Saturday, May 7, 2022

स्थानीय चुनावमा पैसाको चलखेल सुरु

 


उमेदवारहरु दिनमा घरदैलोमा व्यस्त , कार्यकर्ताहरु राती भोंट किन्न व्यस्त

मनोज यादव---

सर्लाही,बैशाख २४

  अब भोंट खसाल्ने दिन आउन एक साताभन्दा पनि कम समय बचेको छ।जतिजति  चुनाव नजिकिँदै गइरहेको छ त्यतिनै उमेदवार र राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु आआफ्नो चुनावी अभियानलाई तिब्र पार्न थालेका छन्।

   उमेदवारहरु अहिले आफ्नो अभियानलाई  गाउँ तथा टोल केन्द्रीत बनाएका छन्।सबै उमेदवारको उद्देश्य वैशाख ३० गतेको स्थानीय तहको चुनावमा अरुको भन्दा धेरै मत लिएर विजयी हुने रहेको छ ।यसका लागि उनीहरू जस्तोसुकै कदम पनि चाल्न तयार रहेका छन् ।

   चुनाव नजिकिँदै गर्दा गाउँमा चहलपहल शहरको तुलानामा बढेको छ।चुनावमा भोंट हाल्न रोजगारी,अध्यन आदीका लागि गाउँ,जिल्ला तथा देश बाहिर रहेका मानिसहरु आआफ्नो घर फर्किरहेका कारण गाउँघरमा मतदाताहरुको चहलपहल शहरको भन्दा बढेको छ।

    यस्तो बेला विभिन्न राजनीतिक दलसँग आबद्ध उमेदवार र स्वतन्त्र उमेदवारहरु जनताको घरघरमा गएर भोंट माग्नेदेखि लिएर कार्यकर्ता बैठक,सभा लगायतका कामहरु गरिरहेका छन् ।दिउँसो उनीहरू भोंट माग्ने काम गरिरहेका छन् भने राति राति आफ्नो कार्यकर्ताहरुलाई मतदाताहरुको घरमा पठाएर पैसाको प्रलोभन देखाएर भोंट किन्ने काम गरिरहेका छन् ।भोट किनबेच राताभरी चल्ने गरेको श्रोतले बताएको छ।श्रोतका अनुसार साँझ पर्ने बित्तिकै उमेदवारले परिचालन गरेको कार्यकर्ताहरु दलित, विपन्न तथा पिछडा समुदायको बस्तीमा पुगेर प्रत्येक मतदाताको घरमा माछा, मासु, दारु बाँड्ने गरेको पाइएको छ।कतिपयले माछा,मासु,दारु सँगै घरको मुल ब्यक्ति(अभिभावक)लाई प्रति मददाता २ हजारदेखि ५ हजार रुपैया समेत बाँड्ने गरेको श्रोतले जानकारी दिएको छ।

   पैसासहित सित्तैमा माछा, मासु दारु खान पाएका विपन्न,दलित तथा पिछडा समुदायका जनताहरुलाई उमेदवारले खुलेआम रुपमा ठगिरहेको भन्ने कुरा सायद थाहा छैन या त जान्दाजान्दै पनि ठगिको सिकार बनिरहेका छन्,मलंगवाका स्थानीय बुद्धिजीवीहरुले बताए।

  गाउँघरमा अहिले उमेदवारका कार्यकर्ताहरु आफ्नो पक्षको जनतालाई विपक्षीले किन्न सक्छ भनेर रातभर जाग्राम बसेर निगरानी बढाएका छन् ।भोंट किन्न आउने बिपक्षीलाई लखेट्न उनीहरू घरेलु हतियारको साथ निगरानी गरिरहेको श्रोतले जानकारी दिएको छ।यस्तो बेला गाउँमा ठुलो झडप भएर अप्रिय घटना समेत हुनसक्ने सम्भावना रहेकोले प्रशासनले पनि गाउँबस्तीमा निगारानी बढाउनु पर्ने बुद्धिजीवीहरुले बताएका छन् ।

    पैसावाला उमेदवार तथा ठूला दलले मात्रै नभइ अरु साना दल र स्वतन्त्र उमेदवारहरुले पनि गच्छे अनुसारकाे पैसा र मासु मदिरा बाँड्न थालेका छन् ।

   पैसा र मासु मदिराको भरमा चुनाव जितिन्छ भन्ने सोँच  दल तथा उमेदवारहरूमा देखिन्छ ।

यसको दोष नेताहरूलाई मात्र दिन मिल्दैन।जनताहरु पनि उत्तिकै दोषी छन् ।उनीहरू आफै पैसामा बिक्ने भएपछि नेताहरु पनि किन पछि हटोस् ।एकदिन मदताताको पछाडी लागेर ५ वर्ष आफ्नो पछाडी घुमाउन पाउने भएपछि पैसाको खोला बगाउन नेताहरु पनि किन पछाडि हटोस्,बुद्धिजीवीहरुको भनाइ छ।


No comments:

Post a Comment