Tuesday, February 28, 2023

मलंगवाका युवा व्यवसायी गुप्ता दम्पती विपन्न परिवारको बिच मनाए वैवाहिक बर्षगाँठ


मलंगवाका युवा व्यवसायी गुप्ता दम्पती विपन्न परिवारको बिच मनाए वैवाहिक बर्षगाँठ



लोकतन्त्र समाचारदाता---

सर्लाही,फाल्गुन १६

        मलंगवाका युवा व्यवसायी तथा समाजसेवी संजय कुमार गुप्ताले आफ्नो वैवाहिक वर्षगाँठ गरिब,दलित तथा अतिविपन्न परिवारहरुको बिचमा मनाएका छन् । 

     गुप्ता दम्पती आफ्नो वैवाहिक वर्षगाँठको अवसरमा मलंगवा नगरपालिका वडा न-३ मा बसोबास गर्ने गरिब,दलित तथा अतिविपन्न परवारलाईलाई कम्बल वितरण गरेका छन् । 

    कुनैपनि शुभ अवसर तामझाम र तडकभडक देखाएर मनाउनु भन्दा समाजको हितको लागि केही गरेर मनाउनु पर्छ भन्ने सोंच लिएका गुप्ताले वर्षगाँठको अवसरमा गरिब,दलित तथा अतिविपन्न परवारका ३५ जना व्यक्तिहरुलाई एकएक थान न्यानो कम्बल बाँडेका हुन्।

    कम्बल पाएका ब्यक्तिहरु गुप्ता दम्पतीको असल व्यवहार प्रति खुसी व्यक्त गर्दै सफल दाम्पत्य जिवनको लागि शुभकामना दिएका थिए।



स्ववियु सर्लाही क्याम्पसको सभापतिमा अनेरास्ववियुबाट धर्मेन्द्र राय(टाका) एकल उमेदवार घोषणा

 

स्ववियु सर्लाही क्याम्पसको सभापतिमा अनेरास्ववियुबाट धर्मेन्द्र राय(टाका) एकल उमेदवार घोषणा



लोकतन्त्र समाचारदाता---

सर्लाही,फाल्गुन १६

       आगामी चैत्र ५ गते सर्लाही क्याम्पस मलंगवामा हुन लागेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि अनेरास्ववियु सर्लाही क्याम्पसका अध्यक्ष धर्मेद्र राय(टाका)को एकल  उमेद्वारी घोषणा भएको छ।

     नेकपा एमालेको भातृ संगठन अखिल नेपाल राष्ट्रिय  स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्वियु)सर्लाही  क्याम्पस कमिटीको सम्पूर्ण सदस्यहरुको समर्थनमा टाकालाई एकल उमेदवारको रुपमा स्ववियु सभापतिको पदमा उमेदवार घोषणा गरेका छन् ।टाका सँगै अनरास्ववियुले  स्ववियु सर्लाही क्याम्पसको उप-सभापतिमा संदिप यादव,सचिवमा अवधेश यादव र स-सचिवमा कैशर मिकरानीलाई अगाडी सारेको छ।

     सभापतिको उमेदवार बनेका टाकाले  क्याम्पसको शैक्षिक गुणस्तर र उतिर्णदर वृद्धी गराउने मुद्दालाई  अनेरास्ववियुले प्राथमिकतामा राख्दै आएको बताएका छन् ।उनले क्याम्पस प्रशासनलाई व्यवस्थित बनाउने र विद्यार्थी माथी हुने अन्याय अत्याचारको विरुद्ध शसक्त  ढङगले लड्ने  बताए ।

    विगत ५ वर्षदेखि विद्यार्थीहरुको हकहितका लागि लड्दै र सक्रिय रुपमा विद्यार्थीहरुकै लागि राजनिती गर्दै आएका टाका विद्यार्थीहरुले खोजेको र विद्यार्थीहरुले रोकेको विद्यार्थी नेता रहेको सर्लाही क्याम्पसमा अध्यनरत विद्यार्थीहरुले बताएका छन् । 

    टाकाको उमेद्वारी घोषणा भएसँगै उनको जित सुनिश्चित भएको समेत क्याम्पसका विद्यार्थीहरु बिच चर्चा चल्न थालेको छ।स्ववियु सर्लाही क्याम्पसको नेतृत्व उनले भन्दा अरुले सम्हाल्न नसक्ने विद्यार्थीहरुले बताएका छन् ।

     अनेरास्ववियु सर्लाही क्याम्पसले मंगलबार एक कार्यक्रमको आयोजना गरि  केन्द्रीय अधिवेशनबाट निर्वाचित भएका सचिव अन्जना सिवाकोटी, अनेरास्ववियु स्थाई कमिटी सदस्य तथा   मलंगवा नगरपालिका प्रमुख प्रत्याशी  समीम बाबु खानलाई समान गरेको छ।

   कार्यक्रममा  मलंगवा नगरपालिका वडा न-२ का वडाअध्यक्ष धीरेन्द्र साह ,आशिष बाबु दाहाल लगायत अनेरास्ववियुका सदस्यहरुको उपस्थिति रहेको थियो।

    अनेरास्ववियुले  चुनाव अगाडीनै क्याम्पस र विद्यार्थीहरुको लागि तयार पारेको योजनाहरु ल्याउने तयारी गरेको जानकारी गराएको छ।

 


बोनीले बाँड्यो पेन्टरहरुलाई पुरस्कार

 


बोनीले बाँड्यो पेन्टरहरुलाई पुरस्कार 



लोकतन्त्र समाचारदाता ---

सर्लाही,फाल्गुन १६

     के एन पी नेरोलेक पेन्टसको  मुख्य डिलर बोनी ट्रेडर्सले  पेन्टर तथा कन्ट्रेक्टरहरुलाई  उपहार वितरण गरेको छ। 

    एन पी नेरोलेक  पेन्टसले  सर्लाहीको सदरमुकाम मलंगवा स्थित महेन्द्र होटलमा आयोजना गरेको कलर मास्टर कार्यक्रमका बिच सर्लाहीका लागि  मलंगवामा रहेको मुख्य डिलर बोनी ट्रेडर्सले १५ जना पेन्टर तथा कन्ट्रेक्टरहरुलाई उपहार वितरण गरेको छ।जसमध्येबाट १ जनालाई बजाज प्लाटिना ११० सि सि वाइक ,४ जनालाई ३२ इन्च एलइडी स्मार्ट टिभी ४ जनालाई स्मार्टफोन ,४  जनालाई साईकल र २ जनालाई डवल डोर रेफ्रिजिरेटर  वितरण गरेको बोनी ट्रेडर्सका  प्रोप्राइटर शिवनाथ साहले जानकारी गराएको छ।


       पेन्टरहरु घरको डाक्टर सरह रहेको  र उनीहरू  घरलाई  रंगने मात्र नभइ घरधनीको सपनामा समेत अनेकौ रगं मिसाएर घरधनीलाई दंग समेत पार्ने गरेको प्रोपराइटर साहले बताउनुभयो।उनीहरू घरको भिताको जाँच गरेर मात्र पेन्टको  काम गर्ने गरेका कारण यिनीहरूलाई  उपहार वितरण गरिएको साहले बताए ।

    बेलाबेलामा पेन्टर तथा कन्ट्रेक्टरहरुलाई यस   किसिमका उपहारहरु प्रदान गर्दा उनीहरुको  मान सम्मान बढ्नुका साथै कामको सिलसिलामा नयाँ जोश जाँगर  बढ्ने गरेको प्रोपराइटर साहले बताउनु भयो।


सिमावर्ती क्षेत्रमा सामाजिक संजाल "ह्वाट्स एप"मार्फत १ को ३ दिने सन्देश पठाएर ठगि गर्ने गिरोह सकृय सर्लाही प्रहरी द्वारा निगरानी ,खोजी र पक्राउ कार्य जारी

 


सिमावर्ती क्षेत्रमा सामाजिक संजाल "ह्वाट्स एप"मार्फत १ को ३ दिने सन्देश पठाएर ठगि गर्ने गिरोह सकृय 

सर्लाही प्रहरी द्वारा निगरानी ,खोजी र पक्राउ कार्य जारी 

              प्रहरी द्वारा बरामद सामाग्रीहरु


मनोज यादव---

सर्लाही,फाल्गुन १६

       सर्लाही जिल्लाको नेपाल भारत सिमावर्ती क्षेत्रमा विभिन्न किसिमका आपराधिक क्रियाकलापहरु बढेको छ।सिमावर्ती क्षेत्रमा ठगि तथा आपराधिक षड्यन्त्र गर्ने उदेश्यले अपराधी प्रवृत्तिका व्यक्तिहरु सामाजिक संजाल विशेषगरी "ह्वाट्स एप" मार्फत विभिन्न अफरहरु पठाएर आर्थिक  प्रलोभन दिने  गिरोहहरु सकृय भएका छन् । 

    त्यस्ता गिरोहहरु १ को ३ गुना बढी पैसा दिन्छु भनि "ह्वाट्स एप" मा पैसाको फोंटो तथा भिडियोहरु बनाएर विभिन्न व्यक्तिहरुलाई पठाएर ठूलो रकम दिने भनि प्रलोभनमा पारेर आफ्नो अनुकुल तथा सुरक्षित स्थानमा बोलाएर छापामार तरिकाले लुटपाट गर्ने गरेको जिल्ला प्रहरी कार्यालय मलंगवाले जानकारी गराएको छ।

   जिल्लामा पटकपटक एकै प्रकृतिका घटनाहरु दोहोरिंदै  सर्वसाधारणहरु पिडित हुन थालेपछि गम्भीर रुपमा अनुसंधान सुरु गरेपछि सर्लाही प्रहरीको सक्रियतामा कयौं अपराधीहरु पक्राउ  परेको जिप्रका मलंगवाले बताएको छ।जि.प्र कार्यालयका अनुसार २०७५ भदौ ३० गते जिल्लाको गोडैता नगरपालिका -३ मधुवनी गाउँमा खटिएको प्रहरी टोलीले माथि र तल नोट(रुपैया) राखी बिचमा खाली कागज राखी नोटको बण्डल बनाएर ठगी गर्न खोजेको भारतको बिहार राज्य सितामढीका शत्रुधन भगत समेत गरि २ जनालाई पक्राउ गरेको त्यस्तै २०४६ कात्तिक ५ गते सोही ठाउँका पगला बाबा भन्ने मृत्युञ्जय सिंह समेत गरि ३ जनालाई १ को ३ दिन्छु भनि ४२,७५,००० रुपैयाँ ठगी गरेको ,यस्तै २०७९ भदौ १७ गते गोडैता न.पा ३ स्थित बगदह देखि बहादुरपुर जाने कच्ची सडकमा दक्षिणबाट उत्तर तर्फ आइरहेको गाडीलाई रोकेर चेकजाँच गर्दा रु १ हजार दरको नोटको बिचमा सोही आकारको कागज राखेको ६९ वटा बण्डल फेला पारेको थियो।

    यसैगरी २०७९ पुस ३० गते बेलुकाको समयमा खटिएको प्रहरी टोलीले मलंगवा न.पा -८ स्थित नेपाल भारत सिमाक्षेत्र बाट नक्कली जस्तो देखिने रु १ हजारको नोट ११५ थान सहित ल्याउने व्यक्तिलाई पक्राउ गरेको थियो।हालै २०७९ फाल्गुन १४ गते आइतवारका दिन अन्दाजी ५ बजेको समयमा मलंगवा -९ स्थित बोर्डर एरियाबाट विभिन्न आकारको नेपाली नोटहरु सँग मिल्ने रबरले बाँधेको कागजको गड्डीहरु ९९ थान ,पैसा आकारको कागज काट्ने मेसिन १ थानसहित नियन्त्रणमा लिइ अनुसंधान अगाडी बढाएको जिप्रकाले जनाएको छ।

   सिमाक्षेत्रको विभिन्न एकान्त ठाउँहरुमा  आपराधिक प्रवृत्तिका व्यक्तिहरु ठगी गर्ने उदेश्यले चहलपहल गरिरहेको भन्ने जनगुनासोहरु आइरहेकोले त्यस्ता क्रियाकलापहरुलाई रोक्न साथै पक्राउ गर्न त्यस्ता ठाउँहरुमा कडाइका साथ निगरानी तथा खोजी कार्य बढाएको सर्लाही प्रहरी प्रमुख एसपी नरेशराज सुवेदीले बताउनुभयो।

Monday, February 27, 2023

मलंगवा नगरपालिकाको ३६ औं स्थापना दिवसको अवसरमा म्युजिकल चेयर प्रतियोगिता सम्पन्न


मलंगवा नगरपालिकाको ३६ औं स्थापना दिवसको  अवसरमा म्युजिकल चेयर प्रतियोगिता सम्पन्न 



लोकतन्त्र समाचारदाता---

सर्लाही,फाल्गुन १५

     सर्लाही जिल्लाकै सबैभन्दा पहिलो तथा पुरानो नगरपालिका मलंगवा नगरपालिकाले आफ्नो ३६ औं  स्थापना  दिवस मनाउने क्रममा  म्युजिकल चेयर  प्रतियोगिताको आयोजना गरेको छ।

     सोमबार दिउँसो नगरपालिका कार्यालयको प्रांगणमा नगरपालिका अन्तर्गतका १२ वटै वडाका सामुदायिक महिला स्वयं सेविकाहरु बिच भएको म्युजिकल प्रतियोगितामा स्वयं सेविका टेक कुमारी राणा प्रथम, विणा जोशी दृतिय र  मिना देवी साहले तृतीय स्थान प्राप्त गरेकी छिन्।

   विजेता तिनै जनालाई स्थापना दिवसको औपचारिक कार्यक्रममा पुरस्कृत गरिने प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतमले जनाएको छ।

मलंगवा नगरपालिकाले दियो फागुन १८ गते स्थानीय बिदा

 

मलंगवा नगरपालिकाले दियो फागुन १८ गते स्थानीय  बिदा



मनोज यादव---

सर्लाही,फाल्गुन १५

        मलंगवा नगरपालिकाले फाल्गुन १८ गते  स्थानीय  बिदा दिने भएको छ । नगरपालिकाको ३६ औ स्थापना दिवसको अवसरमा नगरपालिकाले  स्थानीय  बिदा दिएको हो ।

    मलंगवा नगरपालिकाको मिति २०७९ फाल्गुन ११ गतेको निर्णयअनुसार १८ गते बिहिवारका दिन यस पालिका अन्तर्गतका सम्पूर्ण वडा कार्यालयहरु तथा मातहतका सम्पूर्ण शैक्षिक संस्थाहरु लगायत सम्पूर्ण कार्यालयहरुमा स्थानीय बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतमले जनाएको छ।

ब्रम्हपुरीमा हालसम्म ३६ प्रतिशत भन्दा बढीले हात्ती पाइले रोग विरुद्धको औषधि खाइसके

 


ब्रम्हपुरीमा हालसम्म   ३६ प्रतिशत भन्दा बढीले हात्ती पाइले रोग विरुद्धको औषधि खाइसके



लोकतन्त्र समाचारदाता----

सर्लाही ,फाल्गुन १५

     गत फाल्गुन ११ गतेदेखि देशव्यापी रुपमा सुरु भएको  राष्ट्रिय  हात्ती पाइले रोग निवारण कार्यक्रम २०७९ अन्तर्गत हात्ती पाइले रोग विरुद्धको औषधि  सेवन अभियान सर्लाहीमा पनि चलिरहेको छ।जिल्लाको २० वटै पालिकाहरुले यस अभियानलाई जोडतोडका साथ अगाडी बढाइ रहेका छन्।

    जिल्लाको ब्रम्हपुरी गाउँपालिकामा पनि यो अभियान उत्साहका साथ अगाडी बढी रहेको छ।फाल्गुन ११ गतेदेखि शनिवारसम्म यस पालिकाले आफ्नो लक्ष्यको३६.१५ प्रतिशत पूरा गरिसकेको स्वास्थ्य शाखा प्रमुख उपेन्द्र राउतले जानकारी दिएको छ।राउतका अनुसार बिहिवारदेखि शनिवारसम्म १० हजार ५९० जनालाई हात्ती पाइले रोग विरुद्धको औषधि खुवाइ सकिएको छ।

    गाउँपालिका अध्यक्ष राम पदारथ साह ,प्रमुख प्रशासकीय अधिकृत शैलेश यादव,सम्पूर्ण वडाका वडाअध्यक्ष,कर्मचारी लगायत स्थानीय जनप्रतिनिधिहरुले औषधि खाएर अभियानको सुरुवात गरेका थिए।

    पालिकाबाट खटिएका स्वास्थ्यकर्मीहरु अभियान केन्द्र ,कार्यालयहरु र टोल,छिमेकमा गई  प्रत्येक्ष निगरानीमा औषधि खुवाइरहेको प्रमुख प्रशासकीय अधिकृत यादवले जनाएको छ।

    

जिल्लाकै पहिलो नगरपालिका मलंगवा नगरपालिकाले ३६ औं स्थापना दिवस मनाउने,समारोहको तयारी अन्तिम चरणमा

 


जिल्लाकै पहिलो नगरपालिका मलंगवा नगरपालिकाले ३६ औं स्थापना दिवस मनाउने,समारोहको तयारी अन्तिम चरणमा


मनोज यादव---

सर्लाही,फाल्गुन १५

    सर्लाही जिल्लाकै सबैभन्दा पुरानो तथा पहिलो स्थानीय तह मलंगवा नगरपालिकाले आफ्नो ३६ औं  स्थापना दिवस मनाउने भएको छ ।

   विसं २०४१ सालमा स्थापना भएको यस नगरपालिकाले फाल्गुन १७ र १८ गते दुई दिनसम्म विभिन्न कार्यक्रमहरुको आयोजना गरि  स्थापना दिवस मनाउने तयारी गरिरहेको छ ।कार्यपालिका बैठकको  निर्णयअनुसार पहिलोपटक मनाउन लागिएको यस पालिकाको  स्थापना दिवस भव्य रुपमा मनाउने नगरप्रमुख नागेन्द्र प्रसाद यादवले जानकारी गराउनु भएको छ।    

   यस अवसरमा फाल्गुन १७ गते मलंगवा नगर विकास चिन्तन कार्यक्रम अन्तर्गत मलंगवा नगरपालिकाको विकास ,सम्भावना र चुनौती विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरि   भोली पल्ट फाल्गुन १८ गते बिहान ११ बजे नगरपालिकाको प्रतीक चिन्ह(लोगो)सार्वजनिक गर्ने ,आन्तरिक पर्यटनलाई प्रबर्द्धन गर्न नगरको बिच भागमा अवस्थित  जनसागर पोखरीमा डुङ्गा संचालन गर्ने र खेलकुदलाई बढावा दिन मेयर तथा प्रमुख प्रशासकीय अधिकृत मैत्रीपूर्ण कप फुटबल,म्युजिकल चेयर तथा गाग्री फुटाउने खेल प्रतियोगिताको साथसाथै खुल्ला सांगीतिक कार्यक्रमको आयोजना गरिने कार्यक्रम अधिकृत राजकुमार अधिकारीले जनाएको छ।

     समारोहलाई भब्यताका साथ सम्पन्न गराउन १२ वटै वडाका जनप्रतिनिधि ,कर्मचारी ,स्थानीय संघसंस्था ,नागरिक समाज,बुद्धिजीवी तथा स्थानीयबासीहरु जोडतोडका साथ लागिपरेका छन् ।

Sunday, February 26, 2023

माण्डवीद्वारा सर्लाहीमा संचालित शी लिड्स परियोजना सफल रहेको निष्कर्ष

 

माण्डवीद्वारा सर्लाहीमा संचालित शी लिड्स परियोजना सफल रहेको निष्कर्ष



लोकतन्त्र समाचारदाता---

सर्लाही,फाल्गुन १४

       सर्लाही  जिल्लामा माण्डवी द्वारा संचालित शी लिड्स परियोजनाको जिल्ला परियोजना सल्लाहकार समिति बैठक सदरमुकाम मलंगवामा  सम्पन्न भएको छ । 

     आइतवार जिल्ला समन्वय समिति प्रमुख कौशल किशोर सिंहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको बैठकमा आइ.एफ.इ.एस तथा अस्ट्रेलियन सरकारको प्राविधिक तथा स्विस सरकारको आर्थिक सहयोगमा २०२१ जुलाई देखि २०२३ नोभेम्बर सम्म जिल्लाको हरिवन ,बागमती ,बरहथवा,कबिलासी र हरिपुर्वा नगरपालिकामा संचालन भएको शि लिड्स महिला नेतृत्व कार्यक्रमको समीक्षा तथा सुझाव संकलन गरिएको छ।

     संस्थाले  परियोजना संचालन गरेको दुई वर्षको अवधिमा स्थानीय तहको निर्वाचनमा निर्वाचित भएर आएका महिला जनप्रतिनिधिहरुलाई शसक्त बनाउने उद्देश्यले  विभिन्न मोड्युलमा प्रशिक्षण दिएका थिए। ती पाँचवटै नपा कार्यपालिकाका नवनिर्वाचित महिला सदस्यहरुको नेतृत्व भूमिकालाई निरन्तरता दिंदै उनीहरूको आत्मविश्वास र नेतृत्व सिपलाई अझ निखार्दै उनीहरूको भूमिकालाई अझ बढी प्रभावकारी ढंगबाट निर्वाह गर्न थप सीप र ज्ञानको विकास गर्ने उद्देश्यले तालिमको आयोजना गरि महिला जनप्रतिनिधिहरुलाई स्थानीय सरकारमा प्रभावकारी ढंगले भूमिका निर्वाह गर्नको लागि चाहिने सीप र ज्ञान प्रदान ,राजनीतिक संवादमा सहभागी हुनका लागि उनीहरुको आत्मविश्वास बढाउने,लैंगिक समानता प्रवर्द्धन गर्न आफ्नो समुदायका अन्य बालिका र महिलाहरुको लागि प्रेरणाको श्रोतको रुपमा कार्यगर्न प्रोत्साहित गर्न,लैंगिक समानता प्रबर्द्धन गर्नका लागि समुदायमा पुरुष सहयोगीहरुको निर्माण गर्न तथा स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधिहरुले एकआपसमा अनुभवको आदानप्रदान र सहयोग गर्न संजालको निर्माण गर्ने विषयमाहरुमा प्रशिक्षण दिइएको माण्डवीका कार्यक्रम अधिकृत मनिल श्रेष्ठले जानकारी  दिए।उनीहरुलाई समूहकार्य,बैठकको योजना र व्यवस्थापन ,स्थानीय तहको विधायिकी कार्य प्रणाली,सक्रिय सुनवाइ ,संजालिकरण,संचार माध्यम सँग सहकार्य,विकास ,समुदाय परिचालन र व्यक्तिगत विकासका लक्ष्य तथा कार्ययोजनाको विषयमा समेत  जानकारीमूलक प्रशिक्षण दिएको श्रेष्ठले  बैठकमा सहभागीहरुलाई  जानकारी गराए।

    जिल्ला समन्वय समितिको सभाहलमा आयोजना गरिएको बैठकमा श्रेष्ठले परियोजनाबाट प्राप्त भएका उपलब्धिहरुको बारेमा जानकारी गराउँदै हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा पुनः निर्वाचित भएका २९ जना महिला सदस्यहरुको बुट क्याम्प तालिम पछि महिला जनप्रतिनिधिहरुले आफ्नो कार्य योजना बनाएर कार्य गर्ने आत्मविश्वास बढेको ,समुदायमा गई छलफल गर्ने बढेको ,लैंगिक समानताका लागि समुदाय तथा वडा समितिमा रहेका पुरुषहरु पनि महिला सहयोगीको रुपमा प्रतिबद्ध हुन थालेको,प्रभावकारी ढंगले आफ्नो काम,कर्तव्य र जिम्मेवारीको भूमिका निर्वाह गर्नको लागि आवश्यक शिप र ज्ञान प्राप्त भएको,राजनैतिक नेतृत्वमा महिला सक्रियता बढेको सम्बन्धि विषयहरु संचार माध्यमहरु बाट उजागर हुन थालेको जानकारी गराए।महिला जनप्रतिनिधिहरु महिला संजाल गठन गर्न तथा बस्ती तहको योजना तर्जुमामा नेतृत्व गर्न सफल भएका छन्। विभिन्न सरोकारवालाहरु ,राजनैतिक दल र पालिका वडाहरुको बिचमा गहिरो सम्बन्ध र भूमिकाले पनि मान्यता पाएको साथै उनीहरू लैंगिक समानता तथा सामाजिक समावेशीकरण नीति तयार गर्ने र निर्णय गर्ने भएको कार्यक्रम अधिकृतले जानकारी गराए।

    कार्यक्रममा सहभागी भएका विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव,प्रहरी उपरीक्षक नरेशराज सुवेदी ,सशस्त्र प्रहरी उपरीक्षक ,अनुसंधान प्रमुख ,जिल्ला निर्वाचन कार्यालय प्रमुख ,विभिन्न राजनैतिक दलका जिल्ला  प्रमुख ,परियोजना संचालित पालिकाका प्रमुख तथा तिनका प्रतिनिधि ,विभिन्न गैरसरकारी संघसंस्थाका प्रतिनिधि लगायतका अतिथिहरु  माण्डवीले पुरुषमुखी समाजमा विद्यमान  नकारात्मक सामाजिक मान्यतालाई  चिर्दै स्थानीय तहमा महिला जनप्रतिनिधिहरुको रुपमा अगाडी आएका महिलाहरुको  नेतृत्व भूमिकालाई निखारेर राम्रो काम गरेको भन्दै प्रशंसा गर्दै  परियोजना सफल भएको निष्कर्ष निकालेका थिए।

    




नेविसंघ जिल्ला कार्यसमिति सर्लाही मातहतका सम्पूर्ण पालिका र क्याम्पस इकाई समितिहरु विघटन


नेविसंघ जिल्ला कार्यसमिति सर्लाही मातहतका सम्पूर्ण पालिका र क्याम्पस इकाई समितिहरु  विघटन



लोकतन्त्र समाचारदाता---

सर्लाही ,फाल्गुन १४

    नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति सर्लाही मातहतका सम्पूर्ण पालिका कार्यसमिति र क्याम्पस इकाई समितिहरु विघटन गरिएको छ।

     आइतवार दिउँसो २ बजे  सदरमुकाम मलंगवा स्थित नेपाली काँग्रेस जिल्ला कार्यसमितिको कार्यालयमा  बसेको बैठकको निर्णयअनुसार नेविसंघ जि.का.समिति मातहतमा रहेका सम्पूर्ण पालिका कार्यसमितिहरु तथा क्याम्पस इकाई समितिहरु (जनज्योति क्याम्प ,चतुर्भुजेश्वर बहुमुखी क्याम्पस)विघटन गरिएको छ।

    अब सम्बन्धित पालिकाहरु र क्याम्पसहरुमा नयाँ समिति गठनका लागि जिल्ला कार्यसमितिबाट प्रतिनिधि तोकेर पठाइने अध्यक्ष धिरेन्द्र दाहाले जानकारी गराएको छ।



 

पर्सा गाउँपालिकामा अन्तर विद्यालय वक्ततृत्वकला प्रतियोगिता सम्पन्न

 


पर्सा गाउँपालिकामा अन्तर विद्यालय वक्ततृत्वकला प्रतियोगिता सम्पन्न 



लोकतन्त्र समाचारदाता---

सर्लाही,फाल्गुन १४

      सर्लाहीको पर्सा गाउँपालिकामा अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। महिला तथा बालबालिका शाखा द्वारा १६ दिने घरेलु तथा लैंगिक  हिंसा विरुद्ध अभियान कार्यक्रम अन्तर्गत  प्रतियोगिताको आयोजना गरिएको हो।

       विद्यार्थीहरु को बौद्धिक विकासमा जोड दिने उदेश्यको साथ "सभ्य समाजको पहिचान लैग्ङिक हिंसा विरुद्धको अभियान" भन्ने नारा को विषयमा प्रतियोगिताको आयोजना भएको महिला तथा बालबालिका फोकल पर्सन चन्दा यादवले जनाएकी छिन् । 

   प्रतियोगितामा पर्सा गापा अन्तर्गतका विद्यालयका विद्यार्थीहरुले भाग लिएका थिए।

  

शैक्षिक निति अभिमुखीकरण कार्यक्रम सम्पन्न ,विधालय छोड़ने दर न्यूनीकरणको विषयमा व्यापक छलफल

 


शैक्षिक निति अभिमुखीकरण कार्यक्रम सम्पन्न ,विधालय छोड़ने दर न्यूनीकरणको विषयमा व्यापक छलफल 



लोकतन्त्र समाचारदाता--

सर्लाही,फाल्गुन १४

    विधालय एवम् स्थानीय तहका पदाधिकारीहरुलाई शैक्षिक नीति २०७९ का लागि अभिमुखिकरण कार्यक्रम सर्लाहीको मलंगवामा सम्पन्न भएको छ।

     कार्यक्रममा  चालु आर्थिक वर्ष २०७९/०८० मा शिक्षा विकास तथा समन्वय इकाई ,सर्लाहीका लागि स्वीकृत कार्यक्रम एवं स्थानीय तहमा वित्तीय हस्तान्तरण भएका कार्यक्रमहरु सम्बन्धि छलफल गरिएको थियो।

    शि.वि तथा स.इ,सर्लाहीका निमित्त प्रमुख राम अधार सिंह कुशवाहाको अध्यक्षता तथा जिल्ला समन्वय समिति प्रमुख कौशल किशोर सिंहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा जिल्लाको शैक्षिक गुणस्तर, साक्षरता अभियान तथा पढ्दापढ्दै  बिचमै आएर विधालय छाड़ने दर  न्यूनीकरण लगायतका विषयमा  छलफल गरिएको थियो। जिल्लाको हरिवन नगरपालिका ,चक्रघट्टा र चन्द्रनगर गाउँपालिका शिक्षा शाखा प्रमुखहरुले सोही कार्यक्रम मार्फत आ-आफ्नो  पालिकामा विद्यमान शिक्षाको अवस्था र सुधार गर्नुपर्ने विषयको बारेमा जानकारी गराएका थिए।

    कार्यक्रममा विशिष्ट अतिथि  प्रमुख जिल्ला अधिकारी एवं जिल्ला शिक्षा समिति सर्लाहीका सदस्य  इन्द्रदेव यादव लगायत शिक्षा ,विज्ञान तथा प्रविधि मन्त्रालय ,युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगको सचिवालय काठमाडौका सहायक महासचिव रामेश्वर प्रसाद यादव,सर्लाही प्रहरी प्रमुख एसपी नरेशराज सुवेदी ,सशस्त्र प्रहरी प्रमुख स.प्र.उपरीक्षक तुल बहादुर भण्डारी,राष्ट्रिय अनुसंधान सर्लाहीका उप-अनुसंधान निर्देशक संतोष ढुंगेल,नेपाल शिक्षक महासंघ सर्लाहीका अध्यक्ष नरेन्द्र यादव तथा स्थानीय तहका प्रमुख ,उपप्रमुख,प्रतिनिधि ,स्थानीय तह अन्तर्गत शिक्षा तथा खेलकुद शाखाका प्रमुख ,प्राधानाध्यापक,विद्यालय व्यवस्थापन अध्यक्ष र पत्रकारहरुको उपस्थिति रहेको थियो।

     समन्वय इकाई सर्लाहीका  सुनिल कुशवाहाले संचालन गरेको कार्यक्रमको आयोजना मलंगवा स्थित होटल सुजाता प्यालेसमा गरिएको थियो।

Friday, February 24, 2023

श्री राम कविर मठ सहयोग समिति गठन

 

श्री राम कविर मठ सहयोग समिति गठन



लोकतन्त्र समाचारदाता---

सर्लाही,फाल्गुन १२

     मलंगवा नगरपालिका वडा न-२ मा रहेको  श्री राम कविर मठ सहयोग समिति गरिएको छ।वडा न-२ को वडाअध्यक्ष धिरेन्द्र साहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको बैठकले  रामपृत साहको अध्यक्षतामा ११ सदस्यीय मठ सहयोग समिति गठन गरेको छ।

    मठको प्रांगणमा सम्पन्न भएको बैठकले उपाध्यक्षमा राम चन्द्र राय , सिहेश्वर राय , सचिवमा सन्तोष कुमार राय ,सह-सचिवमा गोबिन्द साह,कोषाध्यक्षमा-विध्या देवी क्षेत्री र धिरेन्द्र मिश्रसहितको सहयोग समिति गठन गरेको छ।

लोकतान्त्रिक विद्यार्थी संघको ४१ सदस्यीय सर्लाही क्याम्पस इकाई कमिटी


लोकतान्त्रिक विद्यार्थी संघको ४१ सदस्यीय सर्लाही क्याम्पस इकाई कमिटी गठन  



लोकतन्त्र समाचारदाता---

सर्लाही,फाल्गुन १२

     लोकतान्त्रिक समाजवादी पार्टी निकट लोकतान्त्रिक विद्यार्थी संघको  सर्लाही क्याम्पसको इकाई कमिटी गठन गरिएको छ।  शुक्रवार क्याम्पस प्रांगणमा बसेको संघको बैठकले रोहित महतोको अध्यक्षतामा ४१ सदस्यीय क्याम्पस इकाई  कमिटी गठन गरेको हो।

     मलंगवा-४ मा रहेको सर्लाही क्याम्पसमा यहि आउँदो चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको चुनावलाई लक्षित गरि गठन गरिएको कमिटीको उपाध्यक्षहरुमा क्रमशः शत्रुधन राय,संगिता यादव,रंजिता साह र बिर्जुन यादव चयन भएका छन् ।त्यस्तै सचिवमा विकेश ठाकुर तथा  सहसचिवहरुमा रुबी कुमारी यादव,निर्मा पंडित र रवि कुमार पंडित चयन भएका छन् भने कोषाध्यक्षको जिम्मेवारी रंजिता यादवलाई दिइएको छ।यसैगरी सदस्यहरुमा अपसर आलम हुसैन,शत्रुधन राम,गान्धी यादव,रिता यादव,उषा साह लगायत चयन भएको पार्टीका नेता मिथलेश यादवले जानकारी दिएको छ।उनले क्याम्पसको चुनाव पश्चात् क्याम्पसमा विद्यार्थीहरुले वर्षौंदेखि भोगी आइरहेका सम्पुर्ण शौक्षिक समस्याहरुको निकाश आउने र क्याम्पस भित्र विद्यमान अनावश्यक राजनीतिक द्वन्दको अन्तय हुने विश्वास लिएको  बताए।

     सर्लाही  क्याम्पसमा अध्ययनरत सयौं विद्यार्थी तथा  जिल्ला कार्यसमिति सर्लाहीका सचिव दिगेश्वर नायकको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।


स्थानीय संरक्षण तथा प्रेषण प्रणाली सम्बन्धि अभिमुखीकरण गोष्ठी सम्पन्न

 

स्थानीय संरक्षण तथा प्रेषण प्रणाली सम्बन्धि अभिमुखीकरण गोष्ठी सम्पन्न


लोकतन्त्र समाचारदाता---

सर्लाही,फाल्गुन १२

   इस्लामीक रिलिफ नेपालको सहयोग तथा बागमती सेवा समाज नेपाल हरिवन द्वारा संचालित  उत्थानशिल समुदायको निर्माण परियोजना अन्तर्गत  स्थानीय संरक्षण तथा प्रेषण प्रणाली सम्बन्धि दुई दिने  अभिमुखीकरण गोष्ठी सम्पन्न भएको छ । 

    शुक्रबार मलंगवा नगरपालिका-८  मा रहेको कुसुम पार्टी प्यालेसको सभाहलमा परियोजनाको अभिमुखीकरण गोष्ठी सम्पन्न भएको हो।   प्रेषण प्रणाली(सिफारिस)को स्थापना गर्ने उदेश्यले गोष्ठीको आयोजना गरिएको आयोजकले जनाएको छ।

    गोष्ठीमा सहभागीहरुलाई सहजकर्ता बनिता कार्कीले बाल संरक्षण ,लैंगिक हिंसा, महिला संरक्षण तथा  प्रेषण(सिफारिस)को बारेमा जानकारी गराएका थिए।

    बिहिवार र शुक्रवार गरि दुई दिनसम्म चलेको उक्त अभिमुखिकरण गोष्ठीमा जिल्ला अदालत,जिल्ला प्रहरी महिला सेल,जिल्ला प्रशासन कार्यालय,सरकारी वकिल कार्यालय ,प्रदेश कानुनी सहायताको कार्यालय ,नगरपालिका ,कानुनी सहायता समिति लगायत विभिन्न गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो।


Wednesday, February 22, 2023

प्रदेश सांसद कौशल किशोर राय द्बारा मोतिपुरमा स्वास्थ्य चौकीको शिलान्यास

 


प्रदेश सांसद कौशल किशोर राय द्बारा मोतिपुरमा स्वास्थ्य चौकीको शिलान्यास

लोकतन्त्र समाचारदाता----

सर्लाही,फाल्गुन १०

       मधेस प्रदेश सांसद कौशल किशोर रायले सर्लाहीको कौडेना गाउँपालिका वडा न-४ मोतिपुरमा सुविधा संपन्न स्वास्थ्य चौकीको शिलान्यास गरेको छ।

    संघीय बजेट  ४० लाख रुपैयाँको लागतमा निर्माण हुने उक्त स्वास्थ्य चौकीको प्रदेश सांसद रायले मंगलबार विधिवत् रुपमा शिलान्यास गरेको हो।

कौडेना पालिका उप-प्रमुख  नगिना देवी यादव, पुर्व गा वि स अध्यक्ष नागेन्द्र यादव, वडाअध्यक्ष  रामविशवास यादव,प्रमुख प्रशासकीय शम्भुप्रसाद यादव लगायत स्थानीयबासीहरुको उपस्थितमा शिलान्यास कार्यक्रम सम्पन्न वडा कार्यालय मोतिपुरले जनाएको छ।

     चुनाव प्रचार प्रसारको क्रममा सांसद रायले आफ्नो क्षेत्रको विकासको लागि  स्वास्थ्य ,शिक्षा,रोजगार,पर्यटन र उद्योगको क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने जनताहरु सँग गरेको बाचा अनुसार उहाँले यसअघि पनि संघ तथा प्रदेशमा योजनाहरु पेश गरेर प्राप्त भएको बजेटबाट विद्यालय भवन र अन्य भौतिक पुर्वाधारहरुको शिलान्यास गरि काम सुरु गराएका छन्।

    क्षेत्रका जनताहरु पनि उहाँको काम गर्ने शैलीबाट प्रभावित भएको देखिन्छन्।

Tuesday, February 21, 2023

छपकहियामा पंच कुण्डीय विष्णु महायज्ञ सुरु, यज्ञ स्थलमा हेलिकप्टर द्वारा पुष्प वर्षा


छपकहियामा पंच कुण्डीय विष्णु  महायज्ञ सुरु, यज्ञ स्थलमा हेलिकप्टर द्वारा पुष्प वर्षा 


लोकतन्त्र समाचारदाता---

सर्लाही,फाल्गुन ९

     सर्लाहीको कौडेना गाउँपालिका वडा न.५ छपकहियामा  पंच कुण्डीय विष्णु महायज्ञ एवं श्रीराम कथा सुरु भएकाे छ।

    विश्व कल्याण हेतु आयोजना गरिएको  महायज्ञकाे पहिलाे दिन मंगलबार सयौं महिला तथा कन्याहरु द्बारा कलश यात्रा निकालिएकाे थियो । सोही दिन स्थानीय समाजसेवी राम केवल साह रौनियारले आफ्नो व्यक्तिगत खर्चमा  काठमाडौबाट हेलिकप्टर मगाएर  यज्ञ स्थलमा पुष्प वर्षा गराएर महायज्ञलाई थप भब्य बनाएका थिए ।त्यस्तै कलश यात्रामा सहभागीहरुसहित साधुसंत तथा स्थानीयबासीहरुलाई  मलंगवा नगरपालिकाका नगर प्रमुख नागेन्द्र प्रसाद यादवले पनि व्यक्तिगत रुपमा भोजनको व्यवस्था गरि सहयोग गरेका थिए।

      बुधबार १० गतेदेखि मंगलबार १६ गतेसम्म  संचालन हुने यस महायज्ञ र श्रीराम कथालाई सफलता पुर्वक सम्पन्न गराउन दर्जनौं श्रद्घालुहरुले आ-आफ्नो  तरिकाले व्यक्तिरुपमा सहयोग  गरेका छन् ।

     हवन गर्दा जलाईने धुप, तिल र घ्युको धुवाले वातावरणलाई सफा र शुद्ध राख्नुका का साथै यज्ञ तथा हवन गर्दा देशमा सुख, शान्ति र जनमानसमा आपसी भाइचारा कायम हुने विश्वासका साथ उक्त महायज्ञको आयोजना गरिएको समाजसेवी रौनियारले बताए । 

     सम्पूर्ण छपकैयाबासीद्वारा आयोजित महायज्ञको उद्घाटन समारोहमा सहभागी हुन आएका प्रदेश सभा सदस्य जंगिलाल राय,कौशल किशोर राय ,मलंगवा नगरपालिकाका नगर प्रमुख  नागेन्द्र प्रसाद यादव, कौडेना गाउँपालिकाका अध्यक्ष रुपेश कुमार (बब्लु), उपाध्यक्ष नगिना देवी,प्रमुख प्रशासकीय अधिकृत शम्भु यादव,प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव,सर्लाही प्रहरी प्रमुख एसपी नरेशराज सुवेदी ,सशस्त्र प्रहरी प्रमुख , अनुसंधान प्रमुख , लगायतका विशिष्ट व्यक्तिरुले यस पवित्र महायज्ञमा सहभागी गराएर पुण्यको भागिदार बनाएको भन्दै आयोजकलाई धन्यबाद दिंदै महायज्ञको सफलताको कामना गरेका थिए।


   महायज्ञमा विदुषी मैत्रेयी भारती र स्वामी श्री शिवानन्द जीले श्रीराम कथावाचन गर्ने आयोजकले जनाएको छ ।


साहुले बन्धकी राखेको जग्गा अर्कैलाई बेचेर फरार भएपछि मजदुर परिवारको बिचल्ली ,जग्गा फिर्ता नपाए परिवारसहित आत्मदाह गर्ने चेतावनी

 साहुले बन्धकी राखेको जग्गा अर्कैलाई बेचेर फरार भएपछि मजदुर परिवारको बिचल्ली  ,जग्गा फिर्ता नपाए परिवारसहित आत्मदाह गर्ने चेतावनी


मनोज यादव---

सर्लाही,फाल्गुन ९

     सर्लाहीको साविक  गाविस वडा न-५ घरभई   हाल सदरमुकाम मलंगवा नगरपालिका वडा न-४ मा डेरा गरि बस्ने    हविव  साह फकिरको जग्गा साविक गाविस सुन्दरपुर वडा न-४ बस्ने जाकिर हुसैनले  जग्गा धनीलाई थाहै नदिई अर्कै व्यक्तिलाई बेचेपछि एक श्रीमती र दुई नाबालक छोराछोरीसहित फकिर परिवारको उठिबास भएको छ।

   निजको सम्पत्तिको नाउँमा रहेको १० धुर जग्गा बन्धकि राखेर लिएको श्रृण प व्यजसहित तिर्न तयार भएपनि निजलाई थाहै नदिइ जग्गा बेचिएपछि उनको परिवार बिचल्लीमा परेका हुन।अहिले उनी श्रीमती र दुई नाबालक छोराछोरीसहित जग्गा फिर्ता गराइदिन भन्दै प्रहरी प्रशासन र समाजलाई गुहार्दै भौतारी रहेका छन् । साहु जाकिर हुसैनसँग ४० हजार रुपैया मात्र श्रृण लिएका फकिर हुसैनको बैमानीका कारण भएको १० धुर जमिन गुमाउनु परेको छ।

   पिडित फकिरका अनुसार २०५६ साल फाल्गुन ६ गते का दिन साविक सुन्दरपुर गाविस वडा न-४ बस्ने हुसैनसँग मलंगवा वडा न-३ स्थित १० धुर जग्गा बन्धकी राखेर ४० हजार रुपैयाँ श्रृण लिएका थिए।निज साहुसँग २०५९ साल आश्विन ६ गतेका दिन सम्पूर्ण हिसाब गराएको र निजले गरेको हिसाब अनुसार व्याजसहित जम्मा ८८ हजार ५ सय ७६ रुपैया ८७ पैसा भएको र आफु सो पैसा दिन तयार रहेकोले साहुले आफुलाई रजिष्ट्रेशन लेखाइ राख्न भनेकोमा निजले भनेकै अनुसार  त्यो दिन बाटो पर्खेर बस्दा-बस्दै साहु आएन र मेेरो जग्गा फिर्ता भएन ।   

      पटकपटक निज साहुलाई  आफ्नो जग्गा फिर्ता पाउनका लागि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा झिकाउँदा पनि न्याय नपाएको उनले गुनासो गरे।न्यायको लागि झण्डै २ दशक हुन लाग्यो तर हालसम्म न्याय नपाएको उनले दुखेसो पोखे।जिल्ला प्रहरी कार्यालयमा जाँदा प्रहरीले उल्टै आफुलाई नै हप्काएर पठाउने गरेको पिडित फकिरले आँखाबाट आँसु झार्दै दुखेसो पोखे।

    निज साहुले मेरो र.न ४१५१ को जग्गा मलंगवा नगरपालिका वडा न-३ कै एक व्यक्ति कैमरुदिन चरिहारलाई ५० लाख रुपैयाँमा बेचेर फरार भइसकेकोले आफ्नै आँखा अगाडी आफ्नै जग्गामा अरु नै व्यक्तिले  भोगचलन गरेको देखेर मर्नु न बाँच्नु जस्तो भएको छ।

   चारै तिर भौतारिंदा-भौतारिंदा केही सीप नलागे पछि बाध्य भएर न्यायको लागि पत्रकारहरुकोमा आएकोले अबपनि जग्गा फिर्ता नपाएपछि स-परिवार आत्मदाह गर्ने पिडित फकिरले चेतावनी दिएका छन् ।

    साहु जाकिर हुसैन पैसाको बलमा बच्दै आएको छ तर आफुलाई  परिवारको दुई छाक टार्न समेत मजदुरी गर्नुपर्ने भएकोले न्यायबाट बन्चित हुनु परेको पिडित फकिरले पत्रकारहरु सँग दुखेसो पोखे ।

  



६० हजार भन्दा बढी जनतालाई हात्तिपाइले रोग विरुद्धको औषधि खुवाउने मलंगवा नगरपालिकाको लक्ष्य


६० हजार भन्दा बढी जनतालाई हात्तिपाइले रोग विरुद्धको औषधि खुवाउने मलंगवा नगरपालिकाको लक्ष्य


लोकतन्त्र समाचारदाता-----

सर्लाही,फाल्गुन ९

    सर्लाहीको सदरमुकाम मलंगवा  नगरपालिका अन्तर्गत१२ वटै बडाहरु मार्फत ६० हजार भन्दा बढी ब्यक्तिहरुलाई हात्तिपाइले रोगविरुद्धको औषधि खुवाउने लक्ष्यसहित आम औषधि सेवन अभियान ११ गते बिहीबारदेखि  संचालन हुन गइरहेको छ।

     बिहीबार बिहान ११ बजे नगरप्रमुख ,प्रमुख जिल्ला अधिकारी,प्रमुख प्रशासकीय अधिकृत,स्वास्थ्य कार्यालय प्रमुख लगायतका पदाधिकारीहरुले हातीपाइले रोग विरुद्धको औषधि सेवन गरेर   सबै वडाहरुमा एकैसाथ उक्त अभियान संचालन हुने स्वास्थ्य शाखाले  जानकारी दिएको छ।  

     मंगलबार   नगरपालिकाको सभाहलमा स्वास्थ्य शाखाले आयोजना गरेको  राष्ट्रिय हात्तिपाइले रोग निवारण कार्यक्रम–२०७९ हात्तीपाइले रोग विरुद्ध आम औषधि सेवन अभियान पत्रकारहरु सँग अन्तरक्रिया कार्यक्रम  मार्फत सो को जानकारी गराइएको हो।

    कार्यक्रममा नगरभित्रका ६० हजार  जनालाई औषधि खुवाउने लक्ष्य लिएको  स्वास्थ्य शाखाले जानकारी गराएको छ।

      स्वास्थ्य कार्यालय मलंगवा ,सर्लाहीका प्रमुख डा.नवल किशोर झा काअनुसार यो रोग लागेको लक्षण नदेखिए पनि शरिरमा हात्तीपाइले रोगको परजिवी हुन सक्छ।यो रोग लागिसके पछि पुरै निको पार्न नसक्ने भएकोले बेलैमा औषधि खाएमा शरिरको परजिवी नष्ट हुन्छ र रोग लाग्दैन साथै परिवार तथा समुदायका अरु ब्यक्तिलाई पनि सर्दैन ।यो औषधि उमेर समूहको हिसाबले नभइ व्यक्तिको  उचाईको हिसाबले खुवाइने डा.झाले जानकारी गराउनुभयो।

   नगर प्रमुख नागेन्द्र प्रसाद यादवको प्रमुख आतिथ्यता तथा प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतमको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा,स्वास्थ्य कार्यालय मलंगवा तथा प्रादेशिक अस्पताल मलंगवाका प्रमुख डा.झा, स्वास्थ्य शाखा प्रमुख राम नन्दन राय,कार्यक्रम अधिकृत राजकुमार अधिकारी, नगरपालिका कर्मचारी ,स्वास्थ्यकर्मी तथा पत्रकारहरुको  उपस्थिति रहेको थियो।

     कार्यक्रमको संचालन जनस्वास्थ्य निरिक्षक विष्णु कान्त साहले   गर्नुभएको थियो।







गापा अध्यक्षको पहलमा पर्सामा नि:शुल्क कोचिंङ कक्षा सुरु

 

गापा अध्यक्षको पहलमा पर्सामा नि:शुल्क कोचिंङ कक्षा सुरु

लोकतन्त्र समाचारदाता---

सर्लाही,फाल्गुन ९

        सर्लाहीको पर्सा गाउँपालिकाले पालिका भित्र रहेका कक्षा १०,११ र १२ का विद्यार्थीहरुको लागि नि;शुल्क कोचिङ कक्षा सुरु गरेको छ।

    गाउँ पालिका अध्यक्ष धिरेन्द्र रायको अध्यक्षता तथा वडाअध्यक्ष,शिक्षा शाखा प्रमुख ,विभिन्न शाखाका कर्मचारी र शिक्षकहरुको  सहभागीतामा बसेको शिक्षा सम्बन्धि बैठकबाट कक्षा १०,११ र १२ का विद्यार्थीहरुको एस.इ.ई र बोेर्ड परिक्षालाई मध्येनजर गर्दै यस पालिकाका विद्यार्थीहरुको लागि  नि:शुल्क रुपमा कोचिङ कक्षा सुरु गरेको हो।

     विद्यार्थीहरुको उज्वल भविष्यको लागि  यसअघि पनि गापा अध्यक्ष  रायको विशेष पहलमा नि:शुल्क रुपमा लोकसेवा तयारी कक्षा संचालनमा आइसकेको गाउँपालिकाले जनाएको छ।

Monday, February 20, 2023

७३ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा नेविसंघ द्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न


७३ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा नेविसंघ द्वारा  वृक्षारोपण कार्यक्रम सम्पन्न

लोकतन्त्र समाचारदाता----

सर्लाही,फाल्गुन ८

   ७३औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा नेपाल विद्यार्थी संघ सर्लाहीले जिल्लाको सदरमुकाम मलंगवा नगरपालिका वडा न-४ स्थित सर्लाही क्याम्पसको प्रांगणमा वृक्षारोपण तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ।

  उक्त  कार्यक्रम नेपाली कांग्रेस सर्लाहीका उप-सभापती डा.सरोज कुमारको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

   कार्यक्रममा विशिष्ट अतिथि लोकहरी पौडेने.वि.संघ केन्द्रिय नेता लोकहरी पौडेल ,नेविसंघका सुभास ढुंगाना  लगायत नेविसंघका सदस्यहरुको उपस्थिति रहेको  कईमुल हुसैनले जनाएको छ।





दाइजो प्रथा तथा विवाहको नाममा गरिने व्यर्थ खर्च रोक्न उल्मको निर्णय ।

 दाइजो प्रथा तथा विवाहको नाममा गरिने व्यर्थ खर्च रोक्न उल्मको निर्णय ।

नवाव अली---

बाँके, ८ फाल्गुन ।

उल्मा काउन्सिल बाँकेले विवाहको नाममा गरिने व्यर्थ खर्चलाई रोक्न कडाइ गर्ने निर्णय गरेको छ । शनिबार नेपालगञ्जको जामा मस्जिद फैजुन नबीमा बसिएको उल्मा काउन्सिलको बैठकले विवाहको नाममा दाइजो लेनदेन गर्नेहरुलाई कडाइको साथ रोक्ने निर्णय गरेको हो । विवाहको अवसरमा केटि पक्षसँग दाइजो माग गर्ने, ढोल बाजा बजाउने, नाचगान गर्ने , पटाखा पड्काउने, हल्दी-मेहदी सेरेमोनी गर्नेहरुको निकाह नपढाउने बताएइको छ  ।


उल्मा काउन्सिल बाँके बर्दिया अध्यक्ष मौलाना कहफुल वरा मिस्बाहीले यसप्रथालाई रोक्न आम समुदाय उल्मा ए किराम , समाजका अगुवा र जागरुक युवाहरू एकजुट हुन आग्रह गरे । उनले भने दाइजो लेनदेनका कारण गरीब परिवार माथी निकै दमन गरेको छ । अधिकांश परिवारका छोरीहरूको विवाह नै नहुने अवस्था सृजना भएको छ । लामो समय देखि समाजमा यसप्रथाले नकारात्मक असर पारिरहेको हुनले उल्माहरुको समुहले दाइजो लेनदेन गर्ने तथा विवाहको नाममा व्यर्थ खर्चलाई बढावा दिई छोरी पक्षलाई पीडित बनाउनेहरुको निकाह पढाउने छैन । यसको प्रचारप्रसारका लागी हरेक मस्जिदबाट उद्घोष गर्ने र ठाउँ ठाउँमा ब्यानर सहित जागरुकता फैलाउने उल्माहरुको अभियान छ । 


 नेपालगञ्जका उल्मा, अगुवा तथा बुद्धिजीवीहरुको उपस्थितिमा यो निर्णय गरिएको हो । जसमा मौलाना कहफुलवरा मिस्बाही, मौलाना नशीरुद्दीन अन्सारी , सामज सेवी जियाउल हल्वाई, आसिफ अन्सारी, मौलाना शरिफुल कादरी, मौलाना जमाल अन्सारी , मौलाना अब्दुल जब्बार  मञ्जरी लगायतले सहभागिता जनाए ।

राष्ट्रिय प्रजातन्त्र दिवस :सर्लाहीको सदरमुकाम मलंगवामा विविध कार्यक्रम गरि मनाइयो

 राष्ट्रिय प्रजातन्त्र दिवस :सर्लाहीको सदरमुकाम  मलंगवामा  विविध कार्यक्रम गरि मनाइयो 



मनोज यादव---

सर्लाही,फाल्गुन ८

       हिजो फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस । एक सय चार वर्ष लामो जाहानियाँ राणा शासनको अन्त्य गरी प्रजातान्त्रिक व्यवस्था सुरु भएको दिनको संझनामा मनाईने यो दिवस सर्लाहीमा पनि विविध कार्यक्रमको आयोजना गरि मनाइएको छ।

      प्रजातन्त्र दिवस मूल आयोजक समिति सर्लाहीले आइतवार प्रभात फेरी,बिरामीलाई फलफुल वितरण ,झण्डोत्तोलन तथा रक्त दान लगायतका कार्यक्रमहरुको आयोजना  गरि यो दिवस मनाएका छन् ।

    बिहान ८ बजे मलंगवा नगरपालिका वडा न-१० स्थित जिल्ला प्रशासन कार्यालयको प्रांगणबाट प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा तथा जिल्ला समन्वय समिति प्रमुख कौशल किशोर सिंहको प्रमुख आतिथ्यतामा पाँचवटै सुरक्षा निकायका पदाधिकारी तथा शुरक्षाकर्मी,नागरिक समाजका अगुवा, समाजसेवी,बुद्धिजीवी ,पब्लिक माविका विद्यार्थी ,शिक्षक,पत्रकार लगायतकाहरुको सहभागीतामा प्रभात फेरी निकालि नगरको विभिन्न भागको परिक्रमा गरि पुनः जिप्रका कै प्रांगणमा पुगेर कोणसभामा परिणत भएको छ।सोही अवसरमा प्रादेशिक अस्पताल मलंगवामा उपचारका लागि भर्ना भएका बिरामीहरुलाई फलफुल वितरणको साथै रक्तदान गरिएको छ।

   सबै नेपालीहरुको लागि खास रहेको यो दिन प्रजातन्त्र दिवस प्राप्तिका लागि लडेका लडाई र वर्तमान समयमम्म आउँदा भएका उपलब्धिहरु स्मरण तथा समिक्षा गरी  यो दिवस मनाईंदै आएको हो। दिवसकै अवसरमा काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरिन्छ । प्रजातन्त्र प्राप्तिको लडाइमा शहीद भएका वीर सहिद धर्मभक्त माथेमा, दशरथ चन्द ,गंगालाल श्रेष्ठ र शुक्रराज शास्त्रीको शालिक रहेको  सहिदगेटमा पुगी माल्यार्पण गरी टुँडिखेलमा विशेष कार्यक्रम गरीन्छ।

उनिहरुलाई वि सं १९९७ सालमा तत्कालिन जहाँनिया राणा शासकले प्रजातान्त्रिक आन्दोलनमा लागेको भनेर मृत्युदण्ड दिएका थिए । 

  प्रजातन्त्र दिवसका अवसरमा  सरकारले सार्वजनिक बिदा समेत दिंदै आएको छ।


Sunday, February 19, 2023

सर्लाहीको सदरमुकाम मलंगवासहित जिल्लाभरीको शिवालयहरुमा दर्शनार्थीको घुइँचो/हजारौंको जनसहभागितामा कलश यात्रा निकालियो

 


सर्लाहीको सदरमुकाम मलंगवासहित जिल्लाभरीको  शिवालयहरुमा  दर्शनार्थीको घुइँचो/हजारौंको जनसहभागितामा कलश यात्रा निकालियो


मनोज यादव----

सर्लाही,फाल्गुन ८

       महाशिवरात्री राजधानी काठमाडौको पशुपतिनाथसहित देशभरी धुमधामका साथ शिवरात्री मनाइएको छ।सर्लाहीमा पनि शिवरात्री धुमधामका साथ मनाइएको  छ।

     शिवरात्रीको अवसरमा हिजो(शनिवार) सदरमुकाम मलंगवा लगायत जिल्लाभरीका शिवालयहरुमा बिहानैदेखि दर्शनार्थीहरुको घुइँचो लागेको थियो।  सो  अवसरमा मलंगवा स्थित शिवमन्दिर , हरिपुर नगरपालिका  चितायन स्थित  लक्ष्मीनाथ महादेव मन्दिर ,बरहथवा नगरपालिका मुर्तिया स्थित  मुक्तेश्वर बाबाधाम,बागमती नगरपालिका स्थित नुनथर महादेव ,लालबन्दी स्थित डुमडुमे महादेव मन्दिर, हरिवनमा रहेका चतुर्भूजेश्वर महादेव मन्दिर, सुखेपोखरी र कैलाशपुरी महादेव मन्दिर, ईश्वरपुर स्थित सागरनाथ महादेव मन्दिर र फूलजोर बाबा मन्दिर तथा हरिपुर फरहदथवा स्थित शिवमन्दिर लगायत जिल्लाका अन्य शिव मन्दिरमा  दर्शनार्थीहरुको घुइँचो लागेको थियो भने ती शिवालयहरुमा शिवरात्री मेलाको समेत आयोजना गरिएको थियो।

    सोही अवसरमा सदरमुकाम मलंगवामा हिन्दु परिषद् नेपालको आयोजनामा हजारौं श्रद्धालुहरुले बाजागाजासहित कलश यात्रा निकालेर शिवजीको नारा लगाउँदै  नगरको विभिन्न भागको परिक्रमा गरेका थिए ।

   साँझ शिवालयहरु तथा टोलटोलमा युवाहरुले खाल्टोमा आगो बालेर शिवजीको नाममा धुनी समेत रमाएका थिए।









Friday, February 17, 2023

नेविसंघ सर्लाहीको नयाँ जिल्ला कार्यसमिति चयन

 नेविसंघ सर्लाहीको  नयाँ जिल्ला  कार्यसमिति चयन


लोकतन्त्र समाचारदाता---

सर्लाही,फाल्गुन ५

      नेपाल विधार्थी संघ (नेविसंघ )को नयाँ जिल्ला कार्यसमिति चयन भएको छ । 

   नेविसंघ को विधान २०२७ (छैंठौ संशोधन २०७५)बमोजिम गत फाल्गुन ४ गते बिहिवार नेपाली काँग्रेस जिल्ला कार्यसमिति मलंगवा सर्लाहीको कार्यालयमा बसेको बैठकको निर्णयअनुसार धिरज दाहाको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति चयन भएको हो।

    बैठकबाट  उपाध्यक्षमा प्रवेश न्यौपाने ,कञ्चन चालिसे,आकाश कुमार मिश्र,रोशन पाण्डे  चयन भएका छन् ।त्यस्तै  सचिवमा रफि अहमद र सहसचिवमा सुनिल आचार्य,मोहन चौधरी,शेख परवेज,सन्जु कुमारी,अन्जलीमाया बलसाया र विष्णु मैनाली चयन भएका छन् । यस्तै चान्दनी कुमारीले कोषाध्यक्षको

 जिम्मेवारी पाएका छन् ।

    त्यसैगरी  सदस्यहरुमा विवेक यादव  बालचन्द्र पासवान ,प्रेम कुमार श्रेष्ठ ,अनिश खडका,अमरेन्द्र प्रसाद कुशवाहा,आदित्य महतो,नितेश राज साह,प्रेम मण्डल ,रवि चौधरी,मकबुल राजा,रोशना श्रेष्ठ ,काजल कुमारी ,जितेन्द्र साह,ज्योती कुमारी महतो कोइरी,श्री राम यादव ,बाबुराम सहनी गुड्डु यादव,राहुल कुमार सिंह,नागेन्द्र महतो तथा सौरभ पाण्डे 

चयन भएको कैमुल हुसैनले जनाएको छ ।

मलंगवा जस्तो सानो नगरमा दुईभन्दा बढी बसपार्कहरु संचालनमा ,यात्रुहरुलाई बस चढ्न सास्ती

 मलंगवा जस्तो सानो नगरमा दुईभन्दा बढी बसपार्कहरु संचालनमा ,यात्रुहरुलाई बस चढ्न सास्ती 

    



रुना धामी---

सर्लाही,फाल्गुन ५

    मलंगवाको नयाँ बसपार्क उद्घाटन भएपनि पुरानै बसपार्कबाट सार्वजनिक सवारीहरु संचालन भइरहेका छन् ।

    मलंगवाको वडा न-२ स्थित जिल्ला प्रहरी कार्यालयको छेउमा करोडौ रुपैया  को लागतमा बनेको नयाँ बसपार्कको भर्खरै फाल्गुन १ गते भब्य समारोहको आयोजना गरि नगर प्रमुख नागेन्द्र प्रसाद यादव र प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले संयुक्तरूपमा रिबन काटेर उद्घाटन गरि संचालन ल्याएका थिए। तर संचालनमा ल्याइएको भएपनि बस व्यवसायीहरुको गुटबन्दीका कारण मलंगवाको दुई ठाउँबाट सार्वजनिक यातायात संचालन भइरहेका छन् ।एउटा गुटले नयाँ बसपार्कबाट बस संचालन गरिरहेका छन् भने अर्को गुट पुरानै बसपार्कबाट आफ्ना बसहरु संचालन गरिरहेका छन।

   यसरी एकै नगरमा दुई तीन ठाउँबाट बस चल्दा यात्रुहरू पनि अलमलमा परेका छन् ।मलंगवा स्थित मालपोत कार्यालय अगाडी  भटिएका हरिपुरका शिवशंकर चौधरीले  आफु मालपोतमा काम गराउन आएको र काम भइसकेपछि घर फर्किनु पर्दा कहाँ गएर बस चढ्ने २ नम्बर वडामा रहेको नयाँ बसपार्कमा कि पहिलाकै बसपार्कमा अन्यौलमा परेको सुनाए।चौधरी मात्र नभइ उनी जस्तै अरु थुप्रै यात्रुहरु बसपार्क सम्बन्धि अन्यौलमा परेका छन्।

   यसरी मलंगवा जस्तो सानो नगरमा दुई तीन वटा बसपार्कहरु राखेर यात्रुहरुलाई मात्र अलमलमा पारेको छैन बल्की जग्गाको समेत दुरुपयोग भइरहेको  देखिन्छ,मलंगवाका एक स्थानीय बुद्धिजीवीले बताए ।

    बस व्यवसायीहरुले उद्घाटन भइसके बाबजुद पनि मनपरि रुपमा आफुखुसी बसपार्कहरु राखेर नगरपालिकाले गरेको निर्णयलाई समेत उलंघन गरि गिज्याएको जस्तो देखिन्छ ।

Thursday, February 16, 2023

मलंगवामा महाशिवरात्री महोत्सवलाई भब्य र सभ्य रुपमा मनाउने तयारी

 मलंगवामा महाशिवरात्री महोत्सवलाई भब्य र सभ्य रुपमा मनाउने तयारी 



मनोज यादव---

सर्लाही,फाल्गुन ४

       हिन्दु परिषद् नेपालले सर्लाहीको सदरमुकाम मलंगवामा भब्य रुपमा महाशिवरात्री महोत्सवको आयोजना गर्न लागेको छ।

   यही फाल्गुन ६ गते सनिवारको दिन परेको शिवरात्रीलाई लिएर यतिबेला यस संस्थाले जोडतोडका साथ तयारी गरिरहेकाो छ।प्रत्येक वर्षको झै यसवर्ष पनि महाशिवरात्री पर्वलाई भब्य र सभ्य बनाउन संस्थाका सम्पूर्ण सदस्यहरु आआफ्नो कार्यमा लागेका छन् ।

   सदस्यहरु महोत्सव स्थल मलंगवा नगरपालिका वडा न-९ स्थित जनसागर पोखरी नजिकै रहेको शिव मन्दिरको रंगरोगन ,सरसफाइ र सजावटमा  जुटेका छन् ।

   सो अवसरमा शनिवार बिहान ७ महापुजा,९ बजेदेखि कलश यात्रा तथा नगर परिक्रमा ,बेलुका साढे ६ बजे महा आरती र ७ बजे महा प्रसादको साथै विशेष प्रस्तुतिको रुपमा सोही दिन राती ९ बजेदेखि जागरण कार्यक्रमको आयोजना गरिने हिन्दु परिसद् नेपालले जानकारी गराएको छ।

   

सर्लाहीका धनकौल गाउपालिकाले शुरु गरे घरदैलो स्वास्थ्य कार्यक्रम

 सर्लाहीका धनकौल गाउपालिकाले शुरु गरे घरदैलो स्वास्थ्य कार्यक्रम

बखतियार अलि–

सर्लाही ,फागुन ४

   सर्लाही जिल्लाका धनकौल गाउपालिकाले घर दैलो स्वास्थ्य सेवा कार्यक्रम शुरु गरेको छ । सर्लाही जिल्लामै पहिलो चोटी घरदैलोमै स्वास्थ्यकर्मी गएर स्वास्थ्य सेवा दिन शुरुो हो । घर दैलो स्वास्थ्य सेवा कार्यक्रम २०७९ सार्वजनिक गर्दै धनकौल गाउपालिकाका अध्यक्ष राम आश्रय साहले भने जेष्ठ नागरिक, अशक्त, तथा विपन्न परिवारलाई लक्षित गरि यो कार्यक्रम शुरु भएको छ । जसमा धनकौल गाउपालिकामा रहेका सातै वटा वडामा रहेका प्रत्यक घर दैलोमा गएर स्वास्थ्यकर्मीहरुले हरेक नागरिकको स्वास्थ्य परिक्षण गर्नेछ । यस कार्यक्रमबाट घर परिवारका सबै जनाले स्वास्थ्य सेवाको लाभ लिन सकने छ ।घर दैलो स्वास्थ्य सेवा कार्यक्रमलाई थप प्रभावकारी बनाउन सबैको सहयोग अपरहिार्य रहेको गाउपालिका अध्यक्ष साहले जिकिर गर्नु भयो । प्रमुख प्रशासकीय अधिकृत कृष्ण मोहन प्रसाद साहले भने यस पालिकामा रहेका ४ हजार ७७ घर धुरी तथा ५ हजार १ सय २१ परिवारलाई लक्षित गरि घर दैलो स्वास्थ्य सेवा कार्यक्रम  शुरु भएको छ । यस आ.व.सम्ममा पालिकाका सम्पुर्ण घर धुरीमा स्वास्थ्यकर्मी गएर स्वास्थ्य परिक्षण गर्नुका साथै औषधी समेत उपलब्ध गराउने छ ।  अस्पताल तथा स्वास्थ संस्था सम्म नपुग्न सकने व्यतिmलाई यो कार्यक्रमबाट ठुलो फाईदा हुने अधिकृत साहले बताए । चालु आर्थिक वर्षमा कार्यक्रम प्रभावकारी भएको खण्डमा यस कार्यक्रमलाई निरन्तरता दिने पनि अधिकृत साहले जनाउनु भयो । स्वास्थ्य शाखा प्रमुख अरुण महतोले भने घर दैलो स्वास्थ्य सेवा कार्यक्रम सर्लाही जिल्लाकै लागि नौलो कार्यक्रम हो ।यस कार्यक्रम अन्तरगत स्वास्थ्यकर्मीहरु पालिकामा रहेका सबै घर दैलोमा गएर ज्वरो मापन, नारिको गति मापन, स्वासप्रस्वासको गति मापन, ब्लड प्रेसर, ब्लड सुगर, साधारण ट्रेसिंग, समान्य उपचार सेवा लगायत परामर्श समेत दिने छ । हरेक नागरिकको स्वास्थ्य सेवामा पहुच होस भनेर पालिकाले यो कार्यक्रम शुरु गरेको स्वास्थ शाखा प्रमुख महतोले भने । पालिकाका सबै वढाअध्यक्षहरुले घर दैलो स्वास्थ्य सेवा कार्यक्रम २०७९ धेरै राम्रो कार्यक्रम रहेको बताउदै प्रशंसा समेत गर्नुभयो । घर दैलो स्वास्थ्य सेवा कार्यक्रमको उदघाटन पालिका अध्यक्ष रामआश्रय साह र उपाध्यक्ष अकली देवी सहनीले आफै स्वास्थ्य परिक्षण गराई कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो ।

Tuesday, February 14, 2023

५० हजार भन्दा बढी जनतालाई हात्तिपाइले रोग विरुद्धको औषधि खुवाउने गोडैता नगरपालिकाको लक्ष्य

 

५० हजार भन्दा बढी जनतालाई  हात्तिपाइले रोग विरुद्धको औषधि खुवाउने गोडैता नगरपालिकाको लक्ष्य


लोकतन्त्र समाचारदाता-----

सर्लाही,फाल्गुन २

    सर्लाहीको गोडैता नगरपालिकामा १३ वटा स्वास्थ्य संस्थाहरु मार्फत ५०  हजार भन्दा बढी ब्यक्तिहरुलाई हात्तिपाइले रोगविरुद्धको औषधि खुवाउने लक्ष्यसहित आम औषधि सेवन अभियान संचालन हुन गइरहेको छ। आउँदो फागुन ११ गतेदेखि गोडैताका सबै वडाहरुमा एकैसाथ उक्त अभियान संचालन हुने स्वास्थ्य शाखा प्रमुख प्रमोद पंडितले  जानकारी दिनु भएको छ।

     मंगलबार  गोडैता नगरपालिकाको कार्यालयमा आयोजित राष्ट्रिय हात्तिपाइले रोग निवारण कार्यक्रम–२०७९ हात्तीपाइले रोग विरुद्ध आम औषधि सेवन अभियान अन्तर्गत " पालिकास्तरिय योजना तर्जुमा तथा बहुनिकाय गोष्ठी "मार्फत सो को जानकारी गराइएको हो।

गोष्ठीमा नगरभित्रका ५२ हजार ८९६ जनालाई औषधि खुवाउने लक्ष्य लिएको  स्वास्थ्य शाखा प्रमुख पंडितले जानकारी  गराउनु भएको छ।

      पंडितका अनुसार यो रोग लागेको लक्षण नदेखिए पनि शरिरमा हात्तीपाइले रोगको परजिवी हुन सक्छ।यो रोग लागिसके पछि पुरै निको पार्न नसक्ने भएकोले बेलैमा औषधि खाएमा शरिरको परजिवी नष्ट हुन्छ र रोग लाग्दैन साथै परिवार तथा समुदायका अरु ब्यक्तिलाई पनि सर्दैन ।

    गोडैता न.पा स्वास्थ्य शाखाको आयोजना तथा नगर प्रमुख देवेन्द्र यादवको अध्यक्षतामा सम्पन्न भएको गोष्ठीमा विशिष्ट अतिथि उप प्रमुख अन्जना कुशवाहा,EDCD टेकुको प्रतिनिधि ,स्वास्थ्य  कार्यालयका सुशील कुमार झा ,मनोज झा , कार्यपालिकाका सम्पूर्ण सदस्य,१३ वटा स्वास्थ्य संस्थाका इन्चार्ज,३० वटा सामुदायिक तथा संस्थागत विद्यालयका  प्रधानाध्यापक, RRPK का प्रतिनिधि ,रेडक्रस प्रतिनिधि ,सुरक्षा निकायका प्रमुख , नगरपालिका अन्तर्गतका सम्पूर्ण  शाखाका शाखा प्रमुख तथा पत्रकारहरुको उपस्थिति रहेको थियो।

     कार्यक्रमको संचालन स्वास्थ्य शाखा प्रमुख प्रमोद पन्डितले गर्नुभएको थियो।