Monday, February 28, 2022

सर्लाहीको नयाँरोडमा बाल विकास नेपालको जिल्ला स्तरीय परिचयात्मक बैठक सम्पन्न

 



लोकतन्त्र समाचारदाता---

सर्लाही,फाल्गुन १६

   सर्लाहीको बागमती नगरपालिका स्थित सिता प्यालेस होटल नयाँरोडमा बाल विकास नेपाल बरहथवाको जिल्ला स्तरीय कार्यक्रम तथा परिचयात्मक बैठक सम्पन्न भएको छ।

      एड एट एक्सन नेपाल ललितपुरको सहयोग, बाल विकास नेपालको आयोजना तथा बाल विकास नेपालका अध्यक्ष बिरेन्द्र रायको अध्यक्षतामा सम्पन्न गरिएको कार्यक्रममा बाल विकास कक्षा, सिपमुलक तालिम, लगायत विभिन्न विषय बस्तुहरुमा चर्चा गरिएको थियो । कार्यक्रममा संस्थागत जानकारी, संस्थाको दूरदृष्टि, ध्येय, लक्ष्य, उदेश्य, परियोजनाको उदेश्य, परियोजनाको बार्षिक योजना तथा उपलब्धिहरु लगायत विभिन्न विषयमा समेत छलफल गरिएको बाल विकास नेपालका सचिव सुनिल यादवले जानकारी दिनुभयो ।

    जिल्ला समन्वय समिति उप प्रमुख जमुना पराजुलीले बाल विकास नेपालले जिल्लाको विभिन्न पालिकाहरुमा राम्रो काम गरेको बताउनुभयो । उहाले यस्ता संस्थाहरुले बाल श्रमको न्युनिकरण गर्नको लागि पहल गर्दा अझ शिक्षामा सबै बालबालिकाको पहुँच हुने बताउनुभयो । सामुदायिक द्यिालयका शिक्षकहरु आफनै छोराछोरीलाई निजि विद्यालयमा पढाउने गरेको छ । यस्ता शिक्षकहरु दक्ष नभएको उहाले बताउनुभयो ।

    विष्णुु गाउँपालिका अध्यक्ष जवाहरलाल यादवले बाल विकास नेपालले विष्णु गाउँपालिकामा उदाहरणीय कार्य गरेको बताउनुभयो । भारतको सिमाना जोडिको यो पालिकामा कुनै पनि संघ संस्थाले पाइला नटेकेको समयामा बाल विकास नेपालले गाउँपालिकामा आएर बाल कक्षा, शिक्षा तथा विभिन्न सिपमुलक शिक्षामा लगानी गरेर उदाहरणीय कार्य गरेको बताउनुभयो । उहाले ७ सय ५३ स्थानिय तहहरु मध्ये विष्णु गाउँपालिकामा पहिलो पटक शिक्षा ऐन बनाएर शिक्षक अभावलाई परिपुर्ति गर्ने कार्य आफुले गरेको गाउँपालिका अध्यक्ष यादवले बताउनुभयो ।

    बरहथवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदन थापाले कार्यक्रमहरुमा औपचारिकता भन्दा बढि मुख्य कुरामा फोकस गर्नु राम्रो हुने बताउनुभयो । बाल विकास नेपालकाका कार्य उत्कृष्ट छ, जिवन उपयोगि शिक्षाको बर्तमान समयमा माग भएको प्रशासकीय अधिकृत थापाले बताउनुभयो । जागिर मुखि शिक्षा भन्दा बाल विकास नेपालले जिवन उपयोगी शिपमुलक शिक्षामा ध्यान पुरयाएको हुदाँ अझ बढि सिपमुलक शिक्षामा बाल विकास नेपालले कदम चालनु पर्ने प्रशासकीय अधिकृत थापाले मनत्वय राखेका थिए। 

   सो अवसरमा समीक्षा बैठकलाई सम्बोधन गर्दै एड एट एक्सन नेपालकी ईलिजा तुलाधरले कार्यक्रम सञ्चालनमा कोभिडले केही असर गरेको बताउनु भयो । उहाँले सबैको सुझावलाई दृष्टगत गरी सुधार, परिमार्जन र सफल बनाउन आफुहरु लाग्ने बताउनु भयो । कोविडकै कारण कार्यक्रमको बजेट कम भएको भएपनि बजेटका बिषयमा बोडमा छलफल गर्ने बताउनु भयो ।

शिक्षा विकास तथा समन्वय ईकाइका प्रतिनिधि सोभित साहका अनुसार बाल विकास नेपालले गरेको सबै कार्यहरु ठिक भएको तर गरेको कार्यहरुको प्रगति विवरण सम्बन्धित निकायमा नपठाएको बताउनुभयो।

कार्यक्रम विष्णु गाउँपालिकाका अध्यक्ष जवाहर राय, जिल्ला समन्वय समिति उपसभापती जमुना पराजुली, एड एट एक्सन नेपालका प्रबन्धक ईलिजा तुलाधर, लेखा प्रमुख महेश बख्रेल,बरहथवा नगरपालिका, विष्णु गाउँपालिका लगायत विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

कोरोना कालमा दिनरात खटेका सर्लाहीका ८० भन्दाबढी स्वास्थ्यकर्मीहरु सम्मानित

 





लोकतन्त्र समाचारदाता---

सर्लाही,फाल्गुन १६

   हरिवन नगरपालिकाले २४ औं स्वास्थ्य सेवा दिवसको अवसरमा सर्लाहीका ८० भन्दाबढी स्वास्थ्यकर्मीहरुलाई सम्मानित गरेको छ।

    कोरोना कालको समयमा आफ्नो स्वास्थ्यको ख्याल नगरि बिरामीहरुको सेवामा दिनरात खटेका  र अन्य समयमा पनि विभिन्न माध्यमबाट स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउँदै आएका हरिवन नगर भित्रका स्वास्थ्यकर्मीहरुलाई  दिवसको अवसर पारेर दोसल्ला ओढाई सम्मान पत्र र पुरस्कार  दिएर सम्मान गरेको छ।

नगर स्वास्थ्य तथा सामाजिक विकास शाखाले स्वास्थ्य दिवसको अवसरमा एक कार्यक्रमको आयोजना गरेर जिल्ला स्वास्थ्य कार्यालय, बागमती सेवा समाजसहित नगरभित्रका निजी तथा सरकारी स्वास्थ्य संस्थामा कार्यरत ८० बढी स्वास्थ्यकर्मी, नर्सिङ स्टाफ, महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान गरेको हो। 

   सम्मानित हुनेहरुमा जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख तथा प्रादेशिक अस्पताल मलंगवा सर्लाहीका मेडिकल सुपरिटेन्डेन्ट डा. नवलकिशोर झा, बागमती सेवा समाजका अध्यक्ष भरत कुमार कार्की, हरिवन अस्पतालका प्रमुख डाक्टर ईन्द्रजीत महतो, स्वाभिमान अस्पतालका प्रवन्ध निर्देशक गौरी महतो, नगर स्वास्थ्य शााखाका संयोजक शशीकान्त सिंह, सह–संयोजक रामबाबु चौधरी, सासापुर स्वास्थ्य चौकीका प्रमुख डा. श्याम विनोद कुशवाहा, स्टाफ नर्स लक्ष्मी आचार्य लगायत रहेका छन् । 

   नगर स्वास्थ्य समितिका संयोजक एवं हरिवन नपा वडा न- ८ का वडा अध्यक्ष यज्ञ विनोद ढुंगेलको अध्यक्षता तथा  मेयर गणेश प्रसाद प्रसाईंको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उप मेयर रेणुका पौडेल, प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधान, नगर शिक्षा संयोजक उपसचिव नवराज निरौला, विभिन्न वडाका वडाअध्यक्षहरु, नगरका चार ओटै हेल्थपोष्टसहित सबै स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी, नर्सिङ्ग स्टाफ, महिला स्वास्थ्य स्वयंसेविकालगायतको उपस्थिति रहेको थियो । 


भन्सार छलेर ल्याएको सामान प्रहरीको नियन्त्रणमा





लोकतन्त्र समाचारदाता---

सर्लाही,फाल्गुन १६

    प्रहरीको गस्ती टोलीले नेपाल- भारत सिमा क्षेत्रबाट भन्सार छलेर नेपाल ल्याउँदै गरेको ४० हजार रुपैयाँ बराबरको समान बरामद गरेको छ ।

   गस्तीमा रहेको प्रहरी टोलीले आइतवार राति ९ बजेको समयमा दुईवटा साइकलमा राखेर भन्सार छली अवैध रुपमा नेपाल भित्र्याई रहेको ४० हजार रुपैयाँ मुल्य बराबरको १ बोरा चिनी,२९ पिस साडी र २ बोरा चप्पल बरामद गरेको हो ।सामान ल्याउने ब्यक्तिहरु प्रहरीलाई देख्ने बित्तिकै सामान छाडेर साईकल लिएर फरार भएको र उक्त सामानहरु प्रहरीले नियन्त्रणमा लिएर प्रहरी चौकीमा राखेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिए।






मलंगवामा प्रसुती स्याहार घरभेट शुक्ष्म योजना सम्बन्धि अभिमुखीकरण गोष्ठी सम्पन्न





लोकतन्त्र समाचारदाता---

सर्लाही,फाल्गुन १६

     प्रसुती पश्चात् मातृ मृत्युदर हटाउने उदेश्यले प्रसुती स्याहार घरभेट शुक्ष्म योजना सम्बन्धि एकदिने अभिमुखिकरण गोष्ठी सर्लाहीको सदरमुकाम मलंगवामा सम्पन्न भएको छ।

   सोमबार मलंगवा नपा स्वास्थ्य शाखाको आयोजना,  प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदीको अध्यक्षता तथा  नगर प्रमुख निरसल साहको प्रमुख आतिथ्यतामा एकदिने अभिमुखीकरण गोष्ठी  सम्पन्न भएको हो ।

  गोष्ठीमा प्रशिक्षकको रुपमा रहनु भएका जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीका पब्लिक हेल्थ नर्सिंग निरिक्षक लक्ष्मी श्रेष्ठले सहभागीहरुलाई मातृ मृत्यु दर तथा नवजात शिशु मृत्यु दर कसरी कम गर्न सकिन्छ भन्ने विषयमा जानकारी गराएका थिए ।साथै उनले सुत्केरी भएका महिलाहरुलाई घरमै गइ पि.एन.सी होम भिजिट गर्ने र कुनै पनि जटिलता युक्त समस्या भएमा आमा र नवजात शिशुलाई तुरुन्तै प्रषण गरि आमा र नवजात शिशुको स्वास्थ्य सुनिश्चित गर्ने जानकारी गराएका थिए।

   नगर उपप्रमुख शान्ती शबनम मिकरानी तथा प्रादेशिक अस्पताल मलंगवाका मेडिकल सुपरिटेन्डेन्ट नवल किशोर झा को विशिष्ट आतिथ्यतामा  सम्पन्न भएको उक्त गोष्ठीमा स्वास्थ्य संयोजक राम नन्दन राय लगायत नगर भित्रका सबै स्वास्थ्य संस्थाका इन्चार्ज तथा फोकल पर्सनहरुको सहभागीता रहेको मनपा वडा न-२ वडा स्वास्थ्य कार्यालयका इन्चार्ज एवं हेल्थ असिस्टेन्ट  संजय कुमार यादवले जानकारी दिए।

   मलंगवा नपा वडा न-८ स्थित बिरबलको खिचडीमा आयोजित एकदिने अभिमुखिकरण गोष्ठीको संचालन मनपा जनस्वास्थ्य निरिक्षक विष्णुकान्त साहले गरेका थिए।

   



Sunday, February 27, 2022

पुलबाट मोटरसाइकल खस्दा एकको मृत्यु, एक घाइते

 




लोकतन्त्र समाचारदाता---

सर्लाही,फाल्गुन १५

    सर्लाहीको धनकौल गाउँपालिका।वडा न-२मा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

     शनिवार राति साढे ८ बजेतिर नयाँरोड-मधुवनी सडकखण्ड स्थित बरहथवाबाट कौडेनातर्फ जाँदै गरेको प्र-२-०३-०१९ प ३६०५  नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई लंगडा पुलबाट खसेर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन्।

   मृत्यु हुनेमा मोटरसाइकल चालक कौडेना गापा-३ बस्ने अन्दाजी वर्ष ३५ को मनोज चौधरी रहेको छ। मृतक चौधरीको बरहथवा स्थित भेनस अस्पतालमा राति ९ बजे उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।  

    त्यस्तै, दुर्घटनामा परी घाइते भएका मोटरसाइकल पछाडी सवार कौडेना-३ बस्ने भोला मुखियाको छोरा अन्दाजी वर्ष १८ को दिपेश मुखिया सोही अस्पतालमा उपचार भइरहेको जिप्रका सर्लाहीका प्रवक्ता एवं प्रहरी निरिक्षक जटाशंकर यादवले जानकारी दिए।

चोरीको मोटरसाइकलसहित शंकरपुरको जंगलबाट दुईजना पक्राउ

 





लोकतन्त्र समाचारदाता---

सर्लाही,फाल्गुन १५

  सर्लाही प्रहरीले चोरीको मोटरसाइकलसहित दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बागमती नगरपालिका वडा न-९  शंकरपुर बस्ने चन्देश्वर महतोको छोरा अन्दाजी वर्ष १९ को बिनोद महतो र अन्दाजी वर्ष १८ को अनिल कुमार यादव  रहेका छन् ।

    शनिवार दिउँसो १२ बजेको समयमा बागमती नपा वडा न-९ बाट ज ६ प २६०४ नम्बरको हिरो एसप्लेण्डर मोटरसाइकल हराएको भन्ने प्राप्त  सूचनाको आधारमा खोजतलास गर्ने क्रममा आइतवार बिहान ८ बजे शंकरपुरको जंगलमा लुकाएर राखेको अवस्था प्रहरी टोलीले उनीहरुलाई  पक्राउ गरेको हो ।

   घटनाको अनुसंधान भइरहेको प्रहरीले जनाएको छ।


करिब साढे ९ किलो अवैध लागुऔषध गाँजासहित दुईजना पक्राउ

 





लोकतन्त्र समाचारदाता---

सर्लाही,फाल्गुन १५

   अवैध लागुऔषध गाँजासहित प्रहरीले शनिवार दुई जनालाई पक्राउ गरेको छ ।

   पक्राउ पर्नेहरुमा ब्रह्मपुरी  गाउँपालिका वडा न-४ का अन्दाजी २० वर्षीय तमने साह र सोही ठाउँका अन्दाजी वर्ष १८ का मोहम्मद शेराज  रहेको  जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । 

    उनीहरुलाई शनिवार राति १० बजेको समयमा  लालबन्दी नपा वडा न-२ जुटपानी नहर स्थित नवलपुरबाट सदरमुकाम मलंगवातर्फ BR 30 W 6564 भारतीय नम्बरको मोटरसाइकलमा जाँदै गरेको अवस्थामा गस्तीमा खटिएका प्रहरी टोलीले शंका लागेर मोटरसाइकललाई रोकेर चेकजाँच गर्दा चामलको सेतो बोरामा लुकाइ छिपाइ राखेको ९ किलो ४०० ग्राम लागुऔषध गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं  प्रहरी निरीक्षक जटाशंकर यादवले जानकारी दिए ।

  पक्राउ परेका दुबैजना माथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

  हालै केहीदिन अगाडि जिल्लाको नवलपुरमा माछा बोक्ने गाडीबाट ठुलो मात्रामा लागुऔषध गाँजासहित दुईजना मानिसलाई प्रहरीले पक्राउ गरेको थियो।


मलंगवा नगरपालिका वडा न-२ पब्लिक स्कुल नजिक झण्डा बजारमा फाल्गुन १७ गते मंगलबार महाशिवरात्रिको दिनदेखि महावीरी झण्डा मेला लाग्ने,मेलको सम्पूर्ण तयारी पुरा

 





मनोज यादव---

सर्लाही,फाल्गुन १५

    धर्म, कला संस्कृतिको जगेर्ना, मनोरञ्जन तथा आन्तरिक व्यापार व्यवसायलाई प्रवर्द्धन गर्ने उद्देश्यले सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न-२  पब्लिक स्कुल स्थित झण्डा बजारमा भब्य महावीरी झण्डा मेला महोत्सवको आयोजना हुन गइरहेको छ। फाल्गुन १७ गतेदेखि आयोजना हुने उक्त झण्डा मेला महोत्सवको सम्पूर्ण तयारी पूरा भइसकेको आयोजक मेला समितिका अध्यक्ष भोला साह सोनारले जानकारी दिएको छ।

   विगत लामो समयको अन्तराल पछि आयोजना हुन गइरहेको यो मेला यही फाल्गुन १७ गतेदेखि फाल्गुन २५  गतेसम्म चल्ने अध्यक्ष साहले जनाएको छ ।

    यस मेला महोत्सवमा बाघवाला रथमा सवार राम,सीता र लक्षमणको मुर्तिसहितको बजरंगबलीको प्रतीक कलात्मक १५ खण्डको झण्डा दर्शनकालागि राखिएको छ ।त्यसैगरी मेलामा स्थानीय स्तरमा उत्पादन भएका कृषि तथा भौतिक सामाग्रीको बिक्री तथा प्रदर्शनको साथै सांस्कृतिक कार्यक्रम, स्वास्थ्य शिविर, मनोरञ्जनका लागिविभिन्न खेल तमासा,सर्कसको व्यवस्था गरिएको छ।

  मेला हेर्न आउने दर्शनार्थीहरुको सुरक्षालाई ध्यानमा राखेर स्थानीय प्रशासनको तर्फबाट चौबीसै घण्टा सुरक्षाकर्मी र ठुलो संख्यामा मेला समितिका स्वयंसेवकहरु परिचालन गरिने मेला समितिले जनाएको छ।


मलंगवाका युवा समाजसेवी संजय गुप्ता दम्पतीले गरिब विपन्न विद्यार्थीलाई स्कुल बैग र स्टेसनरी वितरण गरि विवाहको वार्षिकोत्सव मनाए

 



 

लोकतन्त्र समाचारदाता---

सर्लाही,फाल्गुन १५

    मलंगवाका युवा समाजसेवी तथा वरिष्ठ उद्योगी व्यवसायी संजय गुप्ता दम्पतीले आइतवार परेको आफ्नो विवाहको १९ औं वार्षिकोत्सबको अवसरमा गरिब तथा विपन्न परिवारका विद्यार्थीहरुलाई स्कुल ब्याग र स्टेसनरी सामाग्री वितरण गरेका छन्।

    उहाँहरुले आफ्नो छोरा निमिष रौनियारको साथमा मलंगवा नगरपालिका वडा न-४ स्थित वि- केयर वि- क्यान निशुल्क कोचिंङ सेन्टरमा अध्यनरत् कक्षा ५ र ६ का ४० जना विद्यार्थीहरुलाई स्कुल ब्याग र स्टेसनरी सामाग्री वितरण गरेका हुन।

 

  प्राथमिक विद्यालय मलंगवा-४ मा आइतवार वि-केयर वि-क्यान निशुल्क कोचिङ्ग सेन्टरले आयोजना गरेको  एक कार्यक्रमका बिच समाजसेवी गुप्ता दम्पतीले सो सामाग्रीहरु वितरण गरेका हुन ।सामाग्री वितरण गर्दै गुप्ताले  पार्टी गरेर विवाहको वार्षिकोत्सब मनाएर ठुलो रकम खर्च गरि आफ्नो विलासिता देखाउनु भन्दा कुनै सामाजिक कार्यमा खर्च गर्दा आत्मसन्तुष्टी मिल्ने भएकोले आफुहरुले गरिब विपन्न परिवारका बालबालिकाहरुलाई एउटा सानो सहयोगको रुपमा स्कुल ब्यागसहित स्टेसनरी सामाग्री वितरण गरेको बताउनुभयो ।यसअघि पनि गरिब समुदायलाई विभिन्न समयमा सहयोगहरु गर्दै आएको र आगामी दिनहरुमा पनि यसैगरी सहयोग गर्दै जाने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो।

   सामाग्री पाइसके पछि बालबालिकाहरु गुप्ता दम्पती र उहाँहरुका छोरालाई मिठाइ खुवाएर विवाहको वार्षिकोत्सबको शुभकामनाको साथै धन्यवाद दिएका थिए।

   सो अवसरमा प्रावि मलंगवा-४का प्रअ राम आश्रय यादव, शिक्षक,शिक्षिका,विद्यार्थी,आयोजक संस्थाका सदस्य तथा पत्रकारहरुको उपस्थिति रहेको वि- केयर वि- क्यान निशुल्क कोचिंङ सेन्टरका अध्यक्ष सरोज कुमार यादवले जनाए ।





Saturday, February 26, 2022

सर्लाहीका २ सय भन्दाबढी यादव समुदायका जेष्ठ नागरिकहरु सम्मानित





लोकतन्त्र समाचारदाता---

सर्लाही,फाल्गुन १४   

   गोपाल सेवा समिति सर्लाहीले जिल्लाको बरहथवा नगरपालिका वडा न-१३ बिनवा टोलमा एक समारोहको आयोजना  यादव समुदायका जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ। 

   सत्य नारायण यादवको अध्यक्षता तथा कृष्ण यादवको सभापतित्वमा सनिवार बिनवा टोलमा आयोजना भएको समितिको जिल्ला सम्मेलनमा जसपा नेपालका मधेश प्रदेश सभापति तथा प्रदेश सभा सदस्य अशोक यादव लगायत कार्यक्रममा उपस्थित अतिथिहरुले यादव समुदायका २ सय भन्दाबढी जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको आयोजकले जानकारी दिए।उहाँहरुलाई फुलमाला र दोसल्ला ओढाएर सम्मान गरिएको थियो।

    कार्यक्रममा गोपाल सेवा समितिका केन्द्रिय अध्यक्ष  कौशल किशोर यादव,  एमाले मधेश प्रदेश कमिटी सदस्य राम बहादुर राय यादव, जयप्रकाश यादव, इलाका प्रहरी कार्यालय बरहथवाका डिएसपी  ओम प्रकाश यादव लगायत यादव समुदायका विशिष्ट ब्यक्तिहरुको उपस्तिथि रहेको थियो ।






देशहितको लागि MCC घातक हो भने यसको विरोध सबै जनताले गर्छ

 



लेख📝

सुभाष कुमार कर्ण🖋️

मलंगवा, सर्लाही


   देशहित को लागि यदि MCC घातक हो भने यसको बिरोध सबै जनताले गर्नु देश प्रती को इमानदारिता र राष्ट्र प्रेम को प्रतीक हो र यसको बिरोध मा जसरी जनता ज्यान दिन पनि तयार छ धन्यवाद र सलाम छ वीर योद्धा प्रती ,

     तर ती वीर योद्धा सग आग्रह छ आफ्नै देश का होनहार ,देशलाइ नया रुप दिन सक्ने युवाहरु त्यही अमेरिकामा किन गइ रहेका छ्न ,त्यहा कमाउने ,त्यहाको सुखसुबिधा कासाथ एसोआराम को जिन्दगी बिताउन वातावरण के नेपाल मा परिकल्पना गर्न सकिन्न ,के त्यस्तो सुविधा हाम्रै नेपाल मा दिन सकिन्न ,खै त्यसका लागि कहिले हामि युवा हरु आन्दोलन गरेका छौ ,युवा लाई रोजगार को सुबिधा ,व्यापार को सुविधा ,परिवर्तन र आधुनिक शिक्षा प्रणाली को सुविधा सरकार देउ भन्ने कहिले आन्दोलन गरेका छौ ,सायद कल्पना पनि कहिले गरेका छैनौ ।आन्दोलन गर्यो तर कसका लागि चतुर चलाक नेता को लागि ,स्वार्थ पुर्ण  राजनीति का लागि ,ज्यान दिऔ कसका लागि चप्पल को यात्रा बाट शुरु गरेको राजनिती गर्ने व्यक्तिका लागि जो आज अमेरिका मा नभए पनि अमेरिका को जिवन व्यतीत गरिरहेका छ्न ,तर आम नागरिक अहिले पनि बिदेश भौतारिरहेक  छ्न कोइ सुखी छ्न भने कोइ नरकिय जिवन बिताउन बाध्य छ्न ।अहिले का युवा पुस्ता का नेतृत्व गरिरहेका ज्ञानेन्द्र साही ,सिस्टम सग चुनौती का साथ लडिरहेका पर्यटन मन्त्री ,प्रेम सन्जेल ,रमेश खरेल ,प्रदिप कडेल अरु पनि यस्ता युवा नेतृत्व कर्ता हरु सग आग्रह अनुरोध सुझाव सल्लाह छ अब को आन्दोलन देशमा परिवर्तन को लागि क्रान्ती को बिगुल फुक्नुस ,बिदेश मा बसेका युवाहरु आफ्नै देशमा फर्किने वातावरण को सिर्जना गर्नुस ।नेताहरु लाई बाच्ने आधार का लागि मात्र आन्दोलन नगरौ ,स्मरण गरौ जो  नेताहरु MCC को बिरोध गरि रहेका छ्न तिनी हरु खै आँसु ग्यास खाएको ,खै पानी को फोहोरा अगाडि आएको ,आएका छौ आम जनता होस गरौ बलिदान मात्र नेताको छोराछोरिका लागि हैन देश को जनताका लागि होस । पानी को फोहोरा जनताहै नेता खाओस,गोलि जनताको छाती हैन नेता को छाती ताकोस अनि मात्र हामिले परिकल्पना गरेको देश बन्न सक्छ ,युव रोजगार आफ्नै देश मा श्रीजना गर्न सक्छौ ,यदि जापान बम पछि को विकसित रास्ट्र बन्न सक्छ भने नेपाल किन बन्न सक्दैन आन्दोलन मात्र सत्ता परिवर्तन का लागि हैन आन्दोलन देश को सिस्टम परिवर्तन का लागि हुनु पर्छ ,आन्दोलन परिवर्तन शिक्षा को लागि हुनु पर्छ,आन्दोलन भ्रष्ट सिस्टम को बिरोध मा हुनु पर्छ ।

     "अब को क्रान्ति युवा रोजगारका लागी गुणस्तरीय शिक्षाका लागि नागरिक को अधिकारका लागि" 

      

कुटपिट मुद्दाका फरार दम्पती पक्राउ





लोकतन्त्र समाचारदाता---

सर्लाही,फाल्गुन १४

    प्रहरीले सर्लाहीको बागमतीबाट  कुटपिट मुद्दाका फरार एक प्रतिवादी दम्पतीलाई  पक्राउ गरेको छ ।

   सर्लाही जिल्ला अदालत मलंगवा 

 बाट जरिवानाको फैसला सुनाइएका बागमती  नगरपालिका वडा न-२ का ४० वर्षीय बिजय चौधरी र निजकी श्रीमती वर्ष ३५ की सुनिता देवी चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी निरीक्षक जटाशंकर यादवले जानकारी दिए ।

    इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरी टोलीले  उनीहरुलाई शुक्रवार बिहान १० बजे बागमती नपा-२ स्थित आफ्नै घरबाट पक्राउ गरि नियमअनुसारको जरिवाना असुल उपर गर्न जिल्ला अदालत मलंगवामा पेश गरिएको प्रनी यादवले बताए ।





Friday, February 25, 2022

सर्लाहीमा मतदाता नामावली अद्यावधिक कार्यक्रम संचालन गर्ने तयारी

 




लोकतन्त्र समाचारदाता---

सर्लाही,फाल्गुन १३

   जिल्ला निर्वाचन कार्यालय सर्लाहीले मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने तयारी थालेको छ । आगामी बैसाख ३० गते  तोकिएको स्थानीय तहको निर्वाचनको पुर्वतयारी स्वरुप निर्वाचन कार्यालय सर्लाहीले जिल्लामा  मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने तयारी थालेको हो ।

   निर्वाचनको तयारी स्वरुप जिल्ला निर्वाचन कार्यालय सर्लाहीले शुक्रवार सदरमुकाम  मलंगवामा मतदाता नामावली अद्यावधिक (दावी विरोध समेत) कार्यक्रम सम्वन्धी सरोकारवालाहरु सँग अन्तरक्रिया गरेको छ ।

    कार्यक्रममा निर्वाचन आयोगले तय गरेको निर्वाचन सम्वन्धी कार्यक्रम कार्यान्वयन तालिका भित्र रहेर मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको जिल्ला निर्वाचन अधिकारी दिवाकर भुजेलले जानकारी गराउनु भएको छ ।  आगामी फाल्गुन २० गतेदेखि २६ गतेसम्म मतदाता नामावली अद्यावधिक गर्दै निर्वाचनका लागि अद्यावधिक मतदाता नामावली तयार पारिने जिनिअ भुजेलले बताए। 

    मतदाता नामावली अद्यावधिक  कार्यक्रम मार्फत मतदाताले मतदाता नामावलीमा आफ्नो नाम विवरण हेर्न एवं अद्यावधिक गर्न, मतदाता नामावलीमा भएका दोहोरोपन वा त्रुटी हटाउने, मतदाता नामावली ऐनले व्यवस्था गरेका कार्यहरु सम्पन्न गरी हालसम्म संकलित मतदाता नामावलीलाई वैधानिकता प्रदानका कार्य गरिने कार्यक्रममा जानकारी दिइएको छ ।

  त्यस्तै  नाम दोहोरो परेका मतदाताको विषयमा जाँचबुझ गरी निर्णय गर्ने, बसाई सरेका र मृत्यु भएका मतदाताको सम्बन्धमा जाँचबुझ गरी निर्णय गर्ने, नागरिकता त्याग गरेका वा रद्द भएका मतदाताको नाम हटाउने लगायतका कामहरु गरिने छ।

    जिल्ला समन्वय समितिको सभाहलमा प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमको अध्यक्षता तथा  जिल्ला समन्वय समितिका सभापति मेथुर चौधरीको प्रमुख आतिथ्यतामा जिल्ला निर्वाचन कार्यालय सर्लाहीले  आयोजना गरेको उक्त कार्यक्रममा विभिन्न सुरक्षा निकायका प्रमुख, स्थानीय तहका कार्यकारी प्रमुख,विभिन्न राजनैतिक दलका प्रतिनिधि लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो।

लैंगिक,बाल र अपाङ्गता उत्तरदायी शिक्षण विधि सम्बन्धि २ दिने तालिम मलंगवामा सम्पन्न

   

 


लोकतन्त्र समाचारदाता---

सर्लाही,फाल्गुन १३

   शिक्षकहरुको लागि लैंगिक,बाल र अपाङ्गता उत्तरदायी शिक्षण विधि सम्बन्धि दुई दिने तालिम सर्लाहीको मलंगवामा सम्पन्न भएको छ ।

   प्रेरणा,एच.आइ तथा भि.एस.ओ को संयुक्त आयोजनामा विहीबारदेखि मलंगवा स्थित होटल महेन्द्रमा सुरु भएको उक्त तालिम शुक्रवार सम्पन्न भएको छ । किशोरी सशक्तिकरणकालागि शिक्षा कार्यक्रम (ईंगेज् प्रोजेक्ट) अन्तर्गत जिल्लाको मलंगवा नगरपालिका र कौडेना गाउँपालिका अन्तर्गतका ११ वटा सामुदायिक विद्यालयका  नेपाली र सामाजिक शिक्षा विषय पढाउने शिक्षक तथा शिक्षिकाहरुलाई बालमैत्री,अपाङ्गता मैत्री र लैंगिक उत्तरदायी भएर विद्यालयमा कसरी  शिक्षण सिकाइ गर्न सकिन्छ भन्ने  जानकारी गराउने उद्देश्यले तालिम संचालन गरिएको प्रेरणाका परियोजना संयोजक रामचन्द्र चौधरीले जानकारी दिए । 

   तालिममा मलंगवा नपा र कौडेना गापा अन्तर्गत ११ वटा विद्यालयका २२ जना शिक्षक शिक्षिकाहरु तथा हरिपुर नपामा रहेका दृष्टि विहिन सम्बन्धि श्रोत विद्यालयका एकजना दृष्टिविहीन  श्रोत शिक्षकको सहभागी रहेको थियो। उनीहरुहरुलाई फ्युचर नेपालका नवराज थापा र सुजा राईले प्रशिक्षण दिएको भिएसओ का जिल्ला परियोजना अधिकृत राजन कुमार कर्णले जानकारी दिए।

    तालिममा प्रशिक्षार्थीहरुसहित आयोजक संस्थाहरु प्रेरणा र भिएसओ का कर्मचारीहरुको पनि सहभागीता रहेको थियो। यस तालिमलाई विशेष रुपमा शहरीकरण गर्न  भिएसओ नेपालकी कमला उप्रेती समेत काठमाडौबाट आउनुभएको थियो।


सर्लाही जिल्लामै पहिलो पटक महिन्द्राले ल्यायो चार्ज गरेर गुड्ने ट्रियो विद्युतीय अटो,एकपटक फुल चार्ज गर्दा १३० किमी गुड्ने

 





मनोज यादव---

सर्लाही, फाल्गुन १३

   महिन्द्राको आधिकारीक वितरक अग्नी ग्रुप अन्तर्गतको अग्नी इनर्जी प्रालिले वैष्णवी ट्रेडर्स मलंगवा मार्फत मधेश प्रदेशको सर्लाही जिल्लामा पहिलोपटक  विद्युत चार्जबाट १३० किलोमिटर गुडाउन मिल्ने ट्रियो इलेक्ट्रीक ल्याएको छ । कम्पनीले जिल्लाको सदरमुकाम मलंगवा नगरपालिका वडा न-८ मा बिहीबार  एक कार्यक्रम मार्फत ट्रियो अटो सार्वजनिक गरेको छ।

     नेपालको सडकमा १ वर्षसम्मको  परिक्षण पश्चात् विक्री सुरु गरेका ट्रियोले यहाँको सबै किसिमको भूभागमा उत्कृष्ट पर्फमेन्स प्रदान गर्ने कम्पनीले दावी गरेको छ।यसले भारतमा विक्री सुरु भएको छोटो समयमा नै ग्राहक एवं प्रयोगकर्तालाई सन्तुष्ट पारेको कम्पनीले बताए ।  

   महिन्द्राले उत्पादन गरेको ट्रियोमा ७.६ किलोवाट आवरको लिथियम आयोन व्याट्री दिइएको छ । उक्त व्याट्रीलाई ३ घन्टा ३० मिनेटमा घरायसी विजुलीको प्रयोगबाट फुलचार्ज गर्न सकिन्छ ।एक पटक फुलचार्ज गर्दा ८ यूनिट विद्युत खपत हुन्छ । उक्त विद्युतको अधिकतम मूल्य १२ रुपैयाँले हिसाव गर्दा पनि फुल चार्जमा ९६ रुपैयाँ मात्र खर्च हुन्छ । एक पटकको फुलचार्जबाट १३० किलोमिटर यात्रा गर्न सकिने सर्लाही जिल्लाको लागि ट्रियोको आधिकृत विक्रेता  वैष्णवी ट्रेडर्स मलंगवाका प्रोपराइटर तथा उद्योग वाणिज्य संघ मलंगवाका अध्यक्ष विरेन्द्र साहले जानकारी गराउनुभएको छ।

प्रोपराइटर साहका अनुसार यसको पावर पनि अहिले बजारमा उपलब्ध पेट्रोल तीन पाङ्ग्रेको भन्दा राम्रो रहेको छ । विद्युतीय भएको कारण यसको टर्क उत्कृष्ट छ । ४४ एनएम टर्क र १३.६ पीएस पावर प्रदान गर्छ ।

    यसको प्रयोग गरेवापत एउटा चालकले वार्षिक २ लाख रुपैयाँ इन्धन खर्च बचाउन सक्ने देखिन्छ । क्लच र गियर नभएकोले यसलाई चलाउन पनि निकै सजिलो हुन्छ । चालक सहित ३ जनाले आरमदायी यात्रा गर्न सक्ने छ।धेरै प्रविधिमैत्री ट्रियोमा दुई ड्राइभिङ मोड, नेमो मोविलिटी प्लेटफर्म जस्ता चालकलाई सहयोग गर्ने फिचरहरु पाउन सकिन्छ । कम्पनीले यसमा  ३ वर्षको वारेन्टी प्रदान गरेको वैष्णवी ट्रेडर्सका प्रोपराइटर साहले जानकारी दिएको छ।

  मलंगवा नपा वडा न-८ विद्युत प्राधिकरणको छेउमा राजश्री सिनेमाहल अगाडी रहेको यस वैष्णवी ट्रेडर्सले चाँडैनै महिन्द्रा ट्रेक्टरको बिक्री,पार्ट्सको बिक्री, सर्भिस सेन्टर र स्कारपियो गाडीको सर्भिस सेन्टर पनि संचालनमा ल्याउने साहले जानकारी गराउनुभएको छ। 






 

सन्त अल्पमाई रामनारायण यादवले सिटिईभिटिको ३४ औं वार्षिक उत्सव विभिन्न कार्यक्रमहरु गरि मनाए

 





लोकतन्त्र समाचारदाता---

सर्लाही,फाल्गुन १३

    सर्लाहीको सदरमुकाम मलंगवा वडा न-२ मा रहेको सन्त अल्पमाई रामनारायण यादव पोलिटेक्निक इन्स्टिच्युटले प्रविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्(सिटिईभिटि)को ३४ औं वार्षिकोत्सव विभिन्न कार्यक्रमहरुको आयोजना गरि धुमधामका साथ मनाएका छन् ।

   बिहीबार सिटिईभिटिको ३४ औं  वार्षिकोत्सबको अवसर पारेर  शिक्षालय प्रमुख मंकेश्वर सिंहको अध्यक्षतामा कार्यक्रमको आयोजना गरि बिहिवार बिहान शिक्षालय परिसरको सरसफाइ, अन्तर शिक्षालय हाजिरी जवाफ प्रतियोगिता, विभिन्न मनोरञ्जनात्मक क्रियाकलापहरुका साथसाथै यस शिक्षालयमा अध्यनरत उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरि सम्मान गरिएको छ।

   सोही अवसरमा हिंदु स्वयंसेवक नेपाल एवं सेवा इन्टरनेसनल नेपालले कोरोना संक्रमणलाई ध्यानमा राखेर यस शिक्षालयलाई सर्जिकल माक्स समेत प्रदान गरेको छ।

   हिंदु स्वयंसेवक नेपालका अध्यक्ष लालबाबु यादवले शिक्षालयका शिक्षक, विद्यार्थी, हिंदु स्वयंसेवक नेपालका सदस्य मनिष कुमार यादव तथा पत्रकारहरुको उपस्थितिमा शिक्षालय प्रमुख सिंहलाई सर्जिकल माक्स हस्तान्तरण गरेको सन्त अल्पमाई रामनारायण पोलीटेक्निक इन्स्टिच्यटले जनाएको छ।

   

Thursday, February 24, 2022

लालबन्दीका एक दम्पतीले छोराको जन्मदिनको उपलक्ष्यमा ५० जना बिद्यार्थीहरुलाई स्कुल ब्याग बाँडे

 


रितिक अधिकारी---

सर्लाही,फाल्गुन १२

      लायन्स क्लव अफ लालबन्दी सिटिले सर्लाहीको  ईश्वरपुर नगरपालिका वडा न-१२ घारीबथान स्थित रहेको एक विद्यालयमा अध्यनरत ५० जना बिद्यार्थीहरुलाई स्कुल ब्याग बितरण गरेको छ ।

    बैदेशिक रोजगारिको शिलशिलामा जापानमा बस्दै आएका लालबन्दीका गौरव दाहाल र शान्ति दाहालले

आफ्नो छोरा बिहान दाहालको जन्मदिनको उपलक्ष्यमा गौरव दाहालका भाइ पर्वत दाहालले लायन्स क्लव अफ लालबन्दी सिटी मार्फत घारीबथान स्थित राष्ट्रिय जनता प्राथमिक विद्यालयका बिद्यार्थीहरुलाई स्कुल ब्याग  बितरण गरेका हुन।

   उनीहरुले बिहिवार एक कार्यक्रमका बिच लायन्स क्लव ईन्टरनेशनलका जोन चेयर पर्सन राजकुमार न्यौपाने, विद्यालयका प्रधानाध्यापक तथा  शिक्षकहरुको उपथितिमा स्कुल ब्याग बितरण गरेको विद्यालयले जनाएको छ। 

Tuesday, February 22, 2022

नेकपा एकिकृतको विस्तारित बैठकमा एमसिसीको विरोध

 



लोकतन्त्र समाचारदाता---

सर्लाही,फाल्गुन १०

नेकपा एकिकृत समाजवादी सर्लाही  जिल्ला कमिटीको विस्तारित वैठकले अमेरिकन सहयोग परियोजना एमसीसी राष्ट्रघाती रहेको भन्दै बिरोध गरेको छ ।

   मंगलबार सर्लाहीको  लालवन्दीमा भएको  बैठकले एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्न नहुने निर्णय गरेको पार्टी प्रचार विभाग प्रमुख चूडामणि वाग्लेले जानकारी दिनुभयो ।

बैठकलाई सम्बोधन गर्दै पार्टी स्थायी कमिटी सदस्य तथा मधेश प्रदेशका मन्त्री सत्रुघन महतोले एमसीसी सम्झौताको विपक्षमा आफ्नो पार्टी रहेको प्रष्ट पार्नु भयो । उहाले एमाले अध्यक्ष केपि ओलीलाई लक्ष्य गर्दै एमसीसी जस्तो देश बिरोधी सम्झौतालाई गलत भन्ने शाहस सम्म नभएको नेतालाई सबैले चिनेको आरोप लगाउनु भयो ।

बैठकमा पार्टी नेताहरु लक्ष्मण पौडेल, रबिन्द्र बैठा, बेची लुङेली, देबेन्द्र राय, अन्जु पौडेल, गोबिन्द अधिकारी लगाएतले मन्तव्य राख्नु भएको थियो ।

बैठकले आगामी स्थानीय निर्वाचनको तयारी,  संगठन विस्तार, सदस्यता प्रदान, पालीकाको अवस्था अध्ययन  लगायतका निर्णय गरेको प्रचार प्रमुख वाग्लेले बताउनु भयो ।

 बैठकले पार्टी नीतिवारे थप प्रष्ट पारेको र अब सर्लाही जिल्लाभर नेकपा एकीकृत समाजबादीको अभियान तिब्र हुने प्रचार विभाग प्रमुख वाग्लेको दावी छ ।

प्रोग्रेशिभ फाइनान्स लिमिटेड बरहथवा शाखाको औपचारिक उद्घाटन सम्पन्न


===मधेश प्रदेशम थप नयाँ शाखाहरु  विस्तार गर्ने योजना===

मनोज यादव---

सर्लाही,फाल्गुन १०

  प्रोग्रेशिभ फाइनान्स लिमिटेड बरहथवा शाखाको औपचारिक रुपमा उद्घाटन गरिएको छ। ६ महिना अगाडीदेखि  बरहथवा नगरपालिका स्थित शाखाबाट सेवा संचालन गर्दै आएको यस  फाइनान्सको मंगलबार एक समारोहका बिच औपचारिक उद्घाटन गरिएको छ।

   फाइनान्सले प्रदान गरिरहेका सम्पूर्ण सेवा सुविधाहरू उक्त नयाँ शाखाहरूबाट समेत प्रवाह गरिने जानकारी फाइनान्सले दिएको छ ।

   देशका प्रमुख शहरहरूमा आफ्नो शाखा विस्तार  गरी सरल तथा सहज रुपमा वित्तीय सेवा उपलब्ध गराउने उद्देश्य अनुरूप यस बरहथवा शाखा कार्यालयको स्थापना गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाईले बताउनुभयो ।उहाले यसअघि  सर्लाहीको सदरमुकाम मलंगवामा शाखा संचालनमा ल्याइसकेको यस संस्थाको बरहथवा शाखाबाट बरहथवा नगर क्षेत्रसहित आसपासका अन्य गाउँपालिका तथा नगरपालिकाहरूमा बसोबास गर्ने स्थानीय जनताको घरदैलोमै गई उच्चतम प्रविधि उपयोग गरी वित्तीय सेवा उपलब्ध गराउने जानकारी गराउनुभयो। 

  एटीएम, मोबाइल बैंकिङ, ई–बैंकिङ, कनेक्ट आइपीएस, सी आस्वालगायत प्रविधिमा आधारित आधुनिक डिजिटल बैकिङ सेवाहरूको उपलब्धता रहेको यस फाइनान्सको कुल ८० करोड भन्दाबढी चुक्ता पुँजी रहेको संस्थाले जनाएको छ।

   फाइनान्सका संचालक समिति अध्यक्ष किशोर महर्जनको अध्यक्षता तथा बरहथवा नपा नगर प्रमुख देवानन्द महतोको प्रमुख आतिथ्यता र  उद्योग वाणिज्य संघ बरहथवाका पुर्व अध्यक्ष निरंजन दासको विशिष्ट  आतिथ्यतामा भएको कार्यक्रममा इलाका प्रशासन कार्यालय बरहथवाका कार्यालय प्रमुख राजेश राय,फाइनान्सका भुपु संचालक लक्ष्मण यादव,क्षेत्रिय प्रमुख विनय कुमार साह,इप्रका बरहथवाका प्रहरी निरिक्षक नरेन्द्र कुमार मरवैता,उद्योगी,व्यापारी,विभिन्न संघसंस्थाका प्रतिनिधि तथा पत्रकारहरुको उपस्थिति रहेको बरहथवा शाखाका प्रमुख मनोज कुमार रायले जनाएको छ।

    उद्घाटनको अवसरमा फाइनान्सले संस्थालाई सहयोग पुर्याउने ब्यक्ति तथा कार्यक्रममा सहभागी अतिथिहरुलाई मायाको चिनो समेत प्रदान गरेको मधेश प्रदेश क्षेत्रिय प्रमुख विनय कुमार साहले बताए ।उनले फाल्गुन ८ गते जनकपुर र ९ गते महोत्तरीको गौशालामा पनि शाखाहरुको औपचारिक उद्घाटन गरिएको र निकट भविष्यमा थप नयाँ शाखाहरुको समेत विस्तार गर्ने योजना रहेको जानकारी गराए।

   कार्यक्रमको संचालन रेडियोकर्मी संतोष कर्णले गरेका थिए।


सर्लाहीको विष्णु गाउँपालिकामा एकै दिनमा ३ दर्जन भन्दा बढी मानिसलाई स्यालले टोक्यो


 


लोकतन्त्र समाचारदाता---

सर्लाही,फाल्गुन १०

    सर्लाहीको विष्णु गाउँपालिकामा आज(मंगलबार)बिहान एकैसाथ ३ दर्जन भन्दा बढी गाउँलेहरुलाई टोकेपछि  पुरै गाउँ आतंकित भएका छन् ।

   नेपाल भारत  सिमानामा  पर्ने विष्णु गाउँपालिका वडा न-२ पकडी र वडा न-४ मधुवन गाउँमा बिहान-६ बजे तिर सिमापारी भारततर्फबाट आएको एउटा स्यालले करिब ४० जना मानिसलाई टोकेको हो ।

   बिहानै गाउँका महिला,पुरुष र बालबालिकाहरु नित्यकर्मको लागि घर बाहिर निस्केको बेला अचानक आक्रमण गरेपछि उनीहरु घाइते भएका हुन्।

   स्यालको आक्रमणबाट घाइते भई प्रादेशिक अस्पताल मलंगवामा उपचारको लागि आएका पिडितहरुका अनुसार बिहान ६ बजे गाउँमा  एक्कासी देखा परेको एउटा ठूलो आकारको स्यालले घर बाहिर र घर भित्र रहेका पुरुष,महिला र बालबालिकाहरुलाई पालैपालो गरि आक्रमण गरि टोकेको र केही साना बालबालिकाहरुलाई घर भित्र ओछ्यानमा सुतिरहेको अवस्थामा पनि टोकेर घाइते बनाएको थियो।  घाइते अवस्थामा आएका केही मानिसहरुको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको र गम्भीर घाइतेहरुलाई काठमाडौ रेफर गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट नवल किशोर झाले बताए ।

    गाउँलेहरुले उक्त स्याललाई मारेका  छन् ।

Monday, February 21, 2022

नेपाललाई कृषिमा आत्मनिर्भर तथा निर्यातमुलक बनाउनका लागि कृषिलाई प्राथमिकतामा राखेर बजेटमा वृद्धि गर्नुपर्ने कृषि मन्त्री महेन्द्र राय यादवको भनाई

 



एसपी यादव----

काठमाडौ, फागुन ९

     सोमबार सिंहदरबार स्थित कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सभाहलमा आयोजित प्रेस ब्रीफिङ्गमा संघीय सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवले भने, देशलाई कृषिमा आत्मनिर्भर तथा निर्यातमुलक बनाउनका लागि सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राख्नुका साथै बजेटमा वृद्धि गर्नुपर्ने उनले बताएका छन् ।

    पत्रकारहरुको प्रश्नको जवाफ दिदै मन्त्री यादवले भने, मलखादको समस्या परम्परागत समस्या रहेको छ । करिब ४ हजार मेट्रीक टन रासायनिक मल अहिले पनि मौज्दात रहेको र थप २० हजार मेट्रीक टन युरिया मल ७ देखि १० दिनभित्र आउने उनले बताए । नेपाल सरकारले विगतका वर्षहरुको तुलनामा यसवर्ष अनुदानको रासायनिक मल आपूर्ति, वितरण र व्यवस्थाकालागि आवश्यक पर्ने वजेटमा उल्लेखनीय वृद्धि गरेको छ । तर, कोभिड-१९ को महामारी तथा र्इन्‍धन समस्याको कारणले गर्दा विश्वव्यापी रुपमा मलखादको उत्पादनमा कटौति हुन जाँदा अन्तरार्ष्ट्रिय बजारमा मलको मूल्य समेत निरन्तर रुपले वढ्दै गएको उनले जनाए । आ.व.२०७७/७८ मा रासायनिक मल खरिदका लागि विनियोजित वजेट रु १२ अर्ववाट ४ लाख २ हजार मे. टन मल खरिद गरी विक्री वितरण गरिएकोमा यस वर्ष अन्तर्राष्ट्रिय वजारमा रासायनिक मलको मूल्य भारी मात्रामा वढेको हुदा चालु आ.व. मा रासायनिक मल खरिदका लागि नियमित वजेटमा विनियोजित १५ अर्वको अतिरिक्त रु १२ अर्व ७१ करोड रुपैयाँ थप गरिएको मन्त्री यादवले बताए ।

    उनले भने, माग बमोजिम आपूर्ति हुन नसकेकोले मौज्दात मलको सन्तुलित वितरण कार्य भइरहेको छ । र यस समस्याको ठोस निकास भनेको "मल कारखानाको स्थापना नै हो" । ठेक्का प्रणाली, कार्यविधि, ऐन र नियमावली किसानमुखि नभएको कारणले पनि मलखादको समस्या बढेको उनले बताए ।

   रासायनिक मलको व्यवस्थापनमा मन्त्रालयको विशेष ध्यान केन्द्रित रहको बताउदै मन्त्री यादवले भने, G to G मार्फत मल आयात गर्दा सहज रुपमा व्यवस्थापन गर्न सकिने तर यस सम्बन्धमा अख्तियारबाट G to G का लागि निर्धारित भनिएको कोटा ३० प्रतिशत मात्र रहेकोले G to G को परिमाण बढाउन तत्काल आवश्यक पहल थाल्ने उनले बताए  । चैतसम्ममा मल आपूर्तिका लागि कुनै कसर बाकी नरहेको समेत उनि बताउछन् ।

    बेमौसमी बर्षाका कारण धानबालीमा भएको क्षतिको राहत स्वरुप तत्काललाई ३१ जिल्लाका लागि १ अर्व रुपैया अर्थ मन्त्रालयबाट निकासा भएको मन्त्री यादव बताउँछन् । उनले किसानको वर्गीकरण आवश्यक भएकोले राहत वितरण कार्यमा पनि किसानलाई वर्गीकरण गरिएको बताए । विभिन्न जिल्लाहरुमा वर्गीकरणकै आधारमा किसानहरुको सुची दर्ता भएको र सोहि अनुरुप किसान परिचय पत्र वितरण गरिने उनले जनाएका छन् ।

   उखु उत्पादन घट्नुको मुख्य कारण नस्ल सुधार आवश्यक रहेको उनले बताए । खेती योग्य जमिनमा बसोबास बढिरहेको प्रति मन्त्री यादवले चिन्ता व्यक्त गर्दै भने, अब खेतीयोग्य र बस्तीयोग्य जमिन वर्गीकरण गर्न आवश्यक रहेको जनाए। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले लक्षित गरेको उपलब्धि नदेखिएकोले तत्काल समिक्षा गर्न आवश्यक रहेको उनले औल्याएका छन् ।

    कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवले पदभार सम्हाले देखी १ सय दिनको अवधिमा उनको नेतृत्वमा मन्त्रालयले सम्पादन गरेका महत्वपूर्ण एवं मुख्य मुख्य कार्यहरुको बारेमा प्रेस ब्रीफिङ्गमै जानकारी गराइएको थियो ।

   जस अनुसार, बेमौसमी वर्षाका कारण प्रभावित कृषकहरुलाई राहत कार्यको समन्वय, रासायनिक मलको आयात र बिक्री वितरण, विभिन्न बालिहरुको न्यूनतम समर्थन मूल्य तोकिएको, उखु किसानलाई अनुदान रकम भुक्तानी सम्बन्धमा पहल, नयाँ नीतिहरुको निर्माण, परिमार्जन र नयाँ विधेयक निर्माण, नयाँ नियमावली, कार्यबिधि, मापदण्ड तयारी र हस्तान्तरण, खाद्य स्वच्छ्ता तथा गुणस्तर कार्यक्रम, नयाँ जोन तथा पकेट स्थापना तथा संचालन, कृषि ईन्टर्न तथा कृषि स्नातक परिचालन, प्रविधि प्रसारण कार्यक्रम, पशु नस्ल सुधार, मत्स्य विज उत्पादन कार्यक्रम, खोप उत्पादन तथा व्यवस्थापन, नमुना संकलन तथा परिक्षण, पशुपन्छी, मत्स्य तथा बालि बिमा लगायतका महत्वपूर्ण कार्यहरु रहेको छ ।


   मन्त्री यादवको अध्यक्षतामा भएको सो कार्यक्रममा मन्त्रालयका सचिव द्वय डा. गोविन्द प्रसाद शर्मा र निरु दाहाल पाण्डे, सह- सचिव एवं प्रवक्ता प्रकाश कुमार सन्जेल, मन्त्रालय मातहतका कर्मचारीहरु लगायत सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।