Friday, June 30, 2023

आफ्नो स्थापना कालमै पहिलोपटक सामुहिक रुपमा रोपाइँ गरेर मलंगवा नगरपालिकाले मनाए राष्ट्रिय धान दिवस /किसानलाई भने पर्याप्त सिंचाइ र मलको अभाव कायमै


आफ्नो स्थापना कालमै पहिलोपटक सामुहिक रुपमा  रोपाइँ गरेर मलंगवा नगरपालिकाले मनाए राष्ट्रिय धान दिवस /किसानलाई भने पर्याप्त सिंचाइ र मलको अभाव कायमै


मनोज यादव---

सर्लाही,असाढ १५

   आज असार १५ अर्थात २० औँ राष्ट्रिय धान दिवस । सर्लाहीको सदरमुकाम मलंगवा सहित जिल्ला भरीका पालिकाहरुले विभिन्न किसिमले धान दिवस मनाइएका छन् । सोही अनुसार मलंगवा नगरपालिकाले ओरेक नेपालको सहकार्यमा वडा न-२ स्थित पाखर कृषक पाठशालाले संचालन गरेको कृषि फार्ममा सामुहिक रुपमा रोपाइँ गरेर धान दिवस तथा रोपाई महोत्सव  मनाएका छन्  ।

    "जलवायु अनुकुलिता कृषि मैत्री प्रविधि ,धान उत्पादनमा वृद्धि" भन्ने नाराका साथ मनाइएको यस दिवसको उद्घाटन गर्दै नगरप्रमुख नागेन्द्र प्रसाद यादवले धान उत्पानमा नगरपालिकालाई आत्मनिर्भर बनाउने गरी कृषि क्षेत्रमा आधुनिक प्रणालीको विकास गर्न आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा यसलाई समावेश गरि बजेट समेत विनियोजन गरिसकेको बताए ।

   धान रोपाईमा नगर उपप्रमुख शकुन्तला देवी साह, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतम,ओरेक नेपालकी प्रमुख देवकुमारी महरा सहित अन्य पदाधिकारीहरु,विभिन्न वडाका वडाध्यक्षहरू,कृषि शाखा सहित अन्य शाखाका प्रमुख तथा कर्मचारीहरु,पत्रकारहरु लगायत सयौंको संख्यामा स्थानीय महिला तथा पुरुष किसानहरु  सहभागि भएका थिए ।


   वि.सं २०६१ मंसिर २९ गते मन्त्रीस्तरीय निर्णय गरि २०६२ साल असार १५ गतेदेखि नेपालमा राष्ट्रिय धान दिवस मनाउन थालिएको हो ।जिल्लाका अन्य पालिकाहरुमा यो दिवस मनाउँदै आएपनि जिल्लाकै सबैभन्दा पुरानो र पहिलो नगरपालिका भएपनि  एकपटक पनि मलंगवा नगरपालिकामा यो दिवस मनाइएको थिएन।यसवर्ष सुरुवात मात्र भएकोले आउँदो वर्षमा यसलाई अझ व्यवस्थित र वृहद रुपमा मनाउने प्रमुख प्रशासकीय अधिकृत गौतमले बताए ।

  असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वको रुपमा पनि लिने गरिएकोले रोपाइँ महोत्सवमा सहभागी भएका अतिथि तथा  किसानहरु  सामुहिक रुपमा दही,च्युरा र आँपको भोज खाएर एकअर्कामा खुसी साटासाट गर्दै शुभकामना आदानप्रदान गरेका थिए।।कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि आजको दिन दही च्यूरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । मानिसहरु जंगली  युगबाट खेतीपातीको युगमा प्रवेश गरेपछि नयाँ कार्य गर्दा घाम, पानी, प्रकृति लगायतका शक्तिलाई कुनै न कुनै स्वरुपमा स्वीकार गरेकाले यो चलन पछिल्लो समय संस्कृतिको रुपमा विकास हुँदै गएको संस्कृतिविदहरुको भनाई छ। 

  सर्लाही जिल्लामा हरेक वर्ष धान दिवस तथा रोपाइँ  महोत्सव मनाउँदै आइएको भए पनि अधिकाशं किसानहरु पर्याप्त  सिँचाई सुविधा र कृषिमलको अभावमा राम्रो उत्पादन लिन नपाएकोमा निराश हुने गरेका छन्। 



Thursday, June 29, 2023

मधेस विश्वविद्यालयको रणनीतिक योजना तर्जुमा सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

 

मधेस विश्वविद्यालयको रणनीतिक योजना तर्जुमा सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

लोकतन्त्र समाचारदाता---

सर्लाही,असाढ १४

    मधेस विश्वविद्यालयको रणनीतिक योजना तर्जुमा सम्बन्धि वृहत् अन्तरक्रिया कार्यक्रम सर्लाहीको सदरमुकाम मलंगवामा सम्पन्न भएको छ।बिहीबार मधेस विश्वविद्यालयका उपकुलपति एवं अध्यक्ष प्रा.डा.दिपक बहादुर शाक्यको अध्यक्षतामा बिहीबार सम्पन्न भएको उक्त कार्यक्रमको  मधेस प्रदेश सांसद जंगिलाल राय,प्रदेश सांसद कौशल किशोर राय,जिल्ला समन्वय समिति सभापति कौशल किशोर सिंह तथा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले संयुक्तरूपमा गमलामा रोपेको फुलको बिरुवामा पानी हालेर गरेका थिए।

     मलंगवा नगरपालिका वडा न-३ स्थित महेन्द्र होटलमा आयोजना भएको कार्यक्रममा बोल्दै उपकुलपति शाक्यले विश्वविद्यालयलाई उच्च लक्ष्यका साथ अघि बढ्न, गुणस्तरीय प्रतिस्पर्धी र जीवनोपयोगी शिक्षा प्रदान गर्न रणनीतिक योजना तर्जुमा गरी व्यवस्थित रुपमा कार्यान्वयन गर्नुपर्ने   बताए ।उनले शैक्षिक तथा प्राज्ञिक,विद्यार्थीहरुको शिप विकास र प्रबर्द्धन ,अवसर र चुनौतीहरु,भूमि तथा भौतिक संरचना ,आर्थिक व्यवस्थापन ,सहकार्य तथा समन्वय ,नीति तथा प्रावधान ,सूचना प्रवाह र जवाफदेहीता लगायतका विषयमा समेत चर्चा गरेका थिए।

    कार्यक्रममा उपस्थित ,डा.विरभंस बैठा,नागरिक समाजका महासचिव शिवचन्द्र चौधरी ,सर्लाही क्याम्पसका पुर्व क्याम्पस प्रमुख कृष्णदेव यादव लगायतका अतिथिहरुले शिक्षा क्षेत्रको विकास,चुनौती र समाधानका विषयमा आफ्नो विचार प्रकट गर्दे सुझाव दिएका थिए।

   शिक्षक सुवास कर्णले संचालन गरेको कार्यक्रममा मधेस विश्वविद्यालयका पदाधिकारीहरूका साथै , शिक्षक, प्राध्यापक, पत्रकार तथा समाजसेवीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

Wednesday, June 28, 2023

हार्दिक मंगलमय शुभकामना

हार्दिक मंगलमय शुभकामना 

२०८० सालको बकर-ईद (ईद उल अजहा) पर्वको यस पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु हुने सम्पुर्ण मुस्लिम दाजुभाइ तथा दिदिबहिनीहरुमा सुख, शान्ति, सु-स्वास्थ्य तथा समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।


मा. महेन्द्र राय यादव

राष्ट्रिय अध्यक्ष

नेपाल समाजवादी पार्टी एवं 

मन्त्री

खानेपानी मन्त्रालय 

कौडेनामा बन्दै गरेको १५ शैयाको अस्पतालको निर्माणकार्य अन्तिम चरणमा,स्वास्थ्य मन्त्री र खानेपानी मन्त्री द्वारा १९ गते संयुक्तरूपमा उद्घाटन हुने


कौडेनामा बन्दै गरेको १५ शैयाको अस्पतालको निर्माणकार्य अन्तिम चरणमा,स्वास्थ्य मन्त्री र खानेपानी मन्त्री द्वारा  १९ गते  संयुक्तरूपमा उद्घाटन हुने

मनोज यादव---

सर्लाही,असाढ १३

     सर्लाहीको सदरमुकाम मलंगवा -गोडैता हुलाकी सडक अन्तर्गत पर्ने कौडेना गाउँपालिकाको वडा न-२ स्थित फुलपरासीमा बन्दै गरेको १५ शैयाको अस्पताल भवनको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ। ९५ प्रतिशत काम सम्पन्न भइसकेको उक्त अस्पतालको यही असाढ १९ गते उद्घाटन गरिने प्रमुख प्रशासकीय अधिकृत शम्भु प्रसाद यादवले जानकारी दिए।रंगरोगन र सरसफाइको मात्र काम बाँकी रहेको उनले जानकारी गराए।

   कुल १ करोड ७९ लाख रुपैयाँको लागतमा उपभोक्ता समिति मार्फत निर्माण भएको उक्त अस्पताल भवनको गत २०७९ साल श्रावन २३ गते नेपाली कांग्रेसकी  सहमहा मंत्री डिना उपाध्याय र गा.पा अध्यक्ष यादवले संयुक्तरूपमा शिलान्यास गरेका थिए।

   हाल यस पालिकामा एउटा बर्थिङ्ग सेन्टर र वडाहरुमा एकएकवटा स्वास्थ्य चौकी मात्र रहेका छन् । यस क्षेत्रका नागरिकहरुलाई सामान्य बाहेक अन्य स्वास्थ्य सेवा लिन सदरमुकाम मलंगवा,बरहथवा, लालबन्दी,हरिवन लगायत जिल्ला बाहिरका ठुला शहर तथा भारतका विभिन्न शहरहरुमा जानुपर्ने बाध्यता रहँदै आएको छ। अस्पताल संचालनमा आएपछि कौडेनाका मात्र नभइ यस क्षेत्रका अन्य पालिकाका जनताहरु पनि लाभान्वित हुने विश्वास लिएको गा.पा अध्यक्ष यादवले बताए ।

    विशेषज्ञ सहितको सेवा प्रवाह गर्न यस पालिकाले एम.बि.बि एस डाक्टरको नियुक्ति गर्न  आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा समेत समावेश गरिसकेको छ।

   उक्त  अस्पतालको उद्घघाटन स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेत र खानेपानी मन्त्री महेन्द्र राय यादवले संयुक्तरूपमा गर्ने गाउँपालिकाले जनाएको छ।

Tuesday, June 27, 2023

बुवा गुमाएका ८६ जना अनाथ बालबालिकाहरुको स्वास्थ्य परिक्षणसहित नगद तथा अतिआवश्यक सामाग्री हस्तान्तरण

 


बुवा गुमाएका ८६ जना अनाथ बालबालिकाहरुको स्वास्थ्य परिक्षणसहित नगद तथा  अतिआवश्यक सामाग्री हस्तान्तरण  


मनोज यादव----

सर्लाही,असाढ १२

     सर्लाहीको हरिपुरमा  स्थानीय समाज विकास केन्द्र नामक एक गैरसरकारी संस्थाले  हेल्पिङ ह्याण्ड फर रिलिफ एण्ड डेभलभमेन्ट सँगको सहकार्यमा बुवा गुमाएका ८६ जना बालबालिकाहरुको स्वास्थ्य परिक्षणसँगै अतिआवश्यक सामाग्री सहित ६ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ।

   हरिपुर नगरपालिका वडा न-१ मा रहेको उक्त संस्थाले हेल्पिङ्ग ह्यान्ड द्वारा  संचालित हेल्थ स्क्रिनिङ्ग प्रोग्राम २०२३ तथा अरफन सपोर्ट प्रोग्राम अन्तर्गत सोमबार हरिपुर स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा शिविरको आयोजना गरि हरिपुर लगायत आसपासका ८६ जना अनाथ बालबालिकाहरुको स्वास्थ्य परिक्षणको साथसाथै उनीहरूको पठनपाठनमा सहयोग पुर्याउने उदेश्यले शैक्षिक सामाग्री,विद्यालय पोसाक,खाद्यान्न,हाइजेनिक कीट र प्रति विद्यार्थी ६ हजार रुपैयाँको चेक प्रदान गरेको छ।२३ जना बालिकाहरुलाई चार-चार वटा प्याकेटको दरले सेनेटरी प्याड पनि वितरण गरिएको स्थानीय समाज विकास केन्द्रका सल्लाहकार अर्जुन थापाले जानकारी दिएको छ। 

      ग्रामीण क्षेत्रका अधिकांश अनाथ बालबालिकाहरु आर्थिक अभावका कारण बिचमै पढाइ छाडेर बाल मजदुरीमा लाग्ने गरेका छन्।काँपी किताब बोकेर विद्यालय जानुपर्ने उमेरमा घरपरिवार चलाउने जिम्मेवारी उनीहरूकै काँधमा आउँछ।जसले गर्दा उनीहरूको जीवन अन्धकारमा विलिन भएर जान्छ।यस्तो अवस्थाआउन नदिइ उनीहरूको उज्वल भविष्यको  लागि विगत केही वर्षदेखि हेल्पिङ ह्यान्डले अरफन सपोर्ट प्रोग्राम चलाएर सहयोग गर्दै आएको विकास केन्द्रका सल्लाहकार थापाले जनाएको छ।

    

    

     



    


आ.व २०८०/०८१ को लागि कबिलासी नरपालिकाले गरे ७८ करोड भन्दा बढीको बजेट विनियोजन

 


आ.व २०८०/०८१ को लागि कबिलासी नरपालिकाले गरे ७८ करोड भन्दा बढीको बजेट विनियोजन  



लोकतन्त्र समाचारदाता----

सर्लाही,असाढ १२

    सर्लाही  जिल्लाकाे कबिलासी नगरपालिकाले आफ्नो नवौं नगर सभाबाट आर्थिक वर्ष २०८०/०८१ को लागि ७८ करोड ६४ लाख ३२ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।उक्त पालिकाको आइतवार सम्पन्न नगर सभाको उद्घाटन कार्यक्रममा नगर प्रमुख ब्रम्हदेव रायको आज्ञाले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर उपप्रमुख पुनम कर्णले सो बराबरको बजेट विनियोजन भएको जानकारी गराएकी छिन् ।

     नगर सभामा बोल्दै उपप्रमुख कर्णले आ.व ०८०/०८१ को लागि तयार पारेको कार्यक्रम तथा योजनाहरको बारेमा जानकारी गराएकी थिइन्।   

    कबिलासीको अगर्वामा आयोजना भएको नगरसभाको उद्घाटन  प्रमुख अतिथि मधेस प्रदेश सांसद जंगिलाल रायले गरेका थिए।

      नगरप्रमुख रायको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा विशिष्ठ अतिथि प्रदेश सांसद कौशल किशोर राय,प्रदेश सांसद शकुन्ती देवी महरा,पुर्व नगरप्रमुख कौशल यादव,पुर्व उपप्रमुख राधा देवी,१० वटै वडाका वडाअध्यक्ष, कार्यपालिकाका सदस्य, वडा सदस्य , कर्मचारी र विभिन्न पार्टीका पार्टी प्रतिनिधि लगायत स्थानीयबासीहरुकाे उल्लेख्य उपस्थिति रहेको थियो ।

    कार्यक्रमकाे सञ्चालन पशु शाखा प्रमुख सुरेन्द्र महतोले गरेका थिए।





Monday, June 26, 2023

वैदेशिक रोजगारीमा पठाइ दिन्छु भनि ठगी गरेको रकम सिडियोको पहलमा पिडितलाई फिर्ता गराइयो

 वैदेशिक रोजगारीमा पठाइ दिन्छु भनि ठगी गरेको रकम सिडियोको पहलमा पिडितलाई फिर्ता गराइयो



लोकतन्त्र समाचारदाता---

सर्लाही,असाढ ११

    वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगि गरेको २ लाख रुपैया सर्लाहीका प्रमुख जिल्ला अधिकारीले पिडितलाई फिर्ता गराइएको छ।

     सर्लाहीको इश्वरपुर नगरपालिका वडा न-३ बस्ने राम सोगारथ साहको छोरा विरेन्द्र साहले चक्रघट्टा गाउँपालिका ३ बस्ने सुर्या कुमार साह सँग विदेश पठाइदिन्छु भनि लिएको २ लाख रुपैया जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रजिअ इन्द्रदेव यादवले  साहकी आमा रामरिखी देवीलाई फिर्ता गराइएको छ।पिडितले जिल्ला प्रशासन कार्यालयमा दिएको निवेदनको आधारमा सोधपुछ गर्दा ठगी गरेको ठहर भएपछि सो रकम पिडितलाई फिर्ता गराइएको जिप्रकाले जनाएको छ।

   वैदेशिक रोगजारीमा भएको ठगी घटना सम्बन्धमा प्रमुख जिल्ला अधिकारी समक्ष उजुरी दिने कानूनी व्यवस्था छ ।

Sunday, June 25, 2023

धनकाैल गाउँपालिकाकाे ११ गाउँ सभा सुरु आर्थिक वर्ष २०८०/०८१ को लागि ३२ करोड माथिको बजेट प्रस्तुत

 


धनकाैल गाउँपालिकाकाे ११ गाउँ सभा सुरु

   आर्थिक वर्ष २०८०/०८१ को लागि  ३२ करोड माथिको बजेट प्रस्तुत

मनोज यादव---

सर्लाही,असाढ १०

    सर्लाही  जिल्लाकाे दक्षिण पश्चिम क्षेत्रमा पर्ने धनकाैल गाउँपालिकाकाे ११ औं  गाउँ सभा आइतवारबाट सुरु भएको छ ।उक्त गाउँ सभाकाे प्रमुख अतिथि  मधेस प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री वीरेन्द्र प्रसाद सिंहले उद्घाटन गरेका हुन ।

    धनकौल गा.पा वडा न-२ स्थित बजार स्थित वि.पि स्मृति मञ्चमा आयोजना भएको कार्यक्रममा  गाउँ पालिकाको नीति तथा कार्यक्रम बारे जानकारी गराउँदै  गापा अध्यक्ष रामआश्रय साहले आर्थिक वर्ष  २०७९/०८० काे लागि ३२ करोड २२ लाख १४ हजार रुपैया  बराबरको बजेट प्रस्तुत गरेका थिए ।

   अध्यक्ष साहद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा  आर्थिक सामाजिक, शिक्षा,स्वास्थ्य,महिला, बालबालिका तथा जेष्ठ नागरिक,संस्कृति तथा पर्यटन,खानेपानी तथा सरसफाइ ,पुर्वाधार विकास ,वातावरण तथा विपद व्यवस्थापन,संस्थागत विकास तथा सेवा प्रवाह,वित्तीय व्यवस्थापन र सुशासन,रोजगारी ,सूचना प्रविधि , शान्ति सुरक्षा लगायतका विषय समेटिएको छ ।

गाउँसभाको उद्घाटन कार्यक्रममा विशिष्ठ अतिथि जिल्ला समन्वय समितिका प्रमुख कौशल किशोर सिंह ,  गाउँपालिका उपाध्यक्ष अकली देवी सहनी,प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव,सातवटै वडाका वडाअध्यक्ष, कार्यपालिकाका सदस्य, वडा सदस्य , कर्मचारी र विभिन्न पार्टीका पार्टी प्रतिनिधि लगायत स्थानीयबासीहरुकाे उल्लेख्य उपस्थिति रहेको थियो ।

    प्रमुख प्रशासकीय अधिकृत कृष्ण मोहन प्रसाद साहले स्वागत मन्तव्य राखेको कार्यक्रमकाे सञ्चालन स्वास्थ्य शाखा संयोजन अरुण कुमार महतोले गरेका थिए ।

आर्थिक वर्ष २०८०/०८१ को आय,व्यय,नीति ,कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै गोडैताको सातौ नगर सभाको उद्घाटन सम्पन्न

 


आर्थिक वर्ष २०८०/०८१ को आय,व्यय,नीति ,कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै गोडैताको सातौ नगर सभाको उद्घाटन सम्पन्न 


मनोज यादव---

सर्लाही ,असाढ १० 

    आर्थिक वर्ष २०८०/०८१ को आय,व्यय ,नीति तथा बजेट प्रस्तुत गर्दै  गोडैता नगरपालिकाको  सातौं  नगर सभाको उद्घाटन सत्र सम्पन्न भएको छ। 

    आइतवार सम्पन्न भएको नगर सभाको उद्घाटन शत्रमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख देवेन्द्र यादवले  आगामी आ.व को लागि कुल  ५९करोड १६ लाख ४३ हजार कुल बजेट विनियोजन गरेको जानकारी गराएका छन् ।जसमध्ये 

पुँजीगत तर्फ १८ करोड ३९ लाख ३४ हजार  र चालु तर्फ ४० करोड ७७ लाख ९ हजार रुपैया रहेको छ। उहाँले नगरको समृद्धि र विकासका लागि कृषि, स्वास्थ, शिक्षा,सडक ,व्यापार तथा स्वरोजगारलाई पहिलो प्राथमिकतामा राखेर वजेट विनियोजन गरिएको बताउनुभयो ।

     मेयर यादवको अध्यक्षमा  भएको नगरसभालाई स्वास्थ शाखा प्रमुख प्रमोद पंडितले संचालन गरेका थिए । नगरसभा कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख कौशल किशोर सिंह,विशिष्ठ अतिथि नगर उपप्रमुख अंजना कुशवाहा, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव,सर्लाही प्रहरी प्रमुख एसपी नरेश राज सुवेदी ,सशस्त्र प्रहरी प्रमुख तुल बहादुर भण्डारी,प्रमुख प्रशासकीय अधिकृत रमेश प्रसाद यादव, वडा न १ देखि वडा न १२ सम्मका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, विभिन्न वडाका सदस्यहरू, विभिन्न शाखाका शाखा प्रमुखहरु, सुरक्षा निकाय, राजनितिक दल, संघ संस्थाका प्रतिनिधिहरु लगायत पत्रकारहरुको उपस्थिति  रहेको थियो ।


 


सर्लाहीकै पहिलो मलंगवा नगरपालिकाको १० औं नगरसभाको उद्घाटन सम्पन्न

 


सर्लाहीकै पहिलो मलंगवा नगरपालिकाको १० औं  नगरसभाको उद्घाटन सम्पन्न



मनोज यादव---

सर्लाही,असाढ १०

     सर्लाही जिल्लाकै पहिलो  नगरपालिका तथा जिल्लाको सदरमुकाम मलंगवा नगरपालिकाको १० औं  नगरसभाको उद्घाटन सत्र सम्पन्न भएको छ ।पालिकाले आ.व २०८०/०८१ को लागि नेपाल सरकार,प्रदेश सरकार र आन्तरिक स्रोत समेत गरि कुल ५५ करोड ४८ लाख ६१ हजार रुपैया अनुमानित बजेट प्रस्तुत गरेको छ।

     आइतवार आयोजना भएको सभामा नगरप्रमुख नागेन्द्र प्रसाद यादवले  आर्थिक वर्ष २०८०/०८१ को लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै स्वास्थ्य, शिक्षा,खेलकुद, कृषि, सडक, भौतिक विकास निर्माण ,रोजगारी ,सामाजिक सुरक्षा र विपद व्यवस्थापन, पर्यावरण, महिला बालबालिका तथा सामाजिक समावेशीकरण ,सूचना तथा संचार प्रविधि ,शहर सौर्न्दर्यीकरण र बजार अनुगमन,निजी व्यवसाय सहकारी तथा आर्थिक क्रियाकलाप लगायतलाई  प्राथमिकतामा राखेर आउँदो आर्थिक वर्षको बजेट ल्याउन लागेको  बताउनुभयो । उहाँले नगरपालिकालाई जनतामा समर्पित संस्थाका रुपमा स्थापित गर्ने हाम्रो प्रयास रहेकोले यी सबै कामका लागि "हाम्रो नीति र नियतमा इमानदारीता र निरन्तरता साथै हाम्रो होइन राम्रो हुनुपर्छ " भन्ने मान्यता अनुसार आफुले काम गरेको बताउनुभयो ।

    नगरसभामा स्वागत मन्तव्य राख्दै नगर उपप्रमुख शकुन्तला देवी साहले आउँदो आ.व को बजेट जनमुखी रहेकोले यसलाई कार्यान्वयनमा ल्याउन सबैलाई साथ दिन आग्रह गर्नुभयो ।

   सोही अवसरमा गत आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रमको समीक्षा गरि सुझाव समेत संलकन गरिएको थियो।

 

प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतमले संचालन गरेको उद्घाटन सत्रमा वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य ,पत्रकार लगायत कर्मचारीहरुको सहभागिता रहेको थियो ।


महोत्तरीको एकडारामा राप्रपा नेपालका अध्यक्ष कमल थापाद्वारा पुर्व उपसभामुख तथा वाणिज्य मन्त्री स्व.रामविलास यादवको शालिक अनारण


महोत्तरीको एकडारामा राप्रपा नेपालका अध्यक्ष कमल थापाद्वारा पुर्व उपसभामुख तथा वाणिज्य मन्त्री स्व.रामविलास यादवको शालिक अनारण 



लोकतन्त्र समाचारदाता---

महोत्तरी(एकडारा),असाढ १०

   राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले महोत्तरीको एकडारा गाउँपालिका स्थित रावि चौकमा पुर्व उपभामुख तथा मन्त्री स्व.रामविलास यादवको शालिक अनावरण गरेका छन् ।राप्रपा नेपालका सहायक महामन्त्री शशिरंजन यादवको सभापतित्वमा आयोजित एक समारोहको बिच प्रमुख अतिथि थापाले स्व.यादवको शालिक अनावरण गरिएको हो।

   राप्रपाका नेता एवं समाजसेवी स्व. यादवको शालिक अनावरण  कार्यक्रमलाई सम्बोधन गर्दै थापाले देश संकटको भूमरीमा फँसेको बताएका छन् ।उनले धर्म निरपेक्षताको नाउँमा सदियौंदेखि कायम रहेको हिन्दु राष्ट्रको पहिचानलाई समाप्त पार्ने काम भएको बताउँदै देशभरिमै धर्मपरिवर्तन गराउने योजनावद्ध षड्यन्त्र नै भइरहेको जिकिर गरेका छन् । तराई होस् या पहाड यतिबेला गाउँगाउँमा धर्मपरिवर्तन गराएर नेपालीहरुको संस्कृतिलाई नष्ट पार्दै विदेशी संस्कृति लाद्ने काम भएको उनले बताएका छन्। अहिले लोकतन्त्रको नाउँमा ब्रह्मलुट भइरहेको आरोप लगाउँदै उनले पालिकादेखि सिंहदरबारसम्म भ्रष्टाचारको जालो फैलिएको बताए । भुटानी शरणार्थीको नाउँमा अरबौ रुपैयाँको भ्रष्टाचार गरेको आरोपमा पूर्व गृहमन्त्री नै जेलमा परेको कुरा सर्वविदित रहेको बताउँदै उनले  नेपाली नागरिकलाई अनागरिक बनाउने,भुटानी शरणार्थी बनाउने अनि विदेशमा निर्यात गर्ने,मानव तस्करी गर्ने यो काम कुनै साधारण व्यक्तिले गरेको होइन ,देशमा शान्ति सुरक्षाको जिम्मा लिएका गृहमन्त्रालयमा रहेका मन्त्री र सचिवहरुले गरेका छन् यो राष्ट्र विरुद्धकै अपराध हो भने।

    उनले स्व.नेता रामविलाश यादव महोत्तरी जिल्लाको मात्र नभइ देशकै कर्तव्यनिष्ठ,इमान्दार र नैतिकवान नेताको रुपमा रहेको बताउँदै उहाँले देखाएको बाटोलाई पहिल्याउँदै अगाडि बढ्नु पर्ने अहिलेको आवश्यकता रहेको बताए । आफ्नो क्षेत्रका लागि मात्र नभइ सिंगै महोत्तरी जिल्लाकै विकास निर्माणमा स्व.यादवले गरेको  योगदानको चर्चा गर्दै थापाले रामविलास जस्तो युगपुरुषको शालिकको अनावरण गर्न पाउँदा आफूलाई भाग्यशाली ठानेको बताए ।

     रामविलाश यादव स्मृति प्रतिष्ठानकाको आयोजनामा भएको उक्त कार्यक्रममा एकडारा गाउँपालिकाका गा.पा अध्यक्ष दीप नारायण मण्डलले स्व.नेता यादवको बारेमा शब्दमा चर्चा गर्न नसकिने बताए। राप्रपा नेपालका सहायक महामन्त्री एवं स्व.नेता यादवको एकमात्र छोरा समेत रहनुभएका शशि रंजन यादवको सभापतित्वमा भएको कार्यक्रममा राप्रपाका महामन्त्री राजाराम गर्तौला,केन्द्रीय सदस्य ज्ञानेन्द्र साह,नेताहरु विनोद मिश्र,सखिचन यादवल गायतका अतिथिहरुले आ-आफ्ना मनतव्य राखेका थिए ।

     स्व.नेता यादवको जन्म बि.स २००७ साल कात्तिक ७ गते महोत्तरी जिल्लाको साविक गाविस एकडारा बेला वडा न-९ मा भएको थियो।बि.कम सम्मको शिक्षा हासिल गर्नुभएका स्व.यादवले आफ्नो जिवनकालमा नेपालको अधिकांश जिल्लाहरुको साथसाथै देश बाहिरका थाइल्यान्ड ,हङ्कङ्ग,चिन,कोरिया ,

जापान ,फ्रान्स, फिनल्याण्ड,नेदरल्यान्ड ,संयुक्त अरब इमिरेट्स,अष्ट्रेलिया र भारत लगायतका देशहरुको भ्रमण गर्नुभएको थियो।

   उहाँले बिरगंज स्थित ठाकुरराम कलेजबाट नेपाल विद्यार्थी संघको संस्थापक सदस्य भई राजनीतिक जिवनको सुरुवात गर्नुभएको थियो।२०३४ साल पौष १५ गते गाउँफर्क राष्ट्रिय अभियानमा महोत्तरी जिल्लाको सदस्य-सचिव पदमा मनोनीत भई काम गरेका थिए।त्यस्तै २०३८ सालमा महोत्तरीको जिल्ला पञ्चायको उपसभापति पदमा भइ काम गरेका थिए।उहाँ २०५१ सालको चुनावमा महोत्तरी जिल्ला क्षेत्र न-४ बाट सांसद पदमा निर्वाचित भइ २०५१ साल पौष ६ गतेबाट प्रतिनिधिसभाको उपसभामुख पदमा रहेर काम गरेको र त्यस पछि २०५४ साल आश्विन २७ गते बाणिज्य मन्त्री काम गरेका थिए।२०४६ सालको जनआन्दोलन पश्चात् पार्टी स्थापना भएदेखि राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्य पदमा रही काम गर्दै आएका थिए।

    आफ्नो जिवनकालमा राजनीति मात्र नभइ अनेकौ सामाजिक कामहरु पनि गर्दै आएकोले त्यस क्षेत्रका जनताहरु अहिले पनि उहाँ र उहाँले गरेका राम्रा कामहरुलाई सम्झिने गरेका छन् ।




Saturday, June 24, 2023

लालबन्दीमा दुईदिने कृषि पत्रकारिता तालिम सम्पन्न


लालबन्दीमा दुईदिने कृषि पत्रकारिता तालिम सम्पन्न 



लोकतन्त्र समाचारदाता----

सर्लाही,असाढ ९

   आमसंचार प्रधिकरण जनकपुरधामकोआयोजना तथा नेपाल पत्रकार महासंघ शाखा सर्लाहीको समन्वयमा मधेस प्रदेश अन्तर्गतका जिल्लाका  पत्रकारहरुका निम्ति दुईदिने कृषि पत्रकारिता तालिम सम्पन्न भएको छ । आर्थिक वर्ष २०७९/०८० को स्वीकृत वार्षिक कार्यक्रम अनुसार असाढ ८ र ९ गते उक्त तालिमको आयोजना गरिएको हो।

     भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयका प्रदेश सचिव डा.नर्मता सिंहले राम्रो अथवा नराम्रो कुरालाई समाचारको माध्यमबाट उजागर गर्न गहनरुपमा अनुसन्धान गर्नुपर्ने बताइन्।उनले कृषि क्षेत्रमा गरेको अनुसन्धान र उपलब्धिहरुलाई किसानमाझ पुर्‍याउन  सञ्चारमाध्यमहरु निकै उपयोगी हुने बताउँदै कृषि बिटमा पत्रकारिता गर्न सुझाव दिइन् । 

     तालिममा सहभागी पत्रकारहरुलाई मधेस प्रदेशमा कृषि पत्रकारिताको अवस्था ,संचार माध्यमले उठाउनु पर्ने विषय ,कृषि पत्रकारिताको महत्त्व र उपादेयता ,मधेस प्रदेशमा प्रमुख खाद्यान्न बाली र उत्पादनको अवस्थाको साथै कृषि उत्पादनका चुनौती र सम्बोधनका उपाय तथा कृषि पत्रकारिता गर्दा ध्यान दिनुपर्ने विषय र आचार संहिता लगायतका विषयहरुमा प्रशिक्षण दिएको आमसंचार प्राधिकरणका अध्यक्ष श्याम सुन्दर यादवले जनाए ।सर्लाही सहित सप्तरी ,महोत्तरी,धनुषा लगायतका जिल्लाबाट सहभागी भएका प्रशिक्षार्थीहरुलाई कृषि पत्रकारहरुको संस्था अनाजका केन्द्रीय अध्यक्ष किरण आचार्यले प्रशिक्षण दिएका थिए।

   लालबन्दी नगरपालिका स्थित नमस्ते होटलमा सम्पन्न भएको उक्त तालिमको समापन कार्यक्रममा मेडिया काउन्सिलका कार्यवाहक अध्यक्ष कैलाश दास,प्राधिकरणका प्रशासकीय प्रमुख उपेन्द्र कुमार सिंह,पत्रकार महासंघ सर्लाहीका अध्यक्ष टंक बहादुर क्षेत्री ,पुर्व अध्यक्ष रौशन न्यौपाने लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो।

   समापन कार्यक्रममा उपस्थित प्रमुख अतिथिसहित अन्य विशिष्ठ अतिथिहरुले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए।







 

Thursday, June 22, 2023

दलित मैत्री योजना निर्माण गर्न आग्रह गर्दै कबिलासी नगरपालिकालाई ४ बुँदे ज्ञापनपत्र


दलित मैत्री योजना निर्माण गर्न आग्रह गर्दै कबिलासी नगरपालिकालाई ४ बुँदे ज्ञापनपत्र

लोकतन्त्र समाचारदाता----

सर्लाही,असाढ ७

   आर्थिक वर्ष २०८०/०८१ को लागि दलित मैत्री योजना निर्माण गर्न माग गर्दै  राष्ट्रिय दलित समाज कल्याण संघ सर्लाही र नेपाल उत्पीडित जातीय मुक्ति समाज सर्लाहीले संयुक्तरूपमा  कबिलासी नगरपालिकालाई चार बुंदे ज्ञापनपत्र बुझाएको छ । संस्थाका अध्यक्ष राजेश पासवान नेतृत्वको टोलीले बुधबार दिउँसो नगरप्रमुख ब्रम्हदेव यादवलाई ज्ञापनपत्र बुझाएका हुन् ।

   संस्थाले  दलित उत्थान र विकास शिर्षकमा न्युनतम १ करोड ५० लाख बजेट विनियोजन गर्न,प्रत्येक वडामा वडा स्तरीय बजेटबाट दलित महिला सदस्यको सिफारिसमा संचालन हुनेगरी बजेट विनियोजन गर्नुपर्ने ,मधेस प्रदेश सरकारको दलित सशक्तीकरण ऐनको दफा ५ अनुसार पालिका तहमा स्थानीय जातीय विभेद तथा छुवाछूत समिति यथाशिघ्र गठन गर्न र पालिका भित्रका सबै सामुदायिक विद्यालयहरुमा दलित एवं विपन्नहरुका लागि पुर्ण नि:शुल्क शिक्षाको व्यवस्था गर्नुपर्ने आग्रह गर्दै ज्ञापनपत्र बुझाएको हो।

Wednesday, June 21, 2023

कौडेनाको अनुमानित बजेट ३४ करोड माथि/शिक्षा,स्वास्थ्य ,रोजगारी ,उद्यमशिलता,सामाजिक विकास ,युवा तथा खेलकुद,भौतिक पूर्वाधार विकास,सार्वजनिक यातायात ,खानेपानी तथा सरसफाइ ,विपद व्यवस्थापन ,न्याय नुरुपण,मानवअधिकार प्रबर्द्धन माथि बढी जोड


कौडेनाको अनुमानित बजेट ३४ करोड माथि      शिक्षा,स्वास्थ्य ,रोजगारी ,उद्यमशिलता,सामाजिक विकास ,युवा तथा खेलकुद,भौतिक पूर्वाधार विकास,सार्वजनिक यातायात ,खानेपानी तथा सरसफाइ ,विपद व्यवस्थापन ,न्याय नुरुपण,मानवअधिकार प्रबर्द्धन माथि बढी जोड

मनोज यादव---

सर्लाही,असाढ ६

    सर्लाहीको कौडेना गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ को लागि नीति ,कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै आफ्नो १० औं गाउँसभाको उद्घाटन गरेको छ।

   बुधबार गाउँपालिकाको सभाहलमा प्रदेश सभा सदस्य कौशल किशोर रायको प्रमुख आतिथ्यता आयोजना भएको कार्यक्रममा गा.पा अध्यक्ष रुपेश कुमार यादवले  नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आ.व २०८०/०८१ को लागि अनुमानित बजेट ३४ करोड ७३ लाख ७७ हजार ६ सय रुपैयाँ रहेको जानकारी गराएको छ।

   "समृद्ध कौडेनाको आधार शिक्षा,स्वास्थ्य ,कृषि ,जनशक्ति र पुर्वाधार"भन्ने मुल नाराका साथ आयोजना भएको सभालाई सम्बोधन गर्दै गा.पा अध्यक्ष यादवले आन्तरिक सुशासन र सबल प्रशासनको विकासबाट अख्तियार गरेको नीति तथा कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयन हुने भएकाले यो निति तथा  कार्यक्रम यसैतर्फ निर्देशित रहेको बताए ।जनतासँग प्रत्येक्ष सम्बन्ध र सम्पर्क रहने वडा कार्यालयहरुको क्षमता विकास ,श्रोत साधनमा वृद्धि र प्रणालीको विकास गर्ने नीति अवलम्वन गर्न प्रस्ताव गरेको उनले बताए ।उनले यस आ.व को लागि शिक्षा,स्वास्थ्य ,रोजगारी ,उद्यमशिलता,सामाजिक विकास ,युवा तथा खेलकुद,भौतिक पूर्वाधार विकास,सार्वजनिक यातायात ,खानेपानी तथा सरसफाइ ,विपद व्यवस्थापन ,न्याय नुरुपण,मानवअधिकार प्रबर्द्धन जस्ता विषयगत क्षेत्रहरुका लागि विशेष  नीति तथा कार्यक्रम प्रस्ताव गरेको जानकारी गराए।साथै उनले आगामी आ.व को लागि प्रस्तावित नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न आम गाउँवासी तथा सबै पेशा,व्यवसायमा आवद्धहरुको साथ सहयोग ,समन्वय र सहकार्य रहनेमा आफु विश्वस्त रहेको बताए ।

    कार्यक्रममा विशिष्ट अतिथि गापा उपाध्यक्ष नगिना देवी , प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव,प्रमुख प्रशासकीय अधिकृत शम्भु प्रसाद यादव,सबै वडाका वडाअध्यक्ष,कार्यपालिका सदस्य,स्थानियबासी लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो।

    कार्यक्रमको संचालन लेखापाल हरिनारायण साहले गरेका थिए।

  

सर्लाहीको चन्द्रनगरमा उन्नत माछा पालन प्रविधि सम्वन्धी तालिम सम्पन्न


सर्लाहीको चन्द्रनगरमा उन्नत  माछा पालन प्रविधि सम्वन्धी तालिम सम्पन्न

लोकतन्त्र समाचारदाता---

सर्लाही,असाढ ६

     मत्स्य ब्लक विकास फलो अप कार्यक्रम अन्तर्गत उन्नत माछा पालन प्रविधि सम्वन्धी एकदिने तालिम  सर्लाहीको चन्द्रनगर गाउँपालिकामा सम्पन्न भएको छ।

   भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मलंगवाको आयोजनामा बुधबार नाढी मन स्थित रवि मत्स्य पालनमा सम्पन्न भएको उक्त तालिममा मत्स्य ब्लकमा आबद्ध किसानहरुलाई  माछा पालन गर्ने प्रविधि तथा तरिकाको बारेमा जानकारी गराइएको थियो। तालिममा कृषकलाई माछाको लागि चाहिने पानीको गुणस्तर ,दाना व्यवस्थापन ,माछामा लाग्ने रोगहरु,उन्नत माछा प्रविधि लगायतका विषयमा प्रशिक्षकत्रय दिपक मिश्र,संतोष कुमार सिंह र शोभाकर पाण्डेले  प्रशिक्षिण दिएका थिए।

   सर्लाही जिल्लामै सबैभन्दा बढी माछा उत्पादन हुने चन्द्रनगर गाउँपालिकामा करिब ३ हजार हेक्टर पोखरीमा माछा पालन हुने गरेको र ती पोखरीहरु बाट प्रतिदिन उत्पादन हुने ६० क्विन्टल भन्दा बढी माछाहरु काठमाडौ ,बिराटनगर ,बिरगंज ,

पोखरा लगायत देशका विभिन्न शहरहरुमा निर्यात हुने गरेको  तालिममा सहभागी माछा किसान परिक्षण मुखियाले बताए ।प्रतिदिन २० लाख रुपैयाँको माछा निर्यात हुने यस चन्द्रनगर गाउँपालिकाका २ सय भन्दा बढी घरपरिवार व्यवसायी माछा पालनमा लागेका छन् ।बढी जग्गा भएका किसानहरु  आफ्नै  निजी पोखरी खनेर फर्म दर्ता गरि माछा पालन गरेका छन् भने जग्गा  नहुनेले अरुको पोखरी भाडामा लिएर माछा पालन गरेका छन् ।यस क्षेत्रका किसानहरु कृषि बालीको सट्टा माछा पालनतर्फ बढी आकर्षित भइरहेकाले यस क्षेत्रमा पोखरीहरु खन्ने क्रम निरन्तर चलिरहेको मत्स्य किसान मुखियाले बताए ।

     विज्ञ केन्द्र सर्लाहीका प्रमुख शंकर साहको अध्यक्षता तथा चन्द्रनगर गापाकी उपाध्यक्ष गीता देवीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको तालिममा विभिन्न वडाका वडाअध्यक्षहरु,मत्स्य पालन किसानहरु,पत्रकार तथा विज्ञ केन्द्रका कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो।

  

Tuesday, June 20, 2023

मलंगवा वडा न-३ का झण्डै ६० जना महिलाहरुलाई सिपमुलक तालिमसँगै प्रविधि हस्तान्तरण गरियो

 

मलंगवा वडा न-३ का झण्डै ६० जना महिलाहरुलाई सिपमुलक तालिमसँगै प्रविधि हस्तान्तरण गरियो



लोकतन्त्र समाचारदाता---

सर्लाही,असाढ ५

      सर्लाहीको सदरमुकाम मलंगवा  नगरपालिका वडा नम्बर ३ का महिलाहरुले सिलाई कटाई ,ब्युटी पर्लर र लेडिज ब्याग पर्स सम्वन्धी सिप सगै अनुदानमा प्रविधि समेत पाएका छन् ।

      नगरपालिकाले गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम(MED-PA) अन्तर्गत वडा न- ३ का ५९ जना महिलाहरुलाई मंगलबार बिहान तीनवटै तालिमको एकैसाथ समापन कार्यक्रमको आयोजना गरि तालिमका प्रशिक्षार्थीहरु मध्येबाट सिलाई कटाई सम्बन्धि तालिम लिएका २३ जना महिलाहरुलाई सिलाई मेसिन प्रदान गरेको प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतमले जानकारी दिएको छ।

   "आर्थिक समृद्धिको आधार लघु उद्यम मार्फत रोजगार"भन्ने नाराका साथ संचालन भएको उक्त कार्यक्रम मार्फत प्रशिक्षकको रुपमा सिलाई कटाई तर्फ अर्चना विश्वकर्माले ३ महिना ,ब्युटी पार्लरतर्फ आशा श्रेष्ठले ७५ दिन र लेडिज ब्याग पर्सतर्फ ममता कर्णले २५ दिन प्रशिक्षण दिएका थिए।

   सिप सिकेर व्यवसाय गर्न चाहने तथा आयआर्जनमा जोडिन चाहने महिलाहरुलाई सिपमूलक तालिम प्रदान गरिएको नगरप्रमुख नागेन्द्र प्रसाद यादवले बताए ।नगरपालिकाको वडा नं. ३ सहित वडा न-८, ६, र १२ मा पनि गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम सञ्चालन भएको नगरप्रमुख यादवले जनाएको छ।

    


स्रोत नखुलेको १५ लाख रुपैयाँ सहित मलंगवाका दुई युवक पक्राउ

 स्रोत नखुलेको १५ लाख रुपैयाँ सहित मलंगवाका दुई युवक  पक्राउ

 लोकतन्त्र समाचारदाता---

मलंगवा ,असाढ ५

     सर्लाही प्रहरीले सदरमुकाम मलंगवाबाट स्राेत नखुलेकाे १५ लाख रुपैयाँ सहित २ जना युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मलंगवा नपा वडा न-४ बस्ने शिवनाथ चौधरीको अन्दाजी ३५ वर्षीय छोरा विसुन्द्र प्रसाद चौधरी र मलंगवा नपा वडा न-२ बस्ने लक्ष्मी ठाकुरको छोरा अन्दाजी ४० वर्षीय नागेन्द्र ठाकुर रहेका छन् ।    

    आज(मंगलबार) बिहान करिब साढे सातबजे  भारतको सोनबर्षाबाट नेपालतर्फ आउदै गरेको भारतीय BR 30 S 2086 नम्बरको मोटरसाईकल राेकेर चेकजाँच गर्दा पछाडी बसेका ठाकुरकाे कम्मरमा बाँधेको खैरो कपडा सिलाई पैसा राख्ने बनाएको पटुका भित्र १५ लाख ५० रुपैया नेपाली तथा चालक चाैधरीकाे साथबाट दुई हजार ६४० भारु नाेट तथा ८ बाेतल मजा जुस र दुईथान रियल मिकाे माेबाईल सेट एवं दुईथान सिम समेत बरामद गरि आवश्यक कार्बाही प्रकृया अगाडि बढाएकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकृत एवं डिएसपी दिपेन्द्र पंजियार थारुले जनाएको छ। 


मलंगवा स्थित झण्डा बजारमा अर्गानिक तरकारीको बिक्रीवितरणका लागि छुट्टै स्टल संचालनमा आयो,अब सागसब्वी खरिद गर्दा उपभोक्तालाई झुक्किनु नपर्ने

 


मलंगवा स्थित झण्डा बजारमा  अर्गानिक तरकारीको बिक्रीवितरणका लागि छुट्टै स्टल संचालनमा आयो,अब सागसब्वी खरिद गर्दा उपभोक्तालाई झुक्किनु नपर्ने 

 

मनोज यादव----

सर्लाही,असाढ ५

      सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिकाको वडा न-२ स्थित रहेको पब्लिक मावि अगाडीको झण्डा बजार परिसरमा शुद्ध अर्गानिक सागसब्जी बिक्रि बितरण गर्ने उद्धेश्यले छुट्टै स्टल संचालनमा आएको छ। 

   सर्लाही जिल्लामै पहिलोपटक मलंगवा नगरपालिकाले  उपभोक्ताहरुको स्वास्थ्य प्रति ख्याल राख्दै  मलंगवा र आसपासका स्थानीय किसानहरुले उत्पादन गरेका विषादीरहित अर्गानिक सागजब्जीहरुको बिक्री गर्नका लागि झण्डा बजारमा  आइतवारबाट छुट्टै स्टलहरु संचालनमा ल्याएको छ।यसअघि स्थानीय किसानहरुले उत्पादन गरेको विषादी रहित तरकारी र  ब्यापारीहरुले बाहिरबाट ल्याएका विषादीयुक्त  तरकारी एकैसाथ बिक्री हुँदै आएको थियो।अर्गानिक तरकारीको तुलनामा विषादी हालेको तरकारी  अली सफा जस्तो देखिने गरेकोले अधिकांश उपभोक्ताहरु विषादीयुक्त तरकारीतर्फ बढी आकर्षित हुँदै आएका थिए।उपभोक्ताहरु जानीजानी तरकारीको रुपमा मन्द विष खरिद गरेर घरलाने गरेका थिए। अर्गानिक तरकारीको बिक्रीका लागि छुट्टै स्टलहरु संचालनमा आएपछि विषादीयुक्त र विषादीरहित सागसब्वी छुट्याउन उपभोक्ताहरुलाई अब सहज भएको वडा न-२ का वडाअध्यक्ष धिरेन्द्र साहले बताए ।

    गत शनिवार ओरेक नेपालले मलंगवा नगरपालिकामा आयोजना गरेको कृषि उत्पादनको अवस्था र बजारिकरण सम्बन्धि अन्तरक्रिया कार्यक्रममा सहभागी भएका महिला कृषक समुहले बाहिरबाट आयात भएका तरकारीका कारण  स्थानीय स्तरमा उत्पादन भएका अर्गानिक तरकारीको बिक्रीमा बाधा उत्पन्न भइ घाटा बेहोर्नु परेकोले यसको उचित बजारीकरणका लागि व्यवस्था गरिदिन भनि नगरप्रमुख नागेन्द्र प्रसाद यादवसँगआग्रह गरेका थिए।किसानहरुको आग्रह र सरोकारवालाहरुको सुझावमा नगर प्रमुख यादवले तत्कालै निर्णय लिंदै ओरेक नेपालसँग सहकार्य गरेर आइतवारदेखि झण्डा बजारमा छुट्टै स्टल संचालनमा ल्याएका छन् ।यस्ता स्टलहरु मलंगवा नगरपालिका क्षेत्रमा लाग्ने सबै साप्ताहिक हाटबजारमा संचालनमा ल्याउने नगरप्रमुख यादवले बताए ।

   स्थानीय स्तरमा उत्पादन भएका सागसब्वीको बिक्रीवितरणका लागि छुट्टै स्टलहरु  संचालनमा आएपछि  अर्गानिक खेतितर्फ किसानहरुको थप आकर्षण बढ्ने विश्वास लिइएको ओरेक नेपालकी जिल्ला संयोजक देव कुमारी महराले बताइन।

   झण्डा बजार हप्ताको ३ दिन आइतवार,मंगलबार र बिहिवार लाग्दै आएको छ।