Monday, October 30, 2023

मलंगवा बजारको सरसफाइमा झाडु लिएर सडकमा निस्किए मेयर नागेन्द्र प्रसाद यादव

 


 मलंगवा बजारको सरसफाइमा झाडु लिएर सडकमा निस्किए मेयर नागेन्द्र प्रसाद यादव


मनोज यादव----

सर्लाही,कात्तिक १३ गते

     मलंगवा नगरपालिकाका मेयर नागेन्द्र प्रसाद यादव मलंगवा बजारको सरसफाइका लागि आफैँ सडकमा उत्रिएका छन्। सर्लाही जिल्लाको सदरमुकाम समेत रहेको मलंगवा नगरपालिकाले जिल्लाकै सबैभन्दा पुरानो बजार क्षेत्रको सरसफाइका लागि  सुरु गरेको विशेष सरसफाइ अभियानको सोमबार बिहान मेयर यादवले नगरपालिका कार्यालय अगाडीको सडकमा झाडु लगाएर उक्त अभियानको उद्घाटन गरेका छन् । 

  सफा, सुन्दर, रमणीय तथा धुवाँधुलो र प्रदूषणमुक्त सहर बनाउनका लागि सुरु गरिएको यस अभियानमा मेयर यादव सँगै  प्रमुख प्रशासकीय अधिकृत रणजित कुमार यादव ,नगरपालिका अन्तर्गतका १२ वटै वडाका वडाअध्यक्षहरु,कार्यपालिका सदस्यहरु,कर्मचारीहरु र नेपाल प्रहरी तथा सशस्त्र प्रहरीहरू झाडु लिएर बजार सरसफाइमा निस्किएका हुन्। 

     आउँदै गरेको दिपावली र छठ पर्वलाई समेत लक्षित गरेर सुरु गरिएको विशेष सरसफाइ अभियान अवधीभर मलंगवा नगरपालिकाको मुख्य बजारक्षेत्र,विभिन्न वडा ,टोल,मठमन्दिर, पोखरी तथा तलाउहरुको सरसफाइ गरिने मेयर यादवले जानकारी दिए। 

आफ्नो घरआँगन र बजार क्षेत्र सधैँ सफा राख्नुपर्छ भनेर बजारवासीहरूलाई हौसला प्रदान गर्नका लागि आफैँ सडकमा  झाडु बोकेर निस्किएको मेयर यादवले बताए ।अहिले विभिन्न खालका रोगहरू डेंगु,मलेसिया  र स्क्रबटाइफसजस्ता महामारी फैलिइरहेको अवस्थामा त्यसकोसमेत नियन्त्रण गर्नका लागि सरसफाइ अभियानको सुरुवात गरिएको उनले बताए ।

   सोमबारबाट सुरु भएको विशेष सरसफाइ अभियान निरन्तर रूपमा जारी रहने र यसको लागि नगरपालिकाका मेस्तरहरूलाई पनि काममा खटाइएको सूचना अधिकृत राजकुमार अधिकारीले जनाएको छ।




सर्लाही प्रहरीद्वारा ट्याक्टरसहित २ सय ५० किलो लागूऔषध गाँजा बरामद /दुई हप्ताको अवधीमा ३ करोड भन्दा बढीको अवैध सामान भन्सारलाई बुझाइयो

 


सर्लाही  प्रहरीद्वारा ट्याक्टरसहित २ सय ५० किलो लागूऔषध गाँजा बरामद /दुई हप्ताको अवधीमा ३ करोड भन्दा बढीको अवैध सामान भन्सारलाई बुझाइयो


मनोज यादव----



सर्लाही,कात्तिक १३ गते

    जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलीले जिल्लाको कबिलासी नगरपालिका वडा न-९ सलेमपुर स्थित भलुवाहीबाट २ सय ५० किलो लागूऔषध गाँजा बरामद गरेको छ । प्रहरीलाई प्राप्त सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलीले शनिवार राती भलुवाहीबाट झिम नदिको बाटो भएर सदरमुकाम मलंगवा नगरपालिका वडा न-११ गम्हरिया तर्फ ज १ त ५५५१ नम्बरको ट्याक्टरमा १९ वटा पोका बनाएर लोड गरेर लाँदै गरेको  २५० किलो लागूऔषध गाँजा बरामद गरिएको  प्रहरी उपरीक्षक प्रविण धितालले आज पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन् । बरामद गरिएको गाँजाको मुल्य ३० लाख रहेको प्रहरी उपरीक्षक धितालले जनाएको छ।

   प्रहरीले लागूऔषध गाँजासहित सो  ट्याक्टरका चालक कबिलासी नगरपालिका वडा न-१० बस्ने अन्दाजी वर्ष २८ को भाग्यनारायण महतो र सोही वडा बस्ने अन्दाजी वर्ष २४ को रवीन्द्र रायलाई पनि पक्राउ गरि कार्यवाही प्रक्रिया अगाडी बढाइसकेको छ।

   त्यसैगरी जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी इकाईहरुले सोही दिन(कात्तिक १२ गते)जिल्लाका विभिन्न सिमानाकाहरुबाट भन्सार छली,चोरीपैठारी  गरि ल्याएका करिब २ लाख ७१ हजार ६८० रुपैयाँ बराबरका विभिन्न सामानहरु 

बरामद गरि भन्सार कार्यालयलाई बुझाएको पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ।

   आज दिउँसो जिप्रकाको सभाहलमा  आयोजना भएको पत्रकार सम्मेलन मार्फत प्रहरी उपरीक्षक धितालले जिप्रका र मातहतका प्रहरी इकाईबाट गत असोज २८ गतेदेखि कात्तिक ११ गतेसम्म चलाइएको चेकजाँचबाट भारतबाट अवैध रुपमा भन्सार छली नेपाल भित्र्याउँदै गरेको करिब ३३ लाख ७१ हजार रुपैयाँ बराबरको खाद्यान्न ,कपडा,कस्मेटिक,इलेक्ट्रोनिक र पटाखा लगायतका सर-सामानहरु नियन्त्रणमा लिएर भन्सारमा बुझाएको जानकारी गराएका छन् ।

   प्रहरीले सो अवधीमा विभिन्न लागूऔषधसहित १२ जना ब्यक्तिलाई  पक्राउ गर्नुका साथै ट्राफिक कारवाहीबाट ५ लाख १६ हजार ५ सय रुपैयाँ राजश्व संकलन गरेका छन् ।

      सर्लाही प्रहरीले मात्र २ हप्ताको अवधीमा ३ करोड भन्दा बढीको अवैध सर-सरसामान बरामद गरि भन्सारलाई बुझाइसकेका छन।


Thursday, October 26, 2023

ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरि कडा शुरक्षा बिच सर्लाहीको मलंगवामा मुर्ति विसर्जन सम्पन्न

 


ठुलो संख्यामा  सुरक्षाकर्मी परिचालन  गरि कडा शुरक्षा बिच सर्लाहीको मलंगवामा मुर्ति विसर्जन सम्पन्न 


मनोज यादव---

सर्लाही,कात्तिक ९ गते

    विगतको घटनालाई ध्यानमा राखेर स्थानीय प्रशासनले सर्लाहीको सदरमुकाम मलंगवामा व्यापक सुरक्षाकर्मी परिचालन गरेर दुर्गा माताको मूर्ति बुधबार  विर्सजन गरिएको छ । 

   केही हप्ता अगाडी मलंगवामा विश्वकर्मा पुजा र गणेश पुजाको मूर्ति विर्सजन गर्न जाने क्रममा दुई समुदायबीच  विवाद उत्पन भई साम्प्रदायिक  दङ्गा भड्किएको थियो। सोही घटना पुन: दोहोरिन नदिन विशेष सुरक्षा व्यवस्था अपनाएर मुर्ति विसर्जन गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले जानकारी दिए । घटस्थापनाकोकोमलप्रसाद धमलाले दिनदेखि दशमी मेलाको दिनसम्मै मलंगवाको माहोल शान्त रहेको र सो अवधीमा आयोजना भएको कलश यात्रा,बेलन्यौत र १०८ ध्वजा यात्रा पनि बिना कुनै विवाद सम्पन्न भएको प्रजिअ धमलाले जानकारी गराए।

      जिल्ला सुरक्षा समिति सर्लाहीले मलंगवाको तीन स्थानमा भइरहेको दुर्गा पुजाको मुर्ती विसर्जनका लागि पुजा समितिका पदाधिकारीहरु सँग समन्वय ,सहजीकरण बैठक बसी मुर्ति घुमाउने रुट, विसर्जन गर्ने जलाशय तथा समय निर्धारण गरिएको थियो। सर्वसम्मतिबाट कायम गरिएको रुट ,स्थान र समय अनुसारनै मुर्ति विसर्जन भएको छ। 

    मुर्ति घुमाउने रुटको विषयलाई लिएर मलंगवाको वडा न-१० स्थित जिविस चौकमा जुलुसमा सहभागी भएका केही युवाहरु र सुरक्षाकर्मी बिच सामान्य विवाद भएपनि सो विवाद केही बेरमा शान्त भएको थियो। कायम गरिएको रुट अनुसार मुर्ति नघुमाईकन पुरै बजारमा मुर्ति घुमाउन पाउनुपर्ने भन्दै उनीहरूले विवाद उत्पन्न गरेको सुरक्षामा खटिएका प्रहरीले बताएका छन् ।

   यसवर्ष सदरमुकाम मलंगवासहित सर्लाहीका ६५ ठाउँमा दुर्गा माताको मूर्ति बनाएर पूजा आयोजना गरिएको छ। झडप हुने डरले मुर्ति  विसर्जनमा सर्वसाधारणको सहभागिता घटेको देखिन्थ्यो।

   यसअघि मलंगवामा विश्वकर्मा पूजा र गणेश पूजामा मूर्ति विसर्जन गर्न जाँदा दुई समुदायबीच झड्प भई कफ्र्यु आदेश नै जारी गर्नुपरेको थियो । दुर्गा पुजा शान्ति पुर्वक सम्पन्न भएकोले दिपावली र छठ पर्व रमाइलो गरि मनाउन पाउने  भन्दै स्थानीय सर्वसाधारण नागरिकहरुले खुसी व्यक्त गरेका छन् ।


Wednesday, October 25, 2023

दशैंमा डिग्री ढाेल नबजाएकाे भन्दै दलित माथि कुटपिट

 दशैंमा डिग्री ढाेल नबजाएकाे भन्दै दलित माथि  कुटपिट 



मंजित मधेशी

महाेत्तरी ,कात्तिक ८ गते

    

   महाेत्तरीकाे गाैशाला नगरपालिकामा डिग्री ढाेल बाजा नबजाएकाे भन्दै दलितलाई वडा अध्यक्षकाे निर्देशनमा वडा सदस्य सहित ६ जनाकाे समुहले कुटपिट गरेको घटना बाहिरिएको हाे। 

  गाैशाला नगरपालिका वडा नम्बर ७ बस्ने वर्ष ५५ काे रामेश्वर महरा चमारलाई कार्तिक १ गते बुधबार राति १०:३०बज्जे सुतिरहेको अवस्थामा घरमै वडा नम्बर ७ काे वडा सदस्य जितेन्द्र ठाकुर,सहित प्रवेश राउत ,जाेगिन्द्र पासवान ,शिवु चाैधरी, अशोक चाैधरी लगाईत सुबाेध चाैधरीले रक्सीमा मातेकाे समुहले हु हल्ला गरेर घरबाट वाहिर निकालेर कुटपिट गरेको पिडित महराले बताउनु भएको छ। 

    दशाैंभरी गाउँमा घुमि-घुमि बजाईने ( डिग्री ढाेल बजा) नबजाएपछि वडा अध्यक्ष मनाेज चाैधरीकाे निर्देशनमा महरालाई कुटपिट गर्दै  डिग्री बजा बजाउनै पर्छ भन्ने समाजिक संञ्जाल फेस बुकमा अडियो रेकर्ड भाईरल भएको छ। 

    यता महाेत्तरी जिल्ला महरा चमार जतिकाे मुखिया प्रकाश महरा संविधानमै उल्लेख नभएको यस्तो जबर्जस्ती जनप्रतिनिधिबाटै सामन्तवादी सैलिमा हर्कत गर्नु निन्दनिय रहेको बताउनुभएको हाे । 

  त्यसतै युवा समाजसेवी दलित नेता बिनाेद महरा कानुनकाे दायरा बमोजिम कार्यवाही नभए आन्दोलन गर्ने बाताउनुभयो । यता गाैशाला नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष मनाेज चाैधरीले आफुले नै वडा सदस्य सहितकाे समुहलाई रातकाे बेला  छलफलकाे लागि मात्र पठाएको र पछि आफू पनि गएको र छलफलकै क्रममा धक्कामुकि भएको बताउनुभयो । 

   पिडित महराले ईलाका प्रहरी कार्यलय गाैशालामा उजुरी दिएको र अनुशाधान भइरहेको ईलाका प्रहरी गाैशालाका ईन्चार्ज मनाेज यादवले जानकारी दिनुभएको छ। 

    पछिल्ला ६० महिनामा मधेश प्रदेशमा दलितमाथि भएका अपराधीक घटनाहरु नेपाल प्रहरी मधेश प्रदेश कार्यलय जनकपुरकाे तथ्यांक अनुसार छुवाछूतको घटना १२, बलात्कारकाे घटना ३०३ ,बलात्कार गरेर ५ जनाकाे हत्या र,कर्तव्य ज्यान सम्बन्धि ८० जना माथि भएको उल्लेख रहेकाे छ।

Tuesday, October 24, 2023

झिझियाको संरक्षण गर्न मलंगवा स्थित फुलमत माईमा प्रतियोगिताको आयोजना, गीतमा आधुनिकता समेटिएपछि नयाँ पुस्ताबीच लोकप्रिय बन्दै झिझिया नृत्य

 


झिझियाको संरक्षण गर्न मलंगवा स्थित फुलमत माईमा प्रतियोगिताको आयोजना, गीतमा आधुनिकता समेटिएपछि नयाँ पुस्ताबीच लोकप्रिय बन्दै झिझिया नृत्य 

    

मनोज यादव

सर्लाही,कात्तिक ७ गते।

     मैथिली भाषामा गाइने विभिन्न झिझिया गीतले यतिवेला पुरै मधेस प्रदेश  गुन्जयमान भएको छ । झिझिया नृत्यमाअहिले मधेसका किशोरी तथा महिलाहरु झुमिरहेका छन्।नेपालीहरुको महान चाड वडादशैंमा घटस्थापनाको दिनदेखि नै सुरु हुने झिझियाको गीत तथा नृत्यमा सर्लाही जिल्ला लगायत मधेस प्रदेश भरिका किशोरी तथा महिलाहरु रमाई रहेका छन् ।

     झिझिया कुनै जाति विशेषको नभई सम्पूर्ण मैथिल समाजको लोकनृत्य हो।यो लोकनृत्य  सर्लाही जिल्ला लगायत महोत्तरी, सिरहा, धनुषा, बारा, पर्सासहित भारतको मिथिला क्षेत्रमा चर्चित छ । मिथिला क्षेत्रमा झिझिया नृत्यको आफ्नै मौलिकता, पहिचान र इतिहास रहेको छ । तर समाज रुपान्तरणसँगै  मिथिलाञ्चलको पहिचान बोकेका सामाचकेवा लगायत अन्य विभिन्न लोक नृत्यहरु सँगै यो पनि हराउँदै गइरहेको छ। पछिल्लो केही वर्षदेखि गाउँघर देखि शहर बजारमा हराउँदै गएको झिझिया नृत्यलाई जिवन्त राख्ने प्रयास भइरहेको छ। विजयादशमीको अवसरमा स्थानीय स्तरमाआयोजना हुने विशेष पुजा तथा मेला महोत्सवमा झिझिया नृत्य प्रतियोगिताको आयोजना गरि यसको प्रचारप्रसार र संरक्षणको काम भइरहेको छ देखिन्छ ।

    दशैको समयमा गाउँ घर माझिझिया नृत्यले निरन्तरता पाइरहँदा शहर बजारमा समेत विभिन्न युवा क्लब तथा संघ संस्थाहरुको पहलमा झिझिया नृत्यको आयोजना गरिँदै आएको छ । पछिल्लो समय झिझियाको गीतमाआधुनिकतालाई पनि समेट्न थालिएकोले अहिलेका युवा पिंढीमा यस नृत्यको लोकप्रियता बढ्दै गएको छ ।

    यसै क्रममा  बढ्दो आधुनिकता सँगै समाजबाट हराउँदै गइरहेको झिंझिया नृत्यको पहिचानलाई जोगाइराख्न र नयाँ पुस्तालाई यसको महत्त्वको बारेमा जानकारी गराउन सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न-८ मा रहेको फुलमत माई (झिलमिलिया माई)को मन्दिरमा स्थानीय युवाहरुले झझिया नृत्य तथा गीत प्रतियोगिताको आयोजना गरेका छन् । फुलमत माई व्यवस्थापन समितिको आयोजना तथा समाजसेवी बिरेन्द्र कुमार गुप्ताको अध्यक्षता र मधेस प्रदेश सांसद कौशल किशोर रायको प्रमुख आतिथ्यतामा सोमबार  सम्पन भएको उक्त प्रतियोगितामा स्थानीय कलाकारहरुले आ-आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए।

    यस किसिमका कार्यक्रमहरुको आयोजनाले बालबालिकाहरुमा भएका प्रतिभालाई उजागर गर्ने साथै अवसर पाएको खण्डमा देश विदेश्मा गएर आफ्नो गाउँ टोलको नाम र मान राख्न मदत मिल्ने कुरामा आफु विश्वस्त रहेको समाजसेवी गुप्ताले बताउनुभयो । 

   प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गर्दै प्रमुख अतिथि एवं प्रदेश सांसद रायले ओझेलमा पर्दै गएको मिथिलाञ्चलको लोकनृत्य झिझिया पछिल्लो केही वर्षदेखि स्थानीय संघ संस्था तथा स्थानीयबासीहरुको सक्रियता एवं पहलमा जोगिन थालेको बताउनुभयो ।

    मलंगवामा मात्र नभइ विजयादशमीको अवसरमा पारेर सर्लाही जिल्लाभरीनै स्थानीय संघ संस्था तथा समाजका प्रबुद्ध वर्गहरुले झिझिया नृत्य प्रतियोगिताको आयोजना गर्न थालेका छन् ।जसले गर्दा नयाँ पुस्तामा यसको लोकप्रियता बढदै गएको छ । 

    गएको केही वर्षदेखि दशैंमा नगरका प्रत्येक चौक चौकमा आयोजना हुने दुर्गा मेला तथा  शक्तिपीठहरुमा सांस्कृतिक कार्यक्रमको रुपमा झिझिया नृत्य गरिदै आएको छ । पछिल्लो समय दशैं बाहेक पनि विभिन्न कार्यक्रमहरुमा झिझिया नृत्यलाई विशेष स्थान दिन थालिएको छ। 

   






Monday, October 23, 2023

सर्लाहीका शक्तिपीठमा भक्तजनको भुइचो, पर्यटकीय गन्तव्य बन्दै धार्मिक स्थल

 


सर्लाहीका  शक्तिपीठमा भक्तजनको भुइचो, पर्यटकीय गन्तव्य बन्दै धार्मिक स्थल


मनोज यादव----

सर्लाही,कात्तिक ६ गते।

   नेपालीहरुको महान चाड बडा दशै सुरु भए लगतै सर्लाही लगायत तराईका बिभिन्न स्थानका मठ मन्दिरहरुमा भक्तजनहरुको घुइचो लागेको छ । दुर्गा मन्दिरहरुमा देवी भगवती र दुर्गाको मुर्तिमा बिशेष पुजाआजा गर्ने चलन रहेको छ । तराईका जिल्लामा दुर्गा भगवतीको मूर्ति राखिएको स्थान एक प्रकारले धार्मिक पर्यटकीय गन्तव्य जस्तै बनेको छ ।

   प्रदेश न–२ अन्तर्गत पर्ने सर्लाही जिल्लाको सदरमुकाम मलंगवा स्थित राजदेवी माई, चमेली माई ,बौधी माई लगायत जिल्लाका विभिन्न पालिकाहरुमा अवस्थित देवी दुर्गाका मठ मन्दिर तथा मुर्ति स्थलहरुमा सप्तमीको दिनदेखि नै विशेष पुजा गर्ने र बली चढाउने भक्तहरुको घुइँचो लागेको छ । मठ मन्दिर तथा मुर्ति स्थलहरुमा दशै सुरु भएको घटस्थापनाको दिनदेखि नै दैनिक रुपमा बिशेष पुजा आजा हुनुका साथै भजन किर्तनहरु समेत भैरहेका छन । दशैको बेलामा बिभिन्न शक्ति पिठहरुमा श्रद्धालु भक्तजनहरुले पुजा अर्चना गरेमा पारिवारिक सुख शान्ति मिल्ने धार्मिक बिश्वास रही आएको छ ।

   मधेशी समुदायमा घटस्थापना देखि नै दुर्गा मन्दिर नभएका ठाउँमा  माटोको मूर्ति नै बनाएर भएपनि पुजा गर्ने र बलि दिने चलन रहेको छ । अहिले विभिन्न चौकमा भब्य पण्डाल भित्र निर्माण गरिएका मुर्ति स्थल तथा दुर्गा मन्दिरहरुमा ठुलो मेला लागेको छ । 

    तराई मधेसमा यसलाई  दसैँ, दुर्गा पूजा, दशहरा, दशमी, भगवती पूजाको नामले पनि मनाउने गरिन्छ । यस्ता माटाका मुर्तिहरु सदरमुकाम मलंगवा ,लालबन्दी ,हरिवन, बयलबास, बरहथवा, कर्मैया लगायत जिल्लाभरीका गाउँहरुमा स्थापना गरिएका छन् । दुर्गा भगवतीको मूर्ति राखिएको स्थान एक प्रकारले धार्मिक पर्यटकीय गन्तव्य जस्तै बनेको छ । जहाँ आसपासका गाउँ तथा टोलबाट भक्तजनहरु पूजा–आराधना गर्न र मेला भर्न आउने गर्दछन । दसैँमा लाग्ने यस्तो मेलालाई मौलिक परम्पराको रुपमा लिइने जानकारहरु बताउँछन् ।

   त्यसोत मधेसी समुदायमा टीका तथा जमरा लगाउने चलन हुँदैन । यद्यपि कतिपय ठाउँमा पहाडको सिको गरेर टीका लगाउने चलन पनि शुरु भएको छ। दसैँमा डायन तथा धामी झाँक्रीले आफ्नो तन्त्र विद्या सिद्ध गर्ने भएकाले आफ्ना बालबालिकालाई यस्तो कार्यमा प्रयोग गर्नबाट रक्षा गर्न कम्मरमा हिंग, लसुन र निधारमा कालो टीका लगाइदिने प्रचलन रहँदै आएको बुढापाकाहरुको भनाइ छ ।

डायनबाट जोगिनका लागि दसैँको पहिलो दिन घटस्थापनाको दिनदेखि तराई मधेशका गाउँगाउँमा झिझिया नृत्य शुरु हुन्छ । यो नृत्य दसैँको अन्तिम दिन अर्थात् पूर्णिमाको दिन समाप्त हुन्छ । यो नृत्य गर्ने महिलाहरु डायनबाट जोगिन, धामी झाँक्रीहरुलाई गाली गर्ने, त्यसको विरोध गर्ने र सराप्ने गर्दछन् ।

पूर्णिमाको दिन झिझियाको विशेष पूजा गरि पानीमा बिसर्जन गरेर त्यसलाई समापन गर्ने चलन रहेको छ । 

   दसैँको पहिलो दिन अर्थात् घटस्थापनाको दिन कलश पूजा हुन्छ । हजारौं कुमारी कन्याहरु जात्रा निकालेर जलाशयमा गई माटोको कलशमा जल ल्याएर दुर्गा मन्दिरमा राख्छन । षष्ठी अर्थात दसैँको छैठौं दिन बेललाई फूलबारीमा निमन्त्रणा दिन्छन्, जसलाई तराई मधेशको स्थानीय भाषामा ‘बेला नवतन भनिन्छ ।

  त्यसको भोलिपल्ट अर्थात् सप्तमी दसैँको सातौं दिन निमन्त्रणा दिएका बेललाई लिन जान्छन् । ती बेललाई पूजापाठ गरी डोलीमा राखेर दुलही ल्याएझैँ मन्दिर तथा मुर्ति स्थलमा ल्याएर पूजापाठ गरी बेललाई भित्र्याइन्छ । अष्टमी अर्थात आठौं दिनको पूजालाई अर्धरात्री पूजा भनिन्छ । जसलाई कालरात्री पनि भनिन्छ । त्यस रात गरिने दुर्गा भगवतीको पूजालाई निशा पूजा पनि भनिन्छ । रातभर पूजा आराधना हुन्छ । कोटिन जोगिनको पूजा पनि त्यही दिन हुन्छ ।

  अन्तिममा गएर बधम बध पूजा हुन्छ र बलि दिन शुरु हुन्छ । भक्तजनहरुले भाकल गरे अनुसार खसी, बोका, परेवा, हाँस आदिको बलि दिन्छन । नवमी अर्थात् नवौं दिन दुर्गा भगवतीको पूजापाठ तथा आरती हुन्छ र विजया दशमीको अन्तिम दिन दुर्गा भगतवतीका साथै सबै देवीदेवताको बिसर्जनको पूजा हुन्छ । त्यो दिन दुर्गा भवगतीलाई बिदाई गरिन्छ, जसलाई जात्रा भनिन्छ । त्यो दिन यात्राका लागि एकदमै शुभ मानिन्छ । कसैलाई बाहिर जानु छ वा आउनु छ भने त्यस दिनलाई शुभ मानिन्छ । त्यो दिन चेलीबेटी, बुहारी भित्र्याउने वा पठाउने काम पनि हुन्छ ।

  मेला लगाउनका लागि बनाइएका पण्डालमा दुर्गा भगवतीका साथै सरस्वती, काली, लक्ष्मी, गणेश, शिव पार्वतीको साथै महिषासुरको पनि मूर्ति राखेर दसैँभर उनीहरुको पनि पूजापाठ गरिन्छ ।


Saturday, October 21, 2023

विजया दशमीको सातौ दिन(फुलपाती)मलंगवामा देवी दुर्गाको भब्य ध्वजा यात्रा निकालियो

 


विजया दशमीको सातौ दिन(फुलपाती)मलंगवामा देवी दुर्गाको भब्य ध्वजा यात्रा निकालियो

मनोज यादव----

सर्लाही,कात्तिक ४ गते

     विजया दशमीको सातौ दिन अर्थात फुलपातीको अवसरमा सर्लाहीको सदरमुकाम मलंगवामा बाजा गाजासहित देवी दुर्गाको १०८ ध्वजा यात्रा निकालिएको छ। प्रत्येक वर्ष फुलपातीका दिन निकालिंदै आएको ध्वजा यात्रा यसवर्ष पनि  दुर्गा भगवती मन्दित मलंगवाको आयोजनामा निकालिएको हो।

  

  स्थानीय समाजसेवी  जयप्रकाश अग्रवालको संयोजकत्वमा दुर्गा पुजा मुल समारोह समिति गठन गरि मलंगवा नगरपालिका वडा न-८,भगवती मन्दिर स्थित मोहरसिंह घर्मशालाको प्रांगणबाट निकालिएको १०८ ध्वजा यात्रामा विभिन्न क्षेत्रमा आबद्ध नगरका गन्यमान्य व्यक्तिहरुको सहभागीता रहेको थियो। उक्त यात्रामा मधेस प्रदेश सांसद द्वय जंगिलाल राय,कौशल किशोर राय,मधेस प्रदेश दलित आयोगका अध्यक्ष राम प्रवेश बैठा, पुर्व संघीय सांसद प्रमोद साह,पुर्व मधेस प्रदेश सभा सदस्य अशोक यादव, जिल्ला समन्वय समितिका उपसभापति जितेन्द्र कुशवाहा,जिल्ला समन्वय समितिका पुर्व सभापति मेथुर चौधरी  मलंगवा नगरपालिका पुर्व मेयर निरसल साह, विभिन्न वडाका वडाअध्यक्षहरु,नागरिक समाज,बुद्धिजीवी, स्थानीय समाजसेवी ,पत्रकार , दुर्गा पुजा समितिका सदस्यहरु नवनित अग्रवाल,विकास गोयल,संजय गुप्ता ,मुकेश जयसवाल,गौतम सर्राफ ,सत्यनारायण अग्रवाल ,सज्जन अग्रवाल ,लगायत सयौं स्थानीय महिला श्रद्धालुहरुको सहभागीता रहेको थियो।

  भगवती मन्दिरको प्रांगणबाट बिहान १० बजे निकालिएको ध्वजा यात्रा  नगरको विभिन्न भागको परिक्रमा गर्दै पुन: सोही ठाउँमा आएर सम्पन्न गरिएको थियो।

   आयोजक समितिले विजया दशमीको पहिलो दिन अर्थात घटस्थापनाको दिन हजारौं कुमारी कन्याहरुको कलश यात्रा र छैठौं दिन बेलन्यौतन यात्रा पनि निकालेका थिए।

    घटास्थापनादेखि सुरु भएको दुर्गा पुजा १० दिनसम्म चल्ने छ । सर्लाही जिल्ला भरीका पुजा स्थलमा सम्बन्धित ठाउँका दुर्गा पुजा समितिहरुले देवी दुर्गा  लगायत बिभिन्न देवी देउताहरुको प्रतिमा बनाएर मेलाको आयोजना गर्ने तयारी गरेका छन् ।

सर्लाही क्रिकेट लिग सिजन 1 सम्पन्न, सर्लाही स्ट्राइकर विजेता


सर्लाही क्रिकेट लिग सिजन 1 सम्पन्न, सर्लाही स्ट्राइकर विजेता



लोकतन्त्र समाचारदाता---

सर्लाही,कात्तिक ४

    सर्लाही क्रिकेट संघले आयोजना गरेको सर्लाही क्रिकेट  लिगको सिजन 1 शनिवार सम्पन्न भएको छ।  जिल्लाको सदरमुकाम मलंगवा नगरपालिका वडा न-२ स्थित कवर्ड हलमा सम्पन्न भएको  सिजन 1 को बिजेता र उपविजेताहरुलाई ट्रफी तथा प्रमाणपत्र वितरण गर्दै प्रतियोगिता  सम्पन्न भएको हो । 

    यहि असोज २३ गते देखि कार्तिक ४  गते सम्म संचालन भएको उक्त प्रतियोगिताको उपाधि सर्लाही स्ट्राइकर टिमले जित्न सफल भएको छ । त्यस्तै सर्लाही थन्डर्स उपविजेता बन्न सफल भएको छ । 

    उक्त प्रतियोगितामा सर्लाही जिल्ला भरीबाट सहभागी हुन आएका खेलाडीहरु मध्येबाट छानिएका खेलाडीहरुको ६ वटा टिम बनाएर प्रतिस्पर्धा गराइएको सर्लाही क्रिकेट संघले जनाएको छ। 

    संघका सचिव संतोष दासको अध्यक्षता तथा मलंगवा नगरपालिका वडा न-४ का वडा अध्यक्ष रविन्द्र रायको प्रमुख आतिथ्यतामा सम्पन्न भएको समापन कार्यक्रममा विशिष्ठ अतिथि शंकर नराल,पुर्व क्रिकेट खेलाडी चित्र खडका,नेविसंघ का केन्द्रीय सदस्य कैमुल मिकरानी,संघका उपाध्यक्ष राम केवल यादव, कोषाध्यक्ष तुलसी राय यादव,मलंगवा जेसिज २०२३ का अध्यक्ष राम लखन महतो,शिक्षक कामेन्द्र महरा,सतिस कुशवाहा लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो।



Friday, October 20, 2023

दशै सुरु भए देखि सर्लाहीको सीमा नाकामा तश्करी बढ्यो , खुल्ला सिमानाका कारण व्यापार चौपट ,करोडौं रुपैयाँको राजश्व गुम्दै

 


दशै सुरु भए देखि सर्लाहीको सीमा नाकामा तश्करी बढ्यो  , खुल्ला सिमानाका कारण व्यापार चौपट ,करोडौं रुपैयाँको राजश्व गुम्दै


मनोज यादव---

सर्लाही,कात्तिक ३

    दशै सुरु भए देखि भारतीय बजारसँग जोडिएका सर्लाहीका सीमानाकाहरूबाट तस्करीमा वृद्धि भएको छ ।सीमानाकामा खटिएका सुरक्षाकर्मीहरुकै सेटिङमा तस्करी भइरहेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

      कारोबारी तथा तस्करहरु अवैध सामान ओसार पसारका लागि चर्चित जिल्लाको सदरमुकाम मलंगवासहित  त्रिभुवननगर ,पर्सा,संग्रामपुर, नारायणपुर, खुटौना, भाँडसर,       मधुवन गोठ, बाराउधोरण, बहादुरपुर, मधुवनी, बलरा र पर्सा लगायतका नाकाहरुबाट नेपाल प्रहरी ,सशस्त्र प्रहरी तथा भन्सार कर्मचारीहरू सँगको आर्थिक सेटिङमा चौबिसै घण्टा खुलेआम रूपमा सामानहरुको ओसारपसार गरिरहेको स्थानीयहरूले आरोप लगाएका छन् । 

    दशै तिहार र छठ पर्व जस्ता चाडवाडको समयमा सबै भन्दा बढी तस्करीको धन्दा हुने गरेकोले मुख्य नाकाहरूमा कडाई गरेजस्तो गरेपनि अन्य साना नाकाहरूबाट भने निर्वाध रुपमा तस्करी हुने गरेको छ। अहिले चाडवाडको समय भएकोले सर्लाहीको मुख्य नाकाहरुमा कडाइका साथ चेकजाच र निरागनी भइरहेको छ। मुख्य नाकाहरुमा कडाइका साथ निगरानी हुन थालेपछि कारोबारी तथा  तस्करहर खेतको आली र गाउँघरको चोर बाटोको प्रयोग गरेर भारतबाट सामानहरु  भित्र्याउन थालेका छन् ।

    दशै,तिहार र छठ पर्बमा खाद्यान्न ,लत्ताकपडा ,पटका र इलेक्ट्रोनिकका सामानहरुको खपत बढी हुने भएको र नेपाली बजार भन्दा  भारतीय बजारमा सस्तो पनि पर्ने भएकोले व्यापारीहरु यी पर्वहरुका लागि भनेर भारतबाट अवैध रुपमा सामानहरु भित्र्याउन थालेका हुन।यस्ता कामका लागि व्यापारी तथा तस्करहरुले सिमा प्रहरी चौकी र सशस्त्र प्रहरीको बिओपीलाई मासिक रूपमा लाखौं रुपैयाँ नजराना बुझाउने गरेको नाम उल्लेख नगरिदिने सर्तमा प्रत्यक्षदर्शीहरुले बताएका छन् । आर्थिक सेटिङ्ग मिलाएका कारोबारीहरुलाई जतिसुकै र जुनसुकै सामाहरु मुख्य नाका भएरै भित्र्याउन दिने तर घरखर्चको लागि भनेर थोरै सामान ल्याउँदा प्रहरीले रोक्ने गरेको सर्वसाधारणहरुले गुनासो गर्दै आएका छन् ।

    भारतबाट भन्सार छलेर ल्याइएका सामानहरु मलंगवा, वयलवास, बरहथवा, हरिवन र लालबन्दीका गोदामहरुमा भण्डारण हुने गरेका छन् । त्यस्ता गोदामहरुको बारेमा  स्थानीयबासी र  प्रहरी प्रशासन दुवैलाई जानकारी हुँदाहुँदै पनि चुप लागेर बसेका छन् ।जसले गर्दा तस्करहरुको हौसला बढ्दै गएको छ। 

   नेपाल–भारत खुल्ला सिमानाको अनुचित फाइदा उठाउँदै कारोबारी तथा तस्करहरु सीमावर्ती भारतीय शहर सितामढी,मुझफ्फरपुर तथा सोनवर्षा र मेजरगंज बजारबाट सामनहरु खरिद गरेर नेपाल भित्र्याउने गरेका छन् ।यस्ता कामको लागि स्थानीय क्यारिएरहरुको प्रयोग हुने गरेको छ। जसमा साना बालबालिका र महिलाहरु पनि हुने गरेका छन् । सीमा नाकामा सुरक्षाकर्मीलाई छलेर थोरै थोरै गरि भित्र्याइएका सामानहरु गोदाममा पुर्याएर जम्मा गरिन्छ। त्यसपछि जम्मा भइसकेका सामानहरु यात्रुवाहक सवारी र मालवहक गाडीमा लुकाइ छिपाइ जिल्ला बाहिरका ठुला सहरहरूमा पुर्याउने गरिन्छ।

   खुला सीमा भएकाले नेपाली उपभोक्ताहरू दशै,तिहार ,छठ जस्ता चाडवाडको बेला भारतीय बजारमा किनमेलका लागि जाने र सीमा नाकाबाट हुने तस्करीकै कारण चाडवाडको बेला पनि नेपाली बजारमा व्यापार कम हुने गरेको  व्यापारीहरूले गुनासो गरेका छन् । अहिले सर्लाहीको सदरमुकाम मलंगवा बजार र अन्य सीमावर्ती बजारहरुमा किनमेल गर्ने मानिसहरुको चहल पहल कम देखिएको छ। तर सिमावर्ती भारतीय बजारहरु भने नेपाली ग्राहकहरुले भरिएको छ। 

    देश आर्थिक संकटबाट गुज्रिरहेको अवस्थामा विगत लामो समयदेखि राजश्व छली गरी चोरी निकासी तथा तस्करीका कामहरु भइरहँदा पनि सरोकारवाला निकाय मौन भएर बसेका छन् |जसका कारण करोडौं रुपैयाँ बराबरको राजश्व चुहावट भइरहेको छ।


 



Wednesday, October 18, 2023

चन्द्रनगरको प्रमुखले आफू खुसी एकलौटी रुपमा पालिका चलाउने गरेको कार्यपालिका सदस्यदेखि कर्मचारी र जनताहरुको आरोप

 चन्द्रनगरको प्रमुखले आफू खुसी एकलौटी रुपमा पालिका चलाउने गरेको कार्यपालिका सदस्यदेखि कर्मचारी र जनताहरुको आरोप


लोकतन्त्र समाचारदाता----

सर्लाही,कात्तिक १ गते 

       स्थानीय तहको निर्वाचनपछि विकासको गतिले फड्को मार्ने अपेक्षा गरेका सर्लाहीको चन्द्रनगर गाउँपालिकाका स्थानीय जनताहरु यतिबेला निराश बनेका छन् । आफुहरुले नै जिताएर पठाएको जनप्रतिनिधिहरुले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको उनीहरूले  गुनासो गरेका छन् ।

   चन्द्रनगर गाउँपालिकाका गापा अध्यक्ष राजकुमार महतोले भोंट माग्ने बेलामा अनेक किसिमका योजनाहरु पूरा गरेर देखाउने आश्वासन दिए पनि जितेर गएपछि जनताले विकास र परिवर्तनको अनुभूति पाउने गरी काम नगरेको स्थानीयबासीहरुले बताएका छन् ।चन्द्रनगरमा नयाँ अध्यक्ष आएको झण्डै डेढ वर्ष हुनै लागेको भएपनि विकास निर्माणका काम देखि लिएर शिक्षा,स्वास्थ्य ,कृषि लगायतका कुनैपनि कामहरु नभएको उनीहरूले बताए ।

     यस गाउँपालिकाका वडा अध्यक्ष, कार्यपालिका सदस्य तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू गाउँपालिका अध्यक्षले मनोमानी र एकलौटी ढंगले काम गरेको आरोप लगाएका छन्। ७  वटा वडाहरु रहेको चन्द्रनगर गाउँपालिकाका वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरूले गापा अध्यक्ष महतोले गाउँ परिषद नै नगरि  आफुहरूको सहमति र निर्णय बिना नै आफुखुसी निर्णय गरि आसेपासेका मानिसहरुलाई राखेर उपभोक्ता समिति बनाएर काम गरेको आरोप लगाएका छन् । 

    अध्यक्ष महतोको एकलौटी रवैयाका कारण वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरु सँग  मात्र नभइ कर्मचारीहरुसँग समेत कुरा नमिलेको गापा उपाध्यक्ष गिता देवी महतोले बताइन् । सामाजिक सुरक्षा भत्ता ,विद्यालयमा पुस्तक खरिद गरेको भुक्तानी,विद्यालयमा खुवाइने दिवा खाजा वापतको रकमको भुक्तानी रोकिएको छ । कर्मचारीहरुको चार महिनादेखि तलब भत्ता समेत रोकिएको उपाध्यक्ष महतोले बताइन् ।

   राजकुमार महतो निर्वाचित भएर आएदेखि विगतमा तयार भएका योजनाहरु पनि बिचमै रोकिएको छ । सर्लाही जिल्लाको मात्र नभइ मधेस प्रदेशकै धार्मिक तथा पर्यटकिय क्षेत्रको रुपमा रहेको ५२ बिगहा क्षेत्रफलको नाढी ताललाई पनि अध्यक्ष महतोले सौन्दर्यिकरणको नाममा पुरै सुकाएर चन्द्रनगरको पहिचान मेटाउन खोजेको स्थानीयहरुले बताएका छन् ।वर्षौंदेखि अतिक्रमणको सिकार बन्दै आएको  नाढी तालको क्षेत्रफल क्रमिक रुपमा घट्दै गएकोले नाममात्रको ५२ विघाको नाडी ताल भएको स्थानीयको भनाई छ।ताल पुरै सुकाइएकोले छठ पुजा कहाँ गर्ने भनेर स्थानीय महिलाहरु चिन्तामा परेका छन् ।

      निर्वाचित भएर आएदेखि विकासको नाममा एउटा सिन्का समेत नभाँचेको अध्यक्ष महतोले आफ्नो नातागोता र कार्यकर्ताहरुलाई करारमा नियुक्ति गरेर पालिकालाई आफ्नो मुठ्ठीमा पारेर मनपरि ढंगले चलाइरहेको विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले आरोप लगाएका छन् । अध्यक्षको देखासखी वडाअध्यक्षहरुले पनि आफ्नो नातागोता र आसेपारेलाई करारमा भर्ना गरेको स्थानीय नेता सुरेश महतोले बताएका छन् । उनले  विकास निर्माणको नाममा अध्यक्ष महतोले आर्थिक अनियमितता गर्दै आएको समेत दाबी गरे।  आर्थिक वर्ष २०७९/०८० मा कुनैपनि योजनाहरुमा काम नभए पनि मन्त्रालयलाई बुझाएको आर्थिक प्रतिवेदनमा  भने काम भइसकेको देखाइएको छ। प्रतिवेदनमा  काम सम्पन्न भइसकेको भनि उल्लेख भएका योजनाहरुको अनुगमन गरेर यकिन गर्न स्थानीय नेता महतोले  सरोकारवाला निकायहरुसँग आग्रह गरेको छ।

    


Monday, October 16, 2023

राष्ट्रिय रोजगार प्रबर्द्धन केन्द्रको १८ औं वार्षिक साधारणसभा सम्पन्न


राष्ट्रिय रोजगार प्रबर्द्धन केन्द्रको १८ औं वार्षिक साधारणसभा सम्पन्न


लोकतन्त्र समाचारदाता---

सर्लाही,असोज २९

    राष्ट्रिय रोजगार प्रबर्द्धन केन्द्र(RRPK) को १८ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ। सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न-८ स्थित कुसुम पार्टी प्यालेसमा आयोजित साधारणसभामा गत आर्थिक वर्ष २०७९/०८० को आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको छ।

   केन्द्रकी कोषाध्यक्ष पिंकी साहले  दातृ संस्थाहरु सेभ द चिल्ड्रेन ,वर्ल्ड  भिजन इन्टरनेसनल नेपाल , वर्ल्ड एजुकेसन ,ह्यान्डिक्याप इन्टरनेसनल ,सेसी  सम्बन्धित स्थानीय तहको सहयोगमा संचालन भएका विभिन्न परियोजनाहरुको बारेमा जानकारी गराउनुका साथै संस्थाको वार्षिक आर्थिक प्रतिवेदन प्रस्तुत  गरेकी थिइन।

     केन्द्रकी अधयक्ष गायत्री देवी महतोको  अध्यक्षता तथा मधेस प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरेन्द्र प्रसाद सिंहको प्रमुख आतिथ्यता र जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल किशोर सिंह,बलरा नगरपालिका प्रमुख रामा शंकर प्रसाद कुशवाहा,ब्रम्हपुरी गाउँपालिका प्रमुख राम पदारथ साह,पर्सा गापा प्रमुख धिरेन्द्र यादव"विस्पत" तथा सहायक प्रमुख जिल्ला अधिकारी होम प्रसाद घिमिरेको विशिष्ठ आतिथ्यतामा सम्पन्न  भएको कार्यक्रममा उत्कृष्ट कार्य गरे बापत संस्थाले आफ्ना २२ जना कर्मवापतहरुलाई सम्मान गरेका थिए।सोही अवसरमा जिसस प्रमुख सिंह ,सहायक प्रजिअ घिमिरे र ५ वटा पालिकाहरुलाई पनि सम्मानित गरिएको थियो।

    कार्यक्रममा विभिन्न संघ संस्थाका प्रमुख /प्रतिनिधि,RRPK का कर्मचारी   तथा सरोकारवालाहरुको उपस्थिति रहेको थियो।

   




Sunday, October 15, 2023

सर्लाही जिल्लामै पहिलोपटक आइसियु सहितको अत्याधुनिक प्रविधियुक्त अस्पताल संचालनमा आयो


सर्लाही जिल्लामै पहिलोपटक आइसियु सहितको अत्याधुनिक प्रविधियुक्त  अस्पताल संचालनमा आयो

मनोज यादव----

सर्लाही,असोज २९

    सर्लाही जिल्लामा पहिलोपटक आइसियु सेवा सहितको सुविधा सम्पन्न अस्पताल संचालनमा आएको छ।सदरमुकाम मलंगवा स्थित वडा न-२ मा संचालनमा आएको आइसियु सहितको अत्याधुनिक प्रविधियुक्त मलंगवा म्याक्स मल्टिस्पेसियालिटी हस्पिटल एण्ड ट्रमा सेन्टरको नगरप्रमुख नागेन्द्र प्रसाद यादवले उद्घाटन गरेका छन् ।

    यसअघि जिल्लामा  सुविधा सम्पन्न अस्पताल नहुँदा यहाँका बिरामीहरुलाई उपचारको लागि जनकपुर, बिरगंज, भरतपुर, धरान, काठमाडौं लगायत भारतको विभिन्न सहरहरुमा रहेका अस्पतालमा जानु पर्ने बाध्यता रहँदै आएको थियो। यस जिल्लाका अधिकांश जनताहरु गरिबी रेखा भित्र पर्ने गरेकाले  उपचारको लागि जिल्ला बाहिरको अस्पतालमा जानुपर्दा क्षमता भन्दा बढी खर्च लागेर उनीहरुमा थप आर्थिक भार पर्दै आएको समस्यालाई अन्त्य गर्न र ठुला सहरका अस्पतालहरुको जस्तै उपचार सेवा प्रदान गर्न मलंगवामै अत्याधुनिक प्रविधियुक्त अस्पताल संचालनमा ल्याएको संचालक डा.बिजय कापरले जानकारी दिएको छ।

   म्याक्स हस्पिटलमा आइसियू, एनआईसियू, भेन्टिलेटर, दुरबिन द्वारा आधुनिक प्रकृयाबाट सल्यक्रिया, २४ सै घण्टा एमबिबिएस डाक्टर सहितको  ईमरजेन्सी सेवा लगायत विभिन्न सेवा सुविधाहरु डा.कापरले जनाएको छ।यस अस्पतालमा बिरामीहरुले वरिष्ठ हाड, जोर्नी तथा नशा रोग विशेषज्ञ डा संजय कुमार साह, मुटु रोग विशेषज्ञ  डा राजेश कुमार साह, वरिष्ठ स्त्री, प्रसूति तथा नि: सन्तान रोग विशेषज्ञ डा विजय कुमार कापर, डा निमु कुमारी साह, रेडियोलोजिष्ट डा सोहन कुमार साह लगायतका विशेषज्ञ  चिकित्सकहरु उपचार सेवा लिन सक्ने अस्पताल प्रशासनले जनाएको छ।

   मलंगवामा रहेको प्रादेशिक अस्पतालमा उपचारको लागि आउने अधिकतर बिरामीहरुलाई अन्यत्र रेफर गरिदै आएकोले सरकारी अस्पताल प्रति स्थानीयहरुको विश्वास घट्दै गएको उद्घाटन कार्यक्रमका बक्ताहरुले आरोप लगाएका छन् । अब मलंगवामै सबै सुबिधा भएको अस्पताल खुलिसकेकोले प्रादेशिक अस्पथालबाट रेफर भएका बिरामीहरुलाई जिल्ला बाहिर जानू पर्ने बाध्यताको अन्त्य हुने बक्ताहरुले बताएका छन् ।

       वरिष्ठ अर्थोपेडिक सर्जन डा.संजय कापरको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा मधेस प्रदेशका सांसदहरु  जंगिलाल राय, कौशल किशोर राय तथा  सकुन्ती देवी ,नेपाली कांग्रेस सर्लाहीका पुर्व सभापति एवं पुर्व सांसद लक्षमण राय लगायतका अतिथिहरुको  उपस्थिति रहेको थियो ।

मलंगवा नगरपालिकाले गर्यो शुभकामना आदानप्रदान

 

 मलंगवा नगरपालिकाले गर्यो शुभकामना आदानप्रदान



लोकतन्त्र समाचारदाता----

सर्लाही,असोज २८

     मलंगवा नगरपालिकाले दशैं, तिहार र छठ पर्व अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

 नगरप्रमुख नागेन्द्र प्रसाद यादवको अध्यक्षतामा शुक्रवार मलंगवा नगरपालिकाको सभा हलमा भएको कार्यक्रममा संघीय सरकारका खानेपानी मन्त्री महेन्द्र राय यादवको  प्रमुख आतिथ्यता रहेको  रहेको थियो ।

   कार्यक्रममा मधेश प्रदेश सांसद कौशल किशोर राय,सहायक प्रमुख जिल्ला अधिकारी होम प्रसाद घिमिरे लगायतका अतिथिहरुले शुभकामना मन्तव्य राखेका थिए ।

   सोही अवसरमा उपस्थित भएका नगरकार्यपालिकाका सदस्यहरुको छलफल बाट नगरपालिका क्षेत्र भित्र मनाइने विभिन्न पुजा तथा पर्वहरुको समापन पश्चात् मुर्ती विसर्जन गर्ने समय र रुटहरुको पुजा समितिका अध्यक्षहरुको समन्वयमा सुरक्षाको दृष्टिकोणले अनुकुल हुनेगरी निर्धारण गर्न जिल्ला सुरक्षा समितिलाई जिम्मेवारी दिंदै सरोकारवालाहरु सबैले आ-आफ्नो स्थानबाट सहयोगात्मक भूमिका निर्वाह गर्न निर्णय गरिएको छ।

   उक्त कार्यक्रममा  नेपाल प्रहरीका डिएसपी दिपेन्द्र पंजियार थारु,सशस्त्र प्रहरी नायव उपरीक्षक उधव वन,राष्ट्रिय अनुसंधानका उप निर्देशक संतोष ढुंगेल,नेपाली सेनाका प्रमुख सेनानी सूर्य बहादुर कार्की, राजश्रीका प्रबन्ध निर्देशक राम लक्षण राय,सबै वडाका वडाअध्यक्षहरु,कर्मचारी तथा पत्रकारहरु लगायतको उपस्थिति रहेको थियो।




Saturday, October 14, 2023

महिला तथा बालबालिका कल्याण समाज मलंगवाको १३ औं वार्षिक साधारणसभा सम्पन्न

 


महिला तथा बालबालिका कल्याण समाज मलंगवाको १३ औं वार्षिक साधारणसभा सम्पन्न

लोकतन्त्र समाचारदाता----

सर्लाही,असोज २७

     महिला तथा बालबालिका कल्याण समाज मलंगवाको १३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न-१० स्थित जिल्ला स्वास्थ्य कार्यालयको सभाहलमा शनिवार उक्त संस्थाको साधारण सभा सम्पन्न भएको हो ।

   संस्थाकी अध्यक्ष अमृता कुमारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा आर्थिक वर्ष २०७९/०८० को आय व्यय प्रस्तुत गर्नुका साथै कार्यसमितिको गठन/पुनर्गठन,संस्थाको व्यवस्थापन तथा संचालन , संस्थागत विकासको लागि निति निर्माण लगायतका विषयमा छलफल गरिएको थियो।

   संस्थाको  गत आ.व मा  कुल आय तर्फ जम्मा ६६ ,८१,२३६ रुपैया रहेकोमा व्यय तर्फ कार्यक्रमहरु संचालन ,कर्मचारीको तलब भत्ता ,नियमानुसार तिर्नुपर्ने कर,नविकरण शुल्क तथा लेखापरीक्षण शुल्क गरि ३,३६,६६८ रुपैया खर्च भएको   संस्थाका प्राविधिक सल्लाहकार अमरेन्द्र रायले जानकारी गराएको छ।

   सोही साधारणसभा मार्फत संस्थालाई समावेशी बनाउन  पदाधिकारीहरुको पुनर्गठन गर्ने समेत निर्णय गरिएको छ।

   उक्त  कार्यक्रममा संस्थाका कानुनी सल्लाहकार एवं अधिवक्ता मिथिलेश कुमार सिंह,विषयगत क्षेत्रका प्राविधिक सल्लाहकार,पत्रकार र संस्थाका पदाधिकारीहरु लगायतको सहभागिता रहेको थियो ।

मलंगवा जेसिजको जेसिज सप्ताह सुरु,पहिलो दिन धार्मिक स्थलहरुको सरसफाइ


मलंगवा जेसिजको जेसिज सप्ताह  सुरु,पहिलो दिन धार्मिक स्थलहरुको सरसफाइ 



लोकतन्त्र समाचारदाता---

सर्लाही,असोज २७

   मलंगवा जेसिजको जेसिज सप्ताह-२०२३ कार्यक्रम आज(शनिवार) देखी सुरु भएको छ। कात्तिक ३ गतेसम्म संचालन हुने सप्ताह व्यापी कार्यक्रमको  पहिलो दिन सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिकाको मलंगवा बजार क्षेत्रमा रहेका धार्मिक स्थलहरुको सरसफाइ गरिएको छ।

    मलंगवा जेसिज २०२३ का कार्यकारी उपाध्यक्ष समीर मिकरानीको संयोजकत्वमा भएको सरसफाइ कार्यक्रममा मलंगवा जेसिजका पदाधिकारीहरु ,स्थानीय जनप्रतिनिधि,सुरक्षाकर्मी  तथा विद्यार्थीहरु लगायतको उपस्थिति रहेको थियो।

   सप्ताह व्यापी कार्यक्रम अनुसार  दोस्रो दिन २८ गते धार्मिक स्थलमा संध्या आरती, २९ गते शुभकामना आदानप्रदान ,३० गते टेबल टेनिस प्रतियोगिताको आयोजना गरिने छ।त्यसैगरी कात्तिक १ गते स्वागत बोर्ड व्यवस्थापन ,२ गते स्वास्थ्यको लागि योगा र ३ गते विंगो खेल कार्यक्रमहरु गरिने मलंगवा जेसिज २०२३ का अध्यक्ष राम लखन महतोले जानकारी गराएको छ।



लालबन्दी जस्तो विकसित तथा शिक्षित स्थानीय तहमा अभावै अभावले भरिएका सामुदायिक विद्यालय, सरोकारवालाहरुको बेवास्ताका कारण सयौं बालबालिकाको भविष्य अन्धकारमा

   

 लालबन्दी जस्तो विकसित तथा शिक्षित स्थानीय तहमा अभावै अभावले भरिएका सामुदायिक विद्यालय, सरोकारवालाहरुको बेवास्ताका कारण सयौं बालबालिकाको भविष्य अन्धकारमा 


मनोज यादव---

सर्लाही,असोज २७

     सर्लाहीको प्रमुख व्यापारीक केन्द्रको रुपमा रहेको पुर्व-पश्चिम राजमार्गमा पर्ने सर्लाहीको प्रमुख व्यापारीक केन्द्रको रुपमा स्थापित लालबन्दी नगरपालिका देखि झण्डै ८ किलोमिटरको दुरीमा पर्ने सोही पालिकाको वडा न-१५ कटहरबोट भन्ने गाउँमा  रहेको श्री ईन्द्रावती जनता प्राथमिक विद्यालय उचित स्याहार र सम्बर्द्धनको अभावमा जिर्ण बन्दै गएको छ।  

   खेल्नको लागि कम्पाउण्ड वालसहितको ठुलो चौर र पर्याप्त कक्षा कोठा लगायतका भौतिक पुर्वाधारहरु भएपनि भलो चिताउने र नेतृत्व गर्ने व्यक्ति नहुँदा इन्द्रावती प्रा.वि को  अवस्था दयनीय बनेको छ।खानेपानी र शौचालयको व्यवस्था छैन ।यतिमात्र नभइ कार्यालयमा टेबुल,कुर्सी,दराज तथा कक्षा कोठामा डेक्स,बेन्च र  ह्वाइट बोर्ड लगायतका आवश्यक सामाग्रीको पनि अभाव छ । 

   केही वर्ष अगाडीसम्म विद्यार्थीको संख्या बाक्लै थिए। आसपासका ६-७ वटा गाउँका विद्यार्थीहरु यहाँ अध्यनरत थिए। तर अहिले भने यस विद्यालय प्रति कसैले चासो र ध्यान दिएका छैनन् ।पढाइको स्तर पनि गिरावट आएको छ।गाउँमै विद्यालय हुँदाहुँदै पनि   अभिभावकहरु राम्रो पढाइको खोजीमा आफ्ना बालबालिकालाई टाढाको सामुदायिक र निजी(बोर्डिङ्ग) विद्यालयहरुमा पठाउन बाध्य छन् ।जसको फलस्वरुप विद्यालय यतिबेला सुनसान बनेको छ। हुनेखाने परिवारले आफ्ना छोराछोरीलाई बाहिरका विद्यालयमा पठाए पनि हुँदाखाने गरिब परिवारका बालबालिका यसै विद्यालयमा पढ्न वाध्य छन्। 

      अभिभावकहरु  पछिल्लो केहि बर्ष यता यस विद्यालयमा पढाईको स्तर खस्किएको, प्रधानाध्यापक नियमित बिद्यालय उपस्थित नभएको, दिवा खाजाको राम्रो प्रवन्ध नभएको, खानेपानी, शौचालयको राम्रो प्रबन्ध नभएको लगाएतका गुनासोहरु गर्ने गरेका छन । नगरपालिका ,विद्यालय व्यवस्थापन समिति र वडा कार्यालयले समेत यसतर्फ ध्यान नदिएको उनीहरूले गुनासो गरेका छन् ।

    इन्द्रावती प्रा.वि मा अहिले ५० जना विद्यार्थीहरु अध्यनरत  छन् । ती विद्यार्थीहरुको लागि ४ जना शिक्षक शिक्षिका र १ जना कार्यालय सहयोगी गरि जम्मा ५ जना कर्मचारीहरु कार्यरत छन् । विद्यालयको हाजिरी रजिस्टरमा     कक्षा १ मा ३  जना, २ मा ९ जना,३ मा १०  जना ,४ मा ११  जना , ५ मा ७  जना  र शिशु कक्षामा १० जना गरि जम्मा ५० जना विद्यार्थीहरुको नाम लेखिएको भए पनि मुस्किलले  ३० जना  विद्यार्थीहरु उपस्थित हुने गरेका छन् । 

  प्रायः जसो शिक्षकहरु बिदामा बस्ने गरेकाले बालविकास शिक्षिकाले नै पढाउँदै आएकी छिन् । विद्यार्थीहरुलाई कति घण्टी पढाइ हुन्छ भन्ने पनि थाहा छैन। शिक्षकहरु मात्र नभइ प्राधानाध्यापक समेत विद्यालयमा नियमित हाजिर नहुँदा बालविकास कक्षा बाहेक अन्य कक्षा प्रायःजसो खाली नै रहने गरेको छ।

    कटहरबोट जस्तो सानो गाउँमा मात्र ९ वटा विद्यालयहरु रहेका छन्  । ती सबै विद्यालयको अवस्था इन्द्रावती प्राविको जस्तै छ। विद्यार्थीको अनुपातमा शिक्षकको संख्या बढी रहेका छन् । कटहरबोट गाउँलाई भौगोलिक दृष्टिकोणले हेर्नु पर्दा यो अती विकट र दुर्गम ठाउँ रहेकोले विद्यार्थीको संख्यालाई हेरेर एकअर्कादेखि कम्तिमा ३० मिनेटको दुरीमा रहेका केही विद्यालयलाई मर्ज गर्ने तयारीमा नगरपालिका लागेको  मेयर बासुदेव अधिकारीले जानकारी गराउनुभयो।

  तर विद्यालय मर्ज गर्नुको साटो ती विद्यालयहरुको अध्यनअध्यापन र व्यवस्थापनमा ध्यान दिए अन्यत्र जाने विद्यार्थीहरुलाई गाउँमै टिकाउन सकिन्थ्यो । 

    निजी स्वार्थ पुर्तिमा लागेकाहरु विद्यालयलाई कसरी कमजोर पार्ने र मर्ज गर्ने भन्नेमा लागेका छ्न । अत्यन्तै रमणीय, प्राकृतिक सुन्दरता र बालमैत्री वातावरण भएको  कटहरबोट गाउँका विद्यालयहरुमा यस क्षेत्रमा बसोबास गर्ने निम्न वर्गीय आदिवासी जनजाती समुदायका बालबालिकाहरु मात्र पढ्ने गरेका छन् । आफ्नो छोराछोरीलाई पढाउनको लागि बाहिर पठाउने क्षमता उनीहरु सँग छैन । त्यसैले सरोकारवाला सबैले आ-आफ्नो जिम्मेवारीबोध गर्दै विद्यालयको संरक्षण र शैक्षिक सुधारमा लाग्नु जरुरी छ। 

   

   

    

 




  



गोडैता र बलरालाई बालविवाह मुक्त पालिका बनाउन कार्यविधि तथा मस्यौदा निर्माण सम्बन्धि गोष्ठी सम्पन्न


गोडैता र बलरालाई बालविवाह मुक्त पालिका बनाउन कार्यविधि तथा मस्यौदा निर्माण सम्बन्धि गोष्ठी सम्पन्न

लोकतन्त्र समाचारदाता----

सर्लाही,असोज २७

     गोडैता र बलरा नगरपालिकालाई बालविवाह मुक्त पालिका घोषणा गर्नका लागि कार्यविधि तथा मस्यौदा निर्माण गर्न दुईदिने कार्यशाला गोष्ठी सर्लाहीको सदरमुकाम मलंगवामा सम्पन्न भएको छ। मलंगवा वडा न-३ स्थित महेन्द्र होटलमा दुई छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरि  गोष्ठी सम्पन्न भएको हो।

     सेभ द चिल्ड्रेनको आर्थिक सहयोग तथा राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र मलंगवाको साझेदारीमा गोडैता नगरपालिकामा संचालित समुन्नति परियोजना अन्तर्गत गोडैता र बलरा नगरपालिकालाई बालविवाह मुक्त घोषणा गर्न लागिएकोले सो गोष्ठी मार्फत आवश्यक कार्यविधिहरु तथा मस्यौदा निर्माण गरिएको छ।

    बिहीबार RRPK का अध्यक्ष गायत्री महतोको अध्यक्षता तथा गोडैता नपा का मेयर देवेन्द्र कुमार यादव र प्रमुख प्राशासकीय अधिकृत रमेश प्रसाद यादवको विशिष्ठ आतिथ्यतामा भएको गोष्ठीमा वडाअध्यक्ष,विभिन्न शाखाका शाखा प्रमुख र सरोकारवालाहरु बिचको छलफल पश्चात् पालिकालाई बाल विवाह  मुक्त घोषणा गर्न  वडा न-११ का वडाअध्यक्ष विश्वनाथ पण्डितको अध्यक्षतामा ७ सदस्यीय समिति गठन गरिएको छ।

    दोस्रो दिन शुक्रवार पनि यसैगरी  RRPK का उपाध्यक्ष बजरंगबली साहको अध्यक्षता तथा बलरा नपा का मेयर रामशंकर प्रसाद कुशवाहको प्रमुख आतिथ्यतामा कार्यविधि र मस्यौदा माथि सरोकारवालाहरु सँग छलफल गरेर अनमोल कुमार  सिंहको अध्यक्षतामा  बाल बिवाह मस्यौदा समिति गठन गरिएको छ।सोही गोष्ठी मार्फत  समितिका अध्यक्ष सिंहले आफु वडा न-७ को बासिन्दा भएकोले बि.स २०८१ सालसम्म आफ्नो वडालाई पुर्णरुपमा बाल विवाह मुक्त घोषणा गरेर  पहिलो बाल विवाह मुक्त वडा घोसना गर्ने प्रतिबद्धता गरेका थिए।

   गोडैता नपा वडा न- १२ का बडाअध्यक्ष केशव कुमारले पनि २०८१ सम्ममा आफ्नो वडालाई

पहिलो बाल बिवाह मुक्त वडा घोषणा गराउन दिनरात लागिपर्ने प्रतिबद्धता गरेका थिए।



Friday, October 13, 2023

कबिलासी नगरपालिकाका मेयर,उपमेयर सहितका जनप्रतिनिधि कुचो लिएर सडकमा

 

कबिलासी नगरपालिकाका मेयर,उपमेयर सहितका जनप्रतिनिधि कुचो लिएर सडकमा 


लोकतन्त्र समाचारदाता----

सर्लाही,असोज २६

      सर्लाहीको कबिलासी नगरपालिकाले नगरलाई सफा र स्वच्छ  बनाउन उपमेयर नगर सरसफाइ अभियान २०८० सुरु गरेको छ । कात्तिक  १८ गतेसम्म संचालन हुने उक्त अभियान शुक्रवार बिहान वडा न-८ अगर्वा स्थित मुख्य चौकबाट सुरु भएको हो।

    आउँदै गरेको दशैं,तिहार र छठ पुजा लगायतका चाडपर्वलाई समेत लक्षित गरेर नगरपालिकाले सरसफाइ अभियान अघि सारेको उपमेयर पुनम कर्णले जानकारी गराउनुभएको छ। स्वच्छ र सफा नगर बनाउने उदेश्यका सुरु गरिएको यो अभियानलाई चाडवाडको समयमा मात्र सिमित नराखी यसलाई निरन्तर अगाडी बढाउँदै लाने उपमेयर कर्णले बताउनुभएको छ।

   हात हातमा कुचो लिएर सडकमा बढार्न निस्किएका मेयर ब्रम्हदेव राय सहितका जनप्रतिनिधिहरु  स्थानीयबासीहरुलाई जथाभाबी रुपमा फोहर नफाल्न समेत आग्रह गरेका थिए।

      नगरपालिका क्षेत्रमा बसोबास गर्ने व्यापारी, सुरक्षाकर्मी, सरकारी तथा गैर सरकारी कार्यालययका कर्मचारी र सर्वसाधारण नागरिकहरु सरसफाइ अभियानमा जुटेका छन ।


शैक्षिक गुणस्तर सुधारका लागि गोडैता नगरपालिकामा पढाइ मेला,सयौंले अवलोकन गरे

 शैक्षिक गुणस्तर सुधारका लागि गोडैता नगरपालिकामा पढाइ मेला,सयौंले गरे अवलोकन 

  

लोकतन्त्र समाचारदाता---

सर्लाही,असोज २६

   बालबालिकाहरुको शैक्षिक गुणस्तर सुधारको लागि राष्ट्रिय स्तरमा बिभिन्न स्तरबाट विभिन्न शैक्षिक कार्यक्रमहरु सञ्चालन भइरहेको अवस्थामा सर्लाहीको गोडैता नगरपालिकामा एउटा छुट्टै कार्यक्रमको आयोजना गरिएको छ। शिक्षण सिकाइ, पढाइ सामाग्रीहरु र अन्य शैक्षिक क्रियाकलापहरुलाई सुधार गर्ने बिश्वासका साथ सर्लाहीको गोडैता नगरपालिका वडा न-५ रामबन स्थित   श्रीमती सरस्वती देवी कुशवाहा आधारभूत विद्यालयमा शुक्रवार पठन मेलाको आयोजना गरिएको छ।

    बालबालिकाहरुलाई घरमा पढ्ने वातावरण तयार गर्नमा परिवार र समुदायबाट सहयोग पुर्याउने लक्ष्यका जिल्लामै पहिलोपटक उक्त मेलाको आयोजना गरिएको छ।अभिभावकहरुले शिक्षकहरुलाई शिक्षण सिकाइ क्रियाकलाप, सिकाइ सुधार, पढाइ सुधार, शैक्षिक वातारण सुधार गर्नमा यस मेलाले अभिप्रेरित गर्ने बिश्वास गरिएको सो विद्यालयका प्रधानाध्यापक राम प्रकास महतोले बताए।

   सेभ द चिल्ड्रेनको आर्थिक सहयोग र राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्रको साझेदारी तथा गोडैता नगरपालिकाको समन्वयमा सञ्चालित समुन्नति परियोजना अन्तर्गत आयोजना भएको पढाई मेलाले आधारभूत तहका विधार्थीहरुमा सरसफाई, लवाइ खुवाइ, पढाई, सिकाई तथा सिप विकासमा महत्वपुर्ण भूमिका खेल्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अध्यक्ष कृष्णमोहन महतोले बताए । पढाइ मेलाले पढाइको वातारण सृजना गर्न, गराउन, शैक्षिक सामग्री निमार्ण प्रयोग गर्न, गराउन, शिक्षण सिकाइ क्रियाकलापहरु ब्यवस्थापन तथा सञ्चालन गर्न सहयोग गर्नुका साथै विद्यार्थीहरुको शारिरीक, मानसिक, संवेगात्मक विकास एवम् सुधार गर्न मद्दत राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्रका शिक्षा अधिकृत निरज कुमार मिश्रले जानकारी दिए। प्रारम्भिक तह पढाइ कार्यक्रम अन्तर्गत पढाइ मेला आयोजना गरिएको थियो ।

    विद्यार्थीहरुको बाहिरी ज्ञान सहितको पढाइलार्ई एक अर्कामा आदान प्रदान गर्ने अवसर पढाई मेलाले दिएको छ । मेलामा बिद्यार्थीहरुले कथा बाचन, शुद्द शब्द बाचन, अक्षर चिनारी, खेलकुद, नृत्य प्रतियोगिता पनि राखिएको थियो ।यस  मेलाले विद्यालय तथा विद्यार्थीलाई थप हौसला प्रदान गरेको भनेर शिक्षा अधिकृत मिश्रले बताए । पढाई मेलाले  बिद्यार्थीको पढाई मापनमा राम्रो सहयोग गरेको उनको भनाई छ ।

    विद्यालयको प्रांगणमा आयोजना भएको मेलामा विद्यार्थीहरुले नै निर्माण गरेका विभिन्न सामाग्रीहरु प्रदर्शनमा राखिएको  थियो । यस बाहेक फुड स्टल, कृषि उत्पादन  स्टल , खेलकुद सामाग्रीहरुको स्टल र किशोर किशोरी मैत्री हेल्थ डेक्स राखिएको थियो। 

    मेला हेर्न पुगेका विद्यार्थी,अभिभावक,  शिक्षक ,विभिन्न पेशाकर्मी तथा स्थानीयबासीहरु मेला प्रति चासो देखाउँदै विभिन्न जानकारीहरु  लिएका थिए । 

      मेलामा आयोजना भएका विभिन्न खेलकुद प्रतियोगितामा सहभागी भएका बिद्यार्थीहरुलाई पुरस्कृत गरि मेलाको समापन गरिएको थियो ।

Thursday, October 12, 2023

सर्लाहीका सीडीओ इन्द्रदेव यादवको सरुवा

 सर्लाहीका सीडीओ इन्द्रदेव यादवको सरुवा












लोकतन्त्र समाचारदाता---

सर्लाही,असोज २५

   गृह मन्त्रालयले सर्लाहीका प्रमुख  जिल्ला अधिकारी (सीडीओ) इन्द्रदेव यादवको सरुवा गरेको छ । प्रजिअ यादवलाई  जिल्ला प्रशासन  कार्यालय इलाममा सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।
    मन्त्रालयले उहाँको ठाउँमा  जिल्ला प्रशासन कार्यालय दोलखाका सिडिओ कोमलप्रसाद धमाललाई पठाएको जिप्रका सर्लाहीले जनाएको छ।


सर्लाहीको कौडेना गाउँपालिकाले थाले १६ देखि ६० वर्ष उमेर समूहका सबै नागरिकलाई साक्षर बनाउने अभियान

सर्लाहीको कौडेना गाउँपालिकाले थाले १६ देखि ६० वर्ष उमेर समूहका सबै  नागरिकलाई साक्षर बनाउने अभियान


लोकतन्त्र समाचारदाता---

सर्लाही,असोज २५ गते

   सर्लाहीको कौडेना गाउँपालिकाले  १६ वर्ष देखि ६० वर्ष उमेर समुहका आफ्ना सबै नागरिकहरुलाई साक्षर बनाउन साक्षर कौडेना २०८० अभियान सुरु गरेको छ। गाउँपालिकालाई साक्षर पालिका घोषणा गर्ने उदेश्यका साथ निरक्षर व्यक्तिहरुको डाटा संकलन तथा आवश्यक पर्ने रणनीति र कार्यक्रमहरु तयार गर्न बाल विकास बरहथवाको सहकार्यमा कौडेना गाउँपालिकाले अन्तरक्रिया कार्यक्रमको आयोजना गरि साक्षर कौडेना २०८० अभियानको बारेमा सरोकारवालाहरुलाई जानकारी गराएको छ।
     १६ देखि ६० वर्ष उमेर समूहका सबै नेपाली नागरिकहरुलाई न्युनतम साक्षरताको अवसर प्रदान गरि वि.स २०७६ साल भित्रमा साक्षर नेपाल घोषणा गर्ने र जीवनपर्यन्त सिकाइको आधार तयार गर्ने साक्षर नेपाल अभियानको उदेश्य रहेको कार्यक्रमका सहजकर्ता एवं  मलंगवा नगरपालिकाका शिक्षा शाखा प्रमुख प्रमोद मण्डलले जानकारी गराएको छ। कार्यक्रममा उपस्थित गाउँपालिका उपाध्यक्ष नगिना देवी,प्रमुख प्रशासकीय अधिकृत शम्भु प्रसाद यादव ,सातवटै वडाका वडाअध्यक्ष,विभिन्न विद्यालयका प्राधानाध्यापक,लगायतका सरोकारवालाहरु सँगको छलफलबाट तयार पारिएको कार्यतालिका अनुसार  प्रत्येक वडाको घरघरमा गएर निरक्षर व्यक्तिहरुको तथ्यांक संकल गर्ने, निरक्षर व्यक्तिहरुको तथ्यांक कम्प्युटरमा  प्रबिष्ट गर्ने , कक्षा संचालन गर्न रणनीति तयार गर्ने  र यी कार्यहरु सम्पन्न भइसकेपछि  साक्षरता कक्षा संचालन गरिने छ। कक्षा संचालन भइसकेपछि साक्षर भए नभएको प्रमाणीकरण गरि अन्त्यमा औपचारिक कार्यक्रमको आयोजना गरि  साक्षर पालिका घोषणा गर्ने कार्यक्रम तय गरिएको बाल विकास नेपालका अध्यक्ष बिरेन्द्र रायले जानकारी गराएको छ ।
    कार्यक्रममा सहजकर्ता मण्डलले सिकाइको ढाँचा, सिकाईको बिधि र साक्षरताका १२ वटा सूचकहरुको बारेमा बिस्तृत रुपमा जानकारी गराएका थिए। नेपाललाई साक्षर बनाउन सरकारको अर्बौं रुपैया खर्च भइसकेको भएपनि हालसम्म नेपाल साक्षर घोषणा हुन नसकेकोले सर्लाही जिल्लालाई साक्षर जिल्ला घोषणा गराउन सम्बन्धित सबै सरोकारवाला र पालिकाहरुलाई  गम्भीर हुन उनले आग्रह गरे।
   सर्लाही जिल्लाको एकमात्र पालिका मलंगवा नगरपालिका यसअघि नै साक्षर पालिका घोषणा भइसकेको छ।

Wednesday, October 11, 2023

इजरायलमा ज्यान गुमाएका नेपाली विद्यार्थीको सम्झनामा दीप प्रज्वलन


इजरायलमा ज्यान गुमाएका नेपाली विद्यार्थीको सम्झनामा दीप प्रज्वलन 

लोकतन्त्र समाचारदाता---

सर्लाही,असोज २४

     सहयोगी सामाजिक बिकास संस्था मलंगवाले हमास आतंकवादी समूह द्वारा इजरायलमा गरेको आक्रमणमा परी ज्यान गुमाएका नेपाली विद्यार्थीको सम्झनामा बुधबार साँझ मलंगवामा दीप प्रज्वलन गरिएको छ। 

    वडा न-१० स्थित जिविस चौकमा रहेको सहिद पार्कमा संस्थाका अध्यक्ष आकाश कुमार मिश्रको अध्यक्षतामा श्रद्धाञ्जली सभाको आयोजना गरि मारिएका विद्यार्थीहरुको सम्झनामा दिप प्रज्वलन गरिएको हो।

     कार्यक्रम सहभागी भएका गैरसरकारी संस्थाकर्मी बचेलाल महतो, स्थानीय विश्वनाथ साह, विस्डम कोचिङ्ग सेन्टर मलंगवाका बिद्यार्थीहरु , आयोजक संस्थाका सदस्यहरु लगायत संचारकर्मीहरुले मधेस आन्दोलनका सहिदहरुको प्रतिमा अगाडी दिप प्रज्वलन गर्दै सामुहिक रुपमा शान्तिको कामना गरेका थिए। 

   हमासले शनिबार गरेको आक्रमणमा परी इजरायल गएका १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो।