Friday, July 31, 2020

सर्लाहीमा नयाँ सिडियो आए


लोकतन्त्र समाचारदाता----
सर्लाही ,साउन १६
    सर्लाहीमा  नयाँ प्रमुख जिल्ला अधिकारी आएका छन् ।
यस अघिका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसी सर्लाहीबाट सरुवा भएर गए सँगै नयाँ प्रजिअ (सिडियो)को रुपमा सुरेन्द्र पौडेल आएका हुन् ।
    उनि यस अघि गोर्खा जिल्लामा  थिए । उहाँले शुक्रवारबाट आफ्नो कार्यभार सम्हाल्नु भएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले लोकतन्त्रलाई जनाएको छ ।
 सक्रिय रुपमा लागेर जिल्लाको शान्ति सुरक्षा कायम गर्ने प्रजिअ पौडेलले  बताएका छन् । यसका लागि सबैसँग सहकार्य गरेर अघि बढ्ने उनले बताए ।


Thursday, July 30, 2020

लागुऔषध सहित लालबन्दीबाट एक युवक पक्राउ



लोकतन्त्र समाचारदाता ----
सर्लाही ,साउन १५
        सर्लाहीको लालबन्दी नगरपालिका वडा न-१ स्थित बागवानी नजिकबाट  लागुऔषध सहित एक युवक पक्राउ परेको छ ।पक्राउ पर्नेमा झापा जिल्लाको टोखा घर भइ हाल काठमाडौ जिल्ला जोरपाटी नगरपालिका वडा न-१ बस्ने राजन सन्थाली(धिमाल)का १९ वर्षिय छोरा सुनिल सन्थाली(धिमाल) रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
      बुधबार साँझ ६ बजेको समयमा इलाका प्रहरी कार्यालय लालबन्दीबाट प्रहरी सहायक निरिक्षक ताजिम अलिको कमान्डमा खटिएका मोबाइल गस्ती टोलीले बागवानी नजिकैको सडकमा एकजना युवकलाई  पैदल हिंडिरहेको अवस्थामा देखेपछि शंका लागी  चेकजाँच गर्ने क्रममा निजको साथबाट लागुऔषध नाइट्रोभेट-10 (१४ पत्ता) १९६ वटा ट्याबलेट  बरामद गरेको जिप्रका सर्लाहीका प्रवक्ता एवं डिएसपी मदन कुवँरले जानकारी दिए । लागुऔषध सहित पक्राउ परेका सिन्जालीलाई प्रहरी हिरासतमा राखेर अनुसंधान कार्य भइरहेको डिएसपी कुवँरले बताए ।

प्रेमिकाको अश्लील भिडियो बनाउने एक युवक पक्राउ


प्रेमिकाको अश्लील भिडियो बनाउने एक युवक पक्राउ
काठमाडौँ  -  प्रेमिकाको अश्लील भिडियो बनाएको आरोपमा कञ्चनपुर कृष्णपुर नगरपालिका– ५ का २० वर्षीय मोहनराज भट्ट पक्राउ परेका छन् ।
प्रेमिकासँग लामो समयदेखिको प्रेम सम्बन्ध बिग्रिएपछि अश्लील भिडियो साथीलाई पठाएको र प्रेमिकाले प्रहरीमा उजुरी गरेपछि पक्राउ गरिएको कञ्चनपुरका जिल्ला प्रहरी कार्यालय जानकारी दिएको छ । 
भट्टले पठाएको अश्लील भिडियो प्रेमिकाको घरसम्म पुगेपछि आफ्नै प्रेमीविरुद्ध ती युवतीले उजुरी दिएकी थिइन । आफूलाई करणी गरेर भिडियो सार्वजनिक गरेको आरोप लगाएर प्रेमिकाले उजुरी दिएपछि  पक्रेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
योहो खवरबाट...

Wednesday, July 29, 2020

भारतको सोनवर्षामा कोरोना संक्रमित मानिसहरु फेलापर्न सुरु


   "किराना  व्यवसायीमा कोरोना संक्रमण देखियो"
==================================
मनोज यादव----
सर्लाही ,साउन १४

     सर्लाहीको सदरमुकाम मलंगवा स्थित नेपाल -भारत सिमावर्ती भारतको सोनवर्षामा ४ जनामा कोरोना भाइरस(कोभिड १९)को संक्रमण देखिएको छ ।भारतको विहार राज्यमा कोरोनाको संक्रमण तिब्र रुपमा फैलिदैं गरेको अवस्थामा सिमा नजिकैको स्थानमा यसको संक्रमण पुष्टि भएपछि  मलंगवा लगायतका ठाउँहरुमा यसको संक्रमण फैलिने सम्भावना बढेको छ ।
     सितामढी जिल्ला अन्तर्गत पर्ने सोनवर्षा प्रखण्डमा कोभिड १९ को जाँच सुरु भएको पहिलो दिन नै ४ जनामा कोरोनाको संक्रमण देखिएको पीएचसी सोनवर्षाका प्रमुख डा.राजिव रतनलाई उद्रित गर्दै त्यहाँका स्थानीय पत्रकार मुकुन्द अग्रवालले जनाएको छ ।पत्रकार अग्रवालका अनुसार पीएचसीले पहलो  दिन बिडियो  ओम प्रकाश,उनका अंगरक्षक ,केही मुखियाहरु सहित २८ जनाको सैम्पल लिएर जाँच गर्दा २ जना सरकारी कर्मचारी सहित ४ जनामा  कोरोनाको संक्रमन देखिएको हो ।जसमध्ये सोनवर्षाका एकजना किराना व्यवसायीको छोरा पनि रहेको छ ।
     किराना व्यवसायीको छोरामा संक्रमण देखिएकोले  मलंगवा लगायतका सिमावर्ती नेपाली गाउँठाउँबाट लुकिछिपी सोनवर्षा बजार पुगेर किरानाका सामान खरिद गरेर आएका मानिसहरुमा पनि यसको संक्रमण सरेको हुनसक्ने मलंगवा नगरपालिका वडा न-२ का स्वास्थ्य चौकी प्रमुख यादवले संजय यादवले बताए ।सिमाक्षेत्रमा कडाइका बाबजुद पनि दुवैतर्फका सुरक्षाकर्मीहरुको मिलेमतोमा ओहोरदोहोर गर्ने मानिसहरुका कारण  समुदाय स्तरमा कोरोना भाइरस फैलिने बढी सम्भावना रहेकोले  सावधानी अपनाउन र सिमाक्षेत्र भएर ओहोरदोहोर नगर्न यादवले सुझाव दिए ।
     सार्वजनिक विदाको दिन आइतवार बाहेक प्रत्येक दिन २५ देखि ३० जना मानिसको जाँच भइरहेको जनाइएको छ।

Tuesday, July 28, 2020

प्रहरीद्वारा खोलाबाट बालुवा झिक्दै गरेका ९ वटा ट्रेक्टर नियन्त्रणमा



लोकतन्त्र समाचारदाता----
सर्लाही ,साउन १३
     लखनदेही खोलाबाट अवैध ढंगले बालुवा उत्खनन गरिहेका ९ वटा ट्रेक्टर सर्लाही  प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले सोमबार  सर्लाहीको हरिपुर नगरपालिका वडा न-९, पिडारी स्थित लखन्देही खोलाबाट ट्रेक्टरहरु नियन्त्रणमा लिएर  नगरपालिकामा बुझाएको छ ।
     ईलाका प्रहरी कार्यालय हरिपुरबाट  खटिएको प्रहरी टोलीले लखनदेही खोलामा बालुवा झिक्दै गरेको अवस्थामा ना.४ त ५६९५,प्रदेश २-०२-००१ त ०३३२,ज १ त ९९१३,ज २ त ४२९,ना २ त ८७११,ज १ त ३२४३,ना ६ त २०१६,ग १ त ४२३८ र नम्बर नखुलेको एउटा  ट्रेक्टर नियन्त्रणमा लिएर  कारवाहीका लागि नगरपालिका कार्यालयमा बुझाएको सर्लाही प्रहरीका प्रवक्ता एवं  डीएसपी मदन कुँवरले जानकारी दिए ।
   वर्षातको समय असार, साउन र भदौ यी तीन महिना कुनैपनि खोलामा उत्खनन गर्न  प्रतिबन्ध लगाइएको भएपनि लुकिछिपी खोलाहरुबाट ढुंगा, गिट्टी र बालुवाको उत्खनन कार्य हुनेगरेको छ । नियन्त्रणमा लिएका ट्याक्टरहरु  उत्खननमा रोक लगाइएको समयमा पुनः उत्खनन नगर्ने शर्तमा जरिवाना तिराएर  छाडिने जनाइएको छ ।

सरकारले दलित तथा उत्पिडित माथिको अमानविय व्यवहार नियन्त्रण गर्न प्रभावकारी कदम चाल्न नसकेको नेपाल संघीय समाजवादी पार्टीको आरोप



लोकतन्त्र समाचारदाता----
सर्लाही ,साउन १३
    सदियौंदेखि दलित तथा उत्पिडित माथ हुँदै आएको शोषण -दमन , उत्पिडन ,हत्या -हिंसा ,छुवाछूत -भेदभाव जस्ता अमानविय व्यवहार र घटनाक्रमलाई नियन्त्रण गर्न सरकारले  प्रभावकारी कदम कदम चाल्न नसकेको आरोप लगाएको छ ।यसका लागि प्रभावकारी कदम चाल्न सरकार सँग  जोडदार माग गर्दै नेपाल संघीय समाजवादी पार्टीले प्रेस विज्ञप्ति जारी गरेको छ ।
    कोरोना भाइरस (कोभिड १९)को महामारीको संक्रमण रोक्न सरकारको तर्फबाट गरिएको लकडाउनको अवधि भित्र रुकुम, जाजरकोट ,रुपन्देही र २ नम्बर प्रदेशमा भएको जातीय नरसंहार र योजनाअनुरुप श्रृङखलाबद्ध हत्या हिंसाका घटनाहरुले मानवतालाई बनाइ कानुनी राज्यको उपहास गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।नेपाल समाजवादी पार्टीका अध्यक्ष मुहम्मद रिजवान द्वारा हस्ताक्षरित विज्ञप्तिमा  उत्पिडित जनताको मुक्तिको दुहाई दिंदै पटकपटकको जनआन्दोलन र  जनयुद्धको परिणाम स्वरूप प्राप्त भएको लोकतान्त्रिक गणतन्त्र  सहितको कथित जनमुखी संविधान जारी भएपछि पनि पटकपटक प्रगतिशील सरकाहरु बन्दा पनि समाजमा युगौंदेखि विकृतिको रुपमा कायम रहेको छुवाछूत,जातीय विभेद र हत्या हिंसाबाट दलित उत्पिडित जनताहरुले उन्मुक्ति पाउन नसक्नु अत्यन्त दु:खको विषय मात्र नभइ कथित जनमुखी सरकार यस्ता समुदाय प्रति पुर्वाग्रही गैरजिम्मेवार भएको उल्लेख गरिएको छ ।
    पार्टीले यस्ता क्रुरता र कायरतापुर्ण घटनाहरुको  निन्दा गर्दै विज्ञप्ति मार्फत घोर भत्सर्ना गरेको छ ।

उपमेयर शान्ती मिकरानीले गरिन प्रजिअ मोहनबहादुर जिसीको भब्य विदाई



लोकतन्त्र समाचारदाता----

सर्लाही ,साउन १३

    मलंगवा नगरपालिकाकी उपमेयर शान्ती मिकरानीले जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रमुख जिल्ला अधिकार मोहनबहादुर जसीलाई भब्य विदाई गरेको छ ।मलंगवा स्थित आफ्नै निवासमा मंगलबार एक कार्यक्रम गरी उपमेयर मिकरानीले नगर क्षेत्रका सम्पूर्ण बासिन्दाहरुको तर्फबाट  प्रजिअ जिसीलाई  विदाई गरेको हो । 

   विदाई कार्यक्रममा  उपमेयर मिकरानीले जिल्ला तथा नगरको शासन व्यवस्था सुदृढ बनाउन  प्रजिअ जिसीले आफ्नो कार्यकालमा खेल्नु भएको भूमिका तथा योगदानका विषयमा चर्चा गर्नुहुँदै उहाँ जस्तो इमानदार र कर्तब्यनिष्ठ राष्ट्र सेवक कर्मचारीको जिल्लाबासीलाई सधै कमि महसुस हुने बताउनुभयो ।कार्यक्रममा सर्लाहीका प्रहरी प्रमुख विश्वमणी पोखरेल, अनुसंधान प्रमुख दिलिप सिंह, नेपाल पत्रकार महासंघ सर्लाहीका उपाध्यक्ष बख्तियार अली लगायत  उपस्थितिमा आयोजना गरिएको कार्यक्रममा प्रजिअ जिसीलाई फुलको माला र खाँदा ओढाएर  विदाई गरिएको थियो ।

    


 



गोडैतामा स्वास्थ्य संस्थाहरुको वार्षिक समीक्षा सम्पन्न

(5)२०७७-४-१२ सोमबार
गोडैतामा  स्वास्थ्य संस्थाहरुको वार्षिक  समीक्षा सम्पन्न

लोकतन्त्र समाचारदाता---
सर्लाही ,साउन १३
    सर्लाहीको गोडैतामा  वार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको छ ।सोमबार  गोडैता नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा गत आर्थिक वर्ष २०७६/०७७ मा नगरपालिका अन्तर्गतका वडामा रहेका स्वास्थ्य संस्थाहरु द्वारा  सञ्चालित स्वास्थ्यसम्बन्धी कार्यक्रमहरुको समीक्षा गरिएको छ।
     नगर प्रमुख देवेन्द्र यादवको अध्यक्षतामा भएको  समीक्षा कार्यक्रममा नगरपालिका अन्तर्गत रहेका वडाका स्वास्थ्य चौकी इन्चार्जहरुले आ–आफ्नो स्वास्थ्य संस्थाबाट भएका प्रगतिका बारेमा प्रस्तुतीकरण गर्नुका साथै समस्याहरुको बारेमा जानकारी गराएका थिए ।यसै अवसरमा कार्यसम्पादन तथा वार्षिक मुल्यांकनको आधारमा उत्कृष्ट ठहरिएका तीन वटा स्वास्थ्य चौकीलाई समेत पुरस्कृत गरिएको छ ।प्रथम ,दुतीय र तृतीय स्थान हासिल गरेका क्रमशः हेल्थपोष्ट सिसौटिया,हे.पो बगदह र हे.पो गोडैतालाई नगरप्रमुख यादव र उपप्रमुख अन्जना कुशवाहाले पुरस्कृत गरेको कार्यक्रमका संचालक एवं  स्वास्थ्य शाखा संयोजक प्रमोद पंडितले जनाएको छ ।
   कार्यक्रममा जिल्ला समन्वय समिति सर्लाहीका अमरेन्द्र यादव,निमित्त जनस्वास्थ्य प्रमुख शुसिल झा,गोडैता न.पा शाखा प्रमुख देवशंकर मिश्र लगायत , १२ वटै वडाका वडाध्यक्ष , स्वास्थ्य चौकी प्रमुख र संचारकर्मीहरुको उपस्थिति रहेको स्वास्थ्य संयोजक पंडितले जनाएको छ ।

खोलाले बगाएर सर्लाहीमा एक युवकको मृत्यु



सर्लाही ,साउन १३
    सर्लाहीमा  नुहाउने क्रममा खोलाले बगाउँदा एक जनाको मृत्युृ भएको छ ।
     जिल्लाको विष्णु गाउँपालिका वडा न-२ स्थित कुन्दी खोलाले सोही ठाउँ बस्ने मझरु रामका १८ वर्षिय छोरा नरेन्द्र राम  नुहाउने क्रममा  बगाए जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।आइतवार दिउँसो साढे १२ बजेको समयमा नरेन्द्रलाई  खोलाले बगाएको थियो ।खोलाले बगाएर बेपत्ता भएको खवर पाउनासाथ इलाका प्रहरी कार्यालय गडहियाबाट प्रहरी सहायक निरिक्षक रामबालक साहको कमान्डमा खटिएका प्रहरी टोलीले खोज्दै जाँदा घटनास्थलबाट अन्दाजी १०० मिटर पुर्व खोलाको छेउमा मृत अवस्थामा नरेन्द्रको शव फेला परेको जिप्रका सर्लाहीका प्रवक्ता एवं डिएसपी मदन कुवँरले  जनाएको छ ।
    मृतको शव पोस्टमार्टमकालागि जिल्ला अस्पताल मलंगवामा राखिएको छ ।

Monday, July 27, 2020

सर्लाहीका सिडियो मोहनबहादुर जिसीको सरुवा

  


लोकतन्त्र समाचारदाता----

सर्लाही ,साउन १२

     गृह मन्त्रालयले सर्लाही  जिल्लाका प्रमुख जिल्ला अधिकारी(सिडिओ) मोहनबहादुर बहादुर जिसीको काज सरुवा गरेको छ ।

   जिल्ला प्रशासन कार्यालय सर्लाहीका अनुसार मन्त्रालयले  प्रजिअ जिसीलाई गृह मन्त्रालयमा तानेर उहाँको ठाउँमा गोरखा जिल्लाका प्रजिअ सुरेन्द्र पौडेल आउनु हुनेछ ।






विवाहको प्रलोभन देखाएर किशोरी माथि सामूहिक बलात्कार



सर्लाही,साउन १२

    पुर्व पश्चिम लोकमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका स्थित होटलमा  विवाहको प्रलोभन देखाएर एक किशोरी माथि सामुहिक बलात्कार भएको छ ।

    लालबन्दी बजार   स्थित एक होटलमा  काम गर्दै आएकी लालबन्दी  नगरपालिका वडा न-६ बस्ने  १५ वर्षीया किशोरीले सोही नगरपालिका वडा न–७ निवासी रामबहादुर पराजुली र  सुमन विकले आफूमाथि बलात्कार गरेको आरोप लगाएकी छिन् । गएको असार ५ गते राति पराजुली र बिकले  आफुलाई लालबन्दी बजार स्थित फेसबुक होटलमा लगेर  सामुहिक बलात्कार गरेको रहस्य खोलेकी छिन् ।  पिडित किशोरीका अनुसार  भोली काठमाडौं गएर विवाह गर्ने भनेर आफुलाई असार ५ गते नै लालबन्दी स्थित फेसबुक होटलमा पुर्याएका थिए । होटलमा लगेर  भोलि काठमाडौं जाने र त्यस पछि विवाह गर्ने भन्दै उनीहरुले विवाहको  खुसियाली मनाउने भन्दै  केक काटेर खानुका साथै  चिसो खुवाएका थिए। चिसो खाएको केही छिनमै आफुलाई  नशा लागेको  र त्यसपछि उनीहरूले पालैपालो जबर्जस्ती  करणी गरेको  पीडित किशोरीले बताएकी छन्। 

     लालबन्दीको एक होटलमा २ वर्षदेखि  भाँडा माझ्ने काम गर्दै आएकी पिडित किशोरीले सुमन सँग आफ्नो चिनजान लकडाउन सुरु भएयता भएको र  प्रेम समेत गरेका युवक तथा अभिभावक जस्तो मान्दै आएका दाजुबाट बलात्कारको सिकार बन्नु परेको  पिडित किशोरीले रुँदै दुखेसो पोखिन् ।  

 घटनामा संलग्न भएका दुवै युवक फरार रहेकोले उनीहरुको तिब्ररुपमा खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले  जनाएको छ।




पोखरीमा डुवेर सर्लाहीमा दुई बालिकाको मृत्यु


सर्लाही ,साउन १२
   सर्लाहीको इश्वरपुरमा  सनिवार राति पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा २ बालिकाको शव फेला परेको छ ।
     इश्वरपुर नगरपालिका १४ , हरकठवा बस्ने रामपृत महतोकी १३ वर्षिया छोरी अन्जली कुमारी महतो र सोही ठाउँका आनन्द महतोकी १० वर्षिया छोरी आरती कुमारी महतोको शव  पोखरीमा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मदन कुवँरले  जनाएको छ ।
   सनिवार दिउँसो बाख्रा चराउन भनी गएका बालिकाहरु साँझसम्म घर फर्केर नआए पछि निजका आफन्तहरु मिलेर खोज्दै जाँदा स्थानीय प्रकास महतोको नयाँ खन्दै गरेको पोखरीमा डुबेर मृत्युु भएको अवस्थामा दुबै बालिकाको शव फेला परेको प्रहरी प्रवक्ता कुवँरले बताए ।बालिकाहरुको खोजीमा निस्केका आफन्तहरुले पोखरीको छेउमा दुवैजनाको कपडा र चप्पल देखेपछि प्रहरीलाई खवर गरेका थिए ।
    मृतक दुवै बालिकाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवामा राखिएको छ ।



Saturday, July 25, 2020

प्रदेश २ मा बाढीबाट हुनसक्ने जोखिम तथा क्षति न्युनीकरण गर्न उपायहरू अपनाउन प्रदेश मामिला समिति द्वारा प्रदेश २ सरकारलाई निर्देशन


प्रदेश २ मा बाढीबाट हुनसक्ने जोखिम तथा क्षति न्युनीकरण गर्न उपायहरू अपनाउन प्रदेश मामिला समिति द्वारा  सरकारलाई निर्देशन 

लोकतन्त्र समाचारदाता----
सर्लाही ,साउन १०
    प्रदेश न-२ मा  बागमती , कमला र कोशी नदीको बाढीबाट हुनसक्ने जोखिम र क्षति न्यूनीकरण गर्न अविलम्ब तटबन्ध र बायो इन्जिनियरिङ लगायतका उपाय तर्जुमा गर्न  प्रदेश मामिला समितिले  आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई निर्देशन दिइएको छ । प्रदेश मामिला समितिको शनिबार बसेको बैठकले यस्तो निर्देशन दिएको हो ।
बैठकले ,नदी कटान र मानव बस्ती तथा अन्नबालीको संंरक्षणका लागि तत्कालीन तटबन्ध र दीर्घकालीन बायो इन्जिनियरिङका उपाय तर्जुमा गर्न मन्त्रालयलाई निर्देशन दिएको समितिका अध्यक्ष एवं  प्रदेश सभा सदस्य अशोक यादवले जानकारी दिए ।हरेक वर्ष वर्षाको समयमा  बागमती  नदीले विभिन्न पाँच स्थानका तटबन्ध कटान गरेकाले रौतहटको गौर, राजदेवी, इशनाथ, बोडीमाइ र परोहा नगरपालिका डुबानमा पर्नसक्ने भएकाले ती स्थानहरुमा तत्काल तटबन्धको निर्माण कार्य अघि बढाउन मन्त्रालयलाई निर्देशन दिइएको अध्यक्ष यादवले बताए ।
उहाँले बैठकमा प्रदेश न- २ मा वाग्मती, कोसी र कमला नदीको बाढीका कारण हुने गरेको डुबान सम्बन्धी समस्या निराकरण गर्न पूर्वतयारी गरी विपद् पछिको राहत तथा  अन्य व्यवस्थापनलाई प्रभावकारी बनाउन सम्बद्ध निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था र स्थानीय सरकारसँग सहकार्यका साथै जिम्मेवारी बाँडफाँटको स्पष्ट मार्गचित्र तयार पार्न समेत  निर्देशन दिएको बताउनुभयो ।
    यसैगरी बैठकले कोसी बाँधको पश्चिमतर्फको तटबन्ध भास्सिने  सम्भावनालाई मध्यनजर गरी तटबन्ध पुनः निर्माणमा तत्काल कदम चाल्न मन्त्रालयलाई निर्देशन दिइएको उनले बताए । अहिले वर्षा र बाढीको सम्भावना कायमै रहेकाले उद्दार एवं बचावका लागि हेलिकप्टर, मोटरबोट, वाटरबोटलगायतका सामग्रीहरुको व्यवस्था गरी तयारी अवस्थामा बस्न समितिले निर्देशन दिएको छ ।
समितिले स्थान अभावका कारण बाढी प्रभावित र कोरोना प्रभावितलाई राख्न सामुदायिक विद्यालय प्रयोग हुनसक्ने भएकाले  छुट्टै सुरक्षित स्थानको व्यवस्था गर्न पनि मन्त्रालयलाई  भनेको छ ।
    चुरे विनासका कारण प्रदेश २ मा बाढी र नदी कटानको जोखिम बढ्दै गइरहेकाले चुरे संरक्षण गर्न तत्कालीन र दीर्घकालीन रणनीतिहरु तर्जुमा गरेर अघि बढ्न समितिले सरकारलाई निर्देशन दिएको अध्यक्ष यादवले बताए ।


समाजसेवी जयसवाल द्वारा बालगृहलाई सहयोग



लोकतन्त्र समाचारदाता ---
सर्लाही ,साउन १०
   सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न-८ स्थित बालगृहमा आश्रित अनाथ बालबालिकाहरुको लागि  मलंगवाका एक स्थानीय समाजसेवीले खाद्यान्न लगायतका विभिन्न सामाग्री प्रदान गरेको छ ।
    मलंगवा न.पा वडा न ८ बस्ने समाजसेवी एवं वडाध्यक्ष पदका प्रत्याशी मुकेश जयसवालले सनिवार बिहान बालगृहमै पुगेर ४ बोरा चामल,२ पैकेट पिठो ,प्रति बालबालिका दुई दुई थान स्कुल ड्रेस,माक्स, सेनिटायजर ,साबुन लगायतका सामाग्रीहरु प्रदान गर्नुभएको बालगृहका संरक्षक रामलक्षण महतोले बताएको छ ।समाजसेवी जयसवाल बेलाबेलामा यसैगरी  जिल्लामा समाजिक कार्यहरु गर्दै आइरहनु भएको छ ।

वडाध्यक्ष कुट्ने सर्लाही हरिपुर्वाका हाकिम सकलदेव उपर ७ दिनको म्याद थप गरि अनुसंधान सुरु


*प्रमुख प्रशासकीय अधिकृत सकलदेव यादव*


सर्लाही ,साउन १०

   सर्लाहीको हरिपूर्वा नगरपालिकामा वडा अध्यक्ष माथि कुटपिट गर्ने प्रमुख प्रशासकीय अधिकृतलाई सर्लाही प्रहरीले नियन्त्रणमा लिएको छ ।हरिपुर्वा नगरपालिका वडा न-३, धनकौल पुर्वीका  वडाध्यक्ष धर्मराज सिंह महतो माथि कुटपीट गर्ने सोही पालिकाका प्रमुख प्रशासकीय अधिकृत सकलदेव राय सहित अन्य तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

     बिहिवार साँझ गाउँमै प्रशासकीय अधिकृत सकलदेव राय सहित उनका भाई कपिलदेव राय र उनका छोरा, भतिजाहरु मिलेर वडाध्यक्ष महतोलाई कुटपीट गरी घाईते बनाएका थिए । कुटपिटबाट वडा अध्यक्ष   महतोको हात, छाती लगायत शरीरका विभिन्न भागमा चोट लागेको छ । उनको जिल्ला अस्पताल मलंगवामा प्राथमिक उपचार गरी थप उपचारका लागि शुक्रवार ललितपुरको धापाखेल स्थित सुमेरु अस्पताल लगिएको परिवारका सदस्यलाई उद्रित गर्दै जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवं डिएसपी मदन कुवँरले बताएको छ । 

      कुटपिटमा संलग्न कपिलदेव  र अर्का एकजनालाई घटना कै  दिन पक्राउ गरेको र  प्रमुख प्रशासकीय अधिकृत यादवलाई सोधपुछका लागि भन्दै  शुक्रवार  बिहान  पक्राउ गरि मलंगवा स्थित जिल्ला प्रहरी कार्यालयमा ल्याइएको थियो  ।

    केही दिन पहिले गाउँमा लागेको धार्मिक मेला घुम्ने क्रममा  वडाध्यक्ष महतो नजिककी आफ्नै  नातेदार एक युवतीलाई प्रमुख प्रशासकीय अधिकृत राय नजिकका केही युवाहरुले जिस्काएको निहुँमा उनीहरु बीच विवाद हुँदै आएको र  सोही विषयलाई लिएर वडाध्यक्ष महतोमाथि कुटपीट भएको हुन सक्ने स्थानीयबासीहरुले आशंका गरेका छन्  । 

     वडाध्यक्षका परिवारले शुक्रवार प्रमुख प्रशासकीय अधिकृत यादव सहित अन्य आरोपी विरुद्ध जिल्ला प्रहरी कार्यालय सर्लाहीमा   ज्यान मार्ने उद्योगमा  किटानी जाहेरी दिएपछि सोही दिन सर्लाही  जिल्ला अदालत मलंगवाबाट सातदिनको म्याद थप गराई अनुसंधान प्रक्रिया अघि बढाएको प्रवक्ता कुवँरले लोकतन्त्रलाई बताए ।

   उनी नेपाल कम्युनिस्ट पार्टीबाट चुनाव जितेर वडाध्यक्ष बनेका हुन ।महतो माथि भएको संघातिक हमला प्रति पार्टीले घोर भत्सर्ना गरेको बताउँदै पार्टीका जिल्ला कमिटी सदस्य  जितेन्द्र कुशवाहाले दोषी उपर कडा कार्यवाहीको माग गरेका छन् ।

जनप्रतिनिधि कुट्ने सर्लाही हरिपुर्वा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रहरी हिरासतमा


Video सहित...
सर्लाही ,साउन १०
   सर्लाहीको हरिपूर्वा नगरपालिकामा वडा अध्यक्ष माथि कुटपिट गर्ने प्रमुख प्रशासकीय अधिकृतलाई सर्लाही प्रहरीले नियन्त्रणमा लिएको छ ।हरिपुर्वा नगरपालिका वडा न-३, धनकौल पुर्वीका  वडाध्यक्ष धर्मराज सिंह महतो माथि कुटपीट गर्ने सोही पालिकाका प्रमुख प्रशासकीय अधिकृत सकलदेव राय  ,उनका भाई लालबाबु राय र स्थानीय शैलेन्द्र यादवलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
    वडाध्यक्ष महतोलाई बिहिवार साँझ गाउँमै एक समूहले कुटपीट गरी घाईते बनाएका थिए । कुटपिटबाट वडा अध्यक्ष   महतोको हात, छाती लगायत शरीरका विभिन्न भागमा चोट लागेको छ । उनको जिल्ला अस्पताल मलंगवामा प्राथमिक उपचार गरी थप उपचारका लागि शुक्रवार ललितपुरको धापाखेल स्थित सुमेरु अस्पताल लगिएको परिवारका सदस्यलाई उद्रित गर्दै जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवं डिएसपी मदन कुवँरले बताएको छ ।
      कुटपिटमा संलग्न लालबाबु र शैलेन्द्रलाई घटना कै  दिन पक्राउ गरेको र  प्रमुख प्रशासकीय अधिकृत यादवलाई सोधपुछका लागि भन्दै  शुक्रवार  बिहान  पक्राउ गरि मलंगवा स्थित जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ ।
    केही दिन पहिले गाउँमा लागेको धार्मिक मेला घुम्ने क्रममा  वडाध्यक्ष महतो नजिककी आफ्नै  नातेदार एक युवतीलाई प्रमुख प्रशासकीय अधिकृत राय नजिकका केही युवाहरुले जिस्काएको निहुँमा उनीहरु बीच विवाद हुँदै आएको र  सोही विषयलाई लिएर वडाध्यक्ष महतोमाथि कुटपीट भएको हुन सक्ने स्थानीयबासीहरुले आशंका गरेका छन्  ।
     वडाध्यक्षका परिवारले शुक्रवार प्रमुख प्रशासकीय अधिकृत यादव सहित अन्य चारजना विरुद्ध जिल्ला प्रहरी कार्यालय सर्लाहीमा   ज्यान मार्ने उद्योगमा  किटानी जाहेरी दिएको प्रवक्ता कुवँरले जनाए ।

वडा कार्यालयबाट विपन्न परिवारलाई नयाँ घर



लोकतन्त्र समाचारदाता----
सर्लाही ,साउन ९
      सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिकाका वडा न- १० मा आज(शुक्रवार) एक विपन्न तथा अपांङ्ग दम्पतीलाई तीन कोठे एकतल्ले घर हस्तान्तरण गरिएको छ। 
     वडाध्यक्ष मुकेश कुमार झाले  सोही वडा  बस्ने योगेन्द्र चौधरी र उनकी श्रीमती रामपुकरिया देवीलाई वडास्तरीय बजेटबाट निर्माण गरिएको तिनकोठे एकतल्ले घर  हस्तान्तरण गरेका हुन । नयाँ घरको साँचो पाएपछि सन्तान  नभएका चौधरी दम्पती निकै खुशी भएका छन् ।आफनो वडाको दुई अती विपन्न परिवारलाई नयाँ घरदिने लक्ष्य रहेको र आज सोही लक्ष्य अनुसार एउटा परिवारलाई घरको साँचो हस्तान्तरण गरेको वडाध्यक्ष झाले बताए । अर्को एउटा घर अहिले  तयार हुँदै गरेकोले घरको सम्पूर्ण निर्माणकार्य सम्पन्न हुने बित्तिकै उक्त घर पनि हस्तान्तरण गर्ने उनले बताए ।  आफ्नो  वडाका  दुःख पाएका हरेक व्यक्तिलाई आफनो क्षमता र सामर्थ्यले भ्याएसम्म यसैगरी  सहयोग गरिरहने झाले बताए ।

पुल नभएपछि स्थानीयलाई सास्ती, जोखिमपूर्ण पुल तर्दा पैसा तिर्नुपर्ने



लोकतन्त्र समचारदाता----

सर्लाही ,साउन १०

    सर्लाहीको हुलाकी सडक अन्तर्गत  ब्रम्हपुरी गाउँपालिका र मलंगवा नगरपालिकाको मध्य भाग भएर बग्ने सखुअवा खोलामाथि पक्की पुल नहुँदा सर्वसाधारणले जोखिमपूर्ण तवरले बाँसको चचरीबाट बनाइएको पुल तर्नुपरेको छ ।

    सो हुलाकी सडक भएर आवतजावत गर्ने यात्रुहरु स्थानीयले बनाएको बाँसको अस्थायी पुलबाट रकम तिरेर खोला तर्दै आएका छन् ।सखुअवा टोलका केही स्थानीय  युवाहरु एकआपसमा पैसा उठाएर बनाएको उक्त अस्थायी पुलबाट उनीहरूले  साइकल तारेको ५० रुपैयाँ र मोटरसाइकल तारेको १५० रुपैयाँ असुल्दै आएका छन् । 

     वर्षौदेखि सखुअवा खोलामा बन्दै गरेको पुलको निर्माणकार्य राज्य र ठेकेदारको लापरबाही तथा ढिलासुस्तीका  कारण पूरा नभएकोले बाँसको टेको र बाँसकै भाटा प्रयोग गरेर बनाइएको उक्त पुल अत्यन्तै कमजोर र साँघुरो भएपनि सो क्षेत्रका स्थानीय बासिन्दा तथा  यात्रुहरुलाई  साइकल, मोटरसाईल लिएर वारपार गर्न सोही पुलको प्रयोग गर्नुपर्ने बाध्यता रहेको स्थानीय संचारकर्मी मुकेश झाले बताए । 

    अहिले बाँसका यस्ता अस्थायी पुलहरु  बाढीले कटान गरेका सर्लाहीका दर्जनौं स्थानका सडकमा बनाइएका छन्। पुल बनाएर ब्यापार चलाउनेलाई स्थानीय भाषामा घटवार भन्ने गरिन्छ ।



Thursday, July 23, 2020

वर्षाका कारण हरिपुर्वा र चन्द्रनगरमा घरहरु भत्किएर



लोकतन्त्र समाचारदाता---
सर्लाही,साउन ८
      अविरल वर्षाका कारण सर्लाहीको  विभिन्न स्थानमा घरहरु भत्किएर  लाखौं रुपैयाँको क्षति भएको छ ।वर्षाका कारण बिहिवार जिल्लाको हरिपुर्वा नगरपालिका  र चन्द्रनगर गाउँपालिका स्थित केही घरहरु भत्किएको प्रहरीले जनाएको छ ।
       जिल्ला प्रहरी कार्यालय सर्लाहीका  प्रवक्ता एवं  प्रहरी नायव उपरीक्षक मदन कुँवरले दिएको  जानकारी  अनुसार हरिपुर्वा नगरपालिका  वडा न-१ मा स्थानीय रामबृक्ष रायको खपडाले छाएको   कच्ची घर पुर्णरुपमा भत्किएर घरमा रहेका अन्नपात,फर्निचर लगायत अन्य भौतिक सरसामानहरु  गरि २ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
   यस्तै चन्द्रनगर गाउँपालिका  वडा न-४ मुस्लिम  टोल बस्ने स्थानीय नौसाद मुकेरीको फुसको छाना र टाटीको बेरा भएको  १ तल्ले कच्ची घर पुर्णरुपमा भत्किएर ७५ हजार रुपैया बराबरको क्षति भएको छ । वर्षाको पानीले सोही स्थान बस्ने नानीसोभा महर्जनको इट्टा र सिमेन्टले बनेको १२० फिट लम्बाइ भएको पक्की  पर्खाल भत्किएर करिब ३ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको डिएसपी कुवँरले जनाएको  छ ।
   ती सबै घटनामा कुनै किसिमको मानवीय र पशुचौपायामा क्षति नभएको डिएसपी  कुवँरले लोकतन्त्रलाई जानकारी दिए ।वर्षा सुरु भएपछि एकसाता भित्र सर्लाहीमा झण्डै ३ दर्जन भन्दा बढी घरहरु बाढी र पानीले भत्किसकेको प्रहरीले जानकारी गराएको छ ।

सर्लाहीमा एकवर्षको अवधीमा लिए ८ हजार भन्दा बढीले नागरिकता



लोकतन्त्र समाचारदाता----
सर्लाही,साउन ८
     सर्लाही  जिल्लाबाट एक वर्षको अवधिमा ८  हजार २ सय ३२ जनाले नेपाली नागरिकता प्रमाणपत्र लिएका छन्। जसमा जिल्ला प्रशासन कार्यालय मलंगवा इलाका प्रशासन कार्यालय हरिवन र बरहथवा पनि समावेश गरिएको कार्यालयले जानकारी दिएको छ ।
    आर्थिक वर्ष २०७६/०७७ मा रेकर्ड भएको तथा रेकर्ड नभएको गरि जम्मा ४ हजार ५ सय  २१ जनालाई नागरिकता प्रमाणपत्रको प्रतिलिपि वितरण गरिएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए ।
जिल्ला भरिबाट ५४२ जनालाई वैवाहिक अङ्गीकृत नागरिकता पनि वितरण भएको जनाइएको छ। सो अवधिमा ४ हजार ८१ जना पुरुष र ४ हजार १ सय ५१ जना महिलाले नागरिकता सिफारिसका लागि आवेदन दिएको कार्यालयले जनाएको छ।
    यसैगरी  राहदानी तर्फ साधारण सिफारिस भएका २ हजार ९ सय ४५ र द्रुत सिफारिस भएका २ हजार ८ सय ३८ मध्ये २ हजार ७ सय २७ जनालाई राहदानी वितरण गरिएको प्रजिअ जिसीले जानकारी दिए । 


खोलाले बगाएर सर्लाहीमा दुइजनाको मृत्यु




सर्लाही,साउन ८
     सर्लाहीमा दुई बेग्ला बेग्लै स्थानमा खोलाले बगाएर  दुई जना पुरुषको मृत्यु भएको छ ।
     जिल्लाको ईश्वरपुर नगरपालिका वडा न- ४ स्थित अम्बे खोलामा पौडी खेल्न गएका  लालबन्दी नगरपालिका वडा न-४ बस्ने १९ वर्षिय विशाल गोलेको खोलाले बगाएर मृत्यु भएको प्रहरीले जनाएको छ । गएको सोमबार अपराह्न सवा ३ बजे पौडि खेल्न भनि  गएका गोलेको शव तिनदिन पछि बुधबार दिउँसो करिब १ बजेको समयमा उनी पौडी खेल्न गएको स्थान देखि ३ किलोमिटर दक्षिण तर्फ खोलाको बगरमा घोप्टो परेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवं डिएसपी मदन कुवँरले जनाएको छ ।
    यस्तै बुधबार अपराह्न पौने ४ बजेको समयमा  जिल्लाको रामनगर गाउँपालिका वडा न-६ मलघट्टा स्थित रहेको कुण्डी नहरको लच्का तर्ने क्रममा सोही स्थान बस्ने ४५ वर्षिय बजेन्द्र झाको बगाएर मृत्यु भएको छ ।झालाई बगाएको खबर पाउना साथ प्रहरी र स्थानीयहरु मिलेर खोजतलास गर्दै जाँदा  निजको शव झण्डै  एक घण्टा पश्चात् घटना स्थल भन्दा करिब ५०० मिटर टाढा मृत अवस्थामा फेला परेको थियो ।
    मृतक दुवै पुरुषको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवामा राखिएको प्रहरी प्रवक्ता कुवँरले जानकारी दिए ।



कोरोनाको त्रासले श्रावण महिनामा पनि शिव मन्दिरहरु सुनसान


यसपालि
बोलबमको रौनक देखिएन.....

लोकतन्त्र समाचारदाता-----
सर्लाही ,साउन ८
     कोरोना भाइरस(कोभिड-१९)को त्रासले श्रद्धालु भक्तजनहरुको भीड रहने भगवान शिवको प्रिय श्रावण महिनामै सर्लाहीका शिव मन्दिरहरु यसपालि सुनसान देखिएका  छन् । कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेको हुँदा शिव मन्दिरहरु अहिले सुनसान बनेका हुन् ।
    श्रावण मसान्त सुरु हुनासाथ भक्तजनहरुको भिडभाड देखिने शिव मन्दिरहरुमा गत वर्षको जस्तै चाप  देखिएको छैन । सोमबार दर्शनका लागि आउने महिलाहरुको भिड पनि कम भएको छ । सार्वजनिक यातायात खुलेका छैनन्, सरकारले  पनि यसपालि  साउने मेला नलगाउन र भीडभाड नगर्न आदेश नै जारी गरेपछि चहलपहल नभएको मन्दिरका पुजारीले बताए ।
  जिल्लाको बरहथवा नगरपालिका स्थित मुर्तिया, हरिपुर नपा स्थित रजवा मन्दिर(जंगमुक्तेश्वर महादेव ),बागमती स्थित  नुनथर , कविलासी नपा स्थित शिवनगर लगायत अन्य मन्दिर तथा शिवालयहरुमा वर्षेनी लाग्दै आएका साउने मेला यसपालि नलाग्ने जनाइएको छ ।
   भारतमा पनि यसपालिको श्रावण मेला नलाग्ने भएकोले सर्लाहीका विभिन्न ठाउँबाट  बोलबम जाने यात्रीहरु पनि देखिएका छैनन् । हिन्दुहरुको श्रावणी मेलामात्र नभएर इस्लाम धर्मावलम्बीले पनि यसपालि कोरोनाका कारण गत वैशाखमा मुख्य पर्व रमजान महिना भरिको रोजा र इद–उल–फित्र घरघरै नमाज (प्रार्थना) पढेर  मनाएका थिए ।

Wednesday, July 22, 2020

छतबाट लडेर सर्लाहीमा एक पुरुषको ज्यान गयो



लोकतन्त्र समाचारदाता-----
सर्लाही ,साउन ७
     सर्लाहीको इश्वरपुर नगरपालिकामा  घरको छतबाट लडेर एक पुरुषको मृत्यु भएको छ।
    मृत्यु हुनेमा हरिपुर  नगरपालिका वडा न-२ बस्ने ४० वर्षिय धनबहादुर श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी मदन कुवँरले  जनाएको छ। प्रहरीका अनुसार इश्वरपुर न.पा वडा न-३ स्थित स्थानीय सुर्य कुमार श्रेष्ठको घरको छतमा  सुतिरहेको अवस्थामा अचानक तल खसेर घाइते भएका श्रेष्ठलाई उपचारको लागि लालबन्दी स्थित मोडेल अस्पतालमा लगेको तर त्यहाँ उपचार सम्भव नभएपछि जनकपुरमा रहेको दरभंगा सिटिस्क्यान सेन्टरमा जँचाएर थप उपचारका लागि काठमाडौं लाँदै गर्दा बाटोमै मृत्यु भएको डिएसपी कुवँरले बताए ।
    मृतक श्रेष्ठ विगत ४/५ वर्षदेखि सुर्य कुमार श्रेष्ठको घरमा सहयोगीको रुपमा बस्दै आएका थिए ।मृतको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवामा राखिएको प्रहरीले जनाएको छ ।


गाँजा सहित दुइजना पक्राउ




लोकतन्त्र समाचारदाता----
सर्लाही ,साउन ७
     सात किलो अवैध लागूऔषध गाँजा सहित सर्लाहीको लालबन्दीबाट  दुइजना पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा हरिवन नगरपालिका वडा न-२ का ३४ वर्षिय बिरु लामा र सोही ठाउँका १८ वर्षिय गणेश लामा रहेका छन् ।
    उनीहरुलाई मंगलबार लालबन्दी न.पा वडा न-१ स्थित लखनदेही खोलाको बाटो भएर  पैदल हिंडिरहेको अवस्थामा इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्दा लुकाएर राखेको ७ किलो लागुऔषध गाँजा सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । यस सम्बन्धमा  थप अनुसन्धान भइरहेको प्रहरीले  बताएको छ । 

सिडियो सहितको टोलीद्वारा डुंगा चढेर भाँडसर खुटौनाको निरिक्षण



लोकतन्त्र समाचारदाता----
सर्लाही ,साउन ७
    अविरल वर्षाका कारण लखनदेही खोलामा आएको बाढीले गर्दा  गत आइतवारदेखि डुवानमा परेका नेपाल -भारत  सीमावर्ती सर्लाहीको  सदरमुकाम मलंगवा नगरपालिका वडा न-५, भाँडसर र वडा न-६, खुटौनाको मंगलबार प्रमुख जिल्लामा अधिकारी सहितको टोलीद्वारा स्थलगत निरक्षण गरिएको छ ।
    जिल्ला विपत्त व्यवस्थापन समिति सर्लाहीका संयोजक प्रजिअ मोहनबहादुर जिसीको नेतृत्वमा मेयर निरसल साह, नेपाली सेनाका प्रमुख सेनानी सुरज राउत, प्रहरी उपरीक्षक विश्वमणि पोखरेल, सशस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठ, राष्ट्रिय अनुसन्धानका जिल्ला प्रमुख दिलिप सिंह, जिल्ला रेडक्रसका सभापति नागेन्द्र कुमार चौधरी लगायत संचारकर्मीहरुको टोलीले  निरीक्षण गरेका हुन ।
   गाउँ नजिकै भएर बग्ने  लखन्देही खोलामा आएको बाढी गाउँमा पस्दा भाँडसरका २९ घर डुबानमा परेका छन् ।पिडितहरु अहिले कोही छिमेकीको घरमा र कोही विद्यालयमा शरण लिएर बसेका छन् ।स्वास्थ्य चौकी र विद्यालय पनि डुबानमा परेको छ । चारैतिर पानी भरिएकोले  पैदल हिँड्ने अवस्था नरहेपछि उनीहरु हावावाला डुंगामा चढेर निरीक्षण गरेका थिए ।

वर्षाका कारण सर्लाहीमा घरहरु भत्किएर लाखौंको क्षति


  
लोकतन्त्र समाचारदाता---
सर्लाही,साउन ७      सर्लाहीमा अविरल वर्षाका कारण डुबानमा परेका केही  घर भत्किएर लाखौंको क्षति भएको छ ।
    वर्षा र बाढीका कारण मंगलबार ब्रह्मपुरी, विष्णु, चक्रघट्टा  गाउँपालिका तथा  लालबन्दी  र ईश्वरपुर नगरपालिकाका  ६ वटा कच्ची  घरहरु भत्किएर पूर्ण रूपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका  प्रवक्ता एवं  प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिनुभएको छ । प्रनाउ कुवँरले दिएको जानकारी अनुसार चक्रघट्टा गापा वडा न-५ पडिरियामा स्थानीय सहदेव भण्डारीको खपडाले छाएको  एकतल्ले  कच्ची घर पुर्णरुपमा भत्किएर घरमा रहेका अन्नपात,फर्निचर गरि ५ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।यस्तै इश्वरपुर नगरपालिका वडा न-५ खुपलाल टोल बस्ने हरिराम महतोको खपडाले छाएको २ तल्ले कच्ची घर पुर्णरुपमा भत्किएर ५ लाख ५१ हजार रुपैया बराबरको क्षति भएको छ ।यस्तै सोही दिन दिउँसो चन्द्रनगर गाउँपालिका वडा न-४ मुस्लिम टोल स्थित रहेको रजदिया बांके मदनी मदरसाको ६ फिट लम्बाइ भएको पर्खाल भत्किएको छ ।पर्खाल भत्किएर करिब ३ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
   ती सबै घटनामा कुनै किसिमको मानवीय र पशुचौपायामा क्षति नभएको प्रनाउ कुवँरले लोकतन्त्रलाई जानकारी दिएको छ ।पिडित परिवार अहिले राहतको पर्खाइमा  छिमेकीको घरमा आश्रय लिएर बसेका छन् ।


बागमतीमा फसेका युवकहरुको उद्धार



लोकतन्त्र समाचारदाता----
सर्लाही ,साउन ७
    सर्लाही र रौतहटको सिमा भएर बग्ने बागमती नदीको पानीको बिचमा  फँसेका २ जना युवकलाई सर्लाही प्रहरीले मंगलबार  सकुशल उद्धार गरेको छ ।
     मंगलबार बिहन करिब १० बजेको समयमा बागमती नगरपालिका वडा न-१२ नयाँ बस्ती नजिक  खोलाले बगाएर ल्याएको काठ तान्न गएका सोही स्थानका २४ वर्षिय डेटमान गोले र १६ वर्षिय निरज तितुङ बीचमै फसेपछि प्रहरी र स्थानीयहरु मिलेर  उद्धार गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ  । अहिले उनीहरू सकुशल रहेको प्रहरीले बताएको छ ।

लगातारको वर्षाले सर्लाहीको पश्चिम-दक्षिण क्षेत्रका ४ दर्जन घर डुबानमा




सर्लाही ,साउन ७
   लगातारको वर्षाका कारण सर्लाहीका पश्चिम तथा दक्षिण क्षेत्रका गाउँ  बस्तीका झण्डै ४ दर्जन घरहरु डुबानमा परेका छन् भने १ दर्जन घरहरु भत्किएका छन् । बागमती ,लखनदेही र झिम खोलामा आएको बाढीको पानी गाउँ बस्तीमा पस्दा सो क्षेत्रका गाउँ तथा बस्तीहरू डुबानमा परेका हुन् । डुबानमा परेका घरभित्र चार फिटभन्दा बढी पानी जमेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ
    मलंगवा नगरपालिका वडा न–५ भाँडसरमा लखन्देही खोलाको बाढी  बस्तीमा पस्दा २९ घर डुबानमा परेको छ ।डुबान क्षेत्रको जिल्ला विपत्  व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी सहित जिल्लाका तीनवटै सुरक्षा निकायका प्रमुख र रेडक्रस सोसाइटीका प्रमुखले उक्त क्षेत्रको गत मंगलबार स्थलगत  निरीक्षण गरेका थिए । भाँडसर  र  खुटौनाको  स्थलगत निरिक्षण गरेर फर्कनुभएका  प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले  घरमा पानी पसे पनि पीडित परिवारलाई तत्काल अन्यत्र सार्नुपर्ने अवस्था भने नरहेको  जानकारी दिनुभयो ।  गाउँको छेउ भएर बग्ने लखन्देही खोलाको पानी भाँडसरको २९ घरमा  पसेको ,’ प्रजिअ जिसीले बताए , ‘हालसम्मको अवस्थालाई हेर्दा उनीहरू विस्थापित नै हुने अवस्थामा नरहेको तर पानी बढेको खण्डमा उनीहरूलाई  सुरक्षित स्थानमा लानुपर्ने अवस्था भने देखिएको उहाँले भन्नुभयो ।चारैतिर पानीनै पानी भएकाले डुंगामा चढेर  निरीक्षण गर्नुपरेको प्रजिअ जिसीले बताए
     सो क्षेत्रका अधिकांश घरहरु कच्ची र एक तल्लाका  रहेका अन्नपात, लत्ताकपडा सबै भिजेको र पानीमाथि तैरिएर रात काट्नु परेको  स्थानीय पिडितहरुले दुखेसो पोखेका  छन् । घरमा जमेको पानीका कारण बालबालिकाको बिचल्ली भएको वडा न-५ भाँडसरका नगर रक्षक संजित यादवले  बताए ।
    यस्तै  चक्रघट्ट गाउँपालिका वडा न –५ स्थित पडरियामा ढेंग्राखोलाको पानी पसेर  १८ घर डुबानमा परेका छन् ।


एघार बुँदे माग राखेर रौतहटका स्वास्थ्यकर्मीहरु धर्नामा



नवाब अली----
रौतहट ,साउन ७
    रौतहटको राजदेवी नगरपालिका अन्तर्गतका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरु विभिन्न  एघार बुँदे मागहरु राखेर नगरपालिकामा धर्ना दिएका छन् ।
    स्वास्थ्य स्वयंसेविकाहरुले भिटामिन ए कार्यक्रम सञ्चालन गरेवापत र स्वास्थ्यकर्मीहरुले कोभिड–१९ को समयमा खटिएवापत पाउनुपर्ने जोखिम भत्ता, प्रोत्साहन भत्ता र अन्य सुविधा नपाएको भन्दै राजदेवी नगरपालिकामा ११ बुँदे ज्ञापनपत्र बुझाएर धर्नामा बसेका  हुन्।  नगर प्रमुख, प्रशासकीय अधिकृत, स्वास्थ्य शाखाका संयोजक समेतको रोहबरमा पटकपटक ध्यानाकर्षण गराउँदा पनि आफ्ना माग प्रति बेवास्ता गरिएकाले विरोधका कार्यक्रम गर्न बाध्य भएको उनीहरुले बताएका छन्।
    साउन ६ र ७ गते नगरपालिकामा धर्ना दिने र ८ गते माग सम्बोधन नभएसम्म नगरपालिकाको प्रशासन र स्वास्थ्य शाखामा ताल्चा लगाई धर्ना जारी राख्ने कार्यक्रम रहेको जनाइएको छ ।


Tuesday, July 21, 2020

सरकारले आज मध्यरातिबाट लकडाउन खुला गर्ने निर्णय

सरकारले आज मध्यरातिबाट लकडाउन खुला गर्ने निर्णय
काठमाडौँ,साउन ६ -  सरकारले आज मध्यरातिबाट लकडाउन खुला गर्ने निर्णय गरेको छ । गत चैत ११ गतेबाट जारी भएको लकडाउन आजरातिबाट खुल्ने सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बताउनुभयो । आम नागरिकमा परेको मनोवैज्ञानिक त्रास कम गर्न लकडाउन खुला गर्ने निर्णय भएको उहाँले बताउनुभयो । लकडाउन खुलेपनि अवस्था हेरेर निषेधित क्षेत्र घोषणा गर्न सकिने उहाँले बताउनुभयो । सरकारले आज रातिबाट लकडाउन खुला गर्ने निर्णय गरेपनि शैक्षिक संस्था, धार्मिक तथा सामाजिक स्थलहरु, टिउसन सेन्टर, सिनेमा हल, डान्सबार, सैलुन व्युटि पार्लर स्वीमिङ पुल लगायतका क्षेत्र अर्को निर्णय नभएसम्मका लागि बन्द नै रहने उहाँले बताउनुभयो ।
यद्यपी विद्यार्थी भर्ना परीक्षाफल प्रकाशनका काम भदौ १ गतेबाट गर्न सकिने निर्णय भएको उहाँले बताउनुभयो । सरकारले साउन १५ गतेबाट होटल, रेष्टुरेण्ट, ट्राभल र टेकिङ एजेन्सी र पर्वतारोहण सम्बन्धि कार्यालयहरु खुला गर्ने निर्णय गरेको छ । सेमिनार र भेला भने गर्न नपाइने उहाँले बताउनुभयो ।
भदौ १ गतेबाट लामो दुरीका सवारी साधन तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय हवाई उडान पनि सञ्चालन गर्ने निर्णय गरेको छ । त्यसका लागि स्वास्थ्य मन्त्रालयले तोकेका आवश्यक सुरक्षाका उपायहरु अपनाउन सरकारले सबैमा आग्रह गरेको छ ।
अन्तर्राष्ट्रिय सीमा नाकाको हकमा साउन ३२ गतेसम्म आवतजावत बन्द गरिएको उहाँले बताउनुभएको छ । स्वदेश आउनै पर्ने नागरिकहरुको हकमा तोकिएका सीमा विन्दुबाट आउन पाइने तर कुलिछिपी आएको खण्डमा कानून अनुसार कारवाही हुने उहाँले बताउनुभयो ।

झिम नदीमा कटान सूरु,मलंगवा सहित दर्जनौ गाउँ उच्च जोखिममा



सर्लाही ,साउन ६
    तिनदिन देखि लगातार परेको वर्षाका कारण सर्लाहीको उत्तर-पश्चिम र दक्षिणी क्षेत्रका गाउँका  तीन दर्जन भन्दाबढी घरहरु डुबानमा परेका छन्। जिल्लाको सदरमुकाम मलंगवा सहित उत्तरी क्षेत्रको लालबन्दी र चक्रघट्टाका ४६ घर डुबानमा परेका छन् भने २६५ मानिसहरु विस्थापित भएका छन्।
    त्यस्तै सयौं  बिघामा लगाइएको धानखेती पनि डुबानमा परेको छ। पछिल्लो ३ दिनदेखि आएको अविरल वर्षाको कारण सदरमुकाम मलंगवा नगरपालिकाको भाडँसरमा २७ वटा घरमा पानी पसेर १४७ जना विस्थापित भएका छन् ।त्यस्तै लालबन्दी नगरपालिका वडा न-४ जर्वापानी खोलाको छेउमा बस्ने स्थानीय रवीन्द्र चौधरीको घरमा पानी पसेको छ ।घरमा पानी पसेर चौधरीको परिवारका ७ जना सदस्यहरु विस्थापित बनेका छन् ।यस्तै चक्रघट्टा गापा वडा न-५ पडरियामा १८ जनाको घरमा ढंग्रा खोलाको पानी पसेर १०१ जना विस्थापित भएका छन् ।विस्थापितहरु मध्ये केही छिमेकीको घरमा आश्रय लिएर बसेका छन् भने केहीलाई सम्बन्धित पालिकाले व्यवस्था गरिदिएको स्थानमा राखेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
   तिनदिन देखिको अविरल वर्षाका कारण सर्लाहीको सदरमुकाम मलंगवा छेउ भएर बग्ने झिम खोलामा एक्कासी  पानीको बहाव बढेको छ । मलंगवाको पूर्व भएर बग्ने झिम खोलामा पानीको बहाव बढेर बाँध भत्काएको छ। बाँध भत्किएपछि झिम खोला छेउछाउका स्थानहरु  जलमग्न बनेको भने दर्जनौं गाउँ डुबानको जोखिममा परेका छन् ।
मलंगवा र ब्रम्हपुरी गाउँपालिकाको भेल्ही गाउँलाई जोड्ने पुलभन्दा करिब १ सय ५० मिटर दक्षिणमा खोलाले पश्चिमपट्टिको  बाँध भत्काएर  मलंगवा र भारतको सोनवर्षा बिचको पुरै क्षेत्र जलमग्न बनेको छ।  बस्तीमा पानी नपसेपनि  बाढीको पानीले पुलको तल्ले भाग भने छोइसकेको छ।
   सोमबार  दिउँसो आएको बाढीले झिम खोलाको करिब २५ मिटर जति बाँध भत्काएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।  बाँध होचो र पानीको वहाव उच्च भएकाले बाँध भत्किएर  पानी मलंगवाको पूर्वी भाग स्थित खाली क्षेत्रमा पसेको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।
    'बाढीले अहिले कुनै प्रकारको क्षति भएको छैन। पानीको वहाव बढी भएकोले वहाव कम भएपछि बाँध निर्माणको काम गरिने छ', सशस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठले बताए 'अहिले पुल भएर हुने आवत जावतलाई रोकेका छौं। भत्किएको क्षेत्रमा पनि कसैलाई जान दिएका छैनौं।'श्रेष्ठले भने ।
    यस्तै पश्चिम तर्फको लखनदेही खोलामा आएको बाढीले मलंगवा नपाको खुटौना, भाँडसर,कौडेना गापाको सक्रौल र शिवनगरका केही घरहरुमा पानी पसेर क्षति गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिए ।बाढीले जिल्लामा अहिले सम्म ३ दर्जन भन्दाबढी घरहरुमा क्षति पुगेको छ भने साढे २ सय भन्दाबढी मानिसहरु विस्थापित भएको जिप्रका सर्लाहीले बताए ।
     सर्लाहीमा बागमती ,लखनेही र झिम खोलामा आउने बाढीले वर्षेनी ठुलो जन धनको क्षति गर्दै आएको छ ।








Monday, July 20, 2020

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, तीन घाइते



लोकतन्त्र समाचारदाता----
सर्लाही,साउन ५
    सर्लाहीको  बरहथवा नगरपालिका वडा न-६ मा भएको मोटरसाइकल दुर्घटनामा परी आइतवार राति एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।
   आइतवार राति ८ बजे बरहथवाबाट नयाँरोड तर्फ  जाँदै गरेको BR 30A 1748  नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा ३८प ८०७४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई वटै मोटरसाइकलमा सवार चार जना घाइते भएका थिए।
     घाइतेहरूलाई उपचारको लागि बरहथवा स्थित विभिन्न अस्पतालमा राखिएको छ । घाइते मध्येका भारतीय नम्बरको मोटरसाइकल चालक बरहथवा -५ बस्ने २३ वर्षिय विवेक साहको उपचारका लागि बिरगंज तर्फलाने क्रममा बाटोमै मृत्यु भएको छ । सोही मोटरसाइकलमा पछाडि बसेका सोही ठाउँका २१ वर्षिय आस मोहम्मद यस्तै नेपाली नम्बरको मोटरसाइकलका चालक बसबसिया गाउँपालिका-३ भवानीपुरका ३१ वर्षीय नवलाल साह र पछाडि बसेका सोही ठाउँका अन्दाजी ४८ वर्षिय राम सुधिर साह घाइते भएका छन् ।निजलाई थप उपचारका लागि काठमाडौ लगिएको भने नवलालको बरहथवा स्थित अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवं डिएसपी मदन कुवँरले जनाएको छ ।

प्रदेश न.२ सरकारद्वारा कोरोना प्रभावित सर्लाहीका श्रृणी कृषकलाई राहत ब्याज अनुदान स्वरुप चेक हस्तान्तरण


 
सर्लाही ,साउन ५
प्रदेश नं २ सरकारले सर्लाही जिल्लाका ऋणी कृषकलाई कोरोना भाइरस(कोभिड १९) लकडाउन प्रभाव न्युनिकरण राहत ब्याज अनुदान स्वरुप आज चेक हस्तान्तरण गरेको छ। जिल्लाका ऋणी कृषकलाई राहत स्वरूप वित्तीय संस्थाको ब्याज बुझाइदिने नीतिअनुसार प्रदेश  सरकारले सो अनुदान दिएको हो ।
   सो नीतिअनुरूप आज(सोमबार )सदरमुकाम मलंगवामा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ,सर्लाहीले आयोजना गरेको कार्यक्रमका बीच भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह र कानुन राज्य मन्त्री सरोज कुशवाहाले जिल्लाका १०९ वित्तीय संस्था अन्तर्गतका ५ हजार ८५३ कृषकलाई   राहत अनुदान प्रदान गर्नुभएको हो  । मन्त्री साहले वित्तीय संस्थालाई कृषकको अनुदान रकमको चेक हस्तान्तरण गर्दै कोरोना प्रभावित प्रदेशका आठ जिल्लाका ८० हजार कृषकलाई राहतस्वरूप ब्याज अनुदान दिइने योजना रहेको बताए ।पहिलो चरणमा  ५० हजार कृषकलाई राहत ब्याज अनुदान प्रदान गरिने जनाइएको छ ।


Sunday, July 19, 2020

सर्लाहीको रामनगर गाउँपालिका वडाअध्यक्ष हत्याको अभियोगमा कारागार चलान


     हत्या अभियोगमा सर्लाहीको रामनगर गाउँपालिका–४, बहुअर्वाका वडाध्यक्ष रामनरेश महतोलाई अदालतले पुर्पक्षमा कारागार चलान गरेको छ । बहुअर्वाकै रामजनम राय भन्ने ६० वर्षीय रामजल रायको हत्या घटनामा वडाध्यक्ष महतो मुछिनुभएको थियो । सर्लाही जिल्ला अदालतका न्यायाधीश दीनबन्धु बरालको इजलाशमा शुक्रबार भएको थुनछेक बहसपछि वडाध्यक्ष महतोलाई पुर्पक्षमा कारागार चलान गर्ने आदेश भएको हो । अदालतको आदेश अनुसार वडाध्यक्ष महतोलाई शुक्रबार अबेर गौर कारागार, रौतहट चलान गरिएको जिल्ला प्रहरी कार्यालय, सर्लाहीले जनाएको छ ।
नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का स्थानीय नेता रामजलको गत असार ७ गते धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा घर नजिकैको खेतमा शव फेला परेको थियो । उहाँको हत्यालगत्तै प्रहरीले वडाध्यक्ष महतोलाई पक्राउ गरेको थियो । वडाध्यक्ष महतो नेपाली काँग्रेसबाट निर्वाचित हुन् । बुवाको हत्यापछि रामजलका छोराले वडाध्यक्ष महतो लगायत नौ जनाविरुद्ध प्रहरीमा किटानी जाहेरी दिनुभएको छ । जाहेरी परेका अन्य आठ जना भने फरार छन् । प्रायः राजनीतिक किचलो परिरहने निर्वाचन क्षेत्र नं। ४ स्थित रामनगरको घटनापछि सर्लाहीमा नेकपा र काँग्रेसबीच तिक्तता बढ्दैगएको छ ।
काँग्रेसले प्रेस विज्ञप्ति जारी गरी सत्ताको आडमा प्रहरी प्रशासनलाई दबाबमा पारी आफ्नो पार्टीका निर्दोष वडाध्यक्षलाई फसाइएको दाबी गरेको थियो । यसैगरी नेकपाले पनि प्रेस विज्ञप्ति प्रकाशित गरी सडक बनाउने विषयमा वडाध्यक्ष महतोसँग विवाद भएपछि आफ्ना कार्यकर्ता रामजलको हत्या भएको भन्दै घटना शङ्कास्पद रहेको बताएको छ । रामजलको हत्यापछि दुवै पार्टी र उसका भातृ संस्थाहरूले एक–अर्काविरुद्ध पटक–पटक विरोध जुलुस निकालेका छन् । त्यसक्रममा दुई पार्टीका कार्यकर्ताबीच असार १४ गते धनकौल गाउँपालिकामा दोहोरो झडप हुँदा १५ जनाभन्दा बढी घाइते भएका थिए ।स्रोत:गोरखापत्र

सामान्य पानी पर्दा पनि मलंगवा बजार जलमग्न , ढलको उचित निकास नहुँदा सडकदेखि घरमा पानी भर्यो ।



मनोज यादव-----video समाचार
सर्लाही ,साउन ४
    आज(आइतवार)बिहानै देखि भइरहेक वर्षाका कारण  सर्लाहीको सदरमुकाम मलंगवा  क्षेत्र  जलमग्न भएको छ ।बिहानैदेखि अविरल  परेको पानीले मलंगवाको प्रमुख बजार क्षेत्रमा पानी जमेर पुरै जलमग्न भएको हो।
     नालाको व्यवस्थापन नभइ पानीको उचित निकास नहुँदा वर्षाको समयमा समान्य पानी पर्दा पनि नगर क्षेत्रभित्र पानी जम्न गई बजार क्षेत्र नै जलमग्न हुने गरेको छ।  नालाको पानीले निकास नपाएपछि  बजार क्षेत्रमा सर्वसाधारणलाई हिंडडुल गर्न समेत अप्ठ्यारो भएको छ भने सडक छेउका घरहरु भित्र  पानी पसेको छ ।नगरपालिकाको उदासिनता र  पानी निकासको लागि निर्माण गरिएको नालामा फोहोर जम्मा भएर पानीको निकास बन्द भई सडकमै पानी जम्न पुगेको हो । मलंगवा भित्रको सडक तथा नाला जिर्ण रहेका कारणले गर्दा बजार जलमग्न बनेको सर्वसाधारणहरु बताउँछन् ।
    वर्षाको पानीले खेतहरु भरिएकाले भर्खरै रोपेको धानबाली पुरै नष्ट भएको छ ।पानीले सडक निर्माणको क्रममा ग्रेभलिङ गरिएका सडकबाट गिट्टी बालुवा बगाएर लगेपछि  एक गाउँबाट अर्को गाउँसम्मको सम्पर्क समेत  टुटेको छ।

एनआइसी एसिया बैंकले ३ वटा सुपर चमत्कारिक कर्जा योजना ल्यायो




लाेकतनत्र समाचारदाता -----
 सर्लाही श्रावन ४ ।
     एनआइसी एसिया बैंक उपक्षेत्रीय कार्यालय हरिवन सर्लाहीले एक कार्यक्रमको आयोजना गरी सुपर चमत्कारिक घर कर्जा, सुपर चमत्कारिक सवारी कर्जा र सुपर चमत्कारिक व्यवसाय कर्जा सञ्चालनमा ल्याएको जनाएको छ  ।
   बैंकले ८.२५ प्रतिशत ब्याजदर र ०.२५ प्रतिशत प्रशासनिक शुल्कमा उक्त कर्जा उपलब्ध गराउने र उक्त ब्याजदर एक वर्षसम्म परिवर्तन नहुने मलंगवा शाखाका शाखा प्रबन्धक सुजित प्रतिहस्तले जानकारी दिए । उनले सुपर चमत्कारिक घर कर्जा अन्तर्गत अधिकतम १ करोड ५० लाखसम्म कर्जा पाइने, जसमा अधिकतम ५० लाखसम्मको ओभरड्राफ्ट सुविधा समेत लिन सकिने बताए। यस कर्जाअन्तर्गत सेवाग्राहीले घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण, घर निर्माण गर्ने जग्गा खरिदका लागि ५ वर्षदेखि अधिकतम ३० वर्षसम्मका लागि कर्जा लिन सक्ने बताउँदै प्रतिहस्तले घर निर्माण गर्दाको हकमा बैंकले निर्माण लागतको शतप्रतिशतसम्म कर्जा प्रवाह गर्ने, घर निर्माणको लागि अधिकतम ५ वर्षसम्मको मोराटोरियम पिरियड लिन सकिने र उक्त मोराटोरियम अवधिमा ऋणीले कर्जाको ब्याज मात्र भुक्तानी गर्न सक्ने समेत सुविधा रहेको जानकारी दिए ।
    त्यस्तै पहिलो पटक घर खरिद र निर्माण गर्दा धितोको बजार मूल्यको ७० प्रतिशत सम्मको कर्जा सुविधा दिइने , पाँच वर्षसम्म ब्याज मात्रै तिरे हुने, अन्य बैंक तथा वित्तीय संस्थामार्फत घर कर्जा लिएका सेवाग्राहीले यस कर्जा अन्तर्गत आफ्नो कर्जा स्थानान्तरण (स्वाप ) गर्न सकिने छ। घर जग्गा खरिद तथा निर्माण अघि नै कर्जा स्वीकृत गर्न सकिने , लचिलो मासिक किस्ताबन्दी मार्फत आफ्नो आर्थिक क्षमता अनुसारको मासिक किस्ता वार्षिक रुपमा आफैले निर्धारण  (ईएमआइ) गरेर भुक्तानी गर्न सक्ने छ ।
घर कर्जा उपभोग गरिरहेका सेवाग्राहीले बन्डल अफर अन्तर्गत सवारी कर्जा उपभोग गर्न सक्ने व्यवस्था समेत रहेको शाखा प्रबन्धक प्रतिहस्तले जानकारी दिनुभयो  ।
   त्यसैगरी  बैंकले रातो प्लेटका निजी तथा व्यवसायका लागि सवारी र विद्युतीय सवारी खरिद गर्न चाहने सेवाग्राहीका लागि ८.२५ प्रतिशत ब्याजदर र ०.२५ प्रतिशत प्रशासनिक शुल्कमा सुपर चमत्कारिक सवारी कर्जा योजना पनि सार्वजनिक गरेको छ ।यस योजना अन्तर्गत अधिकतम २ करोड कर्जा सीमा कायम गरिएको र सवारी धितो राखेको हकमा कर्जा अवधि अधिकतम १० वर्षसम्म र सवारी तथा रियलस्टेट दुबै धितो राखेको खण्डमा अधिकतम १५ वर्षसम्म कर्जा अवधि हुने व्यवस्था गरिएको  शाखा प्रवन्धक प्रतिहसतले  जानकारी गराउनु भयो ।
   अन्य बैंकमार्फत सवारी कर्जा उपभोग गरिरहेका ग्राहकले यस बैंकको सुपर चमत्कारिक सवारी कर्जा अन्तर्गत आफ्नो कर्जा स्थानान्तरण (स्वाप) गर्न समेत सक्ने उनले वताए ।
   यस बैंकले साना तथा मझौला उद्योग व्यवसाय गर्न चाहनेहरुका लागि सुपर चमत्कारिक व्यवसाय कर्जा योजना सार्वजनिक गरेको छ ।कर्जा सीमा अधिकतम एक करोडसम्म निर्धारण गरिएको यो कर्जा उद्योगी, व्यवसायीले आफ्नो व्यवसायको आवश्यकता अनुसार आवधिक कर्जा तथा ओभर ड्राफ्ट मिश्रित रुपमा उपभोग गर्न सक्ने छन।  आवधिक कर्जा २० वर्षसम्ममा सरल किस्तामा भुक्तानी गर्न सकिने र अन्य बैंकमार्फत कर्जा उपभोग गरिरहेका ग्राहकले यस बैंकको सुपर चमत्कारिक व्यवसाय कर्जा अन्तर्गत आफ्नो कर्जा स्थानान्तरण (स्वाप)  समेत गर्न सक्ने प्रतिहस्तले बताउनुभयो ।
   तीनवटै कर्जाबारे ४८ घन्टाभित्र नै निर्णय दिने व्यवस्था गरेको र यी कर्जाबारे आवेदन बैंकको वेबसाइट एनआइसी एशिया बैंक डटकममार्फत अनलाइनमा दिन सकिने तथा ३४४८८ मा एलओएएन टाइप गरी एसएमएस वा बैंकको ९८०१२२७७५५ नम्बरमा मिस कल गरी थप जानकारी प्राप्त गर्न सकिने मलंगवाका शाखा प्रवन्धक  प्रतिहसतले  जानकारी गराउनुभयो ।

Saturday, July 18, 2020

विश्व हिन्दू परिषद नेपाल द्वारा मलंगवामा विरोध प्रदर्शन



लोकतन्त्र  समाचारदाता-----
सर्लाही ,साउन ३
     विश्व हिन्दू परिषद नेपाल सर्लाही कार्यसमितिले आज(सनिवार ) सर्लाहीको सदरमुकाम मलंगवामा र्याली सहितको विरोध प्रदर्शन गरेको छ।
    प्रधानमन्त्री केपि शर्मा ओलीले भगवान श्री रामचन्द्रको जन्मस्थलको बारेमा दिनुभएको विवादित अभिव्यक्तीको विरोधमा प्रदर्शन गरेको हो ।मलंगवा वडा न-१० मुर्ली पोखरी स्थित बाबा स्वामीको मठबाट जय श्री राम, नेपाल भारत बीचको सांस्कृतिक सम्बन्ध कायम रहोस् ,हिन्दुत्व नै राष्ट्रियता हो भन्ने नारा लगाउँदै  ध्वजा पताका सहित निकालिएको र्याली नगरको विभिन्न भागको परिक्रमा गरेको  थियो।
    र्यालीमा जिल्ला भरीका विभिन्न मठमन्दिरका साधु संत , पुजारी लगायत स्थानीयबासीहरु सहभागी थिए ।

Friday, July 17, 2020

रामकुमार महतो : पियनदेखि सहसचिवसम्मको यात्रा


लोकसेवा आयोग मार्फत पियनबाट राष्ट्र सेवा सुरु गरेका रामकुमार मेहता सहसचिव बन्न सफल भएका छन् । समाजिक संजालमा उनको यतिबेला निकै चर्चा परिचर्चा भइरहेको छ ।
सहसचिवको रुपमा चुनिएपछि उनले बिभिन्न फोटोहरु सेयर गर्दै फेकबुकमा यसरी लेखेका छन् :
पियनदेखि सहसचिवसम्मको यात्रा । राष्ट्रसेवाको लागि पद मात्र ठूलो कुरा होईन । निष्ठापूर्वक सेवा र परिश्रम गर्दै गयो भने पद, प्रतिष्ठा र अवसर खोजी रहनु पर्दैन, आफैं आउँदो रहेछ । त्यति बेला मसँग एसएलसीको सर्टिफिकेट मात्र थियो, अहिले ४ वटा बिषयमा मास्टर्स (अर्थशास्त्र, समाजशास्त्र राजनीतिशास्त्र र जनप्रशासन ) र एलएलबी गरी सहसचिव पदमा नियुक्त भएको छु । लोक सेवा आयोगप्रति हार्दिक आभार र उच्च सम्मान प्रकट गर्दछु । पथ प्रदर्शक र सुभेच्छुक सबैप्रति आभारी छु । देशको सेवा गर्ने महत्वपूर्ण जिम्मेवारी प्राप्त भएको छ । निष्ठापूर्वक सेवामा समर्पित हुने नै छु ।

माछा मार्ने क्रममा डुबेर मृत्यु



लोकतन्त्र  समाचारदाता----
सर्लाही ,साउन २
    सर्लाहीमा  माछा मार्ने क्रममा पोखरीमा  डुबेर एक जनाको मृत्यु भएको छ।
   जिल्लाको बरहथवा नगरपालिका वडा न-८,टाँडीमा स्थानीय रामबलि महतोको जग्गामा रहेको पोखरीमा डुबेर कौडेना गाउँपालिका वडा न-१  निवासी  ३२ वर्षीय श्रवन्थ मुखियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।पोखरीमा जाल थापेर माछा मार्ने क्रममा अचानक डुबेर घाइते भएका मुखियालाई उपचारका लागि बरहथवा तर्फ लैजादैं गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिए ।
    मृतक मुखियाको शव पोस्टमार्टम पश्चात् निजको दाइलाई जिम्मा लगाएर पठाएक जिप्रका सर्लाहीले जानकारी दिएको छ ।



नेपाल भारत सीमामा चल्यो गोली, दुई जना भारतीय तस्कर घाइते, तीन जना फरार




नेपाल भारत सीमामा चल्यो गोली, दुई जना भारतीय तस्कर घाइते, तीन जना फरार
इनरुवा ,साउन २
      सुनसरीको सीमावर्ती क्षेत्र देवानगन्ज गाउँपालिका–३ स्थित पानी ट्याङ्की नजिक गए राति नेपाल प्रहरी र भारतीय तस्कर समूहबीच गोली हानाहान भएको छ। गोलाबारीमा परी दुई जना तस्कर घाइते भएका छन् भने अन्य तीन जना फरार भएका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। घाइते हुनेमा देवानगन्ज–२ का राजेश यादव र ३ का पिन्टु यादव रहेको सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले बताए।
घाइते भएका दुवै जनाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहको प्रहरीले जनाएको छ। भारतीय क्षेत्रबाट बिआर ३८ भि ३५२८ नम्बरको मोटरसाइकल र वनटेष्ट होण्डा साइन १२५ सिसिको मोटरसाइकलमा भारतीय क्षेत्रबाट आएका तस्करलाई गोप्य सूचनाको अधारमा जाँच गर्ने क्रममा गोली हानाहान भएको सुनसरीका प्रहरी उपरीक्षक थापाले बताए।
हतियार लिएर आइरहेकाबाट प्रहरीले हतियार खोस्न थालेपछि प्रहरीमाथि भारतीय समूहले गोली चलाएको प्रहरी उपरीक्षक थापाले बताए। सोही क्रममा प्रहरी र भारतीय तस्कर समूहबीच झडप भएको प्रहरीले जनाएको छ। तस्करका साथबाट प्रहरीले एउटा पेस्तोल, छ राउण्ड गोली र दुई वटा म्याग्जिन बरामद गरेको छ। तीन जना भारततर्फ फरार भएको र खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। घाइते भएका र फरार भएका तस्करी, लागुऔषधको कारोवार, हतियारको तस्करी, चोरीलगायत कार्य गर्दै आएको प्रहरीले जनाएको छ।

Thursday, July 16, 2020

धनकौल घटनाको निष्पक्ष छानबिन हुनुपर्छ - काँग्रेस नेता एवं प्रदेश २ सांसद बिरेन्द्र सिंह



लोकतन्त्र समाचारदाता----
सर्लाही ,साउन १
  सर्लाहीको धनकौलमा भएको गोली काण्डको निष्पक्ष  छानबिन गरि  घटनाका  दोषीलाई कानुनी दायरामा ल्याउन नेपाली कांग्रेसले माग गरेको छ।
    नेपाली कांग्रेस प्रदेश न- २ संसदीय दलका नेता राम सरोज यादव, प्रमुख सचेतक उपेन्द्र कुशवाहा, प्रदेश सांसद वीरेन्द्र प्रसाद सिंह लगायतका नेताहरू प्रदेश प्रहरी प्रमुख डीआइजी धिरजप्रताप सिंहलाई प्रत्यक्ष भेटेर दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेका हुन्। केही दिनअघि  धनकौलमा आयोजित जुलुसमा नेकपा र कांग्रेस कार्यकर्ताबीच भएको झडपमा गोली चल्दा एक दर्जन स्थानीयबासीहरु घाइते भएका थिए। उक्त झडपमा नेकपा कार्यकर्ताले गोली चलाएको कांग्रेसले आरोप लगाएको छ भने नेकपाले भने कांग्रेसका कार्यकर्ताले गोली चलाएको दाबी गरेको छ। धनकौल गाउँपालिकाका स्थानीयबासी समेत रहनु भएका  प्रदेश सांसद सिंहको  शक्ति केन्द्रको आडमा नेकपाले कांग्रेस कार्यकर्तालाई जबर्जस्ती  फसाउन खोजेको आरोप छ ।बाहिरबाट आएका केही नेकपा कार्यकर्ताहरूले धनकौलका धिरु वर्मा भन्ने व्यक्तिको घरअगाडी  टायर बाल्न खोजेपछि विवाद भएको र  कुटपिट गरेको  सांसद सिंहले भने । स्थानीयवासीले प्रतिकार गरेपछि नेकपाका कार्यकर्ताहरु  गोली चलाउँदै त्यहाँबाट भागेको उनले भने ।
    प्रहरीले सत्ताको दबाबमा आएर गोली चलाउने मानिसलाई पक्राउ नगरी आफ्नो कार्यकर्तालाई नियन्त्रणमा लिएर मुद्दा चलाएको सिंहले बताएको छ  ।‘हामी प्रदेश प्रहरी प्रमुखलाई भेटेर घटनाको भिडियोसमेत देखाएका छौं, छानबिन गरेर दोषीलाई कारबाही गर्न भनेका छौं,’ सिंहले भने,‘उहाँले छानबिन गरेर दोषीलाई कारबाही गर्ने आश्वासन दिनु भएको छ । सांसद सिंहले शक्तिको आडमा घटनाको अनुसन्धानलाई  रोकेर घटनाको वास्तविक दोषी जोगाउने काम भइरहेको आरोप लगाएका छन्। कुटपिटका साथै गोली चलाउने व्यक्तिहरूविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जोहेरी दिएपनि हालसम्म प्रहरीले कसैलाई पक्राउ नगरेको सिंहले बताए।

दोषी उपर कार्यवाहीको माग गर्दै नेपाल कम्युनिस्ट पार्टी द्वारा सर्लाहीको मलंगवामा प्रदर्शन


Video सहित.....
सर्लाही ,साउन १
         सर्लाहीको रामनगर गाउँपालिकामा भएको घटनामा संलग्न दोषी माथि कारबाहीको माग गर्दै नेपाल कम्युनिस्ट पार्टी सर्लाहीले सदरमुकाम मलंगवामा आज(बिहीबार )प्रदर्शन गरेको छ ।
   सत्तारुढ नेकपाका कार्यकर्ता रामनगर गाउँपालिका वडा न–४,बहुअर्वाका ६० वर्षीय रामजल यादवको गत असाढ ७ गते आइतवार अज्ञात व्यक्तिले घर नजिकै खेतमा धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए । सोही हत्याकाण्डका दोषी उपर कडा कार्यवाही,  मृतकको परिवारलाई क्षतिपूर्ति ,मृतकलाई सहिद घोषणा गर्नुपर्ने लगायतका मागहरु राखेर विरोध प्रदर्शन गरिएको नेकपा सर्लाहीका जिल्ला सचिब कमल बुढाथोकीले बताए । घटना  लगत्तै सर्लाही प्रहरीले नेपाली काँग्रेसका नेता समेत रहेका वडा न-५ बहुअर्वाका वडाध्यक्ष रामनरेश महतोलाई नियन्त्रणमा लिएको थियो ।
    पुर्व सांसद हरि उप्रेती लगायत पार्टीका केन्द्रीय तथा जिल्ला स्तरका नेता ,कार्यकर्ता,विभिन्न भातृ संगठनका सदस्यहरु सम्मलित र्याली  जिल्ला प्रहरी कार्यालय अगाडीबाट सुरु भइ नगरको विभिन्न भागको परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय नजिक सहिद चौकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
    रामनगर घटनाको विषयलाई लिएर विगत  एक महिनादेखि  उक्त क्षेत्रमा दुवै पक्षका नेता कार्यकर्ता बीच झडप हुँदै आएको छ ।हत्याको आशंकामा  आफ्ना पार्टीका नेतालाई  राजनीतिक प्रभावमा पारेर प्रहरी लगाएर  नियन्त्रणमा लिएको काँग्रेसले आरोप लगाएको छ  । सो पार्टीले पनि वडाध्यक्षलाई रिहाई गर्न माग गर्दै जिल्लामा विरोध प्रदर्शन गर्दै आएको छ ।
   उक्त घटनालाई राजनितीक रंग दिएर अहिले सर्लाहीका विभिन्न ठाउँमा दुवै पार्टीले   दिनहुँजसो प्रदर्शन गरिरहेका  छन् ।

दुइतले घरको भर्याङबाट लडेर बालकको मृत्यु



लोकतन्त्र समाचारदाता-----
सर्लाही ,साउन १
   सर्लाहीको  धनगढामा दुइतले काठको घरको भर्याङबाट तल ओर्लने क्रममा लडेर एक बालकको मृत्यु भएको छ ।
     बँसबरिया गाउँपालिका वडा न-५ धनगढाका स्थानीय शिवनारायण रायका ७ वर्षीय छोरा नवल किशोर रायको भर्याङबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।बुधबार दुइतले घरको भर्याङबाट तल ओर्लने  क्रममा खुट्टा चिप्लिएर लडेको दिदीले देखेपछि निजलाई  उठाएको केही बेरमै घटनास्थलमै मृत्यु भएको जिप्रका सर्लाहीका प्रहरी प्रवक्ता एवं डिएसपी मदन कुवँरले जनाएको छ । दुर्घटनाको समयमा बालककी आमा कामकोलागि घर बाहिर गएकी थइन् भने बुवा रोजगारीको सिलसिलामा  विदेशमा रहेका छन् ।
      यस्तै सोही दिन  पर्सा गाउँपालिका वडा न-१, सीतलपुर स्थित हुलाकी सडकमा  ज ५ प २४६३ नम्बरको मोटरसाइकलको ठक्करबाट स्थानीय लालिन मण्डलका ३ वर्षिय छोरा निखिल मण्डल  गम्भीर घाईते भएका छन् ।बालकलाई खेल्दै गरेको अवस्थामा संग्रामपुरबाट सीतलपुर तर्फ जाँदै गरेको  मोटरसाइकलले  ठक्कर दिएको प्रहरी प्रवक्ता डिएसपी कुवँरले जनाएको छ । घाइते बालकलाई  उपचारका लागि जिल्ला अस्पताल मलंगवा ल्याइएको छ ।