Wednesday, February 14, 2024

आज श्रीपञ्चमी, विद्यार्थीहरु आ-आफ्नो शिक्षण संस्थामा विभिन्न कार्यक्रमहरु गरि सरस्वती पुजा गर्दै

 आज श्रीपञ्चमी, विद्यार्थीहरु आ-आफ्नो शिक्षण संस्थामा विभिन्न कार्यक्रमहरु गरि सरस्वती पुजा गर्दै


मनोज यादव---

सर्लाही,फाल्गुन २

      प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने बसन्त पञ्चमी अर्थात श्रीपञ्चमी आज देशभर विद्याकी देवी माता सरस्वतीको पुजा अराधना गरी हर्षोल्लासका मनाइँदैछ । यस दिन देवी सरस्वतीको पूजा गरे विद्या र बुद्धि बढ्ने जनविश्वास रहेको छ ।सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजका दिनलाई ‘वसन्तपञ्चमी’ पनि भन्ने गरिन्छ।

   आज(बुधबार) बिहानैदेखि गाउँ ,नगर बस्तीमा रहेका देवी सरस्वतीको मन्दिरमा पुजा गर्न खासगरी विद्यार्थीहरुको घुइँचो लागेको छ। श्रीपञ्चमीको अवसर पारेर सर्लाहीको सदरमुकाम मलंगवासहित जिल्लाभरीका शिक्षण संस्थामा अध्यनरत विद्यार्थी तथा शिक्षक-शिक्षिकाहरु आ-आफ्नो विद्यालय तथा क्याम्पसमा विभिन्न कार्यक्रमहरुको आयोजना गरेका छन् । अधिकांश शिक्षण संस्थाहरुमा सरस्वतीको पुजा र प्रसाद वितरणको साथ साथै विद्यार्थीहरु द्वारा साँस्कृतिक कार्यक्रम र विद्यार्थीहरुले नै तयार पारेका सामाग्रीहरुको प्रदर्शनी राखिएका छन् ।यसका लागि विद्यार्थीहरुले १०/१५ दिन अगाडीदेखिनै तयारी गरेका छन् ।

   यसपटक मलंगवा नगरपालिकाले नगरपालिका क्षेत्र भित्र संचालित विद्यालय,क्याम्पस लगायत अन्य शिक्षण संस्थामा अध्यनरत विद्यार्थीहरुलाई पुजाको दिन सम्बन्धित विद्यालय,क्याम्पस र शिक्षण संस्थाको पोसाक लगाएर मात्र पुजामा सहभागी हुन सूचना जारी गरेकोले छात्रछात्राहरु विद्यालय पोसाकमै पुजामा सहभागी भएका छन् ।

   यस दिन बालबालिकालाई शिक्षारम्भ गराउनुका साथै नाक–कान छेडिदिने गरिन्छ ।‘गान्धर्व पुराण’मा आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने उल्लेख छ ।

     देवी सरस्वती विद्या र सिर्जनाकी देवी भएकीले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थीहरु आआफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीको रूपमा पूजाराधना गर्छन् ।

आजकै दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह  जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने विश्वास रहँदै आएको छ ।


No comments:

Post a Comment