Sunday, January 28, 2024

मलंगवाका कालिगढहरुलाई देवी सरस्वतीको मुर्ति बनाउन भ्याइनभ्याइ

 मलंगवाका कालिगढहरुलाई देवी सरस्वतीको मुर्ति  बनाउन भ्याइनभ्याइ


मनोज यादव----

सर्लाही,माघ १४

    जतिजति विद्याकी देवी सरस्वतीको पूजा नजिकिदै गइरहेको छ त्यति-त्यति कालिगढ (मूर्तिकार)हरूको मूर्ति बनाउने गति बढी रहेको छ।उनीहरु यतिबेला विभिन्न आकार-प्रकारका देवी सरस्वतीको मुर्ति बनाउन व्यस्त भएका छन् । सरस्वती पूजा नजिकिदै गर्दा राम्रो आम्दानी लिन आकर्षक मूर्ति बनाउन उनीहरु व्यस्त भएका हुन् । 

    विद्यालयहरुमा देवी सरस्वतीको पूजाको लागि मुर्तिको प्रयोग गरिने भएकाले देवीको मूर्ति बनाउन कालिगढहरु दिनरात लागिपरेका छन् ।

मूर्तिको आकार हेरेर मूल्य तोकिने गरिन्छ। एउटा मुर्ति २ हजार देखि १४  हजार सम्ममा बिक्री हुने गरेको मलंगवा नगरपालिका वडा न-४ का मुर्तिकार राम ईशवर पंडितले बताए ।गणेश पुजा,कृष्ण जन्माष्टमी,विश्वकर्मा पुजा र दुर्गा पुजामा गरि जम्मा  करिब २ देखि ३ लाख  रुपैयाँसम्मको मूर्ति बिक्री हुने गरेको    उनले बताए । 

   मुर्ति बनाउन एकजनाले मात्र नसक्ने भएकोले घर परिवारकै सदस्य र सहयोगी कालिगढ राखेर मूर्ति बनाउन लागेको लक्ष्मी पंडितले बताए । सरस्वती पुजाको लागि भनेर 

विगतको भन्दा यस वर्ष बढी मुर्तीहरुको अर्डर आएको पंडितले बताए । उनले वर्षभरी मूर्ति बेचेर वार्षिक तीन लाखसम्म आम्दानी गर्ने गरेको बताए ।  

   खासगरी कुम्हार जातीले मात्र मुर्ति बनाउने गरेपनि केहि समययता अन्य जाती समुदायहरुले पनि मुर्ति  बनाउने पेशा अपनाउन थालेका छन् । 

   अधिकांश निजी तथा सामुदायिक विद्यालयहरुले सरस्वती पूजाको लागि  आफ्नो चाहना अनुसारको मुर्ति बनाइदिन भन्दै एक-डेढ  महिना अगावै मुर्तिकारलाई अर्डर दिने गरेका छन् ।विद्यालय बाहिर टोल बस्तीमा गरिने पुजाको लागि भने पुजाको एकदिन अगाडी बिक्री स्थलमा गएर आफ्नो आर्थिक सामर्थ्यले भ्याउने मुर्ति छानेर खरिद गर्ने गरेका छन् ।

     मुर्तिको साइज हेरेर ३ हजार देखि १० हजार र सो भन्दा बढी मुल्य पर्ने गरेको मुर्तिकार   ले बताए।  अर्डर राम्रो आए र बनाएको मुर्ति जति सबै बिक्री भएको खण्डमा सिजनमा सबै खर्च कटाएर करिब १ लाख बराबरको आम्दनी हुने गरेको उनले बताए ।मुर्ती पेशाबाट आफुहरु संतुष्ट रहेको घरपरिवार पनि राम्रै चलेको उनीहरुले बताएका छन् ।



  



 


नेपाल भारत मैत्री संघले मनाए भारतको ७५ औं गणतन्त्र दिवस

 नेपाल भारत मैत्री संघले मनाए भारतको ७५ औं गणतन्त्र दिवस 



लोकतन्त्र समाचारदाता---

सर्लाही ,माघ १४

      नेपाल भारत मैत्री संघ शाखा सर्लाहीले जिल्लाको सदरमुकाम मलंगवामा मित्र राष्ट्र भारतको ७५ औं  गणतन्त्र दिवस  मनाएको छ । संघका जिल्ला अध्यक्ष  सत्यनारायण अग्रवालको अध्यक्षतामा मलंगवा-३ स्थित महेन्द्र होटलको सभाहलमा अन्तरक्रिया कार्यक्रमहरुको आयोजना गरि दिवस मनाइएको हो ।

   कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल किशोर सिंह,विशिष्ट अतिथि जिसस उपप्रमुख जितेन्द्र कुशवाहा सहित अतिथिहरु प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमला,मलंगवा नगरपालिकाकी उपप्रमुख शकुन्तला देवी साह,प्रहरी उपरीक्षक प्रविण धिताल,सशस्त्र प्रहरी उपरीक्षक तुल बहादुर भण्डारी,उप-अनुसंधान निरिक्षक संतोष ढुंगेल ,भुपु सर्लाही क्याम्पस प्रमुख कृष्णदेव यादव,रामबाबु साह कलवार,प्राधानाध्यापक तिलक क्षेत्री,गौतम सर्राफ लगायतले नेपाल-भारत बिचको सम्बन्ध तथा मित्रताको बारेमा चर्चा गरेका थिए ।  

   कार्यक्रमको उद्घाटन संघका अध्यक्ष अग्रवाल ,प्रमुख अतिथि सिंह,विशिष्ट अतिथि कुशवाहा र प्रजिअ घमलासहितका अतिथिहरुले भारतका राष्ट्रपिता महात्मा गाँधीको तश्विरमा माल्यार्पन गरेर गरेका थिए। सोही अवसरमा द सगरमाथा आधारभुत अंग्रेजी विद्यालयका विद्यार्थीहरुले दुबै मित्र राष्ट्रको सम्मानमा दुवै देशको राष्ट्रिय गान गाएर कार्यक्रमको शोभा बढाएका थिए।

   संघका सचिव सुवोधहरि राजोपाध्यायले स्वागत मन्तव्य राखेको कार्यक्रमको  संचालन नागरिक समाज सर्लाहीका महासचिव शिवचन्द्र चौधरीले गरेका थिए।

चिसो बढ्न थालेपछि जेसिज द्वारा मलंगवामा निःशुल्क दाउरा वितरण

 चिसो बढ्न थालेपछि जेसिज द्वारा मलंगवामा निःशुल्क दाउरा वितरण



लोकतन्त्र समाचारदाता---

सर्लाही,माघ १४

    अत्यधिक रुपमा शीतलहर बढ्न थालेपछि मलंगवा जेसिजले सर्लाहीको सदरमुकाम मलंगवा स्थित विभिन्न स्थानमा निःशुल्क दाउरा वितरण गरेको छ। मलंगवा जेसिजले आफ्नो विजनेस पार्टनर डिस होम फाइबर नेट सर्लाहीसँगको साझेदारी तथा लालबन्दी साझेदारी वन व्यवस्थापन समुहको सहयोगमा शनिवार मानिसहरूको बढी उपस्थित रहने मलंगवा बजारको विभिन्न स्थानमा दाउरा वितरण गरेकि हो। सुरु गरेको हो ।

   शीतलहरमा सर्वसाधारण  नागरिकलाई सहज होस् भनेर दाउरा वितरण गरेको मलंगवा जेसिज २०२४ का अध्यक्ष दिलिप कुमार झाले बताए।

शीतलहर बढेर चिसोको प्रभाव बढेपछि जेसिज द्वारा  मलंगवाको करिब १ दर्जन भन्दा बढी स्थानम दाउरा वितरण गरिएको छ । चौक चौकमा ताप्नको लागि दाउरा पाएपछि स्थानीय नागरिकहरु खुसी भएका छन् । 

   शनिवार बिहानैदेखि सुरु गरिएको दाउरा वितरण कार्यक्रममा मलंगवा जेसिज, मलंगवा जूनियर जेसिज लालबन्दी साझेदारी बन व्यवस्थापन समुहका भूपू अध्यक्ष अजय यादव,सचिव विनोद जैसवाल, वडा न-१० का वडाअध्यक्ष मुकेश झा,डिसहोमका सुभास गुप्ता लगायत नेपाल प्रहरीको सहभागीता रहेको थियो। 

   मलंगवा जेसिजले यसअघि दुर्घटना न्युनिकरणका लागि मलंगवाको अतिव्यस्त स्थानमा जेब्रा क्रसिंङ समेत बनाएका थिए।






मानव बेचबिखन रोकथामका लागि यातायात श्रमिकसँग छलफल

 मानव बेचबिखन रोकथामका लागि यातायात श्रमिकसँग छलफल 



लोकतन्त्र समाचारदाता---

सर्लाही,माघ १४

  नेपाल -भारत सिमा क्षेत्रमा चल्ने सार्वजनिक सवारीसाधनका यातायात श्रमिकहरु सँग बालश्रम शोषण तथा मानव बेचबिखन विरुद्धको सवालमा छलफल गरिएको छ। संरक्षण नेपाल कलैया ,बाराले युनिसेफ र एटविनको सहयोगमा शनिवार मलंगवामा अभिमुखिकरण कार्यक्रमको आयोजना गरि यातायात श्रमिकहरु सँग सो सवालमा छलफल गरिएको हो ।

     मजदुर अटो संघका इन्चार्ज इन्द्रजित साहको अध्यक्षता तथा  मलंगवा नगरपालिकाकी उपप्रमुख शकुन्तला देवी साहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संरक्षण नेपाल बारा कलैयाका कार्यक्रम अधिकृत मुकेश कुशवाहाले  मानव बेचबिखन तथा ओसारपसार बारे बनाइएको कानुन र यसलाई रोक्न गरिएको प्रयास र गर्न सकिने प्रयासको बारेमा सहभागी यातायात श्रमिकहरुलाई जानकारी गराएका थिए। उपस्थित सहभागीहरुले पनि मानव बेचबिखन रोकथामका लागि उनीहरूले खेलेको भुमिकाको बारेमा जानकारी गराउँदै यसप्रति थप गम्भित भएर लाग्नु पर्ने सुझाव दिएका थिए।

    संरक्षण नेपालका प्रभंस साहले संचालन गरेको कार्यक्रममा मलंगवादेखि नेपाल-भारत सिमानाका अन्तर्गत चल्ने सार्वजनिक सवारीसाधनका चालकहरु जितेन्द्र यादव,गणेश यादव,भुवन यादव लगायत ३० जना चालकहरुको उपस्थिति रहेको थियो।कार्यक्रममा नेपाल भारत लजको सभाहलमा सम्पन्न भएको थियो।






Friday, January 26, 2024

धरौटीमा रिहा भए धनकौलका वडाध्यक्ष गजेन्द्र महतो

 धरौटीमा रिहा भए धनकौलका वडाध्यक्ष गजेन्द्र महतो

   

लोकतन्त्र समाचारदाता---

सर्लाही, माघ १२

      ज्यान मार्ने उद्योग तथा अंगभंग मुद्दामा पुर्पक्षका लागि कारागारमा रहेका धनकौल गाउँपालिका वडा न-५ हरकठवाका वडाध्यक्ष उदय भन्ने गजेन्द्र महतोलाई अदालतले धरौटीमा रिहा गरेको छ।उच्च अदालत जनकपुरको अस्थायी इजलास विरगंजले महतोलाई थुनामा राख्न मुनासिब नदेखिएको भन्दै धरौटी लिएर तारिखमा राखी मुद्दाको पुर्पक्ष गर्ने गरि थुनामुक्त गर्न दिएको आदेश पछि शुक्रवार उनी कारागार मुक्त भएका हुन।

   उच्च अदालत जनकपुरको न्यायाधिश बलभद्र बास्तोला र मेहन्द्रनाथ उपाध्यायको संयुक्त इजलाशले सर्लाही जिल्ला अदालतको २०८० कार्तिक २१ गतेको आदेशलाई बदर गर्दै निज प्रतिबादी उदय भन्ने गजेन्द्र महतोलाई मुलुकी फौैजदारी कार्य विधि संहिता २०७४ को, दफा ६८ र ७२ समेतका आधारमा दुई लाख पचास हजार नगद वा जेथा जमानत गरी निज प्रतिवादीलाई तारेखमा रिहा गर्न विहिवार आदेश जारी गरेका थिए । सोही आदेशको आधारमा जमानत बापत  २ लाख ५० हजार रुपैया नगद धरौटी राखेपछि  मलंगवा कारागारमा रहेका वडाअध्यक्ष महतो शुक्रवार दिउँसो  रिहा भएका छन् ।

    महतो २०७९ को स्थानीय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र) बाट वडाध्यक्षमा निर्वाचित भएका हुन। केही महिना अगाडी गाउँमा झै झगडा हुँदा केही मानिसहरु घाइते हुने गरी भएको घटनामा वडाध्यक्ष महतो समेत संलग्न रहेको भनी जिल्ला प्रहरी कार्यालयमा ज्यान मार्ने उद्योग तथा अंगभंग कसुरमा मुद्दा दायर भएको थियो ।मुद्दा दायर भएदेखि फरार रहेका महतो अदालतमा आफैँ उपस्थित भएपछि अदालतको इजलासले उनलाई पूर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको थियो।  अदालतको आदेश अनुसार वडाध्यक्ष महतोलाई गौर कारागारमा राखिएको थियो ।गत ७ गते  मलंगवामा नवनिर्मित कारागारको उदघाटन भएपछि महतोलाई मलंगवा ल्याइएको थियो ।

    गत कार्तिक २१ गते सर्लाही जिल्ला अदालतका न्यायाधीश सूर्यबहादुर थापाको इजलासले वडाध्यक्ष महतोलाई ज्यान मार्ने उद्योग तथा अंगभंग कसुरमा पूर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएका थिए ।

    वडअध्यक्ष महतोले आफू विरुद्ध गम्भीर राजनीतिक षड्यन्त्र गरेर फसाईको बताएका छन् । आफू सधै अहिंसालाई मान्ने व्यक्ति भएकोले जानी जानी मलाई फसाएपनि कुनै पनि राजनीतिक दल प्रति पूर्वाग्राही नभइ जनता प्रति सधै नकमस्तक रहेर काम गर्ने प्रतिबद्धता जनाएका छन्  ।




 


 

Wednesday, January 17, 2024

सर्लाहीको हरिपुरमा थारू समुदायको लोकप्रिय ‘माघी पर्व’ तथा थारु सम्बत महोत्सवको रुपमा मनाइँदै

 सर्लाहीको हरिपुरमा 

थारू समुदायको लोकप्रिय ‘माघी पर्व’ तथा थारु सम्बत महोत्सवको रुपमा मनाइँदै


अजिता चौधरी ----

सर्लाही,माघ ३

    सर्लाहीको हरिपुरमा थारु सम्बत २६४७ को अवसरमा छैठौं तिला संक्रान्ति  माघी महोत्सव २०८० सुरु भएको छ । हरिपुर नगरपालिका वडा न–५, पचगछियामा एक कार्यक्रमका बिच संविधान सभा सदस्य रामचन्द्र चौधरीले     छैठौं माघी महोत्सवको उद्घाटन गरेका हुन। 

  थारु समुदायको कला सस्कृती संरक्षणको उद्येश्य लिएर वर्षेनी माघे संक्रान्तिको अवसर पारेर महोत्सव आयोजना हुदै आएको छ । तीन दिनसम्म चल्ने  महोत्सवमा थारु समुदायको भेष भुषा, कला, सस्कृतीहरु बिषेश रुपमा प्रदर्शन गरिन्छ। महोत्सव स्थलमा थारूहरूले पौष्टिक खानाका रूपमा प्रयोग गर्दै आएको गङ्गटो, माछा, घोँगी जस्ता विभिन्न थारु परिकारका स्टलहरुका साथै थारु परम्परा झल्काउने मुर्तिहरु पनि अवलोकनको लागि राखिएको छ।

   थारूहरू धेरैजसो कृषि पेसामा आवद्ध भएको र  उनीहरू पहिले माघ महिनामा बाली भित्र्याउने गर्थे ।  माघमा सबै काम सकेर नयाँ अन्न खाने गरिन्थ्यो, जसका कारण थारू समुदायले प्रमुख चाडका रूपमा मनाउँदै आएको माघीलाई नयाँ वर्षका रूपमा पनि मनाउन थालिएको छ। यस्ता महोत्सवको माध्यमबाट थारु समुदायको पौराणिक कला संस्कृती संरक्षण तथा पुस्तान्तरणमा समेत टेव पुग्ने हरिपुर नगरपालिकाका नगरप्रमुख गोपाल पंजियारले बताए।

   "नेपालके आदिवासी जनजाती के शान थारु कला संस्कृती हमर पहिचान"भन्ने नारा दिएर आयोजना भएको महोत्सवको  उद्घाटन समारोहका दिन थारूहरूले पहिरनका रूपमा लगाउने परम्परागत गरगहना तथा कपडामा सजिएका महिला तथा यूवतीहरुले बाँजागाजा सहित विभिन्न कला प्रदर्शन गर्दै र्यली निकालेका थिए ।

     महोत्सवमा थारु कला सस्कृती झल्कने थारु नृत्य प्रतियोगिता समेत आयोजना गरिएको छ । महोत्सवको अन्तिम दिन प्रतियोगिताम प्रथम, द्धितिय र तृतिय हुनेलाई  उपाधि सहित क्रमश २० हजार,१५  हजार र १० हजार नगर पुरस्कार समेत प्रदान गरिने माघी महोत्सव समितिका अध्यक्ष अरविन्द कुमार चौधरीले बताए ।

    उद्घाटन कार्यक्रमा संविधान सभा सदस्य  रंजना सरकार, हरिपुर नगरपालिकाकी नगर उप-प्रमुख निलम देवी राय यादव, थारु समुदायका अग्रज बुद्धिजिवी, विभिन्न संघ सस्थका प्रमुख एवं प्रतिनिधिहरु र स्थानीयहरुको उल्यख्य उपस्थिती रहेको थियो ।

   अहिलेका नयाँपुस्ताको झुकाव पश्चिमी संस्कृती तर्फ भइरहेकोले स्थानीय कला संस्कृतीहरु बिस्तारै लोप हुँदै गइरहेको छ।  यस्ता मेला महोत्सवहरुको आयोजनाले परम्परागत संस्कृतीहरुको संरक्षण ,सम्बर्धन तथा जगेर्ना हुनुका साथै नयाँ पुस्ताले पनि आफ्नो पुरानो कला, सस्कृती र परम्पराको बारेमा जानकारी प्राप्त गर्न सकिने भएकोले समय समयमा यस्ता मेला महोत्सवहरुको आयोजना हुनुपर्ने संविधान सभा सदस्य रंजना सरकारले बताइन।

   महोत्सवमा सहभागी हुन आएका थारु समुदायका किशोर किशोरीहरु आफ्नो पुरानो परम्परा र संस्कृतीलाई नजिकबाट हेर्न र बुझ्न पाएको साथसाथै साथीभाई सँग रमाइलो पनि गर्न पाएको भन्दै खुसी व्यक्त गरेका छन् ।

 


Saturday, January 13, 2024

सहारा मल्टिपर्पसको सेयर पुँजी ४ करोड भन्दाबढी

 

सहारा मल्टिपर्पसको सेयर पुँजी ४ करोड भन्दाबढी

मनोज यादव---

सर्लाही,पुस २८

     सहारा मल्टिपर्पस को-आपरेटिभ सोसाइटी लिमिटेड संस्थाले आफ्नो २० औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

   सर्लाही जिल्लाको सदरमुकाम मलंगवा नगरपालिका वडा न-९ मा मुख्य कार्यालय रहेको संस्थाले मलंगवा न.पा वडा न-१० स्थित जानकी पार्टी प्यालेसमा साधारणसभा सम्पन्न गरेको हो ।

   संस्थाका अध्यक्ष वसी अहमद मिकरानीको अध्यक्षतामा भएको कार्यक्रममा मधेश प्रदेश सांसद कौशल किशोर  रायको प्रमुख आतिथ्य रहेको थियो । संस्थाको संचालक समिति सदस्य अबुल हसन नुरीले स्वागत मन्तव्य राखेको कार्यक्रममा ध्रुव कुमार यादव,सालेहा तस्निम,जिल्ला समन्वय समिति सर्लाहीका उपप्रमुख जितेन्द्र कुमार महतो,जितपुर सिमरा बाराका नगर सभापति छबिलाल शर्मा लगायतका अतिथिहरुले शुभकामना मन्तव्य राखेका थिए।

   आ.व २०७९-०८० सम्ममा  संस्थाको ११ बटै सेवा केन्द्रहरुमा गरि ९ हजार ५ सय ९०जना शेयर सदस्य पुर्याएको यस संस्थाको शेयरपुँजी ४ करोड ४७ लाख ३६ हजार ३ सय रुपैयाँ रहेको संस्थाका अध्यक्ष मिकरानीले प्रस्तुत गरेको प्रतिबेदनमा उल्लेख गरिएको छ।अध्यक्षको प्रतिवेदन अनुसार तरलता कायम राख्नुपर्ने भएको कारणबाट लक्ष्य अनुरुप प्रतिफल प्राप्त हुन नसकेको भएपनि आ.व २०७९/०८० मा  संस्थाले  २५ लाख २० हजार ४ सय ९४ रुपैयाँ १ पैसा आम्दानी गरेको छ। मुख्य प्रबन्धक सुनिल कुमार गुप्ताले आगामी आ.व २०८१/०८२ को लागि अनुमानित कार्यक्रम तथा बजेटको बारेमा जानकारी गराउँदै ४ अर्ब ९७ करोड १५ लाखको कारोबारबाट १ करोड ९९ लाख २५ हजार रुपैया नाफा आर्जन गर्ने लक्ष्य राखिएको बताउनुभयो ।

   सोही कार्यक्रमका बिच संस्थाले आफ्ना असल श्रृणी,असल बचतकर्ता,उत्कृष्ट बजार प्रतिनिधीहरु लाई कदरपत्र र पुरस्कार प्रदान गरेर सम्मानित गरेका थिए।

    कार्यक्रममा संस्थाका मुख्य प्रबन्धक   गुप्ता ,उपाध्यक्ष  नागेन्द्र प्रसाद रौनियार ,संचालक समितिका सदस्य संजय चौधरी ,लेखा समिति संयोजक राम नारायण यादव,रवीन्द्र सहनी लगायत कर्मचारीहरु,बचतकर्ता,श्रृणी तथा पत्रकारहरुको उपस्थिति रहेको थियो।