Tuesday, May 20, 2025

लागूऔषधसहित दुई युवक पक्राउ

 








लोकतन्त्र समाचारदाता---
सर्लाही,जेठ ६

    सर्लाहीको पर्सा गाउँपालिका वडा न-६ स्थित गाउँपालिका चौकबाट लागूऔषधसहित दुई जना युवकलाई प्रहरीले पक्राउ गरेको छ।
   जिल्ला प्रहरी कार्यालय सर्लाही प्रवक्ता एवं डिएसपी सरोज राईका अनुसार सोमबार साँझ करिब ४ बजे भारतबाट नेपालतर्फ आउँदै गरेको BR-30-7016 नम्बरको मोटरसाइकललाई शंका लागेर रोकेर चेकजाँच गर्दा मोटरसाइकल पछाडि सवार ब्रह्मपुरी गाउँपालिका वडा न-६  बस्ने सुनिल कुमार यादवको छोरा अन्दाजी बर्ष २२ को राहुल कुमार यादवको पाइन्टको गोजीबाट नाइट्राभेट ट्याबलेट ४१ पाता (१२३० पिस), स्पाइस ७ पाता (१६८ पिस) र सिनारेक्स १०० एमएलको एक बोतल फेला परेको  छ। खानतलासीको क्रममा मोटरसाइकल चालक सोही ठाउँका  बेचन राय यादवको छोरा अन्दाजी बर्ष १९ को रबि कुमार यादवको साथबाट भने केही फेला नपरेको डिएसपी राईले जानकारी दिए।
    पक्राउ परेका दुवै युवालाई लागूऔषधसम्बन्धी मुद्दामा अनुसन्धान गर्न जिल्ला अदालत सर्लाहीबाट ७ दिनको म्याद थप गराइ हिरासतमा राखिएको प्रहरीले जनाएको छ।


बलरामा करेन्ट लागेर पुजारीको मृत्यु

 


लोकतन्त्र समाचारदाता---

सर्लाही, जेठ ६ 

   

सर्लाहीको बलरा नगरपालिका वडा न-५ मा करेन्ट लागेर एक वृद्ध पुजारीको भएको छ। मृत्यु हुनेमा गोडैता-२ निवासी ७० वर्षीय महादेव महतो रहेका छन् ।

      बलरा-५ स्थित महतो टोलमा स्थानीय  विजय महतोको घरमा पूजा गर्न गएका पुजारी महतोलाई आज(मंगलबार) अपराह्न पौने २:४५ बजे पूजा सम्पन्न भएपछि पानी खान मोटर जडान गरिएको धारातर्फ जाँदा अचानक करेन्ट लागेको प्रत्यक्षदर्शीहरुलाई उदृत गर्दे प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार घाइते अवस्थामै उनलाई प्रादेशिक अस्पताल मलंगवा पुर्‍याइएको थियो। तर, उपचारकै क्रममा चिकित्सकले दिउँसो सवा ३ बजे उनलाई मृत घोषणा गरेका थिए।

    हाल शव अस्पतालमै राखिएको छ ।


लालबन्दीमा ११२ केजी गाजासहित एक जना पक्राउ

 


लोकतन्त्र समाचारदाता---

सर्लाही,जेठ ६

   सर्लाहीको लालबन्दी नगरपालिका वडा न-१४ स्थित डाइनेखोलाबाट प्रहरीले सोमबार ठूलो परिमाणमा लागू औषध गाजा बरामद गरेको छ। गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको टोलीले ११२.७८ केजी गाजासहित एक जनालाई पक्राउ गरेको हो।

    राति करिब १० बजे भारततर्फ ओसारपसार हुँदै गरेको गाजाको खोजी गर्ने क्रममा भारतीय नम्बर प्लेट BR 32 AN 0817 भएको स्कार्पियो र लु ३३ प ३८९४ नम्बरको पल्सर मोटरसाइकल डाइनेखोलामा फेला परेको थियो। सवारीसाधन छाडेर भाग्न खोजेका लालबन्दी न.पा-१४ निवासी ४२ वर्षीय सोमबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ।

   पक्राउ परेका तामाङले सो स्कार्पियोमा गाजा रहेको स्वीकार गरेपछि प्रहरीले खानतलासी गर्दा गाडीको डिक्कीमा रातो प्लास्टिकमा प्याक गरिएका २१ वटा पोका फेला पारेको थियो। ती पोका खोल्दा गाजा जस्तो देखिने पदार्थ भेटिएको र स्थानीय जनप्रतिनिधिको रोहबरमा तौल गर्दा कुल ११२.७८ केजी गाजा रहेको पुष्टि भएको प्रहरीले जनाएको छ।

  हाल पक्राउ परेका तामाङलाई आवश्यक अनुसन्धानका लागि अदालतबाट ९ दिनको म्याद लिइ प्रहरीको हिरासतमा राखिएको छ।  स्कार्पियो, मोटरसाइकल र बरामद गाजा इलाका प्रहरी कार्यालय लालबन्दीमा राखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी सरोज राईले लोकतन्त्रलाई जनाएको छ।


Thursday, May 8, 2025

चन्द्रनगरमा पहिलो पटक वृहत् खुल्ला रक्तदान कार्यक्रम सम्पन्न, ६० जनाले गरे रक्तदान

 



लोकतन्त्र समाचारदाता-----

सर्लाही,बैशाख २५

     "रक्तदान जीवनदान" भन्ने सन्देशलाई आत्मसात गर्दै विश्व रेडक्रस दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी चन्द्रनगर उपशाखा र चन्द्रनगर गाउँपालिकाको संयुक्त आयोजना तथा नेपाल शिक्षक महासंघ चन्द्रनगरको सहकार्यमा बिहीबार वृहत् खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

   गाउँपालिका कार्यालय नजिक रहेको नाढीमन ताल छेउमा आयोजना गरिएको कार्यक्रममा ११ जना महिला र ४९ जना पुरुष गरी जम्मा ६० जनाले रक्तदान गरेका थिए। 

   कार्यक्रममा रेडक्रस उपशाखा चन्द्रनगरका सभापति सरोज कुमार सिंहले अध्यक्षता गर्नुभएको थियो भने प्रमुख अतिथ्यता गाउँपालिका अध्यक्ष राजकुमार महतोको रहेको थियो। प्रमुख अतिथि महतोले उपशाखाले स्थापना भएको पहिलो वर्षमै यति ठूलो रक्तदान कार्यक्रम आयोजना गरेकोमा प्रशंसा गर्दै धन्यवाद दिनुभयो।

  कार्यक्रममा रक्तदान गर्ने दाताहरुलाई र कार्यक्रम सफल बनाउन सहयोग गर्ने स्थानीय जनप्रतिनिधि, कर्मचारी तथा पत्रकारहरुलाई कदरपत्र प्रदान गरेर सम्मान गरिएको थियो।

   यस कार्यक्रमले गाउँमा रक्तदानको महत्वबारे जनचेतना फैलाउन ठूलो योगदान दिएको सहभागीहरुले बताएका छन्।


Monday, May 5, 2025

सर्लाहीमा प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्काको स्वागत तथा पदभार ग्रहण

 


लोकतन्त्र समाचारदाता

सर्लाही, वैशाख २२


  जिल्ला प्रहरी कार्यालय सर्लाहीको प्रमुखको रूपमा प्रहरी उपरीक्षक (एसपी) योगेन्द्र कुमार खड्काले पदभार ग्रहण गर्नु भएको छ। नेपाल प्रहरी प्रधान कार्यालय, मानव स्रोत तथा प्रशासन विभाग अन्तर्गत कर्मचारी प्रशासन शाखा नक्सालको आदेशानुसार उहाँ सर्लाहीमा सरुवा भई आउनु भएको हो।


उहाँको आगमनको अवसरमा सोमबार मलंगवा स्थित जिल्ला प्रहरी कार्यालयमा एक औपचारिक स्वागत कार्यक्रमको आयोजना गरिएको थियो। कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका विभिन्न अधिकृतहरू तथा अन्य सुरक्षाकर्मीहरूको उपस्थिति रहेको थियो।

    स्वागत कार्यक्रममा उपस्थितहरुले नवपदस्थ प्रहरी उपरीक्षक खड्कालाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै जिल्लामा शान्ति सुरक्षा र सुशासन कायम गर्न उहाँको नेतृत्वमा प्रहरी प्रशासन सफल हुने विश्वास व्यक्त गरेका थिए।



Saturday, May 3, 2025

सर्लाहीको पर्साबाट पेस्तोलसहित एक युवक पक्राउ

 



लोकतन्त्र समाचारदाता----
सर्लाही, वैशाख २०

     सर्लाहीको पर्सा गाउँपालिका वडा न-२ स्थित रहेको रबि होटलबाट एक युवक हतियार सहित पक्राउ परेका छन्। विशेष सुराकीको आधारमा गएको प्रहरी टोलीले शनिबार साँझ अन्दाजी ५:१५ बजे सोही पालिकाको वडा न-४ बस्ने  राजदेव साहका २३ वर्षीय छोरा दिपक साहलाई नियन्त्रणमा लिएको हो।
    नारायणपुर प्रहरी चौकीबाट  खटिएको टोलीले साहलाई सानो कटुवा पेस्तोल एक थान र त्यसमा प्रयोग हुने गोली एक थान सहित फेला पारेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
   पक्राउ परेका साहलाई जिप्रका मलंगवाको हिरासतमा राखि थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता एवं डिएसपी सरोज राईले जानकारी दिएको छ।