Tuesday, April 4, 2023

नेपाल शिक्षक संघ सर्लाहीको नवौं जिल्ला अधिवेशन सुरु,अध्यक्षका आकांक्षी पासवान र उप्रेती


नेपाल शिक्षक संघ सर्लाहीको नवौं जिल्ला अधिवेशन सुरु,अध्यक्षका आकांक्षी पासवान र उप्रेती

लोकतन्त्र समाचारदाता---

सर्लाही,चैत्र २१

    नेपाल शिक्षक संघ सर्लाहीको नवौं जिल्ला अधिवेशन सुरु भएको छ । नेपाली कांग्रेसको शुभेच्छु संस्था शिक्षक संघको नवौं  जिल्ला अधिवेशनको मंगलबार प्रमुख अतिथि ने.शि.स संघीय कार्यसमिति अध्यक्ष राजेन्द्रराज पौडेलले उद्घाटन गरेका हुन्।

    हरिपुर स्थित प्रेमलता होटलमा उद्घाटन भएको अधिवेशनले २६ सदस्यीय नयाँ जिल्ला कार्यसमित चयन गर्ने छ । नयाँ कार्यसमितिको कार्यकाल ३ वर्षको हुने शिक्षक संघले जनाएको छ।यसपटक संघको नेतृत्वको लागि गणेश प्रसाद उप्रेती र प्रविण पासवानले उमेदवारी दिएका छन् ।सक्दो सहमतिमै टुंग्याउने सहमति नभएको खण्डमा भोली बुधबार निर्वाचनमा जाने संघले बताएको छ।

  उद्घाटन कार्यक्रममा विशिष्ठ अतिथि नेपाली काँग्रेस जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंह,प्रदेश सांसद जंगिलाल राय,प्रदेश सांसद कौशल किशोर राय, प्रदेश सांसद विरेन्द्र सिंह,प्रदेश सांसद सुकुन्ती देवी ,विभिन्न जिल्लाका शिक्षक संघ अध्यक्षहरु,ने.शि.स सर्लाही जिल्ला कार्यसमिति पदाधिकारीहरुलगायत जिल्लाभरीका शिक्षकहरुको उपस्थिति रहेको थियो।

Monday, April 3, 2023

मिटरब्याजका कारण घरवार विहिन हुने अवस्था आएको पिडितहरुको गुनासो


मिटरब्याजका कारण घरवार विहिन हुने अवस्था आएको पिडितहरुको गुनासो


मनोज यादव---

सर्लाही,चैत्र २०

    सर्लाहीको हरिपुरमा आयोजित अन्तरक्रिया कार्यक्रम मार्फत दलित समुदायका मुसहर महिलाहरुले मिटरब्याजी साहुका कारण आफुहरुलाई घरवार विहिन हुने अवस्था आएको गुनासो गरेका छन् । सोमबार हरिपुर नगरपालिकाको हरिपुर बजारमा रहेको रेडक्रस सोसाइटीको सभाहलमा साउथ एशिया पार्टनरशीप नेपाल (साप–नेपाल) ले  आयोजना गरेको मिटरब्याज न्यूनिकरण तथा सचेतना अभिवृद्धिको सम्बन्धमा सरोकारवाला निकाय सँग नीतिगत अन्तरक्रिया कार्यक्रममा सहभागी स्थानीय दलित समुदायका  मुसहर महिलाहरुले यस्तो गुनासो गरेका हुन।

    साहुले घर व्यवहार धान्न र अन्य अतिआवश्यक कार्यको लागि लिएको सानो श्रृणको व्याज तिर्न नसक्ने गरि कम समयमै कयौं गुणाले वृद्धि गरि भएभरको जायजेथा कब्जामा लिएर उठिबास बनाएको उनीहरूले गुनासो गरेका थिए।मिटरव्याजीहरुले घरवार विहिन बनाउनुको साथसाथै तनाव समेत दिने गरेको पल्टनिया माझीले बताइन् ।कतिपय मिटरव्याज पिडितहरु माथि हिंसा पनि भइसकेको माझीले बताइन् ।

     कार्यक्रममा पल्टनियाको जस्तै संगिता माझी, राजो देवी माझी,बाल कुमारी  माझीलगायतले पनि  मिटरब्याजबाट झेल्नु परेको समस्याको बारेमा जानकारी गराएका थिए।कार्यक्रम मार्फत पिडितहरुले सरकारले यस विषय माथि गम्भीरतापुर्वक ध्यान दिन र मिटरव्याजी साहुबाट उन्मुक्ति दिलाउन समेत माग गरेका थिए।

    कार्यक्रमको अध्यक्षता गर्नुभएका हरिपुर नगरपालिकाका नगर प्रमुख  गोपाल पंजियारले मिटरब्याजको समस्या सामाजिक तबरबाट सम्वोधन गर्न नगरपालिका तत्पर रहेको बताउनुभयो। उहाँले अनावश्यक ऋण नलिन र आवश्यक परेको अवस्थामा श्रृण लिनुपर्दा जाने बुझेकासँग  सरसल्लाह गरेर र होस् पुर्याएर मात्र श्रृण लिन सुझाव दिनुभयो ।

   कार्यक्रममा ,साप नेपालका कार्यक्रम संयोजक जनक कार्की,नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सर्लाहीका अध्यक्ष एवं दलित अधिकारकर्मी राजेश पासवान,राम नरेश मण्डल,इलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी नायब निरीक्षक (सई) जितेन्द्रप्रसाद साह,ओरेक नेपाल सर्लाही जिल्ला संयोजक देव कुमारी महरा,नेकपा माओवादी केन्द्रका नेता सुनिल कुमार बुढाथोकी,हरिपुर न.पा को विभिन्न वडाका वडाध्यक्ष, दलित अधिकारको क्षेत्रमा काम गर्ने संघसंस्थाका प्रतिनिधिलगायतले मन्तव्य राखेका थिए।


रुखले च्यापिएर खुटौनामा एक महिलाको मृत्यु


रुखले च्यापिएर खुटौनामा एक महिलाको मृत्यु

लोकतन्त्र समाचारदाता---

सर्लाही,चैत्र २०

     सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न-६ खुटौनामा रुखले च्यापिएर एक भारतीय महिलाको मृत्यु भएको छ।मृत्यु हुनेमा भारतको जिल्ला सितामढी नगरनिगम नुनिया टोल बस्ने केदार महतो नुनियाकी श्रीमती वर्ष ५० की तुरुन्ती देवी रहेकी छिन् ।

      सोमबार बिहान ११:२० बजेको समयमा खुटौनास्थित बाटो छेउमा रहेको सपेताको रुख काट्ने क्रममा सोही सडक भएर पैदल हिंडिरहेको  अवस्थामा अचानक रुख ढलेर किच्दा  तुरन्ती देवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

    रुख ढाल्ने व्यक्ति फरार रहेको र निजको खोजी भइरहेको प्रहरी बताएको छ।

६० हजारको ब्याज १० लाख तिर्न नसकेपछि घर जग्गा साहुको कब्जामा,पिडितको उठिबास

 ६० हजारको ब्याज १० लाख तिर्न नसकेपछि घर जग्गा साहुको कब्जामा,पिडितको उठिबास 



लोकतन्त्र समाचारदाता---

सर्लाही,चैत्र १९

    साहुको ऋण तिर्न नसकेपछि सर्लाहीमा एक परिवारको उठिबास भएको छ।

  जिल्लाको पर्सा गाउँपालिका वडा न-६ बस्ने राम इश्वर ठाकुरले ७ वर्ष अगाडी आफ्नो घर जग्गा  दृष्टिबन्धक राखेर गाउँकै एक ब्यक्तिसँग ६० हजार रुपैयाँ व्याजमा लिएका थिए। सो ६० हजार रुपैयाँको ७ वर्षमा व्याज रकमसमेत मिलाएर १० लाख रुपैयाँ भएको र सो रकम बुझाउन नसकेपछि साहुले निजको सम्पूर्ण घर जग्गा कब्जामा लिएपछि ठाकुर अहिले आफ्ना श्रीमती र बालबच्चासहित गाउँदेखि बाहिर रहेको एउटा पुरानो र जिर्ण विद्यालयमा बसिरहेका छन् ।

   आफुले  साहुलाई १ लाख २० हजार रुपैया बुझाउन तयार भएको तर साहुले भने व्याजसहित आउने सबै रकम माग गर्दै आएको ठाकुरले बताए । आफ्नो अवस्था निकैनै दयनीय रहेको र त्यति रकम दिन असमर्थ रहेको भन्दै अनुनय विनय गर्दा पनि साहुले नमानेको उनले दुखेसो पोखे।

    यसका लागि ठाकुरले पर्सा गा.पा को न्यायीक समितिमा पनि निवेदन दिएको र न्यायीक समितिले पनि ठाकुरकै  पक्षमा फैसला सुनाएको गा.पा अध्यक्ष धरेन्द्र यादव विस्पतले बताए ।

    ठाकुरका अनुसार आफुले २०७२ सालमा साहुसँग ६० हजार रुपैया श्रृण लिएको र सो रकम केही समस्याका कारण तिर्नमा ढिलो भएको थियो।आफुले काठमाडौंमा संचालन गरेको गार्मेन्ट भुँइचालोमा भत्किएर ठूलो घाटा भएको र पछि कोरोना कालमा समेत आर्थिक समस्या थपिएपछि साहुको श्रृण चुक्ता गर्न नसकेको सुनाए।साहुले गाउँमा भएको ३ धुर जग्गा पनि अदालतबाट मुद्दा गरेर आफ्नो कब्जामा लिइसकेको उनले गुनासो गरे।

   आफु साहुलाई १ लाख २० हजार रुपैया दिन तयार रहेको र न्यायीक समितिले सोही अनुसार फैसल सुनाए पनि साहु मान्न तयार नभए पछि बाध्य भएर आफुलाई जिल्ला प्रशासन कार्यालयमा मुद्दा दिनुपरेको ठाकुरले बताए।

   न्यायको लागि पहल गरिदिन भन्दै ठाकुर दम्पती सरोकारवाला निकाय र समाजसेवीहरुसँग अनुरोध गरेका छन् ।


Sunday, April 2, 2023

मलंगवामा रहेको पुर्व डिआइजी सिंहको घर तस्रै ब्यक्तिले कब्जामा लिएपछि अर्कैको घरमा बास,घटनाको विषयमा अनुसंधान चल्दै


मलंगवामा रहेको पुर्व डिआइजी सिंहको घर तस्रै ब्यक्तिले कब्जामा लिएपछि  अर्कैको घरमा बास,घटनाको विषयमा अनुसंधान चल्दै



लोकतन्त्र समाचारदाता---

सर्लाही,चैत्र १८

      संरक्षणको लागि दोस्रो ब्यक्तिलाई जिम्मा लगाएको घर जग्गा तेस्रै ब्यक्तिले कब्जामा लिएपछि एकजना जेष्ठ नागरिकको उठिबास भएको छ।सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न-३ स्थित रहेको पञ्चायकालका अञ्चलाधिस तथा विशेष प्रहरीको रुपमा समेत कार्य गरिसक्नु भएका पुर्व डिआइजी शैलेन्द्र प्रसाद सिंहको घर जग्गा कुनै तेस्रै ब्यक्तिले कब्जामा लिएर भोगचलन गर्न थालेपछि उहाँलाई आफ्नी श्रीमती शारदा उप्रेतीसँग मलंगवाकै एक ब्यक्तिको घरमा बास बस्नु परेको छ।

   पिडित सिंहका अनुसार आफुहरु हाल काठमाडौमा बसोबास गर्दै आएको र बेलाबेलामा मलंगवा आउने र जाने गरेका थियौं।आफ्नो गैेरहाजिरीमा घरको जग्गाको संरक्षण र देखभाल समेत होस् भनेर आफुहरु बस्ने घर बाहेकको सम्पूर्ण घर सम्झौता गरि ग्रिन ल्याण्ड बोर्डिङ स्कुललाई भाडामा दिएको र बेलाबेलामा काठमाडौंबाट आएर मलंगवा स्थित सोही घरमा बसेर जाने गरेका थियौं।तर   यस पटक ८ महिना पछि मलंगवा आउँदा आफ्नो घरमा मैले नचिनेको एक अर्कै ब्यक्तिले कब्जा गरि बसेको पाएको र ती ब्यक्तिलाई तपाईं किन मेरो घरमा बस्नु भएको जानुस् भनि भन्दा ती ब्यक्तिले यो तपाईं  घर होइन मेरो घर हो बढी बोल्यौ भने कुटेर धपाउँछु भनि सोझै घम्काएर मेरो आफ्नै घरबाट घरबार बिहिन बनाएको उहाँले दुखेसो पोख्नु भयो।घरभित्र रहेको सारा सामानहरु समेत गायब गरिसकेको सिंहले जानकारी गराउनुभयो।

   हाल पुर्व डिआइजी सिंहका छोराहरु रोजगारीको सिलसिलामा नेपाल बाहिर बस्दै आएको मौका छोपी एउटा बृद्धअबश्थाका लाचार ब्यक्तिले केही गर्न सक्दैन भन्ने सोंच भएका ब्यक्तिहरुले जिवनको अन्तिम पडावमा आएर सुनुयोजित तरिकाले  यसरी आफुहरुको घर जग्गा कब्जामा लिइएर उठिबास बनाउने यस्ता निर्दयी समाज प्रति यतिबेला आफ्नो मनमा क्रोध उत्पन्न भइरहेको सिंहकी श्रीमती शारदा  गहभरी आँसु भर्दै गुनासो गर्नुभयो । देशकै एउटा ठूलो ओहोदामा रहेको ब्यक्तिलाई समेत नछाड्ने यस्ता भुमाफियाहरुले सर्वसाधारणहरुको के हालत गर्दै होला सोंचेर मनमा पिर लागेर आउँछ,उहाँले दु:ख व्यक्त गर्दै सुनाउनुभयो ।

   घर जग्गा कब्जा गरेर बसेका ब्यक्ति उपर जिल्ला प्रहरी कार्यालय सर्लाहीमा निवेदन(उजुरी) समेत दिइसकेको र सोही उजुरीको आधारमा ती ब्यक्तिलाई प्रहरीले पक्राउ गरि अनुसंधान प्रक्रिया अगाडी बढाएको सिंहले बताउनुभयो ।

   न्यायको लागि भौतारिरहनु भएका पुर्व डिआइजी सिंह दम्पती अहिले मलंगवाकै एक जेष्ठ नागरिकको घरमा एउटा शरणार्थी सरह बसिरहेका छन् । 

   यस विषयमा सामाजिक रुपमा दुई थरीका कुराहरु आइरहेकोले  अनुसंधान पछि मात्र मुल कुरा बाहिर आउने देखिन्छ ।

   

    

   

सिरहामा १६औं सद्गुरु कवीर राष्ट्रिय स्तरीय महासम्मेलन सम्पन्न


सिरहामा १६औं सद्गुरु कवीर राष्ट्रिय स्तरीय  महासम्मेलन सम्पन्न

भुपानन्द राम दास---

सिरहा,चैत्र १९

    सिरहाको जिल्लाको सिरहा नगरपालिका वडा न-२ मा १६ औं वार्षिक  त्रिदिवसिय सद्गुरु राष्ट्रिय स्तरीय महासम्मेलन तथा भण्डारा समारोह  सम्पन्न भएको छ। बुधवार साँझदेखि सुरु भएको महासम्मेलन शुक्रवार सम्पन्न भएको हो।

   सिरहा-२ मा रहेको कबिर मन्दिरका संस्थापक  महात्मा जिबछ साहेबको अध्यक्षता तथा महात्मा राम सेवक साहेबको प्रमुख आतिथ्यमा सम्पन्न भएको महासम्मेलन हरेक वर्ष झै यसवर्ष पनि विभिन्न कार्यक्रमहरुको आयोजना गरि भब्यताका साथ सम्पन्न भएको छ।उक्त सम्मेलनमा नेपाल लगायत भारतको विभिन्न ठाउँबाट संत,महन्थ,माहात्मा,साधु,साध्वी, धर्मपुराणी,गुरुप्रेमी,आस्थावान,आचार्य तथा स्थानीय समाजसेवी बुद्धिजीवीहरुको उल्लेख्य उपस्थिति रहेको थियो।

  सम्मेलनमा महाभण्डाराको समेत आयोजना गरिएको थियो ।सोही अवसरमा शिक्षा,राजनीति ,सामाजिक ,कल्याणकारी तथा आध्यात्मको क्षेत्रमा विशेष योगदान पुर्याउने विशिष्ठ ब्यक्तिहरुलाई आयोजक सद्गुरु कविर वचन वशीय प्रचारप्रसार समितिले "सद्गुरु कवीर राष्ट्रिय स्तरीय सम्मान २०७९" द्वारा सम्मानित गरेका थिए।

   उक्त महासम्मेलनमा विशिष्ठ अतिथि महन्थ पंचलाल साहेव,सन्तु साहेव,गुणेश्वर साहेव,चन्देश्वर साहेव लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो।


Saturday, April 1, 2023

खुटौनाबाट ३ लाख बढीको अवैध कपडा बरामद


खुटौनाबाट ३ लाख बढीको अवैध कपडा बरामद

लोकतन्त्र समाचारदाता---

सर्लाही,चैत्र १८

    प्रहरीले सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिकाबाट ३ लाख भन्दा बढीको अवैध कपडा बरामद गरेको छ।

   जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलीले शुक्रवार बिहान करिब पौने ११ बजे  मलंगवा न.पा वडा न-६, खुटौना स्थित स्थानीय अलाउदिन अंसारीको घरबाट अन्दाजी ३ लाख ४ हजार ९ सय मूल्य बराबरको भन्सार चोरी पैठारीका विभिन्न किसिमका कपडाहरु बरामद गरेको हो।

   बरामद गरिएका कपडाहरु आवश्यक कार्यवाहीको लागि सोही दिन मलंगवा स्थित सर्लाही भन्सार कार्यालयलाई बुझाइसकेको जिप्रका मलंगवाले जनाएको छ।