Monday, April 7, 2025
हरिवनबाट ठुलो परिमाणमा लागू औषधसहित एक जना पक्राउ
सर्लाहीको हरिवनबाट ठुलो परिमाणमा लागुऔषधसहित एक ब्यक्ति पक्राउ परेको छ। ईलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरी टोली सोमबार राती करिब साढे १२ बजेको समयमा मोहनपुर टोलस्थित सडकमा चेकजाँच गर्ने क्रममा हरिवन-३, डावरी टोल निवासी कर्ण बहादुर घिसिङका अन्दाजी ३६ वर्षीय छोरा मान बहादुर घिसिङलाई लागुऔषधसहित पक्राउ गरेको हो।
Sunday, April 6, 2025
मधेशमा असन्तोषको आवाज चर्कियो
लोकतन्त्र समाचारदाता
सर्लाही, चैत २३
मधेश फेरि बोल्न थालेको छ,तर यसपटक अधिकारको माग मात्रै होइन, विश्वासघातको हिसाब माग्ने र वैकल्पिक राजनीतिक नेतृत्व निर्माणको सङ्केत दिने स्वरमा।
शनिबार जनकपुरधाममा आयोजित अन्तरक्रिया कार्यक्रममा मधेशको राजनीतिक असन्तोष एउटा संगठित स्वर बनेर प्रकट
भएका थिए। नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल, नेपाल सद्भावना पार्टी र नेपाल जनजागृति पार्टीको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रममा सहभागी नेताहरूले विगत तीन दशकदेखि आन्दोलनमा सक्रिय भएका तर अझै पनि अधिकारविहीन बनेका मधेशी जनताको पीडा र आक्रोशलाई प्रष्टसँग व्यक्त गरेका थिए ।
कार्यक्रममा सहभागी नेताहरूले सत्ता दलहरू, कथित मधेशवादीहरू र यथास्थितिवादी शक्तिहरूलाई कडा आलोचना गरेका थिए। नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारीले “संविधान, गणतन्त्र र संघीयता कुनै दान बाट प्राप्त नभएको बल्की रगतले खरिद गरेको बताए ।
“संविधान मेट्न खोज्नेहरूले जनताको बलिदानको अपमान गरेका छन्। तर जनताको उठान भएको दिन उनीहरूको अस्तित्व नै मेटिनेछ।”भन्दै उनले पूर्वराजा ज्ञानेन्द्रमाथि आक्रोश व्यक्त गर्दै चेतावनी दिएका छन् ।
अन्सारीले वर्तमान सत्ताप्रणालीप्रति पनि असन्तुष्टि जनाउँदै कांग्रेस र कम्युनिस्टहरूलाई लक्षित गर्दै भने, “२०४६ मा जनताको नाममा राजा राख्नेहरूको मानसिकता आज पनि उस्तै छ। उनीहरूले संविधानको रक्षा होइन, कब्जा गरेका छन्।”उनले थपे, “अब हाम्रो सहमतिविना न देश चल्न सक्छ, न मधेश। हामीलाई प्रतिनिधित्व छैन भने, तपाईंहरूलाई वैधता छैन।”
कार्यक्रममा नेपाल जनजागृति पार्टीका अध्यक्ष ध्रुव प्रसाद निसादले मधेश आन्दोलनको विगतलाई प्रश्न गर्दै कटाक्ष गरे, “शहीदहरूको रगत सुक्न नपाउँदै मन्त्री बन्नु, सत्तासँग घुलमेल हुनु यसले मधेशी जनताको सपना चकनाचुर बनाएको छ।” उनले कथित मधेशवादीहरूलाई सत्ताका सहभोजी भन्दै आलोचना गरे।
त्यस्तै नेपाल सद्भावना पार्टीका अध्यक्ष रामकुमार महतोले पूर्वराजाको अभिव्यक्तिमाथि कारबाहीको माग गर्दै संविधानको उल्लंघन सह्य नहुने बताए। उनले सत्तारुढ दलहरूलाई चेतावनी दिँदै भने, “हामीलाई केवल भोट बैंकको रूपमा हेर्ने परिपाटी अब सह्य हुँदैन। सीमा पार जन्मेको भन्दै दोस्रो दर्जाको व्यवहार गर्ने प्रवृत्तिको अन्त्य हुनैपर्छ।”
अपमानको अन्त्य चाहिएको आवाज
पूर्वमन्त्री विमला अन्सारीले महिला सहभागिता र पहिचानको सम्मानको आवश्यकता औँल्याउँदै भनिन्, “हामीलाई कुर्सी होइन, सम्मान चाहिएको हो। हामी शासन होइन, अपमानको अन्त्य खोजिरहेका छौं।”
कार्यक्रमको अन्त्यमा आयोजक दलहरूले संघीय गणतान्त्रिक गठबन्धनको गठन भएको घोषणा गर्दै गठबन्धनको औपचारिक घोषणा बैशाख ४ गते पत्रकार सम्मेलनमार्फत गरिने र जेठ १५ गते जनकपुरधाममा विशाल घोषणा सभा आयोजना गरिने जानकारी दिए।
गठबन्धनले पहिलो चरणमा देशका १८ जिल्लामा ‘जनजागरण अभियान’ सञ्चालन गर्ने जनाएको छ। अभियानको मूल नारा ‘भोट हमारा और राज तुम्हारा, अब नहीं चलेगा।’ राखेका छन् ।
Tuesday, April 1, 2025
स्तरवृद्धिको माग गर्दे स्वास्थ्यकर्मीहरु द्वारा आन्दोलनको घोषणा
![]() |
मनोज यादव----
सर्लाही,चैत १९
स्तरवृद्धिको माग गर्दे सि.अ.हे.व र सि.अ.न.मि हरु आन्दोलनमा उत्रिएका छन् । सोही क्रममा सि.अ.हे.व. / सि.अ.न.मि. चौथो पाँचौ जिल्ला स्तरीय संघर्ष समितिले आज (मंगलबार )जिल्ला प्रशासन कार्यालय सर्लाहीमा प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठलाई ज्ञापनपत्र बुझाएका छन् ।
मधेश प्रदेश सरकारद्वारा २०८१ भदौ ७ गते प्रकाशित स्थानीय सेवा गठन तथा सञ्चालन ऐन २०८१ को दफा २९ को उपदफा २ मा उल्लेखित प्रावधानका कारण चौथो तथा पाँचौं तहका स्वास्थ्यकर्मीहरूलाई दुई तह स्तरवृद्धि नपाउने स्थिति सिर्जना भएको आन्दोलनमा उत्रिएको संघर्ष समितिले बताएका छन् ।
मधेश प्रदेशका आठवटै जिल्लाका सिनियर अनमी (सि.अ.न.मि.) र सिनियर अहेब (सि.अ.हे.व.) स्वास्थ्यकर्मीहरू एकजुट भई प्रदेशस्तरीय संघर्ष समिति गठन गरी आफ्नो माग पूरा गराउन निरन्तर संघर्ष गर्दै आएका छन्। यस क्रममा प्रदेश लोकसेवा आयोग जनकपुर, मधेश प्रदेशको गृह, सञ्चार तथा कानून मन्त्रालय, मुख्यमन्त्रीको कार्यालय, मुख्य न्यायाधिवक्ताको कार्यालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, शिक्षा तथा संस्कृति मन्त्रालय लगायत विभिन्न निकायलाई समेत ज्ञापनपत्र बुझाई सकेका छन् ।
स्वास्थ्य सेवामा प्रथम प्रवेश बिन्दु चौथो तह भएकाले खुल्लाबाट १००% पदपूर्ति हुनुपर्ने। स्थानीय सेवा गठन तथा सञ्चालन ऐन २०८१ को दफा २९ को बाध्यात्मक वाक्यांश हटाइनु पर्ने। नेपाल स्वास्थ्य सेवा ऐन २०५३ बमोजिम विगतदेखि पाइँदै आएको दुई तह स्तरवृद्धि पुनः लागू गरिनु पर्ने उनीहरूको मुख्य माग रहेको छ।
संघर्ष समितिले पटक–पटक गरेको पहलपछि पनि प्रदेश सरकार र गठित सुझाव समितिले आवश्यक कदम नचालेको आरोप लगाउँदै आन्दोलन चर्काउने घोषणा गरेका छन्। २०८१ चैत्र ६ र ७ गते सम्पन्न प्रदेशसभा बैठकमा समेत माग सम्बोधन नभएपछि २०८१ चैत्र ८ गते प्रदेशसभा अगाडि शान्तिपूर्ण धर्नामा बसे तापनि सरकारलाई दवाब सिर्जना गर्न नसकेपछि अब आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरिएको संघर्ष समितिले जनाएको छ। उनीहरूले २०८१ चैत्र २५ गतेदेखि प्रदेशसभा तथा मुख्यमन्त्री कार्यालय अगाडि अनिश्चितकालीन धर्ना दिने घोषणा गरेका छन्। उक्त धर्नाका कारण आम नागरिकलाई पर्ने असुविधाप्रति क्षमायाचनासमेत गर्दै आन्दोलनको सम्पूर्ण जिम्मेवारी प्रदेश सरकार तथा सुझाव समितिका संयोजक र सदस्यहरूले लिनुपर्ने बताएका छन्।
Subscribe to:
Posts (Atom)