Monday, December 11, 2023

७५ औं मानवअधिकार दिवसको अवसरमा मलंगवा नगरपालिकाका नगरप्रमुख नागेन्द्र प्रसाद यादव सम्मानित

 ७५ औं मानवअधिकार दिवसको अवसरमा मलंगवा नगरपालिकाका नगरप्रमुख नागेन्द्र प्रसाद यादव सम्मानित 

  

लोकतन्त्र समाचारदाता ----

सर्लाही,मंसिर २५

   ३२ औं अन्तर्राष्ट्रिय लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रमहरु गरि आइतवार मलंगवामा सम्पन्न भएको छ। ७५ औं मानवअधिकार दिवसको अवसरमा मलंगवा नगरपालिकाले नगर प्रमुख नागेन्द्र प्रसाद यादवको अध्यक्षता तथा मधेस प्रदेश सांसद कौशल किशोर रायको प्रमुख आतिथ्यतामा  आयोजना गरेको कार्यक्रमका बिच १६ दिने अभियानको समापन गरिएको हो।

     मलंगवा स्थित महेन्द्र होटलमा भएको कार्यक्रममा आयोजक नगरपालिकाले लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानलाई सफल बनाउन आ-आफ्नो स्तरबाट सहयोग पुर्याएका नगरप्रमुख यादवसहित वडा न-१ का वडाअध्यक्ष नवल किशोर राय,वडा न-२ का वडाअध्यक्ष धिरेन्द्र साह र वडा न- ३ का वडाअध्यक्ष प्रमोद रायलाई कदरपत्रसहित दोसल्ला ओढाएर सम्मान गरेका थिए।मंसिर ९ गतेदेखि मंसिर २४ गतेसम्म चलेको लैंगिक हिंसा  विरुद्धको १६ दिने अभियानको अवधीभर अभियानलाई सफल बनाउन सहकार्य गरेका शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल  ( NCE Nepal ) सर्लाही ,ओरेक सर्लाही ,नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ (NNDSWO ) ,मानव अधिकार रक्षक  संजाल ,साप नेपाल ,पहिचान नेपाल लगायत दुई दर्जन स्थानीय साझेदार संस्थालाई पनि सोही अवसरमा कदरपत्रका सम्मानित गरिएको थियो।

   कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमला,प्रहरी उपरीक्षक प्रविण धिताल,नेपाली सेनाका सेनानी राजन कँडेल ,राष्ट्रिय अनुसंधान सर्लाहीका प्रमुख संतोष ढुंगेल , मलंगवा नगरपालिका अन्तर्गत विभिन्न वडाका वडाअध्यक्ष,विभिन्न गैरसरकारी संघसंस्थाका प्रमुख तथा प्रतिनिधि ,मानवअधिकारकर्मी,समाजसेवी ,पत्रकार लगायतको उपस्थिति रहेको थियो।

   कार्यक्रमको संचालन मैथिली गायक संतोष कर्णले गरेका थिए।

No comments:

Post a Comment