Tuesday, November 14, 2023

नेपाली क्रिकेट टोलीका अलराउण्डर खेलाडी मलंगवाबासी गुल्सन झा लाई नेपाल पत्रकार महासंघ सर्लाही शाखाद्वारा गृह जिल्लामा अभिनन्दन

 नेपाली क्रिकेट टोलीका अलराउण्डर खेलाडी मलंगवाबासी गुल्सन झा लाई नेपाल पत्रकार महासंघ सर्लाही शाखाद्वारा गृह जिल्लामा अभिनन्दन 


मनोज यादव---

सर्लाही,कात्तिक २८

   नेपाली क्रिकेट टोलीका अलराउण्डर युवा खेलाडी गुल्सन झा लाई नेपाल पत्रकार महासंघ सर्लाही शाखाले सोमबार एक समारोहका बिच अभिनन्दन गरेको छ।

   सर्लाहीको चक्रघट्टा गाउँपालिका वडा न-७ सगरदिनामा जन्म भई सदरमुकाम मलंगवा नगरपालिका वडा न-८ मा बस्दै आएका क्रिकेटर झा लाई पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष टंक क्षेत्रीको अध्यक्षतामा आयोजना भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख कौशल किशोर सिंहले कदरपत्रसहित दोसल्ला ओढाएर अभिनन्दन गरेका हुन।

   घरेलु मैदानमा युएई सँग भएको एसिया कप छनोटको प्रतियोगितामा अलराउण्ड प्रदर्शन गरेका गुल्सन नेपाली खेलाडीहरुमाझ उत्कृष्ट घोषित भएका छन्। मिडल ओभरमा कसिलो बलिङ गर्दै विकेट लिने, अनि टिमलाई चाहिएको बेला जुनसुकै पोजिसनमा गएर ब्याटिङ गर्न सक्ने झा नेपाली क्रिकेट टिममा  पर्फेक्ट अलराउण्डरको रुपमा रहेका छन्। १७ वर्षका झा ले पहिलो पटक २०७७ मा भएको मेयर्स कपमा सबैको ध्यान तानेका थिए । नेपाल पुलिस क्लबबाट खेलेका उनले फाइनलमा सशस्त्र प्रहरी विरुद्ध उत्कृष्ट  बलिङ गर्दै नेपालका तत्कालीन प्रशिक्षकको ध्यान आफूतिर तानेका थिए ।

     उनी राष्ट्रिय टिममा परेपछि नेपाली टोलीले पछिल्लो एक वर्षमा पाएको अभूतपूर्व सफलतामा अभिन्न अंग बनेका छन् । लिग टुमा पछिल्ला १२ मध्ये ११ खेलमा जित तथा  हालै एसिया कपमा भारत र पाकिस्तान जस्ता बलिया टोलीसँग सम्मानजनक प्रदर्शनमा उनले राम्रो प्रदर्शन गरेर सबैको ध्यान आफु तिर तानेका छन् । गत असारमा जिम्बाव्वेमा भएको एकदिवसीय विश्वकप छनोटमा ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गर्दै गुल्सनले ५० ओभरको खेलमा अलराउण्डरको संकेत देखाइसकेका झा ले अहिले टी–२० विश्वकप छनोटमा पनि उस्तै खालको प्रदर्शन गरेका थिए ।

     अलराउण्डर क्रिकेटर झा ले आफ्नो खेल कौशल द्वारा सर्लाही जिल्लाको नाम नेपालमा मात्र नभइ  विश्वभरी चिनाउन सफल भएकोमा उनलाई थप हौसला प्रदान गर्न सम्मान स्वरुप अभिनन्दन गरिएको महासंघ सर्लाहीका अध्यक्ष क्षेत्रीले बताए ।

  जिल्ला समन्वय समितिको सभाहलमा आयोजना भएको उक्त कार्यक्रममा विशिष्ठ अतिथि प्रमुख जिल्ला अधिकारी कमल प्रसाद धमला,चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतो ,नागरिक समाजका अगुवा,पत्रकार महासंघ सर्लाही शाखाका पदाधिकारी लगायत संचारकर्मीहरुको उपस्थिति रहेको थियो।




No comments:

Post a Comment