Wednesday, February 21, 2024

डिप्रोक्स लघुवित्त मलंगवा शाखाद्धारा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

 डिप्रोक्स लघुवित्त मलंगवा शाखाद्धारा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न









लोकतन्त्र समाचारदाता---

सर्लाही,फाल्गुन १० गते

   डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले शाखा कार्यालय मलंगवाले  केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । 

   मलंगवा शाखा अन्तर्गतका केन्द्र  प्रमुखहरुलाई वित्तीय साक्षरता तथा बैंकिङ कारोबारमा हुने अपराध(सम्पत्ती सुद्धिकरण),कर्जा तथा बचतको महत्त्व ,कर्जाको सही उपयोग ,लिएको कर्जा कति लिने र कसरी तिर्ने,संस्थाले उपलब्ध गरेका कर्जा निति ,नेपाल राष्ट्र बैंकको १ श्रृणी १ संस्था निति र व्यवसायीक बन्नको लागि आवश्यक पर्ने विभिन्न तालिमहरु लगायतका विषयहरुको बारेमा जानकारी गराउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको संस्थाले जनाएको छ। ती उदेश्यको बारेमा सहभागीहरुलाई भिडियो मार्फत समेत स्पष्ट गरिएको थियो ।

    उक्त कार्यक्रममा सर्लाही जिल्ला भरीका १० वटा पालिकाबाट ८७ जना केन्द्र प्रमुख महिलाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा जिल्ला भेटेरिनरी तथा पशु सेवा विज्ञ कार्यालय मलंगवाका प्रमुख  उपेन्द्र सिंहले पशु सेवा कार्यालयसँग डिप्रोक्सको सहकार्य भएको बताउँदै  विभिन्न किसिमका कृषि बाली तथा पशु पालन तालिमको बारेमा सहभागीहरुलाई जानकारी गराएका थिए।

    मलंगवा नगरपालिका वडा न-९ स्थित सुजाता होटलमा सम्पन्न भएको कार्यक्रममा अतिथिको रुपमा उपस्थित भएका जनप्रतिनिधिहरु यस्ता गोष्ठीले समाजमा वित्तीय अराजकता र अफवाह फैलाउने तत्वहरुबाट बच्नको लागि सहयोग पुर्याउने भएकोले त्यस्ता व्यक्तिको पछि नलाग्न सहभागीहरु सँग अनुरोध गरेका थिए।समाजलाई आर्थिक चलायामन बनाइ राख्नु जरुरी रहेको रहेकोले हाल मिटर व्याजीको कारणले समाजमा आर्थिक मन्दी छाइरहेको अवस्थामा यस्ता वित्तीय संस्थाहरुले सघाइरहेकोले यस्को सदुपयोग गर्न समेत जनप्रतिनिधिहरुले अनुरोध गरे।

    संस्थाका अध्यक्ष सौभाग्यवती सिंहको सभापतित्व तथा  पशु सेवा कार्यालयका प्रमुख सिंहको प्रमुख आतिथ्यतामा र मलंगवा नगरपालिका वडा न-४ का कार्यवाहक वडाअध्यक्ष  घनश्याम झाको विशिष्ठ आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा संस्थाका अनुगमन अधिकृत सूर्यबहादुर विष्टले संस्थाको कर्जा तथा बचतको विषयमा जानकारी गराएका थिए भने बैंकिङ  अपराध तथा साक्षरता सम्बन्धि जानकारी प्रदेश प्रमुख देशबन्धु चौधरीले गराएका थिए। कार्यक्रममा स्वागत मन्तव्य मलंगवा शाखाका प्रमुख धर्मेन्द्र प्रसाद चौधरीले राखेका थिए। यसै कार्यक्रममा उत्कृष्ट भएका दुईवटा  वटा केन्द्रहरुलाई सम्मान समेत गरिएको थियो ।

   वि.स २०५९ साल भदौ ९ गते सर्लाहीको सदरमुकाम मलंगवामा स्थापना भएको यस शाखामा जम्मा सदस्य संख्या ३ हजार ७ सय ५५ जना रहेका छन् । १० वटा पालिकालाई कार्यक्षेत्र बनाएर संचालन भइरहेको यस संस्थाको लगानी ३० करोड १२ लाख ७६ हजार रहेको छ भने बचत रकम ११ करोड ९७ लाख ६४ हजार रहेको डिप्रोक्सले जानकारी गराएको छ।

No comments:

Post a Comment