Sunday, March 3, 2024

विद्यार्थीहरुबाट शुल्क लिएको भन्ने समाचार प्रति जनज्योति मावि लालबन्दीको गम्भिर ध्यानाकर्षण

 विद्यार्थीहरुबाट शुल्क लिएको भन्ने समाचार प्रति जनज्योति मावि लालबन्दीको गम्भिर ध्यानाकर्षण


लोकतन्त्र समाचारदाता----

लालबन्दी,फागुन २०

जनज्योति माध्यमिक विद्यालय लालबन्दीले  रसिद बिनानै विद्यार्थीहरुबाट शुल्क लिएको भन्ने समाचार प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।


विद्यालयले आज (आइतवार ) एक ध्यानकर्षण पत्र जारी गर्दै कक्षामा अधिक अनुपस्थित हुने र परीक्षा दिनबाट बञ्चित भएका विद्यार्थीहरुको पुःन परीक्षा संचालन र व्यवस्थापन गर्न सहयोग स्वरुप केहि रकम लिएको र उक्त रकम नियमानुसार विद्यालयको खातामा जम्मा गरिएको जनाएको छ ।

समाचारमा उल्लेख गरिएअनुसार नभई  रकमको रसिद विद्यार्थीहरुलाई उपलब्ध गराइएको र उक्त रकम विद्यालयबाट नियमानुसार खर्च गरिनेछ ध्यानकर्षण पत्रमा उल्लेख छ   ।

ध्यानकर्षण पत्रमा समाचार उल्लेख भए अनुसार नभई प्राविधिक शिक्षा तर्फको प्रयोगात्मक कक्षा संचालन सम्बन्धमा पाठ्यक्रममा तोकिएको प्रयोगात्मक कक्षाहरु नियमित रुपमै संचालन गरिएको उल्लेख छ ।  

यस विषयमा विद्यालयका प्रधानाध्यापक विष्णु बहादुर पाेखलले  सञ्चारकर्मी संग कुरागर्दै समाचारले समाजमा भ्रम सृजना गर्ने काम गरेकाकाे बताए ।


प्रधानाध्यापक पाेखलले  समाचार भनिए जस्तो विद्यालयका कर्मचारीले व्यक्ति लाभका लागि कहिले पनि विद्यार्थीहरुबाट रकम असुल्ने काम नगरेको बताए । 

उनले विद्यार्थीलाई  अनुशासनमा राख्न र विद्यालयकाे बिकाशका लागि अभिभावकहरुबाट विद्यालय सहयोगका लागि लिएको रकम पनि बैंक दाखिला गरि आवश्यकता अनुसार खर्च गर्ने गरेको बताए । यसरी प्राप्त हुन आएको रकम फूलबारी निर्माण लगायत विद्यालयकाे बिकाशकामा खर्च गर्ने गरिएको बताए ।

Wednesday, February 21, 2024

डिप्रोक्स लघुवित्त मलंगवा शाखाद्धारा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

 डिप्रोक्स लघुवित्त मलंगवा शाखाद्धारा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न









लोकतन्त्र समाचारदाता---

सर्लाही,फाल्गुन १० गते

   डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले शाखा कार्यालय मलंगवाले  केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । 

   मलंगवा शाखा अन्तर्गतका केन्द्र  प्रमुखहरुलाई वित्तीय साक्षरता तथा बैंकिङ कारोबारमा हुने अपराध(सम्पत्ती सुद्धिकरण),कर्जा तथा बचतको महत्त्व ,कर्जाको सही उपयोग ,लिएको कर्जा कति लिने र कसरी तिर्ने,संस्थाले उपलब्ध गरेका कर्जा निति ,नेपाल राष्ट्र बैंकको १ श्रृणी १ संस्था निति र व्यवसायीक बन्नको लागि आवश्यक पर्ने विभिन्न तालिमहरु लगायतका विषयहरुको बारेमा जानकारी गराउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको संस्थाले जनाएको छ। ती उदेश्यको बारेमा सहभागीहरुलाई भिडियो मार्फत समेत स्पष्ट गरिएको थियो ।

    उक्त कार्यक्रममा सर्लाही जिल्ला भरीका १० वटा पालिकाबाट ८७ जना केन्द्र प्रमुख महिलाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा जिल्ला भेटेरिनरी तथा पशु सेवा विज्ञ कार्यालय मलंगवाका प्रमुख  उपेन्द्र सिंहले पशु सेवा कार्यालयसँग डिप्रोक्सको सहकार्य भएको बताउँदै  विभिन्न किसिमका कृषि बाली तथा पशु पालन तालिमको बारेमा सहभागीहरुलाई जानकारी गराएका थिए।

    मलंगवा नगरपालिका वडा न-९ स्थित सुजाता होटलमा सम्पन्न भएको कार्यक्रममा अतिथिको रुपमा उपस्थित भएका जनप्रतिनिधिहरु यस्ता गोष्ठीले समाजमा वित्तीय अराजकता र अफवाह फैलाउने तत्वहरुबाट बच्नको लागि सहयोग पुर्याउने भएकोले त्यस्ता व्यक्तिको पछि नलाग्न सहभागीहरु सँग अनुरोध गरेका थिए।समाजलाई आर्थिक चलायामन बनाइ राख्नु जरुरी रहेको रहेकोले हाल मिटर व्याजीको कारणले समाजमा आर्थिक मन्दी छाइरहेको अवस्थामा यस्ता वित्तीय संस्थाहरुले सघाइरहेकोले यस्को सदुपयोग गर्न समेत जनप्रतिनिधिहरुले अनुरोध गरे।

    संस्थाका अध्यक्ष सौभाग्यवती सिंहको सभापतित्व तथा  पशु सेवा कार्यालयका प्रमुख सिंहको प्रमुख आतिथ्यतामा र मलंगवा नगरपालिका वडा न-४ का कार्यवाहक वडाअध्यक्ष  घनश्याम झाको विशिष्ठ आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा संस्थाका अनुगमन अधिकृत सूर्यबहादुर विष्टले संस्थाको कर्जा तथा बचतको विषयमा जानकारी गराएका थिए भने बैंकिङ  अपराध तथा साक्षरता सम्बन्धि जानकारी प्रदेश प्रमुख देशबन्धु चौधरीले गराएका थिए। कार्यक्रममा स्वागत मन्तव्य मलंगवा शाखाका प्रमुख धर्मेन्द्र प्रसाद चौधरीले राखेका थिए। यसै कार्यक्रममा उत्कृष्ट भएका दुईवटा  वटा केन्द्रहरुलाई सम्मान समेत गरिएको थियो ।

   वि.स २०५९ साल भदौ ९ गते सर्लाहीको सदरमुकाम मलंगवामा स्थापना भएको यस शाखामा जम्मा सदस्य संख्या ३ हजार ७ सय ५५ जना रहेका छन् । १० वटा पालिकालाई कार्यक्षेत्र बनाएर संचालन भइरहेको यस संस्थाको लगानी ३० करोड १२ लाख ७६ हजार रहेको छ भने बचत रकम ११ करोड ९७ लाख ६४ हजार रहेको डिप्रोक्सले जानकारी गराएको छ।

Tuesday, February 20, 2024

ग्लोबल आइएमई बैंक मलंगवा शाखाद्वारा डिजिटल वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

 ग्लोबल आइएमई बैंक मलंगवा  शाखाद्वारा डिजिटल वित्तीय साक्षरता कार्यक्रम सम्पन्न 



लोकतन्त्र समाचारदाता----

सर्लाही,फाल्गुन ८

   ग्लोबल आइएमई बैंक लिमिटेड मलंगवा शाखाको आयोजनामा  डिजिटल वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।

  आफ्ना सेवाहरुलाई डिजिटल प्रविधिमय बनाउदै संजाल विस्तारमा समेत तीब्र ढंगले अघि बढेको ग्लोबल आइएमई बैंक प्रालिले मंगलबार मलंगवा नगरपालिका वडा न-९ स्थित कुसुम पार्टी प्यालेसमा सो कार्यक्रम सम्पन्न गरेको हो ।

    डिजिटल बैंकिङ र जालसाजी विरुद्ध सुरक्षित सुरक्षाका सम्बन्धमा स्थानीय जनतालाई सचेत गराउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको शाखा प्रबन्धक नवीन कुमार गुप्ताले जानकारी दिए।

     कार्यक्रममा सहभागी भएका ग्लोबल आइएमई बैंकमा आवद्ध ग्राहक तथा महिला, रेमिटान्स प्राप्तकर्ता, नियमित आय धारक, निश्चित आय समूह, विद्यार्थी तथा पत्रकारहरु लगायतलाई  मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, डेविड, क्रेडिट कार्ड, क्यूआर कोड पेमेन्ट, ट्राभल कार्ड, युज कार्ड, मिस्कल बैंकिङ्ग, कर्पोरेट पेलगायतका विषयमा जानकारी प्रदान गरिएको थियो ।

   कार्यक्रमको अन्त्यमा सहभागीहरुबाट आएका प्रश्न तथा जिज्ञासाहरुको आयोजकको तर्फबाट शाखा प्रबन्धक गुप्ता (बीएम) र कर्मचारीहरु अन्जु कुमारी पण्डित, अभिषेक रेग्मी र मो. दिलावर अन्सारीले सहजिकरण गरेका थिए।  


Monday, February 19, 2024

भूमीहिनको माग सम्बोधन गर्न माग गर्दै लालबन्दी नगरपालिकाले प्रधानमन्त्रीलाई बुझाए ज्ञापनपत्र

 भूमीहिनको माग सम्बोधन गर्न माग गर्दै लालबन्दी नगरपालिकाले प्रधानमन्त्रीलाई बुझाए ज्ञापनपत्र 



लोकतन्त्र समाचारदाता---

सर्लाही,फाल्गुन ७


    लालबन्दी नगरपालिकाले भूमिहिन दलित र भूमिहिन सुकुम्बासीलाई जग्गा वितरण गरि व्यवस्थित बसोबासको व्यवस्था मिलाइदिन माग गर्दै चार बुँदे ज्ञापनपत्र बुझाएको छ । लालबन्दीका नगर प्रमुख बासुदेव अधिकारीसहितको टोलीले आइतवार प्रधानमन्त्री तथा मन्त्रीपरिसदको कार्यालय सिंहदरबारलाई सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमला मार्फत ज्ञापनपत्र बुझाइएको हो ।


    वन ऐन र भूमी ऐन बासिन्दा जग्गा दर्ता कार्यमा ढिलासुस्ती भएको बुझिएकोले बाझिएका कानुनी व्यवस्थालाई खारेजी,भूमीहिन दलित,भूमीहिन सुकुम्बासीको कार्य अन्तर्गत लालबन्दी नगरपालिका वडा न-९ को स्थानीय तहले र नापी टोलीबाट पठाइएको कागजात राष्ट्रिय भूमी आयोग जिल्ला समिति सर्लाहीबाट जग्गाधनी दर्ता प्रमाणपुर्जा तयार गरि वितरण गर्न खोज्दा मधेस प्रदेश उद्योग पर्यटन तथा बन मन्त्रालयको मिति २०८० बैशाख ७ गतेको पत्र र मिति २०७९ साल चैत्र २९ गतेको टिप्पणी आदेश निर्णयबाट रोक्का गरिएको कार्य फुकुवा,अव्यवस्थित बसोबासीको जग्गा दर्ता प्रक्रिया अगाडी बढाउनुपर्ने र विगतका आयोग,समिति र कार्यदलका बाँकी कामहरु सम्पन्न गर्ने सम्बन्धि कार्यविधि २०७८ परिच्छेद २ मा बाँकी कामहरु सम्पन्न गर्ने गराउने सम्बन्धि (३,४,५,६,७)ले दिएको अधिकार प्रयोग गरि लालबन्दी नगरपालिकाको वडा न-६,८,९ र १० को अधुरा अपुराको कार्य अघि बढाउनुपर्ने लगायतका माग राख्दै ज्ञापनपत्र बुझाएको नगर प्रमुख अधिकारीले बताए।
    


साथै सोही विज्ञप्ति मार्फत विगतमा भएका त्रुटि र कमिकमजोरीका कारण जनमानसमा पर्न गएको आसंका अन्त्य गर्न र करोडौं खर्च गरेर नगरपालिकाले सम्झौता बमोजिम तयार गरेका श्रेस्ता अनुसारका जग्गाधनी दर्ता  प्रमाणपुर्जा (लालपुर्जा)वितरण गर्ने व्यवस्था शिघ्र मिलाउन यथोचित निर्देशन सरोकार मन्त्रालय तथा आयोगलाई दिन प्रधानमन्त्रीलाई अनुरोध गरिएको छ।


Wednesday, February 14, 2024

सदरमुकाम मलंगवा लगायत सर्लाही जिल्लाभरीका शिक्षालयहरुले विविध कार्यक्रम गरि भब्यताका साथ सरस्वती पूजा मनाए

 सदरमुकाम मलंगवा लगायत सर्लाही जिल्लाभरीका शिक्षालयहरुले विविध कार्यक्रम गरि भब्यताका साथ सरस्वती पूजा मनाए


मनोज यादव----

सर्लाही,फाल्गुन २ 

    सर्लाही लगायत मधेस प्रदेशको विभिन्न जिल्लाहरुमा रहेका शिक्षालयहरुमा सरस्वती पूजा भव्य रुपमा मनाइएको छ । कतिपय स्थानमा सरस्वती पूजाकै अवसर पारेर सांस्कृतिक कार्यक्रम समेत भएको छ ।

   यसै क्रममा सर्लाहीको सदरमुकाम मलंगवामा रहेका सरकारी तथा निजी संस्थागत विद्यालय,कोचिङ्ग सेन्टर,तालिम केन्द्र लगायत दर्जनौं शिक्षण संस्थाहरुमा देवी सरस्वतीको पूजाआजासहित विशेष कार्यक्रम गरिएको छ । विद्यार्थी तथा शिक्षक शिक्षिकाहरु विद्यालय परिसरमा भव्य रुपमा सजाइएको सरस्वतीको प्रतिमामा काँपी,कलम ,फुल प्रसाद चढाएर सामुहिक रुपमा बन्दना गरि पुजा गरेका छन् ।

    पुजा र प्रसाद ग्रहण गर्ने कार्यक्रम  पश्चात् मलंगवाका केही विद्यालयहरुले साँस्कृतिक कार्यक्रम तथा पुरस्कार वितरणको साथसाथै विद्यार्थीहरुले तयार पारेका सामाग्रीहरुको प्रदर्शनी गरेका थिए। 

    आजैका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास रहेको छ। सोही विश्वासलाई कायम राख्दै अभिभावकले आफ्ना स-साना छोराछोरीलाई अक्षराम्भ गराएका छन् । विद्यालयले पनि आजको दिनलाई विशेष अवसरको रुपमा लिंदै आएकोले सदरमुकाम मलंगवासहित जिल्लाभरीका निजी विद्यालयले पिजी, नर्सरी, एलकेजी र यू केजीका बालबालिकालाई निशुल्क भर्ना लिएका छन् ।

    पछिल्लो समय सरस्वती पुजाको आडमा बढ्दै गएको सामाजिक विकृति र गलत फैसनलाई ध्यानमा राखेर  यसपटकदेखि  मलंगवा नगरपालिकाले पालिका क्षेत्र भित्र संचालित सबैखाले  शिक्षण संस्थामा अध्यनरत विद्यार्थीहरुलाई पुजाको दिन सम्बन्धित शिक्षण संस्थाको पोसाक लगाएर मात्र पुजामा सहभागी हुन भनि सूचना जारी गरेकोले छात्रछात्राहरु विद्यालय पोसाकमै पुजामा सहभागी भएका थिए। 

    बिहानैदेखि विभिन्न स्थानमा रहेका सरस्वतीको मन्दिरमा पुजा गर्न खासगरी विद्यार्थीहरुको घुइँचो लागेको थियो।



आज श्रीपञ्चमी, विद्यार्थीहरु आ-आफ्नो शिक्षण संस्थामा विभिन्न कार्यक्रमहरु गरि सरस्वती पुजा गर्दै

 आज श्रीपञ्चमी, विद्यार्थीहरु आ-आफ्नो शिक्षण संस्थामा विभिन्न कार्यक्रमहरु गरि सरस्वती पुजा गर्दै


मनोज यादव---

सर्लाही,फाल्गुन २

      प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने बसन्त पञ्चमी अर्थात श्रीपञ्चमी आज देशभर विद्याकी देवी माता सरस्वतीको पुजा अराधना गरी हर्षोल्लासका मनाइँदैछ । यस दिन देवी सरस्वतीको पूजा गरे विद्या र बुद्धि बढ्ने जनविश्वास रहेको छ ।सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजका दिनलाई ‘वसन्तपञ्चमी’ पनि भन्ने गरिन्छ।

   आज(बुधबार) बिहानैदेखि गाउँ ,नगर बस्तीमा रहेका देवी सरस्वतीको मन्दिरमा पुजा गर्न खासगरी विद्यार्थीहरुको घुइँचो लागेको छ। श्रीपञ्चमीको अवसर पारेर सर्लाहीको सदरमुकाम मलंगवासहित जिल्लाभरीका शिक्षण संस्थामा अध्यनरत विद्यार्थी तथा शिक्षक-शिक्षिकाहरु आ-आफ्नो विद्यालय तथा क्याम्पसमा विभिन्न कार्यक्रमहरुको आयोजना गरेका छन् । अधिकांश शिक्षण संस्थाहरुमा सरस्वतीको पुजा र प्रसाद वितरणको साथ साथै विद्यार्थीहरु द्वारा साँस्कृतिक कार्यक्रम र विद्यार्थीहरुले नै तयार पारेका सामाग्रीहरुको प्रदर्शनी राखिएका छन् ।यसका लागि विद्यार्थीहरुले १०/१५ दिन अगाडीदेखिनै तयारी गरेका छन् ।

   यसपटक मलंगवा नगरपालिकाले नगरपालिका क्षेत्र भित्र संचालित विद्यालय,क्याम्पस लगायत अन्य शिक्षण संस्थामा अध्यनरत विद्यार्थीहरुलाई पुजाको दिन सम्बन्धित विद्यालय,क्याम्पस र शिक्षण संस्थाको पोसाक लगाएर मात्र पुजामा सहभागी हुन सूचना जारी गरेकोले छात्रछात्राहरु विद्यालय पोसाकमै पुजामा सहभागी भएका छन् ।

   यस दिन बालबालिकालाई शिक्षारम्भ गराउनुका साथै नाक–कान छेडिदिने गरिन्छ ।‘गान्धर्व पुराण’मा आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने उल्लेख छ ।

     देवी सरस्वती विद्या र सिर्जनाकी देवी भएकीले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थीहरु आआफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीको रूपमा पूजाराधना गर्छन् ।

आजकै दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह  जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने विश्वास रहँदै आएको छ ।


Monday, February 12, 2024

विद्यार्थीहरुले सरस्वती पुजाको दिन विद्यालयकै पोसाक लगाउनुपर्ने अधिकारकर्मीहरुको निर्णय

 विद्यार्थीहरुले सरस्वती पुजाको दिन विद्यालयकै पोसाक लगाउनुपर्ने अधिकारकर्मीहरुको निर्णय 

   

लोकतन्त्र समाचारदाता---

सर्लाही,माघ २९

      पछिल्लो समय सरस्वती पुजाको नाममा  विकृति र विसंगति बढ्दै गइरहेको छ।जसको नकारात्मक असर पुरै समाजमा पर्दै गइरहेको छ। सोही विकृति र विसंगतिलाई रोक्न नागरिक समाज,पत्रकार र मानवअधिकारकर्मीहरु बीच छलफल गरिएको छ।

    नजिकिँदै गरेको सरस्वती पुजालाई लिएर सदरमुकाम मलंगवामा मानवअधिकार रक्षक संजाल सर्लाहीका अध्यक्ष मुकेश मिश्रको अध्यक्षतामा बैठक बसी नागरिक समाजका अगुवा, विभिन्न क्षेत्रका अधिकारकर्मी र संचारकर्मीहरु बीच छलफल गरि विभिन्न निर्णयहरु गरिएको छ।

   बैठकमा सरस्वती पुजाको दिन विद्यार्थीले सम्बन्धित विद्यालय तथा शैक्षिक संस्थाले निर्धारण गरेको पोसाक लगाएर विद्यालयमा आउनु पर्ने यसकालागि शिक्षकले समेत प्रोत्साहित गर्नुपर्ने ,विद्यालय क्षेत्रमा बालबालिकाहरुलाई नकारात्मक असर पार्ने खालका कुनैपनि भाषाको अश्लित गीत संगीत नबजाउनु पर्ने र मुर्ति विसर्जन गर्दा विद्यालय प्रशासनको नियन्त्रणमा सुन्दर गीत संगीत बजाएर बेलुका ५ बजेसम्म गरिसक्नुपर्ने सर्वसम्मतिबाट निर्णय भएको संजालका अध्यक्ष मिश्रले जानकारी दिएको छ।

   ती निर्णयहरुको कार्यान्वयन भए नभएको अनुगमन तथा निगरानी गर्न मिश्रको संयोजकत्वमा ११ सदस्यीय अनुगमन समिति समेत गठन गरिएको छ।

Friday, February 9, 2024

कुल देउताको पुजामा उम्लिरहेको दूधले नुहाउने मुसहर समुदायको पुर्ख्यौली तथा धार्मिक परम्परा

 कुल देउताको पुजामा उम्लिरहेको दूधले नुहाउने मुसहर समुदायको पुर्ख्यौली तथा धार्मिक परम्परा


मनोज यादव---

सर्लाही,माघ २६ 

    तराई मधेसमा विभिन्न जाती समुदायको बसोबास रहेको छ। ती सबै जाती समुदायको पहिचान झल्काउने आफ्नै संस्कृति र परम्परा छन् । मुसहर समुदायको पनि एउटा अलग्गै परम्परा छ।सर्लाही  लगायत तराई मधेस क्षेत्रका मुसहर समुदायमा उम्लिरहेको दूधले नुहाउने परम्परा छ ।

    उम्लिरहेको तातो दुधले पनि कोही व्यक्ति नुहाउन सक्छ भन्ने कुरा सुनेपछि जोकोहीलाई पनि आश्चर्य लाग्न सक्छ होला । तर यो सत्य हो। तराई मधेसमा बसोबास गर्ने मुसहर समुदाय आफ्नो कुल देउता `भुइँया महाराज´ को पुजा गर्दा उम्लिरहेको  दुधले नुहाएर देउतालाई खुसी पार्ने गर्दछन् । पुस्तौदेखि चल्दै आएको यस परम्परालाई मुसहर समुदायले निरन्तरता दिदै आइरहेका छन्। 

    कुल देउता `भुइँया महाराजको पुजा गर्दा पूजा स्थलमा फूल, प्रसाद,पहेँलो धोती ,परेवा, रक्सी, पान, सुपारीसँगै दुईवटा माटोको भाँडोमा दूध राख्ने गरिन्छ । दुधमा कुनै किसिमको मिलावट गरेको हुनु हुँदैन । सकेसम्म गाई-भैंसीको थानबाटै दुहेर ल्याएको दूध हुनुपर्दछ ।व्याउन लागेको गाई-भैंसीको दूध पनि हुनु हुँदैन । सो दुधलाई दुईवटा माटोको भाँडोमा राखेर चुल्होको आगोमा उमालिन्छ। त्यही उमालिएको तातो दुधबाट मूल झाँक्री(धामी)हरु  स्नान गर्ने गर्दछन् ।

    तराई मधेसमा लोपोन्मुख ढोल, करताल र घुँघुर लगायतका सांस्कृतिक तथा परम्परागत बाजागाजाको धुनमा महराई(झाँक्री खेलाउँदा गाइने एक किसिमको गीत) गाउँदै र नाच्दै झाँक्रीहरू तातो दूध जिउमा खन्याएर स्नान गर्ने गर्छन् । 

   मुसहर समुदायका अगुवा जितु माझीका अनुसार भुइँया महाराजले भाकल गरेको मनोकामना पूरा गरेपछि यस्तो पुजा गर्ने गरिन्छ। यो पुजा मुसहर समुदायले मात्र नभइ भाकल गरेका अन्य समुदायले पनि गर्ने गरेको माझीले बताए।

    पौराणिक  कथा अनुसार दिना-भद्रीको नाउँले ‘भुईया महाराज’ लाई बुझिन्छ । दिना-भद्री दुबै दाजुभाई थिए । उनको जन्म नेपालकै सप्तरीको तत्कालिन नेगारा गाविस जोगिया जाजरमा भएको थियो । उनीहरु एउटा योद्धा थिए । मुसहर समुदायमाथि भई रहेको अत्याचार र अमानवीय व्यवहारलाई रोक्न दिना-भद्रीले प्रतिकार गरेको र प्रतिकारकै क्रममा दुबै दाजुभाईको मृत्यु भएको थियो । दिना-भद्री सप्तरी जिल्लाको कटैया भन्ने ठाउँमा शिकार गर्न जाँदा तन्त्र मन्त्र द्वारा उनीहरुलाई आफ्नो मतमा लिई हत्या गराएको झाँक्री मिठु माझीको कथन छ।

  नेपालमा बसोबास गर्ने आदिवासीहरूमध्येका मुसहर जाती अझै पनि गरिबी र अशिक्षाका कारण पिछडिएका छन् । उनीहरू अतिनै मेहनती हुने गरेका छन् ।



Monday, February 5, 2024

मलंगवा नगरपालिकाको बिरुद्धमा नेपाल शिक्षक महासंघले सुरु गरेको धर्ना स्थगित/नगरपालिका माग प्रति सकारात्मक रहेको महासंघको भनाइ

 मलंगवा नगरपालिकाको बिरुद्धमा नेपाल शिक्षक महासंघले सुरु गरेको धर्ना स्थगित/नगरपालिका माग प्रति सकारात्मक रहेको महासंघको भनाइ



लोकतन्त्र समाचारदाता----

सर्लाही,माघ २२

    विभिन्न माग राखेर नेपाल शिक्षक महासंघ नगर कार्य समितिले आइतवारदेखि  मलंगवा नगरपालिकाको प्रांगणमा सुरु गरेको ३ दिने धर्ना कार्यक्रम आज(सोमबार)साँझबाट स्थगित गरेको छ। 

   २ बुदै माग राखेर आन्दोलनमा उत्रिएका महासंघ २१ गतेदेखि २३ गतेसम्मको लागि चेतावनी स्वरुप धर्नामा बसेका थिए। सोमबार प्रदेश सभा सदस्य कौशल किशोर रायको रोहबरमा महासंघ नगर कार्यसमिति र नगरप्रमुख नागेन्द्र प्रसाद यादव,प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदी लगायत पालिकाका अन्य प्रतिनिधिहरु बिच दिनभर भएको वार्तामा शिक्षक कर्मचारीहरुको माग प्रति नगरपालिका सकारात्मक भएपछि घर्नासहित आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु स्थगित भएको महासंघका नगर सचिव बरुण सिंहले जानकारी दिए।

    नगरपालिकाले म्याद थप सम्बन्धि ल्याएको कानुन शिक्षक कर्मचारीहरुको हकहितमा नभएकोले सो कानुनलाई निरस्त गर्नुपर्ने भन्दै उनीहरूले आफ्नो माग अघि सारेका थिए। नगरपालिकाले केही महिना अघि शिक्षक,कर्मचारी र सहयोगी कार्यकर्ताहरुको दरबन्दी मिलानको नाउँमा गरेको सरुवाबाट विद्यालयहरुमा पर्न गएको नकारात्मक वा सकारात्मक प्रभावहरुको समीक्षा नगरिएका कारण कतिपय विद्यालयहरुले अनावश्यक परेसानी झेलिरहेको उनीहरूको भनाइ छ।दरबन्दी मिलानका लागि गरिएको सरुवाको केही महिना नबित्दै पावर र पहुँचको आधारमा दुईजना शिक्षकलाई पुन:पुरानै विद्यालयमा फर्काएर नगरपालिकाले बनाएको आफ्नै नियम र निर्णयलाई तोडेको आन्दोलनरत शिक्षकहरुले आरोप लगाएका छन् ।

   नेपाल सरकारले संघीय कानुन सम्बन्धि अन्तिम टुंगो नलगाए सम्मको लागि म्याद सम्बन्धि सुरु भएको कार्य स्थगित गर्नुपर्ने साथै संघीय निर्णय बमोजिमको बाल विकास सहयोगी कार्यकर्ता एवं कर्मचारीहरुको थप तलब भत्ता अविलम्ब उपलब्ध गराउनुपर्ने उनीहरूको माग रहेको छ।

    

मलंगवा नगरपालिकाको बिरुद्धमा नेपाल शिक्षक महासंघले सुरु गरे चरणबद्ध आन्दोलन ,पलेटी कसेर नगरपालिका अगाडी धर्नामा

 मलंगवा नगरपालिकाको बिरुद्धमा नेपाल शिक्षक महासंघले सुरु गरे चरणबद्ध आन्दोलन ,पलेटी कसेर नगरपालिका अगाडी धर्नामा


मनोज यादव----

सर्लाही,माघ २२

     विभिन्न माग राखेर नेपाल शिक्षक महासंघ नगर कार्य समितिले आइतवारदेखि मलंगवा नगरपालिका अगाडी धर्ना सुरु गरेका छन् । २ बुदै माग राखेर आन्दोलनमा उत्रिएका महासंघ २१ गतेदेखि २३ गतेसम्मको लागि चेतावनी स्वरुप रिले अनसनसहित धर्नामा बसेका हुन् ।

    कार्यलयको प्रांगणमा पलेटी कसेर धर्नामा बसेका शिक्षकहरुले आफुहरुको माग तत्काल सम्बोधन हुने पर्ने माग गरेका छन । नगरपालिकाले म्याद थप सम्बन्धि ल्याएको कानुन शिक्षक कर्मचारीहरुको हकहितमा नभएकोले सो कानुनलाई निरस्त गर्न गत माघ ९ गते नगरपालिकामा ज्ञापनपत्र बुझाउँदा पनि सो प्रति कुनै प्रतिक्रिया र चासो नदिए पछि पुनः १९ गते स्मरण पत्र बुझाएको र तर नगरपालिकाले सो प्रति पनि कुनै प्रतिक्रिया नदिएपछि बाध्य भएर धर्नामा बस्नु परेको शिक्षकहरुले बताए ।

   नगरपालिकाले केही महिना अघि शिक्षक,कर्मचारी र सहयोगी कार्यकर्ताहरुको दरबन्दी मिलानको नाउँमा गरेको सरुवाबाट विद्यालयहरुमा पर्न गएको नकारात्मक वा सकारात्मक प्रभावहरुको समीक्षा नगरिएका कारण कतिपय विद्यालयहरुले अनावश्यक परेसानी झेलिरहेको उनीहरूको भनाइ छ।दरबन्दी मिलानका लागि गरिएको सरुवाको केही महिना नबित्दै पावर र पहुँचको आधारमा दुईजना शिक्षकलाई पुन:पुरानै विद्यालयमा फर्काएर नगरपालिकाले बनाएको आफ्नै नियम र निर्णयलाई तोडेको आन्दोलनरत शिक्षकहरुले आरोप लगाएका छन् ।

   नेपाल सरकारले संघीय कानुन सम्बन्धि अन्तिम टुंगो नलगाए सम्मको लागि म्याद सम्बन्धि सुरु भएको कार्य स्थगित गर्नुपर्ने साथै संघीय निर्णय बमोजिमको बाल विकास सहयोगी कार्यकर्ता एवं कर्मचारीहरुको थप तलब भत्ता अविलम्ब उपलब्ध गराउनुपर्ने 

समेत उनीहरूले माग अघि सारेका छन् ।

    माघ २३ गते बेलुकासम्म  आफुहरुको माग सम्बोधन नभए २४ गतेदेखि अनिश्चितकालका लागि नगरभित्रका सम्पूर्ण विद्यालयहरु बन्द गरि धर्ना प्रदर्शन गर्ने आन्दोलनरत शिक्षक,कर्मचारीहरुले चेतावनी दिएका छन् ।

Sunday, February 4, 2024

देवश्री द्वारा मलंगवाको दुर्गम पल्सी टोलमा संचालित एकदिने नि:शुल्क स्वास्थ्य शिविरबाट ४ सय बढीले सेवा लिए

 देवश्री द्वारा मलंगवाको दुर्गम पल्सी टोलमा संचालित एकदिने नि:शुल्क स्वास्थ्य शिविरबाट ४ सय बढीले सेवा लिए 


मनोज यादव---

सर्लाही,माघ २२

    सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न-११ मा रहेको पल्सी टोलमा देवश्री पोलिक्लिनिक द्वारा संचालित एक दिने नि:शुल्क स्वास्थ्य शिविरबाट ४ सय ५६ जना बिरामीहरुले सेवा लिएका छन् । 

   देवश्रीका संस्थापक सोनेलाल रायले नगरपालिका भित्र परेपनि अधिकांश गरिब तथा दलित समुदायको बसोबास रहेको पल्सी टोलका बासिन्दाहरुलाई लक्षित गरेर नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको बताए ।

   उक्त शिवरमा विशेषज्ञ चिकित्सकहरुद्वारा हड्डी तथा नशा रोग,बाबासिर,भगन्दर,चिनी लगायतका रोगहरुको जाँच गरि नि:शुल्क औषधि वितरण गरिएको थियो।यसअघि पनि  आफ्नै खर्चमा रायले मलंगवा तथा कबिलासी नगरपालिकाका विभिन्न गरिब तथा दलित बस्तीमा यसैगरी नि:शुल्क स्वास्थ्य शिविर संचालन गरिसकेका छन्।

   यसभन्दा पहिले कुनै पनि स्वास्थ्य शिविर संचालन नभएको पल्सी टोलका बासिन्दाहरु नि:शुल्क रुपमा स्वास्थ्य जाँच गराउन पाउँदा निकै खुसी देखिन्थे।




Thursday, February 1, 2024

झण्डै डेढ दशक पछि सर्लाहीका सम्पूर्ण प्रमुख काँग्रेस नेताहरु एउटै मञ्चमा सहभागी

 झण्डै डेढ दशक पछि सर्लाहीका सम्पूर्ण प्रमुख काँग्रेस नेताहरु एउटै मञ्चमा सहभागी 



लोकतन्त्र समाचारदाता---

सर्लाही,माघ १८

    विगत १५ वर्षको लामो अन्तराल पछि सर्लाही जिल्ला भरीका सम्पूर्ण प्रमुख काँग्रेस नेताहरु एकैसाथ एउटै मञ्चमा उपस्थित भएका छन् ।बुधबार सदरमुकाम मलंगवामा आयोजना भएको समुदायमा काँग्रेस अभियान कार्यक्रमको अवसरमा झण्डै डेढ दशक लामो समयदेखि पार्टीको कार्यक्रमहरुमा छुट्टाछुट्टै सहभागी हुँदै आएका सर्लाही  जिल्लाका प्रमुख काँग्रेसी नेताहरु एकैसाथ सहभागी भएका हुन।

    मलंगवा स्थित पार्टी कार्यालयमा  नेपाली काँग्रेस श्रेत्रीय कार्यसमिति क्षेत्र नं -२ सर्लाहीको आयोजनामा क्षेत्रीय सभापति कौशल किशोर रायको अध्यक्षतामा सम्पन्न भएको क्षेत्रीय भेलामा प्रमुख अतिथि  केन्द्रीय सदस्य गणेश लामा,विशिष्ट अतिथिहरू पुर्व जिल्ला सभापति लक्ष्मण राय, पुर्व जिल्ला सभापति  नगेन्द्र कुमार यादव, जिल्ला सभिपति सुरेन्द्र प्रसाद सिंह, प्रदेश सांसद जंगीलाल राय, प्रदेश सदस्य सकुनती राम, उपाध्यक्ष द्वय  नविन कुमार अधिकारी, उपसभापति  सरोज कुमार यादव, जिल्ला सचिव  मनोज कुमार यादव,काँग्रेस नेता एवं पालिका प्रमुखहरू  विनोद साह, मनोज मनी अचार्य , रूपेश कुमार यादव, धिरेन्द्र यादव, रामपदारथ साह,तरूण दलका अध्यक्ष सुर्य नारायण यादव, ने वि संघ सभापति,प्रदेश सदस्यहरू, महाधिवेशन प्रतिनिधि वडा सभापति लगायतको उपस्थित रहेको थितो। 

 

 सो अवसरमा उपस्थित भएका नेताहरुले पछिल्ला सबै तिक्तताहरु र आन्तरिक मतभेदलाई बिर्सेर आजैको दिनदेखि सबै जना मिलेर अगाडी बढ्ने  प्रतिबद्धता जनाएका थिए। 

  नेपाली कांग्रेसले देशव्यापी रूपमा   “समुदायमा कांग्रेस अभियान” संंचालन गरेको छ।

Tuesday, January 30, 2024

सर्लाहीको हरिवनमा महा आइशर तीनदिने एक्सचेञ्ज मेला सुरू

 सर्लाहीको हरिवनमा महा आइशर तीनदिने एक्सचेञ्ज  मेला सुरू



लोकतन्त्र समाचारदाता---

सर्लाही,माघ १६

    सर्लाहीको हरिवनमा तीनदिने महा आइशर एक्सचेञ्ज  मेला सुरु भएको छ। नेपालका लागि आइशर कमर्सियल भेइकलको एकमात्र आधिकारिक वितरक बतास एम.ए.डब्लू. कमर्सिअल भेईकल प्रा.लि.ले वडा न-११ मा रहेको बराईली ईन्जिनियरीङ्ग वर्कशपमा सो मेलाको आयोजना गरेको हो।

   बराईली ईन्जिनियरीङ्गका संचालक किशोर बराईलीको अध्यक्षतामा मंगलबार दिउँसो सम्पन्न भएको समारोहका बिच प्रमुख अतिथि नगरप्रमुख रमेश बुढाथोकी, विशिष्ट अतिथि नगर उपप्रमुख हरिमाया घलान,पुर्व प्रदेश सभा सदस्य डिल्ली प्रसाद उप्रेती ,समाजसेवी चुडामणी वाग्ले,बिदुर प्याकुरेल ,हरिवन न.पा वडा न-११ का वडाअध्यक्ष शेख मेहमुद रेजा र बतास एम.ए.डब्लू. कमर्सिअल भेईकल प्रा.लि का प्रतिनिधिले संयुक्तरूपमा रिबन काटेर मेलाको औपचारिक रुपमा उद्घाटन गरेका थिए। 

     कार्यक्रममा बराईली ईन्जिनियरीङ्गका संचालक बराईलीले आइशर गाडीको माइलेज ,पावर र विशेषताहरु बारे जानकारी गराउँदै  तीन दिनसम्म चल्ने यस मेलाबाट ग्राहकले भरपुर फाइदा लिन सक्ने बताउनुभयो । यस्तो मेलाले मध्यम वर्गका ग्राहकले पनि सजिलै स्वरोजगार भई आत्मनिर्भर हुने उहाँले जानकारी दिनुभयो।२५ लाख रुपैयाँको आकस्मिक बीमाले चालकहरुमा थप उर्जाको संचार समेत हुने बराईलीले बताउनुभयो ।

   

आइशरले आफ्ना ग्राहकको आवश्यकतालाई महसुस गर्दै यस्ता किसिमका कार्यक्रम समयसापेक्ष आयोजना गर्दै आएकोले नेपालसहित विश्वबजारमा आइशर ग्राहकहरुको पहिले रोजाई बन्दै आइरहेको छ।क्यासलेश योजना मार्फत् दुर्घटना भएको खण्डमा आइशर मोटर्सका गाडीका खरिदकर्ताहरू बतास एम.ए.डब्लूका आधिकारिक सर्भिस सेन्टरहरूमा सिधै गई गाडी मर्मत वा बीमा रकम दाबी गर्न सक्नेछन् ।

क्यासलेश इन्स्योरेन्स अन्तरगत ग्राहकले सवारीसाधन दुर्घटनामा परेको खण्डमा सोझै आइशरको आधिकारिक वर्कसपमा गई मर्मत गराउन सक्नेछन् र ग्राहकले बिमा रकमबाहेकको रकम मात्र तिर्नुपर्ने हुन्छ । बाँकी रकम बिमा कम्पनी र बतास एम.ए.डब्लूबीच कारोबार हुनेछ। 

    सो मेला माघ १६ गतेदेखि १८ गतेसम्म सञ्‍चालन हुनेछ ।


सर्लाहीमै यातायात व्यवस्था कार्यालय संचालनमा आए देखि जिल्लाका हजारौं जनतालाई सहज

 सर्लाहीमै यातायात व्यवस्था कार्यालय संचालनमा आए देखि जिल्लाका हजारौं जनतालाई सहज


मनोज यादव---



सर्लाही,माघ १६

    सर्लाहीमा यातायात व्यवस्था कार्यालय संचालनमा आएपछि जिल्लाका हजारौं नागरिकहरुलाई सहज भएको छ । मधेश प्रदेश सरकारले  २०८० साल मंसिर १७ गते जिल्लाको सदरमुकाम मलंगवामा प्रदेश सरकारको श्रम तथा यातायात मन्त्रालय मातहतको यातायात कार्यालय संचालनमा ल्याएपछि यातायात सम्बन्धी सम्पूर्ण कामका लागि अन्यत्र जानुपर्ने बाध्यता हटेको छ। 

     मलंगवा नगरपालिका वडा न-१०  स्थित जिल्ला समन्वय समितिको भवनमा रहेको यस कार्यालयबाट दैनिक ७० देखि ७५ जनाले सेवा लिँदै आएको कार्यालय प्रमुख राकेश यादवले बताए। हाल यस कार्यालयबाट ट्रायल लिने ठाउँ तयार नभइ सकेकोले नयाँ लाइसेन्स बनाउने काम र मेकेनिकल सुपरभाइजर आइनसकेकोले सवारीसाधनको जाँच पास बाहेक सेवाग्राहीलाई  लाइसेन्स नवीकरण, सवारी नामसारी, रुट परमिट,सवारी साधनको कर तिर्ने लगायतका यातायात सम्बन्धि सेवाहरु प्रदान गर्दै आएको  यादवले बताए । चालु आर्थिक वर्षको मंसिर मसान्तदेखि हलसम्ममा करिब ५६ लाख रुपैयाँ राजस्व आम्दानी गरेको यस कार्यालयको सेवाबाट  सेवाग्राहीहरु सन्तुष्ट रहेको कार्यालय प्रमुख यादवले बताए ।

     आफ्नै जिल्लाबाट यातायात सम्बन्धि सम्पूर्ण सेवाहरु पाउन थालेपछि  सेवाग्राहीहरु समेत उत्साहित भएका छन्। राजश्व तिर्नुपर्ने शुल्क भन्दा बढी खर्च जान आउन र खान बस्नमै हुने गरेको कार्यालय परिसरमा भेटिएका एक सेवाग्राहीले बताए । समय पनि कम लाग्ने र छिटो छरितो रुपमा सेवा पाउन थालेपछि सेवाग्राही उत्साहित भएका हुन । 

    यसअघि सर्लाही जिल्लाका सेवाग्राहीलाई महोत्तरीको बर्दिबास,जनकपुरधाम,रौतहटको गौर र बिरगंज जानुपर्ने अवस्था थियो । 

  



 












Sunday, January 28, 2024

मलंगवाका कालिगढहरुलाई देवी सरस्वतीको मुर्ति बनाउन भ्याइनभ्याइ

 मलंगवाका कालिगढहरुलाई देवी सरस्वतीको मुर्ति  बनाउन भ्याइनभ्याइ


मनोज यादव----

सर्लाही,माघ १४

    जतिजति विद्याकी देवी सरस्वतीको पूजा नजिकिदै गइरहेको छ त्यति-त्यति कालिगढ (मूर्तिकार)हरूको मूर्ति बनाउने गति बढी रहेको छ।उनीहरु यतिबेला विभिन्न आकार-प्रकारका देवी सरस्वतीको मुर्ति बनाउन व्यस्त भएका छन् । सरस्वती पूजा नजिकिदै गर्दा राम्रो आम्दानी लिन आकर्षक मूर्ति बनाउन उनीहरु व्यस्त भएका हुन् । 

    विद्यालयहरुमा देवी सरस्वतीको पूजाको लागि मुर्तिको प्रयोग गरिने भएकाले देवीको मूर्ति बनाउन कालिगढहरु दिनरात लागिपरेका छन् ।

मूर्तिको आकार हेरेर मूल्य तोकिने गरिन्छ। एउटा मुर्ति २ हजार देखि १४  हजार सम्ममा बिक्री हुने गरेको मलंगवा नगरपालिका वडा न-४ का मुर्तिकार राम ईशवर पंडितले बताए ।गणेश पुजा,कृष्ण जन्माष्टमी,विश्वकर्मा पुजा र दुर्गा पुजामा गरि जम्मा  करिब २ देखि ३ लाख  रुपैयाँसम्मको मूर्ति बिक्री हुने गरेको    उनले बताए । 

   मुर्ति बनाउन एकजनाले मात्र नसक्ने भएकोले घर परिवारकै सदस्य र सहयोगी कालिगढ राखेर मूर्ति बनाउन लागेको लक्ष्मी पंडितले बताए । सरस्वती पुजाको लागि भनेर 

विगतको भन्दा यस वर्ष बढी मुर्तीहरुको अर्डर आएको पंडितले बताए । उनले वर्षभरी मूर्ति बेचेर वार्षिक तीन लाखसम्म आम्दानी गर्ने गरेको बताए ।  

   खासगरी कुम्हार जातीले मात्र मुर्ति बनाउने गरेपनि केहि समययता अन्य जाती समुदायहरुले पनि मुर्ति  बनाउने पेशा अपनाउन थालेका छन् । 

   अधिकांश निजी तथा सामुदायिक विद्यालयहरुले सरस्वती पूजाको लागि  आफ्नो चाहना अनुसारको मुर्ति बनाइदिन भन्दै एक-डेढ  महिना अगावै मुर्तिकारलाई अर्डर दिने गरेका छन् ।विद्यालय बाहिर टोल बस्तीमा गरिने पुजाको लागि भने पुजाको एकदिन अगाडी बिक्री स्थलमा गएर आफ्नो आर्थिक सामर्थ्यले भ्याउने मुर्ति छानेर खरिद गर्ने गरेका छन् ।

     मुर्तिको साइज हेरेर ३ हजार देखि १० हजार र सो भन्दा बढी मुल्य पर्ने गरेको मुर्तिकार   ले बताए।  अर्डर राम्रो आए र बनाएको मुर्ति जति सबै बिक्री भएको खण्डमा सिजनमा सबै खर्च कटाएर करिब १ लाख बराबरको आम्दनी हुने गरेको उनले बताए ।मुर्ती पेशाबाट आफुहरु संतुष्ट रहेको घरपरिवार पनि राम्रै चलेको उनीहरुले बताएका छन् ।



  



 


नेपाल भारत मैत्री संघले मनाए भारतको ७५ औं गणतन्त्र दिवस

 नेपाल भारत मैत्री संघले मनाए भारतको ७५ औं गणतन्त्र दिवस 



लोकतन्त्र समाचारदाता---

सर्लाही ,माघ १४

      नेपाल भारत मैत्री संघ शाखा सर्लाहीले जिल्लाको सदरमुकाम मलंगवामा मित्र राष्ट्र भारतको ७५ औं  गणतन्त्र दिवस  मनाएको छ । संघका जिल्ला अध्यक्ष  सत्यनारायण अग्रवालको अध्यक्षतामा मलंगवा-३ स्थित महेन्द्र होटलको सभाहलमा अन्तरक्रिया कार्यक्रमहरुको आयोजना गरि दिवस मनाइएको हो ।

   कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल किशोर सिंह,विशिष्ट अतिथि जिसस उपप्रमुख जितेन्द्र कुशवाहा सहित अतिथिहरु प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमला,मलंगवा नगरपालिकाकी उपप्रमुख शकुन्तला देवी साह,प्रहरी उपरीक्षक प्रविण धिताल,सशस्त्र प्रहरी उपरीक्षक तुल बहादुर भण्डारी,उप-अनुसंधान निरिक्षक संतोष ढुंगेल ,भुपु सर्लाही क्याम्पस प्रमुख कृष्णदेव यादव,रामबाबु साह कलवार,प्राधानाध्यापक तिलक क्षेत्री,गौतम सर्राफ लगायतले नेपाल-भारत बिचको सम्बन्ध तथा मित्रताको बारेमा चर्चा गरेका थिए ।  

   कार्यक्रमको उद्घाटन संघका अध्यक्ष अग्रवाल ,प्रमुख अतिथि सिंह,विशिष्ट अतिथि कुशवाहा र प्रजिअ घमलासहितका अतिथिहरुले भारतका राष्ट्रपिता महात्मा गाँधीको तश्विरमा माल्यार्पन गरेर गरेका थिए। सोही अवसरमा द सगरमाथा आधारभुत अंग्रेजी विद्यालयका विद्यार्थीहरुले दुबै मित्र राष्ट्रको सम्मानमा दुवै देशको राष्ट्रिय गान गाएर कार्यक्रमको शोभा बढाएका थिए।

   संघका सचिव सुवोधहरि राजोपाध्यायले स्वागत मन्तव्य राखेको कार्यक्रमको  संचालन नागरिक समाज सर्लाहीका महासचिव शिवचन्द्र चौधरीले गरेका थिए।

चिसो बढ्न थालेपछि जेसिज द्वारा मलंगवामा निःशुल्क दाउरा वितरण

 चिसो बढ्न थालेपछि जेसिज द्वारा मलंगवामा निःशुल्क दाउरा वितरण



लोकतन्त्र समाचारदाता---

सर्लाही,माघ १४

    अत्यधिक रुपमा शीतलहर बढ्न थालेपछि मलंगवा जेसिजले सर्लाहीको सदरमुकाम मलंगवा स्थित विभिन्न स्थानमा निःशुल्क दाउरा वितरण गरेको छ। मलंगवा जेसिजले आफ्नो विजनेस पार्टनर डिस होम फाइबर नेट सर्लाहीसँगको साझेदारी तथा लालबन्दी साझेदारी वन व्यवस्थापन समुहको सहयोगमा शनिवार मानिसहरूको बढी उपस्थित रहने मलंगवा बजारको विभिन्न स्थानमा दाउरा वितरण गरेकि हो। सुरु गरेको हो ।

   शीतलहरमा सर्वसाधारण  नागरिकलाई सहज होस् भनेर दाउरा वितरण गरेको मलंगवा जेसिज २०२४ का अध्यक्ष दिलिप कुमार झाले बताए।

शीतलहर बढेर चिसोको प्रभाव बढेपछि जेसिज द्वारा  मलंगवाको करिब १ दर्जन भन्दा बढी स्थानम दाउरा वितरण गरिएको छ । चौक चौकमा ताप्नको लागि दाउरा पाएपछि स्थानीय नागरिकहरु खुसी भएका छन् । 

   शनिवार बिहानैदेखि सुरु गरिएको दाउरा वितरण कार्यक्रममा मलंगवा जेसिज, मलंगवा जूनियर जेसिज लालबन्दी साझेदारी बन व्यवस्थापन समुहका भूपू अध्यक्ष अजय यादव,सचिव विनोद जैसवाल, वडा न-१० का वडाअध्यक्ष मुकेश झा,डिसहोमका सुभास गुप्ता लगायत नेपाल प्रहरीको सहभागीता रहेको थियो। 

   मलंगवा जेसिजले यसअघि दुर्घटना न्युनिकरणका लागि मलंगवाको अतिव्यस्त स्थानमा जेब्रा क्रसिंङ समेत बनाएका थिए।






मानव बेचबिखन रोकथामका लागि यातायात श्रमिकसँग छलफल

 मानव बेचबिखन रोकथामका लागि यातायात श्रमिकसँग छलफल 



लोकतन्त्र समाचारदाता---

सर्लाही,माघ १४

  नेपाल -भारत सिमा क्षेत्रमा चल्ने सार्वजनिक सवारीसाधनका यातायात श्रमिकहरु सँग बालश्रम शोषण तथा मानव बेचबिखन विरुद्धको सवालमा छलफल गरिएको छ। संरक्षण नेपाल कलैया ,बाराले युनिसेफ र एटविनको सहयोगमा शनिवार मलंगवामा अभिमुखिकरण कार्यक्रमको आयोजना गरि यातायात श्रमिकहरु सँग सो सवालमा छलफल गरिएको हो ।

     मजदुर अटो संघका इन्चार्ज इन्द्रजित साहको अध्यक्षता तथा  मलंगवा नगरपालिकाकी उपप्रमुख शकुन्तला देवी साहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संरक्षण नेपाल बारा कलैयाका कार्यक्रम अधिकृत मुकेश कुशवाहाले  मानव बेचबिखन तथा ओसारपसार बारे बनाइएको कानुन र यसलाई रोक्न गरिएको प्रयास र गर्न सकिने प्रयासको बारेमा सहभागी यातायात श्रमिकहरुलाई जानकारी गराएका थिए। उपस्थित सहभागीहरुले पनि मानव बेचबिखन रोकथामका लागि उनीहरूले खेलेको भुमिकाको बारेमा जानकारी गराउँदै यसप्रति थप गम्भित भएर लाग्नु पर्ने सुझाव दिएका थिए।

    संरक्षण नेपालका प्रभंस साहले संचालन गरेको कार्यक्रममा मलंगवादेखि नेपाल-भारत सिमानाका अन्तर्गत चल्ने सार्वजनिक सवारीसाधनका चालकहरु जितेन्द्र यादव,गणेश यादव,भुवन यादव लगायत ३० जना चालकहरुको उपस्थिति रहेको थियो।कार्यक्रममा नेपाल भारत लजको सभाहलमा सम्पन्न भएको थियो।






Friday, January 26, 2024

धरौटीमा रिहा भए धनकौलका वडाध्यक्ष गजेन्द्र महतो

 धरौटीमा रिहा भए धनकौलका वडाध्यक्ष गजेन्द्र महतो

   

लोकतन्त्र समाचारदाता---

सर्लाही, माघ १२

      ज्यान मार्ने उद्योग तथा अंगभंग मुद्दामा पुर्पक्षका लागि कारागारमा रहेका धनकौल गाउँपालिका वडा न-५ हरकठवाका वडाध्यक्ष उदय भन्ने गजेन्द्र महतोलाई अदालतले धरौटीमा रिहा गरेको छ।उच्च अदालत जनकपुरको अस्थायी इजलास विरगंजले महतोलाई थुनामा राख्न मुनासिब नदेखिएको भन्दै धरौटी लिएर तारिखमा राखी मुद्दाको पुर्पक्ष गर्ने गरि थुनामुक्त गर्न दिएको आदेश पछि शुक्रवार उनी कारागार मुक्त भएका हुन।

   उच्च अदालत जनकपुरको न्यायाधिश बलभद्र बास्तोला र मेहन्द्रनाथ उपाध्यायको संयुक्त इजलाशले सर्लाही जिल्ला अदालतको २०८० कार्तिक २१ गतेको आदेशलाई बदर गर्दै निज प्रतिबादी उदय भन्ने गजेन्द्र महतोलाई मुलुकी फौैजदारी कार्य विधि संहिता २०७४ को, दफा ६८ र ७२ समेतका आधारमा दुई लाख पचास हजार नगद वा जेथा जमानत गरी निज प्रतिवादीलाई तारेखमा रिहा गर्न विहिवार आदेश जारी गरेका थिए । सोही आदेशको आधारमा जमानत बापत  २ लाख ५० हजार रुपैया नगद धरौटी राखेपछि  मलंगवा कारागारमा रहेका वडाअध्यक्ष महतो शुक्रवार दिउँसो  रिहा भएका छन् ।

    महतो २०७९ को स्थानीय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र) बाट वडाध्यक्षमा निर्वाचित भएका हुन। केही महिना अगाडी गाउँमा झै झगडा हुँदा केही मानिसहरु घाइते हुने गरी भएको घटनामा वडाध्यक्ष महतो समेत संलग्न रहेको भनी जिल्ला प्रहरी कार्यालयमा ज्यान मार्ने उद्योग तथा अंगभंग कसुरमा मुद्दा दायर भएको थियो ।मुद्दा दायर भएदेखि फरार रहेका महतो अदालतमा आफैँ उपस्थित भएपछि अदालतको इजलासले उनलाई पूर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको थियो।  अदालतको आदेश अनुसार वडाध्यक्ष महतोलाई गौर कारागारमा राखिएको थियो ।गत ७ गते  मलंगवामा नवनिर्मित कारागारको उदघाटन भएपछि महतोलाई मलंगवा ल्याइएको थियो ।

    गत कार्तिक २१ गते सर्लाही जिल्ला अदालतका न्यायाधीश सूर्यबहादुर थापाको इजलासले वडाध्यक्ष महतोलाई ज्यान मार्ने उद्योग तथा अंगभंग कसुरमा पूर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएका थिए ।

    वडअध्यक्ष महतोले आफू विरुद्ध गम्भीर राजनीतिक षड्यन्त्र गरेर फसाईको बताएका छन् । आफू सधै अहिंसालाई मान्ने व्यक्ति भएकोले जानी जानी मलाई फसाएपनि कुनै पनि राजनीतिक दल प्रति पूर्वाग्राही नभइ जनता प्रति सधै नकमस्तक रहेर काम गर्ने प्रतिबद्धता जनाएका छन्  ।




 


 

Wednesday, January 17, 2024

सर्लाहीको हरिपुरमा थारू समुदायको लोकप्रिय ‘माघी पर्व’ तथा थारु सम्बत महोत्सवको रुपमा मनाइँदै

 सर्लाहीको हरिपुरमा 

थारू समुदायको लोकप्रिय ‘माघी पर्व’ तथा थारु सम्बत महोत्सवको रुपमा मनाइँदै


अजिता चौधरी ----

सर्लाही,माघ ३

    सर्लाहीको हरिपुरमा थारु सम्बत २६४७ को अवसरमा छैठौं तिला संक्रान्ति  माघी महोत्सव २०८० सुरु भएको छ । हरिपुर नगरपालिका वडा न–५, पचगछियामा एक कार्यक्रमका बिच संविधान सभा सदस्य रामचन्द्र चौधरीले     छैठौं माघी महोत्सवको उद्घाटन गरेका हुन। 

  थारु समुदायको कला सस्कृती संरक्षणको उद्येश्य लिएर वर्षेनी माघे संक्रान्तिको अवसर पारेर महोत्सव आयोजना हुदै आएको छ । तीन दिनसम्म चल्ने  महोत्सवमा थारु समुदायको भेष भुषा, कला, सस्कृतीहरु बिषेश रुपमा प्रदर्शन गरिन्छ। महोत्सव स्थलमा थारूहरूले पौष्टिक खानाका रूपमा प्रयोग गर्दै आएको गङ्गटो, माछा, घोँगी जस्ता विभिन्न थारु परिकारका स्टलहरुका साथै थारु परम्परा झल्काउने मुर्तिहरु पनि अवलोकनको लागि राखिएको छ।

   थारूहरू धेरैजसो कृषि पेसामा आवद्ध भएको र  उनीहरू पहिले माघ महिनामा बाली भित्र्याउने गर्थे ।  माघमा सबै काम सकेर नयाँ अन्न खाने गरिन्थ्यो, जसका कारण थारू समुदायले प्रमुख चाडका रूपमा मनाउँदै आएको माघीलाई नयाँ वर्षका रूपमा पनि मनाउन थालिएको छ। यस्ता महोत्सवको माध्यमबाट थारु समुदायको पौराणिक कला संस्कृती संरक्षण तथा पुस्तान्तरणमा समेत टेव पुग्ने हरिपुर नगरपालिकाका नगरप्रमुख गोपाल पंजियारले बताए।

   "नेपालके आदिवासी जनजाती के शान थारु कला संस्कृती हमर पहिचान"भन्ने नारा दिएर आयोजना भएको महोत्सवको  उद्घाटन समारोहका दिन थारूहरूले पहिरनका रूपमा लगाउने परम्परागत गरगहना तथा कपडामा सजिएका महिला तथा यूवतीहरुले बाँजागाजा सहित विभिन्न कला प्रदर्शन गर्दै र्यली निकालेका थिए ।

     महोत्सवमा थारु कला सस्कृती झल्कने थारु नृत्य प्रतियोगिता समेत आयोजना गरिएको छ । महोत्सवको अन्तिम दिन प्रतियोगिताम प्रथम, द्धितिय र तृतिय हुनेलाई  उपाधि सहित क्रमश २० हजार,१५  हजार र १० हजार नगर पुरस्कार समेत प्रदान गरिने माघी महोत्सव समितिका अध्यक्ष अरविन्द कुमार चौधरीले बताए ।

    उद्घाटन कार्यक्रमा संविधान सभा सदस्य  रंजना सरकार, हरिपुर नगरपालिकाकी नगर उप-प्रमुख निलम देवी राय यादव, थारु समुदायका अग्रज बुद्धिजिवी, विभिन्न संघ सस्थका प्रमुख एवं प्रतिनिधिहरु र स्थानीयहरुको उल्यख्य उपस्थिती रहेको थियो ।

   अहिलेका नयाँपुस्ताको झुकाव पश्चिमी संस्कृती तर्फ भइरहेकोले स्थानीय कला संस्कृतीहरु बिस्तारै लोप हुँदै गइरहेको छ।  यस्ता मेला महोत्सवहरुको आयोजनाले परम्परागत संस्कृतीहरुको संरक्षण ,सम्बर्धन तथा जगेर्ना हुनुका साथै नयाँ पुस्ताले पनि आफ्नो पुरानो कला, सस्कृती र परम्पराको बारेमा जानकारी प्राप्त गर्न सकिने भएकोले समय समयमा यस्ता मेला महोत्सवहरुको आयोजना हुनुपर्ने संविधान सभा सदस्य रंजना सरकारले बताइन।

   महोत्सवमा सहभागी हुन आएका थारु समुदायका किशोर किशोरीहरु आफ्नो पुरानो परम्परा र संस्कृतीलाई नजिकबाट हेर्न र बुझ्न पाएको साथसाथै साथीभाई सँग रमाइलो पनि गर्न पाएको भन्दै खुसी व्यक्त गरेका छन् ।

 


Saturday, January 13, 2024

सहारा मल्टिपर्पसको सेयर पुँजी ४ करोड भन्दाबढी

 

सहारा मल्टिपर्पसको सेयर पुँजी ४ करोड भन्दाबढी

मनोज यादव---

सर्लाही,पुस २८

     सहारा मल्टिपर्पस को-आपरेटिभ सोसाइटी लिमिटेड संस्थाले आफ्नो २० औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

   सर्लाही जिल्लाको सदरमुकाम मलंगवा नगरपालिका वडा न-९ मा मुख्य कार्यालय रहेको संस्थाले मलंगवा न.पा वडा न-१० स्थित जानकी पार्टी प्यालेसमा साधारणसभा सम्पन्न गरेको हो ।

   संस्थाका अध्यक्ष वसी अहमद मिकरानीको अध्यक्षतामा भएको कार्यक्रममा मधेश प्रदेश सांसद कौशल किशोर  रायको प्रमुख आतिथ्य रहेको थियो । संस्थाको संचालक समिति सदस्य अबुल हसन नुरीले स्वागत मन्तव्य राखेको कार्यक्रममा ध्रुव कुमार यादव,सालेहा तस्निम,जिल्ला समन्वय समिति सर्लाहीका उपप्रमुख जितेन्द्र कुमार महतो,जितपुर सिमरा बाराका नगर सभापति छबिलाल शर्मा लगायतका अतिथिहरुले शुभकामना मन्तव्य राखेका थिए।

   आ.व २०७९-०८० सम्ममा  संस्थाको ११ बटै सेवा केन्द्रहरुमा गरि ९ हजार ५ सय ९०जना शेयर सदस्य पुर्याएको यस संस्थाको शेयरपुँजी ४ करोड ४७ लाख ३६ हजार ३ सय रुपैयाँ रहेको संस्थाका अध्यक्ष मिकरानीले प्रस्तुत गरेको प्रतिबेदनमा उल्लेख गरिएको छ।अध्यक्षको प्रतिवेदन अनुसार तरलता कायम राख्नुपर्ने भएको कारणबाट लक्ष्य अनुरुप प्रतिफल प्राप्त हुन नसकेको भएपनि आ.व २०७९/०८० मा  संस्थाले  २५ लाख २० हजार ४ सय ९४ रुपैयाँ १ पैसा आम्दानी गरेको छ। मुख्य प्रबन्धक सुनिल कुमार गुप्ताले आगामी आ.व २०८१/०८२ को लागि अनुमानित कार्यक्रम तथा बजेटको बारेमा जानकारी गराउँदै ४ अर्ब ९७ करोड १५ लाखको कारोबारबाट १ करोड ९९ लाख २५ हजार रुपैया नाफा आर्जन गर्ने लक्ष्य राखिएको बताउनुभयो ।

   सोही कार्यक्रमका बिच संस्थाले आफ्ना असल श्रृणी,असल बचतकर्ता,उत्कृष्ट बजार प्रतिनिधीहरु लाई कदरपत्र र पुरस्कार प्रदान गरेर सम्मानित गरेका थिए।

    कार्यक्रममा संस्थाका मुख्य प्रबन्धक   गुप्ता ,उपाध्यक्ष  नागेन्द्र प्रसाद रौनियार ,संचालक समितिका सदस्य संजय चौधरी ,लेखा समिति संयोजक राम नारायण यादव,रवीन्द्र सहनी लगायत कर्मचारीहरु,बचतकर्ता,श्रृणी तथा पत्रकारहरुको उपस्थिति रहेको थियो।

Thursday, January 11, 2024

सहारा पञ्चकन्या सहकारीको १४ औं बार्षिक साधारणसभा सम्पन्न

 

सहारा पञ्चकन्या सहकारीको १४ औं बार्षिक साधारणसभा सम्पन्न


मनोज यादव---

सर्लाही,पुस २६

     सहारा पञ्चकन्या बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १४ औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

   सर्लाही जिल्लाको सदरमुकाम मलंगवा नगरपालिका वडा न-१० मा मुख्य कार्यालय रहेको संस्थाले बिहिवार सोही वडा स्थित जानकी पार्टी प्यालेसमा साधारणसभा सम्पन्न गरेको हो ।

   संस्थाका अध्यक्ष देवेन्द्र कुमार रायको अध्यक्षतामा भएको कार्यक्रममा मधेश प्रदेश सांसद जंगिलाल रायको प्रमुख आतिथ्य रहेको थियो । संस्थाका मुख्य प्रबन्धक एवं कार्यक्रम संयोजक सतिश चन्द्र बर्माले स्वागत मन्तव्य राखेको कार्यक्रममा विशिष्ट अतिथि कबिलासी नगरपालिका नगरप्रमुख ब्रम्हदेव राय,पुर्व जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख मेथुर चौधरी ,नेता रामबली राय,डिभिजन सहकारीका भुतपुर्व प्रबन्धक सुरेन्द्र लाल कर्ण,संस्थाकी लेखा संयोजक रम्भादेवी झा,संस्थाका संस्थापक पुर्व मुख्य प्रबन्धक दिनेश यादव,मलंगवा जेसिज २०२४ का अध्यक्ष दिलिप कुमार झा,संचालक समितिका सदस्यहरु,कर्मचारीहरु,बचतकर्ता,श्रृणी तथा पत्रकारहरु लगायतको उपस्थिति रहेको थियो।

    ३७ जना सेयर सदस्यबाट सुरु गरी  आ.व २०७९-०८० सम्ममा ८११ जना शेयर सदस्य पुर्याएको  संस्थाको शेयरपुँजी ८४  लाख ६९ हजार २ सय ९९  रुपैयाँ रहेको संस्थाका अध्यक्ष रायले प्रस्तुत गरेको प्रतिबेदनमा उल्लेख गरिएको छ।अध्यक्षको प्रतिवेदन अनुसार कोभिड ,आर्थिकमन्दी र पछिल्लो समय सहकारीहरु प्रति घटेको जनविश्वासका कारण संस्थाले गत आ.व को तुलनामा घटेर यस आ.व मा ८१ हजार ९ सय ९९ रुपैयाँ २८ पैसा आम्दानी गरेको छ।

   सोही कार्यक्रमका बिच संस्थाले आफ्ना असल श्रृणी,असल बचतकर्ता,उत्कृष्ट बजार प्रतिनिधीहरु लाई कदरपत्र र पुरस्कार प्रदान गरेर सम्मानित गरेका थिए।



Wednesday, January 10, 2024

घरेलु कार्यालय सर्लाहीका प्रमुख जितेन्द्र किशोर गुप्ताको ससम्मान विदाइ

 घरेलु कार्यालय सर्लाहीका प्रमुख जितेन्द्र किशोर गुप्ताको ससम्मान विदाइ



लोकतन्त्र समाचारदाता---

सर्लाही,पुस २५

      घरेलु तथा साना उद्योग कार्यालय मलंगवाका प्रमुख जितेन्द्र किशोर गुप्तालाई आज(बुधबार) एक कार्यक्रमबीच सम्मान सहित विदाई गरिएको छ । 

   घरेलु कार्यालयको प्रमुख पदमा रही  सार्वजनिक सेवा प्रवाहमा जनमुखी एवं सुशासनमैत्री सेवा प्रवाह गरी पुर्याउनु भएको योगदानको उच्च कदर गर्दै सामाजिक विकास केन्द्र नेपालले गुप्तालाई मधेश सान र पहिचानको प्रतिकको रुपमा रहेको गमछा ओढाएर कदरपत्र र नगदसहित ससम्मान विदाई गरेको हो।

   सामाजिक विकास केन्द्र नेपालका अध्यक्ष बिरेन्द्र कुमार गुप्ताकोअध्यक्षता एवं जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल किशोर सिंहको प्रमुख आतिथ्यमा सम्पन्न भएको विदाई तथा सम्मान समारोहमा उपस्थित भएका अतिथिहरुले घरेलु प्रमुख गुप्ताको सरल, सहज, प्रभावकारी तथा जनमैत्री सेवाप्रवाहको कार्यकालको प्रशंसा गरेका थिए । 

  विदाई कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिसस प्रमुख सिंहले गुप्ता जस्तो काम प्रतिको लगनशील कर्मचारी छुट्टिदाँ  कमि महसुस हुन थालेको बताए । 

  कार्यक्रममा समाजसेवी एवं व्यापारी संजय गुप्ता"सुगन्ध",सफलता कोंचिङ्गका संचालक सुरेश दास, विभिन्न कार्यालयका कर्मचारी वर्ग, पत्रकार लगायत स्थानीय व्यापारीवर्ग तथा समाजिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।

Tuesday, January 9, 2024

आन्दोलन सक्किन नपाउँदै बरहथवा बजारको एक घरमा चोरी

 आन्दोलन सक्किन नपाउँदै बरहथवा बजारको एक घरमा चोरी



लोकतन्त्र समाचारदाता---

सर्लाही,पुस २४

   सर्लाहीको बरहथवा नगरपालिकामा विगत ४ दिनदेखि चल्दै आएको आन्दोलन सक्किन नपाउँदै बरहथवा बजारको एक घरमा सोमबार राती चोरी भएको छ। बरहथवा न.पा वडा न-७ स्थित स्थानीय  मुकेश श्रेष्ठको घरमा चोरी भएको हो ।

     अज्ञात चोरले श्रेष्ठको घरबाट गरगहनादेखि लत्ताकपडासम्म चोरी गरेको स्थानीयहरुले बताएका छन् । घरका मानिसहरु उपचारका लागि  काठमाडौ गएको मौका छोपेर ढोकामा लगाइएको ताल्चा फुटाएर चोर घरमा प्रवेश गरेको पाइएको स्थानीयले बताएका छन् ।

   स्थानीयका अनुसार गएको ६ महिनाभित्र सो टोलका ५ भन्दा बढी घरमा चोरी भइसके पनि प्रहरीले एउटा पनि घटनाका दोषीलाई समात्न सकेका छैनन् । घटनाबारे  अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।

लिटिल बुद्धको नामले प्रचारित‘तपस्वी’ रामबहादुर बम्जन पक्राउ

  लिटिल बुद्धको नामले प्रचारित‘तपस्वी’ रामबहादुर बम्जन  पक्राउ



काठमाडौं ,पुस २४

    कुनै बेला लिटिल बुद्धको नामले प्रचारित  ‘तपस्वी’ रामबहादुर बम्जनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बूढानीलकण्ठबाट पक्राउ परेको छ। बम्जन पाँच वर्षदेखि गुमनाम थिए ।

    उनी सम्पर्कविहीन भएपछि उनको खोजीमा सीआईबीको टोली ४ असार २०७७ मा तालिम प्राप्त कुकुरसहित सिन्धुलीको आश्रम पुग्दा  रित्तो हात फर्किनु परेको थियो । बम्जनले सिन्धुलीको कमलामाई नगरपालिका– ८, पैरेनीस्थित २० रोपनीभन्दा बढी क्षेत्रफलभित्र सुविधासम्पन्न आश्रम बनाएका थिए । आश्रमभित्र आफ्ना लागि छुट्टै दरबार समेत निर्माण गरेका थिए ।  बम्जनको आश्रममा छिरेका प्रहरी अधिकारीका अनुसार, उनले आफ्ना लागि आश्रमभित्र स्वीमिङ पूल, जिमखानादेखि अन्य धेरै निजी सुविधा सम्पन्न हल निर्माण गरेका थिए । आश्रमका चारै नाकामा उनले निजी सुरक्षा चेक पोस्टसमेत राखेका थिए । 

    बम्जनमाथि २० साउन २०७३ मा आश्रममा आएका तीन युवतीलाई प्रलोभनमा पारेर यौनशोषण र बलात्कारपछि बेपत्ता गरेको आरोप छ । त्यही आरोपको तीन वर्षपछि सर्लाही प्रहरीमा पीडितका परिवारले किटानी जाहेरी दिएका थिए । जाहेरीपछि पनि पक्राउ नपरेका बम्जनलाई जिल्ला अदालत सर्लाहीले हाजिर हुन भन्दै त्यहीबेला ३५ दिने म्यादसमेत दिएको थियो । तर, म्याद नाघ्दा पनि बम्जन अदालतमा हाजिर भएनन् । 

    सर्लाही जिल्ला अदालतले २०७६ माघमा पहिलो पटक उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । प्रहरीले २१ असार २०७७ मा उनीविरुद्धको अनुसन्धान प्रतिवेदन सर्लाही जिल्ला वकिल कार्यालय हुँदै जिल्ला अदालत टेकाइसकेको छ ।

    प्रहरीले बम्जनका आश्रमहरूबाट यसअघि शब गलाउन प्रयोग गरिएका नुनका ढिकाहरू बरामद गरेको थियो ।  बम्जनमाथि सर्लाही, नुवाकोट र मकवानपुरबाट आश्रम आएका तीन युवतीलाई बलात्कार गरेको आरोप लागेको छ । 


Thursday, January 4, 2024

भारतको अयोध्यास्थित नवनिर्मित श्रीराम मन्दिरको प्राण प्रतिष्ठाका लागि जनकपुरधामबाट ‘कोसेली’ लिएर निस्केको यात्रा सर्लाहीको मलंगवा आइपुग्यो


भारतको अयोध्यास्थित नवनिर्मित  श्रीराम मन्दिरको प्राण प्रतिष्ठाका लागि  जनकपुरधामबाट ‘कोसेली’ लिएर निस्केको यात्रा सर्लाहीको मलंगवा आइपुग्यो

मनोज यादव----

सर्लाही,पुस १९ गते

    भारतको अयोध्यास्थित नवनिर्मित  श्रीराम मन्दिरको प्राण प्रतिष्ठाका लागि  जनकपुरधामबाट ‘कोसेली’ लिएर निस्केको यात्रा सर्लाही जिल्ला आइपुगेको छ।

   मधेश प्रदेशको राजधानी जनकपुरधाम स्थित जानकी मन्दिरबाट बिहीबार बिहान धुमधामका साथ निकालिएको ‘जनकपुरधाम–अयोध्या भार यात्रा’महोत्तरीको जलेश्वर ,सम्सी हुँदै दिउँसो २ बजे सर्लाहीको सदरमुकाम मलंगवामा आइपुगेको हो।

       जानकी मन्दिरका सहायक महन्त रामरोषण दासको नेतृत्वमा बाजागाजा र झाँकीका साथ सयौँ भार लिएर निस्केको   ‘जनकपुरधाम–अयोध्या भार यात्रालाई मलंगवामा भव्य स्वागत गरि यात्रामा सहभागी भएका साधुसन्तसहितका भक्तजनहरुलाई भोजन गराई बिरगंजको लागि बिदाइ गरेको थियो।

   नव निर्मित भगवान श्री राम मन्दिरको प्राण प्रतिष्ठाका लागि  माता सीताको माइतीबाट भार लिएर उहाँको ससुराली घर आयोध्याका लागि निस्केका यात्रालाई स्वागत गर्न पाएको भन्दै स्थानीय भक्तजनहरुले खुशी व्यक्त गरेका थिए। स्थानीयहरु पनि सोही यात्रासँगै नगरको परिक्रमा गरेका थिए।

   माता सीताको ससुराली अर्थात् भगवान श्री रामको दरबारमा पठाइने कोसेलीमा चाँदीको भाडा वर्तन, सुनको गरगहना, चाँदीको तीरधनुष र खराउ, फलफूल, पञ्चमेवा, साडी, धोती, पलङ्ग, टेबुल, कुर्सी, चुल्हा जस्ता सामग्रीहरु रहेका छन् ।

   राम मन्दिरको प्राण प्रतिष्ठा यही जनवरी २२ तारिखमा हुनेछ । मलंगवाबाट प्रास्थान गरेको यात्रा सोही राति बिरगंजमा बास बसी भोली (शुक्रवार)रातिसम्म अयोध्या पुगेर  ६ तारिखको विहान सो कोसेली राम मन्दिर ट्रस्टलाई हस्तान्तरण गर्ने जनाइएको छ।

   राम मन्दिरमा स्थापना गरिने भगवान श्री रामको मूर्तिको जलाभिषेक गर्न मेचीदेखि महाकालीसम्मको जल संकलन गरेर पनि अयोध्या पठाइएको छ।भगवान् रामको मूर्ति बनाउन सालीग्राम पथ्थर पनि नेपालबाटै पठाइएको थियो ।

   त्रेतायुगमा आयोध्याका राजा जनकका पुत्र भगवान श्री राम र मिथिलाका राजा जनककी पुत्री सीता बीच विवाह भएको थियो । त्यसैले माता सीताको जन्मभूमि जनकपुरधामबाट प्राणप्रतिष्ठाका लागि कोसेली पठाइएको छ।

Monday, January 1, 2024

मलंगवा जेसिज २०२४ को अध्यक्षमा दिलिप कुमार झा

 मलंगवा जेसिज २०२४ को अध्यक्षमा दिलिप कुमार झा


लोकतन्त्र समाचारदाता ----

सर्लाही ,पुस १६

    मलंगवा  जेसिज २०२४ को अध्यक्षमा दिलिम कुमार झा  निर्वाचित भएका छन्। शनिवार मलंगवामा सम्पन्न भएको जेसिजको ४४ औं अधिवेशनबाट झा  अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

       वर्ष २०२४ को नेतृत्व चयनका लागि भएको निर्वाचनमा झा सहित कार्यकारी अध्यक्षमा सुजित कुमार कर्ण  र भपेन्द्र यादव निर्वाचित भएका छन् ।यसैगरी अध्यक्षमा रामनाथ गोंसाई ,संजिब राउत,धर्मेन्द्र चौधरी र लक्ष्मण यादव  निर्वाचित भएको जेसिजले जनाएको छ।