समेत धौधो परिरहेको मेयर यादवले बताए । यस विषयमाथि नगरपरिषदमा छलफल गर्ने र नगरपरिषदको निर्णयनै अन्तिम निर्णय हुने मेयर यादवले बताए ।

Tuesday, June 22, 2021

पुरुषको शव बेवारिसे अवस्थामा फेला पर्यो

 



लोकतन्त्र समाचारदाता---

सर्लाही ,असाढ ८

     सर्लाहीको  चन्द्रनगर गाउँपालिका वडा न-६, मा एकजना पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको छ ।

तराई मुलको जस्तो देखिने अन्दाजी  ५५ वर्षीय   पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।

       मंगलबार फेला परेको उक्त शवको पहिचान हालसम्म हुन नसकेको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।स्थानीयहरुका अनुसार ती व्यक्ति गाउँ टोलमा डुलेर मागेर खाँदै आएका थिए ।


जथाभावी माक्स फाल्ने प्रवृतिले कोरोना संक्रमणको जोखिम

 





मनोज यादव---

सर्लाही ,असाढ ८

   कोरोना भाइरस सङ्क्रमण बढेसँगै  मास्क लगाउनेको संख्यामा  पनि वृद्धि हुँदै गएको छ । मास्क प्रयोग गरिसकेपछि जथाभावी फाल्ने प्रवृत्तिले गर्दा कोरोना संक्रमणको जोखिम पनि त्यतिकै बढाएको छ ।

    सडक, सडकको पेटी ,गल्ली र घरको आँगनमा प्रयोग भएको मास्कहरु जथाभावी फालिएको देखिन्छ । यसरी प्रयोग भइसकेका मास्कको उचित बिसर्जन हुन नसक्दा संक्रमण फैलिन सक्ने विज्ञहरू बताउँछन् । 

‘मास्कको भित्री भागमा थुक, र्याल, सिँगान र बाहिरी भागमा अरुको थुकको छिटा परेको हुनसक्ने भएकाले जथाभावी फाल्दा संक्रमणको जोखिम बढी हुने  स्वास्थ्यकर्मीले भने । प्रयोगमा ल्याइसकेको  मास्कको उचित व्यवस्थापन हुन नसके संक्रमण फैलन सक्ने स्वास्थ्यकर्मीहरुको भनाइ छ ।  मास्क खोल्दा र लगाउनुअघि हात पूर्णरूपमा सेनिटाइज (निर्मलीकरण) वा साबुनपानीले धुनुपर्ने र  मास्कलाई गोलो बनाएर बिर्को लगाएको डष्टबिनमा हाल्नुपर्ने सुझाव स्वास्थ्यकर्मी रामविनय रायको छ ।

     कोरोना संक्रमणसंगै अनिवार्य मास्क लगाउन सरकारले सबैमा अनुरोध गरेको छ। । आफू र अरुलाई रोग सर्न र लाग्न रोक्नका लागि मास्क अनिवार्य गरिएको हो ।

आम नागरिकले मास्कको उचित प्रयोग र बिसर्जन नगर्दा यसको जोखिम बढ्न सक्ने देखिएको छ । मलंगवा नगरपालिका वडा -२ वडा स्वास्थ्य चौकीका प्रमुख संजय यादवले मास्क प्रयोग र बिसर्जन राम्रो नभएको वताए । मास्क प्रयोगको बानी परिनसकेकाले नाकदेखि चिउँडोसम्म टपक्क ढाकेर मास्क लगाउनुपर्नेमा त्यस्तो कम हुने गरेको  उनको भनाइ छ ।उनले भने, “कतिपयले बोल्दा मास्क खोल्ने गर्दछन् । त्यो झन खतरा हो ।” बोल्दा मुखवाट निस्किएको थुकको छिटा अरुलाई परेमा रोग सर्न सक्छ । अप्ठ्यारो शव्द उच्चारण गर्दा मानिसको मुखबाट थुकको छिटा निस्कन सक्ने प्रमुख यादवको भनाइ छ ।मास्कमा धातु र प्लाष्टिक हुने हुँदा ती वस्तुमा किटाणु लामो समयसम्म बस्ने गरेकोले  मास्क जथाभावी फाल्दा संक्रमण फैलन सक्ने सम्भावना बढी हुने उनले बताए। उनका अनुसार माक्समा ४-५ दिन सम्म किटाणु बस्न सक्ने भएकाले माटोमा पुर्ने वा जलाउने गर्नु उपयुक्त हुन्छ । माटोमा २-४ घण्टामा किटाणु नष्ट हुन्छ भने जलेर तत्काल नष्ट हुन सक्छ ।खुल्ला ठाउँमा फालेको मास्क कुकुर, बिरालो लगायतले एक ठाउँबाट अर्को ठाउँमा पु-याउने, पानीमा बगेर संक्रमण फैलन सक्ने र यसबाट जलचरहरु प्रभावित हुन सक्ने उनको भनाइ छ।

     अहिले मानिसले दैनिक रुपमा सर्जीकल र एन—९५ मास्क प्रयोग गर्ने गरेको पाइन्छ । सर्जीकल एक पटक प्रयोग गर्न सकिन्छ भने  एन— ९५ मास्क तीन-चार  पटक  प्रयोग गर्न सकिने बताइएको छ । 

   आम नागरिकले मास्कको उचित प्रयोग र बिर्सजनका वारेमा गम्भीर हुन सकेमा संक्रमण न्यूनीकरणमा ठूलो सहयोग पुग्ने जानकारहरुले बताए । जनमानसमा मास्कको प्रयोग र बिसर्जनबारे व्यापक रुपमा जनचेतना फैलाउनुपर्ने  आवश्यकता रहेको उनीहरूको भनाइ छ ।




Monday, June 21, 2021

कोरोनाले गर्दा यसवर्ष पनि हज यात्रा जानबाट बन्चित सर्लाहीका मुस्लिम धर्मावलम्बी सर्लाही ,असाढ ७

लोकतन्त्र समाचारदाता----                                   सर्लाही ,असाढ ७

    गतवर्षको जस्तै  यस वर्ष पनि  सर्लाहीका मुस्लिम धर्मावलम्बीहरु हज यात्रा जान नपाउने भएका छन् । 

    विश्वब्यापी महामारीको रुपमा रहेको कोभिड-१९ को संक्रमण जोखिमका कारण यसवर्ष (सन् २०२१)का लागि साउदी अरेबियाले आफ्नो मुलुकका ६० हजार मानिसलाई मात्र  हजयात्राको लागि अनुमति दिने निर्णय गरेकोले गतवर्षको जस्तै  यसवर्ष पनि सर्लाहीबाट मुस्लिम धर्मावलम्बीहरु हज यात्रामा जानबाट बन्चित भएका हुन् ।

     नेपाल सरकार गृह मन्त्रालय ,नेपाल हज समितिको सचिवालय बबरमहल,काठमाडौंको पत्रानुसार एक सूचना जारी गर्दै  जिल्ला प्रशासन कार्यालय सर्लाहीले  जिल्ला भरीका मुस्लिम धर्मावलम्बीहरुलाई सो कुराको जानकारी गराएको छ ।

     कोभिड-१९ ले गर्दा  साउदी अरेबियाले लगातार दोस्रो वर्ष  हजयात्राको लागि विदेशी नागरिकलाई अनुमति नदिने भएको हो ।

रसायन हालेर पकाएको भारतीय आँप बजारमा, उपभोक्ता मन्द विषको सिकार बन्दै

 




मनोज यादव---

सर्लाही ,असाढ ७

    रसायन हालेर पकाएको भारतीय आँप सर्लाही जिल्लासहित तराईका   स्थानीय बजारमा खुलेआम बिक्री हुने गरेकाले उपभोक्ताहरु जान्दाजान्दै  मन्द विषको सिकार बनिरहेका छन्। 

    खासगरी प्राकृतिक  रुपमा आँप पाक्ने समय असार महिनाको अन्त्यदेखि साउन/भदौ महिनाको समय भएपनि स्थानीय बजारमा भने बैशाख सुरु भएदेखि नै आँपको बिक्री हुनथालेका छन् ।यहाँका  बजारहरुमा अहिले भारतीय आँपले कब्जा गरेको देखिन्छ ।बजारमा  बिक्रीका लागि ल्याइएका  यस्ता भारतीय आँपको परीक्षण नहुँदा  उपभोक्ताहरु  विषाक्त आँप खान बाध्य छन्  ।रसायन द्वारा पकाइएका आँपका कारण  बजार विषालु बन्दै गएको छ ।जसको  फलस्वरुप उपभोक्ताहरु मन्द विषको सिकार भई विभिन्न रोगबाट प्रभावित भइरहेको  विज्ञको भनाई छ ।

        स्थानीय व्यापारीले बढी मुनाफा लिन भारतबाट आउने यस्ता काँचो आँपमा कारवाइड नामक रसायन राखेर २४ घन्टामै पकाएर बिक्रीका लागि बजारमा लाने  गर्दछन् ।स्थानीय ब्यापारीहरुको मागमा खासगरी छिमेकी मुलुक भारतको दिल्ली लगायतबाट  सीमावर्ती भारतको   व्यापारीहरुले काँचो आँप ल्याउने गरेका छन् ।यसरी मगाएका काँचो आँप गोदाममा भण्डारण गरि २४ घण्टा सम्म कारवाइड नामक हानिकारक रसायनमा राखेर पाकिसकेपछि साना ब्यापारीहरु मार्फत  ठेला,  साइकल र टोकरीमा राखेर बिक्रीका लागि  विभिन्न बजारहरु पठाउने गरेका  छन् । 

     “आफुहरु नेपालको नाकामा रहेका सुरक्षाकर्मी र भन्सारका कर्मचारीलाई उनीहरूले नै तय गरेको  केही निश्चित रकम तिरेर विभिन्न नाकाहरु हुँदै सर्लाहीका बजारहरुमा आँप बिक्रीका लागि ल्याउने गरेको व्यापारीहरु बताउँछन्  ।” 




   बजारमा अहिले  छ्याप्ती–छ्याप्ती रुपमा कारवाइड नामक विषादी हालेर पकाएको आँप खानाले मानव स्वास्थमा प्रतिकूल असर पर्ने, पेट दुख्ने, आँखामा प्रभाव पार्ने, मुटुमा प्रभाव पार्ने, जिब्रो टर्रो हुने, स्वाद नआउने भएकाले  आँप खाँदा यस्ता कुरामा विचार पुर्याउनु पर्ने  चिकित्सकको भनाई छ । 

    भारतबाट काँचो आँप ल्याएर यहाँका गोदामहरुमा भण्डारण गरी  रसायन हालेर पकाइएका  यस्ता मन्द विषयुक्त आँप अहिले बजारमा प्रतिकिलो रु सयदेखि एक सयको २ किलो  बिक्री हुने गरेको छ । 




      प्राकृतिकरुपमा पाक्नुभन्दा पहिले नै बढी आर्थिक लाभ लिन रसायन हालेर काँचो आँपलाई कृत्रिमरुपमा २४ घण्टामै  पकाएर  बिक्री गरिएका   आँप खाँदा स्वास्थ्यमा प्रतिकूल असर पर्ने हुँदा यस्ता आँप बिक्री वितरणमा सम्बन्धित निकायले रोक लगाउनुपर्ने  नागरिक अगुवाहरुले बताए  । 


          


सर्लाहीमा सरकारी तथा गैरसरकारी निकायका प्रमुखहरुले आशन र प्राणायाम गरेर अन्तराष्ट्रिय योग दिवस मनाए

 




लोकतन्त्र समाचारदाता---

सर्लाही ,असाढ ७

     "सुस्वास्थ्यका लागि योगा" भन्ने मुल नाराका साथ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सर्लाहीले सातौं अन्तराष्ट्रिय योग दिवस मनाएको छ ।

    आज (सोमबार) बिहान सदरमुकाम मलंगवा स्थित जिल्ला समन्वय समितिको सभाहलमा एक  कार्यक्रमको आयोजना गरी  योगको महत्व दर्शाउँदै दिवस मनाइएको हो। कार्यक्रममा जि.आ.स्वा.केन्द्रका प्रमुख नन्दकिशोर कुशवाहाले दिवस मनाउन उपस्थित भएका जिल्लाका विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रमुख तथा प्रतिनिधिहरुलाई योग सम्बन्धी आशन र प्राणायामहरु गराएका छन् । उनले शरीरलाई स्वस्थ एवं तन्दुरुस्त राख्नको लागि गरिने केही आशनहरुलाई योग भनेर बुझिने गरेको बताए । “अहिले कोरोना  भाइरसले विश्वलाई नै आक्रान्त तुल्याएको अवस्थामा नियमित योग तथा ध्यान गर्दा शरीरमा शक्ति मिल्ने साथै कोरोना विरुद्ध लड्न फाइदा पुग्ने बताए  ।

     कार्यक्रममा जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरी,प्रमुख जिल्ला अधिकारी हेमराज तामाङ , मलंगवा नगरपालिकाका मेयर निरसल साह, सर्लाही प्रहरी प्रमुख एसपी सन्तोष सिंह राठौर, मलंगवा स्थित नेपाली सेनाका प्रमुख , जिल्ला अस्पतालका मेसु नवल किशोर झा,   जिल्ला स्थित विभिन्न संघसंस्थाका प्रमुख , नागरिक समाजका अगुवा, पत्रकारहरु लगायतको उपस्थिति रहेको थियो ।

     कार्यक्रममा उपस्थित सहभागीहरुले एकदिन मात्र   आशन र प्राणायामहरु गरेर शरिरलाई फाइदा नहुने भएकोले दैनिक रुपमा योगाभ्यास गर्न  गराउनको लागि    नगरमा एउटा छुट्टै ठाउँको व्यवस्था गरी  नगरबासीहरुलाई नियमितरूपमा योगासनतर्फ आकर्षित गर्नुपर्ने आयुर्वेद प्रमुख कुशवाहालाई सुझाव दिएका छन् ।