सिजनमा पनि व्यापार नभएको कवाडी संकलकहरुको गुनासो
सिजनमा पनि व्यापार नभएको कवाडी संकलकहरुको गुनासो
मनोज यादव----
सर्लाही,कात्तिक २०
दशै सक्किए लगत्तै दिपावली र छठ पर्व आउनै लाग्दा सहर,बजार तथा गाउँगाउँमा कवाडी सामान संकलन गर्ने मानिसहरुको लर्को देखिन थालेका छन्।यतिबेला उनीहरू साइकल र ठेला लिएर टोलटोलमा पुगेर दिपावली पर्वको लागि घरको सफाइ गर्ने क्रममा निस्किएक पुराना कागज ,प्लास्टिक तथा धातुजन्य कवाडी सामानहरु संकलन गरिरहेको भेटिन्छन्।
सर्लाहीको मलंगवा नगरपालिका क्षेत्रभित्र मात्रै आधा दर्जनभन्दा धेरै कवाडी संकल केन्द्रहरु रहेका छन्। ती सबै केन्द्रमा झण्डै ५ दर्जन नेपाली तथा भारतीय कवाडी संकलकहरु रहेका छन्। ती मध्ये भारतीय नागरिकहरुको संख्या बढी रहेका छन् । उनीहरु आफ्नो देश छाडेर नेपालमा पैसा कमाएर घर परिवार चलाइरहेका छन्। तर नेपालीहरु भने वैदेशिक रोजगारीमा जाने सोंच बनाएर बसेका छन् ।
भारतको सितामढी जिल्ला घर भएका रामजी दास विगत १० वर्ष भन्दा बढीदेखि मलंगवामा पुराना कागज,प्लास्टिक तथा धातुजन्य कवाडी सामान संकलन गरिरहेका छन्। उनी अन्य दिनको भन्दा दिपावलीको समयमा बढी आम्दानी हुने गरेको बाउँछन्। तर गएको वर्षदेखि कवाडको व्यापारमा एकाएक गिरावट आएको छ। पहिला कवाडी संकलन गर्ने मानिसहरुको संख्या कम हुँदा पुराना सामाग्रीहरु पनि अधिक मात्रामा संकलन हुन्थ्यो । तर पछिल्लो समय कमाई राम्रो भइरहेको देखेर युवाहरु पनि यस व्यवसायमा संलग्न भएपछि कवाड संकलकहरुको संख्या बढेर पुराना सामानहरु कम पाउन थालेपछि कमाईमा लगभग आधा जति गिरावट आएको दासले बताए ।
मानिसहरु प्रायःजसो वर्षको एकपटक दिपावलीको समयमा आ-आफ्नो घरको पुर्ण रुपमा सरसफाइ गर्ने गरेकाले अघिपछि भन्दा यसै समयमा धेरै काम नलाग्ने कवाडी सामानहरु संकलन हुने गरेको कवाडी संकलकहरु बताउँछन् ।
अन्य दिनको भन्दा दिपावलीमा घर सफा गर्दा काम नलाग्ने सामानहरु बढी मात्रामा निस्कने गरेकाले अहिले निस्किएका सामान र वर्ष दिनको अवधिमा जम्मा गरेर राखिएका सामानहरु सँग एकैसाथ बिक्री गर्दा बढी पैसा पाउने भएकोले मानिसहरु प्रायःजसो दिपावलीको समयमा कवाडी सामानहरु बिक्री गर्ने गरेका छन् ।जसले गर्दा कवाडी संकलकहरु दिपावलीको समयमा बढी कमाई हुने गरेको छ। अन्य दिनको तुलनामा चाडवाडको बेला फोहोरबाट मोहोर कमाउन थुप्रै कवाडीवालाहरु सामान संकलन गरिरहेका भेटिन्छन्।
तर उता भने कवाडी संकलन केन्द्रका साहुको भने बेग्लै दुखेसो छ। कवाडी संकलन गर्नेहरुको कमाइ राम्रो भएपनि संकलन केन्द्रका साहुहरु भने सरकारलाई बुझाउनुपर्ने विभिन्न किसिमको राजश्व र गोदाममा जम्मा गरेर राखिएका सामनहरुको चोरीका कारण घाटा भइरहेको गुनासो गरेका छन् ।
कवाडीहरु फलाम प्रतिकिलो ५० रुपैया ,प्लास्टिक प्रतिकिलो २० रुपैया , कागज प्रतिकिलो १५ देखि २० रुपैया र सिसाको बोतल प्रति गोटा १ देखि डेढ रुपैयाँमा खरिद गरेर संकलन केन्द्रलाई प्रतिकिलो ५ वा सो भन्दा बढी रुपैयाँमा बिक्री गर्ने गरेका छन् ।
कवाडीहरुका अनुसार बिहानैदेखि राम्ररी साइकलमा घुम्दा दैनिक ६ देखि ८ सय रुपैयाँसम्म आम्दानी हुने गरेको छ। घरपरिवार राम्ररी नै चलेकोले यस पेसाबाट सन्तुष्ट रहेको उनीहरू बताउँछन्।
गाउँ-गाउँबाट कवाडीहरु मार्फत संकलन केन्द्रमा जम्मा गरिएका पुराना सामाग्रीहरु संकलन केन्द्रले सम्बन्धित उद्योगमा पठाएर प्रशोधन गरी पुनः प्रयोगमा ल्याइन्छ।
No comments:
Post a Comment