Friday, September 30, 2022

माण्डवीद्वारा नवनिर्वाचित महिला जनप्रतिनिधिहरुको लागि तेस्रो मोड्युलको ४ दिने प्रारम्भिक प्रशिक्षण सम्पन्न



माण्डवीद्वारा नवनिर्वाचित महिला जनप्रतिनिधिहरुको लागि तेस्रो मोड्युलको ४ दिने प्रारम्भिक प्रशिक्षण सम्पन्न 


मनोज यादव---

सर्लाही,आश्विन १४

   माण्डवीद्वारा सर्लाहीको कबिलासी नगरपालिकाका नवनिर्वाचित महिला जनप्रतिनिधिहरुको लागि संचालित तेस्रो मोड्युलको ४ दिने प्रारम्भिक प्रशिक्षण सम्पन्न शुक्रबार मलंगवामा सम्पन्न भएको छ। स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका महिला जनप्रतिनिधिहरुलाई शसक्त बनाउने उदेश्यले सो अभियानमा लागेका माण्डवी नामक गैर सरकारी संस्थाले उक्त प्रशिक्षण कार्यक्रमको आयोजना गरेको हो।

    आइ.एफ.इ.एस तथा अस्ट्रेलियन सरकारको प्राविधिक तथा स्विस सरकारको आर्थिक सहयोगमा शि लिड्स महिला नेतृत्व कार्यक्रम अन्तर्गत  कबिलासी नपा कार्यपालिकाका नवनिर्वाचित महिला सदस्यहरुको नेतृत्व भूमिकालाई निरन्तरता दिंदै उनीहरूको आत्मविश्वास र नेतृत्व सिपलाई अझ निखार्दै उनीहरूको भूमिकालाई अझ बढी प्रभावकारी ढंगबाट निर्वाह गर्न थप सीप र ज्ञानको विकास गर्ने उदेश्यले तालिमको आयोजना गरेको माण्डवी सर्लाहीका कार्यक्रम अधिकृत मनिल श्रेष्ठले जानकारी दिए। 

    तालिमको ४ दिने अवधीमा महिला जनप्रतिनिधिहरुलाई स्थानीय सरकारमा प्रभावकारी ढंगले भूमिका निर्वाह गर्नको लागि चाहिने सीप र ज्ञान प्रदान गर्ने,राजनीतिक संवादमा सहभागी हुनका लागि उनीहरुमा आत्मविश्वास बढाउने,लैंगिक समानता प्रवर्द्धन गर्न आफ्नो समुदायका अन्य बालिका र महिलाहरुको लागि प्रेरणाको श्रोतको रुपमा कार्यगर्न प्रोत्साहित गर्न,लैंगिक समानता प्रबर्द्धन गर्नका लागि समुदायमा पुरुष सहयोगीहरुको निर्माण गर्न तथा स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधिहरुले एकआपसमा अनुभवको आदानप्रदान र सहयोग गर्न संजालको निर्माण गर्ने विषयमाहरुमा प्रशिक्षण दिइएको कार्यक्रम अधिकृत श्रेष्ठले जानकारी दिए।

   यसअघि पहिलो र दोस्रो मोड्युलको प्रारम्भिक प्रशिक्षणमा सहभागी भइसकेका  कबिलासी न.पा अन्तर्गतका १० वटै वडाका महिला जनप्रतिनिधिहरुलाई तेस्रो मोड्युलको तालिममा प्रशिक्षक द्वय प्रभु चौधरी र रमा कुमारी पौडेलले सहभागीहरुलाई समूहकार्य,बैठकको योजना र व्यवस्थापन ,स्थानीय तहको विधायिकी कार्य प्रणाली,सक्रिय सुनवाइ ,संजालिकरण,संचार माध्यम सँग सहकार्य,विकास ,समुदाय परिचालन र व्यक्तिगत विकासका लक्ष्य तथा कार्ययोजनाको विषयमा सरल तरिकाले  जानकारी गराएका थिए।

    उक्त तालिमको शुक्रवार मलंगवा स्थित नवरंग होटलको सभाहलमा कबिलासी नपा की उपमेयर  पुनम देवी कर्णको प्रमुख आतिथ्यतामा एक औपचारिक  कार्यक्रमको आयोजना गरि समापन गरिएको थियो। सम्बन्धि बैनर वाचन गरेर उद्घाटन गर्नुभएको थियो।   






     

सर्लाहीको मलंगवामा नि:शुल्क आँखा शिविर : २ हजार भन्दाबढी ब्यक्तिहरु लाभान्वित ,५ सयभन्दा बढीको नि:शुल्क शल्यक्रिया

मनोज यादव----

सर्लाही,आश्विन १४

     सर्लाहीमा  सम्पन्न ८ दिने निशुल्क आँखा शल्यचिकित्सा शिविरमा २ हजार भन्दाबढी  आँखाका बिरामीले सेवा लिएका छन् । सदरमुकाम मलंगवा स्थित सर्लाही आँखा केन्द्रको  आयोजना  तथा  सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा  संचालन गरिएको उक्त नि:शुल्क आँखा  शिविरमा २ हजार २ सय ९३ जना आँखका बिरामीहरुले लाभ लिएका छन् । 

  शिविरमा  मोतियाबिन्दुका बिरामीहरुको शल्यक्रिया समेत गरिएको छ।केन्द्रका अनुसार जिल्लाको भाँडसर,चक्रघट्टा,पर्सा,कौडेना,

सहोडवा,बलरा,लालबन्दी लगायतका स्थानहरुमा संचालन गरिएका आँखा जाँच शिविर र उक्त शिविरमा फेला परेका ६ सय १३ जना मोतियाबिन्दुका बिरामीहरु मध्येबाट छनौट भएका ५ सय ५६ जनालाई मलंगवा स्थित सर्लाही  आँखा केन्द्रमा ल्याएर शल्यक्रिया गरिएको थियो।

    यही असोज ६ गतेदेखि सञ्चालन गरिएको निशुल्क आँखा जाँच तथा शल्यक्रिया  शिविरको शुक्रवार मलंगवा स्थित केन्द्रमा नेपाल नेत्र ज्योती संघ सर्लाहीका अध्यक्ष अमरनाथ जयसवालको अध्यक्षतामा एक कार्यक्रमको आयोजना गरि समापन गरिएको छ। 

     लगातार  आठ दिनसम्म चलेको उक्त शिविरलाई सफलता पुर्वक संचालन गर्न सहयोग पुर्याएका मलंगवा नगरपालिका वडा न-३ का वडाध्यक्ष प्रमोद राय,वडा न-८ का वडाध्यक्ष मुकेश जयसवाल,वडा न-९ का वडाध्यक्ष चन्देश्वर यादव लगायत आँखा जाँच तथा शल्यक्रियामा संलग्न चौधरी आँखा अस्पताल लहानका चिकित्सकहरुको टोली तथा अन्य केही समाजसेवीहरुलाई नेपाल नेत्र ज्योति संघ सर्लाहीका अध्यक्ष जयसवाले मधेशको पहिचान र शानको रुपमा रहेको गमछा ओढाएर मायाको चिनोसहित सम्मानित गरिएको केन्द्रका प्रमुख निराजन साहले साहले जानकारी गराएको छ। 

    कोरोना कालमा देशभरसहित सर्लाही जिल्लामा पनि लगाइएको लकडाउन पछि आयोजना भएको यस शिविर मार्फत यति ठुलो संख्यामा आँखाको रोगीहरुको  जाँच भएको यो पहिलोपटक रहेको आयोजक संस्थाले जनाएको छ।

    आफ्नै जिल्लामा नि:शुल्क रुपमा आँखाको जाँच तथा मोतियाबिन्दुको शल्यक्रिया गराउन पाएका बिरामीहरु  शल्यक्रिया पश्चात् खुसी देखिएका थिए।



 

सर्लाहीको पर्सामा आधारभुत स्वास्थ्य चौकी उद्घाटन


लोकतन्त्र समाचारदाता----

सर्लाही,आश्विन १४

    सर्लाहीको पर्सा गाउँपालिकामा  नवनिर्मित आधारभुत स्वास्थ्य चौकीको उद्घाटन गरिएको छ । 

     पर्सा गाउँपालिका वडा न-६ स्थित रहेको नवनिर्मित उक्त स्वास्थ्य चौकीको  आज एक समारोहका बिच गाउँपालिका अध्यक्ष धिरेन्द्र रायले उद्घाटन गर्नुभएको हो।

   उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गापा अध्यक्ष रायले  गाउँ ,नगरको समग्र  विकासका लागि ‘शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार पनि उत्तिकै आवश्यक रहेकोले गुणस्तरीय शिक्षा र मजबुत स्वास्थ्यको  लागि आफु सदैव लागिपर्ने बताउनुभयो । यसअघि सामान्य बिरामी पर्दासमेत त्यस भेगका स्थानीयहरू उपचारका लागि कठिनाइ भोग्दै आएकाले अब सहज हुने उहाँले भन्नुभयो।

 स्वास्थ्य चौकी उद्घाटन कार्यक्रममा पालिकाका कर्मचारी ,स्वास्थ्यकर्मी,स्थानीयबासी लगायतकाहरुको उपस्थिति रहेको थियो ।

   यसै अवसरमा गापा अध्यक्ष रायले विजया दशमी,दिपावली तथा छठ पर्वको शुभकामना समेत दिएका थिए।


Wednesday, September 28, 2022

मलंगवाको जिविस चौकमा ट्राफिक प्रहरीले ल्याए चाडवाड लक्षित यात्रु सहायता कक्ष



लोकतन्त्र समाचारदाता---

सर्लाही,आश्विन १२

सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न-१० स्थित जिविस चौकमा दशै,तिहार र छठ पर्वलाई लक्षित गरेर  नागरिक यात्रु सहायता कक्षको सुरुवात गरिएको छ । यात्रुको सहजताका लागि ट्राफिक प्रहरी कार्यालय मलंगवाले यात्रु सहायता कक्ष संचालनमा ल्याइएको हो ।

    चाडपर्वको बेला हुन सक्ने समस्यालाई मध्यनजर गरी यात्रु सहायता कक्षको स्थापना गरिएको ट्राफिक प्रहरी कार्यालय मलंगवाका इन्चार्ज अरुण पाण्डेले बताउनुभयो ।नागरिकहरुको  सहयोग र सहजीकरणका लागि जिल्लाको अन्य स्थानहरुमा पनि यात्रु सहायता कक्ष स्थापना भएको इन्चार्ज पाण्डेले  बताउनुभयो ।

    ट्राफिक र प्रहरीले मात्रै सहयोग गरेर यात्रुलाई सहज नहुने हुँदा सवारी धनी चालक र यातायात कम्पनीले पनि पर्वका बेला सहजीकरण गर्नुपर्ने उहाँले बताउनुभयो । उहाँले पर्वका बेला हुनसक्ने दुर्घटनाका बारेमा सचेत हुन र सबैले ट्राफिक नियमको पालना गरेमा मात्रै सहज तरिकाले पर्व मनाउने सकिने विषयमा गम्भीर भएर यात्रा गर्न र सवारी चलाउन पर्नेमा जोड दिनुभयो।

   यस्तै नेपाल पत्रकार महासंघ सर्लाहीका पुर्व उपाध्यक्ष संचारकर्मी बख्तियार अलीले पर्वका बेला सर्वसाधारण नागरिकहरु र यात्रु ठगिने र विभिन्न सास्ती खेप्नु पर्ने अवस्थालाई मध्यनजर गरेर स्थापना गरिएको  सहायता कक्षबाट सहयोग लिन सबैलाई आग्रह गर्नुभएको छ।

    चाडवाडको समयमा सवारीमा बढी भाडा लिने, सामग्री हराउने, गन्तव्यमा पुग्ने सवारीको ज्ञान नहुने जस्ता समस्यामा परेका यात्रुले सहायता कक्षबाट सेवा लिन पाउनेछन् ।

मलंगवामा पनि १६ औं विश्व रेविज दिवस अन्तरक्रिया गरि मनाइयो



लोकतन्त्र समाचारदाता---

सर्लाही,आश्विन १२

     "एक स्वास्थ्यको अवलम्बन,रेविजबाट शुन्य निधन " भन्ने नाराका साथ १६औँ विश्व रेविज दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

   सोही अवसरमा मलंगवा नगरपालिका स्वास्थ्य शाखाले पनि पशु पंक्षि आदीबाट हुने ईन्फ्लुएन्जा,बर्ड फ्लु,AMR सिष्टि,सर्कोसिस,टक्सोप्लाजमेसिस,

आदि  विभिन्न सरुवा रोग सम्बन्धि  रोकथाम तथा नियन्त्रणका लागि

अन्तरक्रिया गरि  दिवस मनाएको छ ।

    कार्यक्रममा रेविज रोगको नियन्त्रण कसरी गर्ने, रेविज लागेको कुकुरलाई कसरी चिन्ने, मानिसमा रेविज लागेमा देखिने लक्ष्यण लगायतका विषयमा जानकारी गराइएको थियो।साथै  रेविजका कारण मानिसको मृत्यु हुने गरेको तथ्याङ् अनुसार नेपाल उच्च जोखिममा रहेको जानकारी गराइएको थियो ।

    प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतमको अध्यक्षतामा आयोजना भएको अन्तरक्रिया कार्यक्रममा कृषि पशु अधिकृत रामनाथ प्रसाद साह,जिल्ला पशु कार्यालय मलंगवाका भेटेनरी निरिक्षक मनोज मिश्र,जनस्वास्थ्य निरिक्षक मो. सलिम मिकरानी,मलंगवा न.पा स्वास्थ संयोजक रामनन्दन राय लगायतका अतिथिहरुको उपस्थिति रहेको मनपा स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक विष्णुकान्त साहले जानकारी दिएको छ।


सर्लाहीमा ९५ प्रतिशत चिकित्सक र ४८ प्रतिशत नर्सिङ कर्मचारीकाे दरबन्दी खाली भएपछि उपचारमा समस्या

        



लोकतन्त्र समाचारदाता----        सर्लाही,आश्विन १२

    स्वास्थ्य कार्यालय सर्लाहीले गत आर्थिक वर्ष २०७८/७९ मा संचालित   स्वास्थ्य कार्यक्रमको जिल्ला स्तरीय वार्षिक समीक्षा सम्पन्न गरेको छ ।

    स्वास्थ्य कार्यालय सर्लाहीले मंगलबार र बुधबार सदरमुकाम मलंगवामा आयोजना गरेको समीक्षा गोष्ठीमा जिल्लाको २० वटा स्थानीय तहको स्वास्थ्य संयोजकहरुले आर्थिक वर्ष २०७८/०७९ मा आ–आफ्नो स्वास्थ्य शाखाबाट संचालन गरेको स्वास्थ्य कार्यक्रमहरु प्रस्तुतीकरण गरेका थिए ।

   कार्यक्रममा स्वास्थ कार्यालय सर्लाही प्रमुख डा, नवल किशाेर झा ले भने जिल्लामा ४८ प्रतिशत  नर्सिङ कर्मचारी तथा ९५ प्रतिशत चिकित्सककाे दरबन्दी रिक्त रहेकाेले स्वास्थ उपचारमा ठुलाे समस्या हुने गरेकाे डा, झाले बताउनु भयाे । स्वास्थ कार्यालय सर्लाहीका प्रमुख डा, नवल किशाेर झा ले दिएकाे जानकारी अनुसार जिल्लाका २० वटै पालिकाहरूले सि.अहेव, हेल्थ असिस्टेन्टहरूलाई दरबन्दी भन्दा बढि सहमति दिएर सरूवा गराई ल्याएकाले नर्सिङ तथा चिकित्सक भर्ना नगरेकाेले गर्भवती तथा सुत्केरी महिलाहरूकाे स्वास्थ उपचारमा ठुलाे समस्या भएकाे  बताउनु भयाे । माग अनुसारकाे दरबन्दी सरकारले नगर्दा जिल्लामा स्वास्थ उपचार प्रभावित भएकाे स्वास्थ कार्यालय सर्लाहीका प्रमुख डा, नवल किशाेर झा ले गुनासाे गरे ।

    स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख डा.नवल किशोर झा को अध्यक्षता तथा जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल किशोर सिंहको प्रमुख आतिथ्यतामा सम्पन्न २ दिने गोष्ठीमा आ.व २०७८/०७९ सम्पादित स्वस्थ्य सेवाहरु प्रभावकारी रुपमा संचालन गरि निर्धारित सुचकांकको आधारमा उत्कृष्ट बन्न सफल भई स्वास्थ्य कार्यालयको समग्र स्वास्थ्य स्थितिमा पुर्‍याएको योगदानको उच्च सम्मान गर्दै २० वटै स्थानीय तह अन्तर्गतका स्वास्थ्य शाखाहरु मध्येबाट ४ वटा स्वास्थ्य शाखालाई स्वास्थ्य कार्यालय सर्लाहीले कदरपत्रले सम्मानित गरेका थिए। सम्मानित हुने स्वास्थ शाखाहरुमा हरिपुर नगरपालिका(प्रथम),हरिवन नगरपालिका(दोस्रो) र चक्रघट्टा गाउँपालिका(तेस्रो)र गोडैता नगरपालिका(चौथो) रहेका छन् कार्यक्रम मलंगवा न.पा स्थित महेन्द्र होटलमा सम्पन्न भएको थियाे । गोष्ठीमा विशिष्ठ अतिथि मलंगवा नगरपालिका प्रमुख नागेन्द्र कुमार  यादव, प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम ,स्वास्थ्य कार्यालय प्रमुख डा.नवल किशोर झा,प्रादेशिक अस्पताल मलंगवाका अध्यक्ष सतिश साह,यु.एन.एफ.पि.ए का बच्चालाल महतो,जनस्वास्थ्य निरिक्षक सुशिल कुमार झा,२० वटा पालिकाका स्वास्थ्य संयोजक तथा स्वास्थ्यको क्षेत्रमा कार्यरत विभिन्न संघसंस्थाका प्रतिनीधि लगायतको सहभागीता रहेको थियो।

हार्दिक मंगलमय शुभाकामना

 २०७९ सालको बिजयादशमी,दिपावली तथा छठ पर्वको उपलक्ष्यमा सबैको सुस्वास्थ्य दिर्घायु, तथा उत्तरोतर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु !!! 
शाान्ती मिकरानी(निवर्तमान उपमेयर),मलंगवा नगरपालिका सर्लाही 

Tuesday, September 27, 2022

सेन्चुरी कमर्सियल बैंकद्वारा प्रहरी कार्यालय गोडैतालाई प्रहरी बिट हस्तान्तरण





लोकतन्त्र समाचारदाता---

सर्लाही,आश्विन ११

   सेन्चुरी कमर्सियल बैंक लिमिटेड गोडैता शाखाले गोडैता नगरपालिकामा रहेको प्रहरी कार्यालयलाई प्रहरी बिट हस्तान्तरण गरेको छ।

   नगरको सुरक्षा व्यवस्थापनका लागि  बैंकको संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत मंगलबार दिउँसो एक कार्यक्रमको आयोजना गरि नगर प्रमुख देबेन्द्र कुमार यादव तथा उद्योग बाणिज्य संघ गोडैताका  अध्यक्ष  उपेन्द्र हजारीको   हातबाट गोडैता प्रहरी कार्यालयका इन्चार्ज  उपेन्द्र चौधरीलाई प्रहरी बिट हस्तान्तरण गरिएको सेन्चुरी कमर्सियल  बैंक गोडैता शाखाले जनाएको छ।




सर्लाहीमा जसपाद्वारा राष्ट्रपति भण्डारीको पुतलादहन

 







मनोज यादव---

सर्लाही,आश्विन ११

      नागरिकता विधेयक स्वीकृत नगरेको भन्दै जनता समाजवादी पार्टी  सर्लाहीले सर्लाहीको  सदरमुकाम मलंगवामा  राष्ट्रपति विद्यादेवी भण्डारीको पुतला दहन गरेको छ।  

      मलंगवा नगरपालिका वडा न-१० स्थित सहिद चौकमा जसपा नेपालका  नेता कार्यकर्ताहरुले नरावाजी गर्दै राष्ट्रपति भण्डारीको पुतला दहन गरेका हुन् ।

    नागरिकता विधेयक प्रमाणीकरण नगरी नेपालको संविधान उलंघन गरेको  भन्दै जसपाले राष्ट्रपतिको बिरुद्धमा चरणबद्ध आन्दोलनको घोषणा गरेका छन् ।सोही अनुसार जसपा सर्लाहीका जिल्ला अध्यक्ष विरेन्द्र राय यादवको नेतृत्वमा जसपा नेता एवं पुर्व राष्ट्रिय सभा सदस्य रामपृत पासवान,संविधान सभा सदस्य एवं जसपा नेतृ किरण देवी राय लगायतका सयौ नेता कार्यकर्ताहरु  राष्ट्रपति भण्डारी विरुद्ध चर्को नारावाजी गर्दै पुतला दहन गरेका हुन् ।

   राष्ट्रपति विद्यादेवी भण्डारी मुर्दावाद, नागरिकता विधेयक स्वीकृत गर, नेपाली नागरिकलाई नागरिकता दे, संविधान उल्लंघन गर्ने राष्ट्रपति मुर्दाबाद लगायतका राष्ट्रपति बिरोधि नाराहरु लगाउँदै सयौंको संख्यामा रहेका जसपा नेताकार्यकर्ताले मंगलबार साँझ बिच चौकमा  राष्ट्रपति भण्डारीको पुतला दहन गर्दै कोणसभा आयोजना गरेका थिए। कोणसभालाई सम्बोधन गर्दै नेताहरुले नागरिकता बिधेयक स्वीकृत नगरे थप सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

     पार्टीले असोज १३ गते पालिका स्तरमा अन्तरक्रिया गर्ने र असोज १५, १६ र १७ गते पालिका एवं वडा स्तरमा प्रदर्शन गर्ने कार्यक्रम तय गरेको अध्यक्ष रायले जानकारी गराएको छ ।

    


  

माण्डवीद्वारा कबिलासी नगरपालिकाका महिला जनप्रतिनिधिहरुको लागि तेस्रो मोड्युलको ४ दिने प्रारम्भिक प्रशिक्षण सुरु


लोकतन्त्र समाचारदाता---

सर्लाही,आश्विन ११

   स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका महिला जनप्रतिनिधिहरुलाई शसक्त बनाउने अभियानमा लागेका माण्डवी नामक गैर सरकारी संस्थाले सर्लाहीको कबिलासी नगरपालिकाका नव निर्वाचित महिला जनप्रतिनिधिहरुको लागि तेस्रो मोड्युलको चारदिने प्रारम्भिक प्रशिक्षण सुरु गरेकोछ । 

    आइ.एफ.इ.एस तथा अस्ट्रेलियन सरकारको प्राविधिक तथा स्विस सरकारको आर्थिक सहयोगमा शि लिड्स महिला नेतृत्व कार्यक्रम अन्तर्गत माण्डवी सर्लाहीले कबिलासी नगरपालिकाका कार्यपालिका महिला सदस्यहरुको नेतृत्व भूमिकालाई निरन्तरता दिंदै उनीहरूको आत्मविश्वास र नेतृत्व सिपलाई अझ निखार्दै उनीहरूको भूमिकालाई अझ बढी प्रभावकारी ढंगबाट निर्वाह गर्न थप सीप र ज्ञानको विकास गर्ने उदेश्यले तालिमको आयोजना गरेको माण्डवी सर्लाहीका कार्यक्रम अधिकृत मनिल श्रेष्ठले जानकारी दिए। 

    तालिमको ४ दिने अवधीमा महिला जनप्रतिनिधिहरुलाई स्थानीय सरकारमा प्रभावकारी ढंगले भूमिका निर्वाह गर्नको लागि चाहिने सीप र ज्ञान प्रदान गर्ने,राजनीतिक संवादमा सहभागी हुनका लागि उनीहरुमा आत्मविश्वास बढाउने,लैंगिक समानता प्रवर्द्धन गर्न आफ्नो समुदायका अन्य बालिका र महिलाहरुको लागि प्रेरणाको श्रोतको रुपमा कार्यगर्न प्रोत्साहित गर्न,लैंगिक समानता प्रबर्द्धन गर्नका लागि समुदायमा पुरुष सहयोगीहरुको निर्माण गर्न तथा स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधिहरुले एकआपसमा अनुभवको आदानप्रदान र सहयोग गर्न संजालको निर्माण गर्ने विषयमाहरुमा प्रशिक्षण दिइने कार्यक्रम अधिकृत श्रेष्ठले जानकारी दिए।

   यसअघि पहिलो र दोस्रो मोड्युलको प्रारम्भिक प्रशिक्षणमा सहभागी भइसकेका  कबिलासी न.पा अन्तर्गतका १० वटै वडाका महिला जनप्रतिनिधिहरुलाई तेस्रो मोड्युलको तालिममा प्रशिक्षक द्वय प्रभु चौधरी र रमा कुमारी पौडेलले सहभागीहरुलाई समूहकार्य,बैठकको योजना र व्यवस्थापन ,स्थानीय तहको विधायिकी कार्य प्रणाली,सक्रिय सुनवाइ ,संजालिकरण,संचार माध्यम सँग सहकार्य,विकास ,समुदाय परिचालन र व्यक्तिगत विकासका लक्ष्य तथा कार्ययोजनाको विषयमा समेत जानकारी गराउने श्रेष्ठले बताए ।

    उक्त तालिमको मंगलबार मलंगवा स्थित नवरंग होटलको सभाहलमा नगर उपप्रमुख पुनम देवी कर्णले कार्यक्रम सम्बन्धि बैनर वाचन गरेर उद्घाटन गर्नुभएको थियो।

     

विश्व पर्यटन दिवस: नेपाल-भारत सिमा स्थित मलंगवा-सोनवर्षा बोर्डरमा भारतीय पाहुनाहरुको भब्य स्वागत

 मनोज यादव---

सर्लाही,आश्विन ११

  विश्व पर्यटन दिवसको अवसर पारेर सर्लाहीका होटल तथा पर्यटन व्यवसायीहरुले नेपाल भ्रमण गर्न आएका भारतीय अतिथिलाई सर्लाहीको मलंगवा स्थित  नेपाल–भारत सीमा क्षेत्रमा स्वागत गरेका छन् ।

     गत दुई वर्षदेखि कोरोना तथा लकडाउनका कारण लगभग धारासायी बनिसकेको होटल तथा पर्यटन व्यवसायलाई उकासेर पुन: पुरानै धारमा ल्याउने उदेश्यका साथ सर्लाहीका होटल तथा पर्यटन व्यवसायीहरु "घुमौ मधेश,बुझौ प्रदेश "भन्ने नाराका साथ यस वर्षको विश्व पर्यटन दिवस मनाइरहेका छन् ।सोही क्रममा दिवसको पहिलो दिन मंगलबार बिहान  जिल्ला समन्वय समिति सर्लाहीका उपप्रमुख जितेन्द्र कुशवाहा र मलंगवा न.पा वडा न-८ का वडाअध्यक्ष मुकेश जयसवालकाे अगुवाईमा जिल्लाका होटल व्यवसायीसहित विभिन्न निकायका विशिष्ट व्यक्तिहरु लगायत नेपाल र भारत दुवैदेशका संचारकर्मीहरु भारतबाट आएका अतिथिहरुलाई नेपाल प्रवेश गर्ने नेपाल-भारत सिमाक्षेत्र(दशगजा)स्थित भन्सार कार्यालय मलंगवा अगाडी  खाँदा लगाएर मिठाई खुवाई भब्य स्वागत गरेका थिए।नेपाली भुमीमा प्रवेश गरे लगत्तै पाएको न्यानो स्वागतले भारतीय पाहुनाहरु दङ्ग परेका थिए।

   मलंगवा नाका नेपालतर्फको धार्मिक तथा ऐतिहासिक पर्यटक स्थल सर्लाहीको बागमती स्थित भरत ताल,नुनथर, जनकपुरघामको जानकी मन्दिर,बारा जिल्लाको बरियारपुरमा रहेको गढीमाई,सिन्धुलीगढी,हेटौंडा ,पोखरा ,काठमाडौ लगायतका ठाउँहरुमा पुग्ने मुख्य नाका भएकोले यहाँबाट हजारौं भारतीय पर्यटकहरु विभिन्न सिजन तथा उत्सवमा नेपाल घुम्न आउने गरेका छन् ।

    पर्यटन दिवसलाई सभ्य र भब्य गरि मनाउन होटल तथा पर्यटन व्यवसायी संघ सर्लाहीले गएको आइतवार जिल्ला समन्वय समिति सर्लाहीका सभापति कौशल किशोर सिंहको अगुवाइमा भारतीय पर्यटकहरुको स्वागतका लागि  नेपाल भारत सिमा छुट्याउने जंगे पिलरदेखि जिल्ला भन्सार कार्यालयसम्मको सडकको सरसफाइ समेत गरेका थिए ।

      गएको २ वर्ष अगाडी भिजिट नेपाल २०२० मनाउन भनि ठुलो लगानी गरेर तयारी अवस्थामा रहेका यहाँका होटल तथा पर्यटन व्यवसायीहरुलाई कोरोना भाइरसको संक्रमण तथा लकडाउनका कारण तय गरिएका सम्पूर्ण कार्यक्रमहरु स्थगित गर्नुपरेको थियो।जसले गर्दा उनीहरूलाई ठुलो आर्थिक मार सहनुपरेको थियो। तर यसवर्ष पहिलाको जस्तो अवस्था नरहेकोले मधेश प्रदेश अन्तर्गतआठ वटै जिल्लाका होटल तथा पर्यटन व्यवसायीहरु "घुमौ मधेश,बुझौ प्रदेश "भन्ने नारा दिएर यसवर्षको पर्यटन वर्ष २०२२ मनाउन लागेको हो।

    मधेस प्रदेश अन्तर्गतका आठ वटै जिल्लाको भ्रमण गर्न आउने पर्यटकलाई  होटलहरुमा खानामा १५ प्रतिशत  र आवासमा २५ प्रतिशत छुटको व्यवस्था गरेको होटल तथा पर्यटन व्यवसायी सर्लाहीका अध्यक्ष हिराकाजी योन्जनले जनाएको छ। 

     


Monday, September 26, 2022

गोडैतामा पालिका स्तरीय स्वास्थ्य संस्थाहरुको वार्षिक समिक्षा गोष्ठी सम्पन्न,स्वास्थ्य चौकी सिसौटिया पुनः उत्कृष्ट

 मनोज यादव---

सर्लाही,आश्विन १०

    सर्लाहीको गोडैता नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ मा सम्पन्न स्वास्थ्य गतिविधिहरुको पालिका  स्तरीय स्वास्थ्य संस्थाहरुको वार्षिक समिक्षा गोष्ठी सम्पन्न गरेको छ ।

    गोडैता नगरपालिकाका नगर प्रमुख देवेन्द्र कुमार यादवको अध्यक्षता तथा स्वास्थ्य कार्यालय मलंगवाका प्रमुख डा.नवल किशोर झा को प्रमुख आतिथ्यतामा सम्पन्न  गोष्ठीमा गत आर्थिक वर्षमा यस पालिका अन्तर्गत वडाका स्वास्थ्य केन्द्रहरुमा संचालन भएका क्रियाकलापहरुको बारे चर्चा गरिएको थियो । ९ गतेआइतवार र १० गते सोमबार दुई दिनसम्म चलेको उक्त  समिक्षा गोष्ठीमा सहभागी भएका १२ वटै वडाका वडा स्वास्थ्य चौकी प्रमुखहरुले आआफ्नो वडामा संचालन गरेका स्वास्थ्य सेवा र त्यसको प्रगति विवरण प्रस्तुत गरेका थिए ।

   सोही गोष्ठी मार्फत १२ वटै वडाबाट आन्तरिक मुल्यांकनको आधारमा उत्कृष्ट कार्य र सेवा प्रदान गरि उत्कृष्ट भएर छानिएका तीनवटा वडा स्वास्थ्य चौकीलाई सम्मानित समेत गरिएको  छ। क्रमशः प्रथम, द्वितीय र तृतीय हुने सिसौटिया ,बगदह र रोहुवा स्वास्थ्य चौकीका प्रमुखहरुलाई नगरप्रमुख यादव र प्रमुख अतिथि झा ले कदरपत्रद्बारा सम्मानित गरेका थिए।स्वास्थ्य चौकी सिसौटिया र स्वास्थ्य चौकी बगदह यस अघिको आर्थिक वर्ष २०७७/०७८ मा पनि प्रथम र द्वितीय स्थान हासिल गरेर सम्मानित भइसकेको  स्वास्थ्य शाखा प्रमुख प्रमोद पंडितले जानकारी दिए।

    वार्षिक समीक्षा गोष्ठीको समापन कार्यक्रमलाई सम्बोधन गर्दै  नगरप्रमुख यादवले उत्कृष्ट कार्य सम्पादन गरेर सफलतापुर्वक जिम्मेवारी पुरा गर्ने नगर भित्रका स्वास्थ्य चौकीहरु, स्वास्थ्यकर्मी तथा जस्तो सुकै परिस्थितिमा पनि स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य स्वयंसेविकाहरुलाई नगरपालिकाको तर्फबाट  धन्यवाद दिंदै सबै वडा स्वस्थ्य प्रमुखहरुलाई आआफ्नो जिम्मेवारी राम्रोसँग वहन गर्न निर्देशन दिएका थिए।

   गोष्ठीमा सहभागी सबै वडाका स्वास्थ्य प्रमुखले गत आर्थिक वर्षको भन्दा यो आ.व मा स्वास्थ्यका सम्पूर्ण स्वास्थ्य सुचकहरु राम्रो भएकोले उत्कृष्ट सेवा प्रदान गरेर आगामी दिनमा यस नगरपालिकालाई जिल्लाकै नमुना स्वास्थ्य नगरपालिकाको रुपमा घोषणा गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए।

    गोडैता न.पा कार्यालयको सभाहलमा सम्पन्न भएको समीक्षा गोष्ठीमा विशिष्ट अतिथिको रुपमा नगर उपप्रमुख अंजना कुशवाहा,प्रमुख प्रशासकीय अधिकृत रमेश प्रसाद यादव,UNFPA का बच्चालाल महतो, सेभ द चिल्ड्रेनका परमानन्द मण्डल,one heart werld wide का अमरेन्द्र राय,RRPK की सृजना घिमिरे लगायत १२ वटै वडाका वडाध्यक्ष ,वडा स्वास्थ्य प्रमुख तथा पत्रकारहरुको उपस्थिति रहेको कार्यक्रमका संचालक समेत रहनु भएका गोडैता न.पा  स्वास्थ्य शाखा प्रमुख पंडितले जनाएको छ।

Sunday, September 25, 2022

हरिपुर नगरपालिका द्वारा चारजना सेवानिवृत शिक्षकहरु सम्मानित

  



मनोज यादव---

सर्लाही,आश्विन ९

     सर्लाहीको हरिपुर नगरपालिकाले सेवानिवृत्त चारजना शिक्षकहरुलाई सम्मानित गरेको छ ।सम्मानित हुने शिक्षकहरुमा श्री जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्र प्रसाद साह , श्री आधारभूत विद्यालय मजुर्वाका प्रधानाध्यापक गणेश पंडित , श्री महावीर जनता नमूना माध्यमिक विद्यालयका मा शि तृतीय श्रेणीका शिक्षक रामबाबु प्रसाद साह र श्री रामलागन माध्यमिक विद्यालयका शिक्षक रामनाथ प्रसाद रहेका छन् ।

    उहाँहरु चारै जना बिगत दुई शैक्षिक सत्रदेखि  सेवानिवृत भएका थिए।हरिपुर न.पा अन्तर्गत रहेका सामुदायिक विद्यालयमा कार्यरत रहि शैक्षिक क्षेत्रको विकासमा पुर्याउनु भएको योगदानको उच्च कदर गर्दै नगर प्रमुखस्तरीय प्र .अ . बैठकको निर्णयअनुसार आइतवार एक कार्यक्रमको आयोजना गरि  नगरप्रमुख  गोपाल पंजियार  , नगर उपप्रमुख निलम देवी राय यादव  तथा प्रमुख प्रशासकीय अधिकृत दिवाकर भुजेलले  संयुक्त रुपमा  उहाँहरुलाई दोसल्ला ओढाएर कदरपत्रको साथ  सम्मानित गरेको  नगरपालिकाले जनाएको छ।

   सम्मान कार्यक्रमका आयोजक हरिपुर न.पा ले सेवानिवृत शिक्षकहरुलाई सम्मान गर्ने कार्यमा सहयोग , समन्वय तथा सहजीकरण गर्ने  शिक्षक महासंघ ,प्रधानाध्यापकहरु तथा  कर्मचारीहरुलाई  सोही कार्यक्रम मार्फत धन्यवाद दिएको छ।




 

पर्सामा संचालित निःशुल्क आँखा जाँच शिविरमा १०५ जना मोतियाबिन्दुको बिरामी फेला परे

 



लोकतन्त्र समाचारदाता---

सर्लाही,आश्विन ९ गते

      सर्लाहीको पर्सा गाउँपालिकामा संचालित निशुल्क आँखा जाँच शिविरमा  १ सय ५ जना बिरामीहरुमा मोतियाबिन्दुको संक्रमण फेला परेको छ।

   सगरमाथा चौधरी आँखा अस्पताल लहान तथा आँखा उपचार केन्द्र मलंगवाको सयुंक्त आयोजनामा पर्सा गा.पा को वडा न-६ ,पनपिही पोखरी स्थित रहेको प्राथमिक विद्यालयमा सम्पन्न  शिविरमा उक्त पालिका अन्तर्गतको ६ वटै वडाबाट महिला र पुरुष गरि  जम्मा ३ सय ४५ जना बिरामीको आँखा जाँच गरिएको थियो ।जस मध्येबाट १ सय ५ जनामा मोतियाबिन्दुको रोग फेला परेको प्रमुख प्रशासकीय अधिकृत सुरेश यादवले जानकारी दिए । उनीहरु सबैको मलंगवा स्थित आँखा उपचार केन्द्रमा नि:शुल्क सल्यक्रिया गरिने प्र.प्र.अ यादवले जनाएको छ।

    आइतवार आयोजना भएको शिविरको समापन कार्यक्रममा प्रमुख अतिथिको रुपमा गा.पा अध्यक्ष धिरेन्द्र यादव, विशिष्ट अतिथि सगरमाथा चौधरी आखा अस्पताल लहानका प्रमुख डा.राजकुमार यादव,प्र.प्र.अ यादव लगायत पर्सा गा.पा अन्तर्गत विभिन्न शाखाका शाखा प्रमुख तथा स्थानीयबासीहरुको उपस्थिति रहेको थियो।कार्यक्रमको अध्यक्षता वडा न-६ का वडाध्यक्ष गणेश साहले गरेका थिए। 


सर्लाहीका होटल व्यवसायीहरु द्वारा भारतीय पर्यटक भित्रिने दशगजा क्षेत्रको सरसफाइ गरि पर्यटन वर्ष २०२२ को सुभारम्भ

 



मनोज यादव---

सर्लाही,आश्विन ९

    सर्लाहीका होटल व्यवसायीहरु "घुमौ मधेश,बुझौ प्रदेश "भन्ने नाराका साथ पर्यटन वर्ष २०२२ मनाउन लागेका छन् ।

    सोही क्रममा होटल तथा पर्यटन व्यवसायी संघ सर्लाहीले आज (आइतवार)बिहान भारतीय पर्यटक भित्रिने प्रवेशद्वार नेपाल भारत सिमा अन्तर्गत पर्ने सदरमुकाम मलंगवा स्थित दशगजा क्षेत्रको सरसफाइ गरेको छ।  संघले जिल्ला समन्वय समिति सर्लाहीका सभापति कौशल किशोर सिंहको अगुवाइमा भारतीय पर्यटकहरुको स्वागतका लागि  नेपाल भारत सिमा छुट्याउने जंगे पिलरदेखि जिल्ला भन्सार कार्यालयसम्मको सडकको सरसफाइ गरेका छन् ।

    गएको २ वर्ष अगाडी भिजिट नेपाल २०२० मनाउन भनि ठुलो लगानी गरेर तयारी अवस्थामा रहेका यहाँका होटल तथा पर्यटन व्यवसायीहरुलाई कोरोना भाइरसको संक्रमण तथा लकडाउनका कारण तय गरिएका सम्पूर्ण कार्यक्रमहरु स्थगित गर्नुपरेको थियो।जसले गर्दा उनीहरूलाई ठुलो आर्थिक मार सहनुपरेको थियो। तर यसवर्ष पहिलाको जस्तो अवस्था नरहेकोले मधेश प्रदेश अन्तर्गतआठ वटै जिल्लाका होटल तथा पर्यटन व्यवसायीहरु "घुमौ मधेश,बुझौ प्रदेश "भन्ने नारा दिएर यसवर्षको पर्यटन वर्ष २०२२ मनाउन लागेको होटल तथा पर्यटन व्यवसायी महासंघका कोषाध्यक्ष बैकुण्ठ सापकोटाले जानकारी दिए।

   सरसफाइ कार्यक्रम पश्चात्  संघले पत्रकार सम्मेलनको आयोजना गरि नेपाल तथा भारत दुवै देशका संचारकर्मीहरुलाई  मधेश प्रदेशको आठ वटै जिल्लाहरुमा एकैसाथ मनाउन लागेको पर्यटन वर्ष २०२२ र तय गरिएका कार्यक्रमहरुको बारेमा जानकारी गराएका थिए। जस अनुसार  असोज ११ गते बिहान मलंगवा नगर क्षेत्रमा प्रभात फेरी गरि नेपाल पर्यटन वर्ष २०२२ को लोगो सहितको बैलुन उडाउने र मलंगवा स्थित भन्सार कार्यालय भएर नेपाल प्रवेश गर्ने भारतीय पर्यटकहरुलाई खाँदा र टीका लगाएर स्वागत गर्ने कार्यक्रम रहेको अध्यक्ष हिराकाजी योन्जनले संचारकर्मीहरुलाई जानकारी दिए।

    मधेस प्रदेश अन्तर्गतका आठ वटै जिल्लाको भ्रमण गर्न आउने पर्यटकलाई  होटलहरुमा खानामा १५ प्रतिशत  र आवासमा २५ प्रतिशत छुटको समेत व्यवस्था गरेको संघले जनाएको छ।

    कोरोना तथा लकडाउनका कारण नेपाल घुम्न आउने पर्यटकहरुको संख्यामा आएको कमिका कारण  लगभग धारासायी नै भइसकेको होटल तथा पर्यटन व्यवसायलाई यसवर्षको पर्यटन वर्षले केही केही रहत प्रदान गर्ने   जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल किशोर सिंहले बताए ।


 

Saturday, September 24, 2022

नागरिकता विधेयक सम्बन्धि राष्ट्रपतिको कदमको विरुद्धमा जसपा जिल्ला समन्वय समिति सर्लाही द्वारा आन्दोलनको घोषणा





मनोज यादव---

सर्लाही ,असोज ८

   राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरी नेपालको संविधानको पालना नगरेको भन्दै जनता समाजवादी पार्टी नेपालले आन्दोलनको घोषणा गरेको छ।

    नागरिकता विधेयक सम्बन्धि राष्ट्रपतिको कदमको सन्दर्भमा जसपा जिल्ला समन्वय समिति सर्लाहीले सनिवार सदरमुकाम मलंगवामा जिल्ला अध्यक्ष विरेन्द्र राय यादवको सभापतित्वमा सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरि चरणबद्ध आन्दोलनको घोषणा गरेको छ। पार्टीको जि.स.स सर्लाही अध्यक्ष रायले  शनिवारदेखि चरणबद्ध रूपमा शान्तिपूर्ण आन्दोलन गर्ने आयोजित कार्यक्रम मार्फत  घोषणा गरेको जानकारी दिए । जस अनुसार असोज ८ गते मधेसका आठवटै जिल्लाका सदरमुकाममा राष्ट्रपति भण्डारीको कदमको सन्दर्भमा नागरिक समाज, बुद्धिजीवी, व्यापारी, शिक्षक, कानुनी व्यवसायी र संचारकर्मीसँग छलफल गर्ने, असोज ११ गते जसपाका भातृ संगठनहरुले राष्ट्रपति भण्डारीविरुद्ध प्रदर्शन गर्दै उनको पुत्ला जलाउने, असोज १३ गते पालिका स्तरमा अन्तरक्रिया गर्ने र असोज १५, १६ र १७ गते पालिका एवं वडा स्तरमा प्रदर्शन गर्ने अध्यक्ष रायले जानकारी गराएको छ ।

    कार्यक्रमका प्रमुख अतिथि  जसपा नेता तथा प्रतिनिधि सभा सदस्य एवं पार्टीका प्रमुख सचेतक प्रमोद साहले देशको सबैभन्दा ठुलो कानुन  संविधान रहेको र त्यसको संरक्षण गर्ने जिम्मेवारी  राष्ट्रपतिको रहेको भएपनि  संरक्षकबाटै संविधानको उल्लंघन भएको बताउँदै  उहाँले चालेको कदम असंवैधानिक समेत रहेको उल्लेख गरेका छन् ।

    कार्यक्रममा बोल्दै संविधान सभा सदस्य एवं जसपा की नेतृ किरण देवी रायले देशमा नागरिकता विधेयक जारी नहुँदा  मधेसका लाखौँ जनता वर्षौंदेखि नागरिकताबाट वञ्चित हुनुपर्ने अवस्था आएको बताएका छन् । उनले देशको दुवै सदनमा बहुमतबाट पास भएर गएको नागरिकता विधेयकलाई नमानेर राष्ट्रपति भण्डारीले देशको सबैभन्दा ठुलो कानुनको रुपमा रहेको संविधानको उलंघन गरेको भन्दै  राष्ट्रपतिको  उक्त असंवैधानिक कदमको घोर निन्दा गरेका छन् ।

   कार्यक्रममा उपस्थित पुर्व राष्ट्र सभा सदस्य एवं पार्टीका प्रदेश समिति उपाध्यक्ष रामपृत पासवान, संघिय परिषद सदस्य सुनैना देवी चौधरी,नागरिक समाज सर्लाहीका अध्यक्ष उग्र कान्त झा,महासचिव शिवचन्द्र चौधरी,सैलेन्द्र राय,मानव अधिकारकर्मी मुकेश मिश्र,दलित अधिकारकर्मी राजेश पासवान, उद्योग वाणिज्य संघ मलंगवाका अध्यक्ष विरेन्द्र साह,मलंगवा नगरपालिका वडा न-८ का वडाध्यक्ष मुकेश जयसवाल,वडा न-३ का वडाध्यक्ष प्रमोद राय ,जसपा का नेतृ सुनैना देवी,आरती झा,मुन्द्रिका बैठा लगायतका अतिथिहरुले नागरिकताको समस्या कुनै नयाँ समस्या नरहेको र यसको लागि मधेशमा पटकपटक आन्दोलन समेत हुँदै आएकोले यसलाई चुनावी मुद्दा नबनाएर वर्षौदेखि जनताले भोग्दै आएको नागरिकता सम्बन्धि समस्या समाधान गर्न जस्तोसुकै आन्दोलन गर्न पछि नपर्ने बताएका छन् ।

   जिल्ला समन्वय समितिको सभाहलमा आयोजना भएको कार्यक्रमको संचालन जिल्ला कार्यकारिणी सदस्य रंधिर कुमार  यादवले गरेका थिए।


भारतसँग जोडिएको सर्लाहीको ग्रामीण नाकाबाट पटाकाको तस्करी शुरु

 


मनोज यादव----

सर्लाही,असोज ८

     दिपावली आउन एक महिना बाँकी छँदै भारतसँग सिमा जोडिएका सर्लाहीको  विभिन्न ग्रामीण नाकाहरुबाट पटाकाको तस्करी सुरु भएको छ।

    तस्करहरु अहिले भारतसँग सिमा जोडिएको जिल्लाको उत्तरी भेगमा पर्ने विभिन्न गाउँको बाटो हुँदै प्रतिबन्धित विष्फोटक पदार्थ पटकाहरु  अवैधरुपमा  भित्र्याउन सुरु गरेका छन्।भारतबाट तस्करी गरेर ल्याइएका पटाकाहरु मलंगवा नगरपालिका ,बलरा नगरपालिका,ब्रह्मपुरी गाउँपालिका, विष्णु गाउँपालिका र रामनगर गाउँपालिका अन्तर्गत पर्ने गाउँहरुको बाटो हुँदै विभिन्न सवारीसाधनहरुमा  लुकाएर काठमाडौ ,हेटाैडा ,पोखरा,भरतपुर, नारायणगढ  लगायतका  शहरमा पुर्याइने गरिएका छन् ।

    दिपावली आउन अझ एक महिना बाँकी रहेको छ। तस्करहरु अहिले देखिनै सुरक्षाकर्मीहरुको कम निगरानी भएका नाका हुँदै धमाधम पटाकाहरु भित्राउन थालेकाले त्यस्ता नाकाहरुमा निगरानी बढाउन इन्सेक सर्लाहीका जिल्ला प्रतिनिधि एवं मानवअधिकारकर्मी बुधन साहले स्थानीय प्रशासनलाई सुझाव दिएका छन् ।



Friday, September 23, 2022

सर्लाहीमा आइतवारदेखि म्यादी प्रहरीको छनौट प्रक्रिया सुरु

 



लोकतन्त्र समाचारदाता---

सर्लाही,असोज ७

  म्यादी प्रहरी छनौटका लागी सर्लाहीमा आइतवार देखि प्रारम्भिक स्वास्थ्य परिक्षण तथा तन्दुरुस्त परिक्षा संचालन हुने भएको छ । 

    आगामी मंसीरमा हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागी म्यादी प्रहरीमा भर्ना हुन भनि जिल्ला भरीबाट भुपु र नयाँ गरि साढे ७ हजार भन्दाबढी आवेदकहरुले  मलंगवा स्थित जिल्ला प्रहरी कार्यालय सर्लाहीमा  गत भदौ ३० गते देखी असोज ६ गते सम्म आवेदन दिएका थिए ।  

    आवेदकहरुको संख्या बढी भएकाले बिहान र दिउँसो गरि दुई सिफ्टमा आवेदकहरुको प्रारम्भिक स्वास्थ्य परिक्षण तथा शारिरिक तन्दुरुस्ती परिक्षण हुने म्यादी प्रहरी भर्ना छनौट,नियुक्ति  तथा परिचालन समितिले जानकारी दिएको छ।

    मलंगवा नगरपालिका वडा न-२ स्थित नयाँ बसपार्कको सामुन्ने रहेको जिल्ला खेलकुद विकास  समिति (कबर्ड हल)को प्रांगणमा हुने  स्वास्थ्य परिक्षाको नतिजा असोज १५ गते प्रकाशित गरिने म्यादी प्रहरी भर्ना छनौट,नियुक्ति  तथा परिचालन समितिले  जनाएको छ । 

Monday, September 19, 2022

संविधान दिवसमा वृक्षारोपन तथा कर्मचारी उधोगी बिच मैत्रीपुर्ण फुटबल प्रतियोगिता

 



लोकतन्त्र समाचारदाता---

सर्लाही ३ असोज ।

    सर्लाहीमा आज विविध कार्यक्रम गरी संविधान दिवस भव्य रुपमा मनाइँदैछ । दिवसका अवसरमा आज सोमबार संविधान दिवस मूल समारोह समिति सर्लाहीले जिल्ला समन्वय समिति सर्लाहीको तीनबिघे मैदानमा बृक्षारोपन गरिएको छ । कर्मचारी मिलन केन्द्रको संयोजकत्वमा बृक्षारोपन गरिएको मिलन केन्द्रका अध्यक्ष रामदरेश रायले बताउनु भयो । बृक्षारोपनमा प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, प्रहरी उपरिक्षक प्रबिण पोखरेल लगायत कर्मचारीहरुको उपस्थितीमा बुक्षारोपन गरिएको थियो । जिल्ला वन कार्यालय सर्लाहीको सहयोगमा बिभिन्न प्रकारका रुखका बिरुवाहरु बृक्षारोपन गरिएको हो  । संविधान दिवसको उपलक्ष्यमा आजै कर्मचारी र व्यापारीहरु बिच मैत्रीपुर्ण फुटबल प्रतियोगिताको समेत आयोजना हुने चेम्बर अफ कमर्शका संजय गुप्ताले बताउनु भयो । उधोग वाणिज्य संघ शाखा मलंगवा र चेम्बर अफ कमर्शकाको संयोजकत्वमा कर्मचारी उधोगी बिच मैत्रीपुर्ण फुटबल प्रतियोगिता हुनेछ । संविधान दिवसको अवसरमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र विभिन्न धार्मिक–सामाजिक संघसंस्थाबाट धार्मिक र सार्वजनिक स्थलहरुको सरसफाई गरि साझमा दिपावली गर्ने कार्यक्रम रहेको कर्मचारी मिलन केन्द्रका सचिव शुनिल कुशवाहाले बताउनु भयो  ।             दिवसका अवसरमा आज सरकारले मुलुकभर सार्वजनिक बिदा पनि दिएको छ ।

प्रचण्डले दिएको हिन्दु विरोधी अराजक अभिव्यक्ति दिएको भन्दै विश्व हिन्दु परिषद्, नेपालको गम्भीर ध्यानाकर्षण,चेतावनी दिन मलंगवामा मसाल जुलुस

  






मनोज यादव---

सर्लाही,असोज ३ गते

     माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिन्दुविरोधी अराजक अभिव्यक्ति दिएको भन्दै सोको विरुद्धमा विश्व हिन्दु परिषद्, नेपालले आइतवार एक विज्ञप्ति जारी  गरि  आपत्ती जनाएका छन् ।  प्रचण्डले दिएको अभिव्यक्तिको विरुद्धमा विश्व हिन्दु परिषद् नेपालले जारी गरेको विज्ञप्ति सबै जिल्ला शाखाहरु मार्फत सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई  बुझाएका छन् ।सर्लाहीमा पनि  आइतवार दिउँसो  नगर कमिटी मलंगवाले  प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमलाई ध्यानाकर्ण स्वरुप परिषदका महासचिव जितेन्द्र कुमार सिंह द्वारा हस्ताक्षरित विज्ञप्ति बुझाएका छन् ।

     प्रचण्डले  बहुसंख्यक जनताहरूको धार्मिक आस्था एवं मनोभावना माथि ठाडो प्रहार गरेर सनातन सांस्कृतिक आस्थालाई आघात पुर्‍याएको विज्ञप्तिमा उल्लेख गरिएको छ।साथै विज्ञप्तिमा हिन्दू विरोधी तत्वहरूको समय मै पहिचान गरी पूर्ण बहिष्कार गर्न अपिलसमेत गरिएको छ।

    अध्यक्ष दाहालले शनिबार माओवादी पार्टीको विज्ञान तथा प्रविधि विभागद्वारा आयोजित राष्ट्रिय विज्ञान दिवस कार्यक्रममा समाजमा ३३ कोटी देवतालाई पूजा गर्दै हिँड्ने तर मानिसलाई लात हान्दै हिँड्ने प्रचलन रहेको बताएका थिए। दाहालको यो अभिव्यक्तिले समग्र हिन्दु धर्म प्रति आस्थावान नेपाली जनमानसको भावनालाई उपहास भएको ठहर गरेको छ।यस्तै, प्रचण्डले हरेक व्यक्तिमा बाहिर एउटा भित्र अर्कै कुरा हुने गरेको भन्दै सम्पूर्ण समाजको चरित्र माथि प्रश्नचिह्न लगाएको  परिषदको बुझाइ छ।

    परिषद्ले हिन्दुत्वको सुविचार ‘सन्तोषं परम् सुखं’ अर्थात मानिसलाई सन्तोष लिन सिकाउने कुराले समाज विकासमा अवरोध गरेको बताउँदै प्रचण्डले उत्तेजना फैलाई देशलाई पुनः द्वन्द्वतिर उन्मुख हुन दुरुत्साहित गरेको समेत आरोप लगाएको छ।

     हिन्दु धार्मिक आस्थाअनुसार सृष्टिमा जीवनको उत्पत्तिबारे स्थापित दशावतारको मान्यतालाई खण्डित हुनेगरी बामपन्थी चिन्तक मार्क्सलाई जीवन विकासको अवधारणाबारे पहिलो दार्शनिक बताएर उनले  सनातन सांस्कृतिक आस्थालाई आघात पुर्याएको विज्ञप्तिमा उल्लेख गरिएको  छ।

    यसैगरि नेपालको साहित्यिक जगतका सुप्रसिद्ध नाटककार बालकृष्ण समबारे कटाक्ष गर्दै ‘ज्ञान मर्दछ हाँसेर, रोई विज्ञान मर्दछ’ भन्ने कवितांशका कारण देश र विज्ञानको विकासमा अवरोध सिर्जना गरेको बताएर ऐतिहासिक भाषा–साहित्य बारे निकृष्ट टिप्पणी गरेकोमा समेत परिषद्को  गम्भीर ध्नायाकर्षण भएको उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ।

पटक–पटक हिन्दू विरोधी वक्तव्य दिइनुलाई माओवादी केन्द्रका अध्यक्ष दाहाल विधर्मी शक्तिद्वारा परिचालित रहेको समेत स्पष्ट भएको परिषद्को ठहर छ।

   धर्म संस्कृति विरोधी तत्वहरूलाई साथ दिने जुनसुकै राजनीतिक दलको राजनीतिक अस्तित्व समेत समाप्त पार्न संगठन पछि नपर्ने   परिषद्ले विज्ञप्ति मार्फत चेतावनी दिएको छ।
                 Video📹️

    प्रचण्डले दिएको हिन्दुविरोधी अराजक अभिव्यक्तिको विरुद्धमा विश्व हिन्दु परिषद् नेपाल नगर कमिटी मलंगवाले आइतवार साँझ मलंगवामा  चेतावनी स्वरूप मसाल जुलुस निकालेर प्रचण्डको पुत्ला जलाएका छन् ।




Sunday, September 18, 2022

मधेसको लोक पर्व जितिया यसरी मनाइन्छ

 

अर्चना झा----

फोटो-अर्चना झा


ललितपुर(गोदावरी)असोज २ 

    जितिया पर्वलाई, जिमूतवाहन र जिवितपुत्रको नामले पनि चिनिन्छ । यो मधेसको महत्वपूर्ण लोक पर्व हो । यो पर्वमा विशेषगरी महिलाहरु सन्तानको दीर्घायु, सुखशान्तिका साथै वंश वृद्घिको कामना गर्दै  व्रत बस्ने गर्छन् । यो व्रत तीन दिनसम्म चल्छ । असोज सप्तमीदेखि सुरु भई नवमी तिथिसम्म विधिपूर्वक व्रत चल्छ ।

    मैथिल महिला समाज नेपालका अध्यक्ष अञ्जला झाले जितया व्रतकाबारे जानकारी दिँदै भने, “यो पर्वमा महिलाहरु द्वारा सामूहिकरुपमा जिमुतवाहनको कथा सुनेपछि मात्र व्रत पूर्ण हुन्छ भन्ने लोक मान्यता छ ।” पछिल्लो समय देशभर यो पर्व मनाउने गरिएको छ । अहिले काठमाडौँमा पनि विभिन्न सङ्घसंस्थाले जितियाको संस्कृति झल्काउने कार्यक्रम गर्न थालेका छन् ।

   विशेष गरेर थारु तथा तराईका महिलाहरु काठमाडौँको पशुपति क्षेत्रका मन्दिर र आफूलाई पायकपर्ने मन्दिरमा गई पूजा गर्छन् । खोलानालामा गई धुमधामसँग जितिया पर्व मनाउँछन् । तर अहिले सहरका खोला फोहर भएकाले घरमै बर्तालु नुहाउने गर्छन् । तराईका खोलामा आजकल पहिला जस्तो पानी हुँदैन । चुरिया पहाडको वन क्षेत्र कटानी हुन थालेपछि खोलानाला, इनार, पोखरी सुक्न थालेका छन् । तराईमा थारुहरुको बाहुल्यता भएको ठाउँमा जितिया पर्वको मेला लाग्ने गर्छ। अध्यक्ष झाले पूजाको विधिबारे जानकारी गराउँदै भने, “सप्तमी अर्थात् पहिलो दिनलाई ‘निहाएखाय’ भनिन्छ । यस दिन बिहानै बर्तालु नङ काटी खोला, पोखरी वा घरमै गंगाजल पानीमा राखी तोरीको तेल र खरी(पिना)ले नुहाउँछन् । त्यो दिन पितृ स्मरण गरी पूजा गरिन्छ ।”

   विषेश गरेर यो दिन नौनीको साग, कोदोको पिठोको रोटी, कन्दा र झिमनीको तरकारी खान्छन् । कति ठाउँमा माछा पनि खाई पूजाको सुरुआत गरिन्छ । खानाका लागि तिथिअनुसारको समय तोकिएको हुन्छ । त्यहीअनुसार सप्तमीको एक छाक मात्र नुनिलो खाना खानुपर्छ ।

   अध्यक्ष झाका अनुसार जितियाको दोस्रो दिनलाई खुरजितिया भनिन्छ । यस वर्षमा सरगही–ओठगन गर्ने समय पनि छ । बिहानै सबेरै नुहाएर घिरौँलाको पातमा दही, चिउरा मिठाइले चिल, स्याल र जिमुतवाहनको पूजा गरिन्छ । त्यही समयमा व्रतको सङ्कल्प लिइ बर्तालुले प्रसादी खाने गर्छन् । त्यस समयमा परिवारका सदस्यले पनि चढाएको प्रसादी खाने चलन छ । विशेषगरी बर्तालु घरका बालबालिकालाई प्रसादी दिएर खुसी तुल्याइन्छ ।

  यो जितिया व्रत छठ जस्तै, कठिन व्रत हो । 



अष्टमी तिथिको जितिया व्रतको सङ्कल्प लिइसकेपछि निरहार, निर्जला व्रत नवमी अर्थात् पारनसम्म बस्नुपर्छ । यो व्रत औँसीमा गरिन्छ । यो वर्ष नयाँ बर्तालुलाई शुभ मुहरत (समय) छ । अष्टमीको दिन जितिया (जिवित्पुत्रिका) को माटो वा गाईको गोबरको मूर्ति बनाएर पूजा गरिन्छ ।

त्यसैगरी चिल र स्यालको पनि प्रतिमा बनाएर पूजा गरिन्छ । पूजा सामग्रीमा विशेषगरी रक्षा धागो, रातो सिन्दुरको टीका, पान, ल्वाङ, नभाँचिएको चामलको अक्षता, भिजेको चना, काँक्रो, पान र घिरौँलोकोे पात, शृङ्गारको सामान आदिले विधिपूर्वक बर्तालुले कथा, गीत गाएर पूजा गर्छन् ।

     यो व्रत नेपालको विभिन्न भौगोलिक क्षेत्रका साथै काठमाडौँ उपत्यकालगायत विशेषतः तराई क्षेत्रमा बसोबास गर्ने महिलाले पूर्वतयारी गरी धुमधामसँग मनाउने गर्छन् ।

यो वर्ष २०७९ असोज ३१ गते आज नहाए खाएको दिन, २ गते जिमुतवाहनको निरहार रही व्रत गर्छन् र ३ गते बिहान पारन गर्ने समय साइत पञ्चाङगबाट देखिन्छ । सूर्यलाई अर्घ दिइ पारन गरिन्छ ।


@जितिया व्रतको महत्व

       नेपाल महिला समाज समूहकी अध्यक्ष अनामिका झा जितियामा छोराछोरीको केही भेदभाव नगरी पूजा गरिन्छ । यो व्रत गर्दा सन्तानको सबै सङ्कट दूर हुन्छ भन्ने विश्वास प्राचीनकालदेखि नै मान्यता छ । यो सन्तानको आयु लामो होस् सुख शान्तिको कामना गर्दै आमाले जितिया भगवानको निर्जला व्रत बसी प्रार्थना गर्छन् । व्रतको सुरुआती सप्तमी तिथिदेखि नहाए खाए विधि सुरु हुन थाल्छ । व्रत लिनुभन्दा अगाडि यसको सङ्कल्प लिइ व्रत बस्नुपर्छ ।सप्तमीको दिन एक छाक खाना खाई अष्टमीमा निर्जल बसी नवमी तिथिको दिन सूर्यलाई अर्घ दिइ पारन गर्नुपर्छ । यो छठ व्रत जस्तै कठिन व्रत हो । अध्यक्ष झाले जितिया लोकपर्व कसरी सुरु भयो भनी उहाँले कथाद्वारा जानकारी गराए।

      पौराणिक ग्रन्थमा यो व्रतको महत्व महाभारतकालदेखि जुडेको छ ।पौराणिक कथा अनुसार महाभारत युद्धको दौरान चारैतिर कुरा फैलिएको थियो कि अश्वस्थामा मरिसकेको यो कुरा पिता द्रोणाचार्यले पुत्र शोकमा आफ्नो अस्त्र भुइँमा राखिदियो।तब द्रौपदीका भाई धृष्टधुम्नले उनको बध गरिदियो।

    पिताको मृत्यु पछि अश्वस्थामाको मनमा प्रतिशोधको ज्वाला उठिरहेको थियो।आफ्नो पिताको हत्याको बदला लिनको लागि अन्ध्यारोमा पाण्डवको शिविरमा गई पाण्डवहरु सुतेको सोंचेर पाँचजनालाई रातिमा बध गरिदिए।मर्नेहरु पाण्डव थिएनन्।उनीहरु पाण्डवका छोराहरु थिए।परिणामस्वरूप पाण्डवलाई धेरै नै क्रोध आयो।अनी अर्जुनले भगवान कृष्णको सहारामा अश्वस्थामाको आँखा माथिको मणि खोसे।यसले गर्दा अश्वस्थामालाई पण्डव प्रति क्रोध उत्पन्न भयो।पछि बदला लिनको लागि अर्जुनको छोरा अभिमन्युकी पत्नी उत्तरा गर्भमा भएको बच्चालाई मार्न ब्रह्मास्त्र प्रयोग गरे।भगवान कृष्णलाई यो सबै कुरा थाहा थियो कि निस्किसकेको ब्रम्हास्त्रलाई रोक्न असम्भव हुन्छ।त्यतिनै बेला भगवान कृष्णले आफ्नो सबै पुन्यको फल उत्तराको गर्भमा भएको बच्चालाई दिनु भयो।

     लेखक तथा साहित्यकार डा रामदयाल राकेश  जिमुतवाहनको नामबाट जितिया पर्व सुरु भएको बताउछन् ।उनले जिमुतवाहन बारे थप जानकारी गराउँदै भने, प्रचिनकालको कुरा हो एउटा देशमा जिमुतवाहन नाम गरेको राजकुमार थियो।गन्धर्व राजकुमारको मन राजकाजमा नलागेपछि आफ्ना भाइहरुलाई राजपाठ दिएर पिताको सेवा गर्न बन तिर लागे।त्यही बनमा उनको विवाह मल्यवती नामको कन्या शीत भयो।एकदिन बनमा घुम्दै राजकुमार धेरै अगाडी निस्के ।बनमा हिड्दै गर्दा उनले एउटी बुढी आमा रोएको सुने।बुढी आमा सँग किन रोएको भनि सोध्दा उनले म नाग वंशकी नारी हुँ ,मेरो एउटा पुत्र शंकचुड हो।आज गरुँड महाराजले मेरो छोरालाई खान आउँदै छ,त्यसैले म रोएको बताए।राजकुमारले सिधे किन? त्यसपछि बुढी आमाले भन्न थाले नाग राजाले गरुँडको सामुन्ने प्रतिज्ञा गर्नुभएको छ कि प्रत्येक दिन एउटा नागको बच्चा खानलाई दिन्छु ।आज मेरो छोराको पालो हो।यस्तो कुरा सुनेर जिमुतवाहनले बुढी आमालाई भने तपाई चिन्ता नलिनुस तपाईंको छोराको बदलामा म जान्छु।यति भनेर गरुँडले भनेको ठाउँमा रातो कपडाले बेरिएर आफै सुते।गरुँडले सधै खाने तरिका जस्तै राजकुमारलाई पंजाले उडाएर लगे।अग्लो रुखको टुप्पोमा लगेर खान खोज्दा रोएको आवाज नसुनेपछि कपडा खोलेर हेर्दा राजकुमारलाई देखेर परिचय सोधे ।राजकुमारले गरुँडलाई सबैकुरा विस्तारमा भनेपछि उनको साहस,विरता,हिम्मत साथै करुणा देखेर गरुँडले राजकुमारलाई जिवनदान दिई अब देखि कुनैपनि नागको बच्चा नखाने प्रतिबद्धता गरे।जिमुतवाहको बहादुरीले गर्दा सम्पूर्ण नागजातिको रक्षा भयो।त्यहीबेला देखि जिमुतवाहनको नाममा जितिया पर्वको सुरुवात भएको मान्यता छ।

“यो व्रतको सङ्कल्प लिनुभन्दा पहिला बर्तालुले स्वास्थ्यको ख्याल गर्दै घर परिवारसँग सल्लाह लिइ व्रत बस्नुपर्छ । यो अरुभन्दा कठिन भएकाले धेरैजसो बर्तालु माइतीमा गई व्रत गर्छन् । यो व्रत गर्नेबेला मन, वचन र काममा शुद्घता जरुरी छ । मनलाई संयमित राख्नुपर्छ । यस व्रतमा कपाल कोर्ने, तोड्ने, काट्ने काम गर्नुहुँदैन । सकभर घाममा काम गर्नुहुँदैन, शरीरमा पानीको कमी हुने डर रहन्छ ।