Tuesday, November 28, 2023

मधेश प्रदेश अन्तर्गत सर्लाहीको पर्यटकीय तथा धार्मिक नाढीमन तालको अवस्था दयनीय

 मधेश प्रदेश अन्तर्गत सर्लाहीको पर्यटकीय तथा धार्मिक  नाढीमन तालको अवस्था दयनीय  


मनोज यादव---

सर्लाही,मंसिर १२

   मधेश प्रदेश अन्तर्गत सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा न-६ मा रहेको प्रशिद्ध धार्मिक तथा पर्यटकीय स्थल नाढीमन ताल अहिले गौचरनमा परिणत भएको छ । ५२ बिगहामा फैलिएको १२ फिट गहिराइको यो ताल पुरै सुकेर अहिले बालबालिकाहरुको लागि खेल मैदान र बस्तुभाउहरुको लागि चरण स्थल बनेको छ।

    केही महिना अगाडीसम्म नाढी ताल आन्तरिक तथा बाह्य पर्यटकहरुको लागि आकर्षणको केन्द्र रहेको थियो। सिजनमा मात्र नभइ अन्य सिजनमा पनि पिकनिक खाने र घुमफिर गर्नेहरुको घुइँचो लाग्ने गरेको थियो।तर ताल सुकेदेखि पर्यटकहरु आउन छाडेकाले यहाँको व्यापारमा समेत गिरावट आएको छ।  ताल क्षेत्रमा देखिंदै आएका  विभिन्न प्रजातिका जीवजन्तु तथा चराचुरुङ्गीहरु समेत लोप भएका छन् ।

    नाढी ताललाई पर्यटकीय क्षेत्रमा विकास गर्न नेपाली सेनाले २०७२ साल चैत महिनामा ताल क्षेत्रमा  विभिन्न पर्यटकीय संरचनाहरु निर्माण गरी तत्कालीन ताल संरक्षण समितिलाई हस्तान्तरण गरेको थियो । समितिले ताल  क्षेत्र पर्यटकहरुको लागि खुल्ला गरेपछि  डुंगा चढेर तालको सयर गर्न ,अवलोकन गर्न र पिकनिक मनाएर रमाइलो गर्न सर्लाहीसहित महोत्तरी ,धनुषा तथा रौतहट जिल्ला र छिमेकी भारतबाट दैनिक हजारौंको संख्यामा मानिसहरु आउने गरेका थिए।ताल क्षेत्रमा खोलिएका पसल तथा होटलहरुमा ग्राहकहरुको भिड लाग्ने गरेको थियो।तर अहिले सुनसान बनेको छ। घुमफिर गर्ने मानिसहरु त परै जावोस् स्थानीय बासिन्दाहरु समेत आउन छाडेका छन् । अतिक्रमणको चपेटामा परेर तो ताल अहिले  ५२ बिगहाबाट घटेर ३२ मा खुम्चिएको छ ।

    यसअघि तालमा पानी हुँदा नाढीमन क्षेत्र आसपास गाउँका स्थानीय बासिन्दाहरु तालको वरिपरि सयौंको संख्यामा घाटहरु बनाएर छठ पुजा गर्दै आएका थिए। तर यसपटक भने ताल पुरै सुकेकोले कृतिम नहर खनेर छठ पुजा गर्नु परेको स्थानीयहरुले बताएका छन् ।

   चन्द्रनगर गाउँपालिकाका वडा न-३ का वडाअध्यक्ष सिताराम महतोले ताल आफै सुकेको नभइ माछा पालनको लागि ठेक्का लिएको ठेकेदारले सुकाएको बताएका छन् ।ताल सुकेपछि नजिकै रहेको अधवारा खोलामा बाँध बाँधेर तालमा पानी पुर्याउन सकिन्थ्यो तर गाउँपालिका अध्यक्ष राजकुमार महतोको कमि कमजोरी र लापरबाहीका कारण खोलाको पानी तालसम्म नपुर्याइएकोले तालको अवस्था अहिले यस्तो भएको वडाअध्यक्ष महतोले आरोप लगाए।

    लोप हुने अवस्थामा पुगिसकेको नाढी तालाई पुनः पहिलेकै अवस्थामा ल्याउन स्थानीय तहसहित प्रदेश सरकार, पर्यटन मन्त्रालय र पुरातत्व विभागले पहल गर्नुपर्ने स्थानीयहरुको भनाइ छ ।




No comments:

Post a Comment