Thursday, November 30, 2023

शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल द्वारा मलंगवामा सम्वाद कार्यक्रम सम्पन्न

     

   शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल द्वारा मलंगवामा सम्वाद कार्यक्रम सम्पन्न 



लोकतन्त्र समाचारदाता---

सर्लाही,मंसिर १४

     नि:शुल्क गुणस्तरीय सार्वजनिक शिक्षामा लैंगिक  हिंसाको प्रभाव बिषयक एकदिने सम्वाद कार्यक्रम सर्लाहीको सदरमुकाम मलंगवामा सम्पन्न भएको छ। शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल जिल्ला समिति सर्लाहीको आयोजनामा बिहीबार  जिल्ला समन्वय समितिको हलमा कार्यक्रम सम्पन्न भएको हो।

   कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख कौशल किशोर सिंहले सार्वजनिक सिक्षाको गुणस्तर खस्किंदै गएकोमा चिन्ता व्यक्त गरेका थिए। उनले यसलाई सुधार गर्न स्थानिय पालिकाले नियमित रुपमा अनुगमन गर्नुपर्ने बताए । यस्तै कार्यक्रमका विशिष्ठ अतिथि प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले अधिकांश लैंगिक हिंसाका घटनाहरु  घर ,स्कुल तथा कार्य स्थलमा हुने गरेकोले यसलाई न्युनिकरण गर्न आ-आफ्नो स्तर र ठाउँबाट लाग्न सुझाव दिए।

    अभियानका जिल्ला संयोजक राजेश पासवानको अध्यक्षतामा सम्पन्न भएक कार्यक्रममा नागरिक  समाज सर्लाहीका महासचिव शिवचन्द्र चौधरी ,महिला अधिकारकर्मी ममता साह ,मानव अधिकार कर्मी मुकेश मिश्र , समाजिक  अभियन्ता सुन्दर श्याम यादव ,बिरेन्द्र गुप्ता ,रन्जना देउवा ,शुसिला ठाकुर ,राम गुलाम मा बि भाँडसरका प्राधानाध्यापक मनोज कुमार कुशवाहा लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो।

   

     

   

Wednesday, November 29, 2023

तलब नपाएको भन्दै चन्द्रनगरका शिक्षक तथा कर्मचारहरु धर्नामा

 तलब नपाएको भन्दै चन्द्रनगरका शिक्षक तथा कर्मचारहरु धर्नामा


मनोज यादव----

सर्लाही,मंसिर १३

       चन्द्रनगर गाउँपालिकाका अन्तर्गतका सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीहरु बिगत चार महिना देखिको तलब नपाएको भन्दै धर्ना दिएका छन् । उनीहरुले गाउँपालिका कार्यालयको मुल गेटमा धर्ना दिएका हुन् । 

   गाउँपालिका भित्रका १२ वटै सामुदायिक विद्यालयका शिक्षक तथा पालिकामा कार्यरत कर्मचारीहरु आर्थिक वर्ष २०८०/०८१ को श्रावण महिनादेखि हालसम्म साथै दशै,तिहार र छठ जस्तो पर्वमा समेत गाउँपालिकाले तलब भत्ता उपलब्ध  गराउन नसकेको तथा विद्यालय संचालनको लागि आवश्यक पर्ने दिवा खाजा लगायतका विभिन्न शिर्षकहरुको रकम निकासा नगराएको र यसका लागि पटकपटक मौखिक छलफल गर्दा पनि हालसम्म कुनै निकासा नगरिएकोले बाध्य भएर धर्मा दिनु परेको नेपाल शिक्षक महासंघ चन्द्रनगर गाउँ समितिका अध्यक्ष सरोज कुमार सिंहले बताए ।

    तलब नपाउँदा घर व्यवहार चलाउन निकै समस्या भइरहेको धर्नामा बसेका शिक्षक तथा कर्मचारीहरुले बताएका छन् । यसबाट शिक्षक,कर्मचारी तथा बालबालिकाहरुमा मनोबैज्ञानिक ,आर्थिक तथा शैक्षिक रुपमा प्रतिकुल असर परिरहेको मासिक रुपमा पाउनुपर्ने तलब भत्ता,दिवा खाजा लगायतका विभिन्न शिर्षकका रकमहरु अविलम्ब निकासा गर्न उनीहरूले जोडदार माग गरेका छन् ।

   शिक्षकहरुको आन्दोलनमा स्थानीय तह तदर्थ समिति चन्द्रनगरले पनि एकबद्धता जनाएका छन् । मंसिर १२ गतेबाट सुरु भएको धर्ना कार्यक्रम समस्याको सामाधान नहुन्जेलसम्म जारी रहने ने.शि.महासंघ चन्द्रनगर गाउँ समितिका अध्यक्ष सिंहले जनाएको छ।







 

Tuesday, November 28, 2023

मधेश प्रदेश अन्तर्गत सर्लाहीको पर्यटकीय तथा धार्मिक नाढीमन तालको अवस्था दयनीय

 मधेश प्रदेश अन्तर्गत सर्लाहीको पर्यटकीय तथा धार्मिक  नाढीमन तालको अवस्था दयनीय  


मनोज यादव---

सर्लाही,मंसिर १२

   मधेश प्रदेश अन्तर्गत सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा न-६ मा रहेको प्रशिद्ध धार्मिक तथा पर्यटकीय स्थल नाढीमन ताल अहिले गौचरनमा परिणत भएको छ । ५२ बिगहामा फैलिएको १२ फिट गहिराइको यो ताल पुरै सुकेर अहिले बालबालिकाहरुको लागि खेल मैदान र बस्तुभाउहरुको लागि चरण स्थल बनेको छ।

    केही महिना अगाडीसम्म नाढी ताल आन्तरिक तथा बाह्य पर्यटकहरुको लागि आकर्षणको केन्द्र रहेको थियो। सिजनमा मात्र नभइ अन्य सिजनमा पनि पिकनिक खाने र घुमफिर गर्नेहरुको घुइँचो लाग्ने गरेको थियो।तर ताल सुकेदेखि पर्यटकहरु आउन छाडेकाले यहाँको व्यापारमा समेत गिरावट आएको छ।  ताल क्षेत्रमा देखिंदै आएका  विभिन्न प्रजातिका जीवजन्तु तथा चराचुरुङ्गीहरु समेत लोप भएका छन् ।

    नाढी ताललाई पर्यटकीय क्षेत्रमा विकास गर्न नेपाली सेनाले २०७२ साल चैत महिनामा ताल क्षेत्रमा  विभिन्न पर्यटकीय संरचनाहरु निर्माण गरी तत्कालीन ताल संरक्षण समितिलाई हस्तान्तरण गरेको थियो । समितिले ताल  क्षेत्र पर्यटकहरुको लागि खुल्ला गरेपछि  डुंगा चढेर तालको सयर गर्न ,अवलोकन गर्न र पिकनिक मनाएर रमाइलो गर्न सर्लाहीसहित महोत्तरी ,धनुषा तथा रौतहट जिल्ला र छिमेकी भारतबाट दैनिक हजारौंको संख्यामा मानिसहरु आउने गरेका थिए।ताल क्षेत्रमा खोलिएका पसल तथा होटलहरुमा ग्राहकहरुको भिड लाग्ने गरेको थियो।तर अहिले सुनसान बनेको छ। घुमफिर गर्ने मानिसहरु त परै जावोस् स्थानीय बासिन्दाहरु समेत आउन छाडेका छन् । अतिक्रमणको चपेटामा परेर तो ताल अहिले  ५२ बिगहाबाट घटेर ३२ मा खुम्चिएको छ ।

    यसअघि तालमा पानी हुँदा नाढीमन क्षेत्र आसपास गाउँका स्थानीय बासिन्दाहरु तालको वरिपरि सयौंको संख्यामा घाटहरु बनाएर छठ पुजा गर्दै आएका थिए। तर यसपटक भने ताल पुरै सुकेकोले कृतिम नहर खनेर छठ पुजा गर्नु परेको स्थानीयहरुले बताएका छन् ।

   चन्द्रनगर गाउँपालिकाका वडा न-३ का वडाअध्यक्ष सिताराम महतोले ताल आफै सुकेको नभइ माछा पालनको लागि ठेक्का लिएको ठेकेदारले सुकाएको बताएका छन् ।ताल सुकेपछि नजिकै रहेको अधवारा खोलामा बाँध बाँधेर तालमा पानी पुर्याउन सकिन्थ्यो तर गाउँपालिका अध्यक्ष राजकुमार महतोको कमि कमजोरी र लापरबाहीका कारण खोलाको पानी तालसम्म नपुर्याइएकोले तालको अवस्था अहिले यस्तो भएको वडाअध्यक्ष महतोले आरोप लगाए।

    लोप हुने अवस्थामा पुगिसकेको नाढी तालाई पुनः पहिलेकै अवस्थामा ल्याउन स्थानीय तहसहित प्रदेश सरकार, पर्यटन मन्त्रालय र पुरातत्व विभागले पहल गर्नुपर्ने स्थानीयहरुको भनाइ छ ।




जनप्रतिनिधिहरु बिचको आन्तरिक द्वन्द्वका कारण चन्द्रनगर गाउँपालिकाले चालू आ.व को वार्षिक बजेट,नीति तथा कार्यक्रम ल्याउन सकेन

 

जनप्रतिनिधिहरु बिचको आन्तरिक द्वन्द्वका कारण चन्द्रनगर गाउँपालिकाले चालू आ.व को वार्षिक बजेट,नीति तथा कार्यक्रम ल्याउन सकेन


मनोज यादव---

सर्लाही,मंसिर १२

   जनप्रतिनिधिहरु बिचको आन्तरिक द्वन्द्वका कारण सर्लाहीको चन्द्रनगर गाउँपालिकाले चालू आर्थिक वर्षको वार्षिक बजेट,नीति तथा कार्यक्रम ल्याउन सकेको छैन । गाउँपालिकाले चालु आर्थिक वर्षको ४ महिना पुरा हुँदा समेत वार्षिक बजेट,नीति तथा कार्यक्रम ल्याउन सकेको छैन् ।गाउँपालिका अध्यक्ष र उपाअध्यक्ष जनप्रतिनिधिहरु बिचको विवादका कारण यस्तो समस्या आएको हो।

   गाउँकार्यापालिकामा १५ जना जनप्रतिनिधिहरु रहेका भएपनि १२ जना जनप्रतिनिधिहरु गाउँपालिका उपा अध्यक्ष गीता देवी महतोको पक्षमा छन् भने  विपक्षमा अध्यक्ष राज कुमार महतो सहित ३ जना जनप्रतिनिधिहरु रहेका छन्। त्यस्तै,३९ जना गाउँ सभा सदस्यहरु मध्य ३० जना गाउँ सभा सदस्यहरु गापा उपा अध्यक्ष गीतादेवीको पक्षमा छन् भने ९ जना गाउँ सभा सदस्यहरु मात्र  गाउँपालिका अध्यक्ष महतोको पक्षमा रहेका छन् ।

    उपाध्यक्ष गीता देवीले आइतवार पत्रकार सम्मेलन गर्दै अल्पमतमा रहेको अध्यक्ष महतोले बहुमतलाई वेवास्था गर्दै आफुखुसी निर्णयहरु गर्दै भ्रष्टाचार गर्ने र आफुखुसी निर्णय गर्न नपाए कार्यक्रमहरु गर्न नदिने र त्यसको आरोप आफु उपर लगाउने गरेको बताएकी छिन्। चन्द्रनगर गाउँपालिका वडा न-३ का वडा अध्यक्ष सिताराम महतोले आफुहरु रहरले नभई बाध्य भएर अध्यक्ष महतोको विपक्षमा बोल्नु परेको बताए ।

चालु आर्थिक वर्षको वार्षिक बजेट,नीति तथा कार्यक्रमहरु असार १० गते नै गाउँसभा गरेर ल्याउनुपर्नेमा अध्यक्ष महतोले गाउँपालिकालाई कब्जा गरी आफ्नो स्वार्थ शिद्ध नहुँदा सम्म गाउँ सभा हुन नदिएको  उपा अध्यक्ष गीतादेवीले पत्रकारहरुलाई बताईन् । उनका अनुसार गाउँपालिका अध्यक्ष महतोले आफुहरु बहुमतमा रहेको भएपनि कुनै सल्लाह नगरी आफुखुुसी काम गर्ने गरेका कारण विरोध गर्नु परेको हो ।

गाउँ सभा नहुँदा गाउँपालिकाका सबै कर्माचारीहरु एवम शिक्षकहरुले तलब भत्ता खान नपाएका,सामाजिक सुरक्षा भत्ता लिन नपाएका,उपभोक्ताहरुको करिब ६ करोड भुक्तानी गर्न बाँकी रहेको साथै गाउँपालिकाको सबै विकास निर्माणका कामहरु ठप्प भएको अवस्थामा आफुहरुले पटक पटक गाउँ सभा गर्न आग्रह गरेको भएपनि गाउँपालिका अध्यक्ष महतोले अनाकानी गरि रहेको उपा अध्यक्ष महतोले बताईन्।

गाउँ सभा गर्न बहुमत जनप्रतिनिधिहरुले ४ पटक निवेदन दर्ता गराएको भएपनि अध्यक्ष महतोले गाउँपालिकालाई बन्धी बनाएको उपाध्यक्ष गीता देवीको आरोप छ।  आर्थिक वर्ष २०७९/०८० को हिसाब माग्दा असार २७ गते दिने बताएका गाउँपालिका अध्यक्ष महतोले हाल सम्म पनि हर हिसाब नदिएको वडा न-३ का वडाअध्यक्ष महतोले बताए । विकास निर्माणको कामको कार्यादेश  प्रमुख प्रशासकीय अधिकृतले दिनु पर्ने प्रावधान भएपनि गाउँपालिका अध्यक्ष महतोले सो अधिकार आफैले प्रयोग गरेको उनले बताए ।

   गापाअध्यक्ष महतोले आर्थिक वर्ष २०७९/०८० को वार्षिक बजेटमा कुन योजनाका लागि कति रकम छ ?भन्ने कुरा गाउँपालिका उपाअध्यक्ष गीतादेवी सहित कुनैपनि वडा अध्यक्षहरुलाई जानकारी नै नगराई आफुखुसी गरेको,आर्थिक वर्ष २०७९/०८० को गाउँपालिकाको वार्षिक बजेट,नीति तथा योजना समेटिएको पुस्तक हाल सम्म पनि प्रकाशन नगरिएको,वडा अध्यक्षहरुको अधिकार हनन् गर्न लागि परेका,संघिय कानुनसंग बाँझिने गरी ऐन नियमावाली कार्यविधि तथा संघिय सरकारले विकास निर्माणको काम गर्दा गाउँपालिका अध्यक्ष महतोसंग पुर्व स्विकृत लिनु पर्ने बाध्यकारी कानुन बनाएको,गाउँपालिकामा स्थायी कर्माचारीहरु हुँदा हुँदै आसेपासेलाई पोस्न करारका कर्माचारीलाई योजना शाखाको जिम्मा दिएको,आफ्नो स्वमीत्वमा राखेको रकम कुन कुन शिर्षकमा खर्च गरे भन्ने हर हिसाब देखाउन नसकेको उपाध्यक्ष गीता देवीले पत्रकार सम्मेलन मार्फत जानकारी गराएकी छिन् ।

    गाउँपालिकालाई गैर सरकारीकरण गर्न लागेका गाउँपालिका अध्यक्ष महतोले ८ करोड भन्दा बढी बजेट कुनुकुन काममा खर्च गरे,जनतासंग कुरा नामक कार्यक्रममा ७ लाख,धामी सम्मेलनमा १० लाख,सोहजन वितरणमा २२ लाख,पत्रपत्रिका खर्च ५७ लाख तथा १ वर्षमा ४ सय ७२ वटा कार्यक्रमहरु सञ्चालन गरेको भन्दै रकम सकाउने र भ्रष्टाचार गर्ने काम गरेको र सो रकमको हर हिसाब जनतालाई स्पष्ट रुपमा देखाउन आफुहरुले माग गर्दा आफुले भ्रष्टाचार गरेको फर्दाफाँस हुने भएपछि अध्यक्ष महतो अतालिएको वडा न-३ का वडा अध्यक्ष महतोले बताए ।उनले एक वर्षमा अध्यक्ष महतोले गरेको इन्धन खर्च नै भ्रष्टाचारको प्रमाण रहेको बताएका छन् ।

राष्ट्रिय योजना आयोगबाट आएको रु १ करोड र गाउँपालिकाको विकासको लागि आएको रकमबाट रु २२ लाख गरी गाउँपालिका अध्यक्ष महतोले “सोहजन आन्दोलन”को नाममा १ करोड २२ लाख अनियमितता गर्न खोजेका चन्द्रनगर गाउँपालिका वडा न-७ का वडा अध्यक्ष दिपेन्द्र कुमार चौधरीको भनाई छ ।आफुहरु चन्द्रनगर गाउँपालिकाको विकास गर्न निर्वाचित भएको र सबैको ध्यान तेता तिर जानुको सट्टा गाउँपालिका अध्यक्ष महतोको ध्यान अनियमितता तिर गएका कारण आफुहरुले विरोध गर्नु परेको चन्द्रनगर गाउंपालिका ४ का वडा अध्यक्ष राजिव सिंह दनुवारले बताए ।

Sunday, November 26, 2023

मलंगवामा नवौं उद्योग दिवस मनाइयो

 

मलंगवामा नवौं उद्योग दिवस मनाइयो

५ जना उत्कृष्ट उद्योगी व्यवसायीहरु सम्मानित

लोकतन्त्र समाचारदाता---

सर्लाही,मंसिर १०

     ‘स्वदेशी उत्पादन अभियान,उद्यमीको सम्मान ’ भन्ने मुल नाराका साथ घरेलु तथा साना उद्योग कार्यालय सर्लाहीले  नवौं उद्योग दिवस मनाएको छ।कार्यालय प्रमुख जितेन्द्र किशोर गुप्ताको अध्यक्षता तथा उद्योग वाणिज्य संघ मलंगवाका सदस्य नविन कुमार झाको प्रमुख आतिथ्यतामा  मलंगवा नगरपालिका वडा न-८ स्थित कार्यालयको प्राङ्गणमा एक समारोहको आयोजना गरि उद्योग दिवस मनाइएको हो।

    दिवसको अवसरमा जिल्ला भरीबाट छानिएका ५ जना उत्कृष्ट उद्योगी,उद्यमी,व्यवसायी तथा लघु उद्यमीहरुलाई सम्मान गरिएको थियो।उनीहरूलाई कार्यालय प्रमुख गुप्ताले गमछ र टिसर्टका साथ टीका लगाएर सम्मान गरेका थिए।

   आर्थिक वर्ष २०७९/०८० मा यस घरेलु तथा साना उद्योग कार्यालय मलंगवामा सबैभन्दा बढी कृषि तथा बन जन्य उद्योग र सबैभन्दा कम निर्माण सम्बन्धि उद्योग दर्ता भएका छन।  कृषि तथा बन जन्य उद्योग ५९१,सेवामूलक २३०,उत्पादन मुलक ९६ र निर्माण सम्बन्धि ३ वटा गरि जम्मा ९२० वटा उद्योग व्यवसाय दर्ता भएको प्रमुख  गुप्ताले जनाएको छ।


Saturday, November 25, 2023

नगरपालिका स्तरीय बालश्रम शोषण तथा मानव बेचबिखन समितिको बैठक सम्पन्न

 नगरपालिका स्तरीय बालश्रम शोषण तथा मानव बेचबिखन समितिको बैठक सम्पन्न 



लोकतन्त्र समाचारदाता---

सर्लाही,मंसिर ९

नगरपालिका स्तरीय बालश्रम शोषण तथा मानव बेचबिखन समितिको बैठक मलंगवामा सम्पन्न भएको छ।युनिसेफको सहयोग तथा एटविन र संरक्षण नेपालको सहकार्य तथा मलंगवा नगरपालिकासँगको समन्वयमा बालश्रम शोषण रोकथाम स्थागमन तथा मानव बेचबिखन बिरुद्ध क्षमता तथा निगरानी सुदिक्क्षण परियोजना अन्तरगत नगरपालिका स्तरीय रोकथाम समितिको बैठक सम्पन्न भएको हो।

     नगर उपप्रमुख सकुन्तला देवी साहको अध्यक्षतामा शुक्रवार सम्पन्न भएको उक्त बैठकमा रोकथाम समितिका सदस्यहरु बिचको छलफलबाट साना ठूला सबैखाले सार्वजनिक सवारीसाधनमा सन्देशमुलक स्टिकर टाँस्ने ,बालश्रमिकको पहिचानका लागि बजार अनुगमन गर्ने र नगरभित्रका विद्यालयमा गएर बालश्रम तथा मानव बेचबिखनको विषयमा  विद्यार्थीहरुलाई जानकारी गराउने निर्णय गरिएको छ।

     कार्यक्रममा चन्द्र किशोर साह,शिवचन्द्र चौधरी ,नगीना राय,माइती नेपालका प्रतिनिधि ,गोरखकाली प्रहरी चौकी मलंगवाका प्रमुख बिनोद ब.थापा,विष्णुकान्त साह,रामनाथ ठाकुर लगायत समितिका सदस्यहरुको उपस्थिति रहेको थियो।

रास्वपा का राष्ट्रिय अध्यक्ष रवि लामिछाने मलंगवा आउँदै

 


रास्वपा का राष्ट्रिय अध्यक्ष रवि लामिछाने मलंगवा आउँदै



लोकतन्त्र समाचारदाता---

सर्लाही,मंसिर ९

    राष्ट्रिय स्वतन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष सभापति रबि लामिछाने सर्लाहीको सदरमुकाम मलंगवा आउने भएका छन् ।

    लामिछाने आज(शनिवार) मंसिर ९ गते साँझ ६ बजे मलंगवा स्थित महेन्द्र होटलमा पत्रकार सम्मेलन गर्ने पार्टीले जनाएको छ । सोही कार्यक्रममा सहभागिताकालागि जिल्लाभरीका  पत्रकारहरुलाई पार्टीले बोलाएका छन्  छ ।


Friday, November 24, 2023

गरिमा विकास बैंकले मनायो १७औं वार्षिकोत्सव ,मावि औरहीका विद्यार्थीहरुलाई स्कुल बैग वितरण

 


गरिमा विकास बैंकले मनायो १७औं वार्षिकोत्सव ,मावि औरहीका विद्यार्थीहरुलाई स्कुल बैग वितरण 



लोकतन्त्र समाचारदाता---

सर्लाही,मंसिर ८

   गरिमा विकास बैंक १७ औं वर्षमा प्रवेश गरेको अवसर पारेर सो बैंकको मलंगवा स्थित शाखाले  विद्यार्थीहरुलाई स्कुल ब्याग वितरण गरेको छ । 

   बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत बिहिवार  एक कार्यक्रमको आयोजना गरि सर्लाहीको चक्रघट्टा गाउँपालिका वडा न-८ औरहीमा रहेको श्री जनता माध्यमिक विद्यालयको बाल विकास कक्षा र कक्षा १ मा अध्यनरत ८४ जना विद्यार्थीहरुलाई स्कुल ब्याग वितरण गरेको हो।

बैंकले नेपालको विभिन्न सहरी तथा ग्रामिण जिल्लामा आफ्नो शाखा कार्यालय, एक्स्टेन्सन काउन्टर र एटीएमबाट बैंकिङ कारोबार गर्दै आएको मलंगवा शाखाका शाखा प्रमुख राम एकवाल साहले जनाएको छ।

   यस अधि सर्लाहीको सदरमुकाम मलंगवामा रहेको सहारा विकास बैंक गरिमा विकास बैंकसँग मर्ज भइसकेको छ।सोही साविक सहारा विकास बैंकका अध्यक्ष संजय गुप्ताको अध्यक्षता तथा जनता मावि औरहीका प्राधानाध्यापक लक्ष्मी कान्त यादवको प्रमुख आतिथ्यता र गरिमा विकास बैंकको मधेस प्रदेश प्रमुख नवीन प्याकरेलको विशिष्ठ आतिथ्यतामा भएको ब्याग वितरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य राधाकृष्ण राय,गरिमा बैकको लालबन्दी शाखाका प्रमुख कृष्णप्रसाद चापागाईं,प्रावि औरहीका प्रअ राम कैलाश राउत,स्थानीय समाजसेवी रामआश्रे राय,बैंकका सेयर सदस्यहरु प्रेम प्रसाद गुप्ता ,तपेश्वर चौधरी ,बैंकका कर्मचारीहरु लगायत विद्यालयका शिक्षक ,शिक्षिका तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो।


Thursday, November 23, 2023

नेपालमा पाइने जडिबुटीबाट आयुर्वेदिक औषधि बनाएर अन्य देशहरुमा निर्यात गर्न सकिने अन्तर्राष्ट्रिय आयुर्वेद विज्ञहरुको सुझाव

 नेपालमा पाइने जडिबुटीबाट आयुर्वेदिक औषधि बनाएर अन्य देशहरुमा निर्यात गर्न सकिने 

अन्तर्राष्ट्रिय आयुर्वेद विज्ञहरुको सुझाव 


मनोज यादव---

सर्लाही,मंसिर ७   

     मधेस प्रदेशको राजधानी जनकपुरधाममा ग्लोबल आयुर्वेदको विषयमा सम्पन्न भएको तीन दिवसीय अन्तर्राष्ट्रिय सम्मेलनको विषयमा जानकारी गराउन सर्लाहीको सदरमुकाम मलंगवामा पत्रकार सम्मेलन सम्पन्न भएको छ। ब्रम्हभूमी अस्पताल मलंगवाका डा.राकेश कुमार सिंहले पत्रकार सम्मेलन मार्फत धनुषाको जनकपुरधाम स्थित महेन्द्र नारायण निधी मिथिला संस्कृति केन्द्रमा गत कात्तिक २२ गतेदेखि कात्तिक २४ गतेसम्म संचालन भएको अन्तर्राष्ट्रिय सम्मेलनमा आयुर्वेद सम्बन्धि  भएका कुराहरुको विषयमा जानकारी गराएका थिए।

    उक्त सम्मेलनमा नेपालसहित भारत,बंगलादेश ,श्रीलंका ,मरिसस, जापान र युरोप आदी  देशबाट करिब ९ सयभन्दा बढी बिज्ञहरु भाग लिएका थिए।ती सबै बिज्ञहरु बिचको छलफलबाट नेपालको भौगोलिक बनोट र खनिजहरुको उपलब्धताले नेपाललाई आयुर्वेदको बिकासको क्षेत्र बनाउन सकिने निस्कर्ष निकालेको र सोही अनुसार नेपालम पाइने खनिज तथा जडिबुटीबाट आयुर्वेदिक औषधि बनाएर अन्य देशहरुमा निर्यात गर्न सकिने सुझाव आएको कार्यक्रमका संयोजक  डा.सिंले पत्रकारहरुलाई जानकारी गराएका थिए।

      नेपाल एउटा आर्थिक रुपले कमजोर देश भएको र यहाँका अधिकांश नागरिकहरु गरिबीको रेखा मुनि पर्ने गरेकाले ब्रम्हभुमी अस्पतालमा उपचारका लागि आउने बिरामीहरुलाई नेपाल सरकारले निर्धारण गरिदिएको ओपिडी शुल्क जनकपुरधाममा भएको सम्मेलनबाट फर्किएदेखि लिन छोडेको  डा.सिहले सोही कार्यक्रम मार्फत जानकारी गराएका थिए।साथै उनले जिल्लाका सम्पूर्ण पत्रकारहरुको नि:शुल्क रुपमा होल बडी जाँच समेत गरिदिने घोषणा गरेका थिए।

   मलंगवा नगरपालिका वडा न-३ स्थित महेन्द्र होटलको सभा हलमा सम्पन्न भएको कार्यक्रममा राष्ट्रिय तथा स्थानीय संचार गृहमा कार्यरत करिब दुई दर्जन भन्दा बढी पत्रकारहरुको उपस्थिति रहेको थियो।

Sunday, November 19, 2023

छठको तेश्रो दिन सर्लाहीका छठी घाटहरुमा अस्ताउँदो सूर्यलाई अर्घ दिइयो

 छठको तेश्रो दिन सर्लाहीका छठी घाटहरुमा अस्ताउँदो सूर्यलाई अर्घ दिइयो

      

मनोज यादव----

सर्लाही,मंसिर ३ 

     छठ पर्वको तेस्रो दिन आइतवार अस्ताउँदो सूर्यलाई अर्घ दिइएको छ । सर्लाहीको सदरमुकाम मलंगवासहित जिल्लाका विभिन्न स्थानका नदी, पोखरी तथा तलाउहरूको छठ घाटहरूमा अस्ताउँदो सूर्यलाई अर्घ दिइएको हो ।

    सदरमुकाम मलंगवास्थित जनसागर पोखरी,शिवसागर पोखरी,झण्डा बजार पोखरी, मुसैली पोखरी, गम्हरिया पोखरी तथा  सर्लाही भएर बग्ने झिम नदी, लखनदेही नदी र बागमती नदी लगायत

 दर्जनौं पोखरी तथा तलाउका घाटहरू छठ पूजाका लागि सम्बन्धित ठाउँका स्थानीय बासिन्दा र युवा क्लवहरुले टेन्ट र पण्डाल लगाएर सजाएका छन् । सो घाटमा राखिएका प्रसाद सामग्री व्रतालुले षष्ठी देवीलाई अराधना गर्दै अस्ताउँदै गरेको भगवान सूर्यलाई अर्घ दिएका हुन्।

    सोमबार (भोलि) बिहान सप्तमी तिथिका दिन उदाउँदो सूर्यलाई अर्घ दिएर पारणसँगै छठ पूजा सम्पन्न हुनेछ । कात्तिक शूक्ल चतुर्थीदेखि सुरु हुने यो पर्व कार्तिक शूक्ल सप्तमी तिथिका दिन सम्पन्न हुन्छ । यो पर्वमा षष्ठी देवीका साथै सूर्यदेवको उपासना गरिन्छ । 

    यो पर्व गरिब, धनी, दलित एवम् उच–नीचको ख्याल नगरी समाजमा रहेका सबै वर्ग एकसाथ मिलेर मनाउँछने गरेका छन्  । अर्‍घ दिने ब्रतालु ३६ घण्टासम्म पानी पनि नखाई उपवास बस्ने गर्दछन् । छठ पर्वमा सूर्य भगवान अर्थात् दिनानाथलाई अर्घ दिन तयार गरिने परिकारहरू अत्यन्तै नियम निष्ठापूर्वक गर्नुपर्ने भएकाले छठलाई निष्ठा र कठोर पर्वको रूपमासमेत लिइन्छ ।

    नियम निष्ठा पुर्वक छठ पर्व गर्नाले चर्मरोगबाट मुक्ति पाइने, निः सन्तानले सन्तान प्राप्त गर्ने, परिवारमा सुख शान्ति भित्रिने, आपसमा भाइचारा कायम हुने र इच्छाएको मनकामना पूरा हुनेजस्ता जनविश्वास समाजमा चली आएको छ। 

     केही वर्ष अगाडीसम्म तराई मधेशमा मात्र मनाइँदै आएको छठ पर्व पछिल्लो समय राजधानी काठमाडौंसहित देशका मध्यपहाडी जिल्लामा पनि मनाउन थालिएको छ।कतिपय ठाउँमा मुस्लिम समुदायले पनि छठ पूजा गरेको पाइएको छ। कतिपय ठाउँमा घाट स्थलमा मेला समेत लागेको छ।

     




Saturday, November 18, 2023

केन्द्रीय सदस्य डा.गुणेश्वर झा को अगुवाइमा सलेमपुरका १ सय जना बढी ब्यक्तिहरु जनमत पार्टीमा प्रवेश

 




केन्द्रीय सदस्य डा.गुणेश्वर झा को अगुवाइमा सलेमपुरका १ सय जना बढी ब्यक्तिहरु जनमत पार्टीमा प्रवेश


लोकत

न्त्र समाचारदाता----

सर्लाही,मंसिर २

   सर्लाहीको कबिलासी नगरपालिका अन्तर्गत सलेमपुरका एक सय जना  जना बढी ब्यक्तिहरु केन्द्रीय सदस्य डा.गुणेश्वर झा को अगुवाइमा जनमत पार्टीमा प्रवेश गरेका छन् । हिन्दुहरुको महान पर्व छठ पूजाको अवसरमा सलेमपुरमा (आज)शनिवार पार्टीका  केन्द्रीय सदस्य डा.झा को अध्यक्षतामा आयोजना भएको शुभकामना आदानप्रदान  कार्यक्रमका बिच उक्त गाउँका नागरिकहरु जनमत पार्टीमा प्रवेश गरेका हुन ।

  कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य डा.झा ले नवप्रवेशी सदस्यहरुलाई अबिर र माला लगाएर पार्टीमा स्वागत गरेका थिए ।

    छठको शुभकामना दिंदै डा.झा ले यसैगरी जनताको साथ र समर्थन पाए सर्लाहीका जनताहरुको  सुख सुबिधा र जिल्लाको बिकासमा हरपल हरक्षण तत्पर भएर लाग्ने बताउनुभयो ।सर्लाहीका अधिकांश जनताहरु गरिबीको रेखामुनि रहेकाले सिपमुलक तालिम र रोजगारको व्यवस्था गर्ने डा.झा ले प्रतिबद्धता व्यक्त गर्नुभयो ।साथै उहाँले मुख्य केन्द्रबिन्दु कृषिमा पनि विशेष रुपमा ध्यान दिने बताउनुभयो ।

    केन्द्रीय सदस्य डा.झा ले  कार्यक्रममा उपस्थित स्थानीयबासी तथा नवप्रवेसी सदस्यहरुलाई जनमत पार्टीको एजेन्डाहरुको बारेमा समेत जानकारी गराएका थिए।

सर्लाहीमा ईट्टा उद्योग धारासायी बन्दै गएको उद्योगी व्यवसायीहरुको गुनासो

 सर्लाहीमा ईट्टा उद्योग धारासायी बन्दै गएको उद्योगी व्यवसायीहरुको गुनासो 


मनोज यादव---

सर्लाही,मंसिर २

    पछिल्लो समय सर्लाहीको ईट्टा उद्योग धारासायी

बन्दै गएको उद्योगी व्यवसायीहरुले गुनासो गरेका छन् ।कोरोना संक्रमणको बेला भएको लामो लकडाउन,बेमौसमी वर्षा र उद्योग संचालनका लागि  बैंक तथा साहु महाजनबाट श्रृण नपाउँदा ईट्टा उद्योग धारासायी बन्दै गएको उनीहरूले बताएका छन् ।

    सर्लाहीको लालबन्दी नगरपालिका वडा न-१ नवलपुरमा सर्लाही ईट्टा व्यवसायी संघको जिल्ला कार्यालयको उद्घाटन कार्यक्रममा उपस्थित भएका ईट्टा उद्योगीहरुले एउटा ईट्टा उत्पादन गर्न १२ रुपैया खर्च लागेपनि  लागत मुल्यमा ईट्टा बेच्न नपाएको बताएका छन् । 

   सर्लाही जिल्लामा १३० वटा ईट्टा उद्योगहरु घरेलु तथा साना उद्योगमा दर्ता भएका छन् ।जसमध्ये आधा जति उद्योगहरु लकडाउनकै बेला बन्द भइसकेका छन् ।अहिले जिल्लामा ६५ वटाको हाराहारीमा ईट्टा उद्योगहरु मात्र संचालनमा रहेको सर्लाही ईट्टा व्यवसायी संघका अध्यक्ष जगन्नाथ रायले बताएका छन् ।

    संविधान सभाका सदस्य एवं पुर्व राज्यमन्त्री शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यता तथा व्यवसायी संघका अध्यक्ष रायको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा पुर्व संघीय सांसद प्रमोद साह,मधेश प्रदेश सभा सदस्य बेची लुंगेली,नेपाल ईट्टा उद्योग महासंघका प्रथम उपाध्यक्ष एवं धनुषाको नगराईन नगरपालिकाकाका मेयर विनय कुमार यादव,महासंघको मधेश प्रदेश अध्यक्ष बिक्रम साह,ईट्टा व्यवसायी संघका पुर्व जिल्ला अध्यक्ष मेथुर चौधरी ,हरिवन नगरपालिकाका मेयर कमल बुढाथोकी ,विष्णु गाउँपालिकाका अध्यक्ष जवाहरलाल यादव लगायत सर्लाहीसहित महोत्तरी र धनुषा जिल्लाका ईट्टा उद्योगी व्यवसायीहरुको उपस्थिति रहेको थियो। 

Thursday, November 16, 2023

दिपावली सम्पन्न भए लगत्तै तराई मधेशमा छठ पर्वको तयारी सुरु

 दिपावली सम्पन्न भए लगत्तै तराई मधेशमा छठ पर्वको तयारी सुरु


मनोज यादव----

सर्लाही,कात्तिक ३० 

     दीपावली सम्पन्न भएसँगै सर्लाहीलगायत तराई मधेशका जिल्लाहरूमा छठ पर्वको तयारी सुरु भएको छ ।तराई मधेशमा  दीपावली अर्थात् लक्ष्मी पूजा भव्य रूपमा मनाए लगत्तै  छठ पर्वको तयारीमा सर्वसाधारणहरु जुटेका छन् । 

    सहर तथा गाउँका बजारहरुमा छठ पर्वमा प्रयोग हुने माटा तथा बाँसका पूजा सामग्रीहरु बिक्री हुन थालेको छ।पुरुषहरु छठ घाटको सरसफाइ र शृङ्गारको काममा जुटेका छन् भने महिलाहरु प्रसाद पकाउनको लागि आवश्यक पर्ने माटोको चुल्हो बनाउने काममा लागेका छन् । छठ घाटको सरसफाइ र शृङ्गारको काममा सम्बन्धित पालिका र विभिन्न सामाजिक  संस्थाहरू पनि जोडतोडका साथ लागेका छन् ।  

    तिहार र छठ दुवै पर्वले समग्र तराई मधेशको अर्थतन्त्रलाई चलायमान बनाएको छ। । यी दुवै पर्वमा पूजा सामग्री देखि लिएर नयाँ कपडा, जुत्ता, बाँस तथा माटाका सामाग्री र फलफूलको विक्री वितरण तीव्र रूपमा हुने गर्दछ । 



Tuesday, November 14, 2023

नेपाली क्रिकेट टोलीका अलराउण्डर खेलाडी मलंगवाबासी गुल्सन झा लाई नेपाल पत्रकार महासंघ सर्लाही शाखाद्वारा गृह जिल्लामा अभिनन्दन

 नेपाली क्रिकेट टोलीका अलराउण्डर खेलाडी मलंगवाबासी गुल्सन झा लाई नेपाल पत्रकार महासंघ सर्लाही शाखाद्वारा गृह जिल्लामा अभिनन्दन 


मनोज यादव---

सर्लाही,कात्तिक २८

   नेपाली क्रिकेट टोलीका अलराउण्डर युवा खेलाडी गुल्सन झा लाई नेपाल पत्रकार महासंघ सर्लाही शाखाले सोमबार एक समारोहका बिच अभिनन्दन गरेको छ।

   सर्लाहीको चक्रघट्टा गाउँपालिका वडा न-७ सगरदिनामा जन्म भई सदरमुकाम मलंगवा नगरपालिका वडा न-८ मा बस्दै आएका क्रिकेटर झा लाई पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष टंक क्षेत्रीको अध्यक्षतामा आयोजना भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख कौशल किशोर सिंहले कदरपत्रसहित दोसल्ला ओढाएर अभिनन्दन गरेका हुन।

   घरेलु मैदानमा युएई सँग भएको एसिया कप छनोटको प्रतियोगितामा अलराउण्ड प्रदर्शन गरेका गुल्सन नेपाली खेलाडीहरुमाझ उत्कृष्ट घोषित भएका छन्। मिडल ओभरमा कसिलो बलिङ गर्दै विकेट लिने, अनि टिमलाई चाहिएको बेला जुनसुकै पोजिसनमा गएर ब्याटिङ गर्न सक्ने झा नेपाली क्रिकेट टिममा  पर्फेक्ट अलराउण्डरको रुपमा रहेका छन्। १७ वर्षका झा ले पहिलो पटक २०७७ मा भएको मेयर्स कपमा सबैको ध्यान तानेका थिए । नेपाल पुलिस क्लबबाट खेलेका उनले फाइनलमा सशस्त्र प्रहरी विरुद्ध उत्कृष्ट  बलिङ गर्दै नेपालका तत्कालीन प्रशिक्षकको ध्यान आफूतिर तानेका थिए ।

     उनी राष्ट्रिय टिममा परेपछि नेपाली टोलीले पछिल्लो एक वर्षमा पाएको अभूतपूर्व सफलतामा अभिन्न अंग बनेका छन् । लिग टुमा पछिल्ला १२ मध्ये ११ खेलमा जित तथा  हालै एसिया कपमा भारत र पाकिस्तान जस्ता बलिया टोलीसँग सम्मानजनक प्रदर्शनमा उनले राम्रो प्रदर्शन गरेर सबैको ध्यान आफु तिर तानेका छन् । गत असारमा जिम्बाव्वेमा भएको एकदिवसीय विश्वकप छनोटमा ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गर्दै गुल्सनले ५० ओभरको खेलमा अलराउण्डरको संकेत देखाइसकेका झा ले अहिले टी–२० विश्वकप छनोटमा पनि उस्तै खालको प्रदर्शन गरेका थिए ।

     अलराउण्डर क्रिकेटर झा ले आफ्नो खेल कौशल द्वारा सर्लाही जिल्लाको नाम नेपालमा मात्र नभइ  विश्वभरी चिनाउन सफल भएकोमा उनलाई थप हौसला प्रदान गर्न सम्मान स्वरुप अभिनन्दन गरिएको महासंघ सर्लाहीका अध्यक्ष क्षेत्रीले बताए ।

  जिल्ला समन्वय समितिको सभाहलमा आयोजना भएको उक्त कार्यक्रममा विशिष्ठ अतिथि प्रमुख जिल्ला अधिकारी कमल प्रसाद धमला,चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतो ,नागरिक समाजका अगुवा,पत्रकार महासंघ सर्लाही शाखाका पदाधिकारी लगायत संचारकर्मीहरुको उपस्थिति रहेको थियो।




Friday, November 10, 2023

दलितको शैक्षिक सवालमा सरोकारवालाहरु सँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

 दलितको शैक्षिक सवालमा सरोकारवालाहरु सँग अन्तरक्रिया कार्यक्रम  सम्पन्न 



लोकतन्त्र समाचारदाता---

सर्लाही,कात्तिक २४

    दलितको शैक्षिक सवालमा  सरोकारवालाहरु सँग नीतिगत पैरवी र पहुँच सम्बन्धि एकदिने अन्तरक्रिया कार्यक्रम सर्लाहीको मलंगवामा सम्पन्न भएको छ ।शुक्रवार सम्पन्न भएको कार्यक्रममा  सेभ द चिल्ड्रेनको सहयोग तथा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको संयुक्त साझेदारीमा संचालित नेपाल छात्रवृत्ति कार्यक्रम अन्तर्गत दलित विद्यार्थीहरुलाई प्रदान गरिने छात्रवृत्ति ,बीचमै पढाइ छाड्ने प्रवृत्ति ,विद्यालयमा दिइने दिवा खाजा र विद्यालयमा दलित विद्यार्थीहरु माथि हुने विभेद लगायतका विषयहरुमा सरोकारवालाहरु सँग अन्तरक्रिया गरिएको हो ।

  नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ मलंगवा सर्लाहीका अध्यक्ष राजेश पासवानको अध्यक्षता तथा पुर्व राष्ट्रिय सभा सदस्य रामपृत पासवानको प्रमुख आतिथ्यतामा मलंगवा स्थित जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न भएको कार्यक्रममा सहभागी भएका मधेस प्रदेश सभा सदस्य श्यामपरी देवी राम,सकुन्ती देवी महरा,जिल्ला समन्वय समिति प्रमुख कौशल किशोर सिंह, कबिलासी नगरपालिकाकी उपमेयर पुनम कर्ण ,नेपाल उत्पिडित जातिय मुक्ति समाजका केन्द्रीय सदस्य गोविन्द पासवान ,राष्ट्रिय दलित आयोगका पुर्व सदस्य राम लखन दास,मलंगवा नगरपालिकाका राम पुकार यादव,RRPK का ईन्द्र कुमार साह,ओरेल नेपालका ममता साह,बाल कल्याण समाजका अध्यक्ष सुन्दर श्याम रायलगायतका अतिथिहरुले दलितको शैक्षिक सवालमा आआफ्नो धारणा राख्दै सुझाव दिएका थिए। 

   कार्यक्रमको संचालन संस्थाका  जिल्ला  कार्यक्रम अधिकृत गोविन्द  पासवानले गरेका थिए।


मलंगवाबाट अवैध चाँदीका गरगहना सहित एक भारतीय युवक पक्राउ

 मलंगवाबाट अवैध चाँदीका गरगहना सहित एक भारतीय युवक पक्राउ



लोकतन्त्र समाचारदाता---

सर्लाही,कात्तिक २४

     सर्लाही  प्रहरीले मलंगवा नगरपालिका वडा न-९ स्थित टावर चौक सडक खण्डबाट १ किलो ९ सय ५० ग्राम अबैध चाँदीको गरगहना सहित एक जना भारतीय युवकलाई पक्राउ गरेको छ । 

   बिहीबार बिहान ७ बजेको समयमा टावर चौक स्थित सडक खण्डमा भारतको सोनवर्षाबाट साइकलमा सवार भएर मलंगवा तर्फ आउँदै गरेको सोनवर्षा थाना ग्राम पञ्चाय बसतपुर-७ वस्ने राजन दासको छोरा वर्ष १९ को लभ कुमार दासलाई शंका लागेर चेकजाँच गर्दा निजको सो मात्र बराबरको विभिन्न चाँदीको गरगहनाहरु बरामद भएको प्रहरीले बताएको छ।

   दासलाई जिल्ला प्रहरी कार्यालय मलंगवाको हिरासतमा राखेर अनुसंधान भइरहेको प्रहरीले जनाएको छ।


Thursday, November 9, 2023

सिरक डसना बनाउन मेसिन लिएर गाउँ गाउँ डुल्दै भारतीय धुनिया

 


सिरक डसना बनाउन मेसिन लिएर गाउँ गाउँ डुल्दै भारतीय धुनिया



मनोज यादव----

सर्लाही,कात्तिक २३

     हिउँद सुरु भएसँगै सर्लाहीका गाउँ गाउँमा सिरक,डसना बनाउन भारतीय धुनियाहरू डुल्न थालेका छन् । उनीहरू ४-५ जनाको समूह  बनाएर ट्याक्टरसँग जडान गरिएको सुती कपडालाई रुवा बनाउने मेसिन  लिएर हिड्न थालेका छन।

   भारतको विभिन्न ठाउँबाट आएका धुनियाहरु यतिबेला  जिल्लाको प्रत्येक गाउँको घरघरमा मेसिनसहित पुगिरहेका छन् । मलंगवा बजारमा भेटिएका धुनियाहरुको एक समूहले गएको  एक महिनादेखि मेसिनबाट सुती कपडालाई रुवा बनाएर सिरक डसना बनाउँदै आइरहेको बताएका छन् । ट्याक्टरमा सुतीका थोत्रा कपडा मिक्सिङ(फिटेर) गरेर रुवा बनाउने मेसिन लिएर हिडेको उनीहरूले टिमले दैनिक १५ हजार बढि कमाइ गर्दै आएको बताउँछन् । उनीहरू भारतबाटै सिरक,डसना , सिरानीका पल्ला र खोल समेत लिएर आउने गरेको बताएका छन् । सिलाइकोलागि चाहिने सियो धागो पनि उतैबाट ल्याउने गरेको उनीहरूले बताएका छन् ।

   सुतीका साडी, सिरकका खोल तथा सुतीका सबैखाले पुराना कपडा मिसिनमा हालेपछि रुवा भएर निस्कन्छ। त्यसैबाट सिरक,डसना र सिरानी बनाइन्छ । प्रत्येक घरमा वीसौं वर्ष पुराना कपडाहरू त्यतिकै थन्काएर राखिएका हुन्छन् । गाउँमा मेसिन आएपछि प्रत्येक घरले पालो कुरेरै भएपनि सिरक,डसना  बनाउने गरेको मलंगवा -२ की एक गृहणी संझा यादवले बताएकी छिन् । 


एनएमबि बैंक र गुप्ता इम्पेक्स बीच सहकार्य

 


एनएमबि बैंक र  गुप्ता इम्पेक्स बीच सहकार्य



लोकतन्त्र समाचारदाता---

सर्लाही,कात्तिक २३

     एनएमबि बैंकले इलेक्ट्रोनिक्स, फर्निचर तथा किचेनका सामाग्रीहरुको खरिदमा छुट प्रदान गर्नेगरी गुप्ता इम्पेक्ससंग सहकार्य गरेको छ । सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिकामा शाखा रहेको उक्त बैंकले मलंगवा-८ स्थित रहेको गुप्ता इम्पेक्स सँग बुधबार सहकार्य गर्दै छुट प्रदान गर्ने सम्झौता गरेको हो।

    यस बैंकका खाताधारी जो कोही ब्यक्तिले उक्त पसलबाट खरिद गरेका इलेक्ट्रोनिक्स,फर्निचर तथा किचेनका सामाग्रीहरुमा एनएमवी बैंकको कार्ड वा eNMB APP मार्फत भुक्तानी गर्दा १५.९९ प्रतिशत छुट पाउन सकिने बैंकका मलंगवा शाखा प्रबन्धक दिलिप।कुमार श्रेष्ठले जनाएको छ।

   एमएमवी बैंक दि फिनान्सियल टाइम्स लण्डनको "द बैंकर" पत्रिका द्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी "बैंक अफ द इयर एसिया"बाट सम्मानित भइसकेको छ।


Monday, November 6, 2023

सिजनमा पनि व्यापार नभएको कवाडी संकलकहरुको गुनासो

 


सिजनमा पनि व्यापार नभएको कवाडी संकलकहरुको गुनासो 


मनोज यादव----

सर्लाही,कात्तिक २०

     दशै सक्किए लगत्तै दिपावली र छठ पर्व आउनै लाग्दा सहर,बजार तथा गाउँगाउँमा कवाडी सामान संकलन गर्ने मानिसहरुको लर्को देखिन थालेका छन्।यतिबेला उनीहरू साइकल र ठेला लिएर टोलटोलमा पुगेर दिपावली पर्वको लागि घरको सफाइ गर्ने क्रममा निस्किएक पुराना कागज ,प्लास्टिक तथा धातुजन्य कवाडी सामानहरु संकलन गरिरहेको भेटिन्छन्।

    सर्लाहीको मलंगवा नगरपालिका क्षेत्रभित्र मात्रै आधा दर्जनभन्दा धेरै कवाडी संकल केन्द्रहरु रहेका छन्। ती सबै केन्द्रमा झण्डै ५ दर्जन नेपाली तथा  भारतीय कवाडी संकलकहरु रहेका छन्। ती मध्ये  भारतीय नागरिकहरुको संख्या बढी रहेका छन् । उनीहरु आफ्नो देश छाडेर नेपालमा पैसा कमाएर घर परिवार चलाइरहेका छन्। तर नेपालीहरु भने वैदेशिक रोजगारीमा जाने सोंच बनाएर बसेका छन् ।

    भारतको सितामढी जिल्ला घर भएका रामजी दास  विगत १० वर्ष भन्दा बढीदेखि मलंगवामा पुराना कागज,प्लास्टिक  तथा धातुजन्य कवाडी सामान संकलन गरिरहेका छन्। उनी अन्य दिनको भन्दा दिपावलीको समयमा बढी आम्दानी हुने गरेको बाउँछन्। तर गएको वर्षदेखि कवाडको व्यापारमा एकाएक गिरावट आएको छ। पहिला कवाडी संकलन गर्ने मानिसहरुको संख्या  कम हुँदा पुराना सामाग्रीहरु पनि अधिक मात्रामा संकलन हुन्थ्यो । तर पछिल्लो समय कमाई राम्रो भइरहेको देखेर युवाहरु पनि यस व्यवसायमा संलग्न भएपछि कवाड संकलकहरुको संख्या बढेर पुराना सामानहरु कम पाउन थालेपछि कमाईमा लगभग आधा जति गिरावट आएको दासले बताए ।

    मानिसहरु प्रायःजसो वर्षको एकपटक दिपावलीको समयमा आ-आफ्नो घरको पुर्ण रुपमा सरसफाइ गर्ने गरेकाले अघिपछि भन्दा यसै समयमा धेरै काम नलाग्ने कवाडी सामानहरु संकलन हुने गरेको कवाडी संकलकहरु बताउँछन् । 

     अन्य दिनको भन्दा दिपावलीमा घर सफा गर्दा काम नलाग्ने सामानहरु बढी मात्रामा निस्कने गरेकाले अहिले निस्किएका सामान र वर्ष दिनको अवधिमा जम्मा गरेर राखिएका सामानहरु सँग एकैसाथ बिक्री गर्दा बढी पैसा पाउने भएकोले मानिसहरु प्रायःजसो दिपावलीको समयमा कवाडी सामानहरु बिक्री गर्ने गरेका छन् ।जसले गर्दा कवाडी संकलकहरु दिपावलीको समयमा बढी कमाई हुने गरेको छ। अन्य दिनको तुलनामा चाडवाडको बेला फोहोरबाट मोहोर कमाउन थुप्रै  कवाडीवालाहरु सामान संकलन गरिरहेका भेटिन्छन्। 

   तर उता भने कवाडी संकलन केन्द्रका साहुको भने बेग्लै दुखेसो छ। कवाडी संकलन गर्नेहरुको कमाइ राम्रो भएपनि संकलन केन्द्रका साहुहरु भने सरकारलाई बुझाउनुपर्ने विभिन्न किसिमको राजश्व र गोदाममा जम्मा गरेर राखिएका सामनहरुको चोरीका कारण घाटा भइरहेको गुनासो गरेका छन् ।

   कवाडीहरु फलाम प्रतिकिलो  ५० रुपैया ,प्लास्टिक प्रतिकिलो २० रुपैया , कागज प्रतिकिलो १५ देखि २० रुपैया र सिसाको बोतल प्रति गोटा १ देखि डेढ  रुपैयाँमा खरिद गरेर संकलन केन्द्रलाई  प्रतिकिलो ५ वा सो भन्दा बढी  रुपैयाँमा बिक्री गर्ने गरेका छन् । 

   कवाडीहरुका अनुसार बिहानैदेखि राम्ररी साइकलमा घुम्दा दैनिक ६ देखि ८ सय रुपैयाँसम्म आम्दानी हुने गरेको छ।  घरपरिवार राम्ररी नै चलेकोले यस पेसाबाट सन्तुष्ट रहेको उनीहरू बताउँछन्। 

    गाउँ-गाउँबाट कवाडीहरु मार्फत संकलन केन्द्रमा जम्मा गरिएका पुराना सामाग्रीहरु संकलन केन्द्रले सम्बन्धित  उद्योगमा पठाएर प्रशोधन गरी पुनः प्रयोगमा ल्याइन्छ।



विभिन्न पार्टी परित्याग गरि सयौं जनाले गरे जनमत पार्टीमा प्रवेश

 

विभिन्न पार्टी परित्याग गरि सयौं जनाले गरे जनमत पार्टीमा प्रवेश

मनोज यादव----

सर्लाही,कात्तिक २०

     सर्लाहीमा विभिन्न पार्टी परित्याग गर्दै सयौंको संख्यामा नेता कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका छन् ।यसै अवसरमा मलंगवा निवासी समाजसेवी डा.गुणेश्वर झा पनि पार्टी प्रवेश गर्दै आफ्नो राजनीतिक यात्रा सुरु गरेका छन् ।डा.झा लाई पार्टीका राष्ट्रिय अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि डा.चन्द्रकान्त राउत (सिके राउत)ले फुलमाला र अवीर लगाएर पार्टीमा स्वागत गरेका हुन्।  

    सोमबार जनमत पार्टी कबिलासी नगर समितिले कबिलासी नगरपालिकाको वडा न- ८ कबिलासीमा आयोजना गरेको वृहत् पार्टी प्रवेश तथा आमसभामा  विभिन्न पार्टी परित्याग गरि  ३ सय भन्दा बढि नेता कार्यकर्ताहरुले जनमत पार्टीमा प्रवेश गरेका छन् ।नवप्रवेश नेता कार्यकर्ताहरुलाई राष्ट्रिय अध्यक्ष डा.सीके राउतले फुलमाला र अविरको टीका लगाएर पार्टीमा स्वागत गर्दै  पार्टीको सदस्यता प्रदान गरेका थिए।

     कार्यक्रमलाई सम्बोधन गर्दै डा.राउतले आम नागरिकको समस्या प्रति  आवाज उठाउँदै आएको जनमत पार्टी माथि सबै तहबाट अवरोध उत्पन्न गराउन खोजिएको आरोप लगाएका छन्।उनले जनताको हकहितको लागि सडकबाट सुरु गरेको संघर्ष समाप्त नभएकोले आम नागरिकको समस्या समाप्त नभएसम्म यसलाई जारी राख्ने  बताएका छन् । जनमतले देशमा विद्यमान  शिक्षा,स्वास्थ्य , कृषि ,उद्योग ,रोजगार सुधारका लागि संघर्ष गर्दै आएको डा.राउतले बताएका छन् ।

   पार्टीका सर्लाही जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य  श्रीचन यादवको अध्यक्षतामा भएको कार्यक्रममा  पार्टीका महासचिव तथा मधेस प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री चन्दन सिंहले,  प्रदेश सभा सदस्य हसिना खातुन, पुर्व कृषि राज्यमन्त्री तथा वर्तमान प्रदेश सभा सदस्य संजय यादव, जनमत पार्टीका प्रवक्ता डा.शरद यादव,केन्द्रीय कार्यकारिणी सदस्य संजय कुमार सिंह,केन्द्रीय सदस्य,विभिन्न निर्वाचन क्षेत्रका प्रतिनिधि सभा तथा  प्रदेश सभा सदस्य प्रत्यासीहरु लगायतका अतिथिहरुले सम्बोधन गरेका थिए।

   सोही अवसरमा कार्यक्रमका आयोजक कबिलासी नगर समितिले  एक क्विन्टलको माला पहिर्याएर राष्ट्रिय अध्यक्ष डा.राउतलाई  जिल्लामा स्वागत गरेका थिए।


Friday, November 3, 2023

छोराको जन्मदिनको अवसरमा सेकेन्ड होमका संचालक लामिछाने दम्पतीले वृद्धाश्रममा भोजन गराए

 छोराको जन्मदिनको अवसरमा सेकेन्ड होमका संचालक लामिछाने दम्पतीले वृद्धाश्रममा भोजन गराए

  

लोकतन्त्र समाचारदाता----

सर्लाही,कात्तिक १७

      सर्लाहीको लालबन्दी नगरपालिका वडा न- ५ स्थित रहेको प्राइभेट छात्रावास सेकेन्ड होम होस्टलका संचालक सुवास लामिछाने दम्पतीले आफ्नो छोराको जन्मदिनको अवसरमा जुटपानीस्थित पद्म भुवनेश्वरी नमुना वृद्ध सेवा आश्रममा आश्रित वृद्धवृद्धाहरलाई मिष्टान्न भोजन गराएका छन् । सेकेन्ड होम होस्टलको आयोजनामा इश्वरपुर नगरपालिका वडा न-३ निवासी एवं हाेस्टलका संचालक  सुवास लामिछाने र अञ्जु लामिछानेले छाेरा अंश लामिछानेकाे पहिलो जन्मदिनको अवसरमा हजुरबुबा रामेश्वर प्रसाद लामिछाने तथा  हजुरआमाहरू सीता लामिछाने र मेनुका लामिछाने साथमा एक छाक मिष्ठान भाेजन गराएका हुन्।



    छोराको जन्मदिनमा देखावटी तामझाम गर्नु भन्दा वृद्ध बा आमालाई खाना खुवाउन पाएकोमा ख़ुशी व्यक्त गर्दै  लामिछाने दम्पतीले यसको ब्यावस्थापन मिलाएर सहयोग गरिदिने सविता लामिछाने र सेवा आश्रम प्रति आभार व्यक्त गरेका छन् ।


   जन्मदिन मनाउन कुनै रेष्टुरेन्टमा गएर खर्च गर्नु भन्दा यसरी असहाय आमाबुबा हरूलाई भोजन गराएर मनको आनन्द मिलेको सेकेन्ड होम होस्टलका संचालक एवं अंशका पिता लामिछानेले बताए । 

Thursday, November 2, 2023

सर्लाहीका ईट्टा व्यवसायीहरु द्वारा बैंकलाई कर्जाको किस्ता र व्याज बुझाउने अवधि वृद्धि गर्नुपर्ने माग

 सर्लाहीका ईट्टा व्यवसायीहरु द्वारा बैंकलाई कर्जाको किस्ता र व्याज बुझाउने अवधि वृद्धि गर्नुपर्ने माग



मनोज यादव---

सर्लाही,कात्तिक १६

बैंकको व्याजदरलाई एकल अंकमा राखेर इट्टा उद्योगीहरुले लिइरहेको कर्जाको किस्ता र व्याज बुझाउने अवधि वृद्धि गर्ने व्यवस्था गरिदिनुपर्ने माग राखेर सर्लाही ईट्टा उद्योग व्यवसायी संघले प्रमुख जिल्ला अधिकारी मार्फत अर्थ मन्त्रालयलाई ज्ञापनपत्र बुझाएका छन् ।

  संघका जिल्ला अध्यक्ष जगरनाथ रायको अगुवाइमा  मलंगवा स्थित जिल्ला प्रशासन कार्यालयमा पुगेका ईट्टा उद्योग व्यवसायीहरुले प्रजिअ कोमल प्रसाद धमला मार्फत अर्थ मन्त्रालयलाई ज्ञापनपत्र पठाएका हुन ।

     कोइला खरिद गर्दा अग्रिम रकम पठाउनुपर्ने प्रावधान, मुल्य वृद्धि र न्यून गुणस्तरको कोइलाको आपुर्ति तथा  वित्तीय शंकटका कारण उद्योगीहरुमा नैराश्यता छाएर  उद्योगहरुको संख्यामा ह्रास आएकोले यस्तो विषम परिस्थितिका कारण सृजना भएको आर्थिक शंकटको अवस्थालाई मनन गरि पर्न गएको वित्तीय शंकटलाई सम्बोधनको लागि पहल गरिदिन भन्दै उद्योगीहरुले ज्ञापनपत्र मार्फत अर्थ मन्त्रालयसँग अनुरोध गरेका छन् ।बैंक तथा वित्तीय संस्थाहरु बाट श्रृण लगानी ,पुर्नकर्जा लगानी हुन नसकेकोले उद्योगी व्यवसायी तथा सर्वसाधारणहरुले सहज तरिकाले कर्जा पाउन नसक्दा विगतको कोभिड महामारीको असर तथा रसिया युद्धका कारण वैदेशिक रोजगारीबाट समेत भित्रिनुपर्ने रेमिटान्समा ह्रास आउँदा भौतिक संरचनाको निर्माणको गति पनि प्राय ठप्प हुन गई निर्माण सामाग्रीहरुको माग पनि न्यून अवस्थामा रहेकोले विगत २-३ वर्ष अगाडी उत्पादन गरिएका ईट्टाहरु समेत बिक्री वितरण हुन नसकी उद्योग परिसरमा नै ठूलो परिमाणमा ईट्टाहरु स्टक रहँदा व्यवसायीहरुमा चरम वित्तीय शंकट उत्पन्न भएको छ। अर्को तर्फ निर्माणकार्य गरे बापत समयमा भुक्तानी पनि पाउन सकेको छैन ।नेपाल सरकारले पनि आ.व २०७७/०७८ र ०७८/०७९ मा पुँजीगत शिर्षकमा एकदम न्यून रकम खर्च गरेका कारण भौतिक निर्माणकार्यले गति लिन नसक्दा अपेक्षाकृत रुपमा ईट्टाहरु बिक्री हुन नसकी उद्योगीहरुमा पुँजीको अभाव भई आगामी दिनमा उद्योग संचालन गर्न सक्ने सामर्थ्य नै नरहेको उद्योगीहरु पानी बिनाको माछा झै छट्पटाइरहेको उनीहरूले विज्ञप्ति मार्फत दुखेसो पोखेका छन् ।

    उद्योगीहरु माथि मडारिरहेको आर्थिक शंकटको कालो बादल हटाउन पहल गरि श्रृण उपलब्ध गराउने बैंक तथा वित्तीय संस्थाहरुले उद्योगीहरुले लिएको श्रृणको किस्ता र व्याज बुझाउन ताकेता गर्दा दिएको भाखा भित्र किस्ता र व्याज बुझाउन नसक्दा धितो सुरक्षण बापत बैंक तथा वित्तीय संस्थालाई दिएको जेथाजमानी निलाम बिक्रीको प्रक्रियालाई अगाडि बढाउँदै उद्योगीहरुको उठिबास गराउने काम भइरहेकोले यस शंकटपुर्ण अवस्थाको गम्भीरतालाई हृदयगमन गरि तत्कालको लागि बैंक व्याजदरलाई एकल अंकमा राखि लिएको कर्जाको सावाँ र व्याज को किस्ता बुझाउने अवधि २०८२ साल असाढ मसान्तसम्म कायम गर्ने गरि ईट्टा उद्योगीहरुको निर्विकल्पीय माग कार्यान्वयन गर्न गराउन अनुरोध गर्दै सर्लाहीका ईट्टा उद्योगीहरुले प्रजिअ धमला मामार्फ अर्थ मन्त्रालयमा ज्ञापनपत्र पठाएका छन् ।

   भौतिक संरचनाहरुको निर्माणकार्यका लागि  आवश्यक पर्ने सामाग्रीहरुमा ईट्टा प्रमुख बस्तुमा पर्ने गरेकोले देशभर उत्पादित ईट्टाले यसको माग पुर्ती गर्दै आएको छ। ईट्टा उद्योग सुख्खा याममा संचालन हुने र यसमा गरिबीको रेखामुनि रहेका मानिसहरुलाई रोजगार दिने खुल्ला आकाश मुनि संचालन हुने मौसमी उद्योग भएकोले उद्योग संचालनको क्रममा हुने बेमौसमी वर्षाले ठूलो परिमाणमा काँचो ईट्टाहरु नष्ट भएर लगानी डुब्ने गरेको छ।२०७६ सालको कोभिड १९ को संक्रमणको समयदेखिनै यसको संचालनको अवस्था दयनीय रहेको छ। २०७७ सालमा पनि कोभिड १९ को संक्रमणको अवस्था यथावत जस्तै रहेकोले सो वर्ष पनि पर्याप्त कामदारहरु नआए जिल्लाहरुमा संचालित धेरैजसो उद्योगहरु बन्द नै रहेका थिए। जसले गर्दा ७०-८० प्रतिशत मात्र उद्योगहरु संचालनमा भएका थिए। आर्थिक वर्ष २०७८/०७९ र ०७९/०८० सम्म पनि जिल्लामा रहेका ईट्टा उद्योगहरु मध्ये ५०-६० प्रतिशत मात्र  उद्योगहरु संचालनमा आएका र ती उद्योगहरु पनि २-३ राउन्ड ईट्टा उत्पादन गरि बन्द भएका थिए। 


    

Wednesday, November 1, 2023

नेपाली कांग्रेस सर्लाहीको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम

 


नेपाली कांग्रेस सर्लाहीको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम 


मनोज यादव----

सर्लाही,कात्तिक १५

      आउँदै गरेको दिपावली तथा छठ पर्वको अवसर पारेर नेपाली काँग्रेस प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति सर्लाही क्षेत्र न-२ ले जिल्लाको सदरमुकाम मलंगवामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ ।

     मधेस प्रदेश सभा सदस्य एवं क्षेत्रीय कार्यसमितिका सभापति कौशल किशोर रायको अध्यक्षता तथा पुर्व सांसद एवं पार्टीका पुर्व जिल्ला सभापति लक्षमण रायको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा मलंगवा नगरपालिकाका मेयर नागेन्द्र प्रसाद यादव,कबिलासी न.पा का मेयर ब्रम्हदेव राय,विष्णु गाउँपालिकाका अध्यक्ष जवाहरलाल यादव,पर्सा गा.पा का अध्यक्ष धिरेन्द्र यादव,कौडेना गा.पा का अध्यक्ष रुपेश कुमार यादव,पुर्व सांसद भिखारी मंसुर , पुर्व सांसद ब्रह्म नारायण चौधरी ,विनोद खनाल,सुशील शर्मा लगायतका नेताहरुले शुभकामना मन्तव्य राखेका थिए।

      मलंगवा स्थित महेन्द्र होटलमा आयोजना भएको कार्यक्रममा सर्लाही जिल्लाबाट निर्वाचित स्थानिय तह र वडाका जनप्रतिनिधि, क्षेत्रिय पदाधिकारी तथा सदस्य, प्रदेश सभा क्षेत्रीय कार्य समिति पदाधिकारी तथा सदस्य, पालिका र वडा कार्य समितिका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।

    सोही अवसरमा नेपाली काँग्रेसबाट निर्वाचित भएका सर्लाहीका विभिन्न स्थानीय तहका प्रमुखहरुलाई क्षेत्रीय सभापति रायले दोसल्ला ओढाएर सम्मान गरेका थिए।  

    नेपाली काँग्रेसले बिपी कोइराला वि.सं २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि  वि.सं २०३४ देखि सुरु गरेको चियापान कार्यक्रमलाई वि.सं २०३८ सम्म बिपीले निरन्तरता दिएका थिए । त्यसपछि कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला हुँदै अहिले कांग्रेस सभापति शेरबहादुर देउवाले चियापान कार्यक्रमलाई निरन्तरता दिएको छ।कांग्रेसले बडादसैँ,दिपावली र छठ पर्वको अवसर पारेर हरेक वर्ष चियापान कार्यक्रम आयोजना गर्दै आएको छ ।

   कार्यक्रमको संचालन शिक्षक विरन्ची प्रसाद साहले गरेका थिए।