Sunday, October 31, 2021

मिडियाकर्मी र महिलाको न्यायमा पहुँच परियोजनाका महिला समूह बिच अन्तरक्रिया सम्पन्न

 




लोकतन्त्र समाचारदाता---

सर्लाही ,कात्तिक १४

     महिलाको न्यायमा पहुँच परियोजना अन्तर्गत आज(आइतवार)महिला समूह र मिडियाकर्मीहरु बिच मलंगवामा एक दिने अन्तरक्रिया  कार्यक्रम सम्पन्न भएको छ ।

     जिल्लाको सदरमुकाम मलंगवा नगरपालिकामा आयोजना भएको कार्यक्रममा   युएन ओमनको  सहयोगमा भिसिडिसी,दलित महिला अधिकार मञ्च नेपाल ,सम विकास केन्द्र मलंगवा ल्याक द्वारा सर्लाहीको ब्रम्हपुरी, चन्द्रनगर गाउँपालिका तथा बरहथवा,हरिपुर्वा र बागमती नगरपालिकामा सञ्चालित उक्त परियोजनाको विषयमा महिला समूह र जिल्लाका मिडियाकर्मीहरु बिच छलफल गरिएको कार्यक्रम संयोजक गुञ्जन झा ले जनाएको छ ।

   

दिपावली तथा छठ पर्वको अवसरमा आर.आर पि.के मलंगवाले टोलको सरसफाई गरे

 




लोकतन्त्र समाचारदाता---

सर्लाही ,कात्तिक १४

      सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न-१० स्थित एक टोलमा  राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र मलंगवाले सरसफाई गरेको छ ।

     हिन्दुहरुको महान चाड दिपावली तथा छठ पर्वको अवसरमा आइतवार साँझ संस्थाका सम्पूर्ण  कर्मचारीहरुको संलग्नतामा वडा न-१० स्थित जिल्ला समन्वय समिति कार्यालयको पछाडी रहेको एक टोलको सरसफाइ गरिएको परियोजना संयोजक  दिलिप कुमार यादवले बताएको छ ।

   सोही टोलमा रहेको केन्द्रको कार्यालय अगाडीबाट सुरु भएको सरसफाई  कार्यक्रममा माइकिङ द्वारा आफ्नो टोल आफै सफा राखौं भन्ने नारा  लगाएर स्थानीय टोलबासीहरुलाई प्रोत्साहित समेत गरेकोआयोजक संस्थाका प्रशासनिक अधिकृत प्रविण कर्णले बताएको छ ।


    केन्द्र मार्फत  आगामी दिनमा पनि यसैगरी समाजको लागि विभिन्न जनचेतनामूलक कार्यक्रमहरुको आयोजना गर्दै जाने कार्यकारी निर्देशक शिबजी प्रसाद साहले लोकतन्त्रलाई जानकारी गराउनुभयो।

Saturday, October 30, 2021

सर्लाही आईडल नोबेल पुरस्कार –२०७८ प्रतियोगिताको सुभारम्भ मलंगवाका मेयर र उपमेयरले गीत गाएर गरे

 






---पहिलो दिन प्रतियोगितहरु बिच परिचयात्मक तथा सांस्कृतिक प्रस्तुति---

मनोज यादव----                                      सर्लाही ,कात्तिक १३

     प्रदेश न-२ अन्तर्गत सर्लाही जिल्ला मै पहिलो पटक आयोजना हुन गइरहेको विशुद्ध साँस्कृतिक प्रतियोगिता सर्लाही  आईडल नोबेल पुरस्कार –२०७८ को(आज) सनिवार बाट विधिवत रुपमा सुभारम्भ भएको छ ।प्रतियोगिताको पहिलो दिन जिल्लाभरी बाट अडिसनका लागि छनौट भएका   प्रतियोगिहरु बिच परिचयात्मक कार्यक्रमको आयोजना गरिएको आयोजक संस्था विसेसले जनाएको छ ।

     "सर्लाहीको सान ,सर्लाहीको मान" भन्ने नाराका साथ आयोजना भइरहेको यस प्रतियोगिता मुख्य उदेश्य  गाउँगाउँमा लुकेर रहेका   प्रतिभालाई एउटै मञ्चमा ल्याएर उनीहरु भित्रको कलाकारितालाई सबै सामु प्रस्तुत गर्नु रहेको कार्यक्रम संयोजक मैथिली गायक संतोष कर्णले बताएका छन् ।

    सात दर्जन भन्दा बढी प्रतियोगिहरुले भाग लिइरहेको यस प्रतियोगितालाई जिल्ला भरिका छापा तथा विधुतिय मिडियाहरुले मिडिया पार्टनरको रुपमा सघाइरहेका छन् भने जिल्लाका दर्जनौं विशिष्ट ब्यक्तिहरुले आर्थिक सहयोग गरेका छन् ।

     आज(सनिवार)सम्पन्न परिचयात्मक कार्यक्रममा प्रतियोगिहरु सहित जिल्ला समन्वय समिति सभापति मेथुर चौधरी, मलंगवा नपाका नगरप्रमुख निरसल साह, उपप्रमुख शान्ति मिकरानी,प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख ,पत्रकारहरु लगायतको उपस्थिति रहेको थियो ।उपस्थित अतिथिहरुले एकएकवटा गीत गाएर प्रतियोगिताको सुभारम्भ गरेका थिए ।

   आज(सनिवार) भएको

कार्यक्रममा प्रतियोगीहरुले आआफ्नो  नाम दर्ता गराइ एकअर्का सँग   परिचय  गरी छोटो मिठो प्रस्तुति दिएका  थिए । तिहार र छ्ठ पछि हुने फाइनल प्रतियोगिताबाट प्रथम हुनेलाई ५१ हजार,दोस्रो ३१ हजार र तेस्रो हुनेलाई २१ हजार नगद सहित प्रमाणपत्र प्रदान गरिने छ ।

    उक्त प्रतियोगिता  स्पोन्सर समेत रहेका मलंगवा नगरपालिका वडा न-८ स्थित कुसुम पार्टी प्यालेसको सभाहलमा संचालन हुने कार्यक्रम संयोजक कर्णले जानकारी गराएका छन्  ।



राजनीतिले नै कृषि क्षेत्रलाई बिगारेको छ: कृषि मन्त्री यादव

 

एस पी यादव---

काठमाडौ, कात्तिक १३

     राजनीतिले नै कृषि क्षेत्रलाई बिगारेको  कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवले बताएका छन् ।

   "हाम्रो पहल: उत्पादन र पोषणमा वृद्धि, पर्यावरण संरक्षण र जनजीविकामा समृद्धि" भन्ने नाराका साथ कृषि विभागले ४१ औं विश्व खाद्य दिवसको अवसरमा आयोजना गरेको  कार्यक्रममा बोल्दै मन्त्री यादवले यस्तो भनेका हुन । उनले  पार्टी पिच्छै रहेका  किसान संगठनहरुले  किसानलाई विभाजित गरेको  बताएका छन् । किसानको समृद्धि बिना कृषिमा आत्मनिर्भर हुन नसक्ने भन्दै सबैभन्दा पहिले किसानको समृद्धिमा जोड दिनुपर्ने मन्त्री यादवले बताए । उनले भने, सोही कारण बेमौसी वर्षाबाट प्रभावित किसानको लागि सरकारले पाँच अर्व रुपैयाँभन्दा बढीको राहत प्याकेज घोषणा गरेको उनले जानकारी गराए ।


 

Friday, October 29, 2021

सर्लाही क्याम्पसमा राणाशाही र राजनीतिक चलखेल भइरहेको विरोधमा अनेरास्ववियु द्वारा क्याम्पस गेट अगाडी टायर बालेर प्रदर्शन

 




लोकतन्त्र समाचारदाता---

सर्लाही(मलंगवा) ,कात्तिक १२

    अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले शुक्रबार बिहान मलंगवा स्थित सर्लाही क्याम्पस अगाडी टायर बालेर प्रदर्शन गरेका छन् ।

    विगत लामो समयदेखि उक्त क्याम्पस प्रमुख विहिन रहेका कारण विद्यार्थीहरुको पठनपाठनमा कठिनाइ उत्पादन भइरहेकोले क्याम्पस प्रमुख नियुक्त गर्ने माग तथा  दिपावली पर्व आउन अझ केहीदिन बाँकी रहेको अवस्थामा पनि सरकारले दिने बिदाको समय अगावै क्याम्पसमा बिदा दिएको विरोध स्वरुप   अनेरास्ववियु सर्लाही क्याम्पस कमिटीका सदस्यहरुले शुक्रवार बिहान ६ बजे मलंगवा नगरपालिका वडा न-४ स्थित उक्त क्याम्पसको मुल गेट अगाडी टायर बालेर प्रदर्शन गरेका हुन ।

    शिक्षाको मन्दिर मानिने क्याम्पस जस्तो ठाउँमा  राणाशाही र राजनीतिक चलखेल भइरहेकोले यस्तो नगर्न र यदी यस्तो गरेको पाइएमा आफुहरु  चुप लागेर नबस्ने ।


अनेरास्ववियू सर्लाही क्याम्पस कमिटीका अध्यक्ष धर्मेन्द्र टाका यादवले चेतावनी दिएका छन् ।

सर्लाहीको क्षेत्र नं. २ मा सबै पदमा लोसपको विजयी हुने गापा अध्यक्ष बिनोद साहको दावी



सर्लाही,कार्तिक १२

     सर्लाहीको क्षेत्र न-२ मा स्थानीय तहको वडाध्यक्ष देखि प्रतिनिधि सभा सम्मको सबै पदमा लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) भारी बहुमतले विजयी हुने लोसपा नेता एवं  ब्रम्हपुरी  गाउँपालिकाका गापा अध्यक्ष बिनोद साहले दाबी गर्नुभएको छ । सर्लाहीको   ब्रह्मपुरी गाउँपालिकामा आज(शुक्रवार) दिपावली तथा छठ पर्वको उपलक्ष्यमा आयोजना भएको   शुभकामना अदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता साहले यस्तो दाबी गर्नु भएको हो । 

    आज दिउँसो गाउँपालिकाको वार्ड न- १ स्थित मठ बजारमा आयोजना भएको शुभकामना अदान- प्रदान कार्यक्रममा हजारौंको संख्यामा  पार्टीका जिल्ला स्तरका नेता,कार्यकर्ता तथा स्थानीय जनताहरुको सहभागीता रहेको थियो ।

    उक्त कार्यक्रम स्थलसहित ब्रम्हपुरी गाउँपालिका क्षेत्र लोसपामय भएको देखिन्थ्यो ।यसले नेता साहको दाबी सही सावित हुने कार्यक्रम स्थलमा भेटिएका सहभागीहरुले बताए ।

     लोसपाका बरिस्ठ नेता एवं पुर्व उपप्रधानमन्त्री राजेन्द्र महतोको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा प्रदेश सांसद उपेन्द्र महतो, प्रदेश सांसद गौरी नारायण साह,किसान आन्दोलनका अगुवा नेता राकेश मिश्र,पार्टीका केन्द्रीय सदस्य लालबिहारी यादव,पार्टीका जिल्ला अध्यक्ष रामप्रसाद राय यादव लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।






बेमौसमी वर्षाले धानबाली गुमाएका पिडित किसानलाई राहत रकम उपलब्ध गराइने- कृषि मन्त्री यादव



   --- क्षेत्रफलका आधारमा ६५ प्रतिशतसम्म राहत रकम उपलब्ध गराइने---


एसपी यादव---

काठमाडौ, कात्तिक १२

      नेपाल सरकारले बेमौसमी वर्षाका कारण किसानले लगाएको धानबालीमा भएको क्षतिका विषयमा जग्गाको क्षेत्रफललाई आधार बनाएर राहत दिने निर्णय भएको कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवले जानकारी गराएका छन् ।


बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले किसानलाई धानबालीको क्षेत्रफलका आधारमा राहत दिने र त्यसका लागि कार्यविधि बनाउन कार्यदल गठन गर्ने निर्णय समेत भएको कृषी मन्त्री यादवले बताएका छन् ।


मन्त्री यादवका अनुसार, सरकारले साना किसान बढीमा १० कठ्ठा जग्गाको धानबालीमा भएको क्षतिको उत्पादन लागतको ६५ प्रतिशत रकम जस अनुसार प्रति कठ्ठा १ हजार ९ सय २१ रुपैया र प्रति बिघा ३८ हजार ४ सय २० रुपैया, मझौला किसान ११ कठ्ठादेखि ४० कठ्ठासम्मको धानबालीमा क्षति भएकालाई उत्पादन लागतको ३० प्रतिशत रकम जस अनुसार प्रति कठ्ठा ८ सय ८७ रुपैया र प्रती बिघा १७ हजार ७ सय ४० रुपैया त्यसैगरी ठूला किसान ४१ कठ्ठा भन्दा बढी क्षेत्रफलमा क्षति भएकोलाई उत्पादन लागतको २० प्रतिशत रकम जस अनुसार प्रति कठ्ठा ५ सय ९१ रुपैया र प्रति बिघा ११ हजार ८ सय २० रुपैयासम्म राहत उपलब्ध गराउने निर्णय भएको उनले जनाएका छन् ।


त्यस्तै सरकारले आंशिक क्षति अन्तर्गत सबै वर्गका किसानलाई उत्पादन लागतको २० प्रतिशत रकम जस अनुसार प्रति कठ्ठा ५ सय ९१ रुपैया र प्रति बिघा ११ हजार ८ सय २० रुपैयासम्म राहत उपलब्ध गराउने भएका छन् ।


राहत वितरण गर्ने कार्यविधि बनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवको संयोजकत्वमा कार्यदल बनाइएको छ । कार्यदलले ५ दिनभित्र कार्यविधि बनाई मन्त्रिपरिषद्मा पेस गर्नेछन् ।


हालसम्मको तथ्यांक अनुसार राहत उपलब्ध हुने अनुमानित क्षेत्रफल १ लाख ११ हजार हेक्टर रहेको र सोको राहतका लागि नेपाल सरकारको खर्च हुने अनुमानित रकम ११ अर्व ८८ करोड मध्ये बिहिवार बसेको मन्त्रिपरिषद् बैठकले तत्काललाई ५ अर्व ५२ करोड रुपैयाको राहत प्याकेजको घोषणा गरेको कृषि मन्त्रालयले जनाएको छ ।

Thursday, October 28, 2021

आदिबासी जनजाती युवा महासंघ द्वारा हरिवन स्थित स्वास्थ्य चौकीमा स्वास्थ्य सामाग्री बितरण

 


लोकतन्त्र समाचारदाता---

सर्लाही,कात्तिक ११

      आदिबासी जनजाती युवा महासंघ नेपालले सर्लाहीको हरिवन नगरपालिका २ मा रहेको स्वास्थ्य चौकीमा स्वास्थ्य सामाग्री वितरण गरेको छ । 

    आदिबासी जनजाती महासंघ प्रदेश न- २ का सचिव संजिव मोक्तानको पहलमा  ३० पोका माक्स,६ थान थर्मलगन ,६ थान अक्सीमिटर , ६ थान थर्मामिटर ,६ थान पि.पि.इ.सेट , साइनेक्स, भिटामिन सी, पारासिटामोल, जीवनजल, जिन्क र सेनिटाइजर लगायतका  स्वास्थ्य सामग्री बितरण गरिएको समाजसेवी मनिष मोक्तानले जानकारी दिए । ती स्वास्थ्य सामाग्रीहरु सचिव मोक्तानले वडा नं. २ का वडाध्यक्ष अर्जुन महतोको रोहबरमा स्वास्थ्य चौकी प्रमुख मोहन बहादुर घिसिङलाई हस्तान्तरण गरेका थिए । 

    सचिब मोक्तान यसअघि पनि विभिन्न सहयोगहरु गर्दै आएका थिए ।

सहारा विकास बैंकले मनायो १२ औँ स्थापना दिवस

 

 

मनोज यादव-----

सर्लाही ,कात्तिक ११

     सर्लाहीको सदरमुकाम मलंगवा स्थित  सहारा विकास बैंकले आफ्नो १२ औं  स्थापना दिवस मनाएको छ ।

   दिवसको अवसरमा अध्यक्ष संजय गुप्ता "सुगन्ध"ले बैंक प्रति विश्वास गरेर बैंकको सफलतामा महत्त्वपूर्ण भूमिका खेलेका ग्राहकवर्ग,सेवाग्राही तथा शेयरधनीहरुमा कृतज्ञता ब्यक्त गरेका छन् ।साथै उहाँले यस बैंकमा कार्यरत सम्पूर्ण कर्मचारी ,सहयोग तथा सुझाव दिने सम्पूर्ण नियमनकारी निकाय तथा विज्ञहरु, वित्तीय बजारमा विश्वसनीय तथा प्रभावकारी वातावरण निर्माण गर्नमा सहयोग पुर्याउने संचार क्षेत्र र त्यसमा आवद्ध  पत्रकारहरुको साथै मैत्रीपूर्ण प्रतिस्पर्धा गरिरहेका बैंक तथा वित्तीय संस्थाहरु प्रति धन्यवाद तथा कृतज्ञता प्रकट गर्दै आगामी दिनमा समेत यस्तै प्रकारका सहयोग ,सद्भाव र सुझावको अपेक्षा समेत गर्नु भएको छ ।





 



कृषि ज्ञान केन्द्र मलंगवाको बजेट सार्वजनिकरण तथा अन्तरक्रिया गोष्ठी सम्पन्न,

 




लोकतन्त्र समाचारदाता---

सर्लाही ,कात्तिक ११

     सर्लाही स्थित  कृषि ज्ञान केन्द्र मलंगवाले आज(बिहीबार)  बजेट सार्वजनिकरण सम्बन्धि एकदिने अन्तरक्रिया गोष्ठी सम्पन्न गरेको छ । केन्द्रले स्थानीय तहका कार्यालय प्रमुख तथा कृषि प्राविधिकहरु सँगको समन्वयमा अन्तरक्रिया गोष्ठीको आयोजना गरि आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्बजनिकरण गरेको हो ।

     जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरीको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडाको प्रमुख आतिथ्यतामा आयोजना गरिएको कार्यक्रममा कृषि ज्ञान केन्द्र प्रमुख कमलदेव प्रसाद कुशवाहाले  आर्थिक बर्ष २०७८/०७९ मा संचालन  हुने बार्षिक कार्यक्रमको प्रस्तुति गर्नुभएको थियोे। केन्द्रले कार्यालय भवन निर्माण ,आवास भवन मर्मत सम्भार,स्यालो ट्युबवेल ,मोटर,पम्पसेट जडानमा अनुदान,कृषि यन्त्र उपकरणमा अनुदान,च्याउ बीमा अनुदान,माहुरी उत्पादन तथा बजरीकरणमा सहयोग अनुदान,बगर खेतीमा सहयोग ,फलफुल तथा तरकारीको व्यवसायीक वा मोडेल खेतीमा अनुदान,सहकार्यमा कृषि यान्त्रिकरण प्रवर्द्धनका लागि कस्टम ह्यारिंग सेन्टरको निर्माण ,बेरोजगार युवाहरूको लागि स्वरोजगारमुलक तथा क्षमता अविवृद्धि तालिम ,प्रांङ्गारीक मिसन कार्यक्रम संचालन ,व्यवसायीक कृषि उत्पादन केन्द्र (ब्लक) विकास कार्यक्रम तथा व्यवसायीक कृषि उत्पादन केन्द्र विकास कार्यक्रम निरन्तरता लगायतका १४ वटा शिर्षकको कार्यक्रम संचालन गर्ने प्रमुख कुशवाहाले बताउनुभयो ।


    मलंगवा स्थित जिससको सभाहलमा सम्पन्न भएको कार्यक्रममा जिल्लाका २० वटै पालिकाका कृषि प्राविधिक ,कर्मचारी तथा पत्रकारहरुको सहभागीता रहेको थियो।

नेकपा एमालेको वृहद् वडा भेलाबाट असफाक मिकरानीको अध्यक्षतामा ३१ सदस्यीय मलंगवा ४ वडा कमिटी गठन

 



लोकतन्त्र समाचारदाता---

सर्लाही ,कात्तिक ११

     नेकपा एमाले  मलंगवा नगरपालिका -४ को वडा कमिटीको बिहीबार सम्पन्न भएको वृहद् वडा भेलाबाट असफाक मिकरानीको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी गठन  भएको छ। नव गठित वडा कमिटीको उपाध्यक्ष ,सचिव ,स-सचिव पदमा क्रमशः बिगु पासवान ,सद्दाम हुसैन,खुश्बु बेगम र जाहिद हुसैन रहेका छन् ।

      पार्टीका नगर उपाध्यक्ष दिपलाल यादवको अध्यक्षता, जिल्ला अध्यक्ष राजनारायण साहको प्रमुख आतिथ्यता तथा पार्टीका नेता एवं संविधान सभा सदस्य हरि उप्रेतीको विशिष्ट आतिथ्यतामा  भएको कार्यक्रममा  खलिक बक्स मियाँ  र मोस्तकिम अन्सारीको नेतृत्वमा भएको कार्यक्रममा ५ दर्जन भन्दा बढी स्थानीय  ब्यक्तिहरुले पनि पार्टी प्रवेश गरेका छन् ।नव प्रवेशीहरुलाई जिल्ला अध्यक्ष साहले फुलमाला र अवीर लगाएर पार्टीमा स्वागत गरेको नगर कमिटी सचिव तथा अनेरास्ववियु जिल्ला कमिटी सर्लाहीका अध्यक्ष शमिमबाबु खानले जनाएको छ ।

     उक्त भेलामा नेपाल  उत्पिडित जातीय मुक्ति समाज प्रदेश न २ का अध्यक्ष गोविन्द पासवान ,जिल्ला कमिटी सदस्य राम नरेश मंडल,युवा नेता धिरेन्द्र साह,असफाक मिकरानी,रामपुकार ठाकुर लगायत सयौं  वडा न-४ का स्थानीय बासिन्दाहरुको उपस्थिति रहेको थियो ।

    कार्यक्रमको संचालन जाँहगीर खानले गरेका थिए ।


सर्लाहीको कविलासी नगरपालिकामा सिके राउत नेतृत्वको जनमत पार्टीको प्रथम नगरअधिवेशन हुँदै

 



लोकतन्त्र समाचारदाता----

सर्लाही ,कात्तिक ११

     सिके राउत नेतृत्वको जनमत पार्टीको प्रथम नगर अधिवेशन  सर्लाहीको कबिलासी नगरपालिका वडा न-२ पिपरिया स्थित नयाँ बजारमा  हुँदैछ । 

    जनमत पार्टी कबिलासी नगर समितिको आयोजना हुन लागेको उक्त अधिवेशनमा प्रमुख अतिथिको रुपमा पार्टीका केन्द्रीय उप-महासचिव ई ईन्द्रजीत कुमार यादवले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

    पहिलो पटक हुन गइरहेको सो अधिवेशनमा हजारौंको संख्यामा  स्थानीय जनताहरु,सर्लाहीका विभिन्न नगर तथा गाउँ समितिका  पार्टी  प्रतिनिधिहरु , तथा स्वयंसेवकहरुको सहभागिता रहने पार्टीका युवा नेता निर्मल साहले जानकारी दिए । 

उनका अनुसार नगरधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको छ । 

     अधिवेशनमा सहभागी हुनका लागि कबिलासी नगर समितिले जिल्ला तथा जिल्ला बाहिरका पार्टी प्रतिनिधि तथा नेताहरूलाई निमन्त्रणा  समेत पठाइ सकेको युवा नेता साहले जनाएको छ ।कार्यक्रम दिनको ११ बजेदेखि सुरु हुने जनाइएको छ।








Wednesday, October 27, 2021

मलंगवामा सामी परियोजना अन्तर्गत मनोसामाजिक परामर्श कक्षामा सहभागी तथा सरोकारवालाहरु बिच समन्वय बैठक सम्पन्न

 




लोकतन्त्र समाचारदाता---

सर्लाही ,कात्तिक १०

    सामी परियोजना अन्तर्गत संचालित मनोसामाजिक परामर्श कार्यक्रममा सहभागीहरु बिच समन्वय बैठक बुधबार  सर्लाहीको सदरमुकाम मलंगवामा सम्पन्न भएको छ ।

      नेपाल सरकार र स्विजरल्याण्ड सरकार बिच भएको द्विपक्षीय सम्झौता बमोजिम श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नितिगत पहल प्रदेश सरकारको समन्वय तथा मलंगवा ,हरिवन,बरहथवा नगरपालिका र चन्द्रनगर गाउँपालिकाको नेतृत्वमा सामी हेल्भेटास नेपालको प्रविधिक सहयोगमा तथा बागमती सेवा समाज नेपालको सहजीकरणमा संचालित सुरक्षित आप्रवासन परियोजना (सामी) अन्तर्गत मलंगवा नगरपालिकाका स्थानीय जनप्रतिनिधि ,सरोकारवाला तथा  वित्तीय साक्षरता र मनोसामाजिक परामर्श कक्षामा सहभागीहरुको बैठक सम्पन्न भएको हो ।

    नगरप्रमुख निरसल साहको अध्यक्षता तथा नगर उपप्रमुख शान्ती सबनम मिकरानीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदी,राजकुमार अधिकारी,स्वास्थ्य शाखा प्रमुख अभिराम झा,मानवअधिकारकर्मी बुधन साह , सरोकारवाला लगायतको सहभागीता रहेको थियो ।



   संस्थाले  वैदेशिक रोजगारमा रहेका व्यक्तिहरूका परिवारका लागि  वित्तीय साक्षरता र मनोसामाजिक परामर्श कक्षाहरु संचालन गरेको कार्यक्रम संयोजक संतोषी थापाले बताए ।

Tuesday, October 26, 2021

किसानको समस्यालाई लिएर संघीय कृषि मन्त्री महेन्द्र यादवले गरे सातवटै प्रदेशका कृषि मन्त्रीहरु सँग छलफल




लोकतन्त्र समाचारदाता---

काठमाडौ  ,कात्तिक ९

    किसानको समस्यालाई लिएर संघीय सरकारको  कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवले सिंहदरबारस्थित कृषि मन्त्रालयमा  सात वटै प्रदेशका कृषिमन्त्रीहरूसँग छलफल सुरु गरेका छन्। हालै देशमा आएको बाढी पहिरोका कारण भएको क्षति तथा पीडित किसानलाई दिइने राहत एवं क्षतिपूर्तिको बारेमा छलफल सुरु भएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश सञ्जेलले  बताएका छन् ।

    सात वटै प्रदेशको प्रारम्भिक क्षति विवरण मन्त्रालयमा आइपुगेकोले  प्रारम्भिक क्षतिको आधारमा अरू थप के गर्न सकिन्छ, तत्काल राहत कसरी र कति दिने, थप क्षतिपूर्ति दिनका लागि कस्तो प्रक्रिया अपनाउने भन्ने विषयमा छलफल भइरहेको प्रवक्ता सञ्जेलले जानकारी दिए । पीडित किसानलाई राहत दिनका लागि संघ, प्रदेश तथा स्थानीय तहबीच समन्वय हुने मन्त्रालयले जनाएको छ।

     छलफलमा सात वटै प्रदेशका कृषि मन्त्रीहरूको धारणा सुनिसकेपछि संघीय सरकारले पीडित किसानहरुका लागि राहत तथा क्षतिपूर्तिको व्यवस्थामा लाग्ने बताइएको छ। 

      राष्ट्रपति विद्यादेवी भण्डारीले कृषि मन्त्री यादवसँग बाढीका कारण देशभरि कृषिमा भएको क्षति बारे जानकारी लिइसक्नु भएको छ ।मन्त्री यादवलाई  राष्ट्रपति कार्यालयमा बोलाएर क्षतिको बारेमा ब्रिफिङ सुनेपछि राष्ट्रपति  भण्डारीले किसानलाई तत्कालै राहत प्रदान गर्न सुझाव दिएको बताइएको छ।

    हालसम्म कृषि मन्त्रालयलाई प्राप्त विवरण अनुसार बाढीले  साढे आठ अर्बको धानबाली क्षति गरेको छ। प्रारम्भिक विवरण अनुसार साढे दुई लाख मेट्रिकटन धानमा क्षति पुगेको छ।


असोज महिनामा १५ सय सवारीसाधन कार्यवाहीमा , १५ लाखभन्दा बढी राजश्व संकलन

 


लोकतन्त्र समाचारदाता---

सर्लाही ,कात्तिक ९

     सर्लाही ट्राफिक प्रहरीले चालु आर्थिक वर्ष २०७८/०७९ को असोज महिनामा १५ लाख भन्दा बढी राजश्व संकलन गरेको छ ।

     बस, ट्रक, जिप,भ्यान, कार ,ट्याक्टर , मोटरसाइकल लगायतका १ हजार ५ सय वटा सवारीसाधनहरुलाई कार्यवाही गरि जरिवाना गराउँदा १५ लाख ४२ हजार ५ सय रुपैया राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी निरिक्षक केदारमान दोङले जानकारी दिएको छ ।ट्राफिक प्रहरी प्रमुख दोङका अनुसार असोज महिनामा २ वटा बस,७५९ ट्रक ,३८१ वटा जिप,कार तथा  भ्यान,२९६ वटा मोटरसाइकल र ६२ वटा ट्याक्टरहरुलाई कार्यवाही गरिएको हो ।

    चालु आ.व कै भदौ महिनामा १४ लाख ६५ हजार तथा साउन महिनामा १८ लाख ४४ हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको थियो ।

    असोज महिनामात्र ४२ वटा सवारी दुर्घटनाहरु भएको जिल्ला  ट्राफिक प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

Monday, October 25, 2021

सर्लाहीको सशस्त्र प्रहरी प्रमुखमा पनि नयाँ एसपी आए

 




लोकतन्त्र समाचारदाता---

सर्लाही ,कात्तिक ८

       सर्लाहीमा प्रहरी प्रमुख जस्तै सशस्त्र प्रहरी प्रमुखमा पनि नयाँ एसपी आएका छन्। सर्लाहीमा सशस्त्र प्रहरीको प्रमुखको रुपमा एसपी गंगाराम श्रेष्ठको ठाउँमा प्रदेश ३ गढिमाई बाहिनी चितवनमा कार्यरत भरत खनियाँ आएका छन् ।

     सशस्त्र प्रहरी प्रधान कार्यालयले सर्लाहीको कविलासी नगरपालिकास्थित अगर्वामा रहेको नं. १० गणका प्रमुख एवं सशस्त्र प्रहरी उपरीक्षक (एसपी) गंगाराम श्रेष्ठको  सशस्त्र प्रहरी हेडक्वार्टर हल्चोक, काठमाण्डौंमा सरुवा गरिएको जनाइएको छ। उनको स्थानमा सर्लाही आइपुगेका नयाँ सशस्त्र प्रहरीका एसपी खनियाँले आफ्नो कार्यभार सम्हालिसकेको सशस्त्र प्रहरीको कविलासी गणले जनाएको छ ।

   यस्तै नेपाल प्रहरी प्रमुख एसपी संतोष सिंह राठौरको पनि सरुवा भएको छ ।उनको ठाउँमा २ नं. प्रदेश प्रहरी कार्यालयबाट  एसपी कृष्ण प्रसाई आउनु भएको छ ।

   एसपी राठौरको पुलिस एकेडेमी महाराजगन्ज, काठमाण्डौंमा सरुवा भएको छ जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

Sunday, October 24, 2021

सर्लाहीमा आउने भए नयाँ एसपी

 




लोकतन्त्र समाचारदाता---

सर्लाही ,कात्तिक ७

   संतोष सिंह राठौरको सरुवा भएपछि  सर्लाही प्रहरी प्रमुखको रुपमा नयाँ एसपी आउने भएको छ ।

    २०७७ भदौ ४ गते सर्लाहीमा सरुवा भएर आइ कामकाज सम्हाल्दै आउनु भएका एसपी राठौरलाई प्रहरी प्रधान कार्यालयले  प्रहरी प्रतिष्ठान (पुलिस एकेडेमी) महाराजगंजमा काज सरुवा गरेपछि उहाँको ठाउँमा २ नं. प्रदेश प्रहरी कार्यालय जनकपुरमा कार्यरत एसपी कृष्ण प्रसाई आउन लाग्नु भएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।  एसपी प्रसाई डीएसपी हुँदा जिल्ला प्रहरी कार्यालय मलंगवामा रहेर काम गरिसक्नु भएको छ।


Saturday, October 23, 2021

सामाजिक कार्यमा सक्रिय सामाजिक संस्था ज्वाइन आवर हैण्ड्सले मनाए चौथो बार्षिक उत्सव

 




लोकतन्त्र समाचारदाता---

सर्लाही ,कात्तिक ६

   `हामी सँग हातमा हात जोडौं´भन्ने सिद्धान्तलाई आत्मसात् गर्दै  सामाजिक क्षेत्रमा मन, बचन र कर्मले अभियानका साथ जुटेका सर्लाही जिल्लाका क्रियाशील युवा पुस्ताका समाजसेवीहरु सम्मलित ज्वाइन आवर हैण्ड्स संस्थाले आफ्नो चौथो  बार्षिक उत्सव धुमधामका साथ मनाएका छन् ।

      आफ्नो चौथो स्थापना दिवसको अवसर पारेर संस्थाले  समाजको विकासमा योगदान पुर्याएका सामाजिक अभियन्ता तथा संस्थालाई  सम्मान समेत गरेको छ ।

      संस्थाका अध्यक्ष राजेश पंडितको अध्यक्षता तथा भूमी ब्यवस्था ,कृषि तथा सहकारी विकास मन्त्री विजय कुमार यादवको  प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा प्रदेश न-२ सांसद संजय यादव,जिल्ला समन्वय समिति सभापति मेथुर चौधरी ,मलंगवा नपा उपमेयर शान्ती मिकरानी, नेकपा(एकीकृत समाजवादी) पार्टीका नेता एवं मलंगवा नगरपालिका मेयर प्रत्याशी  देवेन्द्र यादव,मानवअधिकारकर्मी मुकेश मिश्र,दलित अधिकारकर्मी राजेश पासवान ,नेपाल बाल संगठन सर्लाहीका सभापति शमिम बाबु खान, नेपाल स्काउट सर्लाहीका अध्यक्ष जितेन्द्र लाल दास,नेपाल स्काउटकै राष्ट्र प्रशिक्षक महेन्द्र यादव ,पुर्व शिक्षक रामदेव ठाकुर,बाल कल्याण समाजका अध्यक्ष सुन्दर श्याम यादव विभिन्न पार्टीका पार्टी प्रतिनिधि ,पत्रकार तथा  विभिन्न संघसंस्थाका प्रतिनिधिहरु लगायतको  उपस्थिति रहेको थियो ।

    कार्यक्रमका संयोजक स्वस्तिका सोनीले स्वागत मन्तब्य राख्नु भएको कार्यक्रममा अध्यक्ष पंडितले संस्थाले वर्षभरि गरेको विभिन्न सामाजिक क्रियाकलाप तथा ती क्रियाकलापबाट प्राप्त उपलब्धिको बारेमा जानकारी गराएका थिए ।कोरोनाका बाबजुद जोखिम मोलेरै भए पनि  समाजकोलागि गर्नुपर्ने कामहरु गरेर यस संस्थाले उदाहरणीय कार्य गरेको बताउँदै उपस्थित अतिथिहरुले ज्वाइन आवर हैण्ड्सका सम्पूर्ण टिमलाई धन्यबाद दिंदै सफलताको शुभकामना दिएका थिए ।

     कार्यक्रमको उद्घाटन प्रमुख अतिथि मन्त्री यादवले हरियालीको प्रतीक बोट बिरुवामा पानी दिएर गरेका थिए ।कार्यक्रमलाई अविस्मरणीय र रोचक बनाउन मलंगवा स्थित सगरमाथा आधारभूत विद्यालयका विद्यार्थीहरुले विभिन्न सांस्कृतिक कार्यक्रमहरु समेत प्रस्तुत गरेका थिए ।

     मलंगवा वडा न-८ स्थित बाल मन्दिरको सभाहलमा सम्पन्न भएको कार्यक्रमको संचालन आयोजक संस्थाका सल्लाहकार सुवोधहरि राजोपाध्यायले गर्नुभएको थियो ।

यस्तै कार्यक्रमलाई सफल पार्न राज श्री सेविंग्स एण्ड को लिमिटेड , बिरबलको खिचडी होटल,माछापुच्छ्रे बैंक ,Cad of civil engineering con pvt ltd,Triangleship construction and consultancy pvt ltd र स्थानीय अभिनाश कुमार मिश्रले प्रायोजन गरेका थिए ।

Friday, October 22, 2021

काटेर भित्र्याउँदै गरेको धानबाली डुबानमा, भोकमरीको स्थिति आएको भन्दै सरकारसँग उचित क्षतिपूर्ति माग्दै पिडित किसान

 




मनोज यादव---

सर्लाही ,कात्तिक ५

निरन्तर वर्षाका कारण भित्र्याउने वेलाको धानमा बाढीले क्षेत्री पुर्याएपछि देशभरका किशानहरु मर्कामा परेका छन् । एक्कासी भारी बर्षा हुँदा काटेर भित्र्र्याउन ठिक्क परेका धानबाली डुबानमा परेपछि वर्षभर के खाने भन्ने चिन्ताले किसानलाई सताउन थालेको छ । भित्र्याउने बेला भएको धानबाली डुबानमा परेर पुरै नष्ट भएपछि तराईका किसान चिन्तामा परेका छन् ।कतिपय किसानहरूको काटेर खेतमा सुकाउनको लागि राखेको धानबाली पानीले पुरै गलेर नष्ट भएको छ भने कतिपयको पानीले बगाएर लगेको छ।खोला किनाराका खेतहरु बगरमा परिणत भएका छन् ।सर्लाही लगायत तराईका जिल्लाहरुमा एक्कासी भारी बर्षा हुँदा काटेर दाउनी गरेर भित्र्याउन ठिक्क परेका धानबाली डुबानमा परेपछि वर्षभरको मेहनत खेर गएको भन्दै यहाँ किसानहरु चिन्तामा परेका छन् ।

भर्खरै दसैं मनाएर बाली भित्र्याउने तयारी गरिरहेका किसानलाई बाढी तथा डुबानले दुखी बनाएको छ ।कतिपय किसानले दशै अगाडी देखिनै बाली भित्र्याउन सुरु गरिसकेका थिए । आधा बाली भित्र्याउन नपाउँदै एक्कासी भारी वर्षा भएपछि खेतमा सुक्नको लागि राखेको मात्र नभइ दाउनी गर्नका लागि थ्रेसर मेसिनमा लान ठिक्क पारेको धानबाली पुरै नष्ट भएको छ ।धानबाली घर भित्र्याउन नपाउँदै बर्षाले नोक्सान गरेपछि किसानहरु समस्यामा परेका छन् । काटेर खेतमै थुपारेर राखेका धान काम नलाग्ने गरि पानीले पुरै भिजेको छ । खेतमा अहिले पनि पानी जमेको छ । अरुको जग्गा भाडामा लिएर लगाएको धान पुरै सखाप भएपछि अब साहुको भाडा कसरी तिर्ने भन्ने चिन्तामा किसान छन् ।

यस्तै चिन्ता र पीडा अरु

किसानहरुको पनि छ । केही दिनअघि मात्रै काटेको धान दाउनी गर्न नपाउँदै पानीले बगाएर लगेको उनीहरुको गुनासो छ ।

समयमै पर्याप्त वर्षा भएका कारण गएको केही सिजनको तुलनामा यस वर्ष धान राम्रो फलेको भन्दै खुसी भएका किसानहरु फेरी दुखी भएका छन् ।यस वर्ष पनि धान भित्राउन नपाएको उनीहरूले दुखेसो पोखेका छन् । सरकारले किसानको समस्या हेरेर विशेष राहत उपलब्ध गराउनु पर्ने किसान अगुवा राजेश यादवको भनाइ छ ।

अविरल वर्षाले सर्लाही लगायत तराईका हजारौं किसानको धानबालीमा क्षति गरेको छ । केही किसानले मात्रै धान घर भित्र्याए पनि अधिकांश किसानको धान खेतमै रहेका बेला परेको झरीले ठूलो क्षति गरेको छ । धान काटेर खेतमा राखेका किसानहरूको धान भित्राउन पाउने आश नै मारिसकेका छन् । धान,गहुँ र मकैबालीको लागि पकेट क्षेत्र मानिने प्रदेश न–२ अन्तर्गतको सर्लाही जिल्लामा कूल ४४ हजार हेक्टर क्षेत्रफल जग्गामा धानखेती हुने गरेको कृषि ज्ञान केन्द्र मलंगवाले जनाएको छ ।

Thursday, October 21, 2021

अन्नदाताहरुलाई परेको पीडामा सक्दो सहयोग गरौं : निवर्तमान प्रदेश २ प्रमुख डा.राजेश अहिराज

 





 ---प्रदेश प्रमुखको मन छुने अपिल---


काठमाडौं,कात्तिक 

     बेमौसमी वर्षाका कारण किसानहरूमा परेको पीडा र मारमा सबै नेपालीले सक्दो सहयोग गर्न प्रदेश नं. २ का निवर्तमान प्रदेश प्रमुख डा.राजेश अहिराजले आग्रह गरेका छन् ।


बेमौसमी भारी वर्षाका कारण अर्बौँको धान बाली नष्ट भएको छ भने ८८ जनाको ज्यान गएको र कैयौँ जना बेपत्ता भएका छन् । यस्तो पीडाको घडीमा सबै नेपालीले सहयोग र सद्भाव देखाउनुपर्ने डा.अहिराजले बताएका हुन् । यसबाट सबभन्दा बढी मारमा किसानहरू परेकाले नेपालीहरूले सहयोग गर्नुपर्ने धारणा राखेका छन् ।


डा.अहिराजले प्रभावित क्षेत्रहरूमा अनुगमन गर्दै एक भिडियो सन्देश जारी गरेका छन् । उनले भनेका छन्, ‘यी पीडामा म थुप्रै किसानहरूसँग भेटेँ, खेत बालीमा गएँ, उहाँहरूको आँखाभरि आँसु छन् । किसानहरूको परिवारमा एक खालको पीडा, भविष्यको चिन्ता, भोलि के खाने, लालावालालाई कसरी पाल्ने, जीवन कसरी धान्ने भन्ने पीडामा छन् ।’


किसानहरूको पीडाबारे बोल्दै उनले भने, ‘अहिले किसानको पीडा सुनिदिने वा बोलिदिने कोही भएन । हामी सबै नेपालीहरू जहाँ र जसरी भए पनि किसानहरूका लागि मुठ्ठिदान गरौँ । तपाईँ हाम्रो सहयोग र साथले किसानका अनुहारमा खुसी आउँछन् ।’


उनले हाम्रा अन्नदाताको आँसु पुछ्न, अनुहारमा खुसी ल्याउन र खानको व्यवस्था गरिदिन नेपालीहरू सक्षम रहेको बताउँदै सबै चाह्यो भने यो असम्भव नरहेको जिकिर गरेका छन् । ‘म सबै नेपालीहरूलाई हात जोडेर बिन्ती गर्न चाहन्छु कि किसानहरूलाई परेको यो पीडा र दुःखमा हामी साथ दिऔँ,’ उनले भनेका छन् ।


उनले हाम्रा अन्नदाताहरू मारमा पर्दा कोही पनि मौन बस्न नहुने धारणा राखेका छन् । ‘हामी तपाइसँग छौँ भन्ने किसानलाई हौसला दिनका लागि अब घरबाट पाइला बाहिर निकाल्नुपर्ने आवश्यकता छ’, उनले भनेका छन् ।

अनुसन्धानको मामिलामा सर्लाही प्रहरी प्रदेश २ मै उत्कृष्ट


 


लोकतन्त्र समाचारदाता---

सर्लाही ,कात्तिक ४

     अनुसंधानको मामिलामा सर्लाही प्रहरी प्रदेश न-२ मै सबैभन्दा उत्कृष्ट ठहरिएको छ। 

गत असोज २४ गते संघिय प्रहरी कार्यालय जनकपुरमा आयोजित अनुसन्धान अधिकृतहरु सँगको १ दिबसिय अन्तरक्रिया कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सर्लाही बाट अनुसन्धान गरिएको मिति २०७।१२।१०  गते जिल्ला सर्लाही मलंगबा न.पा.बडा नं -९ स्थितमा शुशिल कुमार यादबको घाँटीकाटी हत्या भएको घटनाको अनुसन्धान प्रदेश नं.२ मा भएको अन्य घटनाको    अनुसन्धानको तुल्नामा उत्कृष्ट भएको हो ।

      उक्त  कार्यक्रमका २ नं.प्रदेश प्रहरी कार्यालय जनकपुरका प्र.ना.म.नि उमेश रंजितकारको प्रमुख अतिथिमा सम्पन्न भएको थियो । यस्तै गत बर्षमा पनि सर्लाही प्रहरीनै अनुसन्धान र अभिलेख व्यबस्थापनमा उत्कृष्ट भएको कारण २ नं.प्रदेश भरीका अनुसन्धान अधिकृतहरु सर्लाही जिल्ला प्रहरी कार्यालयको  अबलोकन गरेका थिए ।


बेमौसमी वर्षाले बाली गुमाएका पिडित किसानलाई राहत उपलब्ध गराईदिन प्रदेश मामिला समिति सभापति अशोक यादवकाे माग





लोकतन्त्र समाचारदाता---

सर्लाही ,कात्तिक ४

    प्रदेश २ का प्रदेश मामिला समितिका सभापति एवं सांसद अशोक कुमार यादवले किसानहरुलाई राहत उपलब्ध गराईदिन माग गरेका छन् । धानवाली थन्काउने बेलामा आएको अविरल वर्षाका कारण किसानको धान लगायत बालीनालीमा ठूलो क्षति भएको भन्दै सांसद यादवले सम्बन्धित निकायले तत्काल राहतको व्यवस्था गर्नुपर्ने माग गरेका हुन् ।

    उनले लगातारको वर्षाले  काटेर खेतमै रहेका अवस्थामा धानबाली डुबानमा परेपछि किसान चिन्तित बनेको भन्दै दु:ख ब्यक्त गरेका  छन् ।  धानबालीलाई पानीले बढी असर पारेको बताउँदै यसप्रति तीनै तहको सरकार गंभिर हुनुपर्ने उनले बताए  । आकाशे पानीको भरमा धान खेती गर्दै आएको किसानलाई बेमौसमी वर्षाले बाली भित्र्याउने बेला क्षति पुर्याएको छ । समयमै  वर्षाले साथ दिँदा यसपाली धानबालीको उत्पादन राम्रो भएको थियो ।  अविरल वर्षाका कारण उत्पादनमा क्षति पुगेको छ । पाकेको धानबालीमा पानी जमेर नष्ट हुँदा किसान मर्कामा परेका छन् । ठूलो मिहिनेत र लगानी गरेर बाली भित्राउने बेलामा पानी परेर खेतमेे धान झरेर टुसा उम्रिने भएपछि किसानरु निरास भएका छन् । किसानहरु हावाहुरी र वर्षाका कारण काटेर खेतमा पाँजा लगाएर जम्मा गरेको  धानसमेत उठाउन पाएका छैनन् ।

       प्रदेश मामिला समिति सभापति एवं सांसद  यादवले बाढीपहिरोमा फसेका नागरिकको उद्धार र राहत, घाइतेको निःशुल्क स्वास्थ्योपचार, बिचल्लीमा परेका नागरिकको खानपान र बसोबासको व्यवस्था मिलाउन सरकारसँग अनुरोध गरेका छन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दिए क्षतिको विवरण संकलन गर्ने जिम्मा प्रदेश सरकारलाई

 

लोकतन्त्र समाचारदाता---

सर्लाही, कार्तिक ४

     बेमौसमी वर्षाका कारण खेतमा काटेर भित्र्याउनको लागि  राखिएका धानबालीमा ठुलो क्षति पुगेको छ ।सो क्षतिको विवरण संकलन गर्ने जिम्मेवारी  संघीय सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रदेश सरकारलाई दिएको छ । खेतमा पानीको सतह बढेर  धानबाली डुबानमा परेपछि किसानहरुलाई ठुलो क्षति व्यहोर्नु परेको छ ।

   प्रदेश सरकारले क्षतिको विवरण  संकलन गरेर बुझाए पश्चात् पिडित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन  आवश्यक पहल थाल्ने  मन्त्रालयले जनाएको छ ।

Wednesday, October 20, 2021

भित्र्याउने समयमै पानी परेपछि खेतमा काटेर राखेको धानमा क्षति

 




मनोज यादव----

सर्लाही,कार्तिक २

      तराई मधेशका किसानलाई यतिखेर धान भित्र्याउने चटारो परेको छ । तर देशभर परेको अविरल वर्षाले यहाँका किसानले काटेको धानमा क्षति पुर्याएको छ । साउन भदौमा उपयुक्त पानी पर्दा उब्जनी बढ्ने आशामा रहेका किसानलाई खेती थन्क्याउने वेला परेको वर्षाले भने निराश बनाएको छ ।

केहि दिन दसै मनाउन ब्यस्त रहेका तराइका कृषकहरु धान पाकेपछि धान काट्ने र भित्राउने काममा ब्यस्त हुन थालेका छन् । तर आजबाट परेको वर्षाले उनीहरुको काममा व्यवधान खडा गरेको छ । पहेँलै भएर पाकेको धान काट्न कृषकहरु यतिबेला खेतमा सक्रिय भएकै बेला पानी पर्दा किसान चिन्तित छन् ।

सर्लाहीको कविलासी, हरिपुर, लालबन्दी, हरिवन, बरहथवा, हरिपुर्वा, बागमती, नगरपालिका तथा ब्रह्मपुरी, पर्सा, गाउँपालिका लगायतका विभिन्न क्षेत्रमा दशै अघि नै पाकिसकेका धान काटेर घरघरमा भित्र्याउन सुरु गरिसकेका थिए भने जिल्लाको मलंगवा, गोडैता नगरपालिका तथा कौडेना, विष्णु गाउँपालिका लगायतका दक्षिणी भेगका किसान साउनमा रोपिएको धान दशैं सक्किए लगत्तै भित्र्याउन थालेका छन् । बर्षाले थप असर नगरे छठसम्म बाली भत्र्याइसक्ने उनीहरुले बताएका छन् ।

यो वर्ष बेलैमा पर्याप्त वर्षा भएकाले असार सुरु हुनासाथ किसानहरुले धान रोपेका थिए । यस वर्ष धानको उत्पादन राम्रो भएको किसान दिनेश रायले बताएका छन् । कृषि ज्ञान केन्द्र मलंगवाका प्रमुख कमलदेव प्रसाद कुशवाहाले केही ठाउँमा धानबालीमा लाग्ने गवारो र लाही किरा तथा रोगको प्रकोप देखिए पनि पछिल्लो वर्षको तुलनामा यसवर्ष धान राम्रै फलेको बताउनु भएको छ । यस वर्ष धान उत्पादन बढ्ने अनुमान गरिएको उनले बताए ।

यसवर्ष समयमा वर्षा भएकोले उत्पादन बढेको छ, तर आउँदा सिजनमा पनि यसैगरी समयमा पानी पर्ने हो भन्ने कुनै ग्यारेन्टी नरहेकोले सरकारले किसानलाई सिंचाइको सुविधाको साथै वर्षेनि रोपाइँको बेला हुँदै आएको बीउ बिजन र मलखाधको अभाव हुन नदिन सरकारले दिर्घकालिन योजनाहरु बनाएर कार्यान्वयनमा ल्याउनुपर्ने किसान रायले बताएका छन ।

सर्लाहीबासी समेत रहेका वर्तमान सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादव यसअघि सिचाइ मन्त्री रहेको बेला यहाँका किसानको खेतखेतमा सिचाइको सुविधा उपलब्ध गराउन कुलो निर्माणका लागि सर्वे समेत गराइसकेको भएपनि हालसम्म कुलो निर्माणको काम अगाडी नबढेपछि आफुहरुलाई खेतीको लागि आकाशे पानीकै भर पर्नुपरेको किसानहरुले गुनासो गरेको बताए ।

किसानलाई खेतीपातीको लागि चाहिने बिउ बिजन, मलखाधको अभाव लगायतका समस्याको बारेमा सरकार अनभिज्ञ नरहेकोले अबका दिनहरुमा यसको अभाव हुन नदिन वर्तमान सरकार योजनाबद्ध तरिकाले अगाडी बढ्ने कृषि तथा पशु पन्छी विकास मन्त्री महेन्द्र राय यादवले बताए । सर्लाहीको २० वटै स्थानीय तहका करिब ४४ हजार हेक्टर खेतीयोग्य जमिनमा धान खेती हुने गरेको कृषि ज्ञान केन्द्र मलंगवाले जनाएको छ ।

सर्लाहीमा सांगीतिक रियालिटी शो "सर्लाही आइडल नोबेल पुरस्कार २०७८" प्रतियोगिता हुने

 


मनोज यादव---

सर्लाही ,कात्तिक ३

    सर्लाही जिल्ला मै पहिलोपटक  सांगीतिक रियालिटी शो ‘ सर्लाही आइडल नोबेल पुरस्कार २०७८ ’ प्रतियोगिताको आयोजना हुने भएको छ।

    जिल्लाका २० वटै स्थानीय तहमा छरिएका स्थानीय  प्रतिभालाई चिनाउने र उनीहरूमा लुकेर रहेको गायन कलालाई उजागर  गर्ने उद्देश्यका साथ विसेस  सर्लाहीले यही कात्तिक १३ गते सनिवारदेखि बागमती नगरपालिकाबाट पहिलो अडिसन राउन्ड सुरु गरि  उक्त  प्रतियोगिताको आयोजना गर्न लागेको हो। उक्त प्रतियोगितामा जिल्ला भरिका महिला तथा पुरुषले  भाग लिन पाउने छन् ।

     उक्त प्रतियोगितामा प्रतियोगीहरुले नेपाली ,हिन्दी , मैथिली र भोजपुरी भाषाको गित छनौट गर्न पाउने छन् ।यसको अडिसन जिल्लाको २० वटै पालिकामा छुट्टाछुट्टै हुने छ र सो अडिसनबाट छनौट भएर आएका प्रतियोगिहरुको फाइनल प्रतिस्पर्धा सदरमुकाम मलंगवामा हुने आयोजकले जनाएको छ ।

    प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने प्रतियोगिहरुलाई क्रमशः नगद रु ५१ हजार ,३१ हजार र २१ हजार रुपैयाको साथै पदक तथा शिल्ड प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

    भोटिङको सम्पूर्ण अधिकार अनलाइन र निर्णायक कमिटीको हुने छ ।