Saturday, December 30, 2023

सर्लाहीको ३ स्थानमा चेतनाको निःशुल्क आँखा शिविर, ४ सय भन्दा बढी बिरामीको मोतियाबिन्दुको शल्यक्रिया गरियो

 


सर्लाहीको ३ स्थानमा चेतनाको निःशुल्क आँखा शिविर, ४ सय भन्दा बढी  बिरामीको मोतियाबिन्दुको शल्यक्रिया गरियो


मनोज यादव----

सर्लाही,पुस १४

    चेतना मलंगवाको आयोजनामा सर्लाही जिल्लाको तीन वटा पालिकामा भएको  निःशुल्क आँखा परिक्षण तथा मोतियाबिन्दुको शल्यक्रिया शिविरबाट  १ हजार ६ सय ५० जना स्थानीय बिरामीहरुले सेवा लिएका छन् ।जिल्लाको हरिपुर्वा नगरपालिका तथा  ब्रम्हपुरी गाउँपालिका र पर्सा गाउँपालिका सम्पन्न भएको नि:शुल्क शिविरमा आँखा परिक्षण गराएका १ हजार ६ सय ५० जना मध्येबाट ४ सय ३४ जना बिरामीहरुको मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ ।  

   चेतनाको आयोजना एवं  कतार च्यारेटीको  प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो।

    पुस ११ गते ब्रम्हपुरी गाउँपालिका,१२ गते हरिपुर्वा नगरपालिका र १३ गते पर्सा गाउँपालिकासँगको समन्वयमा सम्बन्धित पालिकाको नोकैल्वा,डुमरिया र सितलपुर गाउँमा चलेको आँखा शिविरमा बिरामीहरुको आँखा जाँच गरि शिविर स्थलमै औषधि र चस्मा वितरण गरिएको थियो भने जाँचको क्रममा फेलापरेका मोतिबिन्दुका बिरामीहरुलाई सदरमुकाम मलंगवा स्थित रहेको मलंगवा आँखा अस्पतालमा लगेर नि:शुल्क शल्यक्रिया गरिएको थियो ।

    आँखा उपचारको पहुँच र आर्थिक अभावमा लामो समयदेखि दृष्टिविहिन बस्न बाध्य भएका बिरामीहरुको लागि उनीहरूको  घर आँगनमै पुगेर उपचार सेवा दिएको भन्दै पर्सा गाउँपालिकाका गाउँपालिका प्रमुख धिरेन्द्र यादव विस्पतले आयोजक संस्थालाई  धन्यवाद समेत दिएका छन् । शिविरमाआँखा जाँच गराउन आएका बिरामीहरुले पनि स्वास्थ्यकर्मी तथा चिकित्सकहरुलाई धन्यवाद दिंदै  यस किसिमको शिविर प्रत्येक वर्ष संचालन गर्न सुझाव दिएका थिए।

   कोहि पनि नागरिक पहुँच र आर्थिक अभावमा दृष्टिविहिन भएर बस्न नपरोस् भन्ने हेतुले प्रत्येक वर्ष यसै समयमा कतार च्यारेटीको आर्थिक सहयोगमा निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविरहरु संचालन गर्दै आइरहेको चेतना मलंगवाका कार्यक्रम संयोजक चन्दन कुमार कर्णले बताए । उनले गएको वर्षहरुको तुलनामा यसवर्ष मोतियाबिन्दुका बिरामीहरुको संख्या अलिबढी भएको बताए ।

    आँखाको शल्यक्रिया गराएका बिरामीहरु पहिलाको भन्दा अहिलेको हेराइमा धेरैनै सहज महसुस भएको बताएका छन् ।

   संस्थाले  शल्यक्रिया गराउने बिरामीहरुलाई घरदेखि अस्पतालसम्म लान र अस्पतालदेखि घरसम्म पुर्याउन नि:शुल्क  बसको ब्यवस्थाको साथै बिरामी र कुरुवाहरुको लागि खाना र बासको समेत ब्यवस्था गरेका थिए।

   


No comments:

Post a Comment