Tuesday, January 30, 2024

सर्लाहीको हरिवनमा महा आइशर तीनदिने एक्सचेञ्ज मेला सुरू

 सर्लाहीको हरिवनमा महा आइशर तीनदिने एक्सचेञ्ज  मेला सुरू



लोकतन्त्र समाचारदाता---

सर्लाही,माघ १६

    सर्लाहीको हरिवनमा तीनदिने महा आइशर एक्सचेञ्ज  मेला सुरु भएको छ। नेपालका लागि आइशर कमर्सियल भेइकलको एकमात्र आधिकारिक वितरक बतास एम.ए.डब्लू. कमर्सिअल भेईकल प्रा.लि.ले वडा न-११ मा रहेको बराईली ईन्जिनियरीङ्ग वर्कशपमा सो मेलाको आयोजना गरेको हो।

   बराईली ईन्जिनियरीङ्गका संचालक किशोर बराईलीको अध्यक्षतामा मंगलबार दिउँसो सम्पन्न भएको समारोहका बिच प्रमुख अतिथि नगरप्रमुख रमेश बुढाथोकी, विशिष्ट अतिथि नगर उपप्रमुख हरिमाया घलान,पुर्व प्रदेश सभा सदस्य डिल्ली प्रसाद उप्रेती ,समाजसेवी चुडामणी वाग्ले,बिदुर प्याकुरेल ,हरिवन न.पा वडा न-११ का वडाअध्यक्ष शेख मेहमुद रेजा र बतास एम.ए.डब्लू. कमर्सिअल भेईकल प्रा.लि का प्रतिनिधिले संयुक्तरूपमा रिबन काटेर मेलाको औपचारिक रुपमा उद्घाटन गरेका थिए। 

     कार्यक्रममा बराईली ईन्जिनियरीङ्गका संचालक बराईलीले आइशर गाडीको माइलेज ,पावर र विशेषताहरु बारे जानकारी गराउँदै  तीन दिनसम्म चल्ने यस मेलाबाट ग्राहकले भरपुर फाइदा लिन सक्ने बताउनुभयो । यस्तो मेलाले मध्यम वर्गका ग्राहकले पनि सजिलै स्वरोजगार भई आत्मनिर्भर हुने उहाँले जानकारी दिनुभयो।२५ लाख रुपैयाँको आकस्मिक बीमाले चालकहरुमा थप उर्जाको संचार समेत हुने बराईलीले बताउनुभयो ।

   

आइशरले आफ्ना ग्राहकको आवश्यकतालाई महसुस गर्दै यस्ता किसिमका कार्यक्रम समयसापेक्ष आयोजना गर्दै आएकोले नेपालसहित विश्वबजारमा आइशर ग्राहकहरुको पहिले रोजाई बन्दै आइरहेको छ।क्यासलेश योजना मार्फत् दुर्घटना भएको खण्डमा आइशर मोटर्सका गाडीका खरिदकर्ताहरू बतास एम.ए.डब्लूका आधिकारिक सर्भिस सेन्टरहरूमा सिधै गई गाडी मर्मत वा बीमा रकम दाबी गर्न सक्नेछन् ।

क्यासलेश इन्स्योरेन्स अन्तरगत ग्राहकले सवारीसाधन दुर्घटनामा परेको खण्डमा सोझै आइशरको आधिकारिक वर्कसपमा गई मर्मत गराउन सक्नेछन् र ग्राहकले बिमा रकमबाहेकको रकम मात्र तिर्नुपर्ने हुन्छ । बाँकी रकम बिमा कम्पनी र बतास एम.ए.डब्लूबीच कारोबार हुनेछ। 

    सो मेला माघ १६ गतेदेखि १८ गतेसम्म सञ्‍चालन हुनेछ ।


सर्लाहीमै यातायात व्यवस्था कार्यालय संचालनमा आए देखि जिल्लाका हजारौं जनतालाई सहज

 सर्लाहीमै यातायात व्यवस्था कार्यालय संचालनमा आए देखि जिल्लाका हजारौं जनतालाई सहज


मनोज यादव---



सर्लाही,माघ १६

    सर्लाहीमा यातायात व्यवस्था कार्यालय संचालनमा आएपछि जिल्लाका हजारौं नागरिकहरुलाई सहज भएको छ । मधेश प्रदेश सरकारले  २०८० साल मंसिर १७ गते जिल्लाको सदरमुकाम मलंगवामा प्रदेश सरकारको श्रम तथा यातायात मन्त्रालय मातहतको यातायात कार्यालय संचालनमा ल्याएपछि यातायात सम्बन्धी सम्पूर्ण कामका लागि अन्यत्र जानुपर्ने बाध्यता हटेको छ। 

     मलंगवा नगरपालिका वडा न-१०  स्थित जिल्ला समन्वय समितिको भवनमा रहेको यस कार्यालयबाट दैनिक ७० देखि ७५ जनाले सेवा लिँदै आएको कार्यालय प्रमुख राकेश यादवले बताए। हाल यस कार्यालयबाट ट्रायल लिने ठाउँ तयार नभइ सकेकोले नयाँ लाइसेन्स बनाउने काम र मेकेनिकल सुपरभाइजर आइनसकेकोले सवारीसाधनको जाँच पास बाहेक सेवाग्राहीलाई  लाइसेन्स नवीकरण, सवारी नामसारी, रुट परमिट,सवारी साधनको कर तिर्ने लगायतका यातायात सम्बन्धि सेवाहरु प्रदान गर्दै आएको  यादवले बताए । चालु आर्थिक वर्षको मंसिर मसान्तदेखि हलसम्ममा करिब ५६ लाख रुपैयाँ राजस्व आम्दानी गरेको यस कार्यालयको सेवाबाट  सेवाग्राहीहरु सन्तुष्ट रहेको कार्यालय प्रमुख यादवले बताए ।

     आफ्नै जिल्लाबाट यातायात सम्बन्धि सम्पूर्ण सेवाहरु पाउन थालेपछि  सेवाग्राहीहरु समेत उत्साहित भएका छन्। राजश्व तिर्नुपर्ने शुल्क भन्दा बढी खर्च जान आउन र खान बस्नमै हुने गरेको कार्यालय परिसरमा भेटिएका एक सेवाग्राहीले बताए । समय पनि कम लाग्ने र छिटो छरितो रुपमा सेवा पाउन थालेपछि सेवाग्राही उत्साहित भएका हुन । 

    यसअघि सर्लाही जिल्लाका सेवाग्राहीलाई महोत्तरीको बर्दिबास,जनकपुरधाम,रौतहटको गौर र बिरगंज जानुपर्ने अवस्था थियो । 

  



 












Sunday, January 28, 2024

मलंगवाका कालिगढहरुलाई देवी सरस्वतीको मुर्ति बनाउन भ्याइनभ्याइ

 मलंगवाका कालिगढहरुलाई देवी सरस्वतीको मुर्ति  बनाउन भ्याइनभ्याइ


मनोज यादव----

सर्लाही,माघ १४

    जतिजति विद्याकी देवी सरस्वतीको पूजा नजिकिदै गइरहेको छ त्यति-त्यति कालिगढ (मूर्तिकार)हरूको मूर्ति बनाउने गति बढी रहेको छ।उनीहरु यतिबेला विभिन्न आकार-प्रकारका देवी सरस्वतीको मुर्ति बनाउन व्यस्त भएका छन् । सरस्वती पूजा नजिकिदै गर्दा राम्रो आम्दानी लिन आकर्षक मूर्ति बनाउन उनीहरु व्यस्त भएका हुन् । 

    विद्यालयहरुमा देवी सरस्वतीको पूजाको लागि मुर्तिको प्रयोग गरिने भएकाले देवीको मूर्ति बनाउन कालिगढहरु दिनरात लागिपरेका छन् ।

मूर्तिको आकार हेरेर मूल्य तोकिने गरिन्छ। एउटा मुर्ति २ हजार देखि १४  हजार सम्ममा बिक्री हुने गरेको मलंगवा नगरपालिका वडा न-४ का मुर्तिकार राम ईशवर पंडितले बताए ।गणेश पुजा,कृष्ण जन्माष्टमी,विश्वकर्मा पुजा र दुर्गा पुजामा गरि जम्मा  करिब २ देखि ३ लाख  रुपैयाँसम्मको मूर्ति बिक्री हुने गरेको    उनले बताए । 

   मुर्ति बनाउन एकजनाले मात्र नसक्ने भएकोले घर परिवारकै सदस्य र सहयोगी कालिगढ राखेर मूर्ति बनाउन लागेको लक्ष्मी पंडितले बताए । सरस्वती पुजाको लागि भनेर 

विगतको भन्दा यस वर्ष बढी मुर्तीहरुको अर्डर आएको पंडितले बताए । उनले वर्षभरी मूर्ति बेचेर वार्षिक तीन लाखसम्म आम्दानी गर्ने गरेको बताए ।  

   खासगरी कुम्हार जातीले मात्र मुर्ति बनाउने गरेपनि केहि समययता अन्य जाती समुदायहरुले पनि मुर्ति  बनाउने पेशा अपनाउन थालेका छन् । 

   अधिकांश निजी तथा सामुदायिक विद्यालयहरुले सरस्वती पूजाको लागि  आफ्नो चाहना अनुसारको मुर्ति बनाइदिन भन्दै एक-डेढ  महिना अगावै मुर्तिकारलाई अर्डर दिने गरेका छन् ।विद्यालय बाहिर टोल बस्तीमा गरिने पुजाको लागि भने पुजाको एकदिन अगाडी बिक्री स्थलमा गएर आफ्नो आर्थिक सामर्थ्यले भ्याउने मुर्ति छानेर खरिद गर्ने गरेका छन् ।

     मुर्तिको साइज हेरेर ३ हजार देखि १० हजार र सो भन्दा बढी मुल्य पर्ने गरेको मुर्तिकार   ले बताए।  अर्डर राम्रो आए र बनाएको मुर्ति जति सबै बिक्री भएको खण्डमा सिजनमा सबै खर्च कटाएर करिब १ लाख बराबरको आम्दनी हुने गरेको उनले बताए ।मुर्ती पेशाबाट आफुहरु संतुष्ट रहेको घरपरिवार पनि राम्रै चलेको उनीहरुले बताएका छन् ।



  



 


नेपाल भारत मैत्री संघले मनाए भारतको ७५ औं गणतन्त्र दिवस

 नेपाल भारत मैत्री संघले मनाए भारतको ७५ औं गणतन्त्र दिवस 



लोकतन्त्र समाचारदाता---

सर्लाही ,माघ १४

      नेपाल भारत मैत्री संघ शाखा सर्लाहीले जिल्लाको सदरमुकाम मलंगवामा मित्र राष्ट्र भारतको ७५ औं  गणतन्त्र दिवस  मनाएको छ । संघका जिल्ला अध्यक्ष  सत्यनारायण अग्रवालको अध्यक्षतामा मलंगवा-३ स्थित महेन्द्र होटलको सभाहलमा अन्तरक्रिया कार्यक्रमहरुको आयोजना गरि दिवस मनाइएको हो ।

   कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल किशोर सिंह,विशिष्ट अतिथि जिसस उपप्रमुख जितेन्द्र कुशवाहा सहित अतिथिहरु प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमला,मलंगवा नगरपालिकाकी उपप्रमुख शकुन्तला देवी साह,प्रहरी उपरीक्षक प्रविण धिताल,सशस्त्र प्रहरी उपरीक्षक तुल बहादुर भण्डारी,उप-अनुसंधान निरिक्षक संतोष ढुंगेल ,भुपु सर्लाही क्याम्पस प्रमुख कृष्णदेव यादव,रामबाबु साह कलवार,प्राधानाध्यापक तिलक क्षेत्री,गौतम सर्राफ लगायतले नेपाल-भारत बिचको सम्बन्ध तथा मित्रताको बारेमा चर्चा गरेका थिए ।  

   कार्यक्रमको उद्घाटन संघका अध्यक्ष अग्रवाल ,प्रमुख अतिथि सिंह,विशिष्ट अतिथि कुशवाहा र प्रजिअ घमलासहितका अतिथिहरुले भारतका राष्ट्रपिता महात्मा गाँधीको तश्विरमा माल्यार्पन गरेर गरेका थिए। सोही अवसरमा द सगरमाथा आधारभुत अंग्रेजी विद्यालयका विद्यार्थीहरुले दुबै मित्र राष्ट्रको सम्मानमा दुवै देशको राष्ट्रिय गान गाएर कार्यक्रमको शोभा बढाएका थिए।

   संघका सचिव सुवोधहरि राजोपाध्यायले स्वागत मन्तव्य राखेको कार्यक्रमको  संचालन नागरिक समाज सर्लाहीका महासचिव शिवचन्द्र चौधरीले गरेका थिए।

चिसो बढ्न थालेपछि जेसिज द्वारा मलंगवामा निःशुल्क दाउरा वितरण

 चिसो बढ्न थालेपछि जेसिज द्वारा मलंगवामा निःशुल्क दाउरा वितरण



लोकतन्त्र समाचारदाता---

सर्लाही,माघ १४

    अत्यधिक रुपमा शीतलहर बढ्न थालेपछि मलंगवा जेसिजले सर्लाहीको सदरमुकाम मलंगवा स्थित विभिन्न स्थानमा निःशुल्क दाउरा वितरण गरेको छ। मलंगवा जेसिजले आफ्नो विजनेस पार्टनर डिस होम फाइबर नेट सर्लाहीसँगको साझेदारी तथा लालबन्दी साझेदारी वन व्यवस्थापन समुहको सहयोगमा शनिवार मानिसहरूको बढी उपस्थित रहने मलंगवा बजारको विभिन्न स्थानमा दाउरा वितरण गरेकि हो। सुरु गरेको हो ।

   शीतलहरमा सर्वसाधारण  नागरिकलाई सहज होस् भनेर दाउरा वितरण गरेको मलंगवा जेसिज २०२४ का अध्यक्ष दिलिप कुमार झाले बताए।

शीतलहर बढेर चिसोको प्रभाव बढेपछि जेसिज द्वारा  मलंगवाको करिब १ दर्जन भन्दा बढी स्थानम दाउरा वितरण गरिएको छ । चौक चौकमा ताप्नको लागि दाउरा पाएपछि स्थानीय नागरिकहरु खुसी भएका छन् । 

   शनिवार बिहानैदेखि सुरु गरिएको दाउरा वितरण कार्यक्रममा मलंगवा जेसिज, मलंगवा जूनियर जेसिज लालबन्दी साझेदारी बन व्यवस्थापन समुहका भूपू अध्यक्ष अजय यादव,सचिव विनोद जैसवाल, वडा न-१० का वडाअध्यक्ष मुकेश झा,डिसहोमका सुभास गुप्ता लगायत नेपाल प्रहरीको सहभागीता रहेको थियो। 

   मलंगवा जेसिजले यसअघि दुर्घटना न्युनिकरणका लागि मलंगवाको अतिव्यस्त स्थानमा जेब्रा क्रसिंङ समेत बनाएका थिए।






मानव बेचबिखन रोकथामका लागि यातायात श्रमिकसँग छलफल

 मानव बेचबिखन रोकथामका लागि यातायात श्रमिकसँग छलफल 



लोकतन्त्र समाचारदाता---

सर्लाही,माघ १४

  नेपाल -भारत सिमा क्षेत्रमा चल्ने सार्वजनिक सवारीसाधनका यातायात श्रमिकहरु सँग बालश्रम शोषण तथा मानव बेचबिखन विरुद्धको सवालमा छलफल गरिएको छ। संरक्षण नेपाल कलैया ,बाराले युनिसेफ र एटविनको सहयोगमा शनिवार मलंगवामा अभिमुखिकरण कार्यक्रमको आयोजना गरि यातायात श्रमिकहरु सँग सो सवालमा छलफल गरिएको हो ।

     मजदुर अटो संघका इन्चार्ज इन्द्रजित साहको अध्यक्षता तथा  मलंगवा नगरपालिकाकी उपप्रमुख शकुन्तला देवी साहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संरक्षण नेपाल बारा कलैयाका कार्यक्रम अधिकृत मुकेश कुशवाहाले  मानव बेचबिखन तथा ओसारपसार बारे बनाइएको कानुन र यसलाई रोक्न गरिएको प्रयास र गर्न सकिने प्रयासको बारेमा सहभागी यातायात श्रमिकहरुलाई जानकारी गराएका थिए। उपस्थित सहभागीहरुले पनि मानव बेचबिखन रोकथामका लागि उनीहरूले खेलेको भुमिकाको बारेमा जानकारी गराउँदै यसप्रति थप गम्भित भएर लाग्नु पर्ने सुझाव दिएका थिए।

    संरक्षण नेपालका प्रभंस साहले संचालन गरेको कार्यक्रममा मलंगवादेखि नेपाल-भारत सिमानाका अन्तर्गत चल्ने सार्वजनिक सवारीसाधनका चालकहरु जितेन्द्र यादव,गणेश यादव,भुवन यादव लगायत ३० जना चालकहरुको उपस्थिति रहेको थियो।कार्यक्रममा नेपाल भारत लजको सभाहलमा सम्पन्न भएको थियो।






Friday, January 26, 2024

धरौटीमा रिहा भए धनकौलका वडाध्यक्ष गजेन्द्र महतो

 धरौटीमा रिहा भए धनकौलका वडाध्यक्ष गजेन्द्र महतो

   

लोकतन्त्र समाचारदाता---

सर्लाही, माघ १२

      ज्यान मार्ने उद्योग तथा अंगभंग मुद्दामा पुर्पक्षका लागि कारागारमा रहेका धनकौल गाउँपालिका वडा न-५ हरकठवाका वडाध्यक्ष उदय भन्ने गजेन्द्र महतोलाई अदालतले धरौटीमा रिहा गरेको छ।उच्च अदालत जनकपुरको अस्थायी इजलास विरगंजले महतोलाई थुनामा राख्न मुनासिब नदेखिएको भन्दै धरौटी लिएर तारिखमा राखी मुद्दाको पुर्पक्ष गर्ने गरि थुनामुक्त गर्न दिएको आदेश पछि शुक्रवार उनी कारागार मुक्त भएका हुन।

   उच्च अदालत जनकपुरको न्यायाधिश बलभद्र बास्तोला र मेहन्द्रनाथ उपाध्यायको संयुक्त इजलाशले सर्लाही जिल्ला अदालतको २०८० कार्तिक २१ गतेको आदेशलाई बदर गर्दै निज प्रतिबादी उदय भन्ने गजेन्द्र महतोलाई मुलुकी फौैजदारी कार्य विधि संहिता २०७४ को, दफा ६८ र ७२ समेतका आधारमा दुई लाख पचास हजार नगद वा जेथा जमानत गरी निज प्रतिवादीलाई तारेखमा रिहा गर्न विहिवार आदेश जारी गरेका थिए । सोही आदेशको आधारमा जमानत बापत  २ लाख ५० हजार रुपैया नगद धरौटी राखेपछि  मलंगवा कारागारमा रहेका वडाअध्यक्ष महतो शुक्रवार दिउँसो  रिहा भएका छन् ।

    महतो २०७९ को स्थानीय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र) बाट वडाध्यक्षमा निर्वाचित भएका हुन। केही महिना अगाडी गाउँमा झै झगडा हुँदा केही मानिसहरु घाइते हुने गरी भएको घटनामा वडाध्यक्ष महतो समेत संलग्न रहेको भनी जिल्ला प्रहरी कार्यालयमा ज्यान मार्ने उद्योग तथा अंगभंग कसुरमा मुद्दा दायर भएको थियो ।मुद्दा दायर भएदेखि फरार रहेका महतो अदालतमा आफैँ उपस्थित भएपछि अदालतको इजलासले उनलाई पूर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको थियो।  अदालतको आदेश अनुसार वडाध्यक्ष महतोलाई गौर कारागारमा राखिएको थियो ।गत ७ गते  मलंगवामा नवनिर्मित कारागारको उदघाटन भएपछि महतोलाई मलंगवा ल्याइएको थियो ।

    गत कार्तिक २१ गते सर्लाही जिल्ला अदालतका न्यायाधीश सूर्यबहादुर थापाको इजलासले वडाध्यक्ष महतोलाई ज्यान मार्ने उद्योग तथा अंगभंग कसुरमा पूर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएका थिए ।

    वडअध्यक्ष महतोले आफू विरुद्ध गम्भीर राजनीतिक षड्यन्त्र गरेर फसाईको बताएका छन् । आफू सधै अहिंसालाई मान्ने व्यक्ति भएकोले जानी जानी मलाई फसाएपनि कुनै पनि राजनीतिक दल प्रति पूर्वाग्राही नभइ जनता प्रति सधै नकमस्तक रहेर काम गर्ने प्रतिबद्धता जनाएका छन्  ।