Saturday, May 7, 2022

स्थानीय चुनावमा पैसाको चलखेल सुरु

 


उमेदवारहरु दिनमा घरदैलोमा व्यस्त , कार्यकर्ताहरु राती भोंट किन्न व्यस्त

मनोज यादव---

सर्लाही,बैशाख २४

  अब भोंट खसाल्ने दिन आउन एक साताभन्दा पनि कम समय बचेको छ।जतिजति  चुनाव नजिकिँदै गइरहेको छ त्यतिनै उमेदवार र राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु आआफ्नो चुनावी अभियानलाई तिब्र पार्न थालेका छन्।

   उमेदवारहरु अहिले आफ्नो अभियानलाई  गाउँ तथा टोल केन्द्रीत बनाएका छन्।सबै उमेदवारको उद्देश्य वैशाख ३० गतेको स्थानीय तहको चुनावमा अरुको भन्दा धेरै मत लिएर विजयी हुने रहेको छ ।यसका लागि उनीहरू जस्तोसुकै कदम पनि चाल्न तयार रहेका छन् ।

   चुनाव नजिकिँदै गर्दा गाउँमा चहलपहल शहरको तुलानामा बढेको छ।चुनावमा भोंट हाल्न रोजगारी,अध्यन आदीका लागि गाउँ,जिल्ला तथा देश बाहिर रहेका मानिसहरु आआफ्नो घर फर्किरहेका कारण गाउँघरमा मतदाताहरुको चहलपहल शहरको भन्दा बढेको छ।

    यस्तो बेला विभिन्न राजनीतिक दलसँग आबद्ध उमेदवार र स्वतन्त्र उमेदवारहरु जनताको घरघरमा गएर भोंट माग्नेदेखि लिएर कार्यकर्ता बैठक,सभा लगायतका कामहरु गरिरहेका छन् ।दिउँसो उनीहरू भोंट माग्ने काम गरिरहेका छन् भने राति राति आफ्नो कार्यकर्ताहरुलाई मतदाताहरुको घरमा पठाएर पैसाको प्रलोभन देखाएर भोंट किन्ने काम गरिरहेका छन् ।भोट किनबेच राताभरी चल्ने गरेको श्रोतले बताएको छ।श्रोतका अनुसार साँझ पर्ने बित्तिकै उमेदवारले परिचालन गरेको कार्यकर्ताहरु दलित, विपन्न तथा पिछडा समुदायको बस्तीमा पुगेर प्रत्येक मतदाताको घरमा माछा, मासु, दारु बाँड्ने गरेको पाइएको छ।कतिपयले माछा,मासु,दारु सँगै घरको मुल ब्यक्ति(अभिभावक)लाई प्रति मददाता २ हजारदेखि ५ हजार रुपैया समेत बाँड्ने गरेको श्रोतले जानकारी दिएको छ।

   पैसासहित सित्तैमा माछा, मासु दारु खान पाएका विपन्न,दलित तथा पिछडा समुदायका जनताहरुलाई उमेदवारले खुलेआम रुपमा ठगिरहेको भन्ने कुरा सायद थाहा छैन या त जान्दाजान्दै पनि ठगिको सिकार बनिरहेका छन्,मलंगवाका स्थानीय बुद्धिजीवीहरुले बताए।

  गाउँघरमा अहिले उमेदवारका कार्यकर्ताहरु आफ्नो पक्षको जनतालाई विपक्षीले किन्न सक्छ भनेर रातभर जाग्राम बसेर निगरानी बढाएका छन् ।भोंट किन्न आउने बिपक्षीलाई लखेट्न उनीहरू घरेलु हतियारको साथ निगरानी गरिरहेको श्रोतले जानकारी दिएको छ।यस्तो बेला गाउँमा ठुलो झडप भएर अप्रिय घटना समेत हुनसक्ने सम्भावना रहेकोले प्रशासनले पनि गाउँबस्तीमा निगारानी बढाउनु पर्ने बुद्धिजीवीहरुले बताएका छन् ।

    पैसावाला उमेदवार तथा ठूला दलले मात्रै नभइ अरु साना दल र स्वतन्त्र उमेदवारहरुले पनि गच्छे अनुसारकाे पैसा र मासु मदिरा बाँड्न थालेका छन् ।

   पैसा र मासु मदिराको भरमा चुनाव जितिन्छ भन्ने सोँच  दल तथा उमेदवारहरूमा देखिन्छ ।

यसको दोष नेताहरूलाई मात्र दिन मिल्दैन।जनताहरु पनि उत्तिकै दोषी छन् ।उनीहरू आफै पैसामा बिक्ने भएपछि नेताहरु पनि किन पछि हटोस् ।एकदिन मदताताको पछाडी लागेर ५ वर्ष आफ्नो पछाडी घुमाउन पाउने भएपछि पैसाको खोला बगाउन नेताहरु पनि किन पछाडि हटोस्,बुद्धिजीवीहरुको भनाइ छ।


🎤विशेष अन्तर्वाता / मलंगवाले गुमाएको साख फर्काउँछु: नागेन्द्र प्रसाद यादव

 



     आसन्न वैशाख ३० गते हुन गइरहेको निर्वाचनमा सर्लाही जिल्लाको सबै भन्दा पहिलो र ऐतिहासिक मानिएको  मलंगवा नगरपालिकामा यसपालि रोचक प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । नेपाली कांग्रेसको तर्फबाट मलंगवा नगरपालिकाका लागि मेयरको प्रत्यासी उम्मेदवार नागेन्द्र प्रसाद यादव छन् भने अर्कातिर अरु ६–७ जना मेयर पदका प्रत्यासीहरु विभिन्न पार्टीबाट चुनावमा उम्मेदवारी दिएका छन् । यस भन्दा पहिला २०७४ सालको स्थानीय निर्वाचनमा स्वतन्त्रबाट मलंगवा नगरपालिकाको लागि मेयर पदमा उठे पनि केही मतले हार व्यहोर्नु परेको र त्यस पछि प्रदेश सभा सदस्यमा पनि उम्मेदवारी दिएपनि विजयी हुन नसकेका यादव यसपालि आफूले जित्नेमा पूर्ण विश्वस्त छन् । यसपालि चुनाव जित्नेमा पूर्ण विश्वस्त रहेकाे उहाँले राष्ट्रिय लोकतन्त्र दैनिकसँग भनेका छन् ।स्थानीय तहको चुनावको विषयलाई लिएर उहाँले राष्ट्रिय लोकतन्त्र दैनिक सँग गर्नुभएको   कुराकानीको अंश ।यादवले चुनावी एजेण्डा, जित्ने आधार लगायतका विषयमा कुराकानी गरेका छन् । प्रस्तुत छ यादवसँग राष्ट्रिय लोकतन्त्र दैनिकले गरेको    कुराकानीको सम्पादित अंश ।

    

@ घरदैलोमा मलंगवावासीको कतिको सहयोग पाई राख्नु भएको छ  ? 

      -:सोचेको भन्दा राम्रो प्रतिक्रिया पाइरहेकाले हामीलाई थप ऊर्जा मिलेको छ । पूर्वमेयरले नगरका लागि केही नगरेको गुनासो नगरबासीहरु सुनाउनु हुन्छ । उहाँहरु अब तपाईंले केही गर्नुपर्छ भनेर भन्नुहुन्छ । जनताले म बाट धेरै आशा गरेका छन् । प्रचार–प्रसारमा हामीले सबैभन्दा जोड घरदौलो कार्यक्रमलाई दिएका छौँ । बिहानदेखि बेलुकासम्म हरेक वडाका हरेक घरमा पुगेर आफ्ना कुरा राख्दै भोट मागिरहेका छौँ । यसका अलावा विभिन संघसस्थासँग कसरी कांग्रेसलाई जिताउने भनेर छलफल, परामर्श र सल्लाह समेत गरिरहेको छु । 

   @मेयरको उम्मेदवार बन्दै गर्दा मलंगवालाई समृद्ध नगर बनाउन  तपाईंका एजेण्डाहरु के-के छन् ?

     -: चुनावका लागि हाम्रो संकल्पपत्र जारी भइसकेको छ । हामीले आवश्यकताका आधारमा हाम्रा कामलाई विभिन्न चरणमा विभाजन गरेका छौँ । पहिलो चरणमा नागरबासीको दैनिकीलाई सहज र समृद्ध बनाउन सहयोग गर्ने कुरालाई मुख्य प्राथमिकतामा राखिएको छ । शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, रोजगारी, कर व्यवस्थापन लगायतका विषयमा जोड दिएका छौँ ।  मलंगवा ऐतिहासिक र सब भन्दा पुरानो नगरपालिका हो तर, यहाँका अधिकांश नगरबासीलाई रोजगारीको समस्याले पिरोलेको छ । हरेक दिन सयौँ युवाहरु रोजगारीको खोजीमा छिमेकी मुलुक भारत देखि खाडीतिर पलायन हुन बाध्य छन् । हामीले यो समस्यालाई गम्भीरताका साथ हेरेका छौँ । उनीहरुलाई यहीँ कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर एउटा विज्ञको टोली बनाएर उद्योगीसँग परामर्श भइ रहेको छ । नगरबासीहरु दिन प्रतिदिन करको बोझले थिचिइरहेका छन् । यो समस्या निदान गर्न व्यक्तिको आर्थिक स्थितिलाई ध्यानमा राखेर करको दायरा तोक्ने हाम्रो नीति छ । आयस्रोत कम भएकालाई करै नलाग्ने योजना अगाडि सारिएको छ । 

@मलंगवालाई खुला दिसापिसाब मुक्त क्षेत्र घोषणा गरिएको छ । तर, न्यून आर्थिक स्तर भएका नगरबासीको घरमा शौचालय छैन । खुला दिसापिसाब मुक्त क्षेत्र घोषित गर्नुपूर्व बिहान–बेलुका हातमुख जोड्न धौधौ हुनेले कसरी शौचालय बनाउन सक्लान् भनेर सोच्नुपर्छ कि पर्दैन ?  

   -: हामीले यो विषयलाई ध्यानमा राखेर शौचालय बनाउन नसक्ने नगरबासीको घरमा निःशुल्क शौचालय बनाउने नीति बनाएका छौँ । अपवाद बाहेक यहाँका अधिकांश सरकारी कार्यालय र कर्मचारीहरु भ्रष्ट छन् । कर्मचारीलाई भेटी नचढाइन काम नहुने समस्या छ ।  यस नगरमा व्याप्त कुशासनलाई जरैदेखि उखेल्ने योजना छ । नेपाल कृषिप्रधान देश हो । तर, धेरै किसानले खेतीबालीको बेला समयमै मलखाद पाउँदैनन् । जसका कारण उनीहरुको उत्पादनमा ह्रास आउँछ । हामीले यो समस्यालाई भित्रैदेखि बुझेका, मनन गरेका छौँ । नगरको समन्वयमा प्रत्येक किसानलाई समयमै मलखादको बन्दोबस्त गर्नेछ । त्यस्तै, शिक्षा र जनचेतनाको अभावका कारण यहाँका महिला, दलित लगायतका समुदायहरु पीडित छन् । यहाँ हरेक वर्ष कयौं महिलाहरु दाइजो नल्याएको निहूमा घरेलु हिंसामा चरम यातना भोग्नु पर्छ , दलितहरु जातीय विभेदको शिकार हुन्छन् । यी घटनाहरु शिक्षा र प्रभावकारी कानूनको अभावका उपज हुन् । हामीले महिला, दलित लगायतका सीमान्त समुदायलाई विशेष ध्यानमा राखेर शिक्षाका कार्यक्रम अगाडि बढाउने छौँ । हाम्रो ध्यान विशेषगरी हरेक तह–तक्पामा शिक्षा, स्वास्थ्य र विकास पुर्याउनेमा केन्द्रित छ । 

@अनि गुरु योजना चाहिँ के छन् त ? 

    -: मलंगवामा पर्यटन व्यवसायको पनि उत्तिकै सम्भावना छ । आन्तरिक र बाह्य दुवै किसिमका पर्यटकलाई आकर्षित गर्ने सौन्दर्य र सम्भावना मलंगवासँग छ । तर, सम्भावनाका क्षेत्र पहिल्याएर प्रबद्धन गर्ने त धेरै परको कुरा पहिल्यैबाट प्रसिद्धि कमाएका पर्यटकीय क्षेत्रलाई समेत नजर अन्दाज गरिएको छ ।  मलंगवामा विभिन्न ऐतिहासिक शक्तिपीठ तथा अन्य पर्यटकीय क्षेत्रहरु ओझेलमा परेका छन् । पहिल्यै प्रसिद्धि कमाइसकेका र सम्भावना बोकेका क्षेत्रलाई पहिल्याएर मलंगवालाई पर्यटकीय क्षेत्र बनाउने हाम्रो लक्ष्य छ ।  मास्टर प्लान अन्तर्गत नै हामीले मलंगवालाई स्मार्ट सिटी बनाउने नीति लिएका छौँ । सुचना तथा प्रविधिको भरपूर उपयोग गरी नागरिकले सरकारी कार्यालय पुग्नुपर्ने बाध्यता हटाउनेछौँ । ढल व्यवस्थापनको समस्या यहाँको एउटा प्रमुख समस्या हो । हामीले केही वर्षभित्र अस्तव्यस्त ढललाई व्यवस्थित गर्नेछौँ । यसबाहेक अरु पनि धेरै गुरु योजना छन्, दीर्घकालीन योजना छन् । समग्रमा भन्नुपर्दा हामी सदरमुकाम मलंगवालाई साँच्चिकै नरक पालिकाबाट नगरपालिका बनाउने छौँ । यहाँ आउने हरेकले अनुभूति गरुन् र भनून– वाह ! क्या नगर ! 

@यसपालि तपाईंको जित्ने आधार के हो ?

   -: यो निर्वाचनमा मेरो जित सुनिश्चित छ । हरेक वडाका हरेक नागरिकसँग भेटेको छु, उहाँहरुको इच्छा–आकांक्षालाई बुझेको छु । सबैको मन जित्ने र बिश्वास जित्ने काम गरिरहेको छु । मलंगवाबासीले यी वर्षमा पहिलाका जनप्रतिनिधीका काम देखि सक्नु भएको छ ।  मलंगवाको कुल २८ हजार ९ सय ९२ जना मतदाता छन् । कुलको ७५ प्रतिशत मत ल्याएर मेयर जित्छु ।

@यस अघिका मेयरहरु के-के कुरामा कहाँ–कहाँ चुके जस्तो लाग्छ ? 

     -:यसअघिका सबै जनप्रतिनिधीहरु हरेक कुरामा चुकेका छन् । मलंगवाको पहिचान गुमेको छ, साख गुमेको छ । मुलुक संघीय संचरनामा गएपछि मलंगवामा राम्रो बजेट आयो ग्रिन सिटी, स्मार्ट सिटीको अवधारणा आयो मलंगवाका जनताहरु यो सुनेर निकै उत्साहित थिए । स्थानीय सरकार भएपछि अब केही हुन्छ भन्ने आशा जागेको थियो उहाँहरुको मनमा । तर, नतिजा त्यस्तो आएन । उहाँहरुको आशाप्रति कुठाराघात भयो । नगर व्यवस्थित र समृद्ध हुनुपर्नेमा झन् आफ्नो भएको साख, पहिचान गुमाउँदै गयो । झनै अस्तव्यस्त बन्यो । पहिलाको जनप्रतिनिधीले आफूले गर्छु भनेको बाट २ प्रतिशत काम पनि गर्नु भएन । सहजै गर्न सकिने कुरा पनि उहाँले गर्नु भएन । थाहा छैन, उहाँ के के कुरामा अल्झिनु भयो ? व्यक्तिगत रुपमा म उहाँलाई यो भन्दा बढी केही भन्दिनँ । मलंगवाबासीहरु एकदमै दुःखी छन् । म यो नगरको छोरो हुँ । पहिल्यै देखि यस ठाउँका लागि केही गर्ने इच्छा छ । अब ठीक समय आएको छ । दृढ अठोट र संकल्पका साथ केही गर्छु भनेर आएको छु । सबैको साथ र सहयोग पाए गर्ने पनि छु। मेयर प्रत्यासी नागेन्द्र प्रसाद यादवले प्रतिबद्धता व्यक्त गर्नु भयो।








Thursday, May 5, 2022

मतदान केन्द्रमा खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरुको तालिम सुरु




लोकतन्त्र समाचारदाता---

सर्लाही,बैशाख २२

   स्थानीय तह सदस्य निर्वाचन २०७९ को लागि सर्लाही जिल्लास्थित मतदानकेन्द्रमा खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरुको एक दिने तालिम सदरमुकाम मलंगवामा सुरु भएको छ। जिल्लाका ९ वटा नगरपालिका र ११ वटा गाउँपालिकामा खटिने १२ सय  मतदान अधिकृत र  सहायक मतदान अधिकृतहरुको तालिम बिहीबारदेखि सुरु भएको हो।

  तालिममा सहभागीहरु मध्ये बिहीबार ६०० जनालाई र दोस्रो दिन शुक्रबार पनि ६०० जनालाई प्रशिक्षण दिइएको जिल्ला   निर्वाचन कार्यालय सर्लाहीका प्रमुख दिवाकर भुजेलले जानकारी दिए।

  तालिमा सहभागी भएका कर्मचारीहरुको संख्या धेरै भएकोले दुबैदिन ३-३ सयको समूह बनाएर एक समूहलाई मलंगवा नपा-८ स्थित कुशुम पार्टी पैलेस र अर्को समूहलाई वडा न-१० स्थित जानकी पार्टी पैलेसमा प्रशिक्षण दिएको प्रमुख भुजेलले जानकारी दिए।

Wednesday, May 4, 2022

सार्वजनिक स्थलमा राखिएका चुनावी पोस्टर, पम्प्लेट तथा पार्टीकाे झण्डा हटाउन सुरु

 



लोकतन्त्र समाचारदाता---

सर्लाही,बैशाख २१

     आसन्न स्थानीय तहको निर्वाचनलाई लिएर  चुनावी प्रचारप्रसारका लागि उमेदवारहरुले सार्वजनिक स्थलमा   टाँस्न लगाएका पाेस्टर, पम्प्लेट तथा पार्टीका झण्डाहरु प्रशासनले  हटाउन सुरु गरेको छ ।

    आज(बुधबार) दिउँसाे सर्लाहीको  सदरमुकाम मलंगवा स्थित जिल्ला समन्वय समितिको सभाहलमा बसेकाे निर्वाचन आचारसंहिता अनुगमन समितिकाे बैठकको निर्णय अनुसार सार्वजनिकनिजी स्थानहरुबाट त्यस्ता चुनावी प्रचार सामग्रीहरु  हटाउन सुरु गरिएको छ।समितिले आज(बुधबार) दिउँसाेबाटै  सुरक्षाकर्मीहरु परिचालन गरेर त्यस्ता सामग्रीहरु हटाउन लगाएका छन् ।बैठकमा जिल्ला स्थित राजनीतिक दलका प्रमुख तथा उमेदवारहरुले  पार्टी कार्यालयबाहेक सार्वजनिक स्थलहरुमा राखिएको निर्वाचनप सम्बन्धि  प्रचार सामग्री हटाउने प्रतिवद्धता व्यक्त गरेका छन् । 

   बिजुलीको पोल, विद्यालय,मठ मन्दिर, चौक, चाैराहा लगायतका सार्वजनिक स्थलहरुमा निर्वाचन आचारसंहिता विपरीत राखिएको निर्वाचन सामग्रीहरु दलहरु आफैले नहटाए सुरक्षाकर्मी लगाएर हटाउने र त्यसमा दलहरुको तर्फबाट कुनै अवरोध नगर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारीले जानकारी दिए ।उनले  प्रचार प्रसारमा डीजे बाजा बजाउन पनि प्रतिबन्ध लगाउने निर्णय भएकाे जानकारी दिए। डीजे बजाउँदै र ब्यानर टाँगेर हिँड्ने सबारी साधनलाई समेत नियन्त्रणमा लिने बैठकले निर्णय गरेकाे सप्रजिअ अधिकारीले जनाएको छ ।

   हिजो(मंगलबार)जिल्ला प्रशासन कार्यालयमा भएको बैठकमा पनि राजनीतिक दलहरुले चुनावी आचार संहिताको पालना गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए तर पालना गरेका थिएनन्।

जनताको आशिर्वाद लिन वडाअध्यक्ष उमेदवार भोला साह घरदैलोमा




लोकतन्त्र समाचारदाता---

सर्लाही,बैशाख २१

     डा.सिके राउत नेतृत्वको जनमत पार्टीबाट वडा अध्यक्ष पदका उमेदवार भोला साह सोनारले आफ्नो घरदैलो कार्यक्रम तीव्र पारेको छ । 

   साह आउँदो बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सर्लाहीको मलंगवा नगरपालिका वडा नम्बर २ को वडाअध्यक्ष पदमा जनमत पार्टीबाट उमेदवार बन्नुभएको छ।साह अहिले आफ्ना पाइनलका वडा सदस्य तथा समर्थकहरुको साथमा मलंगवाको वडा न-२मा बसोबास गर्ने स्थानीयबासीहरुको घरदैलोमा पुगेर  भारी बहुमतले बिजयी गराउन लाउडस्पिकर(हर्न) छापमा मतदान गर्न भनि जनतासँग अनुरोध गरिरहेका छन्।

   पार्टीले पनि वडाको समुचित विकास तथा वडामा सुशासन कायम गर्नको लागि वडाअध्यक्ष पदका उमेदवार भोला साह सोनार सहित उनका सम्पुर्ण प्यानललाई जिताउन मतदाताहरु सँग अपिल गरेका छन्।

    वडाको समुचित विकासका लागि नाला,रोड,स्वास्थ्य र शिक्षामा सुधार,विद्यालयमा सुधार,बिजुली तथा खानेपानीमा सुधार, कृषिमा सुधार र न्यायिक स्वच्छता अती आवश्यक रहेकोले यसका लागि जनमत पार्टी जित्नुको विकल्प नरहेको साहले बताए।

    एकपटक आफुलाई जिताएर सेवा गर्ने मौका दिए जनताको म प्रतिको आशा र भरोसा नतोड्ने साहले प्रतिबद्धता व्यक्त गरे।


Monday, May 2, 2022

स्थानीय चुनावमा निर्वाचन आचार संहिताको खुलेआम उलंघन

मनोज यादव---

सर्लाही,बैशाख १९  

    निर्वाचन आयोगले सार्वजनिक स्थानमा कुनै पनि राजनीतिक दल तथा उमेदवारको झण्डा राख्न नपाइने निमय लगाएको छ ।तर सर्लाहीमा भने यसको खुलेआम उलंघन भइरहेको पाइएको छ।

   जिल्ला भरीका शहर, बजार तथा गाउँमा मठ मन्दिर, पार्क, विद्यालयहरुमा निर्वाचन आचारसंहिता विपरित विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उमेदवारको चुनाव चिन्ह अंकित  झण्डा,तुल,ब्यानरहरु राखिएको पाइएको छ ।निर्वाचन आचारसंहिता अनुसार विद्यालय, मन्दिरलगायत सार्वजनिक स्थानमा पार्टीको झण्डा राख्न नपाइने उल्लेख रहेको छ।

  नवलपुर मलंगवा सडक खण्ड अन्तर्गत पर्ने चमेली माई लगायत अन्य विभिन्न मठ मन्दिर  देवालयहरु तथा  धार्मिक पर्यटकीय स्थलहरुमा  नेपालका प्रमुख राजनीतिक दलका चुनाव चिन्ह अंकित झण्डाहरु झुण्डियाएको छ ।

    यस्तै निर्वाचन आचार संहितामा राजनीतिक दलका विभिन्न कार्यक्रममा ३ बाई ३ फिटको दलको एउटा झण्डा र एउटा चुनाव चिन्ह प्रयोग गर्न भनिएको छ । तर स्थित भने ठ्याक्कै यसको विपरीत देखिएको छ।बजारमा  झण्डा को लहर र झण्डाको  माला झुण्ड्याइएका छन् ।रुखको अवस्था पनि उस्तै भएको छ।रुखमा पात भन्दाबढी झण्डाहरुनै झुण्डिएको देख्न सकिन्छ ।चुनावी प्रचारप्रसारमा बालबालिकाहरुको समेत प्रयोग भएको देखिन्छ ।जबकी आचार संहितामा बालबालिकाको प्रयोग गर्न नपाइने उल्लेख छ।

   यसरी त्यस्ता राजनितीक दलहरुले सार्वजानिक स्थलमा पार्टीको झण्डा झुण्डियाएर  शहर,बजार र गाउँलाई कुरुप बनाएको भन्दै बुद्धिजीवीहरुले आक्रोश व्यक्त गरेका छन् ।नियमन निकायले यसको निगरानी र कार्यवाही गर्नुपर्ने उनीहरूले बताए ।

  यदी पार्टी र चुनाव चिन्हको झण्डा एउटा भन्दा बढी प्रयोग गरेको पाइएमा उम्मेदवारले आचारसंहिता उल्लंघन गरेको ठहर गर्दै उम्मेदवारलाई कारबाही गर्ने नियम रहेको छ । यस्तै निर्वाचन सम्बन्धी दलको भेला, कार्यक्रम, जुलुसमा दलको झण्डा, चिन्ह अंकित झोला, क्याप, गमछा, मास्क लगायत प्रयोग गरेमा सम्बन्धित ब्यक्ति नै कारवाहीमा पर्नेसम्मको नियम रहेको निर्वाचन आयोगको आचारसंहितामा उल्लेख छ ।

Sunday, May 1, 2022

जनताले पुनः आफुलाई बिजयी गराए अन्य वाडको तुलनामा आफ्नो वाडलाई राम्रो राम्रो बनाउँछु:ईश्वरी श्रेष्ठ वडाअध्यक्ष उमेदवार

 

लोकतन्त्र समाचारदाता---

सर्लाही,बैशाख १८ 

   मलंगवा नगरपालिका वडा न-८ को वडाअध्यक्ष पदका लागि  नेपाली काँग्रेसबाट चुनाव लडेका ईश्वरी श्रेष्ठले आफ्नो प्रचार प्रसार कार्यलाई तिव्रता दिएको छ ।उनले आज(आइतवार)देखि  आफ्ना पाइनलका वडा सदस्य तथा समर्थकहरुको साथमा वडा न-८ का जनताहरुको घर घरमा पुगेर घरदैलो कार्यक्रमको शुभारम्भ गरेको छ। 
वडाअध्यक्ष उमेदवार श्रेष्ठ सहित दलित महिला सदस्य पदका उमेदवार संगिता परियार,महिला सदस्य मिरा रानी,रबिता यादव(पति उदय यादव) र बिनोद कुमार गुप्ता लगायत नेपाली काँग्रेसमा आबद्ध कार्यकर्ता तथा स्थानीयबासीहरु मलंगवा नपा वडा न-८ का टोल तथा घरहरुमा पुगेर स्थानीय जनताहरु सँग भेटघाट गरि रहेका छन् ।


   वडा अध्यक्ष उमेदवार श्रेष्ठका अनुसार यसअघिको स्थानीय चुनावमा वडाबासीहरुको माया र सहयोगी भावनाले वडाअध्यक्षको पदमा जितेर आएपछि आफुलाई धेरै कामहरु गर्नुपर्ने अवस्था थियो।त्यो बेला विकासको नाउँमा केही कामहरु मात्र भएका थिए। समय कम र गर्नुपर्ने कामहरु बढी भएकाले पनि समय,अवस्था र बजेटले भ्याए सम्म कामहरु गरें।बिचमै कोरोनाको संकट देखा पर्यो। देशभरि लकडाउन लाग्यो।सारा कामहरु बन्द भए।सो अवधिमा आफुले तयार पारेको योजनाहरु पनि ठप्प भयो।गर्नुपर्ने कामहरु सबै रोकिए। जसले गर्दा जनताको चाहना अनुसार काम हुनसकेन। यो अवस्था वडा न-८ को मात्र नभइ मलंगवा नगरपालिकाको सबैजसो वडाहरुको भएको छ श्रेष्ठले बताए ।समय कम र गर्नुपर्ने कामहरु बढी भएकाले पनि विकास निर्माणका केही कामहरु छुटेको उनले स्विकारे छन्।

   आफ्नो कार्यकालमा  वडा न-८ को लागि थप योजनाहरु तयार पारेको जानकारी गराउँदै अबको स्थानीय तहको चुनावमा वडा न-८ का शिक्षित तथा विकास प्रेमी जनताले पुनः एकपटक आफुलाई बिजयी गराको खण्डमा  पूरा गर्न बाँकी रहेका पछिल्लो योजनाहरु र तयार पारेका थप नयाँ योजनाहरु समयमा पूरा गरि यस वडालाई मलंगवा नगरपालिकाका अन्य वडाको तुलनामा राम्रो बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    जनताको  साथ र सहयोग रहे एकपटक फेरी आफुलेनै जित्ने श्रेष्ठले विश्वास व्यक्त गरेका छन् ।उनले वडाको समुचित विकासको लागि आफुसहित आफ्ना प्यानलका सदस्य पदका उमेदवारहरुलाई मतदान गरेर जिताउन अनुरोघ गरेका छन्।