Sunday, April 30, 2023

सर्लाहीको गोडैताबाट प्रशारित रेडियो धड्कन दोस्रो बर्षमा प्रवेश

 सर्लाहीको गोडैताबाट प्रशारित रेडियो धड्कन दोस्रो बर्षमा प्रवेश 


लोकतन्त्र समाचारदाता---

सर्लाही,बैशाख १७

     सर्लाहीको गोडैताबाट प्रशारण हुँदै आइरहेको रेडियो धडकन आफ्नो प्रशारणको पहिलो वर्ष पूरा गरि दोस्रो वर्षमा प्रवेश गरेको छ। बादल मिडिया प्रालिद्वारा संचालित यस रेडियोले सफलतापुर्वक एकवर्ष पूरा गरि दोस्रो वर्षमा प्रवेश गरेको उपलक्ष्यमा विभिन्न तह र तप्काबाट सहयोग गर्दै आइरहेका आफ्ना सम्पूर्ण सुबेच्छुक , बिज्ञापनदाता र श्रोताहरुलाई आगामी दिनमा पनि साथ र सहयोगको अपेक्षा गर्दै धन्यबाद दिएका छन् ।

    आवाज विहिनहरुको आवाज बन्दै यस रेडियोबाट स्थानीयको जिवन यापनमा सकारात्मक प्रभाव पार्ने खालका जनचेतनामूलक तथा सन्देशमुलक कार्यक्रमहरुको साथसाथै सही सुचना , संगीत र मनोरंजनात्मक कार्यक्रमहरु प्रशारण हुँदै आइरहेको रेडियोले जनाएको छ। रेडियो धडकनले समाचारमुलक कार्यक्रमलाई बढी  प्राथमिकता दिँदै आईरहेको रेडयो परिवारले जनाएको छ। 

  यो रेडियो फ्रिक्वेन्सी मोड्युलेसनमा ९१.८ मेगाहर्ज मार्फत सर्लाही तथा  आसपासका क्षेत्रमा सुन्न सकिन्छ  साथैअनलाइन  मार्फत हाम्रो पात्रो, नेपाली पात्रो जस्ता माद्यमबाट पनि स्वदेश तथा बिदेशमा रहेर सुन्न सकिन्छ। 

   गत वर्ष २०७८ वैशाख १७ गतेबाट  नियमितरूपमा  प्रसारण सुरु गरेको रेडियो धडकन पछिल्लो समय सर्लाहीको ग्रामीण क्षेत्रमा सबैभन्दा बढी सुनिने  रेडियोको रुपमा परिचित हुँदै आइरहेको छ।


सर्टिफिकेट लिन आउने विद्यार्थीहरु सँग नियमविपरीत शुल्क असुल्दै सर्लाहीका सामुदायिक विद्यालय

 


सर्टिफिकेट लिन आउने विद्यार्थीहरु सँग नियमविपरीत शुल्क असुल्दै सर्लाहीका सामुदायिक विद्यालय


मनोज यादव----

सर्लाही,बैशाख १७

   शिक्षकलाई भोजभतेर खुवाउने बहानामा सर्लाहीको गोडैता नगरपालिकामा रहेको एक  सामुदायिक विद्यालयले स्थानान्तरण सर्टिफिकेट(ट्रान्सफर सर्टिफिकेट)लिन आउने विद्यार्थी र तीनका अभिभावकहरु सँग नियमविपरीत  शुल्क असुल्ने गरेको पाइएको छ ।विद्यार्थीहरुलाई पढाएर सेवा प्रदान गरेको र सोही बापत पढाउने शिक्षक तथा शिक्षिकाहरुलाई भोजभतेर खुवाउने भन्दै गोडैता नगरपालिका वडा न-१,बहादुरपुरको श्री नवयुवक प्राथमिक विद्यालयले नियमविपरीत प्रति विद्यार्थी ५ सयदेखि ७ सय रुपैयाँसम्म शुल्क उठाउने  गरेको अभिभावकले गुनासो गरेका छन् ।

      नेपालको संविधानले माध्यमिक तहसम्मको शिक्षालाई निःशुल्क बनाए पनि सामुदायिक विद्यालयहरुले यसरी विभिन्न बहानामा विद्यार्थीबाट शुल्क उठाउनु संविधान र नियमविपरीत भएको वडा न-१ बहादुरपुरका वडाध्यक्ष सोजित महतोको भनाई छ।संविधानको धारा ३१ को बुँदा २ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य निःशुल्क तथा माध्यमिक तहको शिक्षा निःशुल्क पाउने भनी उल्लेख गरिएको छ ,तर पनि उक्त विद्यालयले संविधान विपरीत रकम असुलेर  गैरकानुनी काम गरेको वडाध्यक्ष महतोको भनाई छ ।

‘अभिभावक र विद्यार्थीहरु वडा कार्यालयमा आएर गुनासो गरेपछि  हामीले यी कुराहरु (शुल्कसम्बन्धी) थाहा पाएर  यसबारे विद्यालयमा गएर बुझ्न खोज्दा प्रअ लालबाबु रायले विद्यार्थीलाई ५ वर्षसम्म पढाए सेवा गरेको र सोही बापत भोजभतेर खान र शिक्षकहरुलाई बाँड्न पैसा लिएका हौं र भोज खान लिएको पैसाको रसिद हुँदैन त्यसैले विद्यार्थीहरहलाई रसिद नदिएको भिन ठाडो जवाफ फर्काएरको वडाध्यक्ष महतोले बताए  ।

   यस विषयमा सो विद्यालयका शिक्षक रामबहादुर महतो सँग सोध्दा यस विषयमा आफुलाई कुनै जानकारी न भएको बताएका छन् ।उता गोडैता नगरपालिका शिक्षा शाखाका प्रमुख प्रमोद यादवले पनि सर्टिफिकेट लिन आउने विद्यार्थीहरु सँग पैसा लिने नियम नभएको र पालिका अन्तर्गतका कुनैपनि सरकारी विद्यालायलाई पैसा असुल्न भनि यस शाखाबाट निर्देशन नगएको बताएका छन् ।

    नेपाल-भारतको सिमाना नजिकै पर्ने श्री नवयुवक प्राथमिक विद्यालयमा  ५ कक्षासम्म मात्र पढाइ हुने यस विद्यालयबाट निस्किएर अन्य विद्यालयमा भर्ना गराउनको लागि  ट्रान्सफर सर्टिफिकेट र मार्कसिटको आवश्यक्ता पर्ने भएकोले सो कागजात लिन जाँदा विद्यालयका प्राधानाध्यापक लालबाबु रायले ५ सयदेखि ७ सय रुपैयाँ मागेको र सो बापत रसिद समेत नदिएको विद्यालय परिसरमा भेटिएका अभिभावकहरुले बताएका छन् ।अभिभावकहरुका अनुसार पठनपाठनको मामिलामा एकदम कमजोर अवस्था रहेको यस विद्यालयबाट ५ कक्षा पास भएका विद्यार्थीहरुको अन्य सामुदायिक विद्यालयमा भर्ना गराउन जाँदा एकैपटक ३ कक्षा घटाएर भर्ना गर्ने गरिएका छन् ।

   विद्यालयले खुवाउने दिवा खाजासमेत अनियमित रहेको र खुवाई हालेपनि गुणस्तरहीन र अस्वस्थकर रहेको अभिभावकहरुको गुनासो छ।विद्यालयका प्रअ रायले "नपढेपनि परिक्षामा पास गरिदिन्छु", भन्ने प्रलोभन देखाएर विद्यार्थीहरु सँग आफ्नो घर तथा खेतबारीको काममा  लगाउने गरेको विद्यार्थीहरुले बताए।

       नियमावलीमा सार्वजनिक विद्यालयले माध्यमिक तहसम्मको शिक्षामा विद्यार्थी भर्ना शुल्क, मासिक पढाइ शुल्क, परीक्षा शुल्क, पाठ्यपुस्तक वापतको शुल्क तथा  विद्यार्थीको नाममा कुनै किसिमको शुल्क लिन नपाइने व्यवस्था छ।कुनै विद्यालयले ऐनविपरीत विद्यार्थीसँग कुनै शुल्क लिएमा त्यस्तो शुल्क फिर्ता गराउने प्रावधान पनि छ।ऐनविपरीत शुल्क लिने विद्यालयलाई तोकिएको अधिकारीले २५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने प्रावधान शिक्षा ऐनमा छ। तर पनि  तराई मधेसका जनताहरुको अज्ञानता र  अशिक्षाका कारण सामुदायिक विद्यालयहरुले ऐनविपरीत रकम असुली रहेका छन् ।

     
   

सडक निर्माणमा ढिलाइ हुँदा मलंगवा बजार कुरुप बन्दै ,आवागमनमा समस्या ,ब्यापार व्यवसाय चौपट

 


 सडक निर्माणमा ढिलाइ हुँदा मलंगवा बजार कुरुप बन्दै ,आवागमनमा समस्या ,ब्यापार व्यवसाय  चौपट


मनोज यादव---

सर्लाही,बैशाख १७

   सर्लाहीको सबैभन्दा पुरानो पालिका मलंगवा नगरपालिकाको मुख्य सडक क्षेत्रमा भइरहेको नालासहितको सडकको निर्माणकार्यमा ढिलाइ भएको छ ।जसले गर्दा पैदल यात्रु र सवारीसाधनहरुको आवागमनमा समस्या भएको छ।

     वडा न-९ स्थित श्रीमती कृष्णादेवी जनता माद्यामिक विद्यालय देखि वडा न-८ स्थित नेपाल बैंक सम्मको मुख्य सडक क्षेत्रमा नाला सहित सडक स्तर उन्नति गर्न ढिलाइ हुँदा वर्षाको समयमा खनिएका नाला र सडकको खाल्डाखुल्डीमा पानी भरिने,हिड्नै नसक्ने गरि सडक हिलाम्मे हुने जस्ता समस्या हुने गरेको छ। खपरेको समयमा पैदल यात्रुलाई समेत समस्या भएको छ ।

   निर्माणको जिम्मा पाएको  ठेकेदार कम्पनीले नाला निर्माणका लागी  बाल मन्दिर चौक,नगरपालिका चौक र भगवती मन्दिर अगाडी सडकको  विभिन्न ठाउँमा भत्काएर अलपत्र पारेका छ । सडक निर्माण अलपत्र पर्दा मुख्य बजार क्षेत्रको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ भने आवतजावतमा समस्या देखा परेको छ। यति मात्रै नभइ स्तरोन्नतिको लागि पुरानो नाला भत्काएर अलपत्र छाडिएका नाला बाट निस्कने  दुर्गन्ध र धुलोले  विभिन्न सरुवा रोगको जोखिमसमेत बढेको सो क्षेत्रका पसले तथा नागरिकले गुनासो गरेका छन्। सडक निर्माणको जिम्मा पाएको निर्माण कम्पनीको लापारवाही र ढिलासुस्तीका कारण आफुहरुको व्यापार चौपट भएको पसलेहरुले बताएका छन्  । मुख्य सडक अस्तब्यस्त हुँदा वैकल्पिक मार्गमा यात्रु तथा सवारीसाधनको चाप बढेको छ।नगरको सबै वैकल्पिक मार्गहरु मुस्किलले एउटा गाडी मात्र गुड्न सक्ने  साघुँरो भएकाले दुर्घटनाको जोखिम समेत बढेको छ।सो मार्गमा प्रत्येक दिन दुर्घटना हुँने गरेको स्थानीयहरुले बताए। 

    गत बैशाख १२ गते मलंगवा स्थित जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षता तथा जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल किशोर सिंहको प्रमुख आतिथ्यतामा बसेको हुलाकी राजमार्ग समन्वय बैठकमा निर्माण कम्पनी सँग नालासहितको सडकको सम्पूर्ण निर्माणकार्य  तोकिएको समयावधि भित्र सम्पन्न गरिसक्नु पर्ने सहमति र निर्णय भइसके पनि निर्माण कम्पनीले काममा ढिलासुस्ती गरिरहेका छन् ।ठेकेदारले सम्बन्धित वडाका वडाअध्यक्ष र नगरपालिकालाई समेत टेरेको देखिंदैन। 

   

विश्व भेटनरी दिवस २०८० को अवसरमा मलंगवामा एलइडी सहितको प्रतिक्षालय उद्घाटन

 


विश्व भेटनरी दिवस २०८० को अवसरमा मलंगवामा एलइडी सहितको प्रतिक्षालय उद्घाटन



लोकतन्त्र समाचारदाता---

सर्लाही,बैशाख १७

 विश्व भेटनरी दिवस २०८० को  अवसरमा सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न-१० स्थित रहेको भेटनरी अस्पताल पशु सेवा विज्ञ केन्द्रको कार्यालय परिसर एलइडी सहित निर्माण भएको प्रतिक्षालयको उद्घाटन गरिएको छ।विभिन्न काम विशेषले यस कार्यालयमा आउने सेवाग्राहीहरुलाई सबैखाले मौसममा  सहज रुपमा बस्न साथै कार्यालयबाट प्रदान गरिने सेवा सुविधा लगायत अन्य विभिन्न जानकारीहरु दिने उदेश्यले निर्माण भएको उक्त प्रतिक्षालयको सनिवार विश्व भेटनरी दिवसको अवसर पारेर मलंगवा न.पा का नगर प्रमुख नागेन्द्र प्रसाद यादवले उद्घाटन गरेको केन्द्रले जनाएको छ।

   उद्घाटन पछि सोही प्रतिक्षालयमा अन्तरक्रिया कार्यक्रम गरिएको थियो ।भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मलंगवाका कार्यालय प्रमुख शंकर साहको अध्यक्षता तथा नगर प्रमुख यादवको प्रमुख आतिथ्यतामा केन्द्र  आयोजित अन्तरक्रिया कार्यक्रममा उपस्थित भएका विशिष्ठ अतिथि सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद अधिकारी,डा.पिताम्बर सिंह कुशवाहा तथा  भूमि व्यवस्था तथा कृषि मन्त्रालयका पशु विकास अधिकृत उपेन्द्र सिंह, UNFPA का सर्लाही जिल्ला कार्यक्रम अधिकृत बच्चालाल महतो लगायतका अतिथिहरुले शुभकामना मन्तव्यको साथसाथै पशु सेवाको विषयमा आआफ्नो धारणा र विचार राखेका थिए।

   कार्यक्रममा विभिन्न स्थानीय तहका भेटनरियन,प्रविधिक ,पशु सेवा तथा कृषि क्षेत्रमा कार्यरत विज्ञ तथा  पत्रकारहरुको उपस्थित रहेको थियो।




Saturday, April 29, 2023

धनकौलमा संचालित ७ दिने आधारभूत आधुनिक पत्रकारिता तालिममा महिलाहरुको पनि रुचि

 

धनकौलमा संचालित ७ दिने आधारभूत आधुनिक पत्रकारिता तालिममा महिलाहरुको पनि रुचि

मनोज यादव---

सर्लाही,बैशाख १६

   सर्लाहीको  धनकौल गाउँ कार्यपालिकाको सहयोग तथा  विज्ञापन सेवा समिति सर्लाहीको आयोजनामा संचालन भएको सात दिने आधारभूत आधुनिक पत्रकारिता तालिम शनिवार सम्पन्न भएको छ।पछिल्लो समय ग्रामीण भेगका युवा युवतीहरुमा अन्य क्षेत्रको जस्तै पत्रकारिता तर्फ पनि बढ्दो रुचिलाई मध्येनजर गर्दै साथै स्थानीय स्तरमा दक्षजनशक्ति उत्पादनका लागि तालिमको आयोजना गरिएको धनकौल गाउँपालिकाले जनाएको छ।

     गत बैशाख १० गतेबाट सुरु भएको तालिममा स्थानीय २ दर्जन भन्दाबढी पुरुष,महिला तथा किशोरीहरुको सहभागिता रहेको थियो । नेपाल पत्रकार महासंघका पूर्व–अध्यक्ष एवं राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा ले प्रशिक्षण दिएका थिए भने तालिम  व्यवस्थापनको सम्पूर्ण काम आयोजक संस्थाका अध्यक्ष बख्तियार अलीले गरेका थिए।सहभागी प्रशिक्षार्थी तथा सह-प्रशिक्षकहरुलाई आयोजकले प्रमाणपत्र वितरण गरि तालिमको समापन गरेका थिए ।

   रासस का कार्यकारी अध्यक्ष एवं प्रमुख प्रशिक्षक झा को प्रमुख आतिथ्यता तथा निमित्त प्रमुख प्रशासकीय अधिकृत कृष्णमोहन प्रसाद साहको अध्यक्षतामा सम्पन्न भएको तालिमको उद्घाटन गापा अध्यक्ष राम आश्रय साहले गरेका थिए।

 

यस किसिमका तालिममा पुरुषहरुले मात्र सहभागी जनाउँदै आएपनि घनकौलमा संचालित सात दिने आधारभुत आधुनिक पत्रकारिता तालिममा स्थानीय महिला तथा किशोरीहरुले पनि रुचि देखाउँदै उल्लेखनीय रुपमा सहभागीता जनाएका थिए।

   तालिम धनकौल गापाको सभाहलमा संचालन भएको थियो।

Friday, April 28, 2023

चक्रघट्टामा प्रथम अध्यक्ष कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा कर्मचारी टिमको विजयी सुरुवात

 चक्रघट्टामा प्रथम अध्यक्ष कप क्रिकेट प्रतियोगिताको

पहिलो खेलमा कर्मचारी टिमको विजयी सुरुवात 



लोकतन्त्र समाचारदाता---

सर्लाही ,बैशाख १५।

    सर्लाहीको चक्रघट्टा गाउँपालिकामा बिहीवारदेखि प्रथम अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु भएको छ ।

प्रतियोगिताको पहिलो खेलमा पालिकाको कर्मचारी टिमले वडा नं. ३ सुन्दरपुरलाई पराजित गर्दै विजयी सुरुवात गरेको छ । 

   निर्धारित १६ ओभरको खेलमा पालिकाको कर्मचारी टिमले वडा नंं ३ लाई २९ रन पराजित गरेको हो। टस जितेर पहिले ब्याटिङ्ग गरेका कर्मचारी टिमले १५.३ ओभरमा अल आउट हुदैं ७८ रन बनाएका थिए । कर्मचारी टिमका लागि लखिन्द्र यादवले सर्वाधिक १८ र सुनिल ठाकुरले १२ रन बनाएका थिए । वडा नं. ३  का लागि रमेश कुमारले ४ र लभ कुमार दासले २ विकेट लिएका थिए ।

७९ रनको लक्ष्य पछ्याउन आएका वडा नं. ३ ले १० ओभरमा अलआउट हुदैं ४९ रन मात्र बनाएका थिए । वडा नं. ३ का लागि मोहम्मद नियाजले सर्वाधिक १६ रन बनाएका थिए । कर्मचारी टिमका लागि राम विकास मण्डलले सर्वाधिक ४ विकेट लिएका थिए ।

प्रतियोगिताको एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष कृष्ण कुमार यादवले उद्घाटन गरेका छन् ।

प्रतियोगितामा ९ वटा वडा र एक कर्मचारीको टिम गरि १० टिमको सहभागिता रहेको छ ।

Thursday, April 27, 2023

अन्तर विद्यालय कप २०८० क्रिकेट प्रतियोगिता मलंगवा जारी


 अन्तर विद्यालय कप २०८० क्रिकेट प्रतियोगिता मलंगवा जारी 



लोकतन्त्र समाचारदाता---

सर्लाही,बैशाख १४

     सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिकामा अन्तर विद्यालय कप २०८० क्रिकेट प्रतियोगिता सुरु भएको छ।मलंगवा न.पा वडा न-८ प्रायोजन तथा सर्लाही क्रिकेट संघको आयोजनामा बुधबारदेखि संचालन भएको उक्त प्रतियोगिताको  एक समारोहका बिच प्रमुख अतिथि मलंगवा न.पा वडा न-८ का वडाध्यक्ष मुकेश जयसवाल द्वारा उद्घाटन गरिएको छ।

   मलंगवाको वडा न-२ स्थित जिल्ला खेलकुद विकास कार्यालयको खेल मैदानमा संचालन भइरहेको क्रिकेट प्रतियोगितामा नगरभित्रका निजी तथा सामुदायिक विद्यालयहरुले सहभागीता जनाएका छन् ।

   नयाँ-नयाँ खेलाडीहरुको उत्पादन गर्न विद्यालय स्तरबाटै हुने खेलले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै वडाअध्यक्ष जयसवालले समयसमयमा यस्ता खेलहरुको आयोजना गर्नुपर्ने बताए ।साथै उनले अन्य क्षेत्रको विकास सँगै  खेलकुद क्षेत्रको विकास  पनि आफ्नो प्राथमिकतामा रहेको बताए ।

    सर्लाही क्रिकेट संघका कोषाध्यक्ष तुलसी यादवको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा विशिष्ट अतिथि वडा न-१ का वडाध्यक्ष नवल किशोर राय,वडा न-३ का वडाध्यक्ष प्रमोद यादव,वडा न-९ का वडाध्यक्ष चन्देश्वर राय तथा मलंगवा जेसीज २०२३ का अध्यक्ष जेसी राम लखन महतो लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो।


श्री राधाकृष्ण दिव्य धाम निर्माणका लागि कबिलासी नगरपालिकामा धार्मिक महोत्सवको तयारी सुरु

 


श्री राधाकृष्ण दिव्य धाम निर्माणका लागि कबिलासी नगरपालिकामा धार्मिक महोत्सवको तयारी सुरु

लोकतन्त्र समाचारदाता---

सर्लाही,बैशाख १४

    सर्लाहीको कबिलासी नगरपालिका वडा न-१० सलेमपुर स्थित पिडार चौकमा भक्ति सागर फाउण्डेसन ,अष्टोत्तर महायज्ञ मूल समारोह समितिको आयोजनामा आगामी जेष्ठ १३ देखि २१ गतेसम्म सर्लाही धार्मिक महोत्सवको आयोजना हुने भएको छ । महायज्ञ मूल समारोह समितिले महोत्सवलाई सफल पार्न प्रचार प्रसारलाई तीब्र पारेको छ ।

     सर्लाही जिल्लामा एक ऐतिहासिक धरोहरको रुपमा श्रीधाम वृन्दावनको सानो परिकल्पना सहित श्री राधाकृष्ण दिव्य धाम निर्माण गर्ने पवित्र उदेश्यका साथ महोत्सवको आयोजना गर्न लागिएको महायज्ञ मूल समारोह समितिका संयोजक पुरुषोत्तम झा ले पत्रकार सम्मेलन मार्फत  सो कुराको जानकारी गराएका छन् ।

     नौ दिवसीय धार्मिक महोत्सवमा श्रीधाम वृन्दावनबाट आउने १०८ जना विद्वान ब्राह्मण गुरुहरुले श्रीमद्भागवत ग्रन्थको वाचन गर्ने  छन्।महोत्सवमा  अन्य ब्राह्मण पण्डितहरु र अन्तराष्ट्रिय स्तरका कलाकारहरुको भजन,संगितमय झाँकि,देवलिला,रासलिला आदी आकर्षणका केन्द्र बिन्दु रहने प्रमुख कथा वाचक आचार्य श्री सागर जी महाराजले पत्रकारहरुलाई जानकारी गराएका छन् । महोत्सवमा सहभागी हुन आउने श्रद्धालुहरुको लागि  विश्वको एकमात्र देश नेपालमा पाईने सालिग्राम भगवानको शिला १००८ समेत दर्शनको लागि राखिने उनले बताए ।

   आफुहरुको उदेश्य महोत्सवबाट उठेको रकमबाट दिव्य धाम निर्माण गर्ने मात्र नभएर उक्त महायज्ञले आउने भावी पुस्तालाई विशेषगरी वर्तमान समाजको बिग्रदै गएको संस्कार र संस्कृतिलाई जगेर्ना गर्दै नयाँ धार्मिक युगको आरम्भ हुने विश्वास लिएको संयोजक झा ले बताए ।



माइती नेपाल सर्लाहीले गरे भारतबाट ६ बालकहरुको उद्धार


माइती नेपाल सर्लाहीले गरे भारतबाट ६ बालकहरुको उद्धार

लोकतन्त्र समाचारदाता----

सर्लाही,बैशाख १४

    ६ जना बालकहरुलाई भारतको मुम्बईबाट उद्दार गरी नेपाल ल्याइएको छ । सर्लाहीको माइती नेपाल शाखाको पहलमा मुम्बई स्थित बाल कल्याण समिति(CWC) नामको संस्थाको सहयोगमा उद्दार गरि ल्याइएको हो ।

    उद्दार गरिएका बालकहरु सर्लाही ,रौतहट र बारा जिल्लाका रहेका छन् । उनीलाई CWC संस्था सँग समन्वय गरि सुरक्षित रुपमा सर्लाहीको सदरमुकाम मलंगवा ल्याएर माइती नेपाल सर्लाही शाखा संयोजक अमीत कुमार यादवको नेतृत्वमा  बिहिवार सकुशल परिवारको जिम्म्मा  लगिएको माइती नेपाल सर्लाही  शाखाले जनाएको छ।

   विगत ३० वर्ष लामो समयदेखि  महिला तथा बालबालिकाहरुको हक र अधिकार स्थापनाको लागि क्रियाशील रहदै आएको यस संस्थाले यसअघि पनि यस्ता कयौं बालबालिका र महिलाहरुलाई भारतको विभिन्न स्थान बाट उद्धार गरि सकुशल रुपमा परिवार सँग पुनर्मिलन गराइसकेको संयोजक यादवले जनाएको छ।


Tuesday, April 25, 2023

कालोपत्रेसहितको सम्पूर्ण काम असार १५ गतेसम्ममा गरिसक्नु पर्ने हुलाकी राजमार्ग समन्वय बैठकको निर्णय

 

 कालोपत्रेसहितको सम्पूर्ण काम असार १५ गतेसम्ममा गरिसक्नु पर्ने हुलाकी राजमार्ग समन्वय बैठकको  निर्णय 



मनोज यादव----

सर्लाही,बैशाख १२

      हुलाकी राजमार्ग समन्वय बैठले सर्लाही जिल्ला अन्तर्गत पर्ने  पूर्व–पश्चिम हुलाकी राजमार्गमा यही वैशाखभित्र प्राइमको काम सकेर असार १५ गतेभित्र कालोपत्रेसहितको सम्पूर्ण काम सम्पन्न गर्ने निर्णय गरेको छ । मंगलबार सदरमुकाम मलंगवा स्थित जिल्ला प्रशासन कार्यालयमा जिल्ला समन्वय समिति प्रमुख कौशल किशोर सिंहको प्रमुख आतिथ्यता तथा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा बसेको उक्त  बैठकले सो निर्णय गरेको हो।

   बैठकले हुलाकी राजमार्ग निर्माणको क्रममा विवादित रहेका स्थानहरुको समस्या समाधान गर्न जिसस प्रमुख ,प्रजिअ,सुरक्षा निकाय प्रमुख,आयोजना प्रमुख,सम्बन्धित स्थानीय तहका प्रमुख तथा अध्यक्ष,नागरिक समाज र पत्रकारसहितको उपस्थितिमा साइट क्लियर गरि समस्या समाधान गर्ने, सडक र नाला निर्माण नहुञ्जेल हुलाकी राजमार्गमा पर्ने बस्ती र बजार क्षेत्रमा निर्माण व्यवसायीले नियमितरुपमा पानी पटाउने र बिधुत प्राधिकरण कार्यालयको समन्वयमा हुलाकी राजमार्गमा पर्ने बिजुलीका पोलहरु नेपाल बिधुत प्राधिकरणको मलंगवा वितरण केन्द्रले हटाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जानकारी दिएको छ ।

    जिसस प्रमुख ,प्रजिअ ,हुलाकी राजमार्गमा पर्ने स्थानीय तहका प्रमुख,आयोजना प्रमुख ,विभिन्न राजनीतिक दलका प्रतिनिधि,निर्माण व्यवसायी,नागरिक समाज लगायतले संयुक्तरूपमा सो निर्णय गरेको जिप्रकाले जनाएको छ।

   महोत्तरी जिल्लाको सिमानामा पर्ने सर्लाहीको सितलपुरदेखी रौतहटको सिमाना बागमती नदीसम्म ४० किलोमिटरको हुलाकी सडक निर्माणको सम्बन्धमा पटकपटक बैठक बसेर सहमती र निर्णय भइसकेको भएपनि हालसम्म निर्माणकार्य सम्पन्न भएको छैन । समयमा काम सम्पन्न गर्ने सहमति हुँदा पनि निर्माण कम्पनीको गैरजिम्मेवारपन रवैया र ढिलासुस्तीका कारण यस क्षेत्रका बासिन्दाहरु वर्षौंदेखि हिलो र धुलोबाट पिडित हुँदै आएका छन् ।




 


म जनहितको काम र नगरको विकासमा अवरोध खडा गर्ने विरोधी तत्वहरु सँग रत्तिभर डगमगाउने वाला छैन :नागेन्द्र प्रसाद यादव,मेयर मलंगवा नगरपालिका

 


 "म जनहितको काम र नगरको विकासमा अवरोध खडा गर्ने विरोधी तत्वहरु सँग रत्तिभर डगमगाउने वाला छैन" :नागेन्द्र प्रसाद यादव,मेयर मलंगवा नगरपालिका 


मनोज यादव----

सर्लाही,बैशाख १२

     सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिकाले वडा न-३ स्थित मेन चौक(नगरपालिका)देखि वडा न-९ कामिल मिकरानीको घरसम्मको मूल सडकमा कालोपत्रे तथा नाला निर्माणकार्य गर्न लागेको विषयमा स्थानीयबासी तथा सरोकारवालाहरु सँग राय विचार लिन छलफलको आयोजना गरेको छ।

    नगरकार्यपालिकाको गत २०७९ साल फाल्गुन ११ गतेको निर्णयअनुसार सो वडाको सिमाना सडक नगरपालिका चौकदेखि कामिल मिकरानीको घरसम्मको मूल सडकको मापदण्ड ११ मिटर कायम रहेको र सोही अनुसार रेखांकन समेत भएकोले सो मापदण्ड भित्र रहेका स्थायी तथा अस्थायी भौतिक संरचनाहरु सूचना प्रकाशित भएको मितिदेखि १५ दिनभित्र खाली गर्न आवह्वान गरि पुनः दोस्रो पटक पनि ७ दिनको म्याद थप गरेर सूचना प्रकाशित गरेको समयावधि समाप्त भएको एक महिना भन्दा बढी भइसक्दा पनि  उक्त  सूचना प्रती स्थानीयबासीहरुले बेवास्ता गरेपछि बाध्य भएर शुक्रवार नगर प्रमुख नागेन्द्र प्रसाद यादवको अध्यक्षतामा एक कार्यक्रमको आयोजना गरि नियमन निकायलाई समेत सहभागी गराएर स्थानीयबासी तथा सरोकारवालाहरु सँग छलफल गरिएको मलंगवा नगरपालिकाका सूचना अधिकृत राज कुमार अधिकारीले जनाएको छ।

     छलफलमा उपस्थित वडा न-३ र ९ का स्थानीयबासीहरुले मूल सडकको मापदण्ड  ११ मिटर  कायम गर्दा मेन चौकदेखि कामिल मिकरानीको घरसम्मको बिचमा पर्ने सडक छेउका दर्जनौं घर क्षति हुने र सम्पत्तिको नाउँमा एउटा घरमात्र भएको परिवार विस्थापित हुने अवस्था आएकोले सो मापदण्डलाई घटाउनु माग राखेका थिए।यसअघि पनि सोही मागको विषयमा नगरपालिकालाई पटकपटक जानकारी गराइसकेको तर आफुहरुको माग प्रति नगरपालिकाले कुनै चासो नदेखाएको उनीहरूले बताए।

   उक्त  वडाका केही व्यक्तिहरु बाहेक लगभग सबैजना नगरपालिकाले मापदण्डअनुसार रेखांकन गरेको सिमानालाई नै मानेकोले सोही अनुसार काम हुने नगर प्रमुख यादवले बताए ।सर्लाही जिल्लाको सदरमुकाम भएपनि  दशकौंदेखि मलंगवाका जनताहरुले विकासको अनुभुति गर्न पाएका थिएनन्।उनले आफू नगर प्रमुख भएर आएपछि नगरको विकासको लागि गर्न लागेको काममा केही विरोधी तत्वहरुले बाधा अवरोध पुर्याउने कोसिस गरेकोले आफु त्यस्ता विरोधी तत्वहरुबाट रत्तिभर नडगमगाउने बताए ।आफ्नो निहित स्वार्थपुर्ती गर्नको लागि यहाँका केही ठूला भनाउँदा ब्यक्तिहरुले सोझासाझा जनताहरुलाई उक्साएर   विभिन्न बहानामा अराजकता फैलाउने काम मात्र  गरेको  उनले आरोप लगाए।

   कार्यक्रममा उपस्थित प्रमुख अतिथि प्रदेश सांसद जंगीलाल राय,कौशल किशोर राय,पुर्व संघीय सांसद प्रमोद साह,पुर्व सांसद लक्ष्मण राय,प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव,सर्लाही प्रहरी प्रमुख एसपी नरेशराज सुवेदी,व्यवसायी संजय गुप्ता,नेपाली काँग्रेस मलंगवा नगर समिति अध्यक्ष चन्द्र किशोर साह,नागरिक समाजका महासचिव शिवचन्द्र चौधरी लगायतका अतिथिहरुले नगर प्रमुख यादवले गर्दै आएको कामको प्रशंसा गरेका थिए।साथै उनको विकासमुखी सोंच र विकासको काममा सक्रिय रुपमा साथ र सहयोग प्रदान गर्ने प्रतिबद्धता समेत गरेका थिए।

   नगरपालिकाको सभाहलमा सम्पन्न भएको छलफल कार्यक्रममा नयाँ बसपार्क पुर्णरुपमा संचालनमा ल्याउने ,नगर क्षेत्रमा निर्माणाधीन अवस्थामा रहेको पक्की सडक, नाला तथा हुलाकी सडकको सम्पूर्ण निर्माणकार्य जतिसक्दो चाँडो सम्पन्न गराउने विषयमा समेत छलफल गरिएको कार्यक्रमका संचालक एवं प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतमले जानकारी दिए।

Sunday, April 23, 2023

धनकौलमा ७ दिने आधारभूत आधुनिक पत्रकारिता तालिम सुरु


धनकौलमा ७ दिने आधारभूत आधुनिक पत्रकारिता तालिम सुरु

लोकतन्त्र समाचारदाता---

सर्लाही,बैशाख १०

   सर्लाहीको धनकौल गाउँपालिकामा सात दिने आधारभूत आधुनिक पत्रकारिता तालिम सुरु भएको छ। धनकौल गाउँ कार्यपालिकाको सहयोग तथा  विज्ञापन सेवा समिति सर्लाहीको आयोजनामा संचालन भएको उक्त तालिममाको आइतवार एक कार्यक्रमका बिच प्रमुख अतिथि गा.पा अध्यक्ष राम आश्रय साहले उद्घाटन गरेका हुन। पछिल्लो समय ग्रामीण भेगका युवाहरुमा अन्य क्षेत्रको जस्तै पत्रकारिता तर्फ पनि झुकाव बढेको देखेर स्थानीय स्तरमा यस किसिमको तालिमको आयोजना गरेको साहले बताए । साथै उनले तालिम पश्चात् सिकेका कुराहरूलाई प्रयोगमा ल्याएर  स्थानीय स्तरमा लुकेका र दबेर रहेका घटनाहरुलाई कलमको माध्यमबाट बाहिर ल्याएर समाजमा सुशासन कायम गर्न  सहभागी प्रशिक्षार्थीहरुलाई सुझाव दिए।

 

   गाउँपालिका कार्यालयको सभाहलमा संचालन भइरहेको उक्त सातदिने तालिममा सहभागी भएका प्रशिक्षार्थीहरुलाई प्रमुख प्रशिक्षक रामबाबु खडकासहित विभिन्न संचार माध्यममा कार्यरत सर्लाहीका क्रियाशील पत्रकारहरुले प्रशिक्षण दिइरहेका छन् ।

 
   

Saturday, April 22, 2023

आगलागी पिडितलाई मलंगवा जेसिज परिवार द्वारा राहत

 आगलागी पिडितलाई मलंगवा जेसिज परिवार द्वारा राहत 

 

लोकतन्त्र समाचारदाता---

सर्लाही,बैशाख ९

   मलंगवा जेसिज परिवारले मलंगवा नगरपालिका वडा न-४ ,शिवसागर चौकका एक  आगलागीबाट पिडित परिवारलाई राहत वितरण गरेको छ ।

   गत बैशाख ३ गते आइतबार राती स्थानीय सुरेश रामको घरमा अचानक आगलागी भई पुरै घर जलेर नष्ट भएका  पिडित परिवारलाई मलंगवा जेसिज परिवारले सहयोग स्वरुप  खाना पकाउने भाँडा बर्तनसहित खाद्यान्न सामाग्रीहरु उपलब्ध गराएको मलंगवा जेसिज २०२३ का अध्यक्ष राम लखन महतोले जानकारी दिएको छ।

   "मानवताको सेवा नै जिवनको सर्वोत्तम कार्य हो"भन्ने भनाइलाई आत्मसात् गर्दै पिडित परिवारलाई केही थोरै भएपनि राहत होस् भनेर राहत सामाग्री वितरण गरेको मलंगवा जेसिजका पुर्व अध्यक्ष सुवोधहरि राजोपाध्यायले जनाएको छ।


Friday, April 21, 2023

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री महेन्द्र राय यादव गृह जिल्ला सर्लाही आउदै

 महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री महेन्द्र राय यादव गृह जिल्ला सर्लाही आउदै



लोकतन्त्र समाचारदाता---

सर्लाही, बैशाख ८

    संघीय सरकारका नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री महिन्द्र राय यादव शुक्रवार गृह जिल्ला सर्लाही आउँदै हुनुहुन्छ ।

    चैत १७ गते शुक्रबार भएको मन्त्री परिषद् बिस्तारमा सर्लाही निर्वाचन क्षेत्र नं. २ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सदस्य एवं नेपाल समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष महिन्द्र राय यादव महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा नियुक्त भएका थिए ।

 मन्त्रीमा नियुक्त भएपछि उहाँ पहिलो पटक  गृह जिल्ला सर्लाही आउन लाग्नु भएको मन्त्री यादवका स्वकीय अधिकृत सत्य प्रकाश यादवले जानकारी गराएका छन् ।

    सर्लाही बसाइको क्रममा मन्त्री यादव मुस्लिम धर्मावलम्बीहरुको ईद उल फित्र पर्वको अवसरमा शुभकामना आदानप्रदान, जिल्ला तहका पार्टीका नेता तथा कार्यकर्ता एवं क्षेत्रका जनताहरु संग प्रत्यक्ष भेटघाट गर्ने लगायतका कार्यक्रमहरुमा सरिक हुने  सर्लाही आउन लागेको मन्त्री यादवका स्वकीय अधिकृत यादवले जानकारी  गराएका छन् ।

ईद (ईद उल फित्र) पर्व, २०८० को हार्दिक मंगलमय शुभकामना!!!

 ईद (ईद उल फित्र) पर्व, २०८० को हार्दिक मंगलमय शुभकामना!!!

ईद (ईद उल फित्र) पर्व, २०८० को हार्दिक मंगलमय शुभकामना!!!

 ईद (ईद उल फित्र) पर्व, २०८० को हार्दिक मंगलमय शुभकामना!!!


    मुस्लिम धर्मावलम्बीहरुको ईद उल फित्र पर्वको यस पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु हुने सम्पुर्ण मुस्लिम दाजुभाइ तथा दिदिबहिनीहरुमा सुख, शान्ति, सु-स्वास्थ्य तथा समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं




मा. महिन्द्र राय यादव
     राष्ट्रिय अध्यक्ष
नेपाल समाजवादी पार्टी 
              मन्त्री
महिला,बालबालिका तथा ज्येष्ठ नागरिक 

Thursday, April 20, 2023

मलंगवामा ईद पर्वको अवसरमा धर्म गुरुहरु सँग छलफल तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न


मलंगवामा ईद पर्वको अवसरमा धर्म गुरुहरु सँग छलफल तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

लोकतन्त्र समाचारदाता---

सर्लाही,बैशाख ७

   ईद पर्वको अवसरमा राष्ट्रिय अन्तर धार्मिक संजाल नेपालले सर्लाहीको सदरमुकाम मलंगवामा धर्म गुरुहरु सँग छलफल तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ।वर्ड भिजन नेपालको सहयोगमा आयोजना भएको कार्यक्रममा अन्तर धार्मिक द्वन्द्व समाप्त गर्ने क्रममा धार्मिक अगुवा तथा गुरुहरुले खेल्नुपर्ने भुमिकाको विषयमा हिन्दु ,इस्लाम र ख्रिष्टियन धर्मावलम्बीहरु बिच छलफल गरिएको छ।

   बिहीबार मलंगवा नगरपालिका वडा न-३ स्थित महेन्द्र होटलको सभा हलमा

आयोजित कार्यक्रममा उपस्थित अन्तर धार्मिक संजालका अगुवाहरूले देशमा भइरहेको परम्परागत हानिकारक अभ्यासहरु बालविवाह ,यौनहिंसा,लैंगिक असमानता ,जातीय विभेद ,छुवाछूत ,महिलाहरुमा हुने महिनावारी,प्रसुति,बोक्सीको आरोप तथा घरेलु हिंसा लगायतका सामाजिक कुसंस्कृति तथा कुरुतिहरुको न्युनिकरणको लागि धार्मिक अगुवा तथा गुरुहरु आआफ्नो स्तरबाट लाग्नुपर्नेमा जोड दिएका थिए।

   ईदको अवसरमा आयोजना गरिएको उक्त कार्यक्रममा संजालका जिल्ला उपाध्यक्ष पंडित अच्युतानन्द झा,पुर्व सांसद सलमा खातुन,हरिपुर शाखा अध्यक्ष पास्टर अजय चौधरी ,चन्द्रनगर शाखा अध्यक्ष राम स्वार्थ  राय,लालकृष्ण झा,गोविन्द पासवान ,मौलाना रहमत अली मिसवाही,मौलाना अली हसन अन्सारी ,अब्दुल मुबिन लगायतका अतिथिहरुले आआफ्नो मन्तव्य राख्दै ईदको शुभकामना दिएका थिए।

   संजालका सर्लाही जिल्ला अध्यक्ष डा.अब्दुर रहिम मिकरानीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन जिल्ला समिति सचिव तिलक कुमार क्षेत्रीले गरेका थिए।

     कार्यक्रमको सुभारम्भ हिन्दु ,इस्लाम र ख्रिष्टियन घर्मको प्रार्थनाबाट गरिएको थियो जसमा तीनवटै धर्मावलम्वीहरुले उत्साहका साथ श्रद्धापुर्वक भाग लिएका थिए।


हरिवन नजिकैको साझेदारी बन क्षेत्रमा देखिन थाले चितुवा र पाटे बाघ,सजग रहन आग्रह


हरिवन नजिकैको साझेदारी बन क्षेत्रमा देखिन थाले चितुवा र पाटे बाघ,सजग रहन आग्रह 



लोकतन्त्र समाचारदाता---

सर्लाही,बैशाख ७

    सर्लाहीको हरिवन नगरपालिका वडा न-६ सँगै रहेको जानकीनगर साझेदारी बन क्षेत्र भित्र चितुवा र पाटे बाघ देखिन थालेपछि वडा न-६ को वडा कार्यालयले सूचना जारी गर्दै सावधानी अपनाउन आग्रह गरेको छ ।

    जानकीनगर बन क्षेत्र भित्र विगत केहिदिन यता एक-एक वटा चितुवा र पाटे बाघ देखिने गरेकोले सो बन क्षेत्र र आसपासका बासिन्दाहरुलाई सजग रहन आग्रह गरेको वडाध्यक्ष सन्तलाल घसिङ्गले जानकारी दिए। 

  ती दुई जंगली जनावरहरु बाट कुनै किसिमको  अप्रिय दुर्घटना भएको खवर हालसम्म नआएको वडाध्यक्ष घिसिङ्गले जनाएको छ।


Wednesday, April 19, 2023

सुरक्षाकर्मी नै चढ्छन चोरीको मोटरसाइकल,चोरीको मोटरसाइकल चढ्ने सशस्त्र प्रहरी इन्सपेक्टर मलंगवाबाट पक्राउ

 

सुरक्षाकर्मी नै चढ्छन चोरीको मोटरसाइकल,चोरीको मोटरसाइकल चढ्ने सशस्त्र प्रहरी इन्सपेक्टर मलंगवाबाट पक्राउ

लोकतन्त्र समाचारदाता---

सर्लाही,बैशाख ६

     सर्लाहीको सदरमुकाम मलंगवाबाट चोरीको मोटरसाइकल चढ्ने गरेको सशस्त्र प्रहरी निरिक्षक(इन्सपेक्टर)सहित दुईजना शुरक्षाकर्मीलाई स्थानीयहरुले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका   छन् ।

मोटरसाइकल धनी 


     मलंगवा नगरपालिका वडा न-६ खुटौना बेस क्याम्पमा कार्यरत सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्सपेक्टर) अंगद खड्कालाई मंगलबार मलंगवा -४ स्थित शिवसागर चौकमा रहेको नुतन श्रुति आयल स्टोरबाट चोरीको मोटरसाइकलमा पेट्रोल हाल्न आएको समयमा स्थानीयहरुले नियन्त्रणमा लिई आवश्यक कार्यवाहीको लागि  प्रहरीलाई बुझाएका हुन।जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक नरेश सुवेदीका अनुसार उक्त मोटरसाइकल मलंगवा न.पा वडा न-९ निवास राकेश राउत पटेलको रहेको र प्रदेश–२–०२–००३ प ७७२९ नम्बरको उक्त मोटरसाइकल गत फागुन १२ गते चोरी भएको थियो । चारी भएको भोलिपल्टै फाल्गुन १३ गते पटेलले जिल्ला प्रहरी कार्यालय मलंगवामा सवारी खोजतलासको लागि लिखित निवेदन समेत दिएका थिए ।

     इन्सपेक्टर खड्कासहित अर्का एक जना सशस्त्र प्रहरी जवान चोरी भएको सोही नम्बरको टिभिएस अपाचे मोटरसाइकल लिएर नुतन श्रुति आयल स्टोर्समा पेट्रोल लिन पुगेपछि सवारी धनीले मोटरसाइकल पहिचान गरेका थिए । मोटरसाइकलको विषयमा सशस्त्र इन्सपेक्टर खड्का सँग सोधपुछ गर्न खोज्दा भाग्ने कोसिस गर्न थालेपछि स्थानीयहरुले उनीहरूलाई    पक्राउ गरी प्रहरीको जिम्मा लगाएका थिए।

   सशस्त्र प्रहरीले सर्लाहीको व्यस्त बजारबाट चोरी भएको मोटरसाइकल सवारी धनीलाई फिर्ता दिनुको साटो गैरकानूनी कार्य गरी उक्त मोटरसाइकलमा सेतोमा बा–२ ब ९७२६ सरकारी नम्बर प्लेट राखेर निर्वाध रुपमा चढदै आएका थिए ।

   यस विषयमा थप अनुसंधान भइरहेको प्रहरीले जनाएको छ।

Tuesday, April 18, 2023

मलंगवा नगरपालिकाको दमकल आइपुग्यो तर पनि आगो निभाउन समस्या


मलंगवा नगरपालिकाको दमकल आइपुग्यो तर पनि आगो निभाउन समस्या 



लोकतन्त्र समाचारदाता---

सर्लाही,बैशाख ५

   बिगत केही हप्ता अगाडी बिग्रिएर बनाउन लगिएको मलंगवा नगरपालिकाको एकमात्र(वारुणयन्त्र) दमकल मंगलबार मलंगवा आइपुगेको छ।चालु अवस्थामा रहेको दमकलमा एकाएक खराबी आएपछि केही साता अगाडी बनाउनको लागि जिल्ला बाहिर लगिएको थियो।

    सदरमुकाम मलंगवासहित आसपासका स्थानीय तहहरुले यसै पालिकाको बारुणयन्त्रको प्रयोग गर्दै आएका छन् ।तर उक्त बारुणयन्त्रमा पटकपटक यान्त्रिक खराबीहरु आउने गरेकाले आगलागी हुँदा ठुलो जनधनको क्षति हुँदै आएको छ।जिल्लाका ११ नगरपालिका र ९ गाउँपालिकामध्ये दक्षिणी भेगस्थित सदरमुकाम मलंगवा र उत्तरी भेगस्थित पूर्व–पश्चिम राजमार्गमा पर्ने हरिवन नगरपालिकाको गरी दुई वटा दमकल मात्र रहेका छन् ।जसमध्ये मलंगवाको दमकल पटकपटक बिग्रने गरेकोले आगलागी हुँदा हरिवनबाट दमकल मगाउनु पर्ने बाध्यता रहेको छ।हरिवनबाट घटनास्थलमा दमकल आइपुग्दा सम्म जनधनको ठूलो क्षती हुने गरेको छ।

   आइतवार राती मलंगवाको वडा न-४ मा आगलागी हुँदा बारुणयन्त्र नभएकै कारण दुईवटा घर पुर्णरुपमा जलेर खरानी भएको थियो।

     दमकल  पुरानो भैसकेकाले छोटो समय चलाउने बित्तिकै  पटक–पटक बिग्रिने समस्या देखिँदै आएको छ । हरिवन नगरपालिकाले दमकल खरिद गर्नुअघि जिल्लाभर मलंगवा नगरपालिकासँग मात्रै दमकल थियो । 

   आगलागी भएको बेल मलंगवा लगायत छेउछाउका गाउँहरुमा दमकल समयमा पुगेपनि टाढाका गाउँहरुमा पुग्न घण्टौ लाग्ने गरेको छ।जिल्लामा भएका दुईवटा दमकलको भर पर्नुभन्दा सबै पालिकाले एकएक वटा दमकल राखे ठुलो जनधनको क्षति हुनबाट जोगिने स्थानीय बुद्धिजीवीहरुको भनाइ छ। 

  स्थानीय तहहरुमा जनप्रतिनिधीले आफ्नो सुविधाका लागि सवारी खरिद गरेको तर अतिआवश्यक दमकल राख्न चासो नदिएको भन्दै जनमानसबाट गुनासो आउने गरेको छ।केही समय अघि जिल्ला विपत व्यवस्थापन समितिको बैठक बसेर दमकल सञ्चालनमा लाग्ने खर्च धान्न सक्ने अवस्था नरहेको भन्दै आसपासका दुई–तीन वटा स्थानीय तहसँग समन्वय गरी संयुक्त दमकल खरिद गर्ने निर्णय समेत भएको थियो यर सो अनुसार काम भने भएको छैन ।




Monday, April 17, 2023

दमकल नआए पछि मलंगवाका आक्रोशित भिड द्वारा नगर प्रमुखको घरसहित सरकारी कार्यालयमा तोडफोड,केही ब्यक्ति प्रहरीको नियन्त्रणमा

 


दमकल नआए पछि मलंगवाका आक्रोशित भिड द्वारा नगर प्रमुखको घरसहित सरकारी कार्यालयमा तोडफोड,केही ब्यक्ति प्रहरीको नियन्त्रणमा


मनोज यादव---

सर्लाही,बैशाख ४

    आइतवार राति सदरमुकाम मलंगवास्थित एक घरमा  लागेको  आगलागी  नियन्त्रणका लागि  दमकल नआए पछि आक्रोशित बनेका स्थानीयबासीहरुले नगरपालिका ,जिल्ला प्रशासन,जिल्ला अदालतको कार्यालय र नगर प्रमुख को घरसहित आगो निभाउन आएका प्रहरीको गाडीमा ढुंगामुढा र तोडफोड गरेका छन् ।

    आइतवार राति करिब ८ बजेको समयमा मलंगवा नगरपालिका वडा न–४  शिवसागर चोक स्थित गणेशिया जाने बाटोमा रहेको स्थानीय रामस्वरुप चमारको फुसको छाना भएको घरमा आगो लागेको थियो । दनदनी आगो लागिरहेको अवस्थामा पनि आगो निभाउन  दमकल नआए पछि आक्रोशित स्थानीयबासीहरुको भिडले सोही वडामा रहेको नगर प्रमुख नागेन्द्र प्रसाद यादवको घर,वडा न-८ मा रहेको नगरपालिकाको कार्यालय र वडा न-१० मा रहेको जिल्ला प्रशासन र जिल्ला अदालतको कार्यालय तथा प्रहरीको गाडीमा ढुंगामुढा र तोडफोड गरेका छन् । नगरपालिकामा ढुंगामुढा गर्न  पुगेकि भीडले उक्त कार्यालयको कम्पाउन्डमा रहेको दुईवटा मोटरसाइकलमा समेत आगजनी गर्ने प्रयास गरेपछि प्रहरीले बल प्रयोग गरेर भीडलाई तितर बितर पारेको सर्लाही प्रहरी प्रमुख एसपी नरेशराज सुवेदीले बताए ।

  आक्रोशित भीडलाई नियन्त्रणमा लिने क्रममा स्थानीयहरुले चलाएको  ढुंगाबाट ५ जना प्रहरी घाइते भएका छन् । भीड नियन्त्रण गर्ने क्रममा ढुंगामुढा गर्ने ७ जना ब्यक्तिलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

    वारुणयन्त्र बिग्रेर बनाउन पठाइएको र तुरुन्त मगाउने प्रयास भइरहेको प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतमले बताएको छ ।

बाल बिवाह तथा लागु पदार्थ दुर्ब्यसन विरुद्ध सडक नाटक मञ्चन

 

बाल बिवाह तथा लागु पदार्थ दुर्ब्यसन विरुद्ध सडक नाटक मञ्चन

लोकतन्त्र समाचारदाता---

सर्लाही,बैशाख ४

   सर्लाहीको गोडैता र बलरा नगरपालिकामा बाल बिवाह तथा लागू पदार्थ दुर्ब्यसन विरुद्ध जनचेतनामूलक सडक नाटक मञ्चन गरिएको छ। 

   राष्ट्रिय रोजगार प्रबर्द्धन केन्द्रबाट संचालित  समुन्नति स्पोन्सरसीप परियोजना अन्तर्गत   गोडैता न.पा को वडा न-८ स्थित गोडैता बजार,वडा न-११ माधोपुर,वडा न-१२ मधुवनी तथा  बलरा न.पा को वडा न-६ गडहिया,वडा न-३ लक्ष्मीपुर र  मिर्जापुरमठ टोलमा  किशोर किशोरीहरुमा यौन,प्रजनन्,बाल बिवाह तथा लागु पदार्थ विरुद्ध जनचेतनामूल सडक नाटक मञ्चन गरिएको हो।

  उक्त  नाटकमा जाँड ,रक्सी,चुरोट र लागुऔषधका कारण स्वास्थ्यमा पर्नसक्ने नराम्रो असरहरुको साथै बाल बिवाहबाट किशोर किशोरीहरुमा हुनेसक्ने विभिन्न खाले समस्याहरुको बारेमा नाटकिय सैलीमा प्रस्तुत गरिएको थियो।

  नाटकमा देखाइएका बाल बिवाहबाट पर्ने नकारात्मक असर र कथाबस्तु बाट प्रभावित भएर  गोडैता न.पा-१२मधुबनीका वडाध्यक्षले कार्यक्रम स्थलबाटै आफ्नो सन्तानको बिवाह २० वर्षको उमेर पछि  गरिदिने परिवारलाई प्रोत्साहन स्वरुप १० हजार रुपैया पुरस्कार दिने घोषण गरेका थिए।





रुपनीमा त्रिदिवसिय सद्गुरु कबीर वचन वंशीय संत सम्मेलन सुरु


रुपनीमा त्रिदिवसिय सद्गुरु कबीर वचन वंशीय संत सम्मेलन सुरु



लोकतन्त्र समाचारदाता--

सप्तरी(रुपनी),बैशाख ४

    सप्तरीको रुपनी गाउँपालिका वडा न-५ वसबिट्टीमा त्रिदिवसिय सद्गुरु कबीर वचन वंशीय संत सम्मेलन एवं महाज्ञान,प्रवचन तथा भण्डारा समारोह  सुरु भएको छ। वसबिट्टी स्थित फुलबारीमा राम नारायण साहेवको अध्यक्षतामा आइतवार साँझदेखि सुरु भएको उक्त सम्मेलनको उद्घाटन प्रमुख अतिथि महात्मा जिबछ साहेबले गरेका हुन ।

   जगतका सम्पूर्ण मानव तथा प्राणीको कल्याण हेतु आयोजना गरिएको यस सम्मेलनमा सत्य ,धर्म,अर्थ,काम,मोक्ष,आश्तिक, नाश्तिक बिचको अन्तरसम्बन्ध,सहजसमाधी,स्वर्ग-नर्कको ज्ञान लगायतका विषयमा चर्चा गरिने सम्मेलनका मञ्च संचालक प्रमुख भुपानन्द साहेवले बताए ।

     सम्मेलनमा महात्मा पृथ्वीचन्द्र साहेव,रुपनी गापा अध्यक्ष दिनेश कुमार यादव,वडाअध्यक्ष गंगाराम यादव लगायत नेपाल र भारतका विभिन्न ठाउँबाट संत,महन्थ,माहात्मा,साधु,साध्वी, धर्मपुराणी,गुरुप्रेमी,आस्थावान,आचार्य तथा स्थानीय समाजसेवी बुद्धिजीवीहरुको उल्लेख्य उपस्थिति रहेको छ।

    बैशाख ५ गते सम्पन्न हुने  सम्मेलनको पहिलो दिन हजारौं महिला तथा  पुरुषहरुले  सम्मेलन क्षेत्रको परिक्रमा समेत गरेका थिए।

Tuesday, April 11, 2023

प्रदेश स्तरीय एकदिवसीय क्रिकेट खेल्न जाने सर्लाही यु.१६ क्रिकेट टिमको बिदाई

 प्रदेश स्तरीय एकदिवसीय क्रिकेट खेल्न जाने सर्लाही यु.१६ क्रिकेट टिमको बिदाई



लोकतन्त्र समाचारदाता---

सर्लाही,चैत्र २८

   यू.१६  पुरुष प्रदेश स्तरीय एकदिवसीय क्रिकेट प्रतियोगिता २०२३  खेल्न जान लागेका सर्लाही क्रिकेट संघका यू.१६ क्रिकेट टोलीको  बिदाई गरिएको छ ।संघले मंगलबार मलंगवा वडा न-२ कवर्ड हल स्थित आफ्नै कार्यालयको प्रांगणमा एक कार्यक्रमको आयोजना गरि टिमको बिदाइ गरेको हो । 

   चैत्र २९ गते बारा जिल्लाको कलैयामा हुन गइरहेको उक्त प्रतियोगितामा सहभागी हुने टिमका सदस्यहरुलाई संघका पदाधिकारीहरु तथा स्थानीय खेलप्रेमीहरुले सफलताको शुभकामना दिंदै खाँदा ओढाएर बिदाई गरेका थिए।


मधेस प्रदेशका हरवाचरवाहरुले पुनस्थार्पनाको माग गर्दै बिरगंजबाट सुरु गरेको अधिकार यात्रा सर्लाहीको मलंगवामा

 


मधेस प्रदेशका हरवाचरवाहरुले पुनस्थार्पनाको माग गर्दै बिरगंजबाट सुरु गरेको अधिकार यात्रा सर्लाहीको मलंगवामा

 

मनोज यादव---

सर्लाही,चैत्र २८ 

   मधेस प्रदेशका हरवाचरवाहरु आफ्नो अधिकारको यात्रामा उत्रिएका छन् । हरवाचरवा प्रथा मुक्तिको घोषणा भएको ९ महिना वितिसक्दा पनि सरकारले पुनःस्थापनाको कार्य अगाडि नबढाएको भन्दै उनीहरु अधिकारको यात्रामा उत्रिएका हुन् ।

   "मुक्त हरवाचरवाको न्यायिक पुनर्स्थापना हाम्रो सरोकार, भूमि, शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षा हाम्रो अधिकार’ भन्ने नाराका साथ सिरहा जिल्लाको लहान र पर्साको बिरगंजबाट एकैसाथ जनकपुरसम्मको यात्रा निकालिएको हो।

     गत चैत्र २५ गतेदेखी बिरगंजबाट सुरु गरेको अधिकार यात्रा-२०७९, सोमबार रौतहटको गरुँडा हुँदै सोमबार  सर्लाहीको सदरमुकाम मलंगवा आइपुगेको थियो।उक्त यात्रा मलंगवा पछि सोही दिन जिल्लाकै ब्रह्मपुरी गाउँपालिका हुँदै महोत्तरीको बर्दिबास पुगेर भोलीपल्ट चैत्र २८ गते प्रदेशको राजधानी जनकपुरधाममा पुगेर २९ गते मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको हरवाचरवा अधिकार मञ्च सर्लाहीका संयोजक नविना माझीले जानकारी दिएकी छिन् । 

   नेपाली काँग्रेसका सभापति एवम तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७९ साउन २ गते हरवाचरवा मुक्तिको घोषणा गरेको थियो । घोषणाको समयमा नेपाल सरकारले प्रतिबद्धता जाहेर गरेको लगत संकलन, सत्यापन, परिचय पत्र वितरण, पुनर्स्थापना, सामाजिक विभेदको अन्त्य, मर्यादित जीवन, सामाजिक सशक्तीकरण, समावेशीकरण, शिक्षा, स्वास्थ्य, रोजगारी तथा सामाजिक सुरक्षाका मुद्दा सम्बोधन हुने अपेक्षा गरेका थिए । तर त्यो सरकारले पुरा नगरेपछि उनीहरु सरकारसँग असन्तुष्ट हुदैँ यात्रामा उत्रिएका हुन् ।

     हरवाचरवामा जागरण ल्याउन र सरकारलाई माग पूरा गराउन दबाब दिने उद्देश्यले यात्राको आछयोजना गरिएको मञ्चका सर्लाही संयोजक माझीले बताए । यात्राका क्रममा हरवाचरवाको बाहुल्य रहेका स्थानीय तहमा गएर प्रुमख तथा अध्यक्षबाट प्रतिबद्धता लिने, हरवाचरवा बस्तीमा गई ज्ञापन पत्रमा हस्ताक्षर संकलन गर्ने र  हरवाचरवाबाट संकलन गरिएको हस्ताक्षरसहितको ज्ञापन पत्र मधेश प्रदेशका मुख्यमन्त्रीलाई बुझाउने मञ्चका सर्लाही जिल्ला संयोजन माझीले बताए ।

    राष्ट्रिय हरवाचरवा अधिकार मञ्च, केन्द्रीय कार्य समिति लहान द्वारा राष्ट्रिय दलित नेटवर्क (आरडीएन) नेपाललगायत संघसंस्था सँगको सहकार्यमा उक्त यात्रा निकालिएको  माझीले जानकारी दिए। 



Sunday, April 9, 2023

नेपाल स्वास्थ्यकर्मी युनियनको जिल्ला अध्यक्षमा पुनः संजय कुमार झा


नेपाल स्वास्थ्यकर्मी युनियनको   जिल्ला अध्यक्षमा पुनः  संजय कुमार झा 



मनोज यादव---

सर्लाही,चैत्र २६

      नेपाल स्वास्थ्यकर्मी युनियन जिल्ला कार्यसमितिको अध्यक्ष पदमा पुनः संजय कुमार झा चयन भएका छन् । राष्ट्रिय स्तरको स्वास्थ्यकर्मीहरुको ट्रेड यूनियन नेपाल स्वास्थ्यकर्मी युनियन जिल्ला कार्यसमिति सर्लाहीको शनिवार सम्पन्न चौथो  जिल्ला अधिवेशनबाट  झा को नेतृत्वमा १७ सदस्यीय जिल्ला कार्यसमिति चयन भएको हो।

   युनियनको शनिवार अबेर रातिसम्म चलेको बन्द शत्रबाट उपाध्यक्षमा चन्द्र किशोर राम र महिला उपाध्यक्षमा सावित्री पटेल चयन भएका छन् ।त्यसैगरी सचिवमा नवल किशोर महतो,सहसचिवमा प्रमिला कुमारी र राम पुकार महतो रहेका छन् ।त्यस्तै कोषाध्यक्षमा सुरेश राय र सहकोषाध्यक्षमा ललन कुमार साह चयन भएका छन् भने सदस्यहरुमा क्रमशः चन्द्र भुषण साह,योगेन्द्र मुखिया ,विजय राय यादव,प्रमोद मण्डल ,संतोष कुमार साह,संजय यादव,शम्भु साह,रामबाबु चौधरी ,राम किशोर राय,फुल कुमारी ठाकुर,र सुनिल कुमार यादव रहेका छन ।सम्पूर्ण पदाधिकारीहरुको चयन सर्वसम्मतिबाट भएको युनियनले जनाएको छ।

   युनियनका जिल्ला अध्यक्ष झाको सभापतित्व, केन्द्रीय अध्यक्ष उज्वल कुमार शर्माको प्रमुख आतिथ्यता र युनियनका सचिवालय सचिव डा.संगम खाइजु र केन्द्रीय सदस्य सुदिप काफ्लेको विशिष्ठ आतिथ्यतामा सम्पन्न भएको अधिवेशनको उद्घाटन शत्रमा सचिवालय  सदस्य लता महत,केन्द्रीय सचिव मनोज कुमार यादव,मधेस प्रदेश संयोजक रामबाबु ठाकुर,कौडेना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शम्भु प्रसाद यादव,केन्द्रीय सदस्य प्रमोद पंडित र सुरेन्द्र खतिवडा लगायतका अतिथिहरुले शुभकामना मन्तव्य राखेका थिए।

    सोही अवसरमा स्वास्थ्यको क्षेत्रमा अतुलनिय योगदान पुर्याउने व्यक्ति तथा सेवानिबृत स्वास्थ्यकर्मीहरुलाई सम्मान समेत गरिएको थियो।

   मलंगवा नगरपालिका वडा न-१० स्थित जानकी पार्टी पैलेसमा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य  जिल्ला कार्यसमिति सचिव नवल किशोर महतोले  राखेका थिए भने कार्यक्रमको संचालन केन्द्रीय सदस्य उपेन्द्र राउतले गरेका थिए।

  

Saturday, April 8, 2023

मुसैलीमा स्वास्थ्य चौकी भवनको शिलान्यास तथा नि:शुल्क कम्पियुटर तालिम केन्द्र उद्घाटन

 

मुसैलीमा स्वास्थ्य चौकी भवनको शिलान्यास तथा नि:शुल्क कम्पियुटर तालिम केन्द्र उद्घाटन 


मनोज यादव---

सर्लाही,चैत्र २५

    सर्लाहीको मलंगवा नगरपालिका वडा-७ स्थित मुसैलीमा एकैदिन दुई विकासका आयोजनाहरुको शिलान्यास तथा उद्घाटन सम्पन्न भएका छन् ।

    मलंगवा न.पा -७ का वडा अध्यक्ष ईशा मिकरानीको अध्यक्षतामा आयोजित एक समारोहका बिच प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रीय नेता एवं यु.आई.जी ग्रुपका अध्यक्ष लायन मुस्कान पौडेलले मुसैली स्थित श्री बौधीमाई माद्यामिक विद्यालयको छेउमा स्वास्थ्य चौकी भवनको शिलान्यास र पुरानो स्वास्थ्य चौकी रहेको भवनमा मुस्कान कम्पियुटर तालिम केन्द्रको उद्घाटन गरेका हुन् ।

   मुसैलीसहित गणेशिया र मलंगवा न.पा को वडा न-३ का बासिन्दाहरुले समेत सेवा लिनसक्ने गरि पायक पर्ने ठाउँमा निर्माण हुन लागेको उक्त स्वास्थ्य चौकी भवनको निर्माण लागत २ करोड १८ लाखभन्दा बढी रहेको वडाध्यक्ष मिकरानीले जानकारी दिए।

यसैगरी अहिलेको प्रविधिक युगमा कम्पियुटरको ज्ञान अती आवश्यक रहेको महसुस गर्दै आर्थिक अवस्था कमजोर भएका परिवारले पनि सहजरुपमा नि:शुल्क कम्पियुटरको ज्ञान पाउनसकुन भन्ने उदेश्यका साथ पुर्व मुस्कान सेना अध्यक्ष लायन मुस्कान पौडेलको पहलमा मुस्कान कम्पियुटर तालिम केन्द्रको स्थापना गरेको वडाध्यक्ष मिकरानी जानकारी दिए।कार्यक्रम मार्फत उनले स्वास्थ्य चौकी भवन बन्न केही समय लाग्ने भएकोले स्थानीय बिरामीहरुको उपचारमा समस्या आउन नदिन यस वडालाई एउटा एम्बुलेन्स उपलब्ध गराइदिन भन्दै कार्यक्रम मार्फत  प्रमुख अतिथि पौडेलसँग आग्रह समेत गरे।

    कार्यक्रममा बोल्दै केन्द्रीय नेता पौडेलले काठमाडौ पुग्ने बित्तिकै एम्बुलेन्सको लागि पहल गरेर अबको केही दिनभित्रै यस वडालाई एउटा एम्बुलेन्स उपलब्ध गराउने आश्वासन दिए। वसाथै उनले यसक्षेत्रबाट वडाको सिफारिसमा  उपचारका लागि काठमाडौ आउने अतिविपन्न तथा असहायहरुलाई उपचारमा लाग्ने खर्चमा धेरै हदसम्म  छुट उपलब्ध गराउने समेत बताए ।यसका लागि जुनसुकै बेला आफुसँग सम्पर्क गर्न सक्ने उनले भने।

    मुसैली स्थित श्री बौधीमाई माविमा आयोजना भएको उक्त समारोहमा राष्ट्रिय योजना आयोगका पुर्व सदस्य डा.अब्दुल रहिम मिकरानी,प्रअ राम कुमार शर्मा,मुसैली स्वास्थ्य चौकी इन्चार्ज कुशेश्वर साह,नेकपा माओवादी केन्द्रकी नेता लक्ष्मी चौधरी लगायतका अतिथिहरुले शुभकामना मन्तव्य राखेका थिए।

   सोही अवसरमा केही क्रियाशील पत्रकार तथा सामाजसेवीहरुलाई सम्मान समेत गरिएको थियो।

   कार्यक्रममा स्थानीयबासी समेत रहेका पत्रकार फेकन महतोले स्वागत मन्यव्य राखेका थिए भने संचालन बालमन्दिर विद्यालायका प्र.अ जितेन्द्र लाल दासले गरेका थिए।