चन्द्रनगरमा पहिलो पटक वृहत् खुल्ला रक्तदान कार्यक्रम सम्पन्न, ६० जनाले गरे रक्तदान
लोकतन्त्र समाचारदाता-----
सर्लाही,बैशाख २५
"रक्तदान जीवनदान" भन्ने सन्देशलाई आत्मसात गर्दै विश्व रेडक्रस दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी चन्द्रनगर उपशाखा र चन्द्रनगर गाउँपालिकाको संयुक्त आयोजना तथा नेपाल शिक्षक महासंघ चन्द्रनगरको सहकार्यमा बिहीबार वृहत् खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
गाउँपालिका कार्यालय नजिक रहेको नाढीमन ताल छेउमा आयोजना गरिएको कार्यक्रममा ११ जना महिला र ४९ जना पुरुष गरी जम्मा ६० जनाले रक्तदान गरेका थिए।
कार्यक्रममा रेडक्रस उपशाखा चन्द्रनगरका सभापति सरोज कुमार सिंहले अध्यक्षता गर्नुभएको थियो भने प्रमुख अतिथ्यता गाउँपालिका अध्यक्ष राजकुमार महतोको रहेको थियो। प्रमुख अतिथि महतोले उपशाखाले स्थापना भएको पहिलो वर्षमै यति ठूलो रक्तदान कार्यक्रम आयोजना गरेकोमा प्रशंसा गर्दै धन्यवाद दिनुभयो।
कार्यक्रममा रक्तदान गर्ने दाताहरुलाई र कार्यक्रम सफल बनाउन सहयोग गर्ने स्थानीय जनप्रतिनिधि, कर्मचारी तथा पत्रकारहरुलाई कदरपत्र प्रदान गरेर सम्मान गरिएको थियो।
यस कार्यक्रमले गाउँमा रक्तदानको महत्वबारे जनचेतना फैलाउन ठूलो योगदान दिएको सहभागीहरुले बताएका छन्।
No comments:
Post a Comment