Tuesday, September 29, 2020

सर्लाहीमा दुइ समुदाय बीचको विवाद मिलाउन राजनैतिक दलका नेताहरु सकेन

 




सर्लाही ,असोज १३ 

   केही दिन अगाडी सर्लाहीको मलंगवा नगरपालिका वडा न–३, विश्वकर्मा चौक र कौडेना गाउँपालिका वडा न–५, छपकहियामा  दुई समुदाय बीच उत्पन्न भएको विवाद पूर्ण रुपमा समाधान गर्न अहिले विभिन्न राजनैतिक दलका नेताहरु लागिपरेका छन् ।

सम्वन्धित पालिकाका जनप्रतिनिधि र जिल्लाका सुरक्षा प्रमुखहरु मिलेर   दुवै स्थानको विवाद मिलाउन कम्मर कसेर लागेका भएपनि निर्णायक फैसला हुन नसकेको छलफल  टोलीका सदस्य (श्रोत)ले बताएको छ ।

   कौडेनाको छपकहियामा दुवै समुदायले शव दाह संस्कार गर्ने स्थलको विषयमा विवाद चल्दै आएको छ । सोही विवाद बढ्दै गएर भदौको अन्तिम साता दुई समुदायबीच झडप समेत भइसकेको छ । जसमा  प्रहरीसहित केही स्थानीयहरु  घाईते भएका थिए ।

   त्यस्तै सदरमुकाम  मलंगवामा विश्वकर्मा पूजाको मूर्ति विर्सजन गर्न लैजाँदा  असोज २ गते झडप भएको थियो । सो विवाद मिलाउन पनि धेरै पटक छलफल भएपनि  विवाद मिलेको  छैन् ।    मुस्लिम समुदायले विश्वकर्मा चौकलाई दाह चौक नामकरण गर्नुपर्ने माग राखेका छन् भने हिन्दु समुदायले पुरानै नाम रहन दिनुपर्ने बताएका छन् । मलंगवा नगरपालिकाका मेयर निरसल साहले आ–आफ्नो समुदायलाई सम्झाउन दुवैतर्फका अगुवाहरु निरन्तर लागिपरेका र आफूहरुले पनि त्यसमा समन्वय गरिरहेको बताए ।‘विवाद मिल्दै गएको छ, केही कुरा बाँकी छ, त्यो पनि चाँडै मिलाउँछौँ’, मेयर साहले भने, ‘सहमति जुटाउन हामी भन्दा पनि दुवै समुदायका अगुवालाई सक्रिय बनाएका छौँ ।’ मलंगवा र कौडेना दुवै स्थानको विवाद मिलाउन जिल्लाका संघीय तथा प्रदेश सांसद समेतको उपस्थितिमा पनि छलफल भइसकेको छ ।

   मलंगवा र कौडेनामा कुनै पनि बेला अवस्था बिग्रन सक्ने भन्दै प्रहरीले उच्च सुरक्षा सर्तकता अपनाएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय मलंगवामा थप मद्धतमा प्रहरी समेत राखिएको जनाइएको  छ ।


मुसैलीमा घर भत्किंदा ३ लाखको क्षति

  



सर्लाही ,असोज १३

      लगातार पानी परेसँगै सोमबार सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न-७ मुसैली बस्ने असिन लहेरीको कच्ची  घर पूर्णरुपमा क्षति भएको छ ।

    घर भत्किएर लहेरीको तिनलाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला पिडितलाई उद्रित गर्दै प्रहरीले जानकारी दिएको छ ।घर पुर्ण रुपमा भत्किएपनि मानवीय तथा पशु चौपायामा कुनै क्षति नभएको प्रहरीले जनाएको छ ।


नेपाल सुनचांदी व्यवसायी महासंघ प्रदेश नं. २ को कमिटी गठन

 




सर्लाही ,असोज १३

    पर्साको बिरगंजमा सम्पन्न   नेपाल सुनचांदी व्यवसायी महासंघ प्रदेश नं. २ को अधिवेशनले  शिव कुमार सर्राफको सभापतित्वमा १० सदस्यिय कार्य समिति चयन गरेको छ ।

    सोमबार सम्पन्न अधिवेशनले  समितिको उपसभापतिमा प्रवेश कुमार सर्राफ, बसन्त कुमार साह, सचिवमा बिनोद कुमार भण्डारी, सह सचिवमा अमित गुप्ता, कोषाध्यक्षमा कमलेश साह, सह कोषाध्यक्षमा भागवान साह र सदस्यहरुमा क्रमशः  धनिलाल साह सोनार, दिपक ठाकुर र भोला कुमार साह निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत अधिवक्ता विनय सिंहले बताएको छ ।महासंघको केन्द्रिय निर्णय अनुसार प्रदेश न-२ अन्तर्गतको ८ वटै जिल्लाका प्रतिनिधिहरुको उपस्थितीमा अधिवेशन सम्पन्न भएको जनाइएको छ ।

     व्यवसायी संघ पर्साका अध्यक्ष निरज कुमार सर्राफ, बाराका प्रतिनिधि शिव कुमार सर्राफ, सर्लाहीका प्रतिनिधि कमलेश साह, सप्तरी प्रतिनिधि राजेशे कुमार साह, धुनषा प्रतिनिधि अमित गुप्ता, लहान नगर प्रतिनिधि श्याम कुमार साह, पर्साका जलेश्वर सर्राफ लगायत ३८ जना मतदाताहरुको सहभागीता रहेको अधिवेशनमा  निर्वाचित नव पदाधिकारीलाई सोही दिन प्रमाण पत्र वितरण गरिएको नवगठित समितिका कोषाध्यक्ष कमेश साहले जानकारी दिएको छ ।




मापदण्ड विपरीत संचालित सर्लाहीका क्रसर उधोगहरु बन्द गर्न निर्देशन

 





सर्लाही ,असोज १३

    मापदण्ड २०७७ विपरीत संचालित सर्लाहीका क्रसर उद्योगहरु तत्कालका लागि बन्द गराउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (वातावरण तथा विपद व्यवस्थापन शाखा)ले जिल्लाका प्रशासनिक निकायहरुलाई निर्देशन दिएको छ । 

   मन्त्रालयले जारी गरेको ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापन सम्बन्धि मापदण्ड २०७७ अनुसार घना बस्ती र वन क्षेत्रको दुई किलोमीटर, राजमार्गको पाँचसय मिटर दुरी भित्रको नदि, सडक र पुल तथा झोलुङ्गे पुलको एक किलोमिटर तल र पाँचसय मिटर माथि, खोला वा नदी किनारबाट पाँचसय मिटर, शिक्षण संस्था, स्वास्थ्य संस्था, धार्मिक, सांस्कृतिक, पुरातात्त्विक महत्त्वका स्थान तथा सुरक्षा निकायबाट दुई किलोमीटर, अन्तर्राष्ट्रिय सिमाबाट दुई किलोमीटर, हाइटेन्सन लाइनबाट दुईसय मिटर, ऐतिहासिक ताल, तलैया, जलाशय र पोखरीबाट पाँचसय मिटर र चुरे पहाडको फेदीबाट १५ सय मिटरको दुरी भित्रको नदीजन्य पदार्थ उत्खनन र संकलन गर्न नपाइने उल्लेख रहेको जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख मेथुर चौधरीले बताउनुभएको छ । मापदण्ड विपरीत तथा नवीकरण नभएका सर्लाहीमा संचालनमा रहेको आठवटा क्रसर उधोगका संचालकहरुलाई सोमबार देखि बन्द गर्न कडा निर्देशन दिइएको सर्लाही प्रहरी प्रमुख एसपी सन्तोष सिंह राठौरले जनाएका छन् ।

क्रसर उधोग माथी विशेष निगरानी बढाइएको र क्रसर उधोगको अनुगमन गर्दा मापदण्ड विपरीत खोला, वनजंगल, बस्ती र बिधालय नजिक समेत संचालनमा रहेको र ढुङ्गा, गिट्टी, बालुवा लगायतका नदीजन्य पदार्थको अनियन्त्रित दोहन रोक्नका लागि यो कडा कदम चालिएको एसपी राठौरले बताए ।


सर्लाहीको बागमतीमा झुण्डिएर एक नवविवाहिता महिलाको शंकास्पद मृत्यु

 





लोकतन्त्र समाचारदाता----

सर्लाही ,असोज १३

    सर्लाहीमा  झुण्डिएर एक नवविवाहित महिलाको मृत्यु भएको छ। जिल्लाको बागमती नगरपालिका वडा न-९ शंकरपुर  बस्ने संजय चौधरीकी  श्रीमती २० वर्षीया प्रियंका चौधरीको सोमबार दिउँसो  झुण्डिएर मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

    आफ्नै घरमा  पासो लगाई झुण्डिएको अवस्थामा प्रियंकाको मृत शरिर फेला परेको प्रहरीले जनाएको छ। सोमबार दिउँसो प्रियंकालाई घरको आफ्नै  सुत्ने कोठामा झुण्डिएको अवस्थामा देखेपछि सासुले छिमेकीको सहयोगमा डोरी काटेर मृत शरिर ओछ्यानमा राखेर प्रहरीलाई खवर गरेका थिए । प्रहरी टोली घटना स्थलमा पुगेर घटना स्थलको  मुचुल्का उठाएर बेलुका ३ बजे मृतकको शव पोष्टमार्टमकालागि जिल्ला अस्पताल मलंगवामा ल्याएका थिए । पोष्टमार्टमपछि प्रियंकाको शव  श्रीमानलाई बुझाइएको प्रहरीले जनाएको छ 

    तर उता महोत्तरीको औरही नगरपालिका वडा न-१ स्थित माइती पक्षले भने प्रियंकाले आत्महत्या नगरेको बताएका छन् ।मृतक र संजयको हालै तीन महिना अगाडी असाढ १४ गते विधिपुर्वक  विवाह भएको थियो ।विवाह भएको केहीदिनमै दुबैजना बीचको सम्बन्ध नराम्रो रहेको र प्रियंकालाई संजयले पटकपटक शारिरिक र मानसिक यातना समेत दिंदै आएको मृतकका काका श्रवण चौधरीले बताए।छिमेकीका अनुसार घटनाको दिन मृतकका ससुरा सुरेन्द्र चौधरी फलफुल बेच्न बजार गएको र श्रीमान आफ्नो एकजना मुस्लिम समुदायको साथीको विवाहमा गएको र घरमा सासू र उनी मात्र रहेका थिए ।तर माइती पक्षले घटना स्थलमा प्रहरी पुग्नु भन्दा पहिल्यै डोरी काटेर शवलाई ओछ्यानमा राखेको र घटनाको बारेमा समेत आफुहरुले अरुनै ब्यक्ति मार्फत जानकारी पाएकोले आत्महत्या नभइ हत्या गरेर डोरीमा झुण्ड्याएको आरोप लगाएका छन् ।माइतीबाट आफन्तहरु आउन नपाउँदै आननफाननमा शवको पोष्टमार्टम गरेर पठाएकोले घटना शंकास्पद रहेको मृतका काका श्रवण चौधरीले भने ।घटनाको छानबिन गरी दोषीहरुलाई सजाय दिन उनीहरुले माग गरेका छन् ।

    मृतको शव सोही दिन पोष्टमार्टम गरि श्रीमानको जिम्मा लगाएर घटनाको छानबिन सुरु भइसकेको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।

    







सर्लाहीलाई महोत्तरी जिल्लासँग जोड्ने हुलाकी सडको अवस्था दिनदिनै जर्जर बन्दै

 


*


*सम्बन्धित निकाय मुक दर्शक*


सर्लाही ,असोज १३

    सर्लाहीको सदरमुकाम मलंगवाबाट संग्रमपुर हँदै पुर्वको हरिपुर्वासम्मको  सडक खण्ड  जर्जर अवस्थामा पुगेको भएपनि त्यसतर्फ  सम्बन्धित निकायको ध्यान जानसकेको छैन  ।

      महोत्तरीको सदरमुकाम जलेश्वर देखी सर्लाहीको सदरमुकाम मलंगवादेखि महोत्तरीको सदरमुकाम जलेश्वर सम्म जोडिएको एकमात्र  हुलाकी सडकबाट दिनहुँ  हजारौ पैदल यात्री तथा  विभिन्न सवारी साधनहरुको ओहोरदोहोर हुने गरेको छ ।सडकको  जर्जर अवस्थाले गर्दा उक्त सडकमा प्रत्येक दिन कुनैनकुनै सानो ठूलो दुर्घटनाहरु  भइरहेको स्थानीयहरुले बताएका छन् ।  महोत्तरी जिल्ला तर्फ पर्ने सडकमा कालोपत्रेको काम सम्पन्न भइसकेको भएपनि  सर्लाही तर्फको संग्रमपुरदेखि सुरु भएको सडक खण्डमा भने ठेेकेदारको लापरबाहिले अहिलेसम्म  ग्राभेलको काम समेत भएको छैन हरिपुर्वा नगरपालिका निवासी मुकेश झाले बताए  ।

   सर्लाहीको पर्सा गाउपालिका अन्तर्गत पर्ने शितलपुर देखि सदरमुकाम  मलंगवासम्मको हुलाकी सडक खण्डमा पर्ने सखुअबाको नखा खोलामा बिगत ५ बर्ष देखि पुल निर्माणाधिन अवस्थामा नै छ । जसको कारण प्रत्येक वर्ष अषाढ देखी कार्तिकसम्म खोला तर्न निकै समस्याको सामना गर्नु परेको स्थानीयहरुले गुनासो गर्दै आएका छन्  । त्यस्तै  ब्रह्मपुरी गाउँपालिकाको  सखुअवा देखि भेल्हीसम्मको सडक ठाउँठाउँमा बिग्रिएका कारण मोटरसाइकल चलाउन पनि गार्‍हो भएको हरिपूर्वा निवासी झाले बताए ।

     सर्लाहीको दक्षिण क्षेत्रलाई जोडने एकमात्र  हुलाकी सडक क्षतिग्रस्त अवस्थामा रहेको कारण सो क्षेत्रमा बसोबास गर्ने स्थानिय जनताहरुको दैनिकी  र  यात्रुहरुको यात्रा  कष्टकर बन्दै गएको स्थानियहरुले गुनासो गर्दै आएपनि सम्बन्धीत निकाय मौन रहेको छन् ।


 



भाँडसरबाट लागूऔषध सहित एकजना पक्राउ

 




लोकतन्त्र समाचारदाता---

सर्लाही,असोज १३

      सर्लाहीको लालबन्दी नगरपालिका वडा न-२,पुनर्वास टोल बस्ने श्यामदेव पासवानका ३० वर्षिय छोरा दिनेश पासवानलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीले मलंगवा नगरपालिका वडा न-५ भाँडसरबाट प्रतिबन्धित  लागूऔषध डायलेक्स डिसी १०० एमएल को ५० बोतल सहित आइतवार दिउँसो पक्राउ गरेको  छ । 

      नेपाल भारत सिमा नजिकै पर्ने भाँडसर स्थित बाँसको घारीमा लागूऔषध लुकाएर राखेको भन्ने गोप्य सूचना पाएपछि  प्रहरी चौकी भाँडसरबाट प्रहरी हवल्दारको कमाण्डमा ३ जना र सशस्त्र प्रहरीको  बिओपी खुटौनाबाट सशस्त्र प्रहरी निरिक्षकको कमाण्डमा ७ जनाको संयुक्त टोलीले उक्त  स्थानबाट पासवानलाई लुकाएर राखेको लागूऔषध सहित पक्राउ गरी थप कार्यवाहीको लागि जिल्ला प्रहरी कार्यालय मलंगवामा बुझाएको जिप्रका सर्लाहीमा प्रहरी प्रवक्ता एवं डिएसपी मदन कुवँरले जानकारी दिनुभएको छ ।



मलंगवा बगाउने झिम नदीमा तटबन्ध गरिंदै

 





सर्लाही ,असोज १३

    प्रत्येक वर्ष वर्षातको समयमा बाढी र डुवानको समस्या झेल्दै आएका मलंगवाका जनयाहरुको समस्याको समाधान हुन भएको छ ।

     सर्लाहीको सदरमुकाम मलंगवा वडा न-९  र  ब्रम्हपुरी गाउँपालिकाको भेल्हीको बिच भएर बग्ने झिम नदीमा अबको केहीदिन भित्रै नदी नियन्त्रणका लागि तटबन्धको सम्पूर्ण काम सम्पन्न हुने  मलंगवा -९ का वडाध्यक्ष दिपलाल महतोले जानकारी दिएको छ । अहिले नदी नियन्त्रणका लागि बीच सेन्टरदेखि १४० मिटर सम्म तटबन्धको काम भइरहेको वडाध्यक्ष महतोले जनाएको छ ।झिम नदीमा आउने बाढीबाट वर्षेनि ठुलो क्षेत्रफलमा खेतियोग्य जमिन कटान गर्दै आइरहेको छ ।झन ठुलो बाढी आउँदा बाढीको पानी मलंगवा स्थित घना बस्ती सम्मै पुग्ने गरेको छ ।तटबन्ध भएपछि केही हदसम्म ती समस्याहरुबाट मुक्ति मिल्ने वडाध्यक्ष महतोले भने ।

    उक्त कार्यको सोमबार संघीय सांसद महेन्द्र राय,जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरी, जिसस सदस्य विनय यादव लगायत स्थानीय जनप्रतिनिधि तथा स्थानीय सरोकारवालाहरुले निरिक्षन गरि कार्यप्रगतिको बारेमा जानकारी लिएका छन् । 


यौन शिक्षा कार्यक्रमको समीक्षा गरियो

 




नवाब अली---
रौतहट ,असोज १३
    महिला सशक्तीकरण तथा यु.एन.एफ.पी.ए द्वारा रौतहटको २६ वटा स्वास्थ्य संस्था तथा विद्यालयहरुमा संचालित वृहत्तर यौन शिक्षा सम्बन्धि कार्यक्रमको आइतवार समीक्षा गरिएको छ ।
    कार्यक्रम संचालनको क्रममा उत्पन्न  चुनौती र त्यसको समाधानका गरि अगाडी कसरी बढाउनु पर्छ भन्ने छलफल गर्न कार्यक्रमको आयोजना गरिएको आयोजक संस्थाले जानकारी दिएको छ ।कार्यक्रममा सहभागी भएका विभिन्न स्वास्थ्य संस्था तथा विद्यालयका विद्यार्थीहरुले संस्थाले संचालन गरेको कार्यक्रमलाई अझ सशक्तरुपमा कसरी अगाडी बढाउन सकिन्छ भन्ने विषयमा छलफल गरेका थिए ।
   यौन शिक्षालाई राम्रो तरिकाले प्रस्तुत गर्न सामाजिक कुरितीहरु जस्तै बालविवाह ,छुवाछूत ,छोराछोरीमा भेदभावको अन्त ,समान अधिकार ,महिला प्रतिको सम्मान कायम राखी सरकार तथा संघसंस्थाहरुबाट पनि सहयोग प्राप्त भए  कार्यक्रमको लक्ष्य प्राप्त हुने भनि सहभागीहरुले आआफ्नो धारणा राखेका थिए ।

सूचना


 

Monday, September 28, 2020

स्थानीय तहमा सरकारी गाडीको दुरुपयोग बढ्यो

 


 *


खेतबारीको काममा सरकारी गाडिको प्रयोग*


मनोज यादव----

सर्लाही ,असोज १२

    सर्लाहीको स्थानीय तहमा सरकारी गाडीको चरम दुरूपयोग भइरहेको छ । गाउँ गाउँमा सिंहदरबार भन्ने नाराका साथ संघियताअनुरूप व्यवस्था गरिएको स्थानीय तहका जनप्रतिनिधिदेखि कर्मचारीहरुले सरकारी गाडीको चरम दुरूपयोग गरिरहेको पाइएको छ ।

    स्थानीय जनताको समस्या समाधानका लागि उनीहरुको घर दैलोमा पुग्न र विकास निर्माणको काममा सहज भएर लाग्न जिल्लाभरका पालिकाहरुले आफ्ना जनप्रतिनिधि तथा कर्मचारीहरुको लागि ठूलो धनराशी खर्च गरेर  लाखौंको  सवारीसाधन किनेका छन् । सुरुका दिनमा स्थानीय तहले प्राथमिकताका साथ गाडी तथा मोटरसाइकल खरिद गर्न थालेपछि जिल्लामा त्यसको व्यापक आलोचना समेत भएको थियो ।लाखौंको सुविधा सम्पन्न गाडी तथा त्यसमा प्रयोग हुने इन्धन, मोबिल तथा मर्मत खर्च स्थानीय तहले व्यहोर्दै आएका छन् ।विकास निर्माणको लागि भनि आएको बजेट सवारीसाधनको रखरखावमा खर्च भएको भन्दै त्यसको व्यापक विरोध समेत भएको थियो । 

    स्थानीय तहले एकातिर सवारीसाधनको रखरखावमा वार्षिक लाखौं खर्च गर्दै आएका छन् भने अर्कोतर्फ ती सरकारी गाडीहरूको निजी प्रयोग पनि बढ्दो छ । जसका कारण व्यक्तिगत प्रयोजनका लागि सरकारी सम्पत्तिको प्रयोग गरी दुरूपयोग बढेको छ ।जिल्लाका अधिकांश स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीहरुले सरकारी सुविधाको रुपमा पाएको मोटरसाइकल घरको कामदेखि खेरबारीको काममा प्रयोग गर्ने गरेका छन् ।वडाध्यक्षले पाएको मोटरसाइकल उनीहरुका छोरा ,भाइ ,भतिजा र सालोले गुडाइरहेको देख्न पाइन्छ ।मोटरसाइकलमा प्रयोग हुने इन्धन लगायतका सुविधा स्थानीय तहबाट  लिँदै आएका वडाध्यक्षहरु जनताको काम नगरी  त्यसको प्रयोग भने आफ्नो घरको र ब्यक्तिगत काममा  प्रयोग गर्दै आएको स्थानीयहरुले बताएका छन् ।

    यसरी सरकारी सम्पत्तिको दुरुपयोग गर्नेहरुलाई  तत्कालै कार्यवाहीको  दायरामा ल्याउन सरोकारवाला निकायको ध्यान  जान जरुरी रहेको मानवअधिकारबादी मुकेश मिश्रले भने ।





सर्लाहीमा नेकपा छाडेर दर्जनौं स्थानीय नेता तथा कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश




सर्लाही ,असोज १२

    सर्लाहीको धनकौल गाउँपालिका महिनाथपुरमा सोमबार सत्तारुढ  नेपाल कम्युनिस्ट पार्टी(नेकपा)  छाडेर दर्जनौ ब्यक्तिहरु  नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

   प्रदेश न-२ का सांसद बिरेन्द्र सिंहको प्रमुख आतिथ्यतामा आयोजना भएको पार्टी प्रवेश कार्यक्रममा महिनाथपुरका स्थानीय सुरेश यादव,सत्यनारायण यादव,सुरेन्द्र यादव,होसनारायण यादव,राजेश यादव,अछेलाल यादव लगायत १० घर परिवारका ५० जना ब्यक्तिहरुले नेकपा छाडेर नेपाल काँग्रेसमा प्रवेश गरेका हुन । उनीहरूलाई काँग्रेस नेता एवं प्रदेश सांसद सिंहले रातो टीका तथा माला पहिर्याएर सार्वजनिक रुपमा पार्टीमा स्वागत गर्दै भित्राउनु भएक पार्टीले  जनाएको छ ।

रौतहट स्थित झाझ खोलामा डुबेर एक युवकको मृत्यु



नवाब अली-----

रौतहट,असोज १२

     रौतहटको कटहरियामा बेपत्ता भएका एक ब्यक्ति खोलामा डुबेर मृत अबस्थामा फेला परेको छ । 

     जिल्लाको कटहरिया नगरपालिका वडा न-९ मुसर टोल बस्ने अन्दाजी २८ बर्षिय किशोरी माझी गत असोज ९ गते शुक्रवार  राती दिशा गर्न  घर नजिकै रहेको झाझ खोला किनारमा जाँदा बेपत्ता भएका थिए । उनी घर नआए पछि उनका आफन्तहरुले राती खोज तलास गर्दा पत्ता नलागेपछि भोलीपल्ट  बिहान टेलिफोन मार्फत इलाका प्रहरी कार्यलय कटहरियामा खबर गरेका थिए । खबर पाउना साथ  माझीको प्रहरीको बिशेष टोलीले खोज तलास गर्दा आइतबार  कटहरिया नपा वडा न—९ स्थित झाझ खोलामा डुबेर मृत्यु भएको अबस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

    मृतक माझीको शव पोष्टमार्टमका लागी सरकारी अस्पताल चन्द्रनिगाहपुर पठाइएको प्रहरीले जनाएको छ ।

 


Sunday, September 27, 2020

जथाभावी रुपमा फालिएको माक्सले संक्रमणको जोखिम बढायो

 





मनोज यादव---

सर्लाही ,असोज ११

   कोरोना भाइरस संक्रमण बढेसँगै सर्लाहीमा पनि मास्क लगाउनेको संख्यामा वृद्धि हुँदै गएको छ । मास्कको प्रयोग गरेपनि प्रयोग भइसकेका माक्स जथाभावी रुपमा  फाल्ने प्रवृत्तिले संक्रमणको जोखिम पनि त्यतिकै बढाएको छ । 

     सडक ,गल्ली  र बजारक्षेत्रमा प्रयोग भएका मास्कहरु जथाभावी फालिएकाले कोरोना संक्रमणको  जोखिम अझ बढ्दै गएको छ  ।मास्कको उचित प्रयोग र विसर्जन हुन नसक्दा संक्रमण फैलिन सक्ने स्वास्थ्य कार्यालय सर्लाहीले बताए । ‘मास्कको भित्री भागमा थुक, र्‍याल, सिँगान र बाहिरी भागमा अरुको थुकको छिटा परेको हुनसक्ने भएकाले प्रयोगमा ल्याइएका माक्स जथाभावी  फाल्दा संक्रमणको जोखिम हुने, ’स्वास्थ्यकर्मी रामबिनय यादवले भने । मास्कको उचित व्यवस्थापन हुन नसके संक्रमण फैलन सक्ने उनको भनाइ छ।मास्क खोल्दा र लगाउनुअघि हात पूर्ण रूपमा सेनिटाइज (निर्मलीकरण) वा साबुनपानीले धुनुपर्ने र मास्कलाई गोलो बनाएर बिर्को लगाएको डष्टबिनमा हाल्नुपर्ने उनको सुझाव छ । मास्कमा धातु र प्लाष्टिक हुने हुँदा ती वस्तुमा किटाणु लामो समयसम्म बस्ने गरेको बताइएको छ ।

     आम नागरिकले मास्कको उचित प्रयोग र विर्सजनका बारेमा गम्भीर हुन सके संक्रमण न्यूनीकरणमा सहयोग पुग्ने स्वास्थ्य कार्यालय सर्लाहीले जनाएको छ । 


वर्षाले घर भत्किएपछि छिमेकीको घरमा बास

 



सर्लाही ,असोज ११

    वर्षाको पानीले सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा न-१ रतनपुर स्थित स्थानीय कलेश्वर मिश्रको २ कोठे बाँसको बेरा र खपडाको छानो भएको  १ तले कच्ची  घर  भत्किएर एकलाख रुपैयाँ बराबरको क्षति भएको छ । 

    घर भत्किए पनि कुनै मानविय र चौपाया  क्षति नभएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।घर भत्किएर घरबार विहिन बनेका पिडित मिश्रको परिवार अहिले छिमेकीकोमा आश्रय लिएर बसेको स्थानीयले बताए ।


सर्लाहीमा २२ जना कोरोना संक्रमित थपियो

 




सर्लाही ,असोज ११ 

   केहीदिनको अन्तराल पछि सनिवार  सर्लाहीमा एकैसाथ २२ जना ब्यक्तिहरुमा  कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।सनिवार संक्रमण पुष्टि भएकाहरु  बरहथवा, बागमती  र हरिपुर नगरपालिकाको रहेको स्वास्थ्य कार्यालय मलंगवाले जानकारी दिएको छ।

    थपिएको कोरोना संक्रमितहरु मध्ये सबैभन्दा बढि बरहथवा नगरपालिकाबाट १७ जना, बागमती नगरपालिकाबाट ४ जना र हरिपुर नगरपालिकाबाट १ जना रहेका छन् । बरहथवामा थपिएको १७ जना कोरोना संक्रमितहरु मध्ये २ जना प्रहरी, ४ जना थुनुवा र बाँकी सबै स्थानिय रहेको बरहथवा नगरपालिकाले जनाएको छ ।




सर्लाहीमा कोरोना भाइरस मुक्त भएर घर फर्कनेहरुको संख्या १८२१ जना पुग्यो

 



सर्लाही ,असोज ११

    सर्लाहीमा कोरोना संक्रमणबाट मुक्त हुनेहरुको संख्यामा बढोत्तरी भएको छ ।सोही क्रममा  एकैदिन ३०३ जना कोरोना संक्रमितहरु निको भइ डिस्चार्ज भएर आआफ्नो घर फर्किएका  छन् ।

    उनीहरूलाई सरकारले बनाएको मापदण्ड अनुसार १४ दिन आइसोलेसनमा राखेर  पुर्णरुपमा संक्रमण मुक्त भएको यकिन गरेर  शुक्रवार एकैसाथ डिस्चार्ज गरिएको स्वास्थ्य कार्यालय, मलंगवाका प्रमुख  सुशील  झाले  जानकारी दिए । यो सँगै जिल्लामा कोरोना मुक्त भएर डिस्चार्ज हुनेहरुको संख्या एक हजार आठ सय २१ पुगेको छ । 

     शुक्रवारसम्म दुई हजार ४० जनामा कोरोना संक्रमण पुष्टि भइसकेको  छ ।जसमध्ये  हाल २१३ जना सक्रिय संक्रमित अर्थात पीसीआर परीक्षण रिपोर्ट पोजिटिभ आएको र १४ दिन नपुगेकाहरु छन् । उनीहरु सबै होम आइसोलेसनमा बसेका  छन् भने एक जना संक्रमितको  जिल्लाबाहिर उपचार चलिरहेको स्वास्थ्य कार्यालय मलंगवाले जनाएको छ ।


पानीमा डुबेर भाँडसरमा एक पुरुषको मृत्यु

 



सर्लाही,असोज ११ 

     खेतमा जमेको पानिमा डुबेर सर्लाहीमा एक पुरुषको  मृत्यु भएको छ । मृत्यु हुनेमा मलगंवा नगरपालिका वडा न-६ भाँडसर स्थित सुखैनिया टोल बस्ने ५० वर्षिय चन्द्र किशोर पासवान रहेका छन ।

   सनिवार  साँझ घरबाट ५ सय मिटर टाढा रहेको आफ्नो खेतमा पानी हेर्न जाँदा खेतमा जमेको पानीमा डुबेर पासवानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । गाउँलेले खबर गरेपछि प्रहरी टोली घटना स्थलमा पुग्दा पासवान  खेतमा घोप्टो परेको मृत अवस्थामा  फेला परेको जिल्ला प्रहरी कार्यालय, सर्लाहीका प्रहरी प्रवक्ता एवं डिएसपी  मदन कुवँरले जानकारी दिए ।

    मृतकको पोष्टमा शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवामा राखिएको डिएपी कुवँरले बताए ।




Saturday, September 26, 2020

लखनदेही खोलामा डुबेर एकजना ८६ वर्षिय वृद्धको ज्यान गयो

 



सर्लाही ,असोज १०

    सर्लाहीको हरिवन नगरपालिका वडा न-३ ,मोहनपुर बस्ने एक वृद्धको लखनदेही खोलामा डुबेर ज्यान गएको छ। स्थानीय ८६ वर्षिय पद्म बहादुर परियारको सनिवार (आज) बिहान खोलामा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

  घरबाट बिहानै नवलपुर जान्छु भनि निस्किएका परियारको नजिकैको लखनदेही खोलामा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालयले सर्लाहीका प्रहरी प्रवक्ता एवं डिएसपी मदन कुवँरले जनाएको छ  ।वृद्धको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवामा राखिएको डिएसपी कुवँरले जानकारी दिए। 


बर्षाले सर्लाहीमा दुइघर भत्कियो, १ लाख ६० हजार रुपैयाँको क्षती

  



सर्लाही ,असोज १० 

    लगातारको वर्षाले सर्लाहीमा  दुई घर भत्केर डेढ लाख भन्दा बढीको क्षति भएको छ। जिल्लाको चन्द्रनगर गाउँपालिका र बरहथवा नगरपालिकामा दुई जनाको घर भत्केको हो।

     बर्षाको चन्द्रनगर गाउँपालिका वडा न-६ ,लोदवा टोल स्थित स्थानीय सत्यनारायण ठाकुरको पोखरीको डिलमा(किनार ) रहेको एक कोठे भान्सा घर र इट्टाले बनेको पक्की घर  पानीले पुर्ण रुपमा भत्किएर अन्दाजी १ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।घर भत्किँदा  कुनै मानवीय तथा पशुजन्य क्षति नभएको प्रहरीले जनाएको छ । 

    त्यस्तै अविरल वर्षाले शुक्रवार साँझ जिल्लाकै बरहथवा नगरपालिका वडा न-१६ टिकुलिया बस्ने स्थानीय राम प्रसाद रायको इट्टाको वाल भएको ४ कोठे घरको एकतिरको भित्ताको वाल भत्किएर अन्दाजी ६० हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ ।


सर्लाहीको धनकौल स्थित उखुबारीमा पुरुषको बेवारिसे शव बरामद

 




सर्लाही ,असोज १०

सर्लाहीको धनकौल गाउँपालिका वडा न-२ मा एक पुरुषको बेवारिसे अवस्थामा शव फेला परेको छ ।

     अन्दाजी ३०/३५ वर्षको मधेसी मुलको जस्तो देखिने ५ फिट हाइट ,कलेजी रंगको सर्ट र कालोमा सेतो रंगको धर्का भएको प्यान्ट लगाएको पुरुषको शव बुधबार दिउँसो स्थानीय शम्भु रायको उखुबारीमा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । 

   उक्त शवबारे विस्तृत अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवं डिएसपी मदन कुवँरले  जनाएको छ ।


अविरल वर्षाले घर भत्कियो

 




सर्लाही ,असोज १०   

     केही दिनदेखि भइरहेको  वर्षाका कारण सर्लाहीको हरिपूर्वामा एक घर भत्किएको छ ।घर भत्किँदा झण्डै तिनलाख रुपैयाँको क्षति भएको घरधनीलाई उद्रित गर्दै प्रहरीले जनाएको छ              

     बिहिवार दिउँसो हरिपूर्वा नगरपालिका वडा न–४ साहपुर स्थित फेकन वैठाको खपडाले छाएको एकतले कच्ची घर लडेको   जिल्ला प्रहरी कार्यालयले जनाएको छ । वर्षाको पानी जमेका कारण  वैठाको घर लडेको र घटनामा कुनैपनि किसिमको मानविय तथा  चौपाया लगायतमा  क्षति नभएको  जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए ।


मलंगवाबाट प्रहरीले लागूऔषध सहित एक युवकलाई पक्राउ गरे



सर्लाही ,असोज १०

 प्रतिबन्धित लागूऔषध सहित सदरमुकाम  मलंगवाबाट एक युवक पक्राउ परेको छ।

    बुधबार साँझ ४ बजे सीमा प्रहरी चौकी गोरखकालीबाट प्रहरी सहायक निरिक्षक रामबाबु रायको कमाण्डमा खटिएको ३ जना प्रहरी सम्मलित  गस्ती टोलीले  मलंगवा नपा वडा न-१,भेडियाहीबाट  वडा न-३ बस्ने १९ वर्षिय गणेश  साहलाई २८ बोतल लागूऔषध  वालरेक्सका बोतल सहित नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । भारतबाट नेपाल तर्फ बोराको पोको बोकेर पदैल आउँदै गरेको अवस्थामा शंका लागि चेकजाँच गर्दा साहले बोकेको बोरा भित्र २८ बोतल वालरेक्स फेला परेको प्रहरीले बताएको छ । 


Thursday, September 24, 2020

सहज परियोजना सल्लाहकार समितिको बैठक ब्रम्हपुरीमा सम्पन्न




सर्लाही ,असोज ८    

     युके.एडको आर्थिक सहयोग तथा भि.एस.ओ नेपाल र इन्टरनेशनल एलर्ट सँगको साझेदारीमा समग्र जनउत्थान केन्द्रले संचालन गरेको सहज परियोजना अन्तर्गत सल्लाहकार समितिको  बैठक सर्लाही ब्रम्हपुरी गाउँपालिकामा सम्पन्न भएको छ ।

     ब्रम्हपुरी गापाकी उपध्यक्ष गीतादेवी रायको अध्यक्षतामा बसेको सल्लाहकार समितिको बैठकले पालिकाले संचालन गर्न लागेको सुरक्षित बाँस सेवा केन्द्रलाई अझ व्यवस्थित रुपले संचालन गर्न सहज परियोजना अन्तर्गत सहयोग गर्ने सामाग्रीहरु परियोजना सल्लाहकार समितिले अनुमोदन गरेको निर्णय गरेको छ ।

गापा अध्यक्ष बिनोद साहको प्रमुख आतिथ्यतामा बसेको बैठकमा सल्लाहकार समितिका सदस्यहरु तथा परियोजनाकी  कार्यक्रम अधिकृत निरमा चौधरी ,महेशी साह लगायतको उपस्थिति रहेको समाजिक परिचालक गुन्जा साहले जानकारी दिए ।



अनेरास्ववियुद्वारा सिडियो तथा शिक्षा प्रमुखसँग शैक्षिक गतिविधिहरु माथी छलफल




सर्लाही ,असोज ८

     कोरोनाको कहर पछि सर्लाही जिल्लाका शिक्षण संस्था कसरी व्यवस्थित ढंगले फेरि सञ्चालनमा ल्याउने, विद्यार्थीहरुलाई कसरी सुरक्षित तरिकाले पठनपाठन गराउने लगायत विषयमा अनेरास्ववियु जिल्ला कमिटी सर्लाहीले सदरमुकाम मलंगवामा प्रमुख जिल्ला अधिकारी  र जिल्ला शिक्षा विकास समन्वय इकाई प्रमुखसँग अन्तरक्रिया गरेको छ । 

    अन्तरक्रिया पश्चात अनेरास्ववियू सर्लाही का संयोजक बिबेक मैनालीको नेतृत्वमा केन्द्रीय सदस्य सिबि साह, निर्वाचन आयोग सदस्य सरोज बाबु न्यौपाने,  काठमाडौं स्थित आर आर क्याम्पस स्ववियु उपसभापति श्रीकृष्ण उप्रेती, जनज्योति बहुमुखी क्याम्पस लालबन्दी सभापति शिवहरि गौतम, लगायत नेताहरूको उपस्थितिमा सोही विषयमा केन्द्रित रहेर प्रजिअ सुरेन्द्र पौडेललाई  लिखित रुपमा  सल्लाह सुझाव र संगठनको आधिकारिक धारणा सहितको ध्यानाकर्षण पत्र समेत बुझाएको अनेरास्ववियु सर्लाहीका सह जिल्ला संयोजक शमिमबाबु खानले जानकारी गराएको छ ।

Wednesday, September 23, 2020

मलंगवामा रहेको पुरानो पोखरीको सौन्दर्यकरणमा ६ करोड १२ लाख खर्चिदै

 


 

सर्लाही असोज ७ 

     मलंगवा नगरपालिका वडा न - ७, मुसैलीमा रहेको पुरानो पोखरीको सौन्दर्यकरण हुने भएको छ ।प्रदेश न-२ सरकारले ६ करोड १२ लाख ९३ हजार ३ सय ९९ रुपैया को लागतमा २ सय बर्ष पुरानो तथा १२ विघामा रहेको पुरानो पोखरीलाई सौन्दर्यकरण गर्ने भएको छ ।

    बुधवार एक कार्यक्रमको आयोजना गरि प्रदेश नं.२ का मुख्य मन्त्री मोहम्मद लालबाबु राउतको प्रमुख आतिथ्य तथा प्रदेश नं.२ का प्रदेशसभा सासंद अशोक यादवको अध्यक्षतामा सौन्दर्यकरण कार्यक्रमको उद्धघाटन गरिएको छ । कार्यक्रममा प्रतिनिधी सभा सासंद मानवीय महेन्द्र प्रसाद यादव विशिस्ट अतिथिको रुपमा उपस्थित रहनु भएको थियो । २२ सेप्टेम्बर  २०२० देखि २१ डिसेम्बर २०२१ सम्म पोखरीको सौन्दर्यकरणको कार्य सम्पन्न हुने मलंगवा नगरपालिकाका मेयर निरसल साहले बताउनु भयो । प्रदेश नं.२ का मुख्यमन्त्री राउत सौन्दर्यकरण कार्यक्रमको उद्धघाटन गर्न पुरानो पोखरी नजिक मुसैलीमा पुगेपछि स्थानीयहरुले माननीय मुख्यमन्त्री राउतलाई भव्य स्वागत गर्दै फूलमाला अविर लगाएर धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा प्रतिनिधिसभा सासंद रुहीनाज खातुन लगाएत जनता समाजवादी पार्टीबाट निर्वाचित प्रमुख –उपप्रमुख तथा वडा अध्यक्ष लगाएत कार्यकर्ताहरुको वाक्लो उपस्थिती रहेको थियो ।

Tuesday, September 22, 2020

ओरेकद्वारा मलंगवाका स्वास्थ्य संस्थालाई पिपिई प्रदान

 



सर्लाही ,असोज ६  
    सर्लाहीको सदरमुकाम  मलंगवा स्थित ओरेक नेपालको शाखाले तीनवटा स्वास्थ्य चौकीलाई पिपिई (व्यक्तिगत सुरक्षा सामग्री) उपलब्ध गराएको छ।
    कोराना भाइरसका शंकास्पद बिरामी संक्रमितको परीक्षण तथा उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई पिपिई हस्तान्तरण गरिएको हो। मलंगवा नगरपालिका अन्तर्गत वडा न-१ भेडियाही,वडा न-२ र वडा न-११ गम्हरिया    स्वास्थ्य चौकीलाई पिपिई सेट हस्तान्तरण गरिएको ओरेक नेपाल मलंगवा शाखाकी सहायक कार्यक्रम अधिकृत दिवानी रघुवंशीले बताइन ।
    पिपिइ सेट हस्तान्तरण गर्न संस्थाका सामाजिक परिचालक रौशन चौधरीले विशेष भूमिका खेल्नु भएको सहायक कार्यक्रम अधिकृत रघुवंशीले बताए ।

तरकारीको भाउले बजार तात्यो ,सबैखाले तरकारी महंगो

 



सर्लाही ,असोज ६
      चाडपर्व नजिकिँदै गर्दा सर्लाहीको  बजारहरुमा आलु प्याजसहित सबैखाले मौसमी तथा बेमौसमी हरियो तरकारीको भाउ आकाशिएको छ । थोकको तुलनामा खुद्रा बजारमा तरकारीको  भाउ दोब्बर - तेब्बरसम्म बढेको उपभोक्ताहरुले बताएका छन्  ।
      बजारमा अहिले आलु  प्रतिकेजी ६० र प्याज प्रतिकेजी १००  रुपियाँमा किनबेच भइरहेको छ । त्यस्तै लौका हेरीहेरी प्रति गोटा ८० देखि १०० रुपैयाँ ,बन्दा ८०,भन्टा ८०,देहाती मुला १२०, बोंडी १२० ,घिरौला ४० रुपैया प्रतिकिलोसम्म  बिक्री भइरहेको छ । भारतले प्याज निर्यातमा रोकेको भोलिपल्टै प्याज आकाशिएसँगै सबै तरकारी महँगिएका हुन । जसको प्रत्यक्ष मार सर्वसाधारण उपभोक्ताहरुमा पर्न गएको छ ।

संघीय सांसद प्रमोद साहद्वारा सामुदायिक भवन उद्घाटन



सर्लाही,असोज ६
   सर्लाहीको ईश्वरपुर नगरपालिका वडा न–२, राईटरखोरमा हालै  निर्माण कार्य सम्पन्न  भएको सामुदायिक भवनको संघीय सांसद प्रमोद साहले उद्घाटन गरिएका छन् ।
      स्थानीय रामबहादुर कार्कीले उपलब्ध गराएको  जग्गामा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत १५ लाख रुपैयाँ लागतमा निर्माण भएको सो भवनको सोमबार सर्लाही क्षेत्र नं. १ का प्रतिनिधि सभाका सांसद प्रमोद साहले उद्घाटन गरेका हुन् ।  सामुदायिक भवनमा बैठक, छलफल, अन्तरक्रिया  लगायतका सामाजिक काममा प्रयोग गरिने बताइएको  छ ।

Monday, September 21, 2020

सामाजिक सद्भाव नखलबलाउन जनता समाजवादी पार्टीको आग्रह

 




सर्लाही ,असोज ५

जनता समाजवादी पार्टी नेपाल नगर कमिटी मलंगवाले विश्वकर्मा बाबाको मुर्ति विसर्जन गर्ने क्रममा केही उत्सृङकल तथा सामाजिक सद्भाव बिथोल्ने ब्यक्तिहरुद्वारा मलंगवा नगरभित्र बसोबास गर्ने  दुईपक्ष विच झडप गराउने ब्यक्तिहरु उपर कडा कानुनी कार्यवाही तथा झडपमा परेर घाइते भएकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै उचित क्षतिपूर्तिको माग गर्दै प्रेस विज्ञप्ति जारी गरेको छ ।

    अध्यक्षद्वय प्रमोद राय यादव तथा  मोहम्मद जुल्फिकार अली मिकरानीद्वारा संयुक्तरूपमा हस्ताक्षरित प्रेस विज्ञप्तिमा उक्त माग गरिएको हो ।साथै जसपा नगर कमिटीले जारी गरेको प्रेस विज्ञप्ति मार्फत  अब उपरान्त सामाजिक सद्भाव खलबलाउने खालका कुनैपनि कार्यहरु नगर्न र नगराउन समेत आग्रह गरिएको छ ।




हरिवन स्थित जीर्ण चापिनी पुलका कारण दुर्घटनाको जोखिम





लोकतन्त्र समाचारदाता---

सर्लाही ,असोज ५

     पूर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवन नगरपालिका स्थित चापिनी पुल आवश्यक मर्मत सम्भार तथा उचित रेखदेखको अभावमा क्षतिग्रस्त भई दुर्घटनाको उच्च जोखिममा रहेको छ ।

   उक्त पुल भएर चल्ने सवारीसाधन जुनसुकै बेला पनि दुर्घटनामा पर्न सक्ने स्थानीयले बताएका छन् । वर्षौं पहिला निर्माण गरिएको ६६.३ मिटर लामो उक्त पुल भएर दैनिक हजारौंको संख्यामा  ठूला मालबाहक ट्रक, साना ठूला बस , ट्याक्टर, जिप तथा  तिनपाँग्रे र दुई पाँग्रे सवारीसाधनहरु संचालन हुने गरेको छ । दैनिक हजारौंको संख्यामा गुड्ने ठुला सवारीसाधनहरुले  पुलको सतह र रेलिङ भत्काएर  जीर्ण अवस्थामा पुर्याएको  स्थानीयवासीहरुले बताए ।

  त्यस्तै सोही राजमार्गमा  निर्माण भएका थप दर्जनौं  पुराना पुल पनि ठाउँठाउँमा भत्किएको छ ।  क्षमताभन्दा अधिकतम भार बोक्ने मालवाहक १६ चक्के ट्रकदेखि अन्य सवारीसाधन संचालनका कारण जीर्ण भएको चापिनी  पुलमा अहिलेसम्म दर्जनौँ सवारीसाधन दुर्घटना भइसकेका छन् । दुर्घटनामा परेर  कयौं यात्रुको मृत्यु भएका छन् भने कयौंका हातखुट्टा भाँच्चिएको स्थानीयवासी बताउँछन् ।

    पुर्वपश्चिम राजमार्ग अन्तर्गत   प्रदेश न-२ मा पर्ने अधिकांश पुलहरु पुर्णरुपमा जिर्ण अवस्थामा रहेको छ ।जसबाट कुनैपनि बेला ठुलो  दुर्घटना घट्न सक्ने उच्च जोखिम रहेपनि संघ,प्रदेश तथा स्थानीय सरकार अहिलेसम्म कानमा तेल हालेर चिर निद्रामा सुतेको देख्दा स्थानीयबासीहरु चिन्तामा परेका छन् । 


पिडित परिवारलाई युवा समाज कल्याणद्वारा खाद्यान्न सहयोग

 



लोकतन्त्र समाचारदाता---

सर्लाही ,असोज ५

   युव समाज कल्याण सर्लाहीले जिल्लाको पश्चिम क्षेत्रमा पर्ने धनकौल गाउँपालिका ,मानपुरका ५ जना घर परिवारलाई खाद्यान्न सहयोग गरेको छ ।भर्खरै स्थापना भइ सामाजिक  क्षेत्रमा काम गर्दै आएको युवाहरुको समुहको यस सस्थाले सर्लाही जिल्लाभर रक्तदान,खाद्यान्न सहयोग,सडक बालबालिकाहरुको उद्धार लगायतका कामहरु गर्दै आएको छ । 

    यसको अलावा कोरोना माहामारीको चपेटामा परेका अति बिपन्न, अपाङ्गता, दलित,एकल महिला, श्रमिक मजदुर र वेसाहारा ब्यक्ति तथा परिवारहरुलाई केन्द्रित गरेर  विभिन्न सहयोगका कार्यहरु गर्दै आएका छन् ।यसै क्रममा आइतवार संस्थाको कल फर फुड एण्ड ब्लड अन्तर्गतको हेल्पिङ मेनेजमेन्ट टिमले मानपुरका ५ जना अती विपन्न एवं एकल महिलाहरुको दैलोमै पुगेर विभिन्न खाद्यान्न सामाग्री सहयोग गरेको मेनेजमेन्ट टिमका सदस्य बसबरिया गाउँपालिका वडा न-४ ,धनगढा निवासी अनिल यादवले   जानकारी दिएको छ ।

    पछिल्लो १५ दिनमा आफूहरूले जिल्लाको विभिन्न स्थानका १४ जना अति  विपन्न परिवार लाई खाद्यान्न सहयोग गरिसकेको साथै  विभिन्न अस्पतालमा भर्ना भएका  १० जना बिरामीहरूलाई आपत्कालीन अवस्थामा रगत पनि उपलब्ध गराइसकेको यादवले बताए । कोभिड-१९ को महामारीको कारणले गरिएको लकडाउन सकिसके पछि हाम्रो टिम समाजिक कार्यमा अझ सशक्त रुपमा लाग्ने छौ,उनले बताए । 




Sunday, September 20, 2020

चेम्बर अफ कमर्स मलंगवाको अध्यक्षमा अमित अग्रवाल

 



सर्लाही ,असोज ४
   अमित अग्रवालको अध्यक्षतामा ५१ सदस्यीय  नेपाल चेम्बर अफ कमर्स मलंगवा नगर समिति गठन भएको छ ।
     समितिको अन्य पदाधिकारीहरुको चयन केही समयपछि  गरिने बताईएको छ । जिल्ला अध्यक्ष रामभक्त प्रधानको अध्यक्षतामा सम्पन्न भएको   कार्यक्रममा जिल्ला समितिका वरिष्ठ उपाध्यक्ष संजय गुप्ताले स्वागत गरेका थिए । कार्यक्रममा  कमर्सका प्रदेश दुई समितिका वरिष्ठ उपाध्यक्ष निराजन कार्कीको प्रमुख आतिथ्यता रहेको थियो।
    सदरमुकाम मलंगवा स्थित जानकी फैमिली पार्टी प्यालेसमा सम्पन्न भएको भेलाले  चेम्बर अफ कमर्सको जिल्ला कार्यसमितिको समेत विस्तार गरिएको समितिका बरिस्ठ उपाध्यक्ष गुप्ताले जानकारी दिनुभयो ।

Saturday, September 19, 2020

सर्लाहीको सदरमुकाम मलंगवामा कर्फ्यु आदेश जारी



दिउँसो डेढ बजे देखि भोली बिहान ८ बजे सम्मको लागि

मनोज यादव---
सर्लाही, असोज ३
     विश्वकर्मा भगवानको मूर्ती सेलाउने विषयलाई लिएर सर्लाही सदरमुकाम मलंगवाको वडा नं- ३ स्थित विश्वकर्मा चौकमा मुस्लिम र हिन्दु समुदाय बिच झडप हुदाँ तनाव उत्पन्न भएको छ ।
    शुक्रवार रातीदेखि उत्पन्न भएको तनाव साम्य नभएपछि प्रशासनले शनिवार साढे १ बजेदेखि आइतवार बिहान ८ सम्मका लागि नगरपालिका क्षेत्रमा कर्फ्यु  आदेश जारी गरेको छ । अवस्था सामान्य  हुनुको साट्टा दुई समुदायका मानिसहरु भेला भएर बादबिबाद गर्न थालेपछि कर्फ्यु आदेश  जारी गर्नु परेको  जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक संतोष सिंह राठौरले जानकार दिए । 
   शुक्रवार साँझ  विश्वकर्मा पुजा गरिएको मुर्ति पोखरीमा सेलाउन भनी नगरको परिक्रमा गर्दै लादै गर्दा वडा न-३ स्थित मस्जिद नजिक पुगेपछि डिजे बाजा बजाएको भन्ने विषयमा हिन्दु र मुस्लिम समुदायका केही  स्थानिय युवाहरु  बिच झडप भएको थियो । झडप भएपछि दुबै पक्षबिच ढुङ्गा मुढा भएको र सो ढुङ्गा मुढामा   दुबै पक्षका करिब १ दर्जन भन्दा बढी व्यक्तिहरु घाईते समेत भएका थिए  । दुई समुदाय बिच झडप हुन थालेपछि प्रहरी आएर अवस्थालाई सामान्य पारेको थियो ।
    शनिवार(आज) बिहानदेखि  अवस्था फेरी तनावपूर्ण बनेपछि स्थानीय  प्रशासनको आदेशमा कर्फ्यु आदेश जारी गरिएको हो ।  सेलाउन लाँदै गरेको विश्वकर्माको मूर्ती नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सर्लाहीमा राखिएको छ । 

 

ओरेकद्वारा सर्लाहीको आइसोलेसनहरुको भ्रमण गर्दै कोरोना संक्रमितहरुलाई मनोविमर्श सेवा प्रदान

 




मनोज यादव----
सर्लाही ,असोज ३
     महिला पुनःस्थापना केन्द्र (ओरेक) ले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको विषम परिस्थितिमा संक्रमित भएर सर्लाहीको  आइसोलेसनमा बसेका बिरामीहरुलाई मनोविमर्श सेवा प्रदान गरेको छ ।
    ओरेकको सर्लाही स्थित शाखाको अगुवाइमा मानवअधिकारकर्मी मुकेश मिश्र,युवा समाज कल्याण सर्लाहीका सदस्य एवं युवा सामाजिक अभियन्ता कृष्णा राउत र संचारकर्मी सहितको टोली कोरोना भाइरसबाट   संक्रमित भएर लामो समयावधिसम्म   उपचारका लागि आइसोलेसनमा  बसेका बिरामीहरुमा  आएको मानसिक तनाव र त्यसको असरलाई कम गर्न सर्लाहीको ४ वटा आइसोलेसनहरुको भ्रमण गरि  संक्रमित ब्यक्तिहरुलाई  मनोसामाजिक बिमर्श सेवा प्रदान गरेका हुन । कोरोना भाइरस संक्रमणको सन्त्रास, आइसोलेसनमा भएका बेला हुने चिन्ता र तनावलाई कम गर्न सर्लाही जस्तै अन्य जिल्लाहरुमा पनि मनोविमर्शकर्ताहरु मार्फत सेवा प्रदान गरिरहेको ओरेक नेपाल सर्लाही शाखाकी सहायक  कार्यक्रम अधिकृत एवं मनोविमर्शकर्ता  दिवानी घिमिरे रघुवंसीले बताइन ।
      सर्लाहीको सदरमुकाम मलंगवा,कविलासी , लालबन्दी र हरिवन नगरपालिकामा गरि ४ वटा आइसोलेसनहरु संचालनमा रहेका  छन् । जसमध्ये मलंगवाको आइसोलेसनमा ६ जना ,हरिवनको आइसोलेसनमा १ जना बिरामीहरु रहेका छन् भने अन्य दुइवटा हाल खाली अवस्थामा रहेको छ ।
     भ्रमणको उदेश्य मनोपरामर्श सेवा प्रदान गर्ने मात्र नभइ सम्बन्धित पालिकाले आइसोेसनमा  उपलब्ध गराएका  सेवा,सुविधाहरुको साथै त्यहाँ रहेका बिरामीहरुले  आफ्नो  बसाईको बेला भोगेको  समस्या तथा अनुभवको बारेमा  उनीहरुबाटै जानकारी लिने पनि रहेको टोलीका सदस्य एवं युवा सामाजिक अभियन्ता  राउतले बताए ।
    संक्रमित भइ  होम आइसोलेसनमा बसेर  यसको नियमित  उपचार प्रक्रियामा सहभागी हुन नसकिने साथै  स्वास्थ्य सम्बन्धि  मापदण्डको पालना गर्ने  तथा यसका लागि उपयुक्त वातावरणको निर्माण पनि गर्न नसक्ने भएकोले संक्रमितहरुलाई आइसोलेसनमै बस्न उपयुुक्त रहेको कोरोना संक्रमित बिरामीले भने । कुनैपनि अप्ठ्यारो परिस्थिति आउँदा  आइसोलेसनमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र कर्मचारीहरु बोलाएको समयमा तुरुन्त उपस्थित भएर असहज परिस्थिति लाई सहज बनाउने , उचित सल्लाह दिने र एक्लै बस्दा मनमस्तिष्कमा उत्पन्न हुने नकारात्मक सोंच ,विचार आउन नदिन बेलाबेलामा मनोरञ्जनात्मक क्रियाकलापहरु गर्ने गरेको उनीहरुले बताए ।
     जिल्लामा अहिले फेला परेका अधिकांश संक्रमितहरु हुनेखाने घरपरिवारका रहेकाले पालिकाले संचालन गरेको आइसोलेसनमा बस्न नचाहेपछि संक्रमित ब्यक्तिले पालना गर्नुे  सम्पूर्ण नियमहरुको नियमित पालना गर्नुपर्ने छ भन्ने  लिखित रुपमा सशर्त कागज गराएर उनीहरूलाई होम आइसोलेसनमा बस्न अनुमति दिएको जिल्ला प्रशासन कार्यालयले बताए ।
    
   





Breaking news

 मलंगवामा दुई पक्षबीच भएको झडपलाई लिएर आज १:३० बजेदेखि भोलि बिहान ८ बजे सम्मका लागि कर्फ्यु जारी

Thursday, September 17, 2020

सर्लाही अस्पताल को टिमलाई बधाई

   

  सर्लाहीको चक्रघट्टा गाउँपालिका घर भएकी एकजना महिलालाई सुत्केरी ब्यथा लागे पछि गा,पा, कै बर्थिङ सेन्टरमा निजले  एकजना बच्चा जन्माए लगतै पुन सुत्केरी पीडा सुरू भएपछि गा,पा, का बर्थिङ सेन्टरका चिकित्सकले प्रयास गरेपनि दोस्रो बच्चा पाउन समस्या भएपछि महिलालाई सर्लाही अस्पताल मलंगवामा ल्याएका थिए । महिलालाई ल्याउन ढिलाे भएकाे कारण महिलाकाे दोस्रो बच्चा पेटमै मरि सकेकाे थियाे । मरेकाे बच्चालाई बाहिर निकाल्न  सर्लाही अस्पतालका डाक्टरहरूलाई ठुलाे कसरत गर्नुपर्यो । लामाे समयकाे शल्यक्रिया पछि डाक्टरहरू सफल भएपनि रगतकाे अाभाव भएपछि  सुत्केरीलाई अब कसरी बचाउने भनेर थप समस्या सृजना भयाे । अस्पतालकै एकजना कर्मचारीको रगत सुत्केरी संग मैच भएपछि रगत दिएर सुत्केरी बचाउन अस्पतालका डाक्टरहरू सफल भएका छन । सुत्केरी महिला अब खतरा मुक्त रहेकाे मे,सु, संजिव सिंह बताउछन ।

    एउटा गरिब महिलालाई नया जीवन प्रदान गर्नु भएकाेमा सर्लाही अस्पताल मलंगवाका सम्पुर्ण चिकित्सक टिमलाई  राष्ट्रिय लोकतन्त्र दैनिक पत्रिकाको  सम्पूर्ण टिमको तर्फबाट  सलाम ।

Wednesday, September 16, 2020

एस पी राठौरकोको सकृयता बढ्यो ,अपराधीहरु धमाधम पक्राउ




मनोज यादव---

सर्लाही ,भदौ ३१

    यतिबेला  सर्लाहीमा प्रहरीको सकृयता  बढदै गएको छ।सर्लाही प्रहरी प्रमुखको रुपमा एसपी सन्तोष सिंह राठौरले कमाण्ड सम्हाले देखि सर्लाही प्रहरी अपराध नियन्त्रणमा पूर्ण रुपमा सक्रियता देखाएको छ ।प्रहरी टोलीलाई लिएर उहाँ आफै जिल्लामा  अपराधिक घटना तथा क्रियाकलाप हुने स्थानमा पुगेर  अपराध नियन्त्रण गर्न लागि पर्नुभएको छ ।

    यसै क्रममा प्रहरीले मंगलबार बागमती नगरपालिका वडा न-११ झोलुङ्गे पुल स्थित सिन्धुली जिल्ला तर्फबाट सर्लाहीतर्फ आउँदै गरेको एकजना पैदल यात्री सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा न-६ बस्ने ज्ञानबहादुर जिम्बाको छोरा २३ वर्षिय सुवास जिम्बालाई २ किलो ८५० ग्राम लागूऔषध गाँजा सहित पक्राउ गरेको एसपी राठौरले जनाएको छ ।यस्तै प्रहरीले सोही दिन र सोही ठाउँ स्थित पेट्रोल पम्प नजिक सिन्धुलीतर्फबाट आउँदै गरेको पैदल यात्री हिरहरपुरगढी गापा वडा न-७ बस्ने वीरबहादुर गोलेका छोरा वर्ष २० को अन्तरे भन्ने बुद्धिमान गोलेलाई ३ किलो ३०० ग्राम लागूऔषध गाँजा सहित पक्राउ गरेको छ ।

   त्यस्तै सदरमुकाम मलंगवा नगरपालिका वडा न-३  नगरपालिका चौक स्थित जिल्ला प्रहरी कार्यालय मलंगवाबाट खटिएको प्रहरीको गस्ती टोलीले तयारी अवस्थामा रहेको १२५ लिटर अवैध घरेलु मदिरा नियन्त्रणमा लिएको छ ।

    एसपी राठौर भन्सार चोरी निकासी पैठारी रोक्ने काममा पनि सकृयताका साथ लाग्नु भएको छ ।यसै क्रममा मंगलबार  जिल्लाको गोडैता नगरपालिका वडा न-३ स्थित सिमरा भगवतीपुरबाट गस्तीमा रहेका प्रहरी टोलीले भन्सार छलेर भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको ५५ हजार मुल्य बराबरको ११ वटा राँगाहरु नियन्त्रणमा लिएको जिप्रका सर्लाहीले बताएको छ ।

    प्रहरीले सकृयता बढाएदेखि जिल्लामा अहिले अपराधिक गतिविधिमा कमि आएको स्थानीय बुद्धिजीवीहरुले बताए ।



अविरल वर्षाले सर्लाहीको हरिपुर्वामा २ वटा घर भत्कियो

 लोकतन्त्र समाचारदाता----

सर्लाही ,भदौ ३१
    गएको केही दिनदेखि भइरहेको अविरल वर्षाका कारण सर्लाहीको  हरिपुर्वा नगरपालिकामा दुईवटा घर भत्किएको छ ।
   अविरल वर्षाको पानीले  मंगलबार वडा न-४ स्थित डुमरियामा स्थानीय लखिन्द्र ठाकुर हजाम र राम एकवाल महराको घर भत्किएको हो । हजामको बाँसको टाटी र खपडाले छाएको दुई कोठाको घर भत्किँदा एउटा बाख्रा मरेको छ भने लत्ता कपडा, अन्नपात लगायत गरी १ लाख १७ हजार रुपैयाँ बराबरको क्षति भएको छ भने महराको बाँसको टाटीको बेरा र खरले छाएको घर भत्किँदा एक लाख १० हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
    घर भत्किएर घरबार विहिन भएका हजामको ६ जनाको परिवार अहिले खुल्ला  आकाशमुनि बस्न बाध्य भएका छन ।त्यस्तै महराको ७ जनाको परिवार भने छिमेकीको घरमा शरण लिएर बसिरहेको स्थानीयले जानकारी दिएको छ  ।

कर्मचारीहरुमा कोरोना संक्रमण देखिए पछि मलंगवाको नापी कार्यालय एक हप्ताको लागि ‘सिल’

 



सर्लाही,भदौ ३१
   सर्लाहीको सदरमुकाम मलंगवा स्थित नापी कार्यालय एक हप्ताको लागि सिल गरिएको छ । एकैसाथ पाँच जना कर्मचारीहरुमा कोरोना भाइरस पोजेटिभ देखिएपछि नापी कार्यालयलाई एक हप्ताको लागि  ‘सिल’ गरिएको हो ।
    जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र (डी.सी.सी.एम.सी) को  बैठकले सात दिनका लागि नापी कार्यालय मलंगवा बन्द गर्ने निर्णय गरेको  प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।उक्त कार्यालयका एक जना अमिन, एक जना सर्वेक्षक र तीन जना कार्यालय सहयोगीहरुमा कोरोना भाईरस पोजिटिभ पाइएको प्रजिअ पौडेलले बताउनुभयो  ।परिक्षणको लागि  स्वाब दिइसके पनि  कर्मचारीहरुले  भीडभाडमै बसेर सेवा प्रवाह गरेकाले त्यस बिचमा नापी कार्यालय नजिकै रहेका मालपोत र भूमि सुधार कार्यालयमा  सेवा लिन आएका सेवाग्राही तथा कर्मचारीहरु पनि संक्रमित भएको हुन सक्ने भएकोले  सावधानी अपनाउन  कार्यालय प्रमुख एवं  नापी अधिकृत कृष्णदेव सिहले आग्रह गरेका छन् ।
    कर्मचारीहरुको  रिपोर्ट एकदिन अघिनै आएको भएपनि मलंगवा  नगरपालिकाका स्वास्थ्यकर्मीले बेलैमा जानकारी नदिँदा संक्रमित हुँदापनि उनीहरुले कार्यालयको काम गरेको  नापी अधिकृत सिंहले बताए । 
    समुदाय स्तरमा संक्रमण पाइएपछि एक महिना बन्द गरिएका सर्लाहीका सरकारी कार्यालयहरु एक सातादेखि खुलेका छन् ।

सर्लाहीमा गोली चल्यो ,एकजना गम्भीर घाइते

 



सर्लाही ,भदौ ३१
     सर्लाहीमा आज गोली चल्दा  एकजना पुरुष घाइते भएका छन् ।
   जिल्लाको कविलासी नगरपालिका वडा न-३ बिनगरा बस्ने अन्दाजी ४० वर्षिय सुरेन्द्र चौधरीलाई बुधबार अपराह्न ३ बजेको समयमा कविलासी नपा मदनपुर र चक्रघट्टा बजारतर्फ जाने बाटोको बिचमा २ जना लुटेराहरुको समूहले पैसा लुट्नको लागि गोली  चलाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले जनाएको छ । 
     बिनगरा स्थित घरबाट मोटरसाइकलमा  ३ लाख रुपैया लिएर एन.आइ.सी एसिया बैंक चक्रघट्टामा डिपोजिट गर्न जाने क्रममा अज्ञात लुटेरा समूहले बिचबाटोमा रोकेर गोली प्रहार गरेको हो । बायाँ तिघ्रामा गोली लागेर  घाइते भएका चौधरीको जिल्ला अस्पताल मलंगवामा उपचार भइरहको छ। 
   गोली प्रहार गरि फरार भएका लुटेरा समुहको खोजी भइरहेको प्रहरी उपरीक्षक राठौरले  बताए।

छिनछिनमा बत्ती जाँदा उपभोक्ताहरु हैरान

 




लोकतन्त्र समाचारदाता---

सर्लाही ,भदौ ३१

   केही दिनदेखि सर्लाहीभरी  विद्युत सेवा अनियमित भएको  छ । छिनछिनमा बत्ती कटौती भइरहँदा उपभोक्ताहरु  हैरान भएका छन् ।

    केही दिनदेखि भइरहेको वर्षाका कारण पटकपटक  विद्युत प्रवाहमा समस्या  देखिने गरेको जिल्ला स्थित नेपाल विद्युत प्राधिकरणको वितरण केन्द्रहरुले बताएको छ ।मलंगवामा केही समयसम्मको लागि बत्ती गएपनि ग्रामीण क्षेत्रका कतिपय ठाउँहरुमा घण्टौंसम्म पनि विद्युत सेवा ठप्प हुने गरेको स्थानीय उपभोक्ताहरुले  बताएका छन् ।

पानी पर्न सुरु हुनासाथ विद्युत प्रवाहमा समस्या देखिने गरेको छ उपभोक्ताहरुले बताए । दैनिक रुपमा विद्युत सेवा अनियमित हुँदा बिजुलीबाट हुने सम्पूर्ण  कामहरु प्रभावित बनेका छन् ।

     प्राधिकरणको मलंगवा वितरण केन्द्रले भने केन्द्रीय प्रशारण लाइनमा आएको खराबीले गर्दा विद्युत अनियमित भएको जनाएको छ । केन्द्रीय प्रशारण लाइनबाट नै एक ठाउँबाट अर्को ठाउँमा लाईन दिने क्रममा लोड तलमाथि हुँदा यस्तो समस्या आएको केन्द्रले बताए । कुनै किसिमको फल्ट आएको खण्डमा तुरुन्त मर्मतका लागि आफुहरु तयारी अवस्थामा रहेको  प्राधिकरणका प्राविधिकहरुले बताएका छन् ।दिनभर विभिन्न  विद्युतीय उपकरणहरु चल्दा  लोड थपिने साथै  पुराना तार  तथा सव–स्टेशनमा पानी परेको बेला यस्तो समस्या आउने गरेको  प्राविधिकहरुले बताएका छन् ।


Tuesday, September 15, 2020

लामो दूरीको यातायात असोज १ देखि सञ्चालनमा आउने

 


लामो दूरीको यातायात असोज १ देखि  सञ्चालनमा आउने

काठमाडौँ,भदौ ३० - लामो दूरीको यातायात असोज १ गतेदेखि नै सञ्चालनमा आउने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

व्यवसायीले साविकको भाडादरमा ५० प्रतिशत बढाएर लिन सक्ने मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो  । संक्रमणको जोखिम बढेको अवस्थामा स्थानीय प्रशासनले आवश्यक निर्णय लिन सक्नेछ । लामो दूरीको लागि कार्यविधि छुट्टै बने पनि सिट क्षमताको ५० प्रतिशत यात्रु बोकी ५० प्रतिशतसम्म बढी भाडा लिने व्यवस्था यथावत् रहने मन्त्रालयकी सहसचिव प्रमिला वज्राचार्लई जानकारी दिइन् ।

चैत ११ को लकडाउनपछि लामोदूरीको यातायात ठप्प छ । असार २५ देखि लकडाउन खुकुलो बनाउँदै सरकारले छोटो दूरीको सार्वजनिक यातायात चल्न पाउने व्यवस्था गरेको थियो । निषेधाज्ञा नभएको जिल्लामा व्यवसायीले सार्वजनिक यातायात सञ्चालन गरिरहेका छन् ।

कोभिड १९ को जोखिम कायमै रहेको भन्दै सरकारले छोटो दूरीको यातायात साधनले ५० प्रतिशत मात्रै यात्रु राख्न पाउने मापदण्ड बनाएको थियो । यसमा यातायात व्यवसायीले थप ५० प्रतिशतसम्म भाडा लिनसक्ने व्यवस्था गरेको थियो ।

मन्त्रिपरिषदले असोज १ देखि सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरे पनि कुन मोडालिटीमा गर्ने जिम्मा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई दिएको छ । मन्त्रालयले लामो दूरीको लागि छुट्टै कार्यविधि बनाउने तर ५० प्रतिशत यात्रु र थप भाडाको व्यवस्था यथावत् राखिने बताएको छ ।

पशु कार्यालय सर्लाहीका कार्यालय प्रमुखद्वारा २ जना कर्मचारी सहित एकजना सेवाग्राही महिला माथि कुटपिट तथा अभद्र व्यबहार ,प्रहरीद्वारा कार्यालयबाटै पक्राउ

video सहित......📹️




सर्लाही , भदाै ३०

    भेटेरिनरी असपताल तथा पशु सेवा विज्ञ केन्द्र सर्लाहीका कार्यालय प्रमुख फेकन साह आज प्रहरी द्वारा पक्राउ परेका छन् । अाफनै कार्यालयका २ जना कर्मचारी सहित १ जना सेवाग्राही महिलालाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरी  उनलाई आज कार्यालयबाटै पक्राउ गरेको छ ।

       भेटेरिनरी असपताल तथा पशु सेवा विज्ञ केन्द्र सर्लाहीका प्रमुख  महताे मानसिक रूपले बिरामी भएपछि उनले आफ्नै कर्मचारी तथा सेवाग्राही माथि समेत कुटपिट गर्न थालेपछि कार्यालयमा सेवा बिशेषले अाउने सेवाग्राहीहरू उनीबाट त्रसित बनेका छन् ।कार्यालय प्रमुख साहले केहीदिन अगाडि आफ्ना सहयोगी कर्मचारीहरु माथि एक्कासी हातपात गर्न थालेपछि हाकिम मानसिक रुपले बिरामी रहेको आफुहरुले थाहा पाएको   सोही कार्यालयमा कार्यरत लेखापाल काैशल किसाेर बछारले बताए । प्रमुख साहले लेखापाल बछार र नायब पशु स्वास्थ्य प्राविधिक राजकिशोर यादव माथि पनि हातपात गरिसकेका छन् ।

      प्रमुख साहद्वारा पिडित  नायब पशु स्वास्थ्य प्राबिधिक राजकिशाेर यादवले  हाकिम साह कार्यालयमा समेत नआउने यदि आइ हाले पनि उहाँले  आफ्नो  १० वार्षिय छाेरालाई कार्यालयकै समयमा हाकिमकाे कुर्सीमा बसाएर अाफु छेउमा बसेर माेबाईल चलाउने गरेकाे अाराेप लगाउनु भयाे । कार्यालयको समयमा आज (मंगलबार )दिउँसो काम विशेषले आएकी  एकजना महिला सेवाग्राही सुनैना देवी कलवार माथि कुटपिट तथा अभद्र व्यवहार गरेपछि उनलाई  कार्यालय बाटै  प्रहरीले पक्राउ  गरेकाे हो । 

   अाफु मातहतका कर्मचारीहरूलाई दुर्ववहार  गरेर मनाेमानी गर्न थालेपछि कर्मचारीहरू कार्यालय प्रमुख साहबाट आजित भएका छन् । अाफु निकटका केही ब्यक्तिहरूलाई गाेप्य तरिकाले पैसा लिएर कार्यालयमा नियुक्ती गरेपछि प्रमुख  साह बिवादमा तानिएकाे छ ।

मलंगवाका समाजसेवी युवाहरुले बालगृहमा आश्रित बालबालिकाहरु सँग बाल दिवस मनाए

 




सर्लाही ,भदौ ३०
     मलंगवाका समाजसेवी युवाहरुले राष्ट्रिय बाल दिवस, २०७७ को अवसरमा सर्लाहीको सदरमुकाम मलंगवा  नगरपालिका स्थित बालगृहमा आश्रित बालबालिकाहरु सँग बाल दिवस मनाएका छन् ।
    मलंगवा  नगरपालिका स्थित युवा समाज कल्याणले बाल मन्दिरद्वारा संचालित बालगृहका बालबालिकाहरुको बिचमा बाल दिवस २०७७ लेखिएको केक काटेर दिवस मनाएका हुन । साथै संस्थाको म्यानेजमेन्ट टिमले  बालगृहमा आश्रित १२ जना र बाहिरका १२ जना गरि २४ जना बालबालिकाहरुलाई मिष्ठान भोजन गराइ  उपहार स्वरूप विभिन्न शैक्षिक सामाग्रीहरु वितरण गरेको टिमका सदस्य मलंगवा वडा न-३ निवासी समाजसेवी युवा नितेश राउतले जनाएको छ ।
    दिवस मनाउने क्रममा स्वास्थ्य सम्बन्धि सरकारले दिएको निर्देशनको पुर्णरुपमा पालना गरिएको थियो ।मलंगवा स्थित विभिन्न वडामा बस्दै आएका केही युवाहरुको एक समूहले कोरोना भाइरसको संकटको अवस्थामा पिडित भएका सर्वसाधारण नागरिकहरुलाई सहयोग गर्ने उदेश्यले युवा समाज कल्याणको नाममा स्थापना गरेको म्यानेजमेन्ट टिमले रगतको अभाव भएका बिरामीको लागि रगत उपलब्ध गराउनुक साथै बन्दाबन्दीको समयमा रोजगारी गुमाएर भोक-भोकै बस्ने अवस्थामा पुगेका अति विपन्न परिवारलाई सहयोग गर्दै आएको छ ।



Monday, September 14, 2020

हत्या गरेर फरार भएको अभियुक्त २ वर्ष पछि पक्राउ पर्यो

 



सर्लाही ,भदौ २९
      दुइवर्ष देखि फरार रहेका  एकजना   हत्याको आरोपीलाई आइतवार सर्लाही प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा जिल्लाको धनकौल गाउँपालिका वडा न-५ बस्ने ३४ वर्षिय पुनित पासवान रहेको इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख डिएसपी उद्धव सिंह भाटले जनाएको छ ।
     कर्तब्य ज्यान मुद्धा लागेपछि  २ वर्षदेखि फरार रेहेको अभियुक्त पासवानलाई विशेष सूचनाको अधारमा पक्राउ गरेको डिएसपी भाटले जानकारी दिए।  २०७५ भदौ २२ गते  धनकौल गाउँपालिका वडा न-५ बस्ने सोबिता देवी पासवानको हत्या भएको थियो ।सोबिताको हत्याको आरोपमा  कर्तब्य ज्यान मुद्धा दर्ता भएको बेलादेखि नै  फरार रहेका पासवानलाई आइतवार प्रहरीले नियन्त्रणमा लिएको डिएसपी भाटले बताए ।

बागमतीमा गाँजा सहित २ जना पक्राउ

 


सर्लाही ,भदौ २९
    प्रहरीले सर्लाहीको बागमती नगरपालिका वडा न-९ बाट   अवैध लागूऔषध गाँजा सहित दुइजाना ब्यक्तिलाई पक्राउ गरेको छ ।
     आइतवार प्रहरी नायव उपरीक्षक उद्धव सिंह भाटको कमाण्डमा खटिएको  प्रहरी गस्ती  टोलीले गस्ती गर्ने क्रममा स्थानीय मिलन सिंह ठकुरीको घरमा खान तलासी गर्दा १ किलो ७०० ग्राम र राजकुमार ठकुरीको घरबाट ८००  ग्राम लागूऔषध गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
     दुबैजनालाई लागूऔषध गाँजा सहित नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिसकेको जिप्रका सर्लाहीले जानकारी दिएको छ ।

सडक दुर्घटनामा एक बालक सहित ३ जना घाइते

 


सर्लाही ,भदौ २
     आइतवार सर्लाहीको कौडेना गाउँपालिका वडा न-४ मोतीपुर स्थित खोरियाबाट मोतीपुरतर्फ आउँदै गरेको BR30 V 8077 नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर पल्टिँदा २ जना ब्यक्ति घाइते भएका छन् ।
    घाइते हुनेहरुमा मोटरसाइकल चालक कविलासी नगरपालिका वडा न-३ बस्ने राजेश रायका छोरा १७ वर्षिय राम प्रवेश राय र मोटरसाइकल पछाडि सवार सोही ठाउँ बस्ने स्थानीय सुरज पासवानका छोरा १८ वर्षिय रघुनाथ पासवान रहेका छन् ।घाइते दुवैजनाको मलंगवा स्थित जिल्ला अस्पतालमा भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । 
   त्यसैगरी सोही दिन पुर्व पश्चिम लोकमार्ग अन्तर्गत  जिल्लाको लालबन्दी नगरपालिका वडा न-१ नवलपुर स्थित गोरुबजार नजिक पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको ना ३९ प ३४९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदल  यात्री सोही ठाउँ घर भएका  दिपक तामाङका ५ वर्षिय छोरा आरव तामाङ घाइते भएका छन् । सडक पार गर्ने क्रममा मोटरसाइकलले ठक्कर दिएर घाइते भएका बालकको स्थानीय लाइफ लाइन हेल्थ केयर अस्पतालमा उपचार भइरहेको  प्रहरीले जानकारी दिए ।

करेन्ट लागेर एक पुरुषको मृत्यु

 


सर्लाही ,भदौ २९
    सर्लाहीको चन्द्रनगर गाउँपालिकामा आइतबार एक पुरुषको  करेन्ट लागेर मृत्यु भएको छ ।
    आफ्नै धानको खेतमा मोटर चलाएर पानी हाल्ने क्रममा चन्द्रनगर गापा वडा न-५ बस्ने ५२ वर्षीय मोती ठाकुर लोहारलाई  अचानक करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएका लोहारलाई तत्कालै उपचारको लागि जिल्ला अस्पताल मलंगवा ल्याउने  क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
    मृतकको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको प्रहरीले बताएको छ ।

Sunday, September 13, 2020

सर्लाहीका अधिकारकर्मीहरु बिच दलित अधिकारको विषयमा बहस गरियो

 



सर्लाही ,भदौ २८
      नेपाल राष्ट्रिय दलित समाज  कल्याण संघ (NNDSWO) सर्लाहीको आयोजनामा  सर्लाहीको सदरमुकाम मलंगवामा एकदिवसीय बहस कार्यक्रम सम्पन्न भएको छ ।
    कार्यक्रममा   जिल्लामा शृङ्खलाबद्ध रुपमा भइरहेको दलित माथिको  हिंसा र हत्या प्रति राज्यको दायित्व र हाम्रो भुमिकाको विषयमा छलफल गरिएको संस्थाका अध्यक्ष राजेश पासवानले जानकारी दिए ।   कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य  राधेश्याम पासवान ,बिशिस्ट अतिथि प्रदेश सभा सदस्य  रबिन्द्र बैठा ,सर्लाही जिल्लाका संस्थापक नेता गोबिन्द पासवान,महिला नेत्री अन्जु बैठा, अकलेश बैठा ,मानव अधिकारकर्मी मुकेश मिश्र ,नागरिक समाजका महासचिव शिबचन्द्र चौधरी ,युवा विद्यार्थी नेता महेश पासवान ,रामा शंकर पासवान ,दलित जनमत संघका जिल्ला अध्यक्ष हरिशंकर पासवान लगायतको सहभागीता रहेको थियो । दलित माथि  हुँदै आएको हत्या हिंसा र बलात्कारमा संलग्न  जो कोहिलाई पनि कानुनी दायरामा ल्याउन आफुहरुलाई संगठित  भएर लाग्न कार्यक्रममा सहभागी  बक्ताहरुले बोलेका थिए ।
   दलितको राजनितीक रुपमा आरक्षणको अधिकार सुनिश्चित र समाजिक न्याय नपाए सम्म आफुहरुको संघर्ष  जरि रहने दलित अधिकारकर्मी एवं आयोजक संस्थाका अध्यक्ष पासवानले कार्यक्रममा जोड दिएका थिए ।अर्का सहभागी मानव अधिकारकर्मी मुकेश मिश्रले  मानवअधिकार रक्षाको लडाइमा आफ्नो साथ निरन्तर रहने बताए । प्रमुख अतिथि को आसनबाट बोल्दै राष्ट्रिय सभा सदस्य  राधेश्याम पासवानले आफू निरन्तर संघर्ष गरेर नेतृत्वमा आएकोले शोषित , पीडित र दलितको अधिकार रक्षा र आत्मसम्मानका लागि निरन्तर लागि रहने बताउनु भयो ।उहाँले अबको  आन्दोलन सत्तामा हिस्सेदारीको  लागि केन्द्रित हुनुपर्नेमा जोड दिनु भयो ।

सर्लाहीमा तीन क्विन्टल गाँजा बोकेको ट्रक प्रहरीको नियन्त्रणमा



सर्लाही ,भदौ २८
   प्रहरीले सनिवार राती सर्लाहीको नेपाल भारत सिमावर्ती  पर्सा गाउँपालिकाबाट ३ सय ९ किलो लागूऔषध गाँजा र गाँजा बोकेको एउटा ट्रक नियन्त्रणमा लिएको छ ।
    सर्लाहीका प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरको कमान्डमा हिंडेको अनुगमन टोलीले अनुगमन गर्दै जाने क्रममा राती करिब ९ बजेको समयमा पर्सा गापा-५ डोमबा टोलको चिरान मिल स्थित सडकमा प्रहरी चौकी पर्साबाट प्रहरी  सहितको टोलीलाई लिएर सो बाटो भएर आवतजावत गरिरहेका सवारीसाधनहरुको चेकजाँच गरिरहेको बेला सोक्नाहाबाट पर्सा तर्फ आइरहेको ना ४ ख ७७४८ नम्बरको १० चक्के ट्रक चालु अवस्थामा रोकिराखेको देखेपछि शंका लागेर चेकजाँच गर्दा ११ वटा पोका बनाएर राखेको ३०९ किलो लागूऔषध गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
      गाँजा बोकेको ट्रकका चालक गाडी बाटोमै छाडेर फरार भएको र ट्रकलाई गाँजा सहित नियन्त्रणमा लिई जिप्रका सर्लाहीमा ल्याएर   ओसारपसारमा संलग्न व्यक्ति र ट्रकधनीको विषयमा जानकारी लिने काम भइरहेको प्रहरी उपरीक्षक राठौरले जानकारी दिनुभयो।

कौडेनामा शवदाह स्थलको बिवाद समाधान

 


सर्लाही ,भदौ २८
सर्लाहीको कौडेना गाउँपालिका वडा न-५ छपकैयामा शवदाह स्थलको स्वामित्वको विषयलाई लिएर दुई समुदाय बिच चलिरहेको बिवाद  तत्कालका लागि समाधान गरिएको छ ।
    शवदाह स्थलको जग्गाको  विषयलाई लिएर विगत केही दिनदेखि त्यहाँका हिन्दु र मुस्लिम समुदाय बिच बिवाद चर्किएको थियो । सोही क्रममा गत बिहिवार दुबै समुदाय बिच  झडप समेत भएको थियो ।उक्त झडपमा दुई प्रहरी सहित ८ जना घाईते भएका थिए भने शुक्रवार फेरी  झडपको स्थिति सिर्जना भएको थियो । गाउँको स्थिति बिग्रन थालेपछि सनिवार सदरमुकाम  मलंगवाबाट ४ जना अमिन पठाएर  दुबै समुदायका अगुवा , वडाध्यक्ष रामबाबु यादव लगायतलाई  राखेर जग्गाको नाप गरि दोबारा  विवाद नगर्ने सहमति गराएर समस्याको समाधान गरेको जिल्ला समन्वय समितिका प्रमुख मेथुर चौधरीले बताए।
    अमिनले छुट्याएको १० कठ्ठा जग्गामा मुस्लिम समुदायले कब्रस्थानको रुपमा प्रयोग गर्ने र हिन्दु समुदायले ५ कठ्ठा भन्दा केही बढी जग्गा घाटको रुपमा प्रयोग गर्ने सहमति भएको जिसस प्रमुख चौधरीले जानकारी दिए ।

मलंगवामा अलपत्र अवस्थामा भेटिएकी महिलाको उद्धार



सर्लाही ,भदौ २८
      सर्लाहीको सदरमुकाम मलंगवा बजारमा अलपत्र अवस्थामा फेला परेकी एक महिलाको उद्धार गरिएको छ। 
      पुसको अन्तिम हप्ता बहिनीको घर जान भनी बसमा हिंडेकी रौतहटको परोहा नगरपालिका वडा न-१ निवासी शेष हमिदकी छोरी मैतुम खातुन झुक्किएर मलंगवा आइपुगेकी थिइन ।राम्रो सित बोल्न र सुन्न नसक्ने अवस्थाकी महिलालाई   अलपत्र अवस्थामा घुमिरहेको फेला पारेर वडा न-३ निवासी तहसिन राजाले ८ दिनदेखि आफ्नै घरमा राखेर तराई मधेस नेसनल काउन्सिलको सहयोगमा महिलाको घर  पत्ता लगाएर आज स्थानीय भद्रभलादमीहरुको रोहवरमा अविभावकको जिम्मा लगाइएको काउन्सिलका सदस्य ब्रम्हपुरी -३ भेल्ही निवासी मनोज कुमार यादवले जानकारी दिए ।

रामनगरमा चट्याङ लागेर एक महिला घाइते

 




लोकतन्त्र समाचारदाता---

सर्लाही ,भदौ २८

 सर्लाहीमा  चट्याङ लागेर शुक्रबार  एक महिला  गम्भीर घाइते भएकी छिन् । इश्वरपुर नगरपालिका वडा न-९ रामनगर बस्ने गगन यादवकी ४६ वर्षिया श्रीमती रामकुमारी देवी यादव  चट्याङ लागेर घाइते भएकी हुन् ।

    उनलाई खेतमा घाँस काटिरहेको अवस्थामा साँझ साढे ४ बजेतिर वर्षा सँगै  परेको चट्याङ लागेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं  प्रहरी निरीक्षक राजु प्रसाद कुर्मीले जानकारी दिए । घाइते महिलाको बयलबास स्थित अमृत हेल्थ केयरमा  उपचार गरिएको छ ।चट्याङ लागेर महिलाको शरिरको बायाँ भाग  जलेको  छ। 


Saturday, September 12, 2020

लालबन्दीका फरार बलात्कारी युवक पक्राउ

 


लोकतन्त्र समाचारदाता----
सर्लाही ,भदौ २७



     सर्लाहीको लालबन्दी नगरपालिका वडा न-६ की एक १५ वर्षिया किशोरीलाई बलात्कार गरेर फरार भएका दुईजना युवकहरु मध्ये एकजना लाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ परेका युवक लालबन्दीकै २५ वर्षिय सुमन विक रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
    विकले गत साउन ५ गते राती  लालबन्दी न.पा वडा न-७ निवासी २७ वर्षीय रामबहादुर पराजुली सँग मिलेर उक्त किशोरीलाई स्थानीय एक होटलमा लगेर बलात्कार गरेका थिए ।बलात्कार पछि फरार भएका विकलाई काठमाडौंमा लुकेर बसका थिए ।निजलाई ईलाका प्रहरी कार्यालय लालबन्दीको टोलीले विशेष सुराकीका आधारमा परवानीपुरबाट पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ ।
     अर्का आरोपी पराजुली भने अझै फरार रहेका छन् ।

नगर प्रमुख विरुद्ध असनमा बसेका कुमार पौडेलका परिवारले सहमति पछि अनसन तोडे


सर्लाही , भदाै २७
     सर्लाहीको  बागमती नगरपालिकामा भएको आर्थिक अनियमितता तथा  मेयर भरत थापाको सम्पत्ति छानबिन   हुनुपर्ने लगायतका  मागहरु राख्दै बागमती नगरपालिकाको कार्यालय परिसरमा गत बुधबारदेखि आमरण अनसमा बसेका एक परिवारले शुक्रबार साँझ अनसन तोडेको छ । शुक्रबार अपरान्ह प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल सहित जिल्ला स्थित सुरक्षा निकायका प्रमुख, बागमती नगरपालिकाका मेयर भरतकुमार थापा र अनसनरत पक्षबीच भएको लामो छलफल पश्चात अनसन तोडिएको  जिल्ला प्रशासन कार्यालयले  जनाएको छ ।
    विभिन्न ७ बुँदे माग राख्दै बुधबार बिहान १० बजेबाट
गत वर्ष प्रहरी कारवाहीमा मारिएका बागमती नगरपालिका–२, धरहरा निवासी विप्लव समूहका तत्कालिन जिल्ला इन्चार्ज कुमार पौडेलका  परिवारका तीन जना सदस्यले नगरपालिकाको कार्यालय परिसरमा आमरण  अनसन सुरु गरेका थिए ।   शुक्रबार साँझ अनसन तोडेका हुन् । कुमार पौडेलकी ७२ वर्षिया आमा दुर्गादेवी पौडेल, पत्नी धनकुमारी खड्का पौडेल र भाई हरिकृष्ण पौडेलले  सम्पत्ति शुद्धिकरण आयोगबाट नगर प्रमुख भरत कुमार थापाको सम्पत्ति छानबिन हुनुपर्ने, नगरपालिकामा विकास निर्माणको कामका शिलशिलामा अनियमितता भएकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट छानबिन हुनुपर्ने, बागमती नदीको अवैध उत्खनन रोकेर दोषीलाई कारवाही गर्नुपर्ने, बुढी बागमतीमा पोखरी खन्दा निस्किएको गिट्टी बालुवा बिक्रीबाट भएको आम्दानीको हरहिसाब पारदर्शी गर्नुपर्ने लगायतका ७ बुँदे  मागहरु राखेर अनसनमा बसेका थिए ।मागका सम्वन्धमा मौखिक र लिखित रुपमा पटक–पटक जानकारी गराउँदा पनि सुनुवाई नभएपछि बाध्य भएर आमरण अनसनमा बस्नु परेको  पौडेलका भाई हरिकृष्ण पौडेलले बताए ।
    मेयर थापाले पूरा गर्न सक्ने मागको अबिलम्ब सम्बोधन गर्ने र माथिल्लो निकायबाट पूरा हुनुपर्ने मागको सम्बन्धमा आवश्यक कार्यवाहीका  लागि तत्काल लेखिपठाउने सहमति भएको प्रजिअ  पौडेलले जानकारी दिनुभयो । दुवै पक्ष बिच सहमति भएपछि  अनसनमा बसेका   परिवारलाई पानी खुवाएर अनसन तोडाईएको छ प्रजिअ पौडेलले जानकारी दिनुभयो  ।
      मेयर थापाले आफू विरुद्ध सम्पति शुद्धिकरण, अख्तियार लगायतमा छानविन गराउन र दोषि देखिए कार्बाहीको भागिदार हुन तयार रहेको बताएका छन् । त्यस्तै नगरपालिका स्तरमा पूरा हुने मागका सम्बोधन गर्न जतिखेर पनि आफू तयार रहेको मेयर थापाले भने ।

Friday, September 11, 2020

भारत लाँदै गरेको सौफी रक्सी प्रहरीको नियन्त्रणमा


लोकतन्त्र समाचारदाता---
सर्लाही ,भदौ २५
     प्रहरीले नेपालबाट भारत तर्फ लाँदैगरेको सौफी नामको मदिरा बरामद गरेको छ ।
    प्रहरी चौकी त्रिभुवननगरबाट प्रहरी नायव निरिक्षक दिनेश कुमार  पंडितको नेतृत्वमा खटिएको प्रहरी गस्ती टोलीले   बुधबार सवा ११ बजेको समयमा सर्लाहीको  ब्रम्हपुरी गाउँपालिका बडा न-४ स्थित झिम नदिको किनारबाट भारत तर्फ टाउकोमा राखेर लाँदै गरेको  १० कार्टुन सौफी रक्सी बरामद गरेको छ ।सौफी लाँदै गरेका ब्यक्ति भने प्रहरीलाई देख्नेबित्तिकै कार्टुन छाडेर भागेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
  बरामद गरिएको  सौफीको मूल्य १० हजार रुपैयाँ रहेको प्रहरीले बताएको छ ।

प्रहरीद्वारा अवैध कपडा बरामद

 


लोकतन्त्र समाचारदाता---
सर्लाही ,भदौ २५
    प्रहरी सर्लाहीको बसबरिया गाउँपालिका वडा न-२ मानपुरबाट  ८० हजार रुपैयाँ बराबरको  अवैध कपडा बरामद गरेको छ । 
    प्रहरी नायव उपरीक्षक (डिएसपी )उद्धव सिंह भाट र  इलाका प्रहरी कार्यालय मानपुरबाट खटिएको प्रहरी गस्ती टोलीले गस्ती  गर्ने क्रममा बुधबार  बिहान १० बजे BR06 BL 9529 नम्बरको मोटरसाइकलमा ल्याउँदै गरेको ७८ हजार रुपैयाँ बराबरको अवैध कपडा  मोटरसाइकल सहित बरामद गरेको हो ।  गस्ती टोलीलाई देखेपछि मोटरसाइकल सहित कपडाको पोका फालेर  भागेपछि बरामद गरीएको जिल्ला प्रहरी कर्यालय सर्लाहीले बताएको छ ।
   बरामद गरिएको कपडाहरुमा सुतीको थान कपडा २८ पिस,सिल्क कपडा ३ थान,छापा भएको कपडा ४ थान ,ब्लाउज ११० पिस,मार्किंग कपडा ४ पिस र गमछा ४० पिस रहेको प्रहरीले जानकारी दिएको छ ।



सर्लाहीको पर्सा(संग्रामपुर)मा आगलागीबाट लाखौंको क्षति

 


   
लोकतन्त्र समाचारदाता---
सर्लाही ,भदौ २५
      सर्लाहीको पर्सा गाउँपालिकामा बुधवार राती भएको  आगलागीबाट तीन लाख रुपैयाँ भन्दा बढीको धनमाल क्षति भएको छ ।
      नेपाल भारत सिमावर्ती पर्सा गाउँपालिका वडा न–१ संग्रामपुरमा स्थानीय  विन्देश्वर मण्डलको चौपाया  बाध्ने गोठमा बुधबार राति पौने १२ बजेको समयमा  लामखुट्टे धपाउन भनी बालिएको घुरबाट  आगो सल्किएर पूर्णरुपमा गोठ जलेर नष्ट हुँदा १ लाख ६० हजार रुपैयाँ बराबरको क्षति भएको छ।आगोबाट मण्डलको एउटा भैंसी र एउटा गोरु समेत जलेर घाईते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
     विन्देश्वरको  घरमा लागेको आगो छिमेकी रामकुमार मण्डलको घरमा सल्किँदा उनको पनि दुई लाख पाँच हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीबाट रामकुमारको ६० हजार रुपैयाँ नगद, ४० हजार रुपैयाँ बराबरको लत्ताकपडा, १२ हजार रुपैयाँ बराबरको ५ बोरा चामल, ७५ हजार रुपैयाँ बराबरको सुनको गरगहना र १८ हजार रुपैयाँ बराबरको चाँदी जलेर नष्ट भएको जिप्रका सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी निरिक्षक राजु प्रसाद कुर्मीले जनाएको छ ।
    उक्त आगलागी प्रहरी र स्थानीयबासीहरु मिलेर आधा घण्टाको अथक प्रयास पछि नियन्त्रणमा आएको प्रनी कुर्मीले जानकारी दिए ।

चेम्बर अफ कमर्स सर्लाहीको जिल्ला कार्यसमिति गठन

 



लोकतन्त्र समाचारदाता----
सर्लाही ,भदौ २५
    सर्लाहीमा  चेम्बर अफ कमर्सको जिल्ला कार्यसमिति  गठन भएको छ । जिल्लाभरकका व्यवसायीहरुको छाता संगठन चेम्बर अफ कमर्स सर्लाही राम भगत प्रधानको अध्यक्षमा गठन भएको हो ।
    बुधबार परवानीपुर स्थित  पुष्पलाल स्मृति पार्कमा
आयोजित जिल्लाका सबै उद्योग वाणिज्य संघका सदस्यहरुको भेलाले प्रधानको अध्यक्षतामा ३३ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको छ ।
     नव गठित जिल्ला कार्यसमितिमा सदरमुकाम मलंगवाको उद्योग वाणिज्य संघबाट सर्वसम्मतिले  एकैसाथ ठुलो संख्यामा सदस्यहरु चयन भएका छन् ।उ.वा.संघ मलंगवाबाट वरिष्ठ उपाध्यक्ष मा संजय कुमार गुप्ता , उपाध्यक्षमा विकास गोयल र दिनेश यादव , उप महासचिवमा कमलेश शाह , सह-कोषाध्यक्षमा मुकेश कुमार पण्डित तथा  सदस्यहरुमा क्रमशः  राजिव कुमार  अग्रवाल , नवनीत कुमार अग्रवाल , अमित कुमार. अग्रवाल , सरोज कुमार जैसवाल , राम एकवाल राय ,सुरेन्द्र साह सोनार , मुकेश कुमार प्रजापति र    प्रविण कुमार गुप्ता रहेको जि.का.स.सर्लाहीका अध्यक्ष प्रधानले जनाएको छ ।

  

Wednesday, September 9, 2020

संकटमा परेका असहाय तथा बिरामीलाई सेवा उपलब्ध गराउँदै युवा समाज कल्याण मलंगवाका युवाहरु

 



मनोज यादव----
सर्लाही ,भदौ २४
    कोरोना भाइरसको संक्रमणले गर्दा बिरामीको चाप र  रगतको अभाव भइरहेको अवस्थामा सर्लाही सदरमुकाम मलंगवाका केही युवाहरुले बिरामीलाई  रगत उपलब्ध गराएर उदाहरणीय काम गरिरहेका छन् ।उनीहरु "Youth for society "call for food and blood अन्तर्गत सर्लाहीका  असहाय ,गरिब परिवारलाई सहयोग समेत गरिरहेका छन् ।
    विभिन्न पालिकामा घरभई हाल सदरमुकाम मलंगवामा बसिरहेका केही  युवाहरुको Helping Management Team ले  बिरामीको माग अनुसार रगत दिन सुरु गरेका हुन् । रगतको आवश्यक्ता पर्ने बिरामीको लागि उपलब्ध भएसम्म बिरामीसँग मिल्ने ग्रुपको रगत दिइरहेका छौ-म्यानेजमेन्ट टिमका सदस्य मलंगवा वडा न-३ निवासी कृष्णा राउतले बताए । उनले केही दिनको अन्तरालमा आफुहरु  ६-७ जना बिरामीहरुको लागि रेडक्रसले संचालन  गरेको ब्लड बैंकमार्फत आपात्कालिन अवस्थामा रगत दिइसकेको जानकारी दिए ।हामी अब  सबै ब्लड ग्रुपका युवाहरु सँग समन्वय गरि  रेडक्रसले मागेको समयमा रगत दिन सक्ने एउटा टिम बनाउन लागेको राउतले जानकारी दिए ।
   ती युवाहरु बिरामीहरुलाई मात्र नभइ  मजदुरी गुमाएका मजदुर, अति विपन्न परिवारलाई पनि भ्याय सम्म सहयोग गररिहेका छन् ।उनीहरुको टिमले हालै मलंगवा नगरपालिकाको वडा न ३ र वडा न-७ मुसैलीका  अती विपन्न परिवारलाई घरमै पुगेर खाद्यान्न सहयोग गरेका छन् ।

अवैध लागूऔषध गाँजा बरामद

 


सर्लाही ,भदौ २४
     सर्लाहीको बागमती नगरपालिका वडा न-११ स्थित  हरिहरक्षेत्रमा प्रहरीले मंगलबार ५ किलो अवैध लागूऔषध गाँजा बरामद गरेको छ ।
    सिन्धुलीबाट सर्लाही तर्फ पैदल आउँदै गरेको एक ब्यक्ति   इलाका प्रहरी कार्यालय बागमतीबाट प्रहरी सहायक निरिक्षकको कमान्डमा गस्तीमा खटिएको प्रहरी टोलीलाई देख्ने बित्तिकै हातमा बोकेको झोला फालेर भागेको र उक्त झोला खोलेर हेर्दा प्लास्टिकको डोरीले बेरिएको ५ किलो गाँजा बरामद भएको प्रहरीलाई जनाएको छ ।

लकडाउनको बेला स्थानीय तहबाट सेवा सुविधा नपाएको सर्लाहीका अपांगता भएकाहरुको गुनासो

 



मनोज यादव----
सर्लाही ,भदौ २४
     राज्य र समाजबाट सधैं उपेक्षित हुँदै आएका सर्लाहीका अपांगहरु  लकडाउनको समयमा पनि स्थानीय सरकारले  दिने सेवा सुविधा नपाएको गुनासो गरेका छन् ।नेपाल अपांग संघ जिल्ला कार्य समिति सर्लाहीका अध्यक्ष बिरेन्द्र रायले जिल्लाभरकै अपांगता भएका ब्यक्तिहरुको प्रतिनिधित्व गर्दै यस्तो गुनासो गरे ।
      संविधानमा अपांगता भएका व्यक्तिहरुका लागि विभिन्न खालका अधिकारहरु समेटिए पनि व्यवहारमा  कार्यान्वयन नभएको अध्यक्ष रायले बताए ।उनले  विगतका दिनहरुलाई सम्झदै  तत्कालीन  जिल्ला विकास समिति र गाउँ विकास समिती हुँदा अपांग तथा  दलितले थाेरै भएपनि सहयाेग र राहत पाउने गरेका थिए  । तर अहिले संघीय संरचना अनुसार नगरपालिका  र गाउँपालिका भएपछि अपांगता भएका ब्यक्तिहरूले  सहयाेग पाउन छाडिसकेको गुनासो गरे । कोरोना भाइरस संक्रमण नियन्त्रणकालागि सरकारले गरेको ६ महिना बढीको लकडाउनको समयमा स्थानीय तहले नाम मात्रकै लागि पनि वितरण गरेको खाद्यान्न लगायतका राहत सामाग्री समेत अपांगहरुलाई वितरण नगरेको अध्यक्ष रायले बताए ।
     जिल्ला स्थित विभिन्न सरकारी कार्यालय, विद्यालय लगायतका क्षेत्रहरु अपांगता मैत्री नभएको र  हामी जस्ताहरुलाई समयसमयमा आयोजना हुने विभिन्न  कार्यक्रममा समेत जनप्रनिनिधि एवं विभिन्न संघ संस्थाका व्यक्तिहरुले पनि वेवास्ता गरेको बताउँदै  आफ्ना हक अधिकार स्थापित गर्नका लागि सबैको सहयोग आवश्यक रहेको उनको  भनाई छ । उनले राज्यले प्रदान गर्ने सेवा सुविधाहरु विभिन्न  बहानामा कटौती हुने र लक्षित वर्गसम्म नपुग्ने गरेको गुनासो समेत गरे । सर्लाहीका  स्थानीय तहले अपांगहरुलाई हेला र दुर्ववहार गरेको गुनासो सुनाउने क्रममा अपांग संघ सर्लाहीका अध्यक्ष रायको अनुहार मलिन देखिन्थयो ।