Saturday, December 30, 2023

सर्लाहीको ३ स्थानमा चेतनाको निःशुल्क आँखा शिविर, ४ सय भन्दा बढी बिरामीको मोतियाबिन्दुको शल्यक्रिया गरियो

 


सर्लाहीको ३ स्थानमा चेतनाको निःशुल्क आँखा शिविर, ४ सय भन्दा बढी  बिरामीको मोतियाबिन्दुको शल्यक्रिया गरियो


मनोज यादव----

सर्लाही,पुस १४

    चेतना मलंगवाको आयोजनामा सर्लाही जिल्लाको तीन वटा पालिकामा भएको  निःशुल्क आँखा परिक्षण तथा मोतियाबिन्दुको शल्यक्रिया शिविरबाट  १ हजार ६ सय ५० जना स्थानीय बिरामीहरुले सेवा लिएका छन् ।जिल्लाको हरिपुर्वा नगरपालिका तथा  ब्रम्हपुरी गाउँपालिका र पर्सा गाउँपालिका सम्पन्न भएको नि:शुल्क शिविरमा आँखा परिक्षण गराएका १ हजार ६ सय ५० जना मध्येबाट ४ सय ३४ जना बिरामीहरुको मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ ।  

   चेतनाको आयोजना एवं  कतार च्यारेटीको  प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो।

    पुस ११ गते ब्रम्हपुरी गाउँपालिका,१२ गते हरिपुर्वा नगरपालिका र १३ गते पर्सा गाउँपालिकासँगको समन्वयमा सम्बन्धित पालिकाको नोकैल्वा,डुमरिया र सितलपुर गाउँमा चलेको आँखा शिविरमा बिरामीहरुको आँखा जाँच गरि शिविर स्थलमै औषधि र चस्मा वितरण गरिएको थियो भने जाँचको क्रममा फेलापरेका मोतिबिन्दुका बिरामीहरुलाई सदरमुकाम मलंगवा स्थित रहेको मलंगवा आँखा अस्पतालमा लगेर नि:शुल्क शल्यक्रिया गरिएको थियो ।

    आँखा उपचारको पहुँच र आर्थिक अभावमा लामो समयदेखि दृष्टिविहिन बस्न बाध्य भएका बिरामीहरुको लागि उनीहरूको  घर आँगनमै पुगेर उपचार सेवा दिएको भन्दै पर्सा गाउँपालिकाका गाउँपालिका प्रमुख धिरेन्द्र यादव विस्पतले आयोजक संस्थालाई  धन्यवाद समेत दिएका छन् । शिविरमाआँखा जाँच गराउन आएका बिरामीहरुले पनि स्वास्थ्यकर्मी तथा चिकित्सकहरुलाई धन्यवाद दिंदै  यस किसिमको शिविर प्रत्येक वर्ष संचालन गर्न सुझाव दिएका थिए।

   कोहि पनि नागरिक पहुँच र आर्थिक अभावमा दृष्टिविहिन भएर बस्न नपरोस् भन्ने हेतुले प्रत्येक वर्ष यसै समयमा कतार च्यारेटीको आर्थिक सहयोगमा निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविरहरु संचालन गर्दै आइरहेको चेतना मलंगवाका कार्यक्रम संयोजक चन्दन कुमार कर्णले बताए । उनले गएको वर्षहरुको तुलनामा यसवर्ष मोतियाबिन्दुका बिरामीहरुको संख्या अलिबढी भएको बताए ।

    आँखाको शल्यक्रिया गराएका बिरामीहरु पहिलाको भन्दा अहिलेको हेराइमा धेरैनै सहज महसुस भएको बताएका छन् ।

   संस्थाले  शल्यक्रिया गराउने बिरामीहरुलाई घरदेखि अस्पतालसम्म लान र अस्पतालदेखि घरसम्म पुर्याउन नि:शुल्क  बसको ब्यवस्थाको साथै बिरामी र कुरुवाहरुको लागि खाना र बासको समेत ब्यवस्था गरेका थिए।

   


Friday, December 29, 2023

ईश्वरपुरमा १५ वटै वडाका विद्यालयका विद्यार्थीका निःशुल्क आँखा परीक्षण हुने

 ईश्वरपुरमा १५ वटै वडाका विद्यालयका विद्यार्थीका निःशुल्क आँखा परीक्षण हुने 


प्रकाश मैनाली ----

सर्लाही,पुस १३

      सर्लाहीको ईश्वरपुर नगरपालिकामा रहेका १५ वटा वडाा ३८ वटै सामुदायिक विद्यालयका विद्यार्थीको निःशुल्क आँखा परीक्षण हुने भएको छ । 

   भरतपुर आँखा अस्पताल, नेपाल नेत्रज्योति संघ भरतपुर र आँखा उपचार केन्द्र ईश्वरपुरको संयुक्त आयोजनामा आगामी माघ मध्यबाट विद्यार्थीको आँखाको उपचार गरिनेभएको छ । त्यसका लागि शुक्रवार ३८ वटै विद्यालयका शिक्षकलाई प्रशिक्षण दिएर पठाइएको छ । ती शिक्षकले अब विद्यालयमा गएर विद्यार्थीको आँखाको प्राथमिक परीक्षण गर्ने र समस्या देखिएका बिरामीलाई शिविरमा ल्याएर औषधि उपचार गर्ने निर्णय गरिएको छ । 

    माघ १४ गतेदेखि २९ गतेसम्म क्रमश: वडा नं. १ देखि १३ सम्मका विद्यालयक विद्यार्थी तथा फागुन ३ गते वडा नं. १४ र फागुन १५ गते वडा नं. १५ का विद्यार्थीका लागि बयलवास ल्याएर आँखा परीक्षण, उपचार र निःशुल्क औषधि वितरण गर्ने मिति तय गरिएको हो । शुक्रवार भएको छलफलमा ईश्वरपुरका नगरप्रमुख मनोजकुमार आचार्य, नेपाल नेत्रज्योति संघ भरतपुरका रमेश घिमिरे, विष्णु हरि मैनाली, शिक्षा शाखाका प्रमुख हरि दाहाल, स्वास्थ्य शाखाका प्रमुख सुगेन्द्र महतोलगायतको सहभागीता रहेको थियो।

 

Monday, December 25, 2023

विद्यालय व्यवस्थापन समिति गठनमा अभिभावक र विद्यार्थीहरुको असन्तुष्टि अयोग्य व्यक्तिलाई अध्यक्ष बनाएको उनीहरूको आरोप

 विद्यालय व्यवस्थापन समिति गठनमा अभिभावक र विद्यार्थीहरुको असन्तुष्टि

   अयोग्य  व्यक्तिलाई अध्यक्ष बनाएको उनीहरूको आरोप


मनोज यादव---

सर्लाही,पुस ९

       सर्लाही जिल्लाको सदरमुकाम मलंगवा नगरपालिका नजिकै र नेपाल भारत सीमा छेउमै पर्ने ब्रह्मपुरी गाउँपालिका वडा न– ४ त्रिभुवननगर स्थित रहेको श्री सुराज माध्यमिक विद्यालयको व्यवस्थापन समिति चयनमा विद्यालय प्रशासन  र राजनीतिक दलले  हस्तक्षेप गरेको भन्दै विद्यार्थी र अभिभावकहरुले आपत्ती जनाउँदै विरोध  गरेका छन् । विद्यालय व्यवस्थापन समिति गठनका विषयमा सनिवार आयोजना गरिएको अभिभावक भेलामा प्राधानाध्यापक रघुनन्दन यादवले केही राजनीतिक दलका स्थानीय नेताहरु सँग मिलेमतो गरि अयोग्य  व्यक्तिलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा चयन गरेको भन्दै अध्यनरत विद्यार्थी तथा अभिभावकहरुले आपत्ती जनाएका हुन्।

      वि.सं २०१७ सालमा स्थापना भएको यस  विद्यालय भित्र हुने राजनीतिक चलखेलका कारण  विद्यालयको शैक्षिक अवस्था दयनीय बनेको अभिभावकहरुले बताए छन् । बस्तीको बिचमा अवस्थित यो विद्यालय स्थापना कालदेखि नै कम्पाउण्ड विहिन रहँदै आएको छ । कम्पाउण्ड नहुँदा स्थानीय गाउँलेहरु आ–आफ्ना पशुचौपाया लगेर विद्यालयको हाता भित्र चराउने र बाँध्ने गरेका छन् । विद्यार्थीहरु पनि पठाइ बिचमै छाडेर भाग्ने गरेका छन् ।

    दरबन्दी अनुसार विद्यालयमा शिक्षक शिक्षिकाहरुको पनि कमि रहेका छन् ।जसका कारण दैनिक ३ देखि ४ घण्टी खाली रहने गरेको विद्यार्थीहरुले बताएका छन् । विषयगत शिक्षकको समेत कमि रहेकाले एउटै विषय ३ –४ जना शिक्षकहरुले पढाउँदै आएका छन् । अंग्रेजी, नेपाली , गणित, विज्ञान लगायतका मुख्य विषयको शिक्षक नहुँदा अन्य विषयका शिक्षकले ती विषय पढाउने गरेको विद्यार्थीहरुले बताए । विद्यालयमा १२ वटा कम्पियुटरहरु रहेता पनि खरिद गरेर ल्याएको २ वर्षको अवधीमा हालसम्म १ घण्टी पनि कम्पियुटर विषयको पढाइ नभएको विद्यार्थीहरुले गुनासो गरे।

    स्थानीय अभिभावक राम ईश्वर साहले सुराज माद्यामिक विद्यालय धेरै पुरानो विद्यालय रहेकोले त्रिभुवननगर र आसपासका केही गाउँका विद्यार्थीहरु मावि तहसम्मको पढाइको लागि यसै विद्यालयमा जाने गरेको बताए। पहिले देश जनप्रतिनिधि बिहिन बन्दा यो विद्यालय लथालिङ्ग अवस्थामा रहेको थियो ।अहिले स्थानीय सरकारको मातहतमा आएपनि अवस्था जस्ताको त्यस्तै रहेको उनको भनाइ छ ।

राजनितीक चलखेलका कारण विगत चारवर्षदेखि व्यवस्थापन समितिविहिन बन्दै आएको यस विद्यालयमा लामो प्रयास पछि बल्लतल्ल गठन गरिएको समितिमा अयोग्य व्यक्तिलाई समितिको अध्यक्ष र सदस्यमा चयन गरेर विद्यालय र विद्यार्थीहरुको भविष्य सँग खेलवाड गर्ने काम भएकोले यसलाई तुरुन्त सच्याएरअगाडी बढ्नु पर्ने विद्यार्थी रअभिभावकहरुको संयुक्त माग रहेको छ।

     प्र.अ यादवका अनुसार आफुले विद्यालयबाट सूचना जारी गरेर विद्यार्थीहरु मार्फत प्रत्येक अभिभावकलाई विद्यालय व्यवस्थापन समिति गठनको विषयमा जानकारी गराएको साथै ठाउँठाउँमा सूचना समेत टाँस्न लगाएर शनिवार अभिभावक भेला गरेर सबैजनाको सहमतिमा समिति गठन गरिएको हो।











 

Saturday, December 23, 2023

बलरा र गोडैता नगरपालिकामा नगरस्तरिय परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न

 बलरा र गोडैता नगरपालिकामा नगरस्तरिय परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न



लोकतन्त्र समाचारदाता---

सर्लाही,पुस ७

    सर्लाहीको बलरा र गोडैता नगरपालिकामा नगरस्तरिय परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न भएको छ।

  बलरामा बलरा नगरपालिकाको आयोजना तथा नगर प्रमुख रामाशंकर प्रसाद कुशवाहाको अध्यक्षता र उपप्रमुख कोशिला देवी ,प्रमुख प्रशासकीय अधिकृत सुशील कुमार साह,राष्ट्रिय रोजगार प्रबर्द्धन केन्द्र मलंगवाकी  अध्यक्ष गायत्री देवी महतो, परियोजना संयोजक संजिब कुमार चौधरी ,वडा न-७ का वडाअध्यक्ष,पालिकाका अन्तर्गतका विभिन्न शाखाका शाखा अधिकृत तथा संस्थाका कर्मचारीहरु लगायतको उपस्थितिमा संयुक्त अनुगमन बलरा न.पा को समन्वयमा प्रबर्द्धन केन्द्र मलंगवा र सेभ द चिल्ड्रेनको सहयोगमा  संचालित समुन्नति कार्यक्रम अन्तर्गत बलरा न.पा को वडा न-५ स्थित रहेको श्री शितला माई प्रा.वि को Deep tubewell को कार्य र सोही वडाको हरित गाउँ ,वडा न-९ को सीताराम आधारभुत विद्यालयमा कक्षा कोठा मर्मत सम्भार कार्य र सोही वडाको प्राथमिक स्वास्थ्य केन्द्रमा संयुक्तरूपमा अनुगमन गरि आउने दिनहरुमा पालिका पनि संयुक्तरूपमा कार्य गरि शिक्षा,स्वास्थ्य ,कृषि गुणस्तरात्मक सुधार ल्याउने भन्दै बालबालिकाको विषयलाई पनि प्राथमिकतामा राख्ने भनि नगरप्रमुख द्वारा प्रतिबद्धता जनाइएको थियो।

  कार्यक्रममा संस्थाहरुले वर्ष भरीमा गरेका कार्यहरुको समीक्षा गरि सहभागीहरु सँग सुझाव समेत संकलन गरि आउने दिनहरुमा शिक्षा र स्वास्थ्यको क्षेत्रलाई सबै मिलेर राम्रो बनाउने प्रतिबद्धता गरेका थिए।

   यस्तै गोडैतामा गोडैता नगरपालिकाको आयोजना तथा प्रमुख प्रशासकीय अधिकृत रमेश प्रसाद यादवको अध्यक्षतामा,राष्ट्रिय रोजगार प्रबर्द्धन केन्द्र मलंगवाकी  अध्यक्ष गायत्री देवी महतो, सेभ द चिल्ड्रेनका परियोजना संयोजक कान्ति खडका,प्रबर्द्धन केन्द्रका परियोजना संयोजक  संजिब कुमार चौधरी ,वडा न-८ का वडाअध्यक्ष,,पालिकाका अन्तर्गतका विभिन्न शाखाका शाखा अधिकृत ,बाल क्लन संजाल तथा विभिन्न  संस्थाका कर्मचारीहरु लगायतको उपस्थितिमा संयुक्त अनुगमन गोडैता न.पा को समन्वयमा प्रबर्द्धन केन्द्र मलंगवा र सेभ द चिल्ड्रेनको सहयोगमा  संचालित समुन्नति कार्यक्रम अन्तर्गत वडा न-४ रोहुवामा व्यवसायमुलक तालिम ,बर्थिङ्ग सेन्टर,वडा न-९ को मदिना हरियाली कृषक समूह ,वडा न-११ को श्री भोथी कपलेश्वर आधारभुत विद्यालयमा कक्षा कोठा मर्मत सम्भार कार्यको संयुक्तरूपमा अनुगमन गरिएको छ।

   अनुगमन गरिसके पश्चात् बैठक कक्षमा  अनुगमन गरिएका क्षेत्रहरुको समीक्षा गर्दै आफु पनि ती क्षेत्रहरुमा सहयोग गरि अझ प्रभावकारी बनाउने घोषणा गर्नुका साथै संस्थाहरुले वर्ष भरीमा गरेका कार्यहरुको समीक्षा गरि सहभागीहरु सँग सुझाव समेत संकलन गरि यस पालिकालाई नमुना पालिका बनाउनको लागि आउने दिनहरुमा शिक्षा ,स्वास्थ्य सरसफाइ र बाल संरक्षण जस्ता क्षेत्रमा सबै संस्थाहरु लगायत पालिकाको पनि संयुक्त  लगानीमा कार्यहरु गरि आउने दिनहरुमा अनुगमनको क्षेत्रलाई अझ प्रभावकारी बनाउन हरेक क्षेत्रमा सुधार गर्ने साथै विभिन्न कृषक समूह, बाल क्लब साथै नीति नियम बनाउने काममा बढी ध्यान दिंदै कार्य गर्ने प्रप्रअ यादवले घोषणा गरे।

डिस होम कोपरेट सुपर सिक्स क्रिकेटमा मलंगवाका १० टिम खेल्दै

 डिस होम कोपरेट  सुपर सिक्स क्रिकेटमा मलंगवाका १० टिम खेल्दै



लोकतन्त्र समाचारदाता---

सर्लाही,पुस ७

    डिस होम फाइबर नेट कोपरेट सुपर सिक्स  क्रिकेट टुर्नामेट सोमबारदेखि सर्लाहीको सदरमुकाम मलंगवामा शुरु हुँदैछ । पुस ९ गतेदेखि  १० गतेसम्म आयोजना हुने प्रतियोगितामा मलंगवाका १० वटा बैंकहरुले प्रतिस्पर्धा गर्ने छन् ।

   १० वटा टिमलाई २ समूहमा विभाजन गरिएको प्रतियोगिताका सबै खेल मलंगवा नगरपालिका वडा न-१० स्थित तिनबिघे मैदानमा संचालन हुने आयोजक डिस होम फाइबर नेटका अधिकृत बिक्रेता लक्ष्मी इन्टरप्राइजेजका संचालक सुवास गुप्ताले जनाएको छ।

   सहभागि टोलीहरुमा कुमारी बैंक ,सहारा मल्टिपर्पस,नविल बैंक ,राजश्री सेविंग्स एण्ड क्रेडिट ,मलंगवा नगरपालिका ,हिमालयन बैंक ,एनएमबी बैंक ,प्रभु बैंक,प्रोग्रेसिभ फाइनान्स र  एनआईसि एसिया रहेका छन् ।


Tuesday, December 19, 2023

मलंगवामा अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस २०२३ मनाइयो

 


मलंगवामा अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस २०२३ मनाइयो 



लोकतन्त्र समाचारदाता---

सर्लाही,पुस ३

    सर्लाहीको सदरमुकाम  मलंगवामा अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस २०२३ विभिन्न कार्यक्रमहरु गरि मनाइएको छ।"आप्रवासीको योगदानको कदर र अधिकारको सम्मान"भन्ने नाराका साथ मलंगवा नगरपालिकाको आयोजनामा यो दिवस मनाइएको हो।

   दिवसको अवसरमा प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाको अध्यक्षतामा सुरक्षित आप्रवासन कार्यक्रम अन्तर्गत  सुरक्षित वैदेशिक रोजगारीको लागि आप्रवासी श्रमिक  सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिएको छ। मलंगवा नगरपालिकाको सभा हलमाभएको कार्यक्रममा वैदेशिक रोजगारको बर्तमान अवस्था, चुनौती तथा अवसरहरुका बारेमा अन्तरक्रिया गरिएको थियो।  अन्तरक्रिया पश्चात् नगरपालिका चौकमा दिप प्रज्वलन समेत गरिएको थियो।

   नगरपालिकाका शाखा अधिकृत राम पुकार यादवले संचालन गरेको  कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख कौशल किशोर सिंह,नगर उपप्रमुख शकुन्तला देवी साह,प्रमुख प्रशासकीय अधिकृत रंजित कुमार यादव ,सूचना अधिकृत राजकुमार अधिकारी,प्रहरी उपरीक्षक ,नेपाली काँग्रेस नहर कमिटी अध्यक्ष चन्द्र किशोर साह,वडा न-१२ का वडाअध्यक्ष राम दरेश यादव,सामी हेल्भेटासका प्रतिनिधि ,मानवअधिकारकर्मी मुकेश मिश्र,नगरपालिकाका कर्मचारीहरु तथा पत्रकारहरु लगायतको उपस्थिति रहेको थियो।


Saturday, December 16, 2023

अचलगढ प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

 अचलगढ प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामाग्री हस्तान्तरण 

  

लोकतन्त्र समाचारदाता----

सर्लाही,मंसिर ३०

    सर्लाही जिल्लाको बलरा नगरपालिका  अन्तर्गतको अचलगढ प्राथमिक स्वास्थ्य केन्द्र  (PHC)लाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा राष्ट्रिय रोजगार प्रबर्द्धन केन्द्र मलंगवाले PHC का इन्चार्ज नितेश कुशवाहालाई विभिन्न स्वास्थ्य सामाग्रीजरु हस्तान्तरण गरिएको हो ।

   स्वास्थ्य सामाग्रीहरूमा Baby warmer,IV stand,Perilight,Emergency medicine trolley लगायतका सामाग्रीहरु हस्तान्तरण गरिएको संस्थाले जनाएको छ।

मलंगवामा सिकाई अनुभव आदानप्रदान कार्यक्रम सम्पन्न

 


मलंगवामा सिकाई अनुभव आदानप्रदान कार्यक्रम सम्पन्न



लोकतन्त्र समाचारदाता----

सर्लाही,मंसिर ३०

     सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिकामा सहयात्रा र एक्टिभ परियोजना मार्फत समावेशी शिक्षामा प्राप्त सिकाई अनुभव आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (NEC Nepal)को आयोजना र भि.एस.ओ को प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो।

      NEC Nepal का सर्लाही जिल्ला संयोजक राजेश पासवानको अध्यक्षतामा भएको कार्यक्रममा भि.एस.ओ का कार्यक्रम व्यवस्थापक श्याम सिंह धामी र परामर्शदाता रेवती ढकालले परियोजनाको बारेमा जानकारी गराउनुका साथै विद्यालय शिक्षा सम्बन्धि कानुनलाई संशोधन र एकिकरण गर्न बनेको विधेयक २०८० मा शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल लगायत शिक्षा र बालबालिकाको क्षेत्रमा कार्यरत नागरिक समाजका विभिन्न संघसंस्था तथा शिक्षाविद् द्वारा एकीकृत रुपमा तयार पारिएको दफादार टिप्पणीहरुको सम्बन्धमा अनुभव आदानप्रदान गर्दै सुझाव संकलन गरेका थिए।

   शुक्रवार मलंगवा स्थित सुजाता होटलमा सम्पन्न भएको कार्यक्रममा ,मलंगवा नगरपालिकाकी उपप्रमुख शकुन्तला देवी साह,NEC Nepal का केन्द्रीय सचिव टेकराज अवस्ति,मलंगवा न.पा का प्रतिनिधि राम पुकार राय,नागरिक समाज सर्लाहीका अध्यक्ष उग्रकान्त झा,बाल कल्याण समाजका अध्यक्ष सुन्दर श्याम यादव,नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका सदस्य प्रमोद पासवान ,राम गुलाम मावि भाँडसरका प्राधानाध्यापक मनोज कुमार कुशवाहा,महिला अधिकारकर्मी ममता साह लगायत ३० जनाको सहभागीता रहेको थियो।

    प्रदेश स्तरमा मुख्यमन्त्रीको उपस्थितिमा सुझाव संकलन तथा अध्यन प्रतिवेदन माथि छलफल गर्न मंसिर ३० गते जनकपुरघाममा पनि कार्यक्रम हुने आयोजकले जनाएको छ।


मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि वार्षिक पुर्व समीक्षा कार्यक्रम सम्पन्न

 


मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि वार्षिक पुर्व समीक्षा कार्यक्रम सम्पन्न



लोकतन्त्र समाचारदाता----

सर्लाही,मंसिर ३०

   नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि संकलन गरिएका  घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा शुक्रवार सर्लाहीको सदरमुकाम मलंगवामा सम्पन्न भएको छ।

   कार्यक्रममा इन्सेक सर्लाही जिल्ला प्रतिनिधि बुधन साहले ०७९ साल पुस १७ गतेदेखि २०८० साल मंसिर २६ गतेसम्म संकलन गरिएका जम्मा १४७ वटा घटनाहरु प्रस्तुत गरेका थिए।

    एकवर्षको अवधिमा सर्लाही जिल्लामा परिवार जनबाट हत्या  ३,अन्यबाट हत्या २,दुर्ववहारका घटना ४ ,बलात्कार, बलात्कार प्रयास बालिका र महिलाहरु गरि जम्मा ५२ वटा घटना, मानव बेचविखनको ४, तोडफोडका ३,बहुविवाहका ९,बोक्सीको ५,झडप तथा कुटपिटका ९,दाइजो प्रथाका ६,जातिय विभेदका ५,गोली प्रहार अपरिचितबाट १,घरेलु हिंसाका ४२ र अपहरणको प्रयासका २ वटा घटनाहरु भएको जिल्ला प्रतिनिधि साहले जानकारी गराएका थिए। कार्यक्रममा प्रस्तुत गरिएका घटनाहरुमा ३१ जनाको गिरफ्तारी भएको साहले जानकारी गराए।

   जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न भएको कार्यक्रममा मलंगवा नगरपालिकाकी उपप्रमुख शकुन्तला देवी साह,प्रमुख जिल्ला अधिकारी,कोमल प्रसाद धमला,मानवअधिकारको क्षेत्रमा कामगर्ने विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि लगायतको सहभागीता रहेको थियो।


Thursday, December 14, 2023

एकैसाथ १२ हजार ब्यक्तिलाई रोजगारी दिएको नेपालको नम्बर १ सहकारी संस्था राजश्रीको शेयर पूंजी ७४ करोड भन्दा बढी

 

एकैसाथ १२ हजार ब्यक्तिलाई रोजगारी दिएको नेपालको नम्बर १ सहकारी संस्था राजश्रीको शेयर पूंजी ७४ करोड भन्दा बढी

मनोज यादव----

सर्लाही,मंसिर २८

     एकैसाथ १२ हजार व्यक्तिहरुलाई प्रत्येक्ष रोजगारी दिन सफल नेपालकै सबै भन्दा ठूलो तथा प्रथम स्थान ओगट्न सफल सर्लाहीको मलंगवामा रहेको राजश्री सेविंग्स एण्ड क्रेडिट को–आपरेटिभ सोसाइटी लिमिटेडको २३ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बुधबार मलंगवा स्थित सुजाता होटलमा आयोजित एक समारोहबीच राजश्रीको साधारणसभा सम्पन्न भएको हो ।

   पुर्वमन्त्री  रामचन्द्र रायको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा  संस्थाका कार्यकारी अध्यक्ष नागेन्द्र प्रसाद यादवले आर्थिक वर्ष २०७९/०८० को आय–व्यय प्रस्तुत गरेका थिए ।अध्यक्ष यादवले प्रस्तुत गरेको वासलातमा उल्लेख भए अनुसार संस्थाको एक वर्षको अवधिको निक्षेप संकलन १६ अर्व २५ करोड १४ लाख ३३ हजार रुपैयां रहेको छ भने श्रृण लगानी  १३ अर्ब ६ करोड ५७ लाख ९९ हजार रुपैया रहेको  छ । संस्थाले सोही आर्थिक वर्षमा ७६ लाख २० हजार ४ सय ४६ रुपैयां नाफा कमाएको अध्यक्ष यादवले जानकारी दिए ।

    कार्यक्रममा स्वागत मन्तव्य राख्दै प्रबन्ध निर्देशक राम लक्षण रायले राजश्री नाफामा गएको संस्था रहेको बताउँदै संस्थालाई नाफामा पुर्याउन र देशमै नम्बर एक बनाउनमा सहयोग पुर्याउन सम्पुर्ण कर्मचारी, सेयरधनी, बचतकर्ता, फिल्ड कर्मचारीहरुको ठूलो योगदान रहेको भन्दै संस्थाको तर्फबाट धन्यवाद दिएका थिए। सोही अवसरमा संस्थाको तर्फबाट कार्यकारी अध्यक्ष यादवले संस्थाको सेवा केन्द्र  मलंगवामा सबै भन्दा बढी ५ करोड ७८ लाख रुपैया निक्षेप असुल गरेर उत्कृष्ट फिल्ड कर्मचारी बन्न सफल भएका मलंगवाका खुशीलाल यादवलाई कदरपत्र र पुरस्कारद्वारा सम्मानित गरेका थिए ।यादवसंगै दोस्रो स्थान हासिल गरेका राकेश मल्लिक र तेस्रो स्थान हासिल गर्न सफल भएका संतोष साहलाई पनि कार्यकारी अध्यक्ष यादवले कदर पत्र र पुरस्कारद्वारा सम्मानित गरिएको थियो ।

पूर्व मन्त्री  रामचन्द्र रायको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथि मधेस प्रदेश सांसद कौशल किशोर राय, पुर्व सांसद लक्षमण राय, राजश्रीका मुख्य प्रबन्धक राजनहरी श्रेष्ठ ,समाजसेवी एवं व्यापारी संजय गुप्ता , संस्थाका उपाध्यक्ष सत्यनारायण अग्रवाल, संचालक समितिका सदस्य, विभिन्न सेवा केन्द्रका कार्यालय प्रमुख, कर्मचारी, सेयरधनी, बचतकर्ता तथा पत्रकारहरु लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा सगरमाथा आवासीय प्राथमिक  विद्यालय मलंगवाका विद्यार्थीहरुले विभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए भने कार्यक्रमको संचालन सुवोधहरि राजोपाध्यायले गरेका थिए।






सर्लाहीको हरिपुर्वामा गोली चलाएर सहकारीका एक कर्मचारीसँग ५ लाख लुटियो

 सर्लाहीको हरिपुर्वामा गोली चलाएर सहकारीका एक कर्मचारीसँग ५ लाख लुटियो


मनोज यादव---

सर्लाही,मंसिर २८

    सर्लाहीको हरिपुर्वामा अज्ञात लुटेराहरुले गोली चलाएर सहकारी संस्थामा कार्यरत एक कर्मचारीसँग ५ लाख  रुपैयाँ लुटेर फरार भएको छ। 

हरिपुर्वा नगरपालिका वडा न–५ स्थित जयगंगा बचत तथा ऋण सहकारीको शाखा कार्यालय बसन्तपुरका लागि एनआइसी बैंकबाट निकालिएको ५ लाख रकम लूटपाट भएको हो । 

   हरिपुर्वा स्थित एनआइसी बैंकबाट जयगंगा सहकारी बसन्तपुर शाखाका प्रवन्धक रामनाथ राय र त त्यहाँ कार्यरत कर्मचारी नीरा रायले ५ लाख नगद झिकीशाखा कार्यालय तर्फ जाने क्रममा हरिपुर्वा वडा न–६ हनुमान चोक नजिकबाट हवाइ फायर गरेर लूटपाट भएको जयगंगा सहकारीकाअध्यक्ष गणेश कुमार यादवले बताए । उनका अनुसार बैंकबाट पैसा भिकेर ना १५ प ९८९२ नम्बरको मोटरसाइकलमा जाँदै गरेका शाखा प्रवन्धकको टोलीलाई नम्बर नखुलेको अपाचे मोटरसाइकलमा सवार दुई जनालेले रोकेर पैसाको झोला मागेका थिए । पैसाको झोला दिन नमानेपछि लूटेरा समुहले हवाई फायर गरेर पैसा बोकेको झोला खोसेर छिमेकी जिल्ला महोत्तरी तर्फ फरार भएका थिए।

   प्रहरीले लुटपाटमा संलग्नको खोजी कार्य तीव्र पारेको जनाएको छ ।प्रहरीको टोली  हरिपुर्वा आसपासका क्षेत्रमा आवतजावत गरिरहेका मोटरसाइकलहरुलाई रोकेर कडाईका साथ चेकजाँच गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी  दिपेन्द्र पंजियार थारुले जानकारी दिए। 

Monday, December 11, 2023

सर्लाहीको मलंगवा र कौडेनामा पालिका स्तरमा नीतिगत पैरवी कार्यक्रम सम्पन्न

 


सर्लाहीको मलंगवा र कौडेनामा पालिका स्तरमा नीतिगत पैरवी कार्यक्रम सम्पन्न

लोकतन्त्र समाचारदाता----

सर्लाही,मंसिर २५

     EU को आर्थिक सहयोग  तथा  VSO को नेतृत्वमा जनजागरण युवा क्लब (JJYC)बारा द्वारा संचालित सहयात्रा परियोजना अन्तर्गत सोमबार सर्लाहीको मलंगवा र कौडेनामा नीतिगत मुल प्रवाहिकरणका लागि पालिका स्तरमा नीतिगत पैरवी कार्यक्रम सम्पन्न भएको छ।कौडेनामा गाउँपालिका उपाध्यक्ष नगीना देवीको प्रमुख आतिथ्यता तथा मलंगवा र कौडेनामा  युवा क्लबका कोषाध्यक्ष सियाराम यादवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।



     सोमबार मलंगवा नगरपालिका र कौडेना गाउँपालिकामा भएको कार्यक्रममा  शिक्षालाई मुलप्रवाहिकरण गर्न ,लैंगिक प्राथमिकतामा आधारित बजेट विनियोजन गर्न र अनिवार्य शिक्षा ऐन २०७५ को दफा १९ अनुसार २०८५ बैशाख १ गतेसम्म सबैले कसरी आधारभूत शिक्षा हासिल गर्न सक्छन भन्ने विषयमा सरोकारवालाहरु सँग वृहत् रुपमा छलफल गरिएको थियो। छलफलको क्रममा सहभागीहरुले स्थानीय तहहरुले नि:शुल्क रुपमा सार्वजनिक शिक्षा प्रदान गर्नु पर्ने साथै शिक्षालाई प्रविधि मैत्री बनाउनु पर्नेमा जोड दिएका थिए। यसमा अभिभावकहरुलाई पनि उत्तिकै सचेत हुनपर्ने  उनीहरूको भनाइ थियो।

    मलंगवा नगरपालिकाको वडा न-३ स्थित महेन्द्र होटलमा भएको कार्यक्रममा JJYC का कार्यक्रम प्रबन्धक मनोज यादव,भिएसओ का देवी न्यौपाने ,प्रेरणाका कार्यसमिति सदस्य मुकेश झा,संयोजक राजु लामा,कौडेना गा.पा का प्रमुख प्रशासकीय अधिकृत शम्भु प्रसाद यादव,शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (NCE Nepal)सर्लाहीका संयोजक राजेश पासवान,मलंगवा नपा र कौडेना गापा का कार्यपालिका सदस्यहरु,वडाअध्यक्षहरु,विभिन्न शाखाका शाखा प्रमुखहरु र नागरिक समाजका अगुवाहरु लगायतको सहभागीता रहेको थियो।

 

७५ औं मानवअधिकार दिवसको अवसरमा मलंगवा नगरपालिकाका नगरप्रमुख नागेन्द्र प्रसाद यादव सम्मानित

 ७५ औं मानवअधिकार दिवसको अवसरमा मलंगवा नगरपालिकाका नगरप्रमुख नागेन्द्र प्रसाद यादव सम्मानित 

  

लोकतन्त्र समाचारदाता ----

सर्लाही,मंसिर २५

   ३२ औं अन्तर्राष्ट्रिय लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रमहरु गरि आइतवार मलंगवामा सम्पन्न भएको छ। ७५ औं मानवअधिकार दिवसको अवसरमा मलंगवा नगरपालिकाले नगर प्रमुख नागेन्द्र प्रसाद यादवको अध्यक्षता तथा मधेस प्रदेश सांसद कौशल किशोर रायको प्रमुख आतिथ्यतामा  आयोजना गरेको कार्यक्रमका बिच १६ दिने अभियानको समापन गरिएको हो।

     मलंगवा स्थित महेन्द्र होटलमा भएको कार्यक्रममा आयोजक नगरपालिकाले लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानलाई सफल बनाउन आ-आफ्नो स्तरबाट सहयोग पुर्याएका नगरप्रमुख यादवसहित वडा न-१ का वडाअध्यक्ष नवल किशोर राय,वडा न-२ का वडाअध्यक्ष धिरेन्द्र साह र वडा न- ३ का वडाअध्यक्ष प्रमोद रायलाई कदरपत्रसहित दोसल्ला ओढाएर सम्मान गरेका थिए।मंसिर ९ गतेदेखि मंसिर २४ गतेसम्म चलेको लैंगिक हिंसा  विरुद्धको १६ दिने अभियानको अवधीभर अभियानलाई सफल बनाउन सहकार्य गरेका शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल  ( NCE Nepal ) सर्लाही ,ओरेक सर्लाही ,नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ (NNDSWO ) ,मानव अधिकार रक्षक  संजाल ,साप नेपाल ,पहिचान नेपाल लगायत दुई दर्जन स्थानीय साझेदार संस्थालाई पनि सोही अवसरमा कदरपत्रका सम्मानित गरिएको थियो।

   कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमला,प्रहरी उपरीक्षक प्रविण धिताल,नेपाली सेनाका सेनानी राजन कँडेल ,राष्ट्रिय अनुसंधान सर्लाहीका प्रमुख संतोष ढुंगेल , मलंगवा नगरपालिका अन्तर्गत विभिन्न वडाका वडाअध्यक्ष,विभिन्न गैरसरकारी संघसंस्थाका प्रमुख तथा प्रतिनिधि ,मानवअधिकारकर्मी,समाजसेवी ,पत्रकार लगायतको उपस्थिति रहेको थियो।

   कार्यक्रमको संचालन मैथिली गायक संतोष कर्णले गरेका थिए।

Friday, December 8, 2023

बलरामा स्वास्थ्य तथा पोषण सम्बन्धि नीति निर्माणको लागि सुझाव संकलन

  बलरामा स्वास्थ्य  तथा पोषण सम्बन्धि नीति निर्माणको लागि सुझाव संकलन 



लोकतन्त्र समाचारदाता---

सर्लाही,मंसिर २२

सेभ द चिल्ड्रेन तथा राष्ट्रिय रोजगार प्रबर्द्धन केन्द्र मलंगवाको आर्थिक सहयोगमा सर्लाहीको बलरा नगरपालिकाले स्वास्थ्य तथा पोषण नीति निर्माणको लागि  सुझाव संकलन गरेको छ।

    नगरप्रमुख रामाशंकर कुशवाहाको अध्यक्षतामा अचलगढ प्राथमिक स्वास्थ्य केन्द्रमा सुझाव संकलका लागि बिहीबार र शुक्रवार आयोजना भएको कार्यशाला गोष्ठीमा सहभागी भएका स्थानीयबासी,स्वास्थ्यकर्मी ,स्वास्थ्य स्वयंसेवक ,स्थानीय जनप्रतिनिधि लगायतकाहरु सँग बलरा न.पा मा  स्वास्थ्य तथा पोषण सम्बन्धि के-कस्ता कार्यक्रमहरु कसरी संचालन गर्ने भन्ने विषयमा सुझाव संकलन गरि प्रारम्भिक मस्यौदा  तयार गरिएको आर.आर.पी.के का स्वास्थ्य अधिकृत  सृजना घिमिरेले जानकारी गराउनु भएको छ।

    स्वास्थ्य शाखा प्रमुख बालकिशोर यादवले संचालन गरेको कार्यक्रममा नगर उपप्रमुख,कार्यपालिका सदस्यहरु,  आर.आर.पी.के का अध्यक्ष गायत्री देवी,उपाध्यक्ष बजरंगबली साह,कोषाध्यक्ष पिंकी साह र सेभ द चिल्ड्रेनका पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो।

Wednesday, December 6, 2023

मेलम्चीको पानी पथान्तरण गर्ने प्रकृया अगाडि बढाइने

 
सत्यप्रकाश यादव ---

काठमाडौ ।

आज मिति २०८०।८।२० गते वुधवारका दिन खानेपानी मन्त्रालयको सभाहलमा माननीय खानेपानी मन्त्री श्री महिन्द्र राय यादवज्यूको अध्यक्षतामा काठमाडौं उपत्यकाभित्रका तीनै जिल्लाबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने माननीय सांसदज्यूहरू, काठमाडौं उपत्यकाभित्रका सबै स्थानीय तहका प्रमूखज्यूहरू एवम् प्रतिनिधिज्यूहरू,  हेलम्वु गाउँपालिकाका अध्यक्षज्यू, उपभोक्ता समितिका प्रतिनिधिज्यूहरू तथा सम्बन्धित सरोकारवालाहरू समेतको समुउपस्थितिमा काठमाडौं उपत्यका भित्रका खानेपानी तथा सरसफाइ क्षेत्रको सम्पत्तिको दिगो व्यवस्थापन र संचालन तथा प्रभावकारी नियमनको व्यवस्था गर्ने, काठमाडौं उपत्यका खानेपानी लिमिटेडको वित्तिय र प्राविधिक क्षमतामा सुधार गरी खानेपानी सेवा वितरणमा गुणस्तर वृद्धि गर्न काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड, काठमाडौं उपत्यका खानेपानी लिमिटेड र आयोजना कार्यान्वयन निर्देशनालयको पुनर्संरचना तथा मेलम्ची खानेपानी आयोजनाको दिगो समाधानको लागि Short, Medium and Long term Solution सम्बन्धी Project Scope निर्धारण तथा इन्टेक स्थान्तरण सम्बन्धमा पृष्ठपोषण संकलन गर्ने उद्देश्यका लागि छलफल कार्यक्रम सम्पन्न भयो ।   

उक्त बैठकमा मूख्यतः सुख्खायाम शुरू भईसकेको अवस्थाले गर्दा काठमाडौं उपत्याकाभित्र खानेपानीको समस्या दिनप्रतिदिन बढ्दै गएको सन्दर्भमा तत्काल मेलम्चीको पानी पथान्तरण गर्ने प्रकृया अगाडि बढाउनुपर्ने भन्ने सुझाव प्राप्त हुन आएको छ । यस्तै स्थानीय तहहरूमा अवस्थित पानीका श्रोतहरूको पहिचान, प्रयोग, संरक्षण तथा पूनर्भरण सम्बन्धमा पनि राम्रा सुझावहरू आएका छन् । काठमाडौं उपत्यकाभित्र खानेपानी व्यवस्थापनमा संलग्न निकायहरूको पूनर्संरचना सम्बन्धमा अझ व्यापक छलफल गरी निर्णय गर्नुपर्ने धारणा उपस्थित माननीयज्यूहरू तथा नगरप्रमूखज्यूहरूबाट आएको हुँदा आगामी दिनमा प्राप्त पृष्ठपोषण तथा सुझाव अनुसार खानेपानी मन्त्रालयले योजना तयार गरी आफ्ना कार्यक्रमहरू कार्यान्वयन गर्दै जाने प्रतिवद्धता जनाएको छ ।

पोलभरी झुन्डिएकाअव्यवस्थित तारहरुका कारण कुरुप बन्दै मलंगवा शहर के गर्दै छ नगरपालिका ?

 


 पोलभरी झुन्डिएकाअव्यवस्थित तारहरुका कारण कुरुप बन्दै मलंगवा शहर 

   के गर्दै छ नगरपालिका ?



मनोज यादव----

सर्लाही,मंसिर २०

     सर्लाहीको सदरमुकाम मलंगवाका हरेक गल्ली, चोक र मोडमा तारहरु लत्रिएका छन्। बिजुली तथा दुरसञ्चारका पोहहरुमा बिजुली टेलिफोन र इन्टरनेटका तारहरु बटारिएका छन् भने कयौैँ  पोलका तारहरु भुँइमा छुनेगरि झुन्डिएका छन् । अव्यवस्थित रूपमा झुन्डिएका तारहरुले सदरमुकामलाई कुरूप बनाएको छ। ती झुन्डिएका तारहरुका कारण कतिबेला दुर्घटना निम्तिने हो  ठेगान छैन। 

   अव्यवस्थित तारका कारण  जोखिम बढे पनि त्यसको समाधानतर्फ सरोकारवाला निकायको ध्यान पुगेको देखिदैंन । मलंगवाको मेन चौक, बालमन्दिर चौक, पुरानो बसपार्क लगायतका मुख्य स्थान तथा गल्लीहरुमा  जोखिमपूर्ण अवस्थामा विजुली, इन्टरनेट र टेलिफोनका तारहरु लत्रिएको र झुन्डिएको देख्न सकिन्छ । यस्ता तारहरुको व्यवस्थापनमा ध्यान नपुर्‍याउँदा जुनसुकै बेला पनि दुर्घटना हुन सक्ने स्थानीयहरुले बताए।विशेषगरी भूकम्प, आगलागी, हावाहुरी जस्ता प्राकृतिक विपदामा  झनै जोखिम बढ्ने स्थानीय बासिन्दाहरु बताउँछन्। 

   तार व्यवस्थापनमा सम्बन्धित निकायको बेवास्ताका कारण जोखिम  बढेको स्थानीय राकेश यादवले बताए । विद्युत् प्राधिकरणका कर्मचारीलाई पनि कुन सेवाग्राहीको कुन तार हो भन्ने छुट्याउन मुस्किल पर्ने गरेको छ। इन्टरनेटमा समस्या आउँदा प्राविधिकलाई पनि काम गर्न समस्या हुने गरेको मलंगवा वडा न ९ का एक औषधि व्यवसायी गणेश श्रेष्ठले सुनाए।

     डिस होम फाइबर नेटका आधिकारिक बिक्रेता सुवास गुप्ताका अनुसार इन्टरनेट कम्पनीहरुले प्रत्येक पोलको नेपाल सरकारलाई राजस्व तिर्दै आइरहेकोले यसको व्यवस्थापन गर्ने र राजस्व नतिर्ने कम्पनीको तार काट्ने जिम्मेवारी सम्बन्धित निकायको रहेको छ।

   तार व्यवस्थापनको लागि नगरपालिकाले के कस्तो कदम चाल्दै छ भन्ने विषयमा जानकारी लिन मलंगवा नगरपालिकाको कार्यालयमा पुग्दा सूचना अधिकृत राजकुमार अधिकारीले सडक निर्माणको काम चलिरहेकोले पोलहरु अस्तव्यस्त भएको र केही स्थानमा व्यवस्थापन पनि गरिसकेकोले थप व्यवस्थापन गर्नको लागि केही दिनभित्रै नेटवर्क कम्पनीहरुलाई पत्राचार गरि बैठक बोलाएर कसोगरि तारहरु व्यवस्थित गर्न सकिन्छ भन्ने निस्कर्ष निकाल्न लागेको जानकारी गराउनुभयो।

    बजार क्षेत्रका सडकमा टाँगिएका होचा तार ठूला सवारीसाधनले चुँडाल्ने र बिगार्ने हुँदा लाइन सट हुने जोखिम उत्तिकै रहेको  छ। पोलभरी लत्रिएका र झुन्डिएका तारहरु प्रति न त बिजुली कार्यालयको ध्यान छ ,न त टेलिकम र कुनै इन्टरनेट कम्पनीको । कतिबेला कसको धनजनको क्षति हुने हो, टुंगो छैन।


Monday, December 4, 2023

मलंगवामा मनाइयो ३२ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस

 मलंगवामा मनाइयो ३२ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस



लोकतन्त्र समाचारदाता---

सर्लाही,१८

    राष्ट्रिय मधेशी अपाङ्ग महासंघ नेपाल तथा अपाङ्गता जिल्ला समन्वय समिति सर्लाहीको संयुक्त आयोजनामा ३२ औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवस विविध कार्यक्रमहरु आयोजना गरि मनाइएको छ ।जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल किशोर सिंहको प्रमुख आतिथ्यतामा आइतवार सदरमुकाम मलंगवामा पनि दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता, अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको ऐक्यबद्धता भन्ने नाराका साथ यो दिवस मनाइएको छ ।

    अपाङ्गता जिल्ला समन्वय समिति सर्लाहीका अध्यक्ष विरेन्द्र यादवको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाको तर्फबाट अपांगता भएका १ जना ब्यक्तिलाई एकजोर बैसाखी र ६१ जनालाई हाइजेनिक कीट प्रदान गरिएको छ।

  अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकारका सवालहरुलाई विश्वव्यापी रुपमा उजागर गर्न सन् १९९२ देखि संयुक्त राष्ट्रसंघको आह्वानमा संसारभरि हरेक वर्ष ३ डिसेम्बरका दिन यो दिवस मनाउने गरिन्छ ।

  जिल्ला समन्वय समितिको सभाहलमा भएको कार्यक्रममा देवनारायण ,नन्द किशोर ठाकुर,नरेश राय,पत्रकार बख्तियार अली ,जिल्लाको विभिन्न पालिकाबाट आएका अपाङ्गता भएका ब्यक्तिहरु लगायतको उपस्थिति रहेको थियो।


सर्लाहीको सदरमुकाम मलंगवामा यातायात व्यवस्था कार्यालयको उद्घाटन सम्पन्न

 सर्लाहीको सदरमुकाम मलंगवामा यातायात व्यवस्था कार्यालयको उद्घाटन सम्पन्न 



मनोज यादव---

सर्लाही,मंसिर १८


    सर्लाहीको सदरमुकाम मलंगवामा यातायात व्यवस्था कार्यालयको समुद्घाटन सम्पन्न भएको छ। मधेस प्रदेश सरकारका श्रम तथा यातायात व्यवस्था मन्त्री चन्दन सिंहले जिल्ला समन्वय समितिको भवनमा स्थापना भएको यातायात व्यवस्था कार्यालयको आइतवार एक समारोहका बिच उद्घाटन गरेका छन् ।

    कार्यालयको उद्घाटन गर्दै मन्त्री सिंहले घरघरमा जनताराजको स्थापना गर्न आफु र आफ्नो पार्टी लागिपरेको बताए।जनमत पार्टीबाट मन्त्री बनेका मन्त्री सिंहले हाम्रो पार्टीले श्रम तथा यातायात व्यवस्था मन्त्रालय र शिक्षा मन्त्रालय गरि  दुईवटा मन्त्रालय पाएको र ती दुबै मन्त्रालय जनतासँग प्रत्येक्ष सरोकार राख्ने भएकोले पार्टीको सिद्धान्त बमोजिम जनताराजको स्थापना गरि जनताको घरघरमा सेवा पुर्याउन आफु र आफ्नो पार्टी लागिपरेका बताए ।अनलाइन सिस्टमको व्यवस्था गरिएकोले लाइसेन्स लिनको लागि प्रदेशको जुनसुकै ठाउँबाट आवेदन फारम भर्न सक्ने मन्त्री सिंहले बताए ।

 उनले यातायात कार्यालय जनतासँग  सरोकार राख्ने कार्यालय भएकोले यसको स्थापनापश्चात सर्लाहीका जनताहरूले प्रत्यक्ष रूपमा फाइदा पाउने  बताए । 


   यातायात  कार्यालय नहुदाँ यहाँका जनताहरूले सवारी साधनको कर बुझाउन,लाइसेन्स लिन,सवारी दर्ता गराउन लगायतका कामका लागि महोत्तरीको बर्दिबास,बिरगंज ,जनकपुरधाम लगायतका स्थानमा जानुपर्ने बाध्यता रहेको थियो ।समयमा शुल्क बुझाउन नसक्दा करभन्दा पनि जरीवाना तिर्नुपर्ने अवस्था रहेको थियो। कार्यालय स्थापनासँगै जनताको पैसा र समय दुवै बचत हुने भएको छ । 

    उद्घाटन कार्यक्रममा प्रदेस सांसद जंगीलाल राय,कौशल किशोर राय,उपेन्द्र महतो,पुर्व मन्त्री हरि उप्रेती ,पुर्व सांसद प्रमोद साह ,जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल किशोर सिंह,जि.स.स उपप्रमुख जितेन्द्र कुशवाहा ,प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमला लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो।