Sunday, November 19, 2023

छठको तेश्रो दिन सर्लाहीका छठी घाटहरुमा अस्ताउँदो सूर्यलाई अर्घ दिइयो

 छठको तेश्रो दिन सर्लाहीका छठी घाटहरुमा अस्ताउँदो सूर्यलाई अर्घ दिइयो

      

मनोज यादव----

सर्लाही,मंसिर ३ 

     छठ पर्वको तेस्रो दिन आइतवार अस्ताउँदो सूर्यलाई अर्घ दिइएको छ । सर्लाहीको सदरमुकाम मलंगवासहित जिल्लाका विभिन्न स्थानका नदी, पोखरी तथा तलाउहरूको छठ घाटहरूमा अस्ताउँदो सूर्यलाई अर्घ दिइएको हो ।

    सदरमुकाम मलंगवास्थित जनसागर पोखरी,शिवसागर पोखरी,झण्डा बजार पोखरी, मुसैली पोखरी, गम्हरिया पोखरी तथा  सर्लाही भएर बग्ने झिम नदी, लखनदेही नदी र बागमती नदी लगायत

 दर्जनौं पोखरी तथा तलाउका घाटहरू छठ पूजाका लागि सम्बन्धित ठाउँका स्थानीय बासिन्दा र युवा क्लवहरुले टेन्ट र पण्डाल लगाएर सजाएका छन् । सो घाटमा राखिएका प्रसाद सामग्री व्रतालुले षष्ठी देवीलाई अराधना गर्दै अस्ताउँदै गरेको भगवान सूर्यलाई अर्घ दिएका हुन्।

    सोमबार (भोलि) बिहान सप्तमी तिथिका दिन उदाउँदो सूर्यलाई अर्घ दिएर पारणसँगै छठ पूजा सम्पन्न हुनेछ । कात्तिक शूक्ल चतुर्थीदेखि सुरु हुने यो पर्व कार्तिक शूक्ल सप्तमी तिथिका दिन सम्पन्न हुन्छ । यो पर्वमा षष्ठी देवीका साथै सूर्यदेवको उपासना गरिन्छ । 

    यो पर्व गरिब, धनी, दलित एवम् उच–नीचको ख्याल नगरी समाजमा रहेका सबै वर्ग एकसाथ मिलेर मनाउँछने गरेका छन्  । अर्‍घ दिने ब्रतालु ३६ घण्टासम्म पानी पनि नखाई उपवास बस्ने गर्दछन् । छठ पर्वमा सूर्य भगवान अर्थात् दिनानाथलाई अर्घ दिन तयार गरिने परिकारहरू अत्यन्तै नियम निष्ठापूर्वक गर्नुपर्ने भएकाले छठलाई निष्ठा र कठोर पर्वको रूपमासमेत लिइन्छ ।

    नियम निष्ठा पुर्वक छठ पर्व गर्नाले चर्मरोगबाट मुक्ति पाइने, निः सन्तानले सन्तान प्राप्त गर्ने, परिवारमा सुख शान्ति भित्रिने, आपसमा भाइचारा कायम हुने र इच्छाएको मनकामना पूरा हुनेजस्ता जनविश्वास समाजमा चली आएको छ। 

     केही वर्ष अगाडीसम्म तराई मधेशमा मात्र मनाइँदै आएको छठ पर्व पछिल्लो समय राजधानी काठमाडौंसहित देशका मध्यपहाडी जिल्लामा पनि मनाउन थालिएको छ।कतिपय ठाउँमा मुस्लिम समुदायले पनि छठ पूजा गरेको पाइएको छ। कतिपय ठाउँमा घाट स्थलमा मेला समेत लागेको छ।

     




No comments:

Post a Comment