दुलवाका अतिविपन्न मुसहर परिवार पाउने भए आफ्नै पक्की घर
लोकतन्त्र समाचारदाता---
सर्लाही,जेष्ठ ३
सर्लाहीको विष्णु गाउँपालिका वडा न-७ दुलवाका अतिविपन्न मुसहर समुदाय परिवारको लागि पक्की घर निर्माणकार्य सुरु भएको छ।
विष्णु गापा वडा न-७ अन्तर्गत दुलवा मुसहर टोलमा सर्लाही क्षेत्र न-२(ख)प्रदेश सदस्यको आ/व २०७९/०८० बिकासे बजेटबाट ४० लाखको लागतमा ५ वटा पक्की घरको निर्माण कार्य सुरु गरिएको हो।
अतिनै पिछिएको समुदाय मुसहर जातीहरूको लागि निर्माण हुन लागेको घरको मधेस प्रदेश सांसद कौशल किशोर रायले शिलान्यास गरेका हुन ।
बुधबार बिहान सम्पन्न भएको शिलान्यास कार्यक्रममा गापा अध्यक्ष जवाहरलाल यादव ,वडा न-८ का बडाअध्यक्ष जवाहर यादव,वडा न-७ का वडाअध्यक्ष निरस राउत लगायत मुसहर समुदायका महिला ,पुरुष तथा स्थानीयबासीहरुको उपस्थित रहेको थियो।
"कृपया भारु रुपैया नदिनु होला"
नेपाली रुपैयाँसँग भारु कमजोर बनेपछि पेट्रोल पम्पमा तथा पसलहरु भारु लिन बन्द
मनोज यादव----
सर्लाही,जेष्ठ २
सर्लाहीको कबिलासी नगरपालिका वडा न-९ सलेमपुरका रोहित यादवले मलंगवा स्थित एक पेट्रोल पम्पमा पेट्रोल खरिद गरेबापत भारतीय रुपैयाँ दिँदा उक्त पेट्रोल पम्पले लिन मानेन्। पम्पले भारु लिन नमानेपछि यादवले इसेवा (मोबाइल बैंकिङ )मार्फत भुक्तानी गरे । त्यस्तै मलंगवा न.पा-२ की मुक्ता यादवले मलंगवाकै एक हार्डवेयर पसलमा घर निर्माणकार्यको लागि छड , सिमेन्ट किन्न जाँदा बिक्रेताले सुरुमै सोधे, ‘तपाईंसँग भारु छ कि नेरु रुपैयाँ ‘ मुक्ताले भारु भएको बताउने बित्तिकै पसलेले भारु नचल्ने तर चलाउनैपर्ने भए पूरा रकम नपाइने जानकारी दिएपछि सामान नकिनी उनी घर फर्किए।
यी दुई जना पात्र त उदाहरण मात्र हुन।यस्तो समस्या यतिबेला सबैलाई परेको छ। केही समय अघिसम्म सीमावर्ती बजारमा किनमेल र उपचारका लागि भारु साट्न कुनै समस्या थिएन। नेपालतर्फ पनि भारु देख्नेबित्तिकै संकलन गरेर राख्ने चलन थियो। नेरुबाट भारु सटहीका लागि कमिसन(बट्टा) पनि दिनुपर्थ्यो। तर अहिले यसको ठीक उल्टो भएको छ। बजारका पसल तथा पेट्रोल पम्पहरुमा मात्र नभइ , गाउँघरमा पनि भारु रुपैया चल्न छाडिसकेको स्थानीयहरुले बताएका छन् ।
भारतसँग सिमा जोडिएको मलंगवा लगायतका सिमावर्ती गाउँ तथा बजारमा सस्तोका कारण भारतबाट सामानहरु आउँथे र ती सामानहरु किन्न भारुकै खोजी गरिन्थ्यो। तर केही दिनदेखि बजारको अवस्था बदलिएको छ।ब्यापरीहरु हतपत भारु लिन मानिरहेका छैनन् ।यदी लिइहाले पनि १ सय भारुको १६० रुपैयाँ नेपालीको बदलामा ४ रुपैया घटाएर १५६ रुपैया नेपालीमा लिइरहेका छन् ।
नेपाल-भारत सिमावर्ती सदरमुकाम मलंगवा लगायत सबै पेट्रोल पम्पमा "कृपया भारु रुपैयाँ नदिनुहोला" भन्ने सूचनानै टाँसिएका छन् ।
डा.वीरबंश बैठा विद्यालयको नियमित अनुगमन तथा नियमन समितिको सदस्यमा चयन
लोकतन्त्र समाचारदाता----
सर्लाही,जेष्ठ २
डा.वीरबंश बैठालाई मलंगवा नगरपालिकाले विद्यालयको नियमित अनुगमन तथा नियमन समितिको सदस्यमा मनोनयन गरेको छ।
मलंगवा न.पा अन्तर्गत नगर शिक्षा समितिको गत मिति २०७९ साल माघ १२ गतेको बैठकको निर्णय र यस कार्यालयको मिति २०७९ माघ २० गतेको निर्णयअनुसार डा.बैठकलाई विद्यालयको नियमित अनुगमन तथा नियमन समितिको सदस्यको रुपमा मनोनयन गरिएको प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतमले जनाएको छ।
शिक्षाको क्षेत्रमा लामो अनुभव बटुेलेका र विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय पुरस्कार तथा पदकहरु बाट समेत सम्मानित भएका मलंगवा-५ भाँडसर निवासी डा.बैठाले आफ्नो अनुभव र कार्यशैलीबाट शैक्षिक तथा प्राविधिक व्यवस्थापनमा नगरपालिकालाई राम्रो सहयोग पुर्याउने छ भन्ने मलंगवा नगरपालिका आशावादी रहेको प्र.प्र.अ गौतमले बताएका छन् ।
हरिपुरका मुसहर बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण
लोकतन्त्र समाचारदाता---
सर्लाही,जेष्ठ १
सर्लाहीको हरिपुर स्थित श्री लक्ष्मीनाथ जनता आधारभूत विद्यालयमा अध्यनरत ४० जना मुसहर बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ।
एभरेस्ट एकेडेमी लालबन्दी , नवजीवन मा.वि. लालबन्दी-१ नबलपुर, सर्लाही क्याम्पस मलंगवा, श्रीमती कृष्ण देवी मा. वि मलंगवा ,पद्म रत्न विद्या मन्दिर मलंगवा र श्री पब्लिक मा. बि. मलंगवा लगायतका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको सहयोगमा बाल कल्याण समाज सर्लाहीले शैक्षिक सामाग्री वितरण गरेको हो।
सोमबार सोही विद्यालयमा सुन्दर श्याम रायको अध्यक्षतामा आयोजना गरिएको वितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि हरिपुर न.पा का मेयर गोपाल पंजियारले आर्थिक विपन्नताका कारण शैक्षिक सामग्री खरिद गर्न नसकेर अधिकांश बालबालिकाहरुलाई बिचमै पढाइ छोड्नु पर्ने र सानै उमेरदेखि मजदुरी गर्नुपर्ने अवस्थालाई बुझेर बाल कल्याण समाजले चलाइरहेको यस किसिमको अभियान सराहनीय रहेको र संस्थाको यस अभियानमा आफुले पनि पुर्ण साथ सहयोग दिने प्रतिबद्धता ब्यक्त गर्नुभयो।
कार्यक्रममा आयोजक संस्थाका सचीव रामआश्रे राय , वाडा न- ७ का वाडाध्यक्ष मनोज चौधरी ,प्र.अ चेतनारायन धामी लगायत विभिन्न जनप्रतिनिधि ,शिक्षक विद्यार्थी तथा अभिभावकहरुको उपस्तिथि रहेको थियो।
सर्लाहीमा देखियो गाई गोरुमा लाग्ने ‘लम्पी स्किन’रोग
---रोगको प्रकोप देखिए पछि रोकथामको प्रयास गरिंदै---
मनोज यादव-----
सर्लाही,बैशाख ३१
सर्लाही जिल्लाको ग्रामीण भेगका किसानहरुले पालेका गाई गोरुहरुमा ‘लम्पी स्किन` नामक रोगको संक्रमण फैलिएको छ। जिल्लाको पुर्वी तथा उत्तरी क्षेत्रका गाउँका किसानले पालेका गाई गोरुहरुको छालामा गिर्खा जस्तो देखिने यस रोगको भाइरस फैलिन थालेपछि रोकथाम तथा उपचारका लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका पशु प्रविधिकहरु सो भेगका किसानहरुको गोठ-गोठमा पुग्न थालेका छन् ।
सुरुमा इश्वरपुर पालिकाका वडा न-११, कालिन्जोरका केही गोठमा पालिएका गाई गोरुमा देखा परेको लम्पी रोगको संक्रमण अहिले आधा दर्जन बढी स्थानमा फैलिएको उपचारमा संलग्न स्थानीय पशु सेवा प्राविधिक केवेन्द्र कुशवाहाले जनाएको छ। कालिन्जोरको अधिकांश गाईगोरु र बाछाबाछीहरुमा लम्पी रोगको लक्षण देखिएको छ । सुरुमा किसानले थाहा नपाएर संक्रमण फैलिएको पशु प्राविधिक कुशवाहाले जनाए । छालामा गिर्खा देखिएर उच्च ज्वरो आएपछि लक्षणको आधारमा लम्पी रोगको संक्रमण बारे थाहा पाएको उनले बताए ।
पशुचौपायामा लम्पी स्किन रोग देखापरेपछि किसानहरु चिन्तित भएका छन् । संक्रमणबाट गाईवस्तुहरु बिरामी भएर मर्न थालेपछि ठुलो घाटा बेहोर्नु परेको पशुपालन व्यवसाय गरेर जिविका चलाउँदै आएका स्थानीय किसानहरुले गुनासो गरेका छन् ।
यो रोगको संक्रमण एकपछि अर्को गर्दै जिल्लाकै अन्य पालिकाकामा पनि देखा पर्न थालेकोले यसको रोकथाम र उपचारका लागि भेटेनरी अस्पताल मलंगवाबाट पशु प्राविधिकहरुको टोली गोठगोठमा पुगिरहेका छन् ।उनीहरु जाँचसँगै नि:शुल्क औषधि वितरणको साथसाथै किसानलाई परामर्श पनि दिइरहेका छन् ।
पशु विकास अधिकृत डा.जय प्रकाश यादवका अनुसार लम्पी स्किन रोग भाइरस मार्फत सर्ने गरेको र यसको भ्याक्सिन, औषधि अझैसम्म नभएकाले किसानहरुमा सचेतना जगाउनुपर्ने हुन्छ । यो रोगका लागि भ्याक्सिन र औषधि नभएकाले वैकल्पिक औषधिमार्फत उपचार गरिन्छ। रोगको संक्रमण फैलिएको गाई, गोरुका शरीरका विभिन्न भागमा गिर्खा आउने, उच्च ज्वरो आउने, पाक्ने, सुन्निनेजस्ता लक्षण देखिने डा.यादवले बताए । लम्पी क्याप्रिपोक्स भाइरस तथा लामखुट्टे, झिँगा र किर्नाको टोकाइबाट सर्ने उनले जानकारी दिए । रोग लागेपछि पशुलाई सार्वजनिकस्थलमा चरणका लागि लैजान नहुने उनको सुझाव छ । रोग लागेका पशुलाई अन्य पशुसँग सम्पर्कमा आउन नदिने, जैविक सुरक्षामा ध्यान दिने, गोठ सरसफाइ गरेपछि नियन्त्रणमा सहज हुने उनको भनाइ छ ।
भेटेरिनरी अस्पताल मलंगवाका पशु प्रविधिक डा.जयप्रकाश यादव, श्याम सुन्दर यादव,राज किशोर यादव, कालिन्जोर पशु सेवा केन्द्रका स्थानीय पशु सेवा प्राविधिक केवेन्द्र कुशवाहासहितको टोली पत्रकारको साथमा संक्रमण फैलिएको स्थानहरुको स्थलगत निरिक्षण गरेर आइसकेको र सो क्षेत्रमा पशु प्राविधिकहरुको टोलीलाई औषधिसहित पठाएको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मलंगवाकाले जनाएको छ।
ट्रेड युनियन कांग्रेस सर्लाहीको सातौ जिल्ला अधिवेशन सम्पन्न
---अध्यक्षमा अनवारुल खाँ निर्वाचित---
लोकतन्त्र समाचारदाता----
सर्लाही,बैशाख ३१
नेपाल ट्रेड युनियन कांग्रेस सर्लाहीको अध्यक्षमा अनवारुल हक निर्वाचित भएका छन् ।
सर्लाहीको चन्द्रनगर गाउँपालिका स्थित नाढी तालको सभाहलमा सम्पन्न भएको युनियनको सातौ जिल्ला अधिवेशनबाट खाँ को अध्यक्षतामा २० सदस्यीय नयाँ कार्यसमिति चयन भएका छन्।
निर्वाचन अधिकृत अधिवक्ता शिव कुमार सिंहका अनुसार उपाध्यक्ष खुल्लामा दिपेन्द्र राय यादव, महिला उपाध्यक्षमा श्रचि दत्त,उपाध्यक्ष (सेवा) दिपबन्धु चौलागाईं , उपाध्यक्ष (उत्पादन क्षेत्र ) संजय कुमार यादव,उपाध्यक्ष(अनौपचारिक तथा स्वरोजगार)शिरोमणि साह रहेका छन्। यस्तै सचिवमा विरन्ची प्रसाद साह, सहसचिवमा कृष्ण धमला र श्याम नन्दन राय,कोषाध्यक्षमा अनिल कुमार यादव,सहकोषाध्यक्ष (महिला) पुजिता कुमारी अधिकारी तथा सदस्य(खु्ल्ला)हरुमा क्रमशः भिम खडका,राम सुन्दर चौधरी ,अशोक कुमार साह,अनिल सिंह,मनोज साह तथा महिला सदस्यहरुमा नितु कुमारी राय,निर्मला ढकाल र अनुराधा मिश्र सर्वसम्मतिबाट निर्वाचित भएका छन् ।
यसैगरी संघीय प्रतिनिधिमा भाग्य नारायण मिश्र ,सरोज कुमार सिंह तथा प्रदेश प्रतिनिधिमा सुशील कुमार यादव,कमलेश कुमार कर्ण,लालबाबु राय र राम संजोग राय चयन भएका छन् ।
नेपाली काँग्रेस सर्लाहीका पुर्व जिल्ला सभापति एवं पुर्व सांसद लक्षमण रायको प्रमुख आतिथ्यतामा सम्पन्न भएको जिल्ला अधिवेशनको उद्घाटन सत्रमा मधेस प्रदेश सांसद कौशल किशोर राय,नेपाल ट्रेड युनियन काँग्रेसका केन्द्रीय उपाध्यक्ष तेजेन्द्र कार्की , नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघका केन्द्रीय अध्यक्ष प्रदिप आचार्य,ने.का पुर्व सभापति सत्यदेव सिंह,संविधान सभा सदस्य रामचन्द्र चौधरी ,ने .का क्षेत्रीय सभापति हरि लुंगेली,पुर्व क्षेत्रीय सभापति दिनेश मिश्र, प्रदेश सभापति अनिल कुमार कर्ण,महाधिवेशन प्रतिनिधि योगराज देवकोटा ,मधेस प्रदेश नेपाल शिक्षक संघ उपसभापति भाग्यनारायण मिश्र,ने .शि.महासंघ केन्द्रीय सदस्य बद्री नारायण मिश्र लगायतका विशिष्ठ अतिथिहरुको उपस्थिति रहेको थियो।
युनियनमा आबद्ध संगठनहरु मध्ये केन्द्रबाट प्रमाणिकरण भएर आएका १६ वटा संगठनका १२८ जना प्रतिनिधिहरु बाट नयाँ जिल्ला कार्यसमिति चयन भएको निर्वाचन अधिकृत सिंहले जनाएको छ।
अधिवेशन पश्चात् नवनिर्वाचित अध्यक्ष खाँ ले ट्रेड क्षेत्रमा रहेका मजदुरको हकअधिकारका लागि काम गर्ने प्रतिबद्धता जाहेर गरेका थिए।
मुस्लिम सरोकारवालाहरु बिच अन्तरक्रिया सम्पन्न
लोकतन्त्र समाचारदाता---
सर्लाही,बैशाख ३१
मदरसा संचालन तथा व्यवस्थापन सम्बन्धि सरोकारवालाहरु सँगको अन्तरक्रिया कार्यक्रम सदरमुकाम मलंगवामा सम्पन्न भएको छ ।
नगरप्रमुख नागेन्द्र प्रसाद यादवको प्रमुख आतिथ्यता तथा प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतमको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपस्थित भएका नगरपालिका क्षेत्रभरीका १२ वटा मदरसाका प्रमुख तथा प्रतिनिधि र मुस्लिम अगुवाहरु बिच कक्षा अपग्रेड तथा व्यवस्थापन ,एकमुष्ट अनुदान रकम निकासा ,मदरसाको लागि शिक्षक दरबन्दी ,मदरसा सम्बन्धि नीति र निर्देशिका सम्बन्धमा क्षमता अभिवृद्धि गर्ने लगायतका विषयहरुमा अन्तरक्रिया गरिएको शिक्षा शाखा प्रमुख प्रमोद मंडलले जनाएको छ।
मलंगवा नगरपालिकाको आयोजनामा सम्पन्न भएको कार्यक्रममा उपस्थित डा.अब्दुर रहिम,युवा नेता समिमबाबु खान,नेपाल मुस्लिम संघका केन्द्रीय सल्लाहकार मो.नुरुल हक मिकरानी,वडाअध्यक्ष जुल्फेकार मिकरानी,इसा मिकरानी लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा स्वागत मन्तव्य जनस्वास्थ्य निरिक्षक(मनपा)मो.सलिम मिकरानीले राखेका थिए।