Wednesday, February 21, 2024

डिप्रोक्स लघुवित्त मलंगवा शाखाद्धारा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

 डिप्रोक्स लघुवित्त मलंगवा शाखाद्धारा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न









लोकतन्त्र समाचारदाता---

सर्लाही,फाल्गुन १० गते

   डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले शाखा कार्यालय मलंगवाले  केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । 

   मलंगवा शाखा अन्तर्गतका केन्द्र  प्रमुखहरुलाई वित्तीय साक्षरता तथा बैंकिङ कारोबारमा हुने अपराध(सम्पत्ती सुद्धिकरण),कर्जा तथा बचतको महत्त्व ,कर्जाको सही उपयोग ,लिएको कर्जा कति लिने र कसरी तिर्ने,संस्थाले उपलब्ध गरेका कर्जा निति ,नेपाल राष्ट्र बैंकको १ श्रृणी १ संस्था निति र व्यवसायीक बन्नको लागि आवश्यक पर्ने विभिन्न तालिमहरु लगायतका विषयहरुको बारेमा जानकारी गराउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको संस्थाले जनाएको छ। ती उदेश्यको बारेमा सहभागीहरुलाई भिडियो मार्फत समेत स्पष्ट गरिएको थियो ।

    उक्त कार्यक्रममा सर्लाही जिल्ला भरीका १० वटा पालिकाबाट ८७ जना केन्द्र प्रमुख महिलाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा जिल्ला भेटेरिनरी तथा पशु सेवा विज्ञ कार्यालय मलंगवाका प्रमुख  उपेन्द्र सिंहले पशु सेवा कार्यालयसँग डिप्रोक्सको सहकार्य भएको बताउँदै  विभिन्न किसिमका कृषि बाली तथा पशु पालन तालिमको बारेमा सहभागीहरुलाई जानकारी गराएका थिए।

    मलंगवा नगरपालिका वडा न-९ स्थित सुजाता होटलमा सम्पन्न भएको कार्यक्रममा अतिथिको रुपमा उपस्थित भएका जनप्रतिनिधिहरु यस्ता गोष्ठीले समाजमा वित्तीय अराजकता र अफवाह फैलाउने तत्वहरुबाट बच्नको लागि सहयोग पुर्याउने भएकोले त्यस्ता व्यक्तिको पछि नलाग्न सहभागीहरु सँग अनुरोध गरेका थिए।समाजलाई आर्थिक चलायामन बनाइ राख्नु जरुरी रहेको रहेकोले हाल मिटर व्याजीको कारणले समाजमा आर्थिक मन्दी छाइरहेको अवस्थामा यस्ता वित्तीय संस्थाहरुले सघाइरहेकोले यस्को सदुपयोग गर्न समेत जनप्रतिनिधिहरुले अनुरोध गरे।

    संस्थाका अध्यक्ष सौभाग्यवती सिंहको सभापतित्व तथा  पशु सेवा कार्यालयका प्रमुख सिंहको प्रमुख आतिथ्यतामा र मलंगवा नगरपालिका वडा न-४ का कार्यवाहक वडाअध्यक्ष  घनश्याम झाको विशिष्ठ आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा संस्थाका अनुगमन अधिकृत सूर्यबहादुर विष्टले संस्थाको कर्जा तथा बचतको विषयमा जानकारी गराएका थिए भने बैंकिङ  अपराध तथा साक्षरता सम्बन्धि जानकारी प्रदेश प्रमुख देशबन्धु चौधरीले गराएका थिए। कार्यक्रममा स्वागत मन्तव्य मलंगवा शाखाका प्रमुख धर्मेन्द्र प्रसाद चौधरीले राखेका थिए। यसै कार्यक्रममा उत्कृष्ट भएका दुईवटा  वटा केन्द्रहरुलाई सम्मान समेत गरिएको थियो ।

   वि.स २०५९ साल भदौ ९ गते सर्लाहीको सदरमुकाम मलंगवामा स्थापना भएको यस शाखामा जम्मा सदस्य संख्या ३ हजार ७ सय ५५ जना रहेका छन् । १० वटा पालिकालाई कार्यक्षेत्र बनाएर संचालन भइरहेको यस संस्थाको लगानी ३० करोड १२ लाख ७६ हजार रहेको छ भने बचत रकम ११ करोड ९७ लाख ६४ हजार रहेको डिप्रोक्सले जानकारी गराएको छ।

Tuesday, February 20, 2024

ग्लोबल आइएमई बैंक मलंगवा शाखाद्वारा डिजिटल वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

 ग्लोबल आइएमई बैंक मलंगवा  शाखाद्वारा डिजिटल वित्तीय साक्षरता कार्यक्रम सम्पन्न 



लोकतन्त्र समाचारदाता----

सर्लाही,फाल्गुन ८

   ग्लोबल आइएमई बैंक लिमिटेड मलंगवा शाखाको आयोजनामा  डिजिटल वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।

  आफ्ना सेवाहरुलाई डिजिटल प्रविधिमय बनाउदै संजाल विस्तारमा समेत तीब्र ढंगले अघि बढेको ग्लोबल आइएमई बैंक प्रालिले मंगलबार मलंगवा नगरपालिका वडा न-९ स्थित कुसुम पार्टी प्यालेसमा सो कार्यक्रम सम्पन्न गरेको हो ।

    डिजिटल बैंकिङ र जालसाजी विरुद्ध सुरक्षित सुरक्षाका सम्बन्धमा स्थानीय जनतालाई सचेत गराउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको शाखा प्रबन्धक नवीन कुमार गुप्ताले जानकारी दिए।

     कार्यक्रममा सहभागी भएका ग्लोबल आइएमई बैंकमा आवद्ध ग्राहक तथा महिला, रेमिटान्स प्राप्तकर्ता, नियमित आय धारक, निश्चित आय समूह, विद्यार्थी तथा पत्रकारहरु लगायतलाई  मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, डेविड, क्रेडिट कार्ड, क्यूआर कोड पेमेन्ट, ट्राभल कार्ड, युज कार्ड, मिस्कल बैंकिङ्ग, कर्पोरेट पेलगायतका विषयमा जानकारी प्रदान गरिएको थियो ।

   कार्यक्रमको अन्त्यमा सहभागीहरुबाट आएका प्रश्न तथा जिज्ञासाहरुको आयोजकको तर्फबाट शाखा प्रबन्धक गुप्ता (बीएम) र कर्मचारीहरु अन्जु कुमारी पण्डित, अभिषेक रेग्मी र मो. दिलावर अन्सारीले सहजिकरण गरेका थिए।  


Monday, February 19, 2024

भूमीहिनको माग सम्बोधन गर्न माग गर्दै लालबन्दी नगरपालिकाले प्रधानमन्त्रीलाई बुझाए ज्ञापनपत्र

 भूमीहिनको माग सम्बोधन गर्न माग गर्दै लालबन्दी नगरपालिकाले प्रधानमन्त्रीलाई बुझाए ज्ञापनपत्र 



लोकतन्त्र समाचारदाता---

सर्लाही,फाल्गुन ७


    लालबन्दी नगरपालिकाले भूमिहिन दलित र भूमिहिन सुकुम्बासीलाई जग्गा वितरण गरि व्यवस्थित बसोबासको व्यवस्था मिलाइदिन माग गर्दै चार बुँदे ज्ञापनपत्र बुझाएको छ । लालबन्दीका नगर प्रमुख बासुदेव अधिकारीसहितको टोलीले आइतवार प्रधानमन्त्री तथा मन्त्रीपरिसदको कार्यालय सिंहदरबारलाई सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमला मार्फत ज्ञापनपत्र बुझाइएको हो ।


    वन ऐन र भूमी ऐन बासिन्दा जग्गा दर्ता कार्यमा ढिलासुस्ती भएको बुझिएकोले बाझिएका कानुनी व्यवस्थालाई खारेजी,भूमीहिन दलित,भूमीहिन सुकुम्बासीको कार्य अन्तर्गत लालबन्दी नगरपालिका वडा न-९ को स्थानीय तहले र नापी टोलीबाट पठाइएको कागजात राष्ट्रिय भूमी आयोग जिल्ला समिति सर्लाहीबाट जग्गाधनी दर्ता प्रमाणपुर्जा तयार गरि वितरण गर्न खोज्दा मधेस प्रदेश उद्योग पर्यटन तथा बन मन्त्रालयको मिति २०८० बैशाख ७ गतेको पत्र र मिति २०७९ साल चैत्र २९ गतेको टिप्पणी आदेश निर्णयबाट रोक्का गरिएको कार्य फुकुवा,अव्यवस्थित बसोबासीको जग्गा दर्ता प्रक्रिया अगाडी बढाउनुपर्ने र विगतका आयोग,समिति र कार्यदलका बाँकी कामहरु सम्पन्न गर्ने सम्बन्धि कार्यविधि २०७८ परिच्छेद २ मा बाँकी कामहरु सम्पन्न गर्ने गराउने सम्बन्धि (३,४,५,६,७)ले दिएको अधिकार प्रयोग गरि लालबन्दी नगरपालिकाको वडा न-६,८,९ र १० को अधुरा अपुराको कार्य अघि बढाउनुपर्ने लगायतका माग राख्दै ज्ञापनपत्र बुझाएको नगर प्रमुख अधिकारीले बताए।
    


साथै सोही विज्ञप्ति मार्फत विगतमा भएका त्रुटि र कमिकमजोरीका कारण जनमानसमा पर्न गएको आसंका अन्त्य गर्न र करोडौं खर्च गरेर नगरपालिकाले सम्झौता बमोजिम तयार गरेका श्रेस्ता अनुसारका जग्गाधनी दर्ता  प्रमाणपुर्जा (लालपुर्जा)वितरण गर्ने व्यवस्था शिघ्र मिलाउन यथोचित निर्देशन सरोकार मन्त्रालय तथा आयोगलाई दिन प्रधानमन्त्रीलाई अनुरोध गरिएको छ।


Wednesday, February 14, 2024

सदरमुकाम मलंगवा लगायत सर्लाही जिल्लाभरीका शिक्षालयहरुले विविध कार्यक्रम गरि भब्यताका साथ सरस्वती पूजा मनाए

 सदरमुकाम मलंगवा लगायत सर्लाही जिल्लाभरीका शिक्षालयहरुले विविध कार्यक्रम गरि भब्यताका साथ सरस्वती पूजा मनाए


मनोज यादव----

सर्लाही,फाल्गुन २ 

    सर्लाही लगायत मधेस प्रदेशको विभिन्न जिल्लाहरुमा रहेका शिक्षालयहरुमा सरस्वती पूजा भव्य रुपमा मनाइएको छ । कतिपय स्थानमा सरस्वती पूजाकै अवसर पारेर सांस्कृतिक कार्यक्रम समेत भएको छ ।

   यसै क्रममा सर्लाहीको सदरमुकाम मलंगवामा रहेका सरकारी तथा निजी संस्थागत विद्यालय,कोचिङ्ग सेन्टर,तालिम केन्द्र लगायत दर्जनौं शिक्षण संस्थाहरुमा देवी सरस्वतीको पूजाआजासहित विशेष कार्यक्रम गरिएको छ । विद्यार्थी तथा शिक्षक शिक्षिकाहरु विद्यालय परिसरमा भव्य रुपमा सजाइएको सरस्वतीको प्रतिमामा काँपी,कलम ,फुल प्रसाद चढाएर सामुहिक रुपमा बन्दना गरि पुजा गरेका छन् ।

    पुजा र प्रसाद ग्रहण गर्ने कार्यक्रम  पश्चात् मलंगवाका केही विद्यालयहरुले साँस्कृतिक कार्यक्रम तथा पुरस्कार वितरणको साथसाथै विद्यार्थीहरुले तयार पारेका सामाग्रीहरुको प्रदर्शनी गरेका थिए। 

    आजैका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास रहेको छ। सोही विश्वासलाई कायम राख्दै अभिभावकले आफ्ना स-साना छोराछोरीलाई अक्षराम्भ गराएका छन् । विद्यालयले पनि आजको दिनलाई विशेष अवसरको रुपमा लिंदै आएकोले सदरमुकाम मलंगवासहित जिल्लाभरीका निजी विद्यालयले पिजी, नर्सरी, एलकेजी र यू केजीका बालबालिकालाई निशुल्क भर्ना लिएका छन् ।

    पछिल्लो समय सरस्वती पुजाको आडमा बढ्दै गएको सामाजिक विकृति र गलत फैसनलाई ध्यानमा राखेर  यसपटकदेखि  मलंगवा नगरपालिकाले पालिका क्षेत्र भित्र संचालित सबैखाले  शिक्षण संस्थामा अध्यनरत विद्यार्थीहरुलाई पुजाको दिन सम्बन्धित शिक्षण संस्थाको पोसाक लगाएर मात्र पुजामा सहभागी हुन भनि सूचना जारी गरेकोले छात्रछात्राहरु विद्यालय पोसाकमै पुजामा सहभागी भएका थिए। 

    बिहानैदेखि विभिन्न स्थानमा रहेका सरस्वतीको मन्दिरमा पुजा गर्न खासगरी विद्यार्थीहरुको घुइँचो लागेको थियो।



आज श्रीपञ्चमी, विद्यार्थीहरु आ-आफ्नो शिक्षण संस्थामा विभिन्न कार्यक्रमहरु गरि सरस्वती पुजा गर्दै

 आज श्रीपञ्चमी, विद्यार्थीहरु आ-आफ्नो शिक्षण संस्थामा विभिन्न कार्यक्रमहरु गरि सरस्वती पुजा गर्दै


मनोज यादव---

सर्लाही,फाल्गुन २

      प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने बसन्त पञ्चमी अर्थात श्रीपञ्चमी आज देशभर विद्याकी देवी माता सरस्वतीको पुजा अराधना गरी हर्षोल्लासका मनाइँदैछ । यस दिन देवी सरस्वतीको पूजा गरे विद्या र बुद्धि बढ्ने जनविश्वास रहेको छ ।सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजका दिनलाई ‘वसन्तपञ्चमी’ पनि भन्ने गरिन्छ।

   आज(बुधबार) बिहानैदेखि गाउँ ,नगर बस्तीमा रहेका देवी सरस्वतीको मन्दिरमा पुजा गर्न खासगरी विद्यार्थीहरुको घुइँचो लागेको छ। श्रीपञ्चमीको अवसर पारेर सर्लाहीको सदरमुकाम मलंगवासहित जिल्लाभरीका शिक्षण संस्थामा अध्यनरत विद्यार्थी तथा शिक्षक-शिक्षिकाहरु आ-आफ्नो विद्यालय तथा क्याम्पसमा विभिन्न कार्यक्रमहरुको आयोजना गरेका छन् । अधिकांश शिक्षण संस्थाहरुमा सरस्वतीको पुजा र प्रसाद वितरणको साथ साथै विद्यार्थीहरु द्वारा साँस्कृतिक कार्यक्रम र विद्यार्थीहरुले नै तयार पारेका सामाग्रीहरुको प्रदर्शनी राखिएका छन् ।यसका लागि विद्यार्थीहरुले १०/१५ दिन अगाडीदेखिनै तयारी गरेका छन् ।

   यसपटक मलंगवा नगरपालिकाले नगरपालिका क्षेत्र भित्र संचालित विद्यालय,क्याम्पस लगायत अन्य शिक्षण संस्थामा अध्यनरत विद्यार्थीहरुलाई पुजाको दिन सम्बन्धित विद्यालय,क्याम्पस र शिक्षण संस्थाको पोसाक लगाएर मात्र पुजामा सहभागी हुन सूचना जारी गरेकोले छात्रछात्राहरु विद्यालय पोसाकमै पुजामा सहभागी भएका छन् ।

   यस दिन बालबालिकालाई शिक्षारम्भ गराउनुका साथै नाक–कान छेडिदिने गरिन्छ ।‘गान्धर्व पुराण’मा आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने उल्लेख छ ।

     देवी सरस्वती विद्या र सिर्जनाकी देवी भएकीले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थीहरु आआफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीको रूपमा पूजाराधना गर्छन् ।

आजकै दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह  जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने विश्वास रहँदै आएको छ ।


Monday, February 12, 2024

विद्यार्थीहरुले सरस्वती पुजाको दिन विद्यालयकै पोसाक लगाउनुपर्ने अधिकारकर्मीहरुको निर्णय

 विद्यार्थीहरुले सरस्वती पुजाको दिन विद्यालयकै पोसाक लगाउनुपर्ने अधिकारकर्मीहरुको निर्णय 

   

लोकतन्त्र समाचारदाता---

सर्लाही,माघ २९

      पछिल्लो समय सरस्वती पुजाको नाममा  विकृति र विसंगति बढ्दै गइरहेको छ।जसको नकारात्मक असर पुरै समाजमा पर्दै गइरहेको छ। सोही विकृति र विसंगतिलाई रोक्न नागरिक समाज,पत्रकार र मानवअधिकारकर्मीहरु बीच छलफल गरिएको छ।

    नजिकिँदै गरेको सरस्वती पुजालाई लिएर सदरमुकाम मलंगवामा मानवअधिकार रक्षक संजाल सर्लाहीका अध्यक्ष मुकेश मिश्रको अध्यक्षतामा बैठक बसी नागरिक समाजका अगुवा, विभिन्न क्षेत्रका अधिकारकर्मी र संचारकर्मीहरु बीच छलफल गरि विभिन्न निर्णयहरु गरिएको छ।

   बैठकमा सरस्वती पुजाको दिन विद्यार्थीले सम्बन्धित विद्यालय तथा शैक्षिक संस्थाले निर्धारण गरेको पोसाक लगाएर विद्यालयमा आउनु पर्ने यसकालागि शिक्षकले समेत प्रोत्साहित गर्नुपर्ने ,विद्यालय क्षेत्रमा बालबालिकाहरुलाई नकारात्मक असर पार्ने खालका कुनैपनि भाषाको अश्लित गीत संगीत नबजाउनु पर्ने र मुर्ति विसर्जन गर्दा विद्यालय प्रशासनको नियन्त्रणमा सुन्दर गीत संगीत बजाएर बेलुका ५ बजेसम्म गरिसक्नुपर्ने सर्वसम्मतिबाट निर्णय भएको संजालका अध्यक्ष मिश्रले जानकारी दिएको छ।

   ती निर्णयहरुको कार्यान्वयन भए नभएको अनुगमन तथा निगरानी गर्न मिश्रको संयोजकत्वमा ११ सदस्यीय अनुगमन समिति समेत गठन गरिएको छ।

Friday, February 9, 2024

कुल देउताको पुजामा उम्लिरहेको दूधले नुहाउने मुसहर समुदायको पुर्ख्यौली तथा धार्मिक परम्परा

 कुल देउताको पुजामा उम्लिरहेको दूधले नुहाउने मुसहर समुदायको पुर्ख्यौली तथा धार्मिक परम्परा


मनोज यादव---

सर्लाही,माघ २६ 

    तराई मधेसमा विभिन्न जाती समुदायको बसोबास रहेको छ। ती सबै जाती समुदायको पहिचान झल्काउने आफ्नै संस्कृति र परम्परा छन् । मुसहर समुदायको पनि एउटा अलग्गै परम्परा छ।सर्लाही  लगायत तराई मधेस क्षेत्रका मुसहर समुदायमा उम्लिरहेको दूधले नुहाउने परम्परा छ ।

    उम्लिरहेको तातो दुधले पनि कोही व्यक्ति नुहाउन सक्छ भन्ने कुरा सुनेपछि जोकोहीलाई पनि आश्चर्य लाग्न सक्छ होला । तर यो सत्य हो। तराई मधेसमा बसोबास गर्ने मुसहर समुदाय आफ्नो कुल देउता `भुइँया महाराज´ को पुजा गर्दा उम्लिरहेको  दुधले नुहाएर देउतालाई खुसी पार्ने गर्दछन् । पुस्तौदेखि चल्दै आएको यस परम्परालाई मुसहर समुदायले निरन्तरता दिदै आइरहेका छन्। 

    कुल देउता `भुइँया महाराजको पुजा गर्दा पूजा स्थलमा फूल, प्रसाद,पहेँलो धोती ,परेवा, रक्सी, पान, सुपारीसँगै दुईवटा माटोको भाँडोमा दूध राख्ने गरिन्छ । दुधमा कुनै किसिमको मिलावट गरेको हुनु हुँदैन । सकेसम्म गाई-भैंसीको थानबाटै दुहेर ल्याएको दूध हुनुपर्दछ ।व्याउन लागेको गाई-भैंसीको दूध पनि हुनु हुँदैन । सो दुधलाई दुईवटा माटोको भाँडोमा राखेर चुल्होको आगोमा उमालिन्छ। त्यही उमालिएको तातो दुधबाट मूल झाँक्री(धामी)हरु  स्नान गर्ने गर्दछन् ।

    तराई मधेसमा लोपोन्मुख ढोल, करताल र घुँघुर लगायतका सांस्कृतिक तथा परम्परागत बाजागाजाको धुनमा महराई(झाँक्री खेलाउँदा गाइने एक किसिमको गीत) गाउँदै र नाच्दै झाँक्रीहरू तातो दूध जिउमा खन्याएर स्नान गर्ने गर्छन् । 

   मुसहर समुदायका अगुवा जितु माझीका अनुसार भुइँया महाराजले भाकल गरेको मनोकामना पूरा गरेपछि यस्तो पुजा गर्ने गरिन्छ। यो पुजा मुसहर समुदायले मात्र नभइ भाकल गरेका अन्य समुदायले पनि गर्ने गरेको माझीले बताए।

    पौराणिक  कथा अनुसार दिना-भद्रीको नाउँले ‘भुईया महाराज’ लाई बुझिन्छ । दिना-भद्री दुबै दाजुभाई थिए । उनको जन्म नेपालकै सप्तरीको तत्कालिन नेगारा गाविस जोगिया जाजरमा भएको थियो । उनीहरु एउटा योद्धा थिए । मुसहर समुदायमाथि भई रहेको अत्याचार र अमानवीय व्यवहारलाई रोक्न दिना-भद्रीले प्रतिकार गरेको र प्रतिकारकै क्रममा दुबै दाजुभाईको मृत्यु भएको थियो । दिना-भद्री सप्तरी जिल्लाको कटैया भन्ने ठाउँमा शिकार गर्न जाँदा तन्त्र मन्त्र द्वारा उनीहरुलाई आफ्नो मतमा लिई हत्या गराएको झाँक्री मिठु माझीको कथन छ।

  नेपालमा बसोबास गर्ने आदिवासीहरूमध्येका मुसहर जाती अझै पनि गरिबी र अशिक्षाका कारण पिछडिएका छन् । उनीहरू अतिनै मेहनती हुने गरेका छन् ।



Monday, February 5, 2024

मलंगवा नगरपालिकाको बिरुद्धमा नेपाल शिक्षक महासंघले सुरु गरेको धर्ना स्थगित/नगरपालिका माग प्रति सकारात्मक रहेको महासंघको भनाइ

 मलंगवा नगरपालिकाको बिरुद्धमा नेपाल शिक्षक महासंघले सुरु गरेको धर्ना स्थगित/नगरपालिका माग प्रति सकारात्मक रहेको महासंघको भनाइ



लोकतन्त्र समाचारदाता----

सर्लाही,माघ २२

    विभिन्न माग राखेर नेपाल शिक्षक महासंघ नगर कार्य समितिले आइतवारदेखि  मलंगवा नगरपालिकाको प्रांगणमा सुरु गरेको ३ दिने धर्ना कार्यक्रम आज(सोमबार)साँझबाट स्थगित गरेको छ। 

   २ बुदै माग राखेर आन्दोलनमा उत्रिएका महासंघ २१ गतेदेखि २३ गतेसम्मको लागि चेतावनी स्वरुप धर्नामा बसेका थिए। सोमबार प्रदेश सभा सदस्य कौशल किशोर रायको रोहबरमा महासंघ नगर कार्यसमिति र नगरप्रमुख नागेन्द्र प्रसाद यादव,प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदी लगायत पालिकाका अन्य प्रतिनिधिहरु बिच दिनभर भएको वार्तामा शिक्षक कर्मचारीहरुको माग प्रति नगरपालिका सकारात्मक भएपछि घर्नासहित आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु स्थगित भएको महासंघका नगर सचिव बरुण सिंहले जानकारी दिए।

    नगरपालिकाले म्याद थप सम्बन्धि ल्याएको कानुन शिक्षक कर्मचारीहरुको हकहितमा नभएकोले सो कानुनलाई निरस्त गर्नुपर्ने भन्दै उनीहरूले आफ्नो माग अघि सारेका थिए। नगरपालिकाले केही महिना अघि शिक्षक,कर्मचारी र सहयोगी कार्यकर्ताहरुको दरबन्दी मिलानको नाउँमा गरेको सरुवाबाट विद्यालयहरुमा पर्न गएको नकारात्मक वा सकारात्मक प्रभावहरुको समीक्षा नगरिएका कारण कतिपय विद्यालयहरुले अनावश्यक परेसानी झेलिरहेको उनीहरूको भनाइ छ।दरबन्दी मिलानका लागि गरिएको सरुवाको केही महिना नबित्दै पावर र पहुँचको आधारमा दुईजना शिक्षकलाई पुन:पुरानै विद्यालयमा फर्काएर नगरपालिकाले बनाएको आफ्नै नियम र निर्णयलाई तोडेको आन्दोलनरत शिक्षकहरुले आरोप लगाएका छन् ।

   नेपाल सरकारले संघीय कानुन सम्बन्धि अन्तिम टुंगो नलगाए सम्मको लागि म्याद सम्बन्धि सुरु भएको कार्य स्थगित गर्नुपर्ने साथै संघीय निर्णय बमोजिमको बाल विकास सहयोगी कार्यकर्ता एवं कर्मचारीहरुको थप तलब भत्ता अविलम्ब उपलब्ध गराउनुपर्ने उनीहरूको माग रहेको छ।

    

मलंगवा नगरपालिकाको बिरुद्धमा नेपाल शिक्षक महासंघले सुरु गरे चरणबद्ध आन्दोलन ,पलेटी कसेर नगरपालिका अगाडी धर्नामा

 मलंगवा नगरपालिकाको बिरुद्धमा नेपाल शिक्षक महासंघले सुरु गरे चरणबद्ध आन्दोलन ,पलेटी कसेर नगरपालिका अगाडी धर्नामा


मनोज यादव----

सर्लाही,माघ २२

     विभिन्न माग राखेर नेपाल शिक्षक महासंघ नगर कार्य समितिले आइतवारदेखि मलंगवा नगरपालिका अगाडी धर्ना सुरु गरेका छन् । २ बुदै माग राखेर आन्दोलनमा उत्रिएका महासंघ २१ गतेदेखि २३ गतेसम्मको लागि चेतावनी स्वरुप रिले अनसनसहित धर्नामा बसेका हुन् ।

    कार्यलयको प्रांगणमा पलेटी कसेर धर्नामा बसेका शिक्षकहरुले आफुहरुको माग तत्काल सम्बोधन हुने पर्ने माग गरेका छन । नगरपालिकाले म्याद थप सम्बन्धि ल्याएको कानुन शिक्षक कर्मचारीहरुको हकहितमा नभएकोले सो कानुनलाई निरस्त गर्न गत माघ ९ गते नगरपालिकामा ज्ञापनपत्र बुझाउँदा पनि सो प्रति कुनै प्रतिक्रिया र चासो नदिए पछि पुनः १९ गते स्मरण पत्र बुझाएको र तर नगरपालिकाले सो प्रति पनि कुनै प्रतिक्रिया नदिएपछि बाध्य भएर धर्नामा बस्नु परेको शिक्षकहरुले बताए ।

   नगरपालिकाले केही महिना अघि शिक्षक,कर्मचारी र सहयोगी कार्यकर्ताहरुको दरबन्दी मिलानको नाउँमा गरेको सरुवाबाट विद्यालयहरुमा पर्न गएको नकारात्मक वा सकारात्मक प्रभावहरुको समीक्षा नगरिएका कारण कतिपय विद्यालयहरुले अनावश्यक परेसानी झेलिरहेको उनीहरूको भनाइ छ।दरबन्दी मिलानका लागि गरिएको सरुवाको केही महिना नबित्दै पावर र पहुँचको आधारमा दुईजना शिक्षकलाई पुन:पुरानै विद्यालयमा फर्काएर नगरपालिकाले बनाएको आफ्नै नियम र निर्णयलाई तोडेको आन्दोलनरत शिक्षकहरुले आरोप लगाएका छन् ।

   नेपाल सरकारले संघीय कानुन सम्बन्धि अन्तिम टुंगो नलगाए सम्मको लागि म्याद सम्बन्धि सुरु भएको कार्य स्थगित गर्नुपर्ने साथै संघीय निर्णय बमोजिमको बाल विकास सहयोगी कार्यकर्ता एवं कर्मचारीहरुको थप तलब भत्ता अविलम्ब उपलब्ध गराउनुपर्ने 

समेत उनीहरूले माग अघि सारेका छन् ।

    माघ २३ गते बेलुकासम्म  आफुहरुको माग सम्बोधन नभए २४ गतेदेखि अनिश्चितकालका लागि नगरभित्रका सम्पूर्ण विद्यालयहरु बन्द गरि धर्ना प्रदर्शन गर्ने आन्दोलनरत शिक्षक,कर्मचारीहरुले चेतावनी दिएका छन् ।

Sunday, February 4, 2024

देवश्री द्वारा मलंगवाको दुर्गम पल्सी टोलमा संचालित एकदिने नि:शुल्क स्वास्थ्य शिविरबाट ४ सय बढीले सेवा लिए

 देवश्री द्वारा मलंगवाको दुर्गम पल्सी टोलमा संचालित एकदिने नि:शुल्क स्वास्थ्य शिविरबाट ४ सय बढीले सेवा लिए 


मनोज यादव---

सर्लाही,माघ २२

    सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न-११ मा रहेको पल्सी टोलमा देवश्री पोलिक्लिनिक द्वारा संचालित एक दिने नि:शुल्क स्वास्थ्य शिविरबाट ४ सय ५६ जना बिरामीहरुले सेवा लिएका छन् । 

   देवश्रीका संस्थापक सोनेलाल रायले नगरपालिका भित्र परेपनि अधिकांश गरिब तथा दलित समुदायको बसोबास रहेको पल्सी टोलका बासिन्दाहरुलाई लक्षित गरेर नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको बताए ।

   उक्त शिवरमा विशेषज्ञ चिकित्सकहरुद्वारा हड्डी तथा नशा रोग,बाबासिर,भगन्दर,चिनी लगायतका रोगहरुको जाँच गरि नि:शुल्क औषधि वितरण गरिएको थियो।यसअघि पनि  आफ्नै खर्चमा रायले मलंगवा तथा कबिलासी नगरपालिकाका विभिन्न गरिब तथा दलित बस्तीमा यसैगरी नि:शुल्क स्वास्थ्य शिविर संचालन गरिसकेका छन्।

   यसभन्दा पहिले कुनै पनि स्वास्थ्य शिविर संचालन नभएको पल्सी टोलका बासिन्दाहरु नि:शुल्क रुपमा स्वास्थ्य जाँच गराउन पाउँदा निकै खुसी देखिन्थे।




Thursday, February 1, 2024

झण्डै डेढ दशक पछि सर्लाहीका सम्पूर्ण प्रमुख काँग्रेस नेताहरु एउटै मञ्चमा सहभागी

 झण्डै डेढ दशक पछि सर्लाहीका सम्पूर्ण प्रमुख काँग्रेस नेताहरु एउटै मञ्चमा सहभागी 



लोकतन्त्र समाचारदाता---

सर्लाही,माघ १८

    विगत १५ वर्षको लामो अन्तराल पछि सर्लाही जिल्ला भरीका सम्पूर्ण प्रमुख काँग्रेस नेताहरु एकैसाथ एउटै मञ्चमा उपस्थित भएका छन् ।बुधबार सदरमुकाम मलंगवामा आयोजना भएको समुदायमा काँग्रेस अभियान कार्यक्रमको अवसरमा झण्डै डेढ दशक लामो समयदेखि पार्टीको कार्यक्रमहरुमा छुट्टाछुट्टै सहभागी हुँदै आएका सर्लाही  जिल्लाका प्रमुख काँग्रेसी नेताहरु एकैसाथ सहभागी भएका हुन।

    मलंगवा स्थित पार्टी कार्यालयमा  नेपाली काँग्रेस श्रेत्रीय कार्यसमिति क्षेत्र नं -२ सर्लाहीको आयोजनामा क्षेत्रीय सभापति कौशल किशोर रायको अध्यक्षतामा सम्पन्न भएको क्षेत्रीय भेलामा प्रमुख अतिथि  केन्द्रीय सदस्य गणेश लामा,विशिष्ट अतिथिहरू पुर्व जिल्ला सभापति लक्ष्मण राय, पुर्व जिल्ला सभापति  नगेन्द्र कुमार यादव, जिल्ला सभिपति सुरेन्द्र प्रसाद सिंह, प्रदेश सांसद जंगीलाल राय, प्रदेश सदस्य सकुनती राम, उपाध्यक्ष द्वय  नविन कुमार अधिकारी, उपसभापति  सरोज कुमार यादव, जिल्ला सचिव  मनोज कुमार यादव,काँग्रेस नेता एवं पालिका प्रमुखहरू  विनोद साह, मनोज मनी अचार्य , रूपेश कुमार यादव, धिरेन्द्र यादव, रामपदारथ साह,तरूण दलका अध्यक्ष सुर्य नारायण यादव, ने वि संघ सभापति,प्रदेश सदस्यहरू, महाधिवेशन प्रतिनिधि वडा सभापति लगायतको उपस्थित रहेको थितो। 

 

 सो अवसरमा उपस्थित भएका नेताहरुले पछिल्ला सबै तिक्तताहरु र आन्तरिक मतभेदलाई बिर्सेर आजैको दिनदेखि सबै जना मिलेर अगाडी बढ्ने  प्रतिबद्धता जनाएका थिए। 

  नेपाली कांग्रेसले देशव्यापी रूपमा   “समुदायमा कांग्रेस अभियान” संंचालन गरेको छ।