लालबन्दीमा ११२ केजी गाजासहित एक जना पक्राउ
लोकतन्त्र समाचारदाता---
सर्लाही,जेठ ६
सर्लाहीको लालबन्दी नगरपालिका वडा न-१४ स्थित डाइनेखोलाबाट प्रहरीले सोमबार ठूलो परिमाणमा लागू औषध गाजा बरामद गरेको छ। गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको टोलीले ११२.७८ केजी गाजासहित एक जनालाई पक्राउ गरेको हो।
राति करिब १० बजे भारततर्फ ओसारपसार हुँदै गरेको गाजाको खोजी गर्ने क्रममा भारतीय नम्बर प्लेट BR 32 AN 0817 भएको स्कार्पियो र लु ३३ प ३८९४ नम्बरको पल्सर मोटरसाइकल डाइनेखोलामा फेला परेको थियो। सवारीसाधन छाडेर भाग्न खोजेका लालबन्दी न.पा-१४ निवासी ४२ वर्षीय सोमबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ परेका तामाङले सो स्कार्पियोमा गाजा रहेको स्वीकार गरेपछि प्रहरीले खानतलासी गर्दा गाडीको डिक्कीमा रातो प्लास्टिकमा प्याक गरिएका २१ वटा पोका फेला पारेको थियो। ती पोका खोल्दा गाजा जस्तो देखिने पदार्थ भेटिएको र स्थानीय जनप्रतिनिधिको रोहबरमा तौल गर्दा कुल ११२.७८ केजी गाजा रहेको पुष्टि भएको प्रहरीले जनाएको छ।
हाल पक्राउ परेका तामाङलाई आवश्यक अनुसन्धानका लागि अदालतबाट ९ दिनको म्याद लिइ प्रहरीको हिरासतमा राखिएको छ। स्कार्पियो, मोटरसाइकल र बरामद गाजा इलाका प्रहरी कार्यालय लालबन्दीमा राखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी सरोज राईले लोकतन्त्रलाई जनाएको छ।
No comments:
Post a Comment