स्तरवृद्धिको माग गर्दे स्वास्थ्यकर्मीहरु द्वारा आन्दोलनको घोषणा
मनोज यादव---- सर्लाही,चैत १९
स्तरवृद्धिको माग गर्दे सि.अ.हे.व र सि.अ.न.मि हरु आन्दोलनमा उत्रिएका छन् । सोही क्रममा सि.अ.हे.व. / सि.अ.न.मि. चौथो पाँचौ जिल्ला स्तरीय संघर्ष समितिले आज (मंगलबार )जिल्ला प्रशासन कार्यालय सर्लाहीमा प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठलाई ज्ञापनपत्र बुझाएका छन् । मधेश प्रदेश सरकारद्वारा २०८१ भदौ ७ गते प्रकाशित स्थानीय सेवा गठन तथा सञ्चालन ऐन २०८१ को दफा २९ को उपदफा २ मा उल्लेखित प्रावधानका कारण चौथो तथा पाँचौं तहका स्वास्थ्यकर्मीहरूलाई दुई तह स्तरवृद्धि नपाउने स्थिति सिर्जना भएको आन्दोलनमा उत्रिएको संघर्ष समितिले बताएका छन् । मधेश प्रदेशका आठवटै जिल्लाका सिनियर अनमी (सि.अ.न.मि.) र सिनियर अहेब (सि.अ.हे.व.) स्वास्थ्यकर्मीहरू एकजुट भई प्रदेशस्तरीय संघर्ष समिति गठन गरी आफ्नो माग पूरा गराउन निरन्तर संघर्ष गर्दै आएका छन्। यस क्रममा प्रदेश लोकसेवा आयोग जनकपुर, मधेश प्रदेशको गृह, सञ्चार तथा कानून मन्त्रालय, मुख्यमन्त्रीको कार्यालय, मुख्य न्यायाधिवक्ताको कार्यालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, शिक्षा तथा संस्कृति मन्त्रालय लगायत विभिन्न निकायलाई समेत ज्ञापनपत्र बुझाई सकेका छन् । स्वास्थ्य सेवामा प्रथम प्रवेश बिन्दु चौथो तह भएकाले खुल्लाबाट १००% पदपूर्ति हुनुपर्ने। स्थानीय सेवा गठन तथा सञ्चालन ऐन २०८१ को दफा २९ को बाध्यात्मक वाक्यांश हटाइनु पर्ने। नेपाल स्वास्थ्य सेवा ऐन २०५३ बमोजिम विगतदेखि पाइँदै आएको दुई तह स्तरवृद्धि पुनः लागू गरिनु पर्ने उनीहरूको मुख्य माग रहेको छ। संघर्ष समितिले पटक–पटक गरेको पहलपछि पनि प्रदेश सरकार र गठित सुझाव समितिले आवश्यक कदम नचालेको आरोप लगाउँदै आन्दोलन चर्काउने घोषणा गरेका छन्। २०८१ चैत्र ६ र ७ गते सम्पन्न प्रदेशसभा बैठकमा समेत माग सम्बोधन नभएपछि २०८१ चैत्र ८ गते प्रदेशसभा अगाडि शान्तिपूर्ण धर्नामा बसे तापनि सरकारलाई दवाब सिर्जना गर्न नसकेपछि अब आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरिएको संघर्ष समितिले जनाएको छ। उनीहरूले २०८१ चैत्र २५ गतेदेखि प्रदेशसभा तथा मुख्यमन्त्री कार्यालय अगाडि अनिश्चितकालीन धर्ना दिने घोषणा गरेका छन्। उक्त धर्नाका कारण आम नागरिकलाई पर्ने असुविधाप्रति क्षमायाचनासमेत गर्दै आन्दोलनको सम्पूर्ण जिम्मेवारी प्रदेश सरकार तथा सुझाव समितिका संयोजक र सदस्यहरूले लिनुपर्ने बताएका छन्।
No comments:
Post a Comment