Sunday, May 14, 2023

सर्लाहीमा देखियो गाई गोरुमा लाग्ने ‘लम्पी स्किन’ रोग/रोगको प्रकोप देखिए पछि रोकथामको प्रयास गरिंदै

 


सर्लाहीमा देखियो  गाई गोरुमा लाग्ने ‘लम्पी स्किन’रोग     

   ---रोगको प्रकोप देखिए पछि रोकथामको प्रयास गरिंदै---


मनोज यादव-----

सर्लाही,बैशाख ३१

     सर्लाही जिल्लाको ग्रामीण भेगका किसानहरुले पालेका गाई गोरुहरुमा ‘लम्पी स्किन` नामक रोगको संक्रमण फैलिएको छ। जिल्लाको पुर्वी तथा उत्तरी क्षेत्रका गाउँका किसानले पालेका गाई गोरुहरुको छालामा गिर्खा जस्तो देखिने  यस रोगको भाइरस फैलिन थालेपछि रोकथाम तथा उपचारका लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका पशु प्रविधिकहरु सो भेगका किसानहरुको गोठ-गोठमा पुग्न थालेका छन् ।

   सुरुमा इश्वरपुर पालिकाका वडा न-११, कालिन्जोरका केही गोठमा पालिएका गाई गोरुमा देखा परेको लम्पी रोगको संक्रमण अहिले आधा  दर्जन बढी स्थानमा फैलिएको उपचारमा संलग्न स्थानीय पशु सेवा प्राविधिक केवेन्द्र कुशवाहाले जनाएको छ। कालिन्जोरको अधिकांश गाईगोरु र बाछाबाछीहरुमा लम्पी रोगको लक्षण देखिएको छ । सुरुमा किसानले थाहा नपाएर संक्रमण फैलिएको पशु  प्राविधिक कुशवाहाले जनाए । छालामा गिर्खा देखिएर उच्च ज्वरो आएपछि लक्षणको आधारमा लम्पी रोगको संक्रमण बारे थाहा पाएको उनले बताए ।

    पशुचौपायामा लम्पी स्किन रोग देखापरेपछि  किसानहरु चिन्तित भएका छन् । संक्रमणबाट गाईवस्तुहरु बिरामी भएर मर्न थालेपछि ठुलो घाटा बेहोर्नु परेको पशुपालन व्यवसाय गरेर जिविका चलाउँदै आएका स्थानीय किसानहरुले गुनासो गरेका छन् ।

      यो रोगको संक्रमण एकपछि अर्को गर्दै जिल्लाकै अन्य पालिकाकामा पनि देखा पर्न थालेकोले यसको  रोकथाम र उपचारका लागि  भेटेनरी अस्पताल मलंगवाबाट पशु प्राविधिकहरुको टोली गोठगोठमा पुगिरहेका छन् ।उनीहरु जाँचसँगै नि:शुल्क औषधि वितरणको साथसाथै किसानलाई परामर्श पनि दिइरहेका छन् ।

      पशु विकास अधिकृत डा.जय प्रकाश यादवका अनुसार लम्पी स्किन रोग भाइरस मार्फत सर्ने  गरेको र  यसको भ्याक्सिन, औषधि अझैसम्म नभएकाले किसानहरुमा सचेतना जगाउनुपर्ने हुन्छ । यो रोगका लागि  भ्याक्सिन र औषधि नभएकाले वैकल्पिक औषधिमार्फत उपचार गरिन्छ।  रोगको संक्रमण फैलिएको गाई, गोरुका शरीरका विभिन्न भागमा गिर्खा आउने, उच्च ज्वरो आउने, पाक्ने, सुन्निनेजस्ता लक्षण देखिने डा.यादवले बताए । लम्पी क्याप्रिपोक्स भाइरस तथा लामखुट्टे, झिँगा र किर्नाको टोकाइबाट सर्ने उनले जानकारी दिए । रोग लागेपछि पशुलाई सार्वजनिकस्थलमा चरणका लागि लैजान नहुने उनको सुझाव छ । रोग लागेका पशुलाई अन्य पशुसँग सम्पर्कमा आउन नदिने, जैविक सुरक्षामा ध्यान दिने, गोठ सरसफाइ गरेपछि नियन्त्रणमा सहज हुने उनको भनाइ छ । 

     भेटेरिनरी अस्पताल मलंगवाका पशु प्रविधिक डा.जयप्रकाश यादव, श्याम सुन्दर यादव,राज किशोर यादव, कालिन्जोर पशु सेवा केन्द्रका स्थानीय पशु सेवा प्राविधिक केवेन्द्र कुशवाहासहितको टोली पत्रकारको साथमा संक्रमण फैलिएको स्थानहरुको स्थलगत निरिक्षण गरेर आइसकेको र सो क्षेत्रमा पशु प्राविधिकहरुको टोलीलाई औषधिसहित पठाएको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मलंगवाकाले जनाएको छ। 


   

No comments:

Post a Comment