Tuesday, May 31, 2022

पतीको दिर्घायुको कामना गर्दै सर्लाहीका विवाहित महिलाहरुले मनाए वटसावित्री पर्व

 




मनोज यादव---

सर्लाही,जेठ १६

    जेठ औँसीका दिन आफ्नो पतिको लामोआयु, कुशलता र सौभाग्यको कामना गर्दै मिथिलाञ्चलका विवाहित महिलाहरुले मनाउँदै आएका बरसाइत अर्थात वटसावित्री पर्व सर्लाही जिल्लाका विवाहित महिलाहरुले पनि विधिपुर्वक  धुमधामका साथ मनाएका छन् ।यो पर्व औँसीको दिन सुरु भई  भोलिपल्ट जेठ शुक्ल प्रतिपदा तिथिको दिन समापन गरिन्छ।

    किन्वतन्ती अनुसार सत्य युगमा सति सावित्रीले आफ्नो तपश्या र साधनाबाट जेठ औँसीका दिन अटल सौभाग्यको वरदान पाएको विश्वासको आधारमा यो पर्व मनाउने परम्परा बसेको जानकारहरु बताउँछन् ।पौराणिक कथा अनुसार सावित्रीले आफ्नो तपोवलले इष्टदेवलाई रिझाएर अचेत भइ ढलेका(कतिपय सन्दर्भमा मृतजस्तै पनि भनिएको छ) आफ्ना पति सत्यवानलाई तपोवलले जगाएर अटल सौभाग्यको वर पाएकी थिइन्।

    विवाहित महिलाहरु जेठ कृष्ण चतुर्दशीका दिन चोखोनितो खाएर व्रत सङ्कल्प गरेपछि औँसीका दिन निराहार ब्रत बसेर टोल छिमेका विवाहित बर्तालु महिलाहरु सामुहिक रुपमा  नजिकैको वरको रुखको फेदमा सती सावित्रीलाई सम्झदै ब्रह्मा, विष्णु र महेश्वरसहितका इष्टदेवताको पूजाआराधना गरेर पर्व मनाउने गरेका छन् । जेठ शुक्ल प्रतिपदाका दिन बिहान सूर्योदयसँगै यो व्रत सम्पन्न गर्ने परम्परा रहेको  छ।

    नवविवाहित महिलाहरु बरको रुख भएको ठाउँमा  रातो साडीमा सजिएर एकआपसमा मिलेर पर्व सम्बन्धि गीत गाउँदै पुर्ण निष्ठाका साथ पूजा आराधना गरेर एकआपसमा  रमाइलो गर्दै पर्व मनाएका छन् ।कतिपय विवाहित महिलाहरु आफ्नो माइतीमा आएर पर्व मनाएका छन् भने कतिपय आफ्नो ससुराली(श्रीमानको घर)मा मनाएका छन् ।

   मैथिल समुदायमा खासगरी ब्राह्मण, कायस्थ, व्यास, स्वर्णकार लगायतका जातिका महिला विवाहको पहिलो वर्ष विशेष विधिअनुसार यो पर्व मनाउने गर्छन तर पछिल्लो समय देखासिखीले पनि बटसावित्री पर्व मनाउनेहरु समाजमा बढ्दै गएको छ।

    यस पर्वमा बाँसबाट बनाइएका नयाँ हाते पंखा, धागो, मिठाई, फलफूल, चना लगायतका सामग्रीका साथ पूजा गरिन्छ।

    परम्परा अनुसार यो पर्व मनाउनका लागि बेहुलीका लागि ससुरालीबाट नयाँ बस्त्र, प्रसादका लागि मिठाई, चना, माटोको कलात्मक रुपमा बनाइएका नागनागिन सर्प, बाँसको पंखा, टोकरी लगायतका साथै भोजनका लागि चामल, च्युरा, दही लगायतका सामग्री कोसेलीका रुपमा पठाउने गरिन्छ।

  यो पर्व नियमनिष्ठाका साथ मनाइएमा पति दीर्घायु हुने यमराजले वरदान दिएको भविष्य पुराणमा उल्लेख गरिएको छ।


Sunday, May 29, 2022

स्थानीय तह निर्वाचन सफल बनाउन सकृयताका साथ लागेका सुरक्षा निकायका प्रमुखहरु सम्मानित

 




मनोज यादव---

सर्लाही,जेठ १५

   गत बैशाख ३० गते सम्पन्न भएको स्थानीय तह सदस्य निर्वाचन २०७९ मा खटिने सर्लाही जिल्लाका चारवटा शुरक्षा निकायका प्रमुखहरुलाई प्रमुख जिल्ला अधिकारीले सम्मान गरेको   छ ।

   स्थानीय तह निर्वाचन शान्तिपूर्ण रुपमा सफल गर्न अथक याेगदान र परिश्रम गरेको भन्दै जिल्लाका चारवटै सुरक्षा निकायका प्रमुखलाई प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले प्रशंसा-पत्र प्रदान गरेर सम्मानित गरेको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ।

   छिटपुट घटना बाहेक समग्रमा शान्तीपूर्ण रुपमा चुनाव सम्पन्न  भएकोमा सबै राजनीतिक दल, उम्मेदवारहरु, मतदाताहरु, निर्वाचन प्रक्रियामा संलग्न मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, मतदान अधिकृत, सबै राष्ट्रसेवक कर्मचारीहरु, सुरक्षाकर्मी, संचारकर्मी लगायत सरोकारवाला सबैलाई प्रजि अगौतमले धन्यवाद समेत दिएका छन् ।

  
  

मलंगवाका मेयर नागेन्द्र प्रसाद यादव द्वारा ट्रिनिटी हेल्थ केयर अस्पतालको उद्घघाटन

  



मनोज यादव---

सर्लाही,जेठ १५ 

    सर्लाही जिल्लाको सदरमुकाम मलंगवा नगरपालिकामा एउटा अरु सुविधा सम्पन्न अस्पताल थपिएको छ । ट्रिनिटी हेल्थ केयर प्रालिको नामबाट संचालनमा आएको उक्त अस्पतालको आइतवार मलंगवाका नवनिर्वाचित मेयर नागेन्द्र प्रसाद यादवले उद्घघाटन गर्नु भएको छ ।   

           मलंगवा  वडा न–९ बसपार्क स्थित स्व.डाक्टर गंगाधर झाको घरमा रहेको यस ट्रिनिटी हेल्थ केयर अस्पतालको मेयर यादवले रिबन काटेर उद्घघाटन गर्नु भएको हो । सुविधा सम्पन्न अस्पतालको कमिका कारण बिगतको दिनमा यस नगरपालिका लगायत आसपासका गाउँघरमा बसोबास गर्ने आम नागरिकलाई सामान्य देखि गम्भीर खालका रोगको उपचारका लागि जिल्ला बाहिर तथा छिमेकी भारतका विभिन्न ठूला सहरहरूमा धाउनु पर्न आवस्था रहँदै आएको थियो र पैसा पनि सोंचेको भन्दा दोब्बर तेब्बर खर्च गर्नु परेको थियो । त्यसैलाई मध्येनजर गर्दै यहाँका बिरामीहरुलाई जिल्ला बाहिर र भारतमा उपचारको लागि जाने झण्झट र अप्रत्याशित खर्चबाट बचाउन मलंगवामै सुविधा सम्पन्न हस्पिटल संचालनमा ल्याएर सेवा दिन सुरु गरेको अस्पतालका संचालक दिपेश कर्णले बताउनु भयो ।   

           यस अस्पतालमा बिरामीहरुलाई २४ घण्टा इमर्जेन्सी सेवा, बिरामी भर्नाको सुविधा, अत्याधुनिक ल्याबको सुविधा, एक्स–रे, भिडियो एक्स–रे, नेबुलाइजेशन, ईको, ईसिजी, अक्सिजन, प्लास्टर र ब्यनडेजको सुविधाको साथै विशेषज्ञ डाक्टरद्वारा डाइबिटिज एवं थाईराईड रोगको समेत उपचारको सुविधा रहेको संचालक कर्णले जानकारी गराउनु भयो । 

             अस्पताल उद्घघाटन कार्यक्रममा नागरिक समाजका अगुवा उपेन्द्र गुप्ता, निर्माण व्यवसायी जेसी अरुण कुवँर, स्थानीय विनोद ठाकुर लगायतको उपस्थिति रहेको थियो ।

मलंगवा-९ का बासिहरु वडाध्यक्ष चन्देश्वर रायले सुरु गरेको जनहितको कामको प्रशंसा गर्दै रायलाई वडाको जिम्मेवारी दिएर कुनै गल्ती नगरेको बताएका छन्

 




लोकतन्त्र समाचारदाता---

सर्लाही,जेठ १५

  सर्लाहीको सदरमुकाम  मलंगवा नगरपालिका वडा न-९ का बासिन्दाहरु नवनिर्वाचित वडाध्यक्ष चन्देश्वर रायले जनहितको लागि सुरु गरेको कामहरुलाई देखेर अब बल्ल विकासले गति लिन थालेको भन्दै सन्तुष्टि जनाएका छन ।
   विगतका दिनमा वडा न-९ मा नाममात्रको विकासका कामहरु  भएका थिए ।अब भने वडाध्यक्ष रायले पदभार ग्रहण गरे लगत्तै विपन्न वर्गका जनतालाई आर्थिकरुपमा सबल बनाउन सुरु गरेको कामलाई देखेर अबभने वडामा समग्ररुपमा विकास हुन्छ भन्नेमा आफुहरु ढुक्क रहेको स्थानीय वडाबासीहरुले बताएका छन् ।
    सोही क्रममा वडाध्यक्ष रायले कोरोना प्रभावित घरपरिवारको आय आर्जनमा वृद्धि होस् भनेर आफ्नो वडाको ७० घरपरिवारलाई प्रति घर २-२ वटाको दरले बाख्रा वितरण गर्नुभएको छ ।


    नगरप्रमुख नागेन्द्र प्रसाद यादवबाट सपथ ग्रहण गरे पश्चात् पदभार ग्रहण गरि वडाको जिम्मेवारी सम्हालेको २ दिन नबित्दै नवनिर्वाचित वडाध्यक्ष रायले श्रीमती कृष्णादेवी जनता माविको प्रांगणमा एक कार्यक्रमको आयोजना गरि  कोरोना संकटको समयमा रोजगारी गुमाएर आर्थिक अवस्था कमजोर भइसकेका पिडित वडाबासीहरुको पशुपालनको माध्यमबाट स्वरोजगार सिर्जना गर्ने उदेश्यले बाख्रा वितरण गरेर सहयोग पुर्‍याउनु भएको छ।
    बाख्रा वितरण कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी हुनुभएको नगर प्रमुख राय वडाध्यक्ष रायले गरेको सराहनीय कामको प्रसंसा गर्दै धन्यवाद दिनुभएको छ।
   
    

पब्लिक मावि वि.व्य.समितिको पदेन सदस्यमा वडा अध्यक्ष धिरेन्द्र साहलाई चयन गरि स्वागत गरियो

 




लोकतन्त्र समाचारदाता---

सर्लाही,जेठ १५

     मलंगवा नगरपालिका वडा न-२ मा रहेको सर्लाही जिल्लाकै सबैभन्दा पहिलो तथा पुरानो पब्लिक माध्यमिक विद्यालय व्यवस्थापन समितिले पदेन सदस्यको पदमा मलंगवा नपा वडा न-२ का नवनिर्वाचित वडा अध्यक्ष धिरेन्द्र साहलाई चयन गरि स्वागत गरेको छ।

    विद्यालय व्यवस्थापन समितिको  पदेन सदस्यमा सम्बन्धित वडाको वडा अध्यक्ष रहने व्यवस्था रहेकोले नवनिर्वाचित वडाअध्यक्ष साहलाई आज(आइतवार) एक कार्यक्रमको आयोजना गरि विधिवत् रुपमा उक्त पदमा चयन गरेको विद्यालयका प्राधानाध्यापक सुवास यादवले बताएको छ।

    पदेन सदस्यको पदमा चयन भइसकेपछि वडाअध्यक्ष साहले विकासको मुख्य पाटो शैक्षिक क्षेत्रको सुधार पनि रहेकोले यस विद्यालयलाई नमुना विद्यालयको रुपमा स्थापित गर्न आफु हरपल तत्पर रहने साथै यस विद्यालयलाई नमुना विद्यालय बनाउन वडा कार्यालयबाट गर्न सकिने सम्पूर्ण व्यवस्थाहरु उपलब्ध गराउने बताएका छन् ।

  सोही अवसरमा पब्लिक मावि विद्यालय व्यवस्था समितिका अध्यक्ष बिरुजु यादव लगायत अन्य पदाधिकारीहरुले मलंगवा नपा वडा नम्बर-२ का नवनिर्वाचित सदस्यहरुलाई समेत फुलमाला लगाएर स्वागत गरेका छन् ।

   

Saturday, May 28, 2022

विद्यालयमा मर्यादित महिनावारी हामी सबैको जिम्मेवारी" भन्ने नाराका साथ महिनावारी स्वच्छता दिवस मलंगवामा पनि मनाइयो

 




लोकतन्त्र समाचारदाता---

सर्लाही,जेठ १४

   "विद्यालयमा मर्यादित महिनावारी हामी सबैको जिम्मेवारी" भन्ने नाराका साथ सर्लाहीको सदरमुकाम मलंगवामा महिनावारी स्वच्छता दिवस विभिन्न कार्यक्रमहरु गरि मनाइएको छ।प्रेरणा,भि.एस.ओ र एच.आइ संस्थाको संयुक्त साझेदारीमा महिनावारी स्वच्छता दिवस मनाइएको हो।

   तीनवटै साझेदार संस्थाले  दिवसको अवसरमा जेठ १२ र जेठ १३ गते मलंगवा नगरपालिका तथा कौडेना गाउँपालिका अन्तर्गतका ११ वटा विद्यालयमा अध्यनरत किशोरीहरु बीच "महिनावारी स्वच्छता" सम्बन्धि वक्तृत्वकला प्रतियोगिता तथा अभिमुखिकरण कार्यक्रम गरेको प्रेरणाका परियोजना संयोजक रामचन्द्र चौधरीले जानकारी दिए।

   जेठ १३ गते मलंगवा स्थित महेन्द्र होटलमा मलंगवा नपा शिक्षा शाखा प्रमुख प्रमोद मण्डलको अध्यक्षतामा अभिमुखिकरण कार्यक्रमको आयोजना गरि कौडेना गापा र मलंगवा नपाका किशोरी छात्राहरु बीच वक्तृत्वकला प्रतियोगिता र नाटक प्रदर्शन समेत गरिएको प्रेरणाका परियोजना संयोजक  चौधरीले जानकारी दिए।

   किशोरीहरुलाई महिनावारीको सम्बन्धमा जनचेतना जगाउन साथै किशोरीहरुको क्षमता विकास गराउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको भि.एस.ओ का जिल्ला परियोजना अधिकृत राजन कुमार कर्णले बताए । कार्यक्रममा सहभागी किशोरीहरुलाई महिनावारीको बेला प्रयोग गरिने प्याड निर्माण गर्ने विधिको बारेमा समेत विस्तारमा जानकारी गराइएको थियो।

   कौडेना गापा र मलंगवा नपाका ५० जनाभन्दा बढी किशोरीहरुको सहभागीता रहेको कार्यक्रममा प्रेरणाका परियोजना अधिकृत मंगल साह,ओरेक संस्थाकी दुर्गा थापा,प्रादेशिक अस्पताल मलंगवाकी महिला स्वास्थ्यकर्मी बिन्दु यादव लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो।

  

बागमती सेवा समाज द्वारा मलंगवाका कोरोना प्रभावित घरपरिवारलाई बाख्रा वितरण

 




लोकतन्त्र समाचारदाता---

सर्लाही,जेठ १४

   सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न-९ का कोरोना प्रभावित ७० घरपरिवारलाई बाख्रा वितरण गरिएको छ ।

   स्विस सोलिडारिटी र आड्रा नेपालको आर्थिक सहयोगमा बागमती सेवा समाज नेपाल हरिवन द्वारा संचालित कोरोना प्रभावित घरपरिवारका लागि सामाजिक र आर्थिक पुर्नलाभ परियोजना मलंगवाको वडा न-९ मा रहेका कोरोना प्रभावित घरपरिवारको आय आर्जनमा वृद्धि होस् भनेर ७० घरपरिवारमा प्रति घर २ वटाका दरले बाख्रा वितरण गरिएको वडा न-९ का वडाध्यक्ष चन्देश्वर रायले बताउनु भयो ।

   शुक्रवार श्रीमती कृष्णादेवी जनता माविको प्रांगणमा एक कार्यक्रमका बीच पिडत घरपरिवारलाई प्रमुख अतिथि नगर प्रमुख नागेन्द्र प्रसाद यादवले  बाख्रा वितरण गर्नुभएको हो ।

  कार्यक्रममा नगर प्रमुख यादवले कोरोना संकटको समयमा रोजगारी गुमाएर आर्थिक अवस्था कमजोर भइसकेका पिडित स्थानीयबासीहरुको पशुपालनको माध्यमबाट स्वरोजगार सिर्जना गर्ने उदेश्यले बाख्रा वितरण गरेर बागमती सेवा समाजले सराहनीय काम गरेको भन्दै संस्थालाई धन्यवाद दिएका थिए।

    यसअघि  मलंगवा नपा कै वडा न-१,२,३ र ६ मा पनि यसैगरी पिडित घरपरिवारलाई बाख्रा वितरण गरिसकेको आयोजक संस्थाले जनाएको छ।

🎤विशेष अन्तर्वार्ता....🖋️डा.सरोज कुमार यादव(जिल्ला उपसभापति)जिल्ला कार्यसमिति सर्लाही

 

'पार्टी भित्रै रहेर आफ्नै पार्टी विरुद्ध षड्यन्त्र रचि अन्तर्घात गर्ने ब्यक्तिहरु उपर समयमै कार्यवाही नगरिए आगामी दिनमा अपेक्षा गरे अनुसारको उपलब्धि पाउन पार्टीलाई मुस्किल पर्छ':-डा.सरोज कुमार यादव (उपसभापति), नेपाली काँग्रेस जिल्ला कार्यसमिति सर्लाही 

डा.सरोज कुमार यादव



     भर्खरै सम्पन्न स्थानीय तहको चुनावमा नेपाली काँग्रेसले सर्लाही जिल्लामा मात्र नभइ देशभरिनै राम्रो नतिजा ल्याउन सफल भएको छ। पार्टीले सर्लाही जिल्लाको २० वटै पालिकाहरुमा खडा गरेको आफ्ना उमेदवारहरु मध्येबाट अपेक्षा गरेको १५ जनामा १२ जनाले जित हासिल गरेको छ।बाँकी रहेका ३ जना उमेदवारले चुनाव जित्न सकेनन् ।अपेक्षा भने सबै उमेदवार जित्नु रहेको थियो।तर के कति कारणले यस्तो अवस्था आयो भन्ने विषयमा जानकारी लिन र पार्टीसँग सम्बन्धित अन्य थप कुराको जानकारी लिन नेपाली काँग्रेस जिल्ला कार्यसमिति सर्लाहीका उपसभापति डा.सरोज कुमार यादवसँग राष्ट्रिय लोकतन्त्र दैनिकका सम्पादक मनोज यादवले गर्नुभएको कुराकानीको अंश जस्ताको त्यस्तै प्रसुत गरिएको छ।


प्रश्न:-भर्खरै स्थानीय तहको चुनाव सम्पन्न भएको छ,तपाईंको पार्टी(नेपाली काँग्रेस)ले सर्लाही जिल्लामा मात्र नभइ मधेश प्रदेशसहित देशभरिनै पहिलो स्थान ल्याउन सफल भएको छ पार्टीको लागि यो एउटा ठुलो उपलब्धि हो,एउटा जिल्ला उपसभापतिको हैसियतले यस उपलब्धिलाई तपाईं कसरी हेर्नु हुन्छ ?

     @यसको सारा श्रेय म आम जनताहरुलाई दिन चाहन्छु।यसपटकको चुनावमा हामीले आम जनताको भावना र इच्छालाई समेट्ने काम गरेका छौ।यसै कारणले परिणाम सुखद र राम्रो आएको हो।आम जनताहरु कोरोना संकटको बेला र त्यो भन्दा पनि पहिला देखि केपी ओलीको सरकारको पालामा जुन बेला नेपालको संविधानलाई नै सखाप पार्ने कोशिस भएको थियो त्यो बेला हाम्रो पार्टीले आम जनताको भावनालाई बुझेर काम गरेको देखेर आम जनताको काँग्रेस प्रतिको विश्वास बढ्दै गएपछि आज आएर परिणाम सुखद र राम्रो आएको हो।


प्रश्न:-नेपाली काँग्रेस जिल्ला कार्यसमिति सर्लाहीले सभापति र उपसभापतिमा युवा नेता पाएको छ।तपाई एउटा युवा नेता त्योपनि उपसभापति जस्तो गरिमामय पदमा हुनुहुन्छ,सोही नाताले  पार्टीलाई अगाडी बढाउनमा तपाईंको भूमिका कस्तो रहेको छ ?

      @हाम्रो पार्टीको सर्लाही जिल्ला कार्यसमितिमा सभापति र उपसभापतिमा मात्र युवा छैनन् यस समितिमा सबैभन्दा धेरै युवाहरुकै बहुमत रहेको छ ।पछिल्लो समय देशभरिनै आम जनताको विश्वास युवा नेताहरु प्रति बढ्दै गएको छ।हामीले पनि प्रमाणित गर्न कोशस गरेका छौ।तर हामी युवा भएरै अरु भन्दा ठुलो भने हैनौ।हामीले पनि आफु भन्दा अग्रज नेताहरु सँग सल्लाह र सुझाव लिएर अगाडी बढिरहेका छौं ।आगामी दिनहरुमा पनि यसैगरी उहाँहरुको सल्लाह र सुझाव लिएर नै अगाडी बढ्ने छौं ।सर्लाहीमा नयाँ जिल्ला कार्यसमिति बनेको भर्खर दुई अढाई महिना भएको छ।हामीलाई अझ बढी सिक्नुपर्ने छ।जो ब्यक्ति तीनपटक  पार्टीको जिल्ला सभापति भएर काम गर्नुभएको छ,अहिले उहाँ संघीय सरकारको माननीय समेत हुनुहुन्छ ।उहाँकै दिशानिर्देशमा अगाडी बढ्दै गएकोले आज हाम्रो पार्टीले सर्लाही जिल्लामा राम्रो नतिजा ल्याउन सफल भएको छ।


प्रश्न:-तपाईंको पार्टीले सर्लाही जिल्लामा अपेक्षा गरेको भन्दा राम्रो सफलता पाएको छ।यस बारेमा तपाईंको ब्यक्तिगत विचार के छ ?

     @हो हामीले अपेक्षा गरे अनुरुप नै सफलता पाएका छौं ।तर जिल्लामा रहेका २० वटा स्थानीय तहहरु मध्येबाट हामीले  १५ वटामा सफलता पाउनुपर्ने थियो।तर १२ वटा स्थानीय तहमा मात्र उमेदवारहरु जिताउन पायौं ।यसको सबैभन्दा ठूलो कारण यसै पार्टी(काँग्रेस) बाट माननीय जस्तो पदमा बस्नु भएको र जिल्लाको पार्टी सभापति जस्तो गरिमामय पदमा पुगिसक्नु भएको ब्यक्तिहरुले पार्टी सँग गरेको अन्तर्घातले गर्दा स्थानीय तहको चुनावमा अपेक्षा गरे अनुसारको सिट जित्न नसकेका हौं ।हाम्रो कोसिस सबै स्थानीय तहमा जित हासिल गर्ने थियो।अहिले हामी जुन १२ वटा सिट जितेका छौं त्यसले पनि हामीलाई खुसी बनाएको छ तर कहीं न कहीं केही कमि भएको महसुस हामीहरुलाई लागेको छ।किनभने हाम्रो पार्टीको माननीय जस्तो ब्यक्तिले आफ्नै पार्टीबाट जितेर आफ्नै पार्टीलाई सखाप पार्न खोजेको देखिरहेका छौ।ती ब्यक्तिले आफ्नै पार्टीसँग अन्तर्घात नगरेको भए हामीले अझबढी स्थानमा जित हासिल गर्ने थियौं।


प्रश्न:-तपाई पार्टीको विधानलाई मानेर अघि बढ्ने ब्यक्ति हुनुहुन्छ,तर लालबन्दी नगरपालिकामा केही फरक देखियो कारण के हो ?

    @हामी पार्टीको विद्यानलाई मानेर अगाडी बढीरहेका छौं।जिल्लाको लालबन्दी नगरपालिकामा त्यस्तो केही फरक देखेनौं ।सोंचाइमा मात्र फरक देख्यौं ।हाम्रो पार्टीको उमेदवार गठबन्धन अनुसार कुनै दुईवटा पार्टीसँग मिलेर आफ्नो पार्टीको ब्यक्तिलाई उमेदवार बनाउन सक्ने थियो। लालबन्दीमा माओवादी र नेकपा समाजवादी पार्टी (माधव नेपाल )बीच गठबन्धन भइसकेको थियो ।सोही अनुसार हामीले हाम्रो तर्फबाट मेयर पदको लागि बासुदेव अधिकारीलाई उमेदवार बनायौं।बासुदेव अधिकारीलाई उमेदवार बनाई सकेपछि उता माओवादी पार्टीले ग्राउन्ड लेभलमा आफ्नो पार्टीको उमेदवारको मुल्यांकन गर्दा जित्न सक्ने अवस्था नदेखेपछि हाम्रो पार्टीको केन्द्रीय स्तरका नेताहरुलाई गठबन्धनको बहानामा दबाब दिन सुरु गर्यो।तर हामीले हाम्रो मान्छेलाई त्यहाँ  उमेदवार बनाइसकेकोले पछि हट्ने सम्भावना नरहेकोले माओवादी र समाजवादी पार्टीले पहिल्यै नै गठबन्धन गरिसकेको अवस्थामा पनि हामीले हाम्रो तर्फबाट उमेदवार उठाइसकेकोले हामी पछाडी हट्ने अवस्थामा थिएनौ र चुनावी मैदानमा डटी रह्यौं।


प्रश्न:-प्रश्न:-तपाईंको पार्टीले(काँग्रेस)सर्लाहीको निर्वाचन क्षेत्र न.१ र २ मा सबै सिट जितेको छ तर क्षेत्र न.३ र ४ को अवस्था किन फरक आयो त ?

    @स्थानीय तहको चुनावमा हाम्रो पार्टीको अवस्था राम्रो देखिएको छ। यही परिणामलाई प्रदेश र संघीय चुनावमा पनि कायम राख्न पार्टीसँग अन्तर्घात गर्ने ब्यक्तिलाई फेरीपनि अन्तर्घात गर्न नसकुन भनि त्यस्ता ब्यक्तिहरुलाई तत्कालै कार्यवाही हुनुपर्छ ।यदी त्यस्ता अन्तर्घाती ब्यक्तिहरुलाई पार्टीले कार्यवाही गरेन भने सर्लाहीको निर्वाचन क्षेत्र न.३ र ४ मा जुन अवस्था आएको छ त्यस्तै अवस्था अन्य क्षेत्रको पनि हुने छ।बेलैमा कार्यवाही गरिएन भने अन्तर्घात गर्ने ब्यक्तिको मनोबल अझ बढ्दै जाने  छ।भर्खरै बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको चुनावमा यसै पार्टीबाट माननीय बनेको ब्यक्ति,पुर्व जिल्ला सभापति,पुर्व उपसभापति,जिल्ला कार्यसमितिमा बसेका ब्यक्ति र पुर्व माननीयले पनि आफ्नै पार्टीको उमेदवारहरुको लागि नभइ अन्य विपक्षी पार्टीको उमेदवारहरुको लागि भोंट माग्दै हिडेको हामीले पाएका छौं ।उहाँहरु आफ्नै पार्टीको उमेदवारलाई हराउन जोडतोडका साथ लागेको हामीले पाएका छौं ।यस्तै अवस्था रहिरह्यो भने पार्टीले प्रदेश तथा संघीय चुनावमा अपेक्षा गरे अनुसारको मत पाउन मुस्किल हुने छ।जबसम्म उनीहरु उपर कार्यवाही हुँदैन तबसम्म अपेक्षा गरे अनुसारको उपलब्धि  पार्टीले पाउने छैन जस्तो मलाइ लागेको छ।त्यसैले केन्द्रलाई म यति मात्र भन्न चाहन्छु की जबसम्म अन्तर्घाती ब्यक्तिहरु उपर कार्यवाही गरेर ठेकान लगाइदैन एउटा कुहिएको आलुले जसरी सिंगै बोराको आलुलाई कुहाएर छाड्छ त्यसरीनै उनीहरुले पनि पार्टीको अवस्था यस्तै बनाइदिने छ।


प्रश्न:-अन्तमा केही भन्न चाहनुहुन्छ ?

    @अन्तमा म यतिमात्र भन्न चाहन्छु की स्थानीय तहमा पाएको सफलता जस्तै प्रदेश र संघीय चुनावमा पनि सफलता पाउन पार्टीसँग अन्तर्घात गर्ने जोसुकै ब्यक्तिलाई कार्यवाही हुनुपर्छ ।


सलेमपुरका वडाध्यक्ष दिनेश मास्टर द्वारा वर्षौंदेखि अन्धकारमा रहेको दलित बस्तीमा बिजुलीको व्यवस्था गर्ने निर्णय

 




लोकतन्त्र समाचारदाता---

सर्लाही,जेठ १३

    कबिलासी नगरपालिका वडा न-९,सलेमपुरका वडाध्यक्ष राम दिनेश राय(मास्टर) ले शुक्रवार  पदभार ग्रहण गर्नुभएको छ।

   पदमा आसिन हुने बित्तिकै वडाध्यक्ष रायले सलेमपुर स्थित  स्वास्थ्य चौकी नजिकको बजारदेखि झिम नदीको बाँधमा  बसोबास गर्दै आएका दलितहरुको लागि विजुलिको पोल गाडेर उक्त दलित बस्तिमा विधुतिकरण गर्ने घोषणा गर्नुभएको छ।पदभार ग्रहण कार्यक्रममा सहभागी हुन आउनु भएका पुर्व सांसद जंगीलाल राय लगायत  स्थानीयबासीहरुको रोहबरमा नवनिर्वाचित वडाध्यक्ष रायले यस्तो निर्णय गर्नुभएको हो।

     कबिलासी नगरपालिका नवनिर्वाचित मेयर ब्रह्मदेव रायबाट शुक्रवार उहाँले पद तथा गोपनियताको सपथ लिनु भएको छ।

    सपथ ग्रहण गरे लगत्तै सलेमपुर स्थित वडा कार्यालय पुगेर रायले सोही दिनदेखि वडाको सम्पूर्ण जिम्मेवारी आफ्नो हातमा लिनुभएको छ।

   पदस्थापनको क्रममा वडा न-९ का पुर्व वडाअध्यक्ष देवनारायण यादवको समेत उपस्थिति रहेको थियो।

Friday, May 27, 2022

पदभार ग्रहण गर्दै पर्सा गाउँपालिका अध्यक्ष धिरेन्द्र रायले गरे चार महत्त्वपूर्ण निर्णय





लोकतन्त्र समाचारदाता---

सर्लाही,जेठ १३

    सर्लाहीको पर्सा गाउँपालिकाका नवनिर्वाचित गाउँपालिका अध्यक्ष धिरेन्द्र रायले आफ्नो गाउँपालिकाका बिरामीहरु लाई मेडिकल अधिकृत,एक्स-रे, ल्याबसहित चौबिसै घण्टा इमर्जेन्सी सेवा प्रदान गर्न निर्णय गरेको छ।

   गापा अध्यक्ष रायले आज(शुक्रवार)पदभार ग्रहण गर्दै यस पालिका अन्तर्गतका सामुदायिक विद्यालयहरु मध्ये प्राथमिक विद्यालयहरुमा अंग्रेजी माध्यमबाट पठनपाठन गराउने,खेलकुदको विकासका लागि कवर्ड हलसहितको खेलकुद मैदानको निर्माण गराउने,किसानहरुको समग्र विकासका लागि सम्पुर्ण वडाहरुमा कृषि विधुतीकरण गरि सिंचाइको प्रबन्ध गर्ने तथा गरिबी न्युनिकरणका लागि लधु तथा साना उद्योगहरुलाई प्रोत्साहन गर्न कार्यक्रम संचालन गर्ने लगायतका निर्णयहरु गरेका छन् ।

  गएको सोमबार प्रमुख निर्वाचन अधिकृतबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेको गापा अध्यक्ष रायले आज एक विशेष समारोहका बीच उपाध्यक्ष   सहित वडाअध्यक्ष र वडा सदस्यहरुलाई सपथ ग्रहण गराएका छन् ।





 




जेसीज माविले गरे मलंगवाका नवनिर्वाचित मेयर नागेन्द्र प्रसाद यादवलाई स्वागत तथा सम्मान

 



लोकतन्त्र समाचारदाता---

सर्लाही,जेठ १३

    सर्लाहीको सदरमुकाम मलंगवा  स्थित जेसीज माद्यामिक आवासीय विद्यालयले मलंगवा नगरपालिकाका नवनिर्वाचित  मेयर नागेन्द्र प्रसाद यादवलाई स्वागत तथा सम्मान गरेको छ ।

    शुक्रवार बिहान एक समारोहको आयोजना गरि विद्यालयका प्राधानाध्यापक भोला भट्टले मेयर यादवलाई विद्यालयको तर्फबाट फुलको माला तथा खाँदा ओढाएर स्वागत गर्दै फ्रेमिङ गरिएको सम्मान पत्र प्रदान गरि सम्मान गर्नुभएको हो।प्रअ भट्टसँगै विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षक,शिक्षिका लगायत अन्य सबै कर्मचारीहरुले पनि मेयर यादवलाई फुलको माला र टीका लगाएर सम्मान गरेका छन्। 

 

यसै अवसरमा जेसीज मावि विद्यालय व्यवस्थापन समितिको अध्यक्ष,राजश्री को-सोसाइटीको अध्यक्ष एवं नेपाल परिवार नियोजन संघका निवर्तमान सभापति समेत रहनुभएका नवनिर्वाचित मेयर यादवले वार्षिक परिक्षामा उत्कृष्ट अंक ल्याउने छात्रछात्राहरुलाई पुरस्कार वितरण गर्नुभएको थियो।

 

 कार्यक्रममा विभिन्न क्षेत्रमा आबद्ध ब्यक्तिहरु तथा बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो।



     

Thursday, May 26, 2022

मलंगवा-२ को वडाअध्यक्ष धिरेन्द्रले पदभार गरैकै दिन दलित तथा विपन्न वर्गलाई बाख्रा बाँडेर गरे कामको सुरुवात

 



 

मनोज यादव--

सर्लाही,जेष्ठ १२

  स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिहरूले पदभार ग्रहण गर्दा आफ्नो पहिलो निर्णयहरु सार्वाजनिक गर्न थालेका छन् ।तर कामको सुरुवात भने केहीले मात्र गरेका छन् ।

   यसै क्रममा सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न-२ को युवा पुस्ताको नवनिर्वाचित वडाअध्यक्ष धिरेन्द्र साहले अरु वडाका वडाप्रमुखले गरेको भन्दा भिन्नै काम गरेर आफ्नो कामको सुरुवात गरेको छ।

   वडाअध्यक्ष साहले बुधबार दिउँसो  नगरप्रमुख नागेन्द्र प्रसाद यादवबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेर  वडाको जिम्मेवारी लिई पदभार ग्रहण गरे लगत्तै वडाका अतिविपन्न तथा दलितहरुका लागि पशुपालन मार्फत स्वरोजगारको व्यवस्था गरेको छ।पदस्थापन गरेको एकघण्टा पनि नबित्दै वडाअध्यक्ष साहले वडा न-२ मा बसोबास गर्ने ७० जना भन्दाबढी अतिविपन्न तथा दलित घरपरिवारलाई एक-एक वटा बाख्रा वितरण गरेर स्वरोजगारको व्यवस्था गरि कामको सुरुवात गरेको छ।

  यसका साथै उनले सबैभन्दा पहिले पानीले निकास नपाएर वर्षौंदेखि  वर्षातको समयमा डुवानको समस्या झेल्दै आएका वडाबासीहरुको समस्या समाधानका लागि डुबान क्षेत्रको पहिचान गरि पानीको उचित निकास तथा फोहर व्यवस्थापनका लागि नाला र ढलको निर्माण गर्ने,खस्किसकेको शैक्षिक स्तरलाई उकास्न एउटा समिति बनाइ वडाका सबै विद्यालयमा निगरानी बढाउने साथै विद्यार्थीको मात्र नभइ शिक्षकहरु उपर पनि निगरानी गर्ने,यस वडा कार्यालयबाट दिंदै आइरहेका स्वास्थ्य तथा  सबैखाले सेवा सुविधा  सबै वर्ग र समुदायलाई सहज रुपम प्रदान गर्न वडा कार्यालयको वातावरण  मैत्रीपूर्ण बनाउने लगायतका कामहरु गर्ने निर्णय गरेका छन् ।

     शासक नभइ सेवक बनेर काम गर्ने उदेश्य लिएर चुनावमा भाग लिएकोले आफ्नो कार्यकाल वडा र वडाबासीहरुको लागि समर्पित गरेको साहले प्रतिबद्धता गरेका छन् ।                         नवनिर्वाचित वडाअध्यक्ष साह सपथ ग्रहण गरि पदस्थान हुनु  अगावै मलंगवा नपा-२ का केही स्थानमा निजी स्काभेटर(डोजर)लगाएर वर्षाको पानी निकासको लागि नाला खन्न लगाइ वर्षौंदेखि घरघरमा पानी पस्ने समस्याबाट स्थानीयहरुलाई केही हदसम्म राहत पुर्‍याएका थिए।

    वडाअध्यक्ष साहले सुरु गरेको  कामहरुको मुल्यांकन गर्दै   वडाबासीहरु अब बल्ल विकास निर्माणका कामले गति लिनेमा आफुहरु ढुक्क रहेको भन्दै खुसी व्यक्त गरेका छन् ।

Wednesday, May 25, 2022

नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सपथ ग्रहण गराइ धनकौल(प) गाउँपालिका अध्यक्षले गरे पदभार ग्रहण




मनोज यादव---

सर्लाही,जेठ ११

    सर्लाहीको धनकौल(प) गाउँपालिकाका नवनिर्वाचित गापा अध्यक्ष राम आश्रय साहले आज(बुधबार)विधिवत् रुपमा पदभार ग्रहण गरेका छन् ।साहले यस गाउँपालिका अन्तर्गतका ७ वटा वडामा नवनिर्वाचित वडाअध्यक्ष र सदस्यहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराइ आजैबाट गापा अध्यक्षको पद सम्हालेका हुन।

     पद सम्हाल्दै उनले आर्थिक वर्ष २०७९/०८० को पहिलो गाउँसभाको बैठकमा निर्णायार्थ पेश गरि कार्यान्वयनका लागि चुनावी प्रचारप्रसारको बेला जनताबाट प्राप्त पुष्टपोषणको आधारमा सबैभन्दा सम्वेसनशिल क्षेत्रलाई प्राथमिकतामा राखेेर समानता र समतामूलक पहुँच हुनेगरि योजना तथा कार्यक्रमहरु गर्ने घोषणा गरेका छन् ।

  गापा अध्यक्ष साहले गाउँपालिकाको तर्फबाट  सम्पूर्ण सेवा सुविधा युक्त भएको एम्बुलेन्स खरिद गरि जनताहरुलाई प्रभावकारी सेवा प्रवाह गर्ने ,सबै गर्भवती तथा सुत्केरी आमाहरुलाई सर्लाही जिल्लाभरी निशुल्क सेवा प्रदान गर्ने,सामुदायिक विद्यालयहरुमा रिक्त रहेका दरबन्दीमा तुरुन्त शिक्षक बहालीको प्रक्रिया अगाडी बढाउने तथा विद्यार्थी संख्या धेरै भएका तर दरबन्दी नभएका विद्यालयहरुमा यस गाउँपालिकाबाट विद्यार्थीको अनुपातमा स्वयंसेवक शिक्षकहरु परिचालन गरि गुणस्तरीय शिक्षा प्रदान गर्ने र शिक्षा तथा स्वास्थ्य क्षेत्रका भौतिक संरचनाहरु निर्माण गर्ने निर्णय गरेका छन् ।

   गत सोमबार सदरमुकाम मलंगवा स्थित जिल्ला समन्वय समितिको कार्यालयमा आयोजना भएको सपथ ग्रहण कार्यक्रममा जिल्लाका अन्य स्थानीय तहका नवनिर्वाचित पालिका प्रमुखहरु सँगै सपथ ग्रहण गरिसक्नु भएको साहले आज(बुधबार)उपाध्यक्ष , वडाअध्यक्ष तथा सदस्यहरुलाई सामुहिक रुपमा पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको छ।

   दिउँसो २ बजेको लागि तय गरिएको कार्यक्रम केही कारणवस्  निर्धारित समयभन्दा २ घण्टा ढिलो गरि सुरु भएपनि शान्तिपुर्वक कार्यक्रम सम्पन्न भएको थियो।

   यसै अवसरमा कार्यक्रमको अध्यक्षता समेत गरेका  नवनिर्वाचित अध्यक्ष साहले प्रमुख अतिथि मधेश प्रदेशका महिला, बालबालिका युवा तथा खेलकुद मन्त्री विरेन्द्र प्रसाद सिंह र धनकौल गापाका निर्वाचन अधिकृत शिवदत्त बराललाई उपहारस्वरुप  फ्रेमिङ गरिएको चाँदीद्वारा निर्मित जानकी मन्दिरको तस्बिर प्रदान गरेका थिए।

  
   
  

श्रमजीवी पत्रकारको लागि न्युनतम पारिश्रमिक निर्धारण समितिले आयोजना गरेको कार्यक्रम उपलब्धि विहिन रहेको पत्रकारहरुको गुनासो

 




लोकतन्त्र समाचारदाता---

सर्लाही,जेठ १०

    श्रमजीवी पत्रकार ऐन कार्यान्वयन र जिल्लाको अवस्था विषयक अन्तरक्रिया गोष्ठी  सर्लाहीको लालबन्दीमा सम्पन्न भएको छ।

     जिल्ला भित्र तथा जिल्ला बाहिरका विभिन्न संचार माध्यममा कार्यरत श्रमजीवी पत्रकारहरुले सरकारले निर्धारण गरेको पारिश्रमिक पाए नपाएको तथा श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको अवस्था, चुनौती र भावी रणनीतिको विषयमा जानकारी लिन र जानकारी दिने उदेश्यले कार्यक्रमको आयोजना गरिएको हो।

    बुधबार लालबन्दी नगरपालिका स्थित युनाइटेड होटलको सभाहलमा नेपाल पत्रकार महासंघ सर्लाही शाखाको संयोजकत्व तथा  न्युनतम पारिश्रमिक निर्धारण समितिको आयोजनामा सम्पन्न भएको कार्यक्रममा श्रमजीवी  पत्रकारहरुले नियुक्ति पत्र नपाउने,न्युनतम तलब नपाउने,संचारगृहले तोकेर दिने तलब समेत नियमित नपाउने लगायतका समस्याहरुको विषयमा छलफल गरिएको थियो।

   कार्यक्रममा समितिका सदस्य विमला पाण्डेले श्रमजीवी पत्रकार ऐनमा भएका व्यवस्था नेपालमा श्रमजीवी पत्रकारहरुको अवस्था लगायतका विषयमा जानकारी गराउनुभएको थियो।

   कार्यक्रममा उपस्थित पत्रकारहरले यस किसिमका गोष्ठी यसअघि पनि भइसकेको तर उपलब्धि भने नभएको गुनासो गरेका थिए।

 
   
  

Tuesday, May 24, 2022

चन्द्रनगर गापाका नवनिर्वाचित पदाधिकारीहरुलाई गापा प्रमुख महतोले सपथ गराए




लोकतन्त्र समाचारदाता---

सर्लाही,जेठ १०

    सर्लाहीको चन्द्रनगर गाउँपालिकाको नवनिर्वाचित गापा अध्यक्ष राजकुमार महतोले सोमबार पद तथा गोपनियताको सपथ लिए लगत्तै सोही दिन उपाध्यक्ष,वडाअध्यक्ष लगायतका पदाधिकारीहरुलाई पनि सपथ ग्रहण गराउनुभएको छ।

   सोमबार  जिल्ला समन्वय समितिको सभाहलमा महतोसहित सर्लाहीका २० वटै पालिकाका नवनिर्वाचित नगर तथा गापा प्रमुखहरुलाई नेपालको संविधान बमोजिम  प्रमुख निर्वाचन अधिकृत ध्रुव कुमार पियाले शपथ ग्रहण गराएका थिए ।

    गापा अध्यक्ष महतो मलंगवामा आयोजना भएको सपथ ग्रहण कार्यक्रममा भाग लिइ फर्के लगत्तै उपाध्यक्षसहित अन्य नवनिर्वाचित पदाधिकारीहरुलाई नाढीमन ताल परिसरमा एक कार्यक्रमको आयोजना गरि देश र जनतालाई साक्षी राखि सपथ ग्रहण गराएका हुन ।

२३७ किलो लागुऔषध गाँजासहित लालबन्दीबाट ६ जना पक्राउ

 



लोकतन्त्र समाचारदाता----

सर्लाही,जेठ १०

   सर्लाहीमा ठूलो परिमाणमा  लागुऔषध गाँजा सहित ६ जना पक्राउ परेका छन् ।

   पक्राउ पर्नेहरुमा पक्राउ पर्नेहरूमा लालबन्दी नगरपालिका वडा न-१३ पत्थरकोट बस्ने ३८ वर्षीय कान्छा मान थिङ, सोही ठाउँ बस्ने २१ वर्षीय सुनिल दोंङ,१९ वर्षीय विशाल थिंङ, २१ वर्षीय मिलन थिंङ,१९ वर्षीय निकेश दोंङ लालबन्दी-१४ बस्ने १९ वर्षीय राज बम्जन रहेका छन्।

  उनीहरूलाई(आज) मंगलबार बिहान ४ बजेको समयमा विशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय लालबन्दीबाट प्रहरी निरिक्षक शान्ताराम कार्कीको कमान्डमा खटिएको टोलीले  लालबन्दी नपा-१३ पत्थरकोट स्थित कान्छा मान थिंङको घरमा खानतलासी गर्दा निजको घरबाट प्लास्टिकको बोरा तथा प्लास्टिकले बेरिएको अवस्थामा ४६ वटा पोकामा लुकाएर राखिएको  २ सय ३७ किलो ६ सय ग्राम अवैध लागूऔषध गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता एवं डिएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिएको छ।

    बरामद भएको सो परिमाणको लागुऔषध गाँजा र गाँजा ओसारपसारमा प्रयोग भएको २ वटा मोटरसाइकल सहित उनीहरूलाई नियन्त्रणमा लिई जिल्ला अदालत सर्लाही मलंगवाबाट लागुऔषध ऐन अन्तर्गत म्याद थप गराई अनुसंधान प्रक्रिया अगाडी बढाइसकेको डिएसपी बुढाथोकीले जनाएको छ।

Monday, May 23, 2022

सर्लाहीका २० वटै पालिकाका प्रमुखहरु सपथ ग्रहण लगत्तै काममा लागे




मनोज यादव---

सर्लाही,जेठ ९

   बैशाख ३० गते भएको स्थानीय निर्वाचनमा विजयी भएका सर्लाहीका २० वटा स्थानीय तहका नवनिर्वाचित प्रमुखहरुले सथप ग्रहण गरेका छन् ।

    स्थानीय तह सदस्य निर्वाचन २०७९ मा जिल्लाको ११ वटा नगरपालिका र ९ वटा गाउँपालिकाकामा निर्वाचित पालिका प्रमुखहरुलाई मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश ध्रुब कुमार पियाले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।

   जिल्लामा निर्वाचित भइसकेका २० वटै पालिकाका प्रमुखहरु मध्ये मलंगवा नगरपालिको प्रमुख नागेन्द्र प्रसाद यादव,ईश्वरपुर नगरपालिकाको प्रमुख मनोज कुमार आचार्य,कबिलासी नगरपालिकाको प्रमुख ब्रह्मदेव राय,गोडैता नगरपालिकाको प्रमुख देवेन्द्र यादव,बरहथवा नगरपालिकाकी प्रमुख कल्पना कुमारी कटुवाल,बलरा नगरपालिकाको प्रमुख रामा शंकर प्रसाद कुशवाहा,बागमती नगरपालिकाको प्रमुख भरत कुमार थापा,लालबन्दी नगरपालिकाको प्रमुख बासुदेव अधिकारी,हरिपुर नगरपालिकाको प्रमुख  गोपाल पंजियार,हरिपुर्वा नगरपालिकाको प्रमुख बिनोद साह तेली र हरिवन नगरपालिकाको प्रमुख रमेश बुढाथोकीले सपथ लिएका हुन।

   त्यस्तै कौडेना गाउँपालिकाको प्रमुख रुपेश कुमार,चक्रघट्टा गाउँपालिकाको प्रमुख कृष्ण कुमार यादव,चन्द्रनगर गाउँपालिकाको प्रमुख राज कुमार महतो,धनकौल गाउँपालिकाको प्रमुख रामआश्रय साह,पर्सा गाउँपालिकाको प्रमुख धिरेन्द्र राय,बसबरिया गाउँपालिकाको प्रमुख राम सिंहासन राय,ब्रह्मपुरी गाउँपालिकाको प्रमुख राम पदारथ साह तेली,रामनगर गाउँपालिकाको प्रमुख राजाबाबु यादव र विष्णु गाउँपालिकाको प्रमुख जवाहरलाल यादवले पद तथा गोपनियताको सपथ लिएका हुन।

   सोही अवसरमा मधेश प्रदेश सांसद श्यामपरी देवी र उनका श्रीमान रामलखन दासले  नवनिर्वाचित पालिका प्रमुखहरुलाई सफल कार्यकालको शुभकामना दिंदै दोसल्ला ओढाएर सम्मान गरेका छन् ।उहाँहरुले नवनिर्वाचित पालिका प्रमुखहरु सँगै स्थानीय निर्वाचनमा अहोरात्र खटेर निर्वाचन सम्बन्धि पलपलको हरेक खबरहरु सम्प्रेषण गरेर जनतालाई सुसूचित गरेको भन्दै सर्लाही जिल्लाका क्रियाशील पत्रकारहरुलाई समेत दोसल्ला ओढाएर सम्मान गरेका छन् ।

    सदरमुकाम मलंगवा स्थित जिल्ला समन्वय समितिको सभाहलमा आयोजना भएको कार्यक्रममा मुख्य निर्वाचन अधिकृत एवं न्यायाधीश  पिया,मधेस प्रदेश सांसद श्यामपरी देवी,संविधान सभा सदस्य हरिचरण साह,जिल्ला समन्वय समिति सभापति मेथुर चौधरी, प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम,चारवटै सुरक्षा निकायका प्रमुख लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो

    आज(सोमबार) सम्पन्न भएको सपथ ग्रहण गरेसँगै स्थानीय तहका प्रमुखहरु आआफ्नो मातहतका उपप्रमुख तथा वडाप्रमुखहरुलाई सम्बन्धित पालिकामै पद तथा गोपनियताको सपथ गराउने जिल्ला निर्वाचन कार्यालयका प्रमुख दिवाकर भुजेले जनाएको छ।

   जिल्लाको ईश्वरपुर र गोडैता नगरपालिका तथा धनकौल र विष्णु गाउँपालिकामा यसअघिकै जनप्रतिनिधि पुनः दोहोरिएका छन् ।

   

मलंगवाका नवनिर्वाचित मेयर नागेन्द्र प्रसाद यादवले पदभार ग्रहण गरेकै दिन गरे ५ वटा महत्त्वपूर्ण निर्णय

 



लाेकतनत्र समाचारदाता----             सर्लाही, जेठ ९

    मलंगवा नगरपालिकाका मेयर नागेन्द्र प्रसाद यालवले पदभार ग्रहणकै दिन ५ वटा निर्णय गरेका छन् । 

   मेयर यादवले पदभार ग्रहण गरे लगत्तै नगरपालिकालाई भ्रष्टाचार मुक्त नगरपालिका बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।  जिल्लाको सबैभन्दा पुरानो  र पहिलो नगरपालिका सदरमुकाम मलंगवा बजारलाई तुरुन्तै फोहर मुक्त र हिलो मुक्त गर्न मेयर यादवले कर्मचारीलाई निर्देशन दिनुभएको छ । त्यस्तै लामखुटटे मार्न औषधी छर्किन पनि मेयर यादवले निर्देशन दिनुभएको छ। 

    कुनै पनि सेवाग्राहीले पालिकाबाट दु:ख भोग्न नपरोस्, सबैले सुशासनको अनुभुती गरोस् यदी  कुनै पनि नागरिकले यस: पालिकाबाट दुख पाएको गुनासो आएको खण्डमा तुरुन्तै कार्वाही गर्ने चेतावनी दिंदै उहाँले जनताको सेवालाई प्राथमिकतामा राखेर काम गर्न कर्मचारीलाई निर्देश दिनुभएको छ।

   नगरभित्र बसोबास गर्ने अति विपन्न घरपरिवारलाई छिटै निःशुल्क स्वास्थ्य विमा गर्ने पनि उहाँले बताउनु भयो  । आर्थिक अवस्थाको कारणले शिक्षा हासिल गर्नबाट बन्चित विद्यार्थीलाई प्रोत्साहन र सहुलियत दिन छात्रवृत्ति जस्ता कार्यक्रम पनि संचालन गर्ने उनले बताए ।

सर्लाहीमा मात्र २ जना तेस्रो लिंगीले मतदान गरे

 

                   प्रतीक फोंटो


लोकतन्त्र समाचारदाता---

सर्लाही,बैशाख ९

    जिल्ला निर्वाचन कार्यालय सर्लाहीले सार्वजनिक गरेको स्थानीय तहको चुनावमा खसेको मत विवरण अनुसार यसपटकको चुनावमा तेस्रो लिंगी मतदाताको संख्या एकदमै न्यून देखिएको छ।

    जिल्लाभरीमा मात्र २ जना तेस्रो लिंगीले मतदान गरेका छन् ।जिल्लाको बलरा नगरपालिकामा मात्र तेस्रो लिंगी मतदाताले मतदान गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

   नेपालको जनसंख्याको ८ प्रतिशत भन्दाबढी संख्या तेस्रो लिंगीहरुको रहेको तेस्रो लिंगी सम्बद्ध संघ संस्थाहरुले दाबी गर्दै आएका छन् ।

  

Saturday, May 21, 2022

४० दिनको कर्तव्य पूरा गरि म्यादी प्रहरी विदाई भए

 





मनोज यादव---

सर्लाही,जेठ ७

    स्थानीय तहको चुनावका लागी भन्दै भर्ना गरिएका म्यादी प्रहरीले ४० दिनको कर्तव्य पुरा गरि विदाई भएका  छन् । 

   गत वैशाख ३० गतेको स्थानीय  चुनावका लागी भर्ना गरिएका म्यादी प्रहरीहरुको जिल्ला प्रहरी कार्यालय सर्लाहीले शुक्रबार सदरमुकाम मलंगवामा विशेष कार्यक्रमको आयोजना गरि विदाई गरेको छ । जिप्रका सर्लाहीले जिल्लामा भर्ना भएका ३ हजार ८८ जना म्यादी प्रहरीहरुलाई  प्रमाण पत्र सहित विदाई गरिएको प्रहरी प्रवक्ता एवं डिएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए।

     ४० दिनमा गरेको डिउटीको प्रसंशा गर्दै जिप्रकाको तर्फबाट  उनीहरूलाई सामुहिक रुपमा  धन्यवाद दिइएको थियो।  

लागुऔषध सहित कबिलासीबाट एकजना युवक पक्राउ

 



लोकतन्त्र समाचारदाता---

सर्लाही,जेठ ७

    सरकार द्वारा प्रतिबन्धित लागूऔषध सहित कबिलासीबाट एकजना युवक पक्राउ परेको छ।

   शुक्रवार साँझ सदरमुकाम मलंगवाबाट  नवपुरतर्फ पैदल आउँदै गरेको काठमाडौं जिल्ला  तारकेश्वर नगरपालिका वडा न-६ निवासी २१ वर्षीय सुनिल राईलाई   कबिलासी नगरपालिका अगर्वा स्थित सशस्त्र प्रहरी बल १० नम्बर गणको टोलीले ५९८ ट्याब्लेट नाईट्राभेट, ६ एम्पूल नोर्फिन, ६ एम्पुल फेनार्गन, ३ एम्पुल डाईजेपाम र ३ एम्पुल डाईजेल्याब लागुऔषध सहित पक्राउ गरेको गणका प्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक दिपेन्द्र थापा मगरले जानकारी दिए ।

    राईलाई बरामद भएको लागुऔषध सहित आवश्यक कार्बाहीका लागि ईलाका प्रहरी कार्यालय हरिपुरको जिम्मा लगाईएको शसस्त्र प्रहरी प्रबक्ता थापाले जनाएको छ ।

आउँदो सोमबार सर्लाहीका नवनिर्वाचित पालिका प्रमुखहरुले शपथ लिने

 



लोकतन्त्र समाचारदाता---

सर्लाही,जेठ ७

    सर्लाही जिल्लाका नवनिर्वाचित पालिका प्रमुखहरुले ९ गते सोमबार पद तथा गोपनियताको शपथ ग्रहण लिने भएका छन् । 

   देशभरीमै सबैभन्दा धरै २० वटा स्थानीय तहहरु रहेको यस जिल्ला अन्तर्गतका ९ वटा नगरपालिका र ११ वटा गाउँपालिकाका नगरपालिका प्रमुख तथा गाउँपालिका प्रमुखहरुको सपथ ग्रहण हुने जिल्ला निर्वाचन कार्यालय सर्लाहीका प्रमुख दिवाकर भुजेले जानकारी दिएको छ।

   मलंगवा स्थित जिल्ला समन्वय समितिको सभाहलमा सोमबार बिहान ११ बजेको लागि तय गरिएको कार्यक्रममा माननीय जिल्ला न्यायाधीशले नवनिर्वाचित पालिका प्रमुखहरुलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउने  जि.नि.प्रमुख भुजेलले जनाएको छ।उक्त कार्यक्रममा सम्बन्धित पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरुको उपस्थिति अनिवार्य गरिएको छ।

    पद तथा गोपनियताको शपथसँगै नवनिर्वाचित पालिका प्रमुखहरुले सोही दिनदेखि आआफ्नो कार्यभार सम्हाल्ने छन्। 


Friday, May 20, 2022