Sunday, September 10, 2023

धार्मिक सहिष्णुता र सभ्यता कायम गर्न आग्रह गर्दै मलंगवा नगरपालिका द्वारा प्रेस विज्ञप्ति

 धार्मिक सहिष्णुता र सभ्यता कायम गर्न आग्रह गर्दै मलंगवा नगरपालिका द्वारा प्रेस विज्ञप्ति 

मनोज यादव---


सर्लाही,भाद्र २४
      मलंगवा नगर क्षेत्रमा श्री कृष्ण जन्माष्टमीको मुर्ति सेलाउने क्रममा भएको अवाञ्छित क्रियाकलाप र सो घटना पछि उत्पन्न परिस्थिति प्रति नगरपालिकाको गम्भीर ध्यानाकर्षक भएको भन्दै आज(आइतवार)बिहान एक प्रेस विज्ञप्ति जारी गर्दै धार्मिक सहिष्णुता र सभ्यता कायम गर्न सबै नागरिकसँग आग्रह गरेको छ।
    आ-आफ्नो धार्मिक तथा सामाजिक मान्यता र विश्वास अनुसार 
धार्मिक क्रियाकलाप गर्न पाउने अधिकार नेपालको संविधानमै रहेकोले  सो अधिकारको विरुद्धमा कोही कसैले बाधा अवरोध पुर्याउनु उपयुक्त नभएको उल्लेख्य गर्दै विज्ञप्ति मार्फत मलंगवा नगरपालिकाले सो घटना प्रति गहिरो दु:ख ब्यक्त गरेको छ।
  कुनै एक घटनालाई लिएर युगौंदेखि मिलेर बसेको विविधतायुक्त समाजको एकता र सहिष्णुतामा आँच आउने गरि कुनैपनि समुदायबाट गरिने प्रतिक्रियात्मक र उत्तेजक गतिविधि एवं निजी तथा सार्वजनिक सम्पत्तिमा आगजनी र क्षति पुर्याउने खालका कार्यले कसैलाई कहिलेपनि राम्रो परिणाम दिन नसक्ने भएकोले यस्तो विषम परिस्थिमा धैर्यतापुर्वक व्यवहार गर्न र स्थानीय प्रशासन बाट जारी निषेधाज्ञाको पालना गरी सहयोगी  र जिम्मेवार बन्न जारी विज्ञप्ति मार्फत सबै धार्मिक समुदायलाई नगरपालिकाले अनुरोध गरेको छ।
    सम्भावित घटनालाई मध्येनजर गर्दै जिल्ला प्रशासन कार्यालयले हिजो(शुक्रवार)साँझ ५ बजेदेखि आइतवार बिहान ८ बजेसम्मको लागि कर्फ्यु लगाएका थिए।पुन: नगरको अवस्थालाई ध्यानमा राखेर आज(आइतवार) बिहान ८ बजेदेखि बुधबार राती १२ बजेसम्मको लागि निषेधाज्ञा जारी गरेको छ।

मलंगवामा कर्फ्यु हट्यो निषेधाज्ञा सुरु/आइतवार बिहान ८ बजेदेखि बुधबार मध्यराती १२ बजेसम्मको लागि निषेधाज्ञा लगाइयो

मलंगवामा कर्फ्यु हट्यो निषेधाज्ञा सुरु/आइतवार बिहान ८ बजेदेखि बुधबार मध्यराती १२ बजेसम्मको लागि निषेधाज्ञा लगाइयो 



मनोज यादव----

सर्लाही,भाद्र २४

    सर्लाहीको सदरमुकाम मलंगवामा कृष्ण जन्मष्टमीको मुर्ती सेलाउने क्रममा भाद्र २२ गते शुक्रवार राती भएको अप्रिय एवं असामाजिक घटनालाई मध्येनजर गर्दै जिल्ला प्रशासन कार्यालय सर्लाहीले धार्मिक, जातीय र साँस्कृतिक सद्भाव कायम राख्न शनिवार साँझ ५ बजेदेखि आइतवार बिहान ८ बजेसम्म लगाइएको कर्फ्यु हटाएको छ।

  तर जिल्ला प्रशासन कार्यालय सर्लाहीले आज(आइतवार) बिहान एक सूचना जारी गर्दै सर्वसाधारणहरुको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिमको मध्येनजर गर्दै साविकको मलंगवा नगर क्षेत्र पुर्वमा झिम नदी,पश्चिममा मुसैली नहर,दक्षिणमा नेपाल-भारत सिमा क्षेत्र र उत्तरमा अस्थाइ प्रहरी पोष्ट गम्हरिया जाने सडक बाबा पेट्रोल पम्पसम्मको सिमा क्षेत्र भित्र कुनै पनि भेला,जुलुस,बैठक ,प्रदर्शन तथा पोस्टर,पर्चा जस्ता प्रचार सामाग्रीहरु टाँस्न वा लेख्न नपाइने गरि स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(क)(२)(१) र दफा ६ (ख)को (१)(ग) बमोजिम आज(आइतवार) २४ गते बिहान ८ बजेदेखि भाद्र २७ गते बुधबार राती १२ बजेसम्मको लागि निषेधाज्ञा जारी गरेको छ।

    आज बिहान जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा बसेको बैठक मार्फत  मानवअधिकारको सम्मान ,शान्तिसुव्यवस्था कायम,सार्वजनिक सम्पत्तिको संरक्षण र सामाजिक सद्भाव कायम राख्न सार्वजनिक स्थानहरुमा हो-हल्ला गर्ने जस्ता अवाञ्छित क्रियाकलापहरु तथा कुनै पनि व्यक्तिको निजी जिवनमा असर पार्ने खालका कार्यहरु नगर्न/नगराउन अनुरोध गरिएको छ।

   यस किसिमका कार्यहरु गर्ने गराउने जो कोही ब्यक्तिलाई कानुनले ब्यवस्था गरे अनुसारको कडाभन्दा कडा कारबाही गरिने प्रमुख जिल्ला अधिकारी यादवले चेतावनी दिएका छन् ।

    कर्फ्यु हटेपछि मलंगवा बजारमा किनमेल गर्नेहरुको चहलपहल सुरु  भए पनि सम्भावित घटनालाई ध्यानमा राखेर बजारका अधिकांश पसलेहरुले आआफ्नो  सटरहरु अहिले पनि बन्द राखेका छन ।ठाउँठाउँमा बाक्लो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरीहरु निरन्तर गस्ती गरिरहेका छन् ।




   

खुटौनामा एकैसाथ सुविधासम्पन्न प्रयोगशाला संचालन तथा पुर्ण साक्षरता वडा घोषणा

 


खुटौनामा एकैसाथ  सुविधासम्पन्न  प्रयोगशाला संचालन तथा पुर्ण साक्षरता वडा घोषणा


मनोज यादव---

सर्लाही,भाद्र २४

     सर्लाहीको सदरमुकाम  मलंगवा नगरपालिकाका नगरप्रमुख नागेन्द्र प्रसाद यादवले  वडा न-६ खुटौनामा एकैसाथ सुविधासम्पन्न जनस्वास्थ्य प्रयोगशालाको उद्घाटन तथा पुर्णसाक्षर वडा घोषणा गरेका छन् । वडा न-६ को वडा कार्यालयको संयोजनमा मलंगवा नगरपालिकाले आयोजनामा गरेको समारोहका बिच  सो वडाको स्वास्थ्य चौकीमा स्थापना गरिएको प्रयोगशालाको उद्घाटन गरिएको हो।

   शुक्रवार उद्घाटन गरिएको उक्त प्रयोगशाला नगरप्रमुख यादव,वडा अध्यक्ष राम कैलाश राय र पुर्व प्राधानाध्यापक डा.बिरभंष बैठाले रगत जाँच गराएसँगै  सञ्चालनमा आएको छ। जनस्वास्थ्य प्रयोगशालाको उद्घाटन गर्दै नगरप्रमुख यादवले मानव जीवनमा स्वास्थ्य क्षेत्रको महत्व सबैभन्दा बढी रहेकाले प्रयोगशालाको  स्थापनाले स्थानीयलाई ठुलो सहुलियत हुने बताए। शहर बजारका निजी प्रयोगशालामा रगत,दिसापिसाब लगायतका जाँचहरु गराउँदा खर्च धेरै हुने भएकाले न्युन आर्थिक दर भएका बिरामीहरुलाई  यसबाट सहुलियत हुने उनले बताए ।

   यस नगरपालिकाले  स्वास्थ्यसँगै  शिक्षालाई पनि पहिलो प्राथमिकतामा राखेकोले प्रारम्भिक सर्वेक्षण अनुसार  यस वडाका रहेका १५ देखि ६० वर्ष उमेर समुहका ६६८ जना ब्यक्तिहरु निरक्षर भएको पाइएको र ती निरक्षर ब्यक्तिहरुलाई नगरपालिकाले  आर्थिक वर्ष २०८०/०८१ मा संचालन गरेको साक्षरता कक्षा मार्फत ६६८ जना निरक्षर ब्यक्तिहरु मध्येबाट साक्षरता कक्षामा सहभागी भएका ६३७ जना ब्यक्तिहरुलाई साक्षर वर्ष २०७६ को अवधारणा अनुसार तोकिएको उमेर समूहको ९५.४५ प्रतिशत साक्षर बनाएकोले यसै कार्यक्रमको अवसर पारेर खुटौनालाई(वडा न-६)साक्षर वडा घोषणा गरेको नगरप्रमुख यादबले बताए। 

    नगरप्रमुख यादवले सोही दिन वडा न-६ खुटौनासहित वडा न-३,८ र वडा न-१ भेडियाही तथा शनिवार वडा न-२,४,९ र गम्हरियाकि वडा न-११ र १२ लाई पनि साक्षर वडा घोषणा गरिएको छ। भाद्र २६ गते मधेस प्रदेश अन्तर्गतको सर्लाही जिल्लाको सदरमुकाम मलंगवा नगरपालिकालाई पुर्ण साक्षर स्थानीय तह घोषणा गर्ने कार्यक्रम तय भइसकेको प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतमले जनाएको छ।

    यस प्रयोगशालाबाट रगत तथा दिसापिसाबबाट गरिने चेकजाँको साथै विभिन्न किसिमका भाइरल टेष्ट, मलेरिया, युरिकएसिड, सुगर, लिपिट प्रोफाइल, कोल्डस्टोर, क्षयरोग,कालाजार  लगायत ५४ किसिमका चेकजाँचहरु हुने वडाअध्यक्ष रायले जानकारी दिए ।यहीँबाट न्युनतम २५ रुपैयादेखि अधिकतम ५०० रुपैयासम्मको चेकजाँच हुने उनले जानकारी दिए। खुटौनाको स्वास्थ्य केन्द्रमा स्थापना भएको यस जनस्वास्थ्य प्रयोगशालाबाट वडा न-५ भाँडसर,बडा न-७ मुसैली र वडा न-१ भेडियाहीका जनताहरु प्रत्यक्षरुपमा सेवा लिन सक्ने छन् ।

   नगरप्रमुख यादवको प्रमुख आतिथ्यता तथा वडाअध्यक्ष रायको अध्यक्षतामा भएलो यस कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतम ,वडा न-५ भाँडसरका वडाअध्यक्ष जुल्फेकार मिकरानी,शिक्षाविज्ञ एवं नगर शिक्षा अनुगमनकर्ता डा.बिरभंश बैठा, शिक्षा समन्वय इकाई प्रमुख अशोक रौनियार ,मलंगवा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राम नन्दन राय,शिक्षा शाखा प्रमुख प्रमोद मण्डल ,कृषि शाखा प्रमुख रामनाथ साह,प्रहरी चौकी तथा सशस्त्र प्रहरी बल खुटौनाका इन्चार्ज,युवा नेता शमिमबाबु खान लगायत विभिन्न राजनितीक दलका पार्टी प्रतिनिधि ,स्थानीय महिला पुरुष तथा पत्रकारहरुको उपस्थिति रहेको थियो।

 


Saturday, September 9, 2023

निजामती सेवा दिवसमा सर्लाहीका २३ जना सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीहरु सम्मानित

 



निजामती सेवा दिवसमा सर्लाहीका २३ जना सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीहरु सम्मानित


मनोज यादव---

सर्लाही,भाद्र २३

  २० औं निजामती सेवा दिवस २०८० को अवसरमा सर्लाहीका २३ जना  सेवानिवृत्त राष्ट्रसेवक  कर्मचारीहरु सम्मानित भएका छन् । 

निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन सर्लाही तथा कर्मचारी मिलन केन्द्र सर्लाहीले आयोजना गरेको सप्ताहब्यापी कार्यक्रमको समापन समारोहको अवसरमा मिलन केन्द्रका संरक्षण एवं प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव तथा मिलन केन्द्रका अध्यक्ष एवं नापी कार्यालय मलंगवाका प्रमुख संजय मानन्धरले सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीलाई कदरपत्रले सम्मान गरेका छन् ।

 ‘ब्यवसायिक र श्रृजनशिल प्रशासन ,विकास सम्बृद्धि र सुशासन’ भन्ने मूलनाराका साथ भएको कार्यक्रममा आर्थिक वर्ष २०७९/०८० मा अवकाश प्राप्त रामहरि आचार्य,राम किशुन पंडित,कमल प्रसाद साह,रमेश कुमार  झा,चुडा प्रसाद आचार्य,ब्रह्मपत राउत,गणेश प्रसाद सिंह,जानकी शरण भगत,शिवशंकर साह रौनियार ,राम एकवाल साह, सुरेन्द्र प्रसाद चौधरी,कमल प्रसाद पौडेल ,देवनिधी बडाल,कपिल यादव,देव कुमार चौधरी,अबध किशोर गुप्ता,बिहारी साफी,गोविन्द राय,हेम कुमार श्रेष्ठ ,कासेन्द्र यादव ,दिनेश मिश्र,दिपलाल पंडित र ध्रुव कुमार भुजेल लगायतका कर्मचारीहरु सम्मानित भएका हुन् । उनीहरुलाई दोसल्ला ओढाएर कदरपत्रका साथ सम्मानित गरिएको छ।

    सोही अवसरमा सप्ताहब्यापी रुपमा दिवस मनाउने क्रममा आयोजना गरिएका राक्तदान,प्रादेशिक अस्पताल मलंगवामा भर्ना भएका बिरामीहरुलाई फलफुल वितरण ,प्रभातफेरी,बृक्षारोपण, खेलकुद प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रमको व्यवस्थापन गरेका कार्यालय तथा विद्यालयका प्रमुखहरुलाई पनि धन्यवाद स्वरुप कदरपत्र द्वारा सम्मानित गरिएको छ।रक्तदान कार्यक्रमको व्यवस्थापन  ब्रम्हपुरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेश मिश्र,खेलकुद अन्तर्गत निजामती कर्मचारी र स्थानीय जनप्रतिनिधिहरु बिच मैत्रीपुर्ण फुटबल प्रतियोगिताको व्यवस्थापन  इश्वरपुर नगरपालिका ,बिरामीहरुलाई फलफुल वितरणको लागि  व्यवस्थापन  प्रादेशिक अस्पताल मलंगवा र सांस्कृतिक कार्यक्रमको व्यवस्थापन सगरमाथा आवासीय प्राथमिक विद्यालय मलंगवाका संस्थापक प्राधानाध्यापक तिलक कुमार क्षेत्रीले गरेको आयोजकले जनाएको छ।

    दिवसको समापन कार्यक्रममा बोल्दै प्रजिअ यादवले राज्य र नागरिकले अपेक्षा गरेअनुसार सेवा प्रवाह गर्न साथै सेवाग्राहीलाई सुशासनको अनुभूति गराउन निजामती कर्मचारीहरुलाई दत्तचित्त भएर लाग्नुपर्ने बताएका छन् ।

    प्रजिअ यादवको प्रमुख आतिथ्यता तथा निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन सर्लाहीका  अध्यक्ष उमेश मिश्रको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विशिस्ठ अतिथि मिलन केन्द्रका अध्यक्ष एवं नापी प्रमुख मानन्धर,मिलन केन्द्रका सर्लाहीका पुर्व अध्यक्ष राम दरेश राय लगायत विभिन्न कार्यालयका निजामती कर्मचारीहरु तथा पत्रकारहरुको उपस्थिति रहेको थियो।

  कार्यक्रम मलंगवा स्थित जिल्ला समन्वय समितिको सभाहलमा आयोजना भएको थियो।


Friday, September 8, 2023

गृहमन्त्री नारायण काजी श्रेष्ठको राजिनामा माग गर्दै तरुण दल सर्लाही द्वारा मलंगवामा प्रदर्शन ,टायर बालेर नाराबाजी

 गृहमन्त्री नारायण काजी श्रेष्ठको राजिनामा माग गर्दै तरुण दल सर्लाही द्वारा मलंगवामा प्रदर्शन ,टायर बालेर नाराबाजी 



लोकतन्त्र समाचारदाता---

सर्लाही, भाद्र २२

    नेपाली कांग्रेसकाे भातृ संस्था नेपाल तरूण दलका नेता कार्यकर्ताले बिहिवार सर्लाहीको  सदरमुकाम मलंगवामा प्रदर्शन गरेका छन्  । तरुण दल जिल्ला कार्यसमिति सर्लाहीले पार्टीका सहमहामन्त्री तथा पूर्व मन्त्री महेन्द्र यादव माथि खुकुरी प्रहार गरि ज्यान लिन खोज्ने व्यक्ति तथा गिरोह तत्काल पहिचान गरि कानूनी दायरामा ल्याई कडाभन्दा कडा कार्वाही गर्न माग गर्दै उनीहरुले मलंगवामा प्रदर्शन गरेका हुन ।

   पूर्व मन्त्रीकाेसमेत रहेका नेता यादवलाई सुरक्षा दिन नसक्ने वर्तमान सरकारका गृहमन्त्री नारायण काजी श्रेष्ठकाे राजीनामा माग गरि  बिहिवार दिउँसो तरूण दलका केन्द्रीय सदस्य लाेकहरि पाैडेलको अगुवाइमा  नेपाल विद्यार्थी संघका सर्लाहीका अध्यक्ष धिरज दाहा,उपाध्यक्ष आकाश कुमार मिश्र 'अमित', अमित कुमार यादव लगायत तरूण दल तथा नेविसंघका नेता कार्यकर्ताकाे सहभागितामा गृहमन्त्रीको राजिनामाको माग तथा नेपाल सरकारको विरुद्धमा नाराहरु लेखिएका ब्यानर र प्लेकार्डहरु बोकेर नगरको परिक्रमा गर्दै मलंगवा स्थित बालमन्दिर चौकमा पुगेर कोणसभामा परिणत भई टाएर बालेर प्रदर्शन गरेका थिए ।

   कोणसभामा बोल्दै केन्द्रीय सदस्य पौडेलले पूर्व मन्त्री जस्तो गरिमा बाेकेका नेताको समेत सुरक्षा दिन नसक्नेले आम नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभूति गराउन नसक्ने भएकोले यस्ता गृहमन्त्रीले तत्काल राजिनामा दिनु पर्ने जोडदार माग गरेका थिए। 

    धनुषा जिल्ला निवासी नेता यादव माथि बुधबार दिउँसो काठमाडौ स्थित भृकुटीमण्डपमा रिपोटर्स क्लबको कार्यक्रमबाट बाहिरिने क्रममा नुवाकोट जिल्ला घर भएका श्याम सापकोटाले धारिलो हतियार प्रयोग गरि ज्यान लिने मनसायले आक्रमण गरेका थिए। लोकतन्त्र विरोधी तत्वहरुको उक्साहटमा आक्रमण भएकोले आक्रमण गर्ने सापकोटा र निजलाई प्रयोग गर्ने लोकतन्त्र विरोधी तत्वहरुकि पत्ता लगाइ कडाभन्दा कडा कानुनी कार्यवाही गर्नु पर्ने आफुहरुको माग रहेको तरुण दलका केन्द्रीय सदस्य लोकहरी पौडेलले बताए ।  गृहमन्त्रीको राजिनामा सहित दोषी माथि कडा कार्यवाही भएनभने देशभरिनै  कडाइका साथ आन्दोलन सुरु  गर्ने  उनले चेतावनी समेत दिएका छन् ।

    सापकोटालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    

Thursday, September 7, 2023

मानव बेचबिखन तथा ओसारपसार विरुद्ध मलंगवामा प्रभातफेरी

 


मानव बेचबिखन तथा ओसारपसार विरुद्ध मलंगवामा प्रभातफेरी



लोकतन्त्र समाचारदाता---

सर्लाही,भाद्र २१

       १७ औं अन्तर्राष्ट्रिय  मानव बेचबिखन तथा ओसारपसार विरुद्ध दिवसको अवसरमा सर्लाहीको सदरमुकाम मलंगवामा जनचेतनामूलक प्रभातफेरी निकालिएको छ।

    जिल्ला स्थित विभिन्न गैरसरकारी संघसंस्थाहरुको आयोजना तथा जिल्ला प्रशासन सँगको सहकार्यमा बुधबार बिहान प्रभातफेरी निकालिएको हो। 

   चारवटै शुरक्षा निकाय, विभिन्न संघसंस्थाका प्रतिनिधि,मानवअधिकारकर्मी,नागरिक समाज,बुद्धिजीवी तथा संचारकर्मी लगायतको सहभागीतामा वडा न-१० स्थित सहिद चौक देखि बालमन्दिर चौक हुँदै मेन चौक देखी उतर तर्फको सडक हुँदै सर्लाही  जिल्ला अदालतको प्राङ्गणमा पुगेर कोण सभामा परिणत भइ कार्यक्रम सम्पन्न भएको थियो।

    कोणसभामा बोल्ने बक्ताहरुले मानव बेचबिखन तथा ओसारपसार गम्भीर समस्याको रुपमा रहेकोले यसलाई नियन्त्रण गर्न एकजुट भएर लाग्नुपर्नेमा जोड दिएका थिए। 


Wednesday, September 6, 2023

मधेस प्रदेश अर्थमन्त्री यादवले फहराए मलंगवा स्थित नेपाल-भारत बोर्डरमा १०८ फिटको राष्ट्रिय ध्वज

 


मधेस प्रदेश अर्थमन्त्री यादवले फहराए मलंगवा स्थित नेपाल-भारत बोर्डरमा १०८ फिटको राष्ट्रिय ध्वज 


मनोज यादव---

सर्लाही,भाद्र २०

    सर्लाहीको सदरमुकाम मलंगवा नजिक रहेको नेपाल-भारत सिमा अन्तर्गत मलंगवा-सोनवर्षा नाकामा १०८ फिटको राष्ट्रिय झण्डा फहराइएको छ। नगरप्रमुख नागेन्द्र प्रसाद यादवको अध्यक्षतामा मंगलबार दिउँसो  मलंगवा नगरपालिकाले  आयोजना गरेको एक समारोहका बिच प्रमुख अतिथि मधेस प्रदेश सरकारका अर्थमन्त्री संजय कुमार यादवले दशगजा नजिक निर्माण गरिएको   मलंगवा गौरव नामक पार्कमा १०८ फिटको राष्ट्रिय झण्डा फहराएका हुन ।

     नगरको गौरवको रुपमा रहेको उक्त पार्क मधेस प्रदेश सरकारको विशेष अनुदान बाट प्राप्त ३० लाख रुपैयाको लागतमा २०८० साल असाढ ४ गते नगरप्रमुख यादवद्वारा शिलान्यास भइ भदौ १८ गते निर्माण सम्पन्न गरिएको प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतमले जनाएको छ ।

      उद्घाटन समारोहमा मधेस प्रदेश सांसद कौशल किशोर राय,पुर्व सांसद लक्षमण राय,पुर्व संघीय सांसद रुहीनाज मिकरानी,मलंगवा नगरपालिकाका उपप्रमुख शकुन्तला देवी साह,प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव नेपाल प्रहरी ,सशस्त्र प्रहरी ,नेपाली सेना,भारतीय एसएसबी तथा भारतीय प्रहरीका प्रमुखहरु,विभिन्न पालिकाकाका प्रमुखहरु ,स्थानीय बुद्धिजीवी समाजसेवी ,मलंगवा न.पा अन्तर्गतका १२ वटै वडाका वडाअध्यक्षहरु,विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु लगायत नेपाल तथा भारतका संचारकर्मीहरुको उपस्थिति रहेको थियो।

    मलंगवा नाका भएर नेपाल प्रवेश गर्ने पर्यटकहरुको स्वागतको लागि अर्थमन्त्री यादवले राष्ट्रिय झण्डा सहितको पार्क निर्माण गराएर देशकै मान बढाएको भन्दै सम्पूर्ण नगरबासीहरुको तर्फबाट नगरप्रमुख यादवले उहाँलाई ४५ किलोको माला पहिर्याएर सम्मान गरेका थिए।

    मलंगवाबासीको गौरवको रुपमा रहेको राष्ट्रिय झण्डा सहितको पार्कले दुबै देश बिचको धार्मिक,सांस्कृतिक र सामाजिक सम्बन्धलाई अझ धेरै प्रगाढ बनाएको नगरप्रमुख यादवले बताएका छन् ।