Monday, December 25, 2023

विद्यालय व्यवस्थापन समिति गठनमा अभिभावक र विद्यार्थीहरुको असन्तुष्टि अयोग्य व्यक्तिलाई अध्यक्ष बनाएको उनीहरूको आरोप

 विद्यालय व्यवस्थापन समिति गठनमा अभिभावक र विद्यार्थीहरुको असन्तुष्टि

   अयोग्य  व्यक्तिलाई अध्यक्ष बनाएको उनीहरूको आरोप


मनोज यादव---

सर्लाही,पुस ९

       सर्लाही जिल्लाको सदरमुकाम मलंगवा नगरपालिका नजिकै र नेपाल भारत सीमा छेउमै पर्ने ब्रह्मपुरी गाउँपालिका वडा न– ४ त्रिभुवननगर स्थित रहेको श्री सुराज माध्यमिक विद्यालयको व्यवस्थापन समिति चयनमा विद्यालय प्रशासन  र राजनीतिक दलले  हस्तक्षेप गरेको भन्दै विद्यार्थी र अभिभावकहरुले आपत्ती जनाउँदै विरोध  गरेका छन् । विद्यालय व्यवस्थापन समिति गठनका विषयमा सनिवार आयोजना गरिएको अभिभावक भेलामा प्राधानाध्यापक रघुनन्दन यादवले केही राजनीतिक दलका स्थानीय नेताहरु सँग मिलेमतो गरि अयोग्य  व्यक्तिलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा चयन गरेको भन्दै अध्यनरत विद्यार्थी तथा अभिभावकहरुले आपत्ती जनाएका हुन्।

      वि.सं २०१७ सालमा स्थापना भएको यस  विद्यालय भित्र हुने राजनीतिक चलखेलका कारण  विद्यालयको शैक्षिक अवस्था दयनीय बनेको अभिभावकहरुले बताए छन् । बस्तीको बिचमा अवस्थित यो विद्यालय स्थापना कालदेखि नै कम्पाउण्ड विहिन रहँदै आएको छ । कम्पाउण्ड नहुँदा स्थानीय गाउँलेहरु आ–आफ्ना पशुचौपाया लगेर विद्यालयको हाता भित्र चराउने र बाँध्ने गरेका छन् । विद्यार्थीहरु पनि पठाइ बिचमै छाडेर भाग्ने गरेका छन् ।

    दरबन्दी अनुसार विद्यालयमा शिक्षक शिक्षिकाहरुको पनि कमि रहेका छन् ।जसका कारण दैनिक ३ देखि ४ घण्टी खाली रहने गरेको विद्यार्थीहरुले बताएका छन् । विषयगत शिक्षकको समेत कमि रहेकाले एउटै विषय ३ –४ जना शिक्षकहरुले पढाउँदै आएका छन् । अंग्रेजी, नेपाली , गणित, विज्ञान लगायतका मुख्य विषयको शिक्षक नहुँदा अन्य विषयका शिक्षकले ती विषय पढाउने गरेको विद्यार्थीहरुले बताए । विद्यालयमा १२ वटा कम्पियुटरहरु रहेता पनि खरिद गरेर ल्याएको २ वर्षको अवधीमा हालसम्म १ घण्टी पनि कम्पियुटर विषयको पढाइ नभएको विद्यार्थीहरुले गुनासो गरे।

    स्थानीय अभिभावक राम ईश्वर साहले सुराज माद्यामिक विद्यालय धेरै पुरानो विद्यालय रहेकोले त्रिभुवननगर र आसपासका केही गाउँका विद्यार्थीहरु मावि तहसम्मको पढाइको लागि यसै विद्यालयमा जाने गरेको बताए। पहिले देश जनप्रतिनिधि बिहिन बन्दा यो विद्यालय लथालिङ्ग अवस्थामा रहेको थियो ।अहिले स्थानीय सरकारको मातहतमा आएपनि अवस्था जस्ताको त्यस्तै रहेको उनको भनाइ छ ।

राजनितीक चलखेलका कारण विगत चारवर्षदेखि व्यवस्थापन समितिविहिन बन्दै आएको यस विद्यालयमा लामो प्रयास पछि बल्लतल्ल गठन गरिएको समितिमा अयोग्य व्यक्तिलाई समितिको अध्यक्ष र सदस्यमा चयन गरेर विद्यालय र विद्यार्थीहरुको भविष्य सँग खेलवाड गर्ने काम भएकोले यसलाई तुरुन्त सच्याएरअगाडी बढ्नु पर्ने विद्यार्थी रअभिभावकहरुको संयुक्त माग रहेको छ।

     प्र.अ यादवका अनुसार आफुले विद्यालयबाट सूचना जारी गरेर विद्यार्थीहरु मार्फत प्रत्येक अभिभावकलाई विद्यालय व्यवस्थापन समिति गठनको विषयमा जानकारी गराएको साथै ठाउँठाउँमा सूचना समेत टाँस्न लगाएर शनिवार अभिभावक भेला गरेर सबैजनाको सहमतिमा समिति गठन गरिएको हो।











 

No comments:

Post a Comment