Wednesday, December 6, 2023

पोलभरी झुन्डिएकाअव्यवस्थित तारहरुका कारण कुरुप बन्दै मलंगवा शहर के गर्दै छ नगरपालिका ?

 


 पोलभरी झुन्डिएकाअव्यवस्थित तारहरुका कारण कुरुप बन्दै मलंगवा शहर 

   के गर्दै छ नगरपालिका ?



मनोज यादव----

सर्लाही,मंसिर २०

     सर्लाहीको सदरमुकाम मलंगवाका हरेक गल्ली, चोक र मोडमा तारहरु लत्रिएका छन्। बिजुली तथा दुरसञ्चारका पोहहरुमा बिजुली टेलिफोन र इन्टरनेटका तारहरु बटारिएका छन् भने कयौैँ  पोलका तारहरु भुँइमा छुनेगरि झुन्डिएका छन् । अव्यवस्थित रूपमा झुन्डिएका तारहरुले सदरमुकामलाई कुरूप बनाएको छ। ती झुन्डिएका तारहरुका कारण कतिबेला दुर्घटना निम्तिने हो  ठेगान छैन। 

   अव्यवस्थित तारका कारण  जोखिम बढे पनि त्यसको समाधानतर्फ सरोकारवाला निकायको ध्यान पुगेको देखिदैंन । मलंगवाको मेन चौक, बालमन्दिर चौक, पुरानो बसपार्क लगायतका मुख्य स्थान तथा गल्लीहरुमा  जोखिमपूर्ण अवस्थामा विजुली, इन्टरनेट र टेलिफोनका तारहरु लत्रिएको र झुन्डिएको देख्न सकिन्छ । यस्ता तारहरुको व्यवस्थापनमा ध्यान नपुर्‍याउँदा जुनसुकै बेला पनि दुर्घटना हुन सक्ने स्थानीयहरुले बताए।विशेषगरी भूकम्प, आगलागी, हावाहुरी जस्ता प्राकृतिक विपदामा  झनै जोखिम बढ्ने स्थानीय बासिन्दाहरु बताउँछन्। 

   तार व्यवस्थापनमा सम्बन्धित निकायको बेवास्ताका कारण जोखिम  बढेको स्थानीय राकेश यादवले बताए । विद्युत् प्राधिकरणका कर्मचारीलाई पनि कुन सेवाग्राहीको कुन तार हो भन्ने छुट्याउन मुस्किल पर्ने गरेको छ। इन्टरनेटमा समस्या आउँदा प्राविधिकलाई पनि काम गर्न समस्या हुने गरेको मलंगवा वडा न ९ का एक औषधि व्यवसायी गणेश श्रेष्ठले सुनाए।

     डिस होम फाइबर नेटका आधिकारिक बिक्रेता सुवास गुप्ताका अनुसार इन्टरनेट कम्पनीहरुले प्रत्येक पोलको नेपाल सरकारलाई राजस्व तिर्दै आइरहेकोले यसको व्यवस्थापन गर्ने र राजस्व नतिर्ने कम्पनीको तार काट्ने जिम्मेवारी सम्बन्धित निकायको रहेको छ।

   तार व्यवस्थापनको लागि नगरपालिकाले के कस्तो कदम चाल्दै छ भन्ने विषयमा जानकारी लिन मलंगवा नगरपालिकाको कार्यालयमा पुग्दा सूचना अधिकृत राजकुमार अधिकारीले सडक निर्माणको काम चलिरहेकोले पोलहरु अस्तव्यस्त भएको र केही स्थानमा व्यवस्थापन पनि गरिसकेकोले थप व्यवस्थापन गर्नको लागि केही दिनभित्रै नेटवर्क कम्पनीहरुलाई पत्राचार गरि बैठक बोलाएर कसोगरि तारहरु व्यवस्थित गर्न सकिन्छ भन्ने निस्कर्ष निकाल्न लागेको जानकारी गराउनुभयो।

    बजार क्षेत्रका सडकमा टाँगिएका होचा तार ठूला सवारीसाधनले चुँडाल्ने र बिगार्ने हुँदा लाइन सट हुने जोखिम उत्तिकै रहेको  छ। पोलभरी लत्रिएका र झुन्डिएका तारहरु प्रति न त बिजुली कार्यालयको ध्यान छ ,न त टेलिकम र कुनै इन्टरनेट कम्पनीको । कतिबेला कसको धनजनको क्षति हुने हो, टुंगो छैन।


No comments:

Post a Comment