Monday, December 4, 2023

सर्लाहीको सदरमुकाम मलंगवामा यातायात व्यवस्था कार्यालयको उद्घाटन सम्पन्न

 सर्लाहीको सदरमुकाम मलंगवामा यातायात व्यवस्था कार्यालयको उद्घाटन सम्पन्न 



मनोज यादव---

सर्लाही,मंसिर १८


    सर्लाहीको सदरमुकाम मलंगवामा यातायात व्यवस्था कार्यालयको समुद्घाटन सम्पन्न भएको छ। मधेस प्रदेश सरकारका श्रम तथा यातायात व्यवस्था मन्त्री चन्दन सिंहले जिल्ला समन्वय समितिको भवनमा स्थापना भएको यातायात व्यवस्था कार्यालयको आइतवार एक समारोहका बिच उद्घाटन गरेका छन् ।

    कार्यालयको उद्घाटन गर्दै मन्त्री सिंहले घरघरमा जनताराजको स्थापना गर्न आफु र आफ्नो पार्टी लागिपरेको बताए।जनमत पार्टीबाट मन्त्री बनेका मन्त्री सिंहले हाम्रो पार्टीले श्रम तथा यातायात व्यवस्था मन्त्रालय र शिक्षा मन्त्रालय गरि  दुईवटा मन्त्रालय पाएको र ती दुबै मन्त्रालय जनतासँग प्रत्येक्ष सरोकार राख्ने भएकोले पार्टीको सिद्धान्त बमोजिम जनताराजको स्थापना गरि जनताको घरघरमा सेवा पुर्याउन आफु र आफ्नो पार्टी लागिपरेका बताए ।अनलाइन सिस्टमको व्यवस्था गरिएकोले लाइसेन्स लिनको लागि प्रदेशको जुनसुकै ठाउँबाट आवेदन फारम भर्न सक्ने मन्त्री सिंहले बताए ।

 उनले यातायात कार्यालय जनतासँग  सरोकार राख्ने कार्यालय भएकोले यसको स्थापनापश्चात सर्लाहीका जनताहरूले प्रत्यक्ष रूपमा फाइदा पाउने  बताए । 


   यातायात  कार्यालय नहुदाँ यहाँका जनताहरूले सवारी साधनको कर बुझाउन,लाइसेन्स लिन,सवारी दर्ता गराउन लगायतका कामका लागि महोत्तरीको बर्दिबास,बिरगंज ,जनकपुरधाम लगायतका स्थानमा जानुपर्ने बाध्यता रहेको थियो ।समयमा शुल्क बुझाउन नसक्दा करभन्दा पनि जरीवाना तिर्नुपर्ने अवस्था रहेको थियो। कार्यालय स्थापनासँगै जनताको पैसा र समय दुवै बचत हुने भएको छ । 

    उद्घाटन कार्यक्रममा प्रदेस सांसद जंगीलाल राय,कौशल किशोर राय,उपेन्द्र महतो,पुर्व मन्त्री हरि उप्रेती ,पुर्व सांसद प्रमोद साह ,जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल किशोर सिंह,जि.स.स उपप्रमुख जितेन्द्र कुशवाहा ,प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमला लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो।

  




No comments:

Post a Comment