मधेश फेरि बोल्न थालेको छ,तर यसपटक अधिकारको माग मात्रै होइन, विश्वासघातको हिसाब माग्ने र वैकल्पिक राजनीतिक नेतृत्व निर्माणको सङ्केत दिने स्वरमा।
शनिबार जनकपुरधाममा आयोजित अन्तरक्रिया कार्यक्रममा मधेशको राजनीतिक असन्तोष एउटा संगठित स्वर बनेर प्रकट
भएका थिए। नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल, नेपाल सद्भावना पार्टी र नेपाल जनजागृति पार्टीको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रममा सहभागी नेताहरूले विगत तीन दशकदेखि आन्दोलनमा सक्रिय भएका तर अझै पनि अधिकारविहीन बनेका मधेशी जनताको पीडा र आक्रोशलाई प्रष्टसँग व्यक्त गरेका थिए ।
कार्यक्रममा सहभागी नेताहरूले सत्ता दलहरू, कथित मधेशवादीहरू र यथास्थितिवादी शक्तिहरूलाई कडा आलोचना गरेका थिए। नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारीले “संविधान, गणतन्त्र र संघीयता कुनै दान बाट प्राप्त नभएको बल्की रगतले खरिद गरेको बताए ।
“संविधान मेट्न खोज्नेहरूले जनताको बलिदानको अपमान गरेका छन्। तर जनताको उठान भएको दिन उनीहरूको अस्तित्व नै मेटिनेछ।”भन्दै उनले पूर्वराजा ज्ञानेन्द्रमाथि आक्रोश व्यक्त गर्दै चेतावनी दिएका छन् ।
अन्सारीले वर्तमान सत्ताप्रणालीप्रति पनि असन्तुष्टि जनाउँदै कांग्रेस र कम्युनिस्टहरूलाई लक्षित गर्दै भने, “२०४६ मा जनताको नाममा राजा राख्नेहरूको मानसिकता आज पनि उस्तै छ। उनीहरूले संविधानको रक्षा होइन, कब्जा गरेका छन्।”उनले थपे, “अब हाम्रो सहमतिविना न देश चल्न सक्छ, न मधेश। हामीलाई प्रतिनिधित्व छैन भने, तपाईंहरूलाई वैधता छैन।”
कार्यक्रममा नेपाल जनजागृति पार्टीका अध्यक्ष ध्रुव प्रसाद निसादले मधेश आन्दोलनको विगतलाई प्रश्न गर्दै कटाक्ष गरे, “शहीदहरूको रगत सुक्न नपाउँदै मन्त्री बन्नु, सत्तासँग घुलमेल हुनु यसले मधेशी जनताको सपना चकनाचुर बनाएको छ।” उनले कथित मधेशवादीहरूलाई सत्ताका सहभोजी भन्दै आलोचना गरे।
त्यस्तै नेपाल सद्भावना पार्टीका अध्यक्ष रामकुमार महतोले पूर्वराजाको अभिव्यक्तिमाथि कारबाहीको माग गर्दै संविधानको उल्लंघन सह्य नहुने बताए। उनले सत्तारुढ दलहरूलाई चेतावनी दिँदै भने, “हामीलाई केवल भोट बैंकको रूपमा हेर्ने परिपाटी अब सह्य हुँदैन। सीमा पार जन्मेको भन्दै दोस्रो दर्जाको व्यवहार गर्ने प्रवृत्तिको अन्त्य हुनैपर्छ।”
अपमानको अन्त्य चाहिएको आवाज
पूर्वमन्त्री विमला अन्सारीले महिला सहभागिता र पहिचानको सम्मानको आवश्यकता औँल्याउँदै भनिन्, “हामीलाई कुर्सी होइन, सम्मान चाहिएको हो। हामी शासन होइन, अपमानको अन्त्य खोजिरहेका छौं।”
कार्यक्रमको अन्त्यमा आयोजक दलहरूले संघीय गणतान्त्रिक गठबन्धनको गठन भएको घोषणा गर्दै गठबन्धनको औपचारिक घोषणा बैशाख ४ गते पत्रकार सम्मेलनमार्फत गरिने र जेठ १५ गते जनकपुरधाममा विशाल घोषणा सभा आयोजना गरिने जानकारी दिए।
गठबन्धनले पहिलो चरणमा देशका १८ जिल्लामा ‘जनजागरण अभियान’ सञ्चालन गर्ने जनाएको छ। अभियानको मूल नारा ‘भोट हमारा और राज तुम्हारा, अब नहीं चलेगा।’ राखेका छन् ।
No comments:
Post a Comment