Wednesday, May 31, 2023

NNDSWO द्वारा संचालित नेपाल छात्रवृत्ति कार्यक्रम अन्तर्गत शिक्षा संजालको प्रथम त्रैमासिक बैठक सम्पन्न

 


NNDSWO द्वारा संचालित नेपाल छात्रवृत्ति  कार्यक्रम अन्तर्गत शिक्षा संजालको प्रथम त्रैमासिक बैठक सम्पन्न 



लोकतन्त्र समाचारदाता----

सर्लाही,जेष्ठ १७

     नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ(NNDSWO),सर्लाही द्वारा संचालित नेपाल छात्रवृत्ति कार्यक्रम अन्तर्गत जिल्ला शिक्षा संजाल (DEN) को २०२३ को लागि प्रथम त्रैमासिक बैठक सदरमुकाम मलंगवामा सम्पन्न भएको छ ।

    DEN का अध्यक्ष एवं संघका जिल्ला अध्यक्ष राजेश पासवानको अध्यक्षता  सम्पन्न भएको बैठकमा  छात्रवृत्तिको पारदर्शीता, सदुपयोग , शैक्षिक सत्र २०८० को लागि नयाँ विद्यार्थीहरुको छनौट गर्ने लगायतका विषयमा छलफल गरिएको थियो।

     बैठकमा सहभागी सरोकारवालाहरु बिच जिल्लाभरीका सामुदायिक विद्यालयमा अध्यनरत दलित बालबालिकाको शैक्षिक अवस्था  तथा त्यसको  सुधारमा गर्न सकिने प्रयासको विषयमा पनि विस्तृत रुपमा छलफल  गरिएको थियो।

      बैठकमा सहभागी राम नरेश मण्डल ,ओरेक नेपालकी जिल्ला कार्यक्रम संयोजक देवकुमारी महरा,बाल कल्याण समाजका अध्यक्ष सुन्दर श्याम यादव, मनिष पासवान,प्रमोद मण्डल  लगायतका अतिथिहरुले मानवअधिकार हननको चपेटामा सबैभन्दा बढी दलित समुदायका बालबालिकाहरु पर्ने गरेकाले  यसको निराकरणका लागि संचालित सबै खाले कार्यक्रम तथा योजनाहरु दलित मैत्री हुनुपर्ने धारणा राखेका थिए। 

    मलंगवा वडा न-४ स्थित संघको आफ्नै कार्यालयमा सम्पन्न भएको बैठकको संचालन जिल्ला कार्यक्रम अधिकृत  पासवानले गरेका थिए । उक्त बैठक तीन-तीन महिनाको अन्तरालमा वर्षको चार पटक बस्दै आएको संस्थाका अध्यक्ष राजेश पासवानले जानकारी दिनुभयो । 

    सोही बैठक मार्फत NCE Nepaसंयोजक  पासवानले संघीय शिक्षा ऐन जारी गर्नको लागि देशव्यापी रुपमा चलिरहेको  " शिक्षाको लागि राष्ट्रिय अभियान नेपाल"हस्ताक्षर कार्यक्रम लाई सफल बनाउन हस्ताक्षर गरेर सहयोग गरिदिन सबैसँग अनुरोध  गरेका छन् । जेष्ठ १५ गतेदेखि सुरु भएको हस्ताक्षर अभियान जेष्ठ १९ गतेसम्म चल्ने पासवानले जनाएको छ।

    

Monday, May 29, 2023

मलंगवा जेसिज द्वारा नेतृत्व विकास तालिम सम्पन्न

 

मलंगवा जेसिज द्वारा  नेतृत्व विकास तालिम सम्पन्न


लोकतन्त्र समाचारदाता---

सर्लाही,जेष्ठ १५

     मलंगवा जेसिजले युवाहरुको लागि एकदिने  नेतृत्वविकास तालिम सम्पन्न गरेको छ । सोमबार  मलंगवा  नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा मलंगवा नगरपालिका भित्रका जेसि तथा ननजेसीहरुले  तालिम लिएका थिए ।

    मलंगवा जेसिज २०२३ का अध्यक्ष जेसी राम लखन महतोको अध्यक्षता तथा मलंगवा नगरपालिकाका नगरप्रमुख एवं जेसी सिनेटर नागेन्द्र प्रसाद यादवको प्रमुख आतिथ्यतामा तालिम  सम्पन्न भएको हो।तालिमको उद्घाटन जेसिज सिनेटर जेसी यादवले बिरुवामा पानी हालेर गरेका थिए।

   राष्ट्रिय जेसीज २०२३ का भि.पि जेसी गौरव पौडेलले  सहभागीहरुलाई  युवाहरुको नेतृत्व विकास र नेतृत्व गर्ने तरिकाको विषयमा प्रशिक्षण दिनुको साथै  जेसिजको बारे जानकारी गराएका थिए।

    तालिमको आयोजना मलंगवा जेसिजले गरेका थिए।




कौडेना गाउँपालिकाको इनर्वामा बलवान प्राविको नयाँ भवन उद्घाटन


कौडेना गाउँपालिकाको इनर्वामा बलवान प्राविको नयाँ  भवन उद्घाटन

लोकतन्त्र समाचारदाता---

सर्लाही,जेष्ठ १५

      मधेस प्रदेश सांसद कौशल किशोर राय तथा कौडेना गाउँपालिकाका प्रमुख रुपेश कुमार रायले संयुक्तरूपमा  कौडेना गापा-२ इनर्वा स्थित श्री बलवान प्राविको नवनिर्मित भवनको उद्घाटन गरेका छन् ।

  गाउँपालिका कोषबाट बनाइएको उक्त प्राविको नयाँ भवनको उद्घाटन  कार्यक्रममा स्थानीय जनप्रतिनिधि ,कर्मचारी ,शिक्षक, विद्यार्थी तथा अभिभावकहरु लगायत स्थानीय शिक्षाप्रेमी समाजसेवीहरुको उपस्थिति रहेको थियो।

   आइतवार सम्पन्न भएको कार्यक्रमको आयोजना श्री बलवान प्रावि इनर्वाले गरेका थिए।

मलंगवामा पनि गणतन्त्र दिवस विभिन्न कार्यक्रमहरु गरि मनाइयो

 


 मलंगवामा पनि गणतन्त्र दिवस विभिन्न कार्यक्रमहरु गरि मनाइयो


लोकतन्त्र समाचारदाता---

सर्लाही,जेष्ठ १५

      देशभरसहित सर्लाहीको सदरमुकाम मलंगवामा पनि विभिन्न कार्यक्रमहरुको आयोजना गरि १६ औं  गणतन्त्र दिवस हर्षोल्लासका साथ मनाइएको छ।

     मलंगवा स्थित जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा बसेको बैठकको निर्णयअनुसार  जिल्ला समन्वय समितिका सभापति कौशल किशोर सिंहको संयोजकत्वमा 

मूल समारोह समिति गठन गरि जेष्ठ १४ गतेदेखि १६ गतेसम्म विविध   कार्यक्रमहरु गरि  गणतन्त्र दिवस  मनाइएको छ। सोही निर्णय अनुसार १४ गतेदेखि १६ गतेसम्म साँझ जिल्लास्थित सबै सरकारी कार्यालय, सार्वजनिक एवं सामुदायिक संघसंस्था, शैक्षिक प्रतिष्ठान तथा आम नागरिक समेतलाई आह्वान गरी साँझ दीप प्रज्वलन गरिएको छ।  मुख्य दिन जेष्ठ १५ गते  सोमबार बिहान प्रादेशिक अस्पताल मलंगवामा भर्ना भएका बिरामीहरुलाई फलफूल वितरण, शहिदहरु प्रति सम्मान,झण्डोत्तोलन, प्रभात फेरी र रक्तदान  कार्यक्रमको आयोजना गरि दिवस  मनाइएको छ ।

    मुख्य दिन अर्थात जेष्ठ १५ गतेको कार्यक्रममा जिसस उपप्रमुख जितेन्द्र कुमार महतो, सहायक प्रमुख जिल्ला अधिकारी होम प्रसाद घिमिरे, प्रहरी उपरीक्षक  नरेशराज सुवेदी, सशस्त्र प्रहरी उपरीक्षक सूर्य प्रकाश शर्मा,  नेपाली सेनाका सेनानी  राजन कँडेल, नागरिक समाजका अध्यक्ष उग्रकान्त झा, महासचिव शिवचन्द्र चौधरी,विभिन्न  कार्यालयका कार्यालय प्रमुख ,कर्मचारी,विभिन्न  विद्यालयका शिक्षक तथा विद्यार्थीहरु र पत्रकारहरु लगायतको उपस्थिति रहेको थियो ।

   २०६५ साल जेठ १५ गते राजतन्त्रको अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको घोषणा भएको थियो ।त्यही दिनको सम्झनामा हरेक वर्ष जेठ १५ गते यो दिवस मनाउने गरिन्छ । 

  

Sunday, May 28, 2023

मिटर ब्याजीको नाममा प्रशासनमा मुद्दा खेपिरहेका साहु महाजनहरु पनि संगठित हुँदै, अध्यादेश उपर सर्वोच्चमा रिट हाल्ने तयारी


मिटर ब्याजीको नाममा प्रशासनमा मुद्दा खेपिरहेका साहु महाजनहरु पनि संगठित हुँदै, अध्यादेश उपर सर्वोच्चमा रिट हाल्ने तयारी 


मनोज यादव----

सर्लाही,जेष्ठ १४

    वास्तविक मिटर ब्याजीको निहुँमा  सानोतिनो रकम सापट दिएर काम चलाइदिएका ब्यक्तिहरु उपर पनि मुद्दा दर्ता हुन थालेपछि सर्लाहीका साहु महाजनहरु पनि संगठित भएर आन्दोलनमा उत्रिएका छन् ।आन्दोलनलाई सशक्त रुपमा परिचालन गर्न  सर्लाही जिल्लाभरीका साहु महाजनहरु सदरमुकाम मलंगवामा भेला भइ "पिडित साहु जिल्ला संघर्ष समिति" गठन गरेका छन् ।

      शनिवार मलंगवा नगरपालिका वडा न-४ शिवसागर चौक स्थित रहेको कलवार घर्मशालामा भेलाको आयोजना गरि सुरेन्द्र प्रसाद यादव(ब्रह्मपुरी)को नेतृत्वमा ११ सदस्यीय संघर्ष समिति गठन गरिएकोछ। जिल्लाभरीका पिडित साहु महाजन तथा पत्रकारहरुको उपस्थितिमा गठन गरिएको समितिको सहअध्यक्षमा बिरेन्द्र राय(बँसबरिया), उपाध्यक्षमा महिलाको तर्फबाट समरा खातुन(चक्रघट्टा),सचिवमा गजेन्द्र राय यादव(हरिपुर्वा)तथा कोषाध्यक्षमा कबिलासीका बिकाउ राय चयन भएका छन् 

    यसैगरी सदस्यहरुमा नाजनी खातुन(मलंगवा),शुकमारी ठाकुर(मलंगवा),समुन्द्री देवी पंडित(मलंगवा),सावित्री देवी चौधरी(मलंगवा),रंजित कुमार चौधरी(कौडेना),राकेश प्रसाद महतो (कबिलासी),देवनारायण राय(हरिपुर्वा),नागेश्वर चौधरी(मलंगवा),सत्यनारायण राय(पुरैनिया) र दशै साह(बरहथवा) रहेका छन् ।

   नवगठित समितिले आउँदो जेष्ठ १६ गते मंगलबार आफ्नो समस्याहरुको बारेमा जानकारी गराउन विभिन्न निकायहरुमा ज्ञापनपत्र बुझाउने निर्णय गरेका छन् ।त्यसपछि  अध्यादेश उपर सर्वोच्चमा रिट हाल्ने तयारी गरेका छन्।


    केही नेताहरुले आफ्नो निहित स्वार्थ पुर्ति गर्नका लागि सोझा साझा जनताहरुलाई जिल्ला प्रशासनमा निवेदन दिएपछि सरकारले तिमीहरूले साहु महाजनसँग लिएको सावाँसहित व्याज रकम माफ हुन्छ भनि झुठो लालचमा उचालेर मिटर व्याजीको आरोप लगाइ कथित पिडक बनाएर जिल्ला प्रशासन कार्यालय मलंगवामा मुद्दा दर्ता गराएको प्रति आफुहरुको ध्यानाकर्षण भएको र सो आरोपको घोर भत्सर्ना गर्दै बाध्य भएर जिल्लाभरीका पिडित साहुहरुलाई एककृत गरेर संघर्ष समिति गठन गरेको  समितिका अध्यक्ष यादवले पत्रकारहरुलाई जानकारी गराएका छन्। 

   समाजको नाताले गाउँले तथा छिमेकीलाई पढाई लेखाइ,उपचार खर्च,वैदेशिक रोजगारीमा जान चाहिने खर्चलगायत विभिन्न घरायसी प्रयोजनको लागि रातदिन केहीपनि नसोंची पैसा चलाइ दिएको ब्यक्तिहरुले नै केही गलत प्रवृत्तिका नेताहरुको कुरामा लागेर उल्टै मिटर व्याजीको आरोपमा फसाएर नराम्रो काम गरेको समितिका उपाध्यक्ष समरा खातुनले गुनासो गरिन।अब त पैसा चलाइदिने साहुहरु नै पिडित बनिसकेका छौ खातुनले पत्रकारहरु समक्ष दुखेसो पोखिन।

    वास्तविक  मिटर व्याजीको नाममा सानोतिनो सापट रुपैया चलाइदिने व्यक्तिहरु माथि पनि मुद्दा दर्ता हुन थालेपछि अहिले जस्तोसुकै समस्या आइपर्दा समेत एकअर्कालाई पैसा दिन बन्द भएपछि ठूलो सामाजिक समस्या उत्पन्न भएको स्थानीय बुद्धिजिवीहरुले बताएका छन् ।




  

सर्लाही जिल्लामै पहिलोपटक मलंगवाको तिरुपती बालाजी अस्पतालमा सिटी स्क्यान सेवा सुरु,बिरामीको अधिक खर्च र समयको बचत


सर्लाही जिल्लामै पहिलोपटक मलंगवाको तिरुपती बालाजी  अस्पतालमा सिटी स्क्यान सेवा सुरु,बिरामीको अधिक खर्च र समयको बचत 


मनोज यादव----

सर्लाही,जेष्ठ १४

      मधेस प्रदेश अन्तर्गत सर्लाहीको सदरमुकाम मलंगवा स्थित तिरुपती बालाजी पोलिक्लिनिक अस्पतालमा जिल्लामै  पहिलो पटक सिटी स्क्यान मेसिन संचालनमा आएको छ । उक्त अस्पतालको झण्डै साढे तीन करोड लगानीमा अत्याधुनिक सिटी स्क्यान मेसिन संचालनमा आएको अस्पतालका संचालक डा.प्रभाष कुमार साहले जानकारी दिएको छ।

    मलंगवाको तिरुपती बालाजी अस्पतालमा जडान गरिएको १६ स्लाइसको सिटी स्क्यान मेसिनले मधेस प्रदेशको बिरगंज र जनकपुरमा रहेका  अस्पतालहरुको जस्तै सेवा प्रदान गर्ने डा.साहले बताएका छन् । औपचारिक रुपमा शुक्रवारदेखि संचालनमा आएको यो सिटी स्क्यान मेसिन सर्लाही जिल्लामै पहिलो पटक जडान गरिएको डा.साहले  जानकारी दिए ।

  टाउकोमा लागेको चोट, नसामा रगत जमेको, घाँटीको समस्या, क्यान्सर, हड्डीको समस्या, पेटको समस्यालगायत सबै प्रकारका जटिल रोगको निदानमा मेसिन उपयोगी हुने अस्पतालले बताएको छ ।  सिटी स्क्यान मेसिन नहुँदा  मलंगवा लगायत आसपासका  प्रतिमहिना सयौं बिरामीहरु जनकपुर,बिरगंज र काठमाडौ  जान बाध्य थिए ।जसले गर्दा बिरामीलाई थप आर्थिक भार पर्दै आएको अस्पताल परिसरमा भेटिएका एक सेवाग्राही माधव कर्माचार्यले बताएका छन् ।

     सर्लाही जिल्लाको मलंगवामै पहिलो पटक अत्याधुनिक सिटी स्क्यान मेसिन संचालनमा आएपछि यस क्षेत्रका नागरिकहरु खुशी भएका छन् । टाउकोमा लागेको सामान्य चोटका लागि समेत जिल्ला बाहिर जानुपर्ने बाध्यताबाट मुक्त भएपछि यस क्षेत्रका नागरिकहरु उत्साहित भएका हुन् । सामान्य सिटी स्क्यान गर्नु पर्दा बिरामी वा घाईतेलाई बिरगंज ,जनकपुर र काठमाडौ जस्ता ठुला सहरमा  जानु पथ्र्यो अब मलंगवामै यो सेवा सुरु भएपछि समयको बचत सँगसँगै   आर्थिक भार पनि कम  हुने भयो सेवाग्राही कर्माचार्यले भने । यो मलंगवाबासीको लागि मात्र नभइ सम्पूर्ण जिल्लाबासीहरुकै लागि खुशी र गौरबको कुरा हो उनले थपे।

    मलंगवा नगरपालिका वड न-९ स्थित श्रीमती कृष्णादेवी जनता माद्यामिक विद्यालयको छेउमा रहेको तिरुपती बालाजी पोलिक्लिनिकले बिरामीहरुलाई मुटु रोग,मानसिक रोग,किड्नी रोग,छाला रोग लगायतका रोगका विशेषज्ञ डाक्टरहरु द्वारा उपचारको साथै प्याथोलोजी,एक्स-रे,भिडियो एक्स-रे लगायतका सेवाहरु दिंदै आएको अस्पताले जनाएको छ।


प्रभु लाइफले दुई दिनमै गरे मृत्यु बिमा भुक्तानी


प्रभु लाइफले दुई दिनमै गरे मृत्यु बिमा भुक्तानी

लोकतन्त्र समाचारदाता---

सर्लाही,जेष्ठ १४

   सर्लाहीको सदरमुकाम मलंगवामा रहेको प्रभु लाइफ इन्स्योरेन्सको उप-शाखाले बिमतीको मृत्यु भएको दुई दिनमै इन्स्योरेन्स वापतको सम्पूर्ण रकम भुक्तानी गरेको छ।कम्पनीले बिमतीको मृत्यु पश्चात् इन्स्योरेन्स वापतको रकम पाउनको लागि पेस गरेको निवेदनसहित सम्पूर्ण कागजात प्राप्त गरेको दोस्रो दिनमा नै उक्त कम्पनीले दावी भुक्तानी गरेको छ ।

     २०७८ पुष ९ गते प्रभु लाइफ इन्स्योरेन्सको समुन्नती जीवन बीमा गराएका अजय कुमार साहको मृत्यु पश्चात निजको परिवारलाई उपशाखा मलंगवामा एक कार्यक्रमकाको आयोजना गरि भुक्तानी गरिएको उपशाखा प्रमुख संजय श्रेष्ठले जानकारी दिए । प्रभु लाइफ इन्स्योरेन्सका मधेश प्रदेश प्रमुख सुदिष्ट कुमार गुप्ता र उपशाखा प्रमुख श्रेष्ठले संयुक्तरूपमा  मृतक अजय कुमार साहकी श्रीमती (इच्छाइएको व्यक्ति) अन्जु कुमारी देवीलाई ६,१८,००० रुपैयाँको चेक हस्तान्तरण गरेका हुन। ६ लाख रुपौंया बीमाङ्कको जीवन बीमा गरेका साहले  दुई किस्ता गरि जम्मा रु. ६१,६०६ रकम प्रीमियम तिरेपश्चात  मृत्यु भएको थियो । सो वापत प्रभु लाइफ इन्स्योरेन्सले बीमितकी श्रीमती  अन्जु कुमारी देवीलाई सो रकम बराबरको  चेक हस्तान्तरण गरेको उपशाखा प्रमुख श्रेष्ठले बताए ।

    कार्यक्रममा बोल्दै मधेश प्रदेश प्रमुख गुप्ताले प्रभु लाइफ दावी भुक्तानीलाई छिटो छरितो रुपमा प्रवाह गर्न हरदम तयार रहने बताए । यसरी जीवन बीमा कम्पनीले छिटोछरितो बिना झण्झट बिमतीको  दावी भुक्तानी गर्दा  आम मानिसको जीवन बीमा प्रति विश्वास र आकर्षण बढ्ने उनले बताए।  कदमकदाचित केही भएमा बीमतीको परिवारको आर्थिक जोखिम कम गर्न प्रभु लाइफ हरदम तयार रहेको भने। यसैगरी सोही कार्यक्रममा उपशाखा  प्रमुख श्रेष्ठले मृत्यु पश्चात पनि परिवार प्रतिको दायित्व निर्वाह गर्ने एक मात्र माध्यम जीवन बीमा रहेको बताउँदै  सबैले आफ्नो परिवारको आर्थिक सुरक्षाका लागि जीवन बीमा गर्नुपर्ने बताएका छन् ।

    बिना झण्झट सहजरूपमा बिमा रकम पाएपछि बिमती साहकी श्रीमती अन्जु कुमारी निकै खुसी देखिन्थे।

Saturday, May 27, 2023

घरेलु तथा साना उद्योग कार्यालय सर्लाही द्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न

 

घरेलु तथा साना उद्योग कार्यालय सर्लाही द्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न

लोकतन्त्र समाचारदाता---

सर्लाही,जेष्ठ १३

      घरेलु तथा साना उद्योग कार्यालय सर्लाहीले सदरमुकाम मलंगवामा उपभोक्ता हित र अधिकारको विषयमा  सचेतनामुलक  कार्यक्रम सम्पन्न गरेको छ ।

     गुणस्तरीय  उपभोग्य सामाग्रीहरुको बिक्रीवितरण, प्रयोग र पहिचानको विषयमा आम उपभोक्ताहरुमा सचेतना जगाउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको हो।

घरेलु तथा साना उद्योग कार्यालय सर्लाहीका  प्रमुख जितेन्द्र किशोर गुप्ताको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा सर्लाही चेम्वर अफ कमर्सका अध्यक्ष अमीत कुमार अग्रवाल लगायत जिल्लाभरीका व्यापारी ,उद्योगी तथा पत्रकारहरुको उपस्थिति रहेको थियो।

   कार्यक्रम मलंगवा-३ स्थित सुजाता पार्टी प्यालेसको सभाहलमा सम्पन्न भएको थियो।

सलेमपुरमा डोम जातीका अगुवाहरुको जिल्ला सम्मेलन सम्पन्न

  सलेमपुरमा डोम जातीका अगुवाहरुको जिल्ला सम्मेलन सम्पन्न  


लोकतन्त्र समाचारदाता----

सर्लाही,जेष्ठ १३

    सर्लाहीको सलेमपुरमा डोम जातीका अगुवाहरुको जिल्ला सम्मेलन सम्पन्न भएको छ।डोम समुदाय विकास केन्द्रको आयोजनामा सम्पन्न उक्त भेलाले डोम जातीहरुको उत्थान र विकास गर्ने उदेश्यका साथ सर्लाही  जिल्ला संगठन समेत बनाएको छ।

बिरेन्द्र मल्ली डोमको अध्यक्षता तथा बहुजन एकता पार्टी नेपालका केन्द्रिय अध्यक्ष हरिनन्दन कुमार रंजनको प्रमुख आतिथ्यमा आयोजित भेलामा सर्लाहीका सबै स्थानीय तहबाट डोम अगुवाहरु सहभागी हुन कबिलासी नगरपालिकाको सलेमपुरमा आएका थिए।

    कार्यक्रमलाई संबोधन गर्दै बहुजन एकता पार्टी नेपालका राष्ट्रिय अध्यक्ष श्री रंजनले समाजको उन्नति बिचारधाराले गर्ने हुँदा जात  व्यवस्थाद्वारा पिडित डोम समुदायले अंबेडकर बिचारमा समाजलाई रुपान्तरण गर्नु पर्ने बताए।उनले भने- "धार्मिक अन्धविश्वास,अशिक्षा,बौद्धिक दरिद्रता,नशा डोम जातीको प्रमुख समस्या रहेको र यीनै तत्वहरु प्रगतीको बाधक रहेकोले यस्ता कुरालाई त्याग गर्दै बुद्धको समता,स्वतन्त्रता र भाइचाराको बाटो समातेर अगाडि बढ्ने कसम लिई डोमहरु अब सामाजिक रुपान्तरण अभियानके नेतृत्व गर्ने समय आएको छ।"डोम समुदाय विकास केन्द्रका अध्यक्ष विजय मल्लीको संचालनमा भएको उक्त भेलाले बिकाउ मल्लि डोमलाई सर्लाही जिल्ला अध्यक्षमा सर्व सम्मत चयन गरेको हो।

    यस्तै उपाध्यक्षमा शम्भु मल्लिक,कोषाध्यक्षमा सुन्दर देवि मल्लिक,सचिबमा लालबाबु मल्लिक सदस्यहरुमा मनोज मल्लिक,जितेन्द्र मल्लि,झगरु मल्ली ,निर्माला मल्लिक लगायतका व्यक्तिहरु सर्वसम्मत चयन भएका छन।चयनित समितीले अगामी २७ गते ज्येष्ठमा सर्लाहीकै बेल्ही बजारमा अर्को भेला गर्ने निर्णय गरेको समितिको धनुषा जिल्ला अध्यक्ष सरोज मल्लिकले जानकारी गराएका छन।

रक्सी, मादक पदार्थ र हातहतियार तथा मानव तस्करी माथि पुर्ण रूपले रोक लगाउने भन्दै दुबै देशका सुरक्षा प्रमुखहरूकाे बैठक सम्पन्न

 रक्सी, मादक पदार्थ र हातहतियार तथा  मानव तस्करी माथि पुर्ण रूपले  रोक लगाउने भन्दै दुबै देशका सुरक्षा प्रमुखहरूकाे बैठक सम्पन्न 

बखतियार अलि----

सीतामढ़ी,जेष्ठ १३

    नेपाल- भारत सीमा संयुक्त समन्वय समितिकाे  बैठक समाहरणालय स्थित विमर्श सभा कक्ष सीतामढी बिहारमा सप्पन्न भएकाे छ । 

 बैठकमा  सीतामढ़ीका जिलाधिकारी मनेश कुमार मीणा, पुलिस अधीक्षक मनोज कुमार तिवारी साथै कमांडेंट एस एस बी 51th एवं 20 th बटालियन, एडीएम राजस्व प्रमुख सहित  एएसपी सीतामढ़ी समेतकाे बैठकमा उपस्थित रहेकाे थियाे । त्यसतै नेपालबाट उक्त बैठकमा सर्लाही, महाेतरी र  रौतहटका सीडीओ, सहायक सीडीओ तीनवटै जिल्लाका नेपाल प्रहरी, सशस्त्र प्रहरीका उपरीक्षक सहितका टाेली बैठकमा उपस्थित रहेकाे थियाे । सुरक्षा संयन्त्रहरूकाे यस बैठकमा नेपाल- भारत सीमामा हुने मादक पदार्थ तथा एवं तस्करी माथि पुर्न प्रतिबन्ध लगाउन बारेमा छलफल भएकाे सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनु भयाे  । बैठकमा उपस्थित दुबै देशका सुरक्षा प्रमुखहरू बिच सीमावर्ती क्षेत्रमा खुलेका रकसी पसलहरूलाई सीमावर्ती क्षेत्र भनदा २/३ किलाे मिटर भित्र सार्नुपर्छ भनने कुरा माथि भारतीय सुरक्षा संयन्त्रका  जिलाधिकारीहरूले नेपालका अधिकारीहरूलाई अनुराेध गरेकाे थियाे । यसकाे साथै हात हथियारकाे  तस्करी, मानव तस्करीका साथै दुबै देशकाे मुद्राकाे  तस्करी माथि पनि राेक लगाउने प्रती सहमति भएकाे जनाएको छ । जेष्ठ असारकाे महिनामा नेपाल-भारत सीमामा बाढबाट हुने क्षति राेकनकाे लागि दुबै देशका प्रशासनले सतर्कता अपनाएर विपत ब्यबस्थापनकाे तयारी समेत गर्नुपर्ने कुरामा पनि सहमति भएकाे बताएकाे छ ।           सीमा अतिक्रमण तथा  सीमा स्तंभहरूकाे  मरम्मत माथि पनि बैठकमा चर्चा भएकाे छ ।

रा.स्व.पार्टीमा प्रति आम जनताकाे आकर्षक बढ्यो

 रा.स्व.पार्टीमा प्रति आम जनताकाे आकर्षक बढ्यो  


बख्तियार अली----                      

सर्लाही १३ जेष्ठ 

     राष्ट्रिय स्वतन्त्र पार्टीको संगठन बिस्तारमा आम जनताकाे आकर्षक बढदै गएकाे छ । मधेश प्रदेश सभापति ई. तपेशवर यादवले  राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति चुनिए पछि मधेश प्रदेशमा संगठन नरहेकाे यस पार्टीकाे संगठन बिस्तार धमाधम भईरहेकाे देखिएकाे छ । 

  सर्लाहीको ईश्वरपुर नगरपालिका भेलालाई सम्बाेधन गर्दै प्रदेश सभापति ई. तपेशवर यादवले पार्टी प्रती आम जनताकाे आकर्षक बढदै गएकाेले अब आउने दिनमा मधेश प्रदेशनै घण्टीमय हुने वहाले बताउनु भयाे । बिगत केही दिनकाे संगठन बिस्तारले मात्र हजाराैकाे संख्यामा राष्ट्रिय स्वतन्त्र पार्टीकाे नया सदस्यता लिनेहरूकाे संख्यामा हवातै बढेकाे वहाले भने । कार्यक्रममा बाेलदै सर्लाही जिल्ला संयाेजक कमलेश साहले भने देशमा रहेकाे प्रमुख दलहरू प्रती  आम नेपाली जनताकाे विश्वास कम हुँदै गएकाेले विकल्पका रूपमा  राष्ट्रिय स्वतन्त्र पार्टी उदाएकाे संयाेजक साहले  बताउनु भयाे । 

   कार्यक्रममा प्रदेश काेषाअधयक्ष चन्दन साह, प्रदेश सदस्यहरू क्रमश पंच बहादुर, रामदुलार  महताे, डा, ईनद्रजित साह, संजिव यादव लगायतकाे सहभागीता रहेकाे थियाे ।  अब "जान्नेलाई छान्ने" भन्ने पार्टीको मुल मन्त्रलाई आत्मसाथ गरि संगठन बिस्तारकाे कामले तिब्रता पाएकाे कार्यक्रममा सहभागी प्रदेश सदस्यहरूले बताए । पार्टीकाे संगठन बिस्तारमा  राम्रो र सक्षम ब्यक्तिलाई पदाधिकारी बनाउनु हुन प्रदेश सभापति ई, तपेशवर यादवले सुझाएका थिए ।  सर्लाहीको ईश्वरपुर नगरपालिका भेलाबाट पदाअधिकारी चयन भएपछि लालबन्दी नगरपालिका भेलाबाट पनि लालबन्दी नगर कमिटी बिस्तार हुने सर्लाहीका उप संयोजक पंच बहादुरले जनाएको छ ।

Friday, May 26, 2023

मलंगवामा समाजमा विद्यमान रहेका हानिकारक अभ्यासहरु सम्बन्धी अन्तरक्रिया सम्पन्न

 


मलंगवामा समाजमा विद्यमान रहेका हानिकारक अभ्यासहरु सम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकतन्त्र समाचारदाता---

सर्लाही,जेष्ठ १२

    राष्ट्रिय महिला आयोगको आयोजनामा समाजमा विद्यमान रहेका हानिकारक अभ्यासहरुको विषयमा अन्तरक्रिया कार्यक्रम  सर्लाहीको सदरमुकाम मलंगवामा सम्पन्न भएको छ। शुक्रवार सम्पन्न भएको कार्यक्रममा दाइजो प्रथा, तिलक,बालविवाह,  बोक्सीको आरोपलगायतका प्रथाहरुको न्यूनिकरणसम्बन्धी सरोकारवाला ब्यक्ति तथा संघसंस्थाका प्रतिनिधिहरु बिच अन्तरक्रिया गरिएको हो।

   राष्ट्रिय महिला आयोगका अध्यक्ष विद्या सिन्हाको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्लास्थित विभिन्न स्थानीय तहका प्रमुख ,उपप्रमुख ,सुरक्षा निकाय,महिला अधिकारको क्षेत्रमा कार्यरत संघसंस्थाका प्रतिनिधि ,पत्रकारलगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

   कार्यक्रममा सहभागी भएका सरोकारवालाहरुले  महिला भएकै कारण महिलामाथि हुने हिंसाको अन्त्य नभएसम्म घर, समाज र राष्ट्रको उन्नती तथा प्रगति नहुँने भएकोले समाजमा रहेका सबै प्रकारका विभेद र हिंसाको अन्त्यका लागि तीनै तहका सरकार र समाजका अगुवाहरुको पहत्वपूर्ण भुमिका रहनु पर्ने धारणा राखेका थिए।

    आयोगका अध्यक्ष सिन्हाले नेपालको संविधानले राष्ट्रिय महिला आयोगलाई संवैधानिक मान्यता दिएको, आयोगले देशका सबै क्षेत्रमा महिला अधिकारको संरक्षण र सम्बर्धनका लागि काम गर्दै आएको बताउँदै आयोगले गर्ने काम कार्वाही, उजुरी र कानुनी कार्वाहीका सन्दर्भमा जानकारी गराउनु भएको थियो ।

   कार्यक्रममा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले समाजमा विद्यमान दाइजो ,तिलक,बालबिवाह,बोक्सी आरोप लगायतका  हानिकारक अभ्यासहरु बाट उत्पन्न समस्या,चुनौती तथा  समाधानका उपाय र महिलाहरुको संवैधानिक ऐनको विषयमा जानकारी गराएका थिए।

    कार्यक्रम  मलंगवा न.पा वडा न-९ स्थित सुजाता पार्टी प्यालेसको सभाहलमा सम्पन्न भएको थियो।






अग्नि ग्रुपको थ्रीएस सेटअप सहितको महिन्द्रा शोरुम मलंगवामा पनि खुल्यो

 

अग्नि ग्रुपको थ्रीएस सेटअप सहितको  महिन्द्रा शोरुम मलंगवामा पनि खुल्यो

मनोज यादव---



सर्लाही,जेष्ठ १२

     सर्लाहीको सदरमुकाम मलंगवामा अग्नि ग्रुपको महिन्द्रा ट्याक्टरको सो रुम तथा सर्भिस सेन्टर सञ्चालनमा आएको छ ।अग्नी ग्रुपले नेपालको मधेस प्रदेश अन्तर्गत सर्लाहीको सदरमुकाम  मलंगवा नगरपालिका वडा न-३ स्थित विश्वकर्मा चौकमा बैष्णवी ट्रेडर्स मार्फत महिन्द्रा ट्याक्टरहरुको सुसज्जित नयाँ बिक्री ,सेवा र पार्टपुर्जासहितको शोरुम स्थापना गरेको हो। उक्त शोरुम तथा सर्भिस सेन्टरको बिहिवार एक समारोहका बिचअग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ र नेकपा एमालेका नेता एवं प्रतिनिधि सभा सदस्य प्रत्यासी राजनारायण साहले संयुक्तरूपमा गरेका छन् ।

   सर्लाही जिल्लाका लागि आधिकारिक शोरुम बैष्णवी ट्रेडर्सको उद्घाटन कार्यक्रममा पत्रकारहरुसँग कुराकानी गर्दै प्रबन्ध निर्देशक श्रेष्ठले कम्पनीले उपभोक्ताको आवश्यक्ता अनुसार महिन्द्राका ट्याक्टरहरुका विभिन्न श्रृङखलाका उत्पादनहरु उपलब्ध गराउनमा केन्द्रित रहेको र सबै बिक्री केन्द्रहरुमा समान गुणस्तर सेवाका कारण अधिकतम उपभोक्ताहरु सन्तुष्ट रहेको बताएका छन् ।

   सर्लाहीका लागि आधिकारिक बिक्रेता वैष्णवी ट्रेडर्सका प्रबन्ध निर्देशक विरेन्द्र साहका अनुसार महिन्द्रा ट्याक्टरका सबै श्रृङखला जस्तै 215DI YUVRAJ,JIVO 245 DI 4WD,NOVO ARJUN 605 DI 4WD,575DI PS DC YUVO आदि खरिद गर्न चाहने ग्राहकहरुलाई उत्कृष्ट र गुणस्तरीय बिक्री सेवा ,सर्भिस र वास्तविक स्पेयर पार्टसहरु प्रदान गर्ने मात्र नभइ महिन्द्रा अटोमोबाइल्सका सबै श्रृङखलाका उत्पादनहरु जस्तै स्कारपियो,बोलेरो पिकअप,एक्सयूभी 500,टियूभी 300,केयूभी 100 आदिका उत्कृष्ट सेवा(सर्भिस) र सक्कली स्पेयर पार्ट्सको लाभ समेत उपलब्ध गराउनमा समर्पित हुने छ।

    प्रेस विज्ञप्ति जारी गर्दै कम्पनीले मलंगवाको सुविधासम्पन्न आउटलेटले

ग्राहकलाई अन्तर्राष्ट्रिय स्तरको सेवासहितको कम्पनीमा पहुँच प्राप्त गर्न थप सुविधाजनक र आर्थिक बनाइ मलंगवा र आसपासका ग्राहकहरुलाई अधिकतम सुविधा र किफायती रुपमा कम्पनी र यसका सबै गुणस्तरीय सेवामा पहुँच उपलब्ध गराई लाभ प्रदान गर्ने मूल उदेश्यका साथ नयाँ शोरुम तथा सर्भिस सेन्टरको स्थापना गरिएको जानकारी गराएका छन् ।यस क्षेत्रमा स्थापना गरिएको  नयाँ शोरुमले आउँदा दिनहरुमा ग्राहक र कम्पनिबीचको विश्वास अझ प्रगाढ र सुमधुर बन्दै जाने साथै नयाँ उद्यमी र कृषकहरुले विशेष लाभ प्राप्त गर्ने कम्पनीले विश्वास लिएको विज्ञप्ति मार्फत बताएका छन् ।

    मलंगवामा स्थापना भएको थ्रीएस सेटअप सहितको वैष्णवी ट्रेडर्स  अग्नि इन्कप्रोरेटेड प्रालि अन्तर्गत अन्तर्गतको पुर्ण सुविधायुक्त सुसज्जित शोरुम रहेको छ भने सर्भिस सेन्टर बालाजु अटो वर्कस लिमिटेड अन्तर्गतको सुविधा सम्पन्न सर्भिस सेन्टर रहेको छ।

      उद्घाटन कार्यक्रममा मनपा का पुर्व मेयर निरसल साह,एमालेका नेता रेवती पन्त,बिदुर प्याकुरेल, जिल्ला समन्वय समिति सर्लाहीका पुर्व सभापति मेथुर चौधरी,स्थानीय समाजसेवी एवं व्यापारी संजय गुप्ता सुगन्ध लगायत विशिष्ठ व्यक्तिहरुको उपस्थिति रहेको थियो।

 

वर्तमान नेतृत्वको ३६५ दिन पूरा गरि मलंगवा नगरपालिकाले गरे सार्वजनिक सुनुवाई


वर्तमान नेतृत्वको  ३६५ दिन पूरा गरि मलंगवा नगरपालिकाले गरे सार्वजनिक सुनुवाई 

 

मनोज यादव----

सर्लाही,जेष्ठ १२

    सर्लाहीको सदरमुकाम मलंगवा  नगरपालिकाले वर्तमान नेतृत्वबाट पहिलो एक वर्षमा सम्पादित कार्य विवरणहरु उपर बिहीबार  सार्वजनिक सुनवाइ गरेको छ।  कार्यक्रम विज्ञापन सेवा समिति सर्लाहीको  आयोजनामा भएको थियो ।

    नगरपालिकाबाट सञ्चालित विकास कार्यक्रम, उपलब्ध सेवा, वस्तु र सुविधा सार्वजनिक गरी सेवाग्राही नागरिकले उठाएका प्रश्नहरुमा प्रस्टता ल्याउन र नागरिकबाट प्राप्त रचनात्मक सुझावहरुलाई ग्रहण गर्दै जिम्मेवार संस्कार बसाई आम नागरिकको चासो सरोकार तथा विकास निर्माण योजना र समस्याको समाधान गरी सेवाग्राहीका रुपमा आएका सर्वसाधारण प्रति सेवा प्रदायक निकायबाट भए गरेका क्रियाकलाप, उपभोक्ता समिति गठन प्रक्रिया, योजना सञ्चालन, पारदर्शिताको स्थानीय निकायमा सार्वजनिक सुनुवाइ कार्यविधि बमोजिम आम सर्वसाधारणहरुमा जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना  गरिएको प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतमले  जानकारी दिए।

     नगरप्रमुख नागेन्द्र प्रसाद यादवको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपस्थित  नगर उपप्रमुख शकुन्तला देवी साह, उपस्थित पुर्व सांसद रामचन्द्र राय,जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल किशोर सिंह,प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव,प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतम ,जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी नरेशराज सुवेदी लगायतका अतिथिहरुले शुभकामना मन्तव्य राख्दै  नगरपालिकाले गरेको कामको प्रशंसा गरेका थिए।

    विज्ञापन सेवा समितिका अध्यक्ष एवं संचारकर्मी बख्तियार अलीले सञ्चालन गरेको उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा विशेष गरि नगरवासीहरुले वाटोघाटो , विधुत, खानेपानी, भवन निर्माण ,लामखुट्टे नियन्त्रणको लागि फोहर व्यवस्थापन ,शिक्षा,स्वास्थ्य ,नियमित बजार अनुगमन,सार्वजनिक सवारी पार्किङको व्यवस्था तथा बजार व्यवस्थापन लगायतको समस्याको वारेमा जानकारी गराउदै प्रश्नको माध्यमवाट समस्याको उपाय खोदै जिज्ञासा तथा सुझाव समेत राखेका थिए । कार्यक्रममा नगरको विविध समस्या तथा सामाधानका  उपायहरको बारेमा विचार विमर्श समेत गरिएको थियो ।

    कार्यक्रममा  नगरपालिका सूचना अधिकृत राजकुमार अधिकारीले नगरपालिकाबाट एक वर्षमा सम्पादित कार्य विवरण गरेका थिए।  

    नगरपालिकाको प्रांगणमा आयोजना  भएको कार्यक्रममा ५ सय भन्दा बढी नगरबासीहरुको उपस्थिति रहेको थियो।

Thursday, May 25, 2023

अधिकार प्राप्त सार्वजनिक स्रोत र सेवाहरुमा पहुँच सुधार गर्न अन्तरक्रिया

 

अधिकार प्राप्त सार्वजनिक स्रोत र सेवाहरुमा पहुँच सुधार गर्न  अन्तरक्रिया


लोकतन्त्र समाचारदाता---

सर्लाही,जेष्ठ ११

     सर्लाहीको मलंगवामा अधिकार प्राप्त सार्वजनिक स्रोत र सेवाहरुमा पहुँच सुधार गर्न  कौडेना गाउँपालिकाका सेवा प्रदायक तथा लक्षित समूहहरु बीच अन्तरक्रिया  गरिएको छ। सि.इ.सी.आई. को सहयोग ,रास्ट्रिय रोजगार प्रवर्धन केन्द्र (आर.आर.पि.के )को समन्वय तथा कौडेना गा.पा को आयोजनामा  बिहिवार मलंगवा स्थित महेन्द्र होटलको सभाहलमा कार्यक्रमको सम्पन्न भएको हो।

  कोभिड-१९पुनर्स्थापना तथा  जिविकोपार्जन(कोरेल)परियोजना  अन्तर्गत संचालन भएको कार्यक्रममा कौडेना गा.पा.का आम नागरिकहरुले भोग्दै आएका समस्या र आगामी दिनमा त्यस्को समाधानका लागि गरिने  उपाय तथा पालिकाबाट प्रदान गरिने सेवा सुविधाहरुको विषयमा सेवा प्रदायक तथा लक्षित समूहहरु बीच  अन्तरक्रिया गरिएको थियो।  

    कार्यक्रममा  आर.आर.पि.के का कार्यक्रम संयोजक जयनेन्द्र कुमार शाहले आम जनताको जिविकोपार्जनका लागि केन्द्रले सर्लाहीका सातवटा पालिकाहरुमा  विभिन्न परियोजनाहरु मार्फत कार्यक्रम संचालन गरिरहेको जानकारी गराएका थिए। आगामी दिनमा पनि यसैगरी सम्बन्धित पालिकासँग समन्वय गरि आम नागरिकहरुको जीवनस्तर उकास्ने खालका विभिन्न परियोजनाहरु संचालन गर्ने संयोजक शाहले बताएका थिए।

     कौडेना गा.पा का उपाध्यक्ष नगिना  देवी यादवको अध्यक्षता तथा आर.आर.पि.के का अध्यक्ष गायत्री देवी महतोको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा उपस्थित विशिष्ठ अतिथि प्रमुख प्रशासकीय अधिकृत शम्भु प्रसाद यादवसहित विभिन्न शाखाका शाखा प्रमुख र जनप्रतिनिधिहरुले स्थानीय लक्षित समूह र ब्यक्तिहरुबाट उठेका समस्या र ती समस्याहरुको समाधानका लागि पालिकाको तर्फबाट  चालेका कदम तथा आगामी योजनाहरुको बारेमा जानकारी गराएका थिए।

     पत्रकार स्नेहा झा ले सहजीकरण गरेको  कार्यक्रममा केन्द्रका कार्यक्रम निर्देशक  शिवजी साह, सि.इ.सि.आइ की सूर्य लक्ष्मी बज्राचार्य,सबै वडाका वडाअध्यक्ष,कर्मचारी ,लक्षित समूह, सरोकारवालाहरु लगायत पत्रकारहरुको उपस्थित रहेको थियो।





सर्लाहीको नेपाल-भारत नाकामा प्रहरीकै सेटिङ्गमा तस्करी , करोडौंको राजस्व चुहावट घुमुवाको नाममा नक्कली प्रहरी परिचालित

 


सर्लाहीको नेपाल-भारत नाकामा प्रहरीकै सेटिङ्गमा तस्करी , करोडौंको राजस्व चुहावट

 घुमुवाको नाममा नक्कली प्रहरी परिचालित


मनोज यादव---

सर्लाही,जेष्ठ ११

    सर्लाहीको नेपाल-भारत सिमानाका स्थित विभिन्न ठाउँबाट अवैधरुपमा भारतीय सामाग्रीहरुको चोरी निकासीमा बृद्धि भएको छ । बिहेवारीको सिजनमा भारतीय सामाग्रीहरुको माग बढी हुने गरेकोले त्यस्ता सामानको ओसारपसारमा तस्करहरुको सक्रियताका कारण यस क्षेत्रका विभिन्न नाकाबाट  तस्करी भइरहेको हो ।

    सर्लाही जिल्लास्थित संग्रामपुर,नारायणपुर,पर्सा,सखुअवा, त्रिभुवननगर, मलंगवा, भाँडसर, फेन्हारा ,अर्नाहा, मधुवनी र बलरा नाकाबाट दिनहुँ भारतीय सामग्रीहरुको चोरी निकासी हुने गरेको पाइएको छ। भन्सार छलेर ल्याइने यस्ता भारतीय सामग्रीहरुमा विभिन्न किसिमका कपडा,किराना तथा खाद्यान्नका सामान, हार्डवेयरका सामान,छड, तेल, चामल, मलखाद्य,विभिन्न गाडीका स्पेयर पार्टस्, कुखुराका चल्ला, अण्डा,पशु चौपाया , कस्मेटिक तथा खेलकुदलगायतका सामग्रीहरु रहेका छन् । तस्करहरुले  नेपालबाट भारततर्फ सुपारी, मरिच, मदिरा, अलैंची र चाइनिज इलेक्ट्रोनिक सामग्रीहरुको पनि चोरी निकासी गर्दै आएका छन् । यसरी दिनहुँजसो खुलेआम भारतीय सामग्रीहरु अवैधरुपमा नेपाल भित्र्याउने गरेका कारण सरकारलाई प्राप्त हुने करोडौं रुपैयाँ राजस्व चुहावट भइरहेको छ ।

    नाकाहरुमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल तैनाथ रहेता पनि तस्करी नियन्त्रणमा भने उनीहरुको खासै भूमिका देखिदैन । सुरक्षाकर्मीहरुकै मिलेमतोमा तस्करी हुँदै आइरहेको स्थानीयहरुले  दावी गरेका छन्  ।सिमानाकामा खटिएका सुरक्षाकर्मीहरु डिउटीको नाममा तस्करहरुसँग पैसा असुल्ने काममा मात्र संंलग्न रहने गरेको स्थानीय प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

   स्रोतका अनुसार जिल्लामा अहिले मिलेमतोमा तस्करीको लाइन संचालन  भइरहेको छ।सिमानाकाका चौकी तथा बिओपीलाई  मासिक रकम(नजराना) दिएर जतिसुकै सामानहरु भित्राउन सकिन्छ। नेपाल प्रहरी र शसस्त्र प्रहरीले घुमुवा राख्ने नियम नभए पनि घुमुवाको नाममा बिना वर्दीका नक्कली प्रहरीहरु जिल्लाका विभिन्न नाकामा खुलेआम घुमेर रकम असुली गर्दै आइरहेका छन् ।

     

Wednesday, May 24, 2023

गोडैता नगरपालिकाको प्रशासनिक भवन शिलान्यास, भवन सेवाग्राहीमैत्री र सबै सुविधा सम्पन्न हुने


 गोडैता नगरपालिकाको  प्रशासनिक भवन शिलान्यास, भवन सेवाग्राहीमैत्री र सबै सुविधा सम्पन्न हुने 


लोकतन्त्र समाचारदाता---

सर्लाही,जेष्ठ १०

       सर्लाहीको गोडैता नगरपालिकाले आगामी डेढ वर्षभित्रमा आफ्नै  प्रशासनिक भवन निर्माण गर्ने भएको छ । वडा न-७ मा निर्माण हुन लागेको उक्त भवनको  बुधबार एक समारोहका बिच नगरप्रमुख देवेन्द्र यादवले शिलान्यास गरेका हुन। 

    ६ करोड ३९ लाख रुपैयाँको लागतमा  निर्माण हुन लागेको  ३ तल्लाको प्रशासनिक भवन सेवाग्राहीमैत्री र सबै सुविधा सम्पन्न हुने नगरप्रमुख यादवले जानकारी दिनु भएको छ । आफू निर्वाचित भएदेखिनै नगरपालिकाको भवन निर्माणलाई पहिलो प्राथमिकता राखेको तर, केही प्राविधीक कारणले ढिला भएको यादवले बताउनु भएको छ । 

   हाल गोडैता नगरपालिकाको प्रशासनिक कार्य भाडाको घरबाट संचालन हुँदै आइरहेको छ।

     शिलान्यास समारोहमा उपप्रमुख अन्जना कुशवाहा ,प्रमुख प्रशासकीय अधिकृत रमेश प्रसाद यादव,विभिन्न वडाका वडाअध्यक्ष,कार्यपालिका सदस्य ,विभिन्न शाखाका प्रमुख ,कर्मचारी लगायत स्थानीयबासीहरुको उपस्थिति रहेको सूचना अधिकारी अरबिन्द कुमार साहले जनाएको छ। 


Tuesday, May 23, 2023

पर्सा गाउँपालिकामा शैक्षिक सामग्री वितरण


पर्सा गाउँपालिकामा शैक्षिक सामग्री वितरण

लोकतन्त्र समाचारदाता---

सर्लाही,जेष्ठ ९

       बाल कल्याण समाज सर्लाही नामक एक गैरसरकारी संस्थाले सर्लाहीको पर्सा गाउँपालिकाका विभिन्न सामुदायिक विद्यालयमा अध्यनरत २५ जना टुहुरा बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ।

       अभिभावक विहिन बालबालिकाहरुको पढाइलाई निरन्तरता दिने उदेश्यले बिरगंज महानगरपालिका स्थित  रहेका  माईस्थान विद्यापीठ मा.वि. , ठाकुर राम बहुमुखी क्याम्पस  , सन लाईट अंग्रेज़ी  मा. वि. , हेरिटेज मा. वि.  गण्डक , साउथ जोन मा. वि. तथा  अल्पाईन मा. वि. मा अध्यनरत बिद्यार्थीहरुले पठाएको सहयोग राशि बाट खरिद गरेको विभिन्न शैक्षिक सामाग्रीहरु पर्सा गापा वडा न-४ कबिलासी स्थित श्री आधारभुत विद्यालयको सभा हलमा एक कार्यक्रमको आयोजना गरि वितरण गरेको बाल कल्याण समाज सर्लाहीका अध्यक्ष  सुन्दर श्याम रायले लोकतन्त्रलाई जानकारी गराएको छ।

      आधारभुत विद्यालय कबिलासीका प्र.अ.एवं  पर्सा गा.पा. शिक्षक महासंघका अध्यक्ष रामेश्वर रायको प्रमुख आतिथ्यता सम्पन्न भएको कार्यक्रममा यस गापा अन्तर्गतका विभिन्न विद्यालयका प्रधानाध्यापक , शिक्षक , विद्यार्थी ,अभिभावक लगायत स्थानीय समाजसेवीहरुको उपस्थिति रहेको थियो। 

     कार्यक्रममा प्रमुख अतिथि रायले शैक्षिक सामग्रीको महत्त्व र प्रयोग बारे आफ्नो बिचार राख्दै आयोजक संस्थाको उत्तरोत्तर  प्रगतिको कामना गरेका थिए।

मलंगवाबाट पौने ३ लाख नेपाली रुपैयाँसहित एक भारतीय पक्राउ

 

मलंगवाबाट पौने ३ लाख  नेपाली रुपैयाँसहित एक भारतीय  पक्राउ

लोकतन्त्र समाचारदाता---

सर्लाही,जेष्ठ ९

      नेपाल-भारत सिमा अन्तर्गत पर्ने सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न-८ स्थित गोरखकारी प्रहरी चौकीबाट श्रोत नखुलेको नेपाली रुपैया सहित एक भारतीय युवकलाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा भारतको बिहार राज्य सितामढी जिल्ला सोनवर्षा थाना सोनवर्षा ग्राम पञ्चायत वडा नं. ५ बस्ने रामश्रेष्ठ पासवानका छोरा २२ वर्षीय कालु पासवान रहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका सूचना अधिकारी डिएसपी दिपेन्द्र पंजियार थारुले जनाएको छ।

    पासवानलाई सोमबार साँझ करिब ४ बजेको समयमा गोरखकाली प्रहरी चौकी अगाडि चेकजाँचको क्रममा निजको साथबाट बरामद भएको २ लाख  ७० हजार नेपाली रुपैयासहित नियन्त्रणमा लिएको हो।

    पक्राउ परेका पासवालाई बरामद भएको रकमसहित आवश्यक कार्यवाहीको लागि  भन्सार कार्यालय मलंगवा पठाएको डिएसपी पंजियारले लोकतन्त्रलाई जनाएको छ।

Friday, May 19, 2023

दलित शक्तिकरण ऐन कार्यान्वयनको माग गर्दै मधेस प्रदेशका समाजिक विकास मन्त्री साह तथा अर्थमन्त्री यादवलाई ज्ञापनपत्र , आर्थिक वर्ष २०८०/८१ मा ४७ करोड बजेट माग

 दलित शक्तिकरण ऐन कार्यान्वयनको माग गर्दै मधेस प्रदेशका समाजिक विकास मन्त्री साह तथा अर्थमन्त्री यादवलाई ज्ञापनपत्र , आर्थिक वर्ष  २०८०/८१ मा ४७ करोड बजेट माग



लोकतन्त्र समाचारदाता---

जनकपुर,जेष्ठ ५  

    दलित विकास समितिले दलित शक्तिकरण ऐन कार्यान्वयनका लागि आगमी आर्थिक २०८०/८१ मा ४७ करोड बजेट माँग गरेका छन् । 

 दलित विकास समितिले समाजिक विकास मन्त्री र अर्थमन्त्रीलाई माँग पत्र बुझाउँदै अगामी आर्थिक बर्ष २०८०/०८१को बजेटमा जनसंख्याको अनुपातमा दलितका लागि बजेट बिनयोजन गर्न माँग गरेका  छन् ।

     समितिका उपाध्यक्ष रामप्रवेश बैठा,सदस्य श्याम सरदार,राजकुमार दास लगायतको टिमले समाजिक विकास मन्त्री सुरिताकुमारी साह,अर्थमन्त्री संजयकुमार यादवलाई ज्ञापन पत्र बुझाएका हुन । समितिले बुझाएको ज्ञापनपत्रमा  स्नातक तहका दलित छात्र छात्राका लागि अवासीय छात्रवृत्ति,पत्रकारिता र कानून अध्ययनका लागि दलित छात्रछात्रा अवासीय छात्रवृत्ति,पिएचडी अध्ययनका लागि दलित छात्रछात्रा अवासीय छात्रवृत्ति,प्राविधिकतर्फ एमबिबिएस अध्ययनका लागि छात्रवृत्ति,इन्जिनियरिग,स्टाफ नर्स,अनमी,अमिन,जेटिए,कृषि,भेटनरी लगायतका प्राविधिक छात्रवृत्ति लगायत विषयमा बजेट बिनयोजन गर्न उल्लेख गरिएको छ । स्वास्थ्यतर्फ दलित समुदायलाई स्वास्थ्य बिमाको प्रिमियम तिर्न सहयोग,गम्भिर प्रकृतिका रोगबाट पीडित बिपन्न दलितलाई आर्थिक सहयोग र कोरोनाका कारण ज्यान गुमाएका दलित परिवारलाई आर्थिक सहयोगको लागि बजेट बिनयोजन गर्न समेत ज्ञापनपत्र मार्फत माँग गरेका छन् ।

   यसैगरी  दलितहरुको समाजिक,आर्थिक राजनीतिक र सास्कृतिक अवस्थाबारे प्रोफाइल तयारी र प्रकाशन,समाजिक र राजनीतिक आन्दोलनमा लागेका दलित समुदायका अग्रजहरुको जीवनी प्रकाशन,मधेश आन्दोलनमा सहादत प्राप्त दलित अगुवाहरुबारे वित्तिचित्र निमार्ण,पाठयपुस्तकमा दलित समुदायलाई होच्याउने वा नकारातमक चित्रणबारे अध्ययन गर्ने र सो सँग सम्बनिधत नीति परिर्वतनका लागि कार्यक्रम,दलितहरुको कला संस्कृतिबारे अध्ययन अनुसन्धान र सहयोग गर्ने,दलित शसक्तिकरण ऐन प्रकाशन र वितरण,दलित समुदायका अधिकार र छुवाछूत बिरुद्धबारे होर्डिगबोर्ड स्थापना लगायतका विषयमा बजेट बिनयोजन गर्न समितिलर माँग गर गरेका छन् । दलित सरोकार मञ्च नेपालका कार्यकारी निर्देशक भोला पासवानले दलित विकास समतिको बजेट निमार्णमा सहजीकरण गरेको छ ।

   दलित सशक्तिकरण ऐन २०७६ मंसिर २४ गते प्रमाणिकरण भएपछि दलित विकास समिति गठन भएको हो।  समितिका उपाध्यक्ष रामप्रवेश बैठाका अनुसार मधेश प्रदेश सरकारले दलित विकास समिति गठन गरेपनि उपेक्षा गरेको भन्दै समिति गठन भएको पहिलो बर्षमा समितिको नियामावली,कार्यविधि आदिको अभावमा काम गर्न नसकेको र दोस्रो बर्षको प्राप्त बजेट कर्मचारी अभावका कारण लगभग आधा पनि बजेट खर्च नभई फ्रिज भएको बताए । 

चालु आर्थिक बर्ष २०७९÷८०को  बजेट संचालन गर्नका लागि संघ,प्रदेशको चुनाव,२० प्रतिशत रकम कटौती,सरकार फेरबदल,खाता रोकाका कारण दलित विकास समिति उपेक्षामा परेको उनले भने।

दलित विकास समितिको बजेट बृद्धिका लागि बारम्बार प्रदेश सरकारलाई आग्रह गर्दै आएको भएपनि १८ प्रतिशत दलित समुदायको आवादी रहेको मधेस प्रदेशमा यस  समुदायको विकासको लागि अति न्यून बजेट छुट्याउनु त्यस समुदायका लागि अन्याय भएको समितिले ज्ञापनपत्र मार्फत गुनासो गरेको छन् । 

    ज्ञापन पत्रमा समावेशी समानुपातिक आधारमा जुन वर्ग तथा जुन समुदायको जति जनसंख्या छ,त्यस अनुपातमा अगामी आर्थिक बर्षको बजेट बिनयोजन गर्नुपर्छ भनिएको छ।

Thursday, May 18, 2023

ओरेक द्वारा लैंगिक समानता तथा सामाजिक समावेशीकरण कार्यशाला गोष्ठी सम्पन्न

 

ओरेक द्वारा लैंगिक समानता तथा सामाजिक  समावेशीकरण कार्यशाला गोष्ठी सम्पन्न



लोकतन्त्र समाचारदाता---

सर्लाही,जेष्ठ ४

      लैंगिक समानता तथा सामाजिक समावेशीकरण एवं  सुझाव संकलन कार्यशाला गोष्ठी सर्लाहीको सदरमुकाम मलंगवामा सम्पन्न भएको छ ।

    ओरेक नेपालको आयोजना तथा प्रदेश अनुसंधान तथा प्रशिक्षण केन्द्र जनकपुर र मलंगवा नगरपालिका सँगको समन्वय तथा सहयोगमा  गोष्ठीको आयोजना गरिएको हो ।मलंगवा न.पा को सभाहलमा बिहिवार सम्पन्न भएको गोष्ठीमा दलित,महिला, अल्पसंख्यक तेस्रो लिंगी र अपांगता भएका व्यक्तिहरु लगायतका लक्षित वर्गको लागि कार्यरत संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । 

    मलंगवा नगरपालिकाका नगरप्रमुख नागेन्द्र प्रसाद यादवको अध्यक्षता तथा ओरेकका सचिव सविता पोखरेल र शोभा बजगाँईको सहजीकरणमा भएको सो गोष्ठीमा सहभागीहरुले म.न.पा.ले महिला सशक्तिकरणको क्षेत्रमा काम गर्ने योजनाहरुबारे बनाइने नीति तथा कार्यक्रमको बारेमा छलफल गरिएको थियो। कार्यक्रममा ओरेककी जिल्ला कार्यक्रम अधिकृत देव कुमारी महराले हिंसामा परेका महिलाहरुलाई रोजगारी ,सीपमूलक तालिम सहितका कार्यक्रमहरु सञ्चालनको लागि वृहत् रुपमा छलफलको आयोजना गरी आगामी रणनीति तय गर्न सजिलो हुने उद्देश्यले गोष्ठीको आयोजना गरिएको बताइन् । कार्यक्रममा उपस्थित सहभागीहरु बाटै उपमेयर शकुन्तला देवी साहको संयोजकत्वमा लक्षित वर्गको लागि कार्यरत संघ संस्थाका प्रतिनिधिहरुको एक कार्यदल समिति समेत गठन गरिएको छ।

 

  कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतम ,वडा न-२ का वडाअध्यक्ष धिरेन्द्र साह,वडा न-३ का प्रमोद यादव,वडा न-६ खुटौनाका राम कैलाश राय,वा न-७ का इशा मिकरानी,वडा न-८ का मुकेश जयसवाल ,वड न-९ का चन्देश्वर यादव,वडा न-१० का मुकेश झा,वडा न-१२ का रामदरेश यादव,नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सर्लाहीका अध्यक्ष राजेश पासवान,मानवअधिकार रक्षक संजाल सर्लाहीका अध्यक्ष मुकेश मिश्र,इन्सेक  प्रतिनिधि बुधन साह,मलंगवा न.पा महिला शाखाकी नगिना यादव,बनिता कार्की(बराल),राष्ट्रिय योजना आयोगका पुर्व सदस्य डा.अब्दुल रहिम,नागरिक समाजका महासचिव शिवचन्द्र चौधरी ,ओरेककी मनोविमर्शकर्ता ममता कुमारी साह,स्वास्थ्य परामर्शकर्ता दिव्या आशा साह,सरिता मगर, महिला जनप्रतिनिधि, पत्रकारहरु लगायत सरोकारवाला संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।



मलंगवाका किसानलाई ५० प्रतिशत अनुदानमा धानको बिउ वितरण सुरु


मलंगवाका किसानलाई ५० प्रतिशत अनुदानमा धानको बिउ वितरण सुरु

मनोज यादव----

सर्लाही,जेष्ठ ४

     मधेस प्रदेश अन्तर्गत सर्लाहीको मलंगवा नगरपालिकाले स्थानीय किसानलाई ५० प्रतिशत अनुदानमा उन्नत जातको धानको बिउ वितरण कार्य सुरु गरेको छ। नगरपालिकाले  आयोजना गरेको कार्यक्रम मार्फत  नगरप्रमुख नागेन्द्र प्रसाद यादवले किसानहरुलाई आफ्नै हातले धानको बीउ वितरण गरेर उक्त कार्यको सुरुवात गरेका हुन।

   आर्थिक वर्ष २०७९/०८० को लागि संचालित खाद्यान्न वालीको उन्नत बीउ उपयोग अनुदान कार्यक्रम अनुसार कृषिक्षेत्रलाई व्यवसायिक क्षेत्रमा परिणत गर्ने उद्देश्यका साथ प्राथमिकतामा पार्दै किसानहरूलाई  बिउ वितरण गरिएको नगरप्रमुख यादवले बताए ।जेष्ठ १५ गतेसम्म चल्ने यो कार्यक्रम सम्बन्धित वडाको सिफारिससहित नेपाली नागरिकता र जग्गाको लालपुर्जाको प्रतिलिपी लिएर आउने किसानलाई  कृषियोग्य जग्गाको क्षेत्रफलको आधारमा स्वर्णा सव -१,सावित्री ,रामबिलास,साँवा मंसुली सव-१ र ललका बासमती जातको धानको बीउ उपलब्ध गराइने कृषि शाखा प्रमुख रामनाथ साहले जानकारी दिए।

  यस कार्यक्रम मार्फत वडा न-१ देखि वडा न-१२ सम्मका सबै किसान लाभान्वित हुने प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतमले बताएका छन् ।

चुल्हो चौकोमा ब्यस्त रहने गम्हरियाका महिलाहरु च्याउ खेती गर्ने भए

 


चुल्हो चौकोमा ब्यस्त रहने गम्हरियाका महिलाहरु च्याउ खेती गर्ने भए

लोकतन्त्र समाचारदाता---

सर्लाही,जेष्ठ ४

    सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न-१२ गम्हरियामा संचालित च्याउ खेती सम्बन्धि सीप विकास  तालिम सम्पन्न भएको छ।   

"आर्थिक सम्वृद्धिको आधार लघु उद्यम मार्फत रोजगार" भन्ने मुल नाराका साथ मलंगवा नगरपालिकाले संचालन गरेको तालिम नगरप्रमुख नागेन्द्र प्रसाद यादवको प्रमुख आतिथ्यता तथा वडा न-१२ का वडाअध्यक्ष राम दरेश यादवको अध्यक्षतामा एक कार्यक्रमको आयोजना गरि बिहिवार सम्पन्न भएको हो।

   गत २०७९ साल चैत्र २६ गतेदेखि सुरु भएको  तालिममा गम्हरियाका १७ जना महिलाहरुको सहभागीता रहेको थियो।  सहभागीहरुलाई नगरप्रमुख  यादवले प्रमाणपत्र प्रदान गरेका थिए।समापन कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख यादवले सधैभरी चुलो चौकोमा मात्र व्यस्त हुने महिलाहरुलाई आफ्नो जीवन यापन गर्नको लागि सहज होस भन्ने उदेश्यका साथ आर्थिक वर्ष २०७९/०८० को लागि संचालित  "गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम"अन्तर्गत तालिम संचालन गरेको जानकारी गराउनुभयो।

   तालिममा सहभागी महिलाहरुलाई  च्याउ खेती कसरी गर्ने,कस्तो च्याउ खान मिल्ने ,कस्तो खान नमिल्ने , च्याउ खेतिको फाइदा, बेफाइदा तथा  उत्पादन भइसकेको च्याउको बजारीकरण लगायतका विषयमा प्रशिक्षण दिइएको सूचना अधिकृत राजकुमार अधिकारीले जानकारी दिए।

    गम्हरियामा सम्पन्न भएको कार्यक्रममा विशिष्ठ अतिथि नगर उपप्रमुख शकुन्तला देवी साह, प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतम लगायत महिला प्रशिक्षार्थीहरु र स्थानीयबासीहरुको उपस्थिति रहेको थियो।

मलंगवामा विद्यालय लेखाङ्कन प्रणाली सम्बन्धि क्षमता अभिबृद्धि तालिम सम्पन्न


मलंगवामा विद्यालय लेखाङ्कन प्रणाली सम्बन्धि क्षमता अभिबृद्धि तालिम सम्पन्न

लोकतन्त्र समाचारदाता----

सर्लाही,जेष्ठ ४

        विद्यालय लेखाङ्कन प्रणाली सम्बन्धि दुई दिने क्षमता अभिबृद्धि तालिम सर्लाहीको सदरमुकाम मलंगवामा सम्पन्न भएको छ।मलंगवा नगरपालिकाको आयोजनामा जेष्ठ ३  गतेदेखि सुरु भएको तालिम बिहीबार ४ गते सम्पन्न भएको हो।

      नगरपालिका भित्र संचालित सम्पूर्ण विद्यालयका प्राधानाध्यापक तथा लेखा सम्बन्धि कारोबार गर्ने कर्मचारीहरुको लागि संचालन गरिएको उक्त  तालिममा सफ्टवेयर सपोर्ट अफिसर हरिकृष्ण गौतमले  विद्यालयको आर्थिक कारोबारलाई कसरी व्यवस्थित राख्ने र नेपाल सरकार शिक्षा विभागबाट लागू गरिएको इमिस(EMIS) मा रहेको विद्यालय लेखाङ्कनलाई कसरी प्रविष्ट गर्ने विषयमा प्रशिक्षण दिएका थिए।सोही तालिममा कोष तथा लेखा नियन्त्रण कार्यालय सर्लाहीका प्रमुख कोष नियन्त्रक निर्मल न्यौपानेले सहभागीहरुलाई आर्थिक कार्यविधि र वित्तीय उत्तरदायित्व सम्बन्धि महत्त्वपूर्ण व्यवस्थाहरुको बारेमा समेत  जानकारी गराएका थिए।

   

Wednesday, May 17, 2023

जग्गाको कित्ता काट खुल्ने -नखुल्ने विषयमा मालपोत र नापी कार्यालय आफै अन्यौलमा


जग्गाको कित्ता काट खुल्ने -नखुल्ने विषयमा मालपोत र नापी कार्यालय आफै अन्यौलमा


मनोज यादव----

सर्लाही,जेष्ठ ३

      सधैंभरि भीडभाड रहने मालपोत र नापी कार्यालयमा सेवाग्राहीको  चहलपहल देखिन छाडेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी नियन्त्रण मन्त्रालयले जारी गरेको भूउपयोग नियमावली २०७९ को प्रावधान अनुसार जग्गाको वर्गीकरणको आधारमा खण्डीकरण गर्नुपर्ने बाध्यकारी व्यवस्थाका कारण  नापी कार्यालयबाट कित्ता काट हुन बन्द भएपछि मालपोत र नापी कार्यालयमा सेवाग्राहीको चहलपहलमा कमि आएको हो। 

   भुउपयोग सम्बन्धि ऐन २०७६ अनुसार जग्गालाई भूबनौट, भूमिको क्षमता तथा उपयुक्तता, भूमिको मौजुदा उपयोग र आवश्यकता समेतका आधारमा १० थरिका भूउपयोग क्षेत्रमा वर्गीकरण गरेको छ । जस अनुसार कृषि क्षेत्र, आवासीय क्षेत्र, व्यावसायिक क्षेत्र, औद्योगिक क्षेत्र, खानी तथा खनिज क्षेत्र, वन क्षेत्र, नदी, खोला, ताल, सीमसार क्षेत्र, सार्वजनिक उपयोगको क्षेत्र, सांस्कृतिक तथा पुरातात्विक महत्वको क्षेत्र र नेपाल सरकारबाट आवश्यकता अनुसार तोकिएका अन्य क्षेत्र भनि वर्गीकरण गरिएको छ ।मन्त्रालयले प्रत्येक स्थानीय तहको भूउपयोग क्षेत्र नक्सा तयार गर्नु, गराउनु पर्ने ऐनमा उल्लेख छ । ऐन प्रारम्भ भएको १ वर्षभित्रमा मन्त्रालयले स्थानीय तहका भूउपयोग नक्सा तयार गरी हस्तान्तरण गर्नु पर्ने प्रावधान रहे पनि हालसम्म स्थानीय तहले नक्सा नपाएको अवस्था छ । यसरी पाएका नक्साको आधारमा स्थानीय भूउपयोग परिषदले आवश्कताअनुसार अद्यावधिक गरी लागू गर्नु पर्ने उल्लेख छ । स्थानीय तहले आफ्नो क्षेत्रभित्रको जग्गालाई भूउपयोग नक्सा तथा स्थानीय आवश्यकता समेतलाई ध्यानमा राखी भूउपभोग क्षेत्रको वर्गीकरण गर्न सक्ने उल्लेख छ । तर, यही वीचमा संघ सरकारले भूउपयोग नियमावली ल्याएको हो ।

     भुमि सुधार तथा मालपोत कार्यालय मलंगवाका प्रमुख पनिलाल यादवले नियमावलीमा जग्गाको खण्डीकरण र कित्ता काटको प्रावधान आएकाले सो बारेमा स्पष्टता नभएको हुँदा मन्त्रालय/विभागको आदेशको प्रतीक्षामा रहेको जानकारी दिए । जमीनको कित्ता काट सम्बन्धि सेवा रोकिए पनि  अन्य नियमित सेवाहरु भने दिइरहेका छौं यादवले बताए । कित्ता काट कहिले देखि सुरु हुन्छ ?भन्ने प्रश्नको उत्तर हामीहरु सँग पनि नरहेकोले यस विषयमा केही भन्न सकिन्न’, उनले भने।

  नापी कार्यालयले पनि  कित्ता काट गर्ने आदेश नआएको हुँदा कित्ता काटबाहेकका अन्य सेवाहरु सुचारु रहेको जानकारी दिएको छ ।

बिरगंजका विद्यार्थीहरुको सहयोगमा धनकौलका टुहुरा बालबालिकालाई शैक्षिक सामग्री वितरण

 

बिरगंजका विद्यार्थीहरुको सहयोगमा धनकौलका टुहुरा बालबालिकालाई शैक्षिक सामग्री वितरण

लोकतन्त्र समाचारदाता----

सर्लाही,जेष्ठ ३

      पर्साको  बिरगंज स्थित विभिन्न निजी तथा सामुदायिक विद्यालयमा अध्यनरत विद्यार्थीहरुले सर्लाहीको धनकौल गाउँपालिका वडा न-४ महिनाथपुरको एक सामुदायिक विद्यालयमा अध्यनरत ३३ जना टुहुरा बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेका छन् ।

    बिरगंजमा रहेको  मिनीलैण्ड , सेन्ट जेबियर्स ,ओम नेशनल एकेडेमी , सेन्ट जोन्स ,मैस्कट र काबेरी माविमा अध्यनरत विद्यार्थीहरुले आफ्नो खाजा खर्चबाट कटाएर पठाएको पैसाले खरिद गरेको विभिन्न शैक्षिक सामाग्री   बाल कल्याण समाज सर्लाही मार्फत वितरण गरेका हुन।

      बाल कल्याण समाजका अध्यक्ष सुन्दर श्याम रायको अध्यक्षतामा  महिनाथपुर स्थित श्री आधारभुत विद्यालयमा आयोजना गरिएको वितरण कार्यक्रममा उक्त  गा.पा. भरिका पाँच वटा विद्यालयका ३३ जना टुहुरा बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरिएको थियो ।

     बुधबार बिहान  वडा न-४ का वाडाध्यक्ष नरेन्द्र रायको  प्रमुख आतिथ्यना सम्पन्न भएको कार्यक्रममा ५ वटै  विद्यालयका प्रधानाध्यापक , शिक्षक,विद्यार्थी ,अभिभावक ,स्थानीय समाजसेवी लगायत शिक्षा प्रेमी र समाजसेवी लगायतको उपस्थिति रहेको थियो। 

     कार्यक्रममा प्रमुख अतिथि रायले शैक्षिक सामग्रीको महत्त्व र प्रयोग बारे आफ्नो बिचार राख्दै आयोजक संस्थाको उत्तरोत्तर  प्रगतिको कामना गरेका थिए।