Tuesday, June 25, 2024

कबिलासीका न्यायिक समिति र जनप्रतिनिधिको लागि ३ दिने न्याय सम्पादन सम्बन्धी तालिम सुरु

  

 

लोकतन्त्र समाचारदाता---

सर्लाही,असाढ ११

     सर्लाहीको कबिलासी नगरपालिकाका न्यायिक समिति र वडाका जनप्रतिनिधिहरुको लागि न्याय सम्पादन सम्बन्धी ३ दिने तालिम मंगलबारबाट सुरु भएको छ । 

कविलासी नगरपालिकाले सामाजिक विकास केन्द्र नेपाल मलंगवासँग सहकार्य गरी आफ्ना न्यायीक समितिका सदस्य र वडाअध्यक्षहरुलाई तालिम दिन सुरु गरेको हो । 

     जिल्लाको सदरमुकाम मलंगवा स्थित सुजाता होटलमा संचालन भइरहेको तालिममा १२ वटा वडाका वडाअध्यक्ष र न्यायीक समितिका सदस्यहरु गरि २० जना सहभागी भएका छन् ।

    उक्त  तालिमको मंगलबार बिहान उपमेयर एवं न्यायीक समितिका संयोजक पुनम कर्णको अध्यक्षता,जिल्ला समन्वय समितिका प्रमुख कौशल किशोर सिंहको प्रमुख आतिथ्यता तथा विशिष्ट अतिथि नगरप्रमुख ब्रम्हदेव राय, कार्यपालिका सदस्य विनय कर्ण, प्रमुख प्रशासकीय अधिकृत विष्णु यादव,सामाजिक अभियन्ता एवं सामाजिक विकास केन्द्रका कार्यक्रम अधिकृत विरेन्द्र गुप्ताकोसहितको उपस्थितिमा उद्घाटन गरिएको हो। 

    असाढ १३ गतेसम्म संचालन हुने तालिममा स्थानीय तहमा न्याय सम्पादन,संवैधानिक व्यवस्था ,कानुनी व्यवस्था ,न्यायीक समितिको गठन ,अधिकार क्षेत्र, न्याय सम्पादन प्रक्रिया तथा कार्यविधि ,समस्या र समाधानका उपायहरुको साथै न्यायीक कार्य सम्बन्धि विभिन्न व्यवस्थाहरुको बारेमा बारेमा जानकारी गराइने न्यायीक समितिका संयोजक एवं उपप्रमुख कर्णले बताए।

   उक्त तालिममा जिल्ला अदालत सर्लाहीका न्यायाधीश विष्णु रेग्मी र इजलास समितिका सिकिन्दर कापडले सहभागीहरुलाई सहजीकरण गरिरहेका छन् । 


No comments:

Post a Comment